अरूलाई सिकाउँदा म किन सबै कुरा बताउँदिनँ?

25 अप्रिल 2023

जुलाई २०२१ मा, मैले मण्डलीको भिडियो बनाउने काम गरिरहेकी थिएँ। यो निकै महत्त्वपूर्ण कर्तव्य हो भन्‍ने मलाई थाहा थियो, त्यसकारण हरदिन ट्युटोरियलहरू हेर्दै र जानकारीहरू खोजी गर्दै धेरै समय बिताउँथेँ। अरूले प्राविधिक सीपको बारेमा छलफल गर्दा म ध्यान दिएर सुन्थेँ, त्यसपछि यसलाई प्रयोग गर्न यसबारे विस्तृत रूपमा विश्‍लेषण र अनुसन्धान गर्थेँ। कठिनाइहरू सामना गर्दा म परमेश्‍वरबाट पनि सहयोग माग्थेँ। केही समय अलमलिएपछि, मेरो प्राविधिक सीपमा निकै सुधार आयो। मैले केही नयाँ प्रोडक्शन शैलीहरू पत्ता लगाउँदै अझ प्रभावकारी रूपमा काम गरिरहेकी थिएँ। सबैले मलाई साँच्‍चै आदर गर्थे र प्राविधिक समस्याहरूबारे सोध्‍न मकहाँ आउँथे। मलाई उपलब्धिको साँचो अनुभूति हुन्थ्यो। मेरो सबै परिश्रम खेर गएन, र मैले यसको फल बल्‍ल देख्दै छु जस्तो लाग्थ्यो।

भिडियो प्रोडक्सनमा यति राम्रो काम गरिरहेको देखेर, सुपरभाइजरले मलाई अरू ब्रदर-सिस्टरहरूसँग मेरो प्राविधिक सीप र प्रोडक्सनको अनुभव बाँड्न अनुरोध गरिन्। तिनीहरूमध्ये कतिलाई त विशेष रूपमा मेरो कुरा सुन्‍न अनुरोध गरिएको रहेछ। मलाई मैले साँच्‍चै राम्ररी काम गरेछु जस्तो लाग्यो। तर आफ्नो सफलताका कडीहरू बताउनेबारेमा सोच्दा मलाई चिन्ता लाग्‍न थाल्यो। यदि मैले यी सीपहरूको सार खुलासा गरेँ, र सबैले ती सिके भने, तिनीहरू क्रमिक रूपमा आफ्‍नो कर्तव्यमा अझै प्रभावकारी हुँदै जानेछन्। त्यसपछि त मलाई सहयोग माग्‍न को आउला र? तिनीहरूले मलाई आदर गर्लान् र? होइन, मैले सबै कुरा बताउनु हुँदैन। त्यसकारण, मैले केही कुराहरू व्याख्या गरेँ, तर कतिपय कुरा लुकाएर राखेँ। त्यसो गर्नु सही होइन भन्‍ने थाहा थियो, तर मैले आफ्‍नै फाइदाको लागि मुखैमा आइसकेको कुरा पनि रोकेर राखेँ। पछि, एक सिस्टरले मलाई भनिन्: “तपाईंका निर्देशनअनुसार बनाइएका भिडियोहरू पहिलेका भन्दा निकै राम्रा छन्, तर हामी अझै कुशल भएका छैनौँ। तपाईंले हामीलाई सिकाउन बाँकी कुनै कुरा छ?” मैले उदासीनतासाथ जबाफ दिएँ, “मैले काम गर्ने त्यसरी नै हो। सायद अझै कुशल हुनलाई, तपाईंले अझै बढी अभ्यास गर्नुपर्छ कि?” उनले थप केही भनिनन्। त्यो बेला मलाई अलिक नरमाइलो लाग्यो र यो छली व्यवहार हो भन्‍ने महसुस भयो, तर म आफ्‍नो काममा अरूभन्दा प्रभावकारी भइरहेकी छु भन्‍ने सोच्दा, मैले त्यो सानो ग्‍लानिलाई दबाएर राखेँ।

हामीले हाम्रो मासिक समीक्षा गर्दा, सबैभन्दा बढी भिडियो मैले नै बनाएकी हुन्थेँ, र राम्रो गुणस्तर पनि मेरै हुन्थ्यो। त्यस्तो आँकडा देख्दा मलाई आफूप्रति साह्रै खुशी लाग्थ्यो, र मैले अरूलाई मेरो पूरै सीप सिकाउने निर्णय नगरेकोप्रति खुशी लाग्थ्यो। सिकाएको भए मेरो आँकडा सबैभन्दा राम्रो हुने थिएन। आफैप्रति अति सन्तुष्ट भइरहेको बेला, मैले अरूसँग मेरा सबै सीप बाँडेकी छैन भनेर सुपरभाइजरले थाहा पाइन्, र मलाई निराकरण गरिन्: “तपाईं कति स्वार्थी हुनुहुन्छ! तपाईं मण्डलीको काम होइन, आफ्‍नै प्रभावकारिताबारे मात्र सोच्दै हुनहुन्छ। बस, आफ्‍नो प्रदर्शन गर्न चाहनुहुन्छ। तपाईं एक्लैले कति काम पुरा गर्न सक्‍नुहुन्छ? यदि सबैलाई यी सीपहरू थाहा भएको भए, हामीले हाम्रो समग्र प्रगति सुधार्न सक्‍नेथ्यौँ।” यसले मण्डलीको काममा फाइदा पुग्‍छ भन्‍ने मलाई थाहा थियो, तर सबै जना अझै दक्ष बन्लान् र मलाई आदर गर्न छोड्लान् भन्‍नेबारेमा सोच्दा, मनभित्र अन्तर्द्वन्द्व चल्यो। अनि, प्रार्थना गरेँ, “हे परमेश्‍वर! भर्खरै म आफ्‍नै व्यक्तिगत फाइदाको लागि छली काम नगरी बस्‍न सकिनँ। म अबदेखि यो भ्रष्टतामा जिउन चाहन्‍नँ। बिन्ती छ, मलाई आफ्‍नो समस्या बुझेर यो भ्रष्ट स्वभाव त्याग्‍न अगुवाइ गर्नुहोस्।”

त्यसपछि भक्तिको समयमा, परमेश्‍वरको यो वचन पढेँ। “अविश्‍वासीहरूसँग निश्‍चित किसिमको भ्रष्ट स्वभाव हुन्छ। जब तिनीहरूले अन्य मानिसहरूलाई पेशागत ज्ञान वा सिप सिकाउँछन्, तिनीहरू यस्तो विचार गर्छन्, ‘गुरुको सबै भेद चेलाले थाहा पाएपछि, गुरुले आफ्‍नो रोजीरोटी गुमाउँछ। यदि मैले जानेका सबै कुरा अरूलाई सिकाएँ भने, कसैले पनि मलाई फेरि उच्‍च नजरले हेर्ने वा प्रशंसा गर्नेछैनन् र मैले शिक्षकको रूपमा आफ्नो हैसियत गुमाउनेछु। यसरी हुँदैन। मलाई थाहा भएको सबै कुरा मैले तिनीहरूलाई सिकाउनु हुँदैन, मैले केही कुरा त लुकाउनुपर्छ। मैले तिनीहरूलाई आफूले जानेको असी प्रतिशत मात्र सिकाउनुपर्छ र बाँकी कुरालाई आफूसँगै गोप्य राख्‍नुपर्छ; यो मात्रै मेरो सीप अरूको भन्दा उत्तम छ भनेर देखाउने तरिका हो।’ यो कस्तो किसिमको स्वभाव हो? यो छलीपन हो। अरूलाई शिक्षा दिँदा, सहयोग गर्दा, वा आफूले सिकेको कुरा बताउँदा, तँमा कस्तो मनोवृत्ति हुनुपर्छ? (हामीले कुनै कसर छोड्नु हुँदैन, र कुनै कुरा लुकाउनु हुँदैन।) … यदि तैँले सम्पूर्ण रूपमा आफ्ना वरदान र विशेष कुराहरूको योगदान दिन्छस् भने, ती कुराहरू कर्तव्य निभाउने सबै मानिसहरूका साथै र मण्डलीको कामका निम्ति लाभदायक हुनेछन्। तैँले सबै कुरा ठीकै छ वा हरेकलाई सबैभन्दा आधारभूत कुराहरू बताएर ज्ञानलाई रोकेको छैनस् भन्‍ने नसोच्; यसले काम गर्दैन। तैँले मानिसहरूले अक्षरशः बुझ्‍न सक्‍ने केही सिद्धान्त वा कुराहरू मात्र सिकाउन सक्छस्, तर ती सार वा महत्त्वपूर्ण बुँदाहरू सिकारुहरूले बुझ्न नसक्‍ने हुन्छन्। तैँले विस्तारमा नबताई वा विस्तृत विवरण नदिई अझ पनि सारांश मात्र दिन्छस् र यस क्रममा तैँले मनमनै सोच्छस् ‘जे भए पनि मैले तिमीलाई बताएको छु र केही कुरा पनि जानीजानी लुकाएको छैनँ। यदि तिमीले बुझेनौ भने तिम्रो क्षमता अत्यन्तै कमजोर भएर हो, यसैले मलाई दोष नदेऊ। परमेश्‍वरले तिमीलाई कसरी अगुवाइ गर्नुहुन्छ भन्‍ने कुरा मात्र हामीले हेर्नुपर्छ।’ यस्तो सोचविचारमा कपट समावेश हुन्छ, होइन र? के यो स्वार्थी र नीच होइन र? तेरो हृदयमा भएको र तैँले बुझ्‍ने कुराहरू किन मानिसहरूलाई सिकाउन सक्दैनस्? यसको साटो, तैँले ज्ञानलाई किन लुकाउँछस्? यो तेरा अभिप्रायहरू र तेरो स्वभावमा भएको समस्या हो। … सत्यता खोजी नगर्ने र अविश्‍वासीहरूजस्तै शैतानी स्वभावअनुसार जिउनेहरूको लागि यो थकाइलाग्दो हुन्छ। अविश्‍वासीहरूमाझ, प्रतिस्पर्धा व्यापक हुन्छ। कुनै पनि सीप वा व्यवसायको सारज्ञानमा पोख्त हुनु चानचुने कुरा होइन, र अरू कसैले यो कुरा पत्ता लगाएर यसमा पोख्त भयो भने, पहिलो व्यक्तिको रोजीरोटी खतरामा पर्छ। रोजीरोटी रक्षा गर्नको लागि, मानिसहरू यस्तो व्यवहार गर्न उत्प्रेरित हुन्छन्। तिनीहरू सधैँ सतर्क रहनुपर्छ—तिनीहरू जेमा पोख्त छन् त्यो तिनीहरूको सबभन्दा मूल्यवान् कुरा हो। त्यो तिनीहरूको रोजीरोटी, पूँजी, जीवन धान्‍ने आधार हो, र तिनीहरूले यो कसैको हातमा पर्न दिनु हुँदैन। तर तँ परमेश्‍वरमा विश्‍वास गर्छस्—यदि तैँले परमेश्‍वरको घरमा यसरी सोच्छस् र व्यवहार गर्छस् भने, तँ अविश्‍वासीभन्दा केही फरक छैनस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। यो खण्ड पढ्दा मलाई परमेश्‍वरले सीधै मेरो न्याय र खुलासा गर्दै हुनहुन्छ जस्तो अनुभव भयो। विश्‍वास गरेको वर्षौँपछि पनि, मेरो जीवन स्वभाव परिवर्तन भएको थिएन। म अविश्‍वासीजस्तै थिएँ, र जिउनेसम्‍बन्धी शैतानी नियमहरूअनुसार जिउँथेँ, जस्तै “आफ्नो दुनो सोझ्याउनुपर्छ” र “चेलाले पूरै सीप सिकेपछि, गुरुले जागिर गुमाउँछ।” मसँग केही सीप वा विशेष उपायहरू हुँदा, म ती कुरा लुकाउन चाहन्थेँ। म कसैलाई सबै कुरा त्यति सजिलै सिकाउन र मेरो पद र रोजीरोटी गुमाउने खतरा मोल्‍न मान्दिनथेँ। त्यो बेला, मसँग अरूको भन्दा बढी प्राविधिक सीप हुँदा र आफ्‍नो कर्तव्यमा अरूभन्दा प्रभावकारी हुँदा, म आफैप्रति अति खुसी हुन्थेँ र आदर पाउनमा मस्त रहन्थेँ। सुपरभाइजरले मलाई अरूलाई सिकाउन अनुरोध गरिन्, तर मैले आफ्‍नो पद जोगाउन सकूँ भनेर तिनीहरूलाई सबै कुरा बताइनँ। अरूले सबै कुरा सिके भने मलाई उछिन्‍नेछन्, अनि कसैले पनि मलाई आदर गर्नेछैन भन्‍ने डर लागेको थियो। कतिपय मानिसहरू आएर मलाई व्यक्तिगत रूपमा सोध्दा पनि, म साँचो कुरा लुकाएर तिनीहरूलाई सबै कुरा भन्दिनथेँ। मैले “चेलाले पूरै सीप सिकेपछि, गुरुले जागिर गुमाउँछ” भन्‍ने शैतानी दर्शन अभ्यास गरिरहेकी थिएँ। प्रतिष्ठा र हैसियतको लागि, मैले कपटी भएर खेल खेलेँ, किनभने अरूले मेरा सीपहरू पूरै सिके भने, मैले धाक लगाउने मौका पाउनेछैन भन्‍ने डर लागेको थियो। मैले मण्डलीको कामबारे पटक्‍कै सोचिनँ, र परमेश्‍वरको इच्‍छाको ख्याल गर्दै गरिनँ। मैले यी सीपहरूलाई आफ्‍नो प्रतिष्ठा र हैसियत कायम राख्‍ने व्यक्तिगत औजारहरूका रूपमा लिएँ। म अत्यन्तै स्वार्थी र खराब थिएँ, ममा मानवताको कमी थियो! सत्यता अभ्यास गर्न र दैहिकता पन्छाउन तयार हुँदै मैले परमेश्‍वरलाई प्रार्थना गरेँ। अनि, परमेश्‍वरले भन्‍नुभएको वचन सम्झिएँ: “जब धेरै मानिसहरूलाई पेशागत ज्ञानको कुनै विशेष पक्षको परिचय पहिलोपटक दिइन्छ, तिनीहरूले त्यसको शाब्दिक अर्थ मात्र बुझ्छन्; मुख्य बुँदा र सार बुझ्‍नको निम्ति केही समयको अभ्यास चाहिन्छ। यदि तैँले यी सूक्ष्म बुँदाहरूलाई पहिले नै राम्ररी बुझेको छस् भने, तैँले तिनलाई सिधै बताउनुपर्छ; तिनीहरूलाई घुमाउरो बाटो हिँड्ने र छामछामछुमछुम गर्दै धेरै समय बिताउने नबना। यो तेरो जिम्मेवारी हो; तैँले गर्नुपर्ने कुरा यही हो। यदि तैँले जेलाई मुख्य बुँदाहरू र सार मान्छस् त्यो तिनीहरूलाई बताइस् भने मात्र तैँले केही पनि नलुकाएको हुनेछस्, अनि मात्र तँ स्वार्थी हुनेछैनस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनहरूले मलाई अभ्यासको मार्ग दिए: मैले हाम्रो कामसँग सम्‍बन्धित मेरा सबै उपाय र ज्ञान ब्रदर-सिस्टरहरूलाई बाँड्नुपर्थ्यो, ताकि कसैले पनि लामालामा शैलीमा थप समय बरबाद नगरून्। त्यसपछि तिनीहरूले त्यस जगको आधारमा थप उत्प्रेरणा पाउन सक्थे र आफ्‍नो कर्तव्यमा अझै राम्रो हुँदै जान्थे। त्यसले मण्डलीको काममा फाइदा पुग्‍ने थियो। साथै, मैले केही व्यावसायिक सीप सिकेकी र कर्तव्यमा तुलनात्मक रूपमा सफल भएकी भए पनि, त्यो म अरूभन्दा तेज वा अभिप्रेरित भएर भएको थिएन, बरु परमेश्‍वरको अनुग्रहद्वारा मलाई थोरै उत्प्रेरणा मिलेकोले भएको थियो। मैले आफ्‍नो मात्रै विचार गर्नु हुँदैनथ्यो, बरु आफ्‍ना जिम्‍मेवारीहरू पुरा गर्दै आफ्‍ना सबै ज्ञान अरूसँग बाँड्नुपर्थ्यो। त्यसपछि हाम्रो समग्र काममा सुधार आउने थियो। त्यसकारण, मैले आफूले जानेका सबै व्यावसायिक सीप ब्रदर-सिस्टरहरूलाई सिकाएँ, र अर्को राम्रो सीप पत्ता लगाउँदा पनि आफै तिनीहरूलाई बताउँथेँ। केही समयपछि, हाम्रो समूहको उत्पादकत्वले आकाश छोयो, र मेरो सीपको आधारमा हामीमध्ये कतिले नयाँ शैली पत्ता लगाए।

एक महिनापछि, कर्मचारी हेरफेरको कारण, सुपरभाइजरले समूह अगुवा कोलिनलाई नयाँ समूहको जिम्‍मा दिइन् र मलाई तिनको भूमिकामा राखिन्। म परमेश्‍वरप्रति साँच्‍चै कृतज्ञ थिएँ र यो काम राम्ररी गर्न चाहन्थेँ। कोलिनको समूहका सबै ब्रदर-सिस्टरहरू भिडियो बनाउने काममा नयाँ र कम अनुभवका थिए, त्यसकारण तिनले राम्रो क्षमता भएका केहीलाई हामीकहाँ सिक्‍न पठाए। तिनीहरू सबै सिक्‍नमा छिटो थिए, र चाँडै नै तिनीहरूले राम्ररी सीप सिके र आफ्‍नो कर्तव्यमा राम्रो परिणाम प्राप्त गरिरहेका थिए। मलाई अलिक खटपट भयो। तिनीहरू केही सीप सिक्‍न आए र हामीले तिनीहरूलाई सबै कुरा सिकायौँ। यदि यस्तै भइरहे, र तिनीहरूको उत्पादकत्व निरन्तर बढिरह्यो, हाम्रो समूहलाई तिनीहरूको समूहले जित्‍न सक्थ्यो। अनि, हाम्रो समूहको उच्‍च उत्पादकत्व कायम राख्‍न, ती सिक्‍न आएका कतिपयलाई मैले अनलाइन समूहबाट हटाएँ। मैले अरू मण्डलीका रचनात्मक शैली र सीपहरू पनि अध्ययन गर्न थालेँ। मेरो सोचाइ के थियो भने हामीलाई यसअघि थाहा भएका सबै सीप तिनीहरूले सिकिसकेका छन्, त्यसकारण यदि हामीले केही नयाँ सीप सिक्यौँ र तिनीहरूलाई बताएनौँ भने, तिनीहरूले हामीलाई जित्‍न सक्‍नेछैनन्। तर अचम्‍मको कुरो, मैले तिनीहरूलाई समूहबाट निकालेपछि, हाम्रो समूहको उत्पादकत्व बढ्नुको साटो झन् पो घटेर गयो। समूह सदस्यहरूले थप नकारात्मक स्थिति र समस्याहरू सामना गरे, र म पनि अन्योलमा थिएँ। भिडियोहरू बनाउनलाई मसँग कुनै उपाय हुँदैनथ्यो र मैले समूहका समस्याहरू समाधान गर्न सकिनँ। मलाई महसुस भयो, यदि मैले आफ्‍नो स्थिति परिवर्तन गरिनँ भने, अवश्यै समूहको कार्यप्रस्तुतिमा असर पुग्‍नेछ। मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “परमेश्‍वर, आजभोलि मैले आफ्‍नो कर्तव्यमा जति नै प्रयास गरे पनि, कुनै दिशा पाउन सकेकी छैन। बिन्ती छ, मलाई आफूलाई चिन्‍न र यो भद्रगोल अवस्थाबाट निस्कन अन्तर्दृष्टि र मार्गदर्शन दिनुहोस्।”

एक दिन, भक्तिको समयमा, मैले परमेश्‍वरका वचनहरूको यो खण्ड पढेँ: “जब मानिसहरू गलत स्थितिमा जिउँछन्, र परमेश्‍वरलाई प्रार्थना गर्ने वा सत्यता खोजी गर्ने गर्दैनन्, तब पवित्र आत्माले तिनीहरूलाई त्याग्‍नुहुनेछ, र परमेश्‍वर उपस्थित हुनुहुनेछैन। सत्यता खोजी नगर्नेहरूले कसरी पवित्र आत्‍माको कार्य प्राप्त गर्न सक्छन् र? परमेश्‍वरले तिनीहरूलाई घिनाउनुहुन्छ, उहाँले तिनीहरूबाट आफ्‍नो अनुहार लुकाउनुहुन्छ, र त्यसरी नै पवित्र आत्‍मा पनि तिनीहरूबाट लुक्‍नुहुन्छ। जब परमेश्‍वरले तँमा काम गर्न छोड्नुभएको हुन्छ, तैँले आफ्‍नो खुसीले काम गरे हुन्छ। के उहाँले तँलाई पन्छाइसक्‍नुभएपछि तँ सकिँदैनस् र? तैँले केही पनि उपलब्धि हासिल गर्नेछैनस्। किन अविश्‍वासीहरूलाई काम गर्न यस्तो गाह्रो हुन्छ? के तिनीहरू हरेकले आफ्नो कुरा अरूलाई नभन्‍ने भएर होइन र? तिनीहरूले आफ्नो कुरा अरूलाई भन्दैनन्, र केही पनि हासिल गर्न सक्दैनन्—सबै कुरा अत्यन्तै कठिन हुन्छन्, चाहे ती साधारण मामलाहरू नै किन नहोऊन्। शैतानको प्रभुत्वमा रहेको जीवन यस्तो हुन्छ। यदि तिमीहरूले पनि अविश्‍वासीहरूले जस्तै गर्छौ भने, तिमीहरू कसरी तिनीहरूभन्दा फरक भयौ र? तिमीहरूबीच कुनै भिन्‍नता छैन। यदि शैतानी स्वभावअनुसार जिउनेहरूले शक्ति चलाउँछन् भने, यदि सत्यता नभएकाहरूले शक्ति चलाउँछन् भने, के शक्ति चलाउने शैतान नै हुँदैन र? यदि व्यक्तिका कार्यहरू समग्र रूपमा सत्यताविपरीत छन् भने, पवित्र आत्‍माको कार्य आउन छोड्छ, र परमेश्‍वरले तिनीहरूलाई शैतानको हातमा सुम्पिदिनुहुन्छ। शैतानको हातमा परेपछि, मानिसहरूमाझ हरकिसिमका कुरूपताहरू—उदाहरणको लागि, डाहा र विवाद—देखा पर्न थाल्छन्। यी घटनाहरूले के चित्रण गर्छ? पवित्र आत्माको काम रोकिएको छ, उहाँ छोडेर जानुभएको छ, र परमेश्‍वरले काम गर्न छोड्नुभएको छ भन्‍ने कुरा चित्रण गर्छ। परमेश्‍वरको कामविना, मानिसले बुझ्‍ने अक्षर र धर्मसिद्धान्तहरूको के काम? तिनको कुनै काम हुँदैन। पवित्र आत्‍माको कार्यविना, मानिसहरू भित्री रूपमा रित्ता हुन्छन्—तिनीहरूले केही बुझ्‍न सक्दैनन्। तिनीहरू मरेतुल्य हुन्छन्, र समय आइपर्दा, तिनीहरू अकमक्‍क पर्छन्। मानवजातिले पाउने सबै उत्प्रेरणा, बुद्धि, बौद्धिकता, अन्तर्ज्ञान, र अन्तर्दृष्टि परमेश्‍वरबाटै आउँछन्; यो सब परमेश्‍वरको काम हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। मैले परमेश्‍वरका वचनहरूबाट उहाँको धर्मी स्वभाव महसुस गर्न सकेँ। मानिसहरूको व्यवहारअनुसार तिनीहरूप्रतिको परमेश्‍वरको मनोवृत्ति फरकफरक हुन्छ। यदि कुनै व्यक्तिले आफ्‍नो कर्तव्यप्रति सही मनसाय राख्छ, सत्यता खोजी गर्छ, र मण्डलीको काम रक्षा गर्न अरूसँग मिलेर लागिपर्छ भने, उसले पवित्र आत्‍माको काम प्राप्त गर्छ। तर तिनीहरूले सत्यता अभ्यास गर्दैनन् र आफ्‍नो शैतानी स्वभावमा जिउँछन् भने, परमेश्‍वरले घिनाएर तिनीहरूलाई त्याग्‍नुहुन्छ। मैले हाम्रो समूहबाट सिक्‍ने प्रयास गरिरहेका अरू समूहका ब्रदर-सिस्टरहरूका बारेमा विचार गरेँ। तिनीहरू सिक्‍नमा छिटो र हामीभन्दा प्रभावकारी रहेको देख्दा, मलाई डाहा लाग्यो। तिनीहरूलाई उछिन्‍न सकौँ भनेर मैले तिनीहरूलाई समूहबाट निकालिदिएँ, र तिनीहरूलाई हाम्रो तालिममा सहभागी भइरहन दिइनँ। त्यसपछि हामी तिनीहरूबाट पछि पर्दैनथ्यौँ। मैले त अविश्‍वासीजस्तै व्यवहार गर्दै थिएँ—यो सबै मेरो आफ्‍नै फाइदाको लागि थियो। अरूले मलाई उछिन्छन्, र त्यसले मेरो प्रतिष्ठा र हैसियतमा असर गर्नेछ भन्‍ने सधैँ डर लाग्थ्यो। मैले मण्डलीको काममा पटक्‍कै साथ दिइनँ—म अत्यन्तै स्वार्थी र घृणित थिएँ। मैले परमेश्‍वरको वचनमा यी कुरा पढेँ: “परमेश्‍वरको कामविना, मानिसले बुझ्‍ने अक्षर र धर्मसिद्धान्तहरूको के काम? तिनको कुनै काम हुँदैन। पवित्र आत्‍माको कार्यविना, मानिसहरू भित्री रूपमा रित्ता हुन्छन्—तिनीहरूले केही बुझ्‍न सक्दैनन्। तिनीहरू मरेतुल्य हुन्छन्, र समय आइपर्दा, तिनीहरू अकमक्‍क पर्छन्।” मैले त्यो काम थाल्दा, म सीपहरू सिकेर आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न चाहन्थेँ। समस्याहरू आउँदा म प्रार्थना गर्थेँ र सहयोग खोज्थेँ, मैले चाँडै सीप सिकेँ, र म कहिल्यै थाकिनँ। तर म प्रतिस्पर्धाको स्थितिमा जिउन थालेर, सत्यता खोजी गर्न छोडेपछि र हर मोडमा भ्रष्टताअनुसार व्यवहार गर्न थालेपछि, परमेश्‍वरले मलाई घिनाउनुभयो र त्याग्‍नुभयो। मेरो कर्तव्यमा दिशा र उद्देश्यको अभाव भयो, र म हर कुरामा अयोग्य भएझैँ लाग्‍न भयो। परमेश्‍वरले ममाथि काम गर्न छोड्नुभएपछि, मसँग भएको थोरै व्यावसायिक ज्ञान पनि व्यर्थ हुँदो रैछ भन्‍ने मैले बुझेँ। यो आफ्‍नो कर्तव्यमा सही मनसाय नहुनु, सधैँ आफ्‍नै हितहरू रक्षा गर्नु, र सत्यता अभ्यास नगर्नुको परिणाम थियो।

त्यसपछि मलाई परमेश्‍वरका वचनहरूको एउटा खण्ड याद आयो। परमेश्‍वरले ख्रीष्टविरोधीहरूलाई आफ्‍नै हितहरूबारे मात्रै सोच्‍ने, परमेश्‍वरको घरका हितहरूबारे नसोच्‍ने भनेर खुलासा गर्नुभएको छ। परमेश्‍वरका वचनहरूले भन्छ, “तिनीहरूले चाहे जुनै कार्यको जिम्मा लिए पनि यस प्रकारको व्यक्ति, जो ख्रीष्ट विरोधी हो, उसले परमेश्‍वरको घरका हितहरूबारे कहिल्यै कुनै विचार गर्दैन। तिनीहरू आफ्ना हितहरू प्रभावित होला कि भन्ने मात्र सोच्छन्, तिनीहरू आफ्नो अगाडि भएको र आफूलाई फाइदा गर्ने थोरै कामको बारेमा मात्र सोच्छन्। तिनीहरूको लागि मण्डलीको प्राथमिक काम आफ्नो फुर्सदको समयमा गर्ने काम मात्र हुन्छ। तिनीहरूले यसलाई कुनै गम्भीरतासाथ लिँदैनन्। तिनीहरूले झारातिरुवा शैलीको प्रयत्‍न मात्र लगाउँछन्, आफूलाई मनपर्ने काम मात्र गर्छन्, र आफ्नो पद र शक्ति कायम राख्‍ने काम मात्र गर्छन्। तिनीहरूको नजरमा, परमेश्‍वरको घरद्वारा प्रबन्ध गरिएको कुनै पनि काम, सुसमचार प्रचार गर्ने काम र परमेश्‍वरका चुनिएका जनहरूको जीवन प्रवेशको कुनै महत्त्व हुँदैन। अरू मानिसहरूलाई तिनीहरूको काममा जस्तोसुकै कठिनाइहरू भए पनि, तिनीहरूले जुनै समस्या पहिचान गरे पनि वा तिनीहरूलाई जुनै समस्याको उजुरी दिए पनि, तिनीहरूका कुराहरू जति नै इमानदार भए पनि, ख्रीष्टविरोधीहरूले त्यसमा ध्यान दिँदैनन्, तिनीहरू संलग्न हुँदैनन्, मानौं, तिनीहरूसित यसको कुनै सम्बन्ध छैन। तिनीहरू मण्डलीका मामिलाहरूप्रति बिलकुलै उदासीन हुन्छन्, चाहे ती मामिलाहरू जति नै ठूला किन नहोऊन्। समस्या तिनीहरूको अगाडि हुँदा पनि तिनीहरू झारा टार्न मात्र त्यसको सम्बोधन गर्छन्। जब तिनीहरूलाई सीधै माथिबाट निराकरण गरिन्छ र समस्या समाधान गर्ने आदेश दिइन्छ तब मात्र तिनीहरू मन नलागी-नलागी थोरै वास्तविक काम गर्छन् र माथिकालाई देखाउनका लागि दिनेछन्; त्यसको लगत्तै, तिनीहरू आफ्नै काममा लागिरहन्छन्। मण्डलीको कामप्रति, अझ विस्तृत सन्दर्भको महत्त्वपूर्ण कुराप्रति रुचि देखाउँदैनन्, र तिनलाई बेवास्ता गर्छन्। तिनीहरू आफूले थाहा पाएका समस्याहरूलाई पनि बेवास्ता गर्छन्, र त्यस्ता समस्याहरूको बारेमा सोध्दा तिनीहरूले झारा टार्ने जबाफ दिन्छन्, तँलाई कुनै भाउ नदिन शब्दजाल प्रयोग गर्छन्, र मन नलागीनलागी त्यसलाई सम्बोधन गर्छन्। यो स्वार्थीपन र नीचताको अभिव्यक्ति हो, होइन र? यति मात्र होइन, ख्रीष्टविरोधीहरूले जुनै कर्तव्य पूरा गरिरहेका भए पनि त्यसले तिनीहरूलाई फाइदा पुर्याउनेछ कि पुर्याउनेछैन भन्ने मात्र सोच्छन्; त्यसले तिनीहरूको प्रतिष्ठा बढाउनेछ भने, तिनीहरू यो कसरी गर्ने, कसरी पूरा गर्ने भनी तरिका सिक्न आफ्नो दिमाग खियाउँछन्; यसले तिनीहरूलाई अलग राख्छ कि राख्दैन भन्ने कुराको मात्र तिनीहरू वास्ता गर्छन्। तिनीहरूले चाहे जे गरे वा सोचे पनि, तिनीहरू आफ्नै ख्याति र हैसियतको मात्र चिन्ता गरिरहेका हुन्छन्। तिनीहरूले जुन-सुकै कर्तव्य पूरा गरिरहेको भए पनि, तिनीहरू को उच्च वा नीच छ, कसले जित्छ र को हार्छ, कसको ठूलो प्रतिष्ठा छ भन्ने कुरामा मात्र प्रतिस्पर्धा गर्छन्। तिनीहरू कति जना मानिसहरूले तिनीहरूलाई आदरका साथ हेर्छन्, कति जना मानिसहरूले तिनीहरूको आज्ञा पालन गर्छन्, र तिनीहरूका कति जना अनुयायीहरू छन् भन्ने कुराको मात्र वास्ता गर्छन्। तिनीहरू कहिल्यै सत्यताको सङ्गति गर्दैनन् वा वास्तविक समस्याहरू समाधान गर्दैनन्। तिनीहरू आफ्नो कर्तव्य गर्दा सिद्धान्त अनुसार कसरी काम गर्ने, तिनीहरू बफादार भएका छन् कि छैनन्, तिनीहरूको आफ्ना जिम्मेवारीहरू पूरा गरेका छन् कि छैनन्, कतै अटेरी भएका छन् कि, वा कुनै समस्याहरू छन् कि भन्‍नेबारेमा कहिल्यै विचार गर्दैनन्, न त तिनीहरू परमेश्‍वरको घरले मागेको कुरा र परमेश्‍वरको इच्छा के हो भन्‍ने कुरामा नै ध्यान दिन्छन्। तिनीहरूले यी कुराहरूमा अलिकति पनि ध्यान दिँदैनन्। तिनीहरूले केवल आफ्नो टाउको सीधा पारेर आफ्नो प्रतिष्ठा र इज्‍जतका लागि, आफ्नै महत्त्वाकाङ्क्षा र चाहनाहरू सन्तुष्ट पार्नका लगि मात्र काम गर्छन्। यो स्वार्थीपन र नीचताको अभिव्यक्ति हो, होइन र? यसले तिनीहरूको हृदय तिनीहरूका आफ्नै महत्त्वाकांक्षा, चाहना र अर्थहीन मागहरूले भरिएको छ भन्‍ने प्रमाणित गर्छ; तिनीहरूले जे गर्छन् ती सबै तिनीहरूका महत्त्वाकांक्षा र चाहनाहरूद्वारा सञ्चालित हुन्छन्। तिनीहरूले चाहे जे नै गरे पनि, त्यसको प्रेरणा र सुरुवात बिन्दु तिनीहरूको आफ्नै महत्त्वाकांक्षा, चाहना, र अर्थहीन मागहरू हुन्। यो स्वार्थीपन र निकृष्टताको मौलिक, ठेट उदाहरण हो(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट चार: ख्रीष्टविरोधीहरूको चरित्र र तिनीहरूको स्वभावको सारको सारांश (भाग एक))। परमेश्‍वरको वचनले के खुलासा गर्छ भने, ख्रीष्टविरोधीहरूले आफ्‍नै प्रतिष्ठा र हैसियतको लागि मात्रै काम गर्छन्, मण्डलीको कामको बारेमा विचार गर्दैनन्। मण्डलीको बन्दोबस्तबारे अनि अरूले कर्तव्यमा सामना गरिरहेका समस्याहरूबारे तिनीहरूलाई कुनै मतलब हुँदैन। ब्रदर-सिस्टरहरूले सामना गरिरहेका कुनै पनि कठिनाइप्रति तिनीहरूले आँखा चिम्‍लन्छन्, तिनीहरू स्वार्थी र नीच हुन्छन्, तिनीहरूमा पटक्‍कै मानवता हुँदैन। मैले ख्रीष्टविरोधीहरूको व्यवहारलाई हेरेँ र म कसरी कष्ट भोग्‍ने र परित्याग गर्नेजस्तो देखिन्थेँ, र आफ्‍नो कर्तव्यको लागि सीपहरू सिक्‍न सक्दो गर्थेँ, तर परमेश्‍वरको इच्‍छाको ख्यालै गर्दिनथेँ भनेर समीक्षा गरेँ। मैले आफ्‍नो कर्तव्यलाई हैसियत र राम्रो प्रतिष्ठा पाउने औजारको रूपमा लिइरहेकी थिएँ। म मानिसहरूको बीचमा हैसियत पाउँछु कि पाउँदिन, र अरूले मलाई आदर र मान गर्छन् कि गर्दैनन् भन्‍नेबारेमा मात्रै वास्ता गर्थेँ। परमेश्‍वरको मापदण्ड के हो वा मैले उहाँलाई कसरी सन्तुष्ट तुल्याउने भनेर म कहिल्यै विचार गर्दिनथेँ। जब मैले आफ्‍नो कर्तव्यमा केही सफलता पाएर सबै जना मलाई प्रश्‍नहरू गर्न आउन थाले, तब प्रतिष्ठा र हैसियत पाउने मेरो इच्‍छा पूरा भयो। अनि अरूलाई मेरो व्यावसायिक ज्ञान बाँड्दा, म कपटी भएँ, खेल खेलेँ, र आफूले जानेका कतिपय कुराहरू लुकाएँ। मैले पूर्ण हदसम्‍म आफ्‍नो सीप बाँडिनँ, र हाम्रो समूहमा सिक्‍न आउने मानिसहरूले हामीबाट थप सिक्‍न नसकून् भनेर तिनीहरूलाई समूहबाट हटाएँ, किनभने तिनीहरू सक्षम हुनेछन् र मेरो आदर खोस्‍नेछन् भन्‍ने मलाई डर लाग्यो। तर हामी परमेश्‍वरको वचन फैलाउन भिडियोहरू बनाउँछौँ, त्यसकारण हाम्रो कर्तव्य राम्ररी पूरा गर्न मैले अरूसँग मिलेर काम गर्नुपर्थ्यो, ताकि परमेश्‍वरको देखापराइको तृष्णा गर्ने अझै धेरै मानिसहरूले चाँडै उहाँकहाँ आउन, सत्यता खोजी गर्न र मुक्ति पाउन सकून्। तर आफ्‍नै प्रतिष्ठा र हैसियत रक्षा गर्नको लागि, म कसैसँग पनि आफ्‍नो सीप बाँड्न इच्‍छुक थिइनँ। मैले आफ्‍नो सीप र सिकाइसम्‍बन्धी स्रोतसाधनलाई आफैले मात्र आनन्द लिने आफ्‍नै व्यक्तिगत सम्पत्तिको रूपमा लिएँ। म आफ्‍नो प्रदर्शन गर्न र अरूको आदर पाउने मेरो उग्र अभिलाषा पूरा गर्न मात्रै चाहन्थेँ। म मण्डलीको काम वा परमेश्‍वरको इच्‍छाबारे अलिकति पनि विचार गर्दिनथेँ। मेरो व्यवहार कसरी ख्रीष्टविरोधीकोभन्दा फरक थियो र? मलाई यो स्थिति निकै खतरनाक लाग्यो, त्यसकारण मैले हृदयदेखि प्रार्थना गरेँ: “हे परमेश्‍वर! म आफ्‍नो विवेकलाई बेवास्ता गर्दै आफ्‍नै हितहरूबारे मात्रै सोच्‍न चाहन्‍नँ। म पश्‍चात्ताप गर्न, मसँग भएको सीप सबैलाई सिकाउन, र आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न तयार छु।”

त्यसपछि परमेश्‍वरको वचनमा मैले यो कुरा पढेँ: “यदि मानिसहरूले सत्यता बुझ्दैनन् भने, तिनीहरूलाई आफ्‍ना हितहरू त्याग्‍नुजत्तिको गाह्रो अरू केही हुँदैन। किनभने तिनीहरूको जीवनदर्शन नै ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ’ र ‘कि त धनी बन्‍नू कि त कोसिस गर्दै मर्नू’ भन्‍ने हुन्छ। स्पष्‍टै छ, तिनीहरू आफ्‍नै हितहरूका लागि मात्रै जिउँछन्। मानिसहरूले के सोच्छन् भने तिनीहरूका हितहरूविना—तिनीहरूले आफ्‍ना हितहरू गुमाए भने—तिनीहरू बाँच्‍न सक्दैनन्, मानौँ तिनीहरूको अस्तित्वलाई तिनीहरूका हितहरूबाट अलग गर्न सकिँदैन, त्यसकारण धेरैजसो मानिसहरू आफ्‍नै हितहरूबाहेक अरू केही देख्दैनन्। तिनीहरूले यी कुराहरूलाई अरू कुनै पनि कुराभन्दा उच्‍च ठान्छन्, तिनीहरू आफ्‍नै हितका लागि मात्रै जिउँछन्, र तिनीहरूलाई तिनीहरूका हितहरू त्याग्‍न लगाउनु भनेको ज्यान दिन लगाउनुजत्तिकै हुन्छ। त्यसोभए त्यस्तो परिस्थितिमा के गर्नुपर्छ? तिनीहरूले सत्यता स्वीकार गर्नैपर्छ। मानिसहरूले सत्यता बुझेपछि मात्रै आफ्ना हितहरूको सारलाई देख्‍न सक्छन्; त्यसपछि मात्रै तिनीहरूले आफूले औधी प्रेम गरेको कुरालाई त्याग्‍न, इन्कार गर्न, र त्यसरी त्याग्दाको पीडालाई सहन सक्छन्। अनि, जब तैँले त्यसो गर्न सक्छस्, र आफ्‍नै हितहरूलाई त्याग्‍न सक्छस्, तब तैँले हृदयमा त्यति नै ढुक्‍क र त्यति नै शान्ति प्राप्त गर्छस्, र त्यसो गरेर तैँले देहमाथि जित हासिल गर्छस्। यदि तँ आफ्‍ना हितहरूमै अल्झिरहन्छस् र थोरै सत्यता पनि स्वीकार गर्दैनस् भने—यदि तैँले मनमनै, ‘आफ्‍नै हितको खोजी गर्नु र कुनै पनि घाटा बेहोर्न नमान्‍नुमा के गलत छ र? परमेश्‍वरले त मलाई दण्ड दिनुभएको छैन, मानिसहरूले मलाई के नै गर्न सक्छन् र?’ भनी भन्छस् भने—कसैले पनि तँलाई केही गर्नेछैन। तर यदि यो परमेश्‍वरमाथिको तेरो विश्‍वास हो भने, तँ अन्त्यमा सत्यता र जीवन प्राप्त गर्न असफल हुनेछस्, जुन तेरो लागि ठूलो घाटा हुनेछ: तैँले मुक्ति पाउन सक्दैनस्। योभन्दा ठूलो पछुतो अरू कुनै छ र? आफ्‍नै हितहरूको पछि लाग्दा अन्त्यमा प्राप्त हुने कुरा यही हो। यदि मानिसहरूले हैसियत र प्रतिष्ठाको मात्रै खोजी गर्छन् भने—यदि तिनीहरूले आफ्‍नै हितहरूको मात्रै खोजी गर्छन् भने—तिनीहरूले कहिल्यै पनि सत्यता र जीवन प्राप्त गर्नेछैनन्, र अन्त्यमा तिनीहरूले नै नोक्‍सानी बेहोर्नुपर्छ। परमेश्‍वरले सत्यता खोजी गर्नेहरूलाई मुक्ति दिनुहुन्छ। यदि तँ सत्यता स्वीकार गर्दैनस् भने, र यदि तँ आफ्‍नो भ्रष्ट स्वभावको बारेमा मनन गर्न र त्यसबारेमा जान्‍न सक्षम छैनस् भने, तैँले साँचो रूपमा पश्‍चात्ताप गर्नेछैनस्, र तैँले जीवन प्रवेश हासिल गर्न सक्‍नेछैनस्। सत्यता स्वीकार गर्नु र आफूलाई चिन्‍नु तेरो जीवन वृद्धि र मुक्तिको मार्ग हो, र यो तेरो लागि परमेश्‍वरको छानबिन स्वीकारी परमेश्‍वरको न्याय र सजाय स्वीकार्न, र जीवन र सत्यता प्राप्त गर्न परमेश्‍वरको अघि आउने मौका हो। यदि तँ हैसियत र प्रतिष्ठा, अनि तेरो आफ्‍नै हितको खोजीको लागि सत्यता खोजी गर्न छोड्छस् भने, यो परमेश्‍वरको न्याय र सजाय प्राप्त गर्ने र मुक्ति पाउने अवसरलाई त्याग्‍नुसरह हो। तैँले हैसियत र प्रतिष्ठा अनि आफ्‍नै हितहरू छनौट गरेको हुन्छस्, तर तैँले जे त्याग्छस् त्यो सत्यता हुन्छ, र तैँले जे गुमाउँछस् त्यो जीवन, र मुक्ति पाउने मौका हुन्छ। कुन धेरै अर्थपूर्ण हुन्छ? यदि तैँले आफ्‍नै हित छनौट गरिस् र सत्यता त्यागिस् भने, के तँ मूर्ख हुँदैनस् र? सीधै भन्दा, यो सानो फाइदाको लागि ठूलो नोक्‍सानी बेहोर्नु हो। प्रतिष्ठा, हैसियत, पैसा, र हित—यी सबै क्षणिक हुन्; ती सबै अल्पकालीन हुन्, जबकि सत्यता र जीवन अनन्त र अपरिवर्तनीय छन्। यदि मानिसहरूले हैसियत र प्रतिष्ठाको पछि लाग्‍न लगाउने आफ्नो भ्रष्ट स्वभाव समाधान गर्छन् भने, तिनीहरूले मुक्ति पाउने आशा हुन्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो स्वभावलाई चिन्‍नु नै यसलाई परिवर्तन गर्ने आधार हो)। परमेश्‍वरका वचनहरूबाट मैले के देखेँ भने यदि म सधैँ आफ्‍ना हितहरूमा मात्रै लागिरहन्छु र सत्यता अभ्यास गर्ने कार्यलाई पूर्ण बेवास्ता गर्छु भने, नोक्‍सानी बेहोर्ने अरू होइन, म नै हुनेछु। मैले सत्यता प्राप्त गर्ने मौका गुमाउनेछु, र आफैलाई अत्यन्तै मूर्ख बनाउनेछु। पहिले, म शैतानी दर्शनअनुसार जिउँथेँ। म “चेलाले पूरै सीप सिकेपछि, गुरुले जागिर गुमाउँछ” भन्‍ने विश्‍वास गर्थेँ, र सोच्थेँ कि आफूलाई थाहा भएको कुरा अरूलाई सिकाएँ भने, मलाई घाटा हुनेछ। अनि, यदि तिनीहरू सिक्‍नमा सिपालु छन्, र मैले भन्दा बढी उपलब्धि प्राप्त गर्छन् भने, मानिसहरूमाझ मेरो कुनै विशेष हैसियत हुनेछैन। त्यसपछि मात्रै मलाई त्यो शैतानी भ्रम हो र काम गर्ने छली तरिका हो भन्‍ने थाहा भयो। त्यसरी जिउँदा म झन्झन् स्वार्थी, छली, र मानवतारहित मात्रै बन्दै जान सक्थेँ। परमेश्‍वरले मलाई खुलासा गरी हटाउनुहुने थियो। मैले आफ्‍ना हितहरू पन्छाएर आफूलाई थाहा भएको कुरा अरूलाई सिकाउनुपर्थ्यो। त्यो मात्रै परमेश्‍वरको इच्‍छाअनुरूप र मबाट जिम्‍मेवारी पूरा भएको अवस्था हुने थियो। मैले हृदयमा शान्ति अनुभव गर्ने तरिका त्यही थियो। यसको साथै, मैले सिकाएको कुराको आधारमा ब्रदर-सिस्टरहरूले नयाँ उपायहरू पत्ता लगाउँदा, यसले मेरो आफ्‍नै सीपको स्तर बढाउने थियो। त्यो पटक्‍कै घाटा होइन। म यति स्वार्थी रूपमा जिइरहन चाहन्‍नथेँ, र मैले कुनै राम्रो शैली वा सीप सिकेँ भने, म सबैलाई खुशीसाथ बताउन तयार थिएँ।

एक दिन, एक सिस्टरले मलाई कार्यदक्षता कसरी बढाउने भन्‍नेबारेमा सोधिन्। मैले सोचेँ, यदि मैले हाम्रो समूहका विधिहरू उनलाई बताएँ भने उनको समूहले राम्रो गर्नेछ, र हामी खराब देखिनेछौँ। त्यसपछि मानिसहरूले मलाई के सोच्लान्? त्यही बेला, मलाई परमेश्‍वरका यी वचनहरू याद आयो: “तैँले आफ्ना उत्तरदायित्वहरूलाई पूरा गर्न, आफ्ना दायित्वहरू र कर्तव्यहरू निभाउन, आफ्ना स्वार्थी चाहनाहरूलाई पन्छाउन, आफ्ना आशयहरू र अभिप्रायहरूलाई पन्छाउन, परमेश्‍वरको इच्छाको बारेमा सोचविचार गर्न, र परमेश्‍वरको घरको हित, मण्डलीको काम र तैँले निभाउनुपर्ने कर्तव्यलाई सबैभन्दा अगाडि राख्‍न सक्‍नुपर्छ। तैँले केही समय यसलाई अनुभव गरिसकेपछि, यो नै व्यवहार गर्ने राम्रो शैली हो भन्ने कुरा तैँले महसुस गर्नेछस्। यो भनेको तुच्छ व्यक्ति वा बेकामे नबनीकन सोझो हिसाबले र इमानदार तरिकाले जिउनु हो, र घृणित वा निर्दयी बन्नुको साटो न्यायसंगत रूपले र सम्मानपूर्वक जिउनु हो। व्यक्तिले यही शैलीमा जिउनु र कार्य गर्नुपर्छ भन्ने तैँले महसुस गर्नेछस्। तेरा आफ्ना चासोहरू सन्तुष्ट पार्ने तेरो हृदय भित्रको चाहना क्रमिक रूपमा कम हुँदै जानेछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो भ्रष्ट स्वभावलाई त्यागेर मात्रै स्वतन्त्रता र स्वाधीनता प्राप्त गर्न सकिन्छ)। ती सिस्टरले मण्डलीको कामबारे सोचिरहेकी थिइन् त्यसकारण आफ्‍नो कार्यदक्षता कसरी सुधार्ने भनेर सोध्‍न आएकी थिइन्। मैले आफ्‍नो प्रतिष्ठा र हैसियतबारे विचार गर्न छोडेर, मण्डलीका हितहरूबारे विचार गर्नुपर्थ्यो, अनि आफ्‍ना स्वार्थी इच्‍छा र मनसायहरू त्यागेर, अरूलाई सहयोग गर्नुपर्थ्यो। त्यसैले, मैले ती सिस्टरलाई आफूले जानेको सबै कुरा बताएँ। त्यसो गर्दा मलाई शान्ति अनभूति भयो। गज्‍जबको कुरो त, उनले पनि मलाई सिकाइका राम्रा सामग्रीहरू दिइन्, जसले मलाई मेरो सीप सुधार्न सहयोग गर्‍यो। म अत्यन्तै भावुक भएँ, के भन्‍ने थाहै थिएन। मैले बस हृदयदेखि परमेश्‍वरलाई बारम्‍बार धन्यवाद दिएँ। आफ्‍ना व्यक्तिगत हितहरू कसरी त्याग्‍ने त्यसबारेमा बिस्तारै सिक्दै जाँदा मैले सत्यता अभ्यास गर्नुको मिठास चाख्‍न पाएँ। त्यसपछि, मैले सङ्कलन गरेका सबै सिकाइ सामग्री र उपयोगी सीप र उपायहरू सन्दर्भको रूपमा अरूलाई पठाएँ।

यो अनुभवले मलाई शैतानले कति गहन रूपमा भ्रष्ट तुल्याएको रहेछ भन्‍ने देखायो। सबै कुरामा मेरा व्यक्तिगत हितहरू नै प्राथमिक हुन्थे, र म मण्डलीको कामको बारेमा सोच्दिनथेँ। मैले ख्रीष्टविरोधीको जस्तै स्वभाव देखाउँथेँ, तर परमेश्‍वरले मलाई मेरा अपराधहरूअनुसार व्यवहार गर्नुभएन। उहाँले मलाई शुद्ध पार्न र रूपान्तरण गर्न एकपछि अर्को परिस्थिति मिलाउनुभयो। यो परमेश्‍वरको प्रेम थियो। मैले परमेश्‍वरको धर्मी स्वभाव पनि अनुभव गरेँ। म गलत बाटोमा हुँदा, उहाँले मबाट आफ्‍नो अनुहार लुकाउनुभयो र मैले गर्ने सबै काममा ठक्‍कर खाएँ। जब मैले परमेश्‍वरको वचन अभ्यास गरेँ, आफ्‍ना मनसायहरू सुधारेँ, मण्डलीको काम रक्षा गरेँ, र आफूसँग भएको ज्ञान सबैलाई बाँडेँ, तब अरू सबैले पनि सीप र उपायहरू बाँड्न थाले, र हाम्रो समूहको भिडियोको काम सुध्रियो। मैले परमेश्‍वरको वचनअनुसार काम गर्दा आउने शान्ति साँचो रूपमा अनुभव गरेँ। कहिलेकहीँ समस्याहरू आइपर्दा म अझै पनि आफ्‍नै हितहरूबारे विचार गर्छु तर परमेश्‍वरमा भरोसा गरेर आफूलाई त्याग्‍न मलाई आउँछ। उहाँको मुक्तिको लागि परमेश्‍वरलाई धन्यवाद होस्!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

ईर्ष्या नगरी सहज श्‍वास फेर्ने

अन्जिङ्ग, चीनसन् २०१७ को जनवरीमा, मलाई मण्डलीभित्र सिञ्‍चन गर्ने काम दिइएको थियो। यो काममा प्रशिक्षित हुने मौकाको लागि म परमेश्‍वरप्रति...

मलाई कुन कुराले परमेश्‍वरलाई पछ्याउन रोकिरहेको छ?

चेन मिङ, चीन २०११ को डिसेम्बर महिना थियो अनि हाम्रो मण्डलीका दुईजना अगुवाहरू पक्राउ परेका थिए। यो खबर सुनेपछि, मेरा दाजुभाइ र दिदीबहिनीहरू...

कर्तव्यमा कुनै दर्जा हुँदैन

सर्वशक्तिमान् परमेश्‍वरलाई विश्‍वास गर्नुभन्दा पहिले, मलाई शिक्षकहरूको प्रशंसा सुन्‍ने बानी परेको थियो। म सधैँ ध्यानको केन्द्रविन्दु हुन...

झुटहरू पश्‍चात्

चेन शी, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरले इमानदारलाई मन पराउनुहुन्छ भन्ने कुरा तिमीहरूले थाहा पाउनुपर्छ। वास्तवमा,...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्