परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १५४

4 जनवरी 2023

शैतानले ज्ञानलाई चारोको रूपमा प्रयोग गर्छ। ध्यान दिएर सुन्: ज्ञान भनेको एक प्रकारको चारो मात्रै हो। मानिसहरूलाई दिन प्रतिदिन कडा मेहनतसाथ पढ्न र आफूलाई सुधार गर्न, ज्ञानलाई हतियार बनाएर आफैलाई त्यसद्वारा सुसज्‍जित पार्न, र विज्ञानको प्रवेशद्वार खुला गर्न ज्ञानलाई प्रयोग गर्न बहकाइन्छ; अर्को शब्‍दमा भन्दा, तैँले जति धेरै ज्ञान हासिल गर्छस्, तैँले त्यति नै बढी बुझ्‍नेछस्। शैतानले मानिसहरूलाई यी सबै कुराहरू बताउँछ; त्यसले मानिसहरूलाई महत्त्वाकाङ्क्षा र अभिलाषाहरू बढाउँदै लैजान निर्देशन दिँदै तिनीहरूले ज्ञान सिक्‍ने क्रममा उत्कृष्ट आदर्शहरू लिनुपर्छ भनी बताउँछ। मानिसहरूलाई थाहै नभई शैतानले तिनीहरूलाई यस्ता विभिन्‍न सन्देशहरू दिन्छ अनि अचेतन रूपमै यी कुराहरू सही वा लाभदायक छन् भनी महसुस गर्ने तुल्याउँछ। अनजानमै मानिसहरूले यो मार्गमा पाइला चाल्छन्, अनजानमै तिनीहरू आफ्‍नै आदर्शहरू र महत्त्वाकाङ्क्षाहरूद्वारा डोरिँदै जान्छन्। चरणबद्ध रूपमा, अनजानमै तिनीहरूले शैतानद्वारा दिइएको ज्ञानबाट महान् वा चर्चित मानिसहरूको सोच्‍ने शैलीहरू सिक्छन्। तिनीहरूले नायकहरू ठानिने मानिसहरूका कार्यबाट पनि केही कुरा सिक्छन्। यी नायकहरूका कार्यहरूमा शैतानले मानिसको लागि के वकालत गरिरहेको हुन्छ? यसले मानिसको मनमस्तिष्कभित्र के हाल्न चाहन्छ? मानिस देशभक्त हुनैपर्छ, उसमा राष्ट्रिय अखण्डता हुनुपर्छ, र ऊ नायकी उत्साह भएको व्यक्ति हुनुपर्छ। नायकी व्यक्तित्वहरूको ऐतिहासिक कथा वा जीवनीहरूबाट मानिसले के सिक्छ? व्यक्तिगत वफादारीताको भाव धारण गर्न, इष्टमित्र र दाजुभाइको लागि जेसुकै गर्न तयार रहन। शैतानको यो ज्ञानभित्र, मानिसले अनजानमै धेरै कुराहरू सिक्छ, जुन सकारात्मक छँदै-छैनन्। मानिसको अनभिज्ञतामाझ, शैतानद्वारा तयार गरिएका बीउहरू मानिसहरूको अपरिपक्‍व मनमस्तिष्कहरूमा छरिन्छ। यी बीउहरूले तिनीहरूलाई महान् व्यक्ति बन्‍नुपर्छ, चर्चित बन्‍नुपर्छ, नायक बन्‍नुपर्छ, देशभक्त बन्‍नुपर्छ, आफ्‍नो परिवारलाई प्रेम गर्ने व्यक्ति बन्‍नुपर्छ, र साथीको लागि जे पनि गर्ने व्यक्ति बन्‍नुपर्छ र व्यक्तिगत वफादारीताको भाव धारण गर्नुपर्छ भन्‍ने अनुभूति गराउँछ। शैतानको प्रलोभनमा परेर, अनजानमै तिनीहरू त्यसले तिनीहरूका लागि तयार गरेको बाटोमा हिँड्छन्। यो बाटोमा ओरालो लाग्‍ने क्रममा, तिनीहरूले शैतानका जिउने नियमहरू पछ्याउन बाध्य हुन्छन्। पूर्ण रूपमा अनभिज्ञ रहेर, जिउनको लागि तिनीहरूले आफ्‍नै नियमहरू निर्माण गर्छन्, तर ती शैतानका नियमहरू बाहेक केही पनि हुँदैनन् जसलाई त्यसले तिनीहरूको मनमस्तिष्कमा जबरजस्ती हालिदिएको हुन्छ। शैतानले तिनीहरूलाई तिनीहरूको सिकाइ प्रक्रियामा तिनीहरूका आफ्‍नै उद्देश्यहरू हुर्काउन र तिनीहरूका आफ्‍नै जीवन लक्ष्यहरू, जिउने नियमहरू र जीवन दिशा निर्धारित गर्न लगाउँछ र यस क्रममा मानिसहरूलाई तिनीहरू प्रलोभनमा परुन्जेल अलि-अलि गरी कथाहरू, जीवनीहरू र सम्‍भव भएका अरू सबै माध्यमहरूको प्रयोग गरेर तिनीहरूको मनमस्तिष्कमा शैतानका कुराहरू हालिदिन्छ। यसरी, तिनीहरूको सिकाइको अवधिमा, कतिले साहित्य, कतिले अर्थशास्‍त्र, अरूले खगोलविज्ञान वा भूगोल मन पराउँछन्। अनि कतिपयले राजनीतिशास्त्र मन पराउँछन्, कतिले भौतिकविज्ञान मन पराउँछन्, कतिलाई रसायनशास्त्र मन पर्छ, अनि अझै अरूलाई ईश्‍वरशास्‍त्र मन पर्छ। यी सबै वृहत् समग्रता अर्थात् ज्ञानका भागहरू हुन्। तिमीहरूको हृदयमा, यी सबै कुराहरू वास्तवमा केसँग सम्‍बन्धित छन् भन्‍ने तिमीहरू प्रत्येकलाई थाहा छ; तिमीहरू प्रत्येक नै यसभन्दा पहिले तिनको सम्पर्कमा आएका थियौ। तिमीहरू प्रत्येकले नै ज्ञानका एउटा वा अर्को हाँगाहरूका बारेमा अटुट रूपमा कुरा गरिरहन सक्छौ। यसरी मानिसहरूको मनमा यो ज्ञान कति गहिरो गरी प्रवेश गरेको छ भन्‍ने कुरा स्पष्ट हुन्छ; मानिसहरूका हृदयमा यो ज्ञानले लिएको स्थान अनि तिनीहरूमा यसको प्रभाव कति गहन छ भन्‍ने कुरालाई स्पष्टै देख्‍न सकिन्छ। कसैले ज्ञानको एउटा क्षेत्रप्रति आत्मीयता विकास गरिसकेपछि, जब व्यक्तिले यसलाई गहन रूपमा प्रेम गरेको हुन्छ, तब तिनीहरूले अनजानमै महत्त्वाकाङ्क्षाहरूको विकास गर्छन्: कतिपय मानिसहरू लेखक बन्‍न चाहन्छन्, कति जना साहित्यकार बन्‍न चाहन्छन्, कति जना राजनीतिलाई पेसा बनाउन चाहन्छन्, र कति जना अर्थशास्‍त्रमा संलग्‍न भएर व्यापारी बन्‍न चाहन्छन्। त्यसै गरी नायकहरू, महान् वा चर्चित बन्‍न चाहने मानिसहरू पनि छन्। कुनै व्यक्ति जस्तो प्रकारको व्यक्ति बन्‍न चाहे पनि, तिनीहरूको लक्ष्य भनेको ज्ञान सिक्‍ने यो विधिलाई लिएर तिनीहरूका आफ्‍नै फाइदाको लागि, तिनीहरूका आफ्‍नै इच्‍छाहरू, तिनीहरूका आफ्‍नै महत्त्वाकाङ्क्षाहरूको लागि प्रयोग गर्नु हो। यो जति नै राम्रो सुनिए पनि—तिनीहरूले आफ्‍ना सपनाहरू हासिल गर्न, आफ्‍नो जीवन बरबाद नगर्न, वा निश्‍चित पेसा अपनाउन चाहे पनि नचाहे पनि—तिनीहरूले यी उच्च आदर्श र महत्त्वाकाङ्क्षाहरू लिन्छन्, तर वास्तवमा यो सबै केका लागि हो त? के तिमीहरूले यसभन्दा पहिले कहिल्यै यो प्रश्‍नको बारेमा विचार गरेका छौ? शैतानले किन यस्तो कार्य गर्छ? यी कुराहरूलाई मानिसको मनमस्तिष्कमा राखिदिनुमा शैतानको के उद्देश्य छ? यो प्रश्‍नको विषयमा तिमीहरूको हृदय स्पष्ट हुनैपर्छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ६

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्