म फेरि कहिल्यै आफ्नो गन्तव्यलाई प्राथमिकता दिनेछैनँ
मैले पहिला खेलेको भूमिकामा, पात्रको भावनात्मक स्थितिलाई त्यति ध्यान दिइनँ, वा तिनको व्यक्तित्वलाई राम्ररी बुझिनँ। मैले आफ्नै बुझाइअनुसार त्यो भूमिका निभाएँ। मैले निर्देशकको सल्लाहलाई सतहीरूपमा स्विकारेँ, तर भित्रीरूपमा आफ्नै सोचअनुसार गरिरहेँ। परिणामस्वरूप, मेरो प्रस्तुति पात्रसँग मिलेन, र चलचित्र राम्रो भएन। अगुवाले मेरो कर्तव्य परिवर्तन गरेर सुसमाचार सुनाउन खटाए। मेरो अहङ्कार, जिद्दीपन र कर्तव्य राम्ररी पूरा गर्न नसक्नुले, छायाङ्कनको प्रगतिमा बाधा पुऱ्यायो। मलाई निकै नरमाइलो लाग्यो, त्यसैले म आफ्नो अपराधलाई परिपूर्ति गर्न सुसमाचार सुनाउन र सुकर्म गर्न चाहन्थेँ। त्यसपछि, म आफ्नो गल्तीको प्रायश्चित गर्न सुसमाचार सुनाउनमा धेरै घण्टा काम गर्थेँ। मैले निकै मानिसहरूलाई विश्वासमा ल्याएँ जसले गर्दा मलाई निकै खुसी लाग्यो र कर्तव्यमा जोसजाँगर चल्यो।
त्यसैले यसपटक, अगुवाले मलाई अडिसनको लागि बोलाउँदा, मैले आनाकानी गरेँ। मलाई आफू अभिनेता बन्न योग्य छु जस्तो लाग्दैनथ्यो। पहिले असफल भएकोले, यसपटक नि असफल हुन्छु भन्ने मलाई लाग्यो। अहिले सुसमाचार सुनाउने महत्त्वपूर्ण समय हो, र मैले त्यसमा राम्रो परिणाम प्राप्त गरिरहेको थिएँ। मैले भूमिका पाएँ भने प्रचार गर्न पाउनेथिइनँ। साथै, त्यो पात्र धेरैवटा दृश्यमा थियो। मैले यस भूमिकालाई राम्ररी निभएँ भने त राम्रै हुनेथ्यो, तर निभाइनँ भने—पहिलेजस्तै बीचमै असफल भएँ र छायाङ्कनमा बाधा पुग्यो भने—त्यो अर्को अपराध हुनेथ्यो। यसले मेरो सुसमाचारको काम र सुकर्ममा ढिलाइ गर्नेथ्यो। मलाई दुईतिर घाटा हुनेथ्यो। मैले यसबारे सोचेँ, र म यसपटक पटक्कै जानु हुँदैन भनेर मनमनै भनेँ। अगुवाले मानिसहरूलाई व्यक्तिगत रुचिको आधारमा छनौट गरिरहेका छन् कि भन्ने सोचेँ। त्यसैले, मैले उनलाई भनेँ: “म यो भूमिका खेल्न सक्दिनँ। तपाईंले अरू नै खोज्नुहोस्।” तर उनले मलाई गएर प्रयास गर्न अनुरोध गरिन्, र म सहमत हुन बाध्य भएँ। र पनि, मैले त्यो भूमिका पाउनेछैनँ भन्ने मलाई थाहा थियो। म तुरुन्तै गएर झारा टार्नेछु, अनि अगुवा र निर्देशकलाई अडिसनको परिणाम हेर्न दिनेछु। त्यसपछि तिनीहरूले छोडिदिनेछन्। छायाङ्कन गरिने स्थानमा, मैले निर्देशकलाई भनेँ: “अस्ति मैले बरबाद गरेको देख्नुभएन? किन फेरि बोलाउनुभएको?” तिनले भने: “कोही पनि यो भूमिकाको लागि योग्य भेटिएन। हामीले अगुवासँग छलफल गरेर सबै पक्ष विचार गऱ्यौँ। यो निकै महत्त्वपूर्ण चलचित्र हो, र यो भूमिकाको लागि तपाईं एकदमै उपयुक्त हुनुहुन्छ। तपाईं समग्र कामलाई अलिक विचार गरेर एकत्र मनले अडिसनमा आउनुहुन्छ भन्ने मलाई आशा छ।” तिनले चलचित्रको महत्त्वबारे जति धेरै बताए, मलाई यसमा खेल्न त्यति नै डर लाग्यो। आखिर, म यसअघि असफल भइसकेको थिएँ। त्यसकारण, मैले भूमिका बुझ्न सकिनँ वा राम्ररी खेल्न सकिनँ भने के गर्ने? तिनीहरूले जे भने पनि, मैले यो भूमिका खेल्न सक्दिनँ भनेर जोड दिएँ। म यो गर्न सक्दिनँ भनेर निर्देशकलाई देखाउन छिटो र नराम्रो अडिसन दिन्छु भन्ने सोचेँ। त्यसपछि म सुसमाचार सुनाउने काममा फर्केर जान सक्थेँ। त्यो निष्कर्ष निकालेपछि, मलाई अप्ठ्यारो र अलिक डर लाग्यो। यदि यो परमेश्वरबाट आएको हो, र मैले मानिनँ भने, त्यसले उहाँलाई चिढ्याउनेथ्यो। त्यसकारण, मैले यसो भन्दै परमेश्वरलाई प्रार्थना गरेँ: “हे परमेश्वर, तपाईंको इच्छा बुझ्न, त्यसलाई मान्न, र तपाईंविरुद्ध विद्रोह नगर्न मार्गदर्शन गर्नुहोस्।”
भोलिपल्ट भेलामा, अगुवाले परमेश्वरका केही वचनहरू पढे, जसले मलाई साह्रै प्रभाव पारे। परमेश्वरका वचनहरूले भन्छन्: “समर्पणका पाठहरू सबैभन्दा कठिन हुन्छन्, तर ती सबैभन्दा सजिला पनि हुन्छन्। कुन हिसाबमा ती कठिन हुन्छन्? (मानिसहरूमा तिनीहरूको आफ्नै विचार हुन्छ।) मानिसहरूमा विचार हुनु समस्या होइन—कुन व्यक्तिमा चाहिँ विचार हुँदैन र? मानिसहरू सबैमा हृदय र मस्तिष्क हुन्छ, त्यसकारण तिनीहरूमा आ-आफ्नै विचार हुन्छ। यहाँ, समस्या त्यो होइन। त्यसो भए, समस्या के हो त? समस्या मानिसको भ्रष्ट स्वभाव हो। यदि तँमा भ्रष्ट स्वभाव नभएको भए, तँसँग जति नै धेरै विचार भए पनि तँ समर्पित हुन सक्थिस्—ती विचार कुनै समस्या हुने थिएनन्। यदि कसैमा यस्तो समझ छ र ‘सबै कुरामा म परमेश्वरमा समर्पित हुनुपर्छ। म बहाना बनाउनेछैन वा आफ्नै विचारहरूमा जिद्दी गर्नेछैनँ, यस विषयमा म आफै निर्णय गर्नेछैनँ’ भनी भन्छ भने, के उसलाई समर्पित हुन सहज हुँदैन र? यदि व्यक्तिले आफै निर्णय गर्दैन भने, यो ऊ आत्मधर्मी छैन भन्ने कुराको सङ्केत हो; यदि उसले आफ्नै विचारमा जिद्दी गर्दैन भने, यो उसमा समझ छ भन्ने कुराको सङ्केत हो। यदि ऊ समर्पित हुन पनि सक्छ भने, उसले सत्यता अभ्यास हासिल गरेको छ। … यदि परिस्थितिहरू आइपर्दा तँ सधैँ आफै निर्णय गर्न चाहन्छस्, र सधैँ स्पष्टीकरणहरू दिइरहन्छस्, अनि आफ्नै विचारहरूमा जिद कस्छस् भने, यो निकै समस्याजनक हुनेछ। किनभने तैँले जोड दिइरहेका कुराहरू सकारात्मक होइनन्, ती सबै भ्रष्ट स्वभावभित्रका कुरा हुन्। ती सबै कुराहरू भ्रष्ट स्वभावका खुलासा हुन्, र त्यस्तो परिस्थितिमा, तैँले सत्यता खोजी गर्न चाहे पनि, अभ्यास गर्न सक्नेछैनस्, र परमेश्वरलाई प्रार्थना गर्न चाहे पनि, तैँले झारा मात्रै टारिरहेको हुनेछस्। यदि कसैले तँलाई सत्यताबारे सङ्गति गर्थ्यो र तेरो अभिप्रायका दूषणहरू खुलासा गर्थ्यो भने, तैँले कसरी निर्णय गर्नेथिस्? के तँ सहजै सत्यतामा समर्पित हुन सक्थिस्? त्यस्तो बेला, तँलाई समर्पित हुन एकदमै गाह्रो हुने थियो, र तँ समर्पित हुन सक्दैनथिस्। तैँले विद्रोह गरेर स्पष्टीकरण दिने कोसिस गर्थिस्। तैँले यसो भन्नेथिस्, ‘मेरा निर्णयहरू परमेश्वरको घरका लागि हुन्। ती गलत छैनन्। किन तपाईं अझै मलाई समर्पित हुनुपर्छ भनी भन्नुहुन्छ?’ तँ कसरी समर्पित हुन नसक्ने हुन्थिस् भन्ने कुरा देखिस्? अनि त्यसबाहेक, तैँले प्रतिरोध पनि गर्नेथिस्; यो जानीजानी अपराध गर्नु हो! के यो चरम समस्याको कुरा होइन र? जब कसैले तँलाई सत्यताको सङ्गति दिन्छ, तब यदि तैँले सत्यता स्विकार्न सक्दैनस् र जानीजानी अपराध गर्छस्, परमेश्वरविरुद्ध विद्रोह र प्रतिरोध गर्छस् भने, तेरो समस्या निकै गम्भीर छ। तँ परमेश्वरद्वारा खुलासा हुने र हटाइने खतरामा छस्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरमा समर्पित हुनु सत्यता प्राप्त गर्ने आधारभूत पाठ हो)। “भ्रष्ट स्वभावलाई कसरी समाधान गर्न सकिन्छ? पहिलो कुरा तैँले परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति समर्पित हुन सक्छस् कि सक्दैनस्; परमेश्वरले तेरो लागि तय गर्नुहुने विभिन्न परिस्थितिहरूमा तँ समर्पित हुन सक्छस् कि सक्दैनस् भनेर हेर्नुपर्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरमा समर्पित हुनु सत्यता प्राप्त गर्ने आधारभूत पाठ हो)। ठिक त्यही बेला, मलाई निद्राबाट बिउँझेजस्तो लाग्यो। परमेश्वरको वचनले ठ्याक्कै मेरो स्थिति बताइदियो। यसपटक म अभिनय गर्न मानेको थिइनँ। मैले भनेको मानिनँ, र तर्क गरिरहेँ। म पहिले असफल भएको थिएँ, मैले राम्ररी भूमिका खेलेको थिइनँ, तर मैले सुसमाचार सुनाउने काम राम्ररी गरिरहेको थिएँ—त्यसैले किन तिनीहरू मलाई फेरि अभिनय गराउन मरिहत्ते गरिरहेका छन्? अगुवाले व्यक्तिगत आवेगमा यसो गरिरहेका छन् जस्तो मलाई लाग्यो। मैले भ्रष्ट स्वभावमा जिउँदै भनेको मनिनँ। त्यो बेला मलाई व्यक्तिले अडिसन दिन अनुरोध गरिरहेको जस्तो देखिए पनि, वास्तवमा, यो परमेश्वरको योजनाबद्ध कार्य हो भन्ने महसुस भयो। आफ्नै तरिकाले काम गर्नु निकै विद्रोही काम हुनेथ्यो। यो बुझेपछि मेरो मनस्थिति अलिक परिवर्तन भयो। जे भए पनि, मैले भनेको मान्नुपर्थ्यो, यो कर्तव्यलाई गम्भीरतापूर्वक लिनुपर्थ्यो र अडिसनमा सक्दो दिनुपर्थ्यो। अचम्मको कुरो, अडिसनपछि म त्यो भूमिकामा छनौट भएँ।
मैले मेरो भक्तिको समयमा परमेश्वरका वचनहरूको अर्को खण्ड पढेँ। “मानिसहरूले समर्पणको सत्यता कसरी बुझ्नु र जान्नुपर्छ? धेरैजसो मानिस समर्पण भनेको अह्राइएको कुरा गर्नु अनि समस्या आइपर्दा प्रतिरोध वा विद्रोह नगर्नु हो भन्ने ठान्छन्। तिनीहरूका लागि, यो समर्पण हो। मानिसहरू किन परमेश्वर मानिसलाई उहाँप्रति समर्पित हुन लगाउनुहुन्छ, समर्पणको अर्थ के हो, समर्पणको सिद्धान्त के हो, मानिसले कसरी समर्पण गर्नुपर्छ अनि समर्पण गर्दा मानिसमा भएका कुन भ्रष्टताहरू हटाउनुपर्छ भनेर केही पनि बुझ्दैनन्; तिनीहरू नियमहरू मात्र पालन गर्छन्। तिनीहरू यस्तो सोच्छन्, ‘समर्पण भनेको खाना पकाउन अह्राइँदा, भुईँ नबढार्, अनि यदि तँलाई भुईँ बढार्न अह्राइयो भने सिसा सफा नगर्। तँलाई जे गर् भनिएको छ, बस त्यही गर्। त्यति सरल छ। आफ्नो हृदयको कुरालाई चासो नदे, किनकि परमेश्वर यी कुराहरू हेर्नुहुन्न।’ वास्तवमा, परमेश्वर मानिसहरूलाई तिनीहरू उहाँप्रति समर्पित भएकै बेला आफ्नो विद्रोहीपन र भ्रष्टता हटाउन लगाउनुहुन्छ ताकि तिनीहरूले साँचो समर्पण गर्न सकून्। समर्पणको सत्यता यही हो। अन्ततः मानिसहरूले कति बुझ्छन् र जान्दछन्? तिनीहरू परमेश्वरले गर्न अह्राउने सबथोक आफूले गर्नुपर्ने कुरा हुन् भन्ने बुझ्छन्। यसमा परमेश्वरका अभिप्राय हुन्छन्, अनि मानिसहरू विनासर्त उहाँमा समर्पित हुनुपर्छ। यदि कुनै व्यक्तिले यति बुझ्न सक्छ भने, समर्पणको सत्यता बुझ्न अनि परमेश्वरप्रति समर्पित हुन र उहाँलाई सन्तुष्ट पार्न सक्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्य बुझ्नेहरूले मात्र आत्मिक कुराहरू बुझ्छन्)। परमेश्वरको वचन मनन गरेपछि, मैले चिन्तन गर्न थालेँ। म छायाङ्कनमा गए पनि र बाहिरबाट मैले भनेको मानिरहेको जस्तो देखिए पनि, परमेश्वरको वचनको आधारमा, यो साँचो समर्पण थिएन। मैले अझै सत्यता खोज्नु, आफ्नो भ्रष्टतालाई समाधान गर्नु, र सिद्धान्तअनुसार कर्तव्य पूरा गर्नुपर्थ्यो। मैले यसबारे केही विचार गरेँ। यो छायाङ्कनको बेला, म निकै निष्क्रिय भएको थिएँ, र हृदयमा निकै प्रतिकार जाग्थ्यो। कुन भ्रष्ट स्वभावले मलाई नियन्त्रण गरिरहेको थियो?
एक दिन, मैले परमेश्वरको वचनका दुईवटा खण्ड पढेँ जसबाट यो समस्याबारे थाहा पाएँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “ख्रीष्टविरोधीहरूले परमेश्वरको घरका बन्दोबस्तहरू कहिल्यै पालन गर्दैनन्, र तिनीहरूले आफ्नो कर्तव्य, प्रसिद्धि, प्राप्ति र हैसियतलाई सधैँ आशिष्हरू प्राप्त गर्ने आफ्नो आशा र आफ्नो भावी गन्तव्यसित घनिष्ठ रूपले यसरी जोड्छन् कि मानौँ तिनीहरूको प्रतिष्ठा र हैसियत गुम्नेबित्तिकै तिनीहरूले आशिष्हरू पाउने आशा नै रहने छैन, र तिनीहरूको लागि त्यो जीवन गुमाउनुजस्तै हुनेछ। तसर्थ, कसैले तिनीअरूलाई खुट्ट्याउनेछ वा छर्लङ्गै चिन्नेछ र तिनीहरूलाई बर्खास्त गरिनेछ र आशिष् पाउने तिनीहरूको सपना बरबाद हुनेछ भन्ने डरले तिनीहरू परमेश्वरको घरका अगुवा र सेवकहरूबाट सावधान रहन्छन्। तिनीहरू आफूले आशिष्हरू प्राप्त गर्ने आशा राख्नका निम्ति आफ्नो ख्याति र हैसियतलाई जोगाइराख्नुपर्छ भन्ने सोच्छन्। ख्रीष्टविरोधीले आशिष् पाउने कुरालाई स्वर्गहरूभन्दा ठूलो, जीवनभन्दा ठूलो, सत्यताको खोजी, स्वभावजन्य परिवर्तन, वा व्यक्तिगत मुक्तिभन्दा महत्त्वपूर्ण, अनि राम्रोसित कर्तव्य निर्वाह गर्नु र आवश्यक मापदण्ड पूरा गर्ने सृष्टि गरिएको प्राणी बन्नुभन्दा महत्त्वपूर्ण कुराको रूपमा हेर्छ। यस्ता व्यक्तिहरूले आवश्यक मापदण्ड पूरा गर्ने सृष्टिको प्राणी बन्ने, आफ्नो कर्तव्य पालन गर्ने र मुक्ति पाउनेजस्ता सबै कुराहरूलाई क्षुद्र र उल्लेख गर्न वा टिप्पणी गर्नलायक पनि नभएका कुरा ठान्छन् जबकि आशिष्हरू पाउनुचाहिँ तिनीहरूको जीवनमा कहिल्यै बिर्सन नसकिने एउटै मात्र कुरा हुन्छ। तिनीहरूले सामना गर्ने हरेक कुरामा, चाहे त्यो ठूलो होस् वा सानो, तिनीहरूले यसलाई आशिषित् हुने रूपमा हेर्छन् र अत्यन्तै सजग र सचेत रहन्छन्, अनि तिनीहरूले आफ्नो निम्ति उम्कने बाटो सधैँ सुरक्षित छोडिराख्छन्” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु बाह्र: तिनीहरू आफूसँग हैसियत वा आशिष् प्राप्त गर्ने आशा नहुँदा, पछि हट्न चाहन्छन्)। “परमेश्वरप्रति सधैँ शङ्का गर्ने, उहाँको छानबिन गर्ने, उहाँसँग सधैँ लेनदेन गर्ने प्रयास गर्ने—के तिनीहरू इमानदार हृदय भएका मानिसहरू हुन्? (होइनन्।) त्यस्ता मानिसहरूको हृदयमा के बसेको हुन्छ? छलीपन र दुष्टता; तिनीहरूले सधैँ सूक्ष्म जाँच गरिरहेका हुन्छन्। अनि तिनीहरूले के कुराको सूक्ष्म जाँच गर्छन्? (मानिसहरूप्रतिको परमेश्वरको मनोवृत्ति।) तिनीहरूले सधैँ मानिसहरूप्रतिको परमेश्वरको मनोवृत्तिको बारेमा सूक्ष्म जाँच गरिरहेका हुन्छन्। यो कस्तो समस्या हो? अनि तिनीहरूले किन यसरी सूक्ष्म जाँच गर्छन्? किनभने यो तिनीहरूको महत्त्वपूर्ण चासोहरूसँग सम्बन्धित हुन्छ। तिनीहरूले आफ्नो हृदयमा यस्तो विचार गर्छन्, ‘परमेश्वरले नै मेरो लागि यी परिस्थितिहरूको रचना गर्नुभएको हो, उहाँले नै मेरो जीवनमा यो हुन दिनुभएको हो। उहाँले किन यसो गर्नुभयो? अरू मानिसहरूको जीवनमा यस्तो भएको छैन—यो किन मेरो जीवनमा आइलाग्यो? अनि यसपछिका परिणामहरू के हुनेछन्?’ तिनीहरूले सूक्ष्म जाँच गर्ने कुरा यिनै हुन्, तिनीहरूले तिनीहरूका नाफा र घाटाहरू, आशिष् र दुर्भाग्यहरूको सूक्ष्म जाँच गर्छन्। अनि यी कुराहरूको सूक्ष्म जाँच गर्ने क्रममा, के तिनीहरूले सत्यताको अभ्यास गर्न सक्छन्? के तिनीहरू परमेश्वरप्रति समर्पित हुन सक्छन्? सक्दैनन्। … अनि, मानिसहरूले आफ्नै सम्भाव्यता, भाग्य र हितहरूबारे मात्र विचार गर्दा त्यसको परिणाम के हुन्छ? तिनीहरूलाई परमेश्वरप्रति समर्पित सजिलो छैन, र तिनीहरूले इच्छा गरेर पनि त्यसो गर्न सक्दैनन्। विशेष गरी आफ्नै सम्भाव्यता, भाग्य र हितहरूलाई विशेष महत्त्व दिने मानिसहरूले सधैँ परमेश्वरको काम आफ्ना सम्भाव्यता र भाग्यको लागि, र आफूले आशिष्हरू प्राप्त गर्नको लागि लाभदायक छ कि छैन भनी अनुसन्धान गर्छन्। अन्त्यमा, तिनीहरूको अनुसन्धानको परिणाम के हुन्छ? तिनीहरूले परमेश्वरविरुद्ध विद्रोह गर्ने र उहाँको विरोध गर्ने काम मात्रै गर्छन्। तिनीहरूले आफ्ना कर्तव्यहरू निभाउन जोड गर्दा पनि, तिनीहरूले झारा टार्ने तरिकाले अनि नकारात्मक मनस्थितिमा रहेर काम गर्छन्; तिनीहरूले आफ्नो हृदयमा कसरी फाइदा लिने, र घाटामा नपर्ने भनेर मात्र सोचिरहेका हुन्छन्। तिनीहरूले आफ्ना कर्तव्य निभाउँदा यस्तै मनसाय राखेका हुन्छन्, र यस क्रममा, तिनीहरूले परमेश्वरसँग लेनदेन गर्ने प्रयास गरिरहेका हुन्छन्। यो कस्तो स्वभाव हो? यो छलीपन हो, यो एउटा दुष्ट स्वभाव हो। यो अब साधारण भ्रष्ट स्वभावमा मात्रै सीमित रहँदैन, बरु बढेर दुष्टतामा परिणत भइसकेको हुन्छ। जब कुनै व्यक्तिको हृदयमा यस्तो दुष्ट स्वभाव हुन्छ, तब यो परमेश्वरविरुद्धको सङ्घर्ष बन्छ! तिमीहरूलाई यो समस्याको बारेमा स्पष्ट थाहा हुनुपर्छ। यदि मानिसहरूले आफ्ना कर्तव्य निभाउँदा सधैँ परमेश्वरको सूक्ष्म जाँच गरिरहेका र उहाँसँग कारोबार गर्ने प्रयास गरिरहेका हुन्छन् भने, के तिनीहरूले राम्ररी आफ्ना कर्तव्य निभाउन सक्छन् र? अवश्य सक्दैनन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता सिद्धान्तहरू खोजी गरेर मात्र व्यक्तिले राम्रोसित आफ्नो कर्तव्य निभाउन सक्छ)। परमेश्वर हामीलाई भन्नुहुन्छ, ख्रीष्टविरोधीहरू कहिल्यै परमेश्वरको घरका बन्दोबस्तहरूमा समर्पित हुँदैनन्, तर आफूलाई जे मन लाग्यो त्यही गर्छन्। तिनीहरू देखावटी त्याग र प्रयासहरूलाई सुन्दर गन्तव्यसँग साट्न चाहन्छन्, तर हैसियत वा सौभाग्य प्राप्त नहुँदा, लापरवाह र निष्क्रिय बन्छन्, अनि आफ्नो कर्तव्य इन्कार गर्छन्। मेरो स्थित परमेश्वरले बताउनुभएको जस्तै छ भन्ने देखेँ। मलाई यो भूमिका खेल्न अनुरोध गरिँदा, मैले आफ्नै भविष्यबारे मात्रै सोचेँ। सुसमाचार प्रचारमा म सफल भएको छु, त्यसैले त्यही काम गरेर मैले विगतका गल्तीको परिपूर्ति गर्न धेरै असल कार्य गर्नेछु, र मेरो गन्तव्यलाई ग्यारेन्टी दिनेछु भन्ने सोचेँ। तर, अभिनेताको रूपमा म पहिले नै एकपटक असफल भइसकेको थिएँ, र यसपटक म सफल हुन्छु-हुँदिन थाहा थिएन। मैले राम्रो गरिनँ र छायाङ्कनमा बाधा दिएँ भने, त्यो अर्को अपराध मात्रै हुनेथिएन, तर मैले सुसमाचार सुनाउने मेरा सबै सुकर्ममा ढिलाइ गर्नेथिएँ। यो कुरा सार्थक थिएन। विगतको असफलतालाई कर्तव्यबाट पछि हट्ने बहानाको रूपमा प्रयोग गर्दै मैले यो काम नगर्ने कारणहरू खोज्ने प्रयास गरेँ। पछि म झारा टारेर यसबाट निस्कने इच्छा गर्दै मन नलागी-नलागी अडिसनमा गएँ। त्यो बेला म नै सबैभन्दा उचित व्यक्ति हुँ भनेर निर्देशक एकदमै स्पष्ट थिए। तर मैले मण्डलीको कामका आवश्यकताहरूलाई पटक्कै ध्यान दिइनँ। मैले कुन कर्तव्यले मलाई सबैभन्दा बढी फाइदा गर्छ भन्ने मात्रै सोचेँ, र सारा हिसाब-किताब गरेपछि, मलाई अभिनेता बनेर भन्दा सुसमाचार सुनाएर आफ्नो गन्तव्यलाई पक्का गर्न सक्छु जस्तो लाग्यो। त्यसकारण, मैले प्रतिकार गर्दै भूमिका इन्कार गरेँ। मैले आफ्नो कर्तव्यमा फाइदा लिने र घाटा नबेहोर्ने प्रयास गरेँ। मण्डलीले कामका आवश्यकताहरूको आधारमा कर्तव्य मिलाइरहेको थियो, र मैले त्यो मान्नुपर्थ्यो। तर मैले त व्यापारीले जस्तो व्यवहार गर्दै, चलचित्र गर्दा फाइदा हुन्छ कि हुँदैन भन्ने सोचेँ। मैले आफ्नो घृणित मनसायलाई लुकाउन यी सबै आदरणीय लाग्ने कारणहरू खोजेँ। मैले छली स्वभाव मात्रै होइन, तर दुष्ट स्वभाव पनि प्रकट गरिरहेको थिएँ, परमेश्वरसँग लेनदेन गरेँ र खेल खेलेँ। पहिले, मैले सुसमाचार सुनाउनु नै परमेश्वरको इच्छा बुझ्नु हो भन्ठान्थेँ। तर अहिले थाहा भयो, म आफ्नो गलत कार्यको प्रायश्चित गर्न, छायाङ्कनको क्रममा मैले गरेको अपराधलाई परिपूर्ति गर्न, र त्यो महिमित गन्तव्य पाउन मात्रै धेरै मानिसहरूलाई विश्वासमा ल्याउन चाहन्थेँ। मैले आशिष् पाउन आफ्नो कर्तव्य प्रयोग गरिरहेको थिएँ। पावललाई दमस्कसको बाटोमा ठूलो ज्योतिले प्रहार गरेपछि, तिनले आफ्ना गल्तीहरू ढाक्न र सट्टामा धार्मिकताको मुकुट पाउन सुसमाचार सुनाउन चाहेका थिए भनेर मैले सम्झेँ। कर्तव्य निर्वाह गर्नुपछाडिको मेरो अभिप्राय कसरी पावलको भन्दा फरक थियो र? म अत्यन्तै असमझदार भइरहेको थिएँ। म पावलजस्तै परमेश्वरविरुद्धको बाटोमा थिएँ। यो महसुस गरेपछि, मलाई आफू घृणित छु भन्ने लाग्यो। घृणाले मैले आफैलाई थप्पड हानेँ। आँसु झार्दै परमेश्वरलाई प्रार्थना गरेँ: “हे परमेश्वर! मलाई थाहा भयो, मैले आफ्नो कर्तव्यमा तपाईंसँग लेनदेन गरेको छु, म छली र दुष्ट भएको छु। यतिका वर्ष विश्वासमा रहेर पनि, मैले अझै तपाईंसँगको सम्बन्धमा खेल खेलिरहेको रहेछु। शैतानले मलाई यति भ्रष्ट तुल्याएको रहेछ कि ममा कुनै मानव स्वरूप छैन—बिन्ती छ, मलाई बचाउनुहोस्!” पछि, मैले परमेश्वरका केही वचन पढेँ: “तिमीहरूको गन्तव्य र तिमीहरूको भाग्य तिमीहरूको निम्ति धेरै महत्वपूर्ण छन्—ती गम्भीर चासोको कुरा हुन्। तिमीहरू विश्वास गर्छौ कि यदि तिमीहरूले ठूलो सावधानीका साथ कामहरू गरेनौ भने यसको अर्थ तिमीहरूसित गन्तव्य हुनेछैन, तिमीहरूले आफ्नै भाग्यलाई नाश गरेका हुनेछौ भन्ने हुन्छ। तर केवल आफ्नो गन्तव्यको खातिर मात्र श्रम गर्ने मानिसहरूले व्यर्थमा कडा परिश्रम गरिरहेका छन् भन्ने कुरा कहिल्यै तिमीहरूको मनमा आएको छ? त्यस्ता प्रयासहरू विशुद्ध छैनन्, ती नकली कार्य र छल हुन्। यदि त्यसो हो भने, जसले केवल आफ्नो गन्तव्यको खातिर मात्र काम गर्छन्, तिनीहरू आफ्नो अन्तिम पराजयको सँघारमा छन् किनभने परमेश्वरप्रति विश्वासमा छलद्वारा नै असफलता आउँछ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। गन्तव्यको सम्बन्धमा)। “अन्त्यमा, मानिसहरूले मुक्ति प्राप्त गर्न सक्छन् कि सक्दैनन् भन्ने कुरा तिनीहरूले पूरा गर्ने कर्तव्यमा होइन, बरु तिनीहरूले सत्यता बुझ्न र प्राप्त गर्न सक्छन् कि सक्दैनन् र तिनीहरू अन्त्यमा परमेश्वरमा पूर्ण रूपमा समर्पित हुन, आफैलाई उहाँका योजनाबद्ध कार्यहरूको कृपामा छोड्न, भविष्य र नियतिको बारेमा केही नसोच्न र सृष्टि गरिएको योग्य प्राणी बन्न सक्छन् कि सक्दैनन् भन्ने कुरामा निर्भर रहन्छ। परमेश्वर धर्मी र पवित्र हुनुहुन्छ र उहाँले सबै मानवजातिलाई मापन गर्न प्रयोग गर्नुहुने मानकहरू यिनै हुन्। यी मानकहरू अपरिवर्तनीय छन् र तैँले यो सम्झनैपर्छ। यी मानकहरूलाई दिमागमा खोपेर राख्, र कुनै अवास्तविक कुरालाई पछ्याउन अर्को बाटो पत्ता लगाउनेबारेमा जुनसुकै बेलामा नसोच्। मुक्ति प्राप्त गर्न चाहने सबैलाई परमेश्वरले दिनुभएका सर्त र मापदण्डहरू कहिले पनि परिवर्तन हुँदैनन्। तिमीहरू जोसुकै भए तापनि ती उस्तै रहन्छन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरको वचनबाट, मैले के बुझेँ भने यदि हामी असल गन्तव्य पाउन मात्रै प्रयास गर्छौँ भने, गुप्त मनसाय र लेनदेनद्वारा कर्तव्य निर्वाहको प्रक्रियालाई अशुद्ध तुल्याउँछौँ। हामी परमेश्वरप्रति सच्चा र आज्ञाकारी हुन सक्दैनौँ, हाम्रो स्वभाव परिवर्तन हुनेछैन, र परमेश्वरको अनुमोदन प्राप्त गर्नेछैनौँ। मैले हृदय शान्त पारेर आफ्नो अनुभवबारे सोचेँ। छायाङ्कनमा असफल भएपछि, मलाई मैले त्यो कर्तव्य राम्ररी पूरा गरिनँ, काममा ढिलाइ गरेर अपराध गरेँ भन्ने लाग्यो, त्यसकारण मलाई आफ्नो गन्तव्यको चिन्ता लाग्यो। म आफ्ना गल्तीहरूको प्रायश्चित गर्न सुसमाचार प्रचारमा लागिपरेँ। मैले केही मानिसहरूलाई विश्वासमा ल्याएपछि, म परमेश्वरप्रति समर्पित छु र असल गन्तव्य पाउने आशा पाएको छु भन्ने सोचेँ। मैले सत्यता खोजिनँ वा यसअघि म किन असफल भएँ भनेर मनन गरिनँ। सुसमाचार प्रचार गर्दा मैले देखाएको भ्रष्टता, मैले सिद्धान्तहरू उल्लङ्घन गरेका तरिकाहरू र ममा भएका गलत दृष्टिकोणहरूको सन्दर्भमा भन्नुपर्दा, मैले यीबारे पनि मनन गरिनँ। केही काम गर्न र हरेक दिन प्रचार गर्नमा नै म सन्तुष्ट थिएँ, र मेरो भ्रष्ट स्वभाव परिवर्तन भएन। म आफूले हासिल गरेको थोरै कुरामा नै निकै खुसी थिएँ। म झन्-झन् अहङ्कारी बन्दै गएँ, र आशिष पाउने मेरो इच्छा दह्रिलो भएको थियो। पावलले कसरी धेरैलाई विश्वासमा ल्याएका थिए, तर प्रचार गर्दा, तिनले प्रभु येशूको वा परमेश्वरको वचनको गवाही कहिल्यै दिँदैनथे भनेर मैले सम्झेँ। तिनले केवल आफूलाई उचाले र देखाए, र तिनको स्वभाव झन्-झन् अहङ्कारी भयो। तिनले आफ्नो प्रकृति र सारले परमेश्वरलाई कसरी विरोध गरेको छ भनेर कहिल्यै बुझेनन्, र अन्तिममा तिनले आफ्नो काम, कष्ट, र मानिसहरूलाई विश्वासमा ल्याएको कार्यलाई परमेश्वरबाट धार्मिकताको मुकुट खुलेआम माग्न प्रयोग गरे। अन्त्यमा, तिनले आफू नै ख्रीष्ट भएको गवाहीसमेत दिए र तिनी परमेश्वरबाट दण्डित र श्रापित भए। म पनि पावलजस्तै असफलताको मार्गमा छु, र यो अत्यन्तै खतरनाक कुरा हो भन्ने मलाई थाहा भयो। परमेश्वरले मलाई अर्को छायाङ्कनमा सहभागी हुन दिएर अर्को मौका दिइरहनुभएको थियो। यो वातावरणमा, म मनन गर्न र आफ्नो गलत दृष्टिकोणलाई केही मात्रामा बुझ्न सक्थेँ। मेरो लागि, यो सबै उहाँले मलाई दिनुभएको मुक्ति थियो। तर मैले त्यो कुरा बुझेको थिइनँ। मलाई चलचित्रमा खेल्दा सुसमाचार सुनाउन र असल काम गर्न पाउदिनँ भन्ने लागेको थियो। मैले असल र खराब चिनेको रहेनछु। म साह्रै अन्धो र मूर्ख थिएँ! यो बुझेपछि, मलाई पछुतो भयो, र परमेश्वरप्रति कृतज्ञ भएँ। मैले परमेश्वरलाई धन्यवाद दिन प्रार्थना गरेँ।
मैले भक्तिको समयमा अझै धेरै परमेश्वरको वचन पढेँ। ती वचनले मलाई परमेश्वरको इच्छा बुझ्न सहयोग गरे, र हिँड्ने मार्ग दिए। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “मानिसको कर्तव्य र उसले आशिष्हरू पाउँछ कि दुर्भाग्य भोग्छ भन्ने बीच कुनै अन्योन्याश्रित सम्बन्ध छैन। दायित्व भनेको मानिसले पूरा गर्नुपर्ने कुरा हो; यो उसको स्वर्गबाट पठाइएको कार्य हो, र यो भरणपोषण, सर्तहरू, वा तर्कहरूमा निर्भर हुनुहुँदैन। तब मात्रै उसले आफ्नो दायित्व पूरा गर्दै हुन्छ। आशिष्हरू प्राप्त गर्नुले कसैले न्यायको अनुभव गरिसकेपछि सिद्ध बनाइनु र परमेश्वरको आशिषहरू प्राप्त गर्नुलाई जनाउँछ। दुर्भाग्य भोग्नु भन्नाले सजाय र न्याय भोगिसकेपछि पनि कसैको स्वभाव परिवर्तन नहुनुलाई जनाउँछ हो; तिनीहरूले सिद्ध बनाइएको अनुभव गर्दैनन् र तिनीहरू दण्डित हुन्छन्। तर चाहे तिनीहरूले आशिष्हरू पाऊन् वा दुर्भाग्य भोगून्, सृष्टि गरिएका प्राणीहरूले आफूले गर्नुपर्ने कार्य गर्दै, र आफूले गर्न सक्ने कार्य गर्दै आफ्नो दायित्वलाई पूरा गर्नुपर्छ; कुनै पनि व्यक्ति, जो परमेश्वरको पछि लाग्छ, उसले गर्नुपर्ने न्यूनतम कार्य यही हो। तैँले आशिष्हरू प्राप्त गर्नका लागि मात्रै आफ्नो कर्तव्य पूरा गर्नु हुँदैन, र तैँले दुर्भाग्य भोग्नुपर्ने डरले कार्य गर्न इन्कार गर्नु हुँदैन। म तिमीहरूलाई यो एउटा कुरा बताउन चाहन्छु: मानिसले पूरा गर्ने आफ्नो दायित्व भनेको उसले गर्नुपर्ने कार्य हो, र यदि ऊ आफ्नो दायित्व पूरा गर्न असक्षम छ भने, यो उसको विद्रोह हो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। देहधारी परमेश्वरको सेवकाइ र मानिसको दायित्व बीचको भिन्नता)। “यदि तैँले सत्यताको खोजी गर्छस् भने, यदि तैँले सत्यता अभ्यास गर्छस् भने, र यदि तैँले आफ्नो स्वभावमा परिवर्तन हासिल गर्छस् भने, तैँले हिँड्ने मार्ग सही छ। यदि तैँले देहका आशिष्हरूको खोजी गर्छस् भने, र तैँले तेरा आफ्नै धारणाहरूको सत्यता अभ्यास गर्छस् भने, र यदि तेरो स्वभावमा कुनै परिवर्तन आएको छैन, र देहमा हुनुभएका परमेश्वरप्रति तँ पटक्कै समर्पित छैनस्, र तँ अझै अस्पष्टतामै जिउँछस् भने, तैँले जे कुराको खोजी गर्छस् त्यसले तँलाई अवश्य नै नरक लैजानेछ, किनभने तैँले हिँड्ने मार्ग असफलताको मार्ग हो। तँलाई सिद्ध पारिनेछ कि हटाइनेछ भन्ने कुरा तेरो आफ्नै खोजीमा निर्भर हुन्छ, भन्नुको अर्थ सफलता वा असफलता मानिसले हिँड्ने मार्गमै निर्भर हुन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ)। कुनै व्यक्तिले जुनै कर्तव्य पूरा गरे पनि, यो परमेश्वरको एउटा प्रबन्ध हो, उसले पूरा गर्नुपर्ने जिम्मेवारी हो, र सृष्टि गरिएको प्राणीले गर्नुपर्ने कुरा हो। आशिष वा श्राप पाउनुसँग यसको कुनै सम्बन्ध छैन। मण्डलीले मलाई जुनसुकै कर्तव्य दिए पनि, चाहे म यसमा सिपालु नभए पनि वा म पहिले असफल भएको भए पनि, मैले पहिला यसलाई सुरुमा स्वीकार गरेर मान्नुपर्थ्यो, त्यसपछि त्यो कर्तव्य कसरी राम्ररी पूरा गर्ने र कुन सिद्धान्त बुझ्ने त्यो खोजी गर्नुपर्थ्यो अनि त्यसमा सारा हृदय लगाउनुपर्थ्यो। त्यसपछि, मैले कुनै कुरा गर्न सकिनँ भने, परमेश्वरलाई प्रार्थना गर्नुपर्थ्यो, अनि अरूसँग खोजी र सङ्गति गर्नुपर्थ्यो। ममा हुनुपर्ने समझ त्यही हो। मैले व्यक्तिगत हितको आधारमा आफ्नो कर्तव्य छनौट गर्नु हुँदैन, र यसलाई आशिष पाउनुसँग पटक्कै जोड्नु हुँदैन। यो त आमाबुबाप्रति छोराछोरी कर्तव्यनिष्ठ हुनु जस्तै हो—यो जिम्मेवारी हो। मण्डलीलाई मानिसहरूको सहकार्य चाहिएको बेला मैले कर्तव्य इन्कार गरेँ, यसरी म आफ्नो जिम्मेवारी पूरा गर्न असफल भएँ। मैले परमेश्वरको अवज्ञा गरेँ। सधैँ म आफ्ना धारणा र कल्पनाहरूमा जिइरहेको थिएँ। आफ्ना गल्तीहरूलाई ढाक्न अझै धेरै मानिसहरूलाई विश्वासमा ल्याउनु सत्यता अभ्यास गर्नु हो, र जति धेरैलाई विश्वासमा ल्याएँ, त्यति धेरै अपराध ढाकिन्छ भन्ने म सोच्थेँ। तर मैले परमेश्वरको इच्छा बुझेको थिइनँ। मानिसहरूले आफ्नो कर्तव्य पूरा गर्ने क्रममा सत्यता खोजून् र तिनीहरूले जस्तोसुकै गल्ती गरेका वा जुनसुकै भ्रष्टता देखाएका भए पनि, आत्म-चिन्तन गरून्, पश्चात्ताप गरून्, र परिवर्तन होऊन्, परमेश्वरलाई श्रद्धा गर्न र उहाँमा समर्पित हुन, र सत्यताको सिद्धान्तअनुसार काम गर्न सकून् भन्ने परमेश्वर चाहनुहुन्छ। परमेश्वरको इच्छाअनुसार आफ्नो कर्तव्य पूरा गर्नु त्यसरी नै हो। यदि हामी परमेश्वरको आशिष पाउन मात्र आफ्ना गल्तीहरूको प्रायश्चित गर्न चाहन्छौँ भने, हाम्रो समर्पण सच्चा हुँदैन। हामीले परमेश्वरलाई धोका दिइरहेका हुन्छौँ र उहाँको अनुमोदन पाउनेछैनौँ। मैले सुसमाचार सुनाउने केही ब्रदर-सिस्टरहरूको अनुभव सुनेको थिएँ। तिनीहरू आफ्नो कर्तव्यमा असफल भएका र ठक्कर खाएका, वा बर्खास्तसमेत भएका थिए। तर पछि, तिनीहरूले आफ्नो भ्रष्ट स्वभाव र असफलताको जडबारे सिक्न परमेश्वरको वचन पढेका थिए। त्यसपछि तिनीहरूले मनन गरेर अभ्यासका सिद्धान्तहरू भेट्टाउन सके, र त्यस्तै परिस्थिति आइपर्दा तिनीहरू परिवर्तन हुन सके, र सत्यता अभ्यासको गवाही पाउनेथिए। तर म भनेँ, हरेक दिन सुसमाचार सुनाए पनि, यो असल गन्तव्य पाउन आफ्ना गल्तीहरूको प्रायश्चित गर्नलाई मात्रै थियो। यो लेनदेन, साटफेर मात्रै थियो। म परमेश्वरमा समर्पित भइरहेको थिइनँ र मसँग सत्यता अभ्यासको गवाही थिएन। मलाई लाज लाग्यो।
पछि, मैले परमेश्वरका अझै धेरै वचनहरू पढेँ: “व्यक्तिको परिणाम वा गन्तव्य उसको आफ्नै इच्छाद्वारा निर्धारित हुँदैन, न त उनीहरूको आफ्नै झुकाउ वा कल्पनाहरूद्वारा नै हुन्छ। अन्तिम निर्णय सृष्टिकर्ता, परमेश्वरको हुन्छ। यस्ता मामिलाहरूमा मानिसहरूले कसरी सहकार्य गर्नुपर्छ? मानिसहरूले चुन्न सक्ने एउटा मात्र बाटो छ: यदि तिनीहरू सत्यता खोजी गर्छन्, सत्यता बुझ्छन्, परमेश्वरको वचन पालन गर्छन्, परमेश्वरप्रतिको समर्पण हासिल गर्छन् र मुक्ति प्राप्त गर्छन् भने मात्र तिनीहरूले राम्रो अन्त्य र राम्रो भाग्य प्राप्त गर्नेछन्। यदि मानिसहरूले यसको विपरीत गर्छन् भने तिनीहरूको सम्भावना र भाग्य के हुनेछ भनेर कल्पना गर्न कठिन छैन। यसैले, यस मामिलामा, परमेश्वरले मानिससित गर्नुभएको प्रतिज्ञा, मानवजातिको परिणामबारे परमेश्वरले के भन्नुहुन्छ, र परमेश्वरले मानवजातिको लागि के तयार पार्नुभएको छ त्यसमा ध्यान नदे। तँसित यी कुराको कुनै सम्बन्ध छैन, ती परमेश्वरका काम हुन्, तैँले ती खोस्न, माग्न, वा साटफेर गर्न मिल्दैन। सृष्टि गरिएको प्राणीको नाताले तैँले के गर्नुपर्छ? तैँले आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ, र आफूले जे गर्नुपर्ने हो त्यो तैँले आफ्नो सम्पूर्ण मन, मस्तिष्क र सामर्थ्यले पूरा गर्नुपर्छ। बाँकी—सम्भाव्यताहरू र नियति, अनि मानवजातिको भविष्यको गन्तव्यसित सम्बन्धित कुराहरू—यी तैँले निर्णय गर्न सक्ने कुराहरू होइनन्, ती परमेश्वरको हातमा छन्; यो सबै सृष्टिकर्ताको सार्वभौमिकता अन्तर्गत पर्छ, यो उहाँद्वारा प्रबन्ध गरिएको हुन्छ, र कुनै पनि सृष्टि गरिएको प्राणीसँग यसको कुनै सम्बन्ध हुँदैन” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग नौ))। मैले परमेश्वरको वचनबाट के थाहा पाएँ भने, असल भाग्य र गन्तव्य पाउने एकमात्र तरिका भनेको कर्तव्यमा सत्यताको पछि लाग्नु, परमेश्वरको वचन सुन्नु र पछ्याउनु, अनि आफ्नो कर्तव्यमा सारा हृदय लगाउनु हो। मैले पात्रको भावनाबारे नसोचेको हुनाले म यसअघिको छायाङ्कनमा असफल भएको थिएँ। म अहङ्कारी थिएँ र मैले सिद्धान्त खोजिनँ। म अरूको सुझाव स्विकार्न तयार थिइनँ, तर आफ्नै बुझाइअनुसार काम गर्थेँ। यति अहङ्कारी भएर मैले कसरी कर्तव्य राम्ररी पूरा गर्न सक्थेँ र? मैले अभ्यासको मार्ग खोज्ने क्रममा, परमेश्वरका वचनहरूको यो खण्ड देखेँ: “व्यक्तिले आफूले गर्ने हरेक कुरा अरूसँग छलफल गर्नुपर्छ। अरू सबैले के भन्छन् पहिले त्यो सुन्। यदि बहुसङ्ख्यक मानिसहरूको दृष्टिकोण सही छ र सत्यताअनुरूप छ भने, तैँले यसलाई मान्नुपर्छ र तँ यसलाई पालन गर्नुपर्छ। तैँले जे गरे पनि, ठूलाठूला कुरा गर्नु हुँदैन। कुनै पनि मानिसको समूहमा ठूलाठूला कुरा गर्नु राम्रो होइन। … तैँले सुझावहरू दिँदै र आफ्ना दृष्टिकोणहरू व्यक्त गर्दै बारम्बार अरूसँग सङ्गति गर्ने गर्नुपर्छ—यो तेरो कर्तव्य र तेरो स्वतन्त्रता हो। तर अन्त्यमा, जब निर्णय गर्नुपर्ने हुन्छ, तब यदि तैँले मात्रै अन्तिम निर्णय गर्छस्, र अरू सबैलाई तैँले भनेको जस्तो गर्न र तेरो इच्छाअनुसार चल्न लगाउँछस् भने, तैँले सिद्धान्तहरू उल्लङ्घन गरिरहेको हुन्छस्। बहुसङ्ख्यकको इच्छा के हो तैँले त्यसको आधारमा सही कुरा छनौट गर्नुपर्छ, र त्यसपछि अन्तिम निर्णय गर्नुपर्छ। यदि बहुसंख्यकको सुझाव सत्यता सिद्धान्तहरूअनुरूप छैन भने, तैँले सत्यतामा जोड दिनुपर्छ। यो मात्र सत्यता सिद्धान्तहरूअनुरूप हुन्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। मैले परमेश्वरको वचन पछ्याउनुपर्छ, आफूलाई पन्छाउनुपर्छ, अरूसँग कामकुराबारे छलफल गर्नुपर्छ, तिनीहरूको सुझाव सुन्नुपर्छ, र सत्यताको सिद्धान्त पछ्याउने र मण्डलीको कामलाई फाइदा पुऱ्याउने व्यक्तिहरूको विचार स्विकार्नुपर्छ। यो सत्यता स्वीकार गर्ने मनोवृत्ति हो। यो बुझेपछि मलाई स्वतन्त्र महसुस भयो र अभ्यासको मार्ग भेट्टाएँ। त्यसपछि छायाङ्कन गरेको हरेक दृश्यमा, म पात्रको मानस्थिति र भावनालाई ध्यान दिन्थेँ, र निर्देशकसँग ती छलफल गर्थेँ। कहिलेकाहीँ, मेरो सोचाइसँग नमिल्ने सुझाव सुन्दा र आफ्नै विचारमा लाग्न मन लाग्दा, म आफूलाई शान्त पार्थेँ, प्रार्थना गर्थेँ, र आफूलाई पन्छाउँथेँ, अनि अगुवा र निर्देशकसँग सिद्धान्तहरू खोज्थेँ। त्यसपछि, अर्को व्यक्ति सही रहेछ भन्ने मलाई थाहा हुन्थ्यो। यसरी केही समयसम्म अभ्यास गरेपछि, मलाई आफूमा धेरै त्रुटिहरू रहेछन् भन्ने महसुस भयो, र यति अहङ्कारी हुन छोडेँ। कहिलेकाहीँ, म अझै जिद्दी गर्थेँ, तर मैले आफूलाई इन्कार गर्न सिकेँ, र अरूको धेरै सुझाव लिएँ। जब म आफ्नो कर्तव्यमा मन लगाउँछु, तब त्यो भूमिका कसरी निभाउने भनेर साँच्चै सोच्न सक्छु, र राम्रो नगरेकोमा दोष दिइन्छ भनेर चिन्ता गर्दिनँ। मैले आफ्नो सोचाइलाई सुधारेँ। मलाई आफ्नो कर्तव्य राम्ररी पूरा गर्नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो भन्ने लाग्थ्यो, र त्यसरी कर्तव्य पूरा गर्दा मलाई शान्ति महसुस हुन्थ्यो। हामीले दिएको हरेक प्रस्तुतिमा मैले अभिनय राम्ररी गर्न सबथोक लगाएँ। कहिलेकाहीँ हामीले निकैपटक शट लिनुपर्थ्यो। निर्देशकले ठिक छ भने पनि, मलाई अझै राम्रो गर्न सक्छु कि जस्तो लाग्थ्यो, त्यसैले फेरि गर्न सबथोक लगाउँथेँ। आफ्नो सर्वस्व सुम्पेर कुनै पनि दृश्यको निम्ति नपछुताउने एकमात्र उपाय त्यही थियो। यसो गरेपछि, कसरी भूमिका खेल्ने क्रमिकरूपमा बुझ्दै गएँ, र सुरुमा खेल्न गाह्रो लागेका भावनात्मक दृश्यहरू सजिलो हुँदै गए। यो सबै परमेश्वरको डोऱ्याइले भएको हो भन्ने मलाई थाहा थियो। म हरेक शटपछि प्रार्थना गर्थेँ, परमेश्वरलाई डोऱ्याइको लागि प्रशंसा र धन्यवाद दिन्थेँ।
यस अनुभवबाट मैले सिकेँ भने, मेरो परिस्थिति मेरो धारणासँग मिले पनि नमिले पनि, यो सबै परमेश्वरबाट आउँछ। मेरो धारणासँग यो जति मिल्दैन, मैले यसलाई त्यति नै स्वीकार गर्नुपर्छ, परमेश्वरको इच्छा खोज्नुपर्छ, र उहाँको योजनाबद्ध कार्यहरूमा समर्पित हुनुपर्छ।