परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १००

20 नोभेम्बर 2022

अख्‍तियार स्वयम्‌लाई परमेश्‍वरको शक्तिको रूपमा व्याख्या गर्न सकिन्छ। पहिलो, अख्‍तियार र शक्ति दुवै सकारात्मक छन् भनेर निश्‍चितताको साथ भन्‍न सकिन्छ। कुनै पनि नकारात्मक कुरासँग तिनको कुनै सम्‍बन्ध छैन, र सृष्टि गरिएका वा सृष्टि नगरिएका कुनै पनि प्राणीसँग ती सम्‍बन्धित छैनन्। परमेश्‍वरको शक्तिले जीवन र जीवन-शक्ति भएको कुनै पनि स्वरूपको कुराहरूलाई सृष्टि गर्न सक्छ, र यसलाई परमेश्‍वरको जीवनले नै निर्धारित गरेको हुन्छ। परमेश्‍वर जीवन हुनुहुन्छ, त्यसकारण उहाँ सबै जीवित प्राणीहरूको स्रोत हुनुहुन्छ। यसको साथै, परमेश्‍वरको अख्‍तियारले हरेक जीवित प्राणीलाई परमेश्‍वरको हरेक वचन पालन गर्ने तुल्याउँछ, अर्थात् परमेश्‍वरको मुखबाट निस्केका वचनहरू अनुसार अस्तित्वमा आउने, र परमेश्‍वरको आज्ञा अनुसार जिउने र सन्तान उत्पादन गर्ने तुल्याउँछ, जसपछि परमेश्‍वरले सबै जीवित प्राणीहरूमाथि शासन गर्नुहुन्छ र हुकुम चलाउनुहुन्छ, र कहिल्यै पनि त्यसमा तलमाथि हुनेछैन, सदासर्वदा नै। कुनै पनि व्यक्ति वा वस्तुमा यी कुराहरू छैन; सृष्टिकर्तामा मात्रै त्यस्तो शक्ति छ र उहाँले मात्रै त्यस्तो शक्ति बोक्‍नुहुन्छ, त्यसैले यसलाई अख्तियार भनिन्छ। सृष्टिकर्ताको अद्वितीयपन यही नै हो। त्यसैले, चाहे यो “अख्‍तियार” शब्‍द मात्रै होस् वा यो अख्तियारको सार होस्, प्रत्येकलाई सृष्टिकर्तासँग मात्रै सम्‍बन्धित गर्न सकिन्छ, किनभने यो सृष्टिकर्ताको अद्वितीय पहिचान र सारको प्रतीक हो, र यसले सृष्टिकर्ताको पहिचान र हैसियतलाई प्रतिनिधित्व गर्छ; सृष्टिकर्ता बाहेक, कुनै पनि व्यक्ति वा थोकलाई “अख्‍तियार” भन्‍ने शब्दसँग सम्‍बन्धित गर्न सकिँदैन। सृष्टिकर्ताको अद्वितीय अख्‍तियारको अर्थ-अनुवाद यही नै हो।

शैतानले अय्यूबमाथि लोभी नजरले हेरेको भए तापनि, परमेश्‍वरको अनुमतिविना त्यसले अय्यूबको शरीरको एउटा रौँ समेत छुने आँट गरेन। शैतान अन्तर्निहित रूपमा दुष्ट र निर्दयी भए तापनि, परमेश्‍वरले त्यसको लागि उहाँको आदेश जारी गरिसक्‍नुभएपछि, परमेश्‍वरको आज्ञालाई पालना गर्ने बाहेक त्योसँग केही विकल्‍प थिएन। यसरी, जब त्यो अय्यूबकहाँ आयो त्यो भेडाको बीचमा ब्‍वाँसो झैँ अनियन्त्रित भएको भए तापनि, परमेश्‍वरले त्यसको निम्ति तोकिदिनुभएका सीमितताहरूलाई बिर्सने आँट त्यसले गरेन, परमेश्‍वरका आदेशहरूलाई उल्‍लङ्घन गर्ने आँट गरेन, र त्यसले गरेको सबै कुरामा, शैतानले परमेश्‍वरका वचनहरूका सिद्धान्त र सीमितताहरूबाट दायाँ-बायाँ गर्ने आँट गरेन—के यो तथ्य होइन र? यसबाट के देख्‍न सकिन्छ भने शैतानले यहोवा परमेश्‍वरका कुनै पनि वचनहरूलाई अवहेलना गर्ने आँट गर्दैन। शैतानको लागि, परमेश्‍वरको मुखबाट निस्केको हरेक वचन आदेश र स्वर्गीय कानुन, परमेश्‍वरको अख्तियारको अभिव्यक्ति हो—किनभने परमेश्‍वरको वचनको पछाडि परमेश्‍वरका आदेशहरूलाई उल्‍लङ्घन गर्नेहरू, र स्वर्गीय कानुनहरूलाई अवज्ञा गर्ने र विरोध गर्नेहरूलाई दिइने परमेश्‍वरका दण्डहरू सङ्केत गरिएको हुन्छ। यदि त्यसले परमेश्‍वरका आदेशहरू उल्‍लङ्घन गर्‍यो भने, परमेश्‍वरको अख्‍तियारलाई नाघेको र स्वर्गीय नियमहरूलाई विरोध गरेको परिणामहरूलाई त्यसले स्वीकार गर्नैपर्छ भन्‍ने कुरा शैतानलाई स्पष्टै थाहा छ। यी परिणामहरू आखिर के-के हुन् त? अवश्य नै, ती परमेश्‍वरले त्यसलाई दिनुहुने दण्ड हुन्। अय्यूबप्रति शैतानले गरेका कार्यहरू त्यसले मानिसलाई कति भ्रष्ट तुल्याएको छ भन्‍ने कुराको सानो टुक्रा मात्रै थियो, र जब शैतानले यी कार्यहरू गरिरहेका थिए, परमेश्‍वरले शैतानको लागि तय गर्नुभएका सीमितताहरू र उहाँले जारी गर्नुभएका आदेशहरू त्यसले गर्ने सबै कुराको पछाडिका सिद्धान्तहरूको सानो टुक्रा मात्रै थियो। यसको साथै, यस विषयमा शैतानको भूमिका र स्थान परमेश्‍वरको व्यवस्थापनको कार्यमा रहेको त्यसको भूमिका र स्थानको सानो भाग मात्रै थियो, र अय्यूबलाई परीक्षा गर्ने क्रममा शैतानले गरेको परमेश्‍वरको पूर्ण आज्ञापालन परमेश्‍वरको व्यवस्थापन कार्यमा कसरी शैतानले परमेश्‍वरलाई अलिकति विरोध गर्ने आँट पनि गरेन त्यसको सानो भाग मात्रै थियो। यी साना भागहरूले तिमीहरूलाई के चेतावनी दिन्छ? शैतान लगायत सबै थोकको बीचमा, सृष्टिकर्ताले तय गर्नुभएका स्वर्गीय नियम र अध्यादेशहरूलाई उल्‍लङ्घन गर्न सक्‍ने कुनै व्यक्ति वा थोक छैन, र यी स्वर्गीय नियम र अध्यादेशहरूलाई उल्‍लङ्घन गर्ने आँट कुनै व्यक्ति वा थोकले गर्दैन, किनभने तिनलाई अवज्ञा गर्नेहरूलाई सृष्टिकर्ताले दिनुहुने दण्डलाई कुनै व्यक्ति वा थोकले परिवर्तन गर्न वा त्यसबाट उम्‍कन सक्दैन। सृष्टिकर्ताले मात्रै स्वर्गीय नियम र अध्यादेशहरू जारी गर्न सक्‍नुहुन्छ, तिनलाई लागू गर्ने शक्ति सृष्टिकर्तासँग मात्रै छ, र सृष्टिकर्ताको शक्तिलाई मात्रै कुनै व्यक्ति वा थोकले भङ्ग गर्न सक्दैन। सृष्टिकर्ताको अद्वितीय अख्‍तियार यही नै हो, र यो अख्‍तियार सबै थोकको बीचमा सबैभन्दा सर्वोच्‍च छ, त्यसकारण “परमेश्‍वर सबैभन्दा महान् हुनुहुन्छ र दोस्रो नम्बरमा शैतान छ” भनेर भन्‍नु असम्‍भव छ। अद्वितीय अख्तियार निहित भएको सृष्टिकर्ता बाहेक, अरू कुनै परमेश्‍वर छैन!

के अहिले तिमीहरूसँग परमेश्‍वरको अख्तियार सम्‍बन्धी नयाँ ज्ञान छ? सबभन्दा पहिले, के भर्खरै उल्‍लेख गरेको परमेश्‍वरको अख्‍तियार र मानिसको शक्तिको बीचमा भिन्‍नता छ? के भिन्‍नता छ? कतिपय मानिसहरूले यी दुईलाई तुलना गर्न सकिँदैन भनेर भन्छन्। त्यो सही कुरा हो! मानिसहरूले यी दुई बीचमा तुलना गर्न सकिँदैन भनेर भन्‍ने भए तापनि, मानिसका विचार र धारणाहरूमा, मानिसको शक्तिलाई नै प्रायजसो अख्‍तियार हो भन्‍ने ठानिन्छ, र यी दुईलाई प्रायजसो सँग-सँगै राखेर तुलना गरिन्छ। यहाँ के भइरहेको छ? के मानिसहरूले लापरवाहीको साथ एउटालाई अर्कोको सट्टा प्रयोग गरेर गल्ती गरिरहेका छैनन् र? यी दुई सम्‍बन्धित छैनन्, र तिनीहरूको बीचमा कुनै तुलना हुन सक्दैन, तैपनि मानिसहरू त्यसो नगरी बस्‍न सक्दैनन्। यसलाई कसरी समाधान गर्ने? यदि तँ साँच्‍चै ने समाधान पाउन चाहन्छस् भने, यसको एउटै मात्र तरिका भनेको परमेश्‍वरको अद्वितीय अख्‍तियारलाई बुझ्‍नु र जान्‍नु हो। सृष्टिकर्ताको अख्तियारलाई बुझेर जानिसकेपछि, तैँले मानिसको शक्ति र परमेश्‍वरको अख्‍तियारलाई समान रूपमा उल्‍लेख गर्नेछैनस्।

मानिसको शक्तिले केलाई जनाउँछ? सरल रूपमा भन्दा, यो त्यो क्षमता वा सीप हो जसले मानिसको भ्रष्ट स्वभाव, इच्‍छा र महत्वाकांक्षाहरूलाई त्यसको अधिकतम हदसम्म विस्तार हुने वा हासिल गर्ने तुल्याउँछ। के यो अख्‍तियारको रूपमा गन्ती हुन्छ त? मानिसको महत्वाकांक्षा र इच्‍छाहरू जति तीव्र वा लाभदायक भए तापनि, व्यक्तिमा अख्‍तियार छ भनेर भन्‍न सकिँदैन; बढीमा, यो फाइँफुट्टी र सफलता मानिसको बीचमा शैतानको तमासाको प्रदर्शन मात्रै हो; बढीमा, यो एउटा स्वाँग मात्रै हो जसमा शैतानले परमेश्‍वर बन्‍ने आफ्‍नो महत्वाकांक्षा पूरा गर्नका लागि त्यसको आफ्‍नै पुर्खाले जस्तो व्यवहार गर्छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्