परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १४१

18 डिसेम्बर 2022

परमेश्‍वरले मानिसलाई सृष्‍टि गर्नुभयो र त्यसपछि परमेश्‍वरले मानिसको जीवनलाई निर्देशित गर्दै आउनुभएको छ। चाहे ती मानवजातिलाई आशिष् दिने कार्य हुन्, चाहे मानिसहरूका निम्ति व्यवस्था र आज्ञाहरू सृजना गर्ने काम हुन्, वा चाहे जीवनको निम्ति विभिन्‍न नियमहरू बनाउने कार्य नै हुन्—के तिमीहरूलाई यी कार्यहरू गर्नुमा परमेश्‍वरको अपेक्षित लक्ष्य के हो भन्‍ने थाहा छ? पहिलो, परमेश्‍वरले गर्नुहुने सबै कार्य मानवजातिको भलाइको निम्ति हो भनी के तिमीहरू निश्‍चयताका साथ भन्‍न सक्छौ? यो तिमीहरूका निम्ति भव्य तर खोक्रा वचनहरूजस्तो लाग्‍न सक्छ, तर त्यसभित्रको विस्तृत विवरण जाँच गर्ने हो भने, परमेश्‍वरले गर्नुहुने सबै कार्यको लक्ष्य मानिसलाई एक सामान्य जीवन जिउन अगुवाइ गर्नु वा मार्गदर्शन दिनु होइन र? चाहे मानिसलाई उहाँका नियमहरू अनुसरण गर्न लगाउने होस् वा उहाँको व्यवस्था पालन गर्न लगाउने कुरा होस्, मानिस पतन भएर शैतानको आराधना गर्ने नहोस् र शैतानले उसलाई हानि नगरोस् भन्‍ने नै परमेश्‍वरको लक्ष्य हो; यो अत्यन्तै आधारभूत कुरा हो, र सबैभन्दा सुरुमा यही कुरा नै गरिएको थियो। सबैभन्दा सुरुमा, जब मानिसले परमेश्‍वरको इच्छा बुझेको थिएन, त्यो बेला परमेश्‍वरले केही सरल व्यवस्था र नियमहरू बनाउनुभयो र कल्पना गर्न सकिने सबै कुरा समावेश हुने नीतिनियमहरू बनाउनुभयो। यी नीतिनियमहरू सरल छन्, तैपनि तिनीहरूभित्र परमेश्‍वरको इच्छा समावेश छन्। परमेश्‍वरले मानवजातिलाई मूल्यवान् ठान्‍नुहुन्छ, स्‍नेह गर्नुहुन्छ र अत्यन्त धेरै प्रेम गर्नुहुन्छ। त्यसो भए के हामी परमेश्‍वरको हृदय पवित्र छ भनी भन्‍न सक्छौँ? के हामी उहाँको हृदय सफा छ भनी भन्‍न सक्छौँ? (सक्छौं।) के परमेश्‍वरका कुनै थप अभिप्रायहरू छन्? (छैनन्।) के यो उहाँको लक्ष्य सही र सकारात्मक छ? परमेश्‍वरको कामको सिलसिलामा, उहाँले बनाउनुभएका सबै नीतिनियमहरूले मानिसमा सकारात्मक प्रभाव पारेका छन्, मानिसलाई अगुवाइ गरिरहेका छन्। के परमेश्‍वरको मनमस्तिष्कमा कुनै स्वार्थी विचारहरू छन्? मानिसको सन्दर्भमा के परमेश्‍वरका अन्य कुनै थप लक्ष्यहरू छन्? के परमेश्‍वरले मानिसलाई कुनै किसिमले प्रयोग गर्न चाहनुहुन्छ? अलिकति पनि चाहनुहुन्‍न। परमेश्‍वरले जे भन्‍नुहुन्छ, त्यही गर्नुहुन्छ, र उहाँका वचन र कार्यहरू उहाँको हृदयमा भएका उहाँका विचारहरूसँग मिल्छन्। कुनै कलङ्कित उद्देश्य, कुनै स्वार्थी विचारहरू छैनन्। उहाँले गर्नुहुने कुनै कुरा पनि उहाँको आफ्नै निम्ति होइन; उहाँले गर्नुहुने सबै कुरा मानिसकै निम्ति गर्नुहुन्छ, कुनै पनि निजी उद्देश्यहरू छैनन्। उहाँसँग मानिसमाथिका योजना र अभिप्रायहरू भए तापनि, ती कुनै पनि उहाँको आफ्नै निम्ति होइनन्। उहाँले गर्नुहुने सबै कुरा नितान्त रूपमा मानवजातिको निम्ति, मानवजातिको सुरक्षाको निम्ति, मानवजातिलाई गलत बाटोमा लाग्‍नबाट बचाउनको निम्ति छन्। के उहाँको यो हृदय अनमोल छैन र? के तैँले शैतानमा यस्तो अमूल्य हृदयको सानोभन्दा सानो अंशसमेत देख्‍न सक्छस् र? तैँले शैतानमा यसको सानो अंश पनि देख्‍न सक्दैनस्, तैँले यो विलकुलै देख्‍न सक्दैनस्। परमेश्‍वरले गर्नुहुने सबै कुरा स्वाभाविक रूपमा नै प्रकट हुन्छ। अब हामी परमेश्‍वरले काम गर्नुहुने तरिकालाई हेरौँ; उहाँले आफ्नो काम कसरी गर्नुहुन्छ? के उहाँले यी नीतिनियमहरू र उहाँका वचनहरूलाई पट्टी मन्त्रले टाउकोको पट्टी कसेझैँ हरेक मानिसको टाउकोमा कसेर हरेक मानवजातिमाथि थोपरिदिनुहुन्छ र? के उहाँले यस किसिमले काम गर्नुहुन्छ? (गर्नुहुन्‍न।) त्यसो भए उहाँले आफ्नो काम कसरी गर्नुहुन्छ त? के उहाँले धम्की दिनुहुन्छ? उहाँ तिमीहरूसँग बोल्‍नुहुँदा के उहाँले घुमाउरो कुरा गर्नुहुन्छ? (गर्नुहुन्‍न।) जब तैँले सत्यतालाई बुझ्दैनस्, परमेश्‍वरले तँलाई कसरी अगुवाइ गर्नुहुन्छ? उहाँले तँमा प्रकाश देखाउनुहुन्छ, यसो गर्नु सत्यतासँग मेल खाँदैन भनी स्पष्ट पारिदिनुहुन्छ, र तैँले के गर्नुपर्छ भनी बताइदिनुहुन्छ। परमेश्‍वरले काम गर्नुहुने यी तरिकाहरूबाट, परमेश्‍वरसँग तेरो कस्तो किसिमको सम्बन्ध छ भन्‍ने तँलाई लाग्छ? के परमेश्‍वर तेरो पहुँचभन्दा बाहिर हुनुहुन्छ भन्‍ने तँलाई लाग्छ? (होइन।) परमेश्‍वरले काम गर्नुहुने तरिका देखिसकेपछि तँलाई कस्तो महसुस हुन्छ? परमेश्‍वरका वचनहरू विशेष रूपमा वास्तविक छन्, र मानिससँगको उहाँको सम्बन्ध विशेष रूपमा सामान्य छ। परमेश्‍वर तेरो अत्यन्तै नजिक हुनुहुन्छ; परमेश्‍वर र तेरो बीचमा कुनै दूरी छैन। जब परमेश्‍वरले तँलाई अगुवाइ गर्नुहुन्छ, जब उहाँले तेरो भरणपोषण गर्नुहुन्छ, तँलाई मद्दत र समर्थन गर्नुहुन्छ, तब तैँले परमेश्‍वर कति प्रिय हुनुहुन्छ भन्‍ने तथ्यका साथै उहाँले उत्प्रेरित गर्नुहुने भक्ति महसुस गर्छस्; तैँले उहाँ कति प्रेमिलो हुनुहुन्छ भनी महसुस गर्छस्, तैँले उहाँको न्यानोपनलाई महसुस गर्छस्। तर जब परमेश्‍वरले तेरो भ्रष्‍टताको निन्दा गर्नुहुन्छ, वा तैँले उहाँको विरोध गरेको कारण उहाँले तेरो न्याय गर्नुहुन्छ र तँलाई अनुशासनमा राख्‍नुहुन्छ, तब उहाँले कुन विधि प्रयोग गर्नुहुन्छ? के उहाँले तँलाई वचनहरूद्वारा निन्दा गर्नुहुन्छ? के उहाँले तँलाई तेरो वातावरणद्वारा र मानिस, मामिला, र वस्तुहरूद्वारा अनुशासनमा राख्‍नुहुन्छ? (हो।) परमेश्‍वरले तँलाई कुन हदसम्म अनुशासनमा राख्‍नुहुन्छ? के परमेश्‍वरले मानिसलाई शैतानले हानि पुर्‍याउने हदसम्म नै अनुशासनमा राख्‍नुहुन्छ? (होइन। परमेश्‍वरले मानिसलाई उसले सहन सक्‍ने हदसम्म मात्र अनुशासनमा राख्‍नुहुन्छ।) परमेश्‍वरले भद्र, कोमल, प्रेमिलो र वास्ता गर्ने तरिकाले काम गर्नुहुन्छ, जुन असाधारण रूपमा होसियार र उचित तरिका हो। उहाँको तरिकाले तँमा तीव्र भावनात्मक प्रतिक्रिया उत्पन्‍न गर्दैन, जस्तै: “परमेश्‍वरले मलाई यसो गर्न दिनुपर्छ” वा “परमेश्‍वरले मलाई त्यसो गर्न दिनुपर्छ।” परमेश्‍वरले तँलाई त्यस्तो मानसिक वा भावनात्मक तीव्रता दिनुहुन्‍न जसले गर्दा परिस्थिति असहनीय होस्। यस्तै हुन्छ, होइन र? जब तैँले परमेश्‍वरको न्याय र सजायका वचनहरूलाई स्वीकार गर्छस् तब तैँले कस्तो महसुस गर्छस्? जब तैँले परमेश्‍वरको अख्तियार र शक्तिको अनुभूति गर्छस्, तब तैँले कस्तो महसुस गर्छस्? के तैँले परमेश्‍वर ईश्‍वरीय र उल्लङ्‍घन गर्न नसकिने हुनुहुन्छ भन्‍ने महसुस गर्छस्? के यस्ता समयहरूमा तँ र परमेश्‍वरबीचमा दूरी भएको महसुस गर्छस्? के तैँले परमेश्‍वरको भय महसुस गर्छस्? होइन—बरु तैँले परमेश्‍वरप्रति भयपूर्ण आदर महसुस गर्छस्। के परमेश्‍वरको कामको कारण मानिसहरूले यी सबै कुराहरू महसुस गर्दैनन् र? यदि काम गर्ने शैतान भएको भए के तिनीहरूले यी सबै कुराहरू महसुस गर्नेथिए? बिलकुलै गर्नेथिएनन्। परमेश्‍वरले मानिसलाई निरन्तर भरणपोषण गर्न, मानिसलाई मद्दत गर्न आफ्ना वचनहरू, आफ्नो सत्यता र आफ्नो जीवन प्रयोग गर्नुहुन्छ। जब मानिस कमजोर हुन्छ, जब मानिसले निराश महसुस गर्छ, तब परमेश्‍वर निश्‍चय नै कठोर भएर बोल्‍नुहुन्‍न: “निराश महसुस नगर्। निराश हुनुपर्ने के कुरा छ र? किन तँ कमजोर छस्? कमजोर हुनुपर्ने कारण के छ र? तँ सधैँ यति कमजोर हुन्छस्, र तँ सधैँ नकारात्मक हुन्‍छस्। जीवित हुनुको अर्थ के छ र? जा गएर मर् र त्यसलाई सिध्याइदे!” के परमेश्‍वरले यस किसिमले काम गर्नुहुन्छ? (गर्नुहुन्‍न।) के परमेश्‍वरसँग यस किसिमले काम गर्ने अख्तियार छ? हो, उहाँसँग छ। तैपनि परमेश्‍वरले यस किसिमले काम गर्नुहुन्‍न। उहाँको सार, उहाँको पवित्रताको सारको कारण परमेश्‍वरले यस किसिमले काम गर्नुहुन्‍न। मानिसको निम्ति उहाँको प्रेम, उहाँले मानिसलाई बहुमूल्य ठान्‍नुहुने, र स्‍नेह गर्नुहुने कुरालाई एक वा दुई वाक्यहरूमा स्पष्‍टसँग व्यक्त गर्न सकिँदैन। यो मानिसको घमण्डले ल्याएको कुरा होइन, यो त परमेश्‍वरले वास्तविक अभ्यासद्वारा ल्याउनुहुने कुरा हो; यो परमेश्‍वरको सारको प्रकाश हो। परमेश्‍वरले काम गर्नुहुने यी सबै तरिकाहरूबाट के मानिसले परमेश्‍वरको पवित्रतालाई देख्‍न सक्छ? परमेश्‍वरका असल अभिप्रायहरूलगायत, परमेश्‍वरले मानिसमाथि ल्याउन चाहनुभएका प्रभावहरूलगायत, मानिसमा काम गर्न परमेश्‍वरले अपनाउनुहुने विभिन्‍न तरिकाहरूलगायत, उहाँले गर्नुहुने प्रकारको कामलगायत, उहाँ मानिसले जे बुझेको चाहनुहुन्छ सोलगायत परमेश्‍वरले काम गर्नुहुने यी सबै तौरतरिकाहरूमा—परमेश्‍वरका यी असल अभिप्रायहरूमा तैँले कुनै दुष्‍टता वा छल देखेको छस्? (छैन।) त्यसो भए, परमेश्‍वरले गर्नुहुने सबै कुरामा, परमेश्‍वरले भन्‍नुहुने सबै कुरामा, उहाँले आफ्नो हृदयमा विचार गर्नुहुने सबै कुरामा, साथै उहाँले प्रकट गर्नुहुने उहाँका सबै सारहरूमा—के हामी परमेश्‍वरलाई पवित्र भन्‍न सक्छौँ? (सक्छौं।) के कुनै मानिसले संसारमा वा आफैभित्र यो पवित्रतालाई देखेको छ? के परमेश्‍वरबाहेक तैँले यसलाई कुनै मानवजाति वा शैतानमा देखेको छस्? (छैन।) यहाँसम्मको हाम्रो छलफलको आधारमा के हामी परमेश्‍वरलाई अद्वितीय, पवित्र परमेश्‍वर स्‍वयम्‌ भनी भन्‍न सक्छौँ? (सक्छौँ।) परमेश्‍वरका वचनहरू, मानिसमा परमेश्‍वरले काम गर्नुहुने तरिका, मानिसलाई परमेश्‍वरले बताउनुहुने कुरा, मानिसलाई परमेश्‍वरले स्मरण गराउनुहुने कुरा, उहाँले दिनुहुने परामर्श र उत्साहलगायत परमेश्‍वरले मानिसलाई दिनुहुने सबै कुरा—यो सबै एउटै सारबाट उत्पन्‍न हुन्छ र त्यो हो परमेश्‍वरको पवित्रता। यदि यस किसिमको पवित्र परमेश्‍वर नहुनुभएको भए, कुनै पनि मानिसले उहाँले गर्नुहुने काम गर्न उहाँको स्थान लिन सक्‍नेथिएन। यदि परमेश्‍वरले यी मानिसहरूलाई पूर्ण रूपमा शैतानको हातमा सुम्पिदिनुभएको भए, आज तिमीहरू सबै जना कस्तो अवस्थामा हुनेथियौ भनी के तिमीहरूले कहिल्यै विचार गरेका छौ? के तिमीहरू सबै जना यहाँ पूर्ण र सुरक्षित भएर बसिरहेका हुन्थ्यौ? के तिमीहरूले पनि यसो भन्थ्यौ: “पृथ्वीमा यताउता हिँड्डुल गर्दै र तलमाथि गर्दै आएँ”? के तिमीहरू दुस्‍साहस, निर्धक्‍क र गर्वसाथ परमेश्‍वरको अगाडि विनालाज यस्ता वचनहरू बोल्‍न सक्थ्यौ? कुनै शङ्का छैन, तिमीहरूले अवश्य नै यसो गर्नेथियौ! मानिसप्रतिको शैतानको मनोवृत्तिले मानिसलाई शैतानको प्रकृति र सार परमेश्‍वरको भन्दा पूर्ण रूपमा फरक छ भनी देख्‍न मद्दत गर्छ। शैतानको सारमा त्यस्तो के कुरा छ, जुन परमेश्‍वरको पवित्रताभन्दा विपरीत हुन्छ? (शैतानको दुष्‍टता।) शैतानको दुष्‍ट प्रकृति परमेश्‍वरको पवित्रताको विपरीत छ। अधिकांश मानिसहरूले परमेश्‍वरको प्रकाश र परमेश्‍वरको पवित्रताको यो सारलाई पहिचान गर्न नसक्‍नुको कारण के हो भने, तिनीहरू शैतानको राज्यक्षेत्रमा, शैतानको भ्रष्‍टता र शैतानको घेराबन्दीमा जिउँछन्। तिनीहरूलाई पवित्रता भनेको के हो वा पवित्रताको परिभाषा कसरी दिने भन्‍ने थाहा छैन। तैँले परमेश्‍वरको पवित्रतालाई बुझे तापनि, तैँले यो परमेश्‍वरको पवित्रता हो भनी निश्‍चित रूपमा परिभाषित गर्न सक्दैनस्। यो परमेश्‍वरको पवित्रता सम्बन्धमा मानिसको ज्ञानमा निहित रहेको असमानता हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ४

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्