आफ्‍नो स्थान पत्ता लगाउनु महत्त्वपूर्ण छ

25 फेब्रुअरी 2023

एकपटक च्याट भइरहेको बेला एक जना मण्डली अगुवाले यसो भनेको सुनेँ, “सिस्टर गाओको क्षमता राम्रो छ, उनी कुरा राम्ररी बुझ्छिन्, र सत्यतामा व्यावहारिक सङ्गति गर्छिन्। म उनलाई मण्डलीको कामका लागि तालिम दिने योजना बनाउँछु।” अगुवाको कुरा सुनेपछि म दुःखी नभई रहनै सकिनँ। विगतमा सिस्टर गाओ र म दुवै सामान्य काम गर्ने गर्थ्यौँ, तर अहिले उनी अगुवा हुनेवाला थिइन्, म भने अझै साधारण काम गरिरहेकी हुनेथिएँ। म किन यति पछि परेकी? बिहानभरि म निराश थिएँ, र आफ्‍नो कर्तव्यमा मेरो मन थिएन। पछि, सिस्टर गाओ सरुवा भएर गइन्, र अगुवाले मलाई सिस्टर गाओको पुरानो काम गर्न, साथै साधारण कामको सुपरभाइजर हुन चाहनुहुन्छ कि भनेर सोधिन्। त्यो बेला, मलाई अलिक नरमाइलो लाग्यो। मैले सुपरभाइजरको पद पाउने भए पनि यो साधारण काम नै थियो। मैले यसलाई जति नै राम्ररी गरे पनि कसैले थाहा पाउनेथिएन, तर अगुवा हुँदा त्यस्तो हुनेथिएन, अगुवालाई मण्डलीले जगेर्नाका लागि ध्यान दिन्छ र ब्रदर-सिस्टरहरू सबैले आदर गर्छन् र साथ दिन्छन्। मलाई साधारण काम सानो हो भन्‍ने लाग्थ्यो, त्यसकारण मलाई साँच्‍चै त्यो स्विकार्न मन लागेन। मैले सोचेँ, “यदि मैले यो कर्तव्य लिएँ भने ब्रदर-सिस्टरहरूले मलाई के सोच्‍नेछन्? के तिनीहरूले मैले सत्यता नपछ्याई वा प्रगति नगरी परमेश्‍वरमा वर्षौ विश्‍वास गरेकोले गर्दा, सधैँ साधारण काम गर्दै आएकी छु भनेर सोच्नेछन्? यो त निकै लाजमर्दो कुरा हुनेछ!” तर फेरि सोच्दा के लाग्यो भने यो कर्तव्य परमेश्‍वरकै अनुमतिमा आएको हो। यो मेरा इच्‍छाहरूअनुरूप नभए पनि यसमा म समर्पित हुनुपर्थ्यो र व्यक्तिगत रुचिअनुसार चल्नु हुँदैनथियो, त्यसकारण मैले यो कर्तव्य स्वीकार गर्न इच्‍छुक छु भन्दै अगुवालाई मन नलागी-नलागी भनेँ।

केही समयपछि, अगुवाले यसो भनेको सुनेँ, “ब्रदर वाङको क्षमता राम्रो छ, र तिनको जीवन प्रवेशमा अलिक मेहनत गरियो भने तिनलाई जगेर्ना गर्न सकिन्छ।” यो सुनेपछि, मलाई झनै नरमाइलो लाग्यो। म ब्रदर वाङको कामको सुपरभाइजर थिएँ, र तिनलाई समेत अगुवाले जगेर्ना गर्न चाहेकी थिइन्, तर किन कसैले मेरो नाम उल्‍लेख गरेका थिएनन्? म तिनको कामको सुपरभाइजर थिएँ, तर मलाई बढुवा गरिएन, वास्तवमा म जहीँको त्यहीँ थिएँ। अरूले मलाई कुन नजरले हेर्छन्? के म त्यति खराब छु? मसँग काम व्यवस्थापन गर्ने, समस्याहरू पत्ता लगाउने र समाधान गर्ने क्षमता थियो। कहिलेकहीँ, अगुवाले कामकुराबारे छलफल गर्दा, म केही विचार व्यक्त गर्न र सुझावहरू दिन सक्थेँ। किन अगुवाले मेरा सबल पक्षहरूलाई देख्‍न सकिनन्? अगुवाले मेरो नाम लिएर म बढुवाका लागि योग्य छु, तर साधारण कामको रेखदेखका लागि मेरो आवश्यकता छ भनिदिएको भए म खुसी हुनेथिएँ। त्यसो हुँदा म त्यति खराब छैनँ भन्‍ने प्रमाणित हुनेथियो, र मलाई राम्रो लाग्‍नेथियो। ती दिनहरूमा, त्यो कुराबारे सोच्दा म निकै खिन्न हुन्थेँ। मेरो जोसजाँगर पूरै हराएको थियो, म ब्रदर-सिस्टरहरूसँग कुरा गर्न चाहँदिनथिएँ, र मैले आफ्‍नो कर्तव्यमा बोझ लिइनँ। अरूले मलाई समस्याहरूबारे रिपोर्ट गर्दा, म पहिलेजस्तो होशियारीका साथ समस्याहरूबारे सोच्‍दिनथिएँ।

एकपटक, सुपरभाइजरले मलाई केही काम सम्‍हाल्‍न अनुरोध गर्दै पत्र पठाएका रहेछन्, तर मैले पत्रमा लेखिएको कुरालाई ध्यान दिइनँ, जसले गर्दा मेरो काममा असर पुग्यो। एक दिन, अगुवाले मलाई सिस्टर गाओको समूहको भेलामा केही कुरा पुर्‍याउन लगाइन्। यो सुनेपछि, म जान हिचकिचाएँ किनभने सिस्टर गाओले मलाई के सोच्‍नेछिन् भन्‍ने डर लागेको थियो। हामीले पहिले एउटै कर्तव्य गर्ने गर्थ्यौँ, तर अहिले, उनी बढुवा भएकी थिइन्, तर म अझै पनि साधारण काम गरिरहेकी थिएँ। के उनले मलाई तुच्छ र काम नलाग्‍ने व्यक्ति ठान्नेछिन्? तर म गाइनँ भने यसले काममा असर गर्छ भन्‍ने चिन्ता लाग्यो, त्यसैले म करले जानुपर्‍यो। त्यहाँ पुगेपछि, सिस्टर गाओले मलाई नचिनून् भनेर, म घोप्टिएँ र आधा घण्टा जति फोन हेरेको जस्तो गरेर टाउको लुकाइरहेँ। यो अवधिमा, केही ब्रदर-सिस्टरहरू मसँग बोले, तर सिस्टर गाओले चिन्छिन् भन्‍ने डरले, मैले शिर ठाडो पार्ने आँट गरिनँ। त्यो बेला, मलाई आफू बेकामे रहेछु जस्तो लाग्यो। म यति व्याकुल भएँ कि मलाई त रुन मन लाग्यो। म त्यहाँ बस्‍नै नसकेर अर्को कोठामा दौडेर गएँ, रातको आकाश हेर्दै चुपचाप रोएँ। मैले परमेश्‍वरमा विश्‍वास गरेको धेरै वर्ष भएको थियो, तर मलाई मेरो अगुवाले मोल गर्दिनन् जस्तो लाग्यो। अरू अगुवा बने, तर म भने साधारण काममा नै अल्झिरहेकी थिएँ। यसरी जिउनुको के अर्थ रह्यो र? यस्तो सोचिरहेकी रहेछु भन्‍ने थाहा पाएपछि म झस्किएँ। ममा कसरी त्यस्ता विचारहरू आउन सके? त्यो क्षणमा, मलाई अस्पष्ट रूपमा परमेश्‍वरका वचनहरू याद आए, “ख्रीष्टविरोधीहरूको लागि, हैसियत र प्रतिष्ठा तिनीहरूको जीवन हो। … तिनीहरूलाई तैँले पहाडको प्राचीन जङ्गलको भित्री भागमा छोडिस् भने पनि तिनीहरूले अझै पनि हैसियत र प्रतिष्ठाको खोजीलाई पन्छ्याउन सक्दैनन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु ९: तिनीहरूले आफैलाई पृथक तुल्याउन अनि तिनीहरूका आफ्‍नै चासो र महत्वाकांक्षाहरूलाई पूरा गर्नको लागि आफ्‍ना कर्तव्य पूरा गर्छन्; तिनीहरूले परमेश्‍वरको घरको चासोहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि व्यक्तिगत वैभवको लागि ती चासोहरूलाई समेत बेच्छन् (भाग तीन))। परमेश्‍वरको वचनले मेरो स्थितिलाई व्याख्या गरेको थियो, त्यसकारण मैले यो खण्ड खोजेर पढेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “ख्रीष्टविरोधीहरूको लागि, हैसियत र प्रतिष्ठा तिनीहरूको जीवन हो। तिनीहरू जे-जसरी बाँचे पनि, तिनीहरू जुनसुकै वातावरणमा बाँचे पनि, तिनीहरूले जे काम गरे पनि, तिनीहरूले जेसुकैको लागि प्रयत्न गरे पनि, तिनीहरूको लक्ष्य जेसुकै भए पनि, तिनीहरूको जीवनको दिशा जेसुकै भए पनि, यो सबै राम्रो प्रतिष्ठा र उच्‍च पद प्राप्त गर्नमा केन्द्रित हुन्छ। अनि, यो लक्ष्य परिवर्तन हुँदैन; तिनीहरूले यसलाई कहिल्यै पनि पन्छ्याउन सक्दैनन्। ख्रीष्टविरोधीहरूको साँचो अनुहार र तिनीहरूको साँचो सार यही हो। तिनीहरूलाई तैँले पहाडको प्राचीन जङ्गलको भित्री भागमा छोडिस् भने पनि तिनीहरूले अझै पनि हैसियत र प्रतिष्ठाको खोजीलाई पन्छ्याउन सक्दैनन्। तिनीहरूलाई तैँले जुनसुकै समूहका मानिसहरूमाझ राख्‍न सक्छस् तर तिनीहरूले सोच्न सक्‍ने भनेकै हैसियत र प्रतिष्ठा मात्रै हुन्छ। ख्रीष्टविरोधीहरूले परमेश्‍वरमा विश्‍वास त गर्छन्, तर तिनीहरूले आफ्नो हैसियत र प्रतिष्ठाको खोजीलाई परमेश्‍वरमाथिको विश्‍वास बराबर मान्छन् र यसलाई उही वजन दिन्छन्। भन्‍नुको मतलब, तिनीहरूले परमेश्‍वरमाथिको विश्‍वासको बाटोमा हिँड्दा, तिनीहरूले आफ्नै हैसियत र प्रतिष्ठाको पनि खोजी गर्छन्। के भन्‍न सकिन्छ भने ख्रीष्टविरोधीहरूले आफ्नो हृदयमा परमेश्‍वरमाथिको विश्‍वास र सत्यताको खोजी भनेकै हैसियत र प्रतिष्ठाको खोजी हो भन्‍ने विश्‍वास गर्छन्; हैसियत र प्रतिष्ठाको खोजी भनेको सत्यताको खोजी हो र हैसियत र प्रतिष्ठा प्राप्त गर्नु भनेको सत्यता र जीवन प्राप्त गर्नु हो भन्ने विश्‍वास गर्छन्। यदि तिनीहरूलाई आफ्नो कुनै प्रतिष्ठा वा हैसियत छैन, कसैले पनि आफूलाई सम्‍मान वा आदर गर्दैन, वा पछ्याउँदैनन् भन्‍ने लाग्यो भने, तिनीहरू अत्यन्तै हताश हुन्छन्, परमेश्‍वरमा विश्‍वास गर्नुको कुनै अर्थ छैन, कुनै मूल्य छैन भन्‍ने ठान्छन्, र तिनीहरूले मनमनै भन्छन्, ‘के परमेश्‍वरमाथिको त्यस्तो विश्‍वास असफलता होइन र? के यो निराशलाग्दो छैन र?’ तिनीहरूले आफ्‍नो हृदयमा त्यस्ता कुराहरूबारे बारम्‍बार विचार गर्छन्, आफ्‍नो लागि परमेश्‍वरको घरमा कसरी स्थान लिन सकिन्छ, मण्डलीमा कसरी उच्‍च प्रतिष्ठा प्राप्त गर्न सकिन्छ भनेर विचार गर्छन्, ताकि मानिसहरूले तिनीहरूको कुरा सुनून्, र तिनीहरूले गरेको काममा समर्थन जनाऊन्, र तिनीहरू जहाँ गए पनि तिनीहरूलाई पछ्याऊन्; ताकि तिनीहरूले मण्डलीमा बोल्न पाऊन्, प्रतिष्ठा पाऊन्, ताकि तिनीहरूले लाभहरू, र हैसियत पाऊन्—तिनीहरूले प्रायजसो यस्ता कुराहरूबारे सोच्छन्। त्यस्ता मानिसहरूले गर्ने खोजी यिनै हुन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु ९: तिनीहरूले आफैलाई पृथक तुल्याउन अनि तिनीहरूका आफ्‍नै चासो र महत्वाकांक्षाहरूलाई पूरा गर्नको लागि आफ्‍ना कर्तव्य पूरा गर्छन्; तिनीहरूले परमेश्‍वरको घरको चासोहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि व्यक्तिगत वैभवको लागि ती चासोहरूलाई समेत बेच्छन् (भाग तीन))। परमेश्‍वरको वचनबाट मैले के थाहा पाएँ भने ख्रीष्टविरोधीहरूले गर्ने हरेक कुरामा पहिले आफ्‍नो प्रतिष्ठा र हैसियतलाई विचार गर्छन्, तिनीहरूले ख्याति र हैसियतलाई कहिल्यै त्याग्दैनन्, र तिनीहरूका लागि हैसियत आफ्नो जीवन जत्तिकै महत्त्वपूर्ण हुन्छ। मैले आत्मचिन्तन गरेँ: “म किन कहिले पनि साधारण काम गर्न चाहन्‍नँ? मलाई किन अगुवा बन्‍ने बारेमा यति धेरै चासो लाग्छ?” मैले के महसुस गरेँ भने यसको मुख्य कारण अगुवाहरूसँग हैसियत हुन्छ भन्‍ने मलाई लाग्‍ने भएकोले रहेछ। ब्रदर-सिस्टरहरूले तिनीहरूलाई आदर र अनुमोदन गर्ने मात्र होइन, तर माथिल्‍लो तहका अगुवाहरूले पनि तिनीहरूको मोल गर्छन्, र मण्डलीले तिनीहरूलाई जगेर्ना गर्न ध्यान दिन्छ। मलाई अगुवा बन्‍नु, आफ्‍नो अनुहार देखाउन सक्षम भएर सबैको अनुमोदन पाउनु असल कुरा हो, र अगुवा बनेँ भने मात्रै म सफल भएको हुन्छु भन्ने लाग्थ्यो। मलाई के पनि लाग्थ्यो भने साधारण काम गर्नु भनेको बाहिरी कामकाज गर्नु हो, सत्यता नपछ्याउनेहरूले मात्रै त्यस्ता कर्तव्य गर्छन्, र अरूले तिनीहरूलाई तुच्छ ठान्छन्। यो गलत विचारले गर्दा, मैले आफूबाहेक चिनेजानेका सबैले बढुवा पाएको देख्दा, मलाई निकै चोट पुग्थ्यो, र अगुवाले मेरो नाम लिऊन् भन्‍ने चाहन्थेँ। तर अगुवाले मेरो सट्टा अरूलाई बढुवा दिएको देख्दा, म यति दुःखित भएँ कि मलाई कसैसँग भेट्ने मन भएन, र मलाई आफ्‍नो कर्तव्य गर्ने चाहना भएन। हरेक दिन प्रतिष्ठा र हैसियतका लागि तड्पेर बिताउनु भयानक कुरा थियो, यहाँसम्‍म कि मलाई जीवन जिउनसमेत सार्थक छैन भन्ने लागेको थियो। के यसरी प्रतिष्ठा र हैसियतको पछि लाग्‍नु ख्रीष्टविरोधीकै मार्गमा हिँड्नुथिएन र? यो कुरा महसुस भएपछि, मलाई डर लाग्यो, त्यसकारण मैले पश्‍चात्ताप गर्न तुरुन्तै परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, प्रतिष्ठा र हैसियत पाउने मेरो इच्‍छा अत्यन्तै तीव्र छ। म यस्तो अनाज्ञाकारी स्थितिमा जिउन चाहन्‍नँ। बिन्ती छ मलाई ख्याति र हैसियतको बन्धनबाट मुक्त हुन मार्गदर्शन गर्नुहोस्।”

एक दिन, मैले परमेश्‍वरको वचन पढ्दा मेरो दृष्टिकोण अलिक परिवर्तन भयो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “के तिमीहरू सधैँ आफ्‍नो पखेटा फैलाउन र उड्न चाहन्छौ, के तिमीहरू सधैँ एक्लै उड्न चाहन्छौ, फिस्टोको सट्टा चिल बन्‍न चाहन्छौ? यो कस्तो स्वभाव हो? के यो मानव आचरणको सिद्धान्त हो? मानव आचरणसम्‍बन्धी तिमीहरूको खोजी परमेश्‍वरका वचनहरूमा आधारित हुनुपर्छ; परमेश्‍वरका वचनहरू मात्र सत्यता हुन्। तिमीहरूलाई शैतानले अत्यन्तै गहन रूपमा भ्रष्ट तुल्याएको छ, र तिमीहरूले सधैँ परम्‍परागत संस्कृति अर्थात् शैतानका वचनहरूलाई सत्यताको रूपमा, तिमीहरूको खोजीको लक्ष्यको रूपमा लिन्छौ, जसले गर्दा तिमीहरूले सहजै गलत मार्ग, परमेश्‍वरलाई विरोध गर्ने मार्ग लिन सक्छौ। भ्रष्ट मानवजातिका विचार र दृष्टिकोणहरू, र तिनीहरू लागिपर्ने कुराहरू परमेश्‍वरको इच्‍छा, सत्यता, र सबै थोकमाथिको परमेश्‍वरको शासन, सबै थोकमाथिको उहाँको योजनाबद्ध कार्य, र मानवजातिको नियतिमाथिको उहाँको नियन्त्रणका नियमहरूको विपरीत हुन्छन्। त्यसकारण मानव विश्‍वास र धारणाहरूबाट हेर्दा यो जति नै उचित र मनासिब देखिए पनि, परमेश्‍वरको दृष्टिकोणमा ती सकारात्मक कुरा हुँदैनन्, र ती उहाँको इच्‍छाअनुरूप हुँदैनन्। तेरो लागि कुनै कुरा पनि कहिल्यै राम्ररी अघि बढ्दैन, किनकि तँ परमेश्‍वरले मानवजातिको नियतिमाथि शासन गर्नुहुन्छ भन्‍ने तथ्यको विरुद्धमा जान्छस्, तँ एक्लै अघि बढ्न चाहन्छस्, र आज्ञापालन नगरी परमेश्‍वरको शासन र नियन्त्रणलाई पन्छाउन चाहन्छस्। अवस्था त्यही होइन र? तेरो लागि किन केही पनि राम्ररी अघि बढ्दैन? (हामी परमेश्‍वरको शासनलाई पन्छाउन चाहन्छौँ, त्यसैले।) के कुराले मानिसहरूमा यो इच्‍छा जगाउँछ, किन तिनीहरू आफ्‍नो नियति नियन्त्रण गर्न, आफ्‍नो भविष्यको योजना बनाउन, आफ्‍ना सम्‍भाव्यताहरू, दिशा, र जीवन उद्देश्य वशमा राख्‍न चाहन्छन्? यसको सुरुवात कहाँबाट हुन्छ? (भ्रष्ट शैतानी स्वभाव।) त्यसो भए, भ्रष्ट शैतानी स्वभावले मानिसहरूमा के ल्याउँछ त? (परमेश्‍वरको विरोध।) मानिसहरूले परमेश्‍वरको विरोध गर्नुको परिणाम के हुन्छ? (पीडा।) पीडा? यो विनाश हो! पीडा यसको आधा पनि हुँदैन। तँ आफ्नो आँखाको अगाडि जे देख्छस् त्यो पीडा, नकारात्मकता, र कमजोरी हो, र यो प्रतिरोध र गुनासो हो—यी कुराहरूले कस्ता परिणामहरू ल्याउँछन्? सर्वनाश! यो सानो कुरा होइन र यो कुनै खेल होइन। परमेश्‍वरको डर मान्‍ने हृदय नभएका मानिसहरूले यो कुरा देख्‍न सक्दैनन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता स्विकारेर मात्र भ्रष्ट स्वभाव समाधान गर्न सकिन्छ)। म परमेश्‍वरको वचनले खुलासा गरेको व्यक्तिजस्तै थिएँ। म फिस्टो होइन चील हुन चाहन्थेँ, र साधारण कामले मलाई फिस्टो बनाउँछ, तालिम पाउन अयोग्य र हेपाइ खाने व्यक्ति बनाउँछ भन्‍ने लाग्थ्यो। मेरो लागि अगुवाहरू चीलजस्तै थिए। तिनीहरूसँग खुबी हुन्छ, र तिनीहरूलाई अरूले मूल्यवान् ठान्छन् र आदर गर्छन्। म “मानिस उभोतिर जान खोज्छ, तर खोला तलतिर बग्छ,” “रुखको बोक्रा भनेझैं मानिसको अनुहार,” “मानिसले इज्‍जत कमाउने प्रयास गर्नुपर्छ,” र यस्तै शैतानी विषहरूको आधारमा जिउँथेँ। असल जीवन जिउनका लागि मानिस झन्-झन् माथि चढ्दै जानुपर्छ, र हैसियत जति उच्‍च हुन्छ, त्यति नै असल, नत्र जिउनु व्यर्थ हो भन्ने लाग्थ्यो। यी गलत विचारहरूको नियन्त्रणमा रहेर, म आफ्‍नो कर्तव्य व्यावहारिक तरिकामा पूरा गर्न सक्दिनथिएँ, र मानिसहरूलाई मेरो आदर गर्न लगाउन म सधैँ अगुवा बन्‍न लागिपरेँ। मेरा चिनजान ब्रदर-सिस्टरहरू अगुवाको रूपमा छनौट भएका देख्दा, म दुःखी हुन्थेँ, यसलाई स्वीकार गर्न सक्दिनथिएँ, र विरोधी बन्थेँ। म सोच्थेँ, “म अरू कुनै व्यक्तिभन्दा कम छैनँ। किन अरू अगुवा बन्‍न सक्छन्, तर म साधारण काममा नै अल्झेर बसेकी छु?” मैले परमेश्‍वरविरुद्ध गुनासो गर्न थालेँ र साधारण काम गर्ने मानिसहरूले सत्यता पछ्याउँदैनन् भन्‍ने सोच्थेँ, त्यसकारण म नकारात्मक भएर जिउन थालेँ र आफ्‍नो कर्तव्यमा झारा टार्न र लापरवाही गर्न थालेँ, जसले गर्दा मेरो काममा असर पुग्यो। परमेश्‍वरमाथिको मेरो बफादारी र आज्ञाकारीता कहाँ थियो? मेरो महत्त्वाकाङ्क्षा अत्यन्तै ठूलो थियो! हरेक व्यक्तिको क्षमता र उसले पूरा गर्ने सबै कर्तव्यलगायत मैले हाल पूरा गरेको कर्तव्य परमेश्‍वरले नै पूर्वनिर्धारित गर्नुभएको हुन्छ, त्यसकारण मैले यसलाई स्वीकार र पालना गर्नुपर्छ भन्‍ने मलाई थाहा भयो। साधारण काम गर्दा मलाई कसैले पनि मोल गर्दैन भन्‍ने लाग्थ्यो, र म दुःखी भएँ, तर खोजीसम्‍बन्धी मेरो गलत दृष्टिकोण र मैले परमेश्‍वरको नियम पालन गर्न नसकेको कारण त्यो अवस्था आएको थियो। म परमेश्‍वरका नियमहरू र बन्दोबस्त पालना गर्न असमर्थ भएँ, निष्क्रिय भएँ, र गुनासो गरेँ। सारगत रूपमा त, मैले परमेश्‍वरको विरुद्धमा विरोध, प्रतिरोध, र विद्रोह गरिरहेकी थिएँ। यदि मैले यस्तै गरिरहेँ भने म नरक मात्रै जान सक्थेँ।

त्यसपछि, मैले परमेश्‍वरको वचनका थप दुईवटा खण्ड पढेँ। “यदि मण्डलीको कामप्रति मानिसहरूमा बोझको बोध छ, र तिनीहरू यसमा संलग्‍न हुन चाहन्छन् भने, यो राम्रो कुरा हो; तर तिनीहरूले आफूले सत्यता बुझ्छु कि बुझ्दिनँ, समस्याहरू समाधान गर्न सत्यता सङ्गति गर्न सक्छु कि सक्‍दिनँ, परमेश्‍वरको काममा साँचो रूपमा समर्पित हुन सक्छु कि सक्‍दिनँ, र कार्य बन्दोबस्तअनुसार मण्डलीको काम उचित रूपमा अघि बढाउन सक्छु कि सक्‍दिनँ भनी मनन गर्नुपर्छ। यदि तिनीहरूले यी मापदण्डहरू पूरा गर्छन् भने, तिनीहरूले आफूलाई अगुवा वा सेवक बन्‍नको लागि अगाडि सार्नुपर्छ। मैले यसो भन्‍नुको अर्थ के हो भने कम्तीमा पनि, मानिसहरूमा आत्मसचेतना हुनुपर्छ। पहिले तैँले फरकफरक प्रकारका मानिसहरूबीचमा भिन्‍नता छुट्याउन सक्छस् कि सक्दैनस्, सत्यता बुझ्‍न सक्छस् कि सक्दैनस् र सिद्धान्तअनुसार काम गर्न सक्छस् कि सक्दैनस्, त्यसलाई हेर्। यदि तैँले यी मापदण्डहरू पूरा गरिस् भने, तँ अगुवा वा सेवक बन्‍न योग्य हुन्छस्। यदि तँ आत्ममूल्याङ्कन गर्न सक्दैनस् भने, तैँले तँलाई चिन्‍ने तेरा वरपरका वा तेरा नजिकका मानिसहरूलाई सोध्‍न सक्छस्। यदि तिनीहरू सबैले तसँग अगुवा बन्‍ने पर्याप्त क्षमता छैन, र तैँले आफ्‍नो काम पूरा गर्न सक्‍नु नै ठूलो कुरा हो भनेर भन्छन् भने, तैँले आफूलाई चिन्‍ने प्रयास गर्न थप समय बरबाद नगर्। तँ कमजोर क्षमताको होस् भने, अगुवा बन्‍ने चाहना गरेर आफ्‍नो सारा समय नबिता—आफूले सक्‍ने काम गर्, समझदारीसाथ आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्, यसरी तैँले मनमा शान्ति पाउन सक्छस्। यो पनि राम्रो कुरा हो। अनि, यदि तँ अगुवा बन्‍न योग्य छस् भने, यदि तँमा साँच्‍चै यस्तो क्षमता र अभिरुचि छ भने, यदि तँमा काम गर्ने सीप, र बोझको बोध छ भने, परमेश्‍वरको घरलाई चाहिएको व्यक्ति ठ्याक्‍कै तँजस्तै हो, र तँलाई अवश्य नै बढुवा र वृद्धि-विकास गरिनेछ; तर सबै कुराको लागि परमेश्‍वरको समय हुन्छ। यो चाहना, अर्थात् बढुवा हुने चाहना महत्त्वाकाङ्क्षा हुनु हुँदैन, तर तँमा क्षमता भने हुनुपर्छ, र अगुवा बन्‍नको लागि तैँले मापदण्ड पूरा गर्नुपर्छ। यदि तेरो क्षमता कमजोर छ र पनि तँ सधैँ अगुवा बन्‍ने, वा कुनै महत्त्वपूर्ण काम गर्ने, वा समग्र कामको जिम्‍मेवारी लिने, वा आफूलाई पृथक तुल्याउने काम गर्ने चाहना गर्दै समय बिताउँछस् भने, म तँलाई भन्छु: यो महत्त्वाकाङ्क्षा हो, र तँ महत्त्वाकाङ्क्षाप्रति सतर्क हुनुपर्छ; महत्त्वाकाङ्क्षाले विपत्ति ल्याउन सक्छ। मानिसहरू आत्मप्रेरित हुन्छन् र सत्यतामा लागिपर्न इच्‍छुक हुन्छन्, जुन समस्याको कुरो होइन; कतिपय मानिसहरूले अगुवा बन्‍ने मापदण्ड पूरा गर्छन्, अनि कतिले गर्दैनन्। मापदण्ड पूरा गर्ने मानिसहरूको हकमा, तिनीहरू अगुवा बन्‍न लागिपर्नु गलत कुरा होइन; तर यी मापदण्डहरू पूरा नगर्ने मानिसहरूले भने आफ्नै कर्तव्यमा लागिरहनुपर्छ, तिनीहरूले आफ्‍नो अघि रहेको कर्तव्य उचित रूपमा निर्वाह गर्नु, सिद्धान्त र परमेश्‍वरको घरका मापदण्डहरूअनुसार त्यो कर्तव्य निर्वाह गर्नु नै बेस हुन्छ। तिनीहरूका लागि, त्यो अझ राम्रो, अझ सुरक्षित, र अझ वास्तविक हुन्छ(वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू)। “बढुवा र वृद्धि-विकासप्रति मानिसहरूमा सही बुझाइ र मनोवृत्ति हुनुपर्छ; यी मामलाहरूमा, तिनीहरूले सत्यताको खोजी गर्नुपर्छ, र आफ्‍नो इच्‍छा पछ्याउने, वा महत्त्वाकाङ्क्षी इच्‍छाहरू राख्‍ने गर्नु हुँदैन। यदि तँलाई तँसँग राम्रो क्षमता छ भन्‍ने लाग्छ तर परमेश्‍वरको घरले तँलाई कहिल्यै बढुवा गरेको छैन, वा तँलाई वृद्धि-विकास गर्ने कुनै योजना बनाएको छैन भने, निराश नबन् वा गुनासो गर्न नथाल्, बरु सत्यताको खोजी गर्नमा र अझै असल बन्‍नमा ध्यान दे; जब तँसँग कुनै कद हुन्छ र तैँले वास्तविक काम गर्न सक्छस्, तब परमेश्‍वरका चुनिएका जनहरूले स्वाभाविक रूपमै तँलाई अगुवाको रूपमा छनौट गर्नेछन्। अनि यदि तँलाई आफू कमजोर क्षमताको छु, र आफ्नो बढुवा वा वृद्धि-विकास हुने कुनै सम्भावना छैन, र आफ्ना महत्त्वाकाङक्षाहरू पूरा हुन असम्‍भव छ जस्तो लाग्छ भने, के यो राम्रो कुरा होइन र? यसले तँलाई रक्षा गर्नेछ! तँ कमजोर क्षमताको हुँदा पनि अन्धा मूर्खहरूको समूहले तँलाई अगुवाको रूपमा छनौट गरे भने, के त्यो तँलाई बन्दुकको निसानामा राखिएजस्तो हुँदैन र? तँ कुनै काम गर्न सक्‍ने अवस्थामा हुँदैनस् र तेरा आँखा र हृदय बन्द भएका हुन्छन्। तैँले गर्ने हरेक कुरा अवरोध बन्छ; तेरो हरेक चाल दुष्कर्म बन्छ। तैँले आफ्नै कर्तव्यको काम राम्रोसित गर्नु नै बेस हुन्छ; कम्तीमा पनि तैँले आफूलाई लज्‍जित पार्नेछैनस्, र झूटो अगुवा बन्‍नु र पिठ्यूँपछाडि आलोचना खेप्‍नुभन्दा त यो नै बेस हुन्छ। व्यक्तिको रूपमा, तैँले आफूलाई मापन गरेको हुनुपर्छ, तँमा थोरै भए पनि आत्मसचेतना हुनुपर्छ; यस्तो भयो भने, तँ गलत मार्ग लिनबाट र गम्‍भीर गल्तीहरू गर्नबाट जोगिनेछस्(वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू)। परमेश्‍वरका वचनहरू पढेपछि म तरङ्गित भएँ। मलाई सधैँ म मेरा नजिकका ब्रदर-सिस्टरहरूभन्दा असल छु भन्‍ने लाग्थ्यो, र म अगुवा बन्‍न चाहन्थेँ, तर के म साँच्‍चै अगुवा बन्‍न योग्य थिएँ? के मसँग अगुवा बन्‍ने साँच्चै क्षमता थियो? अगुवाहरू सत्यताको पछि लाग्नैपर्छ, तिनीहरूमा काम गर्ने क्षमता र राम्रो मानवता हुनैपर्छ। जोकोही व्यक्ति अगुवा बन्‍न सक्दैन। अगुवा बन्‍ने क्षमता छैन र व्यावहारिक काम गर्न सकिँदैन भने अगुवा नै बने पनि लामो समयसम्‍म टिक्नेछैन, र कतिपय मानिसहरू झूटा अगुवाहरूका रूपमा खुलासा हुन्छन्। मैले वास्तवमा पहिले मण्डली अगुवाको रूपमा सेवा गरेकी थिएँ, तर मेरो क्षमता कमजोर र काम गर्ने योग्यता राम्रो नभएको कारण, मैले व्यावहारिक काम गर्न सकिनँ, र मैले अरूका समस्या र कठिनाइहरू समाधान गर्न सकिनँ, जसले गर्दा तिनीहरूको जीवन प्रवेशमा हानि र मण्डलीको काममा क्षति पुग्यो, त्यसकारण अन्त्यमा मलाई बर्खास्त गरियो। क्षमता र काम गर्ने योग्यताको सन्दर्भमा, म अगुवा बन्‍न वास्तवमा योग्य थिइनँ। तुलनात्मक रूपमा, म साधारण काम गर्न राम्रो थिएँ, त्यो क्षेत्रमा केही व्यावहारिक काम गर्न सक्थेँ, र त्यो त्यति तनावपूर्ण हुँदैनथियो। मण्डलीले हरेक व्यक्तिको क्षमता र सबल पक्षको आधारमा कामको बन्दोबस्त मिलाउँछ। यसो गर्दा मानिसहरूले आफ्‍नो काम सामान्य रूपमा पूरा गर्न अनि मण्डलीको काममा फाइदा पुर्‍याउन सक्छन्। तर मलाई आफ्‍नो लेखाजोखा थाहा थिएन। स्पष्टतः मसँग अगुवा बन्‍ने क्षमता र योग्यताहरूको कमी थियो, तैपनि मलाई म अरूभन्दा प्रतिभावान् र श्रेष्ठ छु भन्ने लाग्थ्यो, र म सधैँ बढुवा पाउन चाहन्थेँ। अगुवाले मलाई नभई अरूलाई बढुवा दिएको देख्दा, उनले मलाई ध्यान दिएनन् भनेर मैले गुनासो गरेँ, आफ्‍नो कर्तव्यमा झारा टारेँ, र परमेश्‍वरप्रति शत्रुवत् व्यवहार गरेँ र नकारात्मक बनेँ। म अत्यन्तै अहङ्कारी थिएँ, र ममा पटक्कै केही समझ थिएन! यो बुझेपछि मलाई निकै ग्‍लानि भयो, र मैले आफ्नो वर्तमान कर्तव्यलाई सही रूपमा लिन सकेँ, र म आफ्‍नै स्थानमा बसेर आफ्‍नो कर्तव्य व्यावहारिक ढङ्गमा उचित तरिकाले पूरा गर्न इच्छुक भएँ।

पछि, मैले परमेश्‍वरको वचनको एउटा भजन सुनेँ, “म त सृष्टि गरिएको सानो प्राणी मात्रै हुँ।” “हे परमेश्‍वर! चाहे मेरो हैसियत होस् वा नहोस्, म अब आफूलाई बुझ्छु। यदि मेरो हैसियत उच्च छ भने यो तपाईंले उचाल्नुभएकोले गर्दा हो, र यदि यो तुच्छ छ भने यो तपाईंको पूर्वनिर्धारणले गर्दा हो। सबै कुरा तपाईंको हातमा छन्। मसँग न त कुनै विकल्प छ, न कुनै गुनासो छ। म यस देशमा र यी मानिसहरूको बीचमा जन्मनुपर्छ भनी तपाईंले नै पूर्वनिर्धारित गर्नुभयो, र मैले गर्नुपर्ने भनेको तपाईंको अधीनमा पूर्ण रूपमा आज्ञाकारी हुनु मात्र हो, किनकि सबै कुरा तपाईंले पूर्वनिर्धारित गर्नुभएको प्रबन्धभित्र छन्। म हैसियतको बारेमा विचार गर्दिनँ; आखिर, म एक प्राणी मात्र हुँ। यदि तपाईंले मलाई अतल कुण्डमा, आगो र गन्धकको कुण्डमा राख्नुभयो भने, म एक प्राणीबाहेक अरू केही पनि होइन। यदि तपाईं मलाई प्रयोग गर्नुहुन्छ भने म एक प्राणी हुँ। यदि तपाईं मलाई सिद्ध पार्नुहुन्छ भने पनि म एक प्राणी नै हुँ। यदि तपाईं मलाई सिद्ध पार्नुहुन्न भने पनि म तपाईंलाई प्रेम गर्नेछु, किनकि म एक प्राणीभन्दा बढी अरू केही होइन। म सृष्टिका परमप्रभुद्वारा सृष्टि गरिएको एक क्षुद्र प्राणीबाहेक अरू केही पनि होइन, सृष्टि गरिएका सारा मानिसहरूमध्ये एक जना मात्र हुँ। तपाईंले नै मलाई सृष्टि गर्नुभयो, र अब एकचोटि फेरि तपाईंले मलाई तपाईंको इच्छाअनुसार गर्न आफ्नो हातमा राख्नुभएको छ। म तपाईंको औजार र तपाईंको प्रतिभार बन्न इच्छुक छु, किनकि सबै कुरा तपाईंले नै पूर्वनिर्धारण गर्नुभएको हो। यसलाई कसैले परिवर्तन गर्न सक्दैन। सबै थोक र सबै घटनाहरू तपाईंको हातमा छन्(थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्)। यसका शब्‍दहरू मनन गर्दा, मेरो हृदयमा उज्यालो छायो। मेरो हैसियत ठूलो हुने या सानो हुने, यो परमेश्‍वरले नै पूर्वनिर्धारित गर्नुभएको हुन्छ, र मसँग हैसियत भए पनि नभए पनि म सृष्टि गरिएको प्राणी थिएँ। मसँग उच्‍च हैसियत भए पनि म सृष्टि गरिएको प्राणी थिएँ, र मसँग सानो हैसियत भए पनि म सृष्टि गरिएकै प्राणी नै थिएँ। मेरो सार कहिल्यै परिवर्तन हुनेथिएन। मण्डलीले मलाई साधारण काम गर्ने बन्दोबस्त मिलाइदिएको थियो, त्यसकारण म आफ्‍नो स्थानमा बस्नुपर्थ्यो, आफ्‍नो सबल पक्षको पूरा सदुपयोग गर्नुपर्थ्यो, र साधारण काम राम्ररी पूरा गर्न सक्दो गर्नुपर्थ्यो। यो सृष्टि गरिएको प्राणीको रूपमा मेरो दायित्व थियो। यो कुरा सोच्दा, मलाई हल्का महसुस भयो र मैले परमेश्‍वरलाई मनमनै प्रार्थना गरेँ, “हे परमेश्‍वर! म आफ्‍नो कर्तव्यको खातिर नकारात्मक बनेर तपाईंलाई विरोध गर्न चाहन्‍नँ। मेरो हैसियत जेजस्तो भए पनि म तपाईंलाई सन्तुष्ट पार्न सृष्टि गरिएको प्राणीको कर्तव्य इमानदारीपूर्वक पूरा गर्न मात्र चाहन्छु।” त्यसपछि, परमेश्‍वरले मिलाउनुभएका परिस्थितिहरूलाई मैले विरोध गरिनँ। मैले आफ्‍नो वर्तमान कर्तव्य कसरी पूरा गर्ने भनेर चिन्तनमनन गरेँ, र आफ्‍नो काम व्यावहारिक ढङ्गमा गरेँ। यसरी अभ्यास गर्दा, मलाई निकै ढुक्‍क लाग्यो।

पछि, मैले मनन गरेँ र मलाई साधारण काम मन नपर्नुको अर्को कारण छ भन्‍ने महसुस भयो, र मैले साधारण कामप्रति हास्यास्पद र निरर्थक दृष्टिकोण राख्नु नै त्यो कारण थियो। म साधारण काम गर्ने मानिसहरू सत्यताको पछि लाग्दैनन्, तिनीहरू निम्न स्तरका हुन्छन् र तिनीहरूसँग मुक्ति पाउने आशा हुँदैन, र महत्त्वपूर्ण भूमिकामा बढुवा पाउने मानिसहरूले मात्रै सत्यता पछ्याउँछन्, र मुक्ति पाउने मौका पाउँछन् भन्‍ने सोच्थेँ। मैले यो भ्रमित दृष्टिकोणलाई सुल्झाउने परमेश्‍वरको वचनका दुईवटा खण्ड पढेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “परमेश्‍वरको घरमा, परमेश्‍वरको आज्ञा र उचित रूपमा कर्तव्य निभाउनेबारेमा बारम्‍बार उल्‍लेख गरिन्छ। कर्तव्य कसरी अस्तित्वमा हुन आउँछ? वृहत् रूपमा भन्दा, यो मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको व्यवस्थापन कार्यको परिणामस्वरूप अस्तित्वमा आउँछ; खास रूपमा भन्दा, मानवजातिको बीचमा परमेश्‍वरको व्यवस्थापन कार्य अघि बढ्ने क्रममा, विविध कार्यहरू देखा पर्छन्, र त्यसको लागि सहकार्य गर्न र तिनलाई पूरा गर्न मानिसहरूको आवश्यकता पर्छ। यसबाट मानिसहरूले पूरा गर्नुपर्ने जिम्‍मेवारीहरू र मिसनहरूको उदय हुन्छ, अनि यी जिम्‍मेवारीहरू र मिसनहरू नै परमेश्‍वरले मानवजातिलाई सुम्पनुहुने कर्तव्यहरू हुन्। परमेश्‍वरको घरमा मानिसहरूको सहकार्यको आवश्यकता पर्ने विभिन्‍न कार्यहरू नै तिनीहरूले पूरा गर्नुपर्ने कर्तव्यहरू हुन्। त्यसो भए, के कर्तव्यहरूका बीचमा राम्रो र नराम्रो, उच्च र नीच, वा ठूलो र सानो भन्ने सन्दर्भमा भिन्नताहरू हुन्छन्? त्यस्ता कुनै भिन्नताहरू हुँदैनन्; जबसम्म कुनै कुरा परमेश्‍वरको व्यवस्थापन कार्यसँग सम्बन्धित हुन्छ, जबसम्म त्यो उहाँको घरको कामको मापदण्ड हुन्छ, र जबसम्म त्यो परमेश्‍वरको सुसमाचार प्रचारमा आवश्यक पर्छ, तबसम्म त्यो व्यक्तिको कर्तव्य हुन्छ। कर्तव्यको मूल र परिभाषा नै यही हो। … तेरो कर्तव्य जे सुकै भए पनि, त्यो परमेश्‍वरले तँलाई दिनुभएको एउटा मिसन हो। कहिलेकहीँ तैँले कुनै महत्त्वपूर्ण कुराको देखरेख वा सुरक्षा गर्नुपर्छ। यो तुलनात्मक रूपमा सानोतिनो कार्य हुन सक्छ जसलाई केवल तेरो जिम्मेवारी हो भनेर मात्र भन्न सकिन्छ, तर त्यो कार्य परमेश्‍वरले तँलाई दिनुभएको काम हो; तैँले त्यो उहाँबाट प्राप्त गरेको हो। तैँले त्यो परमेश्‍वरको हातबाट स्वीकार गरिस्, र त्यो तेरो कर्तव्य हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। कर्तव्यको पर्याप्त कार्य-सम्पदान भनेको के हो?)। “मानिसहरूले आफ्‍नो कर्तव्य निभाउन थालेलगत्तै तिनीहरू सत्यताका वास्तविकताहरू भएका मानिसहरू बन्छन् भन्‍ने हुँदैन। आफ्‍नो कर्तव्य निभाउनु भनेको एउटा विधि र माध्यम अपनाउनु मात्रै हो। आफ्‍नो कर्तव्य निभाउने क्रममा, मानिसहरूले परमेश्‍वरको कामको अनुभव गर्न, सत्यतालाई क्रमिक रूपमा बुझ्‍न र स्वीकार गर्न, अनि सत्यताको अभ्यास गर्नको लागि सत्यताको खोजीलाई प्रयोग गर्छन्। त्यसपछि तिनीहरू आफ्‍नो भ्रष्ट स्वभावलाई त्याग्‍न सक्‍ने, र शैतानको भ्रष्ट स्वभावका बन्धन र नियन्त्रणबाट मुक्त हुन सक्‍ने स्थितिमा पुग्छन्, र यसरी तिनीहरू सत्यताको वास्तविकता र सामान्य मानवता भएका मानिसहरू बन्छन्। तँमा सामान्य मानवता छ भने मात्रै तेरो कर्तव्यपालन र तेरो कार्य-व्यवहारले मानिसहरूलाई सुधार गर्छ र परमेश्‍वरलाई सन्तुष्ट पार्छ। अनि परमेश्‍वरले मानिसहरूलाई तिनीहरूको कर्तव्यपालनको निम्ति स्याबासी दिनुभएपछि मात्रै तिनीहरू परमेश्‍वरको निम्ति स्वीकार्य सृष्टि बन्छन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता प्राप्त गर्नको लागि वरपरका मानिसहरू, मामला र स्थितिहरूबाट सिक्‍नुपर्छ)। परमेश्‍वरको वचनले कर्तव्यप्रतिको मेरो गलत दृष्टिकोणलाई परिवर्तन गर्‍यो। मैले कर्तव्यहरू मानिसहरूलाई मुक्ति दिने परमेश्‍वरको व्यवस्थापन कार्यबाट उत्पन्‍न हुन्छन्, अनि उच्‍च र निम्न वा ठूलो र सानोको बीचमा कुनै भिन्‍नता छैन भन्‍ने कुरा थाहा पाएँ। कर्तव्य जुनसुकै भए पनि यो मानिसहरूको निम्ति दायित्व र जिम्‍मेवारी हो, र यसलाई पूरा गर्न मानिसहरूले सक्दो प्रयास गर्नैपर्छ। यदि हामी मण्डलीको काम सुचारु रूपमा अघि बढेको चाहन्छौँ भने हरेक कर्तव्य पूरा गर्न मानिसहरूले सहकार्य गर्नुपर्छ। हरेक कर्तव्य अपरिहार्य हुन्छ। अगुवाहरूको काम महत्त्वपूर्ण हुन्छ, तर साधारण काम पनि त्यत्तिकै महत्त्वपूर्ण छ। यीमध्ये कुनै एउटा छैन भने मण्डलीको काममा असर पुग्छ। कर्तव्य सकारात्मक कुरा हो, र यो मानिसहरूले सत्यता पछ्याउने र मुक्ति हासिल गर्ने मार्ग हो। यो सृष्टि गरिएको प्राणीले गर्न सक्ने सबैभन्दा महिमित कुरा हो। आफ्‍नो कर्तव्य पूरा गर्नु सम्मान हो। तर यसलाई कसरी कदर गर्ने र कृतज्ञ बन्‍ने मलाई थाहा थिएन, मैले कर्तव्यहरूलाई उच्‍च र निम्न दर्जामा विभाजन गर्ने प्रयास गरेँ, र साधारण काम न्यून स्तरको, व्यर्थको र लाजमर्दो हुन्छ भन्‍ने अनुमान लगाएँ। के मैले आफ्‍नो कर्तव्यप्रति अनादर देखाइरहेकी थिइनँ र? कर्तव्य जुनसुकै भए पनि सत्यताको पछि लाग्नैपर्छ, भ्रष्ट स्वभावलाई त्याग्नैपर्छ, र सृष्टि गरिएको सुयोग्य प्राणी बन्नैपर्छ। परमेश्‍वरद्वारा मुक्ति पाउने एउटै मात्र तरिका यही हो। अगुवा बनेर सत्यता प्राप्त हुन्छ र मुक्ति पाइन्छ भन्‍ने हुँदैन। तपाईं अगुवा बनेको वर्षौं भए पनि सत्यताको पछि लाग्नुभएन भने परमेश्‍वरले तपाईंलाई अनुमोदन गर्नुहुनेछैन। खुलासा गरिएका ख्रीष्टविरोधी र झूटा अगुवाहरूबारे विचार गर्नुहोस्। मण्डलीले तिनीहरूलाई महत्त्वपूर्ण कर्तव्यका लागि तालिम दिन्छ, तर तिनीहरूले आफ्‍नो कर्तव्यमा सत्यता पछ्याउँदैनन्। तिनीहरू प्रतिष्ठा र हैसियतको पछि लाग्छन्, व्यक्तिगत उद्यममा संलग्न हुन्छन्, परमेश्‍वरप्रति शत्रुवत व्यवहार गर्छन्, र अन्त्यमा, तिनीहरूलाई हटाइन्छ। परमेश्‍वर धर्मी हुनुहुन्छ, र उहाँले मानिसहरूको भूमिका महत्त्वपूर्ण वा हैसियत उच्‍च छ कि छैन भन्‍ने आधारमा तिनीहरूको परिणाम निर्धारण गर्नुहुन्‍न। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको तिनीहरूको जीवन स्वभाव परिवर्तन हुन्छ कि हुँदैन र तिनीहरूले सत्यता प्राप्त गर्छन् कि गर्दैनन् भन्‍ने हो। तपाईंले परमेश्‍वरमा विश्‍वास गरेको वर्षौं भयो तर सत्यताको पछि लाग्नुहुन्न, र तपाईंको जीवन स्वभाव परिवर्तन हुँदैन भने तपाईंले जुनसुकै कर्तव्य निर्वाह गर्नुभए पनि अन्त्यमा तपाईंलाई खुलासा गरेर हटाइनेछ। परमेश्‍वर धर्मी हुनुहुन्छ, र कसैलाई काखा र कसैलाई पाखा गर्नुहुन्न। यो कुराले मलाई परमेश्‍वरका यी वचनहरू याद दिलायो, “सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ)। परमेश्‍वरमाथिको तपाईंको विश्‍वासको सफलता तपाईंले लिने मार्गमा भर पर्छ। सत्यताको पछि लाग्नु र सृष्टि गरिएको प्राणीको कर्तव्य व्यावहारिक ढङ्गमा पूरा गर्नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो। मैले यस अवधिको मेरो अनुभवबाट प्रतिष्ठा र हैसियत पछ्याउनुको प्रकृतिलाई अझै स्पष्ट रूपमा देखेँ। ख्याति र हैसियतको पछि लाग्‍नु सही मार्ग होइन, तर यो त परमेश्‍वरलाई विरोध गर्नु हो। सत्यताको पछि लाग्नु जत्तिको महत्त्वपूर्ण कुरा अरू छैन। यसका साथै, यसले मलाई अलिकति आत्म-चेतना र आफ्‍नो बारेमा सही दृष्टिकोण प्रदान गर्‍यो, र तबउसो अगुवा बन्न लागिपर्ने मेरो महत्त्वाकाङ्क्षा त्यति ठूलो रहेन। निश्‍चित ब्रदर-सिस्टरहरू अगुवाको रूपमा छनौट भएका छन् भन्‍ने सुन्दा, कहिलेकहीँ यसले मलाई भावनात्मक रूपमा असर गर्ने भए पनि प्रार्थना गरेर र आफूलाई त्यागेर मलाई उप्रान्त त्यति धेरै विवश महसुस हुँदैन, र म आफ्‍नो कर्तव्यमा सामान्य रूपमा मेरा ब्रदर-सिस्टरहरूसँग सहकार्य गर्न सक्छु। परमेश्‍वरलाई धन्यवाद!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

नयाँ विश्‍वासीहरूलाई मलजल गरेर सिकेको एउटा पाठ

यस वर्षको जनवरीमा, मैले मण्डलीका नवविश्‍वासीहरूलाई मलजल गरिरहेकी थिएँ। सिस्टर रन जिये र उनका श्रीमान्‌ मेरो जिम्‍मामा रहेकाहरूमध्येका दुई...

अहङ्कारको हल गरी मानव रूप प्राप्त गर्न सकिन्छ

झेन्क्षिङ्ग, अमेरिकामेरो कथा मार्च २०१७ मा सुरु हुन्छ। मैले मुख्यतः चलचित्रका पोस्टरहरू र भिडियोका थम्‍बनेलहरू बनाउने कामसँगै मण्डलीको लागि...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्