परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ३९६

29 नोभेम्बर 2022

कस्तो प्रकारको जीवन आत्मिक जीवन हो? आत्मिक जीवन भनेको त्यो जीवन हो जहाँ तेरो हृदय पूर्ण रूपमा परमेश्‍वरमा फर्केको र परमेश्‍वरको प्रेमप्रति सचेत हुन सक्‍ने हुन्छ। यो त्यो जीवन हो जसमा तँ परमेश्‍वरका वचनहरूमा जिउँछस्, र तेरो हृदयलाई अरू कुनै कुराले ओगट्दैन, र तैँले आजको परमेश्‍वरको इच्‍छालाई बुझ्‍न सक्छस्, र तँ तेरो कर्तव्य पूरा गर्नको लागि पवित्र आत्माको आजको ज्योतिद्वारा मार्गनिर्देशित हुन्छस्। मानिस र परमेश्‍वरको बीचमा रहेको त्यो जीवन नै आत्मिक जीवन हो। यदि तैँले आजको ज्योतिलाई पछ्याउन सक्दैनस् भने, परमेश्‍वरसँगको तेरो सम्‍बन्धमा दरार उत्पन्‍न भएको छ—यो टुटेको समेत हुन सक्छ—अनि तँ सामान्य आत्मिक जीवनविहीन छस्। परमेश्‍वरसँगको सामान्य सम्‍बन्ध आजको परमेश्‍वरको वचनलाई स्वीकार गर्ने कार्यको जगमा निर्मित हुन्छ। के तँमा सामान्य आत्मिक जीवन छ? के तँमा परमेश्‍वरसँगको सामान्य सम्‍बन्ध छ? के तँ पवित्र आत्‍माको कार्यलाई पछ्याउने व्यक्ति होस्? यदि तँ आज पवित्र आत्माको ज्योतिलाई पछ्याउन सक्छस्, र परमेश्‍वरका वचनहरूभित्रको उहाँको इच्‍छालाई बुझ्‍न, र यी वचनहरूमा प्रवेश गर्न सक्छस् भने, तँ पवित्र आत्माको प्रवाहलाई पछ्याउने व्यक्ति होस्। यदि तँ पवित्र आत्माको प्रवाहलाई पछ्याउँदैनस् भने, तँ सत्यताको पछि नलाग्‍ने व्यक्ति होस् भन्‍नेमा कुनै शङ्का छैन। आफैलाई सुधार गर्न इच्‍छा नगर्नेहरूभित्र पवित्र आत्माले काम गर्ने कुनै सम्भावना हुँदैन, र परिणामस्वरूप, त्यस्ता मानिसहरूले कहिल्यै पनि आफ्‍नो सामर्थ्य बटुल्‍न सक्दैनन्, र तिनीहरू सधैँ नै निष्क्रिय हुन्छन्। आज, के तँ पवित्र आत्माको प्रवाहलाई पछ्याउँछस्? के तँ पवित्र आत्माको प्रवाहमा छस्? के तँ निष्क्रिय स्थितिबाट निस्किआएको छस्? परमेश्‍वरको वचनमा विश्‍वास गर्ने, परमेश्‍वरको वचनलाई जगको रूपमा लिने, र पवित्र आत्माको आजको ज्योतिलाई पछ्याउनेहरू सबै—तिनीहरू सबै पवित्र आत्माको प्रवाहमा हुन्छन्। यदि तँ परमेश्‍वरका वचनहरू स्पष्ट रूपमा साँचो र सही छन् भन्‍ने विश्‍वास गर्छस् भने, र यदि तँ उहाँले जे भन्‍नुभए तापनि परमेश्‍वरका वचनहरूमा विश्‍वास गर्छस् भने, तँ परमेश्‍वरको काममा प्रवेश गर्न लागिपर्ने व्यक्ति होस्, र यसरी तैँले परमेश्‍वरको इच्‍छालाई पूरा गर्छस्।

पवित्र आत्माको प्रवाहमा प्रवेश गर्नको लागि, तँमा परमेश्‍वरसँगको सामान्य सम्‍बन्ध हुनुपर्छ, र तैँले पहिले आफूलाई आफ्नो निष्क्रिय स्थितिबाट छुटकारा दिलाउनुपर्छ। कतिपय मानिसहरू सधैँ नै भीडको पछि लाग्छन्, र तिनीहरूको हृदय परमेश्‍वरबाट निकै टाढा जान्छ; त्यस्ता मानिसहरूसँग आफैलाई सुधार गर्ने कुनै इच्‍छा हुँदैन, र तिनीहरूले पछ्याउने मापदण्डहरू अत्यन्तै न्यूनस्तरका हुन्छन्। परमेश्‍वरलाई प्रेम गर्न र परमेश्‍वरद्वारा प्राप्त गरिनको लागि लागिपर्नु मात्रै परमेश्‍वरको इच्‍छा हो। परमेश्‍वरको प्रेमको ऋण तिर्नको लागि आफ्‍नो विवेक मात्रै प्रयोग गर्ने मानिसहरू पनि छन्, तर यसले परमेश्‍वरको इच्‍छालाई पूरा गर्न सक्दैन; तैँले जति उच्‍च मापदण्डहरूको खोजी गर्छस्, यो त्यति नै परमेश्‍वरको इच्‍छाअनुरूप हुनेछ। परमेश्‍वरको प्रेमलाई खोजी गर्ने एक सामान्य व्यक्तिको रूपमा, तिमीहरूको साँचो भविष्य, र सबैभन्दा मूल्यवान् र महत्त्वको जीवन भनेकै परमेश्‍वरका मानिसहरूमध्ये एक बन्‍नको लागि राज्यमा प्रवेश गर्नु हो; तिमीहरू जत्तिको आशिषित कोही पनि हुँदैन। म किन यसो भन्छु? किनभने परमेश्‍वरमा विश्‍वास नगर्नेहरू देहको लागि जिउँछन्, र तिनीहरू शैतानको लागि जिउँछन्, तर आज तिमीहरू परमेश्‍वरको लागि जिउँछौ, र परमेश्‍वरको इच्‍छालाई पूरा गर्नको लागि जिउँछौ। यही कारणले गर्दा नै तिमीहरूको जीवन सबैभन्दा महत्त्वपूर्ण छ भनेर म भन्छु। परमेश्‍वरले चुन्‍नुभएका मानिसहरूको यो समूहले मात्रै सबैभन्दा महत्त्वको जीवन जिउन सक्छन्: पृथ्वीमा अरू कोही पनि त्यस्तो मूल्य र अर्थको जीवन जिउन सक्षम छैनन्। तिमीहरूलाई परमेश्‍वरले चुन्‍नुभएको, र परमेश्‍वरले नै हुर्काउनुभएको कारणले गर्दा, अझ भन्‍ने हो भने, तिमीहरूप्रतिको परमेश्‍वरको प्रेमको कारणले गर्दा, तिमीहरूले साँचो जीवनलाई बुझेका छौ, र अति मूल्यवान् जीवन कसरी जिउने सो जान्दछौ। यो कुरा तिमीहरूको खोजी असल भएकोले होइन, बरु परमेश्‍वरको अनुग्रहले गर्दा नै यसो भएको हो; तिमीहरूको आत्माको आँखा खोलिदिने परमेश्‍वर नै हुनुहुन्थ्यो, र तिमीहरूलाई उहाँको सामुन्‍ने आउने सौभाग्य प्रदान गर्दै तिमीहरूको हृदयलाई छुने परमेश्‍वरका आत्मा नै हुनुहुन्थ्यो। यदि परमेश्‍वरका आत्माले तिमीहरूलाई अन्तर्दृष्टि नदिनुभएको भए, परमेश्‍वरको बारेमा के कुरा प्रेमिलो छ सो कुरा तिमीहरूले देख्‍न सक्दैनथ्यौ, न त तिमीहरूले परमेश्‍वरलाई प्रेम गर्नु नै सम्‍भव हुनेथ्यो। परमेश्‍वरका आत्माले मानिसहरूको हृदय छुनुभएको कारणले नै तिनीहरूको हृदय परमेश्‍वरतर्फ फर्केको छ। कहिलेकहीँ, जब तैँले परमेश्‍वरको वचनको आनन्द लिइरहेको हुन्छस्, तब तेरो आत्मा स्पर्शित हुन्छ, अनि तैँले परमेश्‍वरलाई प्रेम नगरी बस्‍न सक्दैनस्, तँलाई तँभित्र ठूलो सामर्थ्य छ, र तैँले पन्छाउन नसक्‍ने केही पनि छैन भन्‍ने लाग्छ। यदि तँलाई यस्तो अनुभूति हुन्छ भने, तँलाई परमेश्‍वरका आत्माले छुनुभएको छ, र तेरो हृदय पूर्ण रूपमा परमेश्‍वरतर्फ फर्केको छ, अनि तैँले परमेश्‍वरलाई यसो भन्दै प्रार्थना गर्नेछस्: “हे परमेश्‍वर! हामीलाई तपाईंले पूर्वनिर्धारित गरिसक्‍नुभएको र चुनिसक्‍नुभएको छ। तपाईंको महिमाले मलाई गर्व गराउँछ, र तपाईंका प्रजामध्ये एक बन्‍न पाउँदा मलाई गौरवको आभास हुन्छ। म तपाईंको इच्‍छा पुरा गर्नको निम्ति सबै थोक खर्चनेछु र सबै थोक दिनेछु, र मेरा सबै वर्षहरू, र सम्पूर्ण जीवनभरिको प्रयास तपाईंप्रति नै समर्पित गर्नेछु।” जब तँ यसरी प्रार्थना गर्छस्, तेरो हृदयमा परमेश्‍वरप्रति कहिल्यै नटुङ्गिने प्रेम र साँचो आज्ञापालन हुनेछ। के तैँले कहिल्यै यस्तो अनुभव गरेको छस्? यदि मानिसहरू बारम्बार परमेश्‍वरका आत्माद्वारा छोइएका छन् भने, तिनीहरू आफ्‍ना प्रार्थनामा आफैलाई विशेष रूपमा परमेश्‍वरमा समर्पित गर्न इच्‍छुक हुन्छन्: “हे परमेश्‍वर! म तपाईंको महिमाको दिनलाई हेर्न चाहन्छु, र म तपाईंकै लागि जिउन चाहन्छु—तपाईंको लागि जिउनुजत्तिको योग्य वा अर्थपूर्ण कुरा केही पनि छैन, र शैतान र देहको लागि जिउने थोरै इच्‍छासमेत मसँग छैन। आज तपाईंको लागि जिउन सक्षम तुल्याउँदै तपाईंले मलाई उठाउनुभयो।” जब तैँले यसरी प्रार्थना गरेको हुन्छस्, तँ परमेश्‍वरलाई तेरो हृदय नदिई बस्‍न सक्दैनस्, तँलाई लाग्‍नेछ कि तैँले परमेश्‍वरलाई प्राप्त गर्नैपर्छ, र जीवित छँदै परमेश्‍वरलाई प्राप्त नगरी तँ मर्न चाहँदैनस्। त्यस्तो प्रार्थना गरिसकेपछि, तँभित्र असीम सामर्थ्य आउनेछ, र यो कहाँबाट आउँछ सो तँलाई थाहा हुनेछैन; तेरो हृदयमा असीमित शक्ति हुनेछ, र परमेश्‍वर अत्यन्तै प्रेमिलो हुनुहुन्छ, र उहाँ प्रेम गर्न योग्य हुनुहुन्छ भन्‍ने तैँले अनुभूति गर्नेछस्। यही बेला तँ परमेश्‍वरद्वारा छोइएको हुनेछस्। यस्तो अनुभव प्राप्त गरेका सबैलाई परमेश्‍वरले छुनुभएको हुन्छ। परमेश्‍वरद्वारा बारम्बार छोइएकाहरूका हकमा, तिनीहरूको जीवनमा परिवर्तनहरू आउँछन्, तिनीहरू संकल्प गर्न सक्छन् र परमेश्‍वरलाई पूर्ण रूपमा प्राप्त गर्न इच्‍छुक हुन्छन्, तिनीहरूको हृदयमा परमेश्‍वरप्रतिको प्रेम अझै दह्रिलो हुन्छ, तिनीहरूको हृदय परमेश्‍वरमा पूर्ण रूपले फर्केका हुन्छन्, तिनीहरूलाई परिवार, संसार, जाल-झेल, वा तिनीहरूको भविष्यको कुनै ख्याल हुँदैन, र तिनीहरू आफ्‍नो जीवनभरिको प्रयास परमेश्‍वरमा समर्पित गर्न इच्‍छुक हुन्छन्। परमेश्‍वरका आत्माले छोइएकाहरू सबै सत्यताको पछि लाग्‍ने, र परमेश्‍वरद्वारा सिद्ध तुल्याइने आशा भएका मानिसहरू हुन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको सबैभन्दा नयाँ कामलाई चिन र उहाँका पाइलाहरू पछ्याऊ

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्