परमेश्‍वरका दैनिक वचनहरू: धार्मिक धारणाहरू खुलासा गर्नु | अंश २८९

25 सेप्टेम्बर 2021

इतिहास जहिल्यै पनि अगाडि बढिरहेको छ, र परमेश्‍वरको काम सधैँ अगाडि बढिरहेको छ। उहाँको छ हजार वर्षे व्यवस्थापन योजनालाई त्यसको लक्ष्यमा पुर्‍याउनको लागि त्यो अगाडिको दिशामा बढिरहनुपर्छ। प्रत्येक दिन उहाँले नयाँ काम गर्नुपर्दछ, प्रत्येक वर्ष उहाँले नयाँ काम गर्नुपर्दछ; उहाँले नयाँ मार्गहरू सुरु गर्नुपर्दछ, नयाँ युगहरू सुरु गर्नुपर्दछ, नयाँ र अझ ठूलो काम सुरु गर्नुपर्दछ, र ती सँगसँगै नयाँ नाउँहरू र नयाँ काम ल्याउँदछ। पल-पल परमेश्‍वरका आत्माले नयाँ काम गर्दैहुनुहुन्छ, उहाँ कहिल्यै पनि पुरानो तरिका वा नियममा अल्झेर बस्‍नुहुन्‍न। न त उहाँको कार्य कहिल्यै रोकिएको छ, तर हरेक बितेको क्षण सँगै पूरा हुँदैछ। यदि तँ पवित्र आत्माको काम अपरिवर्तनीय छ भनी भन्छस् भने किन यहोवाले पूजाहारीहरूलाई मन्दिरमा उहाँको सेवा गर्नू भन्नुभयो, तैपनि येशू आउनुहुँदा मानिसहरूले उहाँ प्रधान पूजाहारी हुनुहुन्छ र उहाँ दाऊदको वंशका हुनुहुन्छ र साथै प्रधान पूजाहारी र महान् राजा हुनुहुन्छ भनेर पनि उहाँ मन्दिरमा प्रवेश गर्नुभएन? अनि उहाँले किन बलिहरू चढाउनुभएन? मन्दिरभित्र पस्नु वा मन्दिरमा नपस्‍नु—यो सबै परमेश्‍वर स्‍वयम्‌को काम होइन र? यदि, मानिसले कल्पना गरेझैं येशू फेरि आउनुहुनेछ र आखिरी दिनहरूमा पनि अझै येशू नै कहलाइनुहुन्छ र अझै पनि सेतो बादलमा सवार भएर येशूको स्वरूपमा मानिसहरूमाझ ओर्लनुहुन्छ भने, के त्यो उहाँको काम दोहोऱ्याउनु नै हुँदैन र? के पवित्र आत्मा पुरानोसँग टाँसिरहन सक्नुहुन्छ? मानिसले विश्‍वास गर्ने सबै धारणाहरू हुन्, र मानिसले बुझ्ने सबै शाब्दिक अर्थअनुसार, र उसको कल्पनाशक्ति अनुसार हुन्छ; ती पवित्र आत्माको कामका सिद्धान्तहरूसँग बाझिन्छन् र ती परमेश्‍वरको अभिप्राय अनुरूप हुँदैनन्। परमेश्‍वरले त्यस्तो प्रकारले काम गर्नुहुन्न; परमेश्‍वर त्यति मूर्ख र अबुझ हुनुहुन्न, र उहाँको काम तैँले सोचेको जस्तो सरल छैन। मानिसले कल्पना गर्ने सबै कुराको आधारमा, येशू बादलमा सवार भएर आउनुहुनेछ र तिमीहरूको बीचमा ओर्लनुहुनेछ। तिमीहरू उहाँलाई देख्नेछौ, जसले बादलमा सवार भएर, तिमीहरूलाई म येशू हुँ भनी भन्नुहुनेछ। तिमीहरूले उहाँको हातमा कीलका डामहरू पनि देख्नेछौ, र उहाँ येशू नै हुनुहुन्छ भनी चिन्नेछौ। अनि उहाँले तिमीहरूलाई फेरि मुक्ति दिनुहुनेछ र उहाँ तिमीहरूका शक्तिशाली परमेश्‍वर हुनुहुनेछ। उहाँले तिमीहरूलाई बचाउनुहुनेछ, तिमीहरूलाई एउटा नयाँ नाउँ प्रदान गर्नुहुनेछ, र तिमीहरू हरेकलाई एउटा सेतो ढुङ्गा दिनुहुनेछ, त्यसपछि तिमीहरूलाई स्वर्गको राज्यमा प्रवेश गर्ने अनुमति दिनुहुनेछ र स्वर्गलोकमा ग्रहण गरिनेछ। के यस्ता विश्‍वास मानिसका धारणाहरू होइनन् र? के परमेश्‍वरले मानिसको धारणाअनुसार काम गर्नुहुन्छ, वा उहाँले मानिसका धारणाहरू विपरीत काम गर्नुहुन्छ? के मानिसका धारणाहरू सबै शैतानबाट प्राप्त भएका होइनन् र? के सबै मानिस शैतानले भ्रष्ट भएका छैनन् र? यदि परमेश्‍वरले आफ्नो काम मानिसको धारणाअनुसार गर्नुभयो भने के उहाँ शैतान बन्नुहुन्न र? के उहाँ आफ्ना सृष्टिहरू जस्तै बन्नुहुन्न र? अहिले शैतानले उहाँका सृष्टिहरूलाई धेरै भ्रष्ट पारेकोले मानिस शैतानको मूर्त रूप बनेको छ, यदि परमेश्‍वरले शैतानका कुराहरू अनुरूप काम गर्नुभयो भने के उहाँ शैतानको साठगाँठमा हुनुहुने थिएन र? मानिसले परमेश्‍वरको कामलाई कसरी बुझ्न सक्छ? त्यसकारण परमेश्‍वरले कहिल्यै पनि मानिसका धारणाहरू अनुसार काम गर्नुहुन्‍न, र तैँले कल्पना गरे अनुसार पनि काम गर्नुहुन्‍न। कति जना मानिसहरू छन्, जसले परमेश्‍वर आफैले उहाँ बादलमा आउनुहुनेछ भन्नुभएको छ भनी भन्छन्। परमेश्‍वर आफैले त्यसो भन्नुभएको थियो भन्‍ने कुरा सत्य हो, तर परमेश्‍वरका रहस्यहरू कसैले पनि बुझ्न सक्दैन भन्‍ने के तँलाई थाहा छैन? के परमेश्‍वरका वचनहरूको व्याख्या कसैले पनि गर्न सक्दैन भन्‍ने तँलाई थाहा छैन? के तँ पवित्र आत्माले नै त्यो ज्ञान र प्रकाश दिनुभएको हो भन्‍नेमा निश्चित छस्, र तँलाई अलिकति पनि शङ्का छैन? त्यसरी तँलाई प्रत्यक्ष रूपमा देखाउने निश्‍चय नै पवित्र आत्मा हुनुहुन्‍नथियो। तँलाई निर्देशन दिने पवित्र आत्मा हुनुहुन्थ्यो, कि तेरा आफ्नै धारणहरूको कारण तैँले त्यस्तो विचार गरिस्? तैँले भनिस्, “परमेश्‍वर आफैले यसो भन्नुभएको थियो।” तर परमेश्‍वरका वचनहरूलाई नाप्न हामीले हाम्रो आफ्नै विचार र दिमागको प्रयोग गर्न सक्दैनौं। यशैयाद्वारा बोलिएका वचनहरूको कुरा गर्दा, के तैँले तिनका वचनहरूलाई पूर्ण सुनिश्‍चितताको साथ व्याख्या गर्न सक्छस्? के तँ तिनका वचनहरूलाई व्याख्या गर्ने हिम्मत गर्छस्? तैँले यशैयाका वचनहरूको व्याख्या गर्ने हिम्मत गर्दैनस् भने येशूका वचनहरूको व्याख्या गर्ने हिम्मत किन गर्छस्? को धेरै उच्च हुनुहुन्छ, येशू कि यशैया? यसको जबाफ येशू हुनुहुन्छ भन्‍ने हुन्छ, त्यसकारण तैँले किन येशूले बोल्नुभएका वचनहरूको व्याख्या गर्छस्? के परमेश्‍वरले तँलाई उहाँको कामको बारेमा अघिबाटै बताउनुहुन्छ र? एउटै पनि प्राणीले जान्न सक्दैन, स्वर्गका सन्देशवाहकहरूले पनि जान्दैनन्, न त मानिसका पुत्रले जान्नुहुन्छ, त्यसकारण तैँले कसरी जान्न सक्थिस्? मानिसमा धेरै कुराको कमी छ। अहिले तिमीहरूका लागि महत्वपूर्ण कुरा भनेको कामका तीन चरणहरू जान्नु हो। यहोवाको कामदेखि लिएर येशूको कामसम्म, र येशूको कामदेखि अहिलेको चरणसम्म, यी तीन चरणले परमेश्‍वरको सम्पूर्ण व्यवस्थापन कार्यलाई एउटै लहरमा गाँस्दछ र ती सबै एउटै आत्माको काम हुन्। संसारको सृष्टि भएदेखि नै परमेश्‍वर सधैँ मानव जातिको व्यवस्थापन गर्ने काममा लाग्नुभएको छ। सुरु र अन्त्य उहाँ नै हुनुहुन्छ, पहिलो र अन्तिम उहाँ नै हुनुहुन्छ, र युग सुरु गर्ने उहाँ नै हुनुहुन्छ र युगलाई समाप्त गर्ने पनि उहाँ नै हुनुहुन्छ। विभिन्न युगहरूमा र विभिन्न स्थानहरूमा हुने कार्यका तीन चरणहरू आत्माले गर्नुहुने काम नै हुन् भन्‍ने कुरा स्पष्ट छ। ती तीन चरणहरूलाई अलग गर्ने सबै मानिसहरू परमेश्‍वरकै विरोधमा खडा हुन्छन्। अब, यसले तँलाई पहिलो चरणदेखि आजसम्मका सबै कामहरू एउटै परमेश्‍वरको, एउटै आत्माको काम हो भनी बुझ्न सक्ने बनाउँछ। यस कुरामा कुनै शङ्का छैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (३)

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्