परमेश्‍वरका मानिसहरू भनेका को हुन् र सेवाकर्ताहरू भनेका को हुन्

9 फेब्रुअरी 2022

परमेश्‍वरका प्रासंगिक वचनहरू:

अहिलेको परिस्थिति पहिलेको जस्तो छैन, र मेरो काम एउटा नयाँ सुरुआतको बिन्दुमा प्रवेश गरेको छ। त्यसो भएको हुनाले, पहुँचको शैली पनि नयाँ नै हुनेछ: जस-जसले मेरो वचन देख्छन् र यसलाई तिनीहरूका आफ्नै जीवनको रूपमा स्वीकार गर्छन् तिनीहरू मेरो राज्यका मानिसहरू हुन्, र मेरो राज्यमा भएकाले तिनीहरू मेरो राज्यका मानिसहरू हुन्। तिनीहरूले मेरा वचनहरूको मार्गदर्शनलाई स्वीकार गर्ने हुनाले, तिनीहरूलाई मेरा मानिसहरू भनी सम्बोधन गरिए पनि, तर यो उपाधि मेरा “छोराहरू” कहलिनुभन्दा कम महत्त्वको होइन। परमेश्‍वरका मानिसहरू बनाइएपछि सबैले मेरो राज्यमा पूर्ण भक्तिका साथ सेवा गर्नुपर्नेछ र मेरो राज्यमा तिनीहरूको कर्तव्यहरू पूरा गर्नुपर्नेछ। यदि कसैले मेरो प्रशासनिक आदेशको विरुद्ध अपराध गर्दछ भने उसले मेरो दण्ड पाउनुपर्छ। सबैलाई मेरो सल्लाह यही हो।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय १

तिमीहरूलाई मेरा जनहरू भनिएको हुनाले, मेरो नामलाई महिमायुक्त बनाउन तिमीहरू सक्षम हुनुपर्छ; यसको अर्थ, परीक्षाको घडीमा साक्षीको रूपमा खडा हुन सक्‍नुपर्छ। यदि कसैले मलाई फुस्ल्याउने र मबाट सत्य लुकाउने प्रयास गर्छ, वा मेरा पछाडि अशोभनीय क्रियाकलापहरूमा संलग्न हुन्छ भने, तिनीहरूलाई मैले निराकरण नगरुञ्‍जेलसम्‍म, यस्ता मानिसहरूलाई मेरो घटबाट लखेटिनेछ र निकालिनेछ, यसमा कुनै अपवाद छैन। विगतमा जो मसँग बेइमान र अपुत्रोचित थिए, र मलाई खुला रूपमा जाँच्न जो आज फेरि खडा छन्—तिनीहरू पनि मेरो घरबाट लखेटिइनेछन्। जो मेरा जनहरू हुन् उनीहरूले मेरा बोझहरूको लागि निरन्तर चासो देखाउनु पर्छ साथै मेरा वचनहरू बुझ्न खोज्नुपर्छ। यस प्रकारका मानिसहरूलाई मात्र म अन्तर्दृष्टि दिनेछु, र कहिल्यै सजाय नपाउने गरी उनीहरू निश्‍चय नै मेरो मार्गदर्शन र अन्तर्दृष्टि अन्तर्गत जिउनेछन्। मेरा बोझहरूको लागि चासो देखाउन असफल हुनेहरू उनीहरूको आफ्नै भविष्यहरूको लागि योजना बनाउन दत्तचित्त हुन्छन्—यसको अर्थ, जो आफ्ना कार्यहरूद्वारा मेरो हृदयलाई सन्तुष्ट पार्ने लक्ष्य राख्दैन, तर सहयोगका हातहरूको खोजी गर्छन्—ती मगन्ते जस्ता प्राणीहरूलाई प्रयोग गर्न म पूर्णरूपमा इन्कार गर्छु किनकि मेरा बोझहरूको लागि चासो देखाउनु भनेको के हो तिनीहरू जन्मिएको समयदेखि तिनीहरूले जानेका छैनन्। तिनीहरू सामान्य समझ नभएका मानिसहरू हुन्; यस्ता मानिसहरू मस्तिष्कको “कुपोषण” बाट ग्रसित छन्, र केही “पोषण” को लागि उनीहरू घर जान आवश्यक छ। यस्ता मानिसहरू मेरो लागि व्यर्थ छन्। मेरा जनहरूका माझमा, खानु, कपडा लगाउनु, र सुत्नु जस्ता कुनै व्यक्तिले एकै क्षणको लागि पनि कहिल्यै नबिर्सिने कुराहरूलाई जस्तै, मलाई चिन्‍ने कार्य पनि अन्तिमसम्म नै देखिने बाध्यात्‍मक कर्तव्यको रूपमा सबैबाट माग गरिनेछ, ता कि मलाई चिन्ने काम पनि, आखिरमा, खानपान गर्नु जस्तै परिचित कुरा बन्नेछ—जुन कुरालाई तैँले अभ्यस्त भइसकेको हातले कुनै प्रयत्न विना नै गर्छस्। मैले बोलेका वचनहरूलाई हरेक व्यक्तिले उच्चतम विश्‍वासका साथ लिनुपर्छ र पूर्णरूपमा आत्मसात् गर्नुपर्छ; झाराटारुवा अर्ध-मापन हुन सक्दैन। मेरा वचनहरूलाई ध्यान नदिनेलाई सीधै मेरो प्रतिरोध गरेको मानिने छ; मेरा वचनहरूलाई नखाने वा तिनलाई बुझ्न नखोज्नेलाई मेरो ध्यान नदिएको मानिने छ, र मेरो घरको ढोकाबाट सीधै बाहिर बढारिने छ। यसो गर्नुको कारण, विगतमा मैले भने जस्तै, म मानिसहरूको ठूलो सङ्ख्या होइन श्रेष्ठता चाहन्छु। सय जना मानिसहरूमध्ये मेरा वचनहरूद्वारा यदि एक जनाले मात्र मलाई चिन्न सक्षम भयो भने त्यसपछि उक्त एक जनालाई अन्तर्दृष्टि दिने र प्रकाश छर्ने काममा ध्यान केन्द्रित गर्न म स्वेच्छाले अरू सबैलाई फालिदिनेछु। यसबाट तैँले देख्न सक्छस् धेरै सङ्ख्याले मात्र मलाई प्रकट गर्न र ममा जिउन सक्छन् भन्ने सत्य होइन। मैले चाहेको गहूँ हो (यद्यपि दानाहरू पोटिला नहुन सक्छन्) र सामा होइन (दानाहरू प्रशंसनीय रूपमा पोटिला भए पनि)। जो खोजीलाई वास्ता गर्दैनन्, तर सुस्त तरिकाले व्यवहार गर्छन् उनीहरूले स्वेच्छाले छोड्नु पर्छ; तिनीहरूलाई हेर्ने मेरो कति पनि चाहना छैन, नत्र तिनीहरूले मेरो नाम बदनाम गराउने कार्यलाई जारी राख्छन्। मेरा जनहरूबाट म के चाहन्छु भन्ने सन्दर्भमा, अहिलेको लागि म यी उपदेशहरूमा रोकिनेछु, र परिस्थितिहरू कसरी बदलिन्छन् त्यसको आधारमा अरू प्रतिबन्धहरू बनाउनको लागि पर्खिनेछु।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय ५

परमेश्‍वरको उपस्थितिमा वास्तवमै शान्त हुन सक्ने व्यक्तिले आफूलाई सबै सांसारिक बन्धनबाट मुक्त गर्न, र परमेश्‍वरद्वारा प्राप्‍त गरिन सक्छ। परमेश्‍वरको उपस्थितिमा शान्तिमा हुन नसक्‍ने मानिसहरू छाडा र असंयमी हुन्छन्। परमेश्‍वरको अगाडि शान्त हुन सक्ने सबै परमेश्‍वरको अगाडि धर्मनिष्ठ हुन्छन्, र परमेश्‍वरको तृषित हुन्छन्। परमेश्‍वरको अगाडि शान्त रहने व्यक्तिहरूले मात्रै जीवनलाई महत्त्व दिन्छन्, आत्मैबाट सङ्गतिलाई महत्त्व दिन्छन्, परमेश्‍वरको वचनहरूप्रति तिर्खाएका हुन्छन्, र सत्यको खोजी गर्छन्। परमेश्‍वरको अगाडि शान्त रहने कुरालाई महत्त्व नदिने र परमेश्‍वरको अगाडि शान्त रहन अभ्यास नगर्ने जोकोही व्यक्ति व्यर्थ र सतही हुन्छ, संसारसँग जोडिएको र जीवन विहीन हुन्छ; तिनीहरूले हामी परमेश्‍वरमा विश्‍वास गर्छौ भनेर भने पनि, तिनीहरूले ओठे सेवा मात्रै गरिरहेका हुन्छन्। परमेश्‍वरले अन्त्यमा जसलाई सिद्ध र पूर्ण गर्नुहुन्छ, तिनीहरू उहाँको उपस्थितिमा शान्त रहन सक्ने व्यक्तिहरू हुन्। तसर्थ, परमेश्‍वरको अगाडि शान्त रहनेहरूलाई ठूला आशिषहरूद्वारा अनुग्रह गरिन्छ। दिनभरिमा परमेश्‍वरको वचनहरू खान र पिउनका लागि विरलै समय निकाल्ने, बाहिरी मामिलाको व्यस्ततामा गाँजिने अनि जीवन प्रवेशलाई थोरै महत्त्व दिने मानिसहरू—तिनीहरू सबै भविष्यको वृद्धिको सम्भावना नभएका ढोङ्गी हुन्। परमेश्‍वरको अगाडि शान्त रहने अनि परमेश्‍वरसँग सच्‍चा रूपमै सङ्गति गर्ने मानिसहरू नै परमेश्‍वरका मानिसहरू हुन्।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको अघि आफ्नो हृदयलाई शान्त राख्ने सम्‍बन्धमा

परमेश्‍वरको घर र राज्यको सदस्य—यो पदवी नाम कहाँबाट आयो त? यसलाई मानिसहरूले कसरी प्राप्त गर्न सक्छन् त? यो मूल्य चुकाइसकेपछि आउँछ, र सत्यताको बुझाइमार्फत तैँले सत्यताको खोजी गरेको छस् र तँ तेरो स्वभावको परिवर्तनको निश्‍चित स्तरमा आइपुगेको छस्; अहिले तँ परमेश्‍वरमा समर्पित हुन र उहाँको आदर गर्न सक्छस्, र तँ उहाँको घरको सदस्य बनेको छस्। अय्यूब र पत्रुसजस्तै, तँ अबउप्रान्त शैतानको सतावट र भ्रष्टता भएर जाँदैनस्। तँ परमेश्‍वरको घरमा र उहाँको राज्यमा स्वतन्त्र भई जिउन सक्छस्, र तैँले अबदेखि आफ्‍नो भ्रष्ट स्वभावसँग संघर्ष गर्नु पर्दैन; परमेश्‍वरको नजरमा, तँ सृष्टिको साँचो प्राणी र सच्‍चा मानव बनेको हुन्छस्। यसको अर्थ के हुन्छ भने शैतानले भ्रष्ट तुल्याएको व्यक्तिले भोग्‍नुपर्ने कठिनाइका दिनहरू समाप्त भएका छन्; अब शान्ति, आनन्द, र खुशीको समय आएको छ, जसमा व्यक्ति सृष्टिकर्ताको मुहारको ज्योतिमा जिउन र परमेश्‍वरको साथमा जिउन सक्छ।

ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरूले आफैलाई पृथक तुल्याउन अनि तिनीहरूका आफ्‍नै चासो र महत्वाकांक्षाहरूलाई पूरा गर्नको लागि आफ्‍ना कर्तव्य पूरा गर्छन्; तिनीहरूले परमेश्‍वरको घरको चासोहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि व्यक्तिगत वैभवको लागि ती चासोहरूलाई समेत बेच्छन् (९)”

राज्यको युगमा मानिसलाई पूरा रूपमा पूर्ण गरिनेछ। विजयको कामपछि, मानिस शोधन र संकष्टमा पर्नेछ। यो संकष्टमा विजय गर्न सक्‍ने र गवाहीको रूपमा खडा हुन सक्‍नेहरू नै आखिरमा पूर्ण पारिनेहरू हुन्; तिनीहरू विजेताहरू हुन्। यो संकष्टको अवधिमा, यस शोधनलाई मानिसले स्वीकार गर्नु आवश्यक हुन्छ, र यो शोधन परमेश्‍वरको कामको अन्तिम घटना हुनेछ। परमेश्‍वरको व्यवस्थापनको सारा कार्यको समाप्तिभन्दा पहिले मानिसलाई शोधन गरिने यो अन्तिम पटक हो, र परमेश्‍वरलाई पछ्याउने सबैले यो अन्तिम जाँचलाई स्वीकार गर्नैपर्छ, र यो अन्तिम शोधनलाई तिनीहरूले स्वीकार गर्नैपर्छ। संकष्टद्वारा व्याकुल हुनेहरू पवित्र आत्‍माको कार्य र परमेश्‍वरको अगुवाइ विहीन हुन्छन्, तर साँचो रूपमा विजय गरिएकाहरू र परमेश्‍वरलाई साँचो रूपमा खोज्‍नेहरू अन्तिममा दह्रिलो गरी खडा हुनेछन्; तिनीहरू मानवता भएकाहरू, र परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्नेहरू हुन्। परमेश्‍वरले जे गर्नुभए तापनि, यी विजेताहरूमा दर्शनहरूको अभाव हुँदैन र तिनीहरूले आफ्‍नो गवाहीमा पतन नभइकन सत्यतालाई अभ्यास गर्नेछन्। आखिरमा महा-संकष्टबाट उठी आउनेहरू यिनीहरू नै हुन्।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कार्य र मानिसको अभ्यास

यदि हामीले “सेवाकर्ता” भन्‍ने शब्‍दलाई ठेट अर्थमा हेर्‍यौं, र यसलाई मानवको भाषिक अर्थमा बुझ्यौं भने, यसले निश्‍चित उद्योग वा काममा आवश्यकताको आधारमा प्रयोग गरिने अस्थायी सेवा प्रदान गर्ने अस्थायी श्रमिकहरू भन्‍ने अर्थ दिन्छ। परमेश्‍वरको घरमा, उहाँको व्यवस्थापन योजनामा र उहाँको काममा, सेवाकर्ताहरूको रूपमा उल्‍लेख गरिने मानिसहरूको समूह पूर्ण रूपमा अपरिहार्य हुन्छन्। जब त्यस्ता मानिसहरू परमेश्‍वरको घरमा आइपुग्छन्, र परमेश्‍वरको कार्यस्थलमा आउँछन्, तिनीहरूलाई परमेश्‍वरको बारेमा वा विश्‍वासको बारेमा केही पनि थाहा हुँदैन, न त तिनीहरूलाई उहाँको सबै काम वा उहाँको व्यवस्थापन योजनाको बारेमा नै केही थाहा हुन्छ। तिनीहरूले केही पनि बुझ्दैनन्; तिनीहरू सर्वसाधारण मानिसहरू मात्रै हुन्छन्। परमेश्‍वरको घरमा सर्वसाधारण मानिसहरूलाई के भनिन्छ त? अविश्‍वासीहरू। परमेश्‍वरको नजरमा अविश्‍वासी रहेका मानिसहरू परमेश्‍वरको घरमा आउँदा, तिनीहरूले के गर्न सक्छन्? परमेश्‍वरलाई तिनीहरूबाट वास्तवमा के चाहिन्छ? मानिसहरूमा भ्रष्ट स्वभाव भएकोले, र तिनीहरूको प्रकृति सारको कारणले, तिनीहरूलाई जे भनिएको छ त्यो तिनीहरूले गर्न सक्छन्, परमेश्‍वरले तिनीहरूलाई जे-जस्ता निर्देशनहरू दिनुहुन्छ त्यसलाई अघि बढाउन सक्छन्, उहाँले तिनीहरूलाई जता लैजानुहुन्छ त्यतै जान सक्छन्, र उहाँका वचनहरूले तिनीहरूलाई जे जान्‍न दिन्छन् त्यो जान्न सक्छन्। तिनीहरूले गर्न सक्ने भनेको जान्नु मात्र हो; तिनीहरूले बुझाइ हासिल गर्न सक्दैनन्। परमेश्‍वरले अह्राउनुभएको उहाँको कामको हरेक भागमा, मानिसहरूले निष्क्रिय रूपमा सहकार्य मात्रै गर्छन्; तिनीहरूले कुनै अग्रसरता जनाउँदैनन्। यदि तैँले साँच्‍चै कुनै अग्रसरता जनाउँथिइस् त, तैँले सत्यतालाई र परमेश्‍वरको इच्‍छालाई बुझेको हुनेथिइस्! यहाँ “निष्क्रिय रूपमा” भन्‍ने वाक्यांशले परमेश्‍वरले के गर्न चाहनुहुन्छ सो तँलाई थाहा हुँदैन, उहाँले तँलाई जे गर्न लगाउनुभएको छ त्यसको अर्थ के हो वा केमा यसको महत्व छ भन्‍ने तँलाई थाहा हुँदैन, र तैँले कस्तो प्रकारको मार्गमा हिँड्नुपर्छ भन्‍ने तँलाई थाहा हुँदैन भन्‍ने अर्थ दिन्छ। जब तँ परमेश्‍वरको घरमा आउँछस्, तँ एउटा मेसिन जस्तै हुन्छस्; परमेश्‍वरले तँलाई जसरी चलाउनुहुन्छ तैँले त्यसरी नै कार्य गर्छस्। परमेश्‍वरलाई केको लागि तेरो खाँचो पर्छ त? (मानवजातिलाई न्याय गर्नको लागि परमेश्‍वरले जसलाई सत्यता व्यक्त गर्नुहुन्छ त्यो पात्रको रूपमा।) ठीक भन्यौ; तिमीहरू परमेश्‍वरले उहाँका वचनहरू जसलाई बोल्नुहुन्छ त्यो पात्र हौ। अरू केही? तिमीहरूका वरदानहरू, होइन त? के सामान्य मानव सोचाइको गन्ती हुन्छ? यदि तँमा सामान्य मानव सोचाइ छ भने मात्रै परमेश्‍वरले तँलाई प्रयोग गर्नुहुनेछ। यदि तेरो मानसिक स्थिति असामान्य छ भने, तँ सेवाकर्ताहुन पनि योग्यको हुँदैनस्। अरू केही? (व्यक्तिको सीप र सामर्थ्यहरू) अर्को शब्‍दमा भन्दा, मानिसहरूसँग भएको सबै किसिमका सीपहरू। अरू केही? (परमेश्‍वरसँग सहकार्य गर्ने सङ्कल्प।) यो पनि परमेश्‍वरलाई चाहिने कुरा नै हो; यो मानिसहरूमा भएको सुन्‍ने र समर्पित हुने आकाङ्क्षाहरू हो, र यसलाई सकारात्मक कुराहरू र ज्योतिलाई प्रेम गर्ने इच्‍छा भनेर पनि भन्‍न सकिन्छ। यदि हामीले यसलाई संकल्प भन्यौं भने, यसका सबै पक्ष नसमेटिने गरी अलि संकुचित हुन सक्छ। आकांक्षाहरूले फराकिलो क्षेत्रलाई समावेश गर्छन्, र तिनको पहुँचको आधारमा ती संकल्पहरूभन्दा साना हुन्छन्। अर्थात्, तैँले आकाङ्क्षाबाट सुरु गर्छस्, र तँसँग आकाङ्क्षा भएपछि मात्रै तैँले विभिन्‍न किसिमका संकल्पहरूको विकास गर्छस्। संकल्पहरू बढी ठोस हुन्छन्, जबकि आकांक्षाहरूले फराकिलो क्षेत्रलाई समेट्छन्। सृष्टिकर्ताको दृष्टिकोणबाट हेर्दा, भ्रष्ट मानवको हिसाबमा परमेश्‍वरलाई यिनै कुराहरूको लागि तेरो आवश्यकता पर्छ। अर्थात्, जब परमेश्‍वरको बारेमा, उहाँको व्यवस्थापन, उहाँको सार, उहाँका वाणीहरू, वा उहाँको स्वभावको बारेमा कुनै ज्ञान नभएको व्यक्ति उहाँको घरमा आउँछ, तब त्यो व्यक्ति मेसिन जस्तै हो। त्यो व्यक्तिले परमेश्‍वरको लागि के गर्न सक्छ र तिनीहरूले कसरी परमेश्‍वरको कार्यमा सहकार्य गर्न सक्छन् भन्‍ने कुरासँग परमेश्‍वरले तय गर्नुहुने मापदण्ड (अर्थात् सत्यता) को कुनै सम्‍बन्ध हुँदैन। परमेश्‍वरले व्यक्तिका जुन कुराहरू प्रयोग गर्न सक्‍नुहुन्छ ती भर्खरै उल्‍लेख गरिएका कुराहरू नै हुन्: पहिलो, व्यक्ति परमेश्‍वर जोसँग बोल्नुहुन्छ त्यो पात्र बन्‍नु; दोस्रो, व्यक्तिसँग भएका विभिन्‍न वरदानहरू; तेस्रो, सामान्य मानव सोचाइ हुनु; चौथो, व्यक्तिमा हुने विभिन्‍न सीपहरू; र पाचौं—सबैभन्दा महत्त्वपूर्ण कुरा—परमेश्‍वरका वचनहरूलाई सुन्‍ने र तिनमा समर्पित हुने आकाङ्क्षा हुनु। यी कुराहरू नै मुख्य कुराहरू हुन्। जब कसैसँग यी गुणहरू हुन्छ, तिनीहरूले परमेश्‍वरको कार्य र उहाँको व्यवस्थापन योजनामा सेवा दिने काम गर्न थाल्छन्। त्यसपछि तिनीहरूले औपचारिक रूपमा नै सही मार्गमा हिँड्न सुरु गरेका हुन्छन्, अर्थात्, तिनीहरू आधिकारिक रूपमा नै परमेश्‍वरको घरका सेवाकर्ता बनेका हुन्छन्।

परमेश्‍वरका वचनहरू, सत्यता, र परमेश्‍वरको इच्‍छालाई बुझ्‍नुभन्दा पहिले, र परमेश्‍वरप्रति थोरै श्रद्धाभावको विकास गर्नुभन्दा पहिले, हरेक व्यक्तिले खेल्‍ने भूमिकालाई सेवाकर्ताको भूमिका मात्रै हुन्छ, त्यो बाहेक केही पनि हुँदैन। अर्थात्, तैँले चाहे पनि नचाए पनि तँ सेवाकर्ता हुन्छस्; तँ यो पदवी नामबाट उम्कन सक्दैनस्। कतिपय मानिसहरूले यसो भन्छन्, “तर मैले मेरो सारा जीवनभरि नै परमेश्‍वरमा विश्‍वास गरेको छु; मैले येशूमा विश्‍वास गर्न थालेको धेरै दशक भइसक्यो। के म अझै पनि साँच्‍चै सेवाकर्ता मात्रै हुँ त?” तिमीहरूलाई यो प्रश्‍नको बारेमा के लाग्छ? तैँले कसलाई सोधिरहेको छस्? तैँले आफैलाई यो प्रश्‍न गर्नुपर्छ: के तैँले अहिलेसम्‍म परमेश्‍वरको इच्‍छालाई बुझेको छस्? के तैँले अहिले केही प्रयत्न मात्रै लगाइरहेको छस् कि सत्यताको अभ्यास गरिरहेको छस्? के तैँले सत्यताको खोजी गर्ने र बुझ्‍ने मार्गमा पाइला चालेको छस्? के तँ सत्यता वास्तविकतामा प्रवेश गरेको छस्? के तैँले आफ्‍नो हृदयमा परमेश्‍वरलाई आदर गरेको छस्? यदि तँमा यी गुणहरू छन्, परमेश्‍वरका परीक्षाहरूको सामना गर्दा दह्रिलो गरी खडा हुन सक्छस्, र परमेश्‍वरको डर मान्‍न र दुष्टताबाट अलग बस्‍न सक्छस् भने, अवश्य नै तँ अबदेखि सेवाकर्ता होइनस्। तैपनि, यदि तँसँग यी गुणहरू छैन भने, तँ अझै पनि सेवाकर्ता नै होस् भन्‍नेमा कुनै शङ्का छैन। यसबाट उम्‍कन सकिँदैन, र यो अपरिहार्य छ।

ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरूले आफैलाई पृथक तुल्याउन अनि तिनीहरूका आफ्‍नै चासो र महत्वाकांक्षाहरूलाई पूरा गर्नको लागि आफ्‍ना कर्तव्य पूरा गर्छन्; तिनीहरूले परमेश्‍वरको घरको चासोहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि व्यक्तिगत वैभवको लागि ती चासोहरूलाई समेत बेच्छन् (९)”

जब मानिसहरू परमेश्‍वरको घरमा प्रवेश गर्छन् र तिनीहरूले सत्यतालाई बुझ्दैनन्, तर तिनीहरूसँग विभिन्‍न आकांक्षाहरू मात्रै हुन्छ वा तिनीहरूले सहकार्य गर्ने केही सङ्कल्पको विकास मात्रै गर्छन् भने, यो अवधिमा तिनीहरूले निर्वाह गर्ने भूमिका सेवाकर्ताहरूको भूमिका मात्रै हो। अवश्य नै, “सेवा गर्नु” भन्‍ने वाक्यांश त्यति राम्रो सुनिँदैन। यसलाई अर्को तरिकाले भन्दा, यसको अर्थ मानिसहरूले परमेश्‍वरको व्यवस्थापन योजनाको कामको लागि सेवा गर्छन् र परिश्रम गर्छन् भन्‍ने हुन्छ, अर्थात्, तिनीहरू यसमा लागिपर्छन्। तिनीहरूले कुनै पनि कुरालाई बोध गर्ने वा बुझ्‍ने गर्दैनन्, तर तिनीहरूसँग एक-दुई वटा सीप र वरदान हुन्छ, र अरूले जे भन्छन् त्यो कुरालाई सिक्‍न र अरूलाई सिकाउन अनि सानातिना मामलाको काम लिन सक्छन्, तर जब मानवजातिलाई मुक्ति दिने र व्यवस्थापन गर्ने परमेश्‍वरको विशिष्ट कामका विभिन्‍न पक्षहरू, साथै सत्यतासँग सम्‍बन्धित कामका विभिन्‍न पक्षहरूको कुरा आउँछ, तिनीहरूले कुनै प्रयास वा सहकार्य गर्नै सक्दैनन्; तिनीहरूले साधारण मामलाका केही काम गर्ने क्रममा अलि-अलि प्रयास गर्छन् र केही कुरा बताउँछन्, अनि सेवासँग सम्‍बन्धित केही सतही काम गर्छन्। यदि मानिसहरूको कर्तव्य, वा परमेश्‍वरको घरमा तिनीहरूले खेल्‍ने भूमिका र कामको सार यही हो भने, तिनीहरूलाई “सेवाकर्ताहरू” को पदवी नाम हटाउन कठिन हुनेछ। यसलाई हटाउन तिनीहरूलाई किन कठिन हुनेछ त? के यो कुरा परमेश्‍वरले यो पदवी नामलाई जुन अर्थमा परिभाषित गर्नुभएको छ त्योसँग सम्‍बन्धित छैन र? मानिसहरूले आफ्‍नो अन्तर्निहित क्षमता, वरदान, र बौद्धिकताद्वारा केही प्रयास गर्नु, र काम-कुरा गर्नु निकै सहज हुन्छ। तैपनि, सत्यतामा जिउनु, सत्यता वास्तविकतामा प्रवेश गर्नु, परमेश्‍वरको इच्‍छाअनुसार काम गर्नु—यी कुराहरू अत्यन्तै कठिन हुन्छन्; यी कुराहरूको लागि समय लाग्छ, तिनको लागि मानिसहरूले अगुवाइ गर्नुपर्छ, तिनको लागि परमेश्‍वरको अन्तर्दृष्टि चाहिन्छ, र तिनको लागि परमेश्‍वरको अनुशासन चाहिन्छ। यसको साथै, तिनको लागि न्याय र सजायसम्‍बन्धी परमेश्‍वरका वचनहरूको आगमन हुनुपर्छ। यसर्थ, यो उद्देश्यमा पुग्‍नको लागि चाहिने समय अवधिमा, धेरैजसो मानिसहरूले गर्न सक्‍ने र प्रदान गर्न सक्‍ने कुरा ती एक-दुई वटा कुरामा सीमित हुन्छन्: परमेश्‍वरले जो सँग बोल्नुहुन्छ ती पात्रहरूको भूमिका पूरा गर्नु; निश्‍चित वरदानहरू हुनु र परमेश्‍वरको घरमा कुनै कामको लागि प्रयोग गरिनु; सामान्य मानवताले सोच्‍ने तरिकाले सोच्‍नु, र आफूलाई दिइएको जुनसुकै कार्यलाई बुझ्‍न र अघि बढाउन सक्‍नु; निश्‍चित सीपहरूले सुसज्‍जित हुनु र परमेश्‍वरको घरमा आफूलाई जुनसुकै काम दिइए पनि आफ्‍नो सामर्थ्यको भूमिका निर्वाह गर्न सक्‍नु; र सबैभन्दा महत्त्वपूर्ण कुरा, सुन्‍ने र समर्पित हुने आकाङ्क्षा हुनु। परमेश्‍वरको घरमा सेवा गर्ने क्रममा, र परमेश्‍वरको कार्यको लागि प्रयास गर्ने क्रममा, यदि तँसँग सुन्‍ने र समर्पित हुने थोरै इच्‍छा छ भने, तैँले भागेर जान वा समस्या पैदा गर्न सक्‍नेछैनस्; बरु, आफैलाई काबुमा राख्‍न र थोरै खराब काम गर्न र धेरै असल काम गर्नको लागि तैँले सक्दो गर्नेछस्। धेरैजसो मानिसहरूको स्थिति र अवस्था यही हो, होइन त?

ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरूले आफैलाई पृथक तुल्याउन अनि तिनीहरूका आफ्‍नै चासो र महत्वाकांक्षाहरूलाई पूरा गर्नको लागि आफ्‍ना कर्तव्य पूरा गर्छन्; तिनीहरूले परमेश्‍वरको घरको चासोहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि व्यक्तिगत वैभवको लागि ती चासोहरूलाई समेत बेच्छन् (९)”

“सेवा” त्यति सुन्दर सुनिने शब्‍द होइन, न त यो हरेकको कामनाअनुरूपको कुरा नै हो, तर यो कोप्रति लक्षित छ सो कुरालाई हामीले हेर्नुपर्छ। परमेश्‍वरका सेवाकर्ताहरूको अस्तित्वको विशेष महत्त्व छ। अरू कसैले पनि तिनीहरूको भूमिका निर्वाह गर्न सक्दैन, किनभने तिनीहरूलाई परमेश्‍वरले नै चुन्‍नुभएको हुन्छ। र यी सेवाकर्ताहरूको भूमिका के हो त? तिनीहरूको भूमिका परमेश्‍वरका चुनिएका मानिसहरूको सेवा गर्नु हो। सामान्यतया, तिनीहरूको काम भनेको परमेश्‍वरको कामको निम्ति सेवा दिनु, यसमा सहकार्य गर्नु, र परमेश्‍वरले आफ्‍ना चुनिएकाहरूलाई पूर्ण तुल्याउने कार्यमा सहयोग गर्नु हो। तिनीहरूले परिश्रम गरिरहेको भए पनि, कामको कुनै पक्ष अघि बढाइरहेको भए पनि, वा निश्‍चित कार्यहरू गरिरहेको भए पनि, यी सेवाकर्ताहरूप्रति परमेश्‍वरको मापदण्ड के हुन्छ त? के उहाँ तिनीहरूप्रतिको आफ्‍ना मापदण्डहरूमा उहाँ अत्यन्तै धेरै कठोर हुनुहुन्छ? (होइन, उहाँले तिनीहरूलाई निष्ठावान हुन मात्र लगाउनुहुन्छ।) सेवाकर्ताहरू पनि निष्ठावान हुनुपर्छ। तेरो उत्पत्ति जे-जस्तो भए पनि वा परमेश्‍वरले तँलाई जुन कारणले छनौट गर्नुभएको भए पनि, तँ परमेश्‍वरप्रति, परमेश्‍वरले तँलाई सुम्‍पनुहुने कुनै पनि कार्यभारहरूप्रति, र तँ जुन कामको निम्ति जिम्‍मेवार छस् त्यस कार्यप्रति र तैँले पूरा गर्नुपर्ने जिम्‍मेवारीहरूप्रति तँ निष्ठावान हुनैपर्छ। परमेश्‍वरप्रति निष्ठावान हुन सक्‍ने र उहाँलाई सन्तुष्ट तुल्याउन सक्‍ने सेवाकर्ताहरूको हकमा, तिनीहरूको परिणामहरू के हुनेछन्? तिनीहरू बस्‍न सक्‍नेछन्। के बस्‍ने सेवाकर्ताहरूको लागि यो आशिष् हो? बस्‍नु भनेको के हो? यो आशिष्‌को महत्त्व के हो त? हैसियतमा, तिनीहरू परमेश्‍वरका चुनिएका मानिसहरूभन्दा विपरीत देखिन सक्छन्; तिनीहरू फरक देखिन्छन्। तर वास्तविकतामा, के तिनीहरूले यस जीवनमा प्राप्त गर्ने कुरा परमेश्‍वरका चुनिएका मानिसहरूको जस्तै होइन र? कम्तीमा पनि, यो यस जीवनमा उही हुन्छ। तिमीहरूले यसलाई नकार्दैनौ, होइन र? परमेश्‍वरका वाणीहरू, परमेश्‍वरको अनुग्रह, परमेश्‍वरको बन्दोबस्‍त, परमेश्‍वरका आशिष्‌हरू—कसले यी कुराहरूमा आनन्द लिँदैन र? त्यस्तो प्रशस्ततामा सबैले आनन्द लिन्छन्। सेवाकर्ताको पहिचान भनेको सेवा गर्ने व्यक्ति हो, तर परमेश्‍वरको लागि, उहाँले सृष्टि गर्नुभएका सबै थोकमध्ये एउटा थोक मात्रै हो; के मात्रै हो भने तिनीहरूको भूमिका सेवाकर्ताको हो। तिनीहरू दुवै परमेश्‍वरका सृष्टि भएका हुनाले, सेवाकर्ता र परमेश्‍वरको चुनिएको मानिसको बीचमा कुनै भिन्‍नता छ त? वास्तवमा, भिन्‍नता छैन। सामान्य रूपमा भन्दा, एउटा भिन्‍नता छ; सारमा र तिनीहरूले खेल्‍ने भूमिकामा एउटा भिन्‍नता छ—तर परमेश्‍वरले मानिसहरूको यो समूहलाई अनुचित रूपमा व्यवहार गर्नुहुन्‍न। त्यसो भए, यी मानिसहरूलाई किन सेवाकर्ताको रूपमा परिभाषित गरिन्छ त? तिमीहरूसँग यस विषयमा केही बुझाई हुनैपर्छ! सेवाकर्ता अविश्‍वासीहरूका बीचबाट आउँछन्। तिनीहरू अविश्‍वासीहरूका बीचबाट आउँछन् भनेर हामीले उल्‍लेख गर्नेबित्तिकै, तिनीहरूको पृष्ठभूमि खराब हुन्छ भन्‍ने कुरा स्पष्टै हुन्छ: तिनीहरू सबै नास्तिक हुन्, र विगतमा पनि त्यस्तै थिए; तिनीहरूले परमेश्‍वरलाई विश्‍वास गरेका हुँदैनन्, र उहाँप्रति, सत्यताप्रति, र सकारात्मक सबै कुराप्रति तिनीहरू शत्रुवत् रहेका हुन्छन्। तिनीहरूले परमेश्‍वरमा वा उहाँको अस्तित्वमा विश्‍वास गरेका हुँदैनन्। त्यसो भए, के तिनीहरूले परमेश्‍वरका वचनहरूलाई बुझ्‍न सक्छन् त? धेरै हदसम्‍म, तिनीहरूले त्यसो गर्न सक्दैनन् भनेर भन्दा अत्योक्ति हुँदैन। जसरी पशु-प्राणीले मानव शब्‍दहरूलाई बुझ्‍न सक्दैनन्, त्यसरी नै सेवाकर्ताहरूले परमेश्‍वरले के भनिरहनुभएको छ, उहाँले के मापदण्ड तोक्नुहुन्छ वा उहाँले किन त्यस्ता मापदण्डहरू तोक्नुहुन्च भन्‍ने कुरालाई बुझ्‍न सक्दैनन्। तिनीहरूले बुझ्दैनन्; यी कुराहरू तिनीहरूको बुझाइबाहिरका हुन्छन्, र तिनीहरू ज्ञान नपाएको अवस्थामा नै रहन्छन्। यही कारणले गर्दा, यी मानिसहरूसँग हामीले बताएको जीवन हुँदैन। जीवनविना, के मानिसहरूले सत्यतालाई बुझ्‍न सक्छन्? के तिनीहरू सत्यताद्वारा सुसज्‍जित हुन्छन्? के तिनीहरूसँग परमेश्‍वरका वचनहरूको अनुभव र ज्ञान हुन्छ? (हुँदैन।) सेवाकर्ताहरूको उत्पत्ति यसरी नै हुन्छ।

वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १०

के परमेश्‍वरले मानवलाई “सेवाकर्ता” भनी सम्‍बोधन गर्नु पक्षपातपूर्ण तरिका हो र? के उहाँले मानिसहरूलाई हेला गर्न वा मानिसहरूलाई खुलासा गर्न र तिनीहरूलाई परीक्षामा पार्नको लागि जानी-जानी यो पदवी नाम प्रयोग गर्नुभएको हो? (होइन।) त्यसो भए, के मानिसहरूलाई तिनीहरू वास्तवमा के हुन् भन्‍ने कुरा बुझाउनको लागि परमेश्‍वरले यो पदवी नामको प्रयोग गर्न चाहनुहुन्छ? के परमेश्‍वरसँग यो अभिप्रायको सङ्केत समेत छ? वास्तवमा, परमेश्‍वरसँग त्यस्तो अभिप्राय छैन। मानिसहरूलाई खुलासा गर्नु वा तिनीहरूलाई हेला गर्नु वा तिनीहरूको बारेमा नराम्रो टिप्पणीहरू दिनु उहाँको अभिप्राय होइन, न त मानिसहरूलाई परीक्षामा पार्नको लागि यो शब्‍दको प्रयोग गर्नु नै उहाँको अभिप्राय हो। एउटै मात्र अर्थ यही हो: मानवजातिको बानीबेहोरा र सारको, साथै उहाँको कामको यो चरणमा मानवले खेलिरहेको भूमिका, तिनीहरूले के गर्न सक्छन्, र तिनीहरूले कसरी सहकार्य गर्न सक्छन् त्यसको आधारमा नै यो पदवी नाम पैदा भयो र परमेश्‍वरले नै यसको निर्धारण गर्नुभएको हो। यो अर्थबाट यसलाई हेर्दा, परमेश्‍वरको घरको हरेक सदस्यले परमेश्‍वरको व्यवस्थापन योजनाको लागि सेवा गर्छन् र पहिले यस प्रकारको भूमिका खेलेका हुन्छन्। के यसलाई यसरी बताउन सकिन्छ? (सकिन्छ।) अवश्य सकिन्छ! कसैको सकारात्मकतामाथि आक्रमण गर्न वा परमेश्‍वरमाथिको तेरो विश्‍वास वा तेरो साँचो विश्‍वासलाई जाँच गर्नको लागि परमेश्‍वरले यो पदवी नामको प्रयोग गर्न चाहनुहुन्‍न, तँलाई हेला गर्न, तेरो बानीब्यहोरालाई सुधार गर्न, तँलाई अझै बढी आज्ञाकारी बनाउन, वा तँलाई आफ्‍नो पहिचान र हैसियतको बारेमा सचेत तुल्याउनको लागि प्रयोग गर्न चाहने कुरा त परै जाओस्; मानिसहरूलाई सृष्टिका प्राणीहरूका रूपमा आफ्ना कर्तव्यहरू पूरा गर्ने अधिकारबाट वञ्चित गर्न “सेवाकर्ताहरू” भन्‍ने पदवी नाम प्रयोग गर्ने अभिप्राय उहाँको छ भन्‍ने कुरा त परै राखौं। यो पदवी नाम पूर्ण रूपमा मानिसहरूको स्थिति र सार, र तिनीहरूले परमेश्‍वरलाई पछ्याउने क्रममा परमेश्‍वरको कार्यको प्रक्रियाद्वारा तिनीहरूले प्राप्त गरेको अवस्थाको परिणामस्वरूप नै आएको हो। त्यसकारण, परमेश्‍वरको व्यवस्थापन कार्य समाप्त भएपछि मानिसहरूसँग कस्तो पहिचान, स्थान, पद, वा गन्तव्य हुनेछ भन्‍ने कुरासँग यो पदवी नामको कुनै सम्‍बन्ध छैन। परमेश्‍वरको व्यवस्थापन योजना र उहाँको व्यवस्थापन कार्यका मापदण्डहरूद्वारा नै पूर्ण रूपमा यो पदवी नामको उदय भएको हो, र त्यो काम अघि बढिरहेको बेला मानिसहरू यही अवस्थामा हुन्छन्। यो अवस्था—जुन अवस्थामा व्यक्तिले परमेश्‍वरको घरको लागि सेवा प्रदान गर्ने सेवाकर्ताको काम गरिरहेको हुन्छ र मेसिनजस्तो प्रयोग गरिएको हुन्छ—अन्त्यसम्‍मै जारी रहनेछ कि अघि बढ्ने क्रममा सुधार हुँदै जानेछ भन्‍ने बारेमा भन्दा, यो व्यक्तिको खोजीमा आधारित हुन्छ। यदि कसैले सत्यताको खोजी गर्छ, आफ्‍नो स्वभावमा परिवर्तन हासिल गर्न सक्छ, र परमेश्‍वरलाई आदर गर्न र उहाँमा समर्पित हुन सक्छ भने, त्यो व्यक्ति “सेवाकर्ता” भन्‍ने पदवी नामबाट पूर्ण रूपमा मुक्त भएको हुन्छ। त्यो पदवी नाम फालिसकेपछि, मानिसहरू के बन्छन् त? तिनीहरू परमेश्‍वरको साँचो अनुयायीहरू, उहाँका मानिसहरू, राज्यका मानिसहरू बन्छन्—अर्थात्, परमेश्‍वरको राज्यका मानिसहरू बन्छन्। यदि, यस प्रक्रियामा, तँ मूल्य चुकाउने, कष्ट भोग्‍ने, र प्रयास गर्ने कार्यमा मात्रै सीमित हुन्छस्, र सत्यताको खोजी गर्दैनस्, वा यसलाई अभ्यास गर्दैनस् भने, र तेरो स्वभाव अलिकति पनि परिवर्तन हुँदैन र तैँले गर्ने कुनै पनि काममा परमेश्‍वरको घरका सिद्धान्तहरूअनुसार काम गर्दैनस्, र तैँले आखिरमा परमेश्‍वरप्रतिको समर्पणता र उहाँप्रतिको श्रद्धाभाव हासिल गर्न सक्दैनस् भने, “सेवाकर्ता” को यो पदवी नाम—यो “पुष्प मुकुट”—अवश्य नै तेरो शिरमा रहनेछ, र तैँले यसलाई सदासर्वदा नै फुकाल्‍न सक्‍नेछैनस्। परमेश्‍वरको काम समाप्त भएपछि तँ अझै यही स्थितिमा हुन्छस्, र तेरो स्वभाव अझै परिवर्तन भएको छैन भने, “परमेश्‍वरको राज्यका मानिसहरू” भन्‍ने पदवी नाममा तेरो कुनै भूमिका हुनेछैन। यी शब्‍दहरूलाई कसरी बुझ्‍न सकिन्छ थ? तिमीहरूले यसलाई बुझ्यौ कि बुझेनौ? परमेश्‍वरको कार्य समाप्त हुनेबित्तिकै, अर्थात्, उहाँले मुक्ति दिन लाग्‍नुभएका सबैले मुक्ति पाइसकेपछि, परमेश्‍वरले गर्नुहुने काम समाप्त भएपछि; जब उहाँले अबउप्रान्त मानिसहरूसँग बोल्‍ने वा तिनीहरूलाई अगुवाइ गर्ने वा मानवको लागि थप कुनै मुक्तिको काम गर्न छोड्नुहुन्छ, जब यो सबै पूरा हुन्छ, र परमेश्‍वरको काम समाप्त भएको त्यो क्षणमा, भन मलाई, के यसको अर्थ जना हिँडिरहेको परमेश्‍वरमाथिको विश्‍वासको मार्ग समाप्त हुनेछ भन्‍ने हुन्छ? यस्तो एउटा हरफ छ, “अन्यायी, अझै अन्यायी नै रहिरहोस्: अनि फोहोरी, अझै फोहोरी नै रहिरहोस्: र धर्मी, अझै धर्मी नै रहिरहोस्: अनि पवित्र, अझै पवित्र नै रहिरहोस्” (प्रकाश २२:११)। यी शब्‍दहरूको अर्थ के हो त? यसको अर्थ परमेश्‍वरले उहाँको काम समाप्त भएको छ भन्‍नुभएको क्षणदेखि नै, उहाँले त्यसउप्रान्त मानिसहरूलाई मुक्ति दिने, वा मानिसहरूलाई सजाय दिने र न्याय गर्ने थप काम गर्नुहुनेछैन भन्‍ने हुन्छ; यसको अर्थ उहाँले त्यसउप्रान्त तँलाई अन्तर्दृष्टि दिने, तँलाई अगुवाइ गर्नेहुनेछैन, वा त्यसउप्रान्त तँलाई वास्ता गरेर अर्तीका वचनहरू वा तँलाई काट-छाँट गर्ने र निराकरण गर्ने वचनहरू बोल्‍नुहुनेछैन भन्‍ने हुन्छ। उहाँले त्यसउप्रान्त यी कुराहरू गर्नुहुनेछैन। यसको अर्थ के हो त? यसको अर्थ सबै कुराका परिणामहरू प्रकट भइसकेका हुनेछन्, र मानवजातिको अन्त्य पूरा भइसकेको हुनेछ। कुनै व्यक्तिले पनि यसलाई परिवर्तन गर्न सक्‍नेछैन; तँसँग त्यसउप्रान्त कुनै अवसरहरू हुनेछैन। यसको अर्थ त्यही हो।

ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरूले आफैलाई पृथक तुल्याउन अनि तिनीहरूका आफ्‍नै चासो र महत्वाकांक्षाहरूलाई पूरा गर्नको लागि आफ्‍ना कर्तव्य पूरा गर्छन्; तिनीहरूले परमेश्‍वरको घरको चासोहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि व्यक्तिगत वैभवको लागि ती चासोहरूलाई समेत बेच्छन् (९)”

कतिपय मानिसहरू आफ्ना कर्तव्यहरू पूरा गर्ने क्रममा गैरजिम्मेवार हुन्छन्। तिनीहरूले समस्या पहिचान गर्न सक्छन्, तर तिनीहरूले त्यो आफ्नो हृदयमा महसुस गरे पनि, तिनीहरू कि त अरूलाई चोट पुऱ्याउन चाहँदैनन् कि त त्यसलाई गम्भीरतासाथ लिन अनिच्छुक हुँदैनन्। तिनीहरूले त्यो ठूलो समस्या हो भनी विचार गर्छन्—तिनीहरू “पर्याप्त राम्रो” गर्नुमा नै सन्तुष्ट हुन्छन्, त्यसपछि त्यो कुरामा कुनै ध्यान दिँदैनन्। के यसो गर्नु उचित हो? यदि तैँले आफ्नो कर्तव्य पूरा गर्नु छ भने, तँ जिम्मेवारी लिन इच्छुक हुनुपर्छ। तँ किन विषयहरूलाई गम्भीरतासाथ लिन इन्कार गर्छस्? के त्यसो गर्नु कर्तव्य त्याग्नु होइन र? … आफ्‍नो कर्तव्यप्रतिको तिमीहरूको आचरण यस्तो हुन्छ, “म सकेसम्‍म कति थोरै गर्न सक्छु, म यसबाट कसरी फुत्कन सक्छु सो हेर्नेछु; तिमीले कति ढिलाइ गराउँछौ त्यो वास्ता नगरी तिमी अल्याङ्टल्याङ गर्छौ।” तर यदि तिमीहरूले काम-कुराहरूलाई गम्भीरतासाथ लियौ भने, तिमीहरूले थोरै समयमा नै त्यो काम पूरा गर्नेछौ। तिमीहरूलाई कतिपय कुराहरू कसरी गर्नुपर्छ भन्‍ने थाहा छैन, त्यसैले म तिमीहरूलाई सही-सही निर्देशनहरू दिन्छु। तिमीहरूले सोचविचार गर्नुपर्दैन, तिमीहरूले केवल सुन्नु र त्यसलाई कार्यान्वयन मात्र गर्नुपर्छ—तर त्यो पनि तिमीहरूले गर्न सक्‍नेभन्दा परको कुरा हो। तिमीहरूको बफादारीता कहाँ छ? त्यो कहीँ पनि देखिँदैन! तिमीहरू गफ मात्रै गर्छौ र काम गर्दैनौ। यदि तेरो हृदयले बुझ्यो भने पनि, तिमीहरूले केही पनि गर्दैनौ। यो सत्यतालाई प्रेम नगर्ने व्यक्ति हो! यदि तिमीहरूले यसलाई आफ्नै आँखाले देख्न सक्छौ र आफ्नो हृदयले महसुस गर्न सक्छौ, तर अझै केही पनि गर्दैनौ भने, हृदय भएको के काम लाग्यो र? तेरो विवेकको भागले तेरा कार्यहरूलाई नियन्त्रण गर्दैन, यसले तेरा सोचविचारहरूलाई निर्देशित गर्दैन—त्यसो भए यसको के काम? यसको केही महत्त्व हुँदैन; यो त सजावट मात्र हो। मानिसको विश्‍वास साँच्चै दयनीय छ! र यसको बारेमा कुन कुरा दयनीय छ? उसले सत्यतालाई बुझे पनि, उसले त्यसलाई अभ्यास गर्दैन। उसले समस्यालाई राम्ररी बुझ्यो भने पनि, उसले त्यसको निम्ति जिम्मेवारी लिँदैन; त्यो उसको जिम्मेवारी हो भन्‍ने उसलाई थाहा हुन्छ, तर उसले त्यसमा आफ्नो हृदय लगाउँदैन। यदि तैँले आफूले सक्ने जिम्मेवारीहरू लिँदैनस् भने, तैँले लिएको ती सानातिना जिम्मेवारीहरूको के मूल्य हुन्छ र? तिनको प्रभाव कस्तो हुन्छ र? तैँले त्यसको निम्ति विभिन्न कुराहरू भनी टोपल्दै बाहिरी रूपमा मात्र कोसिस गरिरहेको हुन्छस्। तैँले त्यसमा आफ्नो हृदय लगाउँदैनस्, तेरो ऊर्जा लगाउने कुरा त परै जाओस्। यसो गर्नु स्वीकार्य मापदण्ड अनुसार तेरो कर्तव्य गर्नु होइन, त्यसमा बफादारीता सम्मिलित भएको हुँदैन; तँ कठोर परिश्रम गर्दै बाँचिरहेको हुन्छस्, परमेश्‍वरको अनुयायीको रूपमा मुस्किलले जिइरहेको मात्र हुन्छस्। के यस्तो विश्‍वासको कुनै महत्त्व हुन्छ? यस्तो विश्‍वास अति तुच्छ हुन्छ—यसको मूल्य के हुन्छ? जब तैँले आफ्नो कर्तव्य पूरा गर्छस्, तैँले मूल्य चुकाउनुपर्छ। तैँले यसलाई गम्भीरताका साथ लिनुपर्छ। यसलाई गम्‍भीरताको साथ लिनु भनेको के हो? यसलाई गम्‍भीरताको साथ लिनु भनेको थोरै प्रयास गर्नु वा केही शारीरिक कष्ट भोग्‍नु भन्‍ने हुँदैन। मुख्य कुरा के हो भने तेरो हृदयमा परमेश्‍वर हुनु, र एउटा बोझ हुनु हो। तेरो हृदयमा, तैँले आफ्‍नो कर्तव्यको महत्त्वलाई जोख्‍नुपर्छ, अनि तैँले गर्ने सबै कुरामा यो बोझ र जिम्‍मेवारीलाई बोक्‍नुपर्छ र यसमा तेरो हृदय लगाउनुपर्छ। परमेश्‍वरले तँलाई दिनुभएको मिसनको लागि, साथै परमेश्‍वरले तेरो लागि गर्नुभएको सबै कुराको लागि, अनि उहाँले तेरो लागि गर्नुभएको आशाको लागि तैँले आफैलाई सुयोग्य बनाउनुपर्छ। यसो गर्नु मात्रै गम्‍भीर हुनु हो। तैँले झारा टारेर केही हुँदैन; तैँले मानिसहरूलाई छल्‍न सक्छस्, तर तैँले परमेश्‍वरलाई मूर्ख बनाउन सक्दैनस्। यदि तैँले आफ्‍नो कर्तव्य पूरा गर्दा कुनै वास्तविक मूल्य चुकाउँदैनस् र कुनै बफादारिता देखाउँदैनस् भने, त्यो मापदण्डको स्तरमा पुगेको हुँदैन। यदि तँ परमेश्‍वरमाथिको आफ्नो विश्‍वासलाई र तेरो कर्तव्य पूरा गर्ने कार्यलाई गम्भीरतासाथ लिँदैनस् भने; यदि तँ सधैँ झारा टार्ने काम गर्छस् र एक अविश्‍वासीले हाकिमको अधीनमा काम गरेको जस्तो आफ्‍ना कार्यहरूमा लापरवाही हुन्छस् भने; प्रत्येक दिन कर्तव्य पूरा गर्नुपर्दा काम चलाउ गर्ने काम गर्दै, समस्याका कुराहरू देख्दा तिनलाई बेवास्ता गर्दै, कुराहरू छरपष्ट भएको देख्दा पनि तँ त्यसलाई सफा नगर्ने, र तेरो फाइदा नहुने सबै कुरालाई सोचविचार नगरी खारिज गर्ने गर्दै देखावटी प्रयास मात्रै गर्छस् भने—के यो समस्या होइन र? यस्तो कुनै व्यक्ति कसरी परमेश्‍वरको घरको सदस्य हुन सक्छ? त्यस्ता मानिसहरू बाहिरकाहरू हुन्; तिनीहरू परमेश्‍वरको घरका होइनन्। तैँले आफ्‍नो कर्तव्य पूरा गर्ने क्रममा तँ आफ्नो हृदयमा साँचो भइरहेको छस् कि छैनस्, गम्भीर भइरहेको छस् कि छैनस् भनी स्पष्ट जान्दछस्, र परमेश्‍वरले हिसाब पनि राख्नुहुन्छ। त्यसो भए, के तिमीहरूले कहिल्यै आफ्नो कर्तव्य पूरा गर्ने कामलाई गम्भीरताका साथ लिएका छौ? के तिमीहरूले यसलाई कहिल्यै हृदयमा राखेका छौ? के तिमीहरूले यसलाई आफ्नो जिम्मेवारी, तेरो दायित्वको रूपमा लिएका छौ? के तिमीहरूले यसको स्वामित्व लिएका छौ? के तिमीहरूले आफ्नो कर्तव्य पूरा गर्ने क्रममा समस्या पत्ता लगाउँदा त्यसको बारेमा कहिल्यै कुरा उठाएका छौ? यदि समस्या भएको थाहा पाएर पनि त्यसको बारेमा तिमीहरूले कहिल्यै कुरा उठाएका छैनौ, त्यसको बारेमा सोचविचार समेत गरेका छैनौ भने, यदि तिमिहरू त्यस्ता कुराहरूमा चासो राख्न अनिच्छुक भएका छौ भने, र थोरै कठिनाइ हुनु नै राम्रो हो भनी सोच्छौ भने—यदि यस्ता कुराहरूप्रति तिमीहरूको यस्तै सिद्धान्त हो भने, तिमीहरूले आफ्नो कर्तव्य गरिरहेका हुँदैनौ; तिमीहरू कठोर परिश्रम गर्दै जिइरहेका हुन्छौ, तिमीहरूले सेवा मात्रै गरिरहेका हुन्छौ। सेवा-कर्ताहरू परमेश्‍वरको घरका हुँदैनन्। तिनीहरू जागिरेहरू हुन्; काम गरिसकेपछि तिनीहरू आफ्नो पैसा लिन्छन् र जान्छन्, प्रत्येक आ-आफ्नै बाटो लाग्छन् र अर्को व्यक्तिका निम्ति अपरिचित बन्छन्। परमेश्‍वरको घरसँग तिनीहरूको सम्बन्ध यस्तै हुन्छ। परमेश्‍वरको घरका सदस्यहरू फरक हुन्छन्: तिनीहरूले परमेश्‍वरको घरका सबै कुराहरूमा कष्ट उठाउँछन्, तिनीहरूले जिम्मेवारी लिन्छन्, तिनीहरूका आँखाले परमेश्‍वरको घरमा के गर्नु आवश्यक छ त्यो देख्छन्, र ती कामहरूलाई तिनीहरूले आफ्नो मनमा राख्छन्, तिनीहरूले सोचेका र देखेका सबै कुरा याद राख्छन्, तिनीहरूले बोझ बोकेका हुन्छन्, तिनीहरूमा जिम्मेवारीको बोध हुन्छ—यिनीहरू परमेश्‍वरको घरका सदस्यहरू हुन्। के तिमीहरू यो स्थितिमा पुगेका छौ? (छैनौं।) त्यसो भए तिमीहरू अझै लामो बाटो हिँड्नु बाँकी छ, त्यसैले तिमीहरू त्यसको पछि लागिरहनुपर्छ! यदि तँ आफैलाई परमेश्‍वरको घरको सदस्य ठान्दैनस् र आफैलाई अलग गर्छस् भने, परमेश्‍वरले तँलाई कसरी हेर्नुहुन्छ? परमेश्‍वरले तँलाई बाहिरी मानिससँग जस्तो व्यवहार गर्नुहुन्न; बरु तैँले नै आफैलाई उहाँको ढोका बाहिर राख्छस्। निष्पक्ष रूपमा कुरा गर्ने हो भने, तँ वास्तवमा कस्तो प्रकारको व्यक्ति होस्? तँ उहाँको घरमा हुँदैनस्। के परमेश्‍वरले भन्नुहुने वा निर्धारण गर्नुहुने कुरासँग यसको कुनै सम्बन्ध हुन्छ? तैँले नै आफ्नो अन्त्य निर्धारण गरेको हुन्छस् र परमेश्‍वरको घरको बाहिर बसेको छस्—अब अरू कसलाई दोष दिने?

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “कर्तव्य राम्ररी पूरा गर्नको लागि कम्तीमा पनि विवेक चाहिन्छ”

अहिले, धेरैजसो मानिसहरू (जसको अर्थ ज्येष्ठ छोराहरू बाहेक) यस्तो अवस्थामा छन्। मैले यी कुरा अति स्पष्टताका साथ बताएको छु, तापनि यी मानिसहरूको कुनै प्रतिक्रिया हुँदैन र अझै पनि तिनीहरूको देहगत आनन्दको वास्ता गर्दछन्। तिनीहरूले खान्छन् र सुत्छन्; तिनीहरू सुत्छन् र त्यसपछि खान्छन्। तिनीहरूले मेरा वचनहरूमाथि चिन्तन गर्दैनन्। तिनीहरू ऊर्जाशील हुँदा पनि त्यो केही समयका लागि मात्र हुन्छ; पछि, तिनीहरू अझै पनि पहिलेका जस्तै पूर्ण रूपमा अपरिवर्तित रहन्छन्, मानौं तिनीहरूले मलाई पटक्कै सुनेका छैनन्। यी प्रतिनिधिमूलक नमुनाहरू हुन्, निकम्मा मानिसहरू, जोसित कुनै बोझ हुँदैन; तिनीहरू सित्तैँमा भोगचलन गर्नेहरू हुन् भन्ने अत्यन्तै स्पष्ट छ। पछि, म तिनीहरूलाई एक-एक गरी छोडिदिन्छु; चिन्ता नगर! म तिनीहरूलाई एक-एक गरी अतल कुण्डमा पठाउनेछु। पवित्र आत्माले त्यस्ता मानिसहरूमा कहिल्यै काम गर्नुभएको छैन, र तिनीहरूले गर्ने सबै कुरा तिनीहरूले पाएका वरदानहरूबाट प्रवाहित हुन्छन्। जब म वरदानको कुरा गर्छु, मेरो भनाइको अर्थ यी जीवनरहित मानिसहरू हुन्, जो मेरा सेवा-कर्ताहरू हुन् भन्‍ने हो; म तिनीहरूमध्ये कसैलाई पनि चाहन्नँ, र म तिनीहरूलाई हटाउनेछु (तर अहिलेचाहिं, तिनीहरू थोरै उपयोगी छन्)। तिमीहरू जो-जो सेवा-कर्ताहरू हौ, सुन! यो नसोच कि मैले तँलाई प्रयोग गर्नुको अर्थ म तँलाई निगाह गर्छु भन्ने होइन; यो त्यति सरल छैन। यदि तँ मैले तँलाई निगाह गरेको चाहन्छस् भने, तँ त्यस्तो व्यक्ति हुनुपर्छ जसलाई म स्वीकार गर्छु र जसलाई म व्यक्तिगत रूपमा सिद्ध पार्छु। यो मैले प्रेम गर्ने प्रकारको व्यक्ति हो। मानिसहरूले मैले गल्ती गरेको छु भनेर भने पनि म कहिल्यै पनि मन परिवर्तन गर्नेछैन। के तँलाई यो थाहा छ? सेवा प्रदान गर्नेहरू केवल गाईवस्तु र घोडाहरू मात्र हुन्; तिनीहरू कसरी मेरो ज्येष्ठ छोराहरू हुन सक्छन्? के यो मूर्खतापूर्ण हुनेछैन र? के यो प्रकृतिको नियम उल्लङ्घन हुनेछैन र? जोसँग मेरो जीवन र मेरो गुण छ, तिनीहरू मेरा ज्येष्ठ छोराहरू हुन्। यो एउटा व्यावहारिक कुरा हो; यसलाई कसैले पनि खण्डन गर्न सक्दैन। यो यस्तै हुनुपर्छ; नत्र, यो भूमिका खेल्न सक्ने कोही पनि हुनेथिएन, र कसैले पनि यसको प्रतिस्थापना गर्न सक्‍नेथिएन। यो कुनै भावनाको भरमा गरिने कार्य होइन, किनकि म स्वयम् धार्मिक परमेश्‍वर हुँ; म पवित्र परमेश्‍वर स्वयम् हुँ। म प्रतापी, उल्‍लङ्घन गर्न नसकिने परमेश्‍वर स्वयम्‌ हुँ!

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १०२

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

प्रभुले यसो भन्दै हामीसँग प्रतिज्ञा गर्नुभयो, “म तिमीहरूको लागि ठाउँ तयार गर्न जान्छु। अनि यदि म जान्छु र तिमीहरूको निम्ति ठाउँ तयार पर्छु भने, म फेरि आउनेछु र तिमीहरूलाई म आफै ग्रहण गर्नेछु; ताकि म जहाँ छु तिमीहरू पनि त्यहीँ हुन सक” (यूहन्‍ना १४:२-३)। प्रभु येशू पुनरुत्थान हुनुभयो र हाम्रो निम्ति ठाउँ तयार पार्न स्वर्गमा चढिजानुभयो, यसैले यो ठाउँ स्वर्गमा नै हुनुपर्दछ। तापनि तपाईं प्रभु येशू फर्केर आउनुभएको छ र पृथ्वीमा परमेश्‍वरको राज्य स्थापना गर्नुभएको छ भनी गवाही दिनुहुन्छ। मैले यो कुरा बुझिनँ: स्वर्गको राज्य स्वर्गमा छ कि पृथ्वीमा छ?

सन्दर्भका लागि बाइबल पदहरू: “हाम्रा स्वर्गमा हुनुहुने पिता, तपाईंको नाउँ पवित्र होस्। तपाईंको राज्य आओस्, स्वर्गमा जस्तै यस पृथ्वीमा पनि...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्