परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १७२

15 जनवरी 2023

३. ध्वनि

तेस्रो कुरा के हो? यो पनि मानव अस्तित्वको सामान्य वातावरणको निम्ति आवश्यक हिस्सा हो र परमेश्‍वरले सबै थोकको सृष्टि गर्नुहुँदा यसको निम्ति पनि बन्दोबस्त गर्नुपरेको थियो। यो परमेश्‍वर र हरेक मानवजातिको निम्ति अत्यन्तै महत्त्वपूर्ण कुरा हो। यदि परमेश्‍वरले यस कुराको बन्दोबस्त नगर्नुभएको भए, यसले मानवजातिको अस्तित्वलाई धेरै बाधा दिनेथियो, अर्थात् यसले मानिसको जीवन र उसको देहको शरीरलाई यति धेरै प्रभाव पार्नेथियो कि त्यस्तो वातावरणमा मानवजाति बाँच्‍न सक्‍नेथिएन। त्यस्तो वातावरणमा त कुनै पनि जीवित प्राणी बाँच्‍न सक्‍नेथिएन भनेर भन्‍न सकिन्छ। त्यसैले, मैले बताइरहेको यो कुरा के हो त? म ध्वनिको बारेमा कुरा गरिरहेको छु। परमेश्‍वरले हरेक थोकको सृष्टि गर्नुभयो र हरेक कुरा परमेश्‍वरको हातभित्र जिउँछन्। परमेश्‍वरको सृष्टिका सबै थोक उहाँको नजरमा जीवित रहन्छन् र निरन्तर चलायमान हुन्छन्। मैले यसो भन्‍नुको तात्पर्य के हो भने, परमेश्‍वरले सृष्टि गर्नुभएका हरेक कुराहरूको अस्तित्वको मूल्य र अर्थ छ; अर्थात् हरेक थोकको अस्तित्वको महत्त्व छ। परमेश्‍वरको नजरमा, हरेक थोक जीवित छन्, र सबै थोक जीवित रहेका हुनाले, ती सबैले ध्वनि निकाल्छन्। उदाहरणको निम्ति, पृथ्वी निरन्तर घुमिरहेको छ, सूर्य निरन्तर घुमिरहेको छ र चन्द्रमा पनि निरन्तर घुमिरहेको छ। हरेक थोक वृद्धि हुन्छन्, बढ्छन् र चल्छन्, तिनीहरूले निरन्तर ध्वनि निकालिरहेका हुन्छन्। पृथ्वीमा अस्तित्वमा रहने परमेश्‍वरका सृष्टिका यी सबै थोक निरन्तर वृद्धि हुने, विकास हुने र चलायमान हुने गर्छन्। उदाहरणको निम्ति, पर्वतका जगहरू चलिरहेका र सरिरहेका हुन्छन् र समुद्रका गहिराइका सबै जीवित प्राणीहरू पौडिरहेका र चलिरहेका हुन्छन्। यसको अर्थ के हो भने, परमेश्‍वरको नजरमा सबै थोक स्थापित ढाँचाअनुसार अटुट रूपमा, निरन्तर चलिरहेका हुन्छन्। यसैले, यी सबै अन्धकारमा वृद्धि र विकास हुने र गुप्त रूपमा चल्ने कुराहरूले केलाई अस्तित्वमा ल्याउँछन् त? ध्वनि—ठूला, शक्तिशाली ध्वनिहरू। पृथ्वी ग्रहभन्दा बाहिर, सबै किसिमका ग्रहहरू निरन्तर चलिरहेका छन् र यी ग्रहहरूमा भएका जीवित प्राणी र जीवहरू निरन्तर वृद्धि हुने, विकास हुने र चल्ने गरिरहेका छन्। यसर्थ, जीवन भएका र जीवन नभएका सबै थोक परमेश्‍वरको नजरमा अगाडि बढिरहेका छन् र यस दौरान तिनीहरू सबैले ध्वनि उत्पादन गरिरहेका छन्। परमेश्‍वरले यी ध्वनिहरूको निम्ति पनि बन्दोबस्त गर्नुभएको छ र उहाँले यसो गर्नुपछाडिको कारण तिमीहरूलाई पहिले नै थाहा छ भन्‍ने मलाई विश्‍वास छ, छैन त? जब तँ कुनै हवाइजहाजको नजिक जान्छस्, तब त्यसको इन्जिनको गर्जनले तँलाई कस्तो असर पार्छ? यदि तँ लामो समयसम्म त्यसको नजिक बसिस् भने तेरा कानहरू बहिरा हुन्छन्। के तेरो हृदयले त्यस्तो कष्टप्रद अनुभूतिलाई सहन सक्छ? कमजोर हृदय भएका केही मानिसहरूले यसो गर्न सक्दैनन्। अवश्य नै, बलिया हृदय भएकाहरूले पनि लामो समयसम्म यसलाई सहन सक्दैनन्। भन्‍नुको तात्पर्य, चाहे यो कान होस् या हृदय होस्, ध्वनिले मानव शरीरमा पुर्‍याउने असर हरेक मानवको निम्ति अत्यन्तै महत्त्वपूर्ण हुन्छ र धेरै ठूला ध्वनिहरूले मानिसहरूलाई हानि पुर्‍याउँछन्। यसैले, परमेश्‍वरले सबै थोकको सृष्टि गर्नुहुँदा र पछि तिनीहरूले सामान्य रूपले कार्य गर्न सुरु गरेपछि, चलायमान हुने सबै थोकको आवाज, अर्थात् यी आवाजहरूको निम्ति परमेश्‍वरले उचित प्रबन्ध गर्नुभयो। मानवजातिको निम्ति वातावरणको सृष्टि गर्ने क्रममा, परमेश्‍वरले ध्यान दिनुपरेको कुरामध्ये एउटा यो पनि हो।

सर्वप्रथम त, पृथ्वीको सतहमाथिको वायुमण्डलको उचाइले पनि ध्वनिलाई प्रभाव पार्छ। यसका अतिरिक्त, माटोमा भएका विभिन्‍न आकारका खाली ठाउँहरूले पनि ध्वनिलाई हेरफेर गर्छन् र प्रभाव पार्छन्। त्यसपछि विभिन्‍न भौगोलिक वातावरणका संगमहरूले पनि ध्वनिलाई प्रभाव पार्छन्। भन्‍नुको तात्पर्य, केही ध्वनिहरूलाई हटाउनको निम्ति परमेश्‍वरले निश्‍चित विधिहरूको प्रयोग गर्नुहुन्छ, ताकि मानव आफ्ना कान र हृदयले सहन सक्‍ने वातावरणमा बाँच्‍न सकोस्। नत्र त, मानवजातिको जीवनमा ठूलो बाधा बनेर र तिनीहरूको निम्ति गम्भीर समस्या उत्पन्‍न गरेर ध्वनिहरूले मानवजातिको अस्तित्वमा ठूलो बाधा-व्यवधान खडा गर्छन्। यसको अर्थ के हो भने जमिन, वायुमण्डल र विभिन्‍न किसिमका भौगोलिक वातावरणको सृष्टि गर्ने क्रममा परमेश्‍वरले विशेष ध्यान दिनुभयो र यी हरेकमा परमेश्‍वरको बुद्धि सामेल छ। यससम्‍बन्धी मानवजातिको बुझाइ धेरै विस्तृत हुनु आवश्यक छैन—यिनमा परमेश्‍वरका कार्यहरू समावेश छन् भन्‍ने कुरा जान्‍नु नै मानिसहरूको निम्ति पर्याप्त छ। अब तिमीहरूले मलाई भन, ध्वनिलाई एकदमै सटीक रूपमा मापन गरेर मानवजातिको बाँच्‍ने वातावरण र तिनीहरूको सामान्य जीवनलाई कायम गर्नको निम्ति परमेश्‍वरले गर्नुभएको यो काम आवश्यक थियो? (हो, थियो।) यो काम आवश्यक थियो, त्यसकारण, यस दृष्टिकोणले हेर्दा, के परमेश्‍वरले सबै थोकलाई आवश्यक कुराहरू उपलब्ध गराउनको निम्ति यो कामको प्रयोग गर्नुभयो भनेर भन्‍न सकिन्छ? परमेश्‍वरले मानवजातिको प्रावधानको निम्ति यस्तो शान्त वातावरणको सृष्टि गर्नुभयो ताकि मानव शरीर सामान्य तवरले कुनै बाधाको सामना नगरी यसभित्र बाँच्‍न सकोस् र मानवजाति सामान्य तवरले अस्तित्वमा रहन र जिउन सकोस्। त्यसो भए, के परमेश्‍वरले मानवजातिलाई आवश्यक कुराहरू उपलब्ध गराउनुहुने तरिकाहरूमध्ये एउटा यही होइन र? के यो परमेश्‍वरले गर्नुभएको अत्यन्तै महत्त्वपूर्ण कुरा थिएन र? (थियो।) यसको निकै ठूलो आवश्यकता थियो। अनि तिमीहरूले यसलाई कसरी बुझ्यौ त? यो परमेश्‍वरको कार्य हो भन्‍ने कुरालाई तिमीहरूले महसुस गर्न नसके तापनि वा त्यस बेला परमेश्‍वरले यसो गर्नुभएको हो भनेर तिमीहरूलाई थाहा नभए पनि, के परमेश्‍वरले यो कुरा गर्नु आवश्यक थियो भन्‍ने कुरालाई तिमीहरूले अझै पनि महसुस गर्न सक्छौ? के तिमीहरूले परमेश्‍वरको बुद्धि र उहाँले यसमा लगाउनुभएको वास्ता र सोचलाई महसुस गर्न सक्छौ? (हो, हामी सक्छौं।) यदि तिमीहरू यसलाई महसुस गर्न सक्छौ भने, यो नै पर्याप्त छ। परमेश्‍वरले आफ्नो सृष्टिका थोकहरू माझ धेरै कार्य गर्नुभएको छ जुन मानिसहरूले न त महसुस गर्न सक्छन् न त देख्‍न नै सक्छन्। तिमीहरूलाई परमेश्‍वरका कार्यहरूको बारेमा जानकारी दिनलाई मैले यो कुरा उठाएको हुँ, ताकि तिमीहरूले परमेश्‍वरलाई चिन्‍न सक। तिमीहरूलाई परमेश्‍वरको बारेमा जान्‍न र बुझ्‍नका निम्ति अझ राम्ररी सक्षम हुन सहयोग गर्न सक्‍ने सुराकहरू यिनै हुन्।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ८

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्