अहङ्कारको हल गरी मानव रूप प्राप्त गर्न सकिन्छ

17 अक्टोबर 2021

झेन्क्षिङ्ग, अमेरिका

मेरो कथा मार्च २०१७ मा सुरु हुन्छ। मैले मुख्यतः चलचित्रका पोस्टरहरू र भिडियोका थम्‍बनेलहरू बनाउने कामसँगै मण्डलीको लागि ग्राफिक डिजाइनको काम गर्न थालेँ। सुरुमा मलाई प्राविधिक पक्षको बारेमा त्यति धेरै थाहा थिएन, तसर्थ, म निरन्तर सिद्धान्त र प्राविधिक सीपहरू सिकिरहेकी हुन्थें। म दाजुभाइ-दिदीबहिनीहरूलाई विनम्र भई सहयोग माग्थें र म मेरा डिजाइनहरूमा अरूको सल्‍लाह होसियारीसाथ लिन्थें। केही समयपछि मैले मेरो कर्तव्यको लागि चाहिने प्राविधिक सीपहरूको मेसो पाउन थालेँ। मेरा थम्‍बनेलहरू अनलाइनमा राखिए र क्‍लिक-थ्रु रेट पनि राम्रो थियो। एउटा वृत्तचित्रको लागि तयार गरिएको एउटा खास पोस्टर थियो जसको बारेमा दाजुभाइ-दिदीबहिनीहरूले निकै प्रशंसा गरे। अरूले आफूले सामना गरेका धेरै प्राविधिक समस्याहरूको बारेमा मसँग सल्‍लाह लिइरहेका थिए त्यसैले मलाई ग्राफिक डिजाइन क्षेत्रमा मसँग साँच्‍चै केही वास्तविक प्रतिभा छ भन्‍ने लाग्यो। थाहै नभई म अहङ्कारी बनेँ।

पछि, मैले चलचित्रका पोस्टरहरूभन्दा सहज थम्‍बनेलहरू डिजाइन गरिरहेकी हुँदा, त्यो काम तुरुन्तै गर्नको लागि म पर्याप्त रूपमा कुशल बनिसकेकी छु भन्‍ने लाग्यो अनि त्यति धेरै विचार नगरी वा सिद्धान्तहरूको खोजी नगरी मैले ती काम मेरो सीपको आधारमा गर्थेँ। यो तरिकाको परिणामस्वरूप, डिजाइनको चमक र रङ्ग दुवै मूल भावभन्दा बाहिर छन् भनेर मैले केही सुझाव पाएँ। मैले तिनीहरूको सुझावलाई विचार गरिन वा यसलाई स्वीकार गर्ने प्रयास पनि गरिन, बरु सोचेँ, “के तिमीसँग कुनै परख छैन? यो त साहसी रचनात्मकता हो। मैले सबै कुराको बारेमा विचार गरेको छु र यो समस्या होइन। तिमीले अज्ञानताको कारण सुझाव दिइरहेको छौ।” मैले साँच्‍चै मेरै कुरामा जिद्दी गरिरहेकी थिएँ र रिस पनि उठ्यो। मैले कुनै पनि परिमार्जन गर्न मानिन। परिणामत:, तस्विरहरूसँग सम्‍बन्धित समस्याको कारण मेरा कतिपय थम्‍बनेलहरू अस्वीकृत भए। पछि मैले सुनेँ, मेरो कारण एक जना सिस्टर साँच्‍चै सङ्कुचित भएकी रहेछिन् र मलाई थप सुझाव दिन डराएकी रहेछिन्। यो कुरा सुनेपछि मलाई अलिक नरमाइलो लाग्यो, तर त्यस घटनाअनुसार मैले आफूलाई मनन गरिन।

केही समयपछि नै मैले अर्को चलचित्रको लागि डिजाइनको काम गरेँ। उक्त चलचित्र पाष्टर र एल्डरहरूद्वारा बहकाइएको र नियन्त्रित गरिएको र धार्मिक धारणाहरूले सीमित गरिएको कारण, परमेश्‍वरको नयाँ काम स्वीकार नगर्ने एक विश्‍वासीको बारेमा थियो। उनले अन्तिममा सत्यताको खोजी गरेर सर्वशक्तिमान् परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरिन् र परमेश्‍वरको ज्योतिमा जिउन थालिन्। यो मूल-भावको बारेमा विचार गरेर मैले मनमनै सोचेँ, “यो पोस्टरमा अन्धकारबाट ज्योतितर्फ गएको दृश्य देखाइनुपर्छ—त्योभन्दा राम्रो अवधारणा नै छैन।” सन्दर्भको रूपमा प्रयोग गर्नलाई मैले उस्तै देखिने चलचित्र पोस्टरको खोजी गर्दै धेरै समय बिताएँ। जब मैले पोस्टर सिध्याएँ, यो निकै राम्रो छ चर्चित चलचित्रको पोस्टर जस्तै देखिएको छ भन्‍ने लाग्यो। मैले साँच्‍चै आफैलाई स्याबासी दिइरहेकी थिएँ। त्यसपछि यो पोस्टर देखेर एक जना सिस्टरले भनिन्: “यसमा यहाँ अत्यन्तै अँध्यारो भयो। यसमा साना-साना कुराहरू छुटेका छन् र यो अत्यन्तै फिका देखिन्छ।” त्यसपछि अर्को सिस्टरले सुझाव दिइन्: “यो अत्यन्तै अँध्यारो छ, यो स्पष्ट छैन। यो अलिक निराशलाग्दो देखिन्छ। यो चलचित्रले परमेश्‍वरको गवाही दिन्छ, त्यसकारण तस्बिर त्यति अँध्यारो हुनु हुँदैन।” तिनीहरूका विचारप्रति, तिनीहरूले भनेको कुराप्रति ममा साँच्‍चै विरोध जाग्यो। मैले सोचेँ, “यो साँच्‍चै राम्रो देखिन्छ। तिमीहरूलाई छायाको प्रयोग गर्नेबारेमै थाहा छैन, तर यो काम कसरी गर्ने भनेर भनिरहेका छौ। के तिमीहरूले गल्ती खोतल्‍ने काम गरिरहेका छैनौ र?” मैले भनेँ: “के छायाको प्रयोग त सही तरिकाले भएको छैन र? ज्योति र अन्धकारको बीचमा भिन्‍नता हुनुपर्छ। साथै, यो त चलचित्रको पोस्टर हो, तसर्थ यसमा छायाको प्रयोग गर्नु महत्त्वपूर्ण हुन्छ। अरू चलचित्रका पोस्टरहरू त्यसरी नै बनाइन्छ। यसमा कुनै गलत कुरा छैन।” त्यसपछि मैले मलाई मन परेको चलचित्र पोस्टरको प्रतिलिपि पठाएँ। त्यसपछि मेरो पोस्टरमा धेरै अँध्यारो भाग छ र यो अरूजस्तो राम्रो देखिँदैन भनेर तिनीहरूले भनेको सुन्दा म छक्‍क परेँ। तिनीहरूले यसो भन्दा मलाई अत्यन्तै रिस उठ्यो, त्यसपछि मैले सोचेँ, “तिमीहरूले मलाई सधैँ कसरी छायाको प्रयोग गर्नेबारेमा सोधिरहन्थ्यौ त्यो नबिर्स। तिमीहरूलाई त यसको बारेमा आधारभूत ज्ञान पनि छैन, तर यो काम कसरी गर्ने भनेर तिमीहरूले मलाई बताइरहेका छौ। तिमीहरूले किन माछालाई पौडी खेल्‍न सिकाइरहेका छौ?” म नै सही छु भन्‍ने कुरा तिनीहरूको निम्ति प्रमाणित गर्न, मैले डिजाइन गरिदिने गरेका अरू दाजुभाइ-दिदीबहिनीहरूलाई त्यो तस्बिर पठाएँ, तर तिनीहरूले पनि यो अत्यन्तै अँध्यारो छ भने। मैले मन नलागी-नलागी यो कुरा स्वीकार गरेर यसलाई परिवर्तन गर्नुपर्‍यो। तैपनि मलाई अझै मेरो सोचाइ सही थियो र मैले सही तरिकाले पोस्टर बनाएकी थिएँ भन्‍ने लाग्यो अनि मैले सानो परिवर्तन गरेँ, तर यसलाई अझै स्वीकार गरिएन। परिणामस्वरूप, मैले एक हप्ता लाग्‍ने तस्बिरको लागि लगभग एक महिना काम गरिरहेकी थिएँ। डिजाइनमा समस्याहरू देखिएको यसलाई अन्तिममा रद्द गरियो। त्यो मेरो लागि गालामा हानिएको थप्पडसरह थियो। म साँच्‍चै निरुत्साहित र निराश भएँ र मैले सङ्गतिमा अरूसँग मनको कुरा गर्न चाहिनँ। म अँध्यारो, पीडादायी मनस्थितिमा थिएँ। त्यसपछि समूह अगुवाले मलाई मेरो हालैका कुनै पनि डिजाइन सफल भएका छैनन् र मैले परमेश्‍वरको अघि तुरुन्तै आफ्‍नो बारेमा मनन गर्नु आवश्यक छ भनेर भने। त्यसपछि मात्रै म परमेश्‍वरको अघि मनन गर्न आएँ र मैले परमेश्‍वरका केही उपयुक्त वचनहरू भेट्टाएँ।

एक दिन मैले मेरो भक्तिको समयमा यी वचनहरू पढेँ: “जब तँमाथि समस्याहरू आइलाग्छन्, तब तँ यस्तो सोच्दै स्व-धर्मी हुनु हुँदैन, ‘म सिद्धान्तहरू बुझ्छु, र मसँग भनेको कुरा नै अन्तिम निर्णय हुन्छ। तिमीहरू बोल्न योग्यका छैनौ। तिमीहरू के जान्दछौ र? तिमीहरू बुझ्दैनौ; म बुझ्छु!’ त्यसो गर्नु भनेको स्व-धर्मी हुनु हो। स्व-धर्मी हुनु भ्रष्ट, शैतानी स्वभाव हो; यो सामान्य मानवजातिमा हुने कुरा होइन।” “यदि तँ सधैं स्व-धर्मी छस् र तेरा आफ्नै तरिकामा जोड दिन्छस् र यस्तो भन्छस, ‘म कसैको कुरा सुन्दिनँ। यदि मैले सुनेँ भने पनि त्यो देखाउनका लागि मात्र हुनेछ—म परिवर्तन हुँदिनँ। म मेरै तरिकाले कार्यहरू गर्नेछु; मलाई लाग्छ, म सही छु र पूर्ण रूपमा न्यायोचित छु’, यदि यस्तो भन्छस् भने के हुन्छ? तँ न्यायोचित छस् होला र तैँले कुनै गल्तीहरू नगरेको होलास्, र अरूमा भन्दा तँसँग एउटा समस्याको प्राविधिक पक्षलाई बुझ्ने अझ राम्रो समझ होला, तापनि तैँले एकचोटि यस प्रकारले व्यवहार र अभ्यास गर्छस् भने, अरूले देख्‍नेछन्, र उनीहरूले भन्‍नेछन्: ‘यस व्यक्तिको स्वभाव राम्रो छैन! जब यसमाथि समस्याहरू आइलाग्छन्, युसले अरूले भनेका केही पनि स्वीकार गर्दैन, चाहे ती सही हुन् वा गलत। यो सबै प्रतिरोध हो। यस व्यक्तिले सत्यतालाई स्वीकार गर्दैन।’ अनि यदि मानिसहरूले नै तैँले सत्यलाई स्वीकार गर्दैनस् भनेर भन्छन् भने, परमेश्‍वरले झन् के सोच्नुहुन्छ होला? के परमेश्‍वरले तेरा यी अभिव्यक्तिहरू देख्‍न सक्‍नुहुन्छ? परमेश्‍वरले ती सबैलाई पनि स्पष्टसँग देख्‍न सक्‍नुहुन्छ। परमेश्‍वरले मानिसको भित्री हृदय मात्र खानतलास गर्नुहुन्‍न, उहाँले त तैँले हरसमय, हरठाउँमा भन्‍ने र गर्ने कार्यहरू पनि हेर्नुहुन्छ। अनि, जब उहाँले यी कुराहरू देख्‍नुहुन्छ, तब उहाँले के गर्नुहुन्छ त? उहाँले भन्‍नुहुन्छ: ‘तँ कठोर भएको छस्। तँ यस्ता मामिलाहरूमा छस्, जहाँ तँ सही छस्, र तँ यस्ता मामिलाहरूमा पनि छस् जहाँ तँ गलत छस्। सबै मामिलाहरूमा तेरा प्रकटीकरण र अभिव्यक्तिहरू विपरीत र विरोधी छन्। तँ अरूको विचार वा सुझाउहरू केही पनि स्वीकार्दैनस्। तेरो हृदयभित्र विरोधाभास, सीमितता र अस्वीकार मात्र छ। तँ धेरै कठिन छस्!’” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “यदि तँ सधैं परमेश्‍वरको सामुन्‍ने जिउन सक्दैनस् भने, तँ एक अविश्‍वासी होस्”)। परमेश्‍वरले हाम्रो मन र मस्तिष्क देख्‍नुहुन्छ। यसले मेरो स्थितिलाई पूर्ण रूपमा खुलासा गरिदियो। मैले अहङ्कारको शैतानी स्वभाव प्रकट गरिरहेकी थिएँ। मेरा पोस्टरहरूलाई दाजुभाइ-दिदीबहिनीहरूले स्वीकार गर्दा र प्रशंसा गर्दा त्यो मेरो आफ्‍नै सीपको कारणले गर्दा हो र मेरो डिजाइन र ज्ञानको बराबर कोही पनि हुन सक्दैन भन्‍ने लाग्थ्यो। जब अरू मानिसहरूले मलाई सुझाव दिन्थे तब तिनीहरूले बुझ्दैनन् भन्‍ने ठान्दै मैले तिनीहरूको कुरा स्वीकार गर्न मान्दिनथेँ। धेरै जना मानिसहरूले उही सुझाव दिँदा पनि, म साँच्‍चै जिद्दी हुन्थें। म तिनीहरूले भनेको कुरालाई स्वीकार गरेजस्तो बहाना गर्थेँ तर वास्तविकतामा म आफ्‍नै सोचमा लागिरहन्थेँ। मेरो विचारहरूसँग मिल्‍ने कुरालाई मात्रै मैले परिवर्तन गर्थेँ, तर मैले सहमति नजनाएको कुरालाई म परिवर्तन गर्न मान्दिनथेँ। मैले मानिसहरूसँग तर्क गर्नको लागि अनेक किसिमका बहाना खोज्थें। मैले त्यसको कारण ती सिस्टरलाई निस्सासिने बनाएँ। म हरेक किसिमले अहङ्कारी थिएँ भन्‍ने मलाई थाहा भयो। म पूर्ण रूपमा अनुचित थिएँ! सुझावहरू बेवास्ता गर्ने क्रममा म अत्यन्तै अहङ्कारी र आत्म-धर्मी बनेकी थिएँ। मैले हाम्रो काममा वाधा पुर्‍याउने गरी बारम्बार संशोधन गर्नु मात्रै पर्दैनथ्यो, मेरो आफ्‍नै स्थिति पनि बिग्रँदै थियो। ती असफलताहरूको सामना नगरेको भए आफ्‍नो बारेमा मनन गर्न र आफूलाई चिन्‍नको लागि म कहिल्यै पनि परमेश्‍वरको अघि आउनेथिइन। यदि म पछि नफर्केर, मेरो अहङ्कारी स्वभावमा नै जिइरहेकी भए, अरूले मलाई इन्कार गर्नेथिए र परमेश्‍वरले मलाई घृणा गर्नुहुनेथियो। म यो ग्‍लानिले भरिएकी थिएँ र मलाई डर लाग्यो। म पश्‍चात्ताप गर्न तुरुन्तै प्रार्थनामा परमेश्‍वरको अघि आएँ।

त्यसपछि, मैले समूहका सिस्टरहरूलाई मैले प्रकट गरेको भ्रष्टताको बारेमा बताएँ र मैले तिनीहरूलाई म कुनै पनि सुझाव स्वीकार गर्न र निराकरण गरिन तयार छु भनी भनेँ। त्यसपछिको मेरो कर्तव्यमा, दाजुभाइ-दिदीबहिनीहरूले मलाई केही सुझावहरू दिए र सुरुमा मलाई ती सुझावहरू स्वीकार गर्न निकै कठिन हुन्थ्यो। तर जब मैले कसरी हालैका असफलताहरूको सामना गरेँ भन्‍नेबारेमा स्मरण गर्थेँ, तब म प्रार्थना गर्थेँ र मनन गर्नको लागि आफूलाई पन्छाउथें। तिनीहरूले किन त्यो सुझाव दिएका छन्, यसलाई पछ्याएर के हासिल गर्न सकिन्छ, र समस्या कहाँ छ भन्‍नेबारेमा म विचार गर्थेँ। त्यसपछि मैले यसबारेमा सिद्धान्तको आधारमा विचार गर्थेँ। यो नयाँ शैलीद्वारा अरूको सुझावलाई बुझ्‍न र स्वीकार गर्न सहज भयो र मेरा परिमार्जनहरूलाई सबैले निकै राम्ररी लिन थाले। सत्यताको अभ्यास गर्नु कति गजब हुँदो रहेछ भन्‍ने पनि मैले देखेँ। तर मेरो अहङ्कारी स्वभावले ममा साँच्‍चै नै जरा गाडेको थियो, त्यसैले, मैले यसलाई असफलताको एउटा अनुभवले मात्रै उखाल्‍न सकिन।

केही समयपछि म फेरि अहङ्कारमा डुबेँ। एकपटक मलाई मण्डलीका भजनहरूका निम्ति थम्‍बनेल डिजाइन गर्न दिइयो। मलाई साँच्‍चै के लाग्यो भने ती भजनहरू परमेश्‍वरको अनुभव गरिसकेपछि दाजुभाइ-दिदीबहिनीहरूले उहाँको प्रशंसा गरिरहेका हुन् त्यसकारण यसमा न्यानोपन, रोमाञ्‍चक, सुन्दर आभास हुनुपर्छ। मैले सिकेका रङ्गसम्‍बन्धी केही सिद्धान्तहरूको बारेमा विचार गरेँ जसमा त्यस किसिमको भावनालाई बैजनी रङ्गले प्रतिनिधित्व गर्छ, र यसमा गौरवको भाव बोकेको हुन्छ। प्रमुख रङ्गको रूपमा मैले बैजनी रङ्गको प्रयोग गर्दा मैले गल्ती गर्न सक्दिन भन्‍ने मलाई लाग्यो। जब मैले मेरो त्यो काम सकेँ, केही दाजुभाइ-दिदीबहिनीहरूले मैले सिर्जना गरेको कुरा तिनीहरूलाई मन पर्‍यो र रङ्ग राम्रो देखिएको छ भने। मैले गरेको कामप्रति म निकै खुशी थिएँ र मलाई मसँग साँच्‍चै केही क्षमता र डिजाइन गर्ने सीप छ भन्‍ने लाग्यो। भर्खरै डिजाइनमा काम गर्न थालेकी एक जना सिस्टरले मलाई सुझाव पठाएको देख्दा म छक्‍क परेँ, “मण्डलीका भजनहरू वास्तविक अनुभव हुन् र मण्डली परिवारबाट सिकिएका पाठहरू हुन् बैजनी रङ्गको प्रयोग अलिक काल्‍पनिक वा सपना-केन्द्रित भयो र यो उचित हुँदै हुँदैन। आँखाको लागि यो अलिक कडा भयो। म यसलाई परिवर्तन गर्नको लागि सुझाव दिन्छु।” मैले उनको सुझाव पढेँ र मैले आन्तरिक प्रतिरोधको अनुभव गरेँ। मैले सोचेँ, “मैले धेरै तालिम सामग्रीमा बैजनीले न्यानो भावनालाई व्यक्त गर्छ भन्‍ने पढेको छु। यसको साथै, यसरी बैजनी रङ्ग प्रयोग गरेका धेरै डिजाइनहरू छन्। कसरी तिमी यो आँखाको लागि कडा भयो भनी भन्छौ? त्यसबाहेक तिमीले यो काम भर्खरै सुरु गरेकी छ्यौ र बिरलै आफैले कुनै कुराको डिजाइन गरेकी छ्यौ, तर तिमीले मलाई सुझाव दिइरहेकी छ्यौ। तिमीलाई आफ्‍नै सीमितताको बारेमा थाहा छैन।” तर उनीसँग प्रत्यक्ष रूपमा तर्क गर्न मलाई सहज लागेन, तसर्थ, सुझावको लागि अरू मानिसहरूलाई सोध्छु भन्दै मैले उनको कुरालाई टारेँ। त्यसपछि म अरू कसैलाई सोध्‍न गइन, मैले यसलाई बिर्सिदिएँ।

केही दिनपछि अर्को सिस्टरले मलाई त्यस्तै सुझाव दिइन् र मैले प्रयोग गरेको रङ्ग अत्यन्तै निराशाजनक देखिन्छ, म यसलाई परिवर्तन गर्न सुझाव दिन्छु भनेर भनिन्। त्यसपछि समूह अगुवाले मलाई जिद्दी नबन्‍न र थप पुनरावलोकनको लागि परिमार्जन गर्नुपर्छ भनेर स्मरण गराइन्। मैले मेरो कुरामा जिद्दी गर्ने आँट गरिन र मैले केही परिवर्तनहरू गर्ने प्रयास गरेँ। तर म साँच्‍चै नै त्यो बैजनी रङ्गको डिजाइनलाई त्याग्‍न इच्‍छुक थिइन। त्यसपछि मैले विचार गरेँ, “यो रङ्गमा गरिएको मेरो डिजाइन त्यति खराब हुन सक्दैन। अरू कतिलाई त यो धेरै मन परेको छ, अनि मैले यसलाई किन परिवर्तन गर्ने?” यसरी विचार गर्दा मलाई यसमा परिवर्तन गर्न कठिन भयो। केही प्रयासपछि पनि यो राम्रो देखिएन। त्यसपछि मेरो एउटा परिमार्जनमा एउटा गल्ती देखा पर्‍यो जसलाई समाधान गर्न मैले घण्टौं बिताएँ तर यसलाई समाधान गर्ने उपाय भेटिन। म अत्यन्तै हैरान भएँ, के गर्ने भन्‍ने थाहा थिएन र मैले झन्डै हरेस समेत खाएँ। मैले कसरी छ पटक परिमार्जन गर्दै एउटै तस्बिरको लागि एक महिना बिताएकी थिएँ, र कसरी अरूले मलाई धेरै सुझाव दिएका थिए भन्नेबारेमा विचार गरेँ। मैले अझै पनि सकेकी थिइन र यसले हाम्रो काममा वाधा पुर्‍याइरहेको थियो। म साँच्‍चै व्याकुल भएकी थिएँ। म अहङ्कारी भएको कारण र मैले सुझाव लिन नसकेको कारण कसरी हाम्रो काममा वाधा पुगेको थियो त्यसको बारेमा विचार गरेँ। अहिले म फेरि पनि अहङ्कारी भई सुझावहरू इन्कार गरिरहेकी थिएँ। के त्यो उही पुरानै समस्या थिएन र? मैले तुरुन्तै परमेश्‍वरसामु आएर प्रार्थना गरेँ र भनेँ, “हे परमेश्‍वर, मेरो अहङ्कारी स्वभाव साँच्‍चै नै गम्‍भीर छ। म यो परिस्थितिमा समर्पित हुन सक्दिन। बिन्ती छ, तपाईंको इच्‍छा बुझ्‍नको लागि, आफूलाई साँचो रूपमा बुझ्‍न र यो स्थितिबाट बाहिर निस्कन मलाई अन्तर्दृष्टि र मागदर्शन दिनुहोस्।”

पछि मैले परमेश्‍वरका वचनहरूको यो खण्ड पढेँ: “अहङ्‍कार मानिसको भ्रष्ट स्वभावको जड हो। मानिसहरू जति धेरै अहङ्‍कारी हुन्छन्, तिनीहरूले परमेश्‍वरको प्रतिरोध गर्ने त्यति नै धेरै सम्भावना हुन्छ। यो समस्या कति गम्भीर छ? अहङ्‍कारी स्वभाव भएका मानिसहरूले हरेकलाई आफूभन्दा तल्लो स्तरको सम्झन्छन् नै, तर सबैभन्दा खराब कुरा त, तिनीहरूले परमेश्‍वरप्रति पनि होच्याउने व्यवहार गर्छन्। बाहिरबाट हेर्दा, केही मानिसहरू परमेश्‍वरमाथि विश्‍वास गर्ने र उहाँलाई पछ्याउने जस्ता देखिएलान्, तर तिनीहरूले उहाँलाई परमेश्‍वरको रूपमा बिल्कुलै व्यवहार गर्दैनन्। तिनीहरूले सधैँ तिनीहरूसँग सत्यता छ भन्‍ने ठान्छन् र आफैँलाई संसार ठान्छन्। अहङ्‍कारी स्वभावको सार र जड यही हो, र यो शैतानबाट आउँछ। यसैले, अहङ्‍कारको समस्यालाई समाधान गरिनुपर्छ। एक जना अरूभन्दा असल छु भन्‍ने महसुस गर्नु—त्यो तुच्छ कुरा हो। महत्त्वपूर्ण विषय यो हो कि कुनै व्यक्तिको अहङ्‍कारी स्वभावले उसलाई परमेश्‍वर, उहाँको नियम, उहाँको बन्दोबस्तमा समर्पण हुनदेखि रोक्‍छ; यस्तो व्यक्तिले अरूमाथि नियन्त्रण गर्ने शक्तिको निम्ति सधैँ परमेश्‍वरसँग प्रतिस्पर्धा गरिरहेको महसुस गर्छन्। यस्तो किसिमको व्यक्तिले परमेश्‍वरलाई अलिकति पनि आदर गर्दैन, उसले परमेश्‍वरलाई प्रेम गर्ने वा ऊ उहाँमा समर्पित हुने त कुरै नगरौँ। मानिसहरू जो अहङ्‍कारी र अभिमानी छन्, विशेष गरी ती जो आफ्नो होश गुमाउने हदसम्म अहङ्‍कारी छन्, उहाँप्रतिको आफ्नो विश्‍वासमा तिनीहरू परमेश्‍वरमा समर्पित हुन सक्दैनन्, बरु तिनीहरूले आफ्नै बढाइ गर्छन् र आफ्नै निम्ति गवाही दिन्छन्। यस्ता मानिसहरूले परमेश्‍वरलाई सबैभन्दा बढी प्रतिरोध गर्छन्। यदि मानिसहरू परमेश्‍वरलाई आदर गर्ने ठाउँसम्म पुग्‍ने इच्छा राख्छन् भने, तिनीहरूले पहिले आफ्नो अहङ्‍कारी स्वभावको समाधान गर्नुपर्छ। जति पूर्ण रूपमा तैँले आफ्नो अहङ्‍कारी स्वभावको समाधान गर्छस्, तँमा परमेश्‍वरप्रति त्यति नै बढी आदर हुनेछ, तब मात्र तँ उहाँमा समर्पित हुन सक्छस् अनि तँ सत्य प्राप्त गर्न र उहाँलाई जान्‍न सक्षम हुनेछस्” (परमेश्‍वरको सङ्गति)। यसले मलाई अहङ्कार नै परमेश्‍वरको विरोध गर्नुको जड हो भनी बुझ्‍न सहयोग गर्‍यो। अहङ्कारी स्वभावको नियन्त्रणमा परेर, मैले सधैँ म सही हुँ भन्‍ने विचार गर्थेँ मानौं केवल मेरा दृष्टिकोणहरू सत्यता हुन्, मानौं ती अख्‍तियारका स्रोत हुन्। सत्यताको खोजी गर्न र परमेश्‍वरमा समर्पित हुनको लागि ममा कुनै इच्‍छा थिएन। म कसैको सुझावलाई लिँदिनथेँ। विशेष गरी, जब कुनै व्यक्ति मजत्तिको सिपालु हुँदैनथियो वा निश्‍चित प्राविधिक पक्षहरूलाई बुझ्दैनथियो, र पनि मलाई आफ्‍नो सुझाव दिन्थ्यो, तब ममा साँच्‍चै प्रतिरोध उत्‍पन्‍न हुन्थ्यो। मैले तिनीहरूको कुरा स्वीकार गरेको जस्तो गर्थेँ, तर वास्तवमा मैले तिनीहरूको सुझावलाई गम्‍भीरतासाथ लिँदिनथेँ। परमेश्‍वरले मलाई धेरैपटक अरूको माध्यमद्वारा मेरो इच्‍छालाई पन्छ्याउन, मण्डलीको काममा ध्यान केन्द्रित गर्न, खोजी गर्न, र प्रयास गर्न, र सबैभन्दा उत्तम संस्करण प्रदान गर्न स्मरण गराउनुभयो। तर म अत्यन्तै जिद्दी र घमण्डी थिएँ। मैले आफ्‍नै विचार र अनुभवहरूलाई सत्यताको रूपमा लिन्थें र अरूका सुझावहरू मेरो लागि अर्थपूर्ण नहुँदा म मेरै कुरामा जिद्दी गर्थेँ। यो सबैले परमेश्‍वरको घरको काममा वाधा पुर्‍यायो। त्यसपछि मैले बल्‍ल परमेश्‍वरका यी वचनहरू बुझ्‍न सुरु गरेँ: “अहङ्‍कारी स्वभाव भएका मानिसहरूले हरेकलाई आफूभन्दा तल्लो स्तरको सम्झन्छन् नै, तर सबैभन्दा खराब कुरा त, तिनीहरूले परमेश्‍वरप्रति पनि होच्याउने व्यवहार गर्छन्।” “मानिसहरू जति धेरै अहङ्‍कारी हुन्छन्, तिनीहरूले परमेश्‍वरको प्रतिरोध गर्ने त्यति नै धेरै सम्भावना हुन्छ।” म परमेश्‍वरका यी वचनहरूमा पूर्ण रूपमा विश्‍वस्त भएँ। मलाई अलिक डर पनि लाग्यो। यसले मलाई मण्डलीका ख्रीष्टविरोधीहरूका बारेमा स्मरण गरायो। तिनीहरू साँच्‍चै अहङ्कारी र तानाशाही थिए, र कहिल्यै अरूको सुझाव सुन्दैनथे। तिनीहरूले रिस पोखाउने र मानिसहरूलाई बहिष्कार गर्ने समेत गर्थे, जसले परमेश्‍वरको घरको काममा वाधा पुर्‍यायो र परमेश्‍वरको स्वभावलाई उल्‍लङ्घन गर्‍यो। तिनीहरू सबैलाई परमेश्‍वरले हटाउनुभयो। मैले ख्रीष्टविरोधीहरूले गरेको दुष्ट काम गरेको थिइन, तर मेरो स्वभाव कसरी तिनीहरूको भन्दा फरक थियो र? त्यसपछि मात्रै मलाई यदि मैले यो कुरालाई समाधान गरिन भने यसका परिणामहरू गम्‍भीर हुनेछन् भन्‍ने थाहा भयो। म पश्‍चात्ताप गर्न तयार हुँदै तुरुन्तै प्रार्थनामा परमेश्‍वरको अघि आएँ।

त्यसपछि, मैले परमेश्‍वरका वचनहरूको यो खण्ड पढेँ: “यसलाई अहिले हेर्दा, के आफ्‍नो कर्तव्य पर्याप्त रूपमा पूरा गर्न कठिन छ? वास्तवमा, यो कठिन छैन; मानिसहरूले नम्र भएर मात्रै लागिपर्न सक्‍नुपर्छ, तिनीहरूमा थोरै चेतना हुनुपर्छ, र तिनीहरूले उचित स्थान अबलम्‍बन गर्नुपर्छ। तैँले आफूलाई जति नै शिक्षित ठाने पनि, तैँले जे-जस्ता पुरस्कारहरू जितेको भए पनि, वा तैँले जति धेरै कुरा हासिल गरेको भए पनि, र तेरो क्षमता र ओहोदा जति उच्‍च छ भन्‍ने तँलाई लागे पनि, तैँले यी सबै कुराहरूलाई त्यागेर काम सुरु गर्नुपर्छ—ती कुराको कुनै मूल्य हुँदैन। परमेश्‍वरको घरमा, यी कुराहरू जति ठूलो र असल भए पनि, ती सत्यताभन्दा उच्‍च हुन सक्दैनन्; तिनीहरू सत्यता होइनन्, र तिनले सत्यताको स्थान लिन सक्दैनन्। त्यही कारणले त तँमा चेतना हुनुपर्छ भनेर म भन्छु। यदि तँ ‘म वरदानप्राप्त छु, मेरो दिमाग तेजिलो छ, मेरो प्रतिक्रिया क्षमता शीघ्र छ, म चाँडो सिक्‍न सक्‍ने व्यक्ति हुँ, र मेरो स्मरण शक्ति अत्यन्तै राम्रो छ’ भनेर भन्छस्, र तैँले सधैँ यी कुराहरूलाई पूँजीको रूपमा प्रयोग गर्छस् भने, यसले समस्या पैदा गर्नेछ। यदि तैँले यी कुराहरूलाई सत्यताको रूपमा वा सत्यताभन्दा पनि उच्‍च रूपमा हेर्छस् भने, सत्यतालाई स्वीकार गर्न र त्यसलाई अभ्यास गर्न तँलाई कठिन हुनेछ। सधैँ आफूलाई उच्‍च ठान्दै काम गर्ने अहङ्कारी, घमण्डी मानिसहरूलाई सत्यता स्वीकार गर्न कठिन हुन्छ र तिनीहरू असफल हुने सम्‍भावना धेरै हुन्छ। यदि व्यक्तिले आफ्‍नो अहङ्कारको समस्यालाई समाधान गर्न सक्छ भने, उसलाई सत्यता अभ्यास गर्न सहज हुनेछ। यसर्थ, तैँले सुरुमा बाहिरी रूपमा असल र उत्कृष्ट देखिने र अरूको डाह जगाउने यस्ता कुराहरूलाई त्याग्‍नु र इन्कार गर्नुपर्छ। ती कुराहरू सत्यता होइनन्; बरु, तिनले तँलाई सत्यतामा प्रवेश गर्नबाट रोक्‍न सक्छन्” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “कर्तव्यको पर्याप्त कार्य-सम्पदान भनेको के हो?”)। त्यसपछि मैले मेरो अहङ्कारी स्वभावलाई समाधान गर्नको लागि मैले आफूलाई पन्छाउनु र इन्कार गर्नुपर्छ भन्‍ने थाहा पाएँ। मानव सीप, क्षमता, अनुभव र प्रतिभाहरू सत्यता होइनन्, चाहे ती जति नै अद्‍भूत किन नहोऊन्। ती हामीलाई हाम्रो कर्तव्य पूरा गर्न सहयोग गर्ने औजार मात्र हुन्। हामीले तिनलाई पूँजी सम्‍झनु हुँदैन। सत्यता खोज्ने प्रयास गर्नु, सिद्धान्तहरूअनुसार काम गर्नु, अरूसँग मिलेर काम गर्नु, र अरूबाट सिक्‍नु सबै महत्त्वपूर्ण कुरा हुन्। हाम्रो कर्तव्यलाई राम्ररी पूरा गर्ने एउटै तरिका त्यही मात्र हो। त्यसपछि मैले पहिले डिजाइन गरेका केही राम्रा पोस्टरहरूलाई हेरेँ र तिनमा निश्‍चित समस्याहरू रहेछन् भन्‍ने पत्ता लगाएँ, जस्तै, अवधारणा, छायाको प्रयोग, रङ्ग, र बनावट ती सबै मेरो मूल तस्बिरहरूमा भेटिए। तर दाजुभाइ-दिदीबहिनीहरूले दिएको सुझावको आधारमा तिनलाई परिमार्जन गर्दा तिनमा धेरै सुधार आएको थियो, कतिपय त पूरै रूपान्तरित भएका थिए। यो देख्दा मलाई साँच्‍चै लाज लाग्यो। मसँग अरूमा भन्दा बढी प्राविधिक सीप र बढी अनुभव भएको कारण मैले मेरो काममा केही सफलता र अरूबाट केही प्रशंसा प्राप्त गरेकी छु भन्‍ने मलाई लागेको थियो। मैले यसको फाइदा उठाउँदै, कसैको पनि कुरा सुन्‍न इन्कार गर्दै थिएँ। तर यथार्थ कुरा त के थियो भने मैले सत्यताका सिद्धान्तहरू पालन गरेको र अरू मानिसहरूको सुझाव स्वीकार गरेको हुनाले मेरा डिजाइनहरू सफल भएका थिए परमेश्‍वरको अगुवाइ र अन्तर्दृष्टिद्वारा र दाजुभाइ-दिदीबहिनीहरूसँग मिलेर अनि विनम्रतासाथ काम गरेर तिनको निर्माण गरिएको थियो। जब मैले सत्यताका सिद्धान्तहरूको खोजी नगरी वा अरूको सुझाव नलिई मेरा प्राविधिक सीपहरूमा मात्रै भर परेर काम गर्थेँ, मेरा तस्बिहरू राम्रा हुँदैनथे, र यसले वास्तवमा नै मण्डलीको काममा वाधा पुर्‍याएको थियो। मैले मेरो काम गर्ने शैलीमा अत्यन्तै अहङ्कारी र आत्म-धर्मी हुँदाको समयलाई फर्केर हेर्दा मलाई अत्यन्तै लाज लाग्यो। म स्पष्टतः कुनै विशेष व्यक्ति थिइन। मैले त डिजाइनको क्षेत्रको सानो अंश मात्रै छोएकी थिएँ र साँचो व्यावसायिक व्यक्ति बन्‍नबाट धेरै टाढा थिएँ। तर म अझै पनि अति आत्म-विश्‍वासी र अहङ्कारी थिएँ। म अत्यन्तै दुस्साहसी थिएँ। यो कुरा महसुस गरेपछि, मैले प्रार्थना गरेँ र मेरा दृष्टिकोणहरूलाई छोडिदिएँ। मैले अरूको सुझाव मानेँ, र राम्रा परिणामहरू प्राप्त गर्न कसरी परिमार्जनको काम गर्ने भन्नेबारेमा राम्ररी विचार गरेँ। मुख्य समस्या समाधान भएको मात्र थिएन मैले प्रयोग गर्नलाई अझै राम्रो रङ्ग पनि भेट्टाएँ। मैले तुरुन्तै तस्बिर परिमार्जन गरेँ अनि यो अत्यन्तै राम्रो देखिएको छ भनेर दाजुभाइ-दिदीबहिनीहरूले भने। यस्तो देख्दा र महसुस गर्दा मैले लज्‍जित महसुस गरेँ। धेरै समय बरबाद गर्दै र अरूलाई दुःख दिँदै मैले देखाएको मेरो आफ्‍नै अहङ्कारको कारण हामीले त्यति धेरैपटक त्यो तस्बिरलाई परिमार्जन गर्नुपरेको रहेछ। यसले परमेश्‍वरको घरको काममा गम्भीर वाधा पुर्‍याएको थियो। यसबाट मेरो सीपको प्रगतिमा रुकावट आएको मात्र होइन, मेरो जीवन प्रवेशमा समेत बाधा पुगेको थियो। अहङ्कारी स्वभावमा जिउँदा यसले हानिबाहेक केही पनि गरेको थिएन भन्‍ने मैले देखेँ। ममा धेरै पछुतो थियो र मैले मौन भई अठोट गरेँ: “भविष्यमा जस्तोसुकै सुझाव प्राप्त गरे पनि म आफूलाई पन्छाउन, सत्यताको खोजी गर्न, र परमेश्‍वरको घरका हितहरूलाई पहिलो प्राथमिकता दिन सिक्‍नेछु। मैले अहङ्कारमा बाँचिरहनु हुँदैन।”

मैले हालसालै परमेश्‍वरका वचनहरू वाचन गरिएको भिडियोको लागि थम्‍बनेल डिजाइन गरेँ र जब मैले दाजुभाइ-दिदीबहिनीहरूलाई परमेश्‍वरको वचनहरू पढ्ने पहिलो खाका देखाएँ उनीहरूले ग्‍लोबको चित्र धेरै ठूलो भयो र बीचमा खाँदिएको जस्तो देखिएको छ, यसले गर्दा दृश्यको क्षेत्र खुला देखिएन भनी भने। मलाई मेरो डिजाइनमा सुधार गर्न सहयोग गर्नको लागि उनीहरूले केही तस्विरहरू पठाए। मैले सोच्‍न थालेँ, “उचित प्रभावको लागि ग्‍लोब त्यति ठूलो नै हुनुपर्छ र तिमीहरूले कुनै पनि व्यावसायिक ग्राफिक डिजाइनको अनुभव वा कुनै व्यवहारिक तालिम लिएको छैन। यस क्षेत्रमा म नै बढी कुशल छु। तिमीहरूको सुझावबाट मैले प्राप्त गर्ने कुरा केही छैन।” अनि मैले झारा टार्दै तिनीहरूको सुझाव हेरेँ र आफ्‍नै विचारलाई मात्रै ध्यान दिएँ। मैले फेरि मेरो अहङ्कारलाई देखाइरहेकी छु, मैले सुझाव वा अन्तिम परिणामको बारेमा शान्त भएर विचार गरेकी छैन भन्‍ने मलाई थाहा भयो। मैले अन्धाधुन्ध निष्कर्ष मात्रै निकालिरहेकी थिएँ र त्यो परमेश्‍वरको इच्‍छाअनुरूप थिएन। मैले तुरुन्तै परमेश्‍वरलाई मेरो हृदय शान्त पार्न अनुरोध गर्दै प्रार्थना गरेँ, ताकि मैले सत्यताको अभ्यास गर्न सकूँ र मेरो देहलाई भुल्न सकूँ। त्यसपछि मैले परमेश्‍वरका वचनहरूको यो खण्ड पढेँ: “सर्वप्रथम त तँसँग विनम्रताको मनोवृत्ति हुनुपर्छ, तैँले सही ठानेका कुरालाई पन्छाउनुपर्छ र सबैलाई सङ्‍गति गर्न दिनुपर्छ। यदि तैँले तेरा मार्गहरू सही हुन् भनेर विश्‍वास गर्छस् भने पनि तैँले यसमा जोड दिइरहनु हुँदैन। सर्वप्रथम, यो एक प्रकारले अगाडिको कदम हो; यसले सत्यताको खोजी गर्ने, आफैँलाई इन्कार गर्ने र परमेश्‍वरको इच्छा पूरा गर्ने मनोवृत्तिलाई देखाउँछ। एकपटक तँसँग यो मनोवृत्ति भएपछि र यसअलावा तँ तेरो आफ्नै रायमा लिप्त भइनस् भने, तँले प्रार्थना गर्नुपर्छ। जब तैँले असल र खराब छुट्याउन सक्दैनस्, तैँले परमेश्‍वरलाई कुन कुरा सबैभन्दा असल र गर्नको निम्ति सबैभन्दा उपयुक्त हो भन्ने कुरा प्रकट गर्ने र बताउने अनुमति दिनुपर्छ। जब सबै जना सङ्‍गति गर्न आउँछन्, पवित्र आत्माले तिमीहरू सबैलाई अन्तर्दृष्टि प्रदान गर्नुहुन्छ। परमेश्‍वरले मानिसहरूलाई एउटा प्रक्रियाअनुसार अन्तर्दृष्टि प्रदान गर्नुहुन्छ, र यो प्रक्रियाले कहिलेकाहीँ केवल तेरो मनोवृत्तिलाई जाँचेर हेर्छ। यदि तेरो मनोवृत्ति कठोर आत्म-दाबी गर्ने किसिमको छ भने, परमेश्‍वरले आफ्नो मुहार तँबाट लुकाउनुहुनेछ र तेरो लागि ढोका बन्द गर्नुहुनेछ; उहाँले तेरो पर्दाफास गर्नुहुनेछ र तैँले ठूलो हन्डर खाने कुराको सुनिश्‍चितता गर्नुहुनेछ। तर यसको विपरीत, यदि तेरो मनोप्रवृत्ति सही छ भने, तँ आफ्नै तरिकालाई जोड दिँदैनस् भने र तँ आत्म-धर्मी, स्वेच्छाचारी र अविवेकी छैनस् भने, बरु सत्यताको खोजी गर्ने र त्यसलाई स्वीकार गर्ने मनोवृत्तिको छस् भने, समूहसँग तैँले सङ्‍गति गर्दा, पवित्र आत्माले तिमीहरूमा काम गर्नुहुनेछ, र सायद कसैका वचनहरूमार्फत उहाँले तँलाई अगुवाइ गर्नुहुनेछ” (परमेश्‍वरको सङ्गति)। त्यसपछि मैले के बुझेँ भने, जब मैले मेरो कर्तव्यमा अरूबाट फरक-फरक विचारहरू प्राप्त गर्थेँ, त्यो परमेश्‍वरले नै दिनुभएको कुरा थियो। परमेश्‍वरले हाम्रो हरेक विचार र कार्यलाई हेर्नुहुन्छ, त्यसैले, मैले सत्यताको अभ्यास र परमेश्‍वरको छानबिनलाई स्वीकार गरिरहेको हुनुपर्छ। मैले बाहिरी रूपमा स्पष्ट देखिने रूप मात्रै लिएर अरू मानिसहरूको व्यावसायिकताको बोधको बारेमा निष्कर्ष निकाल्नु हुँदैन। ममा बढी ज्ञान भए पनि, मेरो विचार जति नै उचित छ भन्‍ने मलाई लागे पनि, म मेरो अहमताबाट झरेर, मैले मेरा आफ्‍नै विचारहरूलाई पन्छाउनु, सत्यताका सिद्धान्तहरूको खोजी गर्नु, र जुन कुरा सबैभन्दा प्रभावकारी हुन्छ त्यही गर्नुपर्थ्यो। अन्तिममा मेरो कुरा नै सही भए पनि, मैले परमेश्‍वरको मापदण्डअनुसार सत्यताको खोजी गर्ने र अभ्यास गर्ने गर्नुपर्थ्यो। त्यो निकै महत्त्वपूर्ण कुरा हो। परमेश्‍वरले मेरा शैतानी स्वभावहरूलाई घृणा गर्नुभयो जुन उहाँको निम्ति शत्रुवत् थिए, त्यसैले मेरो अहङ्कारको प्रदर्शन गल्ती गर्नुभन्दा पनि खराब कुरा थियो। मैले मेरो अहङ्कारले कसरी परमेश्‍वरको घरको काममा वाधा पुर्‍याएको छ भन्‍नेबारेमा विचार गरेँ र मलाई त्यो मन परेन र म त्यति हठी हुनु हुँदैन भन्‍ने मलाई लाग्यो। मैले परिमार्जनका लागि दिइएका सुझावहरूलाई शान्त भई लिनुपर्थ्यो र तस्बिरलाई राम्रो बनाउने प्रयासमा लाग्‍नु पर्नेथियो। त्यसपछि, मैले अरूका सुझावहरूलाई गम्‍भीरतासाथ लिन थालेँ र मैले निकै शैलीबद्ध रहेको एउटा सन्दर्भ तस्बिर भेट्टाएँ जसबाट मैले केही सिक्‍न सक्थेँ। मैले यसबारेमा यसपटक अरू समूह सदस्यहरूसँग छलफल गरेँ र सुझावअनुसार नै परिमार्जन गरिनुपर्छ भनेर सबैले सहमति जनाए। मैले त्यसको खाका र अरू पक्षहरूलाई परिमार्जन गरेँ र यो काम निकै छिटो समाप्त भयो यो सबै परमेश्‍वरको अन्तर्दृष्टि र अगुवाइको कारण हासिल भएको हो भन्‍ने मैले अनुभव गरेँ। मैले थप केही सुझावहरू प्राप्त गरेको भए पनि, मैले यसलाई उचित रूपमा लिएँ र त्यति धेरै प्रतिरोधको अनुभूति गरिन। परमेश्‍वरको गवाही दिनको लागि जति धेरैपटक आवश्यक परे पनि मैले खुशीसाथ यसलाई परिवर्तन गरेँ। केही परिमार्जनपछि, सबैले यो एकदम राम्रो छ र थप कुनै सुझाव छैन भनी भने। त्यस तरिकाले कर्तव्य पूरा गर्नु कति गजब हुँदो रहेछ भनी मैले देखेँ।

अनुशासन कारबाहीमा परेपछि र परमेश्‍वरका वचनहरू पढेपछि मैले अन्ततः मेरो अहङ्कारी शैतानी स्वभावलाई बुझेँ र घृणा गरेँ। मैले सत्यताको खोजी गर्नु र त्यसलाई स्वीकार गर्नु कति महत्त्वपूर्ण कुरा रहेछ भन्‍ने देखेँ। म पहिलेजत्तिको अहङ्कारी छैन र म अरूबाट सुझावहरू लिन सक्छु। परमेश्‍वरको न्याय, सजाय, र अनुशासनकै कारणले नै म यसरी परिवर्तन भएको छु।

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

सम्बन्धित विषयवस्तु

झुटहरूपश्चात्

चेन शी, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरले इमानदारलाई मन पराउनुहुन्छ भन्ने कुरा तिमीहरूले थाहा पाउनुपर्छ। वास्तवमा,...

पतनअघि अहङकार आउँछ

क्षिन्‍जिए, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “अहङ्‍कार मानिसको भ्रष्ट स्वभावको जड हो। मानिसहरू जति धेरै अहङ्‍कारी हुन्छन्, तिनीहरूले...

रोगको कठिन परीक्षा

झोङ्गछिन, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मेरा कार्यहरू समुद्र किनारका बालुवाका कणहरूभन्दा धेरै छन् र मेरो बुद्धि सोलोमनका सबै...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्