रेखदेखप्रतिको प्रतिरोधबारे मनन

17 डिसेम्बर 2024

२०२१ मा, म मण्डलीमा मलजल कामको इन्‍चार्ज थिएँ। त्यो अवधिमा, अगुवाले हाम्रो कामको रेखदेख र जानकारी राख्‍न प्रायजसो हाम्रो कामको प्रगतिबारे बारम्बार सोध्थे। अगुवाले मलाई काममा कुनै समस्याहरू छन् कि भनेर पनि सोध्‍ने गर्थे। सुरुमा त, म सक्रियरूपमा जवाफ दिन्थेँ, तर केही समयपछि, मैले धैर्य गुमाएँ। मैले सोचेँ: “हाम्रो प्रगतिबारे अगुवालाई जानकारी दिइरहनु कति झिजोलाग्दो छ र यसले धेरै समय बरबाद गर्दै छ। के मेरो कार्यप्रस्तुतिमा असर पर्नेछैन र? यदि मेरो कार्यप्रस्तुति खराब भयो भने, के अगुवाले मलाई बर्खास्त गर्नेछैनन् र?” यो महसुस गरेपछि, अगुवाले हाम्रो काम रेखदेख गर्दा म निकै प्रतिरोधी भएँ।

एकपटक, अगुवाले मलाई काम कस्तो भइरहेको छ भनेर सोध्दै पत्र पठाए। तिनले त्यस महिना कति जनाले सुसमाचार ग्रहण गरेका छन्, कति जना सदस्य भेलामा नियमित सहभागी भइरहेका छैनन् र किन, तिनीहरूमा कस्ता धार्मिक धारणाहरू छन्, र हामीले ती सङ्गतिद्वारा कसरी समाधान गर्‍यौँ भनेर सोधेका थिए। यी सबै प्रश्‍नहरू देख्दा, मलाई अलिक अप्ठ्यारो लाग्यो। भ्याउनुपर्ने विषयवस्तु निकै धेरै थिए र मैले यो सब मलजलकर्ताहरूसँग छलफल गरेर समाधान निकाल्नुपर्थ्यो। यसले हाम्रो काममा धेरै ढिलाइ गर्नेथ्यो, र मलाई प्रतिरोध गर्न मन लाग्यो: “तपाईं यति धेरै कुरा सोध्दै हुनुहुन्छ—यसले हामीलाई कति ढिलो पार्नेछ? यदि हामीले हाम्रो मलजल काममा परिणामहरू प्राप्त गरेनौँ भने, के तपाईं मैले व्यावहारिक काम गरिरहेको छैनँ र म दक्ष छैनँ भन्‍नुहुन्छ?” मैले मेरा सहकर्मी सिस्टरहरूले पनि आशङ्का गरिरहेका देखेपछि, मनमनै सोचेँ: “यदि तिनीहरूले पनि यसले ढिलाइ गराउनेछ भन्‍ने सोच्छन् भने, सायद हामीले सँगै सुझाव राख्नु पर्ला, त्यसपछि अगुवाले कामको जानकारी लिँदा यस्ता धेरै प्रश्‍न सोध्‍नेछैनन्। त्यसपछि हाम्रो कामका कमीकमजोरीहरू त्यति धेरै खुलासा गरिनेछैन।” त्यसकारण, मैले ठटेउली पारामा भनेँ: “अगुवाले हामीलाई निकै चिन्ता गरेर नै यति धेरै प्रश्‍न सोध्‍नुभएको होला।” मैले त्यसो भन्‍नेबित्तिकै, एक सिस्टरले सही थाप्दै भनिन्: “यो त केरकार गरेको जस्तै हो!” ती सिस्टर मसँग सहमत भएको देखेर मैले हाँस्दै भनेँ: “त्यतिकै त हामी व्यस्त छौँ। यत्तिका धेरै प्रश्‍नको उत्तर दिनु त साह्रै दिक्कलाग्दो हुन्छ। के यसले हाम्रो मलजल कामका परिणामहरूमा असर गर्नेछैन र?” अरू सिस्टरले पनि शिर हल्‍लाउँदै सहमति जनाए। म मनमनै खुसी भएँ: “यसको विरोधमा म मात्रै त रहेनछु। हामी अगुवालाई सँगै हाम्रा सुझावहरू पेश गर्न सक्छौँ, त्यसपछि तिनले हाम्रो कामको सधैँ जानकारी मागिरहनेछैनन्।” मैले उक्साएपछि, अगुवा हाम्रो कामको जानकारी लिन आउँदा, मेरा सहकर्मीहरूले अनुहार बिगार्थे, र जवाफ दिँदा पनि, एक-दुईवटा झारा टार्ने कुरा बताउँथे। तिनीहरूले हाम्रो कामका कठिनाइ र समस्याहरूबारे विस्तृत रिपोर्ट दिँदैनथे, जसले गर्दा, अगुवाले हाम्रोमा भएका समस्याहरू बुझ्‍न सक्दैनथे र मलजल काममा सुधार आउन सकेन।

अर्कोपटक, हामीले मलजलकर्ताहरूलाई विकास गराउनमा ध्यान दिइरहेका छैनौँ भन्‍ने अगुवाले देखे, त्यसैले कामको यो पक्षको महत्त्वबारे सङ्गति दिँदै हामीलाई पत्र पठाए र हामीलाई अभ्यासका केही मार्ग प्रदान गरे। हामीले यो प्रोजेक्टको लागि जिम्‍मेवारी लिइरहेका छैनौँ, लसकमसक गरिरहेका छौँ र प्रभावकारी भएको छैनौँ भनेर पनि तिनले औँल्याए। परिणामस्वरूप, नयाँ विश्‍वासीहरूले तालिम पाइरहेका थिएनन् र यसले सिधै मलजल काममा असर पारिरहेको थियो। तिनले हामीलाई यसमा ध्यान दिन थाल्‍न अनुरोध गरे, र केही नयाँ विश्‍वासीलाई तुरुन्तै मलजलकर्ताको रूपमा तालिम दिनू भनेर पनि भने। पत्र देख्दा मलाई अलिक प्रतिरोध गर्न मन लाग्यो: “यसमा त अति धेरै माग गरिएको छ। यी नयाँ विश्‍वासीहरूले भर्खरै आफ्‍नो कर्तव्य थालेका हुन्—तिनीहरूलाई प्रगति गराउनु सजिलो छैन! मानिसहरूलाई प्रगति गराउनमा तपाईंसँग धेरै अनुभव छन्, तपाईंले हामीलाई तपाईंकै मापदण्ड लागू गर्नु हुँदैन।” तर त्यसपछि सोचेँ, “यदि मैले सिधै गुनासो गरेँ भने, के तिनले मलाई दक्ष सेवक होइन भनेर सोच्‍नेछन्? त्यसो गर्नु हुँदैन! मैले तिनलाई हाम्रो सम्पूर्ण समूह नै यी मागहरू पूरा गर्न असमर्थ छ भनेर देखाउनुपर्छ, त्यसरी तिनीसँग भनेको मान्‍नेबाहेक अर्को उपाय हुँदैन र म एकलै जिम्‍मेवार ठहरिनेछैनँ।” त्यसकारण मैले अनुहार खुम्च्याउँदै चिन्तित सोरमा भनेँ: “अगुवाका मागहरू अलिक धेरै भयो। हामीमा उहाँको जस्तो धेरै अनुभव छैन।” अरू सिस्टरहरूले पनि तुरुन्तै शिर हल्‍लाउँदै सहमति जनाए। तिनीहरूमध्ये एउटीले यसो भनिन्: “अगुवाको क्षमता राम्रो छ र उहाँ आफ्‍नो काममा निकै प्रभावकारी हुनुहुन्छ, हामी कसरी उहाँको तुलनामा आउन सकौँला र?” अर्कीले भनिन्: “अगुवाले हामीबाट अति धेरै माग गरिरहनुभएको छ। हामीले यो काम कसरी पूरा गर्ने?” सबैको विचार उस्तै देखेर मलाई निकै खुसी लाग्यो। अगुवासँग भनेको मान्‍नेबाहेक अर्को उपाय हुनेथिएन। आखिर, तिनले सम्पूर्ण समूहलाई बर्खास्त गर्न सक्दैनथे! भोलिपल्ट, मैले अगुवाको पत्रको जवाफ दिएँ र तिनलाई हाम्रो वर्तमान परिस्थितिबारे बुझाउन खोज्दै हाम्रो कामका समस्याहरू बताएँ। अन्तिममा, मैले यसो भन्दै एक हरफ थपेँ: “अहिलेको लागि हामीले गर्न सक्‍ने अधिकतम काम यही हो। यसलाईअझ बढाउन निकै गाह्रो हुनेछ,” र मैले पत्रमा “हाम्रो” भन्‍ने शब्‍दलाई जोड दिन पक्का गरेँ ताकि अगुवाले यो हाम्रो समग्र विचार हो भन्‍ने जानून्। यसरी अगुवाले हामीलाई त्यस्तो उच्च मापदण्ड लागू गर्नेथिएनन्। तर अचम्‍मको कुरो, अर्को भेलामा अगुवाले मलाई निराकरण र खुलासा गर्दै मैले आफ्‍नो कर्तव्यमा बोझ लिँदिनँ, सुधार गर्न म उत्प्रेरित हुँदिनँ, ब्रदर-सिस्टरहरूबीच नकरात्मक विचार फैलाउँछु, गुटबन्दी गरेर अरूलाई मसँगै अगुवाको प्रतिरोध गर्न उक्साउँछु भनेर भने। मैले नयाँ विश्‍वासीहरूलाई प्रगति गराउनमा लसकमसक गरेर मण्डलीको काममा बाधा दिइरहेकी छु र समूहको काममा कुनै भूमिका निभाइरहेकी छैनँ भनेर पनि तिनले भने। त्यसपछि अन्ततः मलाई बर्खास्त गरियो।

बर्खास्त भएपछि, मलाई अलिक ग्‍लानि र खिन्न महसुस भयो। मैले समस्या पैदा गरेकी, दुष्कर्म गरेकी र परमेश्‍वरलाई चिढ्याएकी छु भन्‍ने मलाई थाहा थियो। समस्याहरू पैदा हुँदा मैले सत्यता खोजेकी थिइनँ र धारणाहरूसमेत फैलाएकी थिएँ जसले सबैलाई नकारात्मक र निष्क्रिय भएर जिउने तुल्याए। मैले साँच्‍चै नै मण्डलीको काममा बाधा पुऱ्याएकी थिएँ। पछि, मनन गर्ने क्रममा मैले परमेश्‍वरका वचनहरूको यो खण्ड भेट्टाएँ: “ख्रीष्टविरोधीहरूले आफ्‍नो हृदयमा सधैँ ख्रीष्टको ईश्‍वरीय सारबारे शङ्का गर्ने र तिनीहरूमा सधैँ अवज्ञाकारी स्वभाव हुने भएकोले, जब ख्रीष्टले तिनीहरूलाई कुनै काम सुम्पनुहुन्छ, तब तिनीहरूले तिनको बारेमा सधैँ छानबिन र छलफल गर्छन्, र ती सही छन् कि गलत भनेर निर्धारण गर्न मानिसहरूलाई आग्रह गर्छन्। यो गम्‍भीर समस्या हो, होइन र? (हो।) तिनीहरूले ती कुराहरूलाई सत्यता पालनाको दृष्टिकोणबाट लिइरहेका हुँदैनन्, बरु परमेश्‍वरको विरोधको दृष्टिकोणबाट लिइरहेका हुन्छन्। यो ख्रीष्टविरोधीहरूको स्वभाव हो। जब तिनीहरूले ख्रीष्‍टका आदेश र कार्य बन्दोबस्तहरूबारे सुन्छन्, तब तिनीहरूले तिनलाई स्वीकार र पालना गर्दैनन्, बरु छलफल गर्न थाल्छन्। अनि तिनीहरूले केबारेमा छलफल गर्छन्? तिनीहरूले ख्रीष्टका वचन र आदेशहरू सही छन् कि गलत भनेर छलफल गर्छन्, र तिनलाई पालना गर्ने कि नगर्ने भनेर जाँच गर्छन्। के तिनीहरूको मनोवृत्ति यी कुराहरू लागू गर्न चाहने किसिमको हुन्छ? हुँदैन—तिनीहरू अझै धेरै मानिसहरूलाई आफूजस्तै बनाउन र ती कुरा नगर्न उक्साउन चाहन्छन्। अनि के ती काम नगर्नु आज्ञापालनको सत्यता अभ्यास गर्नु हो? अवश्य होइन। त्यसो भए। तिनीहरूले के गरिरहेका हुन्छन्? (विद्रोह।) तिनीहरूले परमेश्‍वरविरुद्ध आफै विद्रोह गरिरहेका मात्रै हुँदैनन्, सामूहिक विद्रोहसमेत गर्ने योजना बनाइरहेका हुन्छन्। यो तिनीहरूको व्यवहारको प्रकृति हो, होइन र? सामूहिक विद्रोह: सबैलाई आफूजस्तै बनाउनु, सबैलाई आफूले जस्तै सोच्‍ने, आफूले जस्तै बोल्‍ने, आफूले जस्तै निर्णय गर्ने बनाउनु, मिलेर ख्रीष्टको निर्णय र आदेशहरूको विरोध गर्नु। यो ख्रीष्टविरोधीहरूको कार्यप्रणाली हो। ख्रीष्टविरोधीहरूले ‘सबैले गर्छन् भने यो अपराध होइन’ भन्‍नेमा विश्‍वास गर्छन्, त्यसकारण तिनीहरूले अरूलाई परमेश्‍वरविरुद्ध विद्रोह गर्न उक्साउँछन्, र यस्तो अवस्थामा परमेश्‍वरको घरले तिनीहरूलाई केही पनि गर्न सक्दैन भन्‍ने सोच्छन्। के यो मूर्खता होइन र? ख्रीष्टविरोधीहरूको परमेश्‍वरविरुद्ध लड्ने क्षमता अत्यन्तै सीमित हुन्छ, तिनीहरू पूरै एक्लै हुन्छन्। त्यसैले, तिनीहरूले सामूहिक रूपमा परमेश्‍वरको विरोध गर्न मानिसहरू भर्ती गर्ने प्रयास गर्छन्, किनभने तिनीहरूले हृदयमा यस्तो सोच्छन्, ‘म एउटा समूहका मानिसहरूलाई बहकाउनेछु, र मैले जस्तै सोच्‍ने र व्यवहार गर्ने बनाउनेछु। हामीले मिलेर ख्रीष्‍टका वचनहरूलाई इन्कार गर्नेछौँ, र परमेश्‍वरका वचनहरूमा बाधा दिएर, तिनलाई लागू हुनबाट रोक्‍नेछौँ। अनि यदि कोही मेरो काम जाँच्‍न आयो भने, म सबैले यस्तो निर्णय गरेका हुन् भनेर भन्‍नेछु—त्यसपछि तपाईंले के गर्नुहुँदो रहेछ हेर्नेछौँ। म तपाईंको लागि यो काम गर्नेछैनँ, म यसलाई लागू गर्नेछैनँ—हेरौँ, तपाईंले मलाई के गर्नुहुन्छ!’ … के ख्रीष्टविरोधीहरूमा प्रकट हुने यी कुराहरू घृणास्पद छैनन् र? (ती अत्यन्तै घृणास्पद छन्।) अनि केले ती घृणास्पद भएका हुन्? यी ख्रीष्टविरोधीहरूले परमेश्‍वरको घरमा शक्ति हत्याउन चाहन्छन्, तिनीहरू रहेको ठाउँमा ख्रीष्‍टका वचनहरू लागू हुँदैनन्, तिनीहरूले तिनलाई लागू गर्दैनन्। मानिसहरूले ख्रीष्टका वचनहरू पालना गर्न नसक्दा, अवश्य नै अर्को परिस्थिति पनि संलग्‍न भएको हुन सक्छ: कतिपय मानिसहरूमा कमजोर क्षमता हुन्छ, तिनीहरूले परमेश्‍वरका वचनहरू सुन्दा तिनलाई बुझ्‍न सक्दैनन्, र तिनलाई कसरी लागू गर्ने सो तिनीहरूलाई थाहा हुँदैन; तैँले सिकाइस् भने पनि तिनीहरूले ती लागू गर्न सक्दैनन्। यो फरक मामला हो। अहिले हामीले सङ्गति गरिरहेको विषय ख्रीष्टविरोधीहरूको सार हो, र यो मानिसहरू काम गर्न सक्षम छन् कि छैनन्, वा तिनीहरूको क्षमता कस्तो छ भन्‍ने कुरासँग सम्‍बन्धित छैन; यो ख्रीष्टविरोधीहरूको स्वभाव र सारसँग सम्‍बन्धित छ। तिनीहरू ख्रीष्‍ट, परमेश्‍वरको घरका कार्य बन्दोबस्तहरू, र सत्यताका सिद्धान्तहरूको पूरै विरुद्धमा हुन्छन्। तिनीहरूमा कुनै आज्ञाकारिता हुँदैन, विरोध मात्रै हुन्छ। ख्रीष्टविरोधी यस्तै हुन्छ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु दस (भाग चार))। परमेश्‍वरका वचनहरू पढेपछि, मलाई मैले जे गरेँ त्यो अति गम्‍भीर अपराध रहेछ भन्‍ने महसुस भयो। ख्रीष्टविरोधीसँग कसरी विद्रोही स्वभाव हुन्छ, परमेश्‍वरका अनुरोधहरू र परमेश्‍वरको घरको कामका बन्दोबस्तहरूलाई अलिकति पनि स्विकार्दैनन् वा ती पालन गर्ने इच्‍छा गर्दैनन्, प्रतिरोध र विरोधले भरिएका हुन्छन् र अरूलाई छल गरेर आफूसँगै विरोधीसमेत बनाउँछन् भनेर परमेश्‍वरले गर्नुभएको खुलासाले मलाई विशेष रूपमा प्रभावित गरेको थियो। पहिले भएको घटनाबारे सोच्दा, मैले पनि त्यस्तै व्यवहार देखाएकी थिएँ। अगुवाले हाम्रो कामको प्रगति विस्तृतरूपमा जाँच्न चाहँदा, म रिसाएँ र यसले मेरो कर्तव्यमा ढिलाइ गर्नेछ र मेरो कामको परिणाममा असर पार्नेछ भनेर चिन्तित भएँ, त्यसकारण मैले यो स्विकार्नै नसकेर अगुवाबारे पूर्वाग्रही विचारहरू फैलाएँ, र तिनीविरुद्ध खडा भएर विद्रोह गर्न अरू सिस्टरहरूलाई एकत्र गरेँ। अगुवाले हाम्रो कामको प्रगति अत्यन्तै सुस्त छ र हामीले परिणामहरू प्राप्त गरिरहेका छैनौँ भनेर औँल्याउँदा, र हाम्रो कामको प्रभावकारितालाई कसरी सुधार्ने भनेर बताउँदा, म प्रतिरोधी भएँ, मैले तर्क गरेँ र भनेको मानिनँ। अगुवाले हामीलाई अति उच्‍च मापदण्ड राखिरहेका छन् र हाम्रा वास्तविक समस्याहरू बुझेका छैनन् भन्‍ने मलाई लाग्यो। हाम्रो प्रभावकारितालाई सुधार गर्ने उपायबारे अगुवाले सङ्गति गर्दा, म मान्दिनथेँ। अगुवालाई झुकाएर हामीप्रतिका मापदण्डहरू घटाउन लगाउन, र हाम्रो कामका खराब परिणामहरू म एकलैले गर्दा होइन भनेर तिनलाई जनाउन, मैले अरूमाझ अगुवाका मागहरू अति उच्‍च छन् भन्‍ने विचार फैलाएँ, अनि अगुवाले हामीलाई हदै गरिरहेका छन् भनेर तिनीहरूलाई विश्‍वस्त पार्दै मसँगै विरोध गर्न उक्साएँ ताकि म एकलैलाई जिम्‍मेवार नठहराइयोस्। म अति षड्यन्त्रकारी थिएँ र म गुप्त मनसाय र शैतानी छल लिएर बोल्थेँ। म आफ्‍ना अभिप्रायहरू पूरा गर्न अरू मानिसलाई कसरी प्रयोग गर्ने भनेर मात्रै सोच्‍न सक्थेँ। अगुवाले हाम्रा समस्याहरू समयमै पत्ता लगाएर सच्याउन, हाम्रो कामको प्रभावकारिता बढाउन र नयाँ विश्‍वासीहरूलाई आफ्‍नो कर्तव्य जतिसक्दो चाँडो पूरा गर्न तालिम दिन हामीलाई सहयोग गर्नको लागि हाम्रो कामका विवरणहरू सोधेका थिए। तिनले परमेश्‍वरका माग र मण्डलीका बन्दोबस्तअनुसार मात्रै काम गरिरहेका थिए, तर म भनेको मान्दिनथेँ र प्रतिरोध गर्थेँ। यो अगुवासित मेरो असहमति थिएन, यो त मण्डलीको काम र परमेश्‍वरका मागहरूप्रति प्रतिरोध थियो। मैले पूर्णतया परमेश्‍वरविरुद्ध काम गरिरहेकी थिएँ। मैले सबैलाई छल गरेँ र मेरो पक्षमा उभिन उक्साएँ, ताकि मण्डलीको बन्दोबस्तविरुद्ध हामी सबैको विश्‍वास र बोली उस्तै होस्। मैले ख्रीष्टविरोधी स्वभाव प्रकट गरेकी थिएँ र शैतानको नोकरको रूपमा काम गरिरहेकी थिएँ। मैले ब्रदर-सिस्टरहरूलाई छल गर्न नकारात्मक कुरा बोलेँ, जसले गर्दा सुधार गर्ने तिनीहरूको उत्साह मऱ्यो, तिनीहरूले आफ्‍नो वर्तमान स्तरमा नै चित्त बुझाए अनि आफ्‍नो काममा लापरवाह हुँदै जथाभावी गरे। परिणामस्वरूप, मलजलको काममा निरन्तर परिणाम आउन सकेन। नयाँ विश्‍वासीहरूको तालिममा भएको यो बाधा र अवरोध दुष्कर्म थियो! यो महसुस गरेपछि, मलाई अलिक डर लाग्यो। यदि मैले यसै गरिरहेकी भए, अझै धेरै दुष्कर्म मात्रै गर्नेथेँ र अन्तिममा ख्रीष्टविरोधी बनेर म खुलासा भई हटाइनेथेँ। मण्डलीले मलाई गरेको बर्खास्त परमेश्‍वरको धार्मिकता र सुरक्षाको चिन्‍ह थियो। मैले परमेश्‍वरलाई प्रार्थना गरेँ: “प्यारो परमेश्‍वर, मेरो बर्खासी तपाईंको धार्मिकताको चिन्‍ह थियो। तपाईंका वचनहरूद्वारा खुलासा र न्याय गरिएपछि, मैले आफ्‍नो ख्रीष्टविरोधी स्वभाव चिनेकी छु। तपाईंले यस बर्खासीद्वारा मलाई सुरक्षा र मुक्ति दिइरहनुभएको थियो र म तपाईंलाई धन्यवाद दिन्छु!”

त्यसपछि, मैले यस्तो भ्रष्ट स्वभाव प्रकट गर्ने परमेश्‍वरको वचनका अरू दुईवटा खण्ड भेट्टाएँ: “ख्रीष्टविरोधीहरूले मानिसहरूलाई धोका दिन प्राय सिद्धान्तहरू फैलाउँछन्। ख्रीष्टविरोधीहरूले जुनसुकै काम गरिरहेका भए पनि, तिनीहरूले सधैँ अन्तिम निर्णय आफै गर्नुपर्छ। तिनीहरू सत्यताका सिद्धान्तहरूको पूर्ण विरोधमा हुन्छन्। त्यसकारण ख्रीष्टविरोधीहरूमा प्रकट हुने कुराको आधारमा, ख्रीष्टविरोधीहरूको स्वभाव कस्तो हुन्छ? के तिनीहरूले सकारात्मक कुराहरू, र सत्यतालाई प्रेम गर्छन्? के तिनीहरूमा परमेश्‍वरप्रतिको साँचो आज्ञापालन हुन्छ? (हुँदैन।) तिनीहरूको सार सत्यताप्रति दिक्‍क र घिन मान्‍ने किसिमको हुन्छ। यदि मात्र होइन, तिनीहरू यति अहङ्कारी हुन्छन् कि तिनीहरूले तर्कसङ्गतता पूरै गुमाएका हुन्छन्, र तिनीहरूमा न्यूनतम विवेक र समझ पनि हुँदैन; तिनीहरू मानिस भनिन लायक हुँदैनन्। तिनीहरूलाई शैतानको कोटिका भनेर मात्रै भन्‍न सकिन्छ—तिनीहरू नरपिशाचहरू हुन्। सत्यता स्वीकार नगर्ने मानिसहरू सबै नरपिशाचहरू हुन्, र यसमा कुनै शङ्‍का छैन(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु दस (भाग चार))। “सत्यताको अभ्यास र ख्रीष्टको आज्ञपालन गर्नेबारे, ख्रीष्टविरोधीहरूको हृदयमा कस्तो मनोवृत्ति हुन्छ? एउटै शब्‍द हुन्छ: विरोध। तिनीहरूले विरोध गरिरहन्छन्। अनि यो विरोधभित्र कस्तो स्वभाव लुकेको हुन्छ? केले यो पैदा गर्छ? यसलाई अनाज्ञाकारिताले पैदा गरेको हुन्छ। स्वभावको आधारमा, यो सत्यताप्रति दिक्‍क मान्‍ने स्वभाव हो, यो तिनीहरूको हृदयमा अनाज्ञाकारीता हुनु हो, तिनीहरूले आज्ञापालन गर्न चाहेका हुँदैनन्। अनि, परमेश्‍वरको घरले अगुवा र सेवकहरूलाई सबै निर्णय आफै गर्नुको सट्टा मिलेर काम गर्नू, छलफल गर्न सिक्‍नू भनेर भन्दा, ख्रीष्टविरोधीहरूले आफ्‍नो हृदयमा के सोच्छन्? ‘मानिसहरूसँग सबै कुरा छलफल गर्नु एकदमै झमेला हुन्छ! म यी कुराहरूको बारेमा निर्णय गर्न सक्छु। अरूसँग मिलेर काम गर्नु, यसबारे तिनीहरूसँग कुरा गर्नु, सिद्धान्तअनुसार काम गर्नु—कस्तो मूर्ख र लाजमर्दो कुरा!’ ख्रीष्टविरोधीहरूले आफूले सत्यता बुझेको छु, सबै कुरा स्पष्ट जानेको छु, आफूसित आफ्‍नै अन्तर्ज्ञान र कार्यशैलीहरू छन् भन्‍ने सोच्छन्, त्यसकारण तिनीहरूले अरूसँग मिलेर काम गर्न सक्दैनन्, तिनीहरूले मानिसहरूसँग कुनै पनि विषय छलफल गर्दैनन्, सबै कुरा आफ्‍नै शैलीमा गर्छन्, र अरू कसैको कुरा सुन्दैनन्! ख्रीष्टविरोधीहरूले मुखले त आज्ञापालन गर्न इच्‍छुक छु, र अरूसँग काम गर्न तयार छु भनेर भन्‍ने भए पनि, तिनीहरूको जबाफ बाहिरबाट जति राम्रो सुनिए पनि, तिनीहरूका शब्‍दहरू जति राम्रो सुनिए पनि, तिनीहरूले आफ्नो विद्रोही स्थिति परिवर्तन गर्न, र आफ्नो शैतानी स्वभाव बदल्न सक्दैनन्। भित्री रूपमा तिनीहरू अत्यन्तै विद्रोही हुन्छन्—तर कति हदसम्‍म? ज्ञानको भाषामा भन्‍ने हो भने, यो फरक प्रकृतिका दुई कुराहरूलाई सँगै राख्दा हुने अवस्थाजस्तै हुन्छ: इन्कार, जसलाई हामी ‘प्रतिरोध’ भनेर अर्थ्याउन सक्छौँ। ख्रीष्टविरोधीहरूको स्वभाव ठीक यस्तै हुन्छ: माथिप्रतिको विरोध। तिनीहरूलाई माथिको विरोध गर्न मन पर्छ र तिनीहरूले कसैको आज्ञापालन गर्दैनन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु दस (भाग चार))। ख्रीष्टविरोधीहरूको प्रकृति र सार सत्यतालाई घृणा गर्ने र परमेश्‍वरविरोधी हुन्छन् भनी परमेश्‍वर भन्‍नुहुन्छ। मेरो स्वभाव ख्रीष्टविरोधीको जस्तै रहेछ भन्‍ने मलाई महसुस भयो। मेरो काममा ढिलाइ हुन्छ भन्‍ने सोचेर म अगुवाको रेखदेखप्रति रिसाएँ र प्रतिरोधी भएँ, र तिनले हामीलाई हाम्रो परिणाम बढाउन माग गरेर हामीबाट धेरै नै माग गरिरहेका छन् भन्‍ने सोचेँ, त्यसैले म भनेको मान्दिनथेँ अनि निरन्तर आवाज उठाएँ र विरोध गरेँ। वास्तवमा, अगुवाले हाम्रो कामका समस्याहरू औँल्याउँदा मैले भनेको मान्‍नुपर्थ्यो र हामीले किन हाम्रो काममा परिणामहरू प्राप्त गर्न सकेनौँ, हामी आफ्नो कर्तव्यमा अत्यन्तै लापरवाह भएर यस्तो भएको हो कि, वा हामीमा अन्तर्ज्ञानको कमी भएर ब्रदर-सिस्टरहरूका समस्या समाधान गर्न सत्यता प्रयोग गर्न नसकेका हौँ कि भनेर कर्तव्यनिष्ठा भई मनन गर्नुपर्थ्यो। समस्या पहिचान गरेपछि, म यो सच्याउन र सुधार गर्न तुरुन्तै अघि बढिहाल्‍नुपर्थ्यो। तर मैले सत्यता स्विकार्ने वा मनन गर्ने पटक्‍कै गरिनँ, न त आफ्‍नो कर्तव्य राम्ररी पूरा नगरेकोमा दोषी वा पछुतो नै महसुस गरेँ। मैले बर्खास्त हुनबाट बच्‍न, अरूलाई मसँगै अगुवाको विरोध गर्न लगाउन निकै पापड बेलेँ। अगुवाले कामको अनुगमन र रेखदेख गर्नु सकारात्मक कुरा र परमेश्‍वरको माग थियो, तर मैले प्रतिरोध र विरोध गरेँ। यसो हेर्दा, मैले अगुवासँग सिङ जुधाइरहेकी थिएँ, तर वास्तवमा, म सत्यतादेखि दिक्‍क मान्थेँ र सकारात्मक कुराहरूलाई घृणा गर्थेँ। मैले मण्डलीको काममा बाधा र व्यवधान ल्याएकी थिएँ। सत्यताप्रति म कति दिक्‍क मान्दो रहेछु र मैले परमेश्‍वरविरुद्ध विद्रोहसमेत गरेकी छु भन्‍ने देखेर, म आफ्‍नो शैतानी स्वभावदेखि भयभीत भएँ। मैले मण्डलीबाट निकालिएका केही ख्रीष्टविरोधीहरूबारे सोचेँ। मानिसहरूले तिनीहरूलाई आलोचना, सहयोग, काटछाँट र निराकरण गर्दा, तिनीहरू कहिल्यै सत्यता स्विकार्ने वा आत्मचिन्तन गर्ने गर्दैनथे। यदि मानिसहरूले तिनीहरूको कामको रेखदेख गरे वा तिनीहरूलाई सुझाव दिए भने, तिनीहरू लज्जित भएर रिसले चूर हुन्थे र ती मानिसहरूलाई शत्रु ठान्थे। तिनीहरूले जिद्दी हुँदै सक्दो मौखिक विरोध र प्रतिरोध गर्थे। तिनीहरूले मण्डलीको काममा गम्‍भीर हानि गर्ने दुष्कर्म गर्दा पनि, पश्‍चात्ताप गर्दैनथे र अन्तिममा मण्डलीबाट निकालिए। यो सब सत्यतालाई दिक्‍क मान्‍ने र घृणा गर्ने तिनीहरूको ख्रीष्टविरोधी स्वभावको कारण भएको थियो। के मैले प्रकट गरेको स्वभाव पनि ख्रीष्टविरोधीको जस्तै थिएन र? यदि मैले पश्‍चात्ताप नगरेकी भए, अन्त्यमा मलाई खुलासा गरेर हटाइनेथ्यो।

पछि मैले किन अरूलाई अगुवाको विरोधमा उक्साएँ भनेर मनन गरेँ। यो सबको मूल कारण के थियो? खोजी गर्ने क्रममा, मैले परमेश्‍वरका वचनहरूको यो खण्ड भेट्टाएँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “मानिसहरूले परमेश्‍वरको कामको अनुभव गरेर सत्यता बुझुञ्‍जेलसम्‍म, भित्रैबाट ठाउँ लिने र प्रभुत्व कायम गर्ने भनेको शैतानको प्रकृति नै हो। त्यो प्रकृतिमा विशेष रूपमा के हुन्छ त? उदाहरणको लागि, तँ किन स्वार्थी छस्? तैँले किन आफ्नो ओहदा संरक्षण गर्छस्? किन तँमा त्यस्ता तीव्र भावनाहरू छन्? किन तैँले ती अधर्मी कुराहरूमा आनन्द लिन्छस्? किन तँ ती दुष्टताहरूलाई मन पराउँछस्? त्यस्ता कुराहरूप्रति तेरो लगाव हुनुको आधार के हो? यी कुराहरू कहाँबाट आउँछन्? ती कुराहरू स्वीकार गर्न तँ किन त्यति धेरै खुशी हुन्छस्? अहिलेसम्ममा, तिमीहरू सबैले बुझिसकेको हुनुपर्छ कि यी सबै कुराहरू हुनुको मुख्य कारण भनेकै मनिसभित्र शैतानको विष हुनु हो। त्यसो भए, शैतानको विष के हो? यो कसरी अभिव्यक्त हुन सक्छ? उदाहरणको लागि, यदि तैँले ‘मानिसहरू कसरी जिउनुपर्छ? मानिसहरू केको लागि जिउनुपर्छ?’ भनेर सोधिस् भने, मानिसहरूले जबाफ दिनेछन्, ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ।’ यो एउटै वाक्यांशले यो समस्याको जड व्यक्त गर्छ। शैतानको दर्शन र तर्क मानिसहरूको जीवन बनिसकेको छ। मानिसहरूले जेसुकैको खोजी गर्ने भए पनि, तिनीहरूले यो आफ्नै लागि मात्र गर्छन्। त्यसकारण तिनीहरू आफ्‍नै लागि मात्र जिउँछन्। ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ’—मानिसको जीवन दर्शन यही हो, र यसले मानव प्रकृतिको पनि प्रतिनिधित्व गर्छ। यी वचनहरू पहिले नै भ्रष्ट मानवजातिको प्रकृति, भ्रष्ट मानवजातिको शैतानी प्रकृतिको साँचो चित्रण भइसकेका छन्, र यो शैतानी प्रकृति पहिले नै भ्रष्ट मानवजातिको अस्तित्वको आधार भइसकेको छ; भ्रष्ट मानवजाति कैयौँ हजार वर्षदेखि अहिलेको वर्तमान समयसम्म शैतानको यो विषअनुसार जिएको छ। शैतानले गर्ने सबै कुरा यसका आफ्नै रुचि, महत्त्वाकाङ्क्षा, र उद्देश्यहरूको लागि हो; यसले परमेश्‍वरलाई उछिन्‍न, उहाँबाट स्वतन्त्र हुन, र परमेश्‍वरले सृष्टि गर्नुभएका सबै कुराहरूलाई नियन्त्रणमा लिन चाहन्छ। आज, शैतानले मानिसहरूलाई यस हदसम्म भ्रष्ट पारेको छ: तिनीहरू सबैसँग शैतानी प्रकृति छन्, तिनीहरू सबैले परमेश्‍वरलाई नकार्ने र विरोध गर्ने प्रयास गर्छन्, तिनीहरू आफ्नो नियतिलाई आफ्नै वशमा राख्‍न चाहन्छन् र परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूको विरोध गर्ने प्रयास गर्छन्—तिनीहरूका महत्त्वाकाङ्क्षा र रुचिहरू ठ्याक्‍कै शैतानका जस्ता छन्। त्यसकारण, मानिसको प्रकृति शैतानको प्रकृति हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। पत्रुसको मार्गमा कसरी हिँड्ने)। परमेश्‍वरका वचनहरू पढेपछि, मलाई के महसुस भयो भने मैले परमेश्‍वरविरोधी यस्तो घोर काम गर्न सक्नु भनेको आफ्नो भ्रष्ट स्वभाव देखाउनु मात्रै थिएन, तर यो त मेरो शैतानी प्रकृति र सारले गर्दा भएको थियो। परिणामस्वरूप, म कुनै पनि बेला परमेश्‍वरको विरोध गर्न सक्थेँ। मलाई शैतानले कति गहिरोसित भ्रष्ट तुल्याएको छ भनेर मैले देखेँ। म “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ” भन्‍ने शैतानी दर्शनअनुसार जिउथेँ अनि अत्यन्तै स्वार्थी र छली भएकी थिएँ। मैले गर्ने र भन्‍ने सबै कुरा आफ्नो रक्षा गर्न र आफ्‍ना हितहरू कायम राख्नका लागि थिए। अगुवाले रेखदेख गर्ने क्रममा मेरो काममा कठिनाइ र समस्याहरू भेट्दा, मलाई अदक्ष ठानेर बर्खास्त गर्लान् भन्‍ने चिन्ताले, मैले षड्यन्त्र र युक्ति रचेँ, अगुवाप्रतिको असन्तुष्टि फैलाएँ र अगुवाको रेखदेखप्रति विरोध जनाउन र अदक्ष काम गर्ने म मात्रै होइनँ, यो हाम्रो साझा समस्या हो भनेर तिनलाई बुझाउनको लागि मसँगै विरोधमा उभिन अरूलाई पनि गाभेँ र उक्साएँ। मैले आफ्‍नो हैसियत कायम राख्‍न, अगुवामाथि जाइलाग्‍न र आफूलाई रक्षा गर्न ठूलो युक्ति रचेँ। यसले मण्डलीको काममा गम्‍भीर हानि गर्‍यो। मैले जति मनन गरेँ, त्यति नै म कति स्वार्थी, घृणित र बेसरम रहेछु भन्‍ने थाहा पाएँ। यस्तो दुष्ट काम गर्न सक्‍ने—ममा स्पष्टै मानवताको एकदमै कमी थियो! मलाई निकै पछुतो भयो र परमेश्‍वरलाई प्रार्थना गरेँ: “प्यारो परमेश्‍वर! मैले दुष्कर्म गरेर मण्डलीको काममा बाधा पुऱ्याएकी छु। म पूर्णरूपमा पश्‍चात्ताप गर्न, अगुवाको रेखदेख र डोऱ्याइ स्विकार्न, अनि सृष्टि गरिएको प्राणीको रूपमा आफ्‍नो कर्तव्य इमानदारीसाथ गर्न तयार छु।”

पछि, मैले परमेश्‍वरका वचनहरूका केही खण्ड पढेँ, जसले मलाई अगुवाको रेखदेख र मार्गदर्शनप्रति राख्‍नुपर्ने सही मनोवृत्ति देखाइदिए। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “आज, धेरै मानिसहरूले कर्तव्य निभाउने भए पनि, सत्यता खोजी गर्ने थोरै मात्र छन्। मानिसहरूले आफ्‍नो कर्तव्य निभाउने क्रममा बिरलै मात्र सत्यता खोजी गर्ने र सत्यताको वास्तविकतामा प्रवेश गर्ने गर्छन्; धेरैजसोको कुरा गर्दा, तिनीहरूको काम गर्ने शैलीमा अझै कुनै सिद्धान्त हुँदैन, तिनीहरू अझै पनि साँचो रूपमा परमेश्‍वरको आज्ञापालन गर्ने मानिसहरू होइनन्; तिनीहरूले मुखले मात्र सत्यतालाई प्रेम गर्छु, र सत्यता पछ्याउन इच्‍छुक छु, अनि सत्यताप्रति लागिपर्न इच्‍छुक छु भनी भन्छन्, तैपनि तिनीहरूको सङ्कल्प कति लामो समयसम्‍म टिक्छ थाहा हुँदैन। सत्यता नपछ्याउने मानिसहरूले कुनै पनि समयमा र कुनै पनि स्थानमा भ्रष्ट स्वभाव प्रकट गर्न सक्छन्। सत्यता खोजी नगर्ने मानिसहरूमा आफ्‍नो कर्तव्यको कुनै जिम्‍मेवारीबोध हुँदैन, तिनीहरू लापरवाह र झाराटारुवा हुन्छन्, तिनीहरूले आफ्‍नो इच्‍छाअनुसार काम गर्छन्, र तिनीहरू काटछाँट र निराकरण स्विकार्नसमेत सक्दैनन्। नकारात्मक र कमजोर हुनेबित्तिकै सत्यता खोजी नगर्ने मानिसहरूले हरेस खाने सम्‍भावना हुन्छ—यो प्रायजसो भइरहन्छ, योभन्दा आम कुरा अरू केही छैन; सत्यता खोजी नगर्ने मानिसहरू सबैले व्यवहार गर्ने तरिका यस्तै हुन्छ। त्यसकारण, मानिसहरूले सत्यता अझै प्राप्त गरेका छैनन् भने, तिनीहरू भरोसा र विश्‍वास गर्न नसकिने हुन्छन्। तिनीहरू विश्‍वास गर्न नसकिने हुन्छन् भन्‍नुको अर्थ के हो? यसको अर्थ तिनीहरूले कठिनाइ वा बाधा सामना गर्दा, तिनीहरू पतन हुने, र नकारात्मक र कमजोर बन्‍ने सम्‍भावना धेरै हुन्छ भन्‍ने हो। के प्रायजसो नकारात्मक र कमजोर भइरहने मानिस विश्‍वासयोग्य हुन्छ? अवश्यै हुँदैन। तर सत्यता बुझ्‍ने मानिसहरू फरक हुन्छन्। साँचो रूपमा सत्यता बुझेका मानिसहरूमा अवश्यै परमेश्‍वरको डर मान्‍ने, र उहाँको आज्ञापालन गर्ने हृदय हुन्छ, र परमेश्‍वरको डर मान्‍ने हृदय भएका मानिसहरू मात्रै भरोसालायक मानिसहरू हुन्; परमेश्‍वरको डर मान्‍ने हृदय नभएका मानिसहरू भरोसायोग्य हुँदैनन्। परमेश्‍वरको डर मान्‍ने हृदय नभएका मानिसहरूसँग कसरी व्यवहार गर्नुपर्छ? अवश्य पनि तिनीहरूलाई प्रेमपूर्ण सहयोग र साथ दिइनुपर्छ। तिनीहरूले आफ्‍नो कर्तव्य निभाउँदा तिनीहरूलाई अझ बारम्‍बार जाँच्‍नुपर्छ, र अझ धेरै सहयोग र मार्गदर्शन गर्नुपर्छ; त्यसपछि मात्रै तिनीहरूले आफ्‍नो कर्तव्य प्रभावकारी रूपमा पूरा गर्न सक्छन् भन्‍ने सुनिश्‍चित हुन्छ। अनि यसो गर्नुको उद्देश्य के हो? मुख्य उद्देश्य परमेश्‍वरको घरको काममा साथ दिनु हो। सहायक उद्देश्यचाहिँ तुरुन्तै समस्याहरू पहिचान गर्नु, तिनीहरूलाई भरणपोषण गर्नु, सहयोग गर्नु, अनि निराकरण र काटछाँट गर्नु, तिनीहरूको विचलन सच्याउनु, र तिनीहरूका कमीकमजोरी र त्रुटिहरू पूर्ति गर्नु हो। यो मानिसहरूका लागि फाइदाजनक हुन्छ; यसमा कुनै पनि द्वेषपूर्ण कुरा हुँदैन। मानिसहरूको रेखदेख गर्नु, तिनीहरूलाई निगरानी गर्नु, तिनीहरूसित परिचित हुनु—यो सबै तिनीहरूलाई परमेश्‍वरमाथिको विश्‍वासमा सही मार्गमा प्रवेश गर्न, परमेश्‍वरले अह्राउनुभएअनुसार र सिद्धान्तअनुरूप आफ्‍नो कर्तव्य निभाउन सहयोग गर्नका लागि हो, ताकि तिनीहरूले कुनै पनि बाधा वा व्यवधान नल्याऊन्, ताकि तिनीहरूले समय बरबाद नगरून्। यसो गर्नुको उद्देश्य तिनीहरू र परमेश्‍वरको घरको कामप्रतिको जिम्‍मेवारी पूरा गर्नु हो; यसमा कुनै द्वेषभाव लुकेको हुँदैन(वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू)। “परमेश्‍वरको घरले कर्तव्य निभाउने मानिसहरूको रेखदेख, अवलोकन, र जाँच गर्ने गर्छ। के तिमीहरू परमेश्‍वरको घरको यो सिद्धान्त स्वीकार गर्छौ? (गर्छौँ।) यदि तैँले परमेश्‍वरको घरलाई तेरो रेखदेख, अवलोकन, र जाँच गर्न दिन सक्छस् भने त्यो राम्रो कुरा हो। यसले तँलाई आफ्नो कर्तव्य निभाउन मदत गर्छ, सन्तोषप्रद रूपमा कर्तव्य निभाउन र परमेश्‍वरको इच्‍छा सक्षम हुन मदत गर्छ। यसबाट मानिसहरूलाई फाइदा र सहयोग पुग्छ, यसमा कुनै पनि घाटा छैन। यस विषयमा व्यक्तिले सिद्धान्तहरू बुझेपछि, अगुवाहरू, सेवकहरू, र परमेश्‍वरका चुनिएका मानिसहरूको रेखदेखप्रति उसमा प्रतिरोध वा प्रतिरक्षाको भावना हुनुपर्छ कि पर्दैन? कहिलेकहीँ तँमाथि जाँच र अवलोकन हुन सक्छ, र तेरो कामको निरीक्षण हुन सक्छ, तर यो मनमा लिनुपर्ने कुरा होइन। किन त्यस्तो हो त? किनभने तैँले अहिले पाएका कामहरू, तैँले निभाउने कर्तव्य, र तैँले गर्ने कुनै पनि काम तेरो निजी मामला वा व्यक्तिगत जागिर होइन; ती परमेश्‍वरको घरको कामसँग सम्‍बन्ध भएका र परमेश्‍वरको कामको एक भागसँग जोडिएका हुन्छन्। त्यसकारण, जब कसैले तँसँग खुला हृदयले कुरा गर्ने र यस बेला तेरो अवस्था के छ भनेर पत्ता लगाउने कोसिस गर्दै केही समय तेरो अनुगमन वा अवलोकन गर्छ, वा तँलाई गहन प्रश्‍नहरू सोध्छ, अनि तिनीहरूको आचरण कहिलेकाहीँ केही कठोर भएको बेला तिनीहरूले तेरो निराकरण गर्छन् र तँलाई केही मात्रामा काटछाँट गर्छन्, र अनुशासनमा राख्छन् अनि हप्काउँछन्, तब यो सबै परमेश्‍वरको घरप्रतिको तिनीहरूको कर्तव्यनिष्ठा र जिम्मेवार आचरणकै कारणले गर्दा हो। यसप्रति तँसँग नकारात्मक विचार वा भावना हुनुहुँदैन। यदि तैँले अरूको निरीक्षण, अवलोकन र सोधपुछ स्वीकार गर्न सक्छस् भने त्यसको अर्थ के हुन्छ? त्यसको अर्थ, तैँले आफ्नो हृदयमा परमेश्‍वरको सूक्ष्म परीक्षणलाई स्वीकार्छस् भन्‍ने हुन्छ। यदि तँ मानिसहरूको निरीक्षण, अवलोकन र प्रश्‍नलाई स्वीकार गर्दैनस् भने—यदि तँ यी सबैलाई इन्कार गर्छस् भने—के तँ परमेश्‍वरको सूक्ष्म परीक्षणलाई स्वीकार गर्न सक्षम हुन्छस्? परमेश्‍वरको सूक्ष्म परीक्षण मानिसहरूको सोधपुछभन्दा विस्तृत, गहन र परिशुद्ध हुन्छ; परमेश्‍वरले चाहनुहुने कुरा योभन्दा अझ निश्‍चित, स्पष्ट र गहिरो हुन्छ। यसैले यदि तैँले परमेश्‍वरका चुनिएका मानिसहरूबाट गरिने अनुगमन स्वीकार गर्न सक्दैनस् भने, तैँले परमेश्‍वरको सूक्ष्म परीक्षण स्वीकार गर्छस् भन्‍ने तेरो दाबी खोक्रा शब्दहरू मात्र हुँदैनन् र? परमेश्‍वरको सूक्ष्म परीक्षण र जाँचलाई स्वीकार गर्न सक्षम हुनको निम्ति, सर्वप्रथम तँ परमेश्‍वरको घर, अगुवा र सेवकहरू अनि दाजुभाइ तथा दिदीबहिनीहरूको अनुगमनलाई स्वीकार गर्न सक्षम हुनुपर्छ(वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू)। परमेश्‍वरका वचनबाट मैले के थाहा पाएँ भने, हामीमा शैतानी भ्रष्ट स्वभाव हुने भएकोले, हामी आफ्नो काममा प्रायजसो मनोमानी गर्छौँ। यति मात्र होइन, हामी आफ्नो नीच र अल्छी प्रकृतिको कारण, प्रायजसो आफ्‍नो कर्तव्यमा लापरवाह हुन्छौँ र असल परिणामहरू निकाल्न खोज्दैनौँ। साथै, हामी धेरै तरिकाले सिद्धान्तविरुद्ध जान्छौँ, त्यसकारण हामीलाई मण्डलीको काम सहजरूपमा अघि बढेको सुनिश्‍चित गर्न रेखदेख र जाँच गर्ने अगुवा र सेवकहरू चाहिन्छ। परमेश्‍वरले अगुवा र सेवकहरूबाट माग गर्नुहुने कुरा यही हो र यो तिनीहरूको कामको महत्त्वपूर्ण पक्ष हो। तसर्थ मैले अगुवा र सेवकहरूको रेखदेख र मार्गदर्शन मान्‍नुपर्छ र स्विकार्नुपर्छ। यति मात्र होइन, मैले अगुवाको रेखदेख र जाँचले मेरो कर्तव्यमा ढिलाइ गराउँछ र मेरो कार्यप्रस्तुतिमा असर गर्छ भन्‍ने गलत धारणा बोकेँ। तर वास्तवमा, अगुवाहरूले समस्याहरू पत्ता लगाउन, हाम्रा कठिनाइ र समस्या समाधानमा सहयोग गर्न हाम्रो कामका सबै कुरा जाँच्छन्। यसले वास्तवमा हाम्रो कार्यप्रस्तुतिलाई सुधार्छ—हाम्रो प्रगतिमा ढिलाइ गर्दैन। उदाहरणको लागि, एकपटक अगुवाले हाम्रो काम जाँच गरिरहेका बेला, नयाँ विश्‍वासीहरूलाई हामीले प्रेम र धैर्यसाथ मलजल गरिरहेका छैनौँ र तिनीहरूबाट हामी निकै उच्च माग गर्छौँ भन्‍ने थाहा पाए। यसले गर्दा कतिपय नयाँ विश्‍वासीहरू नकारात्मक बनेर आफ्‍नो कर्तव्य पूरा गर्न छोडेका थिए। अगुवाको सङ्गति पाएर मात्रै हामीले हाम्रो कामका समस्याहरू चिन्न सक्यौँ। त्यसपछि, हामीले नयाँ विश्‍वासीहरूका समस्या समाधान गर्न परमेश्‍वरका वचन प्रयोग गरेर तिनीहरूसँग सङ्गति गर्‍यौँ, तिनीहरूलाई आफ्‍नो कर्तव्य पूरा गर्नुको अर्थ बतायौँ र तिनीहरूको वास्तविक कदको आधारमा काम दियौँ। त्यसपछि, तिनीहरूको स्थिति सुध्रियो र तिनीहरूले सामान्यरूपमा आफ्‍नो कर्तव्य पूरा गर्न सके। मैले अगुवाका रेखदेख र डोऱ्याइले हाम्रो कामलाई नकारात्मक असर नगर्ने मात्र होइन, तर मलाई आफ्नो कर्तव्यमा सिद्धान्तहरू अझै राम्ररी बुझ्‍न सहयोग गर्छ भन्‍ने थाहा पाएँ। यी सबै हाम्रो काममा अगुवाको रेखदेख र मार्गदर्शन स्विकार्नुका लाभहरू हुन्। मैले के बुझेँ भने अगुवाको रेखदेख स्विकार्नु भनेको मण्डलीको कामप्रति जिम्‍मेवार निभाउने मनोवृत्ति हो र व्यक्तिले आफ्‍नो कर्तव्यमा अभ्यास गर्नुपर्ने सिद्धान्त हो।

केही समयपछि, अगुवाले मलाई नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने कामलाई निरन्तरता दिन खटाए र म परमेश्‍वरप्रति असाध्यै कृतज्ञ भएँ। त्यसपछि, अगुवाले हामीलाई काममा जाँच गर्दा र मार्गनिर्देशन दिँदा, मलाई प्रतिरोधको अनुभूति हुँदैनथ्यो र अगुवाले भेटेका समस्याहरू टिपोट गर्थेँ र आफ्ना सहकर्मीहरूसँग हाम्रो कर्तव्यका समस्याहरूबारे सक्रियरूपमा छलफल गरेर समाधान निकाल्न सक्‍ने भएँ। हाम्रो कामका समस्याहरूबारे हामी स्पष्ट हुँदै गएपछि, हाम्रो कार्यप्रस्तुतिले क्रमिकरूपमा कोल्टे फेर्न थाल्यो। मैले साँचोरूपमा के महसुस गरेँ भने हामीले हाम्रो कर्तव्यमा अगुवाको रेखदेख र मार्गदर्शन स्विकारेर, सत्यताप्रति स्विकार्ने मनोवृत्ति राखेर र सिद्धान्तअनुसार काम गरेर मात्रै आफ्‍नो कर्तव्यमा असल परिणामहरू प्राप्त गर्न सक्छौँ। परमेश्‍वर धन्यवाद!

अघिल्लो: निर्णायक मोड

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

मेरो बुबाको निष्कासनपछि

इसाबेला, फ्रान्सकेही वर्षपहिले, मैले घरबाट टाढा कर्तव्य निर्वाह गरिरहेको समयमा, मेरो बुबालाई दुष्कर्मी भनी परिभाषित गरेर मण्डलीबाट...

मेरो आफ्‍नै बुबाको “कैदमा”

सन् २०२० को ग्रीष्म महिनामा। त्यो बेला, मेरी बहिनी एल्बिना र मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको भिडियो सपनाबाट बिउँझँदा भेट्टायौँ।...

निराकरणपछिको परिवर्तन

गत मार्चमा, मैले मण्डलीको भिडियो काम जिम्‍मा लिएँ। त्यो कर्तव्यमा म नयाँ भएकोले मैले धेरै सत्यता पूर्णरूपमा बुझेको थिइनँ त्यसकारण हरेक दिन...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्