परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ७०

24 जुलाई 2021

हराएको भेडाको दृष्टान्त

मत्ती १८:१२-१४ तिमीहरू कसरी सोच्छौ? यदि कुनै मानिससँग एक सय भेडा छन् र तीमध्ये एउटा बरालिन्छ भने के उसले उनान्‍सयलाई छाडेर पर्वतहरूतिर गई बरालिएको भेडालाई खोज्दैन र? अनि यदि उसले भेट्टायो भने, म तिमीहरूलाई साँच्चै भन्दछु, ऊ नबरालिएका अन्य उनान्‍सय भेडाहरूको भन्दा त्यस भेडाको निम्ति धेरै आनन्द मनाउँछ। त्यसरी नै स्वर्गमा हुनुहुने तिमीहरूका पिताको इच्छा यो छैन, कि यी सानाहरूमध्ये एक जना पनि नष्ट होस्।

यो अध्याय एउटा दृष्टान्त हो—यसले मानिसहरूलाई कस्तो प्रकारको अनुभूति दिन्छ? यहाँ प्रयोग गरिएको अभिव्यक्तिको तरिका—दृष्टान्त—मानव भाषाको एउटा अलङ्कार हो, अनि त्यस अर्थमा यो मानव ज्ञानको क्षेत्रभित्र पर्दछ। यदि परमेश्‍वरले व्यवस्थाको युगमा त्यस्तै प्रकारको कुनै कुरा भन्नुभएको भए मानिसहरूले परमेश्‍वर जो हुनुहुन्छ, त्यससित ती वचनहरू साँचो रीतिले अनुरूप छैनन् भन्‍ने महसुस गर्थे तर जब मानिसको पुत्रले अनुग्रहको युगमा यी वचनहरू बोल्नुभयो, यसले मानिसहरूलाई सान्त्वना, न्यानोपन अनि घनिष्ठताको आभास गरायो। जब परमेश्‍वर देह हुनुभयो, जब उहाँ मानिसको रूपमा देखा पर्नुभयो, तब उहाँको हृदयको आवाज व्यक्त गर्न उहाँले आफ्नै मानवताबाट आएको एउटा उचित दृष्टान्त प्रयोग गर्नुभयो। यो आवाजले परमेश्‍वरको आफ्नै आवाज अनि उहाँले त्यस युगमा गर्न चाहनुभएको कामलाई प्रतिनिधित्व गर्‍यो। यसले अनुग्रहको युगमा मानिसहरूप्रतिको परमेश्‍वरको आचरणलाई पनि प्रतिनिधित्व गर्‍यो। मानिसहरूप्रति परमेश्‍वरको आचरणको दृष्टिकोणबाट हेर्दा, उहाँले हरेक व्यक्तिलाई एउटा भेडासित तुलना गर्नुभयो। यदि एउटा भेडा हरायो भने, त्यसलाई भेट्टाउन उहाँले जे पनि गर्नुहुन्थ्यो। जब उहाँ देहमा हुनुहुन्थ्यो, तब मानवजातिको माझमा परमेश्‍वरले गर्नुभएको कामको सिद्धान्तलाई यसले प्रतिनिधित्व गर्‍यो। परमेश्‍वरले त्यस काममा उहाँको अठोट र आचरण कस्तो थियो त्यसलाई बयान गर्न यस दृष्टान्तलाई प्रयोग गर्नुभयो। परमेश्‍वर देह बन्‍नुको फाइदा यही नै थियो: उहाँले मानवजातिको ज्ञानको फाइदा लिन सक्नुहुन्थ्यो अनि मानिसहरूसित बोल्न र आफ्नो इच्छा व्यक्त गर्न मानव भाषाको प्रयोग गर्न सक्नुहुन्थ्यो। उहाँले मानिसलाई मानव तरिकामा आफ्नो गहन, ईश्‍वरीय भाषा व्याख्या गर्नुभयो अथवा “अनुवाद गर्नुभयो” जसलाई मानव भाषामा बुझ्न मानिसहरूलाई कठिन हुन्थ्यो। यसले उहाँको इच्छा बुझ्न र उहाँले के गर्न चाहनुहुन्छ भन्‍ने कुरा जान्न मानिसहरूलाई सहायता गर्‍यो। उहाँले मानव भाषा प्रयोग गरेर, अनि तिनीहरूले बुझ्ने किसिमले बताएर पनि मानिसहरूसित मानव दृष्टिकोणमा बातचित गर्न सक्नुहुन्थ्यो। उहाँले मानव भाषा प्रयोग गरेर बोल्न र काम गर्न पनि सक्नुहुन्थ्यो ताकि मानिसहरूले परमेश्‍वरको दया तथा घनिष्ठतालाई महसुस गर्न सकून्, ताकि तिनीहरूले उहाँको हृदयलाई देख्न सकून्। यसमा तिमीहरूले के देख्छौ? के परमेश्‍वरका वचन तथा कामहरूमा कुनै प्रतिबन्ध छ त? मानिसहरूको दृष्टिकोणमा त, परमेश्‍वर स्‍वयम्‌ले के भन्न चाहनुभयो, जुन काम उहाँले गर्न चाहनुभयो त्यसको बारेमा कुरा गर्न वा उहाँको इच्छा व्यक्त गर्न परमेश्‍वरले कुनै पनि प्रकारले मानव ज्ञान, भाषा वा बोल्ने तरिकाहरू प्रयोग गर्न सक्नुहुन्न। तर यो गलत सोचाइ हो। परमेश्‍वरले यस प्रकारको दृष्टान्त प्रयोग गर्नुभयो ताकि मानिसहरूले परमेश्‍वरको वास्तविकता र सच्चाइ महसुस गर्न सकून् अनि त्यस अवधिमा मानिसहरूप्रतिको उहाँको आचरण देख्न सकून्। यस दृष्टान्तले लामो समयदेखि व्यवस्थामुनि जिउँदै आइरहेको मानिसहरूलाई सपनाबाट ब्यूँझायो, अनि यसले एकपछि अर्को पुस्ताका मानिसहरूलाई प्रेरित गर्‍यो जो अनुग्रहको युगमा बाँचेका थिए। यस दृष्टान्तको अध्यायलाई पढेर, मानवजातिलाई मुक्ति दिने कार्यमा परमेश्‍वरको इमानदारीतालाई जान्न र परमेश्‍वरको हृदयमा मानवजातिलाई प्रदान गरिएको वजन तथा महत्त्वलाई मानिसहरूले बुझ्दछन्।

यस अध्यायको अन्तिम वाक्यलाई हामी हेरौं: “त्यसरी नै स्वर्गमा हुनुहुने तिमीहरूका पिताको इच्छा यो छैन, कि यी सानाहरूमध्ये एक जना पनि नष्ट होस्।” यो प्रभु येशूका आफ्नै वचनहरू हुन्, कि स्वर्गमा हुनुहुने पिताका वचनहरू हुन्? बाहिरबाट हेर्दा, यो प्रभु येशूले बोलिरहनुभएको जस्तो देखिन्छ तर उहाँको इच्छाले परमेश्‍वरको इच्छालाई प्रतिनिधित्व गर्दछ, त्यसैले उहाँले यसो भन्नुभएको हो: “त्यसरी नै स्वर्गमा हुनुहुने तिमीहरूका पिताको इच्छा यो छैन, कि यी सानाहरूमध्ये एक जना पनि नष्ट होस्।” त्यस समयमा मानिसहरूले स्वर्गमा बस्नुहुने पितालाई मात्रै परमेश्‍वरको रूपमा मान्थे अनि तिनीहरूले आफ्‍नो सामु जुन व्यक्तिलाई देखे, तिनी केवल उहाँले पठाउनुभएका व्यक्ति मात्र हुन् अनि तिनले स्वर्गमा बस्नुहुने पितालाई प्रतिनिधित्व गर्न सक्दैन भनी तिनीहरूले विश्‍वास गर्थे। त्यसैकारण, प्रभु येशूले यस दृष्टान्तको अन्त्यमा यो वाक्य थप्नु परेको थियो, ताकि मानिसहरूले साँचो रीतिले मानवजातिको निम्ति परमेश्‍वरको इच्छालाई महसुस गर्न सकून् अनि उहाँले जे भन्नुभयो, त्यसको वास्तविकता र विशुद्धतालाई महसुस गर्न सकून्। यो वाक्य भन्नको निम्ति सरल भए पनि यसलाई वास्ता र प्रेमसहित बोलिएको थियो अनि यसले प्रभु येशूको नम्रता र गुप्तपनलाई प्रकट गरेको थियो। परमेश्‍वर देह हुनुभए तापनि वा उहाँले आत्मिक क्षेत्रमा काम गर्नुभए तापनि, उहाँले मानव हृदयलाई सर्वोत्तम रीतिले जान्नुहुन्थ्यो, अनि मानिसहरूलाई के खाँचो छ सो सर्वोत्तम रीतिले बुझ्नुहुन्थ्यो, मानिसहरूले केको बारेमा चिन्ता गर्छन् सो जान्नुहुन्थ्यो, अनि तिनीहरूलाई कुन कुराले अन्योलमा पार्छ सो उहाँले जान्नुहुन्थ्यो, त्यसैले उहाँले यो वाक्य थप्नुभयो। यस वाक्यले मानवजातिमा लुकेर रहेको एउटा समस्यालाई प्रकाशमा ल्यायो: मानिसको पुत्रले जे भन्‍नुहुन्थ्यो सो बारेमा मानिसहरू शङ्कालु हुन्थे, भनाइको अर्थ, जब प्रभु येशूले बोलिरहनुभएको हुन्थ्यो, तब उहाँले यो कुरा थप्नु पर्थ्यो: “त्यसरी नै स्वर्गमा हुनुहुने तिमीहरूका पिताको इच्छा यो छैन, कि यी सानाहरूमध्ये एक जना पनि नष्ट होस्,” अनि यही आधारमा मात्रै मानिसहरूलाई त्यसको विशुद्धतामा विश्‍वास गर्ने तुल्याउन र त्यसको विश्‍वसनीयता सुधार गर्नको लागि उहाँका वचनहरूले फल फलाउन सक्थ्यो। यसले के देखाउँछ भने, जब परमेश्‍वर मानिसको सामान्य पुत्र हुनुभयो, तब परमेश्‍वर र मानवजातिको एउटा अत्यन्तै अप्ठ्यारो सम्बन्ध भयो, अनि मानिसको पुत्रको अवस्था निकै लाजमर्दो थियो। यसले त्यस समयमा मानिसहरूको माझमा प्रभु येशूको हैसियत कति महत्त्वहीन थियो सो कुरालाई पनि देखाउँछ। जब उहाँले यो कुरा भन्नुभयो, तब यो वास्तवमा मानिसहरूलाई यो कुरा बताउनको निम्ति थियो: तिमीहरू सुनिश्चित हुन सक्छौ—यी वचनहरूले मेरो हृदयमा के छ भन्ने कुरालाई प्रतिनिधित्व गर्दैन, तर ती परमेश्‍वरको इच्छा हुन् जो तिमीहरूको हृदयमा हुनुहुन्छ। मानिसको निम्ति के यो व्यंग्यात्मक कुरा होइन र? देहमा काम गरिरहनुभएको परमेश्‍वरसँग उहाँको व्यक्तित्वमा नभएका धेरै फाइदाहरू रहेको भए तापनि, उहाँले तिनीहरूका शङ्का तथा तिरस्कारहरूको साथै तिनीहरूको संवेदना शून्यता तथा सुस्तपनालाई सामना गर्नुपरेको थियो। यसो भन्न सकिन्छ कि मानिसको पुत्रको कामको प्रक्रिया भनेको मानवजातिको तिरस्कार अनुभव गर्नु तथा उहाँको विरुद्धमा तिनीहरूले गर्ने होडबाजीको प्रक्रियालाई अनुभव गर्नु थियो। त्यसभन्दा बढी, यो निरन्तर रूपमा मानवजातिको भरोसा जित्न अनि उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ, त्यसद्वारा अनि उहाँको आफ्नै सारद्वारा मानवजातिलाई जित्नको निम्ति काम गर्ने प्रक्रिया थियो। यो देहधारी परमेश्‍वरले शैतानको विरुद्धमा भूमिमा लडाइँ लडिरहनुभएको छ भन्‍ने कुरासँग त्यति सम्‍बन्धित थिएन; यो त परमेश्‍वर एउटा साधारण मानिस हुनुभयो र उहाँलाई पछ्याउनेहरूसित उहाँले संघर्ष गर्नुभयो, अनि यस संघर्षमा मानिसको पुत्रले आफ्नो नम्रताद्वारा, उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ त्यसद्वारा, अनि उहाँको प्रेम र बुद्धिद्वारा आफ्नो काम सिध्याउनुभएको कुरासँग सम्‍बन्धित थियो। उहाँले चाहना गर्नुभएका मानिसहरूलाई उहाँले प्राप्त गर्नुभयो, उहाँले पाउन योग्य पहिचान र हैसियतलाई उहाँले जित्नुभयो अनि उहाँ आफ्‍नो सिंहासनमा “फर्किनुभयो”।

— “वचन शरीरमा देखा पर्नुहुन्छ” बाट

थप हेर्नुहोस्

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्