परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ९४

8 नोभेम्बर 2022

सृष्टिकर्ताको अख्‍तियार समय, स्थान, वा भूगोलद्वारा सीमित छैन, र सृष्टिकर्ताको अख्‍तियारलाई गन्ती गर्न सकिँदैन (छनौट गरिएका खण्डहरू)

हामी उत्पत्ति २२:१७-१८ लाई हेरौँ। यो यहोवा परमेश्‍वरले बोल्‍नुभएको अर्को अनुच्‍छेद हो, जहाँ उहाँले अब्राहामलाई भन्‍नुभयो, “आशिष्‌मा म तँलाई आशिष्‌ दिनेछु र वृद्धिमा तेरा सन्तानलाई बढाएर आकाशका ताराहरूसरह, र समुद्र किनारको बालुवासरह वृद्धि गर्नेछु; र तेरा सन्तानले त्यसका शत्रुहरूको प्रवेशद्वार कब्जा गर्नेछन्; र तेरा सन्तानमा पृथ्वीका सबै जातिहरूले आशिष्‌ पाउनेछन्‌; किनभने तैँले मेरो वचन पालन गरेको छस्।” यहोवा परमेश्‍वरले अब्राहामलाई धेरै पटक आशिष्‌ दिनुभएको हुनाले तिनका सन्तान वृद्धि हुनेवाला थिए—तर कति हदसम्‍म वृद्धि हुनेवाला थिए? धर्मशास्‍त्रमा बोलिएको हदसम्‍म: “आकाशका ताराहरूसरह, र समुद्र किनारको बालुवासरह।” भन्‍नुको अर्थ, परमेश्‍वरले अब्राहामलाई आकाशका ताराहरू जत्तिकै धेरै, र समुद्रको किनारका बालुवाजत्तिकै प्रशस्त सन्तान दिन चाहनुभयो। परमेश्‍वरले अलङ्कारको प्रयोग गरी बोल्‍नुभयो, र यो अलङ्कारबाट परमेश्‍वरले अब्राहामलाई एक, दुई, वा हजार जना मात्रै होइन, बरु गन्ती गर्नै नसकिने सङ्ख्यामा सन्तान दिनुभयो, यतिसम्‍म कि तिनीहरू अनगिन्ती राष्ट्रहरू बन्‍नेवाला थिए, किनभने परमेश्‍वरले अब्राहामलाई तिनी धेरै जातिका पिता हुनेछन् भनी प्रतिज्ञा गर्नुभएको थियो। अब, उक्त सङ्ख्याको निर्णय मानिसले गरेको थियो कि परमेश्‍वरले गर्नुभएको थियो? के मानिसले उसको सन्तान कति जना हुन्छन् भन्‍ने कुरालाई नियन्त्रण गर्न सक्छ? के यो उसको हातमा हुन्छ? उसले धेरै जना जन्‍माउनेछ कि जन्‍माउनेछैन भन्‍ने कुरा समेत मानिसको हातमा हुँदैन, “आकाशका ताराहरू, र समुद्र किनारको बालुवा।” धेरै हुने त कुरै नगरौँ। कसले आकाशका ताराहरू जत्तिकै धेरै सन्तानको चाहना गर्दैन र? दुःखको कुरा, परिस्थिति सधैँ तैँले चाहेजस्तै हुन्छ भन्‍ने छैन। मानिस जति सिपालु वा सक्षम भए पनि, यो उसको हातमा हुँदैन; परमेश्‍वरले प्रबन्ध गर्नुभएको भन्दा बाहिर कोही पनि खडा हुन सक्दैन। उहाँले तँलाई जति धेरै दिनुहुन्छ, तैँले त्यति नै बढी पाउनेछस्: यदि परमेश्‍वरले तँलाई थोरै दिनुहुन्छ भने, तँसँग कहिल्यै धेरै हुनेछैन, र यदि परमेश्‍वरले तँलाई धेरै दिनुभयो, तँसँग धेरै भयो भनेर तैँले अफसोस गर्नुपर्दैन। के यो यस्तै होइन र? योमध्ये धेरैजसो कुरा परमेश्‍वरकै हातमा हुन्छ, मानिसको हातमा होइन! मानिसलाई परमेश्‍वरले नै शासन गर्नुहुन्छ, र कसैलाई पनि छूट छैन!

जब परमेश्‍वरले “तेरा सन्तानलाई वृद्धि गर्नेछु,” भनी भन्‍नुभयो, यो परमेश्‍वरले अब्राहामसँग स्थापित गर्नुभएको करार थियो, र इन्द्रेनीको करारजस्तै, यो अनन्तसम्‍मको लागि हासिल गरिनेथियो, र यो परमेश्‍वरले अब्राहामसँग गर्नुभएको प्रतिज्ञा पनि थियो। यो प्रतिज्ञालाई पूरा गर्न परमेश्‍वर मात्र योग्य र सक्षम हुनुहुन्छ। मानिसले यसलाई विश्‍वास गरे पनि वा नगरे पनि, मानिसले यसलाई स्वीकार गरे पनि वा नगरे पनि, र मानिसले यसलाई जसरी हेरे पनि र जसरी लिए पनि, यो सबै शब्‍द-शब्‍द गरी परमेश्‍वरले बोल्‍नुभएको वचन अनुसार नै पूरा हुनेछ। मानिसको इच्‍छा वा धारणाहरूमा आएको परिवर्तनको कारणले परमेश्‍वरको वचन परिवर्तन हुनेछैन, र कुनै व्यक्ति, घटना, वा कुरामा आएको परिवर्तनको कारणले यो परिवर्तन हुनेछैन। सबै थोक हराएर जान सक्छ, तर परमेश्‍वरको वचन सदासर्वदा रहिरहनेछ। वास्तवमा, सबै थोक हराएर जाने दिन नै परमेश्‍वरका वचनहरू पूर्ण रूपमा पूरा हुने दिन हो, किनभने उहाँ सृष्टिकर्ता हुनुहुन्छ, उहाँमा सृष्टिकर्ताको अख्‍तियार छ, सृष्टिकर्ताको शक्ति छ, र उहाँले नै सबै थोक र सबै जीवनशक्तिलाई नियन्त्रण गर्नुहुन्छ; उहाँले शून्यताबाट कुनै थोक अस्तित्वमा ल्याउन, वा कुनै थोकलाई शून्यतामा हराउन सक्‍नुहुन्छ, र उहाँले सबै थोकको जीवितबाट मृतकमा हुने रूपान्तरणलाई नियन्त्रण गर्नुहुन्छ; परमेश्‍वरको लागि, कसैको बीउलाई वृद्धि गराउने जत्तिको सरल केही पनि हुन सक्दैन। यो मानिसको लागि परी-कथाजस्तै शानदार सुनिन सक्छ, तर परमेश्‍वरको लागि, उहाँले जुन कुरा गर्ने निर्णय र प्रतिज्ञा गर्नुहुन्छ त्यो काल्‍पनिक होइन, न त परी-कथा नै हो। बरु, यो त परमेश्‍वरले पहिले नै देखिसक्‍नुभएको तथ्य हो, र जसलाई अवश्य नै हासिल गर्न सकिन्छ। के तिमीहरू यसलाई बुझ्छौ? के अब्राहामका सन्तान अनगिन्ती थिए भनेर तथ्यहरूले प्रमाणित गर्छ? तिनीहरू कति धेरै अनगिन्ती थिए? के तिनीहरू परमेश्‍वरले बोल्‍नुभएका “आकाशका ताराहरू, र समुद्र किनारको बालुवा” जत्तिकै अनगिन्ती थिए? के तिनीहरू संसारका सबै राष्ट्रहरू र क्षेत्रहरूमा, हरेक ठाउँमा फैलिए? केद्वारा यो तथ्य हासिल गरियो? के यो परमेश्‍वरका वचनहरूको अख्‍तियारद्वारा हासिल गरिएको थियो? परमेश्‍वरका वचनहरू बोलिएको सयौँ वा हजारौँ वर्षसम्‍म, परमेश्‍वरका वचनहरू निरन्तर रूपमा पूरा भए, र ती अटुट रूपमा तथ्यमा परिवर्तन भइरहे; परमेश्‍वरका वचनहरूको सामर्थ्य, र परमेश्‍वरको अख्‍तियारको प्रमाण यही हो। जब सुरुमा परमेश्‍वरले सबै थोक सृष्टि गर्नुभयो, परमेश्‍वरले भन्‍नुभयो, “उज्यालो होस्” अनि उज्यालो भयो। यो शीघ्र रूपमा भयो, यो छोटो समयमा पूरा भयो, र यसको उपलब्धि र पूर्णतामा कुनै ढिलाइ भएन; परमेश्‍वरका वचनहरूका प्रभावहरू तत्‍कालीन थिए। ती दुवै नै परमेश्‍वरको अख्तियारको प्रदर्शन थिए, तर जब परमेश्‍वरले अब्राहामलाई आशिष्‌ दिनुभयो, उहाँले मानिसलाई परमेश्‍वरको अख्तियारको सारको अर्को पक्ष, साथै सृष्टिकर्ताको अख्‍तियार गन्तीभन्दा बाहिरको कुरा हो भन्‍ने देखाउनुभयो, यसको साथै उहाँले मानिसलाई सृष्टिकर्ताको अख्‍तियारको अझै यथार्थ, अझै उत्कृष्ट पक्ष देखाउनुभयो।

परमेश्‍वरका वचनहरू उच्‍चारण गरिएपछि, परमेश्‍वरको अख्‍तियारले यो कार्यमा हुकुम चलाउँछ, र परमेश्‍वरको मुखले प्रतिज्ञा गरेको तथ्य क्रमिक रूपमा यथार्थ बन्‍न थाल्छ। परिणामस्वरूप, जसरी वसन्तको आगमनसँगै घाँसहरू हरिया बन्‍न थाल्छन्, फूलहरू फुल्‍न थाल्छन्, रूखका मुनाहरू पलाउन थाल्छन्, चराचुरुङ्गी गाउन थाल्छन्, हाँसहरू फर्केर आउँछन्, र भूमि मानिसहरूले भरिन्छन्, त्यसरी नै सबै थोकको बीचमा परिवर्तनहरू देखा पर्न थाल्छ…। वसन्तको आगमनसँगै सबै थोक नयाँ हुन्छन्, र यो सृष्टिकर्ताको आश्‍चर्यजनक कार्य हो। जब परमेश्‍वरले आफ्‍ना प्रतिज्ञाहरू हासिल गर्नुहुन्छ, स्वर्ग र पृथ्वीका सबै थोक नवीकरण हुन्छन् र परमेश्‍वरका विचारहरू अनुसार परिवर्तन हुन्छन्—कसैलाई पनि छूट छैन। जब परमेश्‍वरको मुखबाट प्रतिबद्धता वा प्रतिज्ञाको उच्‍चारण गरिन्छ, सबै थोक यसलाई पूरा गर्नमा लाग्छन् र यसलाई पूरा गर्नकै खातिर सबै थोकलाई चलाकीसाथ परिचालित गरिन्छ; सबै प्राणीहरू परमेश्‍वरकै प्रभुत्वमा योजनाबद्ध गरिन्छ र मिलाइन्छ, र तिनीहरूले आ-आफ्‍नै भूमिका निर्वाह गर्छन्, र आ-आफ्‍नै प्रकार्य पूरा गर्छन्। सृष्टिकर्ताको अख्‍तियारको प्रकटीकरण यही हो। यसमा तँ के देख्छस्? तँ परमेश्‍वरको अख्‍तियारलाई कसरी जान्दछस्? के परमेश्‍वरको अख्तियारको कुनै दायरा छ? के समयको सीमितता छ? के यसको निश्‍चित उचाइ, वा निश्‍चित लम्‍बाइ छ भनेर भन्‍न सकिन्छ? के यसको निश्‍चित आकार वा सामर्थ्य छ भनेर भन्‍न सकिन्छ? के यसलाई मानिसका आयामहरूबाट मापन गर्न सकिन्छ? परमेश्‍वरको अख्‍तियार घरी सक्रिय, घरी निष्क्रिय हुने हुँदैन, यो आउने र जाने गर्दैन, र उहाँको अख्तियार वास्तवमा कति महान् छ भनेर नाप्‍न सक्‍ने कोही पनि छैन। जति धेरै समय बिते पनि, जब परमेश्‍वरले कुनै व्यक्तिलाई आशिष्‌ दिनुहुन्छ, यो आशिष्‌ अघि बढिरहनेछ, र यसको निरन्तरताले परमेश्‍वरको अख्‍तियारको अतुलनीय साक्षी दिनेछ, र सृष्टिकर्ताको ननिभ्‍ने जीवनशक्तिको पुन: देखा पर्ने घटनालाई बारम्‍बार देख्‍न मानवजातिलाई समर्थ तुल्याउनेछ। उहाँको अख्तियारको हरेक प्रदर्शन सबै थोकमा, र मानवजातिमा प्रदर्शन गरिने उहाँको मुखका वचनहरूको सिद्ध प्रदर्शन हुन्। यसको साथै, उहाँको अख्‍तियारले हासिल गर्ने सबै कुरा अति उत्तम, अतुलनीय, र अत्यन्तै त्रुटिहीन छन्। के भन्‍न सकिन्छ भने, उहाँका विचारहरू, उहाँका वचनहरू, उहाँको अख्तियार, र उहाँले हासिल गर्नुहुने सबै कार्यहरू अतुलनीय रूपमा सुन्दर चित्र हुन्, र प्राणीहरूका लागि, यसको महत्त्व र मूल्यलाई स्पष्ट पार्न मानवजातिको भाषा असमर्थ छ। जब परमेश्‍वरले कुनै व्यक्तिलाई प्रतिज्ञा गर्नुहुन्छ, तिनीहरूको बारेमा सबै कुरा परमेश्‍वरको लागि उहाँको हातको पछाडिको भाग जत्तिकै परिचित हुन्छ, चाहे यो तिनीहरू कहाँ बस्‍छन् भन्‍ने होस् वा तिनीहरू कहाँ जान्छन् भन्‍ने नै होस्, तिनीहरूले प्रतिज्ञा प्राप्त गर्नुभन्दा पहिलेको वा पछिको तिनीहरूको पृष्ठभूमि होस्, वा तिनीहरूको जिउने वातावरणमा कति ठूलो कायापलट आएको छ त्यो नै होस्। परमेश्‍वरका वचनहरू बोलिएपछि जति धेरै समय बिते पनि, उहाँको लागि, ती भर्खरै उच्‍चारण गरिएका जस्तै हुन्छन्। भन्‍नुको अर्थ परमेश्‍वरसँग शक्ति छ, र उहाँसँग उहाँले मानवजातिसँग गर्नुहुने हरेक प्रतिज्ञाको लेखाजोखा राख्‍ने, नियन्त्रण गर्ने, र पूरा गर्ने अख्‍तियार छ, र प्रतिज्ञा जेसुकै भए तापनि, यो पूर्ण रूपमा पूरा हुन जति समय लागे पनि, यसको साथै, यसको पूर्णताले जति वृहत् दायरालाई छोए तापनि—उदाहरणको लागि, समय, भूगोल, जाति, र यस्तै इत्यादि—यो प्रतिज्ञा हासिल गरिनेछ र पूरा गरिनेछ, यसको साथै, यसलाई हासिल गर्न र पूरा गर्नको लागि उहाँलाई अलिकति समेत प्रयासको आवश्यकता पर्नेछैन। यसले केलाई प्रमाणित गर्छ? परमेश्‍वरको अख्तियार र शक्तिको क्षेत्र सम्पूर्ण ब्रह्माण्ड, र सम्पूर्ण मानवजातिलाई नियन्त्रण गर्नको लागि पर्याप्त छ भन्‍ने कुरालाई यसले प्रमाणित गर्छ। परमेश्‍वरले ज्योति बनाउनुभयो, तर त्यसको अर्थ परमेश्‍वरले ज्योतिको मात्रै व्यवस्थापन गर्नुहुन्छ भन्ने हुँदैन, वा उहाँले पानीको व्यवस्थापन गर्नुहुन्छ किनभने उहाँले पानी सृष्टि गर्नुभयो, र अरू सबै कुरा परमेश्‍वरसँग सम्‍बन्धित छैनन् भन्‍ने हुँदैन। के यो गलत बुझाइ हुँदैन र? परमेश्‍वरले अब्राहामलाई दिनुभएको आशिष्‌ सयौँ वर्षपछि मानिसको स्मरणबाट क्रमिक रूपमा विलीन भएको भए तापनि, परमेश्‍वरको लागि, यो प्रतिज्ञा अझै पनि उस्तै रहिरह्यो। यो अझै पनि हासिल गरिने प्रक्रियामा थियो, र यो कहिल्यै रोकिएको थिएन। परमेश्‍वरले कसरी आफ्‍नो अख्‍तियारको प्रयोग गर्नुभयो, कसरी सबै थोकलाई योजनाबद्ध र व्यवस्थित गरियो, र यस समय परमेश्‍वरले सृष्टि गर्नुभएको सबै थोकको बीचमा के-कस्ता सुन्दर घटनाहरू घटे सो मानिसले कहिल्यै जानेन वा सुनेन, तर परमेश्‍वरको अख्तियारको प्रदर्शनको हरेक सुन्दर भाग र उहाँका कार्यहरूको प्रकाशलाई सबै थोकका बीचमा हस्तान्तरण र बढाइ गरियो, सबै थोकले सृष्टिकर्ताको आश्‍चर्यजनक कार्यहरूलाई प्रदर्शन गरे र तिनको बारेमा बोले, र यावत् थोकमाथिको सृष्टिकर्ताको सार्वभौमिकताको हरेक प्रचलित कथालाई सबै थोकले सदासर्वदा घोषणा गर्नेछन्। सबै थोकलाई शासन गर्ने परमेश्‍वरको अख्तियार, र परमेश्‍वरको शक्तिले सबै थोकलाई परमेश्‍वर सबै ठाउँमा र सबै समयमा उपस्थित हुनुहुन्छ भन्‍ने देखाउँछ। जब तैँले परमेश्‍वरको अख्तियार र शक्तिको सर्वव्यापकतालाई देखेको हुन्छस्, तब तैँले परमेश्‍वर सबै ठाउँ र सबै समयमा उपस्थित हुनुहुन्छ भन्‍ने देख्‍नेछस्। परमेश्‍वरको अख्तियार र शक्ति समय, भूगोल, स्थान, वा कुनै व्यक्ति, घटना वा थोकद्वारा सीमित छैनन्। परमेश्‍वरको अख्तियार र शक्तिको क्षेत्रले मानिसको कल्‍पनालाई नाघ्‍छ; मानिसले यसलाई बुझ्‍न सक्दैन, मानिसले यसलाई कल्‍पना गर्न सक्दैन, र यसलाई मानिसले कहिल्यै पनि पूर्ण रूपमा बुझ्‍न सक्नेछैन।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्