परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ५३

8 डिसेम्बर 2022

परमेश्‍वरका जाँचहरूलाई स्वीकार गर, शैतानका परीक्षाहरूलाई जित, र परमेश्‍वरलाई तिमीहरूको सम्पूर्ण अस्तित्व प्राप्त गर्न देओ

मानिसहरूका निम्ति परमेश्‍वरको अनन्त प्रबन्ध र सहयोगको कामको अवधिमा उहाँले मानिसलाई आफ्नो सम्पूर्ण इच्छा र आवश्यकताहरूको बारेमा बताउनुहुन्छ र उहाँको काम, स्वभाव अनि उहाँसित के छ र को हुनुहुन्छ भनी मानिसलाई देखाउनुहुन्छ। यसको उद्देश्य मानिसलाई कदले सुसज्‍जित पार्नु हो, र मानिस परमेश्‍वरको पछि लाग्दा उसलाई उहाँबाट विभिन्‍न सत्यताहरू प्राप्त गर्न दिनु हो—ती सत्यताहरू परमेश्‍वरले मानिसलाई शैतानसित लड्नका निम्ति दिनुभएका हतियारहरू हुन्। यसरी सुसज्‍जित भएपछि मानिसले परमेश्‍वरका परीक्षाहरूको सामना गर्नैपर्छ। परमेश्‍वरसित मानिसलाई परीक्षा गर्ने धेरै वटा साधन र उपायहरू छन्, तर ती सबैमा परमेश्‍वरको शत्रु शैतानको “सहकार्य” आवश्यक पर्छ। भन्‍नुको अर्थ, मानिसलाई शैतानसँग लड्ने हातहतियारहरू दिनुभएपछि परमेश्‍वरले उसलाई शैतानको हातमा सुम्पिनुहुन्छ र शैतानलाई मानिसको कद “जाँच्ने” अनुमति दिनुहुन्छ। यदि मानिस शैतानको युद्ध संरचनाबाट निस्कन सक्यो भने, यदि ऊ शैतानको घेराउबाट उम्केर अझै जीवित रहन सक्यो भने, मानिस त्यो जाँचमा सफल भएको हुनेछ। तर यदि मानिस शैतानको युद्ध संरचना छोड्न असफल हुन्छ र शैतानको अघि आत्मसमर्पण गर्छ भने, ऊ त्यो जाँचमा सफल भएको हुनेछैन। परमेश्‍वरले मानिसको जुनसुकै पक्षलाई जाँच्नु भए पनि, उहाँको मापदण्डचाहिँ शैतानले आक्रमण गर्दा मानिस आफ्नो गवाहीमा दृढ रूपमा खडा हुन्छ कि हुँदैन, र शैतानको पासोमा परेपछि उसले परमेश्‍वरलाई त्यागेर शैतानको अघि समर्पित हुन्छ कि हुँदैन भन्‍ने नै हुन्छ। यो भन्‍न सकिन्छ कि मानिसले मुक्ति पाउन सक्छ कि सक्दैन भन्‍ने कुरा उसले शैतानलाई जित्‍न र पराजित गर्न सक्छ कि सक्दैन भन्‍ने कुरामा निर्भर गर्छ, र उसले स्वतन्त्रता हासिल गर्न सक्छ कि सक्दैन भन्‍ने कुरा शैतानसित लड्नका लागि परमेश्‍वरले उसलाई दिनुभएका हातहतियारहरू उसले आफ्नै बलबूताले उठाउन सक्छ कि सक्दैन र शैतानलाई पूर्ण रूपमा आशा मार्ने र उसलाई दुःख दिन छोड्ने बनाउन सक्छ कि सक्दैन भन्‍ने कुरामा निर्भर हुन्छ। यदि शैतानले आशा मारेर कसैलाई छोडेर जान्छ भने त्यसको अर्थ यही हुन्छ कि अब फेरि शैतानले त्यस व्यक्तिलाई परमेश्‍वरबाट खोस्‍ने कोसिस कहिल्यै गर्नेछैन, त्यस व्यक्तिलाई फेरि कहिल्यै पनि आरोप लगाउने र हस्तक्षेप गर्नेछैन, फेरि उसलाई कहिल्यै पनि कष्ट दिइरहन वा आक्रमण गरिरहन मात्र चाहँदैन; त्यस्तो व्यक्ति मात्र वास्तवमा परमेश्‍वरद्वारा प्राप्त गरिएको हुनेछ। परमेश्‍वरले मानिसहरूलाई प्राप्त गर्ने सम्पूर्ण प्रक्रिया यही हो।

अय्यूबको साक्षीले पछिका पुस्ताहरूलाई दिएको चेतावनी र अन्तर्ज्ञान

परमेश्‍वरले कुनै मानिसलाई जुन प्रकारले पूर्ण रूपमा प्राप्त गर्नुहुन्छ त्यस प्रक्रियालाई बुझ्ने क्रममा, मानिसहरूले परमेश्‍वरले अय्यूबलाई शैतानको हातमा सुम्पनुको उद्देश्य र महत्त्व पनि बुझ्नेछन्। मानिसहरू अब फेरि अय्यूबको यातनाबाट विचलित हुँदैनन्, र त्यसको महत्त्वको नयाँ बुझाइ प्राप्त गर्छन्। तिनीहरू अब आफू पनि अय्यूबकै जस्तो परीक्षामा परिन्छ कि भनी चिन्तित हुँदैनन्, र अब फेरि उनीहरूले परमेश्‍वरका जाँचहरू आउँदा तिनको विरोध वा इन्कार गर्दैनन्। अय्यूबको विश्‍वास, आज्ञाकारिता र शैतानलाई जितेको तिनको गवाही मानिसहरूका निम्ति ठूलो सहयोग र उत्साहको स्रोत भएर आएको छ। अय्यूबमा तिनीहरूले आफ्नै मुक्तिको आशा देख्छन्, अनि विश्‍वास र आज्ञापालनका साथै परमेश्‍वरको भयद्वारा शैतानलाई पराजित गर्न, शैतानमाथि विजय पाउन पूर्ण रूपमा सम्भव छ भनी बुझ्छन्। तिनीहरूले यो देख्छन् कि जबसम्म उनीहरूले कुनै विरोध नगरी परमेश्‍वरको सार्वभौमिकता र प्रबन्धहरूलाई स्वीकार गर्छन्, जबसम्‍म सबै कुरा गुमाइसकेपछि पनि परमेश्‍वरलाई नत्याग्‍ने दृढ सङ्कल्प र विश्‍वास गर्छन्, तबसम्‍म उनीहरूले शैतानलाई लज्‍जित पार्न र हराउन सक्छन्, र उनीहरूले आफ्नो प्राण गुमाउनु परे पनि शैतानलाई भयभीत बनाउन र तुरुन्तै धपाउनको लागि उनीहरूमा आफ्नो गवाहीमा दृढ भई खडा हुने सङ्कल्प र दृढता मात्र हुनुपर्छ भनी बुझ्छन्। अय्यूबको गवाही पछिका पुस्ताहरूका लागि एउटा चेतावनी हो, र यो चेतावनीले उनीहरूलाई भन्छ कि यदि उनीहरूले शैतानलाई पराजित गरेनन् भने उनीहरूले शैतानका आरोपहरू र हस्तक्षेपबाट आफूलाई कहिल्यै पनि छुटकारा दिलाउन सक्‍नेछैनन्, न त उनीहरू कहिल्यै शैतानको दुर्व्यवहार र आक्रमणहरूबाट उम्कन नै सक्‍नेछन्। अय्यूबको गवाहीले पछिका पुस्ताहरूलाई अन्तर्दृष्टि प्रदान गरेको छ। यो अन्तर्दृष्टिले मानिसहरूलाई उनीहरू सिद्ध र सोझो छन् भने मात्र परमेश्‍वरको भय मान्‍न र दुष्टताबाट अलग बस्‍न सक्छन् भन्‍ने कुरा सिकाउँछ; यसले के पनि सिकाउँछ भने, उनीहरू परमेश्‍वरको भय मान्छन् र दुष्टताबाट अलग बस्छन् भने मात्र उनीहरूले परमेश्‍वरको बलियो र जोडदार गवाही दिन सक्छन्; उनीहरूले परमेश्‍वरको निम्ति बलियो र जोडदार गवाही दिन्छन् भने मात्र उनीहरू कहिल्यै शैतानको नियन्त्रणमा पर्न सक्दैनन् र परमेश्‍वरको अगुवाइ र सुरक्षाको अधीनमा जिउन सक्‍छन्—तब मात्र उनीहरूले वास्तविक रूपमा मुक्ति पाएका हुनेछन्। अय्यूबको व्यक्तित्व र तिनको जीवनको खोजलाई मुक्तिको खोजी गर्ने प्रत्येक व्यक्तिले अनुकरण गर्नुपर्छ। तिनले आफ्नो सम्पूर्ण जीवन जसरी जिए र जाँचहरूको अवधिमा तिनको आचरण जस्तो थियो, ती सबै नै परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने मार्गको खोजी गर्नेहरूको लागि अनमोल सम्पत्ति हुन्।

अय्यूबको गवाहीले परमेश्‍वरलाई सान्त्वना दिलाउँछ

यदि मैले अहिले तिमीहरूलाई अय्यूब एक माया लाग्दो व्यक्ति हुन् भनेर भनेँ भने तिमीहरू यी वचनहरूभित्रका अर्थलाई सायद महसुस गर्न सक्दैनौ, र मैले यी सबै कुराहरू बोल्नुपछाडिको भावनालाई सायद बुझ्न सक्दैनौ; तर त्यो दिनसम्म पर्ख जब तिमीहरूले अय्यूबले जस्तै वा अय्यूबका जस्तै जाँचहरू भोग्‍नेछौ, जब तिमीहरू कठिन परिस्थितिहरूबाट गुज्रनेछौ, जब परमेश्‍वरले व्यक्तिगत रूपले तिमीहरूका निम्ति मिलाउनुभएका जाँचहरूको अनुभव गर्नेछौ, र जब तिमीहरूले शैतानमाथि विजय प्राप्त गर्न र परिक्षाहरूमाझ परमेश्‍वरको साक्षी दिनका लागि तिमीहरूले आफ्नो सबै कुरा दिनेछौ, र अपमान र कठिनाइ सहनेछौ—तब मैले बोलेका यी शब्दहरूको अर्थ तैँले महसुस गर्न सक्‍नेछस्। त्यस बेला तैँले आफूलाई अय्यूबभन्दा धेरै सानो भएको महसुस गर्नेछस्, तैँले अय्यूब कति सानदार छन् र तिनी अनुकरणयोग्य छन् भन्‍ने महसुस गर्छस्; जब त्यो समय आउँछ, तब अय्यूबले बोलेका ती उत्कृष्ट वचनहरू भ्रष्ट र यस समयमा बाँचिरहेको मानिसका लागि कति महत्त्वपूर्ण छन् भनी तैँले बुझ्नेछस्, र आजका मानिसहरूका निम्ति अय्यूबले हासिल गरेका कुराहरू हासिल गर्न कति गाह्रो छ भनी बुझ्नेछस्। जब तैँले यो गाह्रो भएको महसुस गर्छस्, तब परमेश्‍वरको हृदय कतिको चिन्तित र व्याकुल छ भनी बुझ्नेछस्, त्यस्ता मानिसहरूलाई प्राप्त गर्न परमेश्‍वरले तिर्नुभएको मूल्य कति उच्‍च छ, र परमेश्‍वरले मानवजातिका निम्ति गर्नुहुने काम र खर्च कति बहुमूल्य छ भनी बुझ्नेछस्। अहिले तिमीहरूले यी वचनहरू सुनिसकेका छौ, के अब तिमीहरूसँग अय्यूबको बारेमा सही बुझाइ र सही मूल्याङ्कन छ? तिमीहरूको नजरमा, के अय्यूब साँचो रूपमा परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने एक सिद्ध र सोझो मानिस थिए? मलाई विश्‍वास छ, अधिकांश मानिसले अवश्य नै थिए भनी भन्‍नेछन्। किनकि अय्यूबले जे व्यवहार गरे र जे प्रकट गरे ती तथ्यहरूलाई कुनै पनि व्यक्ति वा शैतानले इन्कार गर्न सक्दैन। ती अय्यूबले शैतानमाथि हासिल गरेको विजयको सबैभन्दा शक्तिशाली प्रमाण हुन्। यो प्रमाण अय्यूबमै पैदा भएको थियो, र यो परमेश्‍वरले प्राप्त गर्नुभएको पहिलो गवाही थियो। त्यसकारण, जब शैतानका परीक्षाहरूमा अय्यूब विजयी भए, र परमेश्‍वरको गवाही दिए, तब परमेश्‍वरले अय्यूबमा आशा देख्‍नुभयो र अय्यूबबाट उहाँको हृदयलाई सान्त्वना मिल्यो। सृष्टिको समयदेखि अय्यूबको समयसम्म, परमेश्‍वरले सान्त्वना वास्तवमा कस्तो हुन्छ, र मानिसबाट सान्त्वना पाउनु भनेको के हो सो अनुभव गर्नुभएको यो पहिलोपटक थियो। उहाँको निम्ति दिइएको साँचो गवाही उहाँले देख्‍नुभएको र प्राप्त गर्नुभएको यो पहिलोपटक थियो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्