परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ४२

अय्यूबको प्रतिक्रिया

अय्यूब १:२०-२१ त्यसपछि अय्यूब उठे, आफ्‍नो खास्टो च्याते, आफ्‍नो कपाल खौरे, भूँइमा लम्पसार परे र आराधना गरे, अनि तिनले भने, म मेरी आमाको गर्भबाट नाङ्गै आएँ र म नाङ्गै फर्कनेछु: यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ; यहोवाको नाउँको प्रशंसा होस्।

अय्यूब आफूसित भएका सबै थोक फर्काउन आफै तयार हुने अवस्था परमेश्‍वरप्रतिको तिनको भयबाट आउँछ

परमेश्‍वरले शैतानलाई “त्यससँग भएको सबै तेरो शक्तिमा छ; त्यसमाथि मात्रै तैँले तेरो हात नलगा,” भन्‍नुभएपछि, शैतान त्यहाँबाट गयो र त्यसको लगत्तै अय्यूब अचानक र भयङ्कर आक्रमणको शिकार भए: सुरुमा, तिनका गोरु र गधाहरू लुटिए र तिनका केही नोकरहरू मारिए; त्यसपछि तिनका भेडा र अन्य नोकरचाकर आगोमा भस्म भए। त्यसपछि, तिनका ऊँटहरू लगियो र तिनका अझ धेरै नोकरचाकरको हत्या गरियो। अन्त्यमा, तिनका छोराछोरीहरूको ज्यान लिइयो। यो चरणबद्ध आक्रमण अय्यूबले पहिलो परीक्षाको अवधिमा भोगेका यातनाहरू थिए। परमेश्‍वरको आज्ञाअनुसार, यी आक्रमणहरूको अवधिमा शैतानले अय्यूबका सम्पत्ति र छोराछोरीहरूलाई मात्र लक्षित गर्‍यो, तर अय्यूब स्वयम्‌लाई हानि गरेन। यद्यपि, अय्यूब धेरै सम्पत्ति भएको धनी मानिसबाट तुरुन्तै केही पनि नभएको व्यक्तिमा परिणत भए। कसैले पनि यो स्तब्ध पार्ने गरी अचानक गरिएको प्रहार सामना गर्न सक्दैनथ्यो वा त्यसप्रति उचित प्रतिक्रिया देखाउन सक्दैनथ्यो, तर अय्यूबले आफ्नो असाधारण पक्ष प्रकट गरे। धर्मशास्‍त्रले निम्‍न विवरण प्रदान गर्छ: “त्यसपछि अय्यूब उठे, आफ्‍नो खास्टो च्याते, आफ्‍नो कपाल खौरे, भूँइमा लम्पसार परे र आराधना गरे।” आफ्ना छोराछोरीहरू र सबै सम्पत्ति गुमाएको खबर सुनेपछि अय्यूबले दिएको पहिलो प्रतिक्रिया यही थियो। सबैभन्दा महत्त्वपूर्ण कुरा, तिनी स्तब्ध भएको वा डरले ग्रस्त भएको देखिएका थिएनन्, तिनले क्रोध वा घृणा प्रकट गर्ने कुरा त परै जाओस्। त्यसपछि तँ के देख्छस् भने, आफ्नो हृदयमा तिनले यो बुझिसकेका थिए कि ती विपत्तिहरू संयोगले आएका होइनन्, वा ती मानिसको हातद्वारा भएका होइनन्, वा त्यो प्रतिशोध वा दण्डको आगमन त झन् हुनै सक्दैन। बरु, यहोवाको परीक्षा तिनीमाथि आएको थियो; तिनको सम्पत्ति र छोराछोरीहरू लिन चाहने यहोवा नै हुनुहुन्थ्यो। त्यस बेला अय्यूब एकदम शान्त र स्पष्ट विचारका थिए। तिनको सिद्ध र सोझो मानवताले तिनलाई आफूमा परेका विपत्तिहरूबारे तर्कसंगत र स्वाभाविक रूपमा सही विचार र निर्णय गर्न सक्षम तुल्यायो, र यसको परिणामस्वरूप तिनले असाधारण शान्तिका साथ व्यवहार गरे: “त्यसपछि अय्यूब उठे, आफ्‍नो खास्टो च्याते, आफ्‍नो कपाल खौरे, भूँइमा लम्पसार परे र आराधना गरे।” “आफ्‍नो खास्टो च्याते” भन्‍नुको अर्थ तिनी वस्‍त्रहीन थिए, र तिनीसित केही थिएन भन्‍ने हुन्छ। “आफ्‍नो कपाल खौरे” भन्‍नुको अर्थ तिनी नवजात शिशुको रूपमा परमेश्‍वरको सामु फर्के; “भूँइमा लम्पसार परे र आराधना गरे” भन्‍नुको अर्थ तिनी संसारमा नाङ्गै आएका थिए, र आज तिनीसित केही थिएन, तिनी नवजात शिशुजस्तो बनेर परमेश्‍वरको सामु फर्केका थिए। आफूमाथि परिआएका सबै कुराहरूप्रति अय्यूबको जुन मनोवृत्ति थियो, त्यो परमेश्‍वरको कुनै पनि प्राणीले हासिल गर्न सक्दैनथ्यो। यहोवामाथिको तिनको विश्‍वास विश्‍वासको क्षेत्रभन्दा पनि माथि पुगेको थियो; परमेश्‍वरप्रतिको तिनको भय, परमेश्‍वरप्रतिको तिनको आज्ञाकारिता यही थियो; तिनले परमेश्‍वरलाई उहाँले तिनलाई दिनुभएको निम्ति मात्र धन्यवाद दिएनन्, तिनीबाट उहाँले खोस्‍नुभएको निम्ति पनि धन्यवाद दिए। यसबाहेक, तिनले आफ्नो जीवनसहित आफ्नो स्वामित्वमा भएका सम्पूर्ण कुराहरू आफै परमेश्‍वरकहाँ फर्काउन सके।

परमेश्‍वरप्रतिको अय्यूबको भय र आज्ञाकारिता मानवजातिका लागि एउटा उदाहरण हो, र तिनको सिद्धता र सोझोपन मानिसमा हुनैपर्ने मानवताको चरम सीमा थिए। तिनले परमेश्‍वरलाई देखेका थिएनन्, तैपनि तिनले परमेश्‍वर साँच्‍चै नै हुनुहुन्छ भनी बुझे, र यो कुरा बुझेकाले नै तिनले परमेश्‍वरको भय माने, र परमेश्‍वरप्रतिको तिनको भयको कारण तिनले परमेश्‍वरको आज्ञापालन गर्न सके। तिनले आफूसँग भएका सबै थोकहरूमाथि परमेश्‍वरलाई स्वतन्त्र रूपमा नियन्त्रण गर्न दिए, तैपनि तिनले गुनासो गरेनन्, र परमेश्‍वरको सामु घोप्टो परे, र त्यस बेला यदि परमेश्‍वरले तिनको देह लिनुभयो भने पनि तिनले कुनै गुनासो नगरी खुसीसाथ उहाँलाई त्यसो गर्न दिनेथेँ भनी भने। तिनको सम्पूर्ण आचरण तिनको सिद्ध र सोझो मानवताको उपज थियो। भन्‍नुको अर्थ, तिनको निर्दोषता, इमानदारिता र दयाको परिणामस्वरूप, अय्यूब परमेश्‍वरको अस्तित्वसम्बन्धी आफ्नो बुझाइ र अनुभवमा अटल थिए, र यही आधारमा तिनले आफ्नै लागि मापदण्ड तय गरे अनि परमेश्‍वरले तिनलाई अगुवाइ गर्नुभएअनुसार र सबै थोकमाझ तिनले देखेका परमेश्‍वरका कार्यहरूअनुसार परमेश्‍वरको सामु आफ्नो सोचविचार, व्यवहार, आचरण र कार्य सिद्धान्तहरूलाई यही मापदण्डअनुरूप बनाए। समय बित्दै जाँदा, तिनका अनुभवहरूले तिनमा परमेश्‍वरप्रतिको साँचो र वास्तविक भय उत्पन्‍न गरायो र तिनलाई दुष्टताबाट अलग बस्‍ने बनायो। अय्यूबले दह्रिलो गरी पक्रेको निष्ठाको स्रोत यही थियो। अय्यूबमा निष्कपट, निर्दोष र दयालु मानवता थियो, र तिनीसँग परमेश्‍वरको भय मान्‍ने, परमेश्‍वरको आज्ञापालन गर्ने र दुष्टताबाट अलग बस्‍ने वास्तविक अनुभव थियो, साथै “यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ” भन्‍ने ज्ञान पनि थियो। यी कुराहरूको कारणले गर्दा मात्र तिनी शैतानको त्यस्तो डरलाग्दो आक्रमणमाझ आफ्नो गवाहीमा दृढ भएर खडा हुन सकेका थिए, र त्यही कारणहरूले गर्दा मात्रै तिनले आफूमाथि परमेश्‍वरका जाँचहरू आइलाग्दा परमेश्‍वरलाई निराश नपार्न र सन्तोषजनक जबाफ दिन सके। त्यो पहिलो परीक्षाको अवधिमा अय्यूबको आचरण एकदम इमानदार किसिमको भए तापनि, पछिका पुस्ताहरूले जीवनभर प्रयत्‍न गरेपछि पनि यस्तो इमानदारी प्राप्त गर्ने निश्‍चित थिएन, न त उनीहरूमा माथि वर्णन गरिएको अय्यूबको आचरण हुन्छ भन्‍ने जरुरी नै थियो। आज, अय्यूबको इमानदार आचरणको सामना गर्नुपर्दा, र परमेश्‍वरमा विश्‍वास गर्ने र परमेश्‍वरलाई पछ्याउने दाबी गर्नेहरूले चिच्याउँदै परमेश्‍वरसामु देखाएको “पूर्ण आज्ञापालन र मृत्युपर्यन्त बफादारिता” को सङ्कल्पसँग तुलना गर्दा, के तिमीहरूलाई गहन रूपमा लाज हुन्छ कि हुँदैन?

जब तँ पवित्रशास्‍त्रमा अय्यूब र तिनको परिवारले भोगेका सबै कुराहरू पढ्छस्, तब तेरो प्रतिक्रिया कस्तो हुन्छ? के तँ आफ्ना विचारमा हराउँछस्? के तँ स्तब्ध हुन्छस्? के अय्यूबमाथि आइपरेका परीक्षाहरूलाई “डरलाग्दो” भनेर वर्णन गर्न सकिन्छ? अर्को शब्दमा भन्दा, धर्मशास्‍त्रमा वर्णन गरिएका अय्यूबका परीक्षाहरू पढ्दा नै भयावह लाग्छन्, वास्तविक जीवनमा त झन् ती कस्ता थिए होलान्! त्यसरी तँ देख्छस् कि अय्यूबमाथि आइपरेको कुरा एउटा “अभ्यास प्रशिक्षण” थिएन, तर वास्तविक “लडाइँ” थियो, जसमा वास्तविक “बन्दुकहरू” र “गोलीहरू” थिए। तर कसको हातद्वारा तिनी परीक्षाहरूमा पारिएका थिए? अवश्य नै, ती शैतानको काम थिए, र शैतानले आफ्नै हातले यी काम गरेको थियो। यसको बावजूद पनि, यी कुराहरू गर्ने अधिकार परमेश्‍वरले दिनुभएको थियो। के परमेश्‍वरले शैतानलाई अय्यूबको परीक्षा कुन माध्यमद्वारा गर्नुपर्छ भनी बताउनुभएको थियो? उहाँले बताउनुभएको थिएन। परमेश्‍वरले केवल एउटा सर्त राख्‍नुभयो जुन शैतानले पालन गर्नुपर्थ्यो, र त्यसपछि अय्यूबमाथि परीक्षा आयो। जब अय्यूबमाथि परीक्षा आयो, त्यसले मानिसहरूलाई शैतानको दुष्टता र कुरूपता, मानिसप्रति त्यसको द्वेष र घृणा, अनि परमेश्‍वरसँगको त्यसको शत्रुताको ज्ञान दियो। यसमा हामी देख्छौँ कि त्यो परीक्षा कतिसम्म क्रूर थियो भन्‍ने कुरा शब्दहरूमा वर्णन गर्नै सकिँदैन। यो भन्‍न सकिन्छ कि शैतानले मानिससित जुन द्वेषपूर्ण प्रकृतिले दुर्व्यवहार गर्‍यो त्यो प्रकृति र त्यसको कुरूप अनुहार त्यो क्षणमा पूर्ण रूपमा प्रकट भएको थियो। शैतानले यो मौका अर्थात् परमेश्‍वरको अनुमतिमा प्रदान गरिएको मौकालाई उग्र र क्रूर रूपमा अय्यूबलाई दुर्व्यवहार गर्न प्रयोग गर्‍यो, र त्यो क्रूरताको तरिका र तह आजका मानिसहरूका निम्ति पूर्ण रूपमा अकल्पनीय र असहनीय छ। अय्यूब शैतानको परीक्षामा परेका थिए र यो परीक्षाको अवधिमा तिनी आफ्नो साक्षीमा दृढ रहे भनेर भन्‍नुभन्दा पनि परमेश्‍वरले तिनका निम्ति तय गर्नुभएका परीक्षाहरूमा अय्यूबले आफ्नो सिद्धता र इमानदारिताको रक्षा गर्न, र परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने मार्गको रक्षा गर्न शैतानसँग प्रतिस्पर्धा गरे भन्‍नु उपयुक्त हुन्छ। यस प्रतिस्पर्धामा, अय्यूबले अत्यन्तै धेरै मूल्यका भेडा र गाईवस्तुहरू गुमाए, तिनले आफ्नो सबै सम्पत्ति गुमाए, र तिनले आफ्ना छोराछोरीहरू गुमाए। तर तिनले आफ्नो सिद्धता, इमानदारी वा परमेश्‍वरप्रतिको डरलाई त्यागेनन्‌। अर्को शब्दमा भन्‍ने हो भने, शैतानसँगको यो प्रतिस्पर्धामा, अय्यूबले आफ्नो सिद्धता, इमानदारी र परमेश्‍वरप्रतिको डर गुमाउनुभन्दा पनि आफ्‍नो सम्पत्ति र छोराछोरी गुमाउन रुचाए। तिनले मानिस हुनु भनेको के हो त्यसको जड समात्‍न रुचाए। अय्यूबले आफ्नो सम्पत्ति गुमाएको सम्पूर्ण प्रक्रियाको बारेमा धर्मशास्‍त्रले संक्षिप्त विवरण प्रदान गर्छ, र साथै अय्यूबको आचरण र मनोवृत्ति बारेमा पनि वर्णन गर्छ। यी जटिल, संक्षिप्त विवरणहरूले अय्यूब यस परीक्षाको सामना गर्दा लगभग शान्त थिए भन्‍ने भाव प्रदान गर्छ, तर वास्तवमा जे भएको थियो त्यो घटनालाई पुन: सिर्जित गर्ने हो भने—यस क्रममा शैतानको द्वेषपूर्ण प्रकृतिलाई पनि ध्यानमा राखियो भने—स्थितिहरू यी वाक्यहरूमा वर्णन गरेझैँ सरल वा सजिलो हुनेथिएनन्। वास्तविकता अत्यन्तै क्रूर थियो। मानवजाति र परमेश्‍वरले स्विकार्नुहुने सबैसित शैतानले त्यस स्तरको विनाश र घृणाद्वारा व्यवहार गर्छ। यदि परमेश्‍वरले शैतानलाई अय्यूबको हानि नगर्नू भनी नभन्‍नुभएको भए, निश्‍चय नै शैतानले तिनलाई कुनै पछुतो नगरी मार्नेथ्यो। कुनै पनि मानिसले परमेश्‍वरको आराधना गरेको शैतान चाहँदैन, न त परमेश्‍वरको नजरमा धर्मी र सिद्ध साथै सोझो व्यक्तिले परमेश्‍वरको भय मानेको र खराबीबाट अलग बसेको नै त्यो चाहन्छ। मानिसहरू परमेश्‍वरसित डराउनु र दुष्टताबाट अलग रहनुको अर्थ तिनीहरूले शैतानलाई त्याग्‍नु र त्यसबाट अलग बस्‍नु हो, त्यसैले शैतानले परमेश्‍वरको अनुमतिको फाइदा उठायो र कुनै दया नगरी अय्यूबमाथि आफ्नो क्रोध र घृणा पोखायो। यसरी, अय्यूबले मनमस्तिष्कदेखि देहसम्म, भित्रदेखि बाहिरसम्म भोगेको यातना कति ठूलो थियो भनी तैँले देख्छस्। आज हामी त्यसबेला अवस्था कस्तो थियो भनी देख्दैनौँ र बाइबल विवरणहरूबाट त्यस बेला पीडामा पर्दा अय्यूबका भावनाहरू कस्ता थिए भन्‍ने संक्षिप्त झलक मात्र प्राप्त गर्न सक्छौँ।

अय्यूबको अटल इमानदारिताले शैतानलाई सर्ममा पार्छ र त्यो आत्तिएर भाग्छ

अनि, अय्यूब त्यस यातनामा पर्दा परमेश्‍वरले के गर्नुभयो? परमेश्‍वरले अवलोकन गर्नुभयो, र हेर्नुभयो, र परिणामको प्रतीक्षा गर्नुभयो। जब परमेश्‍वरले अवलोकन गर्नुभयो र हेर्नुभयो, उहाँले कस्तो महसुस गर्नुभयो? उहाँले निश्‍चय पनि शोक महसुस गर्नुभयो। तर आफूले अनुभूति गरेको शोकको कारण, के परमेश्‍वरले शैतानलाई अय्यूबको परीक्षा गर्ने अनुमति दिनुभएकोमा पछुतो गर्नुभयो? यसको उत्तर हो, गर्नुभएन, उहाँले त्यस्तो पछुतो महसुस गर्नुभएन। किनकि अय्यूब सिद्ध र सोझो छन्, र तिनी परमेश्‍वरको भय मान्छन् र दुष्टताबाट अलग बस्छन् भन्‍ने कुरामा उहाँ पूर्ण विश्‍वास गर्नुहुन्थ्यो। परमेश्‍वरले शैतानलाई केवल परमेश्‍वरको सामु अय्यूबको धार्मिकता जाँच गर्न, र त्यसको आफ्नै दुष्टता र घृणितपन प्रकट गर्ने अवसर प्रदान गर्नुभएको थियो। यसबाहेक, यो घटना अय्यूबले संसारका मानिसहरू, शैतान र परमेश्‍वरलाई पछ्याउने सबैको सामु समेत आफ्नो धार्मिकता र आफूले परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने गरेको बारेमा गवाही दिने मौका थियो। के अन्तिम परिणामले अय्यूबप्रतिको परमेश्‍वरको मूल्याङ्कन ठीक र त्रुटिरहित थियो भन्‍ने प्रमाणित गर्‍यो? के अय्यूबले साँच्‍चै शैतानलाई पराजित गरे? यहाँ हामी अय्यूबले बोलेका मुख्य वचनहरू पढ्छौँ, र ती वचनहरू तिनले शैतानलाई पराजित गरेको प्रमाण हुन्। तिनले भने: “म मेरी आमाको गर्भबाट नाङ्गै आएँ र म नाङ्गै फर्कनेछु।” यो परमेश्‍वरप्रतिको अय्यूबको आज्ञाकारिताको मनोवृत्ति हो। त्यसपछि तिनले भने: “यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ; यहोवाको नाउँको प्रशंसा होस्।” अय्यूबले बोलेका यी वचनहरूले के प्रमाणित गर्छन् भने, परमेश्‍वरले मानिसको हृदयको गहिराइलाई अवलोकन गर्नुहुन्छ, उहाँले मानिसको मनमस्तिष्कभित्र देख्‍न सक्‍नुहुन्छ, र ती वचनहरूले प्रमाणित गर्छन् कि उहाँले अय्यूबलाई गर्नुभएको अनुमोदन गल्तीरहित थियो, परमेश्‍वरले अनुमोदन गर्नुभएको यी व्यक्ति धर्मी थिए। “यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ; यहोवाको नाउँको प्रशंसा होस्।” यी वचनहरू परमेश्‍वरका लागि अय्यूबको गवाही हुन्। यी साधारण वचनहरूले नै शैतानलाई भयभीत पार्‍यो, त्यसलाई सर्ममा पार्‍यो र त्यो आत्तिएर भाग्यो, र त्यसबाहेक, त्यसले शैतानलाई साङ्ला लगायो र त्यसलाई कुनै स्रोतसाधनविहीन अवस्थामा छोडिदियो। त्यसै गरी, यी वचनहरूले शैतानलाई यहोवा परमेश्‍वरले गर्नुभएका कार्यहरूको अद्‌भुतता र सामर्थ्य महसुस गरायो र परमेश्‍वरको मार्गद्वारा सञ्‍चालित हृदय भएको व्यक्तिको असाधारण चमत्कार महसुस गरायो। त्यसबाहेक, ती वचनहरूले परमेश्‍वरसँग डराउने र दुष्टताबाट अलग रहने मार्गमा लागेको सानो र तुच्छ व्यक्तिले देखाएको शक्तिशाली जीवनशक्ति शैतानलाई देखाए। यसरी पहिलो प्रतिस्पर्धामा शैतानको हार भयो। “यसबाट शिक्षा” पाए पनि शैतानले अय्यूबलाई छोड्ने विचार गरेको थिएन, न त त्यसको द्वेषपूर्ण प्रकृतिमा कुनै परिवर्तन नै आएको थियो। शैतानले अय्यूबमाथि हमला गर्न कोसिस गर्‍यो, र फेरि एकपटक परमेश्‍वरको सामु आयो …

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ | अंश २६४

ब्रह्माण्ड र आकाश मण्डलको विशालतामा, अनगिन्ती प्राणीहरू जिउँछन् र सन्तान पैदा गर्छन्, जीवनको चक्रीय नियम पालन गर्छन्, अनि एउटै अटुट नियमको...

परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश ३७

परमेश्‍वरले सारा ब्रह्माण्डभरि उहाँको काम गर्नुहुन्छ। उहाँमा विश्‍वास गर्नेहरू सबैले उहाँको वचनलाई स्वीकार गर्नुपर्छ, अनि उहाँको वचन खानु र...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वर देखा पर्नु र उहाँको काम | अंश ५०

राज्यका राजा, सर्वशक्तिमान् परमेश्‍वरको गवाही दिइएको समयदेखि परमेश्‍वरको व्यवस्थापनको क्षेत्र सारा ब्रह्माण्डमा त्यसको पूर्णतामा प्रकट भएको...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश २११

आज, मैले तिमीहरूमा गर्ने कामको उद्देश्य तिमीहरूलाई सामान्य मानवताको जीवनमा डोऱ्याउनु हो; यो नयाँ युगको प्रारम्‍भ गर्ने र मानवजातिलाई नयाँ...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्