हैसियतको तृष्णाबारे मनन

25 अप्रिल 2023

सन् २०१९ को कुरा हो, मलाई मण्डली अगुवा छनौट गरियो। त्यो बेला, मैले मुख्यतः भिडियो प्रडक्सनको रेखदेख गरिरहेको थिएँ। मैले केही टोली अगुवाहरूबाट सिकेपछि, क्रमिकरूपमा प्रडक्सनका केही सिद्धान्तहरू राम्ररी सिकेँ र आफ्‍नै दृष्टिकोण विकास गरेँ। छलफलको बेला, मैले उठाएका केही बुँदाहरू सबैले अनुमोदन गर्थे। हामीले बनाएका भिडियोहरू झन्-झन् राम्रा हुँदै गएपछि, अरू मण्डलीका ब्रदर-सिस्टरहरू पनि हामीकहाँ सिक्‍न आए। मलाई ठूलो उपलब्धि प्राप्त गरेको अनुभूति भयो, र सोचेँ: “म मण्डलीको काम सम्‍हाल्‍न सक्ने मात्रै होइन, तर भिडियो प्रडक्सनका समस्याहरू पनि पहिचान गर्न सक्छु। यदि मण्डलीका मानिसहरूलाई कुनै कुरा आइपऱ्यो भने, तिनीहरू प्रायः मेरै सल्‍लाह खोज्छन्। समग्रमा, मलाई लाग्छ म सुयोग्य अगुवा हुँ।”

पछि, मेरा सहकर्मी ब्रदरलाई काम सम्हाल्न नसकेकोले अर्को काममा खटाइयो, अनि सिस्टर लिसा मेरी नयाँ सहकर्मी बनिनन्। मैले हिसाब-किताब गर्न थालेँ: लिसाले मैलेभन्दा धेरै अन्तर्दृष्टिपूर्ण सङ्गति दिन्छिन्, तर मैले भिडियो प्रडक्सनमा काम गरेको उनले भन्दा धेरै भएको छ र ममा उनमा भन्दा धेरै अनुभव छ। उनको सीप मेरो सीपको बराबरीमा आउन सक्दैनथ्यो र उनको बोलीवचन र व्यवहार अलिक शान्त किसिमको थियो। समग्रमा, मसँग अझै लाभदायी पक्ष थियो, र हाम्रो कार्यशैलीलाई मुख्यतः म नै मार्गदर्शन गर्थेँ। तर लिसा मण्डलीको कामसँग क्रमिकरूपमा अझ परिचित हुँदै गएपछि, उनी आफ्‍नो सङ्गतिमा र समस्या समाधान गर्नमा झनै प्रभावकारी बनिन्। ब्रदर-सिस्टरहरू आफ्‍ना सबै प्रश्‍नहरू लिएर उनीकहाँ जान थाले, र मण्डलीमा पहिलेजस्तो मैले मात्र ध्यान पाउन छोडेँ। लिसा आफ्‍नो काममा लगनशील र जिम्‍मेवार भएकी र उनले परमेश्‍वरका वचनहरूबाट मैलेभन्दा व्यावहारिक सङ्गति दिएकी देख्दा, मलाई थाहै नभई खतरामा परेको अनुभूति हुन थाल्यो। विशेष गरी टोली अगुवाहरूले प्रायजसो उनका विचारहरूलाई अनुमोदन गरेका देख्दा, म डाहीसमेत भएँ। यदि अवस्था यस्तै भइरहेको भए, उनले ढिलो-चाँडो मेरो प्रसिद्धि खोस्नेथिइन्, र म झन्-झन् महत्त्वहीन हुनेथिएँ। सोचेँ, यसरी त हुँदैन। मैले उनलाई उछिन्ने उपाय खोज्‍नुपर्थ्यो।

त्यसपछि, हामीले समूह अगुवाहरूसँग कामबारे छलफल गर्दा, म आफ्ना विचारहरू सुरुमा राखिहाल्थेँ। एकपटक, हामीले एउटा भिडियोको समस्याबारे छलफल गरिरहेका बेला, मैले आफ्नो सुझाव राखेँ, तर अरूलाई यो सिद्धान्तको समस्या हो भन्‍ने लागेन त्यसकारण तिनीहरूले मेरो विचारलाई पन्छाई विषय परिवर्तन गरे। मलाई अलिक अपमानित भएको महसुस भयो। मेरो विचार राम्रो थियो, र पनि किन मैले त्यो बताउन पाइनँ? सबैभन्दा महत्त्वपूर्ण क्षणमा नै मैले आफ्‍नो कुरा सुनाउन सकिनँ। मैले बढी बाठो भएर आफू लिसा बराबार छैनँ भन्‍ने देखाएँ। लिसाले आफ्‍नो सङ्गति प्रस्तुत गर्दा, मलाई आफ्‍नो सबै इज्‍जत गुमेको जस्तो लाग्यो, र म झनै डाही भएँ। एकपटक, छलफलपछि, एक जना टोली अगुवा खुसुक्क मलाई भेट्न आए र भने: “आजभोलि तपाईं अलिक हडबडिनुभएको जस्तो देखिन्छ। तपाईं के कुराको छलफल भइरहेको छ भनेर नबुझी हतार-हतार पहिला बोल्ने गर्नुहुन्छ, र यसले हाम्रो सोचाइ प्रक्रियामा बाधा पुर्‍याउँदै आएको छ। त्यसपछि हामीले फेरि सबै कुरा तपाईंलाई व्याख्या गरिदिनुपर्छ, र त्यसले हाम्रो कामको प्रगतिमा ढिलाइ गर्छ। तपाईंले यसमा मनन गर्नुपर्छ।” यो सुन्दा म साह्रै निरुत्साहित भएँ। विगतमा, समूह अगुवाहरूको छलफलमा मेरा धेरैजसो विचार स्विकारिन्थे। तर लिसा आएपछि, अरूमाझ मेरो हैसियत क्रमिकरूपमा घट्दै गएको थियो, मैले भन्‍ने कुरामा कसैले ध्यान दिँदैनथ्यो र मैले त मण्डलीको काममा बाधासमेत दिइरहेको थिएँ। मैले कसरी आफ्‍नो अनुहारसमेत देखाउने? मैले मनन नगरेको मात्र होइन, तर सबै दोष लिसालाई लगाएँ। धेरै दिनसम्‍म, म यस विषयमा ठुस्‍स परिरहेँ र झनै निराश भएँ, र आफ्‍नो काममा झन्-झन् अप्रभावकारी हुँदै गएँ। एकपटक, माथिल्‍ला अगुवाले मलाई मैले रेखदेख गर्दै गरेको एउटा काम लिसालाई दिन लागिएको छ भनेर बताए। म यसमा खुसी भइनँ, तर मैले केही पनि भनिनँ। सोचेँ: “यो काम दिइएपछि त, लिसाले पक्‍कै पनि मण्डलीका धेरैजसो काम रेखदेख गरिरहेकी हुनेछिन् र म सहयोगी हुनेछु। के मैले सम्हाल्न नसकेकोले यो काम अर्कोलाई दिइएको हो भनेर अरूले सोच्‍नेछन्? म मण्डलीका सबै काममा नेतृत्व लिन्थेँ र सबैमा सहभागी हुन्थेँ, तर अहिले लिसाले मेरो सबै प्रसिद्धि खोसेकी छिन्। उनी यहाँ भइञ्जेल, मलाई निरन्तर पाखा लगाइनेछ।” यसबारे जति सोचेँ, मलाई त्यति नै नरमाइलो लाग्यो र म भारी मन लिएर अफिसबाट हिँडेँ। डर्मिटरीमा फर्केपछि, यो नयाँ वास्तविकतालाई स्विकार्न नसकेर म ओछ्यानमा लत्याकलुतुक भएर पल्टिरहेँ। लिसाको योग्यता र कार्य क्षमता मेरोभन्दा राम्रो थिएन। मैले भिडियो कामको रेखदेख गरेको धेरै भएको थियो र ममा अनुभव थियो, तर पनि किन उनले मलाई पछि पारिरहेकी थिइन्? म यसरी दमनमा पर्नु हुँदैनथ्यो। जेहोस् मैले आफ्‍नो प्रतिष्ठा र हैसियतलाई लडेर फर्काउनुपर्थ्यो! त्यहाँदेखि, मैले लिसाले गडबड गरून् भनेर पर्खिरहेँ ताकि मैले लडेर फर्कने मौका पाउन सकूँ। एकपटक, लिसाले समूह अगुवाहरूसँग कामबारे छलफल गर्न जाँदा मलाई सम्पर्क गरिनन्, र मलाई थाहै नभई काम अघि बढाइएछ। मैले यही मौका छोपेर उनको मनमानी कार्यविरुद्ध पेच हान्दै खरो आक्रमण गरेँ, र मनमा गुम्सिएका सबै कुण्ठा पोखाएँ। मैले म त नाम मात्रको टाउके हुँ र समूह अगुवाहरूको काममा मेरो कुनै निर्णय चल्दैन भनी भनेँ। मैले बोलिरहेको बेला, लिसाको अनुहार प्रस्टै रातो भएको थियो। मैले यस मौकामा आफ्नो कुण्ठा पोखाए पनि, मलाई मनमा साह्रै खल्लो र निराश लाग्यो। त्यति बेला नै हाम्रा अगुवाले एउटा प्रोजेक्ट सुरु गरे, र विभिन्‍न कारणले गर्दा, यसमा थोरै मात्रै प्रगति भयो। वास्तवमा, प्रोजेक्टमा सहयोग गर्न मसँग प्रशस्त समय थियो, तर सोचेँ: “यो प्रोजेक्टका मुख्य सुपरभाइजर लिसा हुन्, त्यसकारण यो काम राम्ररी भयो भने पनि, मैले यसको श्रेय पाउनेछैनँ। मैले लिसालाई नै यो काम गर्न दिँदा ठिक हुन्छ। उनी असफल भइन् भने झन् राम्रो हुनेछ—त्यसरी उनले मानिसहरूको आदर गुमाउनेछिन्।” त्यो अवधिमा म प्रतिष्ठा र व्यक्तिगत फाइदाको लागि निरन्तर होड गरिरहेको हुन्थेँ। म मण्डलीको काममा कुनै बोझ लिँदिनथेँ र झारा मात्रै टार्थेँ। मैले कामका समस्याहरू समाधान गर्न पनि सकिनँ, र मेरो काममा झन्-झन् धेरै समस्याहरू उत्पन्न भए। यसको सामना गर्दा, मैले आत्मचिन्तन गरिनँ र झन्-झन् उत्तजेति हुँदै मात्र गएँ। म प्रायजसो अरूका गल्तीहरू कोट्याउँथेँ र तिनीहरूमाथि खनिन्थेँ अनि काममा बाधा पुग्थ्यो। माथिल्‍ला अगुवाले थाहा पाएपछि, मलाई सङ्गति दिइन् र मेरो समस्या खुलासा गरिन्। तर मैले मनमनै विरोध गरेँ: “काममा परिणामहरू प्राप्त गर्न नसक्‍नुको जिम्‍मेवार म मात्र होइन। किन मलाई मात्रै दोष?” त्यो बेला मलाई आफूबारे केही थाहा थिएन, र मैले सबै दोष लिसालाई दिएँ। मैले समूह अगुवाहरूलाई पनि सिद्धान्तअनुसार काम नगरेकोमा दोष लगाएँ। अगुवाले बारम्‍बार सङ्गति दिँदा मैले स्वीकार नगरेपछि क व्यावहारिक काम नगरेपछि, उनले मलाई बर्खास्त गरिन्। बर्खास्त भएपछि, मलाई मनमा खोक्रो महसुस भयो, पिर पर्‍यो र उदास भएँ। त्यसकारण मैले परमेश्‍वरलाई प्रार्थना गरेँ र यस परिस्थितिबाट सिक्‍न मार्गदर्शन मागेँ।

पछि, मैले परमेश्‍वरका वचनहरूको दुइटा खण्ड पढेँ जसबाट मैले आफूलाई केही मात्रामा बुझेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “अनि, ख्रीष्टविरोधीहरूले कुनै पनि समूहमा भनिरहने चिरपरिचित भनाइ के हो? यही हो: ‘मैले प्रतिस्पर्धा गर्नैपर्छ! प्रतिस्पर्धा गर्नैपर्छ! प्रतिस्पर्धा गर्नैपर्छ!’ वास्तवमा, यस्ता मानिसहरूले सबैभन्दा उच्‍च हैसियत प्राप्त गर्न वा धेरै हदसम्म मानिसहरूलाई नियन्त्रण गर्न चाहन्छन् नै भन्‍ने हुँदैन, यति मात्र हो कि भित्री रूपमा, तिनीहरूमा निश्‍चित स्वभाव र निश्‍चित मानसिकता हुन्छ, जसले तिनीहरूलाई त्यसो गर्न लगाउँछ। त्यो मानसिकता के हो? त्यो होः ‘मैले प्रतिस्पर्धा गर्नैपर्छ! प्रतिस्पर्धा गर्नैपर्छ! प्रतिस्पर्धा गर्नैपर्छ!’ किन एउटा ‘प्रतिस्पर्धा’ नभई, तीन वटा ‘प्रतिस्पर्धा’? (प्रतिस्पर्धा तिनीहरूको जीवन बनेको हुन्छ, र तिनीहरू यसैअनुसार जिउँछन्।) यो तिनीहरूको स्वभाव हो। तिनीहरू अत्यन्तै अहङ्कारी र काबुमा राख्‍न नसकिने स्वभावसित जन्‍मेका हुन्छन्। तिनीहरूले आफूलाई कोहीभन्दा कम ठान्दैनन् र तिनीहरू अत्यन्तै घमण्डी हुन्छन्। तिनीहरूको यस्तो अहङ्कारी स्वभावमा कसैले रोक लाउन सक्दैन; तिनीहरू आफैले पनि यसलाई नियन्त्रण गर्न सक्दैनन्। त्यसकारण तिनीहरूको जीवन लडाइँ र प्रतिस्पर्धामै केन्द्रित हुन्छ। तिनीहरूले केको लागि लडाइँ र प्रतिस्पर्धा गर्छन्? प्राकृतिक हिसाबमै, तिनीहरूले प्रतिष्ठा, हैसियत, आदर, र आफ्‍नै हितहरूका लागि प्रतिस्पर्धा गर्छन्। तिनीहरूले जस्तोसुकै विधिहरू प्रयोग गर्नु परे पनि, सबैजना तिनीहरूको अधीनमा बस्छन् भने, र तिनीहरूले आफ्‍नो लागि फाइदा र हैसियत प्राप्त गर्न सक्छन् भने, तिनीहरूले आफ्‍नो लक्ष्य हासिल गरिसकेका हुन्छन्। प्रतिस्पर्धा गर्ने तिनीहरूको इच्छा क्षणिक आवेग होइन; यो शैतानी प्रकृतिबाट आउने स्वभाव हो। यो त स्वर्गसँग, पृथ्वीसँग, र मानिसहरूसँग लडाइँ गर्ने ठूलो रातो अजिङ्गरको जस्तो स्वभाव हो। अनि, मण्डलीमा ख्रीष्टविरोधीहरूले अरूसँग लडाइँ र प्रतिस्पर्धा गर्दा, तिनीहरूले के चाहन्छन्? निस्सन्देह नै, तिनीहरूले प्रतिष्ठा र हैसियतको लागि प्रतिस्पर्धा गरिरहेका हुन्छन्। तर तिनीहरूले हैसियत प्राप्त गरे पनि, तिनीहरूको लागि यसको के काम हुन्छ? यदि अरूले तिनीहरूको कुरा सुन्छन्, तिनीहरूलाई आदर र उपासना गर्छन् भने यसको फाइदा के हुन्छ? ख्रीष्टविरोधीहरू स्वयम्‌ले पनि यो कुरा व्याख्या गर्न सक्दैनन्। वास्तवमा, तिनीहरूलाई प्रतिष्ठा र हैसियतमा रमाउन, अनि सबैजना तिनीहरूसामु मुस्कुराएको र सबैले तिनीहरूलाई चापलुसी र ज्यूज्यू गर्दै अभिवादन गरेको हेर्न मन पर्छ। त्यसकारण, जबजब ख्रीष्टविरोधी मण्डलीमा जान्छ, तबतब उसले एउटा काम गर्छ, र त्यो हो अरूसँग लडाइँ र प्रतिस्पर्धा गर्नु। शक्ति र हैसियत जिते पनि, तिनीहरूलाई चित्त बुझ्दैन। तिनीहरूले आफ्‍नो हैसियत र शक्ति जोगाउन, अरूसँग निरन्तर लडाइँ र प्रतिस्पर्धा गरिरहन्छन्। तिनीहरू जबसम्‍म जीवित रहन्छन्, तबसम्‍म यसै गरिरहन्छन्। त्यसकारण, ख्रीष्टविरोधीहरूको दर्शन यस्तो हुन्छ, ‘जबसम्‍म जिउँदो रहिन्छ, तबसम्‍म लडाइँ गर्न छोड्नु हुँदैन।’ यदि यस्तो दुष्ट मानिस मण्डलीमा छ भने, के यसले विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूलाई बाधा पुग्नेछ? उदाहरणको लागि, यदि सबैले शान्तिसित परमेश्‍वरका वचनहरू खाने-पिउने र सत्यता सङ्गति गर्ने गरिरहेका छन् भने, वातावरण शान्त र माहौल सुखद हुन्छ। यस्तो बेला, ख्रीष्टविरोधीहरू क्रोधित हुन्छन्। तिनीहरू सत्यता सङ्गति गर्नेहरूलाई डाहा र घृणा गर्छन्। तिनीहरू त्यस्ता मानिसहरूलाई आक्रमण र आलोचना गर्न थाल्‍छन्। के यसले शान्तिपूर्ण वातावरण खलबल्याउँदैन र? तिनीहरू अरूलाई बाधा र व्यवधान गर्न आउने दुष्ट मानिसहरू हुन्। ख्रीष्टविरोधीहरू भनेकै यस्तै हुन्छन्। कहिलेकहीँ, ख्रीष्टविरोधीहरूले आफूले प्रतिस्पर्धा गर्दै दमन गरेका मानिसहरूलाई नष्ट गर्न वा जित्‍न खोजिरहेका हुँदैनन्; तिनीहरूले प्रतिष्ठा, हैसियत, स्वाभिमान, र आदर प्राप्त गरे भने, र मानिसहरूलाई आफ्नो आदर गराउन सके भने, तिनीहरूले आफ्‍नो उद्देश्य हासिल गरिसकेका हुन्छन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन))। “तैँले जति धेरै संघर्ष गर्छस्, तँलाई त्यति नै धेरै अँध्यारोले घेर्नेछ, र तैँले त्यति नै धेरै ईर्ष्या र घृणा महसुस गर्नेछस्, अनि तेरो पाउने चाहना झन्-झन् प्रबल बन्दै जानेछ। तेरो पाउने चाहना जति प्रबल हुन्छ, तँ त्यसो गर्न त्यति नै कम सक्षम हुनेछस्, अनि तैँले प्राप्त गर्न नसकेपछि तेरो घृणा बढ्नेछ। तेरो घृणा बढेपछि तँ भित्री रूपमा झन् अँध्यारो हुनेछस्। तँ भित्री रूपमा जति धेरै अँध्यारो हुन्छस् तैँले त्यति नै कमजोर रूपले कर्तव्य निर्वाह गर्नेछस्; तैँले जति कमजोर रूपले कर्तव्य निर्वाह गर्छस्, परमेश्‍वरको घरको निम्ति तँ त्यति नै कम उपयोगी हुनेछस्। यो एक अन्तर्सम्‍बन्धित, दुष्चक्र हो। यदि तैँले कहिल्यै पनि आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्न सक्दैनस् भने, तँलाई बिस्तारै निकालिनेछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो भ्रष्ट स्वभावलाई त्यागेर मात्रै स्वतन्त्रता र स्वाधीनता प्राप्त गर्न सकिन्छ)। परमेश्‍वरका वचनहरूबारे सोचविचार गर्दा, मैले प्रतिष्ठा र प्राप्तिको लागि होड गर्नु त परमेश्‍वरले खुलासा गर्नुभएको ख्रीष्टविरोधी स्वभावजस्तै रहेछ भन्‍ने थाहा पाएँ। लिसाले मैलेभन्दा राम्रा परिणामहरू प्राप्त गरिरहेको र ब्रदर-सिस्टरहरूको आदर कमाएको देख्‍न थालेदेखि नै, उनी मभन्दा उत्तम छैनन्, र उनले मलाई उछिन्न सक्दिनन् भनेर प्रमाणित गर्ने मौन इच्‍छा ममा पैदा भयो। म पासा पल्टाएर उनलाई कसरी जित्‍ने भन्‍नेबारे मात्रै सोचिरहेको हुन्थेँ। कामबारे छलफल गर्दा, म आफूलाई पृथक देखाउन र लिसालाई ओझेलमा पार्न नै आफ्‍ना दृष्टिकोणहरू व्यक्त गरिहाल्थेँ, यसले हाम्रो काममा असर गर्छ कि गर्दैन भनेर अलिकति पनि सोच्दिनथेँ। अनि माथिल्‍ला अगुवाले मेरो केही काम लिसालाई दिँदा, मलाई झनै डाहा लाग्यो, उनले मेरो प्रसिद्धि खोसेकी छिन् भन्‍ने मैले सोचेँ। त्यसपछि, मेरा दुर्भावनापूर्ण नियतहरू प्रकट हुन थाले—म लिसालाई जतिसुकै हानि गरेर भए पनि आफ्ना उद्देश्यहरू पूरा गर्न लिसाका विचलन र भूलचूकहरू पक्रेर आफ्नो मनको कुण्ठा पोख्ने मौका खोज्न थालेँ। कुनै निश्‍चित प्रोजेक्ट अघि नबढ्दा, समस्याहरू कहाँ छन् भन्‍ने स्पष्ट थाहा भएर पनि र सहयोग गर्ने समय हुँदाहुँदै पनि, मलाई कामको रेखदेख लिसाले गरिरहेकी छिन् भन्‍ने थाहा भएपछि सहयोग गर्ने कष्ट उठाउन मन लागेन। उनले असफल भएर इज्‍जत गुमाऊन् भन्‍ने समेत मैले आशा गरेँ। ममा प्रतिष्ठा र हैसियतको प्रबल इच्‍छा छ, म निर्दयी बनिरहेको छु, र मैले मण्डलीको कामको रक्षा पटक्‍कै गरिरहेको छैनँ भन्‍ने मलाई थाहा भयो। मैले प्रतिष्ठा र प्राप्तिको लागि होड गरिरहेको, सधैँ अरूलाई उछिन्ने प्रयास गरिरहेको, र आफ्‍नो कर्तव्यलाई फिटिक्कै विचार गरिरहेको थिइनँ। मैले रेखदेख गर्ने गरेको काम लगभग ठप्‍प भएको थियो र म अन्धकारमा खसेको थिएँ। यो “होड” ले मलाई घातक चक्रमा पारेको थियो। यो त परमेश्‍वरले भन्‍नुभएजस्तै हो, “यदि तैँले कहिल्यै पनि आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्न सक्दैनस् भने, तँलाई बिस्तारै निकालिनेछ।” मैले मण्डलीको काम लथालिङ्ग पारेँ र आत्मचिन्तन गर्नेबारे समेत सोचिनँ। यदि मैले त्यसै गरिरहेको भए, के-कस्ता विघटनकारी व्यवहार देखाउन सक्थेँ कसलाई थाहा! सबैभन्दा खराब त मलाई हटाइनेसमेत सम्‍भावना थियो। धन्‍न, मैले लुरुक्क दुष्कर्म गर्नुअघि नै मलाई बर्खास्त गरियो। यो त परमेश्‍वरले मलाई आत्मचिन्तन गर्न र आफूलाई चिन्‍न, अनि प्रतिष्ठा र हैसियतप्रतिको मेरो इच्‍छा हटाउन दिनुभएको मौका थियो। यो परमेश्‍वरको मुक्ति र मलाई सुरक्षा दिने उहाँको तरिका हो भन्‍ने मलाई थाहा भयो। मैले परमेश्‍वरलाई धन्यवाद दिएँ र मेरो स्थिति निकै सुध्रियो। मैले व्यावहारिकरूपमा आफ्‍नो कर्तव्य पूरा गर्ने अनि प्रतिष्ठा र हैसियतको लागि होड गर्न छोड्ने व्यक्तिगत सङ्कल्‍प गरेँ।

त्यसपछि, म आफ्‍नो कर्तव्यमा साधारण व्यक्ति बनेर रहेँ। यहाँसम्म कि साधारण काम दिइँदा र केही उल्‍लेखनीय सानातिना काम गर्नुपर्दा समेत, म समर्पित हुन इच्छुक हुन्थेँ, किनभने परमेश्‍वरले मलाई पश्‍चात्ताप गर्ने यो मौका दिनुभएको हो, मैले आफ्‍नो कर्तव्य व्यावहारिकरूपमा पूरा गर्नुपर्छ भन्‍ने थाहा थियो। चाँडै नै, नयाँ भिडियो प्रोजेक्ट सुरु भयो र अचम्‍मको कुरो, यो बनाउन सबैले मलाई छनौट गरे। मैले यो अवसरको कदर गर्दै लगनशील भई अनुसन्धान गरेँ र सान्दर्भिक सिद्धान्तहरू खोजेँ। केही समयपछि, भिडियो निर्माणअघि बढ्न थाल्यो, र यसको परिणाम देखेर, मलाई आफूप्रति निकै खुसी लाग्यो। नाम र हैसियतप्रति मेरो इच्‍छा फेरि पलायो। मैले सोचेँ: “मलाई अगुवाको रूपमा बर्खास्त गरिएको भए पनि, प्रतिभाशाली व्यक्तिको दिन आउँछ नै। मैले यो मौका छोपेर आफ्‍नो सामर्थ्य देखाउनुपर्छ र आफ्नो प्रतिभा प्रमाणित गर्नुपर्छ।” मनमा तर्क चल्यो: “सायद लिसा सत्यतामा सङ्गति गर्न र समस्याहरू समाधान गर्न मभन्दा सिपालु होलिन्, तर व्यावसायिक सीपको क्षेत्रमा म नै माथि छु। मैले समय लगार राम्ररी भिडियो बनाएँ भने, सबैले मेरो प्रगति देख्‍नेछन् र सायद मलाई फेरि अगुवा छनौट गरिनेछ र म लिसालाई उछिन्नेछु।”

एक दिन, कामको प्रगति सुस्त भइरहेको छ, र भिडियोहरूले सिद्धान्त उल्‍लङ्घन गरेकाले अगुवाले मानिसहरूलाई निराकरण गरेका छन् भन्‍ने मैले सुनेँ। यो सुनेपछि, मैले खुच्चिङ मच्चाएँ। “हेर त, मलाई बर्खास्त गरिएदेखि भिडियो निर्माणमा सुधार आएकै छैन। यो त पहिलेको भन्दा खराब भएको रहेछ। पहिले, म समस्याहरू पत्ता लगाएर आइडिया दिन सक्थेँ, त्यसकारण तिनीहरूले कुनै प्रगति गरेनन् भने राम्रो हो। तिनीहरूले मैले मात्रै काम नगरेकोले होइन, तर लिसाले पनि काम नगरेकीले यस्तो भएको रहेछ भनेर देख्न सक्छन्।” पछि, मैले लिसा हाल खराब स्थितिमा छिन् भन्‍ने सुनेँ—भेलाहरूमा उनले दिने सङ्गति ज्ञानवर्धक थिएन, र अरू समस्याले ग्रस्त र नकारात्मक भएका थिए। मैले मनमनै सोचेँ: “यदि यस्तै भइरह्यो भने, सायद भिडियो बनाउने काममा गम्‍भीर समस्या देखा पर्नेछ र लिसालाई बर्खास्त गरिनेछ। सायद म अगुवा छनौट हुनेछु र यो कामको रेखदेखलाई निरन्तरता दिन सक्छु।” तसर्थ मैले भिडियोमा काम गर्दै लिसाको अवस्थालाई पनि नजिकबाट नियालिरहेँ। लिसाले निराकरण र काटछाँटबाट सिकेर उनको स्थिति सुध्रिएको छ, ब्रदर-सिस्टरहरूले असफलता र बाधाबाट केही सिद्धान्तहरू सिकेर पहिलेभन्दा असल परिणामहरू प्राप्त गरिरहेका छन् भन्‍ने मैले सुन्दा, म अलिक दुःखी र निराश भएँ। विशेष गरी एउटा भेलामा, जब लिसाले यो सबबाट के सिकिन् र अनुभव गरिन् भन्‍नेबारे सङ्गति गरिन्, र सबैको अनुमोदन प्राप्त गरिन्, तब मलाई अझै नरमाइलो लाग्यो। ममा डाहा र घृणित विचारहरू भरिए। मलाई आफू फर्केर आउने कुनै आशा छैन जस्तो लाग्यो। त्यसपछि, म उत्प्रेरित हुन सकिनँ र भिडियो बनाउँदा मेरो मन ठिक ठाउँमा हुँदैनथ्यो। केही दिनपछि, भिडियो पूरा भयो। तर अचम्‍मको कुरो, मेरो अगुवाले यसको समीक्षा गर्दा ठूलो समस्या देखिन्, र यो सच्याउन कसैलाई लगाइन्, त्यसपछि मलाई थप कुनै कर्तव्य दिइनन्। म त पुरै स्तब्ध भएँ। भिडियो बनाउने काम नपाएपछि, आफूलाई प्रदर्शन गर्ने मेरो एउटै माध्यम पनि खोसियो। अरू सबै ब्रदर-सिस्टरहरू आफ्‍नो कर्तव्यमा व्यस्त हुँदा, मसँग केही काम हुँदैनथ्यो, र म त हाँसको बथानमा बकुल्लो भइरहेको थिएँ। साह्रै नरमाइलो लाग्यो—म एकलो, निराश र व्यथित, अनि पीडाले विक्षिप्त थिएँ। मैले परमेश्‍वरलाई रुँदै प्रार्थना गरेँ: “प्यारो परमेश्‍वर, तपाईंको धार्मिकतद्वारा नै ममा यो परिस्थिति आइपरेको छ भन्‍ने मलाई थाहा छ। बर्खास्त भएपछि, मैले साँचो आत्म-चिन्तन गरिनँ र आफूलाई चिनिनँ, बरु फर्केर आई आफूलाई पृथक देखाउने उपायहरू मात्रै खोजेँ। म अहितकारी, अहङ्कारी र तपाईंको घृणाको पात्र बनेको छु। अहिले म कुनै कर्तव्य पूरा गर्न पाउँदिनँ र मण्डलीमा मतलबी भएको छु। हे परमेश्‍वर, म अबदेखि प्रतिष्ठा र प्राप्तिको लागि होड गर्न चाहन्‍नँ। बिन्ती छ, मलाई अन्तर्दृष्टि दिनुहोस् र आफूलाई साँचोरूपले चिन्न सहयोग गर्नुहोस् ताकि मैले आफूलाई घृणा गर्न र त्याग्‍न सकूँ र आफ्नो पुरानो बाटोमा फर्कन छोड्न सकूँ।”

त्यसपछि, मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड भेट्टाएँ: “ख्रीष्ट विरोधीहरूले आफ्नो हैसियत र प्रतिष्ठालाई अरू सबै कुराभन्दा महत्त्वपूर्ण ठान्छन्। यी मानिसहरू कुटिल, चतुर र दुष्ट मात्र हुँदैनन्, अत्यन्तै दुराशयी पनि हुन्छन्। तिनीहरूका हैसियत जोखिममा परेको देख्दा वा तिनीहरूले मानिसहरूको हृदयमा आफ्नो स्थान गुमाइसकेको अवस्थामा, तिनीहरूले यी मानिसहरूको समर्थन र स्नेह गुमाउँदा, मानिसहरूले उनीहरूलाई आदर नगर्दा र उनीहरूलाई उच्‍च नठान्दा, र तिनीहरू बेइज्जतीमा परेको बेला, तिनीहरूले के गर्छन्? तिनीहरू अचानक परिवर्तन हुन्छन्। आफ्नो हैसियत गुमाउनेबित्तिकै, तिनीहरू कुनै पनि कर्तव्य निर्वाह गर्न अनिच्छुक बन्छन्, तिनीहरूले गर्ने सबै कुरा घटिया हुन्छन्, र तिनीहरूलाई कुनै पनि काम गर्ने रुचि हुँदैन। तर यो सबैभन्दा खराब प्रकटीकरण होइन। सबैभन्दा खराब प्रकटीकरण के हो? यी मानिसहरूले आफ्नो हैसियत गुमाउनेबित्तिकै र कसैले पनि तिनीहरूलाई उच्‍च नठानेपछि, र तिनीहरूद्वारा कोही नफुस्लिएपछि, तिनीहरूबाट घृणा, ईर्ष्या र बदला बाहिर निस्कन्छ। तिनीहरूमा परमेश्‍वरको डर नहुने मात्र नभई रत्तीभर आज्ञाकारिता पनि हुँदैन। यसअलावा, तिनीहरूले आफ्नो हृदयभित्र परमेश्‍वरको घर, मण्डली, अनि अगुवा र सेवकहरूलाई घृणा गर्ने सम्‍भावना हुन्छ; तिनीहरू मण्डलीको काममा समस्याहरू आऊन् वा ठप्प होस् भन्ने चाहन्छन्; तिनीहरू मण्डलीलाई हेरेर र दाजुभाइ-दिदीबहिनीहरूलाई हेरेर हाँस्न चाहन्छन्। तिनीहरूले सत्यताको पछि लाग्ने र परमेश्‍वरको डर मान्‍ने जो-कसैलाई घृणा पनि गर्छन्। तिनीहरूले आफ्नो कर्तव्यमा विश्‍वासयोग्य हुन र मूल्य चुकाउन इच्छुक जो-कोहीलाई आक्रमण गर्छन् र गिल्ला गर्छन्। यो ख्रीष्टविरोधीहरूको स्वभाव हो—अनि, के यो क्रूर छैन र? यिनीहरू स्पष्टतः दुष्ट मानिसहरू हुन्; ख्रीष्टविरोधीहरू सारमा दुष्ट मानिसहरू हुन्। भेलाहरू अनलाइन नै आयोजना गरिए पनि, तिनीहरूले इन्टरनेटको सिग्‍नल राम्रो देखे भने, मनमनै सराप्दै भन्छन्: ‘यो सिग्‍नल घटे हुन्थ्यो! यो सिग्‍नल घटे हुन्थ्यो! कसैले प्रवचनहरू सुन्‍न नसके राम्रो हुन्थ्यो!’ यी मानिसहरू को हुन्? (दियाबलसहरू।) तिनीहरू दियाबलसहरू हुन्! तिनीहरू अवश्य नै परमेश्‍वरको घरका मानिसहरू होइनन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग दुई))। परमेश्‍वरले ख्रीष्टविरोधीको प्रकृति कसरी दुष्ट हुन्छ भनेर खुलासा गर्नुहुन्छ। तिनीहरू आफ्‍नो हैसियत र अरूको समर्थन गुमाउनेबित्तिकै, आफ्‍नो कर्तव्यमा झारा टार्न मात्रै थाल्‍दैनन्, तर घृणास्पद, डाही र प्रतिशोधी पनि बन्छन्, मण्डलीको काममा समस्या देखा परोस् भन्‍ने चाह गर्छन्, ताकि तिनीहरूले परमेश्‍वरको घर र अरूलाई द्वेष राखेर हाँसोमा उडाउन सकून्। मैले आफ्नै व्यवहार परमेश्‍वरले प्रकट गर्नुभएको जस्तै रहेछ भन्‍ने थाहा पाएँ। बर्खास्त भएपछि र आफ्‍नो हैसियत गुमेपछि, म डाही र प्रतिशोधी बनेँ। जब मैले लिसाले रेखदेख गरिरहेकी काममा समस्या देखा पर्‍यो र उनलाई निराकरण गरियो भन्‍ने सुनेँ, तब म भित्रभित्रै रमाएँ, र लिसा बर्खास्त हुने गरी गम्‍भीर समस्या आओस् भन्‍ने मलाई आतुरी भयो, ताकि मैले उनको ठाउँ लिन सकूँ। लिसाको स्थिति सुध्रियो, अरूले केही कुरा सिके, र मण्डलीको काममा सुधार आयो भन्‍ने सुन्दा, म निराश भएँ। मैले त ख्रीष्टविरोधीले जस्तै व्यवहार गरिरहेको थिएँ। ख्रीष्टविरोधीहरू र दियाबलस शैतानले मात्रै परमेश्‍वर र सत्यतालाई घृणा गर्छन्, र मण्डलीको काम ठप्‍प होस्, सबै जनाले नकारात्मक भएर परमेश्‍वरको मुक्ति गुमाऊन्, र अन्त्यमा तिनीहरूसँगै नरकमा जाऊन् भन्‍ने आशा गर्छन्। म परमेश्‍वरका वचनहरूबाट धेरै भरणपोषण पाएको मण्डलीको सदस्य भए पनि, मैले सत्यताको सट्टा प्रतिष्ठा र हैसियत खोजेँ, मण्डलीको काममा बाधा पुऱ्याएँ र पश्‍चात्ताप गर्न सकिनँ। अनि हैसियतप्रतिको मेरो लालच पूरा नभएकोले मण्डलीको काममा समस्या होस् भनेर मैले कामना गरेँ ताकि लिसा मभन्दा राम्रो नदेखिऊन्। यी विषालु र घृणित विचारहरू थिए। परमेश्‍वरको घरका मानिसहरू परमेश्‍वरसँग एउटै हृदयका हुनुपर्छ। धेरै मानिसहरूले सत्यता खोजेको, आफ्‍नो कर्तव्य राम्ररी पूरा गरेको र परमेश्‍वरको इच्‍छा पालना गरेको देख्दा, तिनीहरूलाई खुसी लाग्छ। मण्डलीको काममा बाधा हुँदा, तिनीहरू कामलाई कायम राख्‍न अडान लिन्छन्। तर म भनेँ, मैले भिडियो प्रडक्सनमा समस्या आएको र अरू नकारात्मक बनेको देखेँ, तर तिनीहरूको समस्या समाधान गर्न सहयोग गरिनँ र तिनीहरूलाई द्वेष राखेर हाँसोमा समेत उडाएँ। तिनीहरूको स्थिति सुध्रिएर भिडियो प्रडक्सनले गति लिन थालेपछि, मलाई वास्तवमा नरमाइलो लाग्यो। मेरा सोचाइहरू साँच्‍चै नै विषालु थिए। मैले मण्डलीको कामको रक्षा पटक्‍कै गरिरहेको थिइनँ र म परमेश्‍वरको लायक थिइनँ। मैले आफूलाई अगुवा बनाइनुपर्छ भनेर सोच्‍नु कति निर्लज्ज कुरा थियो?

पछि, मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ, जसले मलाई आफ्‍नो शैतानी स्वभावलाई बुझ्‍न सहयोग गर्‍यो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “कुनै व्यक्तिले आफैलाई सिद्ध, वा प्रतिष्ठित र कुलीन, वा अरूभन्दा फरक नसोचोस्; यो सबै मानिसको अहङ्कारी स्वभाव र अज्ञानताबाट आउँदछ। सधैँ आफैलाई विशिष्ट सोच्नु—अहङ्कारी स्वभावले यस्तो गराउँछ; आफ्‍ना कमी-कमजोरीलाई कहिल्यै स्वीकार गर्न नसक्ने, र कहिल्यै आफ्ना गल्तीहरू र असफलताहरूको सामना गर्न नसक्ने—अहङ्कारी स्वभावले यस्तो गराउँछ; कहिल्यै अरूलाई आफूभन्दा माथि, वा आफूभन्दा राम्रो हुन नदिनु—यो अहङ्कारी स्वभावको कारण हुन्छ; कहिल्यै अरूलाई आफूभन्दा श्रेष्ठ वा बलियो हुन नदिनु—यो अहङ्कारी स्वभावको कारण हुन्छ; कहिल्यै अरूलाई आफूभन्दा अझ राम्रा विचारहरू, सुझावहरू, र दृष्टिकोण राख्‍न नदिनु, र जब तिनीहरूले राख्छन् तब नकारात्मक बन्‍नु, बोल्ने इच्छा नगर्नु, दुःखी र उदास हुनु, र खिन्‍न बन्‍नु—यी सबै अहङ्कारी स्वभावको कारणले हुन्छ। अहङ्कारी स्वभावले तँलाई तेरो प्रतिष्ठाको रक्षा गर्ने, अरूको मार्गनिर्देशन स्वीकार गर्न नसक्ने, तेरा आफ्नै कमी-कमजोरीहरूको सामना गर्न नसक्ने, र तेरा आफ्नै असफलता र गल्तीहरूलाई स्वीकार गर्न नसक्ने बनाउँछ। त्योभन्दा बढी, जब कुनै व्यक्ति तँभन्दा अझ राम्रो हुन्छ, त्यसले तेरो हृदयमा घृणा र ईर्ष्या उत्पन्न गराउन सक्छ, र तैँले बाध्य भएको महसुस गर्न सक्छस्, यहाँसम्‍म कि तँ आफ्नो कर्तव्य गर्ने इच्छा गर्दैनस् र त्यो गर्न लापरवाह बन्छस्। अहङ्कारी स्वभावले तँमा यस्ता व्यवहारहरू र अभ्यासहरू उत्पन्न गर्न सक्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। कुनै व्यक्तिको आचरणलाई मार्गदर्शन गर्ने सिद्धान्तहरू)। मैले परमेश्‍वरका वचनहरूको आधारमा आत्मचिन्तन गरेँ: मैले आफ्‍नो अहङ्कारी स्वभावबारे साँचोरूपमा नबुझेको र मलाई आफ्नो वास्तविक बनोट थाहा नभएकोले गर्दा नै लिसासँग प्रतिस्पर्धा गर्ने प्रयास गरिरहेको रहेछु। यस क्रममा, मैले आफू दक्ष छु र ममा प्रशस्‍त अनुभव छ भन्‍ने विश्‍वास गरेको थिएँ। मलाई यसमा गर्व थियो र म यी क्षेत्रमा लिसाभन्दा सबल छु भन्‍ने लाग्थ्यो। राम्ररी काम गर्न यिनै योग्यताहरू काफी छन् भन्‍ने म ठान्थेँ, त्यसकारण जब लिसाले आफ्‍नो कर्तव्यमा मैलेभन्दा राम्रा परिणामहरू प्राप्त गरिन्, र माथिल्‍ला अगुवाले मेरा केही कर्तव्य उनलाई दिइन्, उनी मभन्दा कसै गरी उत्तम छैनन् भन्‍ने सोच्दै म खिन्न भएँ। म बर्खास्त भएपछि फर्केर आउनसमेत चाहेँ। अहिले सोच्दा, म कामसँग अलिक परिचित र अनुभवी मात्रै थिएँ, अनि भिडियो निर्माणमा केही सुझाव दिन सक्थेँ, तर त्यसको अर्थ म अगुवा हुन लायक थिएँ भन्‍ने होइन। अगुवाको मुख्य काम भनेको अरूलाई परमेश्‍वरको वचन खान-पिउन र सत्यतामा प्रवेश गर्न मार्गदर्शन गर्नु, र मण्डलीको काम सामान्यरूपमा अघि बढिरहेको छ भनेर पक्‍का गर्न मण्डलीमा देखा पर्ने सबै समस्या समाधान गर्नु हो। तर अगुवा भएर, म व्यावहारिक समस्याहरू समाधान गर्दिनथेँ। समूह अगुवाहरू असहमत हुँदा, प्रायजसो विवाद गर्दा र कोही पछि नहट्दा, मलाई समस्या समाधान गरेर सद्भाव पुनर्स्थापित गर्न सत्यतामा सङ्गति गर्न आउँदैनथ्यो। साथै, कतिपय ब्रदर-सिस्टरहरू निष्क्रिय हुँदा र तिनीहरूलाई सहयोग गर्न परमेश्‍वरको वचनमा सङ्गति दिनु आवश्यक पर्दा, ममा अनुभवको कमी भयो, मेरो सङ्गतिमा गहिराइ थिएन, र मैले तिनीहरूका समस्याहरू समाधान गरिनँ। म मण्डलीको कामका सबै पक्षको बराबरी थिइनँ। लिसाको कार्य कौशलतामा केही कमीकमजोरी थिए होलान्, तर उनी मण्डलीमा देखापरेका सबै किसिमका कठिनाइहरू समाधान गर्न सक्थिन्। माथिल्‍ला अगुवाले उनलाई मण्डलीको खातिर केही काम दिएको थियो, तर म अत्यन्तै अहङ्कारी थिएँ र आफ्‍नो क्षमताबारे मैले राम्ररी बुझेको थिइनँ। म त प्रस्टै लिसाको बराबरी थिइनँ, र पनि म उनीभन्दा कम छैनँ भन्‍ने सोच्थेँ, पछि हट्दिनँथेँ र सधैँ प्रतिस्पर्धा गरिरहन्थेँ। म अत्यन्तै अनुचित किसिमले अहङ्कारी थिएँ! त्यसपछि, मैले परमेश्‍वरका वचनहरूको यो खण्ड देखेँ: “परमेश्‍वरले हैसियतको पछि लाग्‍ने मानिसहरूलाई जत्तिको अरू कसैलाई घृणा गर्नुहुन्‍न, किनभने हैसियतको पछि लाग्‍नु शैतानी स्वभाव हो, यो गलत बाटो हो, यो शैतानको भ्रष्टताबाट आउने कुरा हो, यो परमेश्‍वरले निन्दा गर्नुहुने कुरा हो, र परमेश्‍वरले न्याय गर्नुहुने र शुद्ध पार्नुहुने कुरा नै यही हो। परमेश्‍वरले हैसियतको पछि लाग्‍ने मानिसहरूलाई जत्तिको अरू कसैलाई घिनाउनुहुन्‍न, तैपनि तँ जिद्दी भई हैसियतको लागि होड गर्छस्, र सधैँ यसलाई आफ्‍नो बनाउने प्रयास गर्दै सदासर्वदा यसैलाई प्यार र रक्षा गर्छस्। अनि, प्रकृतिको हिसाबमा, के यो सब परमेश्‍वरविरोधी हुँदैन र? हैसियत मानिसहरूको लागि परमेश्‍वरले पूर्वनिर्धारित गर्नुभएको कुरा होइन; परमेश्‍वरले मानिसहरूलाई सत्यता, बाटो, र जीवन दिनुहुन्छ, र अन्तिममा तिनीहरूलाई परमेश्‍वरको स्वीकार्य सृष्टि अर्थात् परमेश्‍वरका साना र महत्त्वहीन सृष्टि बनाउनुहुन्छ—हैसियत र प्रतिष्ठा भएको र हजारौँ मानिसहरूले सम्‍मान गर्ने व्यक्ति बनाउनुहुन्‍न। त्यसकारण, यसलाई जुन दृष्टिकोणले हेरे पनि, हैसियतको पछि लाग्‍नु भनेको गन्तव्यहीन मार्गमा हिँड्नु हो। हैसियतको पछि लाग्‍ने तेरो बहाना जति नै तार्किक भए पनि, यो अझै पनि गलत मार्ग नै हुन्छ, र परमेश्‍वरले यसलाई स्याबासी दिनुहुन्‍न। तैँले जति धेरै प्रयास गरे पनि वा जति ठूलो मूल्य चुकाए पनि, यदि तँ हैसियत पाउने इच्‍छा गर्छस् भने, परमेश्‍वरले तँलाई त्यो दिनुहुनेछैन; यदि परमेश्‍वरले दिनुहुन्‍न भने, त्यो प्राप्त गर्न लडाइँ गर्दा तँ असफल हुनेछस्, र यदि तैँले लडाइँ गरिरहिस् भने एउटै मात्र परिणाम आउनेछ: तेरो खुलासा गरिनेछ र तँलाई हटाइनेछ, र यो गन्तव्यहीन मार्ग हो(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन))। यो पढेपछि, मलाई आफ्नो व्यवहारदेखि डर लाग्यो, विशेष गरी यो भाग पढेपछि जसमा भनिएको छ: “यदि तँ हैसियत पाउने इच्‍छा गर्छस् भने, परमेश्‍वरले तँलाई त्यो दिनुहुनेछैन; यदि परमेश्‍वरले दिनुहुन्‍न भने, त्यो प्राप्त गर्न लडाइँ गर्दा तँ असफल हुनेछस्, र यदि तैँले लडाइँ गरिरहिस् भने एउटै मात्र परिणाम आउनेछ: तेरो खुलासा गरिनेछ र तँलाई हटाइनेछ, र यो गन्तव्यहीन मार्ग हो।” मैले परमेश्‍वरका वचनहरूबाट उहाँको धर्मी स्वभावलाई चिढ्याउन सकिँदैन भन्‍ने थाहा पाएँ। मण्डलीले मलाई यो कर्तव्य पूरा गर्ने अवसर दिएको थियो, ताकि मैले आफ्‍नो कर्तव्यमा सत्यता खोजी गरेर अन्त्यमा म सृष्टि गरिएको सुयोग्य प्राणी बनूँ। तर, यसको सट्टा मैले निरन्तर हैसियतको लागि होड गरेँ। के मैले जानाजानी परमेश्‍वरका मागहरूविरुद्ध काम गरिरहेको थिइनँ र? परमेश्‍वरले यसलाई जत्तिको अरू कुनै कुरालाई घृणा गर्नुहुन्‍न। मैले मण्डलीमा यो कर्तव्य पूरा गरेको धेरै समय भइसकेको भए पनि, मलाई भिडियो बनाउन लगाउँदा, मैले त्यो राम्ररी गर्न सकिनँ। म अगुवा हुँदा हाम्रा भिडियोहरूमा राम्रा परिणामहरू आएका थिए, जुन पवित्र आत्‍माको मार्गदर्शन र हाम्रो समूहको प्रयासको कारण भएको थियो, मेरा योगदानहरूले गर्दा होइन। तर मैले यी उपलब्धिहरूलाई मुकुटजस्तै शिरमा लगाएँ र अरूलाई मेरो महिमा खोस्न दिइनँ, प्रतिष्ठाको लागि निरन्तर होड गरेँ र मण्डलीको कामलाई लथालिङ्ग पारेँ। मैले गरेका सबै कुरा दुष्ट र परमेश्‍वरविरुद्ध थिए, र परमेश्‍वरले यसलाई घिनाउनुभयो। ठिक त्यही बेला, मलाई एक वर्षपहिले मसँग सहकार्य गर्ने एउटी सिस्टरको याद आयो। हैसियत र प्रतिष्ठाप्रति उनको तीव्र इच्छा थियो, र उनी आफ्‍नो अख्‍तियारमा टाँसिएर बस्थिन्। उनको पद खतरामा पार्ने जोकोहीलाई उनी दमन र प्रहार गर्थिन्, अनि उनले आफ्‍नो हैसियत जोगाउन निष्फिक्रीसँग मण्डलीको काम तहसनहस पारिन्। परिणामस्वरूप, उनका सबै दुष्कर्मको निम्ति उनलाई ख्रीष्टविरोधीको रूपमा खुलासा गरेर बहिष्कार गरियो। जहाँसम्‍म मेरो कुरा छ, मैले स्पष्टरूपमा नै व्यावहारिक काम गरिरहेको थिइनँ, र म अझै पनि प्रतिस्पर्धा गर्न चाहन्थेँ, जसले मण्डलीको काममा बाधा र अवरोध ल्यायो। यदि मैले पश्‍चात्ताप नगरी त्यसै गरिरहेको भए, सायद परमेश्‍वरले मलाई हटाउनुहुनेथ्यो। मैले यो महसुस गरेर परमेश्‍वरलाई प्रार्थना गरेँ: “हे परमेश्‍वर, मण्डलीले मलाई अगुवाको रूपमा तालिम लिने मौका दियो, तर मैले आफ्‍नो कर्तव्य पूर गरिनँ र सही मार्गमा हिँडिनँ, बरु नाम र प्राप्तिको लागि होड गरेँ। मेरा सोचाइ र कार्य सबै दुष्ट भएका छन्, र मलाई दण्ड दिइयो भने, यो पूर्णतया उचित हुनेछ। प्यारो परमेश्‍वर, म अबदेखि यस्तो घृणितरूपमा जिउन चाहन्‍नँ। म पश्‍चात्ताप गर्न र नयाँ सुरुवात गर्न चाहन्छु!”

निकै दिनपछि, मेरा अगुवाले मलाई मेसेज पठाएर मलाई एउटा भजनको भिडियोमा भूमिका दिइएको छ र मैले सुरुमा भजन सिक्‍नुपर्छ भनेर भनिन्। मेसेज देख्दा म साह्रै उत्साहित भएँ। मलाई अर्को मौका दिनुभएकोमा मैले परमेश्‍वरलाई हृदयदेखि नै धन्यवाद दिएँ। मैले सिक्‍नुपर्ने भजन “मानवजातिप्रति परमेश्‍वरको दया” भन्‍ने थियो। मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “निनवे सहर सदोमका मानिसहरू जत्तिकै भ्रष्ट, दुष्ट, र हिंसात्मक मानिसहरूले भरिएको भए तापनि, तिनीहरूको पश्‍चात्तापले गर्दा परमेश्‍वरले हृदय परिवर्तन गर्नुभयो र तिनीहरूलाई नष्ट नगर्ने निर्णय गर्नुभयो। परमेश्‍वरका वचन र निर्देशनलाई तिनीहरूले जसरी लिए त्यो सदोमका नागरिकहरूको भन्दा ठीक विपरीत मनोवृत्तिको प्रदर्शन थियो, त्यसो हुनाले र परमेश्‍वरप्रतिको तिनीहरूको निष्कपट समर्पणता अनि आफ्‍ना पापप्रति तिनीहरूको निष्कपट पश्‍चात्तापलगायत सबै कुराप्रति तिनीहरूको साँचो र हृदयबाट निस्केको आचरणले गर्दा परमेश्‍वरले फेरि एक पटक आफ्‍नो हृदयको दया व्यक्त गर्नुभयो र सो तिनीहरूलाई दिनुभयो। परमेश्‍वरले मानवजातिलाई जे दिनुहुन्छ त्यसलाई र मानवजातिको निम्ति उहाँको दयालाई कसैले नक्‍कल गर्नु असम्‍भव छ, र मानवजातिप्रति परमेश्‍वरको कृपा, सहनशीलता, वा निष्कपट भावना कुनै व्यक्तिमा हुनु असम्‍भव छ(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय २)। मैले परमेश्‍वरका वचनहरूबाट मानवजातिलाई मुक्ति दिने उहाँको अभिप्राय देखेँ। निनवेका मानिसहरूको भ्रष्टता र दुष्टताको कारण परमेश्‍वर क्रोधित हुनुभयो र तिनीहरूलाई नास गर्नुहुनेवाला थियो, तर निनवेवासीले परमेश्‍वरसामु साँचो पश्‍चात्ताप गरेपछि, उहाँले आफ्‍नो क्रोध शान्त पार्नुभयो र तिनीहरूलाई नास गर्नुभएन। यसबाट, मलाई परमेश्‍वर मानिसहरूको साँचो पश्‍चात्तापलाई मूल्यवान् ठान्नुहुन्छ भन्‍ने महसुस भयो। मैले मण्डलीको काममा जसरी बाधा दिएको र अपराध गरेको भए पनि, परमेश्‍वरले मलाई हटाउनुभएन। उहाँले मलाई मनन गर्न बाध्य पार्न मेरो बर्खासी, निराकरण र काटछाँटलाई प्रयोग गर्नुभयो। त्यो सबै परमेश्‍वरको मुक्ति थियो। म पछुतो मान्दै र निष्क्रिय भएर बसिरहनु हुँदैनथ्यो। मैले अबउसो थप दुष्ट कार्य गर्न र परमेश्‍वरलाई विरोध गर्नबाट बच्‍न उहाँसामु पश्‍चात्ताप गर्नुपर्थ्यो, अनि सत्यता खोजेर आफ्नो भ्रष्ट स्वभाव हटाउनुपर्थ्यो।

एकपटक, भक्तिको समयमा, मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ जसले मलाई अभ्यासको मार्ग दियो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “प्रतिष्ठा र हैसियत त्याग्‍न सजिलो छैन—यो सत्यता खोजी गर्ने मानिसहरूमा निर्भर हुन्छ। सत्यता बुझेर मात्रै व्यक्तिले आफूलाई चिन्‍न, प्रतिष्ठा र हैसियत पछ्याउनुको खोक्रोपन देख्‍न, र मानवजातिको भ्रष्टताको सत्यता पहिचान गर्न सक्छ। त्यसपछि मात्रै तिनीहरूले साँचो रूपमा प्रतिष्ठा र हैसियत त्याग्‍न सक्छन्। भ्रष्ट स्वभावबाट मुक्त हुन सजिलो छैन। सायद तैँले आफूमा सत्यताको कमी छ, आफ्ना कमीकमजोरी धेरै छन्, र आफूले धेरै भ्रष्टता प्रकट गर्छु भन्‍ने कुरा मान्छस् होला, तर तैँले सत्यता खोजी गर्न कुनै प्रयास गर्दैनस्, र तैँले ढोँगी भएर छद्म भेष धारण गर्छस्, जसले गर्दा मानिसहरूले तैँले जे पनि गर्न सक्छस् भन्‍ने विश्‍वास गर्छन्। तर यो आफैलाई खतरामा पार्नु हो—ढिलोचाँडो यसले तँलाई पछार्नेछ। तैँले तँसँग सत्यता छैन भनेर स्विकार्नुपर्छ, र साहसी भएर वास्तविकता सामना गर्नुपर्छ। तँ कमजोर छस्, तँमा भ्रष्टता छ, र तँमा सबै किसिमका कमीकमजोरी छन्। यो सामान्य कुरा हो—तँ साधारण व्यक्ति होस्, तँ महामानव वा सर्वशक्तिमान् होइनस्, र तैँले यो कुरा पहिचान गर्नुपर्छ। … जब तँलाई हैसियतको लागि निरन्तर प्रतिस्पर्धा गर्ने चाहना हुन्छ, तब त्यसलाई समाधान नगरी त्यतिकै छोडियो भने, यस प्रकारको स्थितिले के-कस्ता खराब कुराहरूतर्फ डोऱ्याउनेछ भनेर तँलाई थाहा हुनुपर्छ। त्यसैले सत्यताको खोजी गर्नको लागि अबेर नगर्, हैसियतको लागि प्रतिस्पर्धा गर्ने तेरो चाहनालाई बढेर छिप्पिनु अगावै हटाइदे, र यसलाई सत्यताको अभ्यासद्वारा विस्थापित गरिदे। जब तैँले सत्यताको अभ्यास गर्छस्, हैसियतको लागि लड्‍ने तेरो चाहना कम हुनेछ, र तैँले परमेश्‍वरको घरको काममा बाधा दिनेछैनस्। यसरी, तेरा कार्यहरूलाई परमेश्‍वरले सम्झनुहुनेछ र प्रशंसा गर्नुहुनेछ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन))। मैले परमेश्‍वरका वचनहरूबाट के देखेँ भने प्रतिष्ठा र हैसियतप्रतिको इच्‍छालाई साँच्चै पन्छाउन सुरुमा आफूलाई चिन्नैपर्छ, आफ्‍ना गल्तीहरू सक्रियरूपमा स्विकार्न र अरूलाई आफ्‍नो साँचो परिस्थिति हेर्न दिन सक्नैपर्छ। प्रतिस्पर्धा गर्ने इच्‍छा फेरि जाग्दा, हामीले सचेत भई परमेश्‍वरलाई प्रार्थना गर्नैपर्छ, आफूलाई त्यागेर अरूसँग सहकार्य गर्नैपर्छ। त्यसपछि मात्रै आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न सकिन्छ। मैले मनन र आफूलाई चिन्न ध्यान दिइनँ। म अत्यन्तै डाही बनेँ र आफ्‍नो स्थितिबारे सक्रियरूपमा बताउँदिनथेँ, र समाधानको लागि सत्यता खोजी गर्दिनथेँ। परिणामस्वरूप, नाम र प्राप्तिको मेरो लडाइले मण्डलीको काममा बाधा पुऱ्यायो। मैले अबदेखि परमेश्‍वरको इच्‍छाअनुसार काम गर्नुपर्थ्यो। त्यसपछि, मैले कर्तव्यमा भएको स्थितिबारे सचेत भई खुलस्त बताएँ, र मसँग सहकार्य गर्नेहरूबाट सक्रियरूपमा सिक्‍ने प्रयास गरेँ। केही समयपछि, मैले सबै ब्रदर-सिस्टरहरूमा यस्ता केही सबल पक्ष रहेछन्, जुन ममा रहेनछन् भन्‍ने देखेँ। मलाई आफ्‍नो अहङ्कार र अज्ञानतादेखि झनै लाज लाग्यो। मैले प्रतिष्ठाको लागि कसरी प्रतिस्पर्धा र होड गरेको थिएँ, मण्डलीको काममा हानि गरेको थिएँ भनेर विचार गरेँ, र मलाई झनै पछुतो भयो। मैले परमेश्‍वरलाई मनमनै प्रार्थना गरेँ: “हे परमेश्‍वर, खुलासा र बर्खास्त हुँदा, मैले केही चेतना पाएँ। विगतमा, म मण्डलीका हितहरूलाई ध्यान नदिई प्रतिष्ठा र प्राप्तिको लागि होड गर्थेँ। मैले मण्डलीको काममा बाधा मात्रै दिइनँ, तर ब्रदर-सिस्टरहरूलाई पनि हानि गरेँ। म मानव भनिन लायक छैनँ! अबदेखि, म तपाईंका वचनहरूअनुसार अभ्यास गर्न, अरूको सबल पक्षबाट सिक्‍न, र आफ्‍नो कर्तव्यमा अरूसँग मिलेर सहकार्य गर्न इच्छुक छु।”

पछि, एउटा नयाँ भिडियो प्रोजेक्टमा केही समस्याहरू आए, र माथिल्‍ला अगुवाले ती समाधान गर्न म र लिसालाई सँगै खटाए। यसपटक, मैले सहकार्य गर्दा लिसासँग प्रतिस्पर्धा गरिनँ। समस्याहरू आइपर्दा मैले उनीसँग सक्रियरूपमा छलफल गरेँ र सुझाव मागेँ, र हामी सहमत भएपछि मात्रै अघि बढेँ। कहिलेकाहीँ, लिसाका विचारहरू मेरोभन्दा स्पष्ट र अन्तर्दृष्टिपूर्ण हुँदा, म थाहै नपाई आफूलाई प्रमाणित गर्न खोज्थेँ। तर मलाई फेरि प्रतिस्पर्धा गरिरहेको छु भन्‍ने तुरुन्तै महसुस हुन्थ्यो र परमेश्‍वरलाई प्रार्थना गरेर आफूलाई त्याग्थेँ, लिसाका सुझावहरू मान्थेँ, र लगनशील भई ती मनन र खोजी गर्थेँ। मलाई लिसाका विचारहरू साँच्‍चै मेरो भन्दा राम्रा रहेछन् भन्‍ने थाहा हुन्थ्यो र म ती मनैदेखि स्वीकार गर्न सक्थेँ। यसरी अभ्यास गर्दा मलाई साह्रै शान्ति र ढुक्क महसुस भयो। परमेश्‍वरका वचनहरूले मलाई कसरी राम्रोसँग सहकार्य गर्ने र मानव रूपमा जिउने भनेर सिकाए।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

धाक रवाफ अब हुनेछैन

मो वेन, स्पेनसन् २०१८ को कुरा म सम्झन्छु मण्डलीमा म सुसमाचारको जिम्मेवारीमा थिएँ, र पछि मलाई त्यो कामको प्रमुख बनाइयो। म मेरा...

मेरो गलत बुझाइ र स्व-आरक्षितपनद्वारा क्षति पुर्‍याइएको

सुक्षिङ, चीनकेही समय अघि, हाम्रो मण्डलीको अगुवाले आफ्नो पद गुमाइन् किनकि उनले सत्यलाई खोजी गरिरहेकी वा व्यावहारिक काम गरिरहेकी थिइनन् र अरू...

सुसमाचार प्रचारको मार्ग

मलाई याद छ, जब मैले पहिलो पटक सुसमाचार सुनाउन सिकिरहेको थिएँ, मैले ग्रेट प्रेज चर्चको सदस्य, हुइबेइका ब्रदर क्षुलाई भेटेँ। केही समयपछि नै,...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्