परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ३९९

30 नोभेम्बर 2022

पवित्र आत्माको आजका वचनहरू पवित्र आत्माका कार्यका गतिशीलताहरू हुन्, र यो अवधिमा पवित्र आत्माले मानिसलाई निरन्तर अन्तर्दृष्टि दिनु नै पवित्र आत्माको कामको प्रवृत्ति हो। अनि आजको पवित्र आत्माको कामको प्रवृत्ति के हो त? यो परमेश्‍वरको आजको काममा, र सामान्य आत्मिक जीवनमा मानिसहरूको नेतृत्व गर्नु हो। सामान्य आत्मिक जीवनमा गरिने प्रवेशका धेरै चरणहरू छन्:

१. पहिलो, तैँले आफ्‍नो हृदयलाई परमेश्‍वरको वचनमा खन्याउनैपर्छ। तैँले विगतको परमेश्‍वरको वचनलाई पछ्याउनु हुँदैन, र तिनलाई अध्ययन गर्नु हुँदैन, न त तिनलाई आजको वचनहरूसँग नै तुलना गर्नु हुन्छ। बरु, तैँले आफ्‍नो हृदयलाई पूर्ण रूपमा परमेश्‍वरको वर्तमान वचनमा लगाउनुपर्छ। यदि अझै पनि विगतका परमेश्‍वरको वचन, आत्मिक पुस्तकहरू, वा अरू प्रचारका विवरणहरूलाई पढ्न चाहने, तर आजको पवित्र आत्माको वचनलाई नपछ्याउने मानिसहरू छन् भने, तिनीहरू सबैभन्दा मूर्ख मानिसहरू हुन्; परमेश्‍वरले त्यस्ता मानिसहरूलाई तिरस्कार गर्नुहुन्छ। यदि तँ आजको पवित्र आत्माको ज्योतिलाई स्वीकार गर्न इच्‍छुक छस् भने, परमेश्‍वरको आजका वाणीहरूमा आफ्‍नो हृदयलाई पूर्ण रूपमा खन्या। तैँले हासिल गर्नुपर्ने पहिलो कुरा नै यही हो।

२. तैँले आजको परमेश्‍वरले बोल्‍नुभएका वचनहरूको जगमा प्रार्थना गर्नैपर्छ, तँ परमेश्‍वरका वचनहरूमा प्रवेश गरेर परमेश्‍वरसँग कुराकानी गर्नैपर्छ, र तैँले आफूले हासिल गर्न चाहेका मापदण्डहरू स्थापित गर्दै परमेश्‍वरको अघि आफ्‍ना संकल्पहरू गर्नैपर्छ।

३. तैँले पवित्र आत्‍माको आजको कामको जगमा सत्यताभित्र गहन प्रवेशको खोजी गर्नुपर्छ। विगतका पुराना भइसकेका वाणी र सिद्धान्तहरूलाई पक्री नराख्।

४. तैँले पवित्र आत्‍माको छुवाइ प्राप्त गर्ने र परमेश्‍वरका वचनहरूमा प्रवेश गर्ने प्रयास गर्नुपर्छ।

५. तँ आज पवित्र आत्‍माले हिँड्नुभएको मार्गमा प्रवेश गर्न लागिपर्नुपर्छ।

अनि तैँले कसरी पवित्र आत्‍माको छुवाइको खोजी गर्छस्? महत्त्वपूर्ण कुरा भनेको परमेश्‍वरका वर्तमान वचनहरूमा जिउनु, र परमेश्‍वरका मापदण्डहरूको जगमा रही प्रार्थना गर्नु हो। यसरी प्रार्थना गरिसकेपछि, पवित्र आत्‍माले तँलाई अवश्य नै छुनुहुन्छ। यदि तँ आज परमेश्‍वरले बोल्‍नुभएका वचनहरूको जगमा रही खोजी गर्दैनस् भने, यो व्यर्थ हुन्छ। तैँले यसो भन्दै प्रार्थना गर्नुपर्छ: “हे परमेश्‍वर! म तपाईंको विरोध गर्छु, र म तपाईंको धेरै ऋणी छु; म धेरै अनाज्ञाकारी छु, र म कहिल्यै पनि तपाईंलाई सन्तुष्ट तुल्याउन सक्दिनँ। हे परमेश्‍वर, तपाईंले मलाई मुक्ति दिनुहोस् भन्‍ने मेरो कामना छ, म तपाईंलाई अन्त्यसम्‍मै सेवा दिन चाहन्छु, म तपाईंको निम्ति मर्न चाहन्छु। तपाईं मेरो न्याय गर्नुहोस् र मलाई सजाय दिनुहोस्, तर म कुनै गुनासो गर्दिनँ; म तपाईंको विरोध गर्छु र म मर्न योग्य छु, ताकि मेरो मृत्युमा सबै मानिसहरूले तपाईंको धर्मी स्वभावलाई देख्‍न सकून्।” जब तँ हृदयबाटै यसरी प्रार्थना गर्छस्, परमेश्‍वरले तँलाई सुन्‍नुहुनेछ र तँलाई अगुवाइ गर्नुहुनेछ; यदि तँ पवित्र आत्माको आजका वचनहरूको जगमा रही प्रार्थना गर्दैनस् भने, पवित्र आत्माले तँलाई छुनुहुने कुनै सम्‍भावना हुँदैन। यदि तँ परमेश्‍वरको इच्‍छाअनुसार, र आज परमेश्‍वरले जे गर्न चाहनुहुन्छ त्योअनुसार प्रार्थना गर्छस् भने, तैँले यसो भन्‍नेछस्: “हे परमेश्‍वर! म तपाईंका आज्ञाहरूलाई स्वीकार गर्न र तपाईंका आज्ञाहरूप्रति विश्‍वासयोग्य हुन चाहन्छु, अनि म मेरो सम्पूर्ण जीवन नै तपाईंकै महिमामा अर्पण गर्न इच्‍छुक छु, ताकि मैले गर्ने सबै कुरा परमेश्‍वरका मानिसहरूका मापदण्डहरूको स्तरसम्‍म पुग्‍न सकून्। मेरो हृदय तपाईंद्वारा छोइयोस्। तपाईंको आत्माद्वारा मलाई सधैँ अन्तर्दृष्टि मिलोस्, मैले गर्ने सबै कुराले शैतानलाई शर्ममा पारोस्, आखिरमा मलाई तपाईंले प्राप्त गर्नुहोस् भन्‍ने मेरो कामना छ।” यदि तँ यसरी, परमेश्‍वरको इच्‍छावरिपरि केन्द्रित भई प्रार्थना गर्छस् भने, पवित्र आत्माले अपरिहार्य रूपमै तँमा काम गर्नुहुनेछ। तेरो प्रार्थनाका शब्‍दहरू कति धेरै छन् त्यसले केही फरक पार्दैन—तैँले परमेश्‍वरको इच्‍छालाई बुझ्छस् कि बुझ्दैनस्, मुख्य कुरा त्यही हो। तिमीहरू सबैले सायद यस्तो अनुभव प्राप्त गरेका छौ होला: भेलामा प्रार्थना गरिरहेको बेला कहिलेकहीँ पवित्र आत्‍माको कार्यका गतिशीलताहरू तिनको चरम अवस्थामा पुग्छन् र त्यसले सबैको सामर्थ्यलाई माथि उठाउँछ। कतिपय मानिसहरू प्रार्थना गर्दागर्दै परमेश्‍वरको अघि पछुतोले भरिएर नराम्ररी रुन्छन् र रुँदै बरर आँसु झार्छन्, र कतिपय मानिसहरूले आफ्नो सङ्कल्प देखाउँछन् र भाकल गर्छन्। पवित्र आत्माको कामले हासिल गर्नुपर्ने प्रभाव त्यस्तै नै हो। आज, सबै मानिसहरूले परमेश्‍वरको वचनमा आफ्‍नो हृदय पूर्ण रूपमा खन्याउनु महत्त्वपूर्ण छ। पहिले बोलिएका वचनहरूमा ध्यान नदे; पहिले जे आएको थियो त्यसलाई नै तँ अझै पक्रिरहन्छस् भने, पवित्र आत्‍माले तँभित्र काम गर्नुहुनेछैन। के तँ यो कति महत्त्वपूर्ण छ भन्‍ने देख्छस्?

के तँ आज पवित्र आत्‍माले हिँड्नुभएको मार्ग चिन्छस्? माथि उल्‍लेख गरिएका विभिन्‍न बुँदाहरू पवित्र आत्माले आज र भविष्यमा पूरा गर्नुपर्ने कुराहरू हुन्; ती पवित्र आत्माले लिनुभएको मार्ग हो, र मानिसले हासिल गर्न खोज्नुपर्ने प्रवेश हो। जीवनमा हुने तेरो प्रवेशमा, तैँले कम्तीमा पनि तेरो हृदयलाई परमेश्‍वरका वचनहरूमा खन्याउनुपर्छ, र परमेश्‍वरका वचनहरूको न्याय र सजायलाई स्वीकार गर्न सक्‍नुपर्छ; तेरो हृदय परमेश्‍वरको लागि तृषित हुनैपर्छ, तैँले सत्यताभित्रको गहन प्रवेश, र परमेश्‍वरले तोक्‍नुभएका उद्देश्यहरू खोजी गर्नुपर्छ। जब तँमा यस्तो सामर्थ्य हुन्छ, यसले तँलाई परमेश्‍वरले छुनुभएको छ, र तेरो हृदय परमेश्‍वरतर्फ फर्कन थालेको छ भन्‍ने देखाउँछ।

जीवनमा प्रवेश गर्ने कार्यको पहिलो चरण भनेको तेरो हृदयलाई पूर्ण रूपमा परमेश्‍वरका वचनहरूमा खन्याउनु हो, र दोस्रो चरण भनेको पवित्र आत्‍माको छुवाइलाई स्वीकार गर्नु हो। पवित्र आत्माको छुवाइलाई स्वीकार गरेर के प्रभाव हासिल गरिन्छ? यो अझै गहन सत्यताको तृष्णा गर्न, त्यसको खोजी गर्न, र अन्वेषण गर्न, र सकारात्मक तरिकाले परमेश्‍वरसँग सहकार्य गर्न सक्षम हुनलाई हो। आज, तँ परमेश्‍वरसँग सहकार्य गर्छस्, भन्‍नुको अर्थ, तेरो खोजी, तेरा प्रार्थनाहरू, र परमेश्‍वरका वचनहरूसँग तेरो विचार-मन्थनको उद्देश्य छ, र तैँले तेरो कर्तव्य परमेश्‍वरका मापदण्डहरूअनुसार पूरा गर्छस्—यो मात्रै परमेश्‍वरसँग सहकार्य गर्नु हो। यदि तँ परमेश्‍वरलाई काम गर्न दिनेबारेमा मात्रै बोल्छस्, तर प्रार्थना र खोजी गर्नु त कता हो कता तैँले कुनै काम समेत गर्दैनस् भने, के यसलाई सहकार्य भन्‍न सकिन्छ र? यदि तँमा सहकार्यको कुनै छाप नै छैन, र तँमा उद्देश्यसहितको प्रवेशको तालिमको अभाव छ भने, तैँले सहकार्य गरिरहेको छैनस्। कतिपय मानिसहरूले यसो भन्छन्: “सबै कुरा परमेश्‍वरले गर्नुभएको पूर्वनिर्धारणमा नै निर्भर हुन्छ, यो सबै परमेश्‍वर स्वयमले गर्नुहुन्छ; यदि यो परमेश्‍वरले गर्नुभएको होइन भने, मानिसले कसरी गर्न सक्थ्यो र?” परमेश्‍वरको कार्य सामान्य छ, र अलिकति पनि अलौकिक छैन, र तेरो सक्रिय खोजीद्वारा मात्रै पवित्र आत्माले काम गर्नुहुन्छ, किनभने परमेश्‍वरले जबरजस्ती गर्नुहुन्‍न—तैँले परमेश्‍वरलाई काम गर्ने अवसर दिनैपर्छ, र यदि तँ खोजी वा प्रवेश गर्दैनस् भने, र तेरो हृदयमा अलिकति पनि तृष्णा छैन भने, परमेश्‍वरसँग काम गर्ने कुनै मौका हुँदैन। परमेश्‍वरद्वारा छोइनको लागि तँ कुन मार्गद्वारा खोजी गर्छस्? प्रार्थनाद्वारा, र परमेश्‍वरको नजिक आएर। तर सबैभन्दा महत्त्वपूर्ण कुरा, यो परमेश्‍वरले बोल्‍नुभएका वचनहरूको जगमा नै हुनुपर्छ भन्‍ने कुरा याद गर्। जब तँ बारम्बार परमेश्‍वरद्वारा स्पर्शित हुन्छस्, तब तँ देहको दासत्वमा पर्दैनस्: पति, पत्‍नी, छोराछोरी, र रुपियाँपैसा—ती सबैले तँलाई बन्धनमा पार्न सक्दैनन्, र तँ सत्यताको पछि लाग्‍न र परमेश्‍वरको अघि जिउन मात्रै चाहन्छस्। यसपटक, तँ स्वतन्त्रताको क्षेत्रमा जिउने व्यक्ति बन्‍नेछस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको सबैभन्दा नयाँ कामलाई चिन र उहाँका पाइलाहरू पछ्याऊ

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्