परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १३९

17 डिसेम्बर 2022

शैतान र यहोवा परमेश्‍वरबीचको संवाद (छनौट गरिएका खण्डहरू)

अय्यूब १:६-११ अहिले परमेश्‍वरका पुत्रहरू यहोवाको सामु उपस्थित हुन आउने दिन थियो, र शैतान पनि तिनीहरूसँगै आयो। अनि यहोवाले शैतानलाई भन्‍नुभयो, तँ कहाँबाट आइस्? तब शैतानले यसो भन्दै यहोवालाई जवाफ दियो, पृथ्वीमा यताउता हिँड्डुल गर्दै र तलमाथि गर्दै आएँ। अनि यहोवाले शैतानलाई भन्‍नुभयो, के तैँले मेरो सेवक अय्यूबलाई विचार गरेको छस्? त्योजस्तो सिद्ध र सोझो, परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने पृथ्वीमा कोही पनि छैन। त्यसपछि शैतानले यहोवालाई जवाफ दियो र भन्यो, के अय्यूबले परमेश्‍वरको भय त्यत्तिकै मान्छ र? के तपाईंले तिनको वरिपरि, र तिनको घरवरिपरि, र तिनीसँग भएका सबै थोकलाई चारैतिरबाट बार हाल्नुभएको छैन र? तपाईंले तिनको हातका कामहरूमा आशिष्‌ दिनुभएको छ र तिनको धनसम्पत्ति मुलुकभरि वृद्धि भएको छ। तर अहिले तपाईंको हात पसार्नुहोस्, र तिनीसँग भएका सबै थोक छोइदिनुहोस्, अनि तिनले तपाईंलाई सोझै सराप्‍नेछ।

अय्यूब २:१-५ फेरि परमेश्‍वरका पुत्रहरू यहोवाको सामु उपस्थित हुन आउने दिन थियो, र शैतान पनि तिनीहरूसँगै यहोवाको सामु आफूलाई प्रस्तुत गर्न आयो। अनि यहोवाले शैतानलाई भन्‍नुभयो, तँ कहाँबाट आइस्? तब शैतानले यसो भन्दै यहोवालाई जवाफ दियो, पृथ्वीमा यताउता हिँड्डुल गर्दै र तलमाथि गर्दै आएँ। अनि यहोवाले शैतानलाई भन्‍नुभयो, के तैँले मेरो सेवक अय्यूबलाई विचार गरेको छस्? त्योजस्तो सिद्ध र सोझो, परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने पृथ्वीमा कोही पनि छैन। अनि, त्यो अझै आफ्नो निष्ठामा दृढ छ, यद्यपि कुनै कारणविना नै त्यसलाई नष्ट पार्न तैँले मलाई त्यसको विरुद्धमा उक्साइस्। अनि शैतानले यहोवालाई जवाफ दियो र भन्यो, छालाको निम्ति छाला, हो, मानिसले आफ्नो जीवनको निम्ति आफूसँग भएको सब थोक दिनेछ। तर अहिले तपाईंको हात पसार्नुहोस् र त्यसको हाड र छालामा छोइदिनुहोस्, अनि त्यसले तपाईंलाई सोझै सराप्‍नेछ।

यी दुई खण्डहरूमा परमेश्‍वर र शैतानबीचको संवादको पूर्ण अंश पाइन्छ; यी खण्डहरूमा परमेश्‍वरले के भन्‍नुभयो र शैतानले के भन्यो भन्‍ने विवरण रहेको छ। परमेश्‍वरले धेरै बोल्‍नुभएन, र उहाँले अति सरल रूपमा बोल्‍नुभयो। के हामी परमेश्‍वरको सरल वचनमा उहाँको पवित्रतालाई देख्‍न सक्छौँ? कतिपयले यो सजिलोसँग गर्न सकिँदैन भनेर भन्‍नेछन्। त्यसो भए, के हामी शैतानको जवाफमा त्यसको घिनलाग्दोपन देख्‍न सक्छौँ? पहिले हामी यहोवा परमेश्‍वरले शैतानलाई कस्तो किसिमको प्रश्‍न सोध्‍नुभयो सो हेरौँ। “तँ कहाँबाट आइस्?” के यो सीधा प्रश्‍न होइन र? के यसमा कुनै गुप्‍त अर्थ छ त? छैन; यो त एउटा सीधा प्रश्‍न हो। यदि मैले तिमीहरूलाई “तँ कहाँबाट आइस्?” भनेर सोध्‍नुपर्‍यो भने, तिमीहरूले कसरी जवाफ दिनेथियौ? के यो जवाफ दिन गाह्रो प्रश्‍न हो? के तिमीहरूले “यताउता हिँड्डुल गर्दै र तलमाथि गर्दै आएँ” भनेर जवाफ दिनेथियौ? (थिएनौ।) तिमीहरूले यस किसिमले जवाफ दिनेथिएनौ। त्यसो भए, शैतानले यसरी जवाफ दिँदा तिमीहरूलाई कस्तो अनुभूति हुन्छ? (शैतान हास्यास्पद र छली भएको हामी महसुस गर्छौं।) मैले कस्तो महसुस गरिरहेको छु भनी के तिमीहरू बताउन सक्छौ? हरेकपटक जब म शैतानका यी वचनहरूलाई देख्छु, तब मलाई घृणाको महसुस हुन्छ, किनभने शैतान बोल्छ तर यसका वचनहरूमा कुनै सारतत्व हुँदैन। के शैतानले परमेश्‍वरको प्रश्‍नको जवाफ दियो? दिएन, शैतानले बोलेका शब्दहरू जवाफ थिएनन्, ती शब्दहरूको केही अर्थ थिएन। ती परमेश्‍वरको प्रश्‍नको उत्तर थिएनन्। “पृथ्वीमा यताउता हिँड्डुल गर्दै र तलमाथि गर्दै आएँ।” तैँले यी शब्‍दहरूबाट के बुझ्छस्? शैतान कहाँबाट आएको हो? के तिमीहरूले यो प्रश्‍नको जवाफ पाएका छौ त? (छैनौँ।) यही नै शैतानको धूर्त योजनाको “विशिष्ट प्रतिभा” हो—त्यसले वास्तवमा आफूले के भन्‍न खोजेको हो भनी कसैलाई पत्ता लगाउन दिँदैन। तैँले यी शब्दहरू सुनिसकेपछि पनि त्यसले के भन्‍न खोजेको हो भनी अझै छुट्याउन सक्दैनस्, यद्यपि त्यसले जवाफ भने दिइसकेको छ। तैपनि आफूले उत्तम रूपमा जवाफ दिएको छु भनी शैतानले विश्‍वास गर्छ। अनि तँचाहिँ कस्तो महसुस गर्छस् त? घिनाउँछस्? (हो।) अब तँ यी शब्दहरूको प्रत्युत्तरमा घिन महसुस गर्न थाल्छस्। शैतानका शब्दहरूमा केही निश्‍चित विशेषताहरू हुन्छन्: शैतानले जे बोल्छ त्यसले तँलाई टाउको कन्याउने बनाउँछ, तँ त्यसका शब्दहरूको स्रोत पत्ता लगाउन असक्षम हुन्छस्। कहिलेकाहीँ शैतानसँग मनसायहरू हुन्छन् र त्यसले जानाजानी बोल्छ, र कहिलेकाहीँ त्यसको आफ्नै प्रकृतिद्वारा सञ्‍चालित भई, यी शब्दहरू स्वतस्फूर्त रूपमा निस्कन्छन् र सीधै शैतानको मुखबाट आउँछन्। शैतानले यी शब्दहरूलाई मनन गर्दै लामो समय बिताउँदैन; यी शब्दहरूलाई विचारै नगरीकन व्यक्त गरिन्छ। जब परमेश्‍वरले शैतानलाई तँ कहाँबाट आएको होस् भनी सोध्‍नुभयो, तब त्यसले केही दोहोरो अर्थ लाग्‍ने शब्दहरूद्वारा जवाफ दियो। तैँले आफू धेरै अलमलिएको महसुस गर्छस्, तँलाई शैतान कहाँबाट आएको हो भनी ठ्याक्‍कै थाहा हुँदैन। तिमीहरूमाझ यस्तै किसिमले बोल्‍ने कोही छन्? यो कस्तो खालको बोल्ने तरिका हो त? (यो अस्पष्ट छ र यसले एक निश्‍चित जवाफ दिँदैन।) यस किसिमको बोल्‍ने तरिकालाई वर्णन गर्न हामी कस्ता शब्दहरूको प्रयोग गर्नुपर्छ? यो बहकाउने किसिमको र भ्रामक छ, छैन त? मानौँ, कोही आफूले हिजो के गरेका थियौँ भनी अरूलाई थाहा नहोस् भन्‍ने चाहन्छन्। तैँले तिनीहरूलाई सोध्छस्: “मैले तपाईंलाई हिजो देखेको थिएँ। तपाईं कहाँ जाँदै हुनुहुन्थ्यो?” तिनीहरू हिजो कहाँ गएका थिए भनी तिनीहरूले तँलाई सीधा कुरा बताउँदैनन्। बरु, तिनीहरू भन्छन्: “हिजोको दिन कस्तो व्यस्त दिन थियो। कस्तो थकान लगायो!” के तिनीहरूले तेरो प्रश्‍नको जवाफ दिए त? तिनीहरूले जवाफ त दिए, तर तिनीहरूले तैँले चाहेको जवाफ दिएनन्। योचाहिँ मानिसको बोलीभित्रको कुटिलताको “विशिष्ट प्रतिभा” हो। त्यसको अर्थ के हो भनी तैँले कहिल्यै पत्ता लगाउन सक्दैनस्, न त तँलाई तिनीहरूका शब्दहरूको स्रोत र अभिप्राय नै कहिल्यै थाहा हुन्छ। तिनीहरूले के कुरा लुकाउन खोजिरहेका छन् भनी तँलाई थाहा हुँदैन किनकि तिनीहरूको हृदयमा तिनीहरूको आफ्‍नै कथा हुन्छ—यो कपटीपन हो। के तिमीहरूको माझमा पनि प्रायजसो यसरी नै बोल्ने कोही छ? (हो।) त्यसो भए तिमीहरूको उद्देश्य के हो त? के कहिलेकाहीँ तिमीहरूका आफ्नै चाहनाहरूलाई सुरक्षित राख्‍न, कहिलेकाहीँ तिमीहरूको आफ्नै अभिमान, पद र छवि कायम राखिराख्‍न, र तिमीहरूको निजी जीवनका कुराहरू गोप्य राख्‍न हो? उद्देश्य जेसुकै होस्, यो तिमीहरूका रुचिहरूबाट अलग गर्न नसकिने हुन्छ, यो तिमीहरूका रुचिहरूसँग सम्बन्धित हुन्छ। के यो मानिसको प्रकृति होइन र? यस किसिमको प्रकृति भएको व्यक्ति शैतानसँग नजिकको सम्बन्ध भएको व्यक्ति हुन्छ, होइन भने त्यो त्यसको परिवार हुन्छ। हामी यसलाई यसरी भन्‍न सक्छौँ, के हामी त्यस्तै हुँदैनौँ र? सामान्यतया भन्‍नुपर्दा, यस्तो प्रकटीकरण घृणित र तिरस्कारयोग्य हुन्छ। अहिले तिमीहरूले पनि घिन महसुस गर्छौ, गर्दैनौ त? (गर्छौं।)

फेरि एकपटक पहिलो खण्डलाई हेरौँ, यसो भन्दै शैतानले यहोवाको प्रश्‍नको जवाफ दिन्छ: “के अय्यूबले परमेश्‍वरको भय त्यत्तिकै मान्छ र?” यहोवाले अय्यूबमाथि गर्नुभएको मूल्याङ्कनलाई शैतानले आक्रमण गर्न सुरु गरिरहेको छ, यो आक्रमण शत्रुताले भरिएको छ। “के तपाईंले तिनको वरिपरि, र तिनको घरवरिपरि, र तिनीसँग भएका सबै थोकलाई चारैतिरबाट बार हाल्नुभएको छैन र?” यो अय्यूबमाथि यहोवाले गर्नुभएको कामको बारेमा शैतानको बुझाइ र मूल्याङ्कन हो। शैतानले यसलाई यसरी मूल्याङ्कन गर्छ, र भन्छ: “तपाईंले तिनको हातका कामहरूमा आशिष्‌ दिनुभएको छ र तिनको धनसम्पत्ति मुलुकभरि वृद्धि भएको छ। तर अहिले तपाईंको हात पसार्नुहोस्, र तिनीसँग भएका सबै थोक छोइदिनुहोस्, अनि तिनले तपाईंलाई सोझै सराप्‍नेछ।” शैतानले सधैँ अस्पष्ट रूपमा बोल्छ, तर त्यसले यहाँ भने निश्‍चित शब्दहरू प्रयोग गरेको छ। तैपनि, यी शब्दहरू निश्‍चित अर्थमा बोलिएको भए तापनि त्यो यहोवा परमेश्‍वरमाथिको, अर्थात् परमेश्‍वर स्वयम्‌को विरुद्धमा गरिएको आक्रमण, ईश्‍वर निन्दा र अवज्ञा हो। तिमीहरूले यी शब्दहरू सुन्दा कस्तो महसुस गर्छौ? के तिमीहरूले घृणा महसुस गर्छौ? के तिमीहरूले शैतानका अभिप्रायहरूलाई देख्‍न सक्छौ? सबैभन्दा पहिले, यहोवाले अय्यूबलाई परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने मान्छे भनी गर्नुभएको मूल्याङ्कनलाई शैतानले खण्डन गर्छ। त्यसपछि शैतानले अय्यूबले भनेका र गरेका सबै कुराहरूको खण्डन गर्छ, अर्थात्, त्यसले यहोवाप्रतिको अय्यूबको भयलाई खण्डन गर्छ। के यो दोष लगाउने किसिमको छैन र? शैतानले यहोवाले गर्नुहुने र भन्‍नुहुने सबै कुरालाई दोष लगाउँदै छ, खण्डन गर्दै छ र शङ्‍का गर्दै छ। त्यसले विश्‍वास गर्दैन, र भन्छ, “यदि तपाईंले स्थिति यस्तो छ भनेर भन्‍नुहुन्छ भने, मैलेचाहिँ कसरी देखिनछु? तपाईंले उसलाई त्यति धेरै आशिष् दिनुभएको छ, त्यसैले उसले कसरी तपाईंको भय नमान्‍न सक्छ र?” के यो परमेश्‍वरले गर्नुभएको सबै कामको खण्डन होइन र? दोषारोपण, खण्डन र ईश्‍वर निन्दा—के शैतानका शब्दहरू हमला होइनन् र? के यी कुराहरू शैतानले आफ्नो हृदयमा जे विचार गर्छ त्यसैको साँचो अभिव्यक्ति होइनन् र? यी शब्दहरू अहिले भर्खरै हामीले पढेका शब्दहरू “पृथ्वीमा यताउता हिँड्डुल गर्दै र तलमाथि गर्दै आएँ” भन्‍नेजस्ता निश्‍चय नै छैनन्। यी पूर्णतया फरक छन्। यी शब्दहरूद्वारा शैतानले आफ्नो हृदयमा भएका कुराहरूलाई पूर्णतया उदाङ्गो पार्छ—परमेश्‍वरप्रति त्यसको मनोवृत्ति र परमेश्‍वरप्रतिको अय्यूबको भयप्रति त्यसको घृणा। जब यस्तो हुन्छ, त्यसको द्वेष र दुष्‍ट प्रकृति पूर्णतया प्रकट हुन्छ। त्यसले परमेश्‍वरको भय मान्‍ने मानिसहरूलाई घृणा गर्छ, दुष्‍टताबाट अलग बस्‍ने मानिसहरूलाई घृणा गर्छ, र मानिसलाई आशिष् दिनुभएको कारण यहोवालाई झन् धेरै घृणा गर्छ। अय्यूबलाई परमेश्‍वरले आफ्नै हातले माथि उठाउनुभएको थियो, र शैतान अय्यूबलाई विनाश गर्न, उसलाई बरबाद पार्न यो अवसर उपयोग गर्न चाहन्छ, र त्यसले भन्छ: “तपाईं भन्‍नुहुन्छ अय्यूब तपाईंको भय मान्छ र दुष्‍टताबाट अलग बस्‍छ। म यसलाई फरक ढङ्गले हेर्छु।” त्यसले यहोवालाई उक्साउन र परीक्षा गर्न थुप्रै माध्यमहरू प्रयोग गर्छ र थुप्रै चाल चल्छ ताकि यहोवाले अय्यूबलाई शैतानले चाहेजस्तै गरी चालबाजी गर्न, हानि पुर्‍याउन र दुर्व्यवहार गर्न शैतानको हातमा सुम्पिदिऊन्। त्यसले परमेश्‍वरको दृष्‍टिमा धर्मी र सिद्ध ठहरिएको यस मानिसलाई नाश गर्न यो मौकाको फाइदा उठाउन चाहन्छ। के शैतानमा यस्तो किसिमको हृदय हुनुको कारण केवल क्षणिक आवेग मात्रै हो त? होइन, यो त्यस्तो होइन। यो लामो समयदेखिको योजना हो। जब परमेश्‍वरले काम गर्नुहुन्छ, कुनै व्यक्तिलाई वास्ता गर्नुहुन्छ, र उसलाई हेरचाह गर्नुहन्छ, र जब उहाँले त्यो व्यक्तिलाई कृपा र अनुमोदन प्रदान गर्नुहुन्छ, तब शैतान पनि त्यसको पछिपछि लाग्छ, र त्यसलाई फुस्ल्याउने, र हानि गर्ने प्रयास गर्छ। परमेश्‍वरले त्यो व्यक्तिलाई प्राप्त गर्न चाहनुभयो भने, शैतानले परमेश्‍वरलाई बाधा दिन आफ्नो भएभरको शक्ति लगाउँछ, र परीक्षा गर्न, बाधा दिन र परमेश्‍वरको कामलाई बिगार्न विभिन्‍न दुष्‍ट चालहरू प्रयोग गर्छ, र त्यसले आफ्नो गुप्‍त उद्देश्य हासिल गर्न यी सबै कार्य गर्छ। यो उद्देश्य के हो त? परमेश्‍वरले कुनै पनि व्यक्तिलाई प्राप्‍त गर्नुभएको त्यसले चाहँदैन; परमेश्‍वरले चाहनुभएका सबैलाई त्यसले आफ्नो कब्जामा लिन चाहन्छ, तिनीहरूलाई नियन्त्रण गर्न चाहन्छ, तिनीहरूलाई वशमा पार्न चाहन्छ, ताकि तिनीहरूले त्यसको आराधना गरून्, ताकि दुष्कर्म गर्नमा तिनीहरू त्यससँग हात मिलाऊन्, र परमेश्‍वरको विरोध गरून्। के यो शैतानको दुष्‍ट आशय होइन र? तिमीहरू प्रायजसो भन्छौ, शैतान अत्यन्त दुष्‍ट छ, अत्यन्त खराब छ, तर के तिमीहरूले त्यसलाई देखेका छौ? तिमीहरूले मानवजाति कति खराब छ भनेर देख्‍न सक्छौ; तर वास्तविक शैतान कति खराब छ भनी तिमीहरूले देखेका छैनौ। तर अय्यूबसँग सम्बन्धित मामलामा, तिमीहरूले शैतान कति दुष्‍ट छ भनेर देखेका छौ। यो मामलाले शैतानको घृणित मुहार र यसको सारलाई एकदमै स्पष्‍ट पारेको छ। परमेश्‍वरसँग युद्ध गर्ने क्रममा, र उहाँको पिछा गर्ने क्रममा, शैतानको उद्देश्य भनेको परमेश्‍वरले गर्न चाहनुभएको सबै कामलाई विनाश गर्नु, परमेश्‍वरले आफ्नो बनाउन चाहनुभएका मानिसहरूलाई कब्‍जा र नियन्त्रण गर्नु, र परमेश्‍वरले प्राप्त गर्न चाहनुभएकाहरूलाई पूर्ण रूपमा नष्ट गर्नु हो। यदि तिनीहरूलाई नष्ट गरिएन भने तिनीहरू शैतानको अधीनमा आउँछन्, शैतानद्वारा प्रयोग गरिन्छन्—त्यसको उद्देश्य यही हो। अनि परमेश्‍वरले के गर्नुहुन्छ? परमेश्‍वरले यो खण्डमा एउटा सरल वाक्य मात्र भन्‍नुहुन्छ; परमेश्‍वरले गर्नुहुने कार्यको बारेमा थप कुनै कुराको विवरण उल्लेख गरिएको छैन, तर शैतानले गर्ने र भन्‍ने कुराहरूको विवरण प्रशस्त छन्। पवित्रशास्‍त्रको निम्‍न खण्डमा यहोवाले शैतानलाई सोध्‍नुहुन्छ, “तँ कहाँबाट आइस्?” शैतानको जवाफ के हो? (अझै पनि “पृथ्वीमा यताउता हिँड्डुल गर्दै र तलमाथि गर्दै आएँ।”) अझै पनि उही वाक्य छ। यो शैतानको नारा, शैतानको परिचय बनेको छ। यो कसरी हुन सक्छ? के शैतान घृणायोग्य छैन र? निश्‍चय नै यो घृणित वाक्य एकपटक उच्‍चारण गर्नु नै पर्याप्‍त छ। किन शैतानले यो बारम्बार दोहोर्‍याइरहन्छ? यसले एउटा कुरालाई प्रमाणित गर्छ: शैतानको प्रकृति अपरिवर्तनीय छ। शैतानले आफ्नो कुरूप अनुहार लुकाउन ढोंगीपनको प्रयोग गर्न सक्दैन। परमेश्‍वरले त्यसलाई प्रश्‍न सोध्‍नुहुन्छ र त्यसले यसरी उत्तर दिन्छ। त्यसैले, कल्पना गर, त्यसले मानिसहरूसँग कसरी व्यवहार गर्छ! शैतान परमेश्‍वरसँग डराउँदैन, परमेश्‍वरको भय मान्दैन, र परमेश्‍वरको आज्ञापालन गर्दैन। त्यसले परमेश्‍वरको सामुन्‍ने अस्वाभाविक रूपमा अहङ्कारी बन्‍ने, परमेश्‍वरको प्रश्‍नलाई पन्साउन उही शब्दहरू प्रयोग गर्ने, परमेश्‍वरको प्रश्‍नको बारम्बार उही जवाफ दिने, यो जवाफ प्रयोग गरी परमेश्‍वरलाई गोलमालमा पार्ने दुष्प्रयास गर्छ—यो शैतानको कुरूप अनुहार हो। त्यसले परमेश्‍वरको सर्वशक्तिमान्‌ता र परमेश्‍वरको अख्तियारमा विश्‍वास गर्दैन, र निश्‍चय नै त्यो परमेश्‍वरको प्रभुत्वमा समर्पित हुन इच्छुक छैन। त्यो निरन्तर रूपमा परमेश्‍वरको विरुद्धमा रहन्छ, परमेश्‍वरले गर्नुहुने सबै कामलाई निरन्तर आक्रमण गर्छ, परमेश्‍वरले गर्नुभएको सबै कामलाई विनाश गर्ने प्रयत्‍न गर्छ—यो नै त्यसको दुष्ट उद्देश्य हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ४

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्