परमेश्‍वरको सर्वशक्तिमान्‌ता र बुद्धि प्रकट हुने प्राथमिक तरिकाहरू

14 अगस्ट 2021

परमेश्‍वरका प्रासंगिक वचनहरू:

उहाँले यावत् थोकको सृष्टि गर्न सुरु गर्नुभएदेखि नै, परमेश्‍वरको शक्ति व्यक्त हुन र प्रकट हुन थाल्यो, किनभने परमेश्‍वरले सबै थोक सृष्टि गर्न वचनको प्रयोग गर्नुभयो। उहाँले तिनीहरूलाई जसरी सृष्टि गर्नुभए तापनि, उहाँले तिनीहरूलाई जुन कारणले सृष्टि गर्नुभए तापनि, सबै थोक परमेश्‍वरकै वचनको कारण हुन आए र दृढ भई खडा भए र अस्तित्वमा रहे; सृष्टिकर्ताको अद्वितीय अख्‍तियार यही नै हो। संसारमा मानवजाति देखा पर्नुभन्दा पहिलेको समयमा, सृष्टिकर्ताले मानवजातिको लागि सबै थोक सृष्टि गर्न आफ्‍नो शक्ति र अख्तियारको प्रयोग गर्नुभयो, र मानवजातिको लागि जिउने उपयुक्त वातावरण तयारी गर्नको लागि आफ्‍नो अद्वितीय विधिहरूको प्रयोग गर्नुभयो। उहाँले गर्नुभएको सबै कुरा मानवजातिको तयारीको लागि थियो, जसले चाँडै नै उहाँको सास प्राप्त गर्न लागेको थियो। भन्‍नुको अर्थ, मानवजातिको सृष्टि गरिनुभन्दा पहिलेको समयमा, मानवजातिभन्दा फरक रहेका सबै प्राणीहरूमा, स्वर्गहरू, ज्योतिहरू, समुद्रहरू, र भूमि जस्ता ठूला कुराहरूमा, र पशु-प्राणी र चराचुरुङ्गीजस्ता साना कुराहरूमा, साथै नाङ्गो आँखाले देख्‍न नसकिने विभिन्‍न प्रकारका ब्याक्टेरिया लगायत कीरा-फट्याङ्ग्रा र सूक्ष्मजीवहरूमा परमेश्‍वरको अख्‍तियार प्रदर्शन गरिएको थियो। हरेकलाई सृष्टिकर्ताको वचनले जीवन दिएको थियो, सृष्टिकर्ताकै वचनको कारण हरेक सङ्ख्यामा वृद्धि भए, र उहाँकै वचनको कारण हरेक नै सृष्टिकर्ताको सार्वभौमिकताको अधीनमा जिए। तिनीहरूले सृष्टिकर्ताको सास प्राप्त नगरेका भए तापनि, तिनीहरूका विभिन्‍न रूप र संरचनाद्वारा नै तिनीहरूले सृष्टिकर्ताद्वारा तिनीहरूलाई दिइएको जीवन-शक्ति प्रदर्शन गरे; सृष्टिकर्ताले मानवजातिलाई दिनुभएको बोल्‍न सक्‍ने क्षमता तिनीहरूले प्राप्त नगरे तापनि, सृष्टिकर्ताले तिनीहरूलाई दिनुभएको तिनीहरूको जीवन व्यक्त गर्ने तरिका तिनीहरू प्रत्येकले प्राप्त गरे, जुन मानिसको भाषाभन्दा फरक थियो। सृष्टिकर्ताको अख्‍तियारले अचल देखिने भौतिक वस्तुलाई त्यो कहिल्यै हराएर नजाओस् भनेर जीवनशक्ति मात्र दिँदैन, तर उहाँले हरेक जीवित प्राणीलाई सन्तान पैदा गरेर वृद्धि हुने प्राकृतिक गुण पनि दिनुहुन्छ, ताकि तिनीहरू कहिल्यै हराएर नजाऊन्, ताकि सृष्टिकर्ताले तिनीहरूलाई दिनुभएको बाँच्‍ने सम्‍बन्धी नियम र सिद्धान्तहरूलाई तिनीहरूले एकपछि अर्को पुस्ता गर्दै हस्तान्तरण गर्दै जाऊन्। सृष्टिकर्ताले आफ्‍नो अख्‍तियार जुन किसिमले प्रयोग गर्नुहुन्छ त्यसले वृहत् वा सूक्ष्‍म दृष्टिकोणलाई कठोरताको साथ पालना गर्दैन, र यो कुनै पनि रूपमा सीमित छैन; उहाँले ब्रह्माण्डका कार्यवाहीहरूलाई आदेश दिन र सबै थोकको जीवन र मृत्युमाथि सार्वभौमिकता राख्‍न सक्‍नुहुन्छ, यसको साथै, सबै थोकले उहाँकै सेवा गरून् भनेर तिनलाई मिलाउनुहुन्छ; उहाँले पहाड-पर्वत, नदीनाला, र तालतलैयाले कसरी काम गर्छन् तिनलाई व्यवस्थापन गर्न, र तिनीहरूभित्र भएका कुराहरूलाई शासन गर्न सक्‍नुहुन्छ, त्यस बाहेक, उहाँ सबै थोकलाई जे चाहिन्छ त्यो प्रदान गर्न सक्‍नुहुन्छ। मानवजाति बाहेक सबै थोकको बीचमा सृष्टिकर्ताको अद्वितीय अख्‍तियारको प्रकटीकरण यही नै हो। त्यस्तो प्रकटीकरण जीवनकालको लागि मात्रै होइन; यो कहिल्यै सकिँदैन, न त यसले विश्राम नै गर्छ, र यसलाई कुनै पनि व्यक्ति वा थोकले परिवर्तन गर्न वा क्षति पुर्‍याउन सक्दैन, न त कुनै पनि व्यक्ति वा थोकले यसलाई थप्‍न वा घटाउन नै सक्छ—किनभने कसैले पनि सृष्टिकर्ताको पहिचानलाई प्रतिस्थापन गर्न सक्दैन, त्यसकारण सृष्टिकर्ताको अख्‍तियारलाई सृष्टि गरिएको कुनै पनि प्राणीले प्रतिस्थापन गर्न सक्दैन; सृष्टि नगरिएको कुनै पनि प्राणीले यसलाई प्राप्त गर्न सक्दैन।

वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर स्वयम् अद्वितीय १” बाट उद्धृत गरिएको

यस मानवजाति अस्तित्वमा आउनुभन्दा पहिले नै, आकाशमण्डल—स्वर्गमा भएका सबै ग्रहहरू र ताराहरू—पहिले नै अस्तित्वमा थिए। बृहत् स्तरमा, यी स्वर्गीय पिण्डहरू परमेश्‍वरको नियन्त्रणमा रही आफ्‍ना अस्तित्वको लागि नियमित रूपमा परिक्रमा गरिरहन्छन्, चाहे त्यो जति नै वर्ष भइसकेको होस्। कुनै निश्‍चित समयमा कुन ग्रह कहाँ जान्छ; कुन ग्रहले कुन काम, र कहिले गर्छ; कुन ग्रहले कुन परिक्रमा पथमा चक्‍कर लगाउँछ, र कहिले यो हराउँछ वा प्रतिस्थापित हुन्छ—यी सबै कुराहरू सानोभन्दा सानो गल्तीविना नै अघि बढिरहन्छन्। ग्रहहरूको स्थान र तिनीहरूबीचको दूरीले निश्‍चित ढाँचालाई पछ्याउँछन्, र यी सबैलाई सटीक आँकडाद्वारा व्याख्या गर्न सकिन्छ; तिनीहरूले यात्रा गर्ने मार्ग, परिक्रमा पथको गति र ढाँचा, तिनीहरू विभिन्‍न स्थानमा रहने समय—यी सबैलाई विशेष नियमहरूद्वारा सटीक रूपमा गणना र व्याख्या गर्न सकिन्छ। युगौंदेखि ग्रहहरूले अलिकति दायाँ-बायाँ नगरिकन यी नियमहरू पालना गरेका छन्। तिनीहरूको परिक्रमा पथ वा तिनीहरूले पछ्याउने ढाँचालाई कुनै पनि शक्तिले परिवर्तन गर्न वा भङ्ग गर्न सक्दैन। तिनीहरूको चाल नियन्त्रण गर्ने विशेष नियमहरू र तिनीहरूलाई व्याख्या गर्ने सटीक आँकडा सृष्टिकर्ताको अख्‍तियारद्वारा पूर्वनिर्धारित गरिएका हुनाले, सृष्टिकर्ताको सार्वभौमिकता र नियन्त्रणअन्तर्गत तिनीहरूले आफ्‍नै तरिकाले यी नियमहरूको पालना गर्छन्। बृहत् स्तरमा, मानिसले केही ढाँचा, केही आँकडा, र केही अनौठा र व्याख्या गर्न नसकिने नियम वा प्रक्रियाहरूलाई पत्ता लगाउनु कठिन छैन। परमेश्‍वरको अस्तित्वलाई मानवजातिले स्वीकार गर्दैन न त सृष्टिकर्ताले सबै थोक बनाउनुभयो र तीमाथि उहाँकै प्रभुत्व छ भन्‍ने नै स्वीकार गर्छ, साथै उसले सृष्टिकर्ताको अख्‍तियारको अस्तित्वलाई पहिचान गर्दैन, तथापि मानव वैज्ञानिक, खगोलशास्त्री, र भौतिकशास्‍त्रीहरूले ब्रह्माण्डमा यावत् थोकको अस्तित्व, र तिनीहरूको चाललाई निर्धारणगर्ने सिद्धान्त र ढाँचाहरू सबैलाई व्यापक र अदृश्य अन्धकारका उर्जाले शासन गर्दै नियन्त्रण गरेको छ भन्‍ने कुरालाई झन्-झन् बढी पत्ता लगाइरहेका छन्। यो तथ्यले मानिसलाई यी चालका ढाँचाहरूको बीचमा सबै कुरालाई योजनाबद्ध गर्नुहुने सर्वशक्तिमान् हुनुहुन्छ भन्‍ने कुराको सामना र स्वीकार गर्न बाध्य गर्छ। उहाँको शक्ति असाधारण छ, अनि उहाँको साँचो मुहारलाई कसैले देख्‍न नसके पनि, उहाँले हरेक क्षणमा हरेक कुरालाई शासनर नियन्त्रण गर्नुहुन्छ। उहाँको सार्वभौमिकताइतर कुनै पनि मानिस वा शक्ति पुग्न सक्दैन। यो तथ्यलाई ध्यानमा राख्दै, यावत् थोकको अस्तित्व शासन गर्ने नियमहरूलाई मानिसले नियन्त्रण गर्न सक्दैन, कसैले पनि त्यसलाई परिवर्तन गर्न सक्दैन भन्‍ने कुरालाई मानिसले पहिचान गर्नुपर्छ; मानिसले यी नियमहरूलाई पूर्ण रूपमा बुझ्‍न सक्दैन, र ती प्राकृतिक रूपमा नै भइरहेका हुँदैनन्, तर सार्वभौमबाट नियन्त्रित हुन्छन् भन्‍ने कुरालाई पनि उसले स्वीकार गर्नैपर्छ। यी सबै नै मानवजातिले बृहत् स्तरमा बुझ्‍न सक्‍ने परमेश्‍वरको अख्‍तियारका अभिव्यक्तिहरू हुन्।

सूक्ष्‍म स्तरमा, मानिसले पृथ्वीमा देख्‍न सक्‍ने सारा पहाड-पर्वत, नदी-नाला, ताल-तलैया, समुद्र अनि ठूला भूमिहरू, उसले अनुभव गर्ने सबै ऋतु, वनस्पति, पशु-प्राणी, सूक्ष्‍म जीव, र मानिसलगायत पृथ्वीमा वसोवास गर्ने सबै थोक परमेश्‍वरको सार्वभौमिकता र नियन्त्रणको अधीनमा छन्। परमेश्‍वरको सार्वभौमिकता र नियन्त्रणमा, उहाँकै सोचहरूअनुसार सबै थोक अस्तित्वमा आउँछन् वा हराउँछन्; तिनीहरूको अस्तित्वलाई शासन गर्ने नियमहरू उत्पन्‍न हुन्छन्, अनि त्यही नियमहरूलाई पालना गर्दै तिनीहरू बढ्छन् र फैलिन्छन्। कुनै पनि मानवजाति वा थोक यी नियमहरूभन्दा माथि छैन। किन यसो भयो? एउटै मात्र उत्तर यही हो: यो परमेश्‍वरको अख्‍तियारको कारणले गर्दा हो। अथवा, अर्को तरिकाले भन्दा, यो परमेश्‍वरको सोच र परमेश्‍वरको वचनहरूले गर्दा भएको हो; परमेश्‍वर स्वयम्‌को व्यक्तिगत कार्यहरूको कारणले गर्दा हो। यसको अर्थ के हो भने यी नियमहरूलाई उत्पन्‍न गर्ने परमेश्‍वरको अख्‍तियार र परमेश्‍वरको मन हुन्, जुन उहाँका सोचहरूअनुसार स्थानान्तरण र परिवर्तन हुन्छन्, अनि उहाँकै योजनाको खातिर स्थानान्तर र परिवर्तन हुन्छन् वा हराएर जान्छन्।

वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर स्वयम् अद्वितीय ३” बाट उद्धृत गरिएको

आफूले सृष्टि गर्नुभएको सबै थोक उहाँकै वचनको कारण अस्तित्वमा आएर, खडा भएको, अनि क्रमिक रूपमा परिवर्तन हुन सुरु गरेको परमेश्‍वरले हेर्नुभयो। यो समयमा, आफ्‍ना वचनहरूद्वारा उहाँले बनाउनुभएका कुराहरूप्रति र उहाँले हासिल गर्नुभएका विभिन्‍न कार्यहरूप्रति के परमेश्‍वर सन्तुष्ट हुनुहुन्थ्यो? उत्तर “त्यो असल छ भन्‍ने परमेश्‍वरले देख्‍नुभयो।” भन्‍ने हो। तिमीहरू यहाँ के देख्छौ? “त्यो असल छ भन्‍ने परमेश्‍वरले देख्‍नुभयो” ले केलाई प्रतिनिधित्व गर्छ? यो केको प्रतीक हो? यसको अर्थ आफूले योजना बनाउनुभएका र निर्धारित गर्नुभएका कुराहरूलाई हासिल गर्ने, उहाँले हासिल गर्नको लागि तय गर्नुभएका लक्ष्यहरूलाई हासिल गर्ने शक्ति र बुद्धि परमेश्‍वरसँग छ भन्‍ने हुन्छ। जब परमेश्‍वरले प्रत्येक काम पूरा गर्नुभयो, के उहाँलाई पछुतो लाग्यो? यसको उत्तर अझै पनि “त्यो असल छ भन्‍ने परमेश्‍वरले देख्‍नुभयो।” भन्‍ने नै हो। अर्को शब्‍दमा भन्दा, उहाँलाई कुनै पछुतो नलागेको मात्रै होइन, तर यसको सट्टा उहाँ सन्तुष्टचाहिँ हुनुहुन्थ्यो। उहाँलाई कुनै पछुतो भएन भन्‍नुको अर्थ के हो? यसको अर्थ परमेश्‍वरको योजना सिद्ध छ, उहाँको शक्ति र बुद्धि सिद्ध छ, र उहाँको अख्‍तियारद्वारा मात्रै त्यस्तो सिद्धता हासिल गर्न सकिन्छ भन्‍ने हो। जब मानिसले कुनै काम गर्छ, के उसले पनि परमेश्‍वरले जस्तै यसलाई हेरेर असल देख्‍न सक्छ? के मानिसले गर्ने सबै कुरामा उसले सिद्धता हासिल गर्न सक्छ? के मानिसले कुनै कुरा सदा अनन्तसम्‍मको लागि पूरा गर्न सक्छ? मानिसले “कुनै पनि कुरा सिद्ध हुँदैन, अलिक उत्तम मात्रै हुन्छ” भनेजस्तै, मानिसले गर्ने कुनै कुराले पनि सिद्धता हासिल गर्न सक्दैन। जब आफूले गर्नुभएको र हासिल गर्नुभएको सबै कुरा परमेश्‍वरले असल देख्‍नुभयो, परमेश्‍वरले बनाउनुभएको सबै कुरा उहाँकै वचनले तय गरेको थियो, भन्‍नुको अर्थ, जब “त्यो असल छ भन्‍ने परमेश्‍वरले देख्‍नुभयो,” उहाँले बनाउनुभएका सबैले स्थायी स्वरूप लिएको थियो, प्रकार अनुसार वर्गीकरण भएको थियो, र सदा अनन्तको लागि निश्‍चित स्थान, उद्देश्य, र कार्य दिइएको थियो। यसको साथै, सबै थोकको बीचमा तिनीहरूको भूमिका, र सबै थोकमाथिको परमेश्‍वरको व्यवस्थापनको अवधिमा तिनीहरूले गर्नै पर्ने यात्रा परमेश्‍वरले पहिले नै नियुक्त गरिसक्‍नुभएको थियो, र ती अपरिवर्तनीय थिए। यो सृष्टिकर्ताले सबै थोकका लागि दिनुभएको स्वर्गीय नियम थियो।

“त्यो असल छ भन्‍ने परमेश्‍वरले देख्‍नुभयो,” यी सरल, कम रूपमा बुझिएका, धेरै पटक बेवास्ता गरिएका वचनहरू, परमेश्‍वरले सारा प्राणीहरूलाई दिनुभएका स्वर्गीय नियम र स्वर्गीय अध्यादेशका वचनहरू हुन्। ती सृष्टिकर्ताको अख्‍तियारको अर्को मूर्तरूप हो, जुन अझै बढी व्यवहारिक, र अझै बढी गहन छ। आफ्‍ना वचनहरूद्वारा, सृष्टिकर्ताले आफूले हासिल गर्न तय गर्नुभएको सबै कुरालाई प्राप्त मात्रै गर्न सक्‍नुभएन, र उहाँले प्राप्त गर्न तय गर्नुभएको सबै हासिल मात्रै गर्न सक्‍नुभएन, तर उहाँले सृष्टि गर्नुभएको सबैलाई आफ्‍नै हातले नियन्त्रण गर्न, र आफ्‍नो अख्‍तियारको अधीनमा उहाँले बनाउनुभएका सबै थोकलाई शासन गर्न पनि सक्‍नुभयो, यसको साथै सबै व्यवस्थित र क्रमबद्ध थियो। सबै कुरा उहाँकै वचनद्वारा सङ्ख्यामा वृद्धि भए, अस्तित्वमा रहे, र नाश भए, यसको साथै, उहाँको अख्‍तियारद्वारा नै ती उहाँले अघि सार्नुभएको नियमको बीचमा अस्तित्वमा रहे, र कुनैलाई पनि यसबाट छूट थिएन! “त्यो असल छ भन्‍ने परमेश्‍वरले देख्‍नुभयो,” भनी भनिएकै क्षण यो नियमको सुरुवात भयो र सृष्टिकर्ताले रद्द गर्नुहुने दिनसम्‍मै परमेश्‍वरको व्यवस्थापन योजनाको खातिर यो अस्तित्वमा रहिरहन्छ, निरन्तर रहन्छ, र सुचारु भइरहन्छ! सबै थोक सृष्टि गर्ने र सबै थोकलाई आज्ञा गरी अस्तित्वमा ल्याउने उहाँको क्षमतामा मात्रै होइन, तर सबै थोकलाई शासन गर्ने र तिनमाथि सार्वभौमिकता राख्‍ने, र सबै थोकमाथि जीवन र जीवन शक्ति प्रदान गर्ने उहाँको क्षमतामा, साथै, उहाँले बनाउनुभएको संसारमा उहाँले आफ्‍नो योजनामा सृष्टि गर्नुभएको यावत् थोक सिद्ध आकार, र सिद्ध जीवन संरचना, अनि सिद्ध भूमिका सहित सदा अनन्तको लागि देखा पर्ने र अस्तित्वमा रहने तुल्याउने उहाँको क्षमतामा पनि सृष्टिकर्ताको अद्वितीय अख्तियार प्रकट भयो। त्यसरी नै सृष्टिकर्ताका विचारहरू कुनै पनि सीमाहरूका अधीनमा थिएनन्, समय, स्थान, वा भूगोलद्वारा सीमित थिएनन् भन्‍ने तरिकाले पनि यसको प्रकटीकरण भयो। उहाँको अख्तियारजस्तै, सृष्टिकर्ताको अद्वितीय पहिचान पनि अनन्‍तदेखि अनन्‍तसम्‍म अपरिवर्तित रहन्छ। उहाँको अख्तियार सधैँ नै उहाँको अद्वितीय पहिचानको प्रतिनिधित्व र प्रतिक हुनेछ, र उहाँको अख्‍तियार उहाँको पहिचानसँग एकसाथ सदासर्वदा रहिरहन्छ!

वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर स्वयम् अद्वितीय १” बाट उद्धृत गरिएको

उत्पत्ति १८:१८ मा “अब्राहाम अवश्य नै महान् र शक्तिशाली जाति बन्‍नेछ र पृथ्वीका सबै जातिहरू तिनमा नै आशिषित हुनेछन्” भन्‍ने पढिसकेपछि, के तिमीहरू परमेश्‍वरको अख्‍तियारलाई अनुभूति गर्न सक्छौ? के तिमीहरू सृष्टिकर्ताको असाधारणतालाई अनुभूति गर्न सक्छौ? के तिमीहरू सृष्टिकर्ताको सर्वोच्‍चतालाई अनुभूति गर्न सक्छौ? परमेश्‍वरका वचनहरू निश्‍चित छन्। आफ्‍नो सफलताको सुनिश्‍चितताको कारण, वा त्यसको प्रतिनिधित्व स्वरूप परमेश्‍वरले त्यस्ता वचनहरू बोल्‍नुहुन्‍न; बरु, ती परमेश्‍वरका वाणीहरूको अख्तियारको सबुत हुन्, र परमेश्‍वरको वचनहरूलाई पूरा गर्ने आज्ञा हुन्। तिमीहरूले यहाँ ध्यान दिनुपर्ने दुई वटा अभिव्यक्ति छन्। परमेश्‍वरले “अब्राहाम अवश्य नै महान् र शक्तिशाली जाति बन्‍नेछ र पृथ्वीका सबै जातिहरू तिनमा नै आशिषित हुनेछन्,” भनी भन्‍ने क्रममा, के यी वचनहरूमा कुनै अस्पष्टताको तत्व छ? के कुनै चिन्ताको तत्व छ? के कुनै डरको तत्व छ? परमेश्‍वरका वाणीहरूका “अवश्य नै हुनेछ” र “हुनेछ” भन्‍ने शब्‍दहरूको कारणले, मानिसमा निश्‍चित रूपमा हुने र उसमा प्रायजसो देखिने यी तत्वहरूले सृष्टिकर्तासँग कहिल्यै कुनै सम्‍बन्ध राखेका छैनन्। अरूलाई शुभकामना दिँदा कसैले पनि त्यस्ता वचनहरूको प्रयोग गर्ने आँट गर्दैनन्, कसैले पनि अरूलाई ठूलो र शक्तिशाली जाति दिने भनी आशिष्‌ दिन, वा पृथ्वीका सबै जातिले तिनमा आशिष्‌ पाउनेछन् भनेर प्रतिज्ञा गर्न कसैले पनि आँट गर्दैनन्। परमेश्‍वरका वचनहरू जति निश्‍चित छन्, तिनले कुनै कुरालाई त्यति नै प्रमाणित गर्छन्—र त्यो कुनै कुरा के हो? तिनले परमेश्‍वरसँग त्यस्तो अख्‍तियार छ, उहाँको अख्‍तियारले यी कुराहरू पूरा गर्न सक्छ, र ती पूरा हुनु अपरिहार्य छ भन्‍ने कुरालाई प्रमाणित गर्छन्। उहाँले अब्राहामलाई जे आशिष्‌ दिनुभएको थियो त्यसको बारेमा परमेश्‍वर आफ्‍नो हृदयमा सुनिश्‍चित हुनुहुन्थ्यो, उहाँमा अलिकति पनि हिचकिचाहट थिएन। यसको साथै, यसको पूर्णता उहाँका वचनहरू अनुसार नै हासिल हुनेथिए, र यसको पूर्णतालाई कुनै पनि शक्तिले परिवर्तन गर्न, रोक्‍न, हानी गर्न, वा बाधा दिन सक्‍नेथिएन। अरू जेसुकै भए तापनि, परमेश्‍वरका वचनहरू पूर्णता हुनु र पूरा हुनुलाई कुनै कुराले पनि रोक्‍न वा वाधा दिन सकेन। यो सृष्टिकर्ताको मुखबाट बोलिएका वचनहरूको शक्ति, र मानिसको इन्कारमा नरोकिने सृष्टिकर्ताको अख्तियार हो! यी वचनहरूलाई पढिसकेपछि, के तँलाई अझै शङ्‍का लाग्छ? यी वचनहरू परमेश्‍वरको मुखबाट बोलिएका थिए, र परमेश्‍वरका वचनहरूमा शक्ति, प्रताप, र अख्तियार छ। त्यस्तो शक्ति र अख्तियार, र तथ्यहरू पूरा हुने अपरिहार्यतालाई सृष्टि गरिएको वा सृष्टि नगरिएको कुनै पनि प्राणीले प्राप्त गर्न सक्दैन, र सृष्टि गरिएको वा सृष्टि नगरिएको कुनै पनि प्राणीले यसलाई नाघ्‍न सक्दैन। सृष्टिकर्ताले मात्रै मानवजातिसँग त्यस्तो शैली र स्वरमा कुराकानी गर्न सक्‍नुहुन्छ, र उहाँका प्रतिज्ञाहरू खोक्रा शब्‍दहरू, वा फोकट घमण्ड होइनन्, तर कुनै पनि व्यक्ति, घटना, वा थोकले नाघ्‍न नसक्‍ने अद्वितीय अख्तियारको अभिव्यक्ति हुन् भन्‍ने कुरालाई यी तथ्यहरूले प्रमाणित गरेको छ।

वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर स्वयम् अद्वितीय १” बाट उद्धृत गरिएको

धर्मशास्त्रको निम्न अध्यायलाई हेरौं: “अनि जब उहाँले त्यसरी बोलिसक्‍नुभएपछि, उहाँले उच्‍च स्वरमा लाजरस, बाहिर आऊ भनी भन्‍नुभयो। तब तिनी, … मरेको मानिस बाहिर आए…।” जब प्रभु येशू ख्रीष्टले यसो गर्नुभयो, तब उहाँले केवल एउटा कुरा गर्नुभयो: “लाजरस, बाहिर आऊ।” तब लाजरस उसको चिहानबाट बाहिर आए—प्रभुले उच्चारण गर्नुभएका केवल केही वचनहरूको कारणले यो कार्य सम्पन्न भएको थियो। त्यस समयावधिमा, प्रभु येशूले वेदी खडा गर्नुभएन, अनि उहाँले कुनै अन्य कामहरू गर्नुभएन। उहाँले केवल एउटै कुरा गर्नुभयो। यसलाई आश्‍चर्यकर्म भन्न सकिन्छ कि आज्ञा? अथवा, के त्यो कुनै प्रकारको जादुगरी थियो? झट्ट हेर्दा, यसलाई आश्‍चर्यकर्म भन्न सकिन्छ कि भन्ने देखिन्छ, अनि यदि तैँले यसलाई आधुनिक दृष्टिकोणबाट हेर्छस् भने तैँले यसलाई आश्‍चर्यकर्म नै भन्न सक्छस्। तैपनि, यसलाई मृतकबाट प्राण फर्काउनको निम्ति बोलाइने एक प्रकारको जादु भनेर निश्चय नै भन्‍न सकिँदैन, र यो कुनै पनि प्रकारको जादूगरी अवश्य थिएन। यो आश्‍चर्यकर्म सृष्टिकर्ताको अख्तियारको सबैभन्दा सामान्य अनि सानो प्रदर्शन थियो भन्नु सही हुन्छ। यो परमेश्‍वरको अख्तियार र शक्ति हो। कुनै व्यक्तिलाई मर्न दिने, उसको आत्मालाई उसको शरीर छोडेर मृत लोक वा त्यो जहाँसुकै जानुपर्ने हो त्यहाँ जान दिने अधिकार परमेश्‍वरसित छ। व्यक्तिको मृत्यु हुने समय र मृत्युपछि तिनीहरू जानुपर्ने ठाउँ—यी कुराहरू परमेश्‍वरद्वारा निर्धारित हुन्छन्। उहाँले यी निर्णयहरू मानवहरू, घटनाहरू, वस्तुहरू, स्थान वा भूगोलको दबाबमा नपरी कुनै पनि समयमा र कुनै पनि ठाउँमा गर्न सक्नुहुन्छ। यदि उहाँले यो गर्न चाहनुहुन्छ भने उहाँले यो गर्न सक्नुहुन्छ, किनकि सबै कुराहरू र जीवित प्राणीहरू उहाँको शासनको अधीनमा छन् र सबै कुराहरू उहाँको वचन र उहाँको अधिकारद्वारा वृद्धि-विकास हुन्छन्, अस्तित्वमा रहन्छन् र नष्ट हुन्छन्। उहाँले मृतकलाई बौरी उठाउन सक्नुहुन्छ, अनि यो पनि उहाँले कुनै पनि समयमा, कुनै पनि स्थानमा गर्नसक्ने कुरा हो। यो केवल सृष्टिकर्तामा निहित रहेको अख्तियार हो।

लाजरसलाई मृतकबाट फर्काउने जस्ता कार्यहरू गर्ने क्रममा प्रभु येशूको लक्ष्य भनेको मानिसहरू तथा शैतान देखाउन प्रमाण दिनु थियो, र मानिसहरू तथा शैतानलाई मानवजातिको बारेमा हरेक कुरा, मानवजातिको जीवन तथा मृत्यु परमेश्‍वरद्वारा निर्धारित हुन्छन्, अनि उहाँ देहधारी भइसक्नुभएको भए तापनि, देख्न सकिने भौतिक संसारको साथै मानिसहरूले देख्न नसक्ने आत्मिक संसारमाथि उहाँको हुकुम कायम छ भन्‍ने कुरा जान्‍न दिनु थियो। यो यसकारण गरिएको थियो ताकि मानवजातिको सबै कुरा शैतानको अधीनमा छैन भनी मानवजाति र शैतानले जान्न सकून्। यो परमेश्‍वरको अधिकारको प्रकाश तथा प्रदर्शन थियो, अनि यो मानवजातिको जीवन र मृत्यु परमेश्‍वरको हातमा छन् भनी सबै कुराहरूलाई सन्देश पठाउने परमेश्‍वरको एउटा तरिका पनि थियो। प्रभु येशूले लाजरसलाई गर्नुभएको पुनरुत्थान सृष्टिकर्ताले मानवजातिलाई शिक्षा र प्रशिक्षण दिने एउटा तरिका थियो। यो एउटा यस्तो ठोस कार्य थियो जसमा मानवजातिलाई शिक्षा दिन र प्रबन्ध गर्न उहाँले आफ्नो शक्ति र अख्तियारको प्रयोग गर्नुभयो। यो वचनहरू प्रयोग नगरी सबै कुराहरू उहाँको अधिकारमा छन् भन्ने सत्यता मानिसहरूलाई देखाउने सृष्टिकर्ताको तरिका थियो। यो उहाँद्वारा बाहेक अरू कसैमा मुक्ति छैन भनी मानवजातिलाई यी व्यवहारिक कार्यहरूद्वारा बताउने उहाँको एउटा तरिका थियो। मानवजातिलाई प्रशिक्षण दिने उहाँले प्रयोग गर्नुभएको यो शान्त विधि अनन्त, अमेट छ, जसले मानव हृदयहरूमा कहिल्यै ओइलाउन नसक्ने झट्का र अन्तर्दृष्टि ल्याउँछ। लाजरसको पुनरुत्थानले परमेश्‍वरलाई महिमित तुल्यायो—परमेश्‍वरका हरेक अनुयायीहरूमाथि यसको गहिरो प्रभाव छ। यो घटना गहिरो प्रकारले बुझ्ने हरेक व्यक्तिमा केवल परमेश्‍वरले मात्र मानवजातिको जीवन र मृत्युमाथि हुकुम चलाउन सक्नुहुन्छ भन्ने बुझाइ र दर्शनलाई यसले दृढतासहित स्थापित गरिदिन्छ। …

जब प्रभु येशूले लाजरसलाई मरेको अवस्थाबाट फर्काइ ल्याउनुभयो, तब उहाँले यी वचनहरू मात्र प्रयोग गर्नुभयो: “लाजरस, बाहिर आऊ।” यसबाहेक उहाँले अरू केही भन्नुभएन। त्यसैले, यी वचनहरूले के कुरालाई प्रदर्शन गर्छ? यी वचनहरूले मरेको मानिसलाई पुनरुत्थान गर्ने लगायत परमेश्‍वरले बोलेर जे पनि सम्पन्न गर्न सक्नुहुन्छ भन्‍ने कुरालाई प्रदर्शन गर्छ। जब परमेश्‍वरले सबै थोक सृष्टि गर्नुभयो, जब उहाँले संसार सृष्टि गर्नुभयो, उहाँले वचनहरूद्वारा सो गर्नुभयो—बोलिएका आज्ञाहरू, अख्तियारपूर्ण वचनहरू, अनि यस प्रकारले सबै कुराहरू सृष्टि गरिए, अनि यसरी, यो सम्पन्न भयो। प्रभु येशूद्वारा बोलिएका यी केही वचनहरू स्वर्ग, पृथ्वी र यावत् थोक सृष्टि गर्ने क्रममा परमेश्‍वरले बोल्‍नुभएका वचनहरू जस्तै थिए; यही प्रकारले, तिनमा परमेश्‍वरको अख्तियार र सृष्टिकर्ताको शक्ति थियो। परमेश्‍वरको मुखबाट निस्केका वचनहरूको कारणले सबै थोक बनिए र दृढ भइ खडा रहे, अनि त्यही प्रकारले, प्रभु येशूको मुखबाट निस्केका वचनहरूको कारणले लाजरस आफ्नो चिहानबाट बाहिर निस्क्यो। उहाँको देहधारी शरीरमा प्रदर्शन गरिएको र पूरा भएको परमेश्‍वरको अख्‍तियार यही थियो। यस्तो प्रकारको अख्तियार तथा क्षमता सृष्टिकर्ता अनि मानिसको पुत्रको स्वामित्वमा थियो, जसमा सृष्टिकर्ता प्रकट हुनुभएको थियो। लाजरसलाई मरेको अवस्थाबाट बिउँताएर परमेश्‍वरले मानवजातिलाई सिकाउनुभएको बुझाइ यही नै थियो।

वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् ३” बाट उद्धृत गरिएको

म जे भन्छु, त्यसैमा खडा हुन्छु र म जुन कुरामा खडा हुन्छु, त्यसलाई सधैँ पूरा गर्छु, र कसैले पनि त्यसलाई परिवर्तन गर्न सक्दैन—यो पूर्ण हुन्छ। चाहे ती मैले विगतमा भनेका वचनहरू हुन् वा मैले भविष्यमा बोल्ने वचनहरू हुन्, म ती सबैलाई एक-एक गरी पूरा गर्नेछु, र सबै मानिसहरूलाई ती पूरा भएको देखाउनेछु। मेरो वचन र काम पछाडिको सिद्धान्त यही हो। … ब्रह्माण्डमा हुने सबै कुरामध्ये, त्यहाँ यस्तो केही छैन जसमा मेरो निर्णय हुँदैन। के त्यस्तो कुनै कुरा छ जुन मेरो हातमा छैन? जे म भन्छु त्यो गरिन्छ, र मानिसहरूमध्ये कसले मेरो मन परिवर्तन गर्न सक्छ? के यो पृथ्वीमा मैले गरेको करार हुन सक्छ? अगाडि बढ्ने मेरो योजनालाई कुनै पनि कुराले बाधा दिन सक्दैन; म मेरो काममा साथसाथै मेरो व्यवस्थापन योजनामा सधैँ उपस्थित हुन्छु। मानिसहरूको बीचमा कसले हस्तक्षेप गर्न आफ्नो हात पसार्न सक्दछ? के व्यक्तिगत रूपले यी प्रबन्धहरू मिलाउने म नै होइन र? आज यस क्षेत्रमा प्रवेश गर्दा त्यसले भड्काएर मेरो योजना वा मैले पहिले देखेको कुराभन्दा बाहिर लैजाँदैन; यो सबैलाई मैले धेरै पहिले नै निर्धारित गरेको थिएँ। तिमीहरूमध्ये कसले मेरो योजनाको यो चरण बुझ्न सक्छौ? मेरा मानिसहरूले निश्चय मेरो सोर सुन्नेछन्, र मलाई साँचो प्रेम गर्नेहरू प्रत्येक व्यक्ति निश्चय नै मेरो सिंहासनको अगाडि फर्केर आउनेछन्।

वचन देहमा देखा पर्नुहुन्छको, सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरूको “अध्याय १” बाट उद्धृत गरिएको

आखिरी दिनहरूको काममा, वचन चिह्न र चमत्कारका कार्यहरूको प्रकटीकरणभन्दा अझ शक्तिशाली हुन्छ, र वचनको अधिकारले चिह्न र चमत्कारका कार्यहरूलाई उछिन्‍नेछ। त्यो वचनले मानिसको हृदयको गहिराइमा गडेका सबै भ्रष्ट स्वभावलाई प्रकट गर्दछ। तँसित त्यसलाई आफै पहिचान गर्ने कुनै उपाय छैन। जब वचनद्वारा तिनलाई तेरो अगि उदाङ्गो पारिन्छ तब तैँले तिनलाई प्राकृतिक रूपमै चिन्‍नेछस्; तैँले तिनलाई अस्वीकार गर्न सक्‍नेछैनस्, र तँ पूर्ण रूपमा विश्‍वस्त हुनेछस्। के यो वचनको अधिकार होइन र? यो आज वचनको कामद्वारा प्राप्त गरिने परिणाम हो। त्यसकारण, रोग निको पारेर र भूतहरू निकालेर मानिस उसका पापहरूबाट पूर्ण रूपले मुक्त हुन सक्दैन, न त चिह्न र चमत्कारहरू देखाएर नै उसलाई सम्पूर्ण रूपमा पूर्ण बनाउन सकिन्छ। रोग निको पार्ने र भूतहरू धपाउने अधिकारले मानिसलाई अनुग्रह मात्र दिन्छ, तर मानिसको शरीर अझै पनि शैतानकै अधीनमा हुन्छ, र ऊभित्र त्यो भ्रष्ट शैतानिक स्वभाव अझै रहिरहन्छ। अर्को शब्दमा भन्ने हो भने, जुन कुरा अझै शुद्ध पारिएको हुँदैन त्यो पाप र फोहोरसँग सम्बन्धित हुन्छ। वचनको माध्यमबाट शुद्ध पारिएपछि मात्र मानिस परमेश्‍वरद्वारा प्राप्त हुन र पवित्र हुन सक्छ। जब मानिसबाट भूतहरू निकालिन्थ्यो र उसले छुटकारा पाउँथ्यो, त्यसको मतलब ऊ शैतानको हातबाट खोसिएर परमेश्‍वरमा फर्कियो भन्ने मात्र हुन्थ्यो। तापनि, परमेश्‍वरद्वारा शुद्ध नपारी वा परिवर्तन नगरी ऊ भ्रष्ट मानिसजस्तो नै रहन्छ। मानिसभित्र अझै पनि फोहोर, विरोध, र विद्रोहीपन हुन्छ; परमेश्‍वरले छुटकारा दिनुभएकोले मानिस उहाँकहाँ फर्केको मात्र हुन्छ, तर ऊसँग परमेश्‍वरको बारेमा रत्तीभर पनि ज्ञान हुँदैन र अझै पनि ऊ उहाँको विरोध गर्न र उहाँलाई धोका दिन सक्षम हुन्छ। मानिसलाई छुटकारा दिनुभन्दा अघि, शैतानका धेरै वटा विषयहरू ऊभित्रै रोपिएको हुन्छ, र हजारौं वर्षसम्म शैतानद्वारा भ्रष्ट पारिएपछि, ऊभित्र एउटा स्थापित प्रकृति हुन्छ जसले परमेश्‍वरको विरोध गर्छ। यसकारण जब मानिसलाई छुटकारा दिइएको हुन्छ, त्यो ठूलो मूल्य तिरेर मानिसलाई छुटाइएको घटनाभन्दा अरू केही हुँदैन, तर ऊभित्रको विषाक्त प्रकृति हटेको हुँदैन। अशुद्ध भएको मानिस परमेश्‍वरको सेवाको योग्य हुनुभन्दा अघि परिवर्तनको प्रक्रियाबाट भएर जानुपर्छ। न्याय र सजायको यस कार्यको माध्यमबाट, मानिसले आफैभित्र भएको फोहोर र भ्रष्ट पदार्थलाई पूर्ण रूपमा चिन्‍नेछ, र ऊ पूर्णरूपमा परिवर्तन हुन र शुद्ध हुन सक्षम हुनेछ। यसरी मात्र मानिस परमेश्‍वरको सिंहासनको अगि फर्केर आउनको योग्य हुन सक्छ। यस दिनमा गरिएका सबै काम मानिस शुद्ध र परिवर्तन हुन सकोस् भनेर हो; वचनको न्याय र सजाय, साथै शोधनको माध्यमबाट, मानिसले आफ्नो भ्रष्टतालाई हटाउन र शुद्ध हुन सक्छ। कामको यस चरणलाई मुक्तिका निम्ति हो भनी ठान्नुको साटो यो शुद्धीकरणको काम हो भन्नु धेरै उचित हुन्छ। वास्तवमा, यो चरण विजयको चरण हो साथ साथै यो मुक्तिको कामको दोस्रो चरण पनि हो। यो वचनको न्याय र सजायको माध्यमबाट नै मानिस परमेश्‍वरद्वारा प्राप्त गरिने स्थितिमा आउँछ, र वचन प्रयोग गर्दा नै मानिसको हृदयभित्रका सबै अशुद्धता, धारणा, अभिप्राय र व्यक्तिगत आकांक्षाहरूलाई शुद्ध गर्न, न्याय गर्न र पूर्ण रूपमा प्रकट गरिन्छ। किनकि मानिसलाई छुटकारा दिइएको र उसका पापहरू क्षमा गरिएको हुन सक्छ, तर त्यसलाई परमेश्‍वरले मानिसका अपराधहरू सम्‍झनुहुन्‍न र मानिससँग उसको अपराधअनुसार व्यवहार गर्नुहुन्‍न भनेर मात्र मान्न सकिन्छ। तापनि, जब मासुको शरीरमा जिउने मानिस पापबाट छुटाइएको हुँदैन, उसले पापै मात्र गरिरहन सक्छ, यसरी अटुट रूपमा आफ्नो भ्रष्ट शैतानिक स्वभाव प्रकट गर्छ। यो मानिसले जिउने जीवन हो, जहाँ पाप गर्ने र क्षमा गरिने चक्र निरन्तर चलिरहन्छ। अधिकांश मानवजातिले दिनमा पाप गर्छन् र साँझमा मात्र त्यो स्वीकार गर्छन्। यसरी, पापको बलि मानिसका लागि सदासर्वदा प्रभावकारी भए पनि त्यसले मानिसलाई पापबाट बचाउन सक्दैन। मुक्तिको काम आधा मात्र सम्पन्न भएको छ, किनकि मानिसमा अझै पनि भ्रष्ट स्वभाव छ। उदाहरणका लागि, जब मानिसहरूले आफूहरू मोआबबाट आएका हौँ भन्‍ने थाहा पाए, तब तिनीहरूले गुनासोका शब्दहरू बोले, जीवनको खोजी गर्न छाडे, र अति नै नकारात्मक बने। के यसले मानवजाति अझै पनि परमेश्‍वरको शासनको अधीनमा पूर्ण रूपमा बस्न असमर्थ छ भनी देखाउँदैन र? के यही नै तिनीहरूको भ्रष्ट शैतानिक स्वभाव होइन? जब तँलाई दण्डको अधीनमा परिएको थिएन, तेरा हातहरू अरू सबैका भन्दा माथि उठ्थे, यहाँसम्म कि येशूको भन्दा पनि माथि। र तँ ठूलो स्वरमा कराउँथिस्: “परमेश्‍वरको प्यारो छोरा हुनू! परमेश्‍वर एक घनिष्ठ हुनू! हामी शैतानको सामु झुक्नुभन्दा बरु मर्छौं! प्राचीन शैतानको विरुद्ध विद्रोह गर! त्यो ठूलो रातो अजिङ्गरको विरुद्धमा विद्रोह गर! त्यो ठूलो रातो अजिङ्गर शक्तिबाट नराम्रो घतले खसोस्। परमेश्‍वरले हामीलाई पूर्ण बनाउनुभएको होस्!” तेरो पुकार अरू सबैको भन्दा चर्को थियो। तर त्यसपछि सजायको समय आयो, र एकचोटि फेरि, मानवजातिको भ्रष्ट स्वभाव प्रकट भयो। त्यसपछि तिनीहरूका पुकार रोकियो, र उनीहरूको संकल्प असफल भयो। मानिसको भ्रष्टता यही नै हो; जुन पापभन्दा गहिरो गाडिएको छ, यो शैतानले रोपेको कुरा हो र यसले मानिसभित्र गहिरो जरा गाडेको छ। आफ्ना पापहरू थाहा पाउनु मानिसको निम्ति सजिलो छैन, उसले गहिरो जरा गाडेको आफ्‍नो प्रकृतिलाई चिन्ने कुनै उपाय छैन, र यो नतिजा प्राप्त गर्न ऊ वचनद्वारा गरिने न्यायमा भर पर्नुपर्छ। तब मात्र मानिस बिस्तारै यस बिन्दुबाट परिवर्तन हुन सक्छ। मानिस विगतमा यसरी चिच्च्यायो, किनभने उसलाई आफ्नो मूल भ्रष्ट स्वभावको बारेमा कुनै ज्ञान थिएन। मानिसभित्र अवस्थित अशुद्धताहरू यिनै हुन्। न्याय र सजायको यति लामो अवधिमा, मानिस तनावको वातावरणमा बाँच्यो। के यो सबै वचनको माध्यमद्वारा हासिल भएको थिएन र? के तँ पनि सेवाकर्ताहरूको परीक्षण हुनु अघि एकदमै ठूलो आवाजमा कराइनस् र? “परमेश्‍वरको राज्यभित्र प्रवेश गर्नुहोस्! यो नाउँ स्वीकार गर्नेहरू सबै परमेश्‍वरको राज्यमा प्रवेश गर्नेछन्! सबै जना परमेश्‍वरमा सहभागी हुनेछन्।” जब सेवाकर्ताहरूको परीक्षा आयो, तँ रुनै छोडिस्। सबैभन्‍दा सुरुमा सबै जना कराए, “हे परमेश्‍वर! तपाईं मलाई जहाँ राख्नुहुन्छ, म तपाईंद्वारा संचालित हुनलाई अधीनमा बस्नेछु।” परमेश्‍वरका वचनहरू पढिसकेपछि मानिसहरूले भने, “मेरो पावल को हुनेछ? म राजी छु!” तब तिनीहरूले यी वचनहरू देखे, “अनि अय्यूबको विश्‍वासको बारेमा के भन्ने?” र भने, “म अय्यूबको विश्‍वासलाई आफैमा लिन तयार छु। हे परमेश्‍वर, कृपया मलाई जाँच्नुहोस्!” जब सेवा-कर्ताहरूको परीक्षण आयो, तिनीहरू एकैचोटि ढले, र मुस्किलले फेरि खडा हुन सके। त्यसपछि, अलिअलि गर्दै तिनीहरूको हृदयमा भएका अशुद्धताहरू कम हुँदै गए। के यो वचनद्वारा प्राप्त भएको थिएन र? यसैले, आज तिमीहरूले जे अनुभव गर्‍यौ ती वचनद्वारा प्राप्त गरिएका परिणामहरू हुन्, ती येशूको चिन्‍ह र चमत्कारहरूद्वारा प्राप्त गरिएका भन्दा महान् छन्। तैँले देखेको परमेश्‍वरको महिमा र तैँले देख्‍ने परमेश्‍वर स्वयम्‌को अख्तियार केवल क्रूसीकरण, बिरामीलाई निको पार्ने र भूतहरू निकाल्ने माध्यमबाट मात्र देखिँदैन, तर त्योभन्दा बढी उहाँको वचनले गर्ने न्यायबाट देखिन्छ। यसले तँलाई परमेश्‍वरको अख्तियार र शक्तिमा केवल चिन्‍हहरू, बिरामीलाई निको पार्ने र भूतहरू धपाउने काम मात्र सामेल हुँदैन, तर परमेश्‍वरको वचनको न्यायले परमेश्‍वरको अख्तियारलाई अझ राम्री प्रतिनिधित्व गर्न र उहाँको महानतालाई प्रकट गर्न सक्छ।

वचन देहमा देखा पर्नुहुन्छको “देहधारणको रहस्य (४)” बाट उद्धृत गरिएको

मानवजाति बीच परमेश्‍वरले गर्ने कुनै पनि कार्यको तयारी संसारको सृष्टि हुँदा नै गरिएको थिएन; बरु, परिस्थितिको विकासले नै परमेश्‍वरलाई मानवजातिको बीचमा चरणबद्ध र अझै वास्तविक र व्यवहारिक रूपमा आफ्‍नो काम गर्ने तुल्याएको छ। उदाहरणको लागि, यहोवा परमेश्‍वरले स्‍त्रीलाई प्रलोभन गर्न सर्पको सृष्टि गर्नुभएन; त्यो उहाँको निश्‍चित योजना थिएन, न त त्यो उहाँले जानी-जानी पहिले नै निर्धारित गर्नुभएको केही कुरा नै थियो। त्यो अनपेक्षित घटना थियो भनेर भन्‍न सकिन्छ। तसर्थ, यही कारणले यहोवाले आदम र हव्‍वालाई अदनको बगैंचाबाट निकाल्नुभयो र फेरि कहिल्यै मानिस सिर्जना नगर्ने शपथ खानुभयो। तैपनि, यही जगमा मात्रै मानिसले परमेश्‍वरको बुद्धि पत्ता लगाउँछन्। यो मैले यसभन्दा पहिले भनेको जस्तै हो: “म शैतानको षड्यन्त्रहरू अनुसार मेरो बुद्धि प्रयोग गर्छु।” मानवजाति जति भ्रष्ट भए पनि वा सर्पले तिनीहरूलाई जसरी प्रलोभन गरे पनि, यहोवासँग उहाँको बुद्धि छँदैछ; तसर्थ, संसारको सृष्टि गरेदेखि नै उहाँ नयाँ काममा संलग्‍न हुनुहुन्छ, र यो कार्यको कुनै पनि चरण कहिल्यै दोहोरिएको छैन। शैतानले निरन्तर रूपमा षड्यन्त्रहरू लागू गरेको छ, मानवजाति निरन्तर रूपमा शैतानद्वारा भ्रष्ट तुल्याइएका छन्, र यहोवा परमेश्‍वरले अटुट रूपमा आफ्‍नो बुद्धिमानी कार्य अघि बढाउनुभएको छ। संसारको सृष्टि गरेपछि उहाँ कहिल्यै असफल हुनुभएको छैन, न त उहाँले कहिल्यै काम गर्न नै छोड्नुभएको छ। मानिसहरू शैतानद्वारा भ्रष्ट तुल्याइएपछि, उहाँले भ्रष्टताको स्रोत, अर्थात् त्यस शत्रुलाई विजय गर्नको लागि तिनीहरूका बीचमा काम गरिरहनुभएको छ। प्रारम्‍भदेखि नै यो युद्ध सुरु भएको छ, र संसारको अन्त्य भइञ्‍जेल जारी रहनेछ। यी सबै कार्य गर्ने क्रममा, यहोवा परमेश्‍वरले शैतानद्वारा भ्रष्ट तुल्याइएका मानिसलाई समेत उहाँको महान् मुक्ति प्राप्त गर्ने मात्र तुल्याउनुभएको छैन, तर तिनीहरूलाई उहाँको बुद्धि, सर्शक्तिमान्‌ता र अख्तियार देख्‍ने पनि तुल्याउनुभएको छ। यसका साथै, अन्तिममा, उहाँले दुष्टलाई दण्ड दिँदै र असललाई इनाम दिँदै, तिनीहरूलाई उहाँको न्यायपरायण स्वभाव देखाउनुहुनेछ। उहाँले शैतानसँग आजको दिनसम्‍मै युद्ध गर्नुभएको छ र उहाँ कहिल्यै हार्नुभएको छैन। किनभने उहाँ बुद्धिमानी परमेश्‍वर हुनुहुन्छ, र उहाँले शैतानको षड्यन्त्रहरूका आधारमा आफ्‍नो बुद्धि प्रयोग गर्नुहुन्छ। त्यसकारण, परमेश्‍वरले स्वर्गमा भएका सबै कुरालाई उहाँको अख्‍तियारमा समर्पित हुने मात्रै तुल्याउनुहुन्‍न, तर उहाँले पृथ्वीको सबै कुरालाई उहाँको पाउदानमुनि राख्‍नुभएको छ र, निश्‍चित रूपमा, मानवजातिलाई आक्रमण गर्ने र सताउने दुष्टलाई उहाँको सजायमा पर्ने तुल्याउनुहुन्छ। उहाँकै बुद्धिका कारण यी सबै कामका परिणाम आउँछन्। मानवजातिको अस्तित्वभन्दा पहिले उहाँले आफ्‍नो बुद्धिलाई कहिल्यै पनि प्रकट गर्नुभएको थिएन, किनभने स्वर्ग, पृथ्वी, वा ब्रह्माण्डमा कतै पनि उहाँको शत्रु थिएन, र प्रकृतिमा आक्रमण गर्ने कुनै पनि अन्धकारका शक्ति थिएन। प्रधान स्‍वर्गदूतले उहाँलाई धोका दिएपछि, उहाँले पृथ्वीमा मानवजातिको सृष्टि गर्नुभयो, र मानवजातिकै कारण उहाँले प्रधान स्‍वर्गदूत, अर्थात् शैतानसँगको सहस्‍त्राब्दीयौं लामो युद्ध—हरेक अर्को चरणसँगै अझै उग्र हुँदै जाने युद्ध—सुरु गर्नुभयो। यी हरेक चरणमा उहाँको सर्वशक्तिमान्‌ता र बुद्धि उपस्थित छन्। त्यसपछि मात्रै स्वर्ग र पृथ्वीका सबै चीज परमेश्‍वरको बुद्धि, सर्वशक्तिमान्‌ता र खासगरि परमेश्‍वरको वास्तविकताको साक्षी हुनेछन्। उहाँले आजको दिनसम्‍म पनि यस्तै वास्तविक रूपमा आफ्‍नो काम गर्नुहुन्छ; साथै, उहाँले आफ्‍नो काम गर्ने क्रममा, आफ्‍नो बुद्धि र सर्वशक्तिमान्‌तालाई पनि प्रकट गर्नुहुन्छ। उहाँले तिमीहरूलाई कार्यको हरेक चरणको भित्री सत्य देख्‍ने, परमेश्‍वरको सर्वशक्तिमान्‌तालाई ठ्याक्कै व्याख्या गर्ने, साथै, परमेश्‍वरको वास्तविकताको अन्तिम व्याख्यालाई हेर्ने तुल्याउनुहुन्छ।

वचन देहमा देखा पर्नुहुन्छको “तैँले सम्पूर्ण मानवजाति वर्तमान दिनसम्म कसरी विकसित भयो भन्ने जान्‍नुपर्छ” बाट उद्धृत गरिएको

मेरो योजनामा, शैतानले, अहिलेसम्म नै, पाइलैपिच्छे पछ्याउँदै आएको छ र, मेरो बुद्धिको प्रतिभारको रूपमा, मेरो मौलिक योजनालाई अवरोध शैलीहरू र माध्यमहरू पत्ता लगाउने कोसिस गर्दै आएको छ। तापनि के म त्यसका छली युक्तिहरूमा फस्न सकुँला र? स्वर्गमा र पृथ्वीमाथि हरेक थोकले मेरो सेवा गर्छ; के शैतानका छली युक्तिहरू केही फरक हुन सक्लान्‌ र? ठीक यहाँनेर नै मेरो बुद्धिले प्रतिछेदन गर्छ; मेरा कार्यहरूको बारेमा भएको आश्चर्य ठीक यही नै हो, र मेरो सारा व्यवस्थापन योजनाको सञ्चालनको सिद्धान्त नै यही हो। राज्य निर्माणको युगको समयमा, अझै पनि म शैतानको छली युक्तिहरूलाई पन्छ्याउँदिन, तर मैले गर्नैपर्ने कार्यलाई जारी राख्छु। ब्रह्माण्ड र सारा थोकहरूको माझमा, मैले शैतानका कार्यहरूलाई मेरो प्रतिभारको रूपमा छानेको छु। के यो मेरो बुद्धिको प्रदर्शन होइन र? मेरो कार्यको बारेमा रहेको आश्चर्य नै ठीक यही होइन र?

वचन देहमा देखा पर्नुहुन्छको, सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरूको “अध्याय ८” बाट उद्धृत गरिएको

जब म औपचारिक रूपमा मेरो काम सुरु गर्दछु, म अघि बढ्दा सबै मानिसहरू पनि अघि बढ्छन्, यहाँसम्‍म कि सारा ब्रह्माण्डभरिका मानिसहरू आफै मेरा पाइलाहरूमा मसँगै हिँड्छन्, सारा ब्रह्माण्डभरि “हर्षोल्लास” हुन्छ, र मानिस मद्वारा अझै उत्साहित हुन्छ। त्यसको फलस्वरूप, ठूलो रातो अजिङ्गर आफै मद्वारा भयानक आवेश र अलमल्ल अवस्थामा पुग्छ, र त्यसले मेरो काम गर्छ र अनिच्छुक भए पनि त्यो आफ्नै चाहनाहरूको पछि लाग्न असमर्थ हुन्छ, तर मेरो नियन्त्रणमा बस्नु बाहेक त्योसित अरू कुनै विकल्प हुँदैन। मेरा सबै योजनाहरूमा, त्यो ठूलो रातो अजिङ्गर मेरो प्रतिभार हो, मेरो शत्रु र मेरो नोकर पनि हो; त्यसैले, मैले त्यसबाट मेरा “मागहरू” कहिल्यै खुकुलो पारेको छैन। यसैकारण मेरो देहधारणको कामको अन्तिम चरण त्यसको परिवारमा समाप्त भएको छ। यसरी, ठूलो रातो अजिङ्गर ठीक सँगले मेरो सेवा अझै गर्न सक्षम छ, जसको माध्यमबाट म त्यसलाई जित्‍नेछु र मेरो योजना पूरा गर्नेछु।

वचन देहमा देखा पर्नुहुन्छको, सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरूको “अध्याय २९” बाट उद्धृत गरिएको

शैतानमाथिको परमेश्‍वरको विजय अपरिहार्य छ! वास्तवमा, शैतान धेरै पहिले नै असफल भइसक्यो। जब ठूलो रातो अजिङ्गरको देशभरि सुसमाचार फैलन सुरु भयो—अर्थात्, जब देहधारी परमेश्‍वरले आफ्‍नो काम सुरु गर्नुभयो र यो काम अघि बढ्यो—तब शैतान पूर्ण रूपमा पराजित भयो, किनभने देहधारणको खास उद्देश्य नै शैतानलाई जित्‍नु थियो। परमेश्‍वर फेरि पनि देह बन्‍नुभएको छ र कुनै पनि शक्तिले रोक्‍न नसक्‍ने आफ्‍नो काम उहाँले सुरु गर्नुभएको छ भन्‍ने थाहा पाउने बित्तिकै, शैतान यो कामको अघि हक्‍का न बक्‍क बन्यो, अनि थप कुनै पनि दुष्कर्म गर्ने आँट गरेन। सुरुमा शैतानले पनि प्रशस्तै बुद्धि प्राप्त गरेको छु भन्‍ने ठान्यो, अनि त्यसले परमेश्‍वरको कार्यमा वाधा दियो र सतायो; तैपनि, परमेश्‍वर फेरि देह बन्‍नुहुनेछ, वा उहाँको काममा, परमेश्‍वरले शैतानको विद्रोहीपनलाई मानवजातिको लागि प्रकाश र न्यायको रूपमा प्रयोग गर्नुहुनेछ, जसद्वारा उहाँले मानिसहरूलाई विजय गर्नुहुनेछ र शैतानलाई हराउनुहुनेछ भन्‍ने अपेक्षा त्यसले गरेको थिएन। परमेश्‍वर शैतानभन्दा बुद्धिमानी हुनुहुन्छ, र उहाँको कामले त्यसलाई अत्यन्तै बढी मात्रामा उछिन्छ। त्यसकारण, मैले यसभन्दा अघि उल्‍लेख गरेझैँ, “मैले गर्ने काम शैतानको चालहरूको प्रतिक्रियामा गरिन्छ; अन्त्यमा, म मेरो सर्वशक्तिमान्‌ता र शैतानको शक्तिहीनतालाई प्रकट गर्नेछु।” परमेश्‍वरले अग्रस्थानमा आफ्‍नो काम गर्नुहुन्छ, तर आखिरमा, नष्ट भइञ्‍जेलसम्‍म शैतान पछि-पछि दगुर्छ—त्यसलाई केले प्रहार गर्‍यो त्यो पनि त्यसलाई थाहा हुनेछैन! त्यसलाई पहिले नै प्रहार गरेर चकनाचूर पारिसकिएपछि मात्रै त्यसले सत्यतालाई महसुस गर्नेछ, र त्यो बेलासम्‍म, यो पहिले नै आगोको कुण्डमा परिसकेको हुनेछ। के त्यसबेला यो पूर्ण रूपमा विश्‍वस्त हुनेछैन र? किनभने त्यसपछि शैतानसँग प्रयोग गर्ने कुनै पनि युक्ति हुनेछैन!

वचन देहमा देखा पर्नुहुन्छको “तैँले सम्पूर्ण मानवजाति वर्तमान दिनसम्म कसरी विकसित भयो भन्ने जान्‍नुपर्छ” बाट उद्धृत गरिएको

परमेश्‍वर मानवका राजनीतिमा सहभागी हुनुहुन्‍न, र पनि कुनै देश वा राज्यको नियति परमेश्‍वरले नियन्त्रण गर्नुहुन्छ। परमेश्‍वरले यो संसार र सारा विश्‍वलाई नियन्त्रण गर्नुहुन्छ। मानवको नियति र परमेश्‍वरको योजना घनिष्ठ रूपमा जोडिएका छन्, कुनै पनि मानव, देश वा राज्य परमेश्‍वरको सार्वभौमिकताबाट छुटेको छैन। यदि मानवले आफ्नो नियति जान्‍न चाहन्छ भने, ऊ परमेश्‍वरका सामु आउनैपर्छ। परमेश्‍वरलाई पछ्याउने र आराधना गर्नेहरूलाई उहाँले समृद्ध पार्नुहुनेछ र उहाँलाई अस्वीकार गर्ने र विरोध गर्नेहरूलाई उहाँले अस्वीकार र विनाश गर्नुहुन्छ।

बाइबलमा उल्‍लेख सदोममाथि परमेश्‍वरले विनाश ल्याउनुहुँदाको दृश्यलाई स्मरण गर र लोतकी पत्‍नी कसरी नुनको खम्बा बनिन् सो पनि विचार गर। निनवेका मानिसहरूले कसरी भाङ्ग्रा र खरानी लगाएर आफ्ना पापहरूबाट पश्‍चाताप गरे र २,००० वर्ष पहिले यहूदीहरूले येशूलाई क्रूसमा कीला ठोके पश्चात् के भयो सो कुरालाई स्मरण गर। यहूदीहरूलाई इस्राएलबाट निकालियो र तिनीहरू संसार वरिपरिका देशहरूमा भागे। धेरै जनालाई मारियो, र पूरै यहूदी राज्य अभूतपूर्व रूपमा विनाशमा पर्‍यो। तिनीहरूले परमेश्‍वरलाई क्रूसमा कीला ठोकेका थिए—तिनीहरूले जघन्य पाप गरे—र परमेश्‍वरको स्वभावलाई रीस उठाए। तिनीहरूले गरेका कामका लागि तिनीहरूले मूल्य तिर्नुपर्यो र तिनीहरूलाई आफ्ना कामहरूका सबै नतिजाहरू भोग्‍न लगाइयो। तिनीहरूले परमेश्‍वरको निन्दा गरे, परमेश्‍वरलाई अस्वीकार गरे, यसरी तिनीहरूको एउटा मात्र भविष्य थियो: परमेश्‍वरद्वारा दण्ड पाउनु। यो तिनीहरूका देश र राज्यमाथि तिनीहरूका शासकहरूले ल्याएका तीता नतिजाहरू र प्रकोप थिए।

आज, परमेश्‍वर आफ्नो काम गर्नका लागि संसारमा फर्कनुभएको छ। उहाँले पहिलो चरणमा अधिनायकवादी शासकहरूका भव्य सभालाई रोक्‍नुभयो: नास्तिवादको कडा गढ, चीनलाई। परमेश्‍वरले आफ्नो बुद्धि र शक्तिद्वारा मानिसहरूको एक समूह प्राप्त गर्नुभएको छ। यस समयावधिमा, उहाँलाई चीनको सत्ताधारी दलले हरेक तरिकाले खेदो गरेर र ठूलो कष्‍ट दियो, त्यसैले आश्रय भेट्टाउन नसकेर उहाँको शिर राख्‍ने ठाउँ पनि छैन। यस्तो कुरा हुँदाहुँदै पनि परमेश्‍वरले गर्न मनसाय राख्‍नुभएको काम उहाँले अझै निरन्तर गर्नुहुन्छ: उहाँले आफ्नो सोर निकाल्नुहुन्छ, र सुसमाचार फैलाउनुहुन्छ। परमेश्‍वरको सर्वशक्तिमान्‌तालाई कसैले पनि बुझ्न सक्दैन। परमेश्‍वरलाई आफ्नो शत्रु ठान्‍ने देश, चीनमा परमेश्‍वरले आफ्नो काम कहिल्यै रोक्‍नुभएको छैन। त्यसको सट्टा, धेरै मानिसहरूले उहाँको काम र वचनलाई स्वीकार गरेका छन्, किनकि परमेश्‍वरले जतिसक्दो मानवजातिको प्रत्येक र हरेक सदस्यलाई मुक्ति दिनुहुन्छ। परमेश्‍वरले प्राप्त गर्न चाहनुभएको कुरालाई रोक्‍न उहाँको मार्गमा कुनै देश वा शक्ति खडा हुन सक्दैन भनी हामी भरोसा राख्छौं। परमेश्‍वरको कामलाई रोक्‍नेहरू, परमेश्‍वरको वचनको विरोध गर्नेहरू र बाधा दिनेहरू र परमेश्‍वरको योजनालाई बिगार्नेहरूलाई अन्त्यमा परमेश्‍वरले दण्ड दिनुहुनेछ। परमेश्‍वरको कामको अवहेलना गर्नेलाई नरकमा पठाइनेछ; परमेश्‍वरको कामको अवहेलना गर्ने कुनै पनि देशलाई विनाश गरिनेछ। परमेश्‍वरको कामको विरोधमा उठ्ने कुनै पनि राज्यलाई यस पृथ्वीबाट पूर्ण रूपमा मेटाइनेछ र त्यो अस्तित्वमा रहनेछैन। सबै राज्यहरू, सबै देशहरू, र सबै उद्योगहरूले पनि परमेश्‍वरको आवाज सुनून्, परमेश्‍वरको कामलाई हेरून् र मानवजातिको नियतिमा ध्यान देऊन्; परमेश्‍वरलाई सबैभन्दा पवित्र, सबैभन्दा आदरणीय, सर्वोच्‍च, मानवजातिका बीचमा आराधनाका एकमात्र व्यक्ति, र सम्पूर्ण मानवजातिलाई परमेश्‍वरको आशिषमुनि बाँच्ने बनाऊन्, जसरी, अब्राहामका सन्तानहरू यहोवाका प्रतिज्ञामा रहे, र जसरी परमेश्‍वरले पहिले सृष्‍टि भएका आदम र हव्वा अदनको बगैँचामा रहे।

परमेश्‍वरको काम शक्तिशाली छालजस्तै माथितिर बढ्छ। कसैले पनि उहाँलाई थुन्‍न सक्दैन, र उहाँको दौडलाई कसैले पनि रोक्‍न सक्दैन। उहाँका वचनहरूलाई ध्यानसँग सुन्‍नेहरू, र उहाँलाई खोज्ने र तिर्खाउनेहरूले मात्र उहाँका पाइलाहरू पछ्याउँछन् र उहाँको प्रतिज्ञा प्राप्‍त गर्छन्। जसले गर्दैनन् तिनीहरूले ठूलो विपत्ति भोग्‍नेछन् र तिनीहरूले पाउन लायकको दण्ड पाउनेछन्।

वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरले सबै मानवजातिको भविष्यमाथि नेतृत्व गर्नुहुन्छ” बाट उद्धृत गरिएको

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरको स्वभाव र सारलाई जान्नेसम्बन्धी वचनहरू

परमेश्‍वरका प्रासंगिक वचनहरू:परमेश्‍वर जो हुनुहुन्छ उहाँ त्यही हुनुहुन्छ, र उहाँसँग जे छ, उहाँसँग त्यही छ। उहाँले व्यक्त गर्नुभएका र प्रकट...

परमेश्‍वरको स्वभावलाई उहाँको कामबाट कसरी जान्ने

परमेश्‍वरका प्रासंगिक वचनहरू:परमेश्‍वरको व्यवस्थापनको अस्तित्वदेखि नै, उहाँ सधैँ आफ्नो काम सम्पन्न गर्नको निम्ति पूर्ण रूपमा समर्पित हुँदै...

परमेश्‍वरले मानवजातिलाई कसरी आफ्‍नो स्वभाव प्रकट गर्नुहुन्छ

परमेश्‍वरका प्रासंगिक वचनहरू: युगलाई समापन गर्ने आफ्‍नो अन्तिम काममा, परमेश्‍वरको स्वभाव सजाय र न्याय हो, जसमा उहाँले खुल्लमखुल्ला सबै...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्