सधैँ अरूलाई खुसी पार्दा के हुन्छ

25 फेब्रुअरी 2023

म मण्डलीमा सुसमाचारको काम गर्छु। सिस्टर वान्डा र म समूह अगुवाका रूपमा सँगै काम गर्छौँ। सुरुमा, म वान्डा आफ्‍नो कर्तव्यमा सक्रिय, र आफ्‍नो काममा निकै प्रभावकारी छिन् भनेर देख्न सक्थेँ। मलाई उनी बोझ लिने जिम्‍मेवार व्यक्ति हुन् भन्ने लाग्थ्यो। तर केही समयपछि, उनी आफ्‍नो कर्तव्यमा झन्-झन् निष्क्रिय हुँदै गएको मलाई थाहा भयो। उनले काममा बिरलै समस्याहरू देख्थिन्, ती समाधान गर्ने कुरा त परै जाओस्। विगतमा हामीले कामको सारांश दिँदा, उनी मकहाँ सधैँ समस्या वा विचलनहरूको सारांश दिन अनि तिनलाई समाधान गर्ने उपायहरू छलफल गर्न आउँथिन्। तर यसपटक उनी चुपचाप थिइन्। सामान्यतया, हामी हाम्रो समूहका धेरै काम बाँडफाँट गर्थ्यौँ, र समयमा नै समस्याहरूको सारांश प्रस्तुत गरिन्थ्यो। यसरी समस्याहरू अझै राम्ररी समाधान गर्न र कामको प्रभावकारिता सुधार्न सकिन्थ्यो। तर अहिले, सिस्टर वान्डाले समूहका समस्याहरूमा मन लगाइरहेकी थिइनन्। मैले सोचेँ, “उनले समूह अगुवाको रूपमा आफ्ना कर्तव्य पूरा गरिरहेकी छैनन्। यो स्वीकार्य छैन, मैले यसबारे उनीसँग सङ्गति गर्नुपर्छ।” तर अर्को मनले सोच्दा, “वान्डासँग सामान्यतया मेरो सम्‍बन्ध निकै राम्रो छ। यदि मैले उनलाई उनले आफ्‍नो कर्तव्यमा थोरै बोझ लिइरहेकी छिन् र कुनै वास्तविक काम गरिरहेकी छैनन् भनेर सिधै भनेँ भने, के उनी लाजमा पर्नेछिन्? यदि मैले यसो भनेर शान्ति भङ्ग गरेँ भने, त्यसपछि हामी कसरी मिल्ने? होस्। यस्तो खतरा नमोल्नु नै ठिक हुन्छ। मैले उनको चित्त दुखाउनु हुँदैन।” त्यो बेला, मैले आफूलाई मनमनै दोष दिइरहेकी हुन्थेँ, “के यो अवधिमा वान्डाको स्थिति खराब भएको छैन र? यदि यस्तै भइरह्यो भने, उनको जीवनमा समस्या आउनेछ र यसले उनको काममा असर पार्नेछ। के मैले तुरुन्तै उनीसँग सङ्गति गर्नुपर्दैन र? तर उनमा बोझको कमी छ भनेर मैले सिधै औँल्याइदिएँ भने, के उनलाई बन्धनमा परेको र मैले उनको कामको निगरानी गरिरहेकी छु भन्‍ने लाग्‍नेछ? सायद मैले अगुवालाई भनेर वान्डालाई सहयोग गर्न लगाउनुपर्छ। त्यसपछि मैले उनलाई चिढ्याइरहनु पर्नेछैन।” तर त्यसपछि सोचेँ, “यदि मैले अगुवालाई भनेँ र वान्डाले थाहा पाइन् भने, के मैले उनको पोल लगाइरहेकी छु भनेर उनले भन्‍नेछिन्? अहँ, केही नबोल्‍नु नै बेस हुन्छ।” यसरी मैले घरी यो र घरी त्यो सोचिरहेँ र यस मामिलामा कुनै निष्कर्ष निकाल्‍न सकिनँ। मलाई आफ्नो स्थिति खराब छ भन्‍ने थाहा थियो, र मैले परमेश्‍वरलाई प्रार्थना गरेर सत्यता खोज्न र मेरा समस्याहरू समाधान गर्न अगुवाइ मागेँ।

एकपटक भेलाको अवधिमा, मैले परमेश्‍वरको यो वचन देखेँ, “जब तिमीहरूले कुनै समस्या देख्छौ तर यसमा हस्तक्षेप गर्न केही गर्दैनौ, र यसबारेमा सङ्गति गर्दैनौ, र यसलाई रोक्‍ने प्रयास गर्दैनौ, अनि तिमीहरूभन्दा माथिकाहरूलाई यसबारेमा रिपोर्ट गर्दैनौ, तर ‘राम्रो व्यक्ति’ को भूमिका निभाउँछौ भने, के यो विश्‍वासघातको सङ्केत हो? के अरूको नजरमा राम्रो देखिने मानिसहरू परमेश्‍वरप्रति निष्ठावान्‌ हुन्छन्? पटक्‍कै हुँदैनन्। त्यस्ता मानिसहरू परमेश्‍वरप्रति निष्ठावान् नहुने मात्र होइनन्, तिनीहरूले त शैतानको मतियार, परिचर र अनुयायीको रूपमा समेत काम गरिरहेका हुन्छन्। तिनीहरू आफ्‍नो कर्तव्य र जिम्‍मेवारीमा विश्‍वासहीन हुन्छन्, तर शैतानको लागि चाहिँ निकै बफादार हुन्छन्। समस्याको सार नै यहीँ छ। व्यावसायिक अपर्याप्तताको हकमा भन्दा, कर्तव्यपालन गर्ने क्रममा निरन्तर रूपमा सिक्‍न र आफ्‍ना अनुभवहरूलाई जम्‍मा गर्न सम्‍भव हुन्छ। त्यस्ता समस्याहरूलाई सजिलै समाधान गर्न सकिन्छ। समाधान गर्न सबैभन्दा कठिन कुरा भनेको मानिसको भ्रष्ट स्वभाव हो। यदि तिमीहरू सत्यताको खोजी वा भ्रष्ट स्वभावको समाधान गर्दैनौ, तर सधैँ अरूको नजरमा राम्रो भएको नाटक गर्छौ, र सिद्धान्तहरू उल्‍लङ्घन गरेको भनी तिमीहरूले देखेका मानिसहरूलाई निराकरण वा सहयोग, खुलासा वा पर्दाफास नगरी, सधैँ पछि हट्छौ, जिम्‍मेवारी लिँदैनौ भने, तिमीहरूको जस्तो कर्तव्यपालनले मण्डलीको काममा सम्झौता र ढिलाइ मात्रै निम्त्याउँछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। कर्तव्यलाई उचित रूपमा पूरा गर्नको लागि मैत्रीपूर्ण सहकार्यको आवश्यकता पर्छ)। “मानिसहरूको बानीबेहोरा र अरूप्रतिको तिनीहरूको व्यवहार परमेश्‍वरका वचनहरूअनुरूप नै हुनुपर्छ; मानव आचरणको सबैभन्दा आधारभूत सिद्धान्त यही हो। यदि मानिसहरूले मानव आचरणका सिद्धान्तहरू बुझ्दैनन् भने तिनीहरूले कसरी सत्यता अभ्यास गर्न सक्छन्? सत्यताको अभ्यास गर्नु भनेको खोक्रा कुराहरू भन्नु र केही वाक्यांशहरू भन्नु होइन। व्यक्तिले जीवनमा जेसुकै सामना गर्नु परे पनि, जबसम्म त्यसमा मानव चालचलनका सिद्धान्तहरू, घटनाहरूसम्‍बन्धी दृष्टिकोण, वा आफ्‍नो कर्तव्य निभाउने विषय समावेश हुन्छ, तबसम्म उसले नै निर्णय गर्नुपर्ने परिस्थिति आइपर्नेछ, अनि उसले सत्यता खोजी गर्नुपर्छ, र उसले परमेश्‍वरका वचनहरूमा आधार र सिद्धान्त खोज्‍नुपर्छ, र त्यसपछि उसले अभ्यासको मार्ग खोज्‍नुपर्छ; यसरी अभ्यास गर्न सक्‍नेहरू नै सत्यताको खोजी गर्न सक्‍ने मानिसहरू हुन्। कठिनाइहरू जति नै ठूला भए पनि यसरी सत्यताको खोजी गर्न सक्‍नु भनेको पत्रुसको मार्गमा र सत्यताको खोजी गर्ने मार्गमा हिँड्नु हो। उदाहरणको लागि: अरूसँग अन्तरक्रिया गर्दा कस्तो सिद्धान्त पछ्याउनुपर्छ? तेरो मूल दृष्टिकोण तैँले कसैलाई दुःखी बनाउनु हुँदैन, तर शान्ति कायम राख्नुपर्छ र कसैलाई अपमान गर्नुबाट जोगिनुपर्छ, ताकि भविष्यमा, सबै जना मिलेर बस्न सकियोस् भन्‍ने हो। यस्तो दृष्टिकोणमा खुम्चिएर जब तँ कसैले कुनै खराब काम गरेको, गल्ती गरेको, वा सिद्धान्तहरूको विरुद्धमा काम गरेको देख्छस्, तब तँ त्यो व्यक्तिको सामु कुरा उठाउनुभन्दा ती सबै सहन निको ठान्छस्। तेरो आफ्नै दृष्टिकोणमा खुम्चिएर, तँ कसैलाई पनि दुःखी बनाउन चाहँदैनस्। तँ जोसुकैसँग आबद्ध भए पनि, इज्‍जत, संवेग, वा धेरै वर्षदेखिको अन्तरक्रियाबाट उत्पन्न भावनाहरूसम्बन्धी सोचमा खुम्चिएर तँ त्यस व्यक्तिलाई खुसी पार्न सधैँ राम्रा कुराहरू भन्छस्। कुनै असन्तोषजनक कुराहरू भेट्टाउँदा पनि तँ सहनशील हुन्छस्; तँ एक्लै हुँदा अलिअलि फतफताउँछस्, अलिअलि आलोचना गर्छस्, तर तिनीहरूलाई प्रत्यक्ष भेट्दा, परिस्थिति बिगार्ने कुनै कुरा गर्दैनस् र तिनीहरूसँगको सम्‍बन्धलाई अझै पनि कायमै राख्छस्। यस्तो बेहोराको बारेमा तँ के सोच्छस्? के त्यो चाकडीबाजको बेहोरा होइन र? के त्यसमा एकदमै चिप्लेपन छैन र? यसले आचरणका सिद्धान्तहरू उल्लङ्घन गर्छ। त्यसैले, के त्यस्तो प्रकारको व्यवहार गर्नु तुच्छता होइन र? यस्तो व्यवहार गर्नेहरू असल मानिसहरू होइनन्, न त तिनीहरू आदर्शमय व्यक्तिहरू नै हुन्। तैँले जति धेरै दुःख भोगेको भए पनि, र तैँले जस्तै मूल्य चुकाएको भए पनि, यदि तैँले सिद्धान्तहरूविना व्यवहार गर्छस् भने, तँ असफल भएको छस्, र परमेश्‍वरको सामु कुनै स्वीकृति पाउनेछैनस्, न त उहाँद्वारा सम्झना गरिनेछस्, न तैँले उहाँलाई खुसी पार्न सक्छस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। राम्रोसित आफ्‍नो कर्तव्य निभाउनको लागि, व्यक्तिमा कम्तीमा पनि विवेक र तर्कशक्ति हुनुपर्छ)। परमेश्‍वरका वचनहरूले मलाई मैले मानिसहरूबीचको सम्‍बन्ध सधैँ शान्तिपूर्ण हुनुपर्छ भन्‍ने भ्रमित दृष्टिकोण पालिरहेकी छु भनेर बुझ्न लगाए। मैले सधैँ अरूका समस्याहरू औँल्याएको र खुलासा गरेको भए, तिनीहरू चिढिनेथिए र सायद तिनीहरूको स्वाभिमान र हाम्रो सम्‍बन्धमा धक्का पुग्नेथ्यो, यसो हुँदा हामी मिलेर बस्‍नु गाह्रो हुनेथ्यो। यो दृष्टिकोणलाई परमेश्‍वरका वचनहरूसँग तुलना गर्दा, यो सत्यताअनुरूप छैन, र व्यक्ति बन्‍नुका सिद्धान्तहरूविपरीत रहेछ भन्‍ने मैले बल्‍ल थाहा पाएँ। यस्ता मानिसहरू स्वार्थी, नीच, धूर्त, र छली हुन्छन्। तिनीहरू राम्रो सम्‍बन्ध कायम राख्‍न अरूमा समस्या देख्दा केही बोल्दैनन्, चापलुसी र प्रशंसा मात्रै गर्छन्। तिनीहरू अन्तरक्रिया गर्दा इमानदार हुँदैनन् र साँचोरूपमा सहयोग गर्दैनन्, बरु, मानिसहरूलाई हानि गर्छन्। परमेश्‍वरको नजरमा यी मानिसहरू नीच हुन्, र उहाँ तिनीहरूलाई अनुमोदन गर्नुहुन्‍न। मैले वान्डासँग गरेको व्यवहार यस्तै थियो—उनले आफ्‍नो कर्तव्यमा बोझ लिँदिनन् र वास्तविक काम गरिरहेकी छैनन् भनेर मैले स्पष्‍ट देखेकी थिएँ, तर उनका समस्याहरू औँल्याएर सत्यता अभ्यास गरिनँ। ममा उनका समस्याहरूको रिपोर्ट गर्ने साहससमेत थिएन। म मेरी सिस्टरसँगको सम्‍बन्ध कसरी जोगाउने भनेर मात्रै विचार गर्थेँ। कसैका समस्याहरू औँल्याउँदा तिनीहरू चिढिन्छन् र तिनीहरूका भावनामा चोट पुग्छ भन्‍ने मलाई लाग्थ्यो। यसले काममा असर पारिरहेको छ भन्‍ने देखेर पनि, म देहसुख त्यागेर सत्यता अभ्यास गर्न इच्छुक भइनँ। म मानिसहरूलाई खुसी पार्ने छली व्यक्ति बनिरहेकी थिएँ! मैले मेरी सिस्टरको समस्या देखेँ तर त्यो खुलासा गरिनँ। मैले हाम्रो सम्‍बन्धलाई जोगाए पनि, उनको जीवनमा यसले कुनै फाइदा पुर्‍याएन, र यसले मण्डलीको सुसमाचार काममा पनि असर गऱ्यो। यसो गरेर, मैले साँच्‍चै नै अरूलाई र मण्डलीको कामलाई हानि गरिरहेकी थिएँ।

यसपछि, कुन सिद्धान्तहरूअनुसार मानिसहरूसँग अन्तरक्रिया गर्नुपर्छ भनेर मनन गरेँ। परमेश्‍वरको वचनले यसो भनेको पाएँ, “तिमीहरूले सत्यतामै ध्यान केन्द्रित गर्नुपर्छ—त्यसपछि मात्रै तिमीहरू जीवनप्रवेश गर्न सक्छौ, अनि तिमीहरूले जीवनप्रवेश गरिसकेपछि मात्र अरूलाई भरणपोषण र अगुवाइ गर्न सक्छौ। अरूका कार्यहरू सत्यतासँग नमिल्‍ने किसिमका छन् भन्‍ने पत्ता लाग्यो भने, हामीले तिनीहरूलाई सत्यतामा लागिपर्न अत्यन्तै प्रेमपूर्वक सहयोग गर्नुपर्छ। यदि अरूले सत्यताको अभ्यास गर्न सक्छन्, र तिनीहरूले काम गर्ने तरिकामा सिद्धान्तहरू छन् भने, हामीले तिनीहरूबाट सिक्‍ने र तिनीहरूको अनुकरण गर्ने प्रयास गर्नुपर्छ। आपसी प्रेम भनेकै त्यही हो। मण्डलीमा तिमीहरूसँग यस्तै वातावरण हुनुपर्छ—हरेकले सत्यतामा ध्यान केन्द्रित गर्ने र त्यसलाई प्राप्त गर्न लागिपर्ने अवस्था हुनुपर्छ। मानिसहरू जति वृद्ध वा जवान भए पनि वा तिनीहरू अनुभवी विश्‍वासी भए पनि नभए पनि केही फरक पर्दैन। न त तिनीहरूसँग राम्रो क्षमता वा कमजोर क्षमता हुँदा नै केही फरक पर्छ। यी कुराहरूले केही फरक पर्दैन। सत्यताको अघि, सबै समान हुन्छन्। तैँले हेर्नुपर्ने कुरा भनेको कसले सही तरिकाले र सत्यताअनुरूप बोल्छ, कसले परमेश्‍वरको घरका हितहरूबारे विचार गर्छ, परमेश्‍वरको घरको काममा कसले सबैभन्दा बढी बोझ लिन्छ, कसले अझै स्पष्ट रूपमा सत्यता बुझ्छ, कोसँग धार्मिकताको बोध छ र को मूल्य चुकाउन तयार छ भन्‍ने हो। त्यस्ता मानिसहरूलाई तिनीहरूका दाजुभाइ-दिदीबहिनीहरूले समर्थन र प्रशंसा गर्नुपर्छ। सत्यताको खोजीबाट आउने यो सीधापनको वातावरण नै मण्डलीमा हाबी हुनुपर्छ; यस तरिकाले, तिमीहरूसँग पवित्र आत्‍माको कार्य हुनेछ, र परमेश्‍वरले आशिष्‌हरू र अगुवाइ प्रदान गर्नुहुनेछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो सारा हृदय, मनमस्तिष्क, र आत्माले कर्तव्य निभाउने व्यक्तिले मात्रै परमेश्‍वरलाई प्रेम गरेको हुन्छ)। मण्डलीमा सत्यताले राज गर्छ; अन्तरक्रिया गर्ने क्रममा मण्डलीका सदस्यहरूले सत्यतालाई प्राथमिकतामा राख्‍नुपर्छ। सिद्धान्तहरू उल्‍लङ्घन गर्ने कुनै पनि व्यक्तिलाई प्रेमपूर्वक यो कुरा बताउनुपर्छ, निराकरण र सहयोग गर्नुपर्छ, ताकि तिनीहरू सत्यतामा अघि बढ्न सकून्। सत्यताअनुसार बोल्‍ने र काम गर्ने, अनि सिधा र मण्डलीको कामको रक्षा गर्न सक्‍ने जोकोही व्यक्तिलाई साथ दिनुपर्छ र सुरक्षा गर्नुपर्छ। सबैले सत्यता खोजी र अभ्यास गर्ने कार्यमा ध्यान दिए, र मण्डलीमा सत्यताको खोजीलाई हाबी हुन दिए भने मात्रै, पवित्र आत्‍माले आफ्‍नो काम गर्न सक्‍नुहुन्छ। यी कुराहरू बुझेपछि मेरो मन हल्‍का भयो, र मैले अभ्यासको मार्ग भेट्टाएँ। मैले के पनि सोचेँ भने परमेश्‍वरको हरेक साँचो विश्‍वासीले आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न र उहाँको प्रेमको ऋण तिर्न चाहन्छ। तर कर्तव्य पूरा गर्ने क्रममा आफ्ना भ्रष्टता र धेरै कमीकमजोरी देखाउनबाट कोही पनि जोगिन सक्दैन। यसमा ब्रदर-सिस्टरहरूले एकअर्कालाई सहयोग र सुधार गर्नैपर्छ। अरूका समस्याहरू औँल्याउने र खुलासा गर्ने काम तिनीहरूलाई लाजमा पार्न, वा तिनीहरूलाई आक्रमण गर्न गरिएको हुँदैन, तर मानिसहरूलाई आफ्ना समस्याहरू बुझ्न र तिनीहरूको गलत स्थिति सुधार्न सहयोग गर्नका लागि गरिएको हुन्छ। यो मात्रै साँचो प्रेम र साझे प्रेमको अभिव्यक्ति हो। यो मण्डलीको कामलाई रक्षा गर्नु हो। यसको विपरीत, तपाईंले अरूका समस्याहरू देख्दा मुखमा बुजो लाएर बस्‍नुहुन्छ, र आफ्‍ना व्यक्तिगत हितहरू जोगाउन शैतानको दर्शन पालना गर्नुहुन्छ भने, यो मानिसहरूको जीवन प्रवेश र मण्डलीको कामप्रति गैरजिम्‍मेवार बन्‍नु हो। यसरी जिउनु अत्यन्तै स्वार्थी र नीच तरिका हो। मैले वान्डासँगका मेरा अन्तरक्रियाहरूबारे सोचेँ। उनको कर्तव्यमा समस्याहरू छन् भन्‍ने देखेर पनि मैले उनलाई कुनै वास्तविक सहयोग गरिनँ किनभने मलाई आफ्‍नो छवि जोगाउने मात्रै चिन्ता थियो, र उनको जीवन प्रवेश, वा मण्डलीको कामलाई कुनै विचार गरिनँ। म साँच्‍चै नै स्वार्थी, नीच थिएँ, र ममा मानवता थिएन! त्यो बेला मैले आफूलाई बेसरी धिक्कारेँ, र परमेश्‍वरको वचन अभ्यास गर्न, र सिस्टरलाई सत्यताका सिद्धान्तहरूअनुसार व्यवहार गर्न इच्छुक भएँ।

पछि, म वान्डाकहाँ गएँ र उनलाई खुलस्त भएर सङ्गति दिएँ। मैले देखेका सबै समस्या उनलाई एक-एक गरी बताएँ। परमेश्‍वरका वचनहरू पढेपछि उनी निकै भावुक भइन्, र हाल उनको स्थिति निकै खराब रहेको र उनीसँग प्रार्थनामा भन्‍ने कुरासमेत नभएको उनले बताइन्। यो सुनेर म छक्‍क परेँ र आफूलाई दोष दिएँ। मैले यो कुरा चाँडै औँल्याएर उनलाई सहयोग गरेकी भए, सायद उनले आफ्‍नो गलत स्थिति सुधार्न सक्थिन्, र यसले उनको कर्तव्यमा असर पार्नेथिएन। सिस्टरसँगको आफ्नो सम्‍बन्ध जोगाउन मैले सत्यता अभ्यास नगर्नु र मानिसहरूलाई खुसी पार्ने व्यवहार गर्नुले उनलाई साँच्‍चै नै हानि गरिरहेको छ भन्‍ने मैले देखेँ। त्यसकारण मैले परमेश्‍वरलाई प्रार्थना गरेँ र भविष्यमा मानिसहरूसँग अन्तरक्रिया गर्दा, सत्यता अभ्यास गर्न ध्यान दिन्छु, समस्या देखेँ भने तुरुन्तै औँल्याउँछु र सहयोग गर्छु, मानिसहरूलाई खुसी पार्ने व्यक्ति बन्दिनँ भनेर सङ्कल्‍प गरेँ।

त्यहाँदेखि, वान्डा आफ्‍नो कर्तव्यमा अझै सक्रिय भइन्। तर केही समयपछि, उनको कामले बारम्‍बार सिद्धान्तहरू उल्‍लङ्घन गरेको मैले देखेँ। कुनै व्यक्तिको मानवता खराब भए पनि र ऊ सुसमाचार प्रचारका सिद्धान्तहरूअनुरूप नभए पनि, उनले तिनीहरूलाई सुसमाचार सुनाएर प्रयास खेर फाल्थिन्। म अन्योलमा परेँ। वान्डाले सुसमाचार प्रचार गरेको धेरै समय भएको थियो। उनले सिद्धान्तको हरेक पक्ष राम्ररी बुझेको हुनुपर्ने हो। कसरी उनले यस्तो स्पष्ट गल्ती गर्न सक्छिन्? के उनको स्थिति अझै सुध्रिएको छैन? सायद मैले उनलाई सम्‍झाउनुपर्छ। तर त्यसपछि सोचेँ, “मैले पहिले नै उनलाई सहयोग गरिसकेँ। मैले उनलाई बारम्‍बार सुधार गरिरहनु पर्दैन। यो अत्यन्तै अप्ठ्यारो परिस्थिति हो। यदि मैले सधैँ उनलाई सच्याइरहेँ भने, के उनले मलाई अहङ्कारी, सधैँ अरूका समस्याहरू खोतल्‍ने, वा मानिसहरूबाट धेरै माग गर्ने व्यक्ति ठान्‍नेछिन्? त्यसले मेरो छवि बिगार्नेछ। मैले यो कुरा बिर्सिदिनुपर्छ।” यसरी कर्तव्य पूरा गर्दा वान्डाको स्थिति र परिस्थिति ठिक नरहेको मैले देखेँ, तर पनि मैले आँखा चिम्लेँ र उनलाई त्यो कुरा औँल्याइनँ वा सहयोग गरिनँ। केही समय बित्यो, र वान्डालाई आफ्‍नो कर्तव्यमा लामो समयसम्‍म सुस्त र अप्रभावकारी बनेको कारण बर्खास्त गरियो। मलाई ग्लानि भयो। मैले मेरी सिस्टरको कर्तव्यमा समस्याहरू छन् भन्‍ने स्पष्‍ट देखेकी थिएँ, तर वास्ता गरिनँ। मैले आँखा चिम्लेँ, र उनलाई सम्झाउन वा सहयोग गर्न केही गरिनँ। अब उनलाई बर्खास्त गरिएको थियो, के यसमा म पनि जिम्‍मेवार थिइनँ र? मलाई निकै कष्ट भयो र के गर्ने-गर्ने भयो। म किन सधैँ मानिसहरूलाई खुसी पार्ने र सत्यता अभ्यास गर्न नसक्ने भएँ? यो समस्याको जड के थियो?

मैले मनन र खोजी गर्ने क्रममा, परमेश्‍वरको वचनले यसो भनेको देखेँ, “जिउनेसम्‍बन्धी दर्शनको एउटा सिद्धान्त छ, ‘असल साथीको गल्तीमा चुप लाग्दा लामो र असल मित्रता कायम हुन्छ।’ यसको अर्थ मित्रताको सम्बन्ध जोगाउनको लागि, व्यक्तिले आफ्‍नो मित्रमा भएका समस्याहरू स्पष्ट देखे पनि ऊ यसबारेमा मौन बस्‍नुपर्छ—उसले अर्को व्यक्तिको मर्यादामा आक्रमण नगर्ने वा उसका कमीकमजोरी खुलासा नगर्ने सिद्धान्तहरू पालना गर्नुपर्छ। तिनीहरूले एकअर्कालाई धोका दिनुपर्छ, एकअर्काबाट आफ्नो कुरा लुकाउनुपर्छ, एकअर्काको विरुद्ध षड्यन्त्र गर्नुपर्छ; र अर्को व्यक्ति कस्तो हो भन्‍ने कुरा स्पष्टै थाहा भएर पनि, तिनीहरूले त्यो कुरा सीधै भन्‍नु हुँदैन, बरु तिनीहरूको राम्रो मित्रता रक्षा गर्न धूर्त विधिहरू अपनाउनुपर्छ। किन व्यक्तिले यस्तो सम्‍बन्ध जोगाउन चाहन्छ? यसको अर्थ समाजमा, समूहमा शत्रु बनाउन नचाहनु हो, किनभने त्यसो गर्दा आफू खतरनाक परिस्थितिमा पर्न सकिन्छ। तैँले कुनै व्यक्तिका गल्तीहरू खुलासा गरेपछि वा उसलाई चोट पुर्‍याएपछि र ऊ तेरो शत्रु बनेपछि उसले तँलाई कसरी हानि गर्नेछ तँलाई थाहा हुँदैन, र तैँले आफूलाई यस्तो परिस्थितिमा राख्‍न चाहँदैनस्, त्यसकारण तैँले ‘मान्छेको मर्ममा कहिल्यै प्रहार नगर्नू।’ जस्ता जिउनेसम्‍बन्धी दर्शनका सिद्धान्तहरू अपनाउँछस्। यो कुरालाई ध्यानमा राख्दा, यदि दुई व्यक्ति यस्तो सम्‍बन्धमा छन् भने, के तिनीहरूलाई साँचो मित्र भनेर भन्‍न सकिन्छ? (सकिँदैन।) तिनीहरू साँचो मित्र होइनन्, तिनीहरू एकअर्काका विश्‍वासपात्र हुनु त परको कुरा हो। त्यसो भए, यो वास्तवमा कस्तो सम्‍बन्ध हो? के यो आधारभूत सामाजिक सम्‍बन्ध होइन र? (हो।) त्यस्ता सामाजिक सम्‍बन्धहरूमा, मानिसहरूले आफूलाई लागेको कुरा भन्‍न सक्दैनन्, न त गहिरा कुराहरू गर्न, आफूलाई मन पर्ने कुरा, वा हृदयको कुरा भन्‍न, अर्को व्यक्तिमा देखेका समस्याहरू बताउन, वा अर्को व्यक्तिलाई फाइदा पुग्‍ने शब्‍दहरू बोल्‍न सक्छन्। बरु, अर्को व्यक्तिलाई चोट नपुर्‍याउनका लागि तिनीहरूले राम्रा सुनिने शब्‍दहरू बोल्छन्। तिनीहरूले शत्रु बनाउने इच्छा गर्दैनन्। यसको उद्देश्य आफ्‍नो वरपरका मानिसहरूलाई खतरा पैदा गर्न नदिनु हो। कसैले तिनीहरूलाई खतरामा नपार्दा, के तिनीहरू तुलनात्मक रूपमा सहज र शान्तिमा बाँचिरहेका हुँदैनन् र? ‘मान्छेको मर्ममा कहिल्यै प्रहार नगर्नू’ भन्‍ने वाक्यांशको प्रवर्धन गर्नुको पछाडि मानिसहरूको उद्देश्य यही हुँदैन र? (यही हुन्छ।) स्पष्टै छ, यो अस्तित्वमा रहने धूर्त र छली तरिका हो जसमा आत्मरक्षाको तत्व मिसिएको हुन्छ, र यसमा व्यक्तिको उद्देश्य भनेको आफ्‍नो सुरक्षा गर्नु हुन्छ। यसरी जिउने मानिसहरूको केही कुरा भन्‍न सकिने विश्‍वासपात्र र घनिष्ठ मित्र कोही हुँदैनन्। तिनीहरू एकअर्काप्रति रक्षात्मक, अनि षड्यन्त्रकारी, र रणनीतिक हुन्छन्, र दुवैले नै उक्त सम्‍बन्धबाट आफूलाई चाहेको कुरा लिन्छन्। के यो यस्तै हुँदैन र? ‘मान्छेको मर्ममा कहिल्यै प्रहार नगर्नू’ भन्‍ने वाक्यांशको मूल उद्देश्य भनेको अरूलाई रिस नउठाउनु र शत्रु नकमाउनु, अनि कसैलाई चोट नपुर्‍याएर आफ्‍नो रक्षा गर्नु हो। यो आफूलाई चोट लाग्‍न नदिनका लागि प्रयोग गरिने उपाय र विधि हो(वचन, खण्ड ६। सत्यताको पछि लाग्‍नेबारे। सत्यता पछ्याउनु भनेको के हो (८))। “मानिसको शैतानी प्रकृतिमा एकदमै धेरै दर्शनहरू हुन्छन्। कहिलेकाहीँ तँ आफैलाई पनि तीबारे थाहा नहुन सक्छ, र तैँले तिनलाई बुझ्दैनस्; तैपनि तेरो जीवनको हरेक क्षण तिनै कुराहरूमा आधारित हुन्छ। अझ भन्ने हो भने, तैँले ती दर्शनहरू निकै सही र मनासिब छन् र ती गलत छँदै छैनन् भन्‍ने ठान्छस्। शैतानका दर्शनहरू मानिसहरूको प्रकृति बनेका छन्, र तिनीहरू यसप्रकारको जीवनशैली राम्रो छ भन्‍ने सोच्दै र कुनै पश्‍चात्तापको बोध नगरी यिनै दर्शनहरूअनुरूप बाँचिरहेका छन् भन्ने देखाउन यही काफी छ। त्यसकारण, तिनीहरूले निरन्तर रूपमा आफ्‍नो शैतानी प्रकृति प्रकट गरिरहेका छन्, र सबै पक्षमा तिनीहरू निरन्तर रूपमा शैतानका दर्शनहरूअनुरूप बाँचिरहेका छन्। शैतानको प्रकृति मानवजातिको जीवन हो, अनि यो मानवजातिको प्रकृति र सार हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। पत्रुसको मार्गमा कसरी हिँड्ने)। मैले परमेश्‍वरको वचनको प्रकाशद्वारा कुरा बुझेँ। म मानिसहरूलाई खुसी नपारी बस्‍न नसक्‍नुको कारण त मलाई शैतानले अत्यन्तै भ्रष्ट तुल्याएकोले पो रहेछ। मेरो हृदय शैतानका दर्शन र नियमहरूले भरिएको थियो, जस्तै “मान्छेको मर्ममा कहिल्यै प्रहार नगर्नू,” र “असल साथीको गल्तीमा चुप लाग्दा लामो र असल मित्रता कायम हुन्छ,” इत्यादि। यी कुराहरू मेरो जीवन जिउने सूत्र बनेका थिए। यी शैतानी दर्शनहरूको वशमा परेर, म आफ्ना बोलीवचन र कामले मानिसहरूलाई नचिढ्याउनु, राम्रो सम्‍बन्ध र शान्ति कायम राख्‍नु नै जिउने बुद्धिमानी तरिका हो भनी सोच्थेँ। त्यसकारण, वान्डा आफ्‍नो कर्तव्यमा सुस्त भएको र उनले सिद्धान्तहरू उल्‍लङ्घन गरेको, अनि यसले काममा असर पारिसकेको देख्दासमेत, म उनलाई खुलासा गर्न वा सुधार्न इच्छुक भइनँ। मैले आफ्‍नो सम्‍बन्ध कायम राख्‍न सुसमाचार काममा हानि हुन दिन रुचाएँ। मलाई शैतानका दर्शनहरूले यति कसिलो गरी बाँधेका थिए कि म सत्यता अभ्यास गर्न सक्दिनथेँ, र ममा विवेक वा समझ अलिकति पनि थिएन! परमेश्‍वरको वचनले यसो भनेको मैले देखेँ, “स्पष्टै छ, यो अस्तित्वमा रहने धूर्त र छली तरिका हो जसमा आत्मरक्षाको तत्व मिसिएको हुन्छ, र यसमा व्यक्तिको उद्देश्य भनेको आफ्‍नो सुरक्षा गर्नु हुन्छ।” म भावविभोर भएँ। परमेश्‍वरका वचनहरूले एकदमै वास्तविक कुरा बताएर म शैतानी दर्शनहरूअनुसार जिउँदाका मेरा नीच अभिप्रायहरूलाई खुलासा गरिदिए। पहिले, म आफूले सिस्टरलाई सुधार नगर्नुको कारण उनलाई विवश महसुस हुन्छ भन्‍ने मलाई डर लागेकोले हो भनेर सानसँग सोच्थेँ। तर वास्तवमा, यो सत्यता अभ्यास नगर्ने मेरो बहाना मात्रै थियो। यदि मैले उनलाई बारम्‍बार सुधार गरेँ भनेँ, उनी चिढिन्छिन्, र मलाई गल्ती खोतल्‍ने र मानिसहरूसँग उचित व्यवहार गर्न नसक्‍ने व्यक्ति ठान्छिन् भन्‍ने डर लागेको थियो। मैले सिस्टरको मनमा आफ्नो राम्रो छाप पार्न, उनका समस्याहरूप्रति आँखा चिम्लेँ, जसले गर्दा उनी निरन्तर आफ्‍नो भ्रष्टतामा जिइन् र उनमा कुनै आत्म-चेतना पलाएन। अरूसँगको अन्तरक्रियामा म सच्चा थिइनँ, यो सब देखावटी र छलमात्रै थियो। म कति धूर्त र छली भएकी थिएँ! हाम्रो कर्तव्यमा वान्डासँग सहकार्य गर्दा, मैले अभ्यास गर्नुपर्ने सत्यता अभ्यास गरिनँ, र पूरा गर्नुपर्ने जिम्‍मेवारी पूरा गरिनँ भनेर सोचेँ। अहिले उनलाई बर्खास्त गरिएको थियो, र मैले पछुताउनुपर्‍यो। शैतानका दर्शनहरूअनुसार जिउँदा कसरी अरूलाई र आफूलाई चोट पुग्छ भनेर मैले अनुभव गरेकी छु। तपाईंको जीवन नीच र निन्दनीय बन्छ। मैले उप्रान्त ती दर्शनअनुसार जिउन चाहिनँ। म सत्यता खोज्न र आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न चाहन्थेँ।

पछि, मैले परमेश्‍वरको वचनले यसो भनेको देखेँ, “अझै स्पष्ट रूपमा भन्दा: इमान्दार व्यक्ति बन्‍नु भनेको सरल र खुलस्त व्यक्ति बन्‍नु, आफूलाई ढाकछोप नगर्ने वा नलुकाउने, झूट वा घुमाएर नबोल्‍ने, सीधा बोल्‍ने, न्यायको बोध भएको र इमान्दारीपूर्वक बोल्‍ने व्यक्ति बन्‍नु हो। पूरा गर्नुपर्ने पहिलो कुरा यही हो। … छली मानिसहरूलाई परमेश्‍वरले सबैभन्दा बढी घृणा गर्नुहुन्छ। यदि तँ शैतानको प्रभावलाई त्यागेर मुक्ति पाउन चाहन्छस् भने, तैँले सत्यता स्वीकार गर्नैपर्छ। यसको सुरुवात तैँले इमान्दार व्यक्ति बनेर, साँचो र वास्तविक कुराहरू बोलेर, भावनाको बन्धनमा नपरेर, बहाना र छलबाट आफूलाई मुक्त गरेर, अनि सिद्धान्तहरूअनुसार बोल्‍न र व्यवहार गर्न थालेर गर्नुपर्छ। यसरी जिउनु स्वतन्त्र र खुसी हुनु हो, र यसरी तँ परमेश्‍वरको अघि जिउन सक्छस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता अभ्यास गरेर मात्रै भ्रष्ट स्वभावका बन्धनहरूलाई तोड्न सकिन्छ)। “मेरो राज्यका निम्ति त्यस्ता मानिसहरू चाहिन्छ जो इमानदार छन्, जो पाखण्डी वा छली छैनन्। के इमानदार र निष्कपट मानिसहरू संसारमा अलोकप्रिय छैनन् र? म ठीक विपरीत छु। इमानदार मानिसहरू मकहाँ आउनु स्वीकार्य छ; म यस किसिमको व्यक्तिसँग खुशी हुन्छु, र मलाई यस किसिमको व्यक्ति चाहिन्छ। मेरो धार्मिकता ठीक यही हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ३३)। परमेश्‍वरका वचनहरूले मलाई के बुझ्‍न सहयोग गरे भने परमेश्‍वरले चोखो, सोझो, इमानदार, बोलीवचन र काममा सिधा व्यवहार गर्ने र छलछाम नगर्ने मानिसहरू मन पराउनुहुन्छ। इमानदार मानिसहरू मात्रै परमेश्‍वरको राज्यमा प्रवेश गर्न योग्य हुन्छन्। यो कुरा परमेश्‍वरको धर्मी स्वभावले निर्धारित गरेको हुन्छ। सोच्‍नुहोस् त, अविश्‍वासीहरूको संसारमा कसरी हरेक अन्तरक्रिया देखावटी हुन्छ। अरूको अघि मिठो र चापलुसे शब्‍दहरू मात्रै बोलिन्छ। इमानदारीको एक शब्‍द निस्कँदैन। विवेक र नीतिविरुद्धका दुष्ट कुराहरू सामना गर्दा, धेरैजसोले आफ्नो रक्षा गर्ने निर्णय गर्छन्, र मतभेद खडा नगर्नु नै सबैभन्दा राम्रो हो भन्‍ने सोच्छन्। तिनीहरू इमानदारीको एक शब्‍दसमेत बोल्‍ने आँट गर्दैनन्। तिनीहरू विशेष गरी ढोँगी र विश्‍वासघाती हुन्छन्, र तिनीहरूमा कुनै निष्ठा वा साहस हुँदैन। तर मैले पनि अरूसँग अन्तरक्रिया गर्दा, यी शैतानी दर्शनहरू नै पालना गरिरहेकी थिएँ। समस्या देख्दा, म त्यो खुलासा गर्दिनथेँ वा सहयोग गर्दिनथेँ। म अरूसँगको आफ्नो सम्‍बन्धलाई मात्रै रक्षा गर्थेँ। यसरी जिउनु अत्यन्तै धूर्त र छली कार्य हो। परमेश्‍वरले यसलाई दिगमिगाउनुहुन्छ र घृणा गर्नुहुन्छ। यो बेला, मैले कसरी परमेश्‍वर पवित्र हुनुहुन्छ र उहाँमा भरोसायोग्य सार छ भनेर विचार गरेँ। देहधारी परमेश्‍वरले मानिसहरूसँग वास्तविक तरिकाले अन्तरक्रिया गरिरहनुभएको हुन्छ। उहाँले चारैतिर सधैँ मानिसहरूले प्रकट गर्ने भ्रष्ट स्वभाव, र परमेश्‍वरप्रति तिनीहरूका धारणाअनुसार सत्यता व्यक्त गरिरहनुभएको छ, मानिसहरूलाई न्याय र खुलासा गरिरहनुभएको छ। विशेष गरी, परमेश्‍वरको न्याय र प्रकाशका वचनहरूले हाम्रो भ्रष्टताको जड र सारबारे सिधै बताउँछन्। उहाँका वचनहरू कठोर र रुखो भए पनि, ती वचनले हामीलाई आफूलाई चिन्‍न, पश्‍चात्ताप गर्न र परिवर्तन हुन लगाउँछन्। परमेश्‍वरका वचनहरू पक्का र सुस्पष्ट छन्। ती सबै हृदयका वचन हुन्। मानिसहरूप्रति परमेश्‍वरको विशेष गरी इमानदार र भरपर्दो हृदय छ। यदि परमेश्‍वरले यो कुरा हाम्रो लागि स्पष्‍टसित नऔँल्याउनुभएको र नबताउनुभएको भए, र शैतानले मानिसलाई कति गहिरोसित भ्रष्ट तुल्याएको छ भन्ने सत्यता खुलासा नगर्नुभएको भए, हामीलाई आफूबारे कहिल्यै थाहा हुनेथिएन। बरु, आफू असल छौँ भन्‍ने सोच्दै हामी आफ्‍नै कल्‍पनाहरूअनुसार जिइरहेका हुनेथियौँ। हाम्रो भ्रष्ट स्वभाव कहिल्यै परिवर्तन हुनेथिएन, र हामीले कहिल्यै मुक्ति पाउनेथिएनौँ। परमेश्‍वर हामीले उहाँको न्याय र खुलासाका वचनहरूद्वारा आफ्नो भ्रष्टताको सत्यता चिन्न सकेको, र परमेश्‍वरसामु पश्‍चात्ताप गर्न, उहाँका वचनहरूअनुसार जिउन, र इमानदार व्यक्ति बन्‍ने प्रयास गर्न सकेको आशा गर्नुहुन्छ। यो मानिसहरूप्रति परमेश्‍वरको प्रेम हो। मैले यो सबैबारे मनन गरेपछि धेरै प्रोत्साहन पाएँ। म परमेश्‍वरका मापदण्डहरू पूरा गर्न, र शुद्ध, सोझो र इमानदार व्यक्ति बन्‍न इच्छुक छु भनेर सङ्कल्प गरेँ।

एकपटक हाम्रा अगुवा बेलिन्डाले हामीसँग कामबारे छलफल गरिरहेकी थिइन्। उनले सुम्पेको काममा विचलन छ भन्‍ने मलाई थाहा भयो, र म यो कुरा उनलाई औँल्याउन चाहन्थेँ। तर त्यसपछि सोचेँ, “यी सिस्टर अगुवा हुन्। यदि मैले उनको कर्तव्य निर्वाहमा गल्ती वा विचलन औँल्याइदिएँ भने, के उनी लाजमा पर्नेछिन्? यदि मैले उनलाई गाह्रो बनाउने प्रयास गरिरहेकी छु भन्‍ने ठानेर उनले पछि मलाई बदला लिने प्रयास गरिन् भने, के हुन्छ? होस्, मैले केही भन्‍नु हुँदैन। गल्ती सबैले गर्छ।” यति बेला, मलाई मानिसहरूलाई खुसी पार्ने मेरो मानसिकता फेरि प्रकट भइरहेको महसुस भयो। त्यसकारण मैले परमेश्‍वरलाई प्रार्थना गरेर सत्यताका सिद्धान्तहरू अभ्यास गर्न डोऱ्याइ मागेँ। त्यसपछि, मैले परमेश्‍वरको यो वचन पढेँ, “यदि तँसँग ‘राम्रो व्यक्ति’ का उत्प्रेरणा र दृष्टिकोणहरू छन् भने, सबै कुरामा तँ सत्यताको अभ्यास र सिद्धान्त पालना गर्न असमर्थ हुनेछस्, अनि तँ सधैँ असफल हुनेछस् र लड्नेछस्। यदि तँ ब्युँझिदैनस् र सत्यता खोजी गर्दैनस् भने, तँ गैरविश्‍वासी होस्, र तैँले सत्यता र जीवन कहिल्यै पाउनेछैनस्। त्यसो भए तैँले के गर्नुपर्छ त? त्यस्ता कुराहरूको सामना गर्दा, तैँले प्रार्थनामा परमेश्‍वरलाई पुकार्नुपर्छ, मुक्तिको लागि बिन्ती गर्नुपर्छ, र परमेश्‍वरसित मलाई सिद्धान्त पालन गर्न, गर्नुपर्ने कुरा गर्न, सिद्धान्तहरूअनुसार कामकुरा सम्‍हाल्‍न, आफ्नो स्थानमा खडा हुन, परमेश्‍वरको घरका हितहरूको रक्षा गर्न, र परमेश्‍वरको घरको काममा कुनै हानि आउन नदिन थप विश्‍वास र सामर्थ्य दिनुहोस् भनी अनुरोध गर्नुपर्छ। यदि तैँले आफ्‍नो आत्म-चासो, मर्यादा, र ‘राम्रो व्यक्ति’ को दृष्टिकोणलाई त्याग्‍न सकिस् भने, र यदि तैँले आफूले गर्नुपर्ने काम इमानदार, र एकाग्र हृदयले गर्छस् भने, तैँले शैतानलाई जितेको हुनेछस्, अनि सत्यताको यो पक्ष हासिल गरेको हुनेछस्। यदि तँ अरूसँगका तेरा सम्‍बन्धहरू कायम राख्दै र कहिल्यै सत्यता अभ्यास नगरी, सिद्धान्त पालन गर्ने आँट नगरी, सधैँ शैतानको दर्शनअनुसार जिउँछस् भने, के तैँले अरू मामलाहरूमा सत्यता अभ्यास गर्न सक्छस्? तँसँग कुनै विश्‍वास, कुनै शक्ति हुनेछैन। यदि तैँले कहिल्यै सत्यता खोजी गर्न वा सत्यता स्वीकार गर्न सक्दैनस् भने, के परमेश्‍वरमाथिको त्यस्तो विश्‍वासले तँलाई सत्यता हासिल गर्न दिन्छ? (दिँदैन।) अनि यदि तैँले सत्यता हासिल गर्न सक्दैनस् भने, के तैँले मुक्ति पाउन सक्छस्? सक्दैनस्। यदि तँ सधैँ शैतानको दर्शनअनुसार जिउँछस्, र तँमा सत्यताको वास्तविकता छँदै छैन भने, तैँले कहिल्यै मुक्ति पाउन सक्दैनस्। सत्यता प्राप्त गर्नु मुक्ति पाउनका लागि पूरा गर्नैपर्ने अनिवार्य सर्त हो भन्‍ने कुरा तँलाई स्पष्ट हुनुपर्छ। त्यसो भए तैँले कसरी सत्यता प्राप्त गर्न सक्छस्? यदि तैँले सत्यता अभ्यास गर्न सक्छस् भने, यदि तँ सत्यताअनुसार जिउन सक्छस्, र सत्यता तेरो जीवनको आधार बन्छ भने, तैँले सत्यता र जीवन पाउनेछस्, र तँ मुक्ति पाउनेहरूमध्येको एक हुनेछस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। मैले परमेश्‍वरका वचनहरू पढेपछि, यदि म शैतानी दर्शनहरूअनुसार जिएँ र सधैँ मानिसहरूलाई खुसी पार्न खोजेँ भने, तिनीहरूले कहिल्यै सत्यता प्राप्त गर्नेछैनन्, र अन्तिममा कहिल्यै मुक्ति पाउनेछैनन्। त्यति नै बेला, मैले के बुझेँ भने मानिसहरूलाई खुसी पार्ने समस्या हटाउनु छ भने, परमेश्‍वरलाई धेरै प्रार्थना गर्नुपर्छ र उहाँमा भरोसा गर्नुपर्छ, परमेश्‍वरलाई बल माग्‍नुपर्छ, देहलाई इन्कार गर्न सक्‍नुपर्छ, व्यक्तिगत हित त्याग्‍नुपर्छ, र मण्डलीको कामलाई विचार गर्नुपर्छ। प्रायः यसरी अभ्यास गरेर, आफ्‍नो भ्रष्ट स्वभावको अवरोधलाई जित्‍न सकिन्छ। यदि सदाभरि सत्यता अभ्यास गर्न सकिएन र आफ्‍नो कर्तव्यमा समर्पित भइएन भने, अन्त्यमा हामी खुलासा भएर हटाइनेछौँ। यो सोचेपछि, मैले सत्यता अभ्यास गर्ने साहस र जाँगर प्राप्त गरेँ। म विवेक र मानवताविनाको मानिसहरूलाई खुसी पार्न खोज्ने व्यक्ति बनिरहनु हुँदैनथ्यो। त्यसकारण, मैले यो समस्या अगुवालाई बताएँ। उनलाई बताइसकेपछि, मलाई निकै हल्का भयो। पछि, एउटा भेलामा, अगुवाले यो समस्या सामना गरेपछि उनले आत्माचिन्तन गरेर के सिकिन् भन्‍नेबारे सङ्गति दिइन्। यी सिस्टरको अनुभव र उनले बुझेको कुरा सुन्दा म निकै भावुक भएँ, र मैले सत्यता अभ्यास गर्नुको मिठास चाखेँ! यो अनुभवले सत्यता अभ्यासप्रति मेरो विश्‍वासलाई बढायो। पछि मैले यस्तै परिस्थिति सामना गर्दा, अझै पनि मानिसहरूलाई खुसी पार्ने दृष्टिकोण देखाए पनि, मेरो पीडा र संघर्ष पहिलेभन्दा कम भयो। म आफूलाई सचेतरूपमा इन्कार गरेर सत्यता अभ्यास गर्न सक्थे। यसरी सत्यता अभ्यास गर्दा, मलाई हृदयमा निकै हल्का र शान्ति महसुस भयो। यो परिणाम परमेश्‍वरका वचनहरूले गर्दा आएको थियो। परमेश्‍वर धन्यवाद!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

न्याय परमेश्‍वरको प्रेम हो

सिएन, अमेरिका परमेश्‍वरका वचनहरूले भन्छ, “मानिसले अन्त्यमा परमेश्‍वरको लागि कस्तो गवाही दिन्छ? मानिसले परमेश्‍वर धर्मी परमेश्‍वर हुनुहुन्छ,...

परमेश्‍वरबारे आफ्नो गलतबुझाइबाट म बल्‍ल मुक्त भएँ

सन् २०१९ मा म मण्डली अगुवा थिएँ। म आफ्ना जिम्‍मेवारीहरू बेवास्ता गरेर नाम र हैसियतको पछि मात्रै लागिरहेकी थिएँ, सहकर्मीलाई ईर्ष्या गर्थेँ र...

मकुन्डो उतार्दा

टिङहुवा, फ्रान्स गत जून महिनाको कुरा हो, नयाँ अगुवाको रूपमा। सुरुमा त, मलाई फ्रेन्च भाषा आउने भएकोले र नयाँ सदस्यहरूसित कुराकानी गर्न...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्