निर्णायक मोड

17 डिसेम्बर 2024

मेरो सुखी परिवार थियो र मेरा श्रीमान मप्रति वास्तवमै असल थिए। हामीले पारिवारिक रेस्टुरेन्ट खोल्यौं जुन निकै राम्ररी चल्थ्यो। साथीसँगी र आफन्तहरूले हाम्रो प्रशंसा गर्थे। तर मलाई अन्योल हुन्थ्यो, म भित्रभित्र सधैँ खोक्रो महसुस गर्थें। हरेक दिन ठ्याक्‍कै पछिल्लो पटककै जस्तो महसुस हुन्थ्यो, जीवनको कुनै अर्थ छैनजस्तो लाग्थ्यो, तर जिउने सही तरिका के हो, मलाई थाहा थिएन। त्यसपछि सन् २०१० को अन्त्यतिर, मलाई गाह्रो प्रसव पीडा भयो र अन्ततः रक्तश्राव भयो। मेरो हालत गम्भीर छ भनेर डाक्टरहरूले भने। मेरी आमा असाध्यै डराउनुभयो, मलाई कानेखुसी गर्दै भन्‍नुभयो, “नानु, सर्वशक्तिमान् परमेश्‍वरलाई प्रार्थना गर!” मैले त्यस कुरालाई जीवनबुटीलाई झैँ अँठ्याएँ र मलाई बचाउनुहोस् भनी हृदयबाटै सर्वशक्तिमान् परमेश्‍वरलाई पुकारेँ। तुरन्तै, रक्तश्राव रोकियो। मलाई थाहा थियो, परमेश्‍वरले मलाई जीवन जिउने दोस्रो मौका दिनुभएको थियो र मैले उहाँलाई हृदयबाटै धन्यवाद दिएँ। त्यसउप्रान्त, मैले हरेक दिन परमेश्‍वरका वचनहरू पढ्न थालेँ अनि दाजुभाइ र दिदीबहिनीहरूसित अक्सर भेला भएँ र सङ्गति गरेँ। समयसँगै मैले के सिकेँ भने, परमेश्‍वरले मानिसको सृष्टि गर्नुभयो र मानिससित भएका सबै कुरा परमेश्‍वरबाट नै आउँछन्। हामीले जीवनको अर्थ प्राप्त गर्न हामीसित विश्‍वास हुनुपर्छ, परमेश्‍वरको भक्ति गर्नुपर्छ र सृष्टि गरिएका प्राणीको कर्तव्य निर्वाह गर्नुपर्छ। मैले सुसमाचार प्रचार गर्ने कर्तव्यको जिम्मेवारी लिएँ र हरेक दिन मलाई एकदमै सन्तुष्टि महसुस भयो। मेरो परिवारले सर्वशक्तिमान् परमेश्‍वरलाई स्वीकार गरेको थिएन तर उनीहरू मेरो विश्‍वासको विरोध गर्दैनथे।

सन् २०१२ को अन्त्यतिर। चिनियाँ कम्युनिष्ट पार्टीले उन्मत्त भएर सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीका सदस्यहरूलाई दमन र पक्राउ गरिरहेका थिए, र उनीहरूले मण्डलीको निन्दा गर्न हरप्रकारका अफवाह सृजना गरिरहेका थिए। थुप्रै रेडियो र टेलिभिजन स्टेशनहरूले यी झूटहरूलाई फैलाइरहेका थिए। त्यहाँदेखि, म भेलाबाट फर्कंदा मेरा श्रीमान निन्याउरो र ठुस्स परेका हुन्थे। एक दिन दिउँसो बाह्र बजेतिर, भेलाबाट म सिधै रेस्टुरेन्ट गएँ र उनको अनुहार अँध्यारो देखेँ। उनले मलाई देख्‍नासाथ च्याप्पै समाएर टिभी भएकोमा तानेर लगे, र भने, “तिमीले विश्‍वास गर्ने परमेश्‍वरलाई यहाँ हेर!” मैले देखेँ, उनीहरूले सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीबारे कम्युनिष्ट पार्टीका निन्दा र अफवाहहरू प्रसारण गरिरहेका थिए। ती शतप्रतिशत आधारहीन र झूट थिए। मलाई साह्रै रिस उठ्यो र उनीतिर फर्केर भनेँ, “यो समाचार पूर्ण रूपले झूटो हो। यी कुरा पार्टीले रचेका अफवाह मात्र हुन्। उनीहरू हरपल परमेश्‍वरलाई घृणा गर्छन् र उहाँविरुद्ध लडाइँ गर्छन्, उनीहरूले शक्तिमा आएदेखि नै धर्ममा लागेकाहरूलाई क्रूरतापूर्वक सताएका छन्। मण्डलीविरुद्ध उनीहरूले भनेको जुनसुकै कुरा तपाईं कसरी विश्‍वास गर्न सक्‍नुहुन्छ? यत्तिका वर्ष व्यापारमा लागेपछि हामीले धेरै कुरा देखेका छौँ, त्यसैले, यो सरकार कस्तो हो, यो पार्टी के हो भनेर तपाईंलाई थाहा नभएको होइन। कम्युनिष्ट पार्टीले हरप्रकारका झूटो आरोप र जाली रिपोर्टहरू बनाएको छ। यसले सांस्कृतिक क्रान्ति लादेको मात्र होइन, हालैका वर्षहरूमा, तियानमेन स्क्‍वायर घटना, तिब्बती आन्दोलनको क्रूर दमनजस्ता घटनाहरू पनि गराएको छ। कुनै समूहलाई नराम्रो देखाउन र आक्रोश फैलाउन उनीहरूले सधैं झूटको खेती गर्छन्, त्यसपछि हिंस्रक कारबाही गर्छन्। सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीलाई पनि त्यही गरिएको छ। यो त असम्मत हुनेहरूलाई मेटाउने पार्टीको सधेँको चाल हो। त्यसबाहेक, तपाईंको उपस्थितिमा नै दाजुभाइ र दिदीबहिनीहरूले हाम्रो घरमा भेलाहरू गरेका छन्। तपाईंलाई थाहा छ, हामी केवल भेला हुन्छौं, परमेश्‍वरका वचनहरू पढ्छौँ, सत्यतामाथि सङ्गति गर्छौं र भजन गाउँछौँ। के त्यो कुरा पार्टीले भनिरहेको जस्तो छ त?” उनीहरू कम्युनिष्ट पार्टीको झूटद्वारा नराम्रोसित बहकिएका थिए, तसर्थ, मैले भनेको कुरा उनीहरूले सुनेनन्। उनीहरूले मलाई गाली गरिरहे, मैले विश्‍वास गर्ने ढिपी नकसेर केवल राम्रो जीवन जिउनुपर्छ, र यदि सरकारले विश्‍वास गर्नु हुँदैन भन्छ भने, विश्‍वास त्याग्‍नुपर्छ भनेर भने। उनीहरूले भने, यदि म भेलाहरूमा गइरहेँ भने, मेरो इलेक्ट्रिक स्कुटर फोरिदिनेछन् ताकि म त्यहाँ जान नसकूँ। म घरमै मात्र बसेको उनीहरू चाहन्थे।

सुरुमा त मलाई त्यति दुःख लागेन। मलाई लाग्यो, उनीहरू केही समयका लागि ती झूटद्वारा बहकिएका मात्र हुन् र मेरै चिन्ता गरेर उनीहरू रिसाएका हुन्, र यो केही दिनमै ठीक भइहाल्छ। तर परिस्थिति त्यति सामान्य थिएन। सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीलाई आक्रमण र बदनाम गर्ने अझ धेरै झूटहरू टिभी र इन्टरनेटमा ओइरिरहेका थिए, र विश्‍वासीहरू पक्राउ परिरहेको धेरै रिपोर्टहरू आइरहेका थिए। यो देखेर मेरो परिवारले मलाई झनै धेरै रोक लगायो। मलाई विश्‍वास त्याग्‍न लगाउने प्रयासमा मेरा श्रीमानले परमेश्‍वरका वचनहरूको मेरो पुस्तक च्यातिदिए, र मैले भजन सुन्‍ने गरेको एमपी३ प्लेयर फुटाइदिए। उनले कम्युनिष्ट पार्टीका सबै झूटहरू छिमेकीहरूलाई पनि सुनाए ताकि मैले उनीहरूलाई सुसमाचार सुनाउन नसकूँ। उनीहरूले पनि ती झूट पत्याए र मलाई परपरै गरे। मेरा श्रीमानको व्यवहारले मलाई एकदमै स्तब्ध पाऱ्यो। उनी मप्रति एकदमै दयालु व्यवहार गर्थे—कसरी उनी यत्ति नराम्ररी बद्लिए? विवाह भएको वर्षौंपछि, कसरी उनको बुझाइ र सम्मान गायब भयो? समय बित्दै गयो र उनी मेरै विषयमा लागिरहे, घरमा कामकुरा बिग्रिंदा मलाई र मेरो विश्‍वासलाई दोष लगाउँथे। व्यापार राम्रो नचल्दा उनले मेरो विश्‍वासलाई दोष लगाए र मैले दुर्भाग्य ल्याउँछु भनेर मलाई रेस्टुरेन्टमा पस्‍न दिएनन्। उनका आमाबुबाले सधैँ मलाई आँखा तर्थे र गाली गर्थे, रिसले यताउता चीजबीजहरूलाई हिर्काउँथे। उनीहरूले मलाई बाहिर जान दिएनन्, र बाहिर जानासाथ बोलाएर म कहाँ थिएँ, कोसित थिएँ भनेर सोधखोज गर्थे। त्यस बेला, म उनीहरूको निगरानीमा थिएँ। मैले परमेश्‍वरका वचनहरू पढ्न वा दाजुभाइ र दिदीबहिनीहरूसित सम्पर्क गर्न सकिनँ। मेरो कुनै पनि व्यक्तिगत स्वतन्त्रता थिएन। यो मेरो लागि वास्तवमै परीक्षा थियो, र विश्‍वास गर्न किन यस्तो गाह्रो, किन यस्तो सङ्घर्ष गर्नुपर्ने र कहिलेचाहिँ मैले फेरि त्यसरी जिउनु नपर्ला भनेर सोचिरहेकी थिएँ। तत्कालको लागि भेलाहरूमा जान र कर्तव्य निभाउन छोडुँ कि भन्‍ने सोचाइ कहिलेकाहीँ आउँथ्यो, तर त्यसो गर्नु परमेश्‍वरको इच्छाअनुसार हुँदैन भन्‍ने मलाई महसुस हुन्थ्यो। पीडामा छटपटिंदै मैले तुरुन्तै परमेश्‍वरलाई प्रार्थना गरेँ र मार्गदर्शन मागेँ। परमेश्‍वरका वचनहरूको एउटा खण्ड मेरो मनमा आयो: “आज धेरैजसो मानिससँग त्यो ज्ञान छैन। तिनीहरू दुःख-कष्टको कुनै मूल्य हुँदैन भनी विश्‍वास गर्छन्, तिनीहरू संसारद्वारा त्यागिएका छन्, तिनीहरूको पारिवारिक जीवन समस्याग्रस्त छ, तिनीहरू परमेश्‍वरका प्रियहरू होइनन् र तिनीहरूका सम्भावनाहरू धमिला छन्। केही मानिसहरूको दु:ख चरम सीमामा पुग्छ, र तिनीहरूका विचारहरू मृत्युमा बदलिन्छन्। यो परमेश्‍वरप्रतिको साँचो प्रेम होइन; त्यस्ता मानिसहरू कायरहरू हुन्, तिनीहरूमा कुनै दृढता हुँदैन, तिनीहरू कमजोर र शक्तिहीन छन्! … यी आखिरी दिनहरूमा तिमीहरूले परमेश्‍वरको गवाही दिनैपर्छ। तिमीहरूका दु:ख-कष्टहरू जतिसुकै ठूलो भए पनि तिमीहरू अन्त्यसम्मै हिँड्नुपर्छ, र तिमीहरूको अन्तिम सासमा पनि तिमीहरू परमेश्‍वरप्रति विश्‍वासयोग्य र आज्ञाकारी रहनुपर्छ; केवल यो मात्रै परमेश्‍वरलाई साँचो रूपले प्रेम गर्नु हो, र यो मात्र बलियो र जोडदार गवाही हो(वचन देहमा देखा पर्नुहुन्छको “कष्टपूर्ण परीक्षाहरू अनुभव गरेपछि मात्र तैँले परमेश्‍वरको प्रेमिलोपन जान्न सक्छस्”)। यसबारे सोच्दा म साँच्‍चै अभिप्रेरित भएँ। मैले के बुझेँ भने, परमेश्‍वरको इच्छा मलाई दुःख दिनु नभई, यो दमन र कठिनाइमार्फत मेरो विश्‍वासलाई सिद्ध पार्नु थियो ताकि मैले परमेश्‍वरका लागि गवाही दिने मौका पाऊँ। म पीडादेखि डराएर शैतानसामु झुक्‍न सक्दिनथेँ, मैले परमेश्‍वरमा विश्‍वास गर्नुपर्थ्यो, जत्ति नै गाह्रो भए पनि त्यो मार्गमा रहनुपर्थ्यो अनि बलियो र सशक्त साक्षी हुनुपर्थ्यो।

त्यो दिन म भेलाबाट घर पुग्दा, उनले एकदमै राँकिएर चिच्याउँदै भने, “तिमीले रेस्टुरेन्टका ग्राहकहरूलाई प्रचार गरेर के गरेकी? तिमी विश्‍वासी हौ भनेर सबैले कुरा गरिरहेका छन्। त्यसो गरेर तिमीले कसरी मलाई अपमान गर्न सक्यौ? तिनीहरूले टिभीमा के भन्दैछन् तिमीले देखेकी छौ। यदि यसै गरिरह्यौ भने, तिमी पक्राउ पर्नेछौ!” उनी झन्झनै उत्तेजित हुँदै गएको मैले देखें, त्यसैले केही जवाफ फर्काइनँ, चुपचाप आफ्नो कोठामा गएँ। भित्रको दृश्य देखेर म त स्तब्ध भएँ। उनले परमेश्‍वरका वचनहरूको मेरो पुस्तक च्यातचुत पारेका रहेछन्, भुइँभरि यत्रतत्र कागज छरिएका थिए। मेरा सुसुरा टुप्लुक्‍क आइपुगे र आउनासाथ भने, “हामी हाम्रो छोराले राम्रो जीवन जिउन अर्को विहे गरोस् भन्‍ने चाहन्छौँ। यदि तिम्रो विश्‍वासले गर्दा तिमी पक्राउ पऱ्यौ भने यो परिवार बर्बाद हुनेछ। कि चाहिँ विश्‍वास त्याग, होइन भने छुटनाम गर।” त्यसपछि, उनले निन्दात्मक कुराहरू भने। रिसले फुलेको उनको अनुहार देखेर, मैले रिस थाम्‍नै सकिनँ र खण्डन गर्दै भनेँ: “बुबा! तपाईंको परिवारमा विवाह गरेर आएदेखि मैले तपाईंलाई जहिले पनि आदरपूर्वक व्यवहार गरेकी छु। मैले तपाईंलाई कहिल्यै रिस गरेकी वा तपाईंसित मुख लागेकी छैनँ। यदि म यस परिवारप्रति आफ्नो कर्तव्य निभाउन चुकेकी भए मलाई डाँट्ने अधिकार तपाईंसित छ, तर मेरो विश्‍वासमा कुनै गल्ती छैन र तपाईंले मलाई बाधा दिनु वा परमेश्‍वरको निन्दा गर्नु मिल्दैन।” मेरो कुरा टुङ्गिन नपाउँदै, उनले अनुहार बिगार्दै चिच्याए, “तिम्रो परमेश्‍वरबारे बोल्नुमा के गल्ती छ? तिमीसँग नसकिने भो।” उनले मलाई मेरो लुगामा समाएर तान्दै पुलिस थाना लैजाने कोसिस गरे, तर मैले झ्वाट्ट तानेर आफूलाई छुटाएँ। म दृढ र म टसमस हुनेवाला छैन भन्‍ने देखेर, उनी जङ्गिँदै बाहिर निस्किए। त्यसको लगत्तैपछि ढ्वाक-ढ्वाक आवाज सुनेँ, र यसो फर्केकी मात्र थिएँ, मेरा श्रीमान स्वात्त भित्र पसेर मलाई अनुहारमा झ्याम्म हिर्काए, म भुइँमा पछारिएँ। मेरो आँखा तिरिमिरी भयो, कान टिन्‍न बज्यो र मेरो अनुहार झमझम पोल्यो। मेरो दिमाग शुन्य भयो। उनले त्यसो गर्लान् भनेर सपनामा पनि चिताएकी थिइनँ। हामीले करिब दस वर्ष सँगै समय बिताएका थियौँ र हामीबीच ठाकठुक समेत परेको थिएन, तर त्यो दिन उनले मलाई मेरो विश्‍वासको कारण हिर्काए। उनलाई हेर्दा मलाई कुनै अपरिचित व्यक्तिजस्तो लाग्यो। यस्तो लाग्थ्यो, उनले आफ्नो होस गुमाएका छन्, मलाई जबर्जस्ती भुइँबाट तान्दै उठाए र भित्तामा लगेर चेपे र आक्रोशित हुँदै भने, “म तिमीलाई भन्दैछु, आजै छिनोफानो गर्नुपर्छ। कि चाहिँ तिमीले आफ्नो विश्‍वास त्याग, होइन भने अहिल्यै छुटनाम गरौँ। लौ भन, तिमी आफ्नो परमेश्‍वरलाई रोज्छौ कि मलाई? तिमी आफ्नो विश्‍वास चाहन्छौ कि यो परिवार?” यसो भन्दा तिनले मलाई भित्तामा ड्याङ ड्याङ ठोक्‍काउँदै थिए। त्यो अनुहार हेर्दा शैतानी भइसकेको रहेछ भनेर मलाई राम्ररी थाहा भयो। मैले शान्त भएर जवाफ दिएँ, “म मेरो विश्‍वासलाई रोज्छु।” क्रोधित भएर उनले मलाई तान्दै ओछ्यानमा लगे र दुवै हातले मेरो घाँटी अँठ्याए। मैले सास फेर्नै सकिनँ, म उम्कन चाहन्थेँ, तर उनी निकै बलिया थिए। उनीसित म कुनै हालतमा पनि लड्न सक्दिनथेँ। सास फेर्ने कोसिस गर्दै गर्दा म अत्यन्तै भयभित भएँ र सोचेँ, “यस प्रकारले त सायद आज मेरो ज्यान जान्छ।” ठीक त्यतिबेला, मेरो तीन वर्षको छोरा बिउँझियो। ऊ उठेर “आमा! आमा!” भनेर बोलाउँदै रुन थाल्यो। मेरा श्रीमानले मेरो घाँटी थिचेको देखेर उसले उनलाई हिर्काउन र ठेल्न थाल्यो, र लाचार हुँदै मेरो अँगालोमा आउने कोसिस गऱ्यो। यो देखेर, मेरा पतिले हात छोडे र गर्जिंदै भने, “छोरा नभएको भए, आज तेरो ज्यान लिनेथेँ।”

उनी गए र मैले भर्खरै जे भयो सोबारे सोचेँ। त्यो साह्रै डरलाग्दो थियो। मेरो विश्‍वासले उनका व्यक्तिगत हितहरूलाई खतरामा पाऱ्यो, त्यसैले उनी मलाई हात उठाउन र घाँटी थिचेर मार्न तयार भए। के त्यो शैतानीपन होइन र? उनले जति धेरै मलाई हिर्काए, उनी कस्ता प्रकारका व्यक्ति हुन् भनेर उती नै धेरै मैले बुझेँ र उति नै धेरै अन्त्यसम्म परमेश्‍वरलाई पछ्याउन चाहेँ। भोलिपल्ट, मेरी सासु मलाई भेट्न आइन् र भित्र पस्‍नासाथ भनिन्, “के तिमी परमेश्‍वरमा विश्‍वास गर्न छोड्न सक्दिनौ? विश्‍वास गर्नु राम्रो कुरा हो भनेर मलाई थाहा छ, तर त्यसको अर्थ पार्टीले तिमीलाई गिरफ्तार गर्छ र तिमीसित भयानक व्यवहार गर्छ। तिमी के भन्छौ?” मैले भनेँ, “हेर्नुहोस् आमा, नानी जन्माउँदा मलाई कत्ति गाह्रो भएको थियो र डाक्टरहरूले त्यो गम्भीर समस्या हो भनेर भनेको कुरा तपाईंलाई थाहै छ। मलाई र छोरालाई बचाउने सर्वशक्तिमान् परमेश्‍वर नै हुनुहुन्थ्यो। म गिरफ्तार भए पनि आफ्नो विश्‍वास कायम राख्छु भन्‍ने तपाईंलाई किन लाग्छ? किनभने सबै कुरा सृष्टि गर्नुहुने एकमात्र साँचो परमेश्‍वर सर्वशक्तिमान् परमेश्‍वर हुनुहुन्छ, र उहाँ मानवजातिलाई मुक्ति दिन फर्केर आउनुभएका मुक्तिदाता हुनुहुन्छ। विपत्तिहरू झन् झन् बढ्दै गइरहेका छन् र परमेश्‍वरले मात्र मानिसहरूलाई मुक्ति दिन सक्‍नुहुन्छ म परमेश्‍वरसित हिंडिरहेकी छु र मैले पक्राउ परी पीडा भोगें भने पनि, त्यो अस्थायी हुनेछ। शैतानसितै नरकमा जानुभन्दा त त्यो राम्रो हुनेछ।” उनले जवाफ दिइन्, “तिमी के भन्दैछौ, म बुझ्छु तर तिमी एक स्वास्‍नीमान्छे हौ, तिमीले आफ्नो नानीको ख्याल राख्‍नुपर्छ र आफ्ना पतिलाई विचार गर्नुपर्छ। तिम्रो छोरा सानै छ। के तिमी उसलाई त्यतिकै त्याग्‍न सक्छौ?” यो कुरा सुनेर मलाई रुन मन लाग्यो तर आँशु आएन र मैले सोचेँ, “के उसलाई त्याग्‍ने म हुँ र? विश्‍वासीहरूलाई पक्रिने र सताउने त कम्युनिष्ट पार्टी हो। पार्टीका झूटहरूलाई विश्‍वास गर्ने अनि छुटनाम गर्न जोर दिने र यो परिवारलाई टुक्राउने त तपाईंको छोरा हो। कसरी तपाईं यसको दोष मेरो विश्‍वासमाथि थोपर्न सक्‍नुहुन्छ?” तर कपाल सेतै फुलेको, पीडित अनुहार र मेरो छोरालाई त्यस्तो कलिलो उमेरमा उसको आमाको काखबाट खोसेर लैजानेबारे सोचिरहेकी उनलाई देख्दा, म झन्झनै धेरै दुःखी भएँ। म अलिक कमजोर हुन थालेँ। मैले मनमनै परमेश्‍वरलाई पुकारेँ, उहाँलाई मार्गदर्शन मागेँ। उहाँका वचनहरूको एउटा खण्ड मेरो मनमा आयो: “परमेश्‍वरले मानिसहरूभित्र गर्ने कार्यको प्रत्येक चरणमा, बाहिरी रूपमा यो मानिसहरू बीचको अन्तरक्रिया जस्तो देखिन्छ, मानवको बन्दोबस्त वा हस्तक्षेपहरूबाट जन्मेको जस्तो देखिन्छ। तर पर्दा पछाडि, कार्यको प्रत्येक चरण, र जे कुरा पनि हुन्छ, त्यो शैतानले परमेश्‍वरसँग बाजी थाप्‍ने कार्य हो, र यसका लागि मानिसहरूले परमेश्‍वरको साक्षी दिन दह्रिलो भएर खडा हुनु आवश्यक हुन्छ। उदाहरणको लागि अय्यूबलाई परीक्षा गरिएको घटनालाई लिऊँ: पर्दा पछाडि शैतानले परमेश्‍वरसँग बाजी थापिरहेको थियो, र अय्यूबलाई जे भयो त्यो मानिसहरूको कार्यहरू र मानिसहरूको हस्तक्षेप थियो। तिमीहरूमा परमेश्‍वरले गर्ने कार्यको प्रत्येक कदमको पछाडि शैतानले परमेश्‍वरसँग बाजी थापेको हुन्छ—पछाडिपट्टि यो सबै युद्ध हो। … जब आत्मिक क्षेत्रमा परमेश्‍वर र शैतानबीच युद्ध हुन्छ, तैँले परमेश्‍वरलाई कसरी सन्तुष्ट बनाउनुपर्छ, र उहाँलाई साक्षी दिन तँ कसरी दह्रिलो भएर खडा हुनुपर्छ? तँलाई हुने सबै कुराहरू ठूलो जाँच हो र साक्षी दिनका लागि परमेश्‍वरलाई तेरो आवश्यकता पर्ने समय हो भन्‍ने तँलाई थाहा हुनुपर्छ(वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरलाई विश्‍वास गर्नु हो”)। मैले परमेश्‍वरका वचनहरूबारे सोचेँ र के बुझेँ भने, जे जति घटनाहरू भइरहेका छन् ती सबैमा बाहिरबाट हेर्दा त मानिसहरूले मेरो मार्गमा तगारो हालिरहेको जस्तो देखिन्थ्यो, तर ती सबको पछाडि शैतानका चालहरू लुकेका थिए। शैतानले मलाई रोक्‍न र बाधा दिन मेरो परिवारलाई प्रयोग गरिरहेको थियो, छोराप्रतिको मेरो भावना र मलाई धम्की दिन मेरो परिवारलाई प्रयोग गरिरहेको थियो, र मलाई परमेश्‍वरलाई धोका दिन र मुक्तिको मौका गुमाउन लगाउने प्रयास गरिरहेको थियो। मलाई थाहा थियो, म शैतानका चालहरूमा फस्‍न सक्दिनँ, मैले परमेश्‍वरमा विश्‍वास गर्नुपर्छ, गवाहीको रूपमा खडा हुनुपर्छ र शैतानलाई अपमानित तुल्याउनुपर्छ। अनि, मैले मेरी सासुलाई भनेँ, “मानिसलाई परमेश्‍वरले सृष्टि गर्नुभयो, त्यसैले हामीले उहाँलाई विश्‍वास र भक्ति गर्नुपर्छ। त्यसबाहेक, मेरो जीवन परमेश्‍वरले दिनुभएको हो, त्यसैले, जे जसो होस्, म अन्त्यसम्म परमेश्‍वरलाई पछ्याउनेछु। मलाई अर्को बाटोतिर मनाउने कोसिस नगर्नुहोस्।” तिनले मुन्टो हल्लाइन् र त्यसपछि फनक्‍क फर्केर बाटो लागिन्।

त्यो रात मैले अझै परमेश्‍वरका वचनहरू पढिरहेकी मेरा श्रीमानले भेट्टाए र साह्रै रिसाए। उनले भने, “तिमी अझै यसो गर्ने आँट गर्छौ? यसो गर्दा तिमी जेल पर्छौ भन्‍ने कुरा तिमीलाई थाहा छैन? आफू मर्छु कि बाँच्छु भन्‍ने कुराको तिमीलाई वास्ता छैन? तिमीलाई वास्ता छैन भने, ठीकै छ, तर यसमा मलाई र मेरो बच्‍चालाई नमुछ। यदि तिमी विश्‍वासी भएकी छौ भनेर मलाई थाहा भएको भए, म तिमीलाई विवाह नै गर्नेथिइनँ!” त्यसपछि, उनले मलाई अगाडिको ढोकाबाट बाहिर धकेले र तिरस्कार गर्दै भने, “यदि तिमी परमेश्‍वरको यो झन्झटमा लागिरहन्छौ भने, तिमीलाई यो घरमा ठाउँ छैन!” त्यसपछि, उनले ड्याम्म ढोका थुने र ताला मारे। मेरा श्रीमान त्यस्तो निर्दयी भएको देख्दा र मेरो छोराले व्याकुल हुँदै मलाई बोलएको सुन्दा, मेरो मुटु छियाछिया भयो। बिहानको २ बजिसकेको थियो र मसित फुटेको कौडी थिएन। त्यतिबेला, के मैले साँच्‍चै आफ्नो घर र छोरालाई सदाका लागि छोड्दै छु त भनेर सोचेँ। के गर्ने भनेर मलाई थाहा थिएन र यसबारे सोच्दा मलाई असाध्यै लाचार महसुस भयो। मसित फोन भएको महसुस भयो र मैले मेरी आमालाई फोन गरेँ। उहाँको आवाज सुन्‍नासाथ मेरो आँखाबाट बरबर आँसु झऱ्यो, र यत्तिका समयदेखि दबाएर राखेका मेरा दुःख-पीडाहरू सबै बाहिर निस्किए। उहाँले आफ्नो रोदनलाई दबाउँदै भन्‍नुभयो, “नानु, नरोऊ। उहाँले तिमीलाई यत्ति लामो समय साथ दिएर त्याग्‍नुहुनेछैन। उहाँमा विश्‍वास गर र उहाँमै भर पर।” मेरी आमाबाट सान्त्वना र प्रोत्साहन पाउँदा र उहाँले परमेश्‍वरमा विश्‍वास र भरोसा गर भन्‍नुहुँदा, मेरो विश्‍वास फर्केर आएको महसुस भयो। भोलिपल्ट, जाडोले कक्रिंदै र भोकै सडकमा लक्ष्यहीन रूपमा भौंतारिरहेको बेला एक जना सिस्टरसित ठोक्‍किन पुगेँ। तिनले मलाई आफ्नो घरमा लगिन् र मलाई के भइरहेको छ भनेर बुझाउन परमेश्‍वरका वचनहरूका केही खण्डहरू पढेर सुनाइन्। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “यस्तो अन्धकारको समाजमा जहाँ भूतहरू निर्दयी र अमानवीय हुन्छन्, जहाँ शैतानका राजाले कुनै चासो नराखी मानिसहरूलाई मार्छ, त्यसले यस परमेश्‍वरको अस्तित्वलाई कसरी सहन गर्न सक्छ जो प्रेमिलो, दयालु, साथै पवित्र पनि हुनुहुन्छ? त्यसले परमेश्‍वरको आगमनको प्रशंसा र जयजयकार कसरी गर्न सक्छ? यी चापलुसहरू! तिनीहरूले दयाको बदलीमा घृणा गर्छन्, तिनीहरूले परमेश्‍वरलाई तुच्छ ठानेको धेरै भइसक्यो, तिनीहरूले परमेश्‍वरसित दुर्व्यवहार गर्छन्, तिनीहरू चरम रूपमा क्रूर छन्, तिनीहरूमा परमेश्‍वरप्रति अलिकति पनि आदर छैन, तिनीहरू लुट्छन् र खोस्छन्, तिनीहरूले सबै विवेक गुमाएका छन्, तिनीहरू सबै विवेकको विरुद्धमा जान्छन्, तिनीहरूले निर्दोष मानिसहरूलाई मूर्ख बनाएका छन्। प्राचीनका पुर्खाहरू? प्रिय अगुवाहरू? तिनीहरू सबैले परमेश्‍वरको विरोध गर्छन्! तिनीहरूका हस्तक्षेपले आकाशमुनिका सबैलाई अन्धकार र अराजकताको स्थितिमा छोडेको छ। धार्मिक स्वतन्त्रता? नागरिकहरूका वैधानिक अधिकार र हितहरू? ती सबै पाप ढाक्ने युक्तिहरू हुन्। … परमेश्‍वरको काममा त्यस्तो अभेद्य बाधा किन पार्नु? परमेश्‍वरका मानिसहरूलाई धोका दिन किन विभिन्न युक्तिहरू प्रयोग गर्नु? साँचो स्वतन्त्रता र वैधानिक अधिकार र हितहरू कहाँ छन्? निष्पक्षता कहाँ छ? सान्त्वना कहाँ छ? स्नेह कहाँ छ? परमेश्‍वरका मानिसहरूसित चलाकी गर्न किन छलपूर्ण युक्तिहरू प्रयोग गर्नु? परमेश्‍वरको आगमनलाई दमन गर्न किन शक्ति प्रयोग गर्नु? उहाँले सृष्टि गर्नुभएको पृथ्वीमा परमेश्‍वरलाई स्वतन्त्र रूपमा घुम्ने अनुमति किन नदिनु? परमेश्‍वरले उहाँको शिर टेकाउने ठाउँ कहीँ नपाउने गरी किन उहाँको खेदो गर्नु?(वचन देहमा देखा पर्नुहुन्छको “काम र प्रवेश (८)”)। “परमेश्‍वरले यी मानिसहरूलाई जगाउन लाग्नुभएको छ, जो दुःखको बोझले दबिएका छन्, उनीहरू पूर्ण रूपमा नबिउँझिञ्‍जेलसम्म जगाउनुहुनेछ र उनीहरूलाई कुइरोबाट बाहिर निकालेर त्यो ठूलो रातो अजिङ्गरलाई अस्वीकार गर्न लगाउनुहुनेछ। उनीहरू आफ्नो सपनाबाट बिउँझनेछन्, ठूलो रातो अजिङ्गरको सारलाई चिन्न सक्‍नेछन्, आफ्नो सम्पूर्ण हृदय परमेश्‍वरलाई दिन सक्षम हुनेछन्, अन्धकारका शक्तिहरूको दमनबाट माथि उठ्नेछन्, संसारको पूर्वमा खडा हुनेछन्, र परमेश्‍वरको विजयको प्रमाण बन्नेछन्। यस प्रकारले मात्र परमेश्‍वरले महिमा प्राप्त गर्नुहुनेछ(वचन देहमा देखा पर्नुहुन्छको “काम र प्रवेश (६)”)। परमेश्‍वरका वचनहरूले मलाई के बुझ्न मदत गरे भने, परमेश्‍वर देह हुनुभएको छ र आखिरी दिनहरूमा पृथ्वीमा आउनुभएको छ अनि मानवजातिलाई धुन र मुक्ति दिन काम गरिरहनुभएको र सत्यता व्यक्त गरिरहनुभएको छ। कम्युनिष्ट पार्टीलाई सबैले सत्य स्विकार्नेछन्, परमेश्‍वरलाई पछ्याउनेछन्, र परमेश्‍वरको मुक्ति पाउनेछन्, अनि उनीहरू पार्टीको नियन्त्रणबाट मुक्त हुनेछन् भन्‍ने डर छ। त्यसैले, उनीहरू उन्मत्त भएर विश्‍वासीहरूलाई दमन र गिरफ्तार गर्छन्, र सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीलाई बदनाम र निन्दा गर्न हरप्रकारका झूट सृजना गर्छन्, मानिसहरूलाई धोका दिन्छन् र उक्साउँछन्, आफूसँगै परमेश्‍वरलाई इन्कार र विरोध गर्न लगाउँछन्। यो घृणित कुरा हो! कम्युनिष्ट पार्टीले मेरो परिवारलाई मूर्ख बनाएकोले गर्दा नै उनीहरूले मलाई त्यस्तो व्यवहार गरेका हुन्। पार्टीले मानिसहरूको आँखामा धूलो हाल्न यी सबै झूटहरू प्रयोग गर्छ ताकि सबैले उनीहरूसँगै परमेश्‍वरविरुद्ध लडून् र अन्ततः नरकमा सजाय पाऊन्। त्यो त शैतानको चाल हो। त्यो मोडमा आएर मलाई एकदमै स्पष्ट भयो, कम्युनिष्ट पार्टी पिशाचहरूको एउटा झुण्ड मात्र हो र त्यसले परमेश्‍वरसँग लडाइँ गर्छ, मानिसहरूलाई हानि गर्छ र उनीहरू सबैलाई निल्छ। मलाई थाहा थियो, म उनीहरूको चालमा फस्‍न सक्दिनँ, र मेरो परिवारले मलाई जेसुकै गरे पनि, म परमेश्‍वरलाई धोका दिन सक्दिनँ, मैले उहाँलाई पछ्याइरहनुपर्छ र आफ्नो कर्तव्य निर्वाह गरिरहनुपर्छ।

उनले मेरो जन्मथलोका केही आफन्त र साथीलाई फोन गरेछन्, र त्यसपछि उनीहरूले मलाई कल गरे र एउटाले अर्कोलाई फोन दिँदै मलाई पालैपालो केरकार गरे। मेरा दाजुले भने, “यस्तो जवान उमेरमा तिमी जो पनि गर्न सक्छौ। के परमेश्‍वरमा विश्‍वास गर्नुपर्छ र? तिमी गृहणी हौ, छोराछोरी पाउनु र परिवारको देखभाल गर्नु तिम्रो जिम्मेवारी हो। परमेश्‍वरमा विश्‍वास गरेर किन दुःख पाउछौ? यदि तिमीले विश्‍वास गऱ्यौ भने, पार्टीले तिमीलाई पक्रेर जेलमा हाल्नेछ। हामी केवल सामान्य मानिस हौँ—हामी कसरी त्यसको सामना गर्न सकौंला र?” मेरी काकीले फोन लिइन् र भनिन्, “तिम्रो दिमाग बिग्रियो कि के हो? त्यस्तो राम्रो परिवार तिम्रो विश्‍वासले गर्दा टुक्रिनु चाहिं हुँदैन। के तिमीलाई आफ्नो परिवारको वास्ता छैन? तिमी ज्यादै जब्बर हुँदै छौ!” अर्की काकीले चिच्याउँदै भनिन्, “तिम्रो विवाह भएको धेरै भएको छैन र तिम्रो छोरा सानै छ। यदि तिमी जेल पऱ्यौ भने, उसलाई के हुनेछ? हेर, मेरो कुरा सुन—यो तिम्रै भलाइको लागि हो।” त्यसपछि, मेरा जेठो दाजुले फोन लिए र भने, “यदि तिमी यसैमा जिद्दी गर्छौ भने, उसले छुटनाम गर्नेछ र घरमा फर्केर आउने त सोच्दै नसोचे हुन्छ। हामी तिमीसँग नाता तोड्नेछौँ!” मेरी ८० वर्षकी बज्यैले समेत फोनमा रुँदै भनिन्, “तिमी यसो गर्न सक्दिनौ। तिमी गिरफ्तार भयौ के होला? मेरो कुरा सुन। हामी तिम्रो भलाइ चाहन्छौँ।” कुरा सकिएपछि, मलाई साह्रै नराम्रो लाग्यो। म उनीहरूलाई धेरै कुरा बताउन चाहन्थेँ। तपाईंहरू भन्‍नुहुन्छ त्यो मेरो भलाइको लागि हो, तर के वास्तविक कुरा त्यही हो त? यदि सर्वशक्तिमान् परमेश्‍वरले नबचाउनुभएको भए म धेरै अघि नै मरिसकेकी हुन्थेँ, तब के म आज यहाँ हुनेथेँ र? वास्तवमा कसले चाहिँ यो एकदमै राम्रो घरलाई भत्काउँदै छ? कसले चाहिँ वास्तवमा यो परिवारलाई टुक्राउँदै छ? मैले होइन, कम्युनिष्ट पार्टीले। कम्युनिष्ट पार्टीले विश्‍वासीहरूलाई गिरफ्तार गर्छ र सताउँछ, तर पार्टीलाई घृणा गर्नुको साटो, उनीहरू त्यसको पक्ष लिन्छन्, मलाई दबाउँछन् र परमेश्‍वरलाई धोका दिन लगाउँछन्, यहाँसम्म कि मसित सबै नाता तोड्ने र मलाई इन्कार गर्ने धम्की दिन्छन्। कसरी उनीहरूले सही र गलत चिन्‍न नसकेका? के उनीहरू साँच्‍चै मेरो भलाइ चाहन्छन् त? उनीहरू कस्ता प्रकारका परिवार हुन्? मेरो जीवन परमेश्‍वरले दिनुभएको हो। मैले परमेश्‍वरको प्रेमको पैँचो तिर्न आफ्नो कर्तव्य निर्वाह गर्नुमा के गलत छ? विश्‍वास गर्नु र जीवनमा सही मार्ग पछ्याउनुमा के गलत छ? केही दिनसम्म मेरो परिवारले फोन गरेर मलाई निरन्तर भाषण छाँट्यो। म एकदमै पीडामा थिएँ, त्यसैले मैले तुरुन्तै परमेश्‍वरलाई प्रार्थना गरेँ र मेरो हृदय जाँच्न आग्रह गरेँ। अन्त्यमा, म भेलाहरूमा गइरहेँ र आफ्नो कर्तव्य निभाइहेँ।

मेरा श्रीमानले मलाई उनैले तयार पारेको छुटनामको कागज दिए र भने, “यदि तिमी आफ्नो विश्‍वासमा रहिरहन्छौ भने, छुटनाम गरौँ। हामी छुट्टिएपछि, तिमीले छोरालाई भेट्न पाउनेछैनौ। यदि तिमीले सर्वशक्तिमान् परमेश्‍वरमा विश्‍वास गर्न छोड्यौ भने, म कहिल्यै केही भएको छैनजस्तो गर्नेछु।” मैले त्यो कागज उठाएर हेरेँ। मलाई कुनै सरसामान, व्यापारिक अंश, र सम्पत्तिको भाग दिइनेथिएन र छोरा राख्‍ने अधिकार उनले पाउनेथिए। मेरो हात रित्तो हुनेथियो। तर यदि मैले छुटनाम गर्न मानिनँ भने, उनले मलाई र मेरी आमालाई पुलिसकहाँ सुम्पनेथिए र सर्वशक्तिमान् परमेश्‍वरमा विश्‍वास गर्नेहरू हुन् भनेर रिपोर्ट गर्नेथिए। मैले बुझेँ, उनले यो सब निकै अघि नै योजना बनाएका थिए, हाम्रो सबै कुरा गोप्य रूपले नामसारी गरेका थिए, ताकि छुटनाम हुँदा बाँड्नुपर्ने कुनै सम्पत्ति नहोस्। मेरो हातमा भएको छुटनामको कागजलाई हेर्दा, म फेरि एकपटक सङ्कटमा परेँ। यदि मैले यसमा हस्ताक्षर गरेँ भने, त्यसको अर्थ मैले घर छोड्नुपर्छ र छोरालाई फेरि कहिल्यै देख्‍न पाउनेछुइनँ। ऊ सानै थियो—म ऊसित छुट्टिनु सक्दिनथेँ। म अति पीडामा परेँ। मैले लाचार हुँदै परमेश्‍वरलाई पुकारेँ, बलियो हुन सकूँ भनेर उहाँलाई मार्गदर्शन मागेँ। त्यसपछि, परमेश्‍वरका वचनहरूबाट यस कुराबारे विचार गरेँ: “जाँचहरूबाट भएर जाँदा मानिसहरू कमजोर हुनु वा उनीहरूभित्र नकारात्मकता हुनु वा परमेश्‍वरको इच्छा वा तिनीहरूका अभ्यासको मार्गबारे स्पष्ट नहुनु सामान्य कुरा हो। तर कुनै पनि अवस्थामा परमेश्‍वरको कामप्रति तँमा विश्‍वास हुनुपर्छ, अनि जसरी अय्यूबले परमेश्‍वरलाई इन्कार गरेनन्, तैँले पनि त्यसो गर्नु हुँदैन। … तेरो अनुभवमा तँ परमेश्‍वरको वचनद्वारा जस्तै शोधनबाट भएर जानु परे पनि, संक्षेपमा, परमेश्‍वरले मानव जातिबाट चाहनुभएको कुरा भनेको तिनीहरूका विश्‍वास र उहाँको निम्ति तिनीहरूको प्रेम नै हो। यस्तो प्रकारले काम गरेर उहाँले मानिसहरूको विश्‍वास, प्रेम र आकांक्षाहरूलाई सिद्ध पार्नुहुन्छ(वचन देहमा देखा पर्नुहुन्छको “सिद्ध बनाइनुपर्नेहरू शोधनको प्रक्रियाबाट भएर जानैपर्छ”)। “तैँले सत्यताको लागि कष्ट भोग्‍नैपर्छ, तैँले आफैलाई सत्यतामा समर्पित गर्नैपर्छ, तैँले सत्यताको लागि अपमान सहनैपर्छ र अझै बढी सत्यता प्राप्त गर्नको लागि तैँले अझै बढी कष्टमार्फत गुज्रनैपर्छ। तैँले गर्नुपर्ने कुरा यही हो। शान्तिपूर्ण पारिवारिक जीवनको खातिर तैँले सत्यतालाई फ्याँक्‍नु हुँदैन र क्षणिक सुखचैनको खातिर तैँले आफ्‍नो जीवनको प्रतिष्ठा र सत्यनिष्ठालाई गुमाउनु हुँदैन। तैँले जुन कुरा सुन्दर र असल छन् ती सबै कुराको खोजी गर्नुपर्छ, र तैँले जीवनमा अझै अर्थपूर्ण रहेको मार्गलाई पछ्याउनुपर्छ(वचन देहमा देखा पर्नुहुन्छको “पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान”)। परमेश्‍वरका यी वचनहरूले मलाई सान्त्वना र प्रोत्साहन दिए अनि अभ्यासको मार्ग प्रदान गरे। मैले बुझेँ, मेरा श्रीमानले मलाई छुटनाम गर्ने धम्की दिनु परमेश्‍वरले हुन दिनुभएको कुरा थियो। अय्यूबलाई परीक्षा आउँदाको घटनाबारे सोचेँ। तिनीसित भएका सबै कुरा तिनीबाट खोसिए र रातारात तिनका सबै छोराछोरी मरे। शरीर पुरै घाउले ढाकिएर तिनी खरानीको थुप्रोमा बसिरहेका थिए। तिनलाई आफ्नी पत्‍नीले समेत नकारिन् र तिनका साथीहरूले तिनको खिल्ली उडाए र आलोचना गरे। तर यी सबै पीडा भोग्दा तिनले अझै यसो भन्दै परमेश्‍वरको प्रशंसा गरे, “यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ; यहोवाको नाउँको प्रशंसा होस्” (अय्यूब १:२१)। त्यो मात्र साँचो विश्‍वास हो। मेरो सन्दर्भमा भन्‍नुपर्दा, जे सुकै होस्, म परमेश्‍वरलाई अन्त्यसम्म पछ्याउनेछु भनेर मैले दृढ्तापूर्वक र सङ्कल्पसाथ परमेश्‍वरसँग प्रतिज्ञा गरेकी थिएँ। तर, श्रीमानले छुटनाम गर्ने धम्की दिंदा, म नकारात्मकता र कमजोरीको फन्दामा अल्झिएँ। त्यो, परमेश्‍वरप्रति साँचो विश्‍वास थिएन। मैले के पनि सोचेँ भने, मेरा श्रीमानले पार्टीका झूटहरू सुनेदेखि नै, परमेश्‍वरका वचनहरूको मेरो पुस्तक मात्र च्यातेनन्, मलाई हिंस्रक व्यवहार पनि गरे, र झण्डैले ज्यान लिए। मेरो विश्‍वासको कारण आफू फसिएला भन्‍ने डरले, अब उनी मसित छुटनाम गर्न मात्र चाहँदैनन् मलाई फुटेको कौडी नदिन र छोरादेखि परै राख्‍न समेत चाहन्छन्। म सहमत नभए, उनले मलाई पक्राउनेछन्। उनी कस्ता प्रकारका पति हुन्? के उनी दुष्ट थिएनन् र? मैले परमेश्‍वरले भन्‍नुभएको कुरा सम्झेँ: “विश्‍वासी र अविश्‍वासीहरू मिल्दो छैनन्; बरु, उनीहरू एक अर्काको विपक्षमा छन्(वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्”)। मैले बुझेँ, मेरा श्रीमानले मलाई छुटनाम गर्ने धम्की दिइरहेका थिए किनभने उनले कम्युनिष्ट पार्टीको कुरा सुने र परमेश्‍वरलाई घृणा गरे। हामी पति र पत्‍नी भए पनि, उनले पार्टीलाई पछ्याइरहेका थिए, परमेश्‍वरको विरोध गर्ने नरकको मार्ग हिंडिरहेका थिए। मचाहिँ सत्यता र अनन्त जीवन प्राप्त गर्न परमेश्‍वरलाई पछ्याउने मार्गमा थिएँ। विश्‍वासीहरू र अविश्‍वासीहरू बेग्लाबेग्लै मार्गहरूमा हुन्छन्। म उनलाई अबउप्रान्त मेरो बाटोको काँडा हुन दिन सक्दिनँ भनेर मलाई थाहा थियो। उनले मलाई जति धेरै दमन गरे, परमेश्‍वरलाई पछ्याउन, गवाहीको रूपमा खडा हुन र शैतानलाई लज्‍जित पार्न उति नै धेरै म कटिबद्ध भएँ। त्यसैले मैले उनलाई छुटनाम गर्न सहमत छु भनेँ।

छुटनाम गर्ने अन्तिम दिन नआएसम्म, छुटनामपछि म खाली हात हुन्छु भनेर केही चिन्ता भने लागी नै रह्यो। त्यसपछि मैले कसरी जीवन धान्‍ने? मैले हाम्रो घर र व्यापारको लागि यत्तिका वर्ष कत्ति हड्डी घोटेकी थिएँ, त्यसको फल त खाली हात हुनुपऱ्यो भनेर सोच्दा, आफूलाई सम्हाल्न गाह्रो भयो। त्यसपछि, मैले परमेश्‍वरका वचनहरूबारे सोचेँ: “के तैँले तेरो भावी अस्तित्वको मार्गको लागि विचार, योजना वा तयारी गर्ने कार्यलाई मेरो खातिर त्याग्‍न सक्छस्?(वचन देहमा देखा पर्नुहुन्छको “एउटा अत्यन्तै गम्भीर समस्या: विश्‍वासघात (२)”)। परमेश्‍वरको यो प्रश्‍नले साँच्‍चै मलाई लज्‍जित तुल्यायो। सबैले भन्छन्, कठिनाइले इमानदारिताको परीक्षा लिन्छ, र मैले अलिकति कठिनाइ भोग्‍नुपर्दा, आफ्ना व्यक्तिगत हितबारे मात्र सोचेँ। के त्यो परमेश्‍वरप्रतिको साँचो विश्‍वास थियो? म पूर्ण रूपले परमेश्‍वरको हातमा थिएँ, त्यसैले, आफूलाई उहाँमा पूर्ण रूपले सुम्पन र मेरो निकासबारे चिन्ता नगर्न म कटिबद्ध थिएँ। म उहाँका प्रबन्धहरूप्रति समर्पित हुन इच्छुक थिएँ। हामीले सबै कागजमा हस्ताक्षर गरिसकेपछि मैले उनलाई सोधेँ, “छुटनाम गर्न तपाईं किन दृढ़ हुनुभयो?” उनले भने, “मेरो काकाको छोराले भनेअनुसार, सरकारले गोप्य कागजात जारी गरेको छ र त्यसमा के भनिएको छ रे भने, सर्वशक्तिमान् परमेश्‍वरमा विश्‍वास गर्नेहरू पहिलो प्राथमिकतामा परेका अपराधीहरू हुन् र कुनै पनि पार्टी सदस्यको परिवारमा कुनै विश्‍वासी भेट्टाएमा उसलाई पार्टीबाट निष्कासित गरिनेछ, निजामती सेवकहरूलाई कामबाट बर्खास्त गरिनेछ, उनीहरूका छोराछोरीले विश्‍वविद्यालयमा प्रवेश पाउनेछैनन्, उनीहरूका आमाबुबाको पेन्सन रद्द गरिनेछ र उनीहरूको पारिवारिक सम्पत्ति जफत गरिनेछ। कुनै बेला अपराधीको परिवारलाई नौ पुस्तासम्म फसाइन्थ्यो, र अहिले सर्वशक्तिमान् परमेश्‍वरमा विश्‍वास गर्नेका सबै आफन्तहरूलाई फसाइन्छ। त्यसैले, मैले अरू सबैलाई जोगाउन तिमीलाई जान दिनुपऱ्यो। नत्र, मेरो जेठा दाजु पार्टीबाट निकालिनेछन्।” उनले त्यसो भनेको सुनेर मलाई असाध्यै रिस उठ्यो। परमेश्‍वर मानवजातिलाई मुक्ति दिन आउनुभएको छ, जुन असाध्यै राम्रो कुरा हो, सबै मानवजातिका लागि आशिष् हो। तर कम्युनिष्ट पार्टीले उन्मत्त भएर परमेश्‍वरविरुद्ध लडिरहेको छ र उहाँलाई घृणा गर्छ। यसले परमेश्‍वरको कामलाई बाधा दिन र नष्ट गर्न सबै प्रकारका घृणित माध्यमहरू प्रयोग गरिरहेको छ र यसले रोकिने नामै लिँदैन। उनीहरू हत्यारा, क्रूर पिशाचहरूको झुण्ड हुन्! मैले ठूलो रातो अजिङ्गरको साँचो अनुहार वास्तवमै देखेँ र त्यसउप्रान्त त्यसद्वारा मूर्ख भइनँ। मैले परमेश्‍वरको प्रेमको पैँचो तिर्न आफ्नो कर्तव्य राम्ररी गर्ने र शैतानलाई लज्‍जित पार्ने सङ्कल्प गरेँ। त्यसपछि, मैले मेरो घर छोडेँ र सुसमाचार सुनाउने आफ्नो कर्तव्य निरन्तर गरिरहेँ। परमेश्‍वरलाई धन्यवाद होस्!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

गुनहरू तिर्नेबारे चिन्तन

केही महिनापहिले, मैले पनि त्यस्तै समस्या भोगेँ। मैले मेरो गृहनगरको मण्डलीबाट चाङ ह्वा नामकी सिस्टरको मूल्याङ्कन गर्नु भन्ने बेहोराको पत्र...

पतनअघि अहङकार आउँछ

क्षिन्‍जिए, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “अहङ्‍कार मानिसको भ्रष्ट स्वभावको जड हो। मानिसहरू जति धेरै अहङ्‍कारी हुन्छन्, तिनीहरूले...

अपरिहार्य कर्तव्य

सेप्टेम्‍बर २०२० मा, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरेँ। त्यसपछि, मैले भेलाहरूमा निरन्तर सहभागिता जनाउन...

एउटा गलत रिपोर्ट

एक वर्षभन्दा बढी समयसम्‍म, परमेश्‍वरले झूटा अगुवाहरूलाई चिन्‍नेसम्‍बन्धी सत्यताहरूमा सङ्गति गर्नुभएको छ। भेलाहरूमा, म प्रायजसो आफ्‍नै बुझाइ...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्