मन खोल्‍न डर मान्‍नुको पछाडि के लुकेको हुन्छ

25 फेब्रुअरी 2023

सन् २०२० को मार्चमा, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरेँ, र चाँडै नै, मैले एउटा कर्तव्य पूरा गर्न थालेँ। त्यसको केही समयपछि नै, मलाई सुसमाचार सम्‍बन्धी डिकनमा छनौट गरियो। म अत्यन्तै उत्साहित भएकी थिएँ, र मैले सोचेँ, “मैले भन्दा धेरै लामो समय कर्तव्य पूरा गरेका ब्रदर-सिस्टरहरूको सट्टा मलाई छनौट गरिएको छ। यस्तो लाग्छ, मेरा ब्रदर-सिस्टरहरूको लागि, म सत्यताको खोजी गर्न असल क्षमता भएको व्यक्ति हुँ। मैले आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्नुपर्छ ताकि तिनीहरूले गलत व्यक्ति छनौट गरेका छैनन् भन्‍ने कुरा देख्‍न सकून्।” त्यसपछि, मैले मेरा ब्रदर-सिस्टरहरूको कामको बारेमा सक्रिय रूपमा फलो-अप गर्न थालेँ। तिनीहरू खराब स्थितिमा हुँदा, तिनीहरूलाई सङ्गति दिन तुरुन्तै परमेश्‍वरको वचन खोजिहाल्थेँ, र सुसमाचार बारे राम्रो अनुभव प्राप्त गर्दा, तुरुन्तै उनीहरूलाई सुनाउँथेँ। केही समयपछि, आफ्‍नो कर्तव्यमा निष्क्रिय रहेका कतिपय ब्रदर-सिस्टरहरू अझै सक्रिय हुन थाले, र म सोच्थेँ, “मसँग यो काम गर्ने केही क्षमता छ रहेछ। यदि मेरा अगुवाहरूले थाहा पाए भने, तिनीहरूले अवश्य नै म यो काम गर्न सिपालु छु भनेर सोच्‍नेछन् र मलाई वृद्धि-विकास गर्नेछन्।” यो कुरा ध्यानमा राख्दै, म आफ्‍नो कर्तव्यप्रति झनै उत्साहित भएँ र उत्प्रेरित भएँ। पछि, सुसमाचारको काम प्रभावकारी भएपछि, मेरा सबै ब्रदर-सिस्टरहरूले मेरो कर्तव्यका राम्रा परिणामहरू देख्‍न सक्छन् भन्‍ने आशाले मैले समूहलाई यो खुशीको खबर सुनाएँ। म बेला-बेलामा मेरा ब्रदर-सिस्टरहरूका अघि धाक पनि लगाउने गर्थेँ। तिनीहरूको कामको बारेमा फलो-अप गरिसकेपछि, म सुरुमा सधैँ तिनीहरूसँग कुनै समस्या वा कठिनाइ छन् कि भनी सोध्थेँ, त्यसपछि जानी-जानी भन्थेँ, “तपाईंहरूका समस्या र कठिनाइहरूलाई समाधान गर्ने बाहेक, मैले अरू धेरै जना ब्रदर-सिस्टरहरूको कामको बारेमा पनि फलो-अप गर्नुपर्छ। हरेक दिन व्यस्त हुन्छु, र म राती धेरै ढिलो सुत्छु।” मैले यसो भनेको सुनेपछि, कतिपय ब्रदर-सिस्टरहरूले भन्थे, “आजभोलि हामीलाई कुनै कठिनाइ भएको छैन। सिस्टर, तपाईं कति धेरै परिश्रम गर्नुहुन्छ।” तिनीहरूले त्यसो भनेको सुन्दा मलाई खुशी लाग्थ्यो। मैले आफ्‍नो कर्तव्यमा बोझ लिएकी छु, म मूल्य चुकाउन तयार छु, र म जिम्‍मेवार व्यक्ति हुँ भनेर तिनीहरूले पक्‍कै सोच्छन् भन्‍ने मलाई लाग्थ्यो।

एक दिन, एक जना ब्रदर आफ्‍नो मनको कुरा खोल्‍न र आफ्‍नो स्थितिको बारेमा सङ्गति गर्न मकहाँ आए। उनले भने, “म मेरो कर्तव्यमा सधैँ मानिसहरूलाई मेरो आदर गर्न लगाउने प्रयास गर्छु। अरूको कर्तव्य प्रस्तुतिको बारेमा फलो-अप गर्दा, म सधैँ समूह अगुवाको स्थानमा बसेर बोल्छु र बोल्दा सधैँ धाक लगाएर बोल्छु।…” त्यो कुरा सुनेपछि मेरो हृदयमा हलचल मच्‍चियो। के म पनि त्यस्तै थिइनँ र? मेरा ब्रदर-सिस्टरहरूको कामको बारेमा फलोअप गर्दा, म सधैँ सबैलाई म अब सामान्य विश्‍वासी होइन, तर डिकन हुँ भन्‍ने सोच्‍न लगाउन चाहन्थेँ। कहिलेकहीँ, म जानी-जानी म धेरै कामको निम्ति जिम्‍मेवार छु र म अत्यन्तै व्यस्त भएकोले राती अबेर सुत्छु भनेर उल्‍लेख गर्थेँ। म बोझ लिने व्यक्ति हुँ र मैले आफ्‍नो कर्तव्यमा जिम्‍मेवारी बोध गरेकी छु भनी अरूले देखून् भन्‍ने म चाहन्थेँ। यसमा, मलाई अरूले आदर गरून् भनेर मैले धाक लगाइरहेकी हुन्थेँ। मलाई पनि आफ्‍नो मन खोलेर यस विषयमा ब्रदरसँग सङ्गति गरेर सँगै यो स्थितिको समाधान खोज्‍न मन लागेको थियो, तर त्यसपछि मैले सोचेँ, “अहिले म सुसमाचार सम्‍बन्धी डिकन हुँ। यदि मैले आफ्‍नो भ्रष्टताको बारेमा मन खोलेर बोलेँ भने, के यो ब्रदरले मलाई अत्यन्तै भ्रष्ट र हैसियतलाई उच्‍च प्राथमिकता दिने व्यक्ति ठान्‍नेछ? के तिनले मलाई नराम्रो सोच्‍नेछन्? त्यसपछि त मैले निर्माण गरेको राम्रो प्रतिष्ठा हराउनेछ।” यो कुरा ध्यानमा राख्दै, मैले मन नखोल्‍ने निर्णय गरेँ, त्यसकारण मैले उनलाई यो भन्दै सान्त्वना दिएँ, “ठीकै छ, ममा पनि भ्रष्टता छ।” त्यसपछि मैले तिनीसँग सङ्गति गर्न केही वचनहरू भनेँ, र त्यतिमा नै कुरा सकेँ।

अर्को पटक, म इन्‍चार्ज रहेको समूहले एक जना समूह अगुवालाई निर्वाचित गर्‍यो, र मैले सोचेँ, “अब समूहको कामको इन्‍चार्जको रूपमा समूह अगुवा नियुक्त भएको हुनाले, मैले यसको बारेमा फलो-अप गर्नु पर्दैन।” पछि, त्यो समूहले कामको बारेमा छलफल गरिरहेको बेला, मैले ध्यान दिएर सुनिनँ। तिनीहरूको भेलामा समेत, मैले अल्याङटल्याङ मात्रै गरिरहेकी थिएँ। त्यसरी नै, कति छिटो एक महिना बितेछ, र त्यो समूहको कामको प्रभावकारीता निकै खस्कियो। एउटा भेलामा, ब्रदर-सिस्टरहरू सबैले परमेश्‍वरका वचनहरूको आधारमा आफ्‍नो कर्तव्यप्रतिको आ-आफ्‍नो आचरणको बारेमा मनन गरे, साथै प्रकट भएको आफ्‍नो भ्रष्टताको बारेमा पनि मन खोलेर बताए। तिनीहरूको कामको रेखदेख गर्दा म गैरजिम्‍मेवार भएकी छु र मैले झारा टार्ने काम गरेकी छु, जसले गर्दा तिनीहरूको कामको प्रभावकारिता घटाएको छ भन्‍ने मलाई थाहा थियो, तर मसँग यो कुरा भन्‍ने साहस थिएन, किनभने तिनीहरूको हृदयमा रहेको मेरो छवि अनुसार त म कर्तव्यप्रति लगनशील र जिम्‍मेवार व्यक्ति थिएँ, र सबैले मलाई राम्रो सोच्थे। यदि मैले मन खोलेर कुरा गरेँ भने, मेरा ब्रदर-सिस्टरहरूले मलाई नराम्रो सोच्‍नेछन् भन्‍ने मलाई चिन्ता लाग्यो। मैले मेरो कर्तव्यमा झारा टारेकी छु र गैरजिम्‍मेवार काम गरेकी छु भनी तिनीहरूले सोच्‍नेछन्। मेरा अगुवाहरूले थाहा पाएपछि, तिनीहरूले मलाई नराम्रो मूल्याङ्कन गर्नेछन्, र मलाई निष्कासित गर्न सक्छन्। त्यो त अत्यन्तै लाजमर्दो कुरा हुनेछ। यस बेला, अगुवाले मलाई सङ्गति गर्ने कि भनेर सोधिन्, र मलाई के गर्ने, के गर्ने भयो। म सङ्गति गर्न चाहन्थेँ, तर मैले मन खोलेर कुरा गरेँ भने मेरो हैसियत र छविमा क्षति पुग्‍नेछ भन्‍ने मलाई डर लाग्यो, तैपनि मैले मनको कुरा बोलिनँ भने, मैले आफैलाई ढाक-छोप गरिरहेको र चलाकी गरिरहेकी हुनेथिएँ। त्यसपछि म के गर्नेछु? म अत्यन्तै चिन्तित भएँ। अन्त्यमा, मैले सोचेँ, “होस्, म यस पटक सङ्गति गर्दिनँ। कम्तीमा पनि म यो क्षणबाट त उम्‍कनेछु।” भेला पछि, मलाइ निकै नरमाइलो लाग्यो र ग्‍लानि भयो, मलाई ठूलो बोझले थिचिरहेको छ जस्तै लाग्यो। त्यसकारण, मैले परमेश्‍वरसँग प्रार्थना गरेँ। म किन मेरो भ्रष्टताको बारेमा खुलेर कुरा गर्न डराएँ? मैले किन सधैँ आफूलाई ढाकछोप गरेँ, र मेरो हैसियत र छविलाई पहिलो प्राथमिकता दिएँ?

पछि, मैले परमेश्‍वरका वचनहरूको दुई वटा खण्ड पढेँ र आफ्‍नो बारेमा केही बुझाइ प्राप्त गरेँ। परमेश्‍वरका वचनहरूले भन्छ, “जब मानिसहरू अरूले तिनीहरूलाई उच्च नजरले हेरून् र तिनीहरूका दोषहरू र कमीहरू नदेखून् भनी सधैँ स्वाङ पार्छन्, सधैँ तिनीहरू आफूलाई ढाकछोप गर्छन्, सधैँ बहाना बनाउँछन्, जब तिनीहरूले मानिसहरूको अगाडि आफ्नो सर्वोत्तम पाटो प्रस्तुत गर्ने कोसिस गर्छन्, तब त्यो कस्तो किसिमको स्वभाव हो? त्यो अहङ्कार, बहानाबाजी, पाखण्डिपन हो, यो शैतानको स्वभाव हो, यो एक प्रकारको दुष्टता हो। शैतानी शासनका सदस्यहरूलाई नै लिऊँ: तिनीहरूले दृश्य पछाडि जति नै लडाइँ, झगडा, वा हत्या गरे पनि कसैलाई पनि त्यसको रिपोर्ट वा पर्दाफास गर्ने अनुमति हुँदैन। तिनीहरू मानिसहरूले आफ्नो पैशाचिक रूप देख्लान् भनेर डराउँछन्, र त्यसलाई ढाकछोप गर्न आफूले सकेजति सबै गर्छन्। सर्वसाधारणको अगाडि तिनीहरूले आफैलाई ढाकछोप गर्न आफूले सक्दो सबै कुरा गर्छन्, यसरी तिनीहरूले मानिसहरूलाई धेरै प्रेम गर्छन्, तिनीहरू कति महान्, महिमित र सही छन् भनी भन्‍ने गर्छन्। यो शैतानको प्रकृति हो। शैतानको प्रकृतिको मुख्य विशेषता छल र धोखा हो। अनि यो छल र धोखाको उद्देश्य के हो? मानिसहरूका आँखा छल्नु, तिनीहरूलाई यसको सार र यसको साँचो रङ्ग देख्नबाट रोक्नु, र त्यसो गरेर त्यसको शासनलाई बलियो बनाउने उद्देश्य प्राप्त गर्नु हो। साधारण मानिसहरूमा यस्तो शक्ति र प्रतिष्ठाको कमी हुन सक्छ, तर तिनीहरूले पनि अरूले तिनीहरूलाई राम्रो नजरले हेरून् भन्‍ने चाहन्छन्, र मानिसहरूले तिनीहरूलाई उच्च नजरले हेरून्, र हृदयमा तिनीहरूलाई उच्च प्रतिष्ठा दिऊन् भन्‍ने चाहन्छन्। भ्रष्ट स्वभाव भनेको यही नै हो(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “कुनै व्यक्तिको आचरणलाई मार्गदर्शन गर्ने सिद्धान्तहरू”)। “इमान्दार व्यक्ति बन्‍न, तैँले आफ्नो हृदय उदाङ्गो पार्नुपर्छ ताकि हरेक व्यक्तिले त्यसभित्र हेर्न सकून्, तैँले के सोँच्दैछस् भनी देख्न सकून्, अनि तेरो साँचो मुहारको झलक पाउन सकून्; तैँले भेष बदल्ने वा आफूले आफूलाई राम्रो भएको भनी प्रस्तुत गर्नु हुँदैन। त्यसपछि मात्र मानिसहरूले तँलाई भरोसा गर्नेछन् र तँलाई इमान्दार मान्नेछन्। यही नै इमान्दार व्यक्तिको सबैभन्दा आधारभूत अभ्यास अनि पूर्वावश्यकता हो। तैँले सधैँ बहाना बनाइरहेको हुन्छस्, सधैँ पवित्रता, सच्चरित्रता, महानताको ढोंग गरिरहेको छस्, र उच्च नैतिक गुणहरूको स्वाङ पारिरहेको छस्। तैँले मानिसहरूलाई तेरा भ्रष्टता र तेरा असफलताहरू हेर्न दिँदैनस्। तैँले मानिसहरू समक्ष झूटो प्रतिरूप प्रस्तुत गर्छस् ताकि तिनीहरूले तँ इमानदार, महान्, आत्मत्यागी, निष्पक्ष र निस्वार्थ छस् भनी विश्‍वास गरून्। के यो छलीपन र असत्यता होइन र? छली भेष प्रयोग नगर्, र ढोंग गर्दै आफूलाई प्रस्तुत नगर्; बरु अन्य व्यक्तिहरूले हेर्नको लागि आफूलाई र आफ्नो हृदयलाई उदाङ्गो पार्। यदि तैँले अन्य व्यक्तिहरूले हेर्नको लागि आफ्नो हृदयलाई उदाङ्गो पार्न सक्छस् भने, र आफ्ना सकारात्मक र नकारात्मक दुवै खालका सोचहरू र योजनाहरू उदाङ्गो पार्न सक्छस् भने, के तँ इमानदार भएको हुँदैनस् र? यदि तैँले अन्य व्यक्तिहरूले हेर्नको लागि आफूलाई उदाङ्गो पार्न सक्छस् भने, परमेश्‍वरले समेत तँलाई हेर्नुहुनेछ र भन्नुहुनेछ, ‘अन्य व्यक्तिहरूले हेर्नको लागि तैँले आफूलाई उदाङ्गो पारेको छस्, त्यसैले अवश्य तँ मेरो अगाडि पनि इमानदार छस्।’ यदि तैँले आफू अन्य व्यक्तिको नजरभन्दा बाहिर भएको बेलामा परमेश्‍वरको अगाडि मात्र आफूलाई उदाङ्गो पार्छस्, र उनीहरूको साथमा भएको बेलामा तँ सधैँ महान र सच्चरित्रवान वा न्यायसंगत र निस्वार्थ भएको बहाना गर्छस् भने, परमेश्‍वरले के सोच्नुहुनेछ र के भन्नुहुनेछ? उहाँले भन्नुहुनेछ, ‘तँ साँच्चिकै छली होस्; तँ विशुद्ध रूपमा पाखण्डी र स्वार्थी होस्; अनि तँ इमान्दार व्यक्ति होइनस्।’ परमेश्‍वरले यसरी तँलाई दोषी ठहराउनुहुनेछ(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “इमान्दार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास”)। परमेश्‍वरको वचन पढिसकेपछि, मलाई निराश लाग्यो। परमेश्‍वरको वचनले मेरो स्थितिलाई सटीक रूपमा प्रकट गरेको थियो। मलाई सुसमाचार सम्‍बन्धी डिकनमा छनौट गरिएको हुनाले, मलाई साधारण ब्रदर-सिस्टरहरूको भन्दा मेरो उच्‍च क्षमता र हैसियत छ भन्‍ने लाग्थ्यो, त्यसकारण म सधैँ अरूले मेरो असल पक्ष देखून् भन्‍ने चाहन्थेँ। अरूले थाहा नपाऊन् भनेर मैले मेरो भ्रष्टता र कमीकमजोरीहरूलाई ढाकछोप गरेँ। म मेरो कर्तव्यमा प्रभावकारी हुँदा, म आफ्‍नो क्षमता प्रदर्शन गर्न चाहन्थेँ। म मेरो खुशीको खबर समूहलाई पठाउन पर्खनै सक्दिनथिएँ किनभने म ब्रदर-सिस्टरहरू, अगुवाहरू, र अरू सहकर्मीहरूले यसलाई देखून् भन्‍ने चाहन्थेँ। म जानी-जानी अरूलाई म धेरै कामको इन्‍चार्ज छु र अत्यन्तै व्यस्त छु भनी भन्थेँ ताकि तिनीहरूले म मेरो कर्तव्यमा जिम्‍मेवार छु भन्‍ने देख्‍न सकून्। आफ्‍नो बारेमा सकारात्मक, जिम्‍मेवार, र सत्यताको खोजी गर्ने छवि स्थापित गर्न मैले आफूलाई राम्रो देखाइरहेकी र आफूलाई ढाकछोप गरिरहेकी थिएँ। मेरो उद्देश्य भनेको मेरा ब्रदर-सिस्टरहरूलाई मेरो आदर गर्ने बनाउनु थियो। तर वास्तवमा, म त्यस्तै थिइनँ। म निकै भ्रष्ट थिएँ, जस्तै म आफ्‍नो कर्तव्यमा धाक लगाउँथेँ, झारा टार्थेँ, र व्यवहारिक काम गर्दिनथिएँ। तर मैले मेरो भ्रष्टता र कमीकमजोरीको बारेमा कहिल्यै पनि खुलासा गरेर सङ्गति गरिनँ, किनभने मलाई मेरा ब्रदर-सिस्टरहरूले म हैसियतको तृष्णा गर्छु र म अजिम्‍मेवार छु भन्‍ने थाहा पाउँछन्, त्यसपछि तिनीहरूको हृदयमा भएको सुन्दर छविलाई गुमाउँछु भन्‍ने डर लाग्थ्यो। यस विषयमा मनन गर्ने क्रममा, मलाई आफैप्रति घृणा जाग्यो। तिनीहरूलाई मेरो आदर गर्ने तुल्याउन मैले अरूको अगाडि देखावटी रूप धारण गर्दै मिलेको नाटक गरेँ र आफूलाई ढाकछोप गरेँ। यो अहङ्कारी, छली, र शैतानी स्वभाव थियो र यसलाई परमेश्‍वरले घृणा गर्नुहुन्छ। मलाई याद छ, मैले सुसमाचार सम्‍बन्धी डिकनको कर्तव्य पाउनुभन्दा पहिले, भेलाहरूमा ब्रदर-सिस्टरहरूले प्रायजसो यसो भनेको सुन्थेँ, “सबै जनासँग भ्रष्ट शैतानी स्वभाव छ, र हरेकले हैसियतलाई प्यारो ठान्छ। हामी सबैले हैसियत प्राप्त गर्न र त्यसलाई कायम राख्‍नको लागि काम-कुरा गर्न सक्छौँ।” त्यो बेला, मलाई लाग्थ्यो, “यदि मैले हैसियत प्राप्त गरेँ भने, म अवश्य नै यसलाई कायम राख्‍न लागिपर्नेछैन।” तर तथ्यहरू र परमेश्‍वरका वचनहरू मलाई खुलासा गरे। मैले के थाहा पाएँ भने, मैले आफ्‍नो छवि र हैसियतलाई कायम राख्‍नको लागि, मैले आफूलाई ढाकछोप गरेर बाहिर राम्रो देखाएँ, र म विशेष गरी अहङ्कारी र छली थिएँ। यो प्रकट नभएकोले मात्रै म हैसियतको पछि लाग्‍नेछैन भनी विश्‍वास गरेकी रहेछु भनेर मलाई थाहा भयो। म शैतानद्वारा भ्रष्ट तुल्याएको व्यक्ति पनि थिएँ, र म शैतानी स्वभावले भरिएकी थिएँ। त्यसपछि मलाई परमेश्‍वरले सत्यता अभ्यास गर्न र आफूलाई खुलासा गर्न सक्‍ने इमानदार मानिसहरू मन पराउनुहुन्छ भन्‍ने कुरा याद आयो। मैले आफूलाई ढाकछोप गरिरहेकी रहेछु र सत्यताको अभ्यास गरिरहेकी रहेनछु भन्‍ने महसुस गरेपछि, म असहज अनुभव नगरी बस्‍न सकिनँ। मैले सोचेँ, “म इमानदार व्यक्ति बन्‍नुपर्छ र सबैसँग मेरो भ्रष्टताको बारेमा मन खोलेर कुरा गर्नुपर्छ।”

केही दिनपछि, सहकर्मी भेलामा, मलाई मैले कसरी आफूलाई ढाकछोप गरेँ, छल गरेँ, र व्यवहारिक काम गरिन भनेर अरूलाई मन खोलेर बताई सङ्गति गर्न, र इमानदार, खुला मनको व्यक्ति बन्‍न मन लागेको थियो। तर सङ्गति गर्न लाग्दा, म फेरि हिचकिचाएँ। “यदि मैले आफूलाई विश्‍लेषण गरेर खुलासा गरेँ भने, मेरा ब्रदर-सिस्टरहरूले मलाई के सोच्‍नेछन्? मैले निर्माण गर्न यति परिश्रम गरेर निर्माण गरेको असल छवि हराउनेछैन र? यसको कारणले मलाई ब्रदर-सिस्टरहरूले नीच ठाने भने, यो अत्यन्तै लाजमर्दो काम हुनेछ। मैले अलिक समय पर्खेर अरू ब्रदर-सिस्टरहरूलाई नै पहिले सङ्गति गर्न दिनुपर्छ।” तर जब मलाई यस्तो सोच आयो, मलाई असहज अनुभव भयो। मलाई मेरो भ्रष्टताको बारेमा मन खोलेर बताउन मन लागेन, तब के यो अझै पनि बहाना बनाउनु र आफ्‍नो कर्तव्यलाई कायम राख्‍ने चाहना गर्नु थिएन र? मेरो हृदयमा एउटा युद्ध भयो। यदि मैले बोलेँ भने, अरूले मलाई नीच ठान्‍न सक्छन्। बोलिन भने, मलाई ग्‍लानि हुनेछ। मैले परमेश्‍वरलाई प्रार्थना गरेँ र मलाई सत्यता अभ्यास गर्न अगुवाइ गर्नुहोस् भनेर उहाँलाई अनुरोध गरेँ। त्यस बेला, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड देखेँ। “वास्तवमा फरिसीहरू को हुन् भन्‍ने कुरा के तिमीहरूलाई थाहा छ? के तिमीहरूको छेउछाउमा कुनै फरिसीहरू छन्? यी मानिसहरूलाई किन ‘फरिसीहरू’ भनिन्छ? फरिसीहरूलाई कसरी व्याख्या गरिन्छ? तिनीहरू ढोङ्गी, पूर्ण रूपमा बनावटी मानिसहरू हुन्, र तिनीहरूले आफूले गर्ने हरेक काममा नाटक गर्छन्। तिनीहरूले के नाटक गर्छन्? आफू असल, दयालु, र सकारात्मक भएको नाटक गर्छन्। के तिनीहरू वास्तवमा यस्तै हुन्छन् त? बिलकुलै हँदैनन्। तिनीहरू ढोङ्गीहरू भएका हुनाले, तिनीहरूमा देखिने र प्रकट हुने हरेक कुरा झूटो हुन्छ; यो सबै बहाना हो—यो तिनीहरूको साँचो रूप होइन। तिनीहरूको साँचो अनुहार कहाँ लुकेको हुन्छ? यो अरूले कहिल्यै नदेख्‍ने गरी तिनीहरूको हृदयभित्रको गहिराइमा लुकेको हुन्छ। बाहिर देखिने हरेक कुरा नाटक हुन्छ, यो सबै बनावटी हुन्छ, तर तिनीहरूले मानिसहरूलाई मात्र मूर्ख बनाउन सक्छन्; परमेश्‍वरलाई मूर्ख बनाउन सक्दैनन्। यदि मानिसहरूले सत्यताको खोजी गर्दैनन् भने, यदि तिनीहरूले साँचो रूपमा परमेश्‍वरका वचनहरू अभ्यास र अनुभव गर्दैनन् भने, तिनीहरूले साँचो रूपमा सत्यता बुझ्न सक्दैनन्, र तिनीहरूका वचनहरू सुन्दा जति नै मीठा लागे पनि, ती वचनहरू सत्यताका वास्तविकता होइनन्, केवल धर्मसिद्धान्तका वचनहरू हुन्। केही मानिसहरूले धर्मसिद्धान्तलाई सुगारटाइ गर्नमा मात्र ध्यान दिन्छन्, तिनीहरूले उच्‍च प्रवचन दिने जोकोहीको नक्‍कल गर्छन्, र नतिजास्वरूप केही वर्षभित्रमै तिनीहरूको धर्मसिद्धान्त वाचन कला झन्-झन् उच्‍च बन्दै जान्छ र तिनीहरूलाई धेरै मानिसहरूले आदर र श्रद्धा गर्छन्, र त्यसपछि त तिनीहरूले छलावरण धारण गर्न थाल्छन्, अनि आफूले भन्‍ने र गर्ने कुरामा एकदमै धेरै ध्यान दिन र आफूलाई विशेष रूपमा धर्मी र आत्मिक देखाउन थाल्छन्। तिनीहरूले छलावरण धारण गर्नका लागि यी तथाकथित आत्मिक सिद्धान्तहरूको प्रयोग गर्छन्। तिनीहरू जहाँ-जहाँ जान्छन्, तिनीहरूले बोल्ने कुरा यही हो, जुन बाहिरबाट हेर्दा आकर्षक हुन्छन् र ती मानिसहरूका धारणाहरूसित मिल्छन्, तर तिनमा सत्यताको वास्तविकता हुँदैन। यी कुराहरूको प्रवचनमार्फत—मानिसहरूका धारणा र रुचिसँग मिल्दा यी कुराहरूमार्फत—तिनीहरूले धेरै मानिसहरूलाई उल्लू बनाउँछन्। अरूको लागि, यस्ता मानिसहरू अत्यन्तै भक्त र नम्र देखिन सक्छन्, तर यो वास्तवमा देखावटी मात्र हो; तिनीहरू सहनशील, धैर्य, र प्रेमिलो देखिन्छन्, तर यो वास्तवमा बहाना मात्र हो; तिनीहरूले परमेश्‍वरलाई प्रेम गर्छौं भनी भन्छन्, तर त्यो वास्तवमा नाटक मात्र हो। अरूले यस्ता मानिसहरूलाई पवित्र सोच्छन्, तर यो वास्तवमा नौटङ्की मात्र हुन्छ। साँचो रूपमा पवित्र व्यक्तिलाई कहाँ भेट्न सकिन्छ? मानव पवित्रता सबै देखावटी हो। यो सबै नाटक र बहाना मात्र हो। बाहिरी रूपमा, तिनीहरू परमेश्‍वरप्रति निष्ठावान देखिन्छन्, तर वास्तवमा तिनीहरूले अरूले देखून् भनेर मात्रै कार्य प्रदर्शन गरिरहेका हुन्छन्। जब कसैले हेरिरहेका हुँदैनन्, तिनीहरू अलिकति पनि निष्ठावान हुँदैनन्, र तिनीहरूले गर्ने हरेक कुरा झारा टार्ने शैलीका हुन्छन्। सतही रूपमा, तिनीहरूले आफैलाई परमेश्‍वरमा समर्पित गरेका छन्, र आफ्‍ना परिवार र जागिर छोडेका छन्। तर गोप्य रूपमा तिनीहरूले के गरिरहेका हुन्छन्? तिनीहरूले परमेश्‍वरको लागि काम गर्ने नाउँमा गोप्य रूपमा मण्डलीमा आफ्नै उद्यम सञ्‍चालन गरिरहेका र आफ्‍नै कारोबार अघि बढाइरहेका हुन्छन्, र मण्डलीबाट लाभ लिइरहेका र भेटी चोरिरहेका हुन्छन्…। यी मानिसहरू आधुनिक ढोङ्गी फरिसीहरू हुन्। फरिसीहरू—यी मानिसहरू कहाँबाट आउँछन् त? के तिनीहरू सबै अविश्‍वासीहरूबाट आउँछन्? होइन, तिनीहरू सबै नै विश्‍वासीहरूका माझबाट आउँछन्। किन यी मानिसहरू फरिसी बन्छन्? के कसैले तिनीहरूलाई त्यस्तो बनाएको हो? त्यस्तो अवश्य होइन। त्यसो भए, कारण के हो त? तिनीहरूको सार र प्रकृति नै त्यस्तै हुने भएकोले र तिनीहरूले लिएको मार्गको कारणले यस्तो भएको हो। तिनीहरूले परमेश्‍वरका वचनहरूलाई प्रचार गर्ने साधन र मण्डलीबाट फाइदा लिने औजारको रूपमा मात्र प्रयोग गर्छन्। तिनीहरूले आफ्नो दिमाग र जिब्रोलाई परमेश्‍वरका वचनहरूले सुसज्‍जित पार्छन्, नक्‍कली आत्मिक सिद्धान्तहरू प्रचार गर्छन्, आफैलाई पवित्र व्यक्तिको रूपमा प्रस्तु गर्छन्, र यी कुरालाई मण्डलीबाट फाइदा लिने उद्देश्य हासिल गर्ने पूँजीको रूपमा प्रयोग गर्छन्। तिनीहरूले धर्मसिद्धान्तहरूको प्रचार मात्रै गर्छन्, तर तिनीहरूले कहिल्यै पनि सत्यता अभ्यास गरेका हुँदैनन्। परमेश्‍वरको मार्ग कहिल्यै नपछ्याए पनि वचन र धर्मसिद्धान्तहरूलाई प्रचार गर्ने कार्यलाई जारी राख्‍ने यी कस्ता प्रकारका मानिसहरू हुन् त? यी ढोङ्गी फरिसीहरू हुन्। असल देखिने त्यो व्यवहार र आचरण, र तिनीहरूले त्यागेको र समर्पित गरेको त्यो थोरै कुरा, ती सबै पूर्ण रूपमा जबरजस्ती गरिएका कुरा हुन्; ती त तिनीहरूले गर्ने देखावटी कुरा मात्र हुन्। तिनीहरू पूर्ण रूपमा झूटा हुन्छन्; ती सबै कार्यहरू बहाना मात्रै हुन्। यी मानिसहरूका हृदयमा, परमेश्‍वरको लागि अलिकति पनि श्रद्धाभाव हुँदैन, न त तिनीहरूसँग कुनै सच्‍चा विश्‍वास नै हुन्छ। त्योभन्दा पनि बढी, तिनीहरू गैरविश्‍वासीहरू हुन्। यदि मानिसहरूले सत्यताको खोजी गर्दैनन् भने, तिनीहरू यस्तो प्रकारको मार्गमा हिँड्नेछन्, र तिनीहरू फरिसीहरू बन्‍नेछन्। के त्यो कुरा डरलाग्दो छैन र? फरिसीहरू भेला हुने आत्मिक स्थानहरू बजार बन्छन्। परमेश्‍वरको नजरमा, यो धर्म हो; त्यो परमेश्‍वरको मण्डली होइन, न त त्यो उहाँलाई आराधना गरिने ठाउँ नै हो। तसर्थ, यदि मानिसहरूले सत्यताको खोजी गर्दैनन् भने, तिनीहरूले परमेश्‍वरका वाणीहरूका जति नै ठेट शब्‍दहरू र सतही धर्मसिद्धान्तहरूले आफूलाई सुसज्‍जित पारे पनि, यसको कुनै काम हुनेछैन(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “जीवन वृद्धिका छ वटा सूचकहरू”)। परमेश्‍वरका वचनहरू पढेपछि, मलाई निकै डर लाग्यो, र म भित्र-भित्रै कामिरहेकी थिएँ। अरूले मलाई आदरका साथ हेरून् भनेर, मैले सबै कुरामा आफूलाई ढाकछोप गरेकी थिएँ, ताकि सबैले मेरो असल पक्ष देख्‍न सकून्। मैले कहिल्यै पनि मेरा कमीकमजोरीहरूका बारेमा उल्‍लेख गरिनँ वा तिनको बारेमा मन खोलेर बताइनँ। मैले सधैँ मानिसहरूसँग देखावटी व्यवहार गरेँ र मेरा ब्रदर-सिस्टरहरूलाई अन्योलमा पारेँ। के म फरिसीहरू जस्तै थिइनँ र? फरिसीहरूले हरेक दिन सभाघरहरूमा धर्मशास्‍त्रका खण्डहरूको अर्थ लगाउँथे र चौबाटोहरूमा उभेर प्रार्थना गर्थे। तिनीहरूले परमेश्‍वरलाई प्रेम गर्छन् र तिनीहरू भक्त छन् भन्‍ने सबैले ठान्थे, त्यसैले मानिसहरूले तिनीहरूलाई आदर गर्थे र तिनीहरूको उपासना गर्थे। तर तिनीहरूले परमेश्‍वरको डर मान्दै मान्थेनन्, न त परमेश्‍वरलाई सबैभन्दा माथि राख्थे, न त परमेश्‍वरका आज्ञाहरू नै पालना गर्थे। विशेष गरी, जब प्रभु येशूले देखा परेर काम गर्न थाल्‍नुभयो, प्रभु येशूका वचनहरूमा अख्‍तियार र शक्ति छ भन्‍ने तिनीहरूलाई थाहा थियो, तर आफ्‍नो हैसियत र आम्दानीलाई रक्षा गर्नको लागि, तिनीहरूले पागलले झैँ परमेश्‍वरको कामको ईश्‍वरनिन्दा, विरोध, र भर्त्सना गरे। तिनीहरूका बाहिरी सुकर्म नक्‍कली थिए, तिनीहरूले आफूलाई ढाक्‍न र लुकाउन प्रयोग गर्ने कुरा थिए, र हेर्दा धर्मनिष्ठ देखिए पनि, सारमा तिनीहरू धूर्त थिए र तिनीहरूले सत्यतालाई घृणा गर्थे। प्रभु येशूले फरिसीहरूलाई कसरी श्राप दिनुभएको थियो मलाई याद आयो, “शास्‍त्रीहरू र फरिसीहरू, ढोङ्गीहरू हो, तिमीहरूलाई धिक्‍कार छ! किनभने तिमीहरू त सेता कब्र-स्थानहरू जस्तै छौ, जो बाहिरी रूपमा वास्तवमै सुन्दर देखिन्छन्, तर भित्र भने मरेका मानिसहरूका हाडहरू, र सबै अशुद्धताहरूले भरिएका हुन्छन्। त्यसरी नै तिमीहरू पनि बाहिरी रूपमा मानिसहरूका अघि धर्मी देखिन्छौ, तर भित्री रूपमा तिमीहरू ढोङ्गीपन र अधर्मले भरिएका छौ(मत्ती २३:२७-२८)। त्यसपछि मैले आफ्‍नै बारेमा सोचेँ। के म पनि त्यस्तै थिइनँ र? म सुसमाचार सम्‍बन्धी डिकन बनिसकेपछि, बाहिरी रूपमा, म सबेरै उठ्थेँ, राती अबेरसम्‍म बस्थेँ, र आफ्‍नो कर्तव्यमा सक्रिय भएर लागिपर्थेँ, तर यी सबै भ्रम, र अरूलाई देखाउने देखावटी काम मात्रै थिए। अरूलाई तिनीहरूले गलत व्यक्ति छानेका छैनन् भन्‍ने बताउन मैले सक्रिय भएर आफ्‍नो कर्तव्य पूरा गर्थेँ। जब म प्रभावकारी हुन्थेँ र मेरा ब्रदर-सिस्टरहरूका स्थितिहरूलाई समाधान गरिदिन्थेँ, तब म तुरुन्तै समूहमा सन्देश पठाउँथेँ वा मेरा ब्रदर-सिस्टरहरूलाई बताइहाल्थेँ, किनभने म मेरा अगुवाहरू र अरूलाई म योग्य छु र म आफ्‍नो कर्तव्यमा जिम्‍मेवार छु भनेर बताउन चाहन्थेँ। मैले आफ्‍नै मनसाय र उद्देश्यहरूले आफ्‍नो कर्तव्य पूरा गर्ने गरेकी रहेछु भन्‍ने मलाई थाहा भयो। म अरूले मलाई आदर गरून् भन्‍ने मात्रै चाहन्थेँ। मैले कुनै पनि व्यवहारिक काम गरेकी छैन, म बारम्‍बार धाक लगाउने, र हैसियतको पछि लाग्‍ने गर्छु भन्‍ने मलाई स्पष्ट रूपमा नै थाहा थियो, तर मैले आफ्‍नो भ्रष्टताको बारेमा उल्‍लेख गरिनँ वा बताइनँ। परमेश्‍वरले मलाई मन खोलेर बोल्‍ने धेरै अवसरहरू दिनुभएको थियो, तर मैले बारम्‍बार, सत्यताको अभ्यास गरिनँ, र धोका दिएर अघि बढ्नको लागि छल, देखावटी रूप, र छाकछोपको प्रयोग गरेँ, जसले गर्दा मेरा ब्रदर-सिस्टरहरूले मलाई गल्तीले म सत्यताको खोजी गर्ने र आफ्‍नो कर्तव्य जिम्‍मेवारीपूर्वक पूरा गर्ने व्यक्तिको रूपमा आदर गरेका थिए। ठ्याक्‍कै ढोङ्गी फरिसीहरू जस्तै, मैले मानिसहरूलाई मेरो अघि ल्याएकी छु भन्‍ने मलाई थाहा भयो। यो त तिनीहरूलाई छल गरेर तिनीहरूको मन जित्‍ने काम थियो, र म त परमेश्‍वरको विरोध गर्ने मार्गमा हिँडिरहेकी थिएँ। परमेश्‍वरले फरिसीहरूलाई श्राप दिनुभएको थियो। मैले पश्‍चात्ताप नगरेकी भए, मलाई परमेश्‍वरले घृणा गर्नुहुनेथियो र हटाउनुहुनेथियो।

पछि, मैले परमेश्‍वरको वचनको अर्को खण्ड पढेँ, “समस्या जे भए पनि, उत्पन्न हुने कुनै पनि समस्याको समाधान गर्नका लागि तैँले सत्यताको खोजी गर्नुपर्छ, अनि कुनै पनि प्रकारले आफैलाई फरक रूपमा देखाउने वा अरूको अगाडि झूटो अनुहार धारण गर्ने गर्न सक्दैनस्। तेरा दोषहरू, तेरा कमीहरू, तेरा गल्तीहरू, तेरो भ्रष्ट स्वभाव—ती सबैको बारेमा पूर्ण रूपमा खुला बन्, र ती सबैको विषयमा सङ्गति गर्। ती कुरालाई भित्र लुकाएर नराख्। आफैलाई कसरी खुलस्त बनाउनुपर्छ सो सिक्नु नै जीवनमा प्रवेश गर्नेतर्फको पहिलो कदम हो, र यो पहिलो बाधा हो, जसमाथि विजय पाउन सबैभन्दा गाह्रो हुन्छ। तैँले यसमाथि विजय पाएपछि, सत्यतामा प्रवेश गर्नु सजिलो हुन्छ। यो कदम उठाउनुले के कुराको सङ्केत गर्छ? यसको अर्थ, तैँले आफ्नो हृदय खोल्दैछस् र तेरा राम्रा वा नराम्रा, सकारात्मक वा नकारात्मक, सबै कुरा देखाउँदैछस्, अरू मानिस र परमेश्‍वरले देख्ने गरी आफैलाई उदाङ्गो पार्दैछस्; परमेश्‍वरबाट केही लुकाएको छैनस्, केही गोप्य कुरा राखेको छैनस्, कुनै कुरालाई ढाकेर राखेको छैनस्, छल र चालबाजीबाट मुक्त छस्, र यस्तै गरी अरू मानिसहरूसँग खुला र इमानदार हुँदैछस्। यस प्रकारले, तँ ज्योतिमा जिउँछस्, र परमेश्‍वरले मात्र तँलाई छानबिन गर्नुहुन्‍न, तर अरू मानिसहरूले पनि तँ सिद्धान्त र केही हदसम्म पारदर्शितासहित काम गर्दछस् भनी देख्न सक्नेछन्। तैँले कुनै तरिका प्रयोग गरी आफ्‍नै प्रतिष्ठा, छवि, र हैसियत जोगाउनु आवश्यक पर्दैन, न त आफ्ना गल्तीहरूलाई ढाकछोप गर्नु वा छदम् रूप दिनु नै आवश्यक पर्छ। तैँले यी व्यर्थका प्रयासहरूमा संलग्‍न हुनु आवश्यक छैन। यदि तैँले यी कुराहरूलाई छोड्न सक्छस् भने, तँ तनावरहित हुनेछस्, नेल र पीडारहित भई बाँच्नेछस्, र पूर्ण रूपमा ज्योतिमा रहेर जिउनेछस्। सङ्गति गर्दा कसरी खुल्ने भनेर सिक्‍नु नै जीवनमा प्रवेश गर्ने पहिलो कदम हो। त्यसपछि, तैँले आफ्‍ना सोचविचार र कार्यहरूलाई कुन-कुन गलत छन् र कुन-कुनलाई परमेश्‍वरले मन पराउनुहुन्‍न भनी हेर्नको लागि विश्‍लेषण गर्न सिक्‍नुपर्छ, र तैँले तिनलाई तुरुन्तै उल्ट्याएर सुधार गर्नु आवश्यक छ। तिनलाई सुधार गर्नुको उद्देश्‍य के हो त? यसको उद्देश्य तँभित्र भएका शैतानको स्वामित्वमा रहेका कुराहरूलाई इन्कार गर्दै र तिनलाई सत्यताले प्रतिस्थापन गर्दै सत्यतालाई स्वीकार गर्नु र अपनाउनु हो। पहिले, तैँले सबै कामकुरा झूट बोलिरहने र छल गरिरहने तेरो कुटिल स्वभावअनुसार गर्थिस्; तँलाई आफूले नढाँटीकन त कुनै काम पूरा गर्नै सक्दिनँ भन्‍ने लाग्थ्यो। अहिले तैँले सत्यता बुझेको छस् र शैतानको काम गर्ने तौरतरिकाहरूलाई घृणा गर्छस्, तँ अब त्यस तरिकाले कामकुराहरू गर्दैनस्, तँ इमानदारिता, शुद्धता, र आज्ञापालनको मानसिकताका साथ काम गर्छस्। यदि तँ कुनै कुरा पनि लुकाउँदैनस्, बाहिरी खोल ओढ्दैनस्, बहाना गर्दैनस्, झुटो रूप देखाउँदैनस् भने, यदि तँ दाजुभाइ-दिदीबहिनीहरूको सामु आफैलाई उदाङ्गो पार्छस्, तेरा भित्री सोच र विचारहरू लुकाउँदैनस्, बरु अरूलाई तेरो निष्कपट मनोवृत्ति हेर्न दिन्छस् भने, सत्यले बिस्तारै तँमा जरा गाड्नेछ, यो फुल्नेछ र फल्नेछ, र यसले अलिअलि गर्दै परिणाम दिनेछ। यदि तेरो हृदय धेरै नै इमानदार छ, र धेरै नै परमेश्‍वरमा केन्द्रित छ भने र यदि तैँले आफ्नो कर्तव्य पूरा गर्दा परमेश्‍वरको घरको हितको रक्षा गर्न जान्दछस्, यी हितहरूको रक्षा गर्न नसक्दा तँलाई ग्लानि महसुस हुन्छ भने, यो कुरा सत्यले तँमा प्रभाव पारेको छ र त्यो तेरो जीवन बनेको छ भन्‍ने प्रमाण हो(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “सत्यता अभ्यास गर्नेहरू मात्रै परमेश्‍वरको डर मान्‍नेहरू हुन्”)। परमेश्‍वरको वचनबाट मैले के बुझेँ भने आफूलाई ढाकछोप नगर्नु वा देखावटी रूप धारण नगर्नु, आफ्‍नै भ्रष्टता र कमजोरीहरूलाई प्रकट गर्न सक्‍नु, आफ्‍नो साँचो रूप देखाउनु, र मेरो भित्री हृदय मेरा ब्रदर-सिस्टरहरूलाई देखाउनु नै इमानदार व्यक्ति बन्‍नु हो। मैले सधैँ अरूले मलाई आदर गरून् भनेर कसरी आफूलाई ढाकछोप गर्ने र देखावटी रूप धारण गर्ने गर्थेँ, र भेलाहरूको बारेमा मलाई कसरी आफ्‍नो भ्रष्टताको बारेमा मन खोलेर कुरा गर्न आँट आउँदैनथियो त्यसको बारेमा मैले सोचेँ। म छली व्यक्ति थिएँ, परमेश्‍वरले घृणा र तिरस्कार गर्नुहुने व्यक्ति थिएँ, र यसरी जिउनु थकाइलाग्दो र पीडादायी हुन्छ। यो महसुस गरेपछि, मैले परमेश्‍वरसँग प्रार्थना गरेँ, “हे परमेश्‍वर! मलाई मानिसहरूले उच्‍च ठानून् र आदर गरून् भनेर म सबै कुरामा आफूलाई ढाकछोप गर्ने गरेकी छु। मलाई थाहा छ तपाईं यसलाई घृणा गर्नुहुन्छ। अब, मलाई आफैप्रति घृणा जागेको छ। हे परमेश्‍वर, म सत्यताको अभ्यास गर्न र इमानदार व्यक्ति बन्‍न चाहन्छु। बिन्ती छ मलाई अगुवाइ गर्नुहोस्!” प्रार्थना गरेपछि, मैले कसरी व्यवहारिक काम गरेकी थिइनँ भन्‍ने बारेमा सङ्गति गरेँ र मैले कसरी देखावटी रूप धारण गरेर धोका दिएकी थिएँ भनेर खुलासा गरेँ। सङ्गतिपछि, मेरो मुटुको बोझ हट्यो, र मलाई अत्यन्तै चिन्तामुक्त अनुभव भयो। मेरा ब्रदर-सिस्टरहरूले मलाई नीच ठानेनन्। र मेरा अगुवाहरूले मलाई हप्काएनन् वा मेरो निराकरण गरेनन्; बरु, तिनीहरूले धैर्यको साथ मसँग सङ्गति गरेर व्यवहारिक काम कसरी गर्ने भनेर मलाई अगुवाइ गरे। मैले के महसुस गरेँ भने, सत्यताको अभ्यास गरेर अनि इमानदार व्यक्ति बनेर, म शान्ति र सुरक्षाको अनुभव गर्न सक्छु। मेरा समस्याहरू र कमीकमजोरीहरूको खुलासा भएको भए पनि, मेरा ब्रदर-सिस्टरहरूको सङ्गति र सहयोगद्वारा, मैले समयमा नै मेरो तरिकाहरू परिवर्तन गर्न र आफ्‍नो कर्तव्य अझै राम्ररी पूरा गर्न सकेँ, जुन मेरो लागि अत्यन्तै उपयोगी भयो।

त्यसपछि, मैले सचेत भएर मेरा ब्रदर-सिस्टरहरूसँग मनको कुरा खोल्‍न र सङ्गति गर्न थालेँ, मेरो भ्रष्ट स्वभावलाई खुलासा गर्न थालेँ, र आफूलाई ढाकछोप गर्न छोडेँ। एक पटक, एक जना ब्रदरले मलाई यसो भन्दै मेसेज पठाए, “तपाईं सुसमाचार सम्‍बन्धी डिकन हुनुहुन्छ। हामीले सुसमाचार प्रचार गर्दा किन तपाईं आएर सुसमाचारका लक्षित व्यक्तिहरूलाई सङ्गति दिनुहुन्‍न? तपाईंले त्यसो गर्नुपर्छ जस्तो लाग्छ।” यो मेसेज देखेपछि, मलाई निकै रिस उठ्यो। मैले सोचेँ, “तिमी त एउटा समूह अगुवा मात्र हौ। मलाई आदेश दिने अधिकार तिमीलाई कसले दियो? तिमीले त मलाई केरकार गर्दैछौ जस्तै व्यवहार गरिरहेको छौ। तिमीले त म व्यस्त छु कि वा मसँग समय छ कि छैन भनेर समेत सोध्दैनौ।” मैले जवाफ दिएँ, “सुसमाचारको काम मेरो मात्रै भरमा चल्दैन। सबै जनाले सहकार्य गर्नुपर्छ।” त्यसपछि, मलाई अलिक पछुतो लाग्यो, किनभने मैले अहङ्कारी स्वभाव देखाइरहेकी छु जस्तो लाग्यो। मेरो ब्रदरले हाम्रो कामको बारेमा सोचिरहेको थियो, र साँचो कुरा भनिरहेको थियो। मैले यो कुरालाई स्वीकार गर्नुपर्नेथियो। मैले इन्कार नगरेकी मात्र होइन, तर उनलाई रिस सहित प्रतिक्रिया समेत दिएँ। के यो अनुचित कार्य थिएन र? मैले तिनलाई गरेको व्यवहारले तिनलाई चोट पुग्‍नेथियो र बन्धनमा पार्नेथियो। म तिनीसँग मन खोलेर कुरा गर्न र आफ्‍ना समस्याहरू स्वीकार गर्न चाहन्थेँ, तर मैले आफ्‍नो छविलाई त्याग्‍न सक्दिनथिएँ। यो ब्रदरले मलाई पहिले राम्रो सोच्‍ने गर्थ्यो। यदि मैले उसलाई मन खोलेर कुरा गरेँ भने, के उसले मलाई नीच ठान्‍नेछ? मलाई फेरि म आफ्‍नो हैसियत र छवि कायम राख्‍न आफूलाई ढाकछोप गर्न मन लाग्‍न थालेको रहेछ भन्‍ने थाहा भयो। मैले परमेश्‍वरलाई प्रार्थना गरेँ र मलाई सत्यता अभ्यास गर्न र आफूलाई त्याग्‍न अगुवाइ गर्नुहोस् भनी उहाँलाई अनुरोध गरेँ। पछि, मैले आफ्‍नो भ्रष्टताको बारेमा मेरो ब्रदरलाई मन खोलेर बताएँ। उनले आफूमा अहङ्कारी स्वभाव भएको र बोल्दा मेरा भावनाहरूको बारेमा विचार नगरेको, र आफू परिवर्तन हुन चाहेको कुरा बताए। परमेश्‍वरका वचनहरूको अगुवाइद्वारा, हामीले आफ्‍नो बारेमा मनन गर्‍यौँ, र इमानदार व्यक्ति बन्‍ने अभ्यास गर्दा मलाई विशेष रूपमा सहज महसुस गरायो।

यस अनुभवबाट मैले, परमेश्‍वरले आखिरी दिनहरूमा व्यक्त गर्नुभएका वचनहरूले मानिसहरूलाई साँच्‍चै नै शुद्ध पार्न र मुक्ति दिन सक्दा रहेछन् भन्‍ने थाहा पाएँ। परमेश्‍वरको वचनको प्रकाशविना, मैले सधैँ आफूलाई ढाकछोप गर्नेथिएँ र देखावटी रूप धारण गर्नेथिएँ, मेरो भ्रष्टता र कमीकमजोरीहरूलाई बुझ्‍न साँच्‍चै नै असम्‍भव हुनेथियो, र म परिवर्तन हुन सक्दिनथिएँ। उहाँको अगुवाइ र मुक्तिको लागि, अनि सत्यताको अभ्यास गर्नु र इमानदार व्यक्ति बन्‍नु कति सहज र निस्फिक्री हुँदो रहेछ भन्‍ने महसुस गराउनुभएकोमा म परमेश्‍वरप्रति कृतज्ञ छु।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

इमानदार मानिस हुनुको स्वाद

योङ्ग्सुइ, दक्षिण कोरियाएक दिन मार्च महिनाको अन्ततिर एक भेलामा, एक जना अगुवाले गिरफ्तार गरेर क्रूर यातना दिइएका एकजना दाजुको बारेमा बताए।...

मैले किन अरूसँग सहकार्य गर्न इन्कार गरिरहेकी थिएँ?

एक दिन सुसमाचार कामको जिम्‍मा लिनका लागि कसैलाई छनौट गर्न मण्डलीमा चुनाव भयो। अचम्‍मको कुरा, नतिजा सुनाउँदा त ब्रदर-सिस्टरहरूले मलाई चुनेका...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्