आफ्नै बारेमा साँचो ज्ञान भनेको के हो र यसबाट के प्राप्त गर्न सकिन्छ

9 फेब्रुअरी 2022

परमेश्‍वरका प्रासंगिक वचनहरू:

हजारौँ वर्षको भ्रष्‍टतापछि, मानिस सुन्‍न नसक्‍ने र सुस्त भएको छ; ऊ परमेश्‍वरको विरोध गर्ने भूत बनेको छ, यतिसम्म कि परमेश्‍वरप्रति मानिसको विद्रोह इतिहासका पुस्तकहरूमा उल्लेख गरिएका छन्, र मानिस स्वयम पनि आफ्नो विद्रोही आचरणको पूर्ण विवरण दिन असक्षम छ—किनकि मानिस शैतानद्वारा गहन रूपमा भ्रष्‍ट बनाइएको छ, र शैतानले उसलाई अन्यत्र डोर्‍याएको छ, जसले गर्दा आफू कतातिर जानुपर्ने हो भन्‍ने कुरा उसले बिर्सेको छ। आज पनि, मानिसले अझै परमेश्‍वरलाई धोका दिन्छ: जब मानिसले परमेश्‍वरलाई देख्छ, उसले उहाँलाई धोका दिन्छ, र जब उसले परमेश्‍वरलाई देख्दैन, तब पनि उसले उहाँलाई धोका दिन्छ। परमेश्‍वरको श्रापहरू र परमेश्‍वरको क्रोध अनुभव गरेर पनि अझै उहाँलाई धोखा दिनेहरू पनि छन्। त्यसैले म भन्छु कि मानिसको चेतनाले आफ्नो मौलिक कार्यगत गुण नै गुमाएको छ, र मानिसको विवेकले पनि, आफ्नो मौलिक कार्यगत गुण गुमाएको छ। मैले देखेको मानिस मानव भेषमा पशु हो, उ विषालु सर्प हो, र उसले मेरो नजरमा जतिसुकै दयनीय देखिने प्रयत्‍न गरे तापनि, म कहिल्यै पनि उप्रति दयालु बन्‍नेछैन, किनकि मानिससँग कालो र सेतो बीच फरक छुट्याउने, सत्य र असत्य बीच फरक छुट्याउने समझ पनि छैन। मानिसको चेतना सुस्त भएको छ, तैपनि अझै ऊ आशिष्‌हरू प्राप्‍त गर्न चाहन्छ; उसको मानवता यति अज्ञानी भएको छ, तैपनि अझै ऊ राजाको सार्वभौमिकता हासिल गर्न चाहन्छ। यस किसिमको चेतनासँग ऊ कसको राजा बन्‍न सक्छ? यस किसिमको मानवतासँग ऊ कसरी सिंहासनमा बस्‍न सक्छ? मानिससँग साँच्‍चिकै लाज नै छैन! ऊ अहङ्कारी नीच हो! तिमीहरूमध्ये आशिष्‌हरू प्राप्‍त गर्न चाहने व्यक्तिहरूलाई म सुझाव दिन्छु कि सबैभन्दा पहिला एउटा ऐना लिएर आफ्नो कुरूप अनुहार हेर—के तँसँग राजा हुनको निम्ति आवश्यक कुरा छ? के तँसँग आशिष्‌हरू प्राप्‍त गर्ने व्यक्तिको जस्तो अनुहार छ? तेरो स्वभावमा अलिकति पनि परिवर्तन आएको छैन र तैँले कुनै पनि सत्यतालाई अभ्यास गरेको छैनस्, तैपनि अझ तँ सुन्दर भोली, अर्थात् भविष्यको आशा गर्छस्। तैँले आफैलाई भ्रममा पार्दैछस्! यस्तो फोहोरी भूमिमा जन्म लिएर, मानिस समाजद्वारा प्रभावित भएको छ, ऊ सामन्ती नैतिकताहरूबाट प्रभावित बनेको छ, र उसलाई “उच्‍च शिक्षा दिइने” संस्थाहरूमा सिकाइएको छ। पिछडिएको सोच, भ्रष्‍ट नैतिकता, जीवन सम्बन्धी तुच्छ दृष्टिकोण, जीवनयापनको घृणित दर्शनशास्‍त्र, पूर्णतया मूल्यहीन अस्तित्व, र भ्रष्‍ट जीवनशैली र चलनहरू—यी सबै कुराहरू मानिसको हृदयमा गहिरोसँग घुसिसकेको छ, र उसको विवेकलाई गम्भीर रूपमा कमजोर बनाएको छ र आक्रमण गरेको छ। परिणाम स्वरूप, मानिस परमेश्‍वरदेखि अझ धेरै टाढिएको छ, र अझ धेरै उहाँको विरोधी बनेको छ। मानिसको स्वभाव दिनदिनै अझ बढी क्रूर बन्दैछ, र परमेश्‍वरको निम्ति स्वेच्छाले कुनै कुरा त्याग्‍न इच्छुक व्यक्ति एक जना पनि छैन, परमेश्‍वरको आज्ञापालन गर्न इच्छुक व्यक्ति एक जना पनि छैन, न त यसबाहेक, परमेश्‍वरको स्वरूपलाई खोज्‍न इच्छुक व्यक्ति नै छ। बरु, शैतानको क्षेत्र अन्तर्गत रहेर, हिलोको भूमिमा शरीरको भ्रष्टतामा आफैलाई सुम्पँदै, सुख विलासको पछि लाग्ने बाहेक मानिसले अरू केही पनि गर्दैन। अन्धकारमा जिउनेहरूले सत्यतालाई सुनेर पनि त्यसलाई अभ्यासमा लगाउने विचारै गर्दैनन्, न त उहाँको स्वरूपलाई देखेर पनि परमेश्‍वरको खोजी गर्न तिनीहरू बाध्य हुन्छन्। कसरी यति धेरै भ्रष्‍ट मानवजातिले मुक्तिको कुनै मौका हासिल गर्नसक्छ र? यति धेरै पतित मानवजाति कसरी ज्योतिमा जिउन सक्छ र?

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अपरिवर्तित स्वभाव हुनु भनेको परमेश्‍वरसँगको शत्रुतामा हुनु हो

आफैलाई चिन्‍नु भनेको आफ्नो हरेक वचन र कर्मलाई, आफ्नो हरेक चाल र कार्यलाई चिन्‍नु हो; यो आफ्नो मनमस्तिष्क र विचारलाई, आफ्ना अभिप्राय र आफ्ना धारणा र कल्‍पनाहरूलाई जान्‍नु हो; यो संसारबाट आएका आफ्ना जिउने दर्शनहरू, अनि आफूभित्र रहेका शैतानका विभिन्‍न विषाक्त कुराहरू, साथै आफूले स्कुलमा प्राप्त गरेका ज्ञान र शिक्षालाई जान्‍नु समेत हो। यी सबै कुरालाई चिरफार गरिनैपर्छ। परमेश्‍वरमाथिको विश्‍वासमा आएपछि व्यक्तिले धेरै सुकर्म गरेको हुनसक्‍ने भए पनि, धेरै कुरा उसको लागि अझै बुझ्न गाह्रो हुन सक्छ, र तिनीहरूले सत्यतालाई बुझ्‍न सक्‍ने त कुरै नगरे हुन्छ—तैपनि, तिनीहरूको धेरै सुकर्मको कारण, तिनीहरूलाई तिनीहरू पहिले नै परमेश्‍वरका वचनहरूमा जिउन थालिसकेका छन्, र उहाँमा तिनीहरू समर्पित भइसकेका छन्, र उहाँको इच्‍छालाई धेरै सन्तुष्ट पारिसकेका छन् भन्‍ने लाग्छ। यस्तो किन हुन्छ भने जब प्रतिकूल परिस्‍थितिहरू आइपर्छन्, तब तँलाई जे भनिएको छ तँ त्यही गर्छस्; तँलाई कुनै पनि कर्तव्य पूरा गर्नेबारेमा कुनै फिक्री हुँदैन, र तैँले कुनै विरोध गर्दैनस्। जब तँलाई सुसमाचार प्रचार गर्न लगाइन्छ, यो तैँले वहन गर्न सक्‍ने कष्ट हो र तैँले कुनै गुनासो गर्दैनस्, र जब तँलाई यहाँ वा त्यहाँ दगुर्न लगाइन्छ, वा सानोतिनो परिश्रम गर्न लगाइन्छ, तैँले त्यो काम गर्छस्। यी कार्य-प्रदर्शनहरूको कारण, तँलाई के लाग्छ भने परमेश्‍वरमा समर्पित हुने र सत्यताको साँचो विश्‍वासी तँ नै होस्। तैपनि यदि कसैले तँलाई गहन रूपमा, “के तँ इमानदार व्यक्ति होस्? के तँ सच्‍चा रूपमा परमेश्‍वरमा समर्पित हुने व्यक्ति होस्? परिवर्तित स्वभाव भएको व्यक्ति होस्?” भन्दै प्रश्‍न गर्‍यो भने, यस्तो प्रश्‍न गरियो भने, सत्यताको बारेमा सुक्ष्म रूपमा केरकार गरियो भने, तँ अक्क न बक्‍क हुनेथिइस् र सायद सबै नै त्यस्तै हुनेथिए, त्यसो त कुनै पनि व्यक्तिले साँचो रूपमा सत्यताअनुसार अभ्यास गर्न नै सक्दैन। त्यसकारण, जब मानिसका सबै चाल र कार्यहरूको जड, साथै उसका कार्यहरूका सार र प्रकृतिलाई सत्यतासँग दाँजिन्छ, तब सबै दोषी ठहरिन्छन्। यसको कारण के हो त? यसको कारण के हो भने मानिसले आफैलाई चिन्दैन; उसले सधैँ आफ्‍नै तरिकाले परमेश्‍वरमा विश्‍वास गर्छ, आफ्‍नै तरिकाले आफ्‍नो कर्तव्य पूरा गर्छ, र आफ्‍नै तरिकाले परमेश्‍वरको सेवा गर्छ। यति मात्र कहाँ हो र, उसलाई ऊ विश्‍वास र तर्कशक्तिले भरिएको छ भन्‍ने लाग्छ, र अन्त्यमा, उसलाई उसले धेरै कुरा प्राप्त गरेको छ भन्‍ने लाग्छ। उसलाई थाहै नभई, उसलाई उसले पहिले नै परमेश्‍वरको इच्‍छाअनुसार काम गर्न थालिसकेको छ, यसलाई पूर्ण रूपमा पूरा गरेको छ, उसले पहिले नै परमेश्‍वरका मापदण्डहरू पूरा गरिसकेको छ र उसले उहाँको इच्‍छालाई पछ्याइरहेको छ भन्‍ने लाग्छ। यदि तँलाई यस्तै लाग्छ, वा यदि तँलाई परमेश्‍वरमाथिको तेरो धेरै वर्षको विश्‍वासमा, तैँले केही प्राप्तिहरू गरेको छस् भन्‍ने लाग्छ भने, तैँले आफैलाई मनन गर्न परमेश्‍वरको अघि फर्किआउनु झनै बढी आवश्यक छ। तैँले वर्षौंको तेरो विश्‍वासमा हिँडेको मार्गलाई हेर्नुपर्छ र परमेश्‍वरको अघि तैँले गरेका सबै काम र प्रस्तुत गरेका बानीबेहोराहरू पूर्ण रूपमा उहाँको हृदयअनुसारका छन् कि छैनन्, तैँले परमेश्‍वरको विरोध गर्ने के काम गर्छस्, तैँले परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्‍ने के काम गर्छस्, र तैँले गर्ने कार्यले परमेश्‍वरका मापदण्डहरूलाई पुरा गर्छन् कि गर्दैनन् र ती कार्यहरू पूर्ण रूपमा उहाँको इच्‍छाअनुरूप हुन सक्छन् कि सक्दैनन् सो पत्ता लगाउनुपर्छ—तँ यी सबै कुराप्रति स्पष्ट हुनुपर्छ।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “तिम्रा बहकिएका दृष्टिकोणहरू पहिचान गरेर मात्र तिमी आफैलाई चिन्न सक्छौ”

हामीले आफैलाई चिन्‍नु भनेको हाम्रा विचार र दृष्टिकोणमा रहेका के कुराले परमेश्‍वरलाई विरोध गर्छन्, कुन कुरा सत्यताअनुरूप छँदै छैनन्, र कुन कुरामा सत्यता छँदै छैन त्यसलाई जान्‍नु हो। उदाहरणको लागि, मानिसको अहङ्कार, स्व-धार्मिकता, झूट, र छल भनेका भ्रष्ट स्वभावभित्रका पक्षहरू हुन् जसलाई मानिसहरूले सजिलै जान्‍न सक्छन्। सत्यताको बारेमा एकदुईपटक सङ्गति गरेर, वा बारम्‍बार सङ्गति गरेर, वा तेरो स्थितिको बारेमा तेरा दाजुभाइ-दिदीबहिनीहरूले औँल्याएर मात्रै पनि तैँले तिनको बारेमा केही ज्ञान पाउन सक्छस्। यसको साथै, फरक-फरक हदसम्‍म भए पनि हरेकसँग अहङ्कार र छली स्वभाव हुन्छ। तैपनि, मानिसहरूका विचार र दृष्टिकोणहरू चिन्‍नु त्यति सजिलो छैन; ती मानिसहरूका स्वभावलाई जान्‍नु जत्तिको सजिलो छैनन्। यी गहन रूपमा जरा गाडिएका कुराहरू हुन्। त्यसकारण, जब तैँले आफ्‍नो बानीबेहोरा र बाहिरी व्यवहारमा थोरै परिवर्तन हासिल गरेको हुन्छस्, तब तँमा अझै पनि परमेश्‍वरको विरुद्धमा रहेका र तैँले अझै पनि पत्ता लगाउन बाँकी रहेका तेरा सोचविचार, धारणा, दृष्टिकोण, र तैँले प्राप्त गरेको परम्‍परागत संस्कृतिको शिक्षाका विविध पक्षहरू हुन्छन्। हामीलाई परमेश्‍वरप्रति शत्रुताको अवस्थामा लैजाने, गहिरो जरा गाडी बसेका कुराहरू यिनै हुन्। त्यसकारण, जब परमेश्‍वरले तेरा धारणाहरूसँग नमिल्‍ने कुनै कुरा गर्नुहुन्छ, वा परमेश्‍वरले गर्नुहुन्छ भनी तैँले कल्‍पना गरेकोभन्दा फरक कुरा गर्नुहुन्छ, तैँले यसको विरोध गर्छस् र तँ यसको विरुद्धमा जान्छस्। परमेश्‍वरले किन त्यसरी काम गर्नुभयो सो तैँले बुझ्‍नेछैनस्, र, परमेश्‍वरले गर्नुहुने सबै कुरामा सत्यता हुन्छ भन्‍ने तँलाई थाहा भए पनि र तँ समर्पित हुन चाहे पनि, तैँले आफूलाई त्यसो गर्न नसक्‍ने अवस्थामा पाउनेछस्। तँ किन समर्पित हुन सक्दैनस् त? किन त्यस्तो प्रतिरोध र विरोध गर्छस् त? यसको कारण के हो भने, मानिसका विचार र दृष्टिकोणहरूभित्र केही कुरा हुन्छन् जुन परमेश्‍वरप्रति शत्रुवत् हुन्छन्, र ती उहाँले जुन सिद्धान्तहरूअनुसार काम गर्नुहुन्छ तीप्रति र उहाँको सारप्रति शत्रुवत् हुन्छन्। मानिसले यी विचार र दृष्टिकोणहरूलाई जान्‍न कठिन छ।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “तिम्रा बहकिएका दृष्टिकोणहरू पहिचान गरेर मात्र तिमी आफैलाई चिन्न सक्छौ”

आफैलाई जान्‍ने कार्यमा के कुरा हुन्छ त? सबैभन्दा पहिले, तैँले आफ्‍ना बोली-वचन र काममा कस्तो स्वभाव प्रकट गर्छस् सो जान्नुपर्छ। कहिलेकहीँ यो अहङ्कार हुन्छ, कहिलेकहीँ यो धूर्तता हुन्छ, र कहिलेकहीँ यो दुष्टता हुन्छ। यसको साथै, जब तँमाथि समस्याहरू आइपर्छन्, तब तेरा आशयहरू परमेश्‍वरको इच्‍छाअनुसार वा सत्यता अनुसारका छन् कि छैनन् सो तैँले जान्‍नुपर्छ। तैँले आफ्‍नो कर्तव्यप्रतिको तेरो मनोवृत्ति बोझ लिने वा समर्पित हुने किसिमको छ कि छैन, र आफैलाई परमेश्‍वरको निम्ति अर्पण गर्ने कार्यमा तँ इमानदार छस् कि तैँले त्यसलाई कारोबारको हिसाबले लिन्छस् सो कुरा पनि जान्‍नुपर्छ। तैँले परमेश्‍वरप्रति तँसँग लालची मागहरू छन् कि छैनन्, तँसँग समर्पणताको हृदय छ कि छैन, र परमेश्‍वरले योजना गर्नुहुने वातावरण, मानिसहरू, घटनाहरू, र काम-कुराहरूको अघि तैँले सत्यताको खोजी गर्न सक्छस् कि सक्दैनस् त्यो पनि जान्‍नुपर्छ। तँ सत्यतालाई प्रेम गर्ने व्यक्ति होस् कि होइनस्, तँसँग कस्तो प्रकारको मानवता छ, र तँसँग विवेक र तर्क छ कि छैन, तँ समस्याहरूको सामना गर्दा बहाना बनाउने र सौदाबाजी गर्ने स्थितिमा छस् कि सत्यताको खोजी गर्न र आफ्‍ना धारणा र कल्‍पनाहरू, आफ्‍ना महत्वाकांक्षा, इच्‍छा, र योजनाहरूलाई छोड्न सक्‍ने स्थितिमा छस्, र तँ सत्यताको खोजी गर्ने व्यक्ति होस् कि होइनस्, तैँले त्यो पनि जान्‍नुपर्छ। आफैलाई जान्‍नुको अझै अर्को पक्ष भनेको तेरो चरित्रलाई बुझ्‍नु, तँ सीधा व्यक्ति होस् कि होइनस् र तँसँग विवेक र दयालु हृदय छ कि छैन सो जान्‍नु हो। हरेक किसिमको वातावरण, मानिसहरू, घटना, र काम-कुराहरूलाई तैँले गर्ने व्यवहारमा, तैँले तेरो आफ्‍नै चरित्रलाई देख्‍न सक्छस्, र तँ सत्यतालाई प्रेम गर्ने र परमेश्‍वरमा सच्‍चा विश्‍वास गर्ने व्यक्ति होस् कि होइनस् त्यो कुरा जान्‍न सक्छस्। परमेश्‍वरसँग प्रत्यक्ष रूपमा सम्‍बन्धित कुराहरूका विषयमा तेरो मनोवृत्ति कस्तो छ त्यसलाई पनि हेर्: उहाँलाई कसरी उल्‍लेख गरिन्छ, उहाँको नाम, उहाँको देहधारण—के तँ आदर गर्छस् र के तँ समर्पित हुन्छस्? तिमीहरू अरू के छन् भनेर भन्छौ? (हाम्रो क्षमताको मापनलाई बुझ्‍नु।) (जीवनसम्‍बन्धी हाम्रो दृष्टिकोण, हाम्रा मूल्य-मान्यताहरू, र हामी केद्वारा जिउँछौं त्यसलाई बुझ्‍नु। हाम्रो खोजी के हो, हामी कुन मार्गमा हिँडिरहेका छौं सो जान्‍नु।) यी सबै मानिसहरूले बुझ्‍नुपर्ने कुरा हुन्। समग्रमा, आफैलाई हरेक पक्षमा जान्‍नु भनेको आधारभूत रूपमा यही हो: आफ्नो क्षमतालाई जान्‍नु, आफ्नो व्यक्तित्वलाई जान्‍नु, आफूले सत्यतालाई प्रेम गर्छु कि गर्दिन सो जान्‍नु, आफूले हिँडिरहेको मार्गलाई जान्‍नु, जीवनसम्‍बन्धी आफ्नो दृष्टिकोण र आफ्ना मूल्य-मान्यताहरूलाई जान्‍नु, र परमेश्‍वरप्रति तँसँग भएका हरेक प्रकारको मनोवृत्तिलाई जान्‍नु। यी सबै कुरा समावेश हुन्छन्।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “झूटा अगुवाहरूको पहिचान (२)”

यदि तेरो आत्मज्ञानमा सतही कुराहरूलाई हतार-हतार पहिचान गर्ने कार्य मात्र समावेश छ भने—यदि तैँले आफू अहङ्कारी र स्वधर्मी छु र आफूले परमेश्‍वरको विरुद्ध विद्रोह र प्रतिरोध गर्छु भनेर मात्र भन्छस् भने—यो साँचो ज्ञान होइन, यो त धर्मसिद्धान्त हो। तैँले यसमा तथ्यहरूलाई एकट्ठा गर्नुपर्छ: तैँले आफूभित्रका उत्प्रेरणाहरूलाई तँसँग जुन पक्षहरूमा भ्रमपूर्ण दृष्टिकोणहरू वा गलत रायहरू छन् ती पक्षहरूको सन्दर्भमा सङ्गति र चिरफारको लागि खुलस्त पार्नुपर्छ। साँचो रूपमा ज्ञान हुनु भनेको यही हो। तैँले आफ्ना उत्प्रेरणाहरू र तेरो सारका स्रोतहरूलाई जान्ने कार्यमा ध्यान केन्द्रित गर्नुपर्छ। तैँले तेरा कार्यहरूबाट मात्र बुझाइ प्राप्त गर्नु हुँदैन; तैँले यसको मूल तत्वलाई बुझ्नुपर्छ र समस्याको जडलाई समाधान गर्नुपर्छ। समयको एक अवधि बितेर गएपछि, तैँले आफ्‍नै बारेमा चिन्तन गर्नुपर्छ, र तैँले कुन-कुन समस्याहरू समाधान गरिस्, कुन-कुन अझै बाँकी छन् र तिनलाई के-कसरी समाधान गरिनुपर्छ भनी सारांश तयार गर्नुपर्छ। यसै गरी, तैँले सत्यताको पनि खोजी गर्नुपर्छ। तैँले अरूलाई सधैँ तेरो अगुवाइ गर्न लगाउनु हुँदैन; तँसँग जीवन प्रवेशको तेरो आफ्नै बाटो हुनुपर्छ। तैँले बारम्बार आफैलाई जाँच गर्नुपर्छ: तैँले गलत गरिरहेका र सत्यतासँग बाझिएका कुराहरू के-के हुन्, तेरा वचनहरू र उत्प्रेरणाहरूमध्ये कुन-कुन चाहिँ गलत छन्, के-कस्ता स्वभावहरू तैँले प्रकट गरिरहेको छस् भनी जाँच गर्नुपर्छ। यदि तँ निरन्तर यसरी नै प्रवेश गर्छस्, र तैँले आफूले आफैलाई कठोर मापदण्ड दिन्छस् भने, बिस्तारै तर निश्‍चय नै तैँले यसबारेमा झन् बढी बुझाइ प्राप्त गर्नेछस्; अन्त्यमा, यी सबैलाई तैँले जोड्नेछस् र आफू व्यर्थ छु भन्‍ने देख्‍नेछस्। जब तँमा साँच्‍चै यस्तो ज्ञान भएको दिन आउँछ, तब तैँले उप्रान्त अहङ्कार गर्न सक्‍नेछैनस्। अहिले के महत्वपूर्ण छ त? सङ्गति र चिरफारपछि, मानिसहरूले यी कुराहरूको बारेमा थाहा पाउँछन् र यी कुराहरूलाई जान्दछन्, तर तिनीहरूले आफूलाई भने अझै पनि जानेका हुँदैनन्। कतिपय भन्छन्: “मैले कसरी आफैलाई जान्न सकिन? मैले जुन विषयमा अहङ्कार प्रकट गर्छु त्यो त मलाई थाहा छ।” यदि तँलाई थाहा छ भने, तँलाई आफ्नो स्वभाव अहङ्कारी छ भनेर कसरी थाहा हुँदैन र? किन कति पटक तँ व्यक्तिगत वृद्धि-विकासको खोजी गर्छस्, हैसियत र विशिष्टताको चाहना गर्छस्? यसको मतलब तेरो अहङ्कारी प्रकृति निर्मूल भएको छैन! यसर्थ, परिवर्तनको सुरुवात तेरा कार्यहरूपछाडिका उत्प्रेरणा, दृष्टिकोण र रायहरूबाट हुनुपर्छ। मानिसहरूले भन्ने धेरैजसो कुराहरू काँडादार र विषाक्त हुन्छन्, तिनीहरूको बोलीमै अहङ्कारको तत्व हुन्छ भन्‍ने कुरालाई के तँ स्वीकार गर्छस्? तिनीहरूका बोली-वचनमा तिनीहरूका उत्प्रेरणाहरू र व्यक्तिगत रायहरू हुन्छन्; यो कुरा तिनीहरूले जे बोल्छन् त्यसबाट थाहा पाउन सकिन्छ। केही यस्ता व्यक्ति छन् जोसँग अहङ्कार नदेखाउँदा निश्चित प्रकारको बोल्ने र अभिव्यक्ति दिने शैली हुन्छ, तर जब तिनीहरूको अहङ्कार देखा पर्छ तब तिनीहरूको प्रस्तुति बद्लिन्छ—शैतानको कुरूप अनुहार आफै बाहिर आउँछ। हरेक व्यक्तिसँग अभिप्रायहरू हुन्छ। धूर्तहरूलाई नै लिऔं; तिनीहरू बोल्दा सधैँ कानेखुसी गर्छन् र तिनीहरूको आँखाले छड्के हेरिरहेका हुन्छन्; यसभित्र अभिप्राय लुकेको हुन्छ। कतिपय मानिसहरू अरूले नदेखोस्-नसुनोस् झैं गरी सानो स्वरमा बोल्छन्; तिनीहरूका वचनहरूमा गुप्त योजना हुन्छन्, तर तिनीहरूले बोली र अनुहारमा कुनै भाव देखाउँदैनन्। त्यस्ता मानिसहरू अझै बढी धोकेबाज हुन्छन्, र तिनीहरूलाई मुक्ति दिन एकदमै मुस्किल हुन्छ।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “नयाँ युगभित्र कसरी प्रवेश गर्ने”

अब तिमीहरू आफूले प्रकट गर्ने भ्रष्ट स्वभावलाई केही हदसम्म चिन्न सक्ने भएका छौ—जुन भ्रष्ट थोकहरू तिमीहरूले अझै प्रकट गर्ने सम्‍भावना छ, जुन थोकहरू तिमीहरूले अझै गर्ने सम्‍भावना छ। यी सबै कुरा तिमीहरूलाई थाहा छ। तापनि सबैभन्दा कठिन कुरा भनेको आफैलाई नियन्त्रण गर्न सक्नु हो। तैँले कुन कुरा कहिले गर्छस् वा तैँले कुन गम्भीर कुरा गर्न सक्छस् त्यो तँलाई थाहा छैन। सायद तैँले कहिल्यै पनि गर्नेछैनस् भनी सोचेका कुराहरू वा तैँले कहिल्यै पनि बोल्नेछैनस् भनी सोचेका कुराहरू छन्, तर एक विशेष समय वा वातावरणमा, तैँले ती साँच्चै गरिस् र ती कुराहरू बोलिस्। मानिसहरू यी अप्रत्याशित कुराहरू नियन्त्रण गर्न सक्षम हुँदैनन्। यो कसरी हुन सक्छ? किनभने मानिसहरूले आफ्नो प्रकृति र सारलाई पूर्ण रूपमा बुझ्दैनन्; यसबारे उनीहरूको ज्ञान अपर्याप्त रूपमा गहिरो छ, त्यसैले सत्यलाई अभ्यास गर्नका निम्ति उनीहरूले कडा परिश्रम गर्नुपर्ने हुन्छ। उदाहरणको लागि, कतिपय मानिसहरू अति छली, बोलीवचन र काममा अइमानदार हुन्छन्, तापनि यदि तैँले उनीहरूको भ्रष्टता कुन सम्बन्धमा अति गम्भीर छ भनेर सोधिस् भने उनीहरूले भन्नेछन्, “म थोरै छली छु।” उनीहरूले आफू थोरै छली छु भनेर मात्र भन्छन्, तर तिनीहरूले तिनीहरूको प्रकृति आफै छली छ भनेर भन्दैनन्, र तिनीहरू छली व्यक्ति हुन् भनेर तिनीहरूले भन्दैनन्। उनीहरूको आफ्नै प्रकृतिलाई त्यत्ति गहन रूपले हेर्दैनन्, र उनीहरू त्यसलाई एउटा गम्भीर कुराको रूपमा हेर्दैनन्, न त अरूले जस्तो त्यसलाई पूर्ण रूपमा नै हेर्छन्। अरूले यो व्यक्ति अति छली र अति धूर्त छ, उनीहरूको हरेक बोलीवचनमा बेइमान छ, उनीहरूका वचन र काम कहिल्यै इमानदार छैन भन्‍ने देख्छन्—तर उनीहरूले आफैभित्र त्यत्ति गहिरिएर हेर्न सक्दैनन्। उनीहरूमा हुने कुनै पनि ज्ञान केवल सतही हुन्छ। जब-जब उनीहरू बोल्छन् र कार्य गर्छन्, उनीहरूले आफ्नो प्रकृतिमा भएको केही न केही कुरा प्रकट गर्छन्, तापनि उनीहरू त्यसबारे अनजान हुन्छन्। उनीहरू आफूले गरिरहेको कुरामा आफू इमानदार छन् र उसले सत्यताअनुसार काम गरिरहेको छ भनी सोच्दछ। भन्नुको मतलब, मानिसहरूसँग आफ्नै प्रकृतिको बारेमा अति नै सतही बुझाइ हुन्छ, र यो अनि परमेश्‍वरको न्याय र प्रकाशका वचनहरूका बीचमा ठूलो भिन्नता हुन्छ। यो परमेश्‍वरले प्रकट गर्नुहुने कुरामा हुने गल्ती होइन, बरु आफ्नै प्रकृतिको बारेमा मानिसमा रहेको बुझाइको कमी हो। मानिसहरूमा आफ्नै बारेमा आधारभूत वा आवश्यक बुझाइ छैन; यसको सट्टामा, तिनीहरूले आफ्ना कार्यहरू र बाहिरी अभिव्यक्तिहरूमा ध्यान केन्द्रित गर्छन् र आफ्नो सामर्थ्य खर्चन्छन्। यदि कहिलेकहीँ कसैले आफैलाई बुझेको विषयमा केही भन्छ भने पनि त्यो त्यत्ति धेरै गहन हुँदैन। तिनीहरूले यस प्रकारको कार्य गरेकोले वा कुनै कुरा प्रकट गरेको हुनाले, तिनीहरू यस प्रकारको व्यक्ति भएका हुन् वा तिनीहरूमा यस प्रकारको प्रकृति छ भनी कहिल्यै कसैले सोचेको छैन। परमेश्‍वरले मानवजातिको प्रकृति र सार प्रकट गर्नुभएको छ, तर मानिसले तिनीहरूका काम गर्ने र बोल्ने तरिका त्रुटिपूर्ण र दोषपूर्ण छ भनी बुझ्छ; त्यसकारण, मानिसहरूका निम्ति सत्यको अभ्यास गर्नु सबैभन्दा कठिन काम हुन्छ। मानिसहरूले तिनीहरूका गल्तीहरू तिनीहरूको प्रकृतिको प्रकटीकरण नभएर लापरवाहीसाथ प्रकट हुने क्षणिक अभिव्यक्तिहरू मात्रै हुन् भनी सोच्छन्। यसरी विचार गर्ने मानिसहरूले सत्यको अभ्यास गर्न सक्दैनन्, किनकि तिनीहरूले सत्यलाई सत्यकै रूपमा स्वीकार गर्न सक्दैनन् र सत्यको तृष्णा गर्दैनन्; त्यसकारण, सत्यको अभ्यास गर्दा तिनीहरूले लापरवाहीको साथ मात्रै नियमहरू पालन गर्छन्। मानिसहरू तिनीहरूका आफ्नै प्रकृतिलाई अत्यन्त भ्रष्ट भएको ठान्दैनन्, र तिनीहरू नाश पार्नु वा दण्ड दिनु पर्ने सम्मको खराब छैनन् भनी विश्‍वास गर्छन्। तिनीहरूले कहिलेकहीँ झूटो बोल्नु कुनै ठूलो कुरा होइन भनी सोच्छन्, र आफूलाई पहिलेको भन्दा धेरै असल ठान्छन्; तापनि, वास्तवमा, तिनीहरू मापदण्डको छेउसम्म पनि पुगेका हुँदैनन्, किनकि मानिसहरूले साँच्चै सत्यताको अभ्यास नगरेको बेला सत्यलाई बाहिरी रूपमा उल्लङ्घन नगर्ने केही कार्यहरू मात्र तिनीहरूसँग हुन्छ।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “आफ्‍नो प्रकृति बुझ्नु र सत्यको अभ्यास गर्नु”

आजभोलि, धेरैजसो मानिसहरूमा आफ्‍नो बारेमा अत्यन्तै सतही ज्ञान छ। तिनीहरूले आफ्‍नो प्रकृतिका कुराहरूलाई स्पष्ट रूपमा बुझ्न सकेका छैनन्। तिनीहरूसँग आफ्ना केही भ्रष्ट अवस्थाहरू, तिनीहरूले गर्ने प्रवृत्तिका कार्यहरू, वा तिनीहरूका केही कमजोरीहरूको बारेमा मात्र ज्ञान छ, र यसैले तिनीहरूलाई आफ्नो बारेमा केही जानेको छु भनी विश्‍वास गर्ने बनाउँछ। यसबाहेक, यदि तिनीहरूले केही नियमहरूको पालना गर्छन्, तिनीहरूले कुनै खास क्षेत्रमा गल्ती गर्दैनन् भन्‍ने कुरालाई निश्‍चित गर्छन्, र केही अपराधहरू गर्नबाट जोगिन्छन् भने, तिनीहरूले परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा तिनीहरूसँग वास्तविकता छ भन्‍ने सोच्छन् र तिनीहरूले मुक्ति पाउनेछन् भनी विश्‍वास गर्छन्। यो पूर्णतया मानवीय कल्पना हो। यदि तँ यी कुराहरूमा रहन्छस् भने के तँ साँच्‍चै कुनै अपराधहरू गर्नुबाट जोगिन सक्छस्? के तैंले स्वभावको वास्तविक परिवर्तन प्राप्त गरेको हुन्छस्? के तँ साँच्चै मानव जस्तो भएर जिइरहेको हुन्छस्? के तैँले त्यसरी परमेश्‍वरलाई सच्‍चा रूपमा सन्तुष्ट पार्न सक्छस्? कदापि सक्दैनस्, यो निश्‍चित कुरा हो। व्यक्तिमा उच्च मापदण्डहरू छन् र उसले सत्यता प्राप्त गरेको छ अनि उसको आफ्नै स्वभावमा केही परिवर्तन पाएको छ भने मात्रै परमेश्‍वरमाथिको विश्‍वासले काम गर्छ। त्यसैले यदि आफ्नै बारेमा मानिसहरूको ज्ञान अत्यन्तै कम छ भने, तिनीहरूले समस्याहरू समाधान गर्न असम्भव पाउनेछन्, र तिनीहरूको जीवनका स्वभावहरू पूर्ण रूपले परिवर्तन हुनेछैनन्। आफैलाई एक गहन स्तरमा जान्नु जरुरी हुन्छ, जसको अर्थ आफ्नो वास्तविक प्रकृति जान्नु हो: त्यो प्रकृतिमा कुन-कुन तत्वहरू समावेश हुन्छन्, ती कुराहरू कसरी उत्पन्न भए, र ती कहाँबाट आए। यसबाहेक, के तँ साँच्चै ती कुराहरूलाई घृणा गर्न सक्छस्? के तैँले आफ्नै घिनलाग्दो प्राण र तेरो दुष्ट प्रकृतिलाई देखेको छस्? यदि तैँले आफ्नै बारेमा रहेको सत्यतालाई देख्न सक्छस् भने, तैँले आफैलाई घृणा गर्न थाल्‍नेछस्। जब तैँले आफैलाई घृणा गर्छस् र परमेश्‍वरको वचनलाई अभ्यास गर्छस्, तब तैँले देहलाई त्याग्न र कुनै कठिनाइविना सत्यलाई अघि बढाउने सामर्थ्य पाउनेछस्। किन धेरै मानिसहरू आफ्ना देहगत रुचिहरूका पछि लाग्छन्? किनकि तिनीहरूले आफैलाई अति असल ठान्छन्, तिनीहरूका कार्यहरू सही र उचित छन्, तिनीहरूमा कुनै दोष छैन र तिनीहरू पूर्ण रूपमा सही समेत छन् भन्ने महसुस गर्छन्, त्यसैले तिनीहरूले न्याय तिनीहरूकै पक्षमा छ भन्ने मान्यतासहित काम गर्न सक्छन्। जब व्यक्तिले आफ्नो वास्तविक प्रकृति के हो—कति घिनलाग्दो, कति तुच्छ र कति दयनीय छ भनी बुझ्दछ—तब ऊ आफैप्रति धेरै घमण्ड गर्दैन, अति अहङ्कारी हुँदैन, र पहिलेको जस्तै आफूसँग त्यति प्रसन्न हुँदैन। यस्तो व्यक्तिले यस्तो महसुस गर्छ, “म गम्भीर र व्यावहारिक हुनुपर्छ, र परमेश्‍वरका केही वचनहरू अभ्यास गर्नुपर्छ। यदि होइन भने, म मानिस बन्‍नुको मापदण्डको स्तरसम्म पुग्दिन, र परमेश्‍वरको उपस्थितिमा जिउन लज्जित हुनेछु।” तब मात्र व्यक्तिले आफैलाई तुच्छ, साँच्चै महत्त्वहीन देख्दछ। यस बेला, सत्य पालन गर्न व्यक्तिलाई सजिलो हुन्छ, र मानिस जस्तो हुनुपर्छ ऊ त्यस्तै देखिन थाल्‍नेछ। मानिसहरूले आफैलाई साँच्चै घृणा गरे भने मात्र तिनीहरूले देहलाई त्याग्न सक्छन्। यदि तिनीहरूले आफैलाई घृणा गर्दैनन् भने, तिनीहरूले देहलाई त्याग्न सक्‍नेछैनन्। आफैलाई साँच्चै घृणा गर्ने कार्यमा केही कुराहरू समावेश हुन्छन्: पहिलो, आफ्नै प्रकृतिलाई जान्नु; र दोस्रो, आफूलाई अभावग्रस्त र दयनीय अवस्थाको देख्‍नु, आफैलाई अत्यन्तै सानो र नगण्य रूपमा देख्नु, र आफ्नै दयनीय र फोहोर प्राणलाई देख्नु। जब व्यक्तिले वास्तवमा ऊ के हो भनेर पूर्ण रूपमा बुझ्दछ, र यो नतिजा हासिल हुन्छ, तब उसले आफ्नै बारेमा साँचो ज्ञान प्राप्त गर्दछ, र व्यक्तिले आफैलाई पूर्ण रूपमा चिनेको छ भनी भन्न सकिन्छ। तब मात्र व्यक्तिले आफैलाई घृणा गर्न सक्दछ यहाँसम्म कि उसले आफैलाई सराप्छ, र शैतानले उसलाई गम्भीर रूपमा भ्रष्ट पारेकोले ऊ मानिस जस्तो समेत देखिँदैन भन्‍ने उसले महसुस गर्छ। अनि एक दिन, जब मृत्युको खतरा देखा पर्दछ, त्यस्तो व्यक्तिले सोच्‍नेछ, “यो परमेश्‍वरको धर्मी दण्ड हो। परमेश्‍वर साँच्चै धर्मी हुनुहुन्छ; म साँच्चै मर्नुपर्छ!” यस्तो अवस्थामा उसले कुनै गुनासो गर्नेछैन, परमेश्‍वरलाई दोष लगाउने त परै जाओस्, अनि उसले आफू अभावग्रस्त र दयनीय, अति फोहोर र भ्रष्ट भएकोले परमेश्‍वरले उसलाई नाश पार्नुपर्छ, किनकि उसको जस्तो प्राण पृथ्वीमा जिउने योग्यको छैन भन्ने मात्र महसुस गर्छ। यस्तो बेला, यस व्यक्तिले परमेश्‍वरको विरोध गर्नेछैन, उहाँको विश्‍वासघात गर्ने कुरा त परै जाओस्। यदि व्यक्तिले आफैलाई चिन्दैन र पनि अझै आफूलाई धेरै असल नै ठान्दछ भने, जब मृत्यु ढोका ढकढक्याउँदै आउँछ, तब यस व्यक्तिले सोच्‍नेछ, “मैले आफ्नो विश्‍वासमा धेरै राम्रो गरेको छु। मैले कति धेरै कठिनतासाथ खोजेको छु! मैले धेरै कुरा दिएको छु, मैले धेरै दु:ख भोगेको छु, तापनि अन्त्यमा, अब परमेश्‍वरले मलाई मर्नु भनिरहनुभएको छ। परमेश्‍वरको धार्मिकता कहाँ छ मलाई थाहा छैन। उहाँले मलाई किन मर्नु भनिरहनुभएको छ? यदि मजस्तो व्यक्ति समेत मर्नुपर्छ भने कोचाहिँ बच्न सक्‍नेछ? के मानवजाति समाप्त हुनेछैन र?” सबैभन्दा पहिले, यस व्यक्तिमा परमेश्‍वरको विषयमा धारणाहरू हुन्छ। दोस्रो, यो व्यक्तिले गुनासो गरिरहेको छ, र कुनै पनि किसिमको समर्पणता देखाइरहेको छैन। यो पावललाई भएको जस्तै हो: जब तिनी मर्न लागेका थिए, तिनले आफैलाई चिनेका थिएनन् र परमेश्‍वरको दण्ड नजिक आइसकेपछि, पश्चात्ताप गर्न धेरै ढीला भइसकेको थियो।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “आफैलाई चिन्‍नु भनेको मुख्य रूपले मानव प्रकृतिबारे जान्नु हो”

पत्रुसले खोजेको कुरा भनेको आफैलाई जान्नु र परमेश्‍वरको वचनको शोधनद्वारा र परमेश्‍वरले तिनलाई प्रदान गर्नुभएका विभिन्‍न परीक्षाहरूमा प्रकट गरिएको कुरा बुझ्नु थियो। जब पत्रुसले आफैलाई साँचो रूपमा बुझे, तब तिनले मानिसहरू कति गहन रूपमा भ्रष्ट भएका छन्, उनीहरू परमेश्‍वरको सेवा गर्नका निम्ति कति धेरै बेकम्मा र अयोग्य छन्, र उनीहरू उहाँको सामु जिउने योग्यको छैनन् भन्‍ने बुझे। त्यसपछि पत्रुस परमेश्‍वरको सामु लम्‍पसार परे। आखिरमा तिनले यस्तो सोचे, “परमेश्‍वरलाई चिन्नु नै सबैभन्दा अनमोल कुरा हो! यदि म उहाँलाई चिन्नुभन्दा पहिले नै मरेँ भने, त्यो दुःखको कुरा हुनेछ; मलाई लाग्छ, परमेश्‍वरलाई चिन्नु नै सबैभन्दा महत्त्वपूर्ण, अर्थपूर्ण कुरा हो। यदि मानिसले परमेश्‍वरलाई चिन्दैन भने, ऊ जिउने योग्यको हुँदैन, र ऊसित जीवन पनि हुँदैन।” पत्रुसको अनुभव यो अवस्थामा पुगिसक्दा, तिनले आफ्नै स्वभावलाई जान्‍न पुगे र यसको बारेमा तुलनात्मक रूपमा राम्रो बुझाइ प्राप्त गरे। सायद पत्रुसले आजका मानिसहरूले जस्तो यसको स्पष्ट वर्णन गर्न सकेनन्, तापनि उनी साँच्चै यो अवस्थामा पुगेका थिए। त्यसकारण, जीवनको पछि लाग्नु र परमेश्‍वरद्वारा सिद्धता प्राप्त गर्नका लागि मानिसले परमेश्‍वरका वाणीहरूबाट आफ्नो स्वभावलाई जान्नु आवश्यक हुन्छ, साथै आफ्‍नो स्वभावका पक्षहरू बुझ्नु र शब्दहरूमा त्यसको सही वर्णन गर्नु, स्पष्ट र सरल रूपमा बोल्नु आवश्यक हुन्‍छ। आफूलाई राम्ररी चिन्नु भनेको यही हो, र तैँले परमेश्‍वरले चाहनुभएको परिणाम प्राप्त गरेको हुनेछस्। यदि तेरो ज्ञान अहिलेसम्म यस बिन्दुमा पुगेको छैन, तर तैँले आफैलाई चिनेको दाबी गर्छस् र तैंले जीवन प्राप्त गरेको छस् भनी भन्छस् भने, के तैंले सेखी गरिरहेको हुँदैनस् र? तैँले आफैलाई चिन्दैनस्, न त परमेश्‍वरको अगाडि तँ के होस्, तैंले मानव हुनुका मापदण्डहरू साँच्चै पूरा गरेको छस् कि छैनस् वा तँभित्र अझै पनि कसरी धेरै शैतानिक तत्वहरू छन् भन्‍ने कुरा नै जान्दछस्। तँ कसको होस् भन्ने विषयमा तँ अझै पनि अस्पष्ट छस्, र तँसँग अझै पनि आफ्नै बारेमा कुनै ज्ञान छैन—त्यसैले परमेश्‍वरको सामु तँसँग कसरी तर्कशक्ति हुनसक्छ? जब पत्रुसले जीवनको खोजी गरिरहेका थिए, तिनले परीक्षाहरूको अवधिमा आफूलाई जाँच्न र आफ्नो स्वभाव बदल्‍नमा आफ्‍नो ध्यान केन्द्रित गरे, र तिनले परमेश्‍वरलाई चिन्ने प्रयास गरे, अनि अन्त्यमा तिनले सोचे, “मानिसहरूले जीवनमा परमेश्‍वरको ज्ञान खोज्नुपर्छ; उहाँलाई चिन्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। यदि म परमेश्‍वरलाई चिन्दिनँ भने, म मरेपछि शान्तिमा विश्राम गर्न सक्दिनँ। मैले उहाँलाई चिनेपछि, यदि परमेश्‍वरले मलाई मर्नुपर्छ भनी भन्नुभयो भने, म सबैभन्दा सन्तुष्ट भई त्यसो गर्नेछु; म अलिकति पनि गुनासो गर्नेछैनँ, र मेरो सम्पूर्ण जीवन पूर्ण हुनेछ।” पत्रुसले परमेश्‍वरमा विश्‍वास गर्न थाल्‍नसाथ उनी यस स्तरको बुझाइ प्राप्त गर्न वा तुरुन्तै यस बिन्दुमा पुग्न सकेनन्; पहिले उनी धेरै पटक ठूला-ठूला परीक्षाहरूबाट भएर जानु परेको थियो। तिनले परमेश्‍वरलाई चिन्‍नुको महत्त्वलाई अनुभूति गर्नुभन्दा पहिले, तिनको अनुभव एक निश्चित विन्दुसम्‍म पुग्नुपर्थ्यो, र तिनले आफूलाई पूर्ण रूपमा बुझ्नुपर्थ्यो। त्यसकारण, पत्रुसले लिएको मार्ग जीवन प्राप्त गर्ने र सिद्धता बन्ने मार्ग थियो; तिनको निश्‍चित अभ्यास मुख्य रूपमा यही पक्षमा केन्द्रित थियो।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “पत्रुसको मार्गमा कसरी हिँड्ने”

आज म यसरी तिमीहरूको न्याय गर्दैछु, अन्त्यमा तिमीहरूसँग कुन हदसम्म बुझाइ हुनेछ? तिमीहरूले आफ्नो हैसियत उच्च नभए पनि परमेश्‍वरको उचाइको आनन्द लिएका छौं भनी भन्नेछौ। तिमीहरूको जन्म तुच्छ भएकोले तिमीहरूको कुनै हैसियत छैन, तर परमेश्‍वरले तिमीहरूलाई उचाल्नुहुने भएकोले तिमीहरूको हैसियत प्राप्त गर्छौ—यो उहाँले तिमीहरूलाई दिनुभएको कुरा हो। आज तिमीहरू व्यक्तिगत रूपमा परमेश्‍वरको प्रशिक्षण, उहाँको दण्ड, र उहाँको न्याय प्राप्त गर्न सकछौ। यो पनि उहाँले उचाल्नुभएको कार्य नै हो। तिमीहरू व्यक्तिगत रूपमा उहाँको शुद्धीकरण र प्रज्वलन प्राप्त गर्न सक्षम छौ। यो परमेश्‍वरको महान् प्रेम हो। युगौंयुगदेखि त्यहाँ एक जना पनि त्यस्तो व्यक्ति छैन जसलाई उहाँको शुद्धीकरण र प्रज्वलन प्राप्त भएको छ, र एक जना व्यक्ति पनि उहाँका वचनहरूद्वारा सिद्ध हुन सकेको छैन। अहिले परमेश्‍वर तिमीहरूलाई शुद्ध पार्दै, तिमीहरूका भित्री विद्रोहीपन प्रकट गर्दै तिमीहरूसँग आमनेसामने बोल्दैहुनुहुन्छ—यो निश्चय नै उहाँले उचाल्नुभभएको कार्य हो। मानिसहरूसँग के-कस्ता योग्यताहरू छन्? चाहे तिनीहरू दाऊदका छोराहरू हुन् वा मोआबका सन्तानहरू, समग्रमा, मानिसहरू सृष्टि गरिएका प्राणीहरू हुन्, जोसँग घमन्ड गर्न लायकको केही पनि छैन। तिमीहरू परमेश्‍वरका प्राणीहरू भएकाले तिमीहरूले प्राणीको कर्तव्य पूरा गर्नुपर्छ। तिमीहरूका लागि अरू आवश्यक सर्तहरू छैनन्। तिमीहरूले यसरी प्रार्थना गर्नुपर्छ: “हे परमेश्‍वर! चाहे मेरो हैसियत होस् वा नहोस्, म अब आफूलाई बुझ्छु। यदि मेरो हैसियत उच्च छ भने यो तपाईंले उचाल्नुभएकोले गर्दा हो, र यदि यो तुच्छ छ भने यो तपाईंको पूर्वनिर्धारणले गर्दा हो। सबै कुरा तपाईँको हातमा छन्। मसँग न त कुनै विकल्प छ, न कुनै गुनासो छ। म यस देशमा र यी मानिसहरूको बीचमा जन्मनुपर्छ भनी तपाईंले नै पूर्वनिर्धारित गर्नुभयो, र मैले गर्नुपर्ने भनेको तपाईंको अधीनमा पूर्ण रूपमा आज्ञाकारी हुनु मात्र हो, किनकि सबै कुरा तपाईंले पूर्वनिर्धारित गर्नुभएको प्रबन्धभित्र छन्। म हैसियतको बारेमा विचार गर्दिनँ; आखिर, म एक प्राणी मात्र हुँ। यदि तपाईंले मलाई अतल कुण्डमा, आगो र गन्धकको कुण्डमा राख्नुभयो भने, म एक प्राणीबाहेक अरू केही पनि होइन। यदि तपाईं मलाई प्रयोग गर्नुहुन्छ भने म एक प्राणी हुँ। यदि तपाईं मलाई सिद्ध पार्नुहुन्छ भने पनि म एक प्राणी नै हुँ। यदि तपाईं मलाई सिद्ध पार्नुहुन्न भने पनि म तपाईंलाई प्रेम गर्नेछु, किनकि म एक प्राणीभन्दा बढी अरू केही होइन। म सृष्टिका परमप्रभुद्वारा सृष्टि गरिएको एक क्षुद्र प्राणीबाहेक अरू केही पनि होइन, सृष्टि गरिएका सारा मानिसहरूमध्ये एक जना मात्र हुँ। तपाईंले नै मलाई सृष्टि गर्नुभयो, र अब एकचोटि फेरि तपाईंले मलाई तपाईंको इच्छाअनुसार गर्न आफ्नो हातमा राख्नुभएको छ। म तपाईंको औजार र तपाईंको प्रतिभार बन्न इच्छुक छु, किनकि सबै कुरा तपाईंले नै पूर्वनिर्धारण गर्नुभएको हो। यसलाई कसैले परिवर्तन गर्न सक्दैन। सबै थोक र सबै घटनाहरू तपाईंको हातमा छन्।” जब त्यो समय आउँछ जसले तँलाई हैसियतको बारेमा सोचविचार गर्न दिँदैन, तब तँ त्यसबाट मुक्त हुनेछस्। तब मात्र तँ आत्मविश्‍वास र हिम्मतका साथ खोजी गर्न सक्षम हुनेछस्, र तब मात्र तेरो हृदय कुनै पनि करकापबाट मुक्त हुन सक्छ। एकपटक मानिसहरू यी कुराहरूबाट मुक्त भए भने त्यसपछि उनीहरूलाई कुनै चिन्ताहरू हुँदैनन्।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तँ किन प्रतिभार हुन अनिच्छुक छस्?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्