व्यक्तिले कसरी पर्याप्त मात्रामा आफ्नो कर्तव्य निर्वाह गर्न सक्छ

9 फेब्रुअरी 2022

परमेश्‍वरका प्रासंगिक वचनहरू:

“पर्याप्त रूपमा कर्तव्य पूरा गर्नु” भन्ने वाक्यांशमा “पर्याप्त” शब्दलाई विशेष जोड् दिइएको छ। त्यसो भए, “पर्याप्त” लाई कसरी परिभाषित गर्नुपर्छ? यसमा पनि खोज्नु पर्ने सत्यता छ। के कामचलाउ काम गर्नु मात्र पर्याप्त हुन्छ? यो “पर्याप्त” भन्ने शब्दलाई कसरी बुझ्‍ने र लिने भन्ने बारेमा विशेष जानकारीहरूका लागि तैँले धेरै वटा सत्यहरू बुझ्नुपर्छ र सत्यताको बारेमा अझ धेरै सङ्गतिहरू गर्नुपर्छ। तेरो कर्तव्य पूरा गर्दा, तैँले सत्यता र त्यसका सिद्धान्तहरूलाई बुझ्नुपर्छ; तब मात्र तँ कर्तव्यलाई पर्याप्त रूपमा पूरा गर्ने स्थितिमा पुग्न सक्छस्। मानिसहरूले किन तिनीहरूका कर्तव्यहरू पूरा गर्नुपर्छ? मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरेर उहाँको आज्ञालाई स्वीकार गरेपछि, तिनीहरूसँग परमेश्‍वरको घरको काम र परमेश्‍वरको कामको स्थलमा तिनीहरूको भागको जिम्मेवारी र कर्तव्य हुन्छ, अनि यो जिम्‍मेवारी र कर्तव्यको कारण तिनीहरू परमेश्‍वरको कामको एउटा तत्व बन्छन्—उहाँको कामका वस्तुहरूको एउटा तत्व र उहाँको मुक्तिका वस्तुहरूको एक तत्व बन्छन्। यसैले मानिसहरूको मुक्ति र तिनीहरूले आफ्ना कर्तव्यहरू कसरी पूरा गर्छन्, तिनीहरूले त्यो राम्ररी गर्न सक्छन् कि सक्दैनन्, र तिनीहरूले त्यो पर्याप्त रूपमा गर्न सक्छन् कि सक्दैनन् भन्ने कुराको बीचमा एउटा ठूलो सम्बन्ध हुन्छ। तँ परमेश्‍वरको घरको हिस्सा बनेको हुनाले र तैँले उहाँको आदेश स्वीकार गरेको हुनाले, अब तँसँग एउटा कर्तव्य छ। यो कर्तव्य तैँले कसरी पूरा गर्नुपर्छ त्यो तैँले भन्ने कुरा होइन; यो परमेश्‍वरले भन्नुहुने कुरा हो, र यो सत्यताको मापदण्डहरूद्वारा तय गरिने कुरा हो। त्यसकारण, परमेश्‍वरले काम-कुराहरूको नाप कसरी गर्नुहुन्छ भन्‍ने कुरालाई मानिसहरूले बुझ्नुपर्छ र त्यसबारेमा स्पष्ट हुनुपर्छ—यो खोजी गर्न योग्य कुरा हो। परमेश्‍वरको काममा, फरक-फरक मानिसहरूले फरक-फरक कर्तव्यहरू पाउँछन्। अर्थात्, मानिसहरूले तिनीहरूका वरदानहरू, क्षमताहरू, उमेर, अवस्था र युगहरूको आधारमा कर्तव्यहरू प्राप्त गर्छन्। तँलाई जुनसुकै कर्तव्य दिइए पनि, र त्यो तैँले जुनै युग वा परिस्थितिहरूमा प्राप्त गरे पनि, कर्तव्य भनेको कर्तव्य नै हो; यो व्यक्तिले व्यवस्थापन गर्ने कुरा होइन। अन्त्यमा, परमेश्‍वरले तँलाई दिनुहुने मापदण्ड भनेको तैँले तेरा कर्तव्य पर्याप्त रूपमा पूरा गर्नुपर्छ भन्ने हो। यो “पर्याप्त” शब्दलाई कसरी व्याख्या गरिनुपर्छ? यसको अर्थ के हो भने, तैँले परमेश्‍वरका सर्तहरू पूरा गर्नुपर्छ र उहाँलाई सन्तुष्ट पार्नुपर्छ, र तेरो कामलाई परमेश्‍वरले पर्याप्त भन्नुपर्छ र उहाँले स्वीकृतिमा शिर हल्लाउनुपर्छ; तब मात्र तैँले आफ्नो कर्तव्यलाई पर्याप्त रूपमा पूरा गरेको हुन्छस्। यदि परमेश्‍वरले तेरो काम पर्याप्त छैन भनेर भन्नुहुन्छ भने, तैँले आफ्नो कर्तव्य राम्ररी पूरा गरेको हुँदैनस्। तैँले आफ्नो कर्तव्य गरिरहेको भए पनि, र तैँले यो काम गरेको छस् भनेर उहाँले स्वीकार गर्नुभए पनि, यदि तैँले त्यो पर्याप्त रूपमा गर्दैनस् भने त्यसको परिणाम के हुनेछ? गम्भीर मामिलाहरूमा, मानिसहरूको मुक्ति पाउने आशाहरू हराउन सक्छन् र रोकिन सक्छ; कम गम्‍भीर अवस्थाहरूमा, तिनीहरू आफ्नो कर्तव्य पूरा गर्ने अधिकारबाट वञ्चित हुन सक्छन्। त्यस्तो अधिकारबाट वञ्चित भएपछि, केही मानिसहरूलाई पन्साइन्छन्, त्यसपछि तिनीहरूलाई अलग-अलग गरी वास्ता र प्रबन्ध गरिन्छ। के अलग-अलग वास्ता र प्रबन्ध गर्नुको अर्थ तिनीहरूलाई हटाइन्छन् भन्ने हो? निश्चित रूपमा त्यस्तै गरिन्छ भन्ने होइन; परमेश्‍वरले पर्खनुहुन्छ र यी मानिसहरूले कसरी व्यवहार गर्छन् त्यो हेर्नुहुन्छ। यसैले, व्यक्तिले आफ्नो कर्तव्य कसरी पूरा गर्छ त्यो नै निर्णायक हुन्छ। मानिसहरूले यस विषयमा बुद्धिमानीसाथ व्यवहार गर्नुपर्छ र यसलाई गम्भीरतासाथ लिनुपर्छ, अनि यसलाई तिनीहरूको जीवनको प्रवेश र तिनीहरूले प्राप्त गर्ने मुक्तिको निम्ति ठूलो महत्त्वको कुरा मान्नुपर्छ; तिनीहरूले यसलाई लापरवाहीपूर्वक लिनु हुँदैन।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “कर्तव्यको पर्याप्त कार्य-सम्पदान भनेको के हो?”

परमेश्‍वरमा विश्‍वास गर्ने सबैले उहाँको इच्छालाई बुझ्नुपर्छ। जस-जसले आफ्ना कर्तव्यहरू राम्ररी पूरा गर्छन् उनीहरूले मात्र परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्छन्, र उहाँले उनीहरूलाई सुम्पनुभएको काम पूरा गरेर मात्र व्यक्तिले आफ्‍नो कर्तव्य सन्तोषजनक रूपले पूरा गर्न सक्छ। परमेश्‍वरको आज्ञा पूरा गर्नका निम्ति मापदण्डहरू छन्। प्रभु येशूले भन्नुभयो: प्रभु येशूले भन्नुभयो, “तैँले परमप्रभु आफ्ना परमेश्‍वरलाई आफ्नो सम्पूर्ण हृदयले, आफ्नो सम्पूर्ण प्राणले, आफ्नो सम्पूर्ण मानले प्रेम गर्नू।” परमेश्‍वरलाई प्रेम गर्नु उहाँले मानिसहरूबाट माग गर्नुहुने कुरामध्ये एउटा कुरा हो। वास्तवमा, जबसम्म परमेश्‍वरले मानिसहरूलाई आज्ञा सुम्पनुभएको हुन्छ, र जबसम्म उनीहरूले उहाँमाथि विश्‍वास गर्छन् र आफ्‍नो कर्तव्य पूरा गर्दछन्, उहाँले उनीहरूबाट माग गर्नुभएका मापदण्डहरू यिनै हुन्: उनीहरूले आफ्नो सारा हृदयले, आफ्‍नो सारा प्राणले र आफ्‍नो सारा मनले र आफ्‍नो सारा शक्तिले काम गरून्। यदि तँ उपस्थित छस्, तर तेरो हृदय उपस्थित छैन भने—यदि तेरो मनको स्मरणशक्ति र विचारहरू उपस्थित छन्, तर तेरो हृदय उपस्थित छैन भने—र यदि तैँले आफ्नै क्षमताहरूले कामहरू पूरा गर्दैछस् भने, के तैँले परमेश्‍वरको आज्ञा पूरा गरिरहेको हुन्छस्? त्यसो भए, परमेश्‍वरको आज्ञा पूरा गर्न, र आफ्नो कर्तव्य वफादारीसाथ र राम्रोसँग सम्पन्न गर्नका लागि कुन मापदण्ड पूरा गर्नुपर्दछ? त्यो भनेको तेरो सारा हृदयले, तेरो सारा प्राणले, तेरो सारा मनले र तेरो सारा शक्तिले तेरो कर्तव्य गर्नु हो। यदि तैँले परमेश्‍वरप्रति प्रेमको हृदयविना आफ्नो कर्तव्य पूरा गर्ने कोसिस गर्छस् भने, त्यसले काम गर्नेछैन। यदि परमेश्‍वरप्रतिको तेरो प्रेम अझ बलियो र अझ सच्‍चा भएर बढ्छ भने, तैँले स्वाभाविक रूपमा तेरो सारा हृदयले, तेरो सारा प्राणले, तेरो सारा मनले र तेरो सारा शक्तिले आफ्नो कर्तव्य पूरा गर्न सक्नेछस्।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “मानिसहरू जिउनका निम्ति वास्तवमा कुन कुरामा भर पर्दैआएका छन्”

तैँले जुनसुकै कर्तव्य पूरा गरे पनि, तैँले सधैँ परमेश्‍वरको इच्छा बुझ्ने र तेरो कर्तव्यको सम्बन्धमा उहाँका मागहरू के-के हुन् हो सो बुझ्ने कोसिस गर्नुपर्दछ; तब मात्र तैँले मामलाहरूलाई सैद्धान्तिक रूपले सम्हाल्न सक्नेछस्। तेरो कर्तव्य पूरा गर्दा, तँ आफ्‍ना व्यक्तिगत रुचिहरू अनुसार, तँलाई जे मन लाग्छ त्यो अनुसार गर्न, तँलाई जे गर्न खुसी र सजिलो लाग्छ वा जुन कुराले तँलाई राम्रो देखाउँछ त्यो गर्दै अगि बढ्न सक्दैनस्। यदि तैँले जबरजस्ती परमेश्‍वरमाथि तेरा आफ्ना व्यक्तिगत रुचिहरू लाद्छस् वा तिनलाई सत्यतालाई जस्तो गरी अभ्यास गर्छस्, तिनलाई सत्य सिद्धान्तहरू जस्तो गरी पालन गर्छस् भने, त्यो तेरो कर्तव्य पूरा गरेको हुँदैन, र यसरी पूरा गरिएको कर्तव्यलाई परमेश्‍वरले सम्झनुहुन्न। कतिपय मानिसहरूले सत्यतालाई बुझ्दैनन्, र तिनीहरूले आफ्ना कर्तव्यहरू राम्रोसँग पूरा गर्नु भनेको के हो सो जान्दैनन्। तिनीहरू आफूले त्यसमा आफ्नो हृदय र प्रयास लगाएका छन्, तिनीहरूका देहलाई त्यागेका र दु:ख भोगेका छन्, त्यसकारण तिनीहरूले गरेका कर्तव्य पूर्ति मापदण्डअनुसार भएको छ भन्‍ने ठान्छन्—तर त्यसो हो भने किन परमेश्‍वर सधैँ असन्तुष्ट हुनुहुन्छ? यी मानिसहरूले कहाँ गल्ती गरेका छन्? परमेश्‍वरका मागहरूलाई नखोजेर तिनीहरूका आफ्नै विचारअनुसार काम गर्नु नै तिनीहरूको गल्ती थियो; तिनीहरूले आफ्नै चाहनाहरू, रुचिहरू, र स्वार्थी उद्देश्यहरूलाई सत्यताको रूपमा लिए, र ती कुरालाई तिनीहरूले परमेश्‍वरले मन पराउनुभएको जस्तो, ती उहाँका मापदण्डहरू र आवश्यकताहरू हुन् जस्तो व्यवहार गरे। तिनीहरूले जे सत्य, असल र सुन्दर भनेर विश्‍वास गरेका थिए त्यो नै सत्य हो भन्‍ने देखे; यो गलत हो। वास्तवमा, यदि मानिसहरूले कहिलेकहीँ कुनै कुरा सही छ र त्यो सत्यतासँग मेल खान्छ भनी सोचे पनि, त्यसको अर्थ त्यो परमेश्‍वरको इच्छासँग मेल खान्छ भन्ने हुँदैन। मानिसहरूले कुनै कुरा सही छ भनेर जति धेरै सोच्छन्, तिनीहरू उत्ति नै बढी सतर्क हुनुपर्छ र तिनीहरूले सोचिरहेका कुराहरूले परमेश्‍वरका मागहरू पूरा गर्छ कि गर्दैन भनी अझ बढी सत्यको खोजी गर्नुपर्छ। यदि त्यो उहाँका सर्तहरूको र उहाँका वचनहरूको विपरीत जान्छ भने तैँले त्यो सही छ भनी सोच्नु गल्ती हुन्छ, त्यो एक मानवीय विचार मात्र हो, र तैँले त्यसलाई जति नै सही हो भन्‍ने ठाने पनि त्यो सत्यतासँग मेल खाँदैन। सही र गलत सम्‍बन्धी तेरो निर्धारण पूर्ण रूपमा परमेश्‍वरका वचनहरूमा आधारित हुनुपर्दछ, र तैँले कुनै कुरालाई जत्ति नै सही सम्झे पनि त्यसको आधार परमेश्‍वरको वचनमा छैन भने तैँले त्यसलाई त्यागिदिनुपर्छ। कर्तव्य के हो? यो परमेश्‍वरले मानिसहरूलाई सुम्पनुभएको एउटा आज्ञा हो। त्यसो भए तैँले आफ्नो दायित्व कसरी पूरा गर्नुपर्छ? परमेश्‍वरका मागहरू र मापदण्डहरू अनुसार काम गरेर, अनि तेरो व्यवहारलाई मानवीय व्यक्तिगत चाहनाहरूको साटो सत्य सिद्धान्तहरूमा आधारित गरेर। यसरी, आफ्नो कर्तव्य पूरा गर्ने तेरो काम मापदण्ड अनुरूप हुनेछ।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “सत्य सिद्धान्तहरूको खोजी गरेर मात्र व्यक्तिले आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सक्छ”

तैँले आफ्नो कर्तव्य पूरा गर्ने क्रममा, तैँले सिद्धान्तअनुसार काम गरिरहेको छस् कि छैनस्, कर्तव्य पूरा गर्ने तेरो कार्य मापदण्ड अनुसारको छ कि छैन, तैँले त्यो लापरवाही ढङ्गले गरिरहेको छस् कि छैनस्, तैँले आफ्नो जिम्मेवारीबाट भाग्ने कोसिस गरेको छस् कि छैनस्, तेरो आचरण र सोच-विचारको तरिकामा कुनै समस्याहरू छन् कि छैनन् सो हेर्न तैँले आफूलाई सधैँ जाँच्नुपर्छ। तैँले आत्म-चिन्तन गरेर यी कुराहरू तँलाई स्पष्ट भइसकेपछि, तँलाई आफ्नो कर्तव्य पूरा गर्न सजिलो हुनेछ। तैँले आफ्नो कर्तव्य पूरा गरिरहेको बेला जुनसुकै कुराको सामना गर्न परे पनि—नकारात्मकता र कमजोरी, वा निराकरणपछि खराब मनस्थितिमा भए पनि—तैँले त्यसलाई उचित व्यवहार गर्नुपर्दछ, र तैँले सत्यको खोजी गर्नुपर्दछ र परमेश्‍वरको इच्छा बुझ्नुपर्छ। यी कुराहरू गरेर, तैँले अभ्यास गर्ने मार्ग पाउनेछस्। यदि तैँले राम्ररी आफ्नो कर्तव्य पूरा गर्न चाहन्छस् भने, तँ आफ्नो मनस्थितिद्वारा प्रभावित हुनु हुँदैन। तैँले जति नै नकारात्मक वा कमजोर महसुस गरिरहेको भए पनि, तैँले गर्ने सबै कुरामा तैँले पूर्ण कडाइका साथ, र सिद्धान्तहरूमा रहेर सत्यको अभ्यास गर्नुपर्दछ। यदि तँ यसो गर्छस् भने, अन्य मानिसहरूले तँलाई स्वीकार मात्र गर्नेछैनन्, तर परमेश्‍वरले पनि तँलाई मन पराउनुहुनेछ। त्यसरी नै, तँ यस्तो व्यक्ति हुनेछस् जो जिम्मेवार हुन्छ, र जसले आफ्नो काँधमा बोझ लिन्छ; तँ सच्‍चा रूपमा असल व्यक्ति हुनेछस्, जसले वास्तवमा मापदण्ड अनुसार आफ्ना कर्तव्यहरू पूरा गर्दछ र जो एक सच्‍चा व्यक्तिको स्वरूप लिएर पूर्ण रूपमा जिउँछ। त्यस्ता मानिसहरू शुद्ध पारिएका हुन्छन् र आफ्ना कर्तव्यहरू पूरा गर्दा वास्तविक रूपान्तरण हासिल गर्छन्, र तिनीहरूलाई परमेश्‍वर नजरमा इमानदार भन्न सकिन्छ। केवल इमानदार मानिसहरू मात्र सत्यको अभ्यासमा दृढ रहन र सिद्धान्तको साथ काम गर्न सफल हुन सक्छन्, र मापदण्डअनुसार आफ्ना कर्तव्यहरू पूरा गर्न सक्छन्। सिद्धान्तसहित काम गर्ने मानिसहरू राम्रो मनस्थितिमा हुँदा आफ्ना कर्तव्यहरू सावधानीपूर्वक गर्छन्; तिनीहरू लापरवाही तरिकाले काम गर्दैनन्, तिनीहरू अहङ्कारी हुँदैनन्, र अरूले तिनीहरूलाई ठूलो सम्झून् भनी आफ्‍नो धाक लगाउँदैनन्। तापनि, तिनीहरू खराब मनस्थितिमा हुँदा आफ्ना दैनिक कार्यहरू उत्तिकै गम्भीरता र जिम्मेवारीका साथ पूरा गर्छन्, र तिनीहरूका जिम्मेवारीहरू पूरा गर्न वाधा दिने वा तिनीहरूलाई केही दबाब दिने वा तिनीहरूले आफ्ना कर्तव्यहरू पूरा गर्दा बाधा उत्पन्न गर्ने कुरा भेटे भने पनि तिनीहरू परमेश्‍वरको सामु आफ्ना हृदयलाई शान्त पार्न सक्छन् र यस भन्दै प्रार्थना गर्न सक्छन्, “मेरो विरुद्धमा जति नै ठूलो समस्या आइपरे पनि—यदि आकाशहरू नै खस्यो भने पनि—जबसम्म परमेश्‍वरले मलाई जीवित रहन दिनुहुन्छ, म मेरो जिम्मेवारी पूरा गर्नको लागि सक्दो गर्न प्रतिबद्ध छु। मलाई जिउन दिइने प्रत्येक दिन नै मैले मेरो कर्तव्य पूरा गर्न कठिन परिश्रम गर्ने दिन हो, यसैले कि परमेश्‍वरले मलाई दिनुभएको यो कर्तव्य, साथै उहाँले मेरो शरीरमा हालिदिनुभएको यो सासको योग्य बन्न सकूँ। जतिसुकै कठिनाइमा परे पनि म यी सबैलाई पन्छ्याउनेछु, किनकि मेरो कर्तव्य पूरा गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो!” कुनै व्यक्ति, घटना, थोक, वा वातावरणबाट प्रभावित नहुने मानिसहरू, कुनै मनस्थिति वा बाहिरी परिस्थितिद्वारा नियन्त्रित नहुनेहरू, र जसले परमेश्‍वरले सुम्पिनुभएका तिनीहरूका कर्तव्यहरू र आदेशहरूलाई सबैभन्दा पहिले स्थानमा राख्छन्—तिनीहरू त्यस्ता मानिसहरू हुन् जो परमेश्‍वरप्रति बफादार हुन्छन् र जो सच्‍चा रूपमा उहाँको अधीनमा बस्छन्। यस्ता मानिसहरूले जीवनमा प्रवेश पाएका हुन्छन् र सत्य वास्तविकतामा प्रवेश गरेका हुन्छन्। सत्यतामा जिउनुको सबैभन्दा व्यावहारिक र वास्तविक अभिव्यक्ति यही हो।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “आफ्‍नो कर्तव्य पूरा गरेको अनुभवद्वारा नै जीवन प्रवेशको सुरुवात हुनुपर्छ”

लापरवाह र बेहोसी रूपमा कर्तव्य पालना गर्नु एउटा स्पष्ट, आम समस्या हो, तर समाधान गर्नलाई यो एकदमै जिद्दी र मुस्किल समस्या हो। पहिले आफ्नो काममा गम्भीर, कठोर, उत्तरदायी, इमानदार, र व्यावहारिक बन्, र बिस्तारै तर निरन्तर अघि बढेर दौड जित्। कि त काम गर्दै नगर् कि त राम्रोसँग गर्, यसरी गर् कि त्यसबाट तँ सन्तुष्ट हुन सक्, र त्यस कामले आदर्शको मापदण्ड पूरा गरोस्। अझै राम्रो त, त्यो कामको सिद्धान्तहरूलाई खोजी गर्न र तिनै सिद्धान्तहरूअनुरूप त्यो काम पूरा गर्न सक्। यसको लागि थप प्रयत्न आवश्यक पर्ने भए पनि, र तैँले केही छाक खाना र केही मनोरञ्जनात्मक क्रियाकलाप छुटाउन सक्‍ने भए पनि, त्यो कामलाई राम्रोसँग गर्, लापरवाही नगरी वा बेहोसी नभई गर्—र यदि तैँले त्यो कामलाई बुझ्दैनस् भने, बुझेको बहाना नगर्, बरु तेरो आफ्नो बुझाइले भ्याएसम्म गर्। के लापरवाहीपन र बेहोसीपनलाई सजिलैसँग समाधान गर्न सकिन्छ त? हरेक दिन, तैँले आफ्नो कर्तव्य निर्वाह गर्न सुरु गर्नुअघि, परमेश्‍वरलाई प्रार्थना गर्। भन्: “परमेश्‍वर, म मेरो कर्तव्य निर्वाह गर्न सुरु गर्दैछु। यदि म लापरवाही र झारा टार्ने शैलीको छु भने, म बिन्ती गर्छु, तपाईं मलाई अनुशासनमा राख्नुहोस् र मेरो हृदयमा मलाई गाली गर्नुहोस्। म यो पनि बिन्ती गर्छु, तपाईं मलाई राम्रोसँग कर्तव्य निर्वाह गर्नमा र लापरवाही नगर्न र बेहोसी नबन्‍नमा डोर्‍याउनुहोस्।” हरेक दिन यस शैलीमा अभ्यास गर् अनि लापरवाही र बेहोसी शैलीमा कर्तव्य पालना गर्ने समस्यालाई समाधान गर्न कति लामो समय लाग्छ, तँ कर्तव्य पालनामा कमभन्दा कम लापरवाही र बेहोसी हुन, तँलाई कमभन्दा कम अशुद्धताको मिसावट, झन्-झन् राम्रो व्यावहारिक नतिजा, र झन्-झन् उत्तम कौशलताका साथ उक्त काम गर्न कति लामो समय लाग्छ, हेर्। लापरवाही नगरी र बेहोसी नभई आफ्नो कर्तव्य पालना गर्नु—के तैँले यो काम आफ्नै प्रयासमा गर्न सक्छस्? के यो तैँले आफ्नै प्रयासमा नियन्त्रण गर्न सक्ने कुरा हो? (यसलाई नियन्त्रण गर्न त्यति सजिलो छैन।) यो झन्झटिलो छ। यदि यो साँच्चै नै नियन्त्रण गर्न गाह्रो छ भने, तिमीहरूका समस्याहरू वास्तवमै ठूला छन्! त्यसोभए, तिमीहरूले लापरवाही नगरी र बेहोसी नभई के गर्न सक्छौ त? खान? खेल्न? लुगा लगाउन र शृङ्गारपटार गर्न? जब केही महिलाहरूले आफ्नो शृङ्गारपटार गर्छन्, तिनीहरूले आफ्नो आँखीभौँ वा टाउकोको एउटा रौँ पनि छुटाउँदैनन्। यदि तिमीहरूले त्यस्तो विवेकशील आचरणका साथ कार्य गर्‍यौ भने, तिमीहरू यसरी लापरवाही वा बेहोसी नबन्न सक्थ्यौ। पहिले लापरवाहीपन र बेहोसी प्रवृत्तिको समस्यालाई समाधान गर, त्यसपछि आफ्नै इच्छाअनुसार कार्य गर्ने समस्याको समाधान गर। व्यक्तिले आफ्नै इच्छाअनुसार कार्य गर्ने समस्या पनि आम समस्याको रूपमा रहेको छ, र यसलाई पनि आफै चिन्न सजिलो छ। कहिलेकाहीँ, आफ्नो दिमाग र सोचविचारको सरसरती जाँच गरेर, तैँले यसलाई पहिचान गरेर यसो भन्न सक्नेछस्: “मैले जे गरिरहेको छु त्यो मेरो आफ्नै इच्छाअनुरूप छ। मैले सिद्धान्तहरूअनुसार के गरिरहेको हुनुपर्छ भन्‍ने मलाई थाहा छ, तर मैले त्यसो गरिरहेको छैन।” के यो कुरा पहिचान गर्न सजिलो छैन र? (यो सजिलो छ।) त्यसो भए, यो समाधान गर्न सकिने छ। पहिले यी दुई समस्याहरूतर्फ ध्यान देओ, पहिलो लापरवाही र बेहोसीको समस्यालाई समाधान गर्ने, अनि अर्कोचाहिँ आफ्नै इच्छाअनुसार काम गर्ने समस्या समाधान गर्ने। एक वा दुई वर्षसम्म आफूले गर्ने हरेक कार्यमा लापरवाही गर्ने, बेहोसीमा काम गर्ने, आफ्नै इच्छाअनुसार काम गर्ने नगर, अर्थात्, आफ्नो व्यक्तिगत इच्छाको मिसावटविना काम गर। यी दुई समस्या समाधान भएपछि, तिमीहरू सन्तोषजनक रूपमा आफ्‍नो कर्तव्य निर्वाह गर्नबाट त्यति टाढा हुनेछैनौ। अनि यदि तिमीहरूले यी समस्याहरूलाई समाधान गर्न सक्दैनौ भने, तिमीहरू अझै पनि परमेश्‍वरको आज्ञापालन गर्नबाट वा उहाँको इच्छाको बारेमा उचित रूपमा विचार गर्नबाट धेरै टाढा हुनेछौ। तिमीहरू त्यसको छेउछाउ पनि पुगेका हुँदैनौ।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “झूटा अगुवाहरूको पहिचान (५)”

तैँले जस्तोसुकै प्रकारको कर्तव्य पूरा गरिरहेको भए पनि वा जस्तोसुकै व्यावसायिक सीप अध्ययन गरिरहेको भए पनि, समय बित्दै गएपछि तँ यसमा असल हुँदै जानेछस्। यदि तैँले सुधार हुने प्रयास गरिरहिस् भने, यसमा तँ झन्-झन् पोख्त हुँदै जानेछस्। यदि तैँले कुनै पनि कुरालाई गम्‍भीरताको साथ लिँदैनस् भने, तैँले सिकेका कुराहरू समेत व्यर्थ हुनेछन्। यदित तैँले आफूले प्रयोग गर्न सक्‍ने कुराहरूलाई समेत गम्‍भीरताको साथ लिँदैनस् र तिनको परिणाम के हुनेछ भन्‍ने बारेमा तँलाई थाहै छैन, र तँलाई अगुवाइ गर्न जान्‍ने कोही पनि छैन भने, तैँले कहिल्यै कुनै प्रगति गर्नेछैनस्, र तैँले सिकेका सीपहरू व्यर्थ हुनेछन्। कुनै पनि कुरा सिक्‍ने क्रममा, त्यसको सिद्धान्त सिक्‍नु सहज हुन्छ, तर त्यसलाई अभ्यास गर्न सहज हुँदैन। यदि तँ सिद्धान्तलाई अभ्यास गर्न, त्यसपछि तेरा सामर्थ्यहरूको राम्रो फाइदा उठाउँदै, वा अभ्यासमा सिकेका कुराहरूलाई कार्यान्वयन गर्दै र परिणामहरू हासिल गर्दै अभ्यासको जगबाट केही कुरा हासिल गरेर अझै माथि जान चाहन्छस् भने, तैँले के गर्नुपर्छ त? तैँले धेरैभन्दा धेरै समय व्यावसायिक सीपहरू अध्ययन गर्दै र तीसँग सम्‍बन्धित सबै किसिमका सामग्रीहरूको खोजी गर्दै बिताउनुपर्छ; तिनका सबै पक्षहरूमा, तैँले निरन्तर अध्ययन गर्नुपर्छ, निरन्तर अनुसन्धान गर्नुपर्छ, अरूका सबल पक्षद्वारा तेरा कमजोरीहरूलाई सुधार गर्नुपर्छ, अनि यस क्रममा अरूबाट तैँले के सिक्‍नुपर्छ भन्ने कुरा पनि सिक्नुपर्छ। यसरी, तेरो व्यावसायिक सीपहरू अटुट रूपमा सुधार हुनेछन्। जब तँलाई कसैले कुनै कुरा कसरी गर्ने भनेर बताउँछ, तैँले बुझ्‍ने प्रयास गर्नुपर्छ र यसको बारेमा गहन विचार गर्नुपर्छ। यदि कसैले तँलाई केही कुरा बताउँदा, तिनीहरूले के भनिरहेका छन् तँलाई थाहा छ र यो काम गर्ने सही तरिका हो भन्‍ने स्वीकार गर्छस्, तर त्यसपछि तैँले यसको बारेमा केही समय विचार गर्छस् र मनमनै “लगभग सही हो” भनेर भन्छस् भने, तँसँग कस्तो प्रकारको मनोवृत्ति छ? चाहे त्यो व्यावसायिक सीप र विशेषज्ञताप्रति होस् वा तेरो विश्‍वासमा तेरो सत्यताको खोजी होस्, तेरो मनोवृत्ति खराब छ—यो झारातिरुवा मनोवृत्ति हो। यो कस्तो किसिमको स्वभाव हो? यो अहङ्कार हो, यो सकारात्मक कुराहरूलाई प्रेम गर्नु होइन, यो कठोरता हो। के तिमीहरूमा यस्ता कुराहरू प्रकट हुन्छन्? (हुन्छन्।) के ती बारम्‍बार प्रकट हुन्छन् कि कहिलेकहीँ वा निश्‍चित मामलाहरूमा मात्रै प्रकट हुन्छन्? (बारम्बार हुन्छन्।) यस प्रकारको स्वभावलाई स्वीकार गर्ने कार्यप्रतिको तिमीहरूको मनोवृत्ति निकै इमानदार र सच्‍चा छ, तर स्वीकार गर्नु मात्रै भने पर्याप्त हुँदैन; तिमीहरूले स्वीकार गर्नेबाहेक अरू केही पनि गर्दैनौ भने, परिवर्तन असम्‍भव हुन्छ। त्यसो भए, तिमीहरू कसरी परिवर्तन हुन सक्छौ त? जब मानिसहरूमा अहङ्कारी स्वभाव प्रकट हुन्छ, र मानिसहरूको मनोवृत्ति झारा टार्ने, भनेको नमान्‍ने, र जथाभाबी काम गर्ने किसिमको हुन्छ, तब तिनीहरूले निश्‍चित रूपमा परमेश्‍वरको सामुन्ने आएर तुरुन्तै प्रार्थना गर्नुपर्छ, अनि परमेश्‍वरको निराकरण र अनुशासनमा आफूलाई समर्पित गर्नुपर्छ, परमेश्‍वरको छानबिन साथै परमेश्‍वरको अनुशासनलाई स्वीकार गर्नुपर्छ; यति मात्र होइन, तिनीहरूको स्वभावको यो पक्ष कसरी पैदा हुन्छ र यसलाई कसरी परिवर्तन गर्नुपर्छ भन्‍ने कुरालाई तिनीहरूले पहिचान गर्नुपर्छ। जान्‍नुको उद्देश्य भनेको परिवर्तन हो। त्यसो भए, त्यस्तो परिवर्तन कसरी हासिल गर्न सकिन्छ त? पहिलो चरण के हुनुपर्छ त? मानिसहरूले सुरुमा प्रार्थना गर्नुपर्छ, तिनीहरू सुरुमा परमेश्‍वरको सामुन्ने आउनुपर्छ, परमेश्‍वरको छानबिन स्वीकार गर्नुपर्छ, र उहाँको अनुशासनलाई स्वीकार गर्नुपर्छ, त्यसपछि तिनीहरूले सक्रिय रूपमा सहकार्य गर्नुपर्छ। तिनीहरूले कसरी सहकार्य गर्नुपर्छ त? जब तिनीहरूले आफ्‍नो कर्तव्य पूरा गरिरहेका हुन्छन्, तिनीहरूले आफूलाई मनमनै “लगभग सही हो” भनेर सोचिरहेको पाउनेबित्तिकै, आफूलाई सच्याउनुपर्छ र त्यसरी विचार गर्नु हुँदैन। जब तेरो हृदयमा अहङ्कारी स्वभाव पैदा हुन्छ, तब तैँले धिक्कारको अनुभूति अर्थात् परमेश्‍वरको तिरस्कार र ताडनाको अनुभूति गर्नुपर्छ; तँ तुरुन्तै परिवर्तन हुनुपर्छ: “मैले भर्खरै गल्ती गरेँ। मैले फेरि पनि, भ्रष्ट, शैतानी स्वभाव प्रकट गर्न लागेको थिएँ; शैतानी स्वभावद्वारा निर्देशित हुन; शैतानलाई शक्ति हातमा लिन दिन; झारातिरुवा हुन लागेको थिएँ। मलाई अनुशासनमा राखिनुपर्छ!” यदि तैँले धिक्कारको अनुभूति गरिस् भने, तैँले परमेश्‍वरको अघि आफ्‍ना पापहरूलाई स्वीकार गर्नुपर्छ र आफूलाई परिवर्तन गर्नुपर्छ। तैँले आफ्‍ना पापहरूलाई कसरी स्वीकार गर्नुपर्छ त? गम्‍भीर मनोवृत्ति देखाउने र घुँडा टेक्‍ने, लम्पसार पर्ने, र परमेश्‍वरलाई प्रार्थना गर्ने कार्य आवश्यक पर्दैन। त्यसो गर्नु अनावश्यक हुन्छ। तैँले आफ्‍नो हृदयमा यसो भन्दै परमेश्‍वरसँग कुराकानी गर्नुपर्छ, “हे परमेश्‍वर, म गलत थिएँ, म फेरि पनि लापरवाही र झारातिरुवा हुन लागेको थिएँ। बिन्ती गर्छु, मलाई अवलोकन गर्नुहोस्; मेरो भ्रष्ट स्वभावले ममाथि हक जमाएको वा मलाई शासन गरेको म चाहन्‍नँ। म परमेश्‍वरद्वारा हुकुम गरिन चाहन्छु, र म सत्यताअनुसार अभ्यास गर्न चाहन्छु। म बिन्ती गर्छु, मलाई अवलोकन गर्नुहोस्।” यदि तैँले यसरी प्रार्थना गरिस् भने, तँभित्रको स्थिति परिवर्तन हुनेछ। तेरो स्थितिलाई परिवर्तन गर्नुको उद्देश्य के हो त? यसको अर्थ तँलाई सफलतापूर्वक परिवर्तन हुने तुल्याउनु, तँलाई निष्ठावान, आज्ञाकारी, र परमेश्‍वरको गाली र अनुशासनमा कुनै सम्झौता नगरीकन स्वीकार गर्ने तुल्याउनु हो। तैँले यसरी नै आफूलाई पूर्ण रूपमा परिवर्तन गर्नेछस्। जब तँ फेरि पनि झारातिरुवा बन्‍न लागेको हुन्छस्, जब तँ फेरि पनि आफ्‍नो कर्तव्यलाई हल्‍कासँग लिन चाहन्छस्, तब तँले परमेश्‍वरको अनुशासन र गालीको कारण तुरुन्तै आफूलाई परिवर्तन गर्न सक्‍नेछस्—अनि के तँ त्यसरी आफ्‍नो लापरवाहीपनबाट बच्‍नेछैनस् र? के तेरो अपराधबाट तैँले छुटकारा पाउनेछैनस् र? यो असल कुरा हो कि खराब कुरा हो त? यो असल कुरा हो।

कहिलेकहीँ, कुनै काम पूरा गरेपछि, तैँले हृदयमा अलिक असहज महसुस गर्छस्। नजिकबाट निरीक्षण गर्दा, तैँले त्यसमा वास्तवमा समस्या भएको पाउँछस्। त्यसलाई सुधार गरिनुपर्छ, अनि तैँले सहजता अनुभूति गर्नेछस्। तेरो असहजताले एउटा समस्या विद्यमान छ भन्‍ने प्रमाणित गर्छ जसको लागि तैँले थप समय बिताउनुपर्छ र जसलाई तैँले अझै बढी ध्यान दिनुपर्छ। यो आफ्‍नो कर्तव्यलाई पूरा गर्ने कार्यप्रतिको गम्भीर, जिम्‍मेवार मनोवृत्ति हो। जब व्यक्ति गम्भीर, जिम्‍मेवार, समर्पित, र मेहनती व्यक्ति बन्‍न सक्छ, तब उचित तरिकाले काम पूरा हुनेछ। कहिलेकहीँ, तँसँग त्यस्तो हृदय हुँदैन, र तैँले दिनको उज्यालोजस्तो स्पष्ट रूपमा समस्या पत्ता लगाउन वा भेट्टाउन सक्दैनस्। यदि व्यक्तिसँग त्यस्तो हृदय हुन्थ्यो भने, पवित्र आत्‍माको प्रोत्साहन र अगुवाइद्वारा, तिनीहरूले समस्या पहिचान गर्न सक्नेथिए। यदि पवित्र आत्‍माले तँलाई अगुवाइ गर्नुभयो र कुनै न कुनै गल्ती भएको छ भन्‍ने भाव दिँदै तँलाई चेतना दिनुभयो, तैपनि तँसँग त्यस्तो हृदय छैन भने, तैँले अझै पनि समस्यालाई पहिचान गर्न सक्दैनस्। त्यसो भए, यसले के देखाउँछ त? यसले के देखाउँछ भने मानिसहरूले सहकार्य गर्नु अत्यन्तै महत्त्वपूर्ण छ; तिनीहरूको हृदय अत्यन्तै महत्त्वपूर्ण छ, र तिनीहरूले आफ्‍ना विचार र अभिप्रायहरू कता लगाउँछन् त्यो अत्यन्तै महत्त्वपूर्ण छ। मानिसहरूले आफ्‍नो कर्तव्य पूरा गर्ने क्रममा आफ्‍नो हृदयमा के राख्छन्, र तिनीहरूले कति शक्ति लगाउँछन् सो परमेश्‍वरले छानबिन गर्नुहुन्छ र देख्‍न सक्‍नुहुन्छ। मानिसहरूले आफूले गर्ने कार्यमा तिनीहरूको सारा हृदय र शक्ति लगाउनु निकै महत्त्वपूर्ण छ। सहकार्य पनि निकै महत्त्वपूर्ण तत्व हो। यदि मानिसहरूले आफूले पूरा गरेका कर्तव्यहरू र आफूले गरेका कुराहरूमा कुनै पछुतो नगर्ने, र परमेश्‍वरको निम्ति ऋणी नबन्‍ने प्रयास गरे भने मात्रै, तिनीहरूले आफ्‍नो सम्पूर्ण हृदय र शक्तिले काम गरिरहेका हुन्छन्। यदि आज, तैँले तेरो सारा हृदय र शक्ति लगाउँदैनस् भने, जब पछि कुनै गलत कुरा आइपर्छ, र दुष्परिणामहरू देखिन्छन्, के त्यो बेला पछुताउनको लागि ढिलो भइसकेको हुनेछैन र? तँ सधैँको लागि ऋणी हुनेछस्; यो तेरो निम्ति कलङ्क हुनेछ! व्यक्तिको कर्तव्य प्रदर्शनमा कलङ्क हुनु भनेको अपराध हो। त्यसकारण, तैँले गर्नैपर्ने र गर्ने कुराहरूलाई तेरो सारा हृदय र शक्तिले उचित रूपमा गर्ने प्रयास गर्नुपर्छ। त्यस्ता कुराहरूलाई लापरवाही वा झारातिरुवा शैलीमा गर्नु हुँदैन; तँसँग कुनै पनि पछुतो हुनु हुँदैन। यसरी, तैँले यो बेला गरेका कर्तव्यहरूलाई परमेश्‍वरले स्मरण गर्नुहुनेछ। परमेश्‍वरले स्मरण गर्नुहुने कुराहरू असल कार्य हुन्। त्यसो भए, स्मरण नगरिने कुराहरू के-के हुन् त? ती अपराधहरू हुन्। यदि वर्तमानमा तिनको बारेमा यसरी व्याख्या गरियो भने मानिसहरूले ती दुष्ट कार्यहरू हुन् भनेर स्वीकार नगर्न सक्छन्, तर यदि यी कुराहरूको गम्‍भीर परिणामहरू देखा पर्ने दिन आयो, र ती नकरात्मक प्रभाव बने भने, यी कुराहरू व्यवहारगत अपराध मात्रै होइनन्, ती दुष्ट कार्यहरू नै हुन् भन्‍ने तैँले थाहा पाउनेछस्। जब तैँले यस्तो महसुस गर्छस्, तँलाई पछुतो हुनेछ, र तैँले मनमनै विचार गर्नेछस्: मैले अलिकति होसियारी अपनाएको भए हुनेथियो! अलिकति बढी सोचेको र प्रयास गरेको भए, मलाई यो समस्या हुनेथिएन। तेरो हृदयबाट यो अनन्त कलङ्कलाई कुनै कुराले पनि हटाउन सक्‍नेछैन, र यदि यसले तँलाई स्थायी रूपमा ऋणी तुल्यायो भने समस्या हुनेछ। त्यसकारण, तैँले आफ्‍नो कर्तव्य पूरा गर्दा, वा आज्ञा स्वीकार गर्दा, हरेकपटक तैँले आफ्‍नो सारा शक्ति र सारा हृदयले त्यो काम गर्ने प्रयास गर्नुपर्छ। तैँले त्यो काम आफूलाई ग्लानि र पछुतो नहुने गरी गर्नुपर्छ, ताकि यसलाई परमेश्‍वरले स्मरण गर्न सक्‍नुहोस्, र यो असल काम बन्‍न सकोस्। आधा मन लगाएर लापरवाही र झारातिरुवा शैलीमा काम नगर्; तँ पछुताउनेछस्, र गरिसकेको गल्तीलाई सुधार्न सक्‍नेछैनस्। यो अपराध बन्‍नेछ, र अन्तिममा, तेरो हृदयमा, ग्लानि, ऋणी भावना, र दोषारोपण हुनेछ। यी दुईमध्ये कुन मार्ग उत्तम छ? कुन मार्ग सही मार्ग हो? आफ्‍नो कर्तव्य आफ्‍नो सारा हृदय र शक्तिले पूरा गर्नु, र कुनै पनि पछुतो नहुने गरी असल कार्यहरू गर्ने तयारी गर्नु र त्यस्ता कार्यहरू बढाउनु। तेरा अपराधहरूलाई बढ्न नदे, तिनको बारेमा पछुतो हुने, र त्यसप्रति ऋणी भावना आउन दिने काम नगर्। व्यक्तिले धेरै अपराध गरेको छ भने के हुन्छ? तिनीहरूले परमेश्‍वरको उपस्थितिमा तिनीहरूमाथि उहाँको क्रोध ल्याइरहेका हुन्छन्! यदि तैँले अझै बढी अपराध गर्छस् भने, र तँप्रतिको परमेश्‍वरको क्रोध अझै बढ्दै गयो भने, अन्तिममा तँलाई दण्ड हुनेछ।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “आफ्‍नो कर्तव्य पूरा गर्दा लापरवाह बन्ने र झारा टार्ने समस्यालाई कसरी समाधान गर्ने”

जब मानिसहरूले आफ्‍नो कर्तव्य पूरा गर्छन्, तब तिनीहरूले वास्तवमा आफूले जे गर्नुपर्ने हो त्यही गरिरहेका हुन्छन्। तर यदि तैँले यो कार्य परमेश्‍वरको अघि गर्छस् भने, यदि तैँले आफ्‍नो कर्तव्य इमानदारिताको मनोवृत्तिसहित र हृदयबाटै गर्छस् भने, के यो मनोवृत्ति धेरै नै सही हुँदैन र? त्यसो भए, तैँले यो मनोवृत्तिलाई कसरी तेरो दैनिक जीवनमा लागू गर्नुपर्छ त? तैँले “परमेश्‍वरलाई हृदय र इमानदारिताका साथ आराधना गर्ने” कार्यलाई तेरो वास्तविकता बनाउनुपर्छ। जब-जब तँ सुस्त हुन र झारा टार्न चाहन्छस्, जब-जब तँ अल्याङटल्याङ गर्न र अल्छी बन्‍न चाहन्छस्, र जब-जब तैँले आफैलाई अलमलाउने अवसर दिन्छस्, तैँले यो विचार गर्नुपर्छ: “यस्तो व्यवहार गर्दा, के म अविश्‍वसनीय भइरहेको छु? के यसले मेरो हृदयलाई कर्तव्य पूरा गर्नमा लगाइरहेको छ? के यसो गरेर म निष्ठाहीन भइरहेको छु? यसो गरेर, के म परमेश्‍वरले मलाई सुम्‍पनुभएको कार्यभार पूरा गर्नमा खरो उत्रन असफल भइरहेको छु?” तैँले यसरी नै आफ्‍नो बारेमा मनन गर्नुपर्छ। तैँले त्यस्तो व्यवहार गर्नु निष्ठावान होइन, र यसले परमेश्‍वरलाई चोट पुर्‍याउँछ भने, तब तैँले के गर्नुपर्छ? तैँले यसो भन्‍नुपर्छ, “मैले यसलाई गम्‍भीरताको साथ लिएको छैन। त्यो बेला, मलाई एउटा समस्या छ भन्‍ने लागेको थियो, तर मैले यसलाई गम्‍भीर रूपमा लिइनँ; मैले यसलाई लापरवाही रूपमा लिएँ। जब-जब कुनै समस्या छ भन्‍ने मलाई लाग्थ्यो, मैले यसलाई बेवास्ता गर्थेँ। अब यो समस्यालाई अझै पनि समाधान गरिएको छैन। म साँच्‍चै खराब व्यक्ति हुँ!” तैँले समस्यालाई पहिचान गरेको र आफैलाई अलिक बढी चिनेको हुनेछस्। के थोरै ज्ञान काफी हुन्छ त? के तेरो पापहरू स्वीकार गर्नु पर्याप्त हुन्छ त? तैँले पश्‍चात्ताप गरेर आफूलाई पूर्ण रूपमा परिवर्तन गर्नुपर्छ! अनि तैँले आफूलाई कसरी पूर्ण रूपमा परिवर्तन गर्न सक्छस् त? पहिले, आफ्‍नो कर्तव्य पूरा गर्नेबारेमा तेरो गलत मनोवृत्ति र मानसिकता थियो, तैँले यसमा आफ्‍नो हृदय लगाएको थिइनस्, र तँ कहिल्यै पनि सही कुराहरूमा लागिपरेको थिइनस्। आज, तैँले आफ्‍नो मनोवृत्तिलाई कर्तव्य राम्ररी पूरा गर्नेतर्फ केन्द्रित गर्नुपर्छ, तैँले परमेश्‍वरको अघि प्रार्थना गर्नुपर्छ, र जब तँमा तेरा पहिलेका विचार र मनोवृत्तिहरू आउँछन्, तैँले परमेश्‍वरलाई आफूलाई अनुशासन र ताडना दिनहुन अनुरोध गर्नुपर्छ। तैँले कुन-कुन क्षेत्रहरूमा हतारमा र झारा टार्न काम गर्थिस् छिटो गरेर त्यसलाई पहिचान गर्। तैँले तिनलाई कसरी सुधार गर्न सक्छस् त्यसको बारेमा विचार गर्, र त्यसलाई सुधार गरिसकेपछि, फेरि खोजी गर्, र प्रार्थना गर्, अनि तैँले सही काम गरेको छस् भन्‍ने कुरामा सबै जना सहमत नहुञ्‍जेलसम्म तेरा दाजुभाइ-दिदीबहिनीहरूलाई यस विषयमा तिनीहरूसँग कुनै राम्रो सुझाव र सल्‍लाह छन् कि सोध्। तब मात्रै तँलाई मान्यता दिइनेछ। यसपटक तैँले मापदण्डकै स्तरमा आफ्‍नो कर्तव्य पूरा गरेको छस् र तैँले आफ्‍नो सक्दो गरेको छस्, अनि यो काम तेरो हृदयदेखि नै गरेको छस्, र तैँले यसमा दिलोज्यान दिएको छस् भन्‍ने महसुस गर्नेछस्; तैँले आफूले गर्न सक्‍ने जति गरेको छस्, कुनै पछुतो गर्नुपर्दैन भन्‍ने महसुस गर्नेछस्। परमेश्‍वरको अघि लेखा दिँदा, तेरो विवेक सफा हुनेछ, र तैँले भन्‍नेछस्, “परमेश्‍वरले मेरो कर्तव्यको निम्ति ६०% मात्रै अङ्क दिनसक्‍नुहुने भए पनि, मैले मेरो शरीरको हरेक सामर्थ्य यसको लागि दिएको छु, मैले यसमा मेरो सम्पूर्ण हृदय दिएको छु, म अल्छी भइनँ, मैले अल्याङ्टल्याङ गर्ने प्रयास गरिनँ, र मैले कुनै कसर बाँकी राखिनँ।” के यो तेरो कर्तव्यमा तेरो सम्पूर्ण हृदय, सम्पूर्ण मन, र सम्पूर्ण शक्ति लगाउनुको वास्तविकताहरूलाई लिएर तिनलाई तेरो दैनिक जीवनमा लागू गर्नु होइन र? के यो सत्यताका यी वास्तविकताहरूमा जिउनु होइन र? अनि यी वास्तविकताहरूमा जिउँदा तैँले आफ्‍नो हृदयमा के महसुस गर्छस्? के तँलाई तँ केही मानव आभासका साथ जिइरहेको छस्, र तँ अबउप्रान्त जिउँदो लास होइनस् भन्‍ने लाग्दैन?

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “सत्यतालाई बारम्बार मनन गर्दा मार्ग आउँछ”

सत्यतालाई अभ्यास गर्नेहरूले काम-कुराहरू गर्ने क्रममा परमेश्‍वरको छानबिनलाई स्वीकार गर्न सक्दछन्। जब तैँले परमेश्‍वरको छानबिनलाई स्वीकार गर्छस्, तेरो हृदयलाई सोझो तुल्याइन्छ। यदि तँ अरूलाई देखाउनका लागि मात्र काम गर्छस् भने, र परमेश्‍वरको छानबिनलाई स्वीकार्दैनस् भने, के परमेश्‍वर अझै पनि तेरो हृदयमा हुनुहुन्छ? यस्ता व्यक्तिहरूमा परमेश्‍वरको निम्ति कुनै आदर हुँदैन। सधैँ तेरो आफ्नै खातिर मात्र काम नगर् र निरन्तर आफ्नै हितको मात्र विचार नगर्; तेरो आफ्नो कद, इज्जत वा प्रतिष्ठालाई मात्र विचार नगर्। साथै मानिसहरूको चासोमा पनि ध्यान नदे। तैंले पहिले परमेश्‍वरको घरको हितको बारेमा सोच्नुपर्छ, र त्यसलाई तेरो पहिलो प्राथमिकता बनाउनु आवश्यक हुन्छ। तैँले परमेश्‍वरको इच्छालाई ध्यान दिनुपर्छ र तँ आफ्नो कर्तव्य पूरा गर्ने कार्यमा अशुद्ध भएको छस् कि, तैंले बफादार हुने सक्दो कोसिस गरेको छस् कि छैनस्, तेरा जिम्मेवारीहरू पूरा गर्न सक्दो प्रयास गरेको छस् कि छैनस् र तँसँग भएका सबै कुराहरू दिएको छस् कि छैनस्, साथै तैंले परमेश्‍वरको घरप्रतिको आफ्नो कर्तव्य र कामका लागि सम्पूर्ण हृदयले ध्यान दिएको छस् कि छैनस् भनी विचार गरेर यो काम सुरु गर्नुपर्छ। तैंले यी कुराहरूलाई ध्यान दिनुपर्छ। तिनको बारेमा बारम्बार विचार गर्, र यसरी तँलाई आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न सजिलो हुनेछ। यदि तँ थोरै क्षमता, सतही अनुभव भएको व्यक्ति होस् भने वा तेरो व्यावसायिक काममा निपुण छैनस् भने, तेरो काममा केही गल्ती वा कमजोरीहरू हुन सक्छन्, र त्यसका परिणामहरू धेरै राम्रो नहुन सक्छ—तर तैंले आफ्नो सक्दो प्रयास लगाएको हुन्छस्। जब तैँले आफूले गर्ने कामहरूमा आफ्नै स्वार्थी चाहनाहरूको बारेमा सोचिरहेको हुँदैनस् वा आफ्नै हितको बारेमा विचार गरिरहेको हुँदैनस्, तर त्यसको साटो मनमा निरन्तर परमेश्‍वरको घरको हितहरूलाई ध्यान दिइरहेको छस्, र तेरो कर्तव्य राम्ररी पूरा गरिरहेको छस् भने, तैँले परमेश्‍वरको सामु असल कार्यहरू जम्मा गरिरहेको हुनेछस्। यस्ता असल कार्यहरू गर्ने मानिसहरू सत्यता भएका मानिसहरू हुन्; त्यसरी नै, उनीहरूले गवाही धारण गरेका हुन्छन्।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “परमेश्‍वरलाई आफ्नो साँचो हृदय देओ, अनि तिमीहरूले सत्यता प्राप्त गर्नेछौ”

कर्तव्य पूरा गर्दा पर्याप्तता प्राप्त गर्नको लागि, सबैभन्दा पहिले त्यसको प्रस्तुतिमा सामञ्जस्यपूर्ण सहकार्य प्राप्त गर्नु आवश्यक हुन्छ। अहिले यस दिशामा अभ्यास गर्नेहरू केही छन्, यसको अर्थ यही हो कि सत्यता सुनेपछि तिनीहरूले यो सिद्धान्तअनुसार काम गर्न थालेका छन्, तापनि तिनीहरू सत्यतालाई पूर्ण रूपमा, सत प्रतिशत व्यवहारमा लागू गर्न भने असमर्थ हुन्छन्। यस प्रक्रियामा, तिनीहरू असफल वा कमजोर हुन सक्छन्, र दायाँबायाँ जान सक्छन्, र बारम्बार गल्तीहरू गर्न सक्छन्, तापनि तिनीहरू हिँड्ने बाटो यस सिद्धान्त अनुसार काम गर्न सक्ने हुनलाई कोसिस गर्ने बाटो हो। उदाहरणको लागि, कहिलेकहीँ तैँले काम गर्ने तरिका नै तँलाई सही छ जस्तो लाग्न सक्छ भने, यदि कुराकानीले तेरो हातमा भएको कामलाई ढिलाई गर्नेछैन भने, तेरा सहकर्मीहरू वा समूहका सदस्यहरूसँग त्यसको बारेमा कुराकानी पनि गर्न सक्छस्। त्यस विषयमा तँ स्पष्ट नहुञ्जेल, कुनै निश्‍चित तरिकाले काम गर्दा सर्वोत्तम परिणाम प्राप्त हुन्छ, त्यसले सिद्धान्तको क्षेत्रलाई नाघ्दैन, त्यो परमेश्‍वरको घरको फाइदाका निम्ति हुन्छ, र परमेश्‍वरको घरका हितहरूको सुरक्षाको बढाउन सक्छ भन्ने सहमतिमा नपुगुञ्‍जेल सङ्गति गर्। तापनि, अन्तिम परिणाम कहिलेकहीँ चाहेको भन्दा केही कम भए पनि तेरो कामको तरिका, दिशा, र लक्ष्य सही हुन्छन्। त्यसो भए, परमेश्‍वरले यसलाई कसरी हेर्नुहुनेछ? उहाँले यो मामिलालाई कसरी परिभाषित गर्नुहुनेछ? तैँले यो कर्तव्य पर्याप्त रूपमा पूरा गर्दैछस् भनी उहाँले भन्नुहुनेछ।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “कर्तव्यको पर्याप्त कार्य-सम्पदान भनेको के हो?”

तेरो कर्तव्य पर्याप्त रूपमा पूरा गर्नका निम्ति, तैँले परमेश्‍वरमा कति वर्षदेखि विश्‍वास गरेको छस्, तैँले आफ्नो कर्तव्यमा कतिसम्म गरेको छस् भन्ने कुराको कुनै महत्त्व हुँदैन, न त तैँले परमेश्‍वरको घरमा कति योगदान दिएको छस् भन्ने कुराको नै महत्त्व हुन्छ, तँ आफ्नो कर्तव्यमा कतिको अनुभवी छस् भन्ने कुरा त परै जाओस्। परमेश्‍वरले हेर्नुहुने मुख्य कुरा भनेको, व्यक्तिले कुन बाटो लिन्छ भन्ने तथ्य हो। अर्को शब्दमा, उहाँले सत्यताप्रतिको व्यक्तिको आचरण र व्यक्तिका कार्यहरूको पछाडि रहेका सिद्धान्तहरू, दिशा, मूल र प्रेरक शक्तिलाई हेर्नुहुन्छ। परमेश्‍वरले यी कुराहरूमा ध्यान केन्द्रित गर्नुहुन्छ; तिनै कुराहरूले तँ हिँड्ने बाटो निर्धारित गर्छन्। यदि, तेरो कर्तव्य पूरा गर्ने क्रममा, तँमा यी कुराहरू पटक्कै देखिँदैनन् भने, र तेरो कामको मूल तेरा आफ्नै विचारहरू हुन्, तेरो प्रेरक शक्ति तेरो आफ्नै हितको रक्षा गर्नु र तेरो इज्जत र ओहदा बचाउनु हो, तेरो काम गर्ने शैली एकलै निर्णयहरू लिनु अनि काम गर्नु र अन्तिम निर्णय गर्नु, काम-कुराहरूको विषयमा अरूसँग कहिल्यै छलफल नगर्नु वा सामञ्जस्य रूपमा सहकार्य नगर्नु, सत्यताको खोजी गर्ने कुरा त गर्दै नगर्नु हो भने, परमेश्‍वरले तँलाई कसरी हेर्नुहुनेछ? यदि तैँले यसरी आफ्नो कर्तव्य पूरा गर्छस् भने, तँ मापदण्डमा पुगेको छैनस्; तैँले सत्यताको पछि लाग्ने मार्गमा पाइला टेकेको छैनस्, किनकि तैँले आफ्‍नो काम गर्दा, तँ सत्यता सिद्धान्तको खोजी गर्दैनस् र सधैँ आफ्नो इच्छाअनुसार काम गर्छस्। यही कारणले गर्दा धेरै जना मानिसहरूले आफ्नो कर्तव्य सन्तोषजनक ढङ्गले गर्दैनन्। यसलाई अहिले हेर्दा, के आफ्‍नो कर्तव्य पर्याप्त रूपमा पूरा गर्न कठिन छ? वास्तवमा, यो कठिन छैन; मानिसहरूले नम्र भएर मात्रै लागिपर्न सक्‍नुपर्छ, तिनीहरूमा थोरै चेतना हुनुपर्छ, र तिनीहरूले उचित स्थान अबलम्‍बन गर्नुपर्छ। तैँले आफूलाई जति नै शिक्षित ठाने पनि, तैँले जे-जस्ता पुरस्कारहरू जितेको भए पनि, वा तैँले जति धेरै कुरा हासिल गरेको भए पनि, र तेरो क्षमता र ओहोदा जति उच्‍च छ भन्‍ने तँलाई लागे पनि, तैँले यी सबै कुराहरूलाई त्यागेर काम सुरु गर्नुपर्छ—ती कुराको कुनै मूल्य हुँदैन। परमेश्‍वरको घरमा, यी कुराहरू जति ठूलो र असल भए पनि, ती सत्यताभन्दा उच्‍च हुन सक्दैनन्; तिनीहरू सत्यता होइनन्, र तिनले सत्यताको स्थान लिन सक्दैनन्। त्यही कारणले त तँमा चेतना हुनुपर्छ भनेर म भन्छु। यदि तँ “म वरदानप्राप्त छु, मेरो दिमाग तेजिलो छ, मेरो प्रतिक्रिया क्षमता शीघ्र छ, म चाँडो सिक्‍न सक्‍ने व्यक्ति हुँ, र मेरो स्मरण शक्ति अत्यन्तै राम्रो छ” भनेर भन्छस्, र तैँले सधैँ यी कुराहरूलाई पूँजीको रूपमा प्रयोग गर्छस् भने, यसले समस्या पैदा गर्नेछ। यदि तैँले यी कुराहरूलाई सत्यताको रूपमा वा सत्यताभन्दा पनि उच्‍च रूपमा हेर्छस् भने, सत्यतालाई स्वीकार गर्न र त्यसलाई अभ्यास गर्न तँलाई कठिन हुनेछ। सधैँ आफूलाई उच्‍च ठान्दै काम गर्ने अहङ्कारी, घमण्डी मानिसहरूलाई सत्यता स्वीकार गर्न कठिन हुन्छ र तिनीहरू असफल हुने सम्‍भावना धेरै हुन्छ। यदि व्यक्तिले आफ्‍नो अहङ्कारको समस्यालाई समाधान गर्न सक्छ भने, उसलाई सत्यता अभ्यास गर्न सहज हुनेछ। यसर्थ, तैँले सुरुमा बाहिरी रूपमा असल र उत्कृष्ट देखिने र अरूको डाह जगाउने यस्ता कुराहरूलाई त्याग्‍नु र इन्कार गर्नुपर्छ। ती कुराहरू सत्यता होइनन्; बरु, तिनले तँलाई सत्यतामा प्रवेश गर्नबाट रोक्‍न सक्छन्। अहिले गर्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको सत्यताको खोजी गर्नु हो, सत्यता अनुरूप अभ्यास गर्नु र तेरो कर्तव्य पर्याप्त मात्रामा पूरा गर्नु हो, किनकि पर्याप्त रूपमा कर्तव्य पूरा गर्नु नै जीवनमा प्रवेश गर्ने मार्गमा पहिलो कदम हो, अर्थात् यो एउटा सुरुआत हो। प्रत्येक मामिलामा, एउटा मूलभूत, आधारभूत कुरा हुन्छ, तेरो खुट्टालाई ढोकामा पुऱ्याउने कुरा हुन्छ, र तेरो कर्तव्य पर्याप्त रूपमा पूरा गर्नु भनेको एउटा यस्तो मार्ग हो जसले तँलाई जीवनमा प्रवेश गर्ने ढोकाबाट भएर लैजानेछ। यदि तेरो कर्तव्य पूरा गराइमा यो “पर्याप्तता” समावेश छैन भने, तैँले आफैलाई परिश्रममा लगाउनुपर्छ। तैँले कसरी आफैलाई परिश्रममा लगाउनुपर्छ? यसको अर्थ तैँले तेरो चरित्र परिवर्तन गर्नुपर्छ वा तेरा वरदानहरू र व्यावसायिक क्षमताहरू त्याग्नुपर्छ भन्ने होइन; तैँले आफ्नो कर्तव्य पूरा गर्दा यी क्षमताहरू र तैँले सिकेका कुराहरू आफ्नो साथमा राख्‍न सक्छस्, यसको साथसाथै सत्यताको खोजी गर्न र सत्य सिद्धान्त अनुसार कार्य गर्न सक्छस्। यदि तैँले आफ्नो कर्तव्य पूरा गरिरहँदा जीवनको प्रवेश प्राप्त गरिस् भने, तैँले पर्‍याप्त रूपमा आफ्नो कर्तव्य पूरा गर्न सक्छस्।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “कर्तव्यको पर्याप्त कार्य-सम्पदान भनेको के हो?”

कार्यहरूको सकारात्मक पक्षमा भन्दा, तेरो कर्तव्य पूरा गर्ने क्रममा, तैँले जस्तोसुकै परिस्थितिको सामना गर्नु परे पनि हरेस नखाई, तैँले आफ्नो कर्तव्यलाई सही प्रकारले लिन सक्छस्। यदि सबैले विश्‍वास गर्न र आफ्ना कर्तव्यहरू पूरा गर्न छोडे भने पनि, तँ हार नमानी अगाडि बढिरहन सक्छस्। अर्थात्, तँ सुरुदेखि अन्त्यसम्मै दृढ रहन अनि अन्त्यसम्मै समर्पित हुँदै आफ्नो कर्तव्य त्याग्नबाट जोगिन सक्छस्; यसरी तैँले आफ्नो कर्तव्यलाई साँच्चै एउटा कर्तव्यको रूपमा लिएको हुन्छस्। यदि तैँले यो हासिल गर्न सक्छस् भने, तैँले आफ्नो कर्तव्य प्रस्तुतिमा आधारभूत रूपमा पर्याप्तता हासिल गरेको हुन्छस्। कामहरूको सकारात्मक पक्ष यही हो। तापनि कामहरूको नकारात्मक पक्षमा भन्दा, यो पर्‍याप्तता हासिल गर्नुभन्दा अघि, मानिसहरूले सबै किसिमका परीक्षाहरूको सामना गर्नैपर्छ। यदि, आफ्नो कर्तव्य पूरा गर्ने क्रममा, व्यक्तिले परीक्षाहरूको सामना गर्न सकेको छैन र आफ्नो कर्तव्य त्यागेको छ, त्यसप्रति पिठिउँ फर्काएको छ भने, के अझै पनि मुक्तिसँग उसको कुनै सम्बन्ध हुन्छ? त्यस व्यक्तिका निम्ति सबै आशा हराएको हुनेछ, र पर्याप्त वा अपर्याप्त हुनु पूर्ण रूपमा अप्रासंगिक हुनेछ; मुक्तिसित उसको कुनै सम्बन्ध हुनेछैन। त्यसकारण, व्यक्ति आफ्नो कर्तव्यमा अटल भएर बस्नुपर्छ। त्यसो गर्नका निम्ति सबैभन्दा पहिले, सबैले सामना गर्ने सबैभन्दा ठूलो कठिनाइ भनेको परीक्षाहरूको सामना गर्नु पर्दा त्यो व्यक्ति दह्रो भएर खडा हुन सक्छ कि सक्दैन भन्ने हो। परीक्षाहरू कस्ता-कस्ता किसिमका छन्? पैसा, प्रतिष्ठा, विपरीत लिङ्गको व्यक्तिसँगका सम्बन्धहरू, भावनाहरू। अरू के? यदि कुनै कर्तव्यहरूका निम्ति थोरै जोखिम उठाउनुपर्छ, वा त्यसमा जीवनलाई जोखिममा पार्ने किसिमका कुराहरू छन् भने, र त्यसो गर्दा तँ झ्यालखानमा पर्छस् वा मर्नुपर्छ भने के तँ अझै पनि त्यो कार्य गर्छस्? तँ ती कसरी गर्छस्? यस्ता सबै कुराहरू परीक्षाहरू हुन्। के यी परीक्षाहरू पार गर्न सजिलो छन् कि छैनन्? ती सबैका निम्ति तँ सत्यताको पछि लाग्नुपर्छ। सत्यताको खोजी गर्ने प्रक्रियामा, तैँले सामना गरिरहेका यी सबै परीक्षाहरूका बीचमा, तैँले क्रमिक रूपमा भेदशक्ति प्रयोग गर्न र ज्ञान प्राप्त गर्न सक्नुपर्छ। तिनीहरूको सार पहिचान गर्नुपर्छ, तिनीहरूको वास्तविक रङ्गहरू बुझ्नुपर्छ, र तेरो आफ्नै सार र भ्रष्ट स्वभावहरूलाई जान्नुपर्छ; तेरा आफ्नै कमजोरीहरू थाहा पाउनुपर्छ, र परमेश्‍वरले तँलाई रक्षा गर्नुभएको होस् र ती परीक्षाहरूको सामना गर्न सक्ने बनाउनुभएको होस् भनी बारम्बार बिन्ती गर्नुपर्छ। यदि तँ तिनको सामना गर्न सक्छस्, र आफूलाई जस्तै परिस्थितिमा पाउँदा पनि आफ्नो कर्तव्यमा दृढ रहन सक्छस् भने, न त त्यसप्रति पिठिउँ फर्काउँछस्, न भाग्छस् भने तैँले मुक्ति पाउने आधा बाटो हिँडिसकेको हुनेछस्। के यो आधा बाटोको चिह्नसम्म पुग्नु सजिलो छ? तैँले चाल्ने हरेक कदममा सम्भावित खतराहरू हुन्छन्; त्यो बाटो खतराले भरिएको हुन्छ। यो सजिलो छैन! त्यसो भए, के यस्ता कोही मानिसहरू छन् जसले यो कति गाह्रो छ भन्‍ने एक पटक हेर्छन् अनि जीवन अति थकाइलाग्दो छ, र मर्नु नै राम्रो हुनेछ भनी विचार गर्छन्? तिनीहरू आशिषहरू पाउन चाहन्छन्, तर तिनीहरू कष्ट भोग्न चाहँदैनन्। तिनीहरू कस्ता किसिमका मानिसहरू हुन्? तिनीहरू कायर, कुनै काम नलाग्नेहरू हुन्। तिनीहरूका कर्तव्यहरू कसरी पर्याप्त रूपमा पूरा गर्ने भन्ने विषयमा, पर्याप्तताको परिभाषा के हो, पर्याप्तताका मापदण्ड के-के हुन्, परमेश्‍वरले पर्याप्तताको यो मापदण्ड दिनुका कारणहरू, र व्यक्तिले आफ्नो कर्तव्य र जीवनमा प्रवेश पर्याप्त रूपमा पूरा गर्नु बीचको सम्बन्धको हकमा भन्दा, मानिसहरूले यी कुराहरू बुझिसकेका छन्। यदि तँ समय वा स्थानको परवाह नगरी, हरेस नखाई आफ्‍नो कर्तव्यलाई दह्रिलो गरी पक्रिन सक्‍ने अवस्थामा पुग्‍न सक्छस्, र सबै प्रकारका परीक्षाहरूको सामना गर्न सक्छस्, त्यसपछि परमेश्‍वरले तेरो सामु ल्याउनुहुने सबै किसिमका फरक-फरक परिस्थितिहरूमा उहाँले चाहनुभएका सबै विभिन्न सत्यताहरूलाई बुझ्छस् र तिनको ज्ञान प्राप्त गर्छस् भने, परमेश्‍वरको दृष्टिमा तैँले आधारभूत रूपमा पर्याप्तता प्राप्त गरेको हुन्छस्। तेरो कर्तव्य पूरा गराइमा पर्याप्तता हासिल गर्नका लागि तीनवटा मुख्य तत्त्वहरू छन्: एउटा, तैँले आफ्नो कर्तव्यलाई लिने तेरो आचरण हो, अर्को, कर्तव्य पूरा गर्ने क्रममा सबै किसिमका परीक्षाहरू सामना गर्न सक्ने हुनु हो, र अझै अर्को, तेरो कर्तव्य पूरा गर्दा प्रत्येक सत्यतालाई बुझ्न सक्नु हो।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “कर्तव्यको पर्याप्त कार्य-सम्पदान भनेको के हो?”

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्