ढोङ्गीपन भनेको के हो
परमेश्वरका प्रासंगिक वचनहरू:
फरिसीहरू ढोङ्गीहरू भएका हुनाले, तिनीहरूमा देखिने र प्रकट हुने हरेक कुरा झूटा हुन्; यो सबै बहाना हो—यो तिनीहरूको साँचो रूप होइन। तिनीहरूको साँचो अनुहार तिनीहरूको हृदयभित्र लुकेको हुन्छ; यसलाई देख्न सकिँदैन। यदि मानिसहरूले सत्यताको खोजी गर्दैनन् भने, र यदि तिनीहरूले सत्यतालाई बुझ्दैनन् भने, तिनीहरूले प्राप्त गरेका यी सिद्धान्तहरू के बन्छन् त? के ती मानिसहरूले प्रायजसो उल्लेख गर्ने अक्षर र धर्मसिद्धान्तहरू बन्दैनन् र? मानिसहरूले छदम् भेष धारण गरी आफूलाई राम्रोसित प्रस्तुत गर्नका लागि यी तथाकथित सही धर्मसिद्धान्तहरूको प्रयोग गर्छन्। तिनीहरू जहाँ-जहाँ जान्छन्, तिनीहरूले कुराकानी गर्ने विषयवस्तुहरू, तिनीहरूले भन्ने कुराहरू, र तिनीहरूका बाहिरी आनीबानी सबै अरूका निम्ति सही र असल देखिन्छन्; तिनीहरू सबै मानव धारणा र रुचिसँग मिल्दो हुन्छन्। अरूका नजरमा, तिनीहरू भक्त र विनम्र दुवै हुन्छन्, धैर्यता र सहनशीलता प्रस्तुत गर्न सक्ने, र अरूलाई प्रेम गर्न र परमेश्वरलाई प्रेम गर्न सक्ने हुन्छन्। तैपनि, वास्तवमा यी सबै झूट हुन्छन्; यी सबै बहाना मात्र हुन्छन् र तिनीहरूले आफूलाई आकर्षक रूपमा प्रस्तुत गर्ने तरिका मात्रै हुन्छन्। बाहिरी रूपमा, तिनीहरू परमेश्वरप्रति निष्ठावान देखिन्छन्, तर वास्तवमा तिनीहरूले अरूले देखून् भनेर मात्रै कार्य प्रदर्शन गरिरहेका हुन्छन्। जब कसैले हेरिरहेका हुँदैनन्, तिनीहरू अलिकति पनि निष्ठावान हुँदैनन्, र तिनीहरूले गर्ने हरेक कुरा झारा टार्ने शैलीका हुन्छन्। सतही रूपमा, तिनीहरूले आफ्ना परिवार र जागिर छोडेका छन्, तिनीहरू कठिन परिश्रम गर्ने र आफैलाई समर्पित गर्ने मानिसहरू हुन् भन्ने देखिन्छ; तैपनि वास्तविकतामा, तिनीहरूले गोप्य रूपमा मण्डलीबाट लाभ लिइरहेका र भेटी चोरिरहेका हुन्छन्। तिनीहरूले बाहिरी रूपमा प्रकट गर्ने हरेक कुरा—तिनीहरूका सबै बानीबेहोरा—झूट हुन्छ। ढोङ्गी फरिसीको अर्थ यही हो। “फरिसीहरू”—यी मानिसहरू कहाँबाट आउँछन् त? के तिनीहरू सबै अविश्वासीहरूबाट आउँछन्? तिनीहरू सबै विश्वासीहरूका बीचबाट आउँछन्। किन यी विश्वासीहरू त्यसरी रूपान्तरण हुन्छन्? के परमेश्वरका वचनहरूले तिनीहरूलाई त्यस्तो बनाउन सक्छन्? (होइन।) कारण के हो त? तिनीहरूले लिएको मार्ग नै यसको कारण हो। परमेश्वरका वचनहरूलाई तिनीहरूले आफूलाई सुसज्जित गर्ने उपकरणको रूपमा लिएका हुन्छन्; तिनीहरूले यी वचनहरूद्वारा आफैलाई सुसज्जित गरेका हुन्छन्, र तिनलाई सुरक्षित जीवन र केही नगरी केही पाउने पूँजीको रूपमा लिन्छन्। तिनीहरूले धर्मसिद्धान्तहरूको प्रचार मात्रै गर्छन्, तर तिनीहरूले ती वचनहरूलाई कहिल्यै पनि अभ्यास गरेका हुँदैनन्। परमेश्वरको मार्ग कहिल्यै नपछ्याए पनि वचन र धर्मसिद्धान्तहरूलाई प्रचार गर्ने कार्यलाई जारी राख्ने यी कस्ता प्रकारका मानिसहरू हुन् त? यी ढोङ्गी फरिसीहरू हुन्। असल देखिने त्यो थोरै व्यवहार र आफैलाई व्यक्त गर्ने तिनीहरूको राम्रो तरिका, र तिनीहरूले त्यागेको र समर्पित गरेको त्यो थोरै कुरा, ती सबै पूर्ण रूपमा जबरजस्ती गरिएका कुरा हुन्; ती त तिनीहरूले गर्ने देखावटी कुरा मात्र हुन्। तिनीहरू पूर्ण रूपमा झूटा हुन्छन्; ती सबै कार्यहरू बहाना मात्रै हुन्। यी मानिसहरूका हृदयमा, परमेश्वरको लागि अलिकति पनि श्रद्धाभाव हुँदैन, न त तिनीहरूसँग परमेश्वरप्रतिको कुनै सच्चा विश्वास नै हुन्छ। त्योभन्दा पनि बढी, तिनीहरू गैर-विश्वासीहरू हुन्। यदि मानिसहरूले सत्यताको खोजी गर्दैनन् भने, तिनीहरू यस्तो प्रकारको मार्गमा हिँड्नेछन्, र तिनीहरू फरिसीहरू बन्नेछन्। के त्यो कुरा डरलाग्दो छैन र?
आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “जीवन वृद्धिका छ वटा सूचकहरू”
इस्राएलमा, “फरिसी” भन्ने शब्दलाई एक प्रकारको पदवी-नामको रूपमा प्रयोग गरिन्थ्यो। तर अहिले किन यो एउटा कलङ्कित उपनाम बनेको छ त? यस्तो किन भयो भने फरिसीहरू एक प्रकारको व्यक्तिका प्रतिनिधिहरू बनेका छन्। यस प्रकारको व्यक्तिका विशेषताहरू के-के हुन् त? तिनीहरूले नारा लाउँछन्, तिनीहरू बहाना बनाउन, आभूषण-सजावट गर्न र साँचो रूप लुकाउनमा माहिर हुन्छन् र तिनीहरूले आफूमा महान् भद्रता, महान् पवित्रता र महान् भलापन, महान निश्पक्षपन र सम्मान भएको बहाना गर्छन्। परिणामस्वरूप, तिनीहरूले अलिकति पनि सत्यता अभ्यास गर्दैनन्। तिनीहरूले कसरी कार्य गर्छन् त? तिनीहरू पवित्र पुस्तकहरू पढ्छन्, तिनीहरूले प्रवचन सुनाउँछन्, तिनीहरूले अरूलाई असल कार्य गर्न, दुष्ट कार्य नगर्न, परमेश्वरको प्रतिरोध नगर्न सिकाउँछन् र अरूको अगाडि एकदमै राम्रो व्यवहार गर्छन्, तैपनि जब अरू पछाडि फर्कन्छन् तिनीहरूले भेटी चोर्छन्। प्रभु येशूले तिनीहरूले “भुसुना छान्छन् र उँटलाईचाहिँ निल्छन्” भनी भन्नुभयो। यसको मतलब, तिनीहरूको सबै व्यवहार सतहमा राम्रो देखिन्छ—तिनीहरूले देखाउनको लागि नारा लगाउँछन्, तिनीहरूले उच्च सिद्धान्तहरूको बारेमा बोल्छन्, र तिनीहरूका वचनहरू मीठा सुनिन्छ, तर तिनीहरूका कार्यहरू भने अस्तव्यस्त भद्रगोल, पूर्ण रूपमा परमेश्वरविरोधी हुन्छन्। तिनीहरूको व्यवहार र बाह्य रूप सबै नै बहाना र धोका हुन्; तिनीहरूको हृदयमा तिनीहरूसँग सत्यताप्रति अलिकति पनि प्रेम हुँदैन, न त सकारात्मक कुराहरूको लागि नै प्रेम हुन्छ। तिनीहरूले सत्यतालाई घृणा गर्छन्, परमेश्वरबाट आउने सबै थोकलाई घृणा गर्छन्, र सकारात्मक कुराहरूलाई घृणा गर्छन्। तिनीहरूले केलाई प्रेम गर्छन् त? के तिनीहरूले निष्पक्षता र धर्मीपनलाई प्रेम गर्छन् त? (गर्दैनन्।) तिनीहरूले सकारात्मक कुराहरूलाई प्रेम गर्दैनन् भनेर तिमीहरूले कसरी भन्न सक्छौ? (प्रभु येशूले स्वर्गको राज्यको सुसमाचार प्रचार गर्नुभयो जसलाई तिनीहरूले अस्वीकार मात्र गरेनन्, बरु तिनीहरूले त त्यसलाई दोषी ठहराउने कामसमेत गरे।) यदि तिनीहरूको दोषी ठहराउने कार्य नभएको भए, के तिमीहरूले यसको बारेमा भन्न सक्नेथियौ त? प्रभु येशू काम गर्न आउनुअघि, के कुराले तिमीहरूलाई तिनीहरूले निष्पक्षता र धर्मीपनलाई प्रेम गर्दैनथे भनेर बताउँथ्यो होला? तिमीहरूले यसको बारेमा बताउन सक्नेथिएनौ, सक्नेथियौ त? तिनीहरूका सबै व्यवहार बहानाबाजी हो, र तिनीहरूले अरूको भरोसालाई छलसाथ जित्नको लागि असल व्यवहारको बहानाको प्रयोग गर्छन्। के यो ढोङ्ग र छल होइन र? के त्यस्ता धोकेबाजहरूले सत्यतालाई प्रेम गर्न सक्छन् र? तिनीहरूको यो असल व्यवहारपछाडि लुकेको उद्देश्य के हो त? तिनीहरूको उद्देश्यको एक भागचाहिँ अरूलाई ठग्नु हो; अर्को भागचाहिँ अरूलाई धोका दिनु, तिनीहरूको भरोसा जित्नु र तिनीहरूद्वारा आराधना गरिनु, र अन्त्यमा इनाम प्राप्त गर्नु हो। त्यत्रो ठूलो ठगीलाई सफलतापूर्वक कार्यान्वयन गर्नको लागि तिनीहरूको तरिका कति धेरै चलाकीपूर्ण हुनुपर्छ त? त्यसो भए, के त्यस्ता मानिसहरूले निष्पक्षता र धर्मीपनलाई प्रेम गर्छन् त? अवश्य पनि गर्दैनन्। तिनीहरूले हैसियतलाई प्रेम गर्छन्, तिनीहरूले ख्याति र धनलाई प्रेम गर्छन्, र तिनीहरू इनाम पाउन चाहन्छन्। तिनीहरूले मानिसहरूका निम्ति दिइएका परमेश्वरका वचनहरूलाई बिलकुलै अभ्यास गर्दैनन्। तिनीहरू अलिअलि पनि ती वचनहरूअनुरूप जिउँदैनन्; तिनीहरूले मानिसहरूलाई छल्न र तिनीहरूको भरोसा जित्न, तिनीहरूको आफ्नै हैसियत र मान-सम्मान बढाउन केवल आभूषण र भेषको प्रयोग गर्छन्। यी कुराहरू सुरक्षित भएपछि, तिनीहरूले त्यसलाई पुँजी र आय स्रोत प्राप्त गर्न प्रयोग गर्छन्। के यो घृणास्पद छैन र? तिनीहरूको यी सबै व्यवहारहरूमा के देखिन्छ भने, सत्यतालाई प्रेम नगर्नु नै तिनीहरूको सार हो, किनभने तिनीहरूले सत्यतालाई कहिल्यै पनि अभ्यास गर्दैनन्। तिनीहरूले सत्यतालाई अभ्यास गर्दैनन् भन्ने कुराको चिन्ह के हो त? सबैभन्दा ठूलो चिन्ह यही हो: प्रभु येशू काम गर्न आउनुभयो र उहाँले भन्नुभएका हरेक कुरा सही थिए र उहाँले भन्नुभएका हरेक कुरा सत्यता थिए। तिनीहरूले त्यसलाई कसरी लिए त? (तिनीहरूले त्यसलाई स्वीकार गरेनन्।) के तिनीहरूले प्रभु येशूका वचनहरूलाई गलत भएको विश्वास गरेको कारण स्वीकार गरेनन् कि तिनीहरूले ती वचनहरूलाई सही छन् भन्ने जानेर पनि स्वीकार गरेनन्? (तिनीहरूले ती वचनहरूलाई सही छन् भन्ने जानेर पनि स्वीकार गरेनन्।) अनि के कुराले यस्तो गरायो त? तिनीहरूले सत्यतालाई प्रेम गर्दैनन्, र तिनीहरूले सकारात्मक कुराहरूलाई घृणा गर्छन्। प्रभु येशूले भन्नुभएका सबै कुरा सही थिए, तिनमा कुनै त्रुटि थिएनन्, अनि तिनीहरूले प्रभु येशूका वचनहरूमा उहाँको विरुद्ध प्रयोग गर्न सकिने कुनै कुरा फेला पार्न नसके पनि, तिनीहरूले उहाँलाई दोष दिए र त्यसपछि षडयन्त्र गरे: “उहाँलाई क्रूसमा टाँगे। यो कुरा कि त उहाँ कि त हामी भन्ने हो।” यसरी तिनीहरूले आफैलाई प्रभु येशूको विरुद्धमा उभ्याए। तिनीहरूले प्रभु येशू नै प्रभु हुनुहुन्छ भन्ने विश्वास नगरे पनि, उहाँ असल व्यक्ति हुनुहुन्थ्यो र उहाँले न त नियम-कानुन न त यहोवाका[क] व्यवस्थाहरू नै उल्लङ्घन गर्नुभयो; किन तिनीहरूले प्रभु येशूलाई दोष दिए त? तिनीहरूले किन प्रभु येशूलाई त्यसरी व्यवहार गरे त? यो कुरालाई यी मानिसहरू कति दुष्ट र बद्ख्वाइँपूर्ण थिए भन्ने तथ्यमा देख्न सकिन्छ—तिनीहरू चरम रूपमा दुष्ट थिए! फरिसीहरूको उदाङ्गो भएको दुष्ट अनुहारको हद तिनीहरूको दयालुपनको आवरणको हदभन्दा फरक हुन सकेको थिएन। धेरै मानिसहरू छन् जसले तिनीहरूको साँचो अनुहार कुन हो र कुन चाहिँ झूटो हो भनी भेद छुट्ट्याउन सक्दैनन्, तैपनि प्रभु येशूको देखा पराइ र कामले ती सबैलाई खुलासा गरिदियो। फरिसीहरूले कसरी आफूलाई बाहिरी भेषमा लुकाउँछन्, बाह्य रूपमा तिनीहरू कति दयालु देखिन्छन्—यदि यी तथ्यहरूलाई खुलासा नगरिएको भए, कसैले पनि तिनीहरू वास्तवमा के हुन् भनी देख्न सक्नेथिएनन्।
आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “परमेश्वरमाथिको विश्वासको सबैभन्दा महत्वपूर्ण भाग सत्यताको अभ्यास गर्नु हो”
“रूप धारण” भन्ने शब्दको क्रियाशील भाग भनेको रूप हो। त्यसो भए, ख्रीष्ट-विरोधीहरूले आफूमा कस्तो व्यक्तित्व धारण गरेका हुन्छन् त? तिनीहरूले आफू को भएको बहाना गर्छन् त? तिनीहरूले गरेको अरूको नक्कल वास्तवमा हैसियत र प्रतिष्ठाको लागि हो। यो कुरा ती कुराहरूबाट अलग भएको हुन सक्दैन, नत्र त तिनीहरूले त्यस्तो बहाना नै गर्नेथिएनन्—तिनीहरूले कुनै पनि हालतमा त्यस्तो मूर्ख काम गर्दैनन्। त्यस्तो बानीबेहोरालाई भर्त्सनायोग्य, तिरस्कारयोग्य, र घिनलाग्दो मानिन्छ भनेर जान्दा-जान्दै पनि तिनीहरूले किन अझै त्यसै गर्छन् त? तिनीहरूसँग अवश्य नै तिनीहरूका आफ्नै लक्ष्य र उत्प्रेरणाहरू हुन्छन्—त्यसमा अभिप्राय र उत्प्रेरणाहरू लुकेका हुन्छन्। यदि ख्रीष्ट-विरोधीहरूले मानिसहरूको मनमा हैसियत प्राप्त गर्नु छ भने, तिनीहरूले यी मानिसहरूलाई तिनीहरूको इज्जत गर्ने बनाउनुपर्छ। अनि मानिसहरूलाई के कुराले त्यसो गर्ने बनाउँछ त? मानिसहरूका धारणामा असल ठानिने केही बानीबेहोरा र अभिव्यक्तिहरूलाई नक्कल गर्नेबाहेक, एउटा अर्को पक्ष के हो भने, ख्रीष्ट-विरोधीहरूले अरूलाई तिनीहरूको इज्जत गर्ने बनाउनको लागि मानिसहरूले महान् र भव्य ठानेका निश्चित बानीबेहोरा र छविहरूलाई पनि नक्कल गर्छन्। मानिसहरूले मण्डलीमा प्रायजसो त्यस्ता कतिपय मानिसहरूलाई भेट्छन्, जसले आत्मिक भएको बहाना गर्छन्, ताकि अरूले तिनीहरूले परमेश्वरमा धेरै वर्ष विश्वास गरेका छन्, र तिनीहरू अत्यन्तै आत्मिक छन् भनेर विचार गरून्। र के मानिसहरूले आत्मिक व्यक्तिहरू अचम्मका र महान् हुन्छन् भन्ने विश्वास गर्दैनन् र? (गर्छन्।) ख्रीष्ट-विरोधीहरूले जस्तो प्रकारको व्यक्ति वा जस्तो तरिकाको व्यक्तिको रूप धारण गरे पनि, यो मानिसहरूले जति सक्दो असल, र महान्, अनि आदर्शमय ठान्ने व्यक्ति हुनुपर्छ, नत्र तिनीहरूले यस्तो व्यक्तिको रूप धारण गर्दैनन्। यदि तिनीहरूले शैतानको रूप धारण गरे भने, के मानिसहरूले तिनीहरूलाई उच्च नजरले हेर्नेछन् र? यदि तिनीहरूले हेपाहा, अपराधी, ठग, वा वेश्याको रूप धारण गरे भनि, के मानिसहरूले तिनीहरूलाई उच्च ठान्नेछन् र? (ठान्दैनन्।) यदि तिनीहरूले आफू फरिसी वा यहूदा हुँ भनी बताए भने, के मानिसहरूले तिनीहरूलाई इन्कार गर्नेछैनन् र? (गर्नेछन्।) यस्ता मानिसहरूलाई स्पष्ट रूपमा नै नकारात्मक, खराब मानिसहरूको रूपमा लिइन्छ। ख्रीष्ट-विरोधीहरूले कहिल्यै पनि तिनीहरूको रूप धारण गर्दैनन्। त्यसो भए, तिनीहरूले कसको रूप धारण गर्छन् त? तिनीहरूले मानिसहरूको मनमा महान्, असल, र अद्भुत भनी कहलिने व्यक्तिहरूको रूप धारण गर्छन्। पहिलो धेरै वर्षदेखि परमेश्वरलाई विश्वास गर्दै आएका, आत्मिक अनुभव र गवाही प्राप्त गरेका, परमेश्वरको अनुग्रह र आशिषहरू प्राप्त गरेका, चिन्ह र अचम्मका कामहरू अनुभव गरेका, ठूला-ठूला ईश्वरीय दर्शनहरू देखेका, र केही पृथक अनुभवहरू प्राप्त गरेका मण्डलीकै मानिसहरू हुन्; अरूको छेउमा यसको बारेमा धेरै बेरसम्म, अर्थात् दुई वा तीन घण्टा वा त्योभन्दा बढी समयसम्म खोक्रो गफ हाँक्न सक्ने मानिसहरू पनि छन्; त्यस्ता मानिसहरू पनि छन्, जसको काम-कुरा गर्ने तरिका, माध्यम, र सिद्धान्तहरू मण्डलीको नियमहरूसँग मिल्दो हुन्छ; र त्यसपछि परमेश्वरमा ठूलो विश्वास गर्नेजस्तो देखिने मानिसहरू पनि छन्। यी मानिसहरूलाई आत्मिक मानिसहरू भनेर चिनिन्छ। त्यसो भए, ख्रीष्ट-विरोधीहरूले कसरी आत्मिक मानिसहरूको रूप धारण गर्छन् त? तिनीहरूले पनि ठीक उनीहरूको जस्तै कामहरू गर्छन्, ताकि मानिसहरूले तिनीहरूलाई आत्मिक मानिसहरूका रूपमा हेरून्। अनि जब तिनीहरूले यी कामकुराहरू गर्छन्, के ती हृदयबाट स्वभाविक रूपमागरिएका हुन्छन् त? हुँदैनन्। ख्रीष्ट-विरोधीहरूले त अनुकरण मात्रै गरिरहेका हुन्छन्, नियमहरू मात्रै पालन गरिरहेका हुन्छन्। अनि तिनीहरूले गर्ने कतिपय काम-कुरा अरूलाई ठीक बानीबेहोराजस्तो लाग्न सक्छ। उदाहरणको लागि, तिनीहरूले कुनै समस्याको सामना गर्नेबित्तिकै प्रार्थना गरिहाल्छन्, र त्यसो गर्दा तिनीहरूले पूरै ढाँचा मिलाएर गर्छन्। वास्तविकतामा, तिनीहरूले साँचो रूपमा खोजी र प्रार्थना गरिरहेका हुँदैनन्; तिनिहरूले परमेश्वरलाई प्रेम गर्दा रहेछन्, र परमेश्वरप्रति तिनीहरूसँग ठूलो श्रद्धाभाव रहेछ, र तिनीहरूले समस्याको सामना गर्दा प्रार्थना गर्दा रहेछन् भनी मानिसहरूले भनून् भन्ने प्रयासमा मात्रै तिनीहरूले त्यसो गरिरहेका हुन्छन्। यति मात्र कहाँ हो र, तिनीहरू जति नै गम्भीर रूपमा बिरामी भए पनि, तिनीहरूले उपचार गर्नुपर्ने बेलामा उपचार गर्दैनन् वा औषधि खानुपर्ने बेलामा औषधि खाँदैनन्। मानिसहरू भन्छन्, “तिमीले औषधि खाएनौ भने तिम्रो रोग झन् खराब बन्न सक्छ। प्रार्थनाको समय हुन्छ, र औषधि खाने पनि समय हुन्छ। यति मात्र हो, तिमीले आफ्नो विश्वासलाई पछ्याउनुपर्छ र आफ्नो कर्तव्यलाई त्याग्नु हुँदैन।” तिनीहरूले प्रतिक्रिया दिन्छन्, “ठीकै छ—मेरो साथमा परमेश्वर हुनुहुन्छ, मलाई डर लागेको छैन।” बाहिरी रूपमा, तिनीहरू शान्त र निडर, अनि विश्वासले भरिपूर्ण भएको बहाना बनाउँछन्, तर भित्री रूपमा, तिनीहरू डरले थरथर कामिरहेका हुन्छन्; गुप्त रूपमा, तिनीहरूले एकपछि अर्को चक्की लिन्छन्, र तिनीहरू आफूलाई असहज अनुभव हुनेबित्तिकै डाक्टरकहाँ दौडिहाल्छन्। यदि तिनीहरूले औषधि लिइरहेको मानिसहरूले देखे, र यसको बारेमा सोधे भने, तिनीहरू भन्छन्, “म स्वास्थ्यसम्बन्धी केही भिटामिनहरू लिँदैछु। त्यो खाँदा मलाई ऊर्जा मिल्छ, त्यसकारण मेरो कर्तव्य पूरा गर्दा म पूरै लागिपर्छु।” तिनीहरूले यसो पनि भन्छन्, “रोग-बिमार भनेको त परमेश्वरबाट आउने जाँच हो। जब हामी रोग-बिमारको बीचमा जिउँछौं, हामीलाई रोग-बिमार लाग्छ; जब हामी परमेश्वरका वचनहरूको बीचमा जिउँछौं, रोग-बिमार जान्छ। हामी रोग-बिमारको बीचमा जिउनु हुँदैन—यदि हामी परमेश्वरका वचनहरूको बीचमा जिउँछौं भने, यो रोग हराएर जानेछ।” सतही रूपमा तिनीहरूले प्रायजसो परमेश्वरका वचनहरू प्रयोग गरेर मानिसहरूलाई सहयोग गर्न सिकाउँछन्। तर जब तिनीहरूलाई केही आइपर्छ, तिनीहरू गुप्त रूपमा यसलाई आफ्नै माध्यमहरूद्वारा समाधान गर्ने प्रयास गर्छन्। बाहिरी रूपमा, तिनीहरूले अझै यसो भन्छन्: सबै कुरामा परमेश्वरमाथि भरोसा गरौं, अनि सबै थोक परमेश्वरकै हातमा छ। तर खासमा तिनीहरूले गुप्त रूपमा त्यसो गर्दैनन्। तिनीहरूसँग कुनै किसिमको साँचो विश्वास हुँदैन। जब तिनीहरूले कुनै समस्याको सामना गर्छन्, अरू मानिसहरूको अघि तिनीहरूले प्रार्थना गर्छन् र तिनीहरू परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तहरूमा समर्पित हुन्छन्, यो समस्या परमेश्वरबाट आएको हो, र मानिसहरूले गुनासो गर्नु हुँदैन भनेर भन्छन्। तर यस क्रममा, तिनीहरूको हृदयमा भने तिनीहरूले यस्तो विचार गरिरहेका हुन्छन्: “म यति समर्पित छु र मेरो कर्तव्य पूरा गर्नलाई म कठिन परिश्रम गर्छु, तैपनि कसरी यो रोग ममाथि आइलाग्यो? अनि कसरी अरू कसैलाई पनि यो रोग लागेको छैन” तिनीहरूले कुनै पनि गुनासोको कुरा बोल्ने आँट गर्दैनन्, तर तिनीहरूको हृदयभित्र परमेश्वरप्रति शङ्काहरू पैदा हुन्छन्; परमेश्वरले गर्नुहुने सबै कुरा सही नै हुन्छ भन्ने छैन भन्ने तिनीहरूलाई लाग्छ। तैपनि, बाहिरी रूपमा भने, तिनीहरूले केही पनि गलत भएको छैन, बिरामी भए पनि, बिमारीपनले तिनीहरूलाई बाधा दिँदैन, तिनीहरूले अझै पनि आफ्नो कर्तव्य पूरा गर्न सक्छन्, तिनीहरू अझै पनि विश्वासयोग्य छन्, र तिनीहरूले अझै पनि आफूलाई परमेश्वरमा समर्पित गर्न सक्छन् भन्ने जस्तो देखाउँछन्। जब तिनीहरू बाहिरी रूप धारण गर्नेहरू हुन् भनेर भनिन्छ, तब तिनीहरूको बानीबेहोरा दूषित छन् भन्ने देखिन्छ। त्यस्तो व्यक्तिको निष्ठाजस्तै, विश्वास र आज्ञापालन पनि झूटो हुन्छ। तिनीहरूमा कुनै साँचो आज्ञापालन हुँदैन, न त साँचो विश्वास नै हुन्छ, तिनीहरूले साँचो रूपमा परमेश्वरको भरोसा गर्नु र सबै कुरा उहाँकै हातमा सुम्पनु त परै जाओस्। परमेश्वरले जे बन्दोबस्त गर्नुभएको छ, वा परमेश्वरको इच्छा के हो त्यस कुरालाई तिनीहरूले कुनै वास्ता गर्दैनन्; तिनीहरूले आफ्नै भ्रष्टतालाई जाँच गर्दैनन्, तिनीहरूले आफूमा के समस्या छ भनेर जाँच गर्दैनन्, न त तिनीहरूले आफ्ना समस्याहरूलाई समाधान गर्ने प्रयास नै गर्छन्, बरू तिनीहरूले आफूलाई कुराले बाधा दिइरहेको छैन, तिनीहरू समर्पित हुन सक्छन्, र तिनीहरूसँग विश्वास छ, र तिनीहरू दह्रिलो गरी खडा हुन सक्छन् भनेर बाहिरी रूपमा बहाना गर्छन्। तैपनि, तिनीहरूले आफ्नो हृदयमा यो विचार गरिरहेका हुन्छन्, “के परमेश्वरले मलाई घृणा गर्नुभएकोले यो रोग ममाथि आइलागेको हो? अब उहाँले मलाई घृणा गर्नुहुँदो रहेछ भने, के म सेवाकर्ता हुँ त? के परमेश्वरले मलाई सेवा लिनको लागि प्रयोग गरिरहनुभएको छ? के मेरो अझै कुनै उद्देश्य छ? के परमेश्वरले मलाई खुलासा गर्न, मलाई यो कर्तव्य पूरा गर्नबाट रोक्नको लागि यसको प्रयोग गरिरहनुभएको छ?” तिनीहरूले आफ्नो हृदयमा यस्तै विचार गर्छन्, तर बाहिरी रूपमा भने “यसको पछाडि परमेश्वरका दयालु अभिप्रायहरू छन्” भन्दै आत्मिक व्यक्ति भएको बहाना गर्छन्, र कुनै कुरा तिनीहरूमाथि आइपर्दा गुनासो गर्दैनन्। तिनीहरूले खुलेआम रूपमा गुनासो गर्दैनन्, तर तिनीहरूको मन समुद्रको आँधीजस्तै हल्लिरहेको हुन्छ; परमेश्वरको बारेमा रहेका गुनासाहरू, र परमेश्वरसम्बन्धी शङ्का र प्रश्नहरू सबै एकैपटक प्रस्फुटित हुन्छन्। बाहिरी रूपमा, तिनीहरूले परमेश्वरका वचनहरू पढिरहन्छन् र आफ्नो कर्तव्य पूरा गर्नमा छिटो हुन्छन्, तर तिनीहरूको हृदयमा, तिनीहरूले आफ्नो कर्तव्यलाई त्यागिसकेका हुन्छन्। के बहाना गर्नु भनेको यही होइन र?
ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरूले आफैलाई पृथक तुल्याउन अनि तिनीहरूका आफ्नै चासो र महत्वाकांक्षाहरूलाई पूरा गर्नको लागि आफ्ना कर्तव्य पूरा गर्छन्; तिनीहरूले परमेश्वरको घरको चासोहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि व्यक्तिगत वैभवको लागि ती चासोहरूलाई समेत बेच्छन् (१०)”
परिवेश जे-जस्तो भए पनि, वा तिनीहरूले आफ्नो कर्तव्य जहाँ पूरा गरिरहेको भए पनि, ख्रीष्ट-विरोधीहरूले सत्यता र परमेश्वरको बारेमा तिनीहरूले आफ्नो हृदयको गहिराइमा लुकाएर राखेको वास्तविक मनोवृत्ति र वास्तविक दृष्टिकोणलाई अरूबाट लुकाउँदै, आफू कमजोर नभएको, परमेश्वरप्रति उत्कृष्ट प्रेम भएको, परमेश्वरमाथिको विश्वासले भरिएको, कहिल्यै पनि नकरात्मक नभएको देखावटी व्यवहार गर्छन्। वास्तविकतामा, आफ्नो हृदयको गहिराइमा, के तिनीहरूले आफूलाई साँच्चै नै महाशक्तिशाली ठान्छन् त? के तिनीहरूले साँच्चै आफूसँग कुनै कमजोरी छैन भन्ने ठान्छन् त? ठान्दैनन्। तिनीहरूसँग कमजोरी, विद्रोहीपन, र भ्रष्ट स्वभाव छ भन्ने थाहा हुँदा-हुँदै, किन तिनीहरूले अरूको छेउमा त्यसरी बोल्ने र व्यवहार गर्ने गर्छन् त? तिनीहरूको उद्देश्य स्पष्ट छ: यो अरूका बीचमा र अरूका सामुन्ने तिनीहरूको हैसियतलाई रक्षा गर्नु नै हो। यदि अरूको अघि हुँदा, तिनीहरू खुलस्त रूपमा नकारात्मक बने, कमजोर कुराहरू खुलस्तरूपमा बताए, विद्रोहीपन प्रकट गरे, र आफैलाई चिन्ने बारेमा कुरा गरे भने, यो तिनीहरूको हैसियत र मर्यादालाई हानि गर्ने कुरा हो, यो घाटाको कुरा हो भन्ने तिनीहरूलाई लाग्छ। त्यसकारण, तिनीहरूले आफूलाई कमजोर र नकारात्मक छु, र आफू सिद्ध होइन, सर्वसाधारण व्यक्ति मात्रै हुँ भनेर भन्नुभन्दा त बरु तिनीहरू मर्छन्। यदि तिनीहरूले तिनीहरूसँग भ्रष्ट स्वभाव छ, तिनीहरू साधारण व्यक्ति हुन्, सानो र महत्त्वहीन प्राणी हुन् भनी स्वीकार गरे भने, तिनीहरूले मानिसहरूको मनमा तिनीहरूको हैसियत गुमाउँछन् भन्ने तिनीहरूलाई लाग्छ। त्यसकारण, जे-सुकै भए पनि, तिनीहरूले यो हैसियतलाई त्याग्न सक्दैनन्, बरु यसलाई रक्षा गर्न सक्दो गर्छन्। हरेकपटक तिनीहरूले समस्याको सामना गर्दा, तिनीहरू अघि सर्छन्—तर तिनीहरूको खुलासा हुन सक्छ, मानिसहरूले तिनीहरूको वास्तविकतालाई देख्न सक्छन् भन्ने थाहा पाएपछि, तिनीहरू तुरुन्तै लुकिहाल्छन्। यदि चलखेल गर्ने कुनै ठाउँ छ भने, यदि तिनीहरूले आफैलाई प्रस्तुत गर्ने, तिनीहरू विशेषज्ञ हुन्, तिनीहरूलाई यसको बारेमा थाहा छ, र तिनीहरूले यसलाई बुझेका छन्, र तिनीहरूले यो समस्यालाई समाधान गर्न सक्छन् भनेर बहाना गर्ने ठाउँ छ भने, तिनीहरूले अरूको तारिफ प्राप्त गर्न, तिनीहरू यस क्षेत्रमा सिपालु छन् भनेर अरूलाई देखाउने मौकाको फाइदा उठाउन हतार-हतार अघि बढ्छन्। यदि कुनै परिस्थितिमा कसैले तिनीहरूलाई कुनै विषयको बारेमा तिनीहरूको बुझाइ, र तिनीहरूको दृष्टिकोण के हो भनेर सोध्यो भने, तिनीहरू मौन बस्छन्, र तिनीहरूले अरू सबैलाई सुरुमा बोल्न दिन्छन्। तिनीहरू मौन बस्नुको एउटा कारण छ: तिनीहरूसँग दृष्टिकोण नभएकोले होइन, बरु तिनीहरूले सीधै बोले भने तिनीहरूको इज्जत जानेछ, वा कसैले पनि सहमति नजनाउने कुनै अज्ञानी वा तुच्छ कुरा तिनीहरूले बोलिपठाउनेछन् भनी तिनीहरू डराएकाले गर्दा हो। एउटा कारण यही हो। अर्को कारण के हो भने, तिनीहरूसँग कुनै दृष्टिकोण हुँदैन, र तिनीहरू स्वेच्छाचारी रूपमा बोल्न डराउँछन्। यी दुई कारण वा अरू विभिन्न धेरै कारणहरूले गर्दा, तिनीहरू बोल्न र आफ्नो दृष्टिकोण व्यक्त गर्न अघि सर्दैनन्, तिनीहरू आफ्नो साँचो अनुहारको खुलासा हुनेछ भनेर डराएका हुन्छन्, तिनीहरू आफ्नो वास्तविक कद र साँचो दृष्टिकोण खुलासा हुन्छ कि भनेर, अनि मानिसहरूको मनमस्तिष्कमा तिनीहरूको बारेमा रहेको छविमा प्रभाव पर्नेछ भनेर डराएका हुन्छन्। त्यसकारण, जब मानिसहरूले आफ्नो दृष्टिकोणहरू, विचार, र बुझाइको बारेमा सङ्गति गर्छन्, तिनीहरूले अलिक बुद्धिमान र न्यायसंगत सुनिने कुनै व्यक्ति वा निश्चित मानिसहरूका अभिव्यक्तिहरूलाई पक्रिन्छन्, र ती अभिव्यक्तिलाई आफ्नै जस्तो गरी प्रयोग गर्छन्, तिनीहरूले यी अभिव्यक्तिहरूका महत्त्वपूर्ण कुराहरूलाई याद गरेर राख्छन् अनि सबैसँग त्यसकै बारेमा सङ्गति गर्छन्, अनि यसो गरेर मानिसहरूको मनमस्तिष्कमा तिनीहरूले उच्च स्थान प्राप्त गर्छन्। जब साँचो रूपमा दृष्टिकोण व्यक्त गर्ने समय हुन्छ, तब तिनीहरूले मानिसहरूको सामुन्ने आफ्नो साँचो स्थिति खुलासा गर्ने, वा तिनीहरूले वास्तवमा के विचार गर्छन्, तिनीहरूको क्षमता कस्तो छ, तिनीहरूको मानवता कस्तो छ, तिनीहरूको बुझ्ने शक्ति कस्तो छ, र तिनीहरूसँग सत्यताको साँचो ज्ञान छ कि छैन सो मानिसहरूलाई बताउने गर्दैनन्। त्यसकारण, आत्मिक, र सिद्ध व्यक्ति भएको तडकभडक र बहाना बनाउने क्रममा, तिनीहरूले आफ्नो साँचो अनुहार र साँचो कद लुकाउन सक्दो प्रयास गर्छन्। तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूको बीचमा कहिल्यै पनि आफ्नो कमजोरीहरू प्रकट गर्दैनन्, न त तिनीहरूले आफ्ना कमी र कमजोर पक्षलाई नै पहिचान गर्छन्; बरु, तिनीहरूले यी कुराहरूलाई ढाकछोप गर्न सक्दो प्रयास गर्छन्। मानिसहरूले तिनीहरूलाई सोध्छन्, “तिमीले परमेश्वरमा यति धेरै वर्ष विश्वास गरेका छौ, के परमेश्वरको बारेमा तिमीले कहिल्यै शङ्का गरेका छौ?” तिनीहरूले उत्तर दिन्छन्, “छैन।” तिनीहरूलाई सोधिन्छ, “तिम्रो परिवारका सदस्यहरू मर्दा तिमी रोयौ?” तिनीहरूले उत्तर दिन्छन्, “अहँ, मैले एक थोपो आँसु पनि चुहाइनँ।” तिनीहरूलाई सोधिन्छ, “तिमीले परमेश्वरमा यतिका वर्षदेखि विश्वास गरेका छौ, तिमीले धेरै कुरा त्यागेका छौ र आफैलाई यति धेरै समर्पित गरेका छौ, के तिमी कहिल्यै पछुताएका छौ?” तिनीहरूले उत्तर दिन्छन्, “छैन।” तिनीहरूलाई सोधिन्छ, “तिमी बिरामी हुँदा तिम्रो हेरचाह गर्ने कोही नभएको बेला, के यसले तिमीलाई नरमाइलो लाग्यो, तिमीलाई घरको याद आयो?” अनि तिनीहरूले उत्तर दिन्छन्, “कहिल्यै त्यस्तो भएको छैन।” तिनीहरूले आफैलाई निष्ठावान, दह्रिलो मन भएको, परित्यागहरू गर्न सक्ने, आफैलाई समर्पित गर्ने व्यक्तिको रूपमा प्रस्तुत गर्छन्—कमजोरी नै नभएको, कुनै गल्ती नै नगर्ने व्यक्तिको रूपमा प्रस्तुत गर्छन्। अनि यदि तैँले तिनीहरूलाई तिनीहरूका कमी-कमजोरी के हुन् भनेर बताइस् भने, साधारण दाजुभाइ वा दिदी-बहिनीसँग जस्तो मन खुला गरेर तिनीहरूसँग सङ्गति गरिस् भने तिनीहरूले कस्तो प्रतिक्रिया दिन्छन्? आफूलाई निर्दोष र सही तुल्याउन, लाजमर्दो परिस्थिति आउन नदिन, तैँले भनेको कुरालाई अवमुल्यन गर्न, तँलाई आफ्नो कुरा फिर्ता लिन लगाउन र आखिरमा तिनीहरूसँग यो समस्या छैन, र मानिसहरूले सोचेजस्तै तिनीहरू अझै पनि सिद्ध, आत्मिक व्यक्ति हुन् भन्ने स्वीकार गर्न लगाउन तिनीहरूले सक्दो गर्छन्। के यो सबै बहाना मात्रै होइन र? आफूलाई सिद्ध र महाशक्तिशाली ठान्ने जोकोही व्यक्तिले बहाना मात्रै बनाइरहेका हुन्छन्। तिनीहरूले बहाना मात्रै बनाइरहेका हुन्छन् भनेर म किन भन्दै छु? मैले किन तिनीहरू सबैलाई एउटै वर्गमा राखिरहेको छु? के सिद्ध कोही छ? के महाशक्तिशाली कोही छ? “महाशक्तिशाली” भनेको के हो? के यसको अर्थ सर्वशक्तिमान् हो? यस ब्रह्माण्डमा कोही पनि महाशक्तिशाली छैन; परमेश्वर मात्रै महाशक्तिशाली हुनुहुन्छ, र परमेश्वर मात्रै सर्वशक्तिमान् हुनुहुन्छ। त्यसकारण, यदि मानिसहरूले आफूलाई महाशक्तिशाली र सर्वशक्तिमान् भनी दाबी गर्छन् भने तिनीहरू के हुन् त? तिनीहरू प्रधान स्वर्गदूत, तिनीहरू भूतहरू, र तिनीहरू मानिसहरूका बीचमा बस्ने ख्रीष्ट-विरोधीहरू हुन्। ख्रीष्ट-विरोधीहरूले आफूलाई महाशक्तिशाली भएको, आफू सिद्ध भएको बहाना गर्छन्। के ख्रीष्ट-विरोधीहरूले आफूलाई चिनेका हुन्छन त? (चिनेका हुँदैनन्।) तिनीहरूले आफूलाई चिनेका हुँदैनन् भने, के तिनीहरूले आफूलाई चिन्नेबारेमा सङ्गति दिन सक्छन् त? (कतिपय ढोङ्गीहरूले दिन सक्छन्।) ठीक भन्यौ; यी मानिसहरूले आफूलाई चिन्नेबारेमा सङ्गति दिने बहाना गर्छन्। त्यसो भए, तिनीहरूले आफूलाई चिन्ने बारेमा सङ्गति दिनु, र साँचो रूपमा आफूलाई चिन्ने कार्यको बीचमा के भिन्नता छ त? (ढोङ्गीहरूले अरूले तिनीहरूलाई आदर गरून् भनेर, अनि आफ्नो असल पक्ष देखाउनको लागि आफूलाई चिन्नेबारेमा सङ्गति गर्छन्। आफूलाई साँचो रूपमा चिन्नेहरूले आफ्नो भ्रष्ट स्वभावको बारेमा सङ्गति गर्छन् र यसको बारेमा चिरफार गर्छन्, यसरी परमेश्वरका वचनहरू खाएर अनि पिएर आफ्नो बारेमा साँचो ज्ञान प्राप्त गर्छन् र निश्चित पछुतोहरू प्रकट गर्छन्।) यसमा भिन्नता छ। जब ख्रीष्ट-विरोधीहरूले आफूलाई चिन्नेबारेमा कुरा गर्छन्, तिनीहरूले सबैलाई थाहा भएको र सबैले देख्ने तिनीहरूको आफ्नै कुराहरूको बारेमा व्याख्या गर्छन् र सही साबित गर्छन्, ताकि मानिसहरूले तिनीहरू सही छन् भन्ने सोचून्, र तिनीहरूलाई आदरको दृष्टिले हेरून्, र तिनीहरूसँग त्यति नकरात्मक कुरा नभए पनि तिनीहरूले आफैलाई चिन्न सक्दा रहेछन्, र आफ्ना गल्तीहरूलाई स्वीकार गरेर पश्चात्ताप गर्न परमेश्वरकहाँ आउन सक्दा रहेछन् भनेर सोचून्। तिनीहरूको उद्देश्य के हुन्छ त? मानिसहरूलाई छल गर्नु। तिनीहरूबाट मानिसहरूले सिक्न सकून् भनेर तिनीहरूले आफ्नो भ्रष्ट स्वभावहरूलाई चिरफार गरिरहेका हुँदैनन्। मानिसहरूले तिनीहरूलाई आदरको दृष्टिकोणले हेरून् भनेर तिनीहरूले आफूलाई चिन्ने शिक्षाको प्रयोग गर्दा त्यसको प्रभाव के हुन्छ? तिनीहरूले मानिसहरूलाई छल गर्छन्। यो कसरी आफैलाई चिन्नु भयो र? यो त मानिसहरूलाई धोका दिनु हो, मानिसहरूलाई छल गर्न र अरूलाई आदरको साथ हेर्न लगाउनको लागि आफूलाई चिन्नेसम्बन्धी शिक्षा र अभ्यास गर्ने कार्यको प्रयोग गर्नु हो।
ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरूले आफैलाई पृथक तुल्याउन अनि तिनीहरूका आफ्नै चासो र महत्वाकांक्षाहरूलाई पूरा गर्नको लागि आफ्ना कर्तव्य पूरा गर्छन्; तिनीहरूले परमेश्वरको घरको चासोहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि व्यक्तिगत वैभवको लागि ती चासोहरूलाई समेत बेच्छन् (१०)”
ख्रीष्ट-विरोधीहरू निश्चित असल बानीबेहोरा र भनाइहरू निर्माण गर्ने, र निश्चित नियमहरू पालन गर्ने कार्यमा बाहेक अरू कुनै कार्यमा सिपालु हुँदैनन्; तिनीहरूको सबल पक्ष यही नै हो। अनि यो सबल पक्ष तिनीहरूको हड्डीभित्रै हुन्छ, भन्नुको अर्थ तिनीहरूको सार यही हो। तिनीहरू जुन कुराहरूमा पोख्त हुन्छन् ती मानिसहरूको हृदयको गहिराइमा हुने सकारात्मक खोजी र आकांक्षा हुँदैनन्, बरु बाहिरी रूपमा असल र सही देखिने कुरा मात्रै हुन्छन्; तिनीहरूको सार र स्वभाव, वा तिनीहरूको अन्तस्करणमा हुने कुरा तिनीहरूको बाहिरी बानीबेहोराको ठीक विपरीत हुन्छ। उदाहरणको लागि, कतिपय ख्रीष्ट-विरोधीहरू यस्ता हुन्छन्, जो अरूसँग बोल्दा र अन्तरक्रिया गर्दा दयालु र नम्र देखिन्छन्, जसले कहिल्यै पनि चित्त दुखाउने कुरा गर्दैनन्, जसले सधैँ अरूको इज्जत बचाउने प्रयास गर्छन्, जसले न त अरूको कमजोरीलाई खुलासा गर्छन् न त तिनीहरूलाई जथाभाबी आलोचना गर्ने वा दोष लगाउने नै गर्छन्, जसले मानिसहरू निराश र कमजोर हुँदा समयमै सहयोगको हात बढाउँछन्। तिनीहरूले आफूलाई कोमल हृदय र दयालु, असल व्यक्ति भएको जस्तो देखाउँछन्। जब मानिसहरू कठिनाइमा हुन्छन्, तब तिनीहरूले कहिलेकहीँ वचनहरूले सहयोग गर्छन् र कहिलेकहीँ अलि-अलि सामर्थ्य पनि दिन्छन्; कहिलेकहीँ त तिनीहरू केही रकम वा भौतिक वस्तुहरू दान दिएरसमेत अरूको उद्धार गर्छन्। बाहिरबाट हेर्दा, के त्यस्तो व्यवहार असल हो त? धेरैजसो मानिसहरूले आफ्नो मनमस्तिष्कमा यस्तै प्रकारको व्यक्तिको सम्पर्कमा आउने र सङ्गत गर्ने चाहना गर्छन्; यस्ता मानिसहरूले अरूलाई कुनै प्रकारको जोखिममा पार्ने वा बाधा दिने गर्दैनन्, र तिनीहरूलाई सहयोग समेत गर्न सक्छन्—भौतिक वा मानसिक सहयोग, वा जीवन प्रवेश गर्ने सम्बन्धमा धर्मसैद्धान्तिक प्रकृतिको सहयोग, आदि इत्यादि सहयोग गर्न सक्छन्। बाहिरबाट हेर्दा, यस्ता मानिसहरूले कुनै पनि खराब काम गर्दैनन्, र तिनीहरू अरूको निम्ति विघ्नवाधा खडा गर्ने खालका हुँदैनन्। तिनीहरू जुनसुकै समूहमा भए पनि, तिनीहरूले असाधारण सद्भाव ल्याउँछन् भन्ने देखिन्छ; तिनीहरूको अगुवाइ र मध्यस्थतामा, सबै जना खुशी भएको, मानिसहरू मिलेर बसेको देखिन्छ, तिनीहरूको कुनै झैझगडा वा विवाद हुँदैन, र एक-अर्कासँगको तिनीहरूको सम्बन्ध उत्कृष्ट हुन्छ। तिनीहरू त्यहाँ हुँदा, सबैले एक-अर्कासँग तिनीहरू कति राम्ररी मिलेर बस्छन्, तिनीहरू कति घनिष्ठ छन् भन्ने सोच्छन्। जब तिनीहरू गइसकेका हुन्छन्, कतिपय मानिसहरू भेला हुँदा एक-अर्कासँग असहमत हुन थाल्छन्, एक-अर्कालाई निष्कासन गर्न थाल्छन्, र डाही र झगडालु बन्छन्; तर मध्यस्थता गर्न ख्रीष्ट-विरोधी तिनीहरूको बीचमा आउनेबित्तिकै, सबै जनाले झैझगडा गर्न छोड्छन्। ख्रीष्ट-विरोधीहरू आफ्नो काममा सिपालु देखिन्छन्, तर एउटा कुराले तिनीहरूको तथाकथित “कार्य” के हो भनी स्पष्ट रूपमा देखाउँछ। तिनीहरूको अगुवाइ र नेतृत्वमा, मानिसहरूले कसरी सामाजिक रूपमा घुलमेल हुने, कसरी चिप्लो घसेर बोल्ने र अरूको चापलुसी गर्ने, तिनीहरूको अघि कसरी राम्रा कुरा भन्ने, कसरी साँचो कुरा नभनेर मानिसहरूको चित्त नदुखाउने सो सिकेका हुन्छन्। तिनीहरूले मण्डलीलाई केमा परिवर्तन गरेका हुन्छन्? सामाजिक समूहमा। जब ख्रीष्ट-विरोधीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई यो मार्गमा डोर्याएर ल्याएका हुन्छन्, तिनीहरू ठूलो श्रेयको योग्य भएका छन्, तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूका लागि साँच्चै नै प्रशंसनीय, अत्यन्तै महत्त्वपूर्ण कार्य गरेका छन्, र दाजुभाइ-दिदीबहिनीहरूको निम्ति निकै ठूलो सहयोग बनेका छन् भन्ने तिनीहरूलाई लाग्छ। तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई प्रायजसो नम्र बन्न, आफ्नो बोली-वचनमा पोख्त र शिष्ट बन्न, बस्दा वा उभिँदा तिनीहरूले कस्तो हाउभाउ अपनाउनुपर्छ, बोल्दा तिनीहरूले आफ्नो नजर कतातिर लगाउनुपर्छ, र तिनीहरूले आफ्नो वस्त्र कसरी लगाउनुपर्छ सो सिकाउँछन्। तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई प्रायजसो सिकाउने कुरा सत्यतालाई कसरी बुझ्ने, वा सत्यता वास्तविकतामा कसरी प्रवेश गर्ने भन्ने हुँदैन। बरु, तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई कसरी नियमहरू पछ्याउने र राम्रो व्यवहार गर्ने भन्ने सिकाउँछन्। तिनीहरूको संरक्षकत्वमा, मानिसहरूबीचका अन्तरक्रियाहरू सत्यता वा सत्यता सिद्धान्तहरूमा आधारित हुँदैनन्, बरु असल व्यक्ति बन्नेसम्बन्धीअन्तर्वैयक्तिक जीवनदर्शनमा आधारित हुन्छ। बाहिरी रूपमा, कसैले पनि कसैको भावनामा चोट पुर्याउँदैन, कसैको कमजोरीहरूको बारेमा उल्लेख गरिँदैन। तैपनि कसैले कसैलाई आफूले सोचिरहेको कुरा बताउँदैनन्, आफ्नो भ्रष्टता र अवज्ञाको बारेमा सङ्गति गर्न तिनीहरूले आफ्नो हृदय खोल्दैनन्, न त तिनीहरूले आफ्ना कमजोरी र अपराधहरूका बारेमा सङ्गति नै गर्छन्; बरु, सतही रूपमा, तिनीहरू कसले कष्ट भोगेको छ र कसले मूल्य चुकाएको छ, आफ्नो कर्तव्य पूरा गर्ने क्रममा को निष्ठावान भएको छ, कसले दाजुभाइ-दिदीबहिनीहरूका बीचमा फाइदा ल्याउन सकेको छ, कसले परमेश्वरको घरमा ठूला-ठूला योगदानहरू दिन्छ, को कैदमा परेको छ र कसले अदालती सजाय पाएको छ त्यसको बारेमा बकबक गरिरहन्छन्—तिनीहरूले कुराकानी गर्ने कुराहरू यिनै हुन्। ख्रीष्ट-विरोधीहरूले आफ्नो लागि देखावटी रूप निर्माण गर्न र आफूलाई छलावरणमा लुकाउनको लागि असल बानीबेहोरा, अर्थात्, बाहिरी नम्रता, धैर्यता, सहनशीलता, हरेक तरिकाले मानिसहरूलाई सहयोग गर्ने कार्यको मात्रै प्रयोग गर्दैनन्, बरु तिनीहरूले त यस क्रममा व्यक्तिगत उदाहरण पनि निर्माण गर्ने प्रयास गर्छन्, जसले अरूलाई यो असल बानीबेहोराद्वारा प्रभावित गरेर यसको अनुकरण गर्ने तुल्याउँछ। यो असल व्यवहार पछाडिको उद्देश्य भनेको मानिसहरूले तिनीहरूलाई ध्यान दिऊन्—मण्डलीका धेरैजसो मानिसहरूले आफ्नै भ्रष्ट स्वभावका बारेमा छलफल गरिरहेको बेला, र दाजुभाइ-दिदीबहिनीहरूका बीचमा कसैले अर्को व्यक्तिसँग भ्रष्ट स्वभाव छ भनेर पहिचान गर्न र त्यसलाई निराकरण गरेको बेला, ख्रीष्ट-विरोधीहरू मात्रै नम्र र धैर्य, तिनीहरूले मात्रै सबैलाई सहन सक्ने, र तिनीहरूले मात्रै अरूको निराकरण वा काट-छाँट नगर्ने, वा कसैलाई खुलासा नगर्ने, र सबैसँग सद्भावको साथ मिलेर बस्ने देखून्—मण्डलीमा तिनीहरू मात्रै असल मानिसहरू हुन् भन्ने देखून् भन्ने मात्रै हुन्छ। यो ख्रीष्ट-विरोधीले धारण गर्ने एक प्रकारको झूटो व्यवहार हो।
ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरूले आफैलाई पृथक तुल्याउन अनि तिनीहरूका आफ्नै चासो र महत्वाकांक्षाहरूलाई पूरा गर्नको लागि आफ्ना कर्तव्य पूरा गर्छन्; तिनीहरूले परमेश्वरको घरको चासोहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि व्यक्तिगत वैभवको लागि ती चासोहरूलाई समेत बेच्छन् (१०)”
कतिपय मानिसहरूले आफ्नै समस्याहरू समाधान गर्नको लागि नभई आपत्कालीन अवस्थाहरूको लागि वा आफैलाई त्याग्न र अरूलाई सहयोग गर्नको लागि आफैलाई निश्चित सत्यताहरूले सुसज्जित गर्छन्; हामी तिनीहरूलाई “निस्स्वार्थी मानिसहरू” भन्छौं। तिनीहरूले सत्यतालाई दह्रिलो गरी पक्रिराख्न र निष्क्रिय नहुन अरूलाई शिक्षा दिँदै अरूलाई सत्यताका कठपुतलीहरू र आफैलाई यसका मालिकहरू ठान्छन्, तर तिनीहरू आफै भने एक छेउमा बसेर रमिते बन्छन्। यी कस्ता प्रकारका मानिसहरू हुन्? तिनीहरूले आफैलाई सत्यताका केही वचनद्वारा सुसज्जित गर्छन् तर अरूलाई भाषण दिनको लागि मात्रै ती वचनको प्रयोग गर्छन्, जबकि आफैलाई विनाशबाट बचाउनको लागि तिनीहरूले केही पनि गर्दैनन्। कस्तो दयनीय! यदि तिनीहरूका वचनहरूले अरूलाई सहयोग गर्न सक्छन् भने, किन तिनीहरूले आफैलाई सहयोग गर्न सक्दैनन् त? तिनीहरूलाई हामीले ढोङ्गी नाम दिनुपर्छ जसको कुनै वास्तविकता नै हुँदैन। तिनीहरूले अरूलाई सत्यताका वचनहरू दिन्छन् र अरूलाई तिनको अभ्यास गर्न लगाउँछन्, जबकि तिनीहरू आफैले भने तिनको अभ्यास गर्ने कुनै प्रयास नै गर्दैनन्। के तिनीहरू तुच्छ छैनन् र? तिनीहरू आफैले नै यो कार्य गर्न सक्दैनन् भन्ने स्पष्ट छ, तैपनि तिनीहरूले अरूलाई सत्यताका वचनहरू अभ्यास गर्न जबरजस्ती गर्छन्—यो कस्तो क्रूर तरिका हो! तिनीहरूले अरूलाई सहयोग गर्नको लागि वास्तविकताको प्रयोग गरिरहेका छैनन्; तिनीहरूले अरूको भरणपोषण गर्न प्रेमको प्रयोग गरिरहेका छैनन्। तिनीहरूले मानिसहरूलाई छल र हानि गरिरहेका छन्। यदि हरेक व्यक्तिले यसरी नै सत्यताका वचनहरू अर्को व्यक्तिलाई निरन्तर हस्तान्तरण गर्दै गयो भने, के यो हरेक व्यक्तिले सत्यताका वचनहरू बोल्ने मात्रै तर आफूले त्यसलाई व्यवहारमा उतार्नचाहिँ नसक्ने अवस्थामा पुग्दैन र? त्यस्ता मानिसहरू कसरी परिवर्तन हुन सक्छन्? तिनीहरूले आफ्नै समस्याहरूलाई समेत पहिचान गर्दैनन्; तिनीहरूको लागि कसरी अगाडिको कुनै बाटो हुन सक्छ?
आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “सत्यतालाई प्रेम गर्नेहरूसित अगाडि बढ्ने एउटा मार्ग हुन्छ”
कतिपय मानिसहरूलाई आफूतर्फ ध्यान खिच्नेप्रति विशेष रुचि हुन्छ। आफ्नो दाजुभाइ र दिदीबहिनीहरूको उपस्थितिमा उनीहरूले आफू परमेश्वरको ऋणी भएको बताउन सक्छन् तर तिनीहरूको पिठ्यूँपछाडि उनीहरू सत्यको अभ्यास गर्दैनन् र सम्पूर्ण रूपमा फरक तरिकाले व्यवहार गर्दछन्। के उनीहरू पाखण्डी फरिसीहरू होइनन् र? परमेश्वरलाई वास्तविक रूपमा माया गर्ने र सत्यता धारण गरेको व्यक्ति भनेको त्यस्तो व्यक्ति हो जो परमेश्वरप्रति बफादार हुन्छ तर बाह्य रूपमा कुनै पनि देखावटी व्यवहार प्रदर्शन गर्दैन। त्यस्तो व्यक्ति परिस्थिति आइपरेमा सत्यको अभ्यास गर्न इच्छुक हुन्छ र आफ्नो विवेकको विरुद्ध हुने गरी बोल्ने र कार्य गर्ने गर्दैन। यस्तो व्यक्तिले अवस्थाहरू आई परेमा बुद्धिको प्रदर्शन गर्छ र परिस्थिति जस्तोसुकै भए तापनि ऊ आफ्नो कार्यहरूमा अनुशासित रहन्छ। यस प्रकारको व्यक्तिले साँचो सेवा प्रदान गर्न सक्छ। यहाँ केही यस्ता छन् जो परमेश्वरप्रतिको ऋणीपनको लागि प्रायः मुखले मात्र सेवा गर्दछन्; उनीहरू आँखीभौँहरू चिन्तामा डुबेको देखाउँदै, कृत्रिमता अपनाउँदै र दयनीय भएको स्वाङ पार्दै दिन बिताउँछन्। कस्तो घृणा लाग्दो कुरो! यदि तैँले उनीहरूलाई “के तपाईंले तपाईं कसरी परमेश्वरप्रति ऋणी हुनुहुन्छ भनेर मलाई भन्न सक्नुहुन्छ?” भनेर सोधिस् उनीहरू अवाक् हुनेछन्। यदि तँ परमेश्वरप्रति बफादार छस् भने तैँले यसको बारेमा बाह्य रूपमा नबता; बरु वास्तविक अभ्यासमार्फत परमेश्वरप्रतिको प्रेम प्रदर्शित गर्, र साँचो हृदयले उहाँलाई प्रार्थना गर्। परमेश्वरसँग केवल मुखले र झारो टार्न मात्र व्यवहार गर्ने व्यक्तिहरू पाखण्डीहरू हुन्! कोही भने हरेक पल्ट प्रार्थना गर्दा परमेश्वरप्रति ऋणी भएको कुरा गर्छन्, र पवित्र आत्माद्वारा प्रेरित नभईकन पनि हरेक पल्ट प्रार्थना गर्दा रुन थाल्छन्। यस्ता व्यक्तिहरू धार्मिक विधिविधानहरू र धारणाहरूको अधीनमा हुन्छन्; उनीहरू सधैँ यस्ता कार्यहरूले परमेश्वर खुशी हुनुहुनेछ र उहाँले सतही भक्ति वा शोकाकुल आँशुहरूलाई रुचाउनुहुन्छ भनेर विश्वास गर्दै यस्तै धार्मिक विधिविधानहरू र धारणाहरूसँगै बाँच्ने गर्छन्। यस्ता हास्यास्पद मानिसहरूबाट के राम्रो कुरा आउन सक्छ र? कोही भने विनम्रता प्रदर्शित गर्नको लागि अन्य व्यक्तिहरूको उपस्थितिमा कुरा गर्दा शालीनताको ढोंग रच्छन्। कोही चाहिँ अन्य व्यक्तिहरूको उपस्थितिमा एक त्यान्द्रो बल पनि नभएको भेडाको पाठो झैं बनेर जानाजान दास जस्तो बन्छन्। के यो राज्यका मानिसहरूलाई सुहाउने आचरण हो? राज्यका मानिसहरू त सजीव र स्वतन्त्र, निर्दोष र खुला मनको, इमानदार र प्यारो हुनुपर्छ अनि स्वतन्त्रताको स्थितिमा बाँचिरहेको हुनुपर्छ। उनीहरूमा निष्ठा र प्रतिष्ठा हुनुपर्छ र जहाँसुकै जाँदा पनि साक्षीको रूपमा खडा हुनसक्ने हुनुपर्छ; यस्ता मानिसहरूलाई परमेश्वर र मानिस दुवैले माया गर्छन्। विश्वासमा अनुभव रहित मानिसहरूसँग एकदमै धेरै देखावटी अभ्यासहरू हुन्छन्; उनीहरूले सर्वप्रथम निराकरण वा विच्छिन्नताको अवधिबाट गुज्रनुपर्छ। भित्रदेखि नै परमेश्वरमा विश्वास गर्ने मानिसहरूलाई बाहिरबाट अन्य व्यक्तिहरूबाट भिन्नता छुट्याउन सकिँदैन, तर उनीहरूका व्यवहार र कार्यहरू प्रशंसा योग्य हुन्छन्। त्यस्ता मानिसहरूलाई मात्र परमेश्वरको वचनमा जिइरहेका छन् भनेर भन्न सकिन्छ। यदि तँ हरेक दिन विविध मानिसहरूमाझ उनीहरूलाई मुक्ति प्रदान गर्ने हेतुले सुसमाचार प्रचार गर्छस्, तर तँ अन्ततः अझै पनि नियमहरू र सिद्धान्तहरू अनुरूप जिउँछस् भने तैँले परमेश्वरमा महिमा ल्याउन सक्दैनस्। त्यस्ता व्यक्तिहरू धर्मानुरागी व्यक्तित्वहरू हुनुका साथसाथै पाखण्डीहरू हुन्।
जब-जब यस्ता धार्मिक मानिसहरू धार्मिक जमघटमा जान्छन्, उनीहरूले सोध्न सक्छन्, “बहिनी, तपाईं हाल कस्तो हुनुहुन्छ?” उनले उत्तर दिन सक्छिन्, “मलाई लाग्छ, म परमेश्वरको ऋणी छु, र मैले उहाँको इच्छा परिपूर्ति गर्न सक्दिन जस्तो लाग्छ”। अर्कोले भन्न सक्छ, “म पनि परमेश्वरको ऋणी भएको महसुस गर्छु, र मैले उहाँको इच्छा परिपूर्ति गर्न सक्दिन जस्तो लाग्छ”। यी केही वाक्यहरू र शब्दहरू मात्रले पनि उनीहरू भित्र भएको घृणित कुराहरूलाई व्यक्त गर्दछन्; यी शब्दहरू घृणायोग्य छन्, र अति नै घिनलाग्दा छन्। यस्ता मानिसहरूको स्वभाव परमेश्वरको विरुद्धमा हुन्छ। यथार्थमा जोड दिने मानिसहरूले आफ्नो मस्तिष्कमा जे छ ती सबै कुराहरू बताउँछन्, र सङ्गतिमा आफ्नो मनको कुरा खोल्छन्। उनीहरू केवल एउटा पनि गलत अभ्यासमा संलग्न हुँदैनन्, उनीहरूले न त त्यस्तो शिष्टाचार प्रदर्शित गर्छन् न त खोक्रो हाँसि-मजाक नै गर्छन्। उनीहरू सँधै सीधा कुरा गर्ने हुन्छन्, र उनीहरूले कुनै पनि बाहिरी नियमहरूको पालना गर्दैनन्। केही मानिसहरूलाई बाह्य प्रदर्शनमा रुचि हुन्छ, र त्यो पूरै विवेक गुमाउने हदसम्मको पनि हुन सक्छ। जब कसैले गीत गाउँछ, उनीहरू नाच्न सुरु गर्छन्, उनीहरूलाई आफ्नो भाँडोमा भात डढी सक्यो भन्ने ख्याल पनि रहँदैन। यस्ता मानिसहरू धार्मिक वा सम्मान योग्य हुँदैनन् र उनीहरू अति नै हल्का स्वभावका हुन्छन्। यी सबै कुराहरू यथार्थ विहीनताको प्रकटीकरणहरू हुन्। जब केही मानिसहरूले आत्मिक जीवनका विषयहरूको बारेमा सङ्गति गर्छन्, उनीहरूले परमेश्वरसँग ऋणी भएको कुरा नगरे तापनि उनीहरूमा भित्र कहीँ उहाँप्रतिको साँचो प्रेम हुन्छ। अन्य मानिसहरूसँग परमेश्वरप्रति रहेको तपाईंहरूको ऋणीपनको भावनाको कुनै सम्बन्ध हुँदैन; तपाईंहरू परमेश्वरप्रति ऋणी हुनुहुन्छ, तर मानवतासँग ऋणी हुनुहुन्न। तपाईंहरूले सधैँ अन्य व्यक्तिहरूसँग यसको बारेमा कुरा गर्नुको के अर्थ हुन्छ? तपाईंहरूले वास्तविकतामा प्रवेश गर्ने कुरामा महत्त्व दिनुपर्छ, बाह्य उत्साह वा प्रदर्शनमा होइन।
मानिसहरूका सतही असल कार्यहरूले केलाई प्रतिनिधित्व गर्छन्? तिनीहरूले देहको प्रतिनिधित्व गर्छन्, र बाह्य अभ्यासहरूमध्ये सर्वोत्तम अभ्यासले पनि जीवनको प्रतिनिधित्व गर्दैन; तिनीहरूले तेरो व्यक्तिगत मनोवृत्तिलाई मात्रै दर्साउँछ। मानवजातिको बाह्य अभ्यासहरूले परमेश्वरको इच्छालाई पूरा गर्न सक्दैन। तँ निरन्तर आफू परमेश्वरप्रति ऋणी भएको छु भनी भन्छस्, तर तैँले अन्य व्यक्तिहरूको जीवनलाई परिपूर्ति गर्दैनस् वा परमेश्वरलाई माया गर्न उनीहरूलाई प्रेरित गर्दैनस्। के तँ तेरा कार्यहरूले परमेश्वरलाई सन्तुष्ट पार्छ भनेर विश्वास गर्छस्? तँलाई आफ्ना कार्यहरू परमेश्वरको इच्छा अनुरूप नै छ जस्तो लाग्छ, र तिनीहरू आत्माको इच्छा अनुरूप छन् भन्ने लाग्छ, तर वास्तवमा, तिनीहरू सबै हास्यास्पद छन्। जुन कुराले तँलाई खुशी तुल्याउँछ र तँ जे गर्न चाहन्छस् तिनै कुराहरूमा परमेश्वर खुशी हुनुहुन्छ भनेर तँ विश्वास गर्छस्। के तेरो मन पर्ने कुराहरूले परमेश्वरको प्रतिनिधित्व गर्न सक्छ त? के व्यक्तिको चरित्रले परमेश्वरलाई प्रतिनिधित्व गर्न सक्छ त? जुन कुराले तँलाई खुशी तुल्याउँछ, सोही कुरालाई नै परमेश्वरले घृणा गर्नुहुन्छ, र तेरो बानी-व्यहोरा नै ती कुरा हुन् जसलाई परमेश्वरले घृणा गर्नुहुन्छ र अस्वीकार गर्नुहुन्छ। यदि तँ ऋणी भएको अनुभव गर्छस् भने परमेश्वरको सामने गएर प्रार्थना गर्; यसको बारेमा अन्य व्यक्तिहरूसँग कुरा गर्न जरुरी छैन। यदी तैँले परमेश्वरको अगाडि प्रार्थना गर्दैनस् भने, र अन्य व्यक्तिहरूको उपस्थितिमा निरन्तर आफूतर्फ मात्रै ध्यान आकर्षित गर्छस् भने, के यसले परमेश्वरको इच्छालाई सन्तुष्ट गर्न सक्छ र? यदि तेरा कार्यहरू केवल देखावटी रूपमा मात्र विद्यमान रहन्छन् भने यसको मतलब तँ चरम रूपमा बेकामे छस् भन्ने हुन्छ। ती कस्ता आचरणका मानिसहरू हुन जो केवल सतही असल कार्य गर्दछन् र वास्तविकता विहीन रहन्छन्? त्यस्ता मानिसहरू केवल पाखण्डी फरिसीहरू र धार्मिक व्यक्तित्वहरू मात्रै हुन्। यदि तिमीहरूले बाह्य अभ्यासलाई त्याग्दैनौ र परिवर्तन गर्न सक्दैनौ भने तिमीहरूभित्र भएको पाखण्डिपन झनझन मौलाउनेछ। तिमीहरूभित्र पाखण्डिपनको तत्वहरू जति धेरै ठूलो भयो, परमेश्वर विरुद्धको प्रतिरोध पनि त्यति नै धेरै हुन्छ। अन्त्यमा, त्यस्ता मानिसहरूलाई हटाइनेछ!
वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। विश्वासमा, व्यक्तिले वास्तविकतालाई जोड दिनुपर्छ—धार्मिक विधिविधानमा संलग्न हुनु विश्वास होइन
फूटनोट:
क. मूल पाठमा “यहोवाका” भन्ने शब्द समावेश छैन।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।