परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ८०

24 जनवरी 2023

उहाँको पुनरुत्थानपछि उहाँका चेलाहरूलाई येशूका वचनहरू (छनौट गरिएका खण्डहरू)

यूहन्‍ना २१:१६-१७ उहाँले तिनलाई फेरि दोस्रोपटक भन्‍नुभयो, यूहन्‍नाको छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ? तिनले उहाँलाई भने, हो, प्रभु; तपाईंलाई थाहा छ म तपाईंलाई प्रेम गर्छु। उहाँले तिनलाई भन्‍नुभयो, मेरा भेडालाई खुवाऊ। उहाँले तिनलाई तेस्रोपटक भन्‍नुभयो, यूहन्‍नाको छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ? पत्रुस दुःखित भए किनभने उहाँले तिनलाई तेस्रोपटक “के तिमी मलाई प्रेम गर्छौ?” भनेर भन्‍नुभयो। अनि तिनले उहाँलाई भने, प्रभु, तपाईंलाई सबै कुरा थाहा छ; तपाईंलाई थाहा छ, म तपाईंलाई प्रेम गर्छु। येशूले तिनलाई भन्‍नुभयो, मेरा भेडालाई खुवाऊ।

यस कुराकानीमा, प्रभु येशूले पत्रुसलाई बारम्‍बार एउटा कुरा सोध्‍नुभयो: “यूहन्‍नाको छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ?” यो साँचो रीतिले ख्रीष्टलाई विश्‍वास गर्ने र प्रभुलाई प्रेम गर्नमा लागिपर्ने पत्रुसजस्ता मानिसहरूबाट प्रभु येशूले आफ्‍नो पुनरुत्थानपछि अपेक्षा गर्नुभएको उच्‍च मापदण्ड हो। यो प्रश्‍न एक प्रकारको अनुसन्धान र केरकार थियो, तर त्यो भन्दा पनि बढी, यो पत्रुसजस्ता मानिसहरूको लागि एउटा मापदण्ड र अपेक्षा थियो। प्रभु येशूले यस प्रकारको प्रश्‍न गर्ने विधि प्रयोग गर्नुभयो ताकि मानिसहरूले आफैमाथि चिन्तन गरून् र आफैलाई नियालून् र यो प्रश्‍न सोधून्: मानिसहरूका निम्ति प्रभु येशूका मापदण्डहरू के-के हुन्? के म प्रभुलाई प्रेम गर्छु? के म परमेश्‍वरलाई प्रेम गर्ने व्यक्ति हुँ? मैले परमेश्‍वरलाई कसरी प्रेम गर्नुपर्छ? प्रभु येशूले यो प्रश्‍न पत्रुसलाई मात्रै सोध्‍नुभएको भए तापनि, सत्य के हो भने, पत्रुसलाई यी प्रश्‍नहरू सोधेर आफ्नो हृदयमा उहाँले परमेश्‍वरलाई प्रेम गर्न खोज्ने धेरै मानिसहरूलाई यही प्रकारको प्रश्‍न सोध्‍न यो अवसरको प्रयोग गर्न चाहनुभयो। पत्रुसले यस प्रकारको व्यक्तिको प्रतिनिधिको रूपमा काम गर्न र प्रभु येशू स्‍वयम्‌को मुखबाट यो प्रश्‍न प्राप्त गर्ने सौभाग्य मात्र पाएका थिए।

आफ्‍नो पुनरुत्थानपछि प्रभु येशूले थोमालाई भन्‍नुभएका “तिम्रो हात यहाँ ल्याऊ र मेरो कोखामा छिराऊ: र अविश्‍वासी होइन, तर विश्‍वास गर्ने होऊ” भन्‍ने वचनहरू र पत्रुसलाई “यूहन्‍नाको छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ?” भनेर तीनपल्ट गरिएको प्रश्‍नलाई तुलना गर्दा, यसले प्रभु येशूको मनोवृत्तिले कठोरता र प्रश्‍न गर्दाको समयमा उहाँले अनुभव गर्नुभएको आतुरताबारे मानिसहरूलाई अझै राम्ररी अनुभव गराउँछ। शङ्कालु थोमाको बारेमा कुरा गर्दा, उनको छलपूर्ण प्रकृतिको कारण, प्रभु येशूले उसलाई आफ्नो हात बढाएर उहाँको शरीरको कीलाका डोबहरू छुन दिनुभयो जसले उसलाई प्रभु येशू बौरी उठ्नुभएका मानिसको पुत्र हुनुहुन्छ भनी विश्‍वास गर्न र ख्रीष्टको रूपमा रहेको प्रभु येशूको पहिचानलाई स्वीकार गर्न अग्रसर गरायो। प्रभु येशूले थोमालाई कडा रूपले हप्काउनुभएन, र उसलाई मौखिक रूपले कुनै स्पष्ट न्याय पनि गर्नुभएन, तैपनि उहाँले उसलाई बुझ्‍नुभएको छ भनी थोमालाई थाहा दिन व्यवहारिक कार्यहरूको प्रयोग गर्नुभयो, साथै त्यस्तो व्यक्तिप्रतिको आफ्नो मनोवृत्ति तथा अठोटलाई पनि प्रदर्शन गर्नुभयो। त्यस्तो व्यक्तिप्रतिको प्रभु येशूका मापदण्ड र अपेक्षाहरू उहाँले भन्‍नुभएका कुराहरूबाट देख्‍न सकिँदैन, किनकि थोमाजस्ता मानिसहरूमा साँचो विश्‍वासको एक त्यान्द्रो पनि हुँदैन। तिनीहरूको निम्ति प्रभु येशूका मापदण्डहरू सीमित हुन्छन्, तर पत्रुसजस्ता मानिसहरूको निम्ति उहाँले प्रकट गर्नुभएको मनोवृत्ति भने पूर्ण रूपले भिन्‍न छ। पत्रुसले आफ्नो हात बढाएर उहाँका कीलाका डोबहरू छोएको उहाँले चाहनुभएन, न त उहाँले पत्रुसलाई “अविश्‍वासी होइन, तर विश्‍वास गर्ने होऊ” भनेर नै भन्‍नुभयो। बरु, उहाँले पत्रुसलाई बारम्‍बार उही प्रश्‍न सोध्‍नुभयो। यो प्रश्‍न विचारयोग्य र अर्थपूर्ण थियो, यस्तो प्रश्‍नले ख्रीष्टका हरेक अनुयायीलाई अफसोस र डर अनुभूति गराउने मात्र होइन प्रभु येशूको चिन्तित र दुःखी मनस्थितिलाई पनि अनुभूति गर्ने तुल्याउँछ। अनि जब तिनीहरू ठूलो पीडा र कष्टमा हुन्छन्, तब तिनीहरूले प्रभु येशूको चिन्ता र उहाँको वास्तालाई अझ बढी बुझ्‍न सक्छन्; तिनीहरूले उहाँको गम्भीर शिक्षा र शुद्ध, इमान्दार मानिसहरूप्रतिका उहाँका कडा मापदण्डहरू महसुस गर्छन्। प्रभु येशूको प्रश्‍नले मानिसहरूलाई के कुरा महसुस गराउँछ भने, यी सरल शब्दहरूमा प्रकट भएका प्रभुका अपेक्षाहरू केवल उहाँमा विश्‍वास गर्नु र उहाँलाई पछ्याउनु मात्र नभई प्रेमिलोपन प्राप्त गर्नु, आफ्नो प्रभुलाई र आफ्नो परमेश्‍वरलाई प्रेम गर्ने आचरण हासिल गर्नु हो। यस्तो प्रकारको प्रेम वास्तापूर्ण र आज्ञाकारी हुन्छ। यो मानिसहरू परमेश्‍वरको निम्ति जिउनु, परमेश्‍वरको निम्ति मर्नु, सबै कुरा परमेश्‍वरको निम्ति समर्पण गर्नु, र सबै कुरा परमेश्‍वरको निम्ति खर्च गर्नु र दिनु हो। यस्तो प्रेम परमेश्‍वरलाई सान्त्वना दिनु, उहाँलाई गवाहीमा आनन्दित हुन र विश्राममा रहन दिनु पनि हो। यो मानवजातिले परमेश्‍वरको ऋण तिर्नु हो, र मानिसको जिम्मेवारी, दायित्व र कर्तव्य हो, र यो मानिसहरूले आफ्नो सम्पूर्ण जीवनभरि पछ्याउनुपर्ने साँचो बाटो हो। यी तीन प्रश्‍नहरू प्रभु येशूले पत्रुसबाट र सिद्ध तुल्याइने सबै मानिसहरूको लागि तय गर्नुभएको मापदण्ड र आग्रह थियो। यिनै तीन प्रश्‍नहरूले पत्रुसलाई जीवनको अन्त्यसम्म उहाँको मार्ग पछ्याउन अग्रसर र उत्प्रेरित गराए, अनि प्रभु येशू बिदाइ हुने समयमा यिनै प्रश्‍नहरूले पत्रुसलाई सिद्ध पारिने मार्गमा आफ्नो यात्रा सुरु गर्न अग्रसर गराए, र प्रभुप्रतिको उनको प्रेमको कारण यिनै प्रश्‍नले उनलाई प्रभुको हृदयको निम्ति वास्ता गर्न, प्रभुको आज्ञापालन गर्न, प्रभुलाई सान्त्वना प्रदान गर्न, र यही प्रेमको कारण, आफ्नो सम्पूर्ण जीवन र आफ्नो पूरा अस्तित्व अर्पण गर्न अग्रसर गराए।

अनुग्रहको युगको अवधिमा, परमेश्‍वरको कार्य मुख्य रूपमा दुई प्रकारका मानिसहरूका निम्ति थियो। पहिलो प्रकारको व्यक्ति उहाँमा विश्‍वास गर्ने र उहाँलाई पछ्याउने, उहाँका आज्ञाहरूलाई पालन गर्न सक्‍ने, क्रूस उठाउन सक्‍ने र अनुग्रहको युगको साँचो मार्गलाई पछ्याइरहन सक्‍ने व्यक्ति थियो। यस प्रकारको व्यक्तिले परमेश्‍वरको आशिष्‌ प्राप्त गर्न र परमेश्‍वरको अनुग्रहमा आनन्दित हुन सक्थ्यो। दोस्रो प्रकारको व्यक्ति सिद्ध तुल्याइन सकिने पत्रुसजस्तो व्यक्ति हो। त्यसैले, प्रभु येशूको पुनरुत्थान भएपछि, सर्वप्रथम उहाँले सबैभन्दा अर्थपूर्ण यी दुई कुराहरू गर्नुभयो। एउटा थोमासित गरिएको थियो भने अर्को चाहिँ पत्रुससित। यी दुई कुराहरूले केलाई प्रतिनिधित्व गर्छन्? के ती कुराले मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको साँचो अभिप्रायहरूलाई प्रतिनिधित्व गर्छन्? के ती कुराले मानवजातिप्रति परमेश्‍वरको इमानदारितालाई प्रतिनिधित्व गर्छन्? थोमाको जीवनमा उहाँले गर्नुभएको काम मानिसहरूलाई शङ्कालु होइन, विश्‍वास गर्ने मानिसहरू बन्‍नू भनी चेतावनी दिनको लागि थियो। पत्रुसमाथि उहाँले गर्नुभएको काम पत्रुसजस्ता मानिसहरूको विश्‍वासलाई बलियो पार्न र यस्तो व्यक्तिबाट उहाँले अपेक्षा गर्नुभएका मापदण्डहरूलाई स्पष्ट पार्न र त्यस्ता व्यक्तिहरूले पछ्याइरहनुपर्ने लक्ष्यहरू औँल्याउनका लागि थियो।

प्रभु येशू बौरी उठ्नुभएपछि, उहाँ आफूले आवश्यक ठान्‍नुभएका मानिसहरूकहाँ प्रकट हुनुभयो, तिनीहरूसित बोल्नुभयो, र तिनीहरूलाई मापदण्डहरू दिनुभयो, र यसरी उहाँले मानिसहरूका निम्ति आफ्ना अभिप्रायहरू र तिनीहरूबाट गरिएका अपेक्षाहरू छोडेर जानुभयो। भनाइको अर्थ, देहधारी परमेश्‍वर भएको हैसियतले मानवजातिप्रति उहाँको चिन्ता र मानिसहरूको लागि उहाँको मापदण्ड कहिल्यै बदलिएको छैन; उहाँ देहमा हुनुहुँदा र उहाँ क्रूसमा टाँगिएर पुनरुत्थान भई आत्मिक शरीरमा हुनुभएपछि पनि यी उस्तै रहे। उहाँ क्रूसमा टाँगिनुभन्दा अगाडि चेलाहरूको निम्ति चिन्तित हुनुहुन्थ्यो, र उहाँको हृदयमा उहाँ हरेक व्यक्तिको अवस्थाको बारेमा स्पष्ट हुनुहुन्थ्यो, र उहाँले हरेक व्यक्तिको कमी कमजोरी बुझ्नुहुन्थ्यो, र अवश्य नै, उहाँ मर्नुभएपछि पुनरुत्थान भई आत्मिक शरीर बन्‍नुभएपछि पनि हरेक व्यक्तिको बारेमा उहाँको बुझाइ उहाँ देहमा हुनुभएको समयको जस्तै थियो। ख्रीष्टको रूपमा रहेको उहाँको पहिचानबारे मानिसहरू पूर्ण रूपले विश्‍वस्‍त छैनन् भन्‍ने उहाँलाई थाहा थियो, तर देहमा हुँदाको समयमा उहाँले मानिसहरूबाट कडा मापदण्डहरू अपेक्षा गर्नुभएन। तथापि, उहाँ पुनरुत्थान हुनुभएपछि, तिनीहरूकहाँ प्रकट हुनुभयो अनि प्रभु येशू परमेश्‍वरबाट आउनुभएको हो र उहाँ देहधारी परमेश्‍वर हुनुहुन्छ भनी तिनीहरूलाई पूर्ण रूपले विश्‍वस्‍त तुल्याउनुभयो, अनि उहाँ देखा पर्नुभएको घटना र उहाँको पुनरुत्थानको तथ्यलाई मानवजातिको जीवनपर्यन्त खोजीको निम्ति सबैभन्दा ठूलो दर्शन र उत्प्रेरणाको रूपमा प्रयोग गर्नुभयो। मृत्युबाट भएको उहाँको पुनरुत्थानले उहाँलाई पछ्याउनेहरू सबैलाई सामर्थ्य मात्र दिएन यसले त मानवजातिको माझमा अनुग्रहको युगको उहाँको कामलाई पूर्ण रूपले कार्यान्वयन पनि गर्‍यो, र यसरी प्रभु येशूको अनुग्रहको युगको मुक्तिको सुसमाचार मानवजातिको हरेक कुनामा क्रमिक रूपमा फैलँदै गयो। के तँ पुनरुत्थानपछि प्रभु येशू देखा पर्नुभएको घटनाको कुनै महत्त्व थियो भनेर भन्थिस्? यदि तँ त्यस समयको थोमा वा पत्रुस भएको भए, र तेरो जीवनमा तैँले यो अत्यन्तै अर्थपूर्ण कुराको सामना गरेको भए, यसले तँमाथि कस्तो प्रकारको प्रभाव पार्नेथ्यो? के तैँले यसलाई परमेश्‍वरमाथि विश्‍वास गर्ने तेरो जीवनको सबैभन्दा उत्तम र सबैभन्दा ठूलो दर्शनको रूपमा देख्‍नेथिइस्? उहाँलाई पछ्याउने क्रममा, उहाँलाई सन्तुष्ट पार्न प्रयास गर्ने क्रममा, अनि तेरो सारा जीवनमा परमेश्‍वरलाई प्रेम गर्न खोज्ने क्रममा, के यसलाई तैँले आफूलाई उत्प्रेरित गर्ने शक्तिको रूपमा देख्‍नेथिइस्? के तैँले यो महान् दर्शनलाई फैलाउन जीवनभरिको प्रयास अर्पण गर्नेथिइस्? के तैँले प्रभु येशूको मुक्ति फैलाउने कार्यलाई परमेश्‍वरको आज्ञाको रूपमा स्वीकार गर्नेथिइस्? तिमीहरूले यसलाई अनुभव नगरेको भए पनि, आधुनिक मानिसहरूका लागि परमेश्‍वर र उहाँको इच्छाको स्पष्ट बुझाइ प्राप्त गर्न थोमा र पत्रुसका उदाहरणहरू पहिल्यै पर्याप्त छन्। यो भन्‍न सकिन्छ कि परमेश्‍वर देहधारी भइसक्‍नुभएपछि, उहाँले व्यक्तिगत रूपमा मानवजातिमाझको जीवन अनुभव गरिसक्‍नुभएपछि, र व्यक्तिगत रूपमा मानव जीवन अनुभव गरिसक्‍नुभएपछि, र मानवजातिको भ्रष्टता र त्यस समयको मानव जीवनको अवस्था देखिसक्‍नुभएपछि, देहमा हुनुभएका परमेश्‍वरले मानवजाति कति असहाय, विलापमय र दयनीय रहेछ भनी झन् गहन रूपमा महसुस गर्नुभयो। देहमा जिउँदा परमेश्‍वरले धारण गर्नुभएको आफ्नो मानवताको कारणले, आफ्नो शारीरिक अन्तर्ज्ञानको कारण उहाँले मानव अवस्थाको निम्ति अझ धेरै सहानुभूति गर्नुभयो। यसले गर्दा उहाँले आफ्ना अनुयायीहरूका निम्ति अझ बढी फिक्री गर्नुभयो। सायद यी तिमीहरूले बुझ्न नसक्‍ने कुराहरू होलान्, तर देहमा रहनुभएका परमेश्‍वरले उहाँका सबै अनुयायीहरूका निम्ति महसुस गर्नुभएको यो चिन्ता र फिक्रीलाई म केवल दुई शब्द प्रयोग गरेर व्याख्या गर्न सक्छु: “उत्कट चिन्ता।”। यो पदावली मानव भाषाबाट आएको भए पनि, र यो अत्यन्तै मानवको जस्तो भए पनि, यसले आफ्‍ना अनुयायीहरूप्रतिका परमेश्‍वरका भावनाहरूलाई साँचो रूपमा व्यक्त र व्याख्या गर्छ। मानिसहरूको निम्ति परमेश्‍वरको उत्कट चिन्ताको सम्बन्धमा भन्दा, तिमीहरूले आफ्ना अनुभवहरूको दौरान यसलाई विस्तारै महसुस गर्नेछौ र यसको स्वाद पाउनेछौ। तथापि, तिमीहरूले आफ्नै स्वभावमा परिवर्तनको खोजी गरेको आधारमा परमेश्‍वरको स्वभावलाई बिस्तारै बुझेर मात्रै यसलाई प्राप्त गर्न सकिन्छ। जब प्रभु येशू यसरी देखा पर्नुभयो, तब यसले मानवजातिमाझ रहेका उहाँका अनुयायीहरूप्रतिको उहाँको उत्कट चिन्तालाई वास्तविकतामा उतार्‍यो र उहाँको आत्मिक शरीरमा, अर्थात् उहाँको ईश्‍वरत्वमा स्थानान्तरण गरायो। उहाँ देखा पर्नुभएको घटनाले मानिसहरूलाई एकपल्ट फेरि परमेश्‍वरको चिन्ता र वास्ता अनुभव र अनुभूति गर्न दियो, साथै युगको आरम्भ गर्ने, युगको अनावरण गर्ने, अनि युगको अन्त्य पनि गर्ने परमेश्‍वर नै हुनुहुन्छ भन्‍ने कुरालाई पनि यसले शक्तिशाली रूपमा प्रमाणित गर्‍यो। उहाँ देखा पर्नुभएको घटनाद्वारा, उहाँले सबै मानिसहरूको विश्‍वासलाई बलियो बनाउनुभयो र संसारसामु उहाँ परमेश्‍वर स्वयम्‌ हुनुहुन्छ भन्‍ने तथ्य प्रमाणित गर्नुभयो। यसले उहाँका अनुयायीहरूलाई अनन्त पुष्टि प्रदान गर्‍यो, र उहाँ देखा पर्नुभएको घटनामार्फत उहाँले उहाँको नयाँ युगको कामको एउटा चरण पनि आरम्भ गर्नुभयो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् ३

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्