सुसमाचार प्रचार गर्न कठिनाइ हुँदा

25 फेब्रुअरी 2023

सन् २०२० मा, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका आखिरी दिनहरूको काम स्वीकार गरेँ। मैले प्रभुको पुनरागमनलाई स्वागत गर्न पाउनु ठूलो आशिष थियो। यो अत्यन्तै महत्त्वपूर्ण शुभ समाचार फैलाउनका लागि, मैले सुसमाचार प्रचार गर्न थालेँ, र उहाँको आवाज सुनेपछि अझ धेरै मानिसहरू परमेश्‍वरकहाँ फर्कन सक्छन् भन्‍ने मलाई आशा थियो। तर, २०२२ को फेब्रुवरीमा, म्यानमार सरकारले धार्मिक आस्थामाथि गरेको दमनको कारण, मेरो मण्डलीलाई सतावट आयो, र सुसमाचारको काममा ठूलो बाधा पुग्यो। कायरता र कमजोरीको कारण कतिपय ब्रदर-सिस्टरहरू भेलाहरूमा सहभागी भएनन्, कतिपय चाहिँ आफ्‍नो कर्तव्यमा निष्क्रिय भए, र सुसमाचारको काम आधारभूत रूपमा ठप्‍प भएको थियो। त्यो बेला, म पनि आफ्‍नो कर्तव्यमा निष्क्रिय थिएँ। अगुवाले मलाई जे काम गर्न लगाउँथे म त्यही गर्थेँ। मलाई आफूले सामान्य रूपमा नै मानिसहरूलाई मलजल गरिरहेकी छु भन्ने लागेको थियो, तर नियमित रूपमा भेलाहरूमा नआउने र आफ्‍नो कर्तव्यमा निष्क्रिय हुने तिनीहरू नै थिए। त्यसकारण मैले गर्न सक्‍ने केही पनि थिएन। अनि कहिलेकहीँ इन्टरनेट हुँदैनथियो, त्यसकारण म कामबारे सिक्‍न ब्रदर-सिस्टरहरूसँग अनलाइन आउन सक्दिनथिएँ, जसको अर्थ म इन्टरनेट खोज्‍न बाहिर जानुपर्थ्यो। कहिलेकहीँ म लामो समयसम्‍म खोज्थेँ र पनि राम्रो इन्टरनेट कनेक्सन भेट्टाउँदिनथिएँ, र समय बित्दै जाँदा, मलाई कामबारे सिक्‍न अनलाइन जान मन लागेन। त्यो बेला, मैले एक जना सिस्टरको आफन्तलाई सुसमाचार सुनाएकी थिएँ। तीन जनाको तिनीहरूको परिवारले परमेश्‍वरका आखिरी दिनहरूको कामलाई स्वीकार गरेका थिए, त्यसकारण मैले त्यहाँ बसेर तिनीहरूलाई दश दिनसम्‍म मलजल गरेँ। म यी तीन जना नयाँ विश्‍वासीहरूलाई मलजल गरेर सन्तुष्ट थिएँ, र मलाई उप्रान्त प्रचार गर्न मन लागेन। मलाई लाग्थ्यो, “तिनीहरूले नजिकका गाउँहरूमा धेरै अफवाह फैलाउँछन्, त्यसकारण सुसमाचार फैलाउन गाह्रो छ। मैले तीन जनाको यो परिवारलाई राम्ररी मलजल गर्न सकेँ भने, तिनीहरूले मलाई तिनीहरूका आफन्त र इष्टमित्रकहाँ प्रचार गर्न लैजानेछन्। के यो सुसमाचार प्रचार गर्ने राम्रो तरिका होइन र?” त्यसकारण, नजिकका गाउँहरूमा सुसमाचार ग्रहण गर्ने सम्भाव्य व्यक्तिहरू छ्न् भनेर ब्रदर-सिस्टरहरूले बताउँदा, सुसमाचार कसरी सुनाउने भनेर म तिनीहरूसँग विरलै छलफल गर्थेँ। यसले सुसमाचार कार्यमा प्रत्यक्ष असर पार्‍यो।

पछि हामी काम गर्न जाँदा, हाम्रो मण्डलीको काम त्यो महिनाको लागि लगभग ठप्‍प भयो भनेर अगुवाले भने, र अरू केही समस्याहरू पनि बताए। यो सुन्दा मलाई निकै दुःख लाग्यो। पछि, एक जना सिस्टरले मलाई म यथास्थितिमा नै सन्तुष्ट भएकी छु र आफ्‍नो कर्तव्यमा प्रगति गर्ने प्रयास गरिरहेकी छैनँ भनेर याद दिलाइन्। यसले अचानक मेरो होस खोलिदियो। मैले आफ्‍नो कर्तव्यमा बोझ लिइरहेकी छैनँ भन्‍ने मलाई महसुस भयो। मण्डली अगुवा भएको हैसियतले, मैले अगुवाले गर्ने काम गरिनँ, र मैले कठिनाइहरूको सामना वा समाधान गरिनँ, जसले गर्दा सुसमाचारको काममा असर पुग्यो। मैले यसबारे जति विचार गरेँ, त्यति नै नरमाइलो लाग्यो। मैले मनन गर्ने क्रममा, परमेश्‍वरको वचनमा यो कुरा पढेँ, “हाल, केही व्यक्तिहरू यस्ता छन् जसले मण्डलीको निम्ति कुनै बोझहरू बोक्दैनन्। यी मानिसहरू सुस्त र लापरवाह छन् अनि यिनीहरूले केवल आफ्नै देहको मात्र वास्ता गर्छन्। त्यस्ता मानिसहरू अत्यन्तै स्वार्थी हुन्छन् र तिनीहरू अन्धा पनि हुन्छन्। यदि तैँले यो कुरा स्पष्टसित देख्न सक्दैनस् भने, कुनै पनि बोझ बोक्नेछैनस्। तँ जति बढी परमेश्‍वरको इच्छाप्रति सचेत हुन्छस्, त्यति नै बढी बोझ उहाँले तँलाई सुम्पिनुहुनेछ। स्वार्थीहरू त्यस्ता कुराहरूको कष्ट भोग्न अनिच्छुक हुन्छन्; तिनीहरू मूल्य चुकाउन अनिच्छुक हुन्छन् र परिणामस्वरूप, तिनीहरूले परमेश्‍वरद्वारा सिद्ध तुल्याइने अवसरहरू गुमाउनेछन्। के तिनीहरूले आफैलाई हानि पुऱ्याइरहेका छैनन् र? यदि तँ परमेश्‍वरको इच्छाप्रति सचेत हुने व्यक्ति होस् भने तँमा मण्डलीको निम्ति साँचो बोझ विकसित हुनेछ। वास्तवमा, यसलाई मण्डलीको निम्ति तैँले बोक्ने बोझ भन्नुको सट्टामा यसलाई तैँले आफ्नै जीवनको खातिर बोक्ने बोझ भन्नु उत्तम हुनेछ किनकि मण्डलीको निम्ति तँमा विकसित यस बोझको उद्देश्य परमेश्‍वरद्वारा सिद्ध तुल्याइनको निम्ति तँलाई यस्ता अनुभवहरू प्रयोग गर्न दिनु हो। त्यसकारण, जो-जसले मण्डलीको निम्ति सबैभन्दा ठूलो बोझ बोक्छ, जो-जसले जीवनमा प्रवेश गर्नको निम्ति बोझ बोक्छ—तिनीहरू नै परमेश्‍वरद्वारा सिद्ध तुल्याइने व्यक्तिहरू हुनेछन्। के तैँले यसलाई स्पष्टसित देखेको छस्? यदि तँ भएको मण्डली बालुवा जस्तै छरिएको छ तर तँ न त चिन्तित हुन्छस् न त बेचैन नै अनि तेरा दाजुभाइ तथा दिदीबहिनीहरूले सामान्य रूपले परमेश्‍वरका वचनहरू खाइरहेका र पिइरहेका नहुँदा पनि आँखा चिम्लिन्छस् भने, तैँले कुनै बोझहरू बोकिरहेको हुँदैनस्। त्यस्ता मानिसहरू परमेश्‍वरले आनन्द लिने प्रकारका मानिसहरू होइनन्। जुन प्रकारका मानिसहरूमा परमेश्‍वरले आनन्द लिनुहुन्छ, तिनीहरू धार्मिकताको निम्ति भोकाउँछन् र तिर्खाउँछन् र परमेश्‍वरको इच्छाप्रति सचेत हुन्छन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्धता हासिल गर्न परमेश्‍वरको इच्छाप्रति सचेत होऊ)। परमेश्‍वरका वचनहरू मनन गर्दा, मलाई निकै ग्‍लानि भयो। म मण्डली अगुवा थिएँ, तर सुसमाचारको काम ठप्‍प भएको देख्दा, मलाई कुनै आतुरी भएन, मैले वस्तुगत बहानाहरू बनाएँ, र मसँग राम्रो इन्टरनेट कनेक्सन नभएको हुनाले, मैले कामबारे सिक्न नसक्नु स्वभाविकै हो भन्‍ने सोचेकी थिएँ। ब्रदर-सिस्टरहरूले बताएका सुसमाचार ग्रहण गर्ने सम्भाव्य मानिसहरूका हकमा भन्दा, मैले तिनीहरूलाई सुसमाचार प्रचार कसरी गर्ने भनेर विरलै सङ्गति गरेँ, र सिस्टरहरूले मसँग कामको बारेमा छलफल गर्न चाहँदा, तिनीहरूले मलाई भेट्टाउन सक्दैनथिए। मण्डलीको सतावटले गर्दा, ब्रदर-सिस्टरहरू डराएका र कमजोर भएका थिए, सामान्य रूपमा भेला हुन वा काम गर्न नसक्‍ने भएका थिए, तर मैले समाधानको लागि सत्यता खोजी गरिनँ। मलाई बल्‍ल के महसुस भयो भने सुसमाचारको काम रोकिनुसँग मेरो प्रत्यक्ष सम्‍बन्ध थियो। परमेश्‍वरका वचनहरूले भन्छन्, “हाल, केही व्यक्तिहरू यस्ता छन् जसले मण्डलीको निम्ति कुनै बोझहरू बोक्दैनन्। यी मानिसहरू सुस्त र लापरवाह छन् अनि यिनीहरूले केवल आफ्नै देहको मात्र वास्ता गर्छन्। त्यस्ता मानिसहरू अत्यन्तै स्वार्थी हुन्छन् र तिनीहरू अन्धा पनि हुन्छन्।” म परमेश्‍वरको वचनले व्याख्या गरेको स्वार्थी व्यक्ति रहेछु भन्‍ने मलाई थाहा भयो। म मण्डलीमा बोझ लिँदिनथिएँ, सधैँ यथास्थितिमा नै सन्तुष्ट हुन्थेँ, आफ्‍नै सहजताको मात्रै वास्ता गर्थेँ, कष्ट भोग्‍न वा मूल्य चुकाउन इन्कार गर्थेँ। मण्डलीको सुसमाचार काममा समस्या आएको देख्दा, मलाई कुनै आतुरी वा चिन्ता भएन, र मेरा कठिनाइहरूमा म कमजोर र निष्क्रिय भएँ। म साँच्‍चै अति अहङ्कारी थिएँ। सरकारले सताएका अरू ठाउँका मण्डलीहरूबारे मलाई याद आयो, तर ब्रदर-सिस्टरहरूले अझै पनि प्रचार गरिरहेका र नयाँ मण्डलीहरू स्थापना गरिरहेका थिए, जबकि हाम्रो मण्डलीको सुसमाचार काम रोकिएको थियो। म स्वार्थी र घृणित भएकोले, मैले कुनै बोझ, र जिम्‍मेवारी नलिएकोले यसो भएको थियो। मलाई परमेश्‍वरप्रति अत्यन्तै ऋणी महसुस भयो। जब म बोझ लिने गर्थेँ, त्यो बेला कुनै व्यक्तिले साँचो मार्गबारे अनुसन्धान गर्‍यो भने, म तुरुन्तै कसैलाई सुसमाचार प्रचार गर्न खटाइहाल्थेँ, र ब्रदर-सिस्टरहरूलाई समस्या पर्दा, ती समाधान गर्न म सत्यतामा सङ्गति गर्थेँ। जति धेरै सहकार्य गर्थेँ, मसँग पवित्र आत्‍माको काम त्यति नै हुन्थ्यो, हाम्रो सुसमाचार काम प्रभावकारी थियो, र मलाई सहज र आनन्द लाग्थ्यो। तर हालैका दिनहरूमा, मैले आफ्‍नो कर्तव्य कुनै बोझ नलिई गरेकोले, सुसमाचारको काम प्रभावकारी भएको थिएन। यस बेला, मैले परमेश्‍वरका यी वचनहरूबारे “जो-जसले मण्डलीको निम्ति सबैभन्दा ठूलो बोझ बोक्छ, जो-जसले जीवनमा प्रवेश गर्नको निम्ति बोझ बोक्छ—तिनीहरू नै परमेश्‍वरद्वारा सिद्ध तुल्याइने व्यक्तिहरू हुनेछन्।” बल्‍ल अलिक बुझाइ प्राप्त गरेँ। परमेश्‍वरको इच्‍छालाई विचार गर्ने र मण्डलीको काममा बोझ लिने मानिसहरूलाई मात्रै परमेश्‍वरले सिद्ध तुल्याउन सक्‍नुहुन्छ। मैले के पनि महसुस गरेँ भने यदि मैले आफ्नो निष्क्रिय स्थितिलाई परिवर्तन गरिनँ भने, यसले मण्डलीको काममा असर गर्ने मात्रै थिएन, तर अन्त्यमा मलाई खुलासा गरेर हटाइनेथियो। यसबारे विचार गर्दा, मलाई अलिक डर लाग्यो। म अबदेखि निष्क्रिय र लापरवाह हुनु हुँदैनथियो। मैले परमेश्‍वरलाई प्रार्थना गरेँ र मलाई बोझ लिन सहायता गर्नुहोस्, र उहाँको इच्‍छाप्रति विचारशील हुन र आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न डोऱ्याउनुहोस् भनेर उहाँलाई अनुरोध गरेँ।

त्यसपछि, मैले अरू कहाँ सुसमाचार प्रचार गर्न जान सकिन्छ भनेर सुपरभाइजर र समूह अगुवाहरूसँग छलफल गरेँ। हामीले एउटा गाउँ भेट्यौँ जहाँका सबै मानिसहरूले प्रभुलाई विश्‍वास गर्दा रहेछन्, तर त्यो बेला त्यहाँ जानका लागि उपयुक्त व्यक्ति थिएन। मैले सोचेँ, “यसपटक, मैले परमेश्‍वरको इच्‍छालाई विचार गर्नुपर्छ, र पहिलेको जस्तो बोझ नबोक्ने गर्नु हुँदैन। मैले सक्रिय रूपमा यो जिम्‍मेवारी लिनुपर्छ।” त्यसकारण, म स्वेच्छाले त्यो गाउँमा सुसमाचार प्रचार गर्न गएँ। तर म अलिक घबराएकी थिएँ, किनभने यसभन्दा पहिले मैले कहिल्यै पनि परमेश्‍वरका आखिरी दिनहरूको कामबारे एकलै गवाही दिएकी थिइनँ, त्यसकारण मलाई स्पष्टसित बोल्‍न सक्दिनँ होला भन्‍ने चिन्ता लागेको थियो। मैले सोचेँ, “त्यहाँ इन्टरनेट छ कि छैन थाहा छैन। के सुसमाचार प्रचार गर्ने ब्रदर-सिस्टरहरूलाई अनलाइन सङ्गति गर्न लगाउनु सम्‍भव हुन्छ?” मेरो स्थिति गलत छ, र मैले मानिसहरूमा भरोसा गरिरहेकी छु भन्‍ने मलाई महसुस भयो, त्यसकारण मैले हृदयदेखि प्रार्थना गरेँ, र त्यहाँ सुसमाचार प्रचार गर्दा मलाई बुद्धि र विश्‍वास दिनुहोस् भनेर परमेश्‍वरलाई अनुरोध गरेँ। गाउँमा पुगेपछि एक जना सिस्टरले मलाई सीधै मेयरको घरमा प्रचार गर्न लिएर गइन्। अनपेक्षित रूपमा, मेयरले मलाई पाष्टरकहाँ लैजान चाहे। यो सुनेपछि, म उत्साहित भएँ, तर मलाई केही चिन्ता पनि लाग्यो, “मैले कहिल्यै एकलै सुसमाचार प्रचार गरेकी थिइनँ। यदि पाष्टरमा धारणाहरू छन् भने, मैले तिनीसँग कसरी सङ्गति गर्ने? तिनले स्वीकार नगर्ने मात्र होइन, तर मलाई विरोधसमेत गरे भने के गर्ने? के हामीले अझै पनि यो गाउँमा सुसमाचार फैलाउन सक्‍नेछौँ?” मलाई निकै चिन्ता लागेको थियो। पाष्टरको घरमा पुगेपछि, म सहयोगको लागि ब्रदर-सिस्टरहरूलाई कल गर्न चाहन्थेँ, तर मेरो फोनमा इन्टरनेट थिएन। कहाँबाट सुरु गर्ने मलाई थाहा भएन, त्यसैले मैले परमेश्‍वरलाई बारम्‍बार प्रार्थना गरेँ, अनि मेरो साथमा रहनुहोस् र मलाई विश्‍वास दिनुहोस् भनेर बिन्ती गरेँ ताकि मैले परमेश्‍वरका आखिरी दिनहरूको कामबारे गवाही दिन सकूँ। प्रार्थना गरेपछि, मलाई परमेश्‍वरका यी वचनहरू याद आए, “मानिसको हृदय र आत्मा परमेश्‍वरको हातमा हुन्छ, उसको जीवनको सबै थोकमा परमेश्‍वरले नजर राख्‍नुहुन्छ। तैँले यस कुरालाई विश्‍वास गर् वा नगर्, चाहे त्यो सजीव वा निर्जीव होस्, कुनै पनि थोक र सबै थोक परमेश्‍वरको विचारअनुसार सर्छन्, परिवर्तन हुन्छन्, नवीकरण हुन्छन् र लोप हुन्छन्। परमेश्‍वरले यसरी सबै थोकमाथि शासन गर्नुहुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर मानिसको जीवनको स्रोत हुनुहुन्छ)। यो साँचो कुरा थियो। परमेश्‍वर सर्वशक्तिमान् हुनुहुन्छ, अनि मानिसहरूको हृदय र आत्मालगायत सबै मानिसरू, मामिला, र कुरा परमेश्‍वरका हातमा छन्, त्यसकारण मैले परमेश्‍वरमा भरोसा गर्न सिक्‍नुपर्थ्यो। मैले हृदयदेखि परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, यदि यी पाष्टर तपाईंको भेडा हुन् भने, तिनले अवश्य नै तपाईंको आवाजलाई बुझेर तपाईंको काम स्वीकार गर्नेछन् भनेर म पक्‍का छु।” प्रार्थना गरेपछि, मलाई हृदयमा शक्ति आयो, मानौँ परमेश्‍वर मेरो साथमा हुनुहुन्छ भने केही पनि असम्‍भव छैन भन्ने लाग्यो। त्यसपछि, मैले प्रभुको आगमनका अगमवाणीहरूबारे बताउन वर्तमान विपत्ति र संसारका मामिलालाई प्रयोग गरेँ। यो सुनेर, पाष्टरले सहमति जनाए र प्रभु सम्भवतः फर्केर आइसक्‍नुभएको छ भन्‍ने तिनलाई लाग्यो। तिनले यो कुरा सुन्‍नका लागि अरू पाष्टरहरूलाई बोलाउन दुई जना मानिसहरू पनि पठाए। मलाई स्पष्टसित बोल्‍न र तिनीहरूका समस्याहरू समाधान गर्न सक्दिनँ होला भन्‍ने डर लागेको थियो, त्यसकारण मैले परमेश्‍वरलाई डोऱ्याइ माग्‍न हृदयदेखि बारम्‍बार पुकारेँ। मलाई इस्राएलीहरूलाई मिश्रबाट निकालेर लैजान परमेश्‍वरले मोशालाई अह्राउनुभएको घटना याद आयो। मिश्रका फारोकहाँ जानु कठिन र खतरनाक हुनेछ भन्‍ने मोशालाई थाहा थियो, तर तिनमा आज्ञापालन र समर्पणको मनोवृत्ति थियो। परमेश्‍वर तिनीसँग हुनुहुन्थ्यो, तिनलाई साथ दिइरहनुभएको थियो, र तिनले परमेश्‍वरको अगुवाइद्वारा, इस्राएलीहरूलाई मिश्रबाट निकालेर लगे। त्यसपछि मलाई दाऊदले गोल्यतलाई हराएको घटना याद आयो। इस्राएलीहरूले गोल्यतलाई देख्दा, तिनीहरू डराएका थिए। दाऊदले मात्रै बाहिर निस्केर लडाइ गर्ने आँट गरे। दाऊदले गोल्यतलाई भने, “तँ तरवार, भाला र ढाल लिएर मकहाँ आउँछस्, तर म तँकहाँ सेनाहरूका यहोवा” (१ शमूएल १७:४५)। परिणामस्वरूप, दाऊदले गोल्यतलाई एउटा ढुङ्गाले नै मारे। यी दुईवटा घटनाहरूबाट मैले के देखेँ भने, कठिनाइको सामना गर्दा, साँचो विश्‍वासद्वारा मात्रै हामी परमेश्‍वरका कार्यहरू देख्‍न सक्छौँ, र मानिसहरूको लागि समाप्ति परमेश्‍वरको लागि सुरुवात हुन्छ। यसको बारेमा विचार गर्दा, मैले साहस पाएँ।

त्यो बेला, अरू दुई जना पाष्टर आए। आखिरी दिनहरूमा परमेश्‍वर कसरी देहधारी शरीरमा देखा पर्नुहुन्छ र काम गर्नुहुन्छ, परमेश्‍वरको देहधारणको अर्थ र देहधारण भनेको के हो भन्‍ने बारेमा तिनीहरूलाई सङ्गति दिन मैले बाइबलका अगमवाणीहरू प्रयोग गरेँ। परमेश्‍वर न्याय र शुद्धीकरणको काम गर्न आउनुभयो, आखिरी दिनहरूमा परमेश्‍वरको नाम सर्वशक्तिमान्‌ परमेश्‍वर हो, र उहाँ फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भनेर पनि तिनीहरूलाई गवाही दिएँ। मैले आफ्‍नो कुरा सकेपछि, पहिलो पाष्टर यति उत्साहित भए कि तिनी रोए। तिनले यसो भन्दै आँसु पुछे, “मैले प्रभुको लागि प्रचार गरेको ४० वर्षभन्दा बढी भयो, र मैले मेरो जीवनको धेरैजसो समय उहाँको प्रतीक्षामा बिताएँ। अहिले, प्रभु साँच्‍चै फर्केर आउनुभएछ! मैले आज प्रभुलाई स्वागत गर्न पाउँछु भन्‍ने तथ्यको लागि म परमेश्‍वरप्रति अत्यन्तै कृतज्ञ छु!” पाष्टरले भनेको कुरा सुनेपछि, म पनि भावुक भएर तिनीसँगै रोएँ, र म पनि परमेश्‍वरप्रति अत्यन्तै कृतज्ञ भएँ। वास्तवमा, मेरो सङ्गति त्यति विस्तृत थिएन, त्यसकारण पाष्टरले सुसमाचार स्वीकार गर्न र परमेश्‍वरका वचनहरू बुझ्‍न सक्‍नु पूर्ण रूपमा परमेश्‍वरकै डोऱ्याइको कारणले भएको थियो।

पाष्टरले यो कुरा स्विकारे, र त्यो रात मेरो प्रवचन सुन्‍न पुरै गाउँलाई बोलाउँछु भनेर भने। म यति उत्साहित भएँ कि मैले हृदयबाट परमेश्‍वरलाई बारम्‍बार धन्यवाद दिएँ। त्यो साँझ, पाष्टर र मेयरले दुईवटा गाउँका मानिसहरूलाई भेला हुन बोलाए, र सबैलाई प्रभुको आगमनको शुभ समाचारबारे बताए। त्यो रात, ३० जनाभन्दा बढी मानिसहरूले परमेश्‍वरका आखिरी दिनहरूको काम स्वीकार गरे। कतिपय गाउँलेहरूले भने, “सरकारले प्रभुमाथिको विश्‍वासमा प्रतिबन्ध लगाएको चार वर्ष भयो। हामी सबै पीडामा जिइरहेका छौँ, र हामीलाई भेलाहरूहरूको याद आउँछ। परमेश्‍वरलाई धन्यवाद!” गाउँका अर्का व्यक्तिले भावुक हुँदै भने, “हामीले भेला सञ्चालन नगरेको वर्षौँ भइसक्यो। हामीले परमेश्‍वरको आवाज सुन्‍न सकौँ भनेर तपाईं हामीलाई सुसमाचार प्रचार गर्न आउनुभयो, र म यसको निम्ति परमेश्‍वरप्रति अत्यन्तै कृतज्ञ छु।” एकै रातमा, पूरै गाउँमा सुसमाचार फैलिएको थियो। मैले पहिलोपटक सुसमाचार प्रचार गर्दा, पाष्टरले अरू यति धेरै मानिसहरूसँगै स्वीकार गर्नेछन् भन्‍ने कहिल्यै अपेक्षा गरेकी थिइनँ। यो निकै उल्‍लेखनीय कुरा थियो! यो पवित्र आत्‍माको कामको परिणाम हो भन्‍ने मलाई थाहा थियो, तर मलाई अझै म सिपालु छु र मैले आफ्‍नो कर्तव्य एकदमै राम्ररी पूरा गरेँ भन्‍ने लाग्यो। थाहै नपाई, मलाई गर्व लाग्‍न थाल्यो र म फेरि पनि यथास्थितिमा सन्तुष्ट हुन थालेँ, त्यसकारण म मलजल कामको इन्‍चार्ज रहेकी सिस्टरसँग यी नयाँ विश्‍वासीहरूलाई मलजल गर्न मात्र चाहन्थेँ, र उप्रान्त प्रचार गर्न जान चाहँदिनथिएँ। त्यो अवधिमा, म मण्डलीको कामबारे विरलै सोध्थेँ, र म पहिलेभन्दा कम प्रार्थना गर्थेँ।

एक दिन, मैले मेरो फोन चार्ज गरिरहेकी थिएँ, र शर्ट-सर्किटले गर्दा त्यो बिग्रियो। मैले सिमकार्ड अर्को फोनमा हालेँ, तर अचम्‍मको कुरा, त्यो फोन पनि फुट्यो। त्यो बेला, मलाई ठूलो बाधा आउँदैछ, र सायद यो परमेश्‍वरको अनुशासन हुन सक्छ भन्‍ने मलाई महसुस भयो, त्यसकारण मैले आफ्‍ना समस्याहरूबारे मनन गर्न थालेँ। मैले परमेश्‍वरको वचनमा यो कुरा पढेँ, “सामान्यतया, तिमीहरू सबै आलस्य, प्रेरणा नपाएको, कुनै पनि व्यक्तिगत बलिदान गर्न अनिच्छुक अवस्थामा हुन्छौ; वा तिमीहरू निष्क्रियतासाथ पर्खन्छौ, र कतिले त गुनासो पनि गर्छौ; तिनीहरू परमेश्‍वरको कामका लक्ष्यहरू र महत्त्वलाई बुझ्दैनन्, र सत्यताको पछि लाग्नु तिनीहरूलाई कठिन हुन्छ। त्यस्ता मानिसहरू सत्यतालाई घृणा गर्छन् र अन्त्यमा तिनीहरूलाई हटाइनेछ। तिनीहरूमध्ये कसैलाई पनि सिद्ध बनाउन सकिँदैन, र कोही पनि जीवित रहन सक्दैन। यदि मानिसहरूमा शैतानका शक्तिहरूको विरोध गर्ने थोरै पनि संकल्प छैन भने तिनीहरूका निम्ति कुनै आशा हुँदैन!(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अभ्यास (७))। “परमेश्‍वरलाई पछ्याउने निष्क्रिय व्यक्ति नबन्, र तँलाई जिज्ञासु तुल्याउने कुराको खोजी नगर्। यता न उताको भइस् भने, यसले तँ आफैलाई बरबाद गर्नेछ र तेरो जीवनलाई ढिलाइ गर्नेछ। त्यस्तो असक्रियता र निष्क्रियताबाट तैँले आफूलाई मुक्त गर्नैपर्छ, र सकारात्मक कुराहरूको खोजी गर्ने र आफ्‍नै कमजोरीहरूमाथि पार पाउने कार्यमा तँ सिपालु हुनुपर्छ, ताकि तँ सत्यतालाई प्राप्त गर्न र सत्यतामा जिउन सक्। तेरा दुर्बलताहरूका बारेमा डराउनुपर्ने कुरा केही छैन र तेरा कमजोरीहरू तेरा सबैभन्दा ठूला समस्या होइनन्। तेरो सबैभन्दा ठूलो समस्या र तेरो सबैभन्दा ठूलो कमजोरी भनेको तँ यता न उताको हुनु र सत्यता खोज्‍ने इच्‍छा तँमा नहुनु हो। तिमीहरू सबैको सबैभन्दा ठूलो समस्या भनेको जे छ त्यसैमा खुशी हुने र हात बाँधेर पर्खिबस्‍ने तिमीहरूको कायर मानसिकता हो। सत्यताको खोजीमा तिमीहरूको सबैभन्दा ठूलो बाधा र सबैभन्दा ठूलो शत्रु यही हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान)। परमेश्‍वरको वचन पढेपछि, मैले आत्मचिन्तन गरेँ। पूरै गाउँमा सुसमाचार प्रचार भएको देख्दा, मलाई मेरो कर्तव्य निर्वाहप्रति परमेश्‍वर सन्तुष्ट हुनुभएको छ भन्‍ने लाग्यो, त्यसकारण मलाई गर्व लाग्यो र म यथास्थितिमा नै सन्तुष्ट बनेँ, र मैले सुसमाचार प्रचारलाई जारी राख्‍न चाहिनँ। मैले परिणामहरू पाएपछि, थप प्रगति गर्न खोजिनँ। यथास्थितिमा सन्तुष्ट हुने मेरो इच्‍छा अत्यन्तै दह्रिलो थियो। विगतमा, म यथास्थितिमा सन्तुष्ट भएकोले नै मैले सुसमाचारको काममा ढिलाइ गरेकी थिएँ, र अहिले म फेरि त्यही गरिरहेकी थिएँ। हामीले आफ्नो कर्तव्यमा सारा हृदय र मन लगाएको परमेश्‍वर चाहनुहुन्छ। मेरो कर्तव्य निर्वाहप्रति परमेश्‍वर कसरी सन्तुष्ट हुन सक्‍नुहुन्थ्यो र? त्यसपछि मैले के महसुस गरेँ भने, यदि मैले आफ्नो कर्तव्यमा प्रगति गरिरहेकी छैनँ भने, म पछि सर्दै गइरहेको हो, अनि जीवन प्रवेश र सुसमाचार प्रचारका परिणामहरूको सन्दर्भमा, म पछि छोडिएको हुनेछु। म सधैँ यथास्थितिमा सन्तुष्ट हुन्थेँ, सत्यता खोजी गर्दिनथिएँ, र म परमेश्‍वरबाट झन्-झन् टाढा भइरहेकी थिएँ। दीर्घकालीन रूपमा, त्यसरी मैले आफूलाई हानि मात्र गर्न सक्थेँ। यथास्थितिमा सन्तुष्ट हुनु नै सत्यता पछ्याउने र आफ्‍नो कर्तव्य पूरा गर्ने कार्यप्रति मेरो सबैभन्दा ठूलो बाधा थियो र मैले आफूलाई हानि र बरबाद मात्रै गर्नेथिएँ। परमेश्‍वरका वचनहरू भन्छन्, “यता न उताको भइस् भने, यसले तँ आफैलाई बरबाद गर्नेछ र तेरो जीवनलाई ढिलाइ गर्नेछ।” अनि प्रकाशको पुस्तकले भन्छ, “त्यसैले तिमीहरू, न त चिसो न त तातो, तर मनतातो भएको हुनाले, म तिमीहरूलाई मेरो मुखबाट ओकलिदिनेछु(प्रकाश ३:१६)। म परमेश्‍वरको वचनमा बताइएको मनतातो पानी थिएँ, न त चिसो थिएँ न त तातो नै, र यथास्थितिप्रति सन्तुष्ट थिएँ। यदि म यसरी नै अघि बढिरहेको भए, मेरो लागि कुनै आशा हुनेथिएन, र मलाई साँच्‍चै नै हटाइनेथियो। यसबारे विचार गर्दा, मलाई अलिक डर लाग्यो, त्यसकारण मैले पश्‍चात्ताप गर्दै परमेश्‍वरलाई प्रार्थना गरेँ, अनि भविष्यमा मैले जस्तोसुकै कठिनाइ सामना गर्नुपरे पनि, म प्रयास गर्नेछु, कहिल्यै पछि हट्नेछैनँ, र यथास्थितिमा सन्तुष्ट हुनेछैनँ भनेर भनेँ।

तर म प्रचारमा सक्रिय हुन थाल्‍नेबित्तिकै, मैले अर्को ठूलो कठिनाइको सामना गरेँ। हाम्रो बारेमा रिपोर्ट गरिएछ, त्यसकारण मानिसहरू सुसमाचार प्रचार गर्न आएका छन् भन्‍ने नगर सरकारले थाहा पाएछ। हामीलाई भेटियो भने, हामी गाउँलेहरू र मेयरसँगै पक्राउ पर्ने सम्‍भावना थियो। मेयर र गाउँलेहरू आफू यसमा मुछिन्छ भनेर डराए, त्यसकारण तिनीहरूले हामीलाई जान र परिस्थिति शान्‍त भएपछि आउन भनी भने। मैले सोचेँ, “हामी गयौँ भने यी नयाँ विश्‍वासीहरूलाई के हुनेछ? तिनीहरूले भर्खरै सुसमाचार स्वीकार गरेका हुन् र जग बसालेकै छैनन्। तर यदि हामी दुवै बस्यौँ भने, हामीले सहजै ध्यान खिच्‍ने सक्थ्यौँ।” अन्तिममा, हामीले मलजलकर्ता सिस्टरलाई त्यहाँबाट पठाउने निर्णय गर्‍यौँ, मचाहिँ नयाँ विश्‍वासीहरूलाई साथ दिन एकलै त्यस गाउँमा रहेँ। मलाई यो व्यवस्था सबैभन्दा उपयुक्त छ भन्‍ने भए पनि, अलिक दःख लाग्यो। मलाई बिरानो ठाउँमा एकलै छु जस्तो लाग्यो। पाष्टरमा अझै पनि धेरै धारणाहरू थिए र साँचो मार्गबारे तिनी पूर्ण रूपमा निश्‍चित भएका थिएनन्, र तिनलाई पक्राउ परिएला भन्‍ने डर थियो, त्यसकारण तिनले म पनि गएको चाहन्थे। मलाई निकै नरमाइलो लाग्यो। पाष्टर र मेयरले मलाई जान कर गरिरहेका थिए, यो त मेरो घर नै नभएको जस्तो भयो। यस्तो स्थितिमा जिउँदा, मलाई प्रार्थना गर्ने कुनै जाँगर भएन, र घरको अलिक याद आयो। पाष्टरसँग सङ्गति गर्दा, तिनमा अझै पनि धेरै धारणाहरू रहेको मैले थाहा पाएँ। त्यसकारण मलाई पाष्टरले यो कुरा राम्ररी बुझेका छैनन् भन्‍ने विश्‍वास लाग्यो। पक्राउ पर्ने डरले थोरै नयाँ विश्‍वासीहरू आएको देखेर, मैले तिनीहरूलाई सहयोग गर्न बोझ लिइनँ। त्यो बेला, मलाई लाग्यो, “यिनीहरू थोरै आएर राम्रै भयो। मैले तिनीहरूलाई बोलाएँ, तर अरू आएनन्, त्यसकारण मैले गर्न सक्‍ने थप केही पनि छैन।” क्रमिक रूपमा, झन्-झन् थोरै नयाँ विश्‍वासीहरू नियमित रूपमा भेलाहरूमा आए, र म कठिनाइमा परेँ र झन्-झन् निराश बनेँ। पछि, मैले एक जना सिस्टरलाई मेरो स्थितिको बारेमा फोनमा बताएँ, र उनले मलाई परमेश्‍वरको वचनको एउटा खण्ड पठाइन्। “मानिसहरूले सत्यता प्राप्त नगरेको अवस्थामा, तिनीहरू यस्तै हुन्छन् र यसरी नै जोसमा जिउँछन्—एक यस्तो जोस जुन कायम राखिराख्‍न गाह्रो हुन्छ: तिनीहरूलाई हरदिन कसै न कसैले प्रचार र सङ्गति गर्नुपर्छ; तिनीहरूलाई मलजल र भरणपोषण गर्ने, र तिनीहरूलाई साथ दिने कोही छैन भने, तिनीहरूको हृदय फेरि चिसो भइहाल्छ, र तिनीहरू फेरि सुस्त बन्छन्। अनि, तिनीहरूको हृदय सुस्त हुँदा, तिनीहरू आफ्‍नो कर्तव्यमा कम प्रभावकारी हुन्छन्; यदि तिनीहरूले थप परिश्रम गरे भने, प्रभावकारितामा वृद्धि हुन्छ, तिनीहरूको कर्तव्यपालन अझै फलदायी हुन्छ, र तिनीहरूले अझै धेरै कुरा प्राप्त गर्छन्। के तिमीहरूको अनुभव यस्तै छ? … मानिसहरूमा इच्‍छाशक्ति हुनैपर्छ; इच्‍छाशक्ति भएकाहरू मात्रै सत्यताप्रति लागिपर्न सक्छन्, र तिनीहरूले सत्यता बुझेपछि मात्रै आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न, परमेश्‍वरलाई सन्तुष्ट पार्न, अनि शैतानलाई लाजमा पार्न सक्छन्। यदि तँमा यस्तो इमानदारिता छ, र आफ्‍नै खातिर योजना बनाउँदैनस्, बरु सत्यता प्राप्त गर्ने र आफ्‍नो कर्तव्य उचित रूपमा पूरा गर्ने योजना मात्रै बनाउँछस् भने, तेरो कर्तव्यपालन सामान्य बन्छ, र सधैँ एकसमान रहिरहन्छ; तैँले जस्तोसुकै परिस्‍थितिको सामना गर्नुपरे पनि, तँ आफ्‍नो कर्तव्य पूरा गर्नमा लागिरहन सक्छस्। तँलाई बहकाउन वा बाधा दिन जोसुकै वा जेसुकै आए पनि, तेरो मनस्थिति राम्रो भए पनि नराम्रो भए पनि, तैँले सामान्य रूपमै आफ्‍नो कर्तव्य पूरा गर्न सक्‍नेछस्। यसरी, परमेश्‍वर तँप्रति ढुक्‍क बन्‍नुहुनेछ, र पवित्र आत्‍माले तँलाई सत्यताका सिद्धान्तहरू बुझ्‍न अन्तर्दृष्टि दिन सक्‍नुहुनेछ, र सत्यताको वास्तविकतामा प्रवेश गर्न तँलाई अगुवाइ गर्नुहुनेछ, फलस्वरूप, तेरो कर्तव्यपालन अवश्य नै मापदण्डको स्तरमा पुग्‍नेछ। … सबै थोक परमेश्‍वरको हातमा छ, र मानिसहरूले केवल उहाँसँग सहकार्य मात्र गर्दै छन् भन्ने विश्‍वास तँमा हुनैपर्छ। यदि तेरो हृदय इमानदार छ भने, परमेश्‍वरले त्यो देख्‍नुहुनेछ, र उहाँले तेरो लागि सबै मार्गहरू खोलिदिनुहुनेछ, र यसरी उहाँले कठिनाइहरूलाई अबउप्रान्त कठिन बन्न दिनुहुन्न। यही विश्‍वास तँमा हुनुपर्छ। त्यसकारण, आफ्नो कर्तव्य गरिरहेको बेला जबसम्म तैँले आफ्नो सम्पूर्ण बल र हृदय त्यसमा लगाउँछस् तबसम्म कुनै पनि कुराको चिन्ता गर्नु आवश्यक छैन। परमेश्‍वरले तेरो निम्ति परिस्थिति कठिन बनाउनुहुनेछैन वा तैँले गर्न नसक्‍ने काम गर्न लगाउनुहुन्न(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरमाथिको विश्‍वासमा सबैभन्दा महत्त्वपूर्ण कुरा उहाँका वचनहरू अभ्यास र अनुभव गर्नु हो)। परमेश्‍वरको वचन लागू गरेर, मैले जोसले मात्रै आफ्‍नो कर्तव्य पूरा गरिरहेकी रहेछु, तर म परमेश्‍वरप्रति निष्ठावान रहेनछु भन्ने बुझेँ। सरकारले हामीलाई सताएपछि, मेयरले मलाई जान अनुरोध गरे, र पक्राउ पर्ने डरले नयाँ विश्‍वासीहरू भेलाहरूमा आएनन्। यी कठिनाइहरूमा, मैले सकारात्मक मनोवृत्ति राखिनँ, परमेश्‍वरको डोऱ्याइ खोजिनँ, वा नयाँ विश्‍वासीहरूले विश्‍वासमा जग बसाल्‍न सकून् भनी तिनीहरूलाई मलजल गर्न सक्दो गरिनँ। बरु, म निष्क्रिय बनेँ र एक-दुई जना नयाँ विश्‍वासीहरूमै सन्तुष्ट रहेँ। मैले बोझ नलिई वा प्रगति नखोजी आफ्‍नो कर्तव्य पूरा गरेको हुनाले नै, भेलाहरूमा नयाँ विश्‍वासीहरूको सहभागिता झन्-झन् अनियमित हुँदै गएको थियो। परमेश्‍वरका वचनहरू भन्छन्, “तिनीहरूको हृदय सुस्त हुँदा, तिनीहरू आफ्‍नो कर्तव्यमा कम प्रभावकारी हुन्छन्; यदि तिनीहरूले थप परिश्रम गरे भने, प्रभावकारितामा वृद्धि हुन्छ, तिनीहरूको कर्तव्यपालन अझै फलदायी हुन्छ, र तिनीहरूले अझै धेरै कुरा प्राप्त गर्छन्।” यो वास्तवमै साँचो कुरा हो। मैले बोझ लिएर मूल्य चुकाउन इच्छुक हुँदा, परमेश्‍वरका डोऱ्याइ र आशिषहरू देख्‍न सकेँ, र मेरो सुसमाचार प्रचार प्रभावकारी भएको थियो। तैपनि कठिनाइहरू आउँदा, मैले आफ्‍नो कर्तव्यमा बोझ लिइनँ, म गैरजिम्‍मेवार, कमजोर र निष्क्रिय भएँ, त्यसकारण म आफ्‍नो कर्तव्यमा प्रभावकारी भइनँ। परमेश्‍वरको अनुग्रहले गर्दा नै मैले कर्तव्य पूरा गर्ने मौका पाएकी थिएँ, तर मैले परमेश्‍वरलाई सन्तुष्ट पार्ने गरी यो राम्रोसँग गर्न सकिनँ। म अत्यन्तै विद्रोही थिएँ!

पछि, मैले परमेश्‍वरको वचनको अर्को खण्ड पढेँ, “‘आफ्‍नो कर्तव्यमा दृढ रहनु’ भनेको के हो? यसको अर्थ जस्तोसुकै कठिनाइहरूको सामना गरे पनि, लत्तो नछाड्नु, वा धोकेबाज नहुनु, वा आफ्‍नो जिम्‍मेवारीबाट पछि नहट्नु भन्‍ने हुन्छ। व्यक्तिले आफूले सक्‍नेजति सबै गर्नुपर्छ। आफ्‍नो कर्तव्यमा दृढ रहनु भनेको यही हो। उदाहरणको लागि, मानौँ तेरो लागि केही काम गर्ने बन्दोबस्त मिलाइयो। तँलाई रेखदेख गर्ने कोही छैन, र तँलाई सुपरिवेक्षण गर्ने र तँलाई गर्-गर् भन्‍ने कोही छैन। यस्तो बेला तँ आफ्‍नो कर्तव्य दृढ रहनु भनेको कस्तो हुन्छ? (परमेश्‍वरको सुक्ष्म जाँचलाई स्वीकार गर्नु र उहाँको अघि जिउनु।) परमेश्‍वरको सुक्ष्म जाँचलाई स्वीकार गर्नु पहिलो कदम हो; यो यसको एउटा भाग हो। अर्को भाग भनेको आफ्‍नो सारा मन र मस्तिष्कले त्यो काम गर्नु हो। आफ्‍नो सारा मन मस्तिष्कले काम गर्न सक्षम हुनको लागि तैँले के गर्नुपर्छ? तैँले सत्यतालाई स्वीकार गरेर अभ्यास गर्नुपर्छ; तैँले परमेश्‍वरको मापदण्डको कुरालाई स्वीकार र पालना गर्नुपर्छ; तैँले आफ्‍नो कर्तव्यलाई आफ्‍नै व्यक्तिगत कामको रूपमा लिनुपर्छ, र त्यसको लागि कसैको चासो वा कसैको निरन्तरको निगरानी, जाँच, र आग्रह वा निरीक्षण आवश्यक हुनु हुँदैन—र कसैको निराकरण र काटछाँटको समेत खाँचो हुनु हुँदैन। तैँले मनमा यस्तो सोचेको हुनुपर्छ, ‘यो कर्तव्य पूरा गर्ने मेरो जिम्‍मेवारी हो। यो मेरो भाग हो, र यो काम गर्न मलाई दिइएको हुनाले, र मलाई सिद्धान्तहरू बताइएको र मैले ती बुझेको हुनाले, म कम्‍मर कसेर एकोहोरो भएर लागिपर्नेछु। यसलाई राम्ररी पूरा गर्न म आफूले सकेजति गर्नेछु। कसैले “रोकिई” भनेपछि मात्रै म रोकिनेछु; तबसम्‍म, म एकोहोरो भएर लागिपर्नेछु।’ आफ्‍नो सारा मन र मस्तिष्कसहित आफ्‍नो कर्तव्यमा दृढ हुनु भनेको यही हो। मानिसहरूले व्यवहार गर्नुपर्ने तरिका यही हो। त्यसो भए, आफ्‍नो कर्तव्यमा आफ्‍नो सारा मन र मस्तिष्कसहित कर्तव्यमा दृढ हुनको लागि व्यक्ति के कुराले सुसज्‍जित हुनुपर्छ? व्यक्तिमा सर्वप्रथम सृष्टि गरिएको प्राणीमा हुनुपर्ने विवेक हुनुपर्छ। न्यूनतम कुरा त्यही हो। त्यसबाहेक, ऊ समर्पित पनि हुनुपर्छ। व्यक्तिले एक मानवको रूपमा, परमेश्‍वरको आज्ञा स्वीकार गर्नका निम्ति ऊ भक्ति-भावयुक्त हुनुपर्छ। व्यक्ति परमेश्‍वरप्रति पूर्ण रूपमा भक्ति-भावयुक्त हुनुपर्छ, र ऊ आधा मनको हुनु हुँदैन, वा जिम्मेवारी उठाउन असफल हुनु हुँदैन; आफ्नै रुचिहरू वा मनस्थितिको आधारमा कार्य गर्नु गलत हो, यसो गर्नु भक्ति-भावयुक्त हुनु होइन। भक्ति-भावयुक्त हुनुले कुन कुरालाई संकेत गर्छ त? यसको अर्थ यही हो कि तँ आफ्ना कर्तव्यहरू पूरा गर्ने क्रममा तेरो मनस्थिति, वातावरण, मानिस, मामिला वा कामकुराहरूद्वारा प्रभावित र बाध्य हुँदैनस्। तैँले मनमनै यस्तो विचार गर्नुपर्छ, ‘मैले यो आज्ञा परमेश्‍वरबाट पाएको छु; उहाँले मलाई यो दिनुभएको हो। यसको अर्थ मैले गर्नुपर्ने यही नै हो। त्यसकारण, म यसलाई मेरो आफ्नै मामिला ठानेर, राम्रा परिणामहरू ल्याउने जुनसुकै तरिकाद्वारा र परमेश्‍वरलाई सन्तुष्ट पार्ने कुरालाई महत्त्व दिंदै गर्नेछु।’ जब तेरो अवस्था यस्तो हुन्छ, तँ तेरो विवेकद्वारा नियन्त्रित भएको मात्र हुँदैनस्, यसमा त भक्ति-भाव पनि सामेल भएको हुन्छ। यदि तँ दक्ष बन्‍ने र परिणामहरू प्राप्त गर्ने आकाङ्क्षा नराखी त्यो कार्य सम्पन्‍न गर्दा र नतिजा प्राप्त गर्दा नै सन्तुष्ट हुन्छस्, अनि केही कोसिस गर्नु नै पर्याप्त हुन्छ भनी विचार गर्छस् भने, त्यो विवेकको स्तर मात्र हो, र त्यसलाई भक्तिको रूपमा मान्‍न सकिंदैन(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनहरू पढिसकेपछि, मैले आफ्‍नो कर्तव्यलाई कसरी कायम राख्‍ने भनेर बुझेँ। यो कर्तव्य मलाई सुम्पिएको थियो, त्यसकारण मैले यसलाई राम्ररी पूरा गर्न कसैको रेखदेखविना सक्दो गर्नुपर्थ्यो। मैले कठिनाइहरूको सामना गर्नुपरे पनि नपरे पनि, आफ्ना हितहरू समावेश भए पनि नभए पनि, वा कष्ट भोग्‍नुपरे पनि नपरे पनि, परमेश्‍वरको निरीक्षणलाई स्वीकार गरेर आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्नुपर्थ्यो। सुसमाचारको काम अघि बढिञ्‍जेलसम्‍म, मैले आफूले सक्‍ने जति सबै गर्नुपर्थ्यो र आफ्‍नो कर्तव्यलाई मिसनको रूपमा लिनुपर्थ्यो, र मैले लत्तो छोड्नु, जिम्‍मेवारीबाट पन्छिनु, वा आफ्‍नै मनस्थितिअनुसार काम गर्नु हुँदैनथियो। त्यसपछि मैले आफ्‍नो कर्तव्यलाई कायम राखिररहेकी हुनेथिएँ।

त्यसपछि, म भेलाहरूमा सहभागी नहुने नयाँ विश्‍वासीहरूसँग सङ्गति गर्न गएँ। मैले भनेँ, “तपाईंहरू राती भेलाहरूमा आउन सक्‍नुहुन्‍न भने, दिउँसो तपाईंहरूसँग समय हुँदा, म सङ्गति गर्न आउन सक्छु।” यसले कतिपय नयाँ विश्‍वासीहरूको मन छोयो, र तिनीहरू भेलामा आउन इच्‍छुक भए। एक रात, मैले पाष्टर र गाउँलेहरूसँग भेला आयोजना गरेँ। मैले भनेँ, “अहिले, परमेश्‍वरको काम समाप्त हुन लागेको छ, त्यसकारण सरकारको सतावटको कारण हामीले परमेश्‍वरका वचनहरू पढ्न भेला हुन डराउनु हुँदैन। डरायौँ भने, हामीले परमेश्‍वरको मुक्ति गुमाउनेछौँ। अहिले, विपत्तिहरू बढिरहेका छन्, र सर्वशक्तिमान्‌ परमेश्‍वरले मात्रै हामीलाई बचाउन सक्‍नुहुन्छ। हामीमा परमेश्‍वरले सबै थोकमाथि शासन गर्नुहुन्छ भन्‍ने विश्‍वास हुनुपर्छ, हामीले परमेश्‍वरलाई विश्‍वास गर्नुपर्छ, र हामीलाई सतावट आउँदा पछि हट्नु हुँदैन। मैले तपाईंहरूको गाउँमा सुसमाचार प्रचार गरेँ, र तिनीहरूले मलाई भेटे भने पक्रनेछन्। म भर्खरकै जवान स्त्री हुँ, र मलाई पक्राउ पर्नदेखि डर लाग्छ, तर पनि किन म यो ठाउँ छोडेर जान्नँ? किनभने यो मेरो जिम्‍मेवारी हो। तपाईंहरूले भर्खरै परमेश्‍वरको राज्यको सुसमाचार स्विकार्नुभएको छ, र तपाईंहरूले बल्‍ल परमेश्‍वरको आवाज सुन्‍नुभएको छ। यो सानो सतावट आएको छ, र तपाईंहरूले मलाई जान अनुरोध गर्नुभयो, तर मैले आफूलाई रक्षा गर्न यहाँबाट तपाईंहरूलाई छोडेर गएकी भए, त्यो कर्तव्य त्यागेको हुनेथियो।” मैले इमानदारीपूर्वक बोलेपछि, पाष्टरले गाउँलेहरूलाई भने, “हामीले अबदेखि उहाँलाई रक्षा गर्नुपर्छ। उहाँले यो गाउँमा सुसमाचार प्रचार गरिरहनुभएको छ भनेर कसैलाई नभन्‍नुहोस्। कसैले सोध्यो भने, थाहा छैन भनेर भन्‍नुहोस्।” पाष्टरको कुरा सुनेपछि, म निकै भावुक भएँ। तिनमा अझै पनि धेरै धार्मिक धारणाहरू रहेको भए पनि, तिनी खोजी गर्न इच्‍छुक थिए, त्यसकारण मैले तिनका धारणाहरूलाई लक्षित गर्दै सङ्गति दिएँ, अनि ब्रदर-सिस्टरहरूले पाष्टरलाई सर्वशक्तिमान्‌ परमेश्‍वरका केही वचनहरू पठाए। पाष्टरले ध्यान दिएर सुने, र तिनका केही धारणाहरू हटे। पछि, पाष्टर सक्रिय भएर भेलाहरूमा आए, र तिनले गाउँलेहरूलाई भने, “तपाईंहरू सबै जना भेलाहरूमा आउनुहोस्, हामीले परमेश्‍वरका आखिरी दिनहरूको काम स्वीकार गर्नुपर्छ, यसलाई कायम राख्नुपर्छ, पछि पर्नु हुँदैन। सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ!” परमेश्‍वरलाई धन्यवाद! यो अनुभव गरेपछि, मैले सबै कुरा परमेश्‍वरकै हातमा छ भन्‍ने कुरा साँचो रूपमा देखेँ। विगतमा, म सबै कुरा परमेश्‍वरकै हातमा छ भनेर मात्रै भन्थेँ, तर अहिले मैले सबै कुरा साँच्‍चै नै परमेश्‍वरकै हातमा छ, र मानिसहरूले इमानदारीपूर्वक परमेश्‍वरसँग सहकार्य गरे भने, उहाँले तिनीहरूलाई अगुवाइ गर्नुहुन्छ भनेर अनुभव गरेँ। परमेश्‍वरका निम्ति कुनै कुरा पनि असम्‍भव छैन।

केही समयपछि, नगरपालिकाका अधिकारीहरू गाउँमा आएर पाष्टर र मलाई नगरपालिकाको कार्यालयमा लगे। म घबराएकी र डराएकी थिएँ, तर मलाई सबै कुरा परमेश्‍वरकै हातमा छन् भन्‍ने याद आयो, र परमेश्‍वरले नै यो परिस्थिति मकहाँ आउन दिनुभएको हुनाले, मैले आज्ञापालन गर्नुपर्थ्यो। हामी बाटोमा हिँड्दै गर्दा, मैले मनमनै परमेश्‍वरलाई प्रार्थना गरेँ, र मेरो साथमा रहनुहोस् भनी बिन्ती गरेँ। मलाई परमेश्‍वरको यो वचन याद आयो, “शैतान जति नै ‘शक्तिशाली’ भए तापनि, त्यो जति नै दुस्साहसी र महत्त्वाकांक्षी भए तापनि, हानि पुऱ्याउने यसको क्षमता जति नै ठूलो भए पनि, त्यसले मानिसलाई भ्रष्ट तुल्याउने र प्रलोभनमा पार्ने उपायहरू जति नै धेरै भए पनि, त्यसले मानिसलाई विचलित बनाउने त्यसका चलाकी र युक्तिहरू जति नै चतुर भए तापनि, यो जति परिवर्तनीय स्वरूपमा अस्तित्वमा रहे तापनि, यसले एउटै जीवित प्राणीलाई सृष्टि गर्न कहिल्यै सकेको छैन, सबै थोकको अस्तित्वको लागि व्यवस्था वा नियमहरू कहिल्यै निर्माण गर्न सकेको छैन, र सजीव होस् वा निर्जीव होस् त्यसले कुनै पनि वस्तुलाई शासन गर्न र नियन्त्रण गर्न कहिल्यै सकेको छैन। आकाशमण्डल र वायुमण्डलमा, त्योबाट जन्‍मेको वा त्यसको कारणले अस्तित्वमा रहेको एक जना व्यक्ति वा थोक छैन; त्यसद्वारा शासन गरिएको, वा त्यसद्वारा नियन्त्रण गरिएको एउटै व्यक्ति वा वस्तु छैन। यसको विपरीत, त्यो परमेश्‍वरको प्रभुत्वमा जिउनु पर्ने मात्रै होइन, तर, त्योभन्दा पनि बढी, त्यसले परमेश्‍वरका सबै आदेश र आज्ञाहरूलाई पालन गर्नैपर्छ। परमेश्‍वरको अनुमतिविना, भूमिमा पानीको थोपा वा बालुवाको कण छुनु समेत शैतानको लागि कठिन हुन्छ; परमेश्‍वरको अनुमतिविना, शैतानसँग भूमिको कमिलोलाई हल्‍लाउने स्वतन्त्रता समेत छैन, परमेश्‍वरले सृष्टि गर्नुभएको मानवजातिलाई छुने कुरा त परै जाओस्(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १)। परमेश्‍वरका वचनहरू याद गरेपछि, मलाई शान्ति भयो, त्यति डर लागेन, र सबै कुरा परमेश्‍वरकै हातमा छन् भन्‍ने विश्‍वास भयो।

नगर सरकारको कार्यालयमा, पाष्टर र मलाई सोधपुछको लागि एउटा कोठामा थुनियो। त्यो बेला, पाष्टरको माइग्रेन बल्झियो। तिनीसँग कुनै शक्ति रहेन, तिनका हातखुट्टा कामिरहेका थिए, तिनी पीडामा थिए, र तिनलाई त्यहीँ मर्छु कि भन्‍ने चिन्ता लागेको थियो। मैले तिनलाई यसो भन्दै सङ्गति दिएँ, “यो परिस्थिति हामीले परमेश्‍वरलाई साँचो रूपमा पछ्याउँछौँ कि पछ्याउँदैनौँ भनेर हेर्नको लागि हामीमा आएको परीक्षा हो। सबै कुरा परमेश्‍वरकै हातमा छन्, र परमेश्‍वरको अनुमतिविना शैतानले हामीलाई केही पनि गर्नेछैन, त्यसकारण हामीमा विश्‍वास हुनुपर्छ।” मेरो सङ्गतिपछि, पाष्टरले भावुक भएर आँसु झारे। तिनले भने, “परमेश्‍वरलाई धन्यवाद! सबै कुरा परमेश्‍वरकै हातमा छन्, र परमेश्‍वर हाम्रो साथमा हुनुहुन्छ, त्यसकारण मैले मर्न डराउनु हुँदैन।” त्यसपछि तिनले मलाई भने, “तिनीहरूले मलाई सोधपुछ गरे भने, म तिमी मेरी छोरी हो, र मलाई काम सघाउन आएकी हुन् भनेर भन्छु।” त्यसकारण, पाष्टर र मैले यो परिस्थिति सामना गर्ने आत्मबल पायौँ। अन्त्यमा, नगर राज्यपालले मलाई र पाष्टरलाई ३०० युआन जरिमाना तिराएर छोडिदिए।

यो पक्राउको सामना गरेपछि, मैले परमेश्‍वरको सर्वशक्तिमान् सार्वभौमिकतालाई, साथै मानिसहरूका हृदय र आत्मा सबै परमेश्‍वरको हातमा छन् भन्‍ने देखेँ। सुसमाचार प्रचार गर्ने मार्ग कठिन र खतरनाक भए पनि, यो अवधिमा, म अलिक परिपक्‍व भएँ। विगतमा मलाई सतावट आउँदा, म निष्क्रिय भएँ, तर अहिले, खतराको सामना गर्दा सक्रिय भएर जिम्‍मेवारी लिन सक्‍ने भएकी थिएँ। यो परिवर्तन, र यो बहुमूल्‍य प्राप्ति, मैले अरू कुनै तरिकाले पनि प्राप्त गर्न सक्दिनथिएँ। परमेश्‍वरलाई धन्यवाद!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

म किन बोझ लिँदिनँ?

डेसी, दक्षिण कोरियाअक्टोबर २०२१ मा, मैले भिडियो कार्य सुपरभाइजरको रूपमा अभ्यास गरिरहेको थिएँ। काममा म ब्रदर लियो र सिस्टर क्‍लेयरसँग...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्