परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १६२

3 जुलाई 2021

हामीले शैतानको दुष्टताको बारेमा भर्खरै गरेको छलफलले सबैलाई मानिस अत्यन्तै ठूलो अप्रसन्‍नताको बीचमा जिउँछ र मानिसको जीवनलाई दुर्भाग्यले आक्रान्त पारेको छ भन्‍नेजस्तो अनुभव गराउँछ। तर अहिले मैले परमेश्‍वरको पवित्रता र उहाँले मानिसमा गर्नुहुने कामको बारेमा कुरा गर्दैगर्दा, त्यसले तिमीहरूलाई कस्तो अनुभव गराउँछ? (अत्यन्तै खुशी।) परमेश्‍वरले गर्नुहुने सबै कुरा, उहाँले मानिसको लागि परिश्रमको साथ बन्दोबस्त गर्नुहुने सबै कुरा निष्कलङ्क छन् भन्‍ने हामी देख्छौँ। परमेश्‍वरले गर्नुहुने सबै कुरा त्रुटि विहीन छन्, अर्थात् ती गल्तीरहित छन्, तिनमा कुनै सुधार गर्न, सुझाव दिन वा कुनै पनि परिवर्तन गर्न आवश्यक पर्दैन। हरेक व्यक्तिको लागि परमेश्‍वरले गर्नुहुने सबै कुरा शङ्‍काभन्दा बाहिर हुन्छन्; उहाँले हरेकलाई आफ्‍नै हातले डोर्‍याउनुहुन्छ, बितेर जाने हरेक क्षण उहाँले तेरो हेरचाह गर्नुहुन्छ र तँलाई कहिल्यै पनि छोड्नुभएको छैन। मानिसहरू यस प्रकारको वातावरणमा र यस प्रकारको पृष्ठभूमिमा हुर्कने क्रममा, के मानिसहरू वास्तवमा परमेश्‍वरकै हतकेलामा हुर्कन्छन् भनेर हामी भन्‍न सक्छौँ? (सक्छौँ।) त्यसो भए, के तिमीहरू अझै पनि रिक्तताको महसुस गर्छौ? के कसैले अझै पनि उदासपनको महसुस गर्छ? के परमेश्‍वरले मानवजातिलाई त्याग्‍नुभएको छ भन्‍ने कसैलाई लाग्छ? (लाग्दैन।) त्यसो भए, परमेश्‍वरले वास्तवमा के गर्नुभएको छ त? (उहाँले मानवजातिमाथि नजर राख्‍नुभएको छ।) परमेश्‍वरले आफूले गर्ने हरेक कुरामा महान् विचार र ध्यान लगाउनुहुन्छ भन्‍नेमा कुनै प्रश्‍न छैन। यति मात्र कहाँ हो र, आफ्‍नो कार्यलाई अघि बढाउने क्रममा, उहाँले त्यो सधैँ नै निसर्त गर्नुभएको छ। उहाँप्रति तँलाई अत्यन्तै गहन कृतज्ञताको महसुस गराउनको लागि उहाँले कहिल्यै पनि तिमीहरूमध्ये कसैलाई तेरो लागि उहाँले चुकाउनुभएको मूल्य जान्‍नुपर्छ भन्ने मापदण्ड तोक्नुभएको छैन। के परमेश्‍वरले तँलाई कहिल्यै यस्तो गर्न लगाउनुभएको छ? (छैन।) मानव जीवनको लामो मार्गमा, लगभग हरेक व्यक्तिले नै धेरै खतरनाक परिस्थितिहरूको अनुभव गरेको र धेरै परीक्षाहरूको सामना गरेको हुन्छ। किनभने शैतान सधैँ तँमाथि लगातार नजर लगाएर तेरै छेउमा खडा भइरहेको हुन्छ। जब विपत्तिले तँलाई प्रहार गर्छ, यसमा शैतान प्रकट हुन्छ; जब तँमाथि आपत्तिहरू आइपर्छन्, जब तेरो लागि कुनै पनि कुरा भनेजस्तो हुँदैन, जब तँ शैतानको जालोमा पर्छस्, यी कुराहरूबाट शैतानले निकै ठूलो आनन्द लिन्छ। परमेश्‍वरले के गरिरहनुभएको छ भन्‍ने विषयमा, बितेर जाने हरेक क्षणमा उहाँले तँलाई सुरक्षा दिइरहनुभएको हुन्छ, एकपछि अर्को दुर्भाग्यबाट र एकपछि अर्को विपत्तिबाट तँलाई तर्काइरहनुभएको हुन्छ। त्यसैकारणले म भन्छु कि मानिससँग भएको सबै कुरा—शान्ति र आनन्द, आशिष्‌ र व्यक्तिगत सुरक्षा—वास्तवमा परमेश्‍वरकै नियन्त्रणमा हुन्छ; उहाँले हरेक व्यक्तिको भाग्यलाई निर्देशित गर्नुहुन्छ र त्यसको निर्णय गर्नुहुन्छ। तर के कतिपय मानिसहरूले भनेजस्तै, परमेश्‍वरसँग आफ्‍नो हैसियतको बारेमा अत्यन्तै उच्‍च धारणा छ र? के परमेश्‍वरले तँलाई यस्तो घोषणा गर्नुहुन्छ, “म सबैभन्दा महान् छु। तिमीहरूमाथि हुकुम चलाउने म नै हुँ। तिमीहरूले मलाई कृपाको लागि बिन्ती गर्नैपर्छ, र अनाज्ञाकारीलाई मृत्युदण्ड दिइनेछ”? के परमेश्‍वरले मानवजातिलाई कहिल्यै यसरी धम्की दिनुभएको छ? (छैन।) के उहाँले कहिल्यै यसो भन्‍नुभएको छ, “मानवजाति भ्रष्ट छ, त्यसकारण तिनीहरूलाई मैले जसरी व्यवहार गरे पनि त्यसको कुनै मतलब हुँदैन, र तिनीहरूलाई जसरी व्यवहार गरे पनि हुन्छ; तिनीहरूको लागि मैले उचित बन्दोबस्त गरिरहनु पर्दैन”? के परमेश्‍वरले यसरी विचार गर्नुहुन्छ? के परमेश्‍वरले यसरी काम गर्नुभएको छ? (छैन।) यसको विपरीत, परमेश्‍वरले हरेक व्यक्तिलाई गर्ने व्यवहार तत्पर र जिम्‍मेवारीपूर्ण छ। उहाँले तँलाई तैँले आफैलाई व्यवहार गर्ने गरेको भन्दा अझै जिम्‍मेवारीपूर्ण व्यवहार गर्नुहुन्छ। के यो यस्तै होइन त? परमेश्‍वर लापरवाही साथ बोल्‍नुहुन्‍न, न त उहाँले आफ्‍नो उच्‍च हैसियतको तडकभडक गर्ने वा मानिसहरूलाई क्षुद्र रूपमा धोका दिने नै गर्नुहुन्छ। बरु उहाँ आफैले गर्न आवश्यक रहेका कुराहरूलाई उहाँले इमान्दारीपूर्वक र मौनतामा गर्नुहुन्छ। यी कुराहरूले मानिसमा आशिष्‌, शान्ति र आनन्द ल्याउँछ। तिनले मानिसलाई शान्तिपूर्ण तरिकाले र खुशीसाथ परमेश्‍वरको नजरमा र उहाँको परिवारमा ल्याउँछ; त्यसपछि तिनीहरू परमेश्‍वरको अघि जिउँछन् र सामान्य तर्क र सोचाइको साथ परमेश्‍वरको मुक्तिलाई स्वीकार गर्छन्। त्यसोभए के आफ्‍नो काममा परमेश्‍वर कहिल्यै मानिसप्रति धोकेबाज हुनुभएको छ? के उहाँले कहिल्यै मानिसलाई केही मनोहर कुराहरूले पहिले झुक्याएर आफ्‍नो पिठ्यूँ फर्काई दयाको झूटो प्रदर्शन गर्नुभएको छ? (छैन।) के परमेश्‍वरले कहिल्यै एउटा कुरा भनेर अर्को कुरा गर्नुभएको छ? के परमेश्‍वरले कहिल्यै रित्ता प्रतिज्ञाहरू गरेर उहाँले तिनीहरूका लागि यसो गर्न सक्‍नुहुन्छ वा तिनीहरूलाई यसो गर्न सहायता गर्नुहुन्छ भनी मानिसहरूलाई भन्दै फाइँफुट्टी लगाएर, गायब हुनुभएको छ? (छैन।) परमेश्‍वरमा कुनै छल, कुनै झूट छैन। परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ, र उहाँले गर्नुहुने सबै कुरामा उहाँ साँचो हुनुहुन्छ। मानिसहरूले भरोसा गर्ने एक मात्र व्यक्ति उहाँ नै हुनुहुन्छ; मानिसहरूले आफ्‍नो जीवन र आफूसँग भएका सबै कुरा सुम्‍पन सक्‍ने परमेश्‍वर उहाँ नै हुनुहुन्छ। परमेश्‍वरमा कुनै छल नभएको हुनाले, के परमेश्‍वर नै सबैभन्दा इमानदार हुनुहुन्छ भनेर हामी भन्‍न सक्छौँ? (सक्छौँ।) अवश्‍य नै हामी भन्‍न सक्छौँ! परमेश्‍वरमा लागू गर्दा “इमानदार” भन्‍ने शब्‍द अत्यन्तै कमजोर, अत्यन्तै मानवीय हुने भएकोले, हामीले प्रयोग गर्नको लागि अर्को कुन शब्‍द छ? मानव भाषाका सीमितताहरू यस्तै छन्। परमेश्‍वरलाई “इमानदार” भनी भन्‍नु अलिक अनुचित भए तापनि, अहिलेको लागि हामी यही शब्‍दको प्रयोग गर्नेछौँ। परमेश्‍वर विश्‍वासयोग्य र इमानदार हुनुहुन्छ। त्यसोभए जब हामी यी पक्षहरूका बारेमा कुरा गर्छौं, हामीले केलाई उल्‍लेख गरिरहेका हुन्छौँ? के हामीले परमेश्‍वर र मानिसको बीचमा भएका भिन्‍नताहरू अनि परमेश्‍वर र शैतानको बीचमा रहेका भिन्‍नताहरूका बारेमा उल्‍लेख गरिरहेका हुन्छौँ? हो, हामी त्यसो भन्‍न सक्छौँ। किनभने मानिसले परमेश्‍वरमा शैतानको भ्रष्ट स्वभावको एउटै छाप समेत देख्‍न सक्दैन। के मैले यसो भन्‍नु सही छ? आमेन? (आमेन!) शैतानको कुनै पनि दुष्ट स्वभाव परमेश्‍वरमा प्रकट भएको छैन। परमेश्‍वरले गर्नुहुने र प्रकट गर्नुहुने सबै कुरा पूर्ण रूपमा लाभदायक छ र त्यसले मानिसलाई सहायता गर्छ, सम्पूर्ण रूपले मानिसलाई भरणपोषण गर्नको लागि ती गरिन्छ, ती जीवनले भरिपूर्ण छ र मानिसलाई पछ्याउने बाटो र लिने दिशा प्रदान गर्छ। परमेश्‍वर भ्रष्ट हुनुहुन्‍न, यसको साथै, परमेश्‍वरले गर्नुहुने सबै कुरालाई अहिले हेर्दा, के परमेश्‍वर पवित्र हुनुहुन्छ भनेर हामी भन्‍न सक्छौँ? परमेश्‍वरमा मानवजातिको कुनै पनि भ्रष्ट स्वभाव छैन, न त भ्रष्ट मानवजातिको शैतानी स्वभावसँग मिल्ने कुनै कुरा नै छ, यस दृष्टिकोणबाट हामी परमेश्‍वर पूर्ण रूपमा पवित्र हुनुहुन्छ भनेर भन्‍न सक्छौँ। परमेश्‍वरले कुनै पनि भ्रष्टता प्रदर्शन गर्नुहुन्‍न, र उहाँले कार्य गर्नुहँदा उहाँको सार पनि प्रकट गर्नुहुन्छ जसले सम्पूर्ण रूपमा परमेश्‍वर पवित्र हुनुहुन्छ भन्‍ने कुरा पुष्टि गर्छ। के तिमीहरू यसलाई देख्छौ? परमेश्‍वरको पवित्र सारलाई जान्‍नको लागि, अब हामी यी दुई पक्षलाई हेरौँ: १) परमेश्‍वरमा भ्रष्ट स्वभावको कुनै छाप छैन; २) मानिसमा परमेश्‍वरले गर्नुहुने कार्यको सारले मानिसलाई परमेश्‍वरको आफ्‍नै सार देख्‍ने तुल्याउँछ, र यो सार पूर्ण रूपमा सकारात्मक छ। किनभने परमेश्‍वरको कार्यको हरेक भागले मानिसमा ल्याउने कुराहरू सबै सकारात्मक छन्। पहिलो, मानिस इमानदार होस् भन्‍ने माग परमेश्‍वर गर्नुहुन्छ—के यो सकारात्मक कुरा होइन र? परमेश्‍वरले मानिसलाई बुद्धि दिनुहुन्छ—के यो सकारात्मक छैन र? परमेश्‍वरले मानिसलाई असल र खराब छुट्याउन सक्‍ने तुल्याउनुहुन्छ—के यो सकारात्मक छैन र? उहाँले मानिसलाई मानव जीवनको अर्थ र मूल्य बुझ्‍ने तुल्याउनुहुन्छ—के यो सकारात्मक छैन र? उहाँले मानिसलाई सत्यता अनुसार मानिसहरू, घटना, र कुराहरूको सार देख्‍ने तुल्याउनुहुन्छ—के यो सकारात्मक छैन र? छ। अनि यो सबैको परिणाम के हो भने, मानिस उप्रान्त शैतानको धोकामा पर्दैन, उप्रान्त शैतानको हानी वा नियन्त्रणमा परिरहने छैन भन्‍ने हो। अर्को शब्‍दमा भन्दा, यी कुराहरूले मानिसहरूलाई शैतानको भ्रष्टताबाट आफैलाई पूर्ण रूपमा मुक्त गरेर, क्रमिक रूपमा परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट टाढा बस्‍ने मार्गमा हिँड्ने तुल्याउँछ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ६

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्