परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १९५

25 जनवरी 2023

परमेश्‍वरलाई पछ्याउने मानिसहरूको जीवन र मृत्युको चक्र

यसपछि, हामी परमेश्‍वरलाई पछ्याउने मानिसहरूको जीवन र मृत्युको चक्रको बारेमा कुरा गरौं। यो तिमीहरूसँग सम्‍बन्धित छ, त्यसैले ध्यान दिएर सुन: सबैभन्दा पहिले, परमेश्‍वरलाई पछ्याउने मानिसहरूलाई कसरी वर्गीकरण गर्न सकिन्छ त्यसको बारेमा विचार गर। (परमेश्‍वरका चुनिएका मानिसहरू, र सेवाकर्ताहरू।) वास्तवमा दुई वर्ग छन्: परमेश्‍वरका चुनिएका मानिसहरू, र सेवाकर्ताहरू। पहिले, हामी परमेश्‍वरका चुनिएका मानिसहरूका बारेमा कुरा गरौं, जो थोरै हुन्छन्। “परमेश्‍वरका चुनिएका मानिसहरू” ले कसलाई जनाउँछ? परमेश्‍वरले सबै थोक सृष्टि गरिसक्‍नुभएपछि र मानिस अस्तित्वमा आइसकेपछि, परमेश्‍वरले उहाँलाई पछ्याउने मानिसहरूको एउटा समूह छनौट गर्नुभयो; यिनीहरूलाई “परमेश्‍वरका चुनिएकाहरू” भनेर भनिन्छ। परमेश्‍वरले यी मानिसहरूलाई छनौट गर्नुको विशेष क्षेत्र र महत्त्व थियो। यो चुनिएका थोरैमा मात्रै सीमित थियो, जो उहाँले महत्त्वपूर्ण कार्य गर्ने क्रममा आउनैपर्छ, यस अर्थमा यो क्षेत्र विशेष छ। अनि महत्त्वचाहिँ के हो त? तिनीहरू परमेश्‍वरले छनौट गर्नुभएको समूह भएका हुनाले, महत्त्व निकै ठूलो छ। अर्थात्, परमेश्‍वरले यी मानिसहरूलाई पूर्ण बनाउन, र तिनीहरूलाई सिद्ध बनाउन चाहनुहुन्छ, अनि उहाँको व्यवस्थापन कार्य समाप्त भएपछि, उहाँले यी मानिसहरूलाई प्राप्त गर्नुहुनेछ। के यो महत्त्व ठूलो छैन र? यसर्थ, चुनिएका यी मानिसहरू परमेश्‍वरका लागि अत्यन्तै महत्त्वपूर्ण हुन्छन्, किनभने परमेश्‍वरले प्राप्त गर्न चाहनुभएकाहरू तिनीहरू नै हुन्। सेवाकर्ताहरूको बारेमा भन्दा, हामी अहिलेको लागि परमेश्‍वरको पूर्वनिर्धारित गन्तव्यको विषयलाई छोडौं, र सुरुमा तिनीहरूको उत्पत्तिको कुरा गरौं। “सेवाकर्ता” ले शाब्दिक रूपमा सेवा गर्ने व्यक्तिलाई जनाउँछ। सेवा गर्नेहरू क्षणिक हुन्छन्; तिनीहरूले दीर्घकालीन रूपमा वा सदासर्वदा सेवा गर्दैनन्, बरु तिनीहरूलाई अस्थायी रूपमा काममा लगाइन्छ वा नियुक्त गरिन्छ। तिनीहरूमध्ये धेरैजसोको उत्पत्ति तिनीहरूलाई अविश्‍वासीहरूबाट छनौट गरिएर भएको हुन्छ। तिनीहरूले परमेश्‍वरको कार्यमा सेवाकर्ताको भूमिका निर्वाह गर्नेछन् भनी उर्दी जारी गरिएपछि तिनीहरू पृथ्वीमा आएका हुन्छन्। अघिल्‍लो जीवनमा तिनीहरू पशु-प्राणीका रूपमा रहेका हुन सक्छन्, तर तिनीहरू अविश्‍वासीहरूका रूपमा पनि रहेका हुन सक्छन्। सेवाकर्ताहरूको उत्पत्ति यसरी नै भएको हुन्छ।

हामी परमेश्‍वरका चुनिएका मानिसहरूको बारेमा थप कुरा गरौं। जब तिनीहरू मर्छन्, तब तिनीहरू अविश्‍वासीहरू र विश्‍वासका विभिन्‍न मानिसहरूको भन्दा पूर्ण रूपमा फरक स्थानमा जान्छन्। यो त्यस्तो स्थान हो जहाँ तिनीहरू स्वर्गदूतहरू र परमेश्‍वरका सन्देशवाहकहरूको साथमा हुन्छन्; यो परमेश्‍वरले व्यक्तिगत रूपमा नै प्रशासन गर्नुहुने स्थान हो। यस स्थानमा परमेश्‍वरका चुनिएका मानिसहरूले आफ्‍नै आँखाले परमेश्‍वरलाई देख्‍न नसक्‍ने भए तापनि, यो आत्मिक क्षेत्रको अन्य कुनै पनि ठाउँभन्दा फरक हुन्छ; मानिसहरूको यो समूह मरेपछि जाने फरक स्थान यही हो। तिनीहरू मरेपछि, तिनीहरूलाई पनि परमेश्‍वरका सन्देशवाहकहरूले कठोर अनुसन्धान गर्छन्। अनि केको अनुसन्धान गरिन्छ त? परमेश्‍वरका सन्देशवाहकहरूले परमेश्‍वरमाथिको विश्‍वासमा यी मानिसहरूले आफ्‍नो जीवनभरि लिएका मार्गहरू, त्यो समय अवधिमा तिनीहरूले परमेश्‍वरलाई विरोध गरे कि गरेनन् वा सरापे कि सरापेनन्, र तिनीहरूले कुनै गम्‍भीर पाप वा दुष्ट काम गरे कि गरेनन् भन्‍ने अनुसन्धान गर्छन्। कुनै निश्‍चित व्यक्तिलाई बस्‍न दिइन्छ कि ऊ त्यहाँबाट जानुपर्छ भन्‍ने प्रश्‍न यही अनुसन्धानले समाधान गर्नेछ। “जानुपर्छ” भन्‍नुको अर्थ के हो? अनि “बस्‍नु” भनेको के हो? “जानुपर्छ” भनेको तिनीहरूको व्यवहारको आधारमा तिनीहरू परमेश्‍वरका चुनिएका मानिसहरूको दर्जामा रहन्छन् कि रहँदैनन् भन्‍ने हो; “बस्‍नु” को अर्थ आखिरी दिनहरूको अवधिमा परमेश्‍वरले पूर्ण बनाउनुहुने मानिसहरूको बीचमा तिनीहरू रहन सक्छन् भन्‍ने हो। बस्‍नेहरूका लागि, परमेश्‍वरको विशेष बन्दोबस्तहरू हुन्छन्। उहाँको कामको हरेक अवधिमा, उहाँले त्यस्ता मानिसहरूलाई प्रेरितहरूका रूपमा काम गर्न वा मण्डलीहरूलाई जागृत गर्ने वा हेरचाह गर्ने काम गर्न पठाउनुहुन्छ। तैपनि, त्यस्ता काम गर्न सक्‍ने मानिसहरूको एकपछि अर्को पुस्तामा पुनर्जन्‍म हुने अविश्‍वासीको रूपमा बारम्‍बार पुनर्जन्‍म हुँदैन; बरु, तिनीहरू परमेश्‍वरको कार्यका मापदण्ड र चरणहरू अनुसार पृथ्वीमा फर्कन्छन्, र तिनीहरूको बारम्‍बार पुनर्जन्‍म हुँदैन। त्यसो भए, तिनीहरूको पुनर्जन्‍म कहिले हुन्छ भन्‍ने विषयमा कुनै नियमहरू छन् त? के तिनीहरू केही वर्षको अवधिमा बारम्‍बार आउँछन् त? के तिनीहरू त्यसरी बारम्बार आउँछन् त? तिनीहरू त्यसरी आउँदैनन्। यो सबै परमेश्‍वरको कार्य, यसका चरणहरू र उहाँका खाँचोहरूमा आधारित हुन्छ, र कुनै निर्दिष्ट नियमहरू छैनन्। एउटै मात्र नियम के हुन्छ भने जब परमेश्‍वरले आखिरी दिनहरूमा आफ्‍नो कामको अन्तिम चरण पूरा गर्नुहुन्छ, यी चुनिएका मानिसहरू सबै आउनेछन्, र यो आगमन तिनीहरूको अन्तिम पुनर्जन्‍म हुनेछ। अनि किन त्यसो हुन्छ त? यो परमेश्‍वरको कामको अन्तिम चरणमा हासिल गर्नुपर्ने परिणाममा आधारित हुन्छ—किनभने कामको यो अन्तिम चरणको अवधिमा, परमेश्‍वरले चुनिएका यी मानिसहरूलाई सम्पूर्ण तवरमा पूर्ण तुल्याउनुहुनेछ। यसको अर्थ के हो त? यो अन्तिम चरणको अवधिमा, यदि यी मानिसहरूलाई पूर्ण र सिद्ध तुल्याइयो भने, तिनीहरूको पहिलेको जस्तो पुनर्जन्‍म हुनेछैन; मानव हुनुको तिनीहरूको प्रक्रिया, साथै तिनीहरूको पुनर्जन्मको प्रक्रिया पूर्ण रूपमा समाप्त भइसकेको हुनेछ। यो बस्‍नेहरूसँग सम्‍बन्धित छ। त्यसो भए, बस्‍न नसक्‍नेहरू कहाँ जान्छन् त? बस्‍न अनुमति नदिइनेहरूको आफ्‍नै उचित गन्तव्य हुन्छ। सर्वप्रथम, तिनीहरूको दुष्कर्म, तिनीहरूले गरेका गल्तीहरू, अनि तिनीहरूले गरेका पापहरूको परिणामस्वरूप, तिनीहरू पनि दण्डित हुनेछन्। तिनीहरूलाई दण्ड दिइसकिएपछि, परमेश्‍वरले परिस्‍थितिहरू अनुरूप कि त तिनीहरूलाई अविश्‍वासीहरूका बीचमा पठाउने बन्दोबस्त गर्नुहुनेछ कि त विश्‍वासका विभिन्‍न मानिसहरूका बीचमा पठाउने बन्दोबस्त गर्नुहुनेछ। अर्को शब्‍दमा भन्दा, तिनीहरूका लागि दुई वटा सम्भावित परिणाम हुन्छन्: एउटाचाहिँ दण्डित हुनु र पुनर्जन्‍म भएपछि निश्‍चित धर्मका मानिसहरूका बीचमा जिउनु, र अर्कोचाहिँ अविश्‍वासीहरू बन्‍नु। यदि तिनीहरू अविश्‍वासीहरू बने भने, तिनीहरूले सबै अवसर गुमाउनेछन्; तैपनि, यदि तिनीहरू विश्‍वासका मानिसहरू बने भने—उदाहरणको लागि, यदि तिनीहरू इसाई बने भने—तिनीहरूसँग अझै पनि परमेश्‍वरका चुनिएका मानिसहरूको दर्जामा फर्कने अवसर हुनेछ; यसमा अत्यन्तै जटिल सम्‍बन्धहरू छन्। छोटकरीमा, यदि परमेश्‍वरका चुनिएका मानिसहरूमध्ये एक जनाले परमेश्‍वरलाई रिस उठाउने कुनै काम गर्छ भने, तिनीहरूलाई अरू कुनै व्यक्तिलाई जस्तै दण्ड दिइनेछ। उदाहरणको लागि, पावललाई लिऊँ, जसको बारेमा हामीले पहिले नै कुरा गरिसकेका छौं। पावल दण्डित हुने व्यक्तिको एउटा उदाहरण हो। मैले केको बारेमा कुरा गरिरहेको छु के त्यो तिमीहरूले बुझ्दैछौ? के परमेश्‍वरका चुनिएका मानिसहरूको क्षेत्र निश्‍चित गरिएको हुन्छ? (प्राय, गरिएको हुन्छ।) यसमध्ये धेरैजसो निश्‍चित गरिएको हुन्छ, तर यसको थोरै भाग निश्‍चित गरिएको हुँदैन। किन त्यसो हुन्छ त? मैले यहाँ सबैभन्दा स्पष्ट कारणको बारेमा उल्‍लेख गरेको छु: दुष्ट कार्य गर्नु। जब मानिसहरूले दुष्ट कार्य गर्छन्, परमेश्‍वरले तिनीहरूलाई चाहनुहुन्‍न, र जब परमेश्‍वरले तिनीहरूलाई चाहनुहुन्‍न, तब उहाँले तिनीहरूलाई विभिन्‍न जाति र प्रकारका मानिसहरूका बीचमा फ्याँक्‍नुहुन्छ। यसले तिनीहरूलाई आशाविहीन तुल्याउँछ र तिनीहरू फर्कने कार्य कठिन हुन्छ। यो सबै परमेश्‍वरलाई पछ्याउने मानिसहरूको जीवन र मृत्युको चक्रसँग सम्‍बन्धित छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १०

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्