आफ्नो कर्तव्य निभाउनु र सेवा प्रदान गर्नुबीचका भिन्नताहरू

9 फेब्रुअरी 2022

परमेश्‍वरका प्रासंगिक वचनहरू:

वास्तविकतामा, मानिसले पूरा गर्ने आफ्नो दायित्व भनेको मानिसभित्र अन्तर्निहित रहेका सबै कुराहरूको उपलब्धि हो, भन्नुको अर्थ, जुन कुरा मानिसको लागि सम्भव छ। त्यसपछि उसको दायित्व पूरा हुन्छ। आफ्नो सेवाको अवधिमा देखिने मानिसका कमजोरीहरू प्रगतिशील अनुभव र न्यायबाट भएर जानु पर्ने प्रक्रियामार्फत‌ विस्तारै घटाइन्छन्‌; तिनले मानिसको दायित्वलाई वाधा दिँदैन वा प्रभाव पार्दैन। आफ्नो सेवामा कमजोरीहरू हुन सक्छन् भन्ने डरले सेवा गर्न वा परिणाम ल्याउन छोड्ने र पछि हट्ने मानिसहरू नै सबैभन्दा कायरहरू हुन्। यदि मानिसहरूले सेवाको अवधिमा व्यक्त गर्नुपर्ने कुरालाई व्यक्त गर्न सक्दैनन् वा तिनीहरूको लागि सम्भव भएका कुराहरूलाई अन्तर्निहित रूपमा तिनीहरूले उपलब्धि गर्न सक्दैनन्, र यसको सट्टामा समय बरबाद गर्छन् र आलटाल मात्रै गर्छन् भने, तिनीहरूले सृष्टि गरिएको प्राणीमा हुनुपर्ने कार्यगत प्रकार्यलाई गुमाएका हुन्छन्। त्यस्ता मानिसहरू “मध्यम-स्तरीय” भनेर चिनिन्छन्‌; तिनीहरू कार्य नलाग्ने रद्दी हुन्। त्यस्ता मानिसहरूलाई कसरी उचित रूपमा सृष्टि गरिएका प्राणीहरू भन्न सकिन्छ? के तिनीहरू भ्रष्ट प्राणीहरू होइनन् र, जो बाहिर चम्कन्छन् तर भित्र कुहिएका हुन्छन्?

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारी परमेश्‍वरको सेवकाइ र मानिसको दायित्व बीचको भिन्नता

सेवा प्रदान गर्नु र आफ्नो कर्तव्य पूरा गर्नु बीचमा के भिन्नता छ? सेवा प्रदान गर्नुको अर्थ तँ जे गर्न चाहन्छस् त्यो गर्नु हो, तर कम्तीमा पनि तैँले जे गर्छस् त्यसले परमेश्‍वरको स्वभावलाई दुःखी बनाउनु भने भएन। जबसम्म कसैले तेरा कार्यहरूको छानबिन गर्दैन र जबसम्म तैँले गरेको कार्य स्वीकारयोग्य हुन्छ, तबसम्म त्यो पर्याप्त हुन्छ। तँ स्वभावमा परिवर्तन गर्न, सत्यता सिद्धान्तहरू अनुसार कामहरू गर्न, परमेश्‍वरको इच्छा पूरा गर्न चासो राख्दैनस्, परमेश्‍वरका योजनाहरू र प्रबन्धहरूको अधीनमा बस्न वा कसरी तेरो कर्तव्य राम्ररी पूरा गर्ने अनि परमेश्‍वरलाई त्यसको हिसाब दिने त्यसमा चासो राख्‍ने कुरा त परै जाओस्। तँ यी कुनै पनि कुरामा मन लगाउँदैनस्, र यसैलाई सेवा गर्नु भनिन्छ। सेवा गर्नु भनेको आफूसँग भएका सबै कुरा सुम्पेर काममा परिश्रम गर्नु अनि बिहानदेखि रातिसम्म दासजस्तो भएर काम गर्नु हो। यदि तैँले त्यस्तो व्यक्तिलाई, “यी सबै वर्षको तीतो, कठोर परिश्रम, जसमा तिमीले आफैलाई डुबाएका छौ, यो सबै केका लागि भए?” भनेर सोधिस् भने, तिनीहरूले जबाफ दिनेछन्, “किन र, मैले आशिषहरू पाउन सकूँ भनेर?” यदि तैँले तिनीहरूलाई त्यत्तिका वर्षसम्म विश्‍वास गरेको फलस्वरूप तिनीहरूको स्वभावमा कुनै परिवर्तन भएको छ कि छैन, तिनीहरू परमेश्‍वरको अस्तित्वको बारेमा निश्चित छन् कि छैनन्, तिनीहरूमा सृष्टिकर्ताका योजनाहरू र प्रबन्धहरूको बारेमा केही हदसम्म वास्तविक ज्ञान वा अनुभव छ कि छैन भनेर सोधिस् भने, यी सबैको जबाफ स्पष्ट रूपमा “छैन” भन्ने हुनेछ, र तिनीहरू यी कुनै पनि विषयको बारेमा कुरा गर्न सक्दैनन्। जब स्वभाव परिवर्तनसँग सम्बन्धित कुनै पनि सूचकमा कुनै सुधार वा प्रगति भएको हुँदैन, त्यस्तो व्यक्तिले लगातार सेवा प्रदान गर्दछ। मानौं कुनै व्यक्तिले यो कुरा नबुझी वर्षौंसम्म सेवा गरिरहेको छ, र तिनीहरूमा भ्रष्ट स्वभाव छ, तिनीहरूले प्रायजसो परमेश्‍वरको विरुद्धमा विद्रोह गर्छन्, र तिनीहरू प्रायजसो गुनासो गर्छन्, तिनीहरूले प्रायजसो परमेश्‍वरको आज्ञापालन गर्न सक्दैनन्, तिनीहरू गहन रूपले भ्रष्ट भएका छन्, परमेश्‍वरले तिनीहरूलाई जसरी अधीनमा बस्नु भन्नुभए पनि तिनीहरू त्यसो गर्न सक्दैनन् भन्‍ने तिनीहरूले बुझ्छन्। तिनीहरूले आफैलाई नियन्त्रणमा राख्ने कोसिस गर्छन्, तर त्यसले काम गर्दैन, न त तिनीहरूले आफैलाई सराप्दा वा शपथ खाँदा नै त्यसले काम गर्छ। अन्त्यमा, तिनीहरूले यो थाहा पाउँछन्: “मानिसमा साँच्चै भ्रष्ट स्वभाव छ, र उसले परमेश्‍वरको विरुद्ध विद्रोह गर्न सक्छ। जब कुनै कुरा आइपर्छ तब मानिसहरूसँग सधैँ तिनीहरूका आफ्नै चाहनाहरू हुन्छन्, र तिनीहरूले सधैँ परमेश्‍वरका योजनाहरू र प्रबन्धहरूको अनुसन्धान गरिरहेका हुन्छन्। तिनीहरू परिश्रम गर्न इच्छुक भए पनि, तिनीहरूको स्वभाव र तिनीहरूको अनियन्त्रित महत्वाकांक्षा र चाहनाहरू, अभिप्रायहरू र इच्छाहरूलाई कुनै कुराले असर गर्ने बित्तिकै, तिनीहरू ती कुराहरूलाई त्याग्न वा छोडिदिन सक्दैनन्। तिनीहरू सधैँ काम-कुराहरू आफैलाई सन्तुष्ट पार्ने तरिकाले गर्न चाहन्छन्। म यस्तै छु, र प्रबन्ध गर्न म एकलैले भ्याउँदिन! के गर्न सकिन्छ र?” यदि तिनीहरूले यी कुराहरूमा चिन्तन गर्न थालेका छन् भने, तिनीहरूले पहिले नै मानिसका तरिकाहरूका बारेमा केही सानो बुझाइ प्राप्त गरेका हुन्छन्। यदि सेवा गर्ने काममा संलग्न मानिसहरूले कुनै बेला वास्तविक काम लिन सक्छन् भने, तिनीहरूका मनलाई आफ्नो स्वभाव परिवर्तन गर्नुमा केन्द्रित गर्न सक्छन् भने र तिनीहरूमा पनि वास्तवमा एक भ्रष्ट स्वभाव छ भनेर बुझ्छन्, तिनीहरू अहङ्कारी छन्, र परमेश्‍वरको अधीनमा बस्न सक्दैनन्, र यसरी अगाडि बढिरहन सक्दैनन् भने; जब तिनीहरूले यी कुराहरूबारे विचार गर्न सक्‍ने समय आउँछ, तब तिनीहरूले आफूलाई परिवर्तन गर्न थालेका हुन्छन् र तिनीहरूको स्वभाव बदलिन सक्ने र तिनीहरूले मुक्ति पाउन सक्‍ने आशा हुन्छ। मानौं, कसैले यी कुराहरूको बारेमा कहिल्यै पनि विचार गर्दैन, र तिनीहरूले परिश्रम कसरी गर्ने भनेर मात्र जान्दछन्, र परमेश्‍वरको आज्ञा पूरा गर्नु भनेको तिनीहरूको हातमा भएको काम पूरा गर्नु मात्र हो, र प्रयास गरेपछि तिनीहरूले आफ्नो कर्तव्य ठीकसँग पूरा गरेका हुन्छन् भनी सोच्छन्, परमेश्‍वरका मागहरू के-के हुन्, सत्यता के हो वा तिनीहरू परमेश्‍वरको आज्ञापालन गर्ने व्यक्तिको रूपमा गनिन्छन् कि गनिँदैनन् भन्ने विषयमा कहिल्यै पनि विचार गर्दैनन्—तिनीहरूले यी कुराहरूमाथि कहिल्यै विचार गर्दैनन्। के आफ्नो कर्तव्यलाई यस प्रकारले लिने कुनै व्यक्तिले मुक्ति पाउन सक्छ? यसको जबाफ हुन्छ, पाउँदैन। तिनीहरूले मुक्ति प्राप्त गर्ने वा परमेश्‍वरमा विश्‍वास गर्ने सही मार्गमा पाइला टेकेका हुँदैनन्, न त तिनीहरूले परमेश्‍वरसँग सामान्य सम्बन्ध स्थापित नै गरेका हुन्छन्, तैपनि तिनीहरू आफैलाई परिश्रममा लगाउँछन् र परमेश्‍वरको घरमा सेवाको काममा व्यस्त राख्छन्। यस प्रकारको व्यक्तिले परमेश्‍वरको घरमा सेवा गर्दछ, र परमेश्‍वरले तिनीहरूको हेरचाह र सुरक्षा गर्नुहुन्छ, तर उहाँले तिनीहरूलाई मुक्ति दिने योजना बनाउनुहुन्न, न त तिनीहरूलाई निराकरण गर्ने, न तिनीहरूलाई छिँवल्ने गर्नुहुन्छ, न त तिनीहरूको न्याय गर्नुहुन्छ र तिनीहरूलाई सजाय दिनुहुन्छ, न त तिनीहरूलाई परीक्षाहरू वा शोधनमा पार्नुहुन्छ; उहाँ तिनीहरूलाई यस जीवनकालमा केही हदसम्म आशिष् प्राप्त गर्न मात्र दिनुहुन्छ, र त्योभन्दा बढी केही पनि दिनुहुन्‍न। यदि यी मानिसहरूले यी कुराहरूमाथि चिन्तन गर्न जान्‍ने र तिनीहरूले सुन्ने सन्देशहरू बुझ्‍ने समय आयो भने, तिनीहरूले यस्तो महसुस गर्नेछन्: “त्यसो भए, परमेश्‍वरमा विश्‍वास गर्नु भनेको त यस्तो पो रहेछ। ठीकै छ, मैले मुक्ति प्राप्त गर्न खोज्नुपर्छ। यदि मैले खोजी गरिनँ भने, र सेवा प्रदान गर्नुमा नै सन्तुष्ट भएँ भने, परमेश्‍वरमा विश्‍वास गर्नुसित त्यस कुराको कुनै सम्बन्ध हुनेछैन।” त्यसपछि तिनीहरू यस्तो विचार गर्छन्: “ममा भ्रष्ट स्वभावको कुन पक्षहरू छन्? वास्तवमा यो कुरा, यो भ्रष्ट स्वभाव के हो? चाहे जे भए पनि, पहिले म परमेश्‍वरको अधीनमा बस्नुपर्छ!” यी कुराहरू सत्यतासित र स्वभाव परिवर्तनसँग सम्बन्धित हुन्छन्, र तिनीहरूका लागि आशा हुन्छ।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “सत्य सिद्धान्तहरूको खोजी गरेर मात्र व्यक्तिले आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सक्छ”

तैँले जुनसुकै कर्तव्य पूरा गरे पनि, तैँले सधैँ परमेश्‍वरको इच्छा बुझ्ने र तेरो कर्तव्यको सम्बन्धमा उहाँका मागहरू के-के हुन् हो सो बुझ्ने कोसिस गर्नुपर्दछ; तब मात्र तैँले मामलाहरूलाई सैद्धान्तिक रूपले सम्हाल्न सक्नेछस्। तेरो कर्तव्य पूरा गर्दा, तँ आफ्‍ना व्यक्तिगत रुचिहरू अनुसार, तँलाई जे मन लाग्छ त्यो अनुसार गर्न, तँलाई जे गर्न खुसी र सजिलो लाग्छ वा जुन कुराले तँलाई राम्रो देखाउँछ त्यो गर्दै अगि बढ्न सक्दैनस्। यदि तैँले जबरजस्ती परमेश्‍वरमाथि तेरा आफ्ना व्यक्तिगत रुचिहरू लाद्छस् वा तिनलाई सत्यतालाई जस्तो गरी अभ्यास गर्छस्, तिनलाई सत्य सिद्धान्तहरू जस्तो गरी पालन गर्छस् भने, त्यो तेरो कर्तव्य पूरा गरेको हुँदैन, र यसरी पूरा गरिएको कर्तव्यलाई परमेश्‍वरले सम्झनुहुन्न। कतिपय मानिसहरूले सत्यतालाई बुझ्दैनन्, र तिनीहरूले आफ्ना कर्तव्यहरू राम्रोसँग पूरा गर्नु भनेको के हो सो जान्दैनन्। तिनीहरू आफूले त्यसमा आफ्नो हृदय र प्रयास लगाएका छन्, तिनीहरूका देहलाई त्यागेका र दु:ख भोगेका छन्, त्यसकारण तिनीहरूले गरेका कर्तव्य पूर्ति मापदण्डअनुसार भएको छ भन्‍ने ठान्छन्—तर त्यसो हो भने किन परमेश्‍वर सधैँ असन्तुष्ट हुनुहुन्छ? यी मानिसहरूले कहाँ गल्ती गरेका छन्? परमेश्‍वरका मागहरूलाई नखोजेर तिनीहरूका आफ्नै विचारअनुसार काम गर्नु नै तिनीहरूको गल्ती थियो; तिनीहरूले आफ्नै चाहनाहरू, रुचिहरू, र स्वार्थी उद्देश्यहरूलाई सत्यताको रूपमा लिए, र ती कुरालाई तिनीहरूले परमेश्‍वरले मन पराउनुभएको जस्तो, ती उहाँका मापदण्डहरू र आवश्यकताहरू हुन् जस्तो व्यवहार गरे। तिनीहरूले जे सत्य, असल र सुन्दर भनेर विश्‍वास गरेका थिए त्यो नै सत्य हो भन्‍ने देखे; यो गलत हो। वास्तवमा, यदि मानिसहरूले कहिलेकहीँ कुनै कुरा सही छ र त्यो सत्यतासँग मेल खान्छ भनी सोचे पनि, त्यसको अर्थ त्यो परमेश्‍वरको इच्छासँग मेल खान्छ भन्ने हुँदैन। मानिसहरूले कुनै कुरा सही छ भनेर जति धेरै सोच्छन्, तिनीहरू उत्ति नै बढी सतर्क हुनुपर्छ र तिनीहरूले सोचिरहेका कुराहरूले परमेश्‍वरका मागहरू पूरा गर्छ कि गर्दैन भनी अझ बढी सत्यको खोजी गर्नुपर्छ। यदि त्यो उहाँका सर्तहरूको र उहाँका वचनहरूको विपरीत जान्छ भने तैँले त्यो सही छ भनी सोच्नु गल्ती हुन्छ, त्यो एक मानवीय विचार मात्र हो, र तैँले त्यसलाई जति नै सही हो भन्‍ने ठाने पनि त्यो सत्यतासँग मेल खाँदैन। सही र गलत सम्‍बन्धी तेरो निर्धारण पूर्ण रूपमा परमेश्‍वरका वचनहरूमा आधारित हुनुपर्दछ, र तैँले कुनै कुरालाई जत्ति नै सही सम्झे पनि त्यसको आधार परमेश्‍वरको वचनमा छैन भने तैँले त्यसलाई त्यागिदिनुपर्छ। कर्तव्य के हो? यो परमेश्‍वरले मानिसहरूलाई सुम्पनुभएको एउटा आज्ञा हो। त्यसो भए तैँले आफ्नो दायित्व कसरी पूरा गर्नुपर्छ? परमेश्‍वरका मागहरू र मापदण्डहरू अनुसार काम गरेर, अनि तेरो व्यवहारलाई मानवीय व्यक्तिगत चाहनाहरूको साटो सत्य सिद्धान्तहरूमा आधारित गरेर। यसरी, आफ्नो कर्तव्य पूरा गर्ने तेरो काम मापदण्ड अनुरूप हुनेछ।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “सत्य सिद्धान्तहरूको खोजी गरेर मात्र व्यक्तिले आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सक्छ”

व्यक्तिसँग जस्तोसुकै प्रतिभा, वरदान वा सीपहरू भए पनि, यदि उनीहरू कार्य गर्दछन् र आफ्नो कर्तव्य पूरा गर्न आफै लागिपर्छन्, र तिनीहरूले जे गरे पनि, आफ्नै कल्पनाहरू र धारणाहरूमा भर पर्छन्, वा काममा लागिपर्दा आफ्नै जन्‍मजात इच्‍छामा भर पर्छन्, र कहिल्यै पनि परमेश्‍वरको इच्छा खोज्दैनन् भने र उनीहरूको हृदयमा “मैले सत्यतालाई अभ्यास गर्नुपर्छ। म आफ्नो कर्तव्य पूरा गर्दैछु” भन्ने जस्ता कुनै धारणा वा आवश्यकता छैन भने; र उनीहरूको एक मात्र प्रेरणा भनेको आफ्‍नो काम राम्ररी गर्नु र आफ्‍ना कामहरू पूरा गर्नु मात्र हो भने, के उनीहरू पूर्ण रूपमा आफ्ना वरदान, प्रतिभा, क्षमता र सीपहरूअनुसार जिउने व्यक्तिहरू होइनन् र? के त्यस्ता मानिसहरू धेरै छैनन् र? विश्‍वासमा, तिनीहरूले आफैलाई काममा घोट्ने, आफ्नो श्रम बेच्ने, र आफ्नो सीप बेच्ने कुरा मात्र सोच्छन्। विशेष गरी, जब परमेश्‍वरको घरले मानिसहरूलाई सामान्य काम गर्न दिन्छ, तब त्यस काम गर्ने क्रममा धेरैजसो मानिसहरूले यही दृष्टिकोण राख्छन्। तिनीहरूले आफूलाई घोट्ने काम मात्र गर्छन्। कहिलेकहीँ त्यसको अर्थ, अलिक बढी बोल्नको लागि आफ्नो मुखको प्रयोग गर्नु भन्‍ने हुन्छ; कहिलेकहीँ यसको अर्थ उनीहरूको हात र शारीरिक शक्ति प्रयोग गर्नु भन्‍ने हुन्छ; र कहिलेकहीँ यसको अर्थ यताउति कुदिहिंड्नको लागि आफ्‍ना खुट्टाहरू प्रयोग गर्नु भन्‍ने हुन्छ। किन जिउनका निम्ति ती चीजहरूमाथि भर पर्नु भनेको सत्यताको अभ्यास गर्नु होइन, तर आफ्नै शक्ति प्रयोग गर्नु हो भनेर भनिन्छ? जब कसैले उनीहरूलाई परमेश्‍वरको घरले दिएको काम स्वीकार गरेको हुन्छ तब उनीहरू आफूले आफ्ना अगुवाहरूलाई हिसाब दिन र उनीहरूको प्रशंसा प्राप्त गर्न कसरी सकेसम्म चाँडो त्यो काम पूरा गर्ने भनेर मात्र सोच्छन्। उनीहरूले एक-एक चरणको योजना तयार गरेका हुन सक्छन्, र उनीहरू अति उत्सुक पनि देखिन्छन्, तर उनीहरू अरूले देखून् भनी काम पूरा गर्नुमा मात्र केन्द्रित हुन्छन्, वा जब उनीहरूले यो गरिरहेका हुन्छन्, उनीहरूले आफ्नो कामको जाँच गर्न आफ्नै मापदण्ड तयार गर्छन्, जुन कुरा उनीहरू खुसी र सन्तुष्टिमा कसरी पुग्न सक्छन् र उनीहरूले पुग्ने कोसिस गरेको सिद्धताको स्तरमा कसरी पुग्न सक्छन् भन्ने तथ्यमा आधारित हुन्छ। उनीहरूले आफ्नो निम्ति जस्तोसुकै मापदण्डहरू तय गरे पनि, यदि उनीहरू सत्यतासँग जोडिएका छैनन्, र उनीहरूले सत्यताको खोजी गर्दैनन्, वा कदम चाल्नु अघि परमेश्‍वरले उनीहरूलाई के भन्नुहुन्छ भनेर बुझ्दैनन् र त्यही अनुसार गर्दैनन्, बरु अलमल्ल परेर अन्धाधुन्ध रूपमा काम गर्छन् भने, उनीहरूले जे गरिरहेका छन् त्यो श्रम मात्र हो। उनीहरूले आफ्नै इच्छाअनुसार, उनीहरूको आफ्नै मन वा उनीहरूको वरदानद्वारा, वा उनीहरूका आफ्नै योग्यताहरू वा सीपहरूको बलमा काम गरिरहेका हुन्छन्। यसरी काम गर्नुको प्रतिफल के हुन्छ? यो काम सम्पन्न भएको हुनसक्छ, र सायद कसैले पनि त्यसमा कुनै गल्ती नभेट्टाउन सक्छ, र तँलाई धेरै खुसी लाग्‍न सक्छ—तर, यो काम गर्ने क्रममा, पहिलो कुरा, तैँले परमेश्‍वरको इच्छा बुझिनस्, र दोस्रो कुरा, तैँले तेरो सारा हृदयले, तेरो सारा मनले र तेरो सारा शक्तिले त्यो काम गरिनस्—तैँले त्यसमा आफ्नो सम्पूर्ण हृदय लगाइनस्। यदि तैँले सत्य सिद्धान्तहरू खोजेको भए र परमेश्‍वरको इच्छा खोजेको भए तैँले ९०% काम पूरा गर्नेथिइस्, र तँ सत्य वास्तविकतामा पनि प्रवेश गर्न सक्नेथिइस् र तैंले गरिरहेको काम परमेश्‍वरको इच्छाअनुरूप थियो भनी सही प्रकारले बुझ्नेथिइस्। तापनि, यदि तैँले लापरवाही र अव्यवस्थित रूपले काम गरेको थिइस् भने, त्यो काम गरिएको त हुन्थ्यो, तर त्यो कतिसम्म राम्ररी गरियो भनी तैँले आफ्‍नो हृदयमा जान्ने थिइनस्। तेरो कुनै मूल्याङ्कनको आधार हुनेथिएन, र त्यो परमेश्‍वरको इच्छा वा सत्यता अनुरूप छ कि छैन भनी तैँले जान्नेथिइनस्। त्यसकारण यस्तो अवस्थामा गरिएको कुनै पनि कामको वर्णन गर्न दुई वटा शब्द पर्याप्त हुन्छन्—आफैलाई घोट्नु।

परमेश्‍वरमा विश्‍वास गर्ने सबैले उहाँको इच्छालाई बुझ्नुपर्छ। जस-जसले आफ्ना कर्तव्यहरू राम्ररी पूरा गर्छन् उनीहरूले मात्र परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्छन्, र उहाँले उनीहरूलाई सुम्पनुभएको काम पूरा गरेर मात्र व्यक्तिले आफ्‍नो कर्तव्य सन्तोषजनक रूपले पूरा गर्न सक्छ। परमेश्‍वरको आज्ञा पूरा गर्नका निम्ति मापदण्डहरू छन्। प्रभु येशूले भन्नुभयो: प्रभु येशूले भन्नुभयो, “तैँले परमप्रभु आफ्ना परमेश्‍वरलाई आफ्नो सम्पूर्ण हृदयले, आफ्नो सम्पूर्ण प्राणले, आफ्नो सम्पूर्ण मानले प्रेम गर्नू।” परमेश्‍वरलाई प्रेम गर्नु उहाँले मानिसहरूबाट माग गर्नुहुने कुरामध्ये एउटा कुरा हो। वास्तवमा, जबसम्म परमेश्‍वरले मानिसहरूलाई आज्ञा सुम्पनुभएको हुन्छ, र जबसम्म उनीहरूले उहाँमाथि विश्‍वास गर्छन् र आफ्‍नो कर्तव्य पूरा गर्दछन्, उहाँले उनीहरूबाट माग गर्नुभएका मापदण्डहरू यिनै हुन्: उनीहरूले आफ्नो सारा हृदयले, आफ्‍नो सारा प्राणले र आफ्‍नो सारा मनले र आफ्‍नो सारा शक्तिले काम गरून्। यदि तँ उपस्थित छस्, तर तेरो हृदय उपस्थित छैन भने—यदि तेरो मनको स्मरणशक्ति र विचारहरू उपस्थित छन्, तर तेरो हृदय उपस्थित छैन भने—र यदि तैँले आफ्नै क्षमताहरूले कामहरू पूरा गर्दैछस् भने, के तैँले परमेश्‍वरको आज्ञा पूरा गरिरहेको हुन्छस्? त्यसो भए, परमेश्‍वरको आज्ञा पूरा गर्न, र आफ्नो कर्तव्य वफादारीसाथ र राम्रोसँग सम्पन्न गर्नका लागि कुन मापदण्ड पूरा गर्नुपर्दछ? त्यो भनेको तेरो सारा हृदयले, तेरो सारा प्राणले, तेरो सारा मनले र तेरो सारा शक्तिले तेरो कर्तव्य गर्नु हो। यदि तैँले परमेश्‍वरप्रति प्रेमको हृदयविना आफ्नो कर्तव्य पूरा गर्ने कोसिस गर्छस् भने, त्यसले काम गर्नेछैन। यदि परमेश्‍वरप्रतिको तेरो प्रेम अझ बलियो र अझ सच्‍चा भएर बढ्छ भने, तैँले स्वाभाविक रूपमा तेरो सारा हृदयले, तेरो सारा प्राणले, तेरो सारा मनले र तेरो सारा शक्तिले आफ्नो कर्तव्य पूरा गर्न सक्नेछस्।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “मानिसहरू जिउनका निम्ति वास्तवमा कुन कुरामा भर पर्दैआएका छन्”

धेरैजसो मानिसहरूले यस्तो मानसिकता लिएर आफ्ना कर्तव्यहरू पूरा गर्छन्: “यदि कसैले अगुवाइ गर्दछ भने, म पछ्याउँछु। म उनीहरूले जता लैजान्छन् त्यतै पछ्याउनेछु, उनीहरूले जे गर्न लाउँछन् म त्यही गर्नेछु।” अर्कोतर्फ, जिम्मेवारी उठाउनु वा चासो राख्नु वा अतिरिक्त ध्यान दिनु जस्ता कुराहरू तिनीहरूले प्राप्त गर्न नसक्‍ने कुराहरू हुन् र त्यसको लागि तिनीहरू मूल्य चुकाउन अनिच्छुक हुन्छन्। उनीहरू शारीरिक मेहनत गर्न सहभागी हुन्छन्, तर उनीहरू जिम्मेवारी उठाउन सहभागी हुँदैनन्। यो आफ्नो कर्तव्य साँचो रूपमा गर्नु होइन। तैँले आफ्‍नो कर्तव्यमा आफ्‍नो हृदय लगाउन सिक्‍नुपर्छ; यदि व्यक्तिमा हृदय छ भने उसले त्यो प्रयोग गर्न सक्नुपर्छ। यदि कसैले आफ्‍नो हृदय कहिल्यै प्रयोग गर्दैन भने, यसले उनीहरू हृदयविहीन छन् भन्ने प्रमाणित गर्दछ, र हृदय नभएको व्यक्तिले सत्यता प्राप्त गर्न सक्दैन! उनीहरूले किन सत्यता प्राप्त गर्न सक्दैनन्? उनीहरूलाई परमेश्‍वरको सामु कसरी आउने सो थाहा हुँदैन; आफ्नो हृदय परमेश्‍वरको ज्ञान र अगुवाइलाई बुझ्ने कार्यमा कसरी लगाउने, वा आफ्नो हृदयलाई चिन्तनमा, वा सत्यको खोजीमा, वा परमेश्‍वरको इच्छाको खोजी गर्ने र त्यसप्रति चासो देखाउने कुरामा कसरी लगाउने सो उनीहरू जान्दैनन्। के तिमीहरूमा यस्ता अवस्थाहरू छन् जसमा चाहे जे आइपरे पनि र तिमीहरूको कर्तव्य जे भए पनि, तिमीहरू परमेश्‍वरको सामु प्रायजसो चुपचाप बस्न सक्छौ, र परमेश्‍वरको वचनहरूलाई मनन गर्न आफ्नो हृदय लगाउन सक्छौ, र सत्यको खोजी गर्न र तेरो कर्तव्य कसरी गर्नुपर्छ भनी विचार गर्न आफ्नो हृदय लगाउन सक्छौ? के त्यस्ता अवस्थाहरू धेरै हुन्छन्? आफ्नो हृदयलाई आफ्नो कर्तव्यमा लगाउन र जिम्मेवारी लिन सक्‍ने हुनका निम्ति तैँले कष्ट भोग्‍नु र मूल्य चुकाउनु आवश्यक हुन्छ—यसका बारेमा कुरा गर्नु मात्र पर्याप्त हुँदैन। यदि तैँले आफ्नो हृदय आफ्नो कर्तव्यमा लगाउँदैनस् भने, त्यसको साटो सधैं शारीरिक प्रयास लगाउन चाहन्छस् भने, तेरो कर्तव्य निश्चित रूपले राम्रोसँग गरिएको हुँदैन। तैँले केवल झारा टारिरहेको हुन्छस्, त्योभन्दा बढी केही होइन, र तैँले आफ्नो कर्तव्य कति राम्ररी गरिस् त्यो जान्‍नेछैनस्। यदि तैँले आफ्नो हृदय त्यसमा लगाइस् भने तैँले बिस्तारै सत्य बुझ्न थाल्नेछस्; यदि तैंले आफ्नो हृदय त्यसमा लगाइनस् भने तैँले सत्य बुझ्नेछैनस्। जब तँ आफ्नो हृदयलाई आफ्नो कर्तव्य गर्नमा र सत्यको अनुसरण गर्नमा लगाउँछस्, तब तँ बिस्तारै परमेश्‍वरको इच्छा बुझ्न सक्‍ने, आफ्नो भ्रष्टता र कमीहरू थाहा पाउने, आफ्ना सबै विविध अवस्थाहरूमा निपुण हुन सक्छस्। यदि तैँले आफैलाई जाँच्नका लागि आफ्नो हृदय प्रयोग गर्दैनस्, र बाहिरी प्रयासहरू गर्नमा मात्र ध्यान केन्द्रित गर्छस् भने, तैँले आफ्नो हृदयमा उत्पन्न हुने विभिन्न अवस्थाहरू र विभिन्न बाहिरी वातावरणहरूप्रतिका तेरा सबै प्रतिक्रियाहरूको बारेमा थाहा पाउन असमर्थ हुनेछस्; यदि तँ आफैलाई जाँच्न आफ्नो हृदय प्रयोग गर्दैनस् भने, तेरो हृदयमा भएका समस्याहरू समाधान गर्न तँलाई गाह्रो पर्नेछ। त्यसकारण, तैँले परमेश्‍वरको प्रशंसा र आराधना गर्न आफ्नो हृदय र इमानदारिताको प्रयोग गर्नुपर्छ। परमेश्‍वरको आराधना गर्न तेरो हृदय र इमानदारिता प्रयोग गर्नका निम्ति तँमा एउटा शान्त र इमानदार हृदय हुनुपर्छ; तेरो हृदयका गहिराइहरूमा तैँले परमेश्‍वरको इच्छा र सत्यताको खोजी गर्न जान्नुपर्छ, र तैँले आफ्नो कर्तव्य राम्रोसँग कसरी गर्ने भनेर चिन्तन गर्नुपर्छ, तैँले आफ्नो कर्तव्यको कुन भागलाई अझसम्म बुझेको छैनस् र तेरो कर्तव्य कसरी अझ राम्रोसँग गर्ने त्यो कुरा विचार गर्नुपर्छ। तेरो हृदयमा यी कुराहरूको बारेमा बारम्बार सोचेर मात्र तैँले सत्यता प्राप्त गर्न सक्‍नेछस्। यदि यी कुराहरू तैँले आफ्नो मनमा बारम्बार विचार गर्ने कुराहरू होइनन् भने, तर तेरो हृदय मनका कुराहरू वा बाहिरी कुराहरूले भरिएका छन् भने, परमेश्‍वरको आराधनामा तेरो हृदय र इमानदारी प्रयोग गर्ने कुरासित कुनै सम्बन्ध नभएका थोकहरूले ओगटेको छ भने—यससँग कुनै सम्‍बन्ध छैन भने—के तैँले सत्यता प्राप्त गर्न सक्छस्? के परमेश्‍वरसित तेरो सम्बन्ध हुन्छ?

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “इमानदार भएर मात्र एक व्यक्ति वास्तविक मानवीय स्वरूपमा जिउन सक्छ”

आफ्‍नो कर्तव्यप्रतिको तिमीहरूको आचरण यस्तो हुन्छ, “म सकेसम्‍म कति थोरै गर्न सक्छु, म यसबाट कसरी फुत्कन सक्छु सो हेर्नेछु; तिमीले कति ढिलाइ गराउँछौ त्यो वास्ता नगरी तिमी अल्याङ्टल्याङ गर्छौ।” तर यदि तिमीहरूले काम-कुराहरूलाई गम्भीरतासाथ लियौ भने, तिमीहरूले थोरै समयमा नै त्यो काम पूरा गर्नेछौ। तिमीहरूलाई कतिपय कुराहरू कसरी गर्नुपर्छ भन्‍ने थाहा छैन, त्यसैले म तिमीहरूलाई सही-सही निर्देशनहरू दिन्छु। तिमीहरूले सोचविचार गर्नुपर्दैन, तिमीहरूले केवल सुन्नु र त्यसलाई कार्यान्वयन मात्र गर्नुपर्छ—तर त्यो पनि तिमीहरूले गर्न सक्‍नेभन्दा परको कुरा हो। तिमीहरूको बफादारीता कहाँ छ? त्यो कहीँ पनि देखिँदैन! तिमीहरू गफ मात्रै गर्छौ र काम गर्दैनौ। यदि तेरो हृदयले बुझ्यो भने पनि, तिमीहरूले केही पनि गर्दैनौ। यो सत्यतालाई प्रेम नगर्ने व्यक्ति हो! यदि तिमीहरूले यसलाई आफ्नै आँखाले देख्न सक्छौ र आफ्नो हृदयले महसुस गर्न सक्छौ, तर अझै केही पनि गर्दैनौ भने, हृदय भएको के काम लाग्यो र? तेरो विवेकको भागले तेरा कार्यहरूलाई नियन्त्रण गर्दैन, यसले तेरा सोचविचारहरूलाई निर्देशित गर्दैन—त्यसो भए यसको के काम? यसको केही महत्त्व हुँदैन; यो त सजावट मात्र हो। मानिसको विश्‍वास साँच्चै दयनीय छ! र यसको बारेमा कुन कुरा दयनीय छ? उसले सत्यतालाई बुझे पनि, उसले त्यसलाई अभ्यास गर्दैन। उसले समस्यालाई राम्ररी बुझ्यो भने पनि, उसले त्यसको निम्ति जिम्मेवारी लिँदैन; त्यो उसको जिम्मेवारी हो भन्‍ने उसलाई थाहा हुन्छ, तर उसले त्यसमा आफ्नो हृदय लगाउँदैन। यदि तैँले आफूले सक्ने जिम्मेवारीहरू लिँदैनस् भने, तैँले लिएको ती सानातिना जिम्मेवारीहरूको के मूल्य हुन्छ र? तिनको प्रभाव कस्तो हुन्छ र? तैँले त्यसको निम्ति विभिन्न कुराहरू भनी टोपल्दै बाहिरी रूपमा मात्र कोसिस गरिरहेको हुन्छस्। तैँले त्यसमा आफ्नो हृदय लगाउँदैनस्, तेरो ऊर्जा लगाउने कुरा त परै जाओस्। यसो गर्नु स्वीकार्य मापदण्ड अनुसार तेरो कर्तव्य गर्नु होइन, त्यसमा बफादारीता सम्मिलित भएको हुँदैन; तँ कठोर परिश्रम गर्दै बाँचिरहेको हुन्छस्, परमेश्‍वरको अनुयायीको रूपमा मुस्किलले जिइरहेको मात्र हुन्छस्। के यस्तो विश्‍वासको कुनै महत्त्व हुन्छ? यस्तो विश्‍वास अति तुच्छ हुन्छ—यसको मूल्य के हुन्छ? जब तैँले आफ्नो कर्तव्य पूरा गर्छस्, तैँले मूल्य चुकाउनुपर्छ। तैँले यसलाई गम्भीरताका साथ लिनुपर्छ। यसलाई गम्‍भीरताको साथ लिनु भनेको के हो? यसलाई गम्‍भीरताको साथ लिनु भनेको थोरै प्रयास गर्नु वा केही शारीरिक कष्ट भोग्‍नु भन्‍ने हुँदैन। मुख्य कुरा के हो भने तेरो हृदयमा परमेश्‍वर हुनु, र एउटा बोझ हुनु हो। तेरो हृदयमा, तैँले आफ्‍नो कर्तव्यको महत्त्वलाई जोख्‍नुपर्छ, अनि तैँले गर्ने सबै कुरामा यो बोझ र जिम्‍मेवारीलाई बोक्‍नुपर्छ र यसमा तेरो हृदय लगाउनुपर्छ। परमेश्‍वरले तँलाई दिनुभएको मिसनको लागि, साथै परमेश्‍वरले तेरो लागि गर्नुभएको सबै कुराको लागि, अनि उहाँले तेरो लागि गर्नुभएको आशाको लागि तैँले आफैलाई सुयोग्य बनाउनुपर्छ। यसो गर्नु मात्रै गम्‍भीर हुनु हो। तैँले झारा टारेर केही हुँदैन; तैँले मानिसहरूलाई छल्‍न सक्छस्, तर तैँले परमेश्‍वरलाई मूर्ख बनाउन सक्दैनस्। यदि तैँले आफ्‍नो कर्तव्य पूरा गर्दा कुनै वास्तविक मूल्य चुकाउँदैनस् र कुनै बफादारिता देखाउँदैनस् भने, त्यो मापदण्डको स्तरमा पुगेको हुँदैन। यदि तँ परमेश्‍वरमाथिको आफ्नो विश्‍वासलाई र तेरो कर्तव्य पूरा गर्ने कार्यलाई गम्भीरतासाथ लिँदैनस् भने; यदि तँ सधैँ झारा टार्ने काम गर्छस् र एक अविश्‍वासीले हाकिमको अधीनमा काम गरेको जस्तो आफ्‍ना कार्यहरूमा लापरवाही हुन्छस् भने; प्रत्येक दिन कर्तव्य पूरा गर्नुपर्दा काम चलाउ गर्ने काम गर्दै, समस्याका कुराहरू देख्दा तिनलाई बेवास्ता गर्दै, कुराहरू छरपष्ट भएको देख्दा पनि तँ त्यसलाई सफा नगर्ने, र तेरो फाइदा नहुने सबै कुरालाई सोचविचार नगरी खारिज गर्ने गर्दै देखावटी प्रयास मात्रै गर्छस् भने—के यो समस्या होइन र? यस्तो कुनै व्यक्ति कसरी परमेश्‍वरको घरको सदस्य हुन सक्छ? त्यस्ता मानिसहरू बाहिरकाहरू हुन्; तिनीहरू परमेश्‍वरको घरका होइनन्। तैँले आफ्‍नो कर्तव्य पूरा गर्ने क्रममा तँ आफ्नो हृदयमा साँचो भइरहेको छस् कि छैनस्, गम्भीर भइरहेको छस् कि छैनस् भनी स्पष्ट जान्दछस्, र परमेश्‍वरले हिसाब पनि राख्नुहुन्छ। त्यसो भए, के तिमीहरूले कहिल्यै आफ्नो कर्तव्य पूरा गर्ने कामलाई गम्भीरताका साथ लिएका छौ? के तिमीहरूले यसलाई कहिल्यै हृदयमा राखेका छौ? के तिमीहरूले यसलाई आफ्नो जिम्मेवारी, तेरो दायित्वको रूपमा लिएका छौ? के तिमीहरूले यसको स्वामित्व लिएका छौ? के तिमीहरूले आफ्नो कर्तव्य पूरा गर्ने क्रममा समस्या पत्ता लगाउँदा त्यसको बारेमा कहिल्यै कुरा उठाएका छौ? यदि समस्या भएको थाहा पाएर पनि त्यसको बारेमा तिमीहरूले कहिल्यै कुरा उठाएका छैनौ, त्यसको बारेमा सोचविचार समेत गरेका छैनौ भने, यदि तिमिहरू त्यस्ता कुराहरूमा चासो राख्न अनिच्छुक भएका छौ भने, र थोरै कठिनाइ हुनु नै राम्रो हो भनी सोच्छौ भने—यदि यस्ता कुराहरूप्रति तिमीहरूको यस्तै सिद्धान्त हो भने, तिमीहरूले आफ्नो कर्तव्य गरिरहेका हुँदैनौ; तिमीहरू कठोर परिश्रम गर्दै जिइरहेका हुन्छौ, तिमीहरूले सेवा मात्रै गरिरहेका हुन्छौ। सेवा-कर्ताहरू परमेश्‍वरको घरका हुँदैनन्। तिनीहरू जागिरेहरू हुन्; काम गरिसकेपछि तिनीहरू आफ्नो पैसा लिन्छन् र जान्छन्, प्रत्येक आ-आफ्नै बाटो लाग्छन् र अर्को व्यक्तिका निम्ति अपरिचित बन्छन्। परमेश्‍वरको घरसँग तिनीहरूको सम्बन्ध यस्तै हुन्छ। परमेश्‍वरको घरका सदस्यहरू फरक हुन्छन्: तिनीहरूले परमेश्‍वरको घरका सबै कुराहरूमा कष्ट उठाउँछन्, तिनीहरूले जिम्मेवारी लिन्छन्, तिनीहरूका आँखाले परमेश्‍वरको घरमा के गर्नु आवश्यक छ त्यो देख्छन्, र ती कामहरूलाई तिनीहरूले आफ्नो मनमा राख्छन्, तिनीहरूले सोचेका र देखेका सबै कुरा याद राख्छन्, तिनीहरूले बोझ बोकेका हुन्छन्, तिनीहरूमा जिम्मेवारीको बोध हुन्छ—यिनीहरू परमेश्‍वरको घरका सदस्यहरू हुन्। के तिमीहरू यो स्थितिमा पुगेका छौ? (छैनौं।) त्यसो भए तिमीहरू अझै लामो बाटो हिँड्नु बाँकी छ, त्यसैले तिमीहरू त्यसको पछि लागिरहनुपर्छ! यदि तँ आफैलाई परमेश्‍वरको घरको सदस्य ठान्दैनस् र आफैलाई अलग गर्छस् भने, परमेश्‍वरले तँलाई कसरी हेर्नुहुन्छ? परमेश्‍वरले तँलाई बाहिरी मानिससँग जस्तो व्यवहार गर्नुहुन्न; बरु तैँले नै आफैलाई उहाँको ढोका बाहिर राख्छस्। निष्पक्ष रूपमा कुरा गर्ने हो भने, तँ वास्तवमा कस्तो प्रकारको व्यक्ति होस्? तँ उहाँको घरमा हुँदैनस्। के परमेश्‍वरले भन्नुहुने वा निर्धारण गर्नुहुने कुरासँग यसको कुनै सम्बन्ध हुन्छ? तैँले नै आफ्नो अन्त्य निर्धारण गरेको हुन्छस् र परमेश्‍वरको घरको बाहिर बसेको छस्—अब अरू कसलाई दोष दिने?

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको

“कर्तव्य राम्ररी पूरा गर्नको लागि

कम्तीमा पनि विवेक चाहिन्छ”

बाहिरबाट हेर्दा, कतिपय मानिसहरूसँग कुनैपनि गम्भीर समस्या छैन जस्तो देखिन्छ। तिनीहरूले अवरोध वा बाधा ल्याउँदैनन्, वा तिनीहरूले दुष्टले गर्ने काम गर्दैनन्, र तिनीहरू ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्दैनन्। आफ्‍नो कर्तव्य पूरा गर्ने क्रममा, तिनीहरूले कुनै गल्ती गर्दैनन् वा सिद्धान्तहरूसँग सम्‍बन्धित समस्याहरू पैदा हुँदैनन्, तैपनि, थाहै नपाई तिनीहरूको खुलासा हुन्छ। किन यसो हुन्छ त? मानिसहरूले समस्या देख्दैनन्, तर परमेश्‍वरले तिनीहरूको हृदयको गहिराइलाई जाँच्‍नुहुन्छ, र समस्या देख्‍नुहुन्छ। समय बित्दै जान्छ र तिनीहरू पश्‍चात्तापविहीन बनेपछि, तिनीहरूको खुलासा हुनुपर्छ। पश्‍चात्तापविहीन हुनु भनेको के हो त? यसको अर्थ के हो भने, तिनीहरू सधैँ गलत मनोवृत्तिले, लापरवाही रझारातिरुवा मनोवृत्तिले, निस्फिक्री मनोवृत्तिले व्यवहार गर्छन्, र तिनीहरू कहिल्यै पनि विवेकशील हुँदैनन्, तिनीहरू समर्पित हुने कुरा त परै जाओस्। तिनीहरूले थोरै प्रयास गर्न सक्छन्, तर तिनीहरूले झारा टार्ने काम मात्रै गरिरहेका हुन्छन्। तिनीहरूले आफ्‍नो सम्पूर्णता दिइरहेका हुँदैनन्, र तिनीहरूको अपराधको कहिल्यै अन्त्य हुँदैन। परमेश्‍वरले उहाँको अवलोकन स्थलबाट कहिल्यै पनि तिनीहरूले पश्‍चात्ताप गरेका वा आफ्‍ना लापरवाही र झारातिरुवा मनोवृत्ति परिवर्तन गरेको कहिल्यै देख्‍नुभएको छैन—अर्थात्, तिनीहरूले आफ्‍नो हातको दुष्टतालाई त्याग्दैनन् र उहाँको सामुन्ने पश्‍चात्ताप गर्दैनन्। परमेश्‍वरले तिनीहरूमा पश्‍चात्तापको मनोवृत्ति देख्‍नुहुन्‍न, र उहाँले तिनीहरूको मनोवृत्ति बदलिएको देख्‍नुहुन्‍न। तिनीहरूले त्यस्तै मनोवृत्ति र विधिअनुसार आफ्‍नो कर्तव्यलाई र परमेश्‍वरको आज्ञालाई अघि बढाइरहन्छन्। पूरै समय, यो जिद्दी, कट्टर स्वभावमा कुनै परिवर्तन आउँदैन, यति मात्र होइन, तिनीहरूले कहिल्यै पनि परमेश्‍वरप्रति ऋणी अनुभव गरेका हुँदैनन्, तिनीहरूको लापरवाहीपन र झारातिराइ अपराध हो, दुष्कर्म हो भन्‍ने तिनीहरूले कहिल्यै अनुभव गरेका हुँदैनन्। तिनीहरूको हृदयमा, कुनै पनि ऋणी अनुभव, कुनै पछुतो, कुनै आत्मधिक्कार हुँदैन, आत्म-दोषारोपणको कुरा त परै राखौं। अनि समय बित्दै जाँदा, परमेश्‍वरले यो मानिसलाई सुधार गर्न सकिँदैन भन्‍ने देख्‍नुहुन्छ। परमेश्‍वरले जे भन्‍नुभए पनि, र तिनीहरूले जति धेरै प्रवचन सुने पनि वा तिनीहरूले जति धेरै सत्यता बुझे पनि, तिनीहरूको हृदयमा प्रभाव पर्दैन र तिनीहरूको मनोवृत्ति परिवर्तन हुँदैन वा गलत बाटोबाट फर्की आउँदैन। परमेश्‍वर भन्‍नुहुन्छ: “यो व्यक्तिको निम्ति कुनै आशा छैन। मैले भन्‍ने केही कुराले पनि तिनीहरूको हृदयलाई छुँदैन, र मैले भन्‍ने कुनै कुराले पनि तिनीहरूलाई गलत बाटोबाट फर्काउँदैन। तिनीहरूलाई परिवर्तन गर्ने कुनै माध्यम नै छैन। यो व्यक्ति आफ्‍नो कर्तव्य पू्रा गर्नको निम्ति उपयुक्त छैन, र तिनीहरू मेरो घरमा सेवा गर्ने योग्यका छैनन्।” अनि किन यस्तो हुन्छ त? यसको कारण के हो भने जब तिनीहरूले आफ्‍नो कर्तव्य पूरा गर्छन् र काम गर्छन्, तिनीहरूलाई जति नै सहनशीलता र धैर्यता दिइए पनि, त्यसको कुनै प्रभाव हुँदैन र त्यसले तिनीहरूलाई परिवर्तन गर्न सक्दैन। यसले तिनीहरूलाई अझै राम्रो काम गर्ने तुल्याउन सक्दैन, यसले तिनीहरूलाई साँचो रूपमा सत्यताको खोजी गर्ने मार्ग लिने सक्षम तुल्याउँदैन। यो व्यक्तिलाई सुधार गर्न सकिँदैन। जब त्यो व्यक्तिलाई सुधार गर्न सकिँदैन भन्‍ने परमेश्‍वरले निर्धारित गर्नुहुन्छ, के उहाँले यो व्यक्तिलाई अझै पनि पक्रिराख्‍नुहुनेछ त? उहाँले त्यसो गर्नुहुनेछैन। परमेश्‍वरले तिनीहरूलाई छाडिदिनुहुनेछ। कतिपय मानिसहरू सधैँ यसो भन्दै बिन्ती गर्छन्, “हे परमेश्‍वर, मसँग कठोर व्यवहार नगर्नुहोस्, मलाई कष्ट नदिनुहोस्, मलाई अनुशासनमा नराख्‍नुहोस्। मलाई केही स्वतन्त्रता दिनुहोस्! मलाई अलि-अलि लापरवाही र औपचारिकताको लागि मात्र काम गर्न दिनुहोस्! म अलि-अलि छाडा बनूँ!” तिनीहरू बन्धनमा बस्‍न चाहँदैनन्। परमेश्‍वर भन्‍नुहुन्छ, “तैँले सही मार्गमा हिँड्न नचाहने हुनाले, म तँलाई जान दिनेछु। म तँलाई बेलगाम छोडिदिनेछु। जा अनि तँलाई जे मन लाग्छ त्यही गर्। म तँलाई मुक्ति दिनेछैन, किनभने तँलाई सुधार गर्न सकिँदैन।” सुधार गर्न नसकिनेहरूमा विवेकको अनुभूति हुन्छ त? के तिनीहरूसँग ऋणी भएको आभास हुन्छ त? के तिनीहरूसँग दोषारोपणको आभास हुन्छ त? के तिनीहरूले परमेश्‍वरको धिक्कार, अनुशासन, प्रहार, र न्यायलाई अनुभूति गर्न सक्छन् त? तँलाई परमेश्‍वरसँग जोड्ने बन्धनलाई सबैभन्दा प्रत्यक्ष रूपमा र स्पष्ट रूपमा प्रतिबिम्‍बित गर्ने कुरा भनेको परमेश्‍वरले तँलाई सुम्पनुहुने विषयहरू र उहाँले तँलाई अह्राउनुहुने कार्यहरूप्रति तैँले गर्ने व्यवहार, र तँसँग भएको मनोवृत्ति हो। सबैभन्दा प्रत्यक्ष रूपमा देखिने कुरा यही हो। जब तैँले यो महत्त्वपूर्ण कुरालाई बुझेर परमेश्‍वरले तँलाई दिनुभएको आज्ञा पूरा गर्छस्, तब परमेश्‍वरसँगको तेरो सम्‍बन्ध सामान्य बन्‍नेछ। जब परमेश्‍वरले तँलाई कुनै काम सुम्पनुहुन्छ वा कुनै निश्‍चित कर्तव्य पूरा गर्न लगाउनुहुन्छ, तब यदि तेरो मनोवृत्ति सतही र उदासीन किसिमको हुन्छ, र तैँले यसलाई प्राथमिकताको रूपमा हेर्दैनस् भने, के यो तेरो सारा हृदय र शक्ति दिनुको ठीक विपरीत कुरा हुँदैन र? त्यसकारण, आफ्‍नो कर्तव्य पूरा गर्दा तैँले धाारण गर्ने मनोवृत्ति, साथै तैँले छनौट गर्ने विधि र मार्ग पनि महत्त्वपूर्ण हुन्छन्। तैँले लापरवाह र झारा टार्ने तरिकाले आफ्‍नो कर्तव्य पूरा गर्दा, र यसलाई हल्कासाथ लिँदा परिणाम के हुन्छ? तैँले आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न सक्‍ने भए पनि, कर्तव्य निर्वाह गर्दा तेरो कार्यप्रदर्शन नराम्रो हुनेछ—तेरो कार्यप्रदर्शन मापदण्डको स्तरमा पुग्‍नेछैन, र तेरो कर्तव्यप्रतिको तेरो मनोवृत्तिप्रति परमेश्‍वर सन्तुष्ट हुनुहुनेछैन। यदि मूल रूपमा, तैँले सामान्य रूपमा नै खोजी र सहकार्य गरेको थिइस् भने; यदि तैँले यसमा तेरा सम्पूर्ण विचारहरू लगाएको थिइस् भने; यदि तैँले यसमा तेरो हृदय र प्राण लगाएको थिइस्, र यसमा तेरो सारा प्रयास लगाएको थिइस्, अनि केही अवधिसम्‍म तेरो परिश्रम, प्रयास, र विचारहरू लगाएको थिइस्, वा सन्दर्भ सामग्रीहरूको निम्ति केही समय छुटाएको थिइस्, र यसमा तेरो सारा मन र शरीर लगाएको थिइस् भने; यदि तैँले त्यसरी सहकार्य गर्न सक्थिस् भने, परमेश्‍वरले तँलाई अगाडिबाट अगुवाइ गरिरहनुभएको हुनेथियो। तैँले त्यति धेरै शक्ति लगाउनु पर्दैन; जब तैँले सहकार्यमा कुनै प्रयास लगाउँदैनस्, तब परमेश्‍वरले पहिले नै सबै कुराको बन्दोबस्त गरिसक्‍नुभएको हुनेछ। यदि तँ धोकेबाजपूर्ण र धोकेबाज छस्, र कामको आधा भागमा तेरो हृदय परिवर्तन भयो र तँ बाटो बिराएर जान्छस् भने, परमेश्‍वरले तँमाथि चासो देखाउनुहुनेछैन; तैँले यो अवसर गुमाएको हुनेछस्, र परमेश्‍वरले यसो भन्‍नुहुनेछ, “तँ उपयुक्त छैनस्; तेरो कुनै काम छैन। जा, पाखा लाग्। तँलाई अल्छी हुन मन पर्छ, होइन त? तँलाई छली र धूर्त बन्‍न मन पर्छ, मन पर्दैन त? तँलाई विश्राम गर्न मन पर्छ? ठीकै छ, विश्राम गर्।” परमेश्‍वरले अर्को व्यक्तिलाई यो अनुग्रह र अवसर दिनुहुनेछ। तिमीहरू के भन्छौ: यो हार हो कि जित हो? यो ठूलो हार हो!

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “आफ्‍नो कर्तव्य पूरा गर्दा लापरवाह बन्ने र झारा टार्ने समस्यालाई कसरी समाधान गर्ने”

केही मानिसहरूको सवालमा, तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा जेसुकै समस्याको सामना गर्नु परे तापनि तिनीहरूले सत्यताको खोजी गर्दैनन् र तिनीहरूले सधैँ आफ्नै विचारहरू, धारणाहरू, कल्पनाहरू र चाहनाहरूअनुसार काम गर्छन्। तिनीहरूले बारम्बार आफ्नै स्वार्थी चाहनाहरू पूरा गरिरहेका हुन्छन् र तिनीहरूका भ्रष्ट स्वभावहरूले तिनीहरूका कामहरूलाई सधैँ नियन्त्रण गरिरहेका हुन्छन्। तिनीहरूले आफूलाई जिम्मा दिइएको काम सम्पन्‍न गर्न सके तापनि तिनीहरूले कुनै सत्यता प्राप्त गर्दैनन्। त्यसो भए, आफ्ना कर्तव्यहरू निर्वाह गर्दा त्यस्ता मानिसहरू केमा भर परिरहेका हुन्छन् त? तिनीहरू न त सत्यतामा भरपरिरहेका हुन्छन् न त परमेश्‍वरमा नै। तिनीहरूले बुझेको थोरै सत्यताले तिनीहरूको हृदयमा प्रभुत्व जमाएको हुँदैन; यी कर्तव्यहरू सम्पन्‍न गर्नको निम्ति तिनीहरू आफ्नै वरदान र क्षमताहरू, तिनीहरूले आर्जन गरेका ज्ञान र तिनीहरूका प्रतिभाहरूका साथै तिनीहरूका आफ्नै इच्छाशक्ति वा असल अभिप्रायहरूमा भर परिरहेका हुन्छन्। यो भिन्‍न किसिमको प्रकृति हो, होइन र? तँ आफ्नो कर्तव्य पूरा गर्नको निम्ति कहिलेकाहीँ आफ्नै स्वाभाविकता, कल्पना, धारणाहरू, ज्ञान र सिकाइमा भर परे तापनि तैँले गर्ने केही कुराहरूमा सिद्धान्तका सवालहरू देखा पर्दैनन्। सतही रूपमा, तैँले गलत मार्ग लिएको छैनस् जस्तो देखिन्छ, तर उपेक्षा गर्न नसकिने एउटा कुरा छ: तैँले तेरो कर्तव्य निर्वाह गर्ने क्रममा, यदि तेरा धारणाहरू, कल्पनाहरू र व्यक्तिगत चाहनाहरू कहिले पनि परिवर्तन हुँदैनन् र सत्यताद्वारा प्रतिस्थापन हुँदैनन् भने, र तेरा काम-कार्वाहीहरू र कर्महरू कहिले पनि सत्य सिद्धान्तअनुसार हुँदेनन् भने, अन्तिम परिणाम के हुनेछ त? तँ सेवा-कर्ता बन्‍ने छस्। ठीक यही नै बाइबलमा लेखिएको थियो: “त्‍यस दिन मलाई धेरैले यसो भन्‍नेछन्, प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेका छैनौं र? अनि तपाईंको नाउँमा दियाबलसहरू धपाएनौं र? र तपाईंको नाउँमा धेरै अचम्मका कामहरू गरेनौं र? अनि म तिनीहरूका निम्ती घोषणा गर्नेछु, मैले तिमीहरूलाई कहिल्‍यै चिनिनँ। दुष्ट काम गर्ने तिमीहरू मबाट दूर होओ” (मत्ती ७:२२-२३)। परमेश्‍वरले किन यी प्रयत्न गर्नेहरू र सेवा दिने व्यक्तिहरूलाई, “अधर्म काम गर्ने तिमीहरू” भनेर भन्‍नुहुन्छ त? एउटा बुँदामा हामी निश्‍चित हुन सक्छौँ, र त्यो के हो भने, यी मानिसहरूले जे कर्तव्यहरू वा कामहरू गरे तापनि, तिनीहरूका प्रेरणाहरू, प्रोत्साहनहरू, अभिप्रायहरू र सोचहरू सम्पूर्ण रूपमा तिनीहरूका स्वार्थी चाहनाहरूबाट नै उत्पन्‍न हुन्छन्, ती तिनीहरूका आफ्नै विचारहरू र व्यक्तिगत चाहनाहरूमा आधारित छन् र तिनीहरूका चिन्तनहरू र योजनाहरू पूर्ण रूपमा तिनीहरूका ख्याति, ओहदा, घमण्ड र भविष्यका सम्भावनाहरूको वरिपरि घुम्छन्। भित्र अन्तरकुन्तरमा तिनीहरूसँग सत्यता हँदैन, न त तिनीहरू सत्य सिद्धान्तबमोजित नै कार्य गर्छन्। त्यसैले, तिमीहरूको लागि अहिले खोज्‍नुपर्ने महत्त्वपूर्ण कुरा के हो त? (हामीहरूले सत्यता खोज्‍नुपर्छ अनि परमेश्‍वरका इच्छा र आवश्यक मापदण्डहरूबमोजिम हाम्रा कर्तव्यहरू निर्वाह गर्नुपर्छ।) परमेश्‍वरका आवश्यक मापदण्डहरूबमोजिम तैँले तेरा कर्तव्यहरू निर्वाह गर्दा विशेष रूपमा के गर्नुपर्छ त? तैँले केही कुराहरू गर्दा तेरा अभिप्रायहरू र विचारहरू सत्यताबमोजिम छन् कि छैनन् र साथसाथै तेरा ती अभिप्रायहरू र विचारहरू तेरा आफ्नै स्वार्थी चाहनाहरू परिपूर्ति गर्नेतर्फ उन्मुख छन् कि परमेश्‍वरको घरका चाहनाहरू परिपूर्ति गर्नेतर्फ उन्मुख छन् भनी बुझ्नु सिक्‍नुपर्छ। यदि तेरा अभिप्रायहरू र विचारहरू सत्यताबमोजिम छन् भने, तैँले तेरो कर्तव्य आफ्नो सोचअनुसार गर्न सक्छस्; यद्यपि यदि तिनीहरू सत्यताबमोजिम छैनन् भने, तैँले तुरुन्तै फनक्कै फर्कनुपर्छ र त्यो मार्ग त्याग्‍नुपर्छ। त्यो मार्ग सही छैन र तैँले त्यो शैलीमा अभ्यास गर्न सक्दैनस्; यदि तैँले त्यो मार्गमा निरन्तर हिँडिस् भने, तैँले अन्तमा दुष्कर्म गरिछाड्नेछस्।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “आफ्ना कर्तव्यहरूमा कसरी परमेश्‍वरका वचनहरू अनुभव गर्ने”

निराकरण र शोधनको अनुभवद्वारा पत्रुसलाई सिद्ध पारिएको थियो। उनले भने, “मैले सधैँ परमेश्‍वरका इच्‍छाहरूलाई सन्तुष्ट पार्नैपर्छ। मैले गर्ने सबै कुरामा म परमेश्‍वरका इच्‍छालाई मात्रै सन्तुष्ट तुल्याउने प्रयास गर्छु, र मलाई दण्ड दिइए पनि, वा मेरो न्याय गरिए पनि, म त्यसो गर्न खुशी नै हुन्छु।” पत्रुसले परमेश्‍वरलाई आफ्‍नो सम्पूर्णता दिए, र उनका काम, वचन, र सम्पूर्ण जीवन सबै नै परमेश्‍वरलाई प्रेम गर्नको खातिर थिए। तिनी पवित्रताको खोजी गर्ने व्यक्ति थिए, र तिनले जति अनुभव गरे, तिनको हृदयभित्र गहिराइमापरमेश्‍वरप्रतिको तिनको प्रेम त्यति नै ठूलो बन्यो। यस बीच, पावलले बाहिरी काम मात्रै गरे, र तिनले पनि कठिन परिश्रम नै गरेको भए तापनि, तिनका परिश्रमहरू आफ्‍नो काम उचित रूपमा गरेर इनाम प्राप्त गर्नको खातिर थिए। तिनले कुनै पनि इनाम प्राप्त गर्नेछैनन् भन्‍ने तिनलाई थाहा भएको भए, उनले आफ्‍नो कामलाई छोड्ने थिए। पत्रुसलाई आफ्‍नो हृदयभित्रको साँचो प्रेमको बारेमा, र व्यवहारिक र हासिल गर्न सकिने कुरामा मात्रै चासो थियो। तिनले इनाम प्राप्त गर्नेछन् कि छैनन् भन्‍ने बारेमा होइन, तर तिनको स्वभाव परिवर्तन हुन सक्छ कि सक्दैन भन्‍ने विषयमा तिनलाई चासो थियो। पावललाई सधैँ कठिन परिश्रम गर्ने बारेमा चासो थियो, तिनलाई बाहिरी काम र भक्तिको बारेमा चासो थियो, र सामान्य मानिसहरूले अनुभव नगरेका धर्मसिद्धान्तहरूका बारेमा चासो थियो। तिनलाई आफ्‍नो अन्तस्करणमा हुने परिवर्तनहरूका बारेमा चासो थिएन, न त परमेश्‍वरप्रतिको साँचो प्रेमको बारेमा नै चासो थियो। पत्रुसका अनुभवहरू परमेश्‍वरप्रतिको साँचो प्रेम र साँचो ज्ञान हासिल गर्नको लागि थियो। उनका अनुभवहरू परमेश्‍वरसँग अझै घनिष्ठ सम्‍बन्ध प्राप्त गर्न, र व्यावहारिक जियाइ प्राप्त गर्नको लागि थियो। पावलका कामहरू येशूले तिनलाई सुम्‍पिनुभएको कारण र तिनले तृष्णा गरेका कुराहरू प्राप्त गर्नको लागि गरिएका थिए, तैपनि ती आफ्‍नो र परमेश्‍वरको बारेमा रहेको उसको ज्ञानसँग सम्‍बन्धित थिएनन्। तिनको कार्य सजाय र दण्डबाट उम्‍कनको खातिर मात्रै थियो। पत्रुसले जे खोजे त्यो चोखो प्रेम थियो, र पावलले जे खोजे त्यो धार्मिकताको मुकुट थियो। पत्रुसले धेरै वर्ष पवित्र आत्‍माको कार्य अनुभव गरेका थिए, र तिनमा ख्रीष्‍टको बारेमा व्यवहारिक ज्ञान, साथै आफ्‍नै बारेमा गहन ज्ञान थियो। त्यसकारण, परमेश्‍वरप्रतिको तिनको प्रेम चोखो थियो। धेरै वर्षको शोधनले येशू र जीवन सम्‍बन्धी उनको ज्ञानलाई उच्‍च पारेको थियो, र उनको प्रेम सर्तरहित प्रेम थियो, यो स्वभाविकप्रेम थियो, र उनले सट्टामा केही पनि मागेनन्, न त तिनले कुनै लाभहरूको आशा नै गरे। पावलले धेरै वर्षसम्‍म काम गरे, तैपनि तिनमा ख्रीष्‍ट सम्‍बन्धी ठूलो ज्ञान थिएन, र आफ्‍नै बारेमा रहेको तिनको ज्ञान निकै सानो थियो। ख्रीष्टप्रति तिनमा प्रेम नै थिएन, र तिनको काम र तिनले दौडेको दौड अन्तिम पुष्प-मुकुट प्राप्त गर्नको लागि नै थियो। तिनले उत्तम मुकुटको खोजी गरे, विशुद्ध प्रेमको होइन। तिनले सक्रिय रूपमा होइन, तर निष्क्रिय रूपमा खोजी गरे; तिनले आफ्‍नो कर्तव्य निभाइरहेका थिएनन्, तर पवित्र आत्‍माको कार्यले तिनलाई आफ्‍नो पकडमा लिइसकेपछि उसको खोजीमा तिनी बाध्य गरिए। त्यसकारण, तिनको खोजीले तिनी परमेश्‍वरका सुयोग्य सृष्टि थिए भन्‍ने प्रमाणित गर्दैन; परमेश्‍वरको सुयोग्य प्राणी पत्रुस नै थिए जसले आफ्‍नो कर्तव्य पूरा गरे। मानिसले विचार गर्छ कि परमेश्‍वरको निम्ति योगदान दिने सबैले इनाम प्राप्त गर्नुपर्छ, र योगदान जति ठूलो हुन्छ, तिनीहरूले परमेश्‍वरको निगाह प्राप्त गर्नुपर्छ भन्‍ने कुरालाई त्यति नै बढी मानिलिन्छ। मानिसको दृष्टिकोणको सार लेनदेनमा आधारित छ, र परमेश्‍वरको सृष्टिको रूपमा रहेको आफ्‍नो कर्तव्यलाई उसले सक्रिय रूपमा प्रस्तुत गर्ने प्रयास गर्दैन। परमेश्‍वरको लागि, मानिसहरूले जति बढी परमेश्‍वरप्रतिको साँचो प्रेम र परमेश्‍वरप्रति पूर्ण आज्ञापालन गर्न खोज्छन्—जुन परमेश्‍वरको सृष्टिको रूपमा रहेको तिनीहरूको कर्तव्यलाई पूरा गर्न खोज्‍नु पनि हो—तिनीहरूले परमेश्‍वरको अनुमोदनलाई त्यति नै बढी प्राप्त गर्न सक्छन्। परमेश्‍वरको दृष्टिकोण भनेको मानिसलाई उसको मूल कर्तव्य र प्रतिष्ठालाई पुनःप्राप्ति गर्नलगाउनु हो। मानिस परमेश्‍वरको सृष्टि हो, र त्यसकारण मानिसले परमेश्‍वरबाटको कुनै पनि मागहरू गरेर आफैलाई नाघ्नु हुँदैन, र परमेश्‍वरको सृष्टिको रूपमा रहेको आफ्‍नो कर्तव्यलाई पूरा गर्ने बाहेक केही पनि गर्नु हुँदैन। परमेश्‍वरका सृष्टिका रूपमा रहेका तिनीहरूका कर्तव्यलाई तिनीहरूले पूरा गर्न सके कि सकेनन् त्यस अनुसार पावल र पत्रुसको गन्तव्यलाई मापन गरिए, तिनीहरूका योगदानको आकार अनुसार होइन; तिनीहरूले सुरुदेखि नै जे कुराकोखोजी गरे त्यस अनुसार तिनीहरूका गन्तव्य निर्धारित गरिए, तिनीहरूले कति धेरै काम गरे, वा अरू मानिसहरूले तिनीहरूको मुल्याङ्कन कसरी गरे त्यस अनुसार होइन। त्यसकारण, परमेश्‍वरको सृष्टिको रूपमा रहेको आफ्‍नो कर्तव्यलाई सक्रियताको साथ पूरा गर्न खोज्‍नु नै सफलताको मार्ग हो; परमेश्‍वरप्रतिको साँचो प्रेमको मार्ग खोज्‍नु नै सबैभन्दा सहि मार्ग हो; आफ्‍नो पुरानो स्वभावमा परिवर्तनहरू खोज्‍नु, र परमेश्‍वरप्रतिको चोखो प्रेमको खोजी गर्नु नै सफलताको मार्ग हो। सफलताको त्यस्तो मार्ग नै परमेश्‍वरको सृष्टिको रूपमा रहेको मूल कर्तव्य साथै मूल स्वरूप पुनःप्राप्ति गर्नेमार्ग हो। पुनःप्राप्तिको मार्ग यही नै हो, र सुरुदेखि अन्त्यसम्‍मै परमेश्‍वरको सम्पूर्ण कार्यको उद्देश्य पनि यही नै हो। यदि मानिसको खोजी व्यक्तिगत लालची मागहरू र तर्कहीन आकांक्षाहरूले कलङ्कित छ भने, हासिल गरिने प्रभाव मानिसको स्वभावमा हुने परिवर्तन हुनेछैन। यो पुनःप्राप्तिको कार्यको विपरीत हुन्छ। यो पवित्र आत्माले गर्नुहुने काम होइन भन्‍नेमा कुनै शङ्का छैन, र त्यसकारण यस प्रकारको खोजीलाई परमेश्‍वरले स्वीकृति दिनुहुन्‍न भन्‍ने कुरालाई यसले प्रमाणित गर्छ। परमेश्‍वरले स्वीकृति नदिनुभएको खोजीको के महत्त्व हुन्छ र?

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ

पत्रुसले जे खोजी गरे त्यो सबै परमेश्‍वरको हृदय अनुरूप थिए। तिनले परमेश्‍वरका चाहनाहरूलाई पूरा गर्न खोजे, र कष्ट-भोग र विपत्तिको बाबजुद पनि, तिनी परमेश्‍वरको इच्‍छा पूरा गर्न इच्‍छुक थिए। परमेश्‍वरका विश्‍वासीले गर्ने खोजी योभन्दा ठूलो हुँदैन। पावलले जे खोजी गरे त्यो तिनकै आफ्‍नै देहद्वारा, तिनकै आफ्‍नै धारणाहरूद्वारा, र तिनका आफ्‍नै योजनाहरूद्वारा र युक्तिहरूद्वारा कलङ्कित थियो। तिनी कुनै पनि हालतमा परमेश्‍वरका सुयोग्य सृष्टि थिएनन्, तिनी परमेश्‍वरको इच्‍छा पूरा गर्न खोज्‍ने व्यक्ति थिएनन्। पत्रुस परमेश्‍वरको योजनाबद्ध कार्यमा समर्पित हुन खोज्थे, अनि तिनले गरेको काम ठुलोनभएको भए तापनि, तिनको खोजी पछाडिको अभिप्राय र तिनले हिँडेको मार्ग सहि थियो; तिनले धेरै मानिसहरू प्राप्त गर्न नसकेको भए तापनि, तिनले सत्यको मार्ग पछ्याउन सके। यही कारणले तिनी परमेश्‍वरका सुयोग्य सृष्टि थिए भनेर भन्‍न सकिन्छ। आज, तँ कामदारनभए तापनि, तैँले परमेश्‍वरको सृष्टिको कर्तव्यलाई निभाउन सक्‍नुपर्छ र परमेश्‍वरका सबै योजनाबद्ध कार्यमा समर्पित हुने प्रयास गर्नुपर्छ। परमेश्‍वरले जे भन्‍नुहुन्छ त्यसलाई तैँले पालना गर्न, र सबै प्रकारका संकष्ट र शोधनलाई अनुभव गर्न सक्‍नुपर्छ, अनि तँ कमजोर भए तापनि, आफ्‍नो हृदयमा तैँले परमेश्‍वरलाई प्रेम गर्न सक्‍नुपर्छ। तिनीहरूका आफ्‍नो जीवनको लागि जिम्‍मेवारी लिनेहरू परमेश्‍वरको सृष्टिको रूपमा कर्तव्यलाई निभाउन इच्‍छुक हुन्छन्, र खोजी सम्‍बन्धी त्यस्ता मानिसहरूको दृष्टिकोण सहि हुन्छ। परमेश्‍वरलाई चाहिने मानिसहरू यिनै हुन्: यदि तैँले धेरै काम गरेको छस्, र अरूले तेरा शिक्षाहरू प्राप्त गरेका छन्, तर तँ आफै परिवर्तन भइनस्, र कुनै पनि गवाही वहन गरेकोछैनस्, वा तँमा कुनै साँचो अनुभव छैन, यहाँसम्‍म कि तेरो जीवनको अन्त्यसम्‍म पनि तैँले जे गरेको छस् त्यसले कुनै गवाही वहन गर्दैनभने, के तँ परिवर्तन भएको व्यक्ति होस् र? के तँ सत्यताको खोजी गर्ने व्यक्ति होस्? त्यो बेला, पवित्र आत्माले तँलाई प्रयोग गर्नुभयो, तर जब उहाँले तँलाई प्रयोग गर्नुभयो, तब उहाँले कामको लागि प्रयोग गर्न सकिने तेरो भागलाई प्रयोग गर्नुभयो, र प्रयोग गर्न नसकिने तेरो भागलाई उहाँले प्रयोग गर्नुभएन। यदि तैँले परिवर्तनको खोजी गरिस् भने, प्रयोग हुने प्रक्रियाको अवधिमा तँ क्रमिक रूपमा सिद्ध पारिने थिइस्। तैपनि तँलाई आखिरमा प्राप्त गरिने छ कि छैन भन्‍ने बारेमा पवित्र आत्माले कुनै पनि जिम्‍मेवारीहरू स्वीकार गर्नुहुन्‍न, र यो तेरो खोजीको तरिकामा नै निर्भर हुन्छ। यदि तेरो व्यक्तिगत स्वभावमा कुनै परिवर्तनहरू छैन भने, खोजी सम्‍बन्धी तेरो दृष्टिकोण गलत भएकोले नै त्यसो भएको हो। यदि तँलाई कुनै इनाम दिइएन भने, त्यो तेरो आफ्‍नै समस्या हो, र तैँले सत्यतालाई अभ्यास नगरेको हुनाले र तैँले परमेश्‍वरको चाहनालाई पूरा गर्न नसक्‍ने भएकोले यस्तो हुन्छ। त्यसकारण, तेरा व्यक्तिगत अनुभवहरू जत्तिको धेरै महत्त्वपूर्ण अरू केही हुँदैन, र तेरो व्यक्तिगत प्रवेश जत्तिको गम्भीरकुरा अरू केही हुँदैन! कतिपय मानिसहरू यसो भन्‍ने अवस्थामा पुग्छन्, “मैले तपाईंको लागि धेरै काम गरेको छु, र मैले कुनै पनि उल्‍लासपूर्ण उपलब्धिहरू प्राप्त नगरेको भए तापनि, मेरा प्रयासहरूमा म लगनशील नै भएको छु। के तपाईं मलाई जीवनको फल खानको लागि स्वर्गमा प्रवेश गर्न मात्रै दिन सक्‍नुहुन्‍न र?” मैले कस्ता प्रकारका मानिसहरूलाई चाहन्छु तैँले जान्‍नैपर्छ; अशुद्धहरूलाई राज्यमा प्रवेश गर्ने अनुमति छैन, अशुद्धहरूलाई पवित्र भूमि अपवित्र तुल्याउने अनुमति छैन। तैँले धेरै काम गरेको, र धेरै वर्षसम्‍म काम गरेको हुन सक्‍ने भए तापनि, आखिरमा तँ दुःखलाग्दो किसिमले घिन लाग्‍दो छस् भने, तैँले मेरो राज्यमा प्रवेश गर्न चाहनु स्वर्गको कानुनको लागि असहनीय हुनेछ! संसारको जग बसालेदेखि अहिलेसम्‍म, मसँग चापलुसी गर्नेहरूलाई मैले राज्यमा सहज रूपमा प्रवेश गर्न कहिल्यै दिएको छैन। यो स्वर्गीय नियम हो, र कसैले पनि यसलाई तोड्न सक्दैन! तैँले जीवनको खोजी गर्नैपर्छ। आज, सिद्ध पारिनेहरू पत्रुसजस्तै हुन्: तिनीहरू आफ्‍नै स्वभावमा परिवर्तन खोज्‍ने, र परमेश्‍वरको गवाही वहन गर्न र परमेश्‍वरका सृष्टिको रूपमा रहेको आफ्‍नो कर्तव्य निभाउन इच्‍छुक हुने मानिसहरू हुन्। यस्ता मानिसहरूलाई मात्रै सिद्ध पारिनेछ। यदि तँ इनामहरूलाई मात्रै हेर्छस्, र आफ्‍नो जीवनको स्वभावलाई परिवर्तन गर्न खोज्दैनस् भने, तेरा सबै प्रयासहरू व्यर्थ हुनेछन्—यो अपरिवर्तनीय सत्यता हो!

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्