विजेता भनेको को हो र विपत्तिहरूअघि परमेश्‍वरद्वारा कसरी विजेता बनाइन सकिन्छ

14 अगस्ट 2021

सन्दर्भका लागि बाइबल पदहरू:

“यिनीहरू महा-संकष्टबाट भएर आएका, र आफ्‍ना वस्त्र धोएर, तिनलाई थुमाको रगतमा सेतो बनाउनेहरू हुन्” (प्रकाश ७:१४)।

“अनि मैले हेरे, र सियोन पर्वतमा एक जना थुमा, अनि उहाँसँग निधारमा उहाँका पिताको नाउँ लेखिएका एक लाख चवालीस हजार जनालाई उभिरहेको देखेँ। अनि मैले स्वर्गबाट आएको आवाज सुने, जुन धेरै पानीहरूको आवाज, र ठूलो चट्याङ्गको आवाजजस्तो थियो: अनि मैले वीणा बजाउनेहरूले आफ्‍नो वीणाहरू बजाएको आवाज सुने: अनि तिनीहरूले सिंहासनको अघि, अनि चार वटा पशुहरू, र एल्डरहरूको अघि नयाँ गीतझैं गरी गाए: अनि पृथ्वीबाट छुटकारा दिलाइएका एक लाख चवालीस हजार जनाले बाहेक कुनै पनि मानिसले त्यो गीत सिक्‍न सक्दैनथियो। यिनीहरू ती हुन् जो कुनै पनि स्त्रीहरूद्वारा अशुद्ध पारिएका छैनन्; किनकि तिनीहरू कुमार हुन्। यिनीहरू थुमा जता-जता जानुहुन्छ उहाँलाई त्यता-त्यतै पछ्याउनेहरू हुन्। परमेश्‍वर र थुमाका निम्ति पहिलो फल भएका हुनाले यिनीहरूलाई मानिसहरूको बिचबाट मोल तिरेर छुटाइएको थियो। अनि तिनीहरूका मुखमा कुनै झुट पाइएन; तिनीहरू निष्खोट छन्” (प्रकाश १४:१-५)।

परमेश्‍वरका प्रासंगिक वचनहरू:

राज्यको युगमा मानिसलाई पूरा रूपमा पूर्ण गरिनेछ। विजयको कामपछि, मानिस शोधन र संकष्टमा पर्नेछ। यो संकष्टमा विजय गर्न सक्‍ने र गवाहीको रूपमा खडा हुन सक्‍नेहरू नै आखिरमा पूर्ण पारिनेहरू हुन्; तिनीहरू विजेताहरू हुन्। यो संकष्टको अवधिमा, यस शोधनलाई मानिसले स्वीकार गर्नु आवश्यक हुन्छ, र यो शोधन परमेश्‍वरको कामको अन्तिम घटना हुनेछ। परमेश्‍वरको व्यवस्थापनको सारा कार्यको समाप्तिभन्दा पहिले मानिसलाई शोधन गरिने यो अन्तिम पटक हो, र परमेश्‍वरलाई पछ्याउने सबैले यो अन्तिम जाँचलाई स्वीकार गर्नैपर्छ, र यो अन्तिम शोधनलाई तिनीहरूले स्वीकार गर्नैपर्छ। संकष्टद्वारा व्याकुल हुनेहरू पवित्र आत्‍माको कार्य र परमेश्‍वरको अगुवाइ विहीन हुन्छन्, तर साँचो रूपमा विजय गरिएकाहरू र परमेश्‍वरलाई साँचो रूपमा खोज्‍नेहरू अन्तिममा दह्रिलो गरी खडा हुनेछन्; तिनीहरू मानवता भएकाहरू, र परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्नेहरू हुन्। परमेश्‍वरले जे गर्नुभए तापनि, यी विजेताहरूमा दर्शनहरूको अभाव हुँदैन र तिनीहरूले आफ्‍नो गवाहीमा पतन नभइकन सत्यतालाई अभ्यास गर्नेछन्। आखिरमा महा-संकष्टबाट उठी आउनेहरू यिनीहरू नै हुन्।

वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको कार्य र मानिसको अभ्यास” बाट उद्धृत गरिएको

मैले पहिलेबाटै भनेको थिएँ, कि विजेताहरूको एउटा दल पूर्वबाट जितिन्छ, ती विजेताहरू जो, महासंकष्टको बीचबाट निस्कन्छन्। यी वचनहरूको अर्थ के हो? तिनको अर्थ यही हो, कि ती प्राप्त गरिएका मानिसहरूले न्याय र सजाय, निराकरण र काटछाँट र हरकिसिमका शोधनबाट भएर गएपछि मात्र साँचो रूपमा आज्ञापालन गर्न सके। यी मानिसहरूको विश्‍वास अस्पष्ट र अमूर्त हुँदैन, तर वास्तविक हुन्छ। तिनीहरूले कुनै पनि चिन्हहरू र अचम्‍मका कामहरू वा कुनै आश्‍चर्यकर्महरू देखेका हुँदैनन्; तिनीहरू कुनै बुझ्न नसकिने अक्षरहरू र सिद्धान्तहरू वा गहन अन्तर्दृष्टिहरूको बारेमा कुरा गर्दैनन्; त्यसको साटो, तिनीहरूसित वास्तविकता, परमेश्‍वरका वचनहरू र परमेश्‍वरको वास्तविकताको साँचो ज्ञान हुन्छ। के यस्तो झुण्ड परमेश्‍वरको शक्तिलाई स्पष्ट पार्न अझ बढी सक्षम हुँदैन र?

वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको वचनद्वारा सबै कुरा प्राप्त हुन्छ” बाट उद्धृत गरिएको

परमेश्‍वरमा विश्‍वास गर्नको लागि उहाँप्रति आज्ञाकारी हुनुपर्छ र उहाँको कामको अनुभव चाहिन्छ। परमेश्‍वरले यति धेरै काम गर्नुभयो—यो भन्न सकिन्छ कि, मानिसहरूका लागि यो सिद्धता, शोधन र अझ बढी, सजाय नै हो। परमेश्‍वरको कामको एक चरण पनि मानव धारणासँग मिल्दोजुल्दो छैन; मानिसहरूले आनन्द लिएका कुरा भनेको परमेश्‍वरको कठोर वचनहरू हुन्। जब परमेश्‍वर आउनुहुन्छ, मानिसहरूले उहाँको प्रताप र उहाँको क्रोध उपभोग गर्नुपर्दछ। यद्यपि, उहाँको वचन जति नै कठोर भए पनि, उहाँ मानव जातिलाई मुक्ति दिन र सिद्ध पार्न आउनुहुन्छ। प्राणीहरूको रूपमा, मानिसहरूले आफूले गर्नुपर्ने कर्तव्यहरू पूरा गर्नुपर्दछ, र शोधनको बीचमा परमेश्‍वरका लागि साक्षी बनेर खडा हुनुपर्छ। प्रत्येक परीक्षामा तिनीहरूले आफूले बोक्नुपर्ने गवाही थामेर राख्नुपर्छ, र परमेश्‍वरको खातिर त्यो शानदार तरिकाले गर्नुपर्दछ। यसो गर्ने व्यक्ति विजेता हो। परमेश्‍वरले तँलाई जसरी शोधन गर्नुभए पनि, तँमा पूरा आत्मविश्‍वास हुन्छ र तैँले उहाँमाथिको भरोसा कहिल्यै गुमाउँदैनस्। मानिसहरूले जे गर्नु पर्ने हो तँ त्यही गर्छस्। परमेश्‍वरले मानिसबाट यही माग गर्नुहुन्छ, र मानिसको हृदय पूर्ण रूपमा उहाँमा फर्कनु र बितेर जाने हरेक क्षणमा उहाँतर्फ फर्कन सक्ने हुनुपर्दछ। यो एक विजेता हो। परमेश्‍वरले जस-जसलाई “विजेताहरू” भनी सम्बोधन गर्नुहुन्छ तिनीहरू ती हुन् जो शैतानको प्रभावमा र शैतानको घेराबन्दीमा पर्छन्, अर्थात् जब तिनीहरूले आफैलाई अन्धकारको शक्ति बीचमा पाउँछन् त्यस बेला पनि तिनीहरू गवाही बनी खडा हुन सक्छन् र परमेश्‍वरमाथिको आफ्नो निश्‍चयता र भक्तिलाई कायम राख्न सक्छन्। यदि तैँले जुनसुकै अवस्थामा परमेश्‍वरको सामु शुद्ध हृदय राख्न र परमेश्‍वरप्रति तेरो साँचो प्रेमलाई कायम राख्‍न सक्छस् भने, तँ परमेश्‍वरको सामुन्ने गवाही बनी खडा भइरहेको हुन्छस्, र परमेश्‍वरले यसैलाई “विजेता” हुनु भनी भन्‍नुहुन्छ। यदि परमेश्‍वरले तँलाई आशिष् दिनुहुँदा तेरो खोजी सर्वोत्कृष्ट हुन्छ तर उहाँको आशिषविना तँ पछि हट्छस् भने के यो शुद्धता हो? यो मार्ग सत्य हो भनी तँ निश्चित भएको हुनाले, तैँले यसलाई अन्त्यसम्मै पछ्याइरहनुपर्छ; तैँले परमेश्‍वरप्रतिको आफ्नो भक्तिलाई कायमै राख्नुपर्छ। तँलाई सिद्ध बनाउन परमेश्‍वर स्वयम्‌ आउनुभएको तैँले देखेका हुनाले, तैँले आफ्नो सम्पूर्ण हृदय उहाँलाई दिनुपर्दछ। उहाँले जे गर्नुभए पनि यदि तँ उहाँलाई पछ्याउन सक्छस् भने, अन्त्यमा उहाँले तेरो निम्ति प्रतिकूल परिणाम निर्धारित गर्नुभए पनि, त्यसले परमेश्‍वरको अगाडि तिम्रो शुद्धतालाई कायम राखिरहेको हुन्छ। परमेश्‍वरलाई पवित्र आत्मिक शरीर र शुद्ध कुमारित्व चढाउनु भनेको परमेश्‍वरको अगाडि इमानदार हृदय राख्नु हो। मानव जातिका लागि, इमानदारीता भनेको शुद्धता हो, र परमेश्‍वरप्रति इमानदार हुन सक्ने क्षमता हुनु भनेको शुद्धता कायम राख्नु हो। तैँले अभ्यास गर्नुपर्ने कुरा यही हो। जब तैँले प्रार्थना गर्नुपर्छ, तब प्रार्थना गर्; जब तँ सङ्गतिमा भेला हुनुपर्छ, तैँले त्यसै गर्नुपर्छ; जब तैँले भजन गाउनुपर्छ, तैँले भजनहरू गा; जब तैँले देहलाई त्याग्नुपर्छ, तैँले शरीरलाई त्यागी दे। जब तैँले आफ्नो कर्तव्य पूरा गर्छस्, तैँले त्यसमा अलमल गर्नु हुँदैन; जब तैँले परीक्षाहरूको सामना गर्नुपर्छ, तँ दृढ भई खडा हुनू। परमेश्‍वरप्रतिको भक्ति यही हो।

वचन देहमा देखा पर्नुहुन्छको “तिमीले परमेश्‍वरप्रतिको आफ्नो भक्ति कायम राख्नुपर्छ” बाट उद्धृत गरिएको

परमेश्‍वरको कामको हरेक चरणका लागि, मानिसहरूले सहकार्य गर्नुपर्ने तरिका हुन्छ। परमेश्‍वरले मानिसहरूलाई शोधन गर्नुहुन्छ ताकि शोधनबाट भएर जाँदा तिनीहरूमा हिम्मत आओस्। मानिसहरूले परमेश्‍वरबाट सिद्ध हुन सक्ने आत्मविश्‍वास प्राप्त गर्न सकून् र उहाँका शोधनहरू स्वीकार गर्न र परमेश्‍वरले गर्नुहुने निराकरण र छाँटकाँटको सामना गर्न सकून् भनेर परमेश्‍वरले मानिसहरूलाई सिद्ध पार्नुहुन्छ। मानिसहरूभित्र ज्ञान र ज्योति ल्याउन र उहाँसँग मिलेर काम र अभ्यास गर्न लगाउनको लागि परमेश्‍वरका आत्माले मानिसहरूभित्र काम गर्नुहुन्छ। शोधनको अवधिमा परमेश्‍वर बोल्नुहुन्न। उहाँले आफ्नो आवाज निकाल्नुहुन्न, तर अझै पनि मानिसहरूले गर्नु पर्ने काम हुन्छ। तँसँग जे छ त्यसलाई तैँले पक्रिराख्‍नु पर्छ, तैँले अझै पनि परमेश्‍वरसँग प्रार्थना गर्न सक्‍नुपर्छ, परमेश्‍वरको नजिक हुनुपर्छ, र परमेश्‍वर सामु साक्षी दिन सक्नुपर्छ; यसो गरेर तैँले आफ्नो कर्तव्य पूरा गर्नेछस्। तिमीहरू सबैले परमेश्‍वरको कार्यबाट उहाँले मानिसहरूको आत्मविश्‍वास र प्रेम जाँच्नुहुँदा उनीहरूले उहाँसित अझ बढी प्रार्थना गर्नुपर्छ, र अझ बढी उनीहरूले उहाँको सामु परमेश्‍वरका वचनहरूको स्वाद पाउनुपर्छ भन्‍ने कुरालाई स्पष्ट रूपमा देख्‍नुपर्छ। यदि परमेश्‍वरले तँलाई ज्ञान दिनुहुन्छ र तँलाई उहाँको इच्छा बुझ्न दिनुहुन्छ, तैपनि तैँले यीमध्ये कुनैलाई पनि अभ्यास गर्दैनस् भने, तैँले केही पनि प्राप्त गर्नेछैनस्। जब तैँले परमेश्‍वरका वचनहरूलाई अभ्यास गर्छस्, तैँले अझै पनि उहाँसँग प्रार्थना गर्न सक्‍नुपर्छ, र जब उहाँका वचनहरूको स्वाद लिन्छस् तँ उहाँको सामु आउनुपर्छ र निराश वा चिसोपनाको कुनै सङ्केतविना उहाँप्रति निश्‍चयताले भरिनुपर्छ। परमेश्‍वरका वचनहरूलाई अभ्यास नगर्नेहरू भेलाहरूको बेला सामर्थ्यले भरिएका हुन्छन्, तर जब तिनीहरू घर फर्कन्छन् तिनीहरू अन्धकारले फर्किन्छन्। केही मानिसहरू हुन्छन् जो एक साथ भेला हुन समेत चाहँदैनन्। यसैले, मानिसहरूले कुन कर्तव्य पूरा गर्नुपर्छ त्यो तैँले स्पष्ट रूपमा बुझ्नुपर्छ। परमेश्‍वरको इच्छा वास्तवमा के हो भन्‍ने तँलाई थाहा नहुन सक्छ, तर तैँले आफ्नो कर्तव्य पूरा गर्न सक्छस्, प्रार्थना गर्नु पर्दा तैँले त्यसो गर्न सक्छस्, सत्यलाई अभ्यास गर्नु पर्दा तैँले त्यसो गर्न सक्छस्, र मानिसहरूले जे गर्नुपर्छ तैँले त्यो गर्न सक्छस्। तैँले आफ्नो सुरुको दर्शनलाई पक्रिराख्‍न सक्छस्। यसरी, तैँले परमेश्‍वरको कामको अर्को चरणलाई अझ बढी स्वीकार गर्न सक्नेछस्। जब परमेश्‍वरले गुप्त तरिकाले काम गर्नुहुन्छ, तब तैँले खोजी गरिनस् भने त्यो समस्या हुन्छ। जब उहाँले भेलाहरूमा बोल्नुहुन्छ र प्रचार गर्नुहुन्छ, तैँले उत्साहको साथ सुन्छस्, तर जब उहाँ तँसँग बोल्नुहुन्न तँमा ऊर्जाको अभाव हुन्छ र तँ पछि हट्छस्। कस्तो प्रकारको व्यक्तिले यसरी कार्य गर्दछ? यो त्यस्तो व्यक्ति हो जो बथान जता जान्छ, त्यतैतिर लाग्छ। उनीहरूको कुनै अडान हुँदैन, कुनै गवाही हुँदैन, र कुनै दर्शन हुँदैन! धेरैजसो मानिसहरू यस्तै प्रकारका हुन्छन्। यदि तँ त्यस मार्गमा लागिरहिस् भने, एक दिन जब तैँले ठूलो परीक्षाको सामना गर्नुपर्छ, तब तँ दण्डमा पर्नेछस्। मानिसहरूलाई सिद्ध पार्ने परमेश्‍वरको प्रक्रियाको लागि अडान हुनु धेरै महत्त्वपूर्ण कुरा हो। यदि तैँले परमेश्‍वरको कामको एउटै चरणलाई पनि शङ्का गर्दैनस् भने, यदि तैँले मानिसको कर्तव्य पूरा गर्छस् भने, यदि तैँले परमेश्‍वरले तँलाई अभ्यास गर्न लगाउनुभएको कुरालाई इमानदारीपूर्वक थामेर राख्छस् भने, अर्थात्, तैँले परमेश्‍वरका अर्थीहरूलाई स्मरण गर्छस् भने र उहाँले वर्तमान समयमा जे गर्नुभए पनि तैँले उहाँको सल्लाहलाई बिर्सँदैनस् भने, यदि तँमा उहाँको कामको बारेमा कुनै शङ्का छैन, दह्रिलो भई खडा भइस्, तेरो गवाहीलाई पक्री राखिस् भने, र मार्गको प्रत्येक कदममा तँ विजयी भइस् भने अन्त्यमा तँलाई परमेश्‍वरले सिद्ध पार्नुहुनेछ र विजेता बनाउनुहुनेछ। यदि तँ परमेश्‍वरको जाँचहरूको प्रत्येक चरणमा दह्रिलो भई खडा हुन सकिस् भने, र तँ अझै पनि अन्त्यसम्‍मै दृढ रहन सक्छस् भने, तँ एक विजेता होस्, तँ परमेश्‍वरले सिद्ध बनाउनुभएको व्यक्ति होस्।

वचन देहमा देखा पर्नुहुन्छको “तिमीले परमेश्‍वरप्रतिको आफ्नो भक्ति कायम राख्नुपर्छ” बाट उद्धृत गरिएको

परमेश्‍वरले मानिसहरूभित्र गर्ने कार्यको प्रत्येक चरणमा, बाहिरी रूपमा यो मानिसहरू बीचको अन्तरक्रिया जस्तो देखिन्छ, मानवको बन्दोबस्त वा हस्तक्षेपहरूबाट जन्मेको जस्तो देखिन्छ। तर पर्दा पछाडि, कार्यको प्रत्येक चरण, र जे कुरा पनि हुन्छ, त्यो शैतानले परमेश्‍वरसँग बाजी थाप्‍ने कार्य हो, र यसका लागि मानिसहरूले परमेश्‍वरको साक्षी दिन दह्रिलो भएर खडा हुनु आवश्यक हुन्छ। उदाहरणको लागि अय्यूबलाई परीक्षा गरिएको घटनालाई लिऊँ: पर्दा पछाडि शैतानले परमेश्‍वरसँग बाजी थापिरहेको थियो, र अय्यूबलाई जे भयो त्यो मानिसहरूको कार्यहरू र मानिसहरूको हस्तक्षेप थियो। तिमीहरूमा परमेश्‍वरले गर्ने कार्यको प्रत्येक कदमको पछाडि शैतानले परमेश्‍वरसँग बाजी थापेको हुन्छ—पछाडिपट्टि यो सबै युद्ध हो। उदाहरणको लागि, यदि तँ तेरा दाजुभाइ तथा दिदी-बहिनीप्रति पूर्वाग्रही छस् भने, तँलाई भन्न मन लागेका वचनहरू तँसँग हुनेछन्—यस्ता वचन जुन परमेश्‍वरलाई अप्रिय लाग्न सक्छ—तर यदि तैँले ती वचनहरू उनीहरूलाई भनिनस् भने, तँलाई आन्तरिक असुविधा हुनेछ, र यो क्षणमा, तँभित्र एउटा लडाइँ सुरु हुन्छ: “म बोलूँ कि नबोलुँ?” लडाइँ यही नै हो। तसर्थ, तैँले सामना गर्ने प्रत्येक कुरामा लडाइँ हुन्छ, र जब तँभित्र लडाइँ हुन्छ, तेरो वास्तविक सहकार्य र वास्तविक कष्टका कारण, परमेश्‍वरले तँभित्र कार्य गर्नुहुन्छ। अन्ततोगत्वा, तँ उक्त विषयलाई आफूभित्र पन्छाउन सक्षम हुन्छस् र रिस प्राकृतिक रूपमा हराएर जान्छ। परमेश्‍वरसँगको तेरो सहकार्यको प्रभाव यस्तो हुन्छ। मानिसहरूले गर्ने प्रत्येक कुराले उनीहरूलाई उनीहरूको प्रयासमा निश्चित मूल्य चुकाउन लगाउँछ। वास्तविक कठिनाइविना, उनीहरूले परमेश्‍वरलाई सन्तुष्ट बनाउन सक्दैनन्; उनीहरू परमेश्‍वरलाई सन्तुष्ट बनाउने दिशामा नजिक पनि आउन सक्दैनन्, र उनीहरूले खोक्रा नाराहरू मात्रै भट्याइरहेका हुन्छन्! के यी खोक्रा नाराहरूले परमेश्‍वरलाई सन्तुष्ट तुल्याउन सक्छन्? जब आत्मिक क्षेत्रमा परमेश्‍वर र शैतानबीच युद्ध हुन्छ, तैँले परमेश्‍वरलाई कसरी सन्तुष्ट बनाउनुपर्छ, र उहाँलाई साक्षी दिन तँ कसरी दह्रिलो भएर खडा हुनुपर्छ? तँलाई हुने सबै कुराहरू ठूलो जाँच हो र साक्षी दिनका लागि परमेश्‍वरलाई तेरो आवश्यकता पर्ने समय हो भन्‍ने तँलाई थाहा हुनुपर्छ। यिनीहरू बाहिरबाट महत्वपूर्ण नदेखिए पनि, जब यी कुराहरू हुन्छन् तैँले परमेश्‍वरलाई प्रेम गर्छस् कि गर्दैनस् भन्ने कुरा तिनले देखाउँछ। यदि तैँले प्रेम गर्छस् भने, तँ उहाँलाई साक्षी दिन दह्रिलो भएर खडा हुन सक्नेछस्, र यदि तैँले उहाँको प्रेमलाई अभ्यास गरेको छैनस् भने, यसले तँ सत्यलाई अभ्यास गर्न सक्ने व्यक्ति होइन, तँ सत्यविहीन छस्, र तँ जीवन विहीन छस्, कि तँ भुस होस् भन्ने देखाउँछ! मानिसहरूलाई हुने सबै कुराहरू त्यति बेला हुन्छ जति बेला दह्रिलो भएर साक्षी दिनका लागि खडा हुन परमेश्‍वरलाई उनीहरूको आवश्यकता पर्छ। उक्त क्षणमा तँलाई कुनै उल्लेखनीय कुरा भइरहेको हुँदैन र तैँले उत्कृष्ट साक्षी दिन सक्दैनस्, तैपनि तेरो दैनिक जीवनको प्रत्येक विवरण नै परमेश्‍वरलाई साक्षी दिने विषय हो। यदि तैँले तेरा दाजुभाइ र दिदीबहिनीहरू, तेरो परिवारका सदस्यहरू, र तेरो वरिपरि भएका प्रत्येकको प्रशंसा हासिल गर्न सकिस् भने; यदि, कुनै दिन, अविश्‍वासीहरू आउँछन् र तैँले गरेका सबै कुराहरूको प्रशंसा गर्छन्, र परमेश्‍वरले गर्ने सबै कार्यहरू अद्भुत छन् भन्‍ने देख्छन् भने, तैँले साक्षी दिएको हुनेछस्। तँसँग कुनै अन्तर्ज्ञान छैन र तेरो क्षमता कमजोर भए तापनि, परमेश्‍वरले तँलाई दिनुभएको सिद्धतामार्फत, एकदमै कमजोर क्षमता भएका व्यक्तिहरूमा उहाँले गर्नुभएको महान् कार्यको बारेमा अरूलाई देखाउँदै तँ उहाँलाई सन्तुष्ट बनाउन सक्षम हुन्छस् र उहाँको इच्छा तेरो मनामा हुन्छ। जब मानिसहरू परमेश्‍वरलाई जान्न थाल्छन् र शैतानको अगाडि विजयी हुन्छन्, धेरै हदसम्म परमेश्‍वरप्रति निष्ठावान् हुन्छन्, तब मानिसहरूको यो समूहभन्दा अरू कसैसँग पनि बढी मेरुदण्ड हुँदैन, र यो नै सबैभन्दा महान् साक्षी हो। तँ महान् कार्य गर्न अक्षम भए तापनि, तँ परमेश्‍वरलाई सन्तुष्ट बनाउन सक्षम छस्। अरूले आफ्ना धारणाहरूलाई पन्छाउन सक्दैनन्, तर तैँले सक्छस्; अरूले उनीहरूको वास्तविक अनुभवको दौरान साक्षी दिन सक्दैनन्, तर तैँले आफ्नो वास्तविक कद र कार्यहरूको प्रयोग गर्दै परमेश्‍वरको प्रेमको ऋण तिर्न र उहाँलाई सशक्त साक्षी दिन सक्छस्। यसलाई मात्रै परमेश्‍वरलाई वास्तवमा प्रेम गरेको रूपमा गणना गरिन्छ। यदि तँ यसो गर्न अक्षम छस् भने, तैँले तेरो परिवारका सदस्य, तेरा दाजुभाइ तथा दिदीबहिनीहरू वा संसारका मानिसहरूको माझमा साक्षी दिँदैनस्। यदि तैँले शैतानको सामु साक्षी दिन सक्दैनस् भने, शैतान तँप्रति हाँस्नेछ, त्यसले तँलाई मजाकको रूपमा व्यवहार गर्नेछ, खेलौनाको रूपमा, यसले तँलाई प्रायः मूर्ख र पागल बनाउनेछ। भविष्यमा, तँमाथि ठूला जाँचहरू आइपर्नेछ—तर आज, यदि तैँले परमेश्‍वरलाई साँचो हृदयले प्रेम गरिस् भने, र यदि, अगाडि आउने जाँचहरू जतिसुकै ठूलो भए तापनि, तँलाई जेसुकै भए पनि, तँ आफ्नो साक्षीमा दह्रिलो भएर खडा हुन र परमेश्‍वरलाई सन्तुष्ट बनाउन सक्षम भइस् भने, तेरो हृदयलाई आराम हुनेछ, र तैँले भविष्यमा जतिसुकै ठूलो जाँचको सामना गर्नु परे पनि, तँ डराउने छैनस्। तिमीहरूले भविष्यमा के हुन्छ भनेर देख्न सक्दैनौं, आजको परिस्थितिमा तिमीहरूले परमेश्‍वरलाई सन्तुष्ट मात्रै बनाउन सक्छौं। तिमीहरूले कुनै पनि महान् कार्य गर्न सक्दैनौ र तिमीहरूले वास्तविक जीवनमा परमेश्‍वरको वचनहरूको अनुभव गर्दै परमेश्‍वरलाई सन्तुष्ट बनाउनेमा ध्यान दिनुपर्छ, र शैतान तिरस्कृत हुने गरी बलियो र सशक्त साक्षी दिनुपर्छ। तेरो देह असन्तुष्ट नै रहनेछ र देहले कष्ट भोगेको हुनेछ, तैपनि तैँले परमेश्‍वरलाई सन्तुष्ट बनाएको हुनेछस् र शैतानको तिरस्कार गरेको हुनेछस्। तैँले यसरी अभ्यास गरिस् भने, परमेश्‍वरले तेरो सामु मार्ग खोलिदिनु हुनेछ। जब, एक दिन, ठूलो जाँच आउँछ, अरू सबै ढल्नेछन्, तर तँ अझै पनि दह्रिलो भएर खडा हुन सक्षम हुनेछस्: तैँले चुकाएको मूल्यको कारण, परमेश्‍वरले तेरो रक्षा गर्नुहुनेछ ताकि तँ दह्रिलो भएर खडा हुन सक् र ढल्न नपरोस्। यदि, सामान्य रूपमा, सत्यलाई अभ्यास गर्न र परमेश्‍वरलाई वास्तवमै प्रेम गर्ने हृदयका साथ उहाँलाई सन्तुष्ट पार्न तँ सक्षम भइस् भने, परमेश्‍वरले तँलाई भविष्यमा आउने जाँचबाट पक्कै रक्षा गर्नुहुनेछ। तँ मूर्ख र सानो कदको र कमजोर क्षमताको भए तापनि, परमेश्‍वरले तँलाई भेदभाव गर्नुहुनेछैन। यो तेरो अभिप्रायहरू सही छन् कि छैनन् भन्नेमा निर्भर रहन्छ। आज, तँ परमेश्‍वरलाई सन्तुष्ट बनाउन सक्षम छस्, जसमा तँ सानोभन्दा सानो विवरणमा पनि ध्यान पुर्‍याउँछस्, तैँले यावत् थोकमा परमेश्‍वरलाई सन्तुष्ट बनाउँछस्, तैँले तेरो साँचो हृदय परमेश्‍वरलाई दिन्छस्, र तैँले नबुझ्ने केही कुरा भए पनि, तँ तेरो अभिप्रायहरू सच्याउन परमेश्‍वरको सामु आउँछस् र परमेश्‍वरको इच्छाको खोजी गर्छस्, र परमेश्‍वरलाई सन्तुष्ट बनाउनका लागि आवश्यक पर्ने सबै कुराहरू गर्छस्। सायद तेरा दाजुभाइ र दिदीबहिनीहरूले तँलाई परित्याग गर्नेछन्, तर तेरो हृदयले परमेश्‍वरलाई सन्तुष्ट बनाउनेछ, र तैँले देहको सुखको लालसा गर्नेछैनस्। यदि तैँले सधैँ यसरी नै अभ्यास गरिस् भने, ठूलो जाँच आउँदा तेरो रक्षा हुनेछ।

वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरलाई विश्‍वास गर्नु हो” बाट उद्धृत गरिएको

तैँले परमेश्‍वरमा विश्‍वास गर्ने भएकोले, तैँले आफ्नो हृदय परमेश्‍वरको सामु सुम्‍पनैपर्छ। यदि तैँले परमेश्‍वरको सामने आफ्‍नो हृदयलाई चढाएर सुम्पन्छस् भने, शोधनको अवधिमा तैँले परमेश्‍वरलाई अस्वीकार गर्न वा परमेश्‍वरलाई छोड्न असम्भव हुनेछ। यस प्रकारले परमेश्‍वरसँगको तेरो सम्बन्ध अझ नजिक र अझ सामान्य हुँदैजानेछ, र परमेश्‍वरसँगको तेरो कुराकानी अझ निरन्तर हुनेछ। यदि तँ सधैँ यस प्रकारले अभ्यास गर्छस् भने, तैँले परमेश्‍वरको प्रकाशमा अधिक समय बिताउनेछस् र उहाँको वचनको मार्गनिर्देशनमा अझ बढी समय बिताउनेछस्। तेरो स्वभावमा झन्-झन् बढी परिवर्तनहरू पनि हुनेछन् र तेरो ज्ञान दिन प्रतिदिन बढ्नेछ। जब परमेश्‍वरको परीक्षा अचानक तँमाथि आइपर्ने दिन आउनेछ, तब तँ परमेश्‍वरको पक्षमा खडा हुन सक्षम मात्र हुनेछैनस्, तर परमेश्‍वरको गवाही दिन पनि सक्षम हुनेछस्। त्यस बेला तँ अय्यूबजस्तो र पत्रुसजस्तै हुनेछस्। परमेश्‍वरको गवाही दिएपछि तैँले उहाँलाई साँच्चै प्रेम गर्नेछस्, र खुसीसाथ तैँले आफ्‍नो जीवन उहाँको निम्ति समर्पण गर्नेछस्; तँ परमेश्‍वरको साक्षी बन्‍नेछस् र परमेश्‍वरको प्रिय बन्‍नेछस्। जुन प्रेमले शोधनको अनुभव गरेको हुन्छ त्यो प्रेम बलियो हुन्छ, कमजोर होइन। परमेश्‍वरले तँलाई जहिले वा जसरी उहाँका परीक्षाहरूमा पार्नुभए पनि, तैँले जिउने वा मर्ने चिन्तालाई पन्छाउन सक्षम हुनेछस्, सबै कुरा परमेश्‍वरका लागि खुशीसाथ त्याग्न सक्छस्, र खुसीसाथ परमेश्‍वरका लागि कुनै पनि कुरा सहन सक्छस्—यसप्रकार तेरो प्रेम शुद्ध हुनेछ र तेरो विश्‍वास वास्तविक हुनेछ। तब मात्र तँ परमेश्‍वरद्वारा साँच्चै प्रेम गरिएको र परमेश्‍वरद्वारा साँच्चै सिद्ध पारिएको व्यक्ति बन्‍नेछस्।

वचन देहमा देखा पर्नुहुन्छको “शोधनको अनुभव गरेपछि मात्र मानिसमा साँचो प्रेम हुन सक्छ” बाट उद्धृत गरिएको

परमेश्‍वरको विश्‍वासी भएर, तिमीहरू हरेकले आखिरी दिनहरूमा परमेश्‍वरको कार्य अनि आज पनि तिमीहरूमा उहाँले गर्नुहुने उहाँको योजनाको कार्य ग्रहण गर्दै तिमीहरूले साँच्चै नै प्राप्त गरेको उच्च उत्थान अनि मुक्तिको सराहना गर्नैपर्छ। परमेश्‍वरले मानिसहरूको यस समूहलाई सारा ब्रह्माण्डभरिको उहाँको कार्यको केन्द्र बिन्दु बनाउनुभएको छ। उहाँले आफ्नो हृदयको सबै रगत तिमीहरूको निम्ति अर्पण गर्नुभएको छ; उहाँले ब्रह्माण्डभरिको आत्माका सबै काम पुनः दाबी गरेर तिमीहरूलाई प्रदान गर्नुभएको छ। यसैकारण तिमीहरू सौभाग्यशाली छौ भनी म भन्दछु। यसबाहेक, उहाँले आफ्नो महिमा इस्राएलदेखि उहाँको चुनिएको जाति, तिमीहरूमा सार्नुभएको छ, अनि उहाँले आफ्नो योजनाको उद्देश्य यसै समूहद्वारा पूर्णरूपमा प्रकट गर्नुहुनेछ। यसैकारण, परमेश्‍वरको उत्तराधिकार प्राप्त गर्ने तिमीहरू नै हौ, अनि त्योभन्दा बढी, परमेश्‍वरको महिमाका हकवाला पनि तिमीहरू नै हौ। सायद, तिमीहरूलाई सबैलाई यी वचनहरू थाहा छ होला: “किनभने हाम्रो हल्का र क्षणिक कष्टले हाम्रो निम्ति अझै अत्याधिक र अनन्त महिमाको काम गर्छ।” तिमीहरू सबैले यी वचनहरू पहिल्यै सुनिसकेका छौ, तापनि तिमीहरूमध्ये कसैले पनि त्यसको सही अर्थ बुझेनौ। आज, तिमीहरू त्यसको साँचो महत्त्वको बारेमा पूरै सचेत छौ। यी वचनहरूलाई परमेश्‍वरले आखिरी दिनहरूमा पूरा गर्नुहुनेछ, अनि ती वचनहरू त्यो देशमा फन्को मारेर बस्ने ठूलो रातो अजिङ्गरद्वारा क्रूरतासाथ सताइएकाहरूमा पूरा हुनेछन्। त्यस ठूलो रातो अजिङ्गरले परमेश्‍वरलाई सताउँछ अनि त्यो परमेश्‍वरको शत्रु हो, यसैले, यही देशमा, परमेश्‍वरमा विश्‍वास गर्नेहरू उपहास र उत्पीडनको सिकार बन्छन्, अनि परिणामस्वरूप, यी वचनहरू मानिसहरूको यही समूह, अर्थात् तिमीहरूमा पूरा हुन्छन्। परमेश्‍वरलाई विरोध गर्ने यही देशमा यो सुरु भएको कारण, परमेश्‍वरका सबै कामले प्रचण्ड बाधाहरूको सामना गर्छ, अनि उहाँका धेरैजसो वचनहरू पूरा हुन समय लाग्छ; यसर्थ, मानिसहरू परमेश्‍वरको वचनको कारण विशुद्ध गरिन्छन्, जो कष्टकै भाग हो। त्यो ठूलो रातो अजिङ्गरको देशमा आफ्नो काम पूरा गर्नु परमेश्‍वरको निम्ति अत्यन्तै गाह्रो हुन्छ—तथापि यही कठिनाइद्वारा नै परमेश्‍वरले उहाँको बुद्धि र उहाँका अचम्‍मका कामहरू प्रकट गर्दै, अनि यसलाई मानिसहरूको यो समूहलाई पूर्ण बनाउने मौकाको रूपमा प्रयोग गर्दै, उहाँको कार्यको एउटा चरण पूरा गर्नुहुन्छ। मानिसहरूको कष्ट भोगाइद्वारा, तिनीहरूकै क्षमताद्वारा, अनि यस फोहोर देशका मानिसहरूको सारा शैतानिक स्वभावद्वारा नै परमेश्‍वरले शुद्धीकरण र विजयको कार्य गर्नुहुन्छ, ताकि, यसद्वारा उहाँले महिमा पाउन सक्‍नुभएको होस्, अनि उहाँले आफ्‍ना कार्यहरूको साक्षी बन्‍नेहरूलाई प्राप्त गर्न सक्‍नुभएको होस्। मानिसहरूको यस समूहको निम्ति परमेश्‍वरले गर्नुभएका सबै त्यागहरूको पूर्ण महत्त्व यही नै हो।

वचन देहमा देखा पर्नुहुन्छको “के परमेश्‍वरको कार्य मानिसले सोचे झैँ सरल छ र?” बाट उद्धृत गरिएको

मानवजातिको बीचमा राज्य विस्तार भइरहेको छ, यो मानवजातिको बीचमा निर्माण भइरहेको छ, र यो मानवजातिको बीचमा खडा भइरहेको छ; मेरो राज्यलाई नष्ट गर्ने कुनै शक्ति छैन। आज राज्यमा हुने मेरा मानिसहरूमा, तिमीहरूमध्ये को मानवजातिका बीचमा रहेको मानव होइनौ र? तिमीहरूमध्ये को मानव अवस्थाभन्दा बाहिर छौ? जब मेरो नयाँ सुरुवाती बिन्दुको बारेमा भीडमा घोषणा गरिन्छ, तब कसरी मानवजातिले प्रतिक्रिया दिनेछ? मानवजातिको अवस्थालाई तिमीहरूले आफ्‍नै नजरले देखेका छौ; यो संसारमा सदासर्वदा रहने आशालाई तिमीहरूले पक्‍कै पनि अझै राखेका छैनौ? म अहिले मेरा मानिसहरूका बीचमा हिँडडुल गरिरहेको छु र म तिनीहरूका बीचमा जिउँछु। आज, मप्रति सच्‍चा प्रेम गर्नेहरू—त्यस्ता मानिसहरू धन्यका हुन्। मप्रति समर्पित हुनेहरू धन्यका हुन्, अवश्य नै तिनीहरू मेरो राज्यमा रहनेछन्। मलाई चिन्‍नेहरू धन्यका हुन्, अवश्य नै तिनीहरूले मेरो राज्यमा शक्तिको प्रयोग गर्नेछन्। मलाई खोजी गर्नेहरू धन्यका हुन्, निश्‍चय नै तिनीहरू शैतानको बन्धनहरूबाट उम्कनेछन् र तिनीहरूले मेरा आशिषहरूको आनन्द लिनेछन्। आफैलाई त्याग्न सक्षम हुनेहरू धन्यका हुन्, तिनीहरू अवश्य नै ममा निहित हुन सक्षम हुनेछन् र तिनीहरूले मेरो राज्यको उदारताको उत्तराधिकार प्राप्त गर्नेछन्। मेरो वरिपरि दौडनेहरूलाई म सम्‍झनेछु, मेरो लागि खर्च गर्नेहरूलाई म आनन्दसाथ अङ्गाल्‍नेछु, र मलाई भेटी चढाउनेहरूलाई म आनन्द प्रदान गर्नेछु। मेरो वचनमा आनन्द प्राप्त गर्नेहरूलाई म आशिष दिनेछु; तिनीहरू अवश्य नै मेरो राज्यका धुरीहरूलाई अड्याउने खम्‍बाहरू हुनेछन्, मेरो घरमा तिनीहरूले अवश्य नै असीम प्रशस्तता प्राप्त गर्नेछन्, र तिनीहरूसँग कसैलाई पनि तुलना गर्न सकिँदैन। के तिमीहरूलाई दिइएको आशिषहरूलाई तिमीहरूले कहिल्यै स्वीकार गरेका छौ? के तिमीहरूका निम्ति गरिएका प्रतिज्ञाहरूलाई तिमीहरूले कहिल्यै खोजी गरेका छौ? मेरो ज्योतिको अगुवाइमा, तिमीहरूले अवश्य नै अन्धकारको शक्तिहरूको घाँटी दबाउने कार्यलाई तोड्नेछौ। अन्धकारको बीचमा तिमीहरूलाई अगुवाइ गर्ने ज्योतिलाई तिमीहरूले अवश्य नै गुमाउनेछैनौ। तिमीहरू अवश्य नै सारा सृष्टिका मालिक बन्‍नेछौ। तिमीहरू अवश्य नै शैतानको अघि विजय बन्‍नेछौ। ठूलो रातो अजिङ्गरको पतनमा तिमीहरू अवश्य नै मेरो विजयको साक्षी बन्‍नका लागि धेरै भीडहरूका बीचमा खडा हुनेछौ। सिनिमको देशमा तिमीहरू अवश्य नै दह्रिलो गरी र अटल रूपमा खडा हुनेछौ। तिमीहरूले सामना गरेका कष्टहरूद्वारा, तिमीहरू मेरा आशिषहरूका उत्तराधिकारी हुनेछौ, र अवश्य नै सम्पूर्ण ब्रह्माण्डमा मेरो महिमालाई चम्काउनेछौ।

वचन देहमा देखा पर्नुहुन्छको, सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरूको “अध्याय १९” बाट उद्धृत गरिएको

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

सम्बन्धित विषयवस्तु

सर्वशक्तिमान्‌ परमेश्‍वरलाई स्वीकार गर्न इन्कार गर्नेहरू विपत्तिहरूमा पर्नु नै परमेश्‍वरको दण्ड हो

परमेश्‍वरका प्रासंगिक वचनहरू: ख्रीष्‍टले बोल्‍नुभएको सत्यतामा भरोसा नगरिकन जीवन प्राप्त गर्न चाहनेहरू पृथ्वीका सबैभन्दा हास्यास्पद मानिसहरू...

परमेश्‍वरले हरप्रकारका विपत्तिहरू बर्साउनुको महत्त्व

परमेश्‍वरका प्रासंगिक वचनहरू: आज, म ठूलो रातो अजिङ्गरको देशमा ओर्लिरहेको मात्रै छैन, तर सारा आकाशलाई हल्‍लाउँदै, म सम्पूर्ण ब्रह्माण्डको...