एउटै परमेश्‍वरले कामका तीन चरणहरूलाई कसरी पूरा गर्नुहुन्छ

25 डिसेम्बर 2021

आज, हाम्रो सङ्गतिको शीर्षक रहेको छ, “एउटै परमेश्‍वरले कामका तीन चरणहरूलाई कसरी पूरा गर्नुहुन्छ।” यो शीर्षक महत्त्वपूर्ण छ, र हाम्रो समाप्ति र गन्तव्यसँग प्रत्यक्ष रूपमा सम्‍बन्धित छ। हामी स्वर्गको राज्यमा प्रवेश गर्न सक्छौं कि सक्दैनौं भन्‍ने कुरासँग पनि यो प्रत्यक्ष रूपमा सम्‍बन्धित छ। यदि हामीले परमेश्‍वरमा विश्‍वास गर्छौं तर परमेश्‍वरको कामलाई चिन्दैनौं भने, यो अत्यन्तै खतरनाक हुनसक्छ। हामीले सहजै परमेश्‍वरको मुक्ति गुमाउन सक्छौं, जसले अनन्त विनाश ल्याउँछ। त्यसोभए हामी किन यसो भन्छौं? हामीलाई थाहा छ, दुई हजार वर्ष पहिले, प्रभु येशू मानवजातिलाई छुटकारा दिन आउनुभयो र उहाँले भन्‍नुभयो, “पश्‍चात्ताप गर: किनभने स्वर्गको राज्य नजिकै छ(मत्ती ४:१७)। प्रभु येशूले धेरै सत्यता व्यक्त गर्नुभयो र धेरै आश्‍चर्यकर्महरू गर्नुभयो, जसले प्रभु येशू मसीह हुनुहुन्थ्यो भन्‍ने प्रमाणित गर्छ। तर यहूदी धर्मको लागि, प्रभु येशूको नाम मसीह थिएन, न त उहाँ राजकीय परिवारमा जन्‍मनुभएको थियो, न त उहाँले तिनीहरूलाई रोमी शासनबाट मुक्त गर्न नेतृत्व नै गर्नुभयो, त्यसकारण उहाँ अवश्य नै मसीह हुनुहुन्‍नथियो। त्यसकारण, प्रभु येशूले जति धेरै सत्यता व्यक्त गर्नुभए पनि वा उहाँले जति धेरै आश्‍चर्यकर्महरू गर्नुभए पनि, प्रभु येशू परमेश्‍वर हुनुहुन्छ भनेर कसैले स्वीकार गरेन, र उहाँलाई क्रूसमा टाँग्‍ने कार्यमा सबैले यहूदी धर्मका अगुवाहरूलाई पछ्याए। परिणाम के भयो? इस्राएल लगभग दुई हजार वर्षसम्‍म परास्त रह्यो। यस्तो पीडादायी पाठ कसरी आयो? मानिसहरूले परमेश्‍वरको कामलाई चिन्‍ने प्रयास गरेनन्, तिनीहरू आफ्‍नै धारणा र विचारहरूमा लागिरहे, र परमेश्‍वरको कामलाई विरोध गरे र दोष दिए। अहिले, प्रभु येशू सर्वशक्तिमान्‌ परमेश्‍वरको रूपमा फर्केर आइसक्‍नुभएको छ। उहाँले सत्यताका करोडौँ वचनहरू व्यक्त गर्नुभएको छ, र अहिले उहाँले मानवजातिलाई पूर्ण रूपमा शुद्ध गर्न र मुक्ति दिन आखिरी दिनहरूको न्यायको काम गर्नुहुन्छ। तर धार्मिक संसारको अवस्था कस्तो छ? जब तिनीहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरको नाम येशू होइन, अनि उहाँ बादलमा पनि आउनुहुन्‍न भन्‍ने देख्छन्, तिनीहरूले सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भनेर स्वीकार गर्न मान्दैनन्, र सर्वशक्तिमान्‌ परमेश्‍वरलाई पागलले झैँ विरोध गर्न र दोष दिन पाष्टर र एल्डरहरूलाई पछ्याउँछन्, जुन परमेश्‍वरलाई फेरि क्रूसमा टाँग्‍नु सरह हो। कतिपय मानिसहरूले सोध्‍न सक्छन्, “परमेश्‍वर काम गर्न र मानवजातिलाई मुक्ति दिन देखा पर्नुहुँदा हरेक पटक उहाँमा विश्‍वास गर्ने र उहाँको देखापराइको प्रतीक्षा गर्नेहरूले नै सधैँ उहाँलाई दोष दिने र इन्कार गर्ने गर्छन्?” किनभने मानिसहरू शैतानद्वारा अत्यन्तै भ्रष्ट तुल्याइएका छन्, त्यसकारण तिनीहरूले सत्यतालाई घृणा गर्छन्, र तिनीहरूसँग परमेश्‍वरलाई विरोध गर्ने प्रकृति छ। अर्को कारण के हो भने, मानिसहरूले परमेश्‍वरको कार्यलाई चिनेका छैनन्, र तिनीहरू परमेश्‍वरको कामको बारेमा धारणा र विचारहरूले भरिएका छन्। हेर्नुहोस् त, जब परमेश्‍वरले व्यवस्थाको युगको काम समाप्त गर्नुभयो, यहूदी धर्मका मानिसहरूले परमेश्‍वरको काम पूरा भयो, र उहाँले थप काम गर्नुहुन्‍न भन्‍ने विश्‍वास गर्थे। तिनीहरूले रोमी शासनबाट तिनीहरूलाई मुक्त गर्ने मसीहको प्रतीक्षा गरे, तर प्रभु येशूले गर्नुभएको छुटकाराको कामलाई स्वीकार गरेनन्, परिणाम स्वरूप, तिनीहरूले प्रभुको मुक्ति गुमाए। जब परमेश्‍वरले अनुग्रहको युगको काम समाप्त गर्नुभयो, सबै सम्प्रदायका मानिसहरूले के सोचे भने, प्रभु येशूले मानवजातिलाई छुटकारा दिनुभएको हुनाले, मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको काम पूरा भएको छ, कुनै पनि नयाँ काम गरिँदैन, र जब प्रभु फर्केर आउनुहुन्छ, तब उहाँले हामीलाई सीधै स्वर्गको राज्यमा लैजानुहुनेछ। आज, ठूला-ठूला विपत्तिहरू आउन थालेको बेला, धेरै मानिसहरू अझै पनि प्रभु बादलमा आउनुहुनेछ भनेर प्रतीक्षा गर्छन्, र तिनीहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरको न्यायको कामलाई स्वीकार गर्न मान्दैनन्, अनि परिणाम स्वरूप, तिनीहरू मुक्तिदातालाई स्वागत गर्न असफल हुन्छन् र विपत्तिमा पर्छन्। तिनीहरू सबैले के विचार गर्छन् भने, जब प्रभु येशूले आफ्‍नो काम पूरा गर्नुभयो, तब मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको काम पनि पूरा भयो, र थप कुनै काम हुनेछैन। त्यसकारण यसको बारेमा विचार गरौं। के मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको काम मानिसहरूले सोचेजस्तै साँच्‍चै नै सरल छ त? आखिरी दिनहरूमा, सर्वशक्तिमान्‌ परमेश्‍वरले मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको कामको रहस्य प्रकट गर्नुभएको छ। हामी सबैले के देखेका छौं भने मानवजातिलाई शैतानले भ्रष्ट तुल्याएपछि, परमेश्‍वरले मानवजातिलाई मुक्ति दिने तीन चरणको काम सुरु गर्नुभयो। पहिलो, उहाँले यहोवा नाम लिएर व्यवस्थाको युगको काम गर्नुभयो, त्यसपछि उहाँ प्रभु येशूको रूपमा देहधारी भई आउनुभयो र अनुग्रहको युगमा छुटकाराको काम गर्नुभयो, अनि आखिरी दिनहरूमा, परमेश्‍वर फेरि राज्यको युगको न्यायको काम गर्न सर्वशक्तिमान्‌ परमेश्‍वरको नाम लिएर देहधारी भई आउनुभएको छ। कामका यी तीन चरणहरू मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको पूर्ण व्यवस्थापन योजना हुन्। यहोवा, प्रभु येशू, र सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍ने नामहरू फरक-फरक भए पनि, अनि उहाँहरूले हरेक युगमा गर्नुभएको काम फरक-फरक भए पनि, यी तीन चरणहरू घनिष्ठ रूपमा जोडिएका छन्, हरेक चरण अघिल्‍लो चरणमा निर्मित छन्, र अन्तिममा यसको परिणाम भनेको मानवजातिलाई पूर्ण मुक्ति दिएर तिनीहरूलाई नयाँ युगमा ल्याउनु हो। यसले के प्रमाणित गर्छ भने हरेक युगमा फरक काम गर्नुहुने परमेश्‍वर एउटै हुनुहुन्छ। त्यसकारण, कामका तीन चरणहरू पूरा गर्नुहुने परमेश्‍वर एउटै हुनुहुन्छ भनेर हामीले कसरी पहिचान गर्न सक्छौं? सत्यताको यो पक्षलाई बुझ्‍नु भनेको मुक्ति हासिल गर्ने र राज्यमा प्रवेश गर्ने कार्यको कुञ्‍जी हो। यसपछि हामी, यस विषयमा परमेश्‍वरका वचनहरूको आधारमा सङ्गति गरौं।

सुरुमा, म सर्वशक्तिमान्‌ परमेश्‍वरको वचनको एउटा खण्डलाई पढ्छु। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मेरो सम्पूर्ण व्यवस्थापन योजना अर्थात् छ-हजार-वर्षे व्यवस्थापन योजनामा तीन चरणहरू वा तीन युगहरू छन्: सुरुवातको व्यवस्थाको युग; अनुग्रहको युग (जुन छुटकाराको युग पनि हो); र आखिरी दिनहरूको राज्यको युग। यी तीन युगहरूमा, हरेक युगको प्रकृतिअनुसार, मेरो कार्य अन्तर्वस्तुमा भिन्‍नभिन्‍न छन्, तर प्रत्येक चरणमा यस कार्यले मानिसको आवश्यकताहरू पूरा गर्छ—वा अझै स्पष्ट रूपमा भन्दा, मैले शैतानविरुद्ध छेडेको युद्धमा शैतानले चाल्ने युक्तिअनुसार यो कार्य गरिन्छ। मेरो कार्यको उदेश्य शैतानलाई पराजित गर्नु, मेरो विवेक र सर्वशक्तिमान्‌ता प्रकट गर्नु, शैतानको सबै युक्तिहरू उजागर गर्नु, र त्यसमार्फत शैतानको राज्यक्षेत्रभित्र जिउने सम्पूर्ण मानवजातिलाई मुक्ति दिनु हो। यो मेरो विवेक र सर्वशक्तिमान्‌ता देखाउन र शैतानको असहनीय कुरूपता प्रकट गर्नको लागि हो; अनि त्यो भन्दा पनि अझै बढी, यो सृष्टि गरिएका प्राणीहरूलाई असल र दुष्टबीचको भेद छुट्ट्याउने मौका दिनको लागि हो, म नै सबै थोकको शासक हुँ भनी थाहा दिनको लागि हो, शैतान मानवजातिको शत्रु हो, पतित दुष्ट हो भनी स्पष्टसित देखाउनको लागि हो, र तिनीहरूलाई असल र दुष्ट, सत्य र झूट, पवित्रता र अपवित्रता, र महान् र नीचबीचको भिन्‍नतालाई पूर्ण निश्‍चितताका साथ चिन्‍ने मौका दिनको लागि हो। यसरी, अज्ञानी मानवजाति मेरो लागि यस कुरामा गवाही दिन सक्षम हुनेछन् कि मानवजातिलाई भ्रष्ट गराउने म होइन, र केवल म—सृष्टिकर्ताले—मात्रै मानवजातिलाई मुक्ति दिन सक्छु, मानिसहरूलाई उनीहरूले खुसीसाथ उपभोग गर्ने कुराहरू दिन सक्छु; अनि तिनीहरूले जान्‍नेछन् कि म नै सबै थोकको शासक हुँ र शैतान केवल ती प्राणीहरूमध्येको एक हो जसलाई मैले सृजना गरे तर पछि त्यो मेरो विरुद्ध खडा भयो। मेरो छ-हजार-वर्षे व्यवस्थापन योजना तीन चरणहरूमा विभाजित छ, र सृष्टि गरिएका प्राणीहरूलाई मेरो गवाही दिन, मेरो इच्छा बुझ्न, र म नै सत्य हुँ भनी जान्‍न सक्षम बनाउने प्रभाव हासिल गर्नको निम्ति म यसरी काम गर्छु(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। छुटकाराको युगको कार्यपछाडिको साँचो कथा)। सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूबाट हामी के देख्छौं भने, मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको काम तीन चरणमा विभाजित छन्। पहिलो यहोवा परमेश्‍वरले ३,००० वर्षभन्दा पहिले गर्नुभएको व्यवस्थाको युगको काम हो, दोस्रो प्रभु येशूले दुई हजार वर्ष पहिले गर्नुभएको अनुग्रहको युगको काम हो, र तेस्रो चरण अहिले हो—आखिरी दिनहरूको अन्त्यमा सर्वशक्तिमान्‌ परमेश्‍वरले गर्नुभएको राज्यको युगको न्यायको काम। यी तीन चरणका विषयवस्तुहरू फरक-फरक भए पनि, हरेक चरण त्यसभन्दा अघिल्‍लो चरणबाट अघि बढ्छ र त्यसैमा आधारित हुन्छ। यी चरणहरू पनि घनिष्ठ रूपमा सम्‍बन्धित छन्, र अन्तिममा यिनले मानवजातिको पूर्ण मुक्ति हासिल गर्छन्। सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको न्यायको कामले अनुग्रहको युगलाई समाप्त गरेर राज्यको युगको सुरुवात गर्छ र कामको यो चरणले मानवजातिको भाग्य निर्धारित गर्छ। यदि हामीले परमेश्‍वरको कामलाई बुझ्दैनौं भने, हामीले सहजै परमेश्‍वरद्वारा मुक्ति दिइने र सिद्ध पारिने अन्तिम मौका गुमाउन सक्छौं, जुन जीवनपर्यन्त पछुतो हुन्छ।

त्यसैले कामका तीन चरणहरू के-के हुन् भनेर व्याख्या गर्नु झनै आवश्यक हुन्छ। विचार गर्नुहोस् त, “किन मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको पहिलो कदममा व्यवस्था जारी गर्ने काम गरियो?” किनभने सुरुमा, मानिसहरू दूधे-बालकहरू जस्तै थिए। तिनीहरूलाई परमेश्‍वरको आराधना कसरी गर्ने भन्‍ने थाहा थिएन, कसरी जिउने तिनीहरूलाई थाहा थिएन, र तिनीहरूले हत्या र चोरी गर्नु पाप हो भन्‍ने जस्ता नैतिकताका आधारभूत सिद्धान्तहरू समेत बुझेका थिएनन्। यहोवा परमेश्‍वरले मानिसहरूलाई पृथ्वीमा कसरी जिउने भनेर सिकाउन व्यवस्था र आज्ञाहरू जारी गर्नुभयो, र मानिसहरूलाई हत्या गर्नु, चोर्नु, व्यभिचार गर्नु हुँदैन, र यस्तै इत्यादि कुरा सिकाउनुभयो, ताकि मानिसहरूसँग पापको बारेमा आधारभूत अवधारणा होस्, तिनीहरूलाई के गर्ने र के नगर्ने भन्‍ने बारेमा थाहा होस्, व्यवस्था र शबाथ-दिनको बारेमा थाहा होस्। व्यवस्थाको पालना गर्नेहरूलाई परमेश्‍वरले आशिष्‌ दिनुभयो, र यसलाई उल्‍लङ्घन गर्नेहरू दोषी ठहरिए र तिनीहरूले प्रायश्चितको लागि पापबलि चढाउनैपर्थ्यो। जब मानिसहरूले निश्‍चित व्यवस्था र नियम तोड्थे, तब यहोवाको क्रोध र दण्ड आउँथ्यो, र तिनीहरूलाई ढुङ्गाले हानिन्थ्यो वा स्वर्गबाट झरेको आगोमा तिनीहरू डढ्थे। इस्राएलका मानिसहरूले परमेश्‍वरको प्रताप र क्रोध, साथै उहाँको वास्ता र कृपा चाखे, र तिनीहरू यहोवा परमेश्‍वर नै स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुने एक मात्र साँचो परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुरामा विश्‍वस्त थिए। त्यसकारण, तिनीहरू सबैले यहोवाको डर मान्थे र उहाँको व्यवस्था पालन गर्थे, तिनीहरू पृथ्वीमा सामान्य रूपमा जिउँथे र परमेश्‍वरको आराधना गर्थे, अनि परमेश्‍वरको उपस्थितिमा जिउन सके। व्यवस्थाको युगमा परमेश्‍वरले गर्नुभएको कामले हासिल गरेको परिणाम यही थियो। त्यसो भए, के परमेश्‍वरको व्यवस्थाको युगको कामको अन्त्यको अर्थ मानवजातिलाई मुक्ति दिने उहाँको काम समाप्त भएको थियो भन्‍ने हुन्छ? अवश्य नै हुँदैन। व्यवस्थाको युगका मानिसहरूले पाप भनेको के हो, कसरी बलिदान चढाउने र प्रायश्‍चित गर्ने, र परमेश्‍वरको आराधना कसरी गर्ने भन्‍ने थाहा पाएका भए पनि शैतानले गरेको भ्रष्टताको कारण, मानिसहरू व्यवस्था पालन गर्न बारम्‍बार असफल भए। विशेष गरी व्यवस्थाको युगको अन्त्यतिर, मानिसहरूले झन्-झन् बढी पाप गर्न थाले, र तिनीहरूसँग प्रायश्‍चितको लागि पर्याप्त पापबलि थिएन। यदि परमेश्‍वरको काम व्यवस्थाको युगमा रोकिएको भए, मानिसहरूलाई तिनीहरूका सबै पापको लागि व्यवस्थाले दोषी ठहर्याउनेथियो र दण्डाज्ञा दिनेथियो, अनि मानवजाति नष्ट हुनेथियो। त्यसकारण, मानवजातिलाई छुटकारा दिन पापबलिको रूपमा मसीह आउनुहुनेछ भनेर इस्राएलीहरूलाई बताउन यहोवा परमेश्‍वरले अगमवक्ताहरू प्रयोग गर्नुभयो। अगमवाणीहरूमा यसो भनिएको थियो, “किनकि हाम्रा निम्ति एउटा बालक जन्मेको छ, हामीलाई एउटा पुत्र दिइएको छ: र सरकार उहाँको काँधमा हुनेछ: र उहाँको नाम अचम्मको सल्लाहकार, शक्तिशाली परमेश्‍वर, अनन्त पिता, शान्तिको राजकुमार हुनेछ(यशैया ९:६)। “अनि यहोवाले उहाँमाथि हामी सबैको अधर्म हालिदिनुभएको छ(यशैया ५३:६)। “उहाँले उसको प्राणलाई पाप बलि तुल्याउनुहुनेछ(यशैया ५३:१०)। त्यसपछि, प्रतिज्ञा गर्नुभए झैँ, मानवजातिलाई छुटकारा दिने काम गर्न परमेश्‍वर प्रभु येशूको रूपमा देहधारी भई आउनुभयो। मानिसहरूका बीचमा जिउने क्रममा, प्रभु येशूले धेरै सत्यताहरू व्यक्त गर्नुभयो, मानिसहरूलाई आफ्‍ना पापहरू स्वीकार गर्न र पश्‍चात्ताप गर्न, प्रभुलाई आफ्‍नो सारा हृदय, प्राण, र मनले प्रेम गर्न, आफ्‍नो छिमेकीलाई आफैलाई जस्तो प्रेम गर्न, परमेश्‍वरलाई आत्मा र सत्यतामा आराधना गर्न, र यस्तै इत्यादि कुरा सिकाउनुभयो। यी सत्यताहरूले व्यवस्थालाई पूर्ण रूपमा सिद्ध तुल्याए र मानिसहरूलाई अभ्यास गर्ने नयाँ मार्ग प्रदान गरे। उहाँले बिरामीलाई निको पार्ने, भूतहरू धपाउने, मानिसहरूको पाप क्षमा गर्ने, र आशिष्‌ र अनुग्रह दिने काम पनि गर्नुभयो, र अन्त्यमा पाप रहित देहको रूपमा बलिदान हुनुभयो। उहाँले हरेकको पाप लिनुभयो र मानवजातिलाई छुटकारा दिनुभयो। त्यसपछि, मानिसहरूले पाप गर्दा बलिदान चढाउनु आवश्यक रहेन। तिनीहरूले प्रार्थना र स्वीकार गरे भने, तिनीहरूको पापक्षमा हुन्थ्यो र तिनीहरूले परमेश्‍वरका आशिष्‌हरू र अनुग्रह प्राप्त गर्थे। मानिसहरूले परमेश्‍वरको कृपालु र प्रेमिलो स्वभावको अनुभव गरे, र मानिसहरू र परमेश्‍वर बीचको सम्‍बन्ध निकै घनिष्ठ भयो। स्पष्टै छ, प्रभु येशूको कामले पुरानो करारका अगमवाणीहरूलाई पूर्ण रूपमा पूरा गर्यो। यसले मानिसहरूलाई व्यवस्थाका बन्धनहरूबाट मुक्त गर्यो, व्यवस्थाको युगलाई समाप्त गर्यो, र मानवजातिलाई अनुग्रहको युगमा ल्यायो। यसले के प्रमाणित गर्छ भने प्रभु येशू मुक्तिदाता र आउनुभएका मसीह हुनुहुन्थ्यो। प्रभु येशूले व्यक्त गर्नुभएको सत्यता र उहाँको छुटकाराको काम परमेश्‍वरको स्वभाव र परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो सबैको अभिव्यक्ति हो र यसले परमेश्‍वरको अद्वितीय अख्‍तियार र शक्तिलाई प्रकट गर्छ, अनि यसले प्रभु येशू नै देहधारी परमेश्‍वर हुनुहुन्छ र प्रभु येशू र यहोवा परमेश्‍वर एउटै आत्मा, र एउटै परमेश्‍वर हुनुहुन्छ भन्‍ने प्रमाणित गर्छ। प्रभु येशूले भन्‍नुभयो, “म पितामा छु र पिता ममा हुनुहुन्छ(यूहन्‍ना १४:१०)। “म र पिता एक हौँ(यूहन्‍ना १०:३०)। छुटकाराको काम र व्यवस्थाको युगको काम एउटै परमेश्‍वरले दुई फरक युगमा गर्नुभएका दुई फरक चरणका काम हुन्। सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूले भन्छन्: “येशूले गर्नुभएको कामले येशूको नाउँलाई प्रतिनिधित्व गर्‍यो, र त्यसले अनुग्रहको युगलाई प्रतिनिधित्व गर्‍यो; यहोवाले गर्नुभएको कामको विषयमा भन्‍ने हो भने, त्यसले यहोवाको प्रतिनिधित्व गर्थ्यो र त्यसले व्यवस्थाको युगलाई प्रतिनिधित्व गर्थ्यो। उहाँहरूका काम दुई फरक युगहरूमा गरिएका आत्माको काम थिए। … वास्तवमा भन्‍ने हो भने, येशू आउनुभयो र यहोवाको कामलाई समाप्त गर्नुभयो, यहोवाको कामलाई निरन्तरता दिनुभयो र त्यसबाहेक आफ्नै एउटा नयाँ काम पनि गर्दैजानुभयो, ठीक यही कारणले यो एउटा नयाँ युग थियो र येशू परमेश्‍वर स्‍वयम्‌ नै हुनुहुन्थ्यो भन्‍ने कुरालाई यसले प्रमाणित गर्छ। उहाँहरूले कामका दुई भिन्न-भिन्न चरणहरू गर्नुभयो। एउटा चरण मन्दिरमा पूरा गरियो, र अर्को मन्दिरको बाहिर सञ्चालन गरियो। एउटा चरण व्यवस्था अनुसार मानिसको जीवन डोऱ्याउनु थियो, र अर्को पापको बलिदान चढाउनु थियो। कामका यी दुई चरणहरू स्पष्ट रूपमा फरक-फरक थिए; यसले नयाँ युगलाई पुरानोबाट छुट्ट्याउँछ, र ती दुई भिन्नाभिन्नै युग हुन् भन्नु पूर्ण रूपमा सही हुन्छ। उहाँहरूको कामको स्थान फरक थियो, र उहाँहरूको कामको विषयवस्तु फरक थियो, र उहाँहरूको कामको उद्देश्य पनि भिन्न थियो। त्यसरी नै, ती कामहरूलाई दुई युगहरूमा विभाजन गर्न सकिन्छ: नयाँ र पुरानो करार, यो भनेको नयाँ र पुरानो युग हो। … उहाँहरूलाई दुई फरक नाउँले बोलाइएको भए पनि, दुवै चरणका कामहरू पूरा गर्ने एउटै आत्मा हुनुहुन्थ्यो, र गरिएको काम निरन्तर भइरहने काम थियो। जसरी नाउँ फरक थियो, र कामको विषय फरक थियो, त्यसरी नै युग पनि फरक थियो। जब यहोवा आउनुभयो, त्यो यहोवाको युग थियो, र जब येशू आउनुभयो, त्यो येशूको युग थियो। त्यसैले, हरेक आगमन सँगै, परमेश्‍वरलाई एउटा नाउँले बोलाइन्छ, उहाँले एउटा युगको प्रतिनिधित्व गर्नुहुन्छ, र नयाँ मार्ग सुरु गर्नुहुन्छ; र हरेक नयाँ मार्गमा, उहाँले नयाँ नाउँ धारण गर्नुहुन्छ, जसले परमेश्‍वर सधैँ नयाँ हुनुहुन्छ र कहिल्यै पनि पुरानो हुनुहुन्न भन्‍ने देखाउँदछ, र उहाँको काम कहिल्यै अगाडि बढ्नबाट रोकिँदैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (३))। अनुग्रहको युग दुई हजार वर्षसम्‍म रह्यो, र लगभग सबै विश्‍वासीहरूले के सोचे भने जब प्रभु येशू मानवजातिलाई छुटकारा दिन क्रूसमा टाँगिनुभयो, मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको काम पूरा भयो, र जब आखिरी दिनहरूमा प्रभु फर्केर आउनुहुन्छ, तब उहाँले विश्‍वासयोग्यहरूलाई सीधै स्वर्गमा उठाइलैजानुहुन्छ। त्यसोभए, के यो साँचो हो? विश्‍वासीहरूको पापक्षमा भएको हुन्छ भन्‍ने कुरा साँचो हो, तर मानिसहरूको पापी प्रकृतिहरू अझै समाधान भएका छैनन्। हामी अझै पनि हाम्रो पापी प्रकृतिद्वारा नियन्त्रित छौं, हामी प्रायजसो नचाहेर पनि झूट बोल्‍ने र पाप गर्ने गर्छौं, हामी ख्याति र प्राप्तिको लागि लड्छौं, हामी डाही, अहङ्कारी, आत्म-धर्मी, र विद्रोही हुन्छौं, हामी सहन सक्दैनौं, हामीले आफ्‍नो छिमेकीलाई आफैलाई जस्तो प्रेम गर्न सक्दैनौं, र प्रभुलाई प्रेम गर्नु र उहाँको आज्ञापालन गर्नु अझै कठिन हुन्छ। दुई हजार वर्षदेखि, सबै विश्‍वासीहरू दिउँसो पाप गर्ने र राती पाप स्वीकार गर्ने चक्रमा फसिएर जिइरहेका छन्, र पापमा जिएर हामीले गहन रूपमा पीडा र कष्टको अनुभव गर्छौं। यो अखण्डनीय तथ्य हो। के यसरी पापमा जिउनेहरूले मुक्ति पाउँछन्? के तिनीहरू स्वर्गको राज्यमा प्रवेश गर्न सक्छन्? प्रभु येशूले भन्नुभयो, “साँचो-साँचो म तिमीहरूलाई भन्छु, पाप गर्ने जो-कोही पापको दास हो। अनि दास घरमा सदासर्वदा बस्दैन: तर पुत्रचाहिँ सदासर्वदा बस्छ(यूहन्‍ना ८:३४-३५)। “त्यसकारण तिमीहरू पवित्र हुनुपर्छ, किनकि म पवित्र छु(लेवी ११:४५)। “पवित्रताविना कुनै मानिसले प्रभुलाई देख्‍नेछैन(हिब्रू १२:१४)। परमेश्‍वर धर्मी र पवित्र हुनुहुन्छ। बारम्‍बार पाप गरिरहने र उहाँलाई विरोध गरिरहने मानिसहरूलाई उहाँले कसरी आफ्‍नो राज्यमा प्रवेश गर्न दिन सक्‍नुहुन्छ? त्यसकारण, जब प्रभु येशूले छुटकाराको काम पूरा गर्नुभयो, उहाँले मानवजातिलाई पूर्ण रूपमा शुद्ध पार्न र मुक्ति दिन, अनि मानिसहरूलाई राज्यमा ल्याउनको लागि आखिरी दिनहरूको न्यायको काम गर्न फेरि आउनेछु भनेर उल्‍लेख गर्नुभयो। यो प्रभु येशूले अगमवाणी गर्नुभएजस्तै छ, “मैले तिमीहरूलाई भन्‍नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्‍दैनौ। तैपनि, जब उहाँ, अर्थात् सत्यका आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा अगुवाइ गर्नुहुनेछ(यूहन्‍ना १६:१२-१३)। “तपाईंको सत्यताद्वारा तिनीहरूलाई पवित्र पार्नुहोस्: तपाईंको वचन सत्यता हो(यूहन्‍ना १७:१७)। “मलाई इन्कार गर्ने र मेरा वचनहरू ग्रहण नगर्नेलाई न्याय गर्ने एक जना हुनुहुन्छ: मैले बोलेको त्यो वचनले आखिरी दिनमा उसको न्याय गर्नेछ(यूहन्‍ना १२:४८)। आखिरी दिनहरूमा प्रभु येशू उहाँले प्रतिज्ञा गर्नुभएजस्तै मानवजातिलाई शुद्ध पार्न र मुक्ति दिन चाहिने सबै सत्यता व्यक्त गर्न र परमेश्‍वरको घरबाट सुरु गर्दै न्यायको काम गर्न सर्वशक्तिमान्‌ परमेश्‍वरको रूपमा फर्केर आउनुभएको छ र यसले मानिसहरूको पापी प्रकृतिलाई पूर्ण रूपमा समाधान गर्छ र परमेश्‍वरको पूर्ण मुक्ति प्राप्त गर्न सहायता गर्छ। यसले हामीलाई के देखाउँछ भने सर्वशक्तिमान्‌ परमेश्‍वर “सत्यताका आत्मा” हुनुहुन्छ र उहाँ आखिरी दिनहरूमा देखा परेर काम गर्नुहुने प्रभु येशू हुनुहुन्छ।

हामी यी कुराहरूलाई स्पष्ट पार्न सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूका केही खण्डहरू हेरौं। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “यो देहधारण परमेश्‍वरको दोस्रो देहधारण हो, जसले येशूको कामलाई पछ्याउँछ। निश्चय, यो देहधारण स्वतन्त्र रूपमा हुँदैन; यो व्यवस्थाको युग र अनुग्रहको युगपछिको तेस्रो चरणको काम हो। प्रत्येक पल्ट जब परमेश्‍वरले कामको नयाँ चरण थाल्नुहुन्छ, तब सधैँ नयाँ सुरुआत हुनु पर्दछ र त्यसले सधैँ एउटा नयाँ युग ल्याउनु पर्दछ। त्यस्तै प्रकारले परमेश्‍वरको स्वभावमा, उहाँको काम गर्ने तरिकामा, उहाँको काम गर्ने स्थानमा र उहाँको नाउँमा पनि त्यही अनुरूप परिवर्तनहरू हुन्छन्। त्यसैले, नयाँ युगमा मानिसलाई परमेश्‍वरको काम स्वीकार गर्न गाह्रो हुनु कुनै अचम्म मान्नु पर्ने कुरा होइन। तर मानिसले जसरी उहाँको विरोध गरे पनि, परमेश्‍वरले सधैँ आफ्नो काम गरिरहनुभएको छ, र सारा मानवजातिलाई अगाडि बढाइरहनुभएको छ। जब येशू मानिसको संसारमा आउनुभयो, उहाँले अनुग्रहको युग सुरु गर्नुभयो र व्यवस्थाको युगको अन्त्य गर्नुभयो। आखिरी दिनहरूमा, परमेश्‍वर फेरि देह बन्नुभएको छ, र उहाँको देहधारणसितै उहाँले अनुग्रहको युग समाप्त गर्नुभयो र परमेश्‍वरको राज्यको युग सुरु गर्नुभयो। परमेश्‍वरको दोस्रो देहधारणलाई स्वीकार गर्न सक्नेहरू जति सबैलाई परमेश्‍वरको राज्यको युगमा डोऱ्याइनेछ, र यसबाहेक तिनीहरूले व्यक्तिगत रूपमा परमेश्‍वरको मार्गदर्शन स्वीकार गर्न सक्षम हुनेछन्। येशूले मानिसको माझमा धेरै काम गर्नुभए पनि, उहाँले सारा मानवजातिको छुटकारा मात्र पूरा गर्नुभयो र मानिसको पापको बलि बन्नुभयो; उहाँले मानिसलाई उसका सबै भ्रष्ट स्वभावबाट मुक्त गर्नुभएन। मानिसलाई पूर्ण रूपमा शैतानको प्रभावबाट मुक्त गर्नको निम्ति येशूले पापको बलि बनेर मानिसका पापहरू बोक्न मात्र आवश्यक थिएन, तर मानिसलाई शैतानी रूपमा भ्रष्ट पारेको उसको स्वभावबाट पूर्ण रूपमा छुटकारा दिन परमेश्‍वरले अझ ठूलो काम गर्नु आवश्यक थियो। यसैले अब, मानिसका पापहरू क्षमा गरिएका छन्, मानिसलाई नयाँ युगतिर डोऱ्याउन परमेश्‍वर देहमा फर्केर आउनुभएको छ, र सजाय अनि न्यायको काम सुरु गर्नुभएको छ। यो कामले मानिसलाई झन् उच्च क्षेत्रमा ल्याएको छ। उहाँको प्रभुत्वमा आउनेहरू सबैले अझ उच्च सत्यता प्राप्त गर्नेछन् र अझ ठूला आशिष्‌हरू प्राप्त गर्नेछन्। तिनीहरू साँच्चिकै ज्योतिमा जिउनेछन्, र तिनीहरूले सत्यता, बाटो र जीवन प्राप्त गर्नेछन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना)

न्याय र सजायको यस कार्यको माध्यमबाट, मानिसले आफैभित्र भएको फोहोर र भ्रष्ट सारलाई पूर्ण रूपमा चिन्‍नेछ, र ऊ पूर्ण रूपमा परिवर्तन हुन र शुद्ध हुन सक्षम हुनेछ। यसरी मात्र मानिस परमेश्‍वरको सिंहासनको अघि फर्केर आउनको योग्य हुन सक्छ। यस दिनमा गरिएका सबै काम मानिस शुद्ध र परिवर्तन हुन सकोस् भनेर हो; वचनको न्याय र सजाय, साथै शोधनको माध्यमबाट, मानिसले आफ्नो भ्रष्टतालाई हटाउन र शुद्ध हुन सक्छ। कामको यस चरणलाई मुक्तिका निम्ति हो भनी ठान्नुको साटो यो शुद्धीकरणको काम हो भन्नु धेरै उचित हुन्छ। वास्तवमा, यो चरण विजयको चरण हो साथ साथै यो मुक्तिको कामको दोस्रो चरण पनि हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (४))।

आजको कार्यले अनुग्रहको युगको कार्यलाई अगाडि बढाएको छ; अर्थात्, सम्पूर्ण छ हजार वर्षे व्यवस्थापन योजनाको कार्य अघि बढेको छ। अनुग्रहको युग समाप्त भइसकेको भए पनि, परमेश्‍वरको काममा प्रगति भएको छ। कामको यो चरण अनुग्रहको युग र व्यवस्थाको युगको जगमा स्थापित छ भनेर म बारम्‍बार किन भन्छु? किनभने आजको दिनको काम अनुग्रहको युगमा गरिएको कामको निरन्तरता र व्यवस्थाको युगमा गरिएको कार्यको वृद्धि हो। तीन चरणहरू निकटतम रूपमा एकअर्कासँग सम्‍बन्धित छन्, र यो साङ्‍लाको हरेक जोडन अर्कोसँग कसिलो गरी जोडिएको छ। कामको यो चरण येशूले गर्नुभएको कामको जगमा निर्माण हुन्छ भनेर म किन भन्छु? यो चरण येशूले गर्नुभएको कामको जगमा निर्माण भएन भन्‍ने मान्यता राख्दा, यो चरणमा क्रूसीकरणको अर्को घटना घट्नेथ्यो, र अघिल्‍लो चरणको छुटकाराको काम फेरि गरिनुपर्थ्यो। यो अर्थहीन हुनेथ्यो। त्यसकारण, काम पूर्ण रूपमा पूरा भएको छैन, तर युग अघि बढेको छ र कामको स्तर पहिलेको भन्दा माथि उठेको छ। कामको यो चरण व्यवस्थाको युगको जगमा र येशूको कार्यको आधारशिलामाथि निर्माण गरिएको छ भनेर भन्‍न सकिन्छ। परमेश्‍वरको कार्य एकपछि अर्को चरण गर्दै निर्माण हुन्छ, र यो चरण नयाँ सुरुवात होइन। कामका तीन वटा चरणहरूको संयोजनलाई मात्रै छ हजार वर्षे व्यवस्थापन योजनाको रूपमा लिन सकिन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। दुई देहधारणहरूले देहधारणको महत्त्व पूरा गर्छन्)। सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू अत्यन्तै स्पष्ट छन्। प्रभु येशूको छुटकाराको कामले मानिसहरूको पाप मात्रै क्षमा गर्यो, तर यसले मानिसहरूको पापी प्रकृतिलाई हटाएन वा पापबाट मानिसहरूलाई पूर्ण रूपमा मुक्ति दिएन, त्यसकारण मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको काम पूरा भएको छैन। प्रभु येशूको छुटकाराको कामले आखिरी दिनहरूको न्यायको कामको लागि मार्ग तयार गर्यो। सर्वशक्तिमान्‌ परमेश्‍वरले मानवजातिलाई न्याय गर्ने, शुद्ध पार्ने, र मुक्ति दिने काम परमेश्‍वरको व्यवस्थापन योजनाको अन्तिम चरण हो, र यो सबैभन्दा महत्त्वपूर्ण चरण पनि हो। सर्वशक्तिमान्‌ परमेश्‍वरले धेरै सत्यता व्यक्त गर्नुहुन्छ, जसले बाइबलका सबै रहस्यहरूलाई, साथै परमेश्‍वरको व्यवस्थापन योजनाका सबै रहस्यहरू, अनि परमेश्‍वरको व्यवस्थापन योजनाको उद्देश्‍य, कामका तीन चरणहरूको भित्री सत्यता, देहधारणको रहस्य, मानिसहरूलाई शुद्ध पार्न र मुक्ति दिन परमेश्‍वरले कसरी न्यायको काम गर्नुहुन्छ, सबै प्रकारका मानिसहरूको समाप्ति र गन्तव्य, पृथ्वीमा ख्रीष्टको राज्य कसरी पूरा हुन्छ, र अरू धेरै कुराको सत्यता प्रकट गर्छ। सर्वशक्तिमान्‌ परमेश्‍वरले मानवजातिको पाप र परमेश्‍वरप्रतिको प्रतिरोध, अर्थात् मानिसहरूको शैतानी प्रकृति र स्वभावको खुलासा र न्याय पनि गर्नुहुन्छ। परमेश्‍वरमाथिको विश्‍वासमा सबै मानिसहरूले अभ्यास गर्नैपर्ने र प्रवेश गर्नुपर्ने सत्यताका सबै पक्षहरू पनि उहाँले व्यक्त गर्नुहुन्छ, जस्तै परमेश्‍वरमाथिको विश्‍वासमा लिनुपर्ने उचित दृष्टिकोण, परमेश्‍वरसँग कसरी सामान्य सम्‍बन्ध राख्‍ने, इमानदार व्यक्ति कसरी बन्‍ने, कसरी परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने, र परमेश्‍वरप्रति कसरी आज्ञापालन हासिल गर्ने, परमेश्‍वरलाई प्रेम गर्ने, इत्यादि कुरा। भ्रष्टतालाई त्याग्‍न र परमेश्‍वरको पूर्ण मुक्ति प्राप्त गर्नको लागि मानिसहरू यी सबै सत्यताका वास्तविकताहरूमा प्रवेश गर्नुपर्छ। परमेश्‍वरको वचनको न्याय, सजाय, काटछाँट, निराकरण, परीक्षा, र शोधनले परमेश्‍वरका धेरै जना चुनिएकाहरूलाई आफ्‍नै शैतानी स्वभाव र प्रकृतिलाई क्रमिक रूपमा बुझ्‍न र घृणा गर्न, परमेश्‍वरको स्वभाव पवित्र, धर्मी र उल्‍लङ्घन गर्न नसकिने छ भनेर बुझ्‍न, आफ्‍नो हृदयमा परमेश्‍वरको डर मान्‍न र सच्‍चा पश्‍चात्ताप गर्न, भ्रष्ट स्वभावलाई शुद्ध गर्न र परिवर्तन हुन, र परमेश्‍वरप्रति साँचो आज्ञापालन हासिल गर्न सहयोग गर्छ। तिनीहरूले जस्तो सतावट, संकष्ट, परीक्षा, वा शोधनको सामना गरे पनि, तिनीहरूले स्थिर रूपमा सर्वशक्तिमान्‌ परमेश्‍वरलाई पछ्याउन, सर्वशक्तिमान्‌ परमेश्‍वरको राज्यको सुसमाचार फैलाउन र गवाही दिन, र शैतानमाथि विजयका धेरै वटा सुन्दर गवाहीहरू निर्माण गर्न सक्छन्। तिनीहरूको अनुभवमा आधारित गवाहीहरूलाई अनलाइन जारी गरिएका छन्, र तिनले सर्वशक्तिमान्‌ परमेश्‍वरको देखा-पराइ र कामको बारेमा सारा संसारलाई गवाही दिन्छन्। यी मानिसहरू ठूला-ठूला विपत्तिहरूभन्दा पहिले परमेश्‍वरले निर्माण गर्नुहुने विजेताहरू हुन्, अनि तिनीहरू पहिलो फलहरू हुन्, जसले प्रकाशको पुस्तकको यो अगमवाणीलाई पूरा गर्छ, “यिनीहरू थुमा जता-जता जानुहुन्छ उहाँलाई त्यता-त्यतै पछ्याउनेहरू हुन्। परमेश्‍वर र थुमाका निम्ति पहिलो फल भएका हुनाले यिनीहरूलाई मानिसहरूको बिचबाट मोल तिरेर छुटाइएको थियो(प्रकाश १४:४)। र यो सर्वशक्तिमान्‌ परमेश्‍वरको यो वचन जस्तो पनि छ। “जब कार्यका तीन चरण अन्त्यमा पुग्छ, परमेश्‍वरको गवाही दिनेहरूको समूह, परमेश्‍वरलाई चिन्‍नेहरूको समूहलाई निर्माण गरिनेछ। यी मानिसहरू सबैले परमेश्‍वरलाई चिन्‍नेछन् र तिनीहरूले सत्यतालाई अभ्यास गर्न सक्‍नेछन्। तिनीहरूमा मानवता र चेतना हुनेछ, र सबैले परमेश्‍वरको मुक्तिको कार्यका तीन चरणहरूलाई जान्‍नेछन्। यो अन्त्यमा पूरा गरिने काम हो, र यी मानिसहरू ६,००० वर्षको व्यवस्थापन कार्यका उत्कृष्टता हुन्, र शैतानको अन्तिम हारको सबैभन्दा शक्तिशाली गवाही हुन्। परमेश्‍वरको गवाही दिन सक्‍नेहरूले परमेश्‍वरको प्रतिज्ञा र आशिषलाई प्राप्त गर्न सक्‍नेछन्, र तिनीहरू अन्त्यसम्‍मै रहिरहने समूह, परमेश्‍वरको अख्‍तियार पाएको र परमेश्‍वरको गवाही दिने समूह बन्‍नेछन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामका तीन चरणहरूलाई जान्नु नै परमेश्‍वरलाई चिन्ने मार्ग हो)। सर्वशक्तिमान्‌ परमेश्‍वरले धेरै सत्यता व्यक्त गर्नुभएको छ र त्यति महान् काम पूरा गर्नुभएको छ, र यसले परमेश्‍वरको अद्वितीय अख्‍तियार र शक्तिलाई प्रकट गर्छ, र सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भन्‍ने प्रमाणित गर्छ। सर्वशक्तिमान्‌ परमेश्‍वर र प्रभु येशू एउटै आत्मा र एउटै परमेश्‍वर हुनुहुन्छ। त्यसकारण, यस विन्दुमा, हामी रोकिएर विचार गरौं: परमेश्‍वर बाहेक, कसले यति धेरै सत्यता व्यक्त गर्न र परमेश्‍वरको व्यवस्थापन योजनाको रहस्य प्रकट गर्न सक्छ? मानिसहरूको पाप र परमेश्‍वरप्रतिको विरोधको जडलाई कसले खुलासा गर्न सक्छ? परमेश्‍वर बाहेक, कसले मानिसहरूको भ्रष्टतालाई न्याय गर्न र मानवजातिलाई पापबाट पूर्ण रूपमा मुक्ति दिन सक्छ? कसले कुनै पनि उल्‍लङ्घन नसहने परमेश्‍वरको पवित्र र धर्मी स्वभावलाई व्यक्त गर्न सक्छ? तथ्यहरूले के प्रमाणित गर्छन् भने सर्वशक्तिमान्‌ परमेश्‍वर नै देहधारी हुनुभएका व्यवहारिक परमेश्‍वर, एक मात्र साँचो परमेश्‍वर हुनुहुन्छ, जो सबै थोकको सुरुवात र अन्त्य हुनुहुन्छ।

त्यसोभए अब सबैले स्पष्ट रूपमा बुझ्‍नुभयो? व्यवस्थाको युग, अनुग्रहको युग, र राज्यको युगमा गरिएका तीन चरणका काम मानवजातिलाई फरक-फरक युगमा मुक्ति दिने परमेश्‍वरको कामका फरक-फरक चरण हुन्। व्यवस्थाको कामले मानिसलाई पाप के हो भन्‍ने सिकायो, छुटकाराको कामले तिनीहरूको पापबाट छुटकारा दियो, र न्यायको कामले तिनीहरूलाई पाप हटाउने मौका दिन्छ। कामका यी तीन चरणहरू घनिष्ठ रूपमा जोडिएका छन्, हरेक चरण अघिल्‍लो चरणमा निर्मित छन्, र अन्तिममा, मानिसहरू शैतानको प्रभावबाट पूर्ण रूपमा मुक्त भएर परमेश्‍वरको राज्यमा प्रवेश गर्छन्। परमेश्‍वरले मानवजातिलाई व्यवस्थापन गर्ने र मुक्ति दिने सम्पूर्ण प्रक्रिया यही हो। सुरुदेखि अन्त्यसम्‍म, यो काम एउटै परमेश्‍वरले गर्नुहुन्छ। परमेश्‍वरको नाम फरक भए पनि, र उहाँको विधि र काम फरक भए पनि, परमेश्‍वरको सार, परमेश्‍वरसँग जे छ त्यो र उहाँ जे हुनुहुन्छ त्यो, अनि परमेश्‍वरको स्वभाव एउटै हुन्, र ती कहिल्यै परिवर्तन हुँदैनन्। यदि हामीले व्यवस्थाको युगमा यहोवा परमेश्‍वरले बोल्‍नुभएका वचनहरू, प्रभु येशूले अनुग्रहको युगमा बोल्‍नुभएका वचनहरू, र राज्यको युगमा सर्वशक्तिमान्‌ परमेश्‍वरले बोल्‍नुभएका वचनहरू हेर्यौं भने ती सबै सत्यता हुन्। ती परमेश्‍वरको स्वभाव र परमेश्‍वरसँग जे छ त्यो र उहाँ जे हुनुहुन्छ त्यसका अभिव्यक्ति र प्रकाश हुन्, ती एउटै स्रोतबाट आउँछन्, र ती एउटै आत्माका आवाज र वचनहरू हुन्। यसले कामका तीन चरणहरूलाई एउटै परमेश्‍वरले पूरा गर्नुहुन्छ भन्‍ने कुरालाई प्रमाणित गर्छ। यो कुरा सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूले भने जस्तै हो। “यहोवाको कामदेखि लिएर येशूको कामसम्म, र येशूको कामदेखि अहिलेको चरणसम्म, यी तीन चरणले परमेश्‍वरको सम्पूर्ण व्यवस्थापन कार्यलाई एउटै लहरमा गाँस्दछ र ती सबै एउटै आत्माको काम हुन्। संसारको सृष्टि भएदेखि नै परमेश्‍वर सधैँ मानव जातिको व्यवस्थापन गर्ने काममा लाग्नुभएको छ। सुरु र अन्त्य उहाँ नै हुनुहुन्छ, पहिलो र अन्तिम उहाँ नै हुनुहुन्छ, र युग सुरु गर्ने उहाँ नै हुनुहुन्छ र युगलाई समाप्त गर्ने पनि उहाँ नै हुनुहुन्छ। विभिन्न युगहरूमा र विभिन्न स्थानहरूमा हुने कार्यका तीन चरणहरू आत्माले गर्नुहुने काम नै हुन् भन्‍ने कुरा स्पष्ट छ। ती तीन चरणहरूलाई अलग गर्ने सबै मानिसहरू परमेश्‍वरकै विरोधमा खडा हुन्छन्। अब, यसले तँलाई पहिलो चरणदेखि आजसम्मका सबै कामहरू एउटै परमेश्‍वरको, एउटै आत्माको काम हो भनी बुझ्न सक्ने बनाउँछ। यस कुरामा कुनै शङ्का छैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (३))। “उहाँ कृपा र प्रेमिलो-दयालुपनले भरिएका परमेश्‍वर हुनुहुन्छ; उहाँ मानिसको निम्ति पापबलि र मानिसको गोठालो हुनुहुन्छ; तर उहाँ मानिसको न्याय, सजाय, र श्राप पनि हुनुहुन्छ। उहाँले मानिसलाई पृथ्वीमा जिउन दुई हजार वर्षसम्‍म अगुवाइ गर्न सक्‍नुभयो र उहाँले भ्रष्ट मानवजातिलाई पापबाट मुक्त गर्न पनि सक्‍नुभयो। आज, उहाँले उहाँलाई नचिन्‍ने मानवजातिलाई जित्‍न अनि तिनीहरूलाई उहाँको प्रभुत्वमुनि घुँडा टेकाउन पनि सक्‍नुहुन्छ, ताकि सबै जना उहाँप्रति पूर्ण रूपमा समर्पित हुन सकून्। अन्तिममा, उहाँले आफू कृपालु र प्रेमिलो परमेश्‍वर, बुद्धि र आश्‍चर्यका परमेश्‍वर र पवित्र परमेश्‍वर मात्र नभई, अझै बढी रूपमा, मानिसलाई न्याय गर्ने परमेश्‍वर पनि हुनुहुन्छ भनी देखाउन ब्रह्माण्डभरिका मानिसहरूभित्र रहेका अशुद्ध र अधर्मी कुराहरूलाई जलाइदिनुहुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। दुई देहधारणहरूले देहधारणको महत्त्व पूरा गर्छन्)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

के परमेश्‍वरका सबै काम र वचनहरू बाइबलमा नै छन् भन्‍ने कुरा साँचो हो?

आखिरी दिनहरूमा मुक्तिदाता सर्वशक्तिमान्‌ परमेश्‍वर देखा पर्नुभएको छ र उहाँले काम गरिरहनुभएको छ, अनि उहाँले करोडौँ वचनहरू व्यक्त गर्नुभएको...

मानिसलाई मुक्ति दिन परमेश्‍वरलाई किन कामका तीन चरणहरू आवश्यक छ?

हामी सबैलाई थाहै छ, २,००० वर्ष पहिले, प्रभु येशू मानवजातिलाई छुटकारा दिन यहूदियामा देखा पर्नुभयो र काम गर्नुभयो, र यसो भनेर प्रचार गर्नुभयो...

किन परमेश्‍वरले आखिरी दिनहरूको न्यायको काम गर्न देहधारण गर्नुहुन्छ?

हामीले आखिरी दिनहरूमा परमेश्‍वरको न्यायको कामबारे पहिले नै केही पटक कुराकानी गरिसकेका छौँ। आज हामी कसले यो न्यायको काम गर्नुहुन्छ भनेर...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्