प्रभु येशूले किन फरिसीहरूलाई श्राप दिनुभयो र फरिसीहरूको सार के थियो

9 फ्रेवुअरी 2022

सन्दर्भका लागि बाइबल पदहरू:

“त्यसपछि यरूशलेमका शास्‍त्री र फरिसीहरू येशूकहाँ आए, र यसो भने, किन तपाईंका चेलाहरूले पुर्खाको परम्‍परा उल्‍लङ्घन गर्छन्? किनभने तिनीहरूले रोटी खाँदा आफ्‍नो हात धुँदैनन्। तर उहाँले तिनीहरूलाई यसो भन्दै उत्तर दिनुभयो, तिमीहरूले पनि किन तिमीहरूका परम्‍पराद्वारा परमेश्‍वरको आज्ञा उल्‍लङ्घन गर्छौ? किनभने परमेश्‍वरले यसो भनेर आज्ञा दिनुभएको छ, आफ्‍नो बाबु र आमाको आदर गर: र, बाबु वा आमालाई जसले सराप्छ त्यो मारियोस्। तर तिमीहरू भन्छौ, जोसुकैले आफ्‍नो बाबु वा आमालाई यसो भन्‍नेछ, तपाईंले मबाट जे लाभ पाउन सक्‍नुहुन्थ्यो, त्यो उपहार हो; अनि उसले आफ्‍नो बाबु वा आमाको आदर गर्नु पर्दैन, ऊ स्वतन्त्र हुनेछ। यसरी तिमीहरूले आफ्‍नो परम्‍पराद्वारा परमेश्‍वरको आज्ञालाई व्यर्थ तुल्याइदिएका छौ। तिमीहरू ढोङ्गीहरू हौ, यशैयाले यसो भनेर तिमीहरूको बारेमा ठीकै अगमवाणी गरेका थिए, यी मानिसहरू आफ्ना मुखहरूले मात्र मेरा नजिक आउँछन् र तिनीहरूका ओठहरूले मात्र मेरो आदर गर्छन्; तर तिनीहरूका हृदय मदेखि टाढा छ। तर तिनीहरूले व्यर्थमा मेरो आराधना गर्छन्, मानिसहरूका आज्ञाहरूलाई सिद्धान्तको रूपमा सिकाउँछन्” (मत्ती १५:१-९)।

“तर शास्‍त्रीहरू र फरिसीहरू, ढोङ्गीहरू हो, तिमीहरूलाई धिक्‍कार छ! किनभने तिमीहरूले मानिसहरूको विरुद्ध स्वर्गको राज्य बन्द गर्छौ: किनभने न त तिमीहरू आफै जान्छौ, न भित्र जानलाई प्रवेश गरिरहेकाहरूलाई नै प्रवेश गर्न दिन्छौ। शास्‍त्रीहरू र फरिसीहरू, ढोङ्गीहरू हो, तिमीहरूलाई धिक्‍कार छ! किनकि तिमीहरू विधवाका घरहरू निल्छौ र लामा प्रार्थना गरेको स्वाँग पार्छौ: यसैले तिमीहरूले ठूलो दण्ड पाउनेछौ।

“शास्‍त्रीहरू र फरिसीहरू, ढोङ्गीहरू हो, तिमीहरूलाई धिक्‍कार छ! किनभने एक जनालाई आफ्‍नो मतमा ल्याउनको लागि तिमीहरू समुद्र र भूमि चहार्छौ, अनि ऊ मतमा आएपछि उसलाई तिमीहरूभन्दा दुई गुणा बढी नरकको बालक बनाउँछौ।

“धिक्‍कार, तिमीहरू अन्धा अगुवाहरू, तिमीहरू भन्छौ, जसले मन्दिरको शपथ खान्छ, त्यो केही पनि होइन; तर जसले मन्दिरको सुनको शपथ खान्छ, ऊचाहिँ ऋणी हो! तिमीहरू मूर्ख र अन्धाहरू हौ: किनभने कुनचाहिँ ठूलो हो, सुन कि सुनलाई शुद्ध पार्ने मन्दिर? अनि, जसले वेदीमा शपथ खान्छ, त्यो केही पनि होइन; तर जसले त्यसमा राखिएको उपहारको शपथ खान्छ, ऊ दोषी हो। तिमीहरू मूर्ख र अन्धाहरू हौ: किनभने कुनचाहिँ ठूलो हो, सुन कि सुनलाई शुद्ध पार्ने मन्दिर? त्यसकारण, वेदीको शपथ खानेले, त्यसको नाममा, र यसमा भएका सबै कुराको नाममा शपथ खान्छ। अनि मान्दिरको शपथ खानेले, त्यसको नाममा, र त्यहाँ वास बस्नुहुने उहाँको नाममा शपथ खान्छ। अनि स्वर्गको शपथ खानेले, परमेश्‍वरको सिंहासनको नाममा, र त्यहाँ बस्‍नुहुने उहाँको नाममा शपथ खान्छ।

“शास्‍त्रीहरू र फरिसीहरू, ढोङ्गीहरू हो, तिमीहरूलाई धिक्‍कार छ! किनकि तिमीहरू पुदिना, सुँप र जिराको दशांश दिन्छौ अनि न्याय, कृपा र विश्‍वासजस्ता व्यवस्थाका गहकिला विषयहरूलाई छोड्छौ: तिमीहरूले त ती गर्नुपर्थ्यो र अरू विषयलाई नगरी नछोड्नुपर्ने थियो। तिमीहरू दृष्टिविहिन अगुवा हौ, जसले भुसुना छान्छन् र उँटलाईचाहिँ निल्छन्।

“शास्‍त्रीहरू र फरिसीहरू, ढोङ्गीहरू हो, तिमीहरूलाई धिक्‍कार छ! किनभने तिमीहरूले कचौरा र थालको बाहिरपट्टि सफा गर्छौ, तर भित्रपट्टि ती लुटपाट र ज्यादतीले भरिएका छन्। अन्धा फरिसी हो, कचौरा र थालभित्र जे छ पहिले त्यसलाई सफा गर, ताकि तिनको बाहिरीपट्टि पनि सफा हुन सकोस्।

“शास्‍त्रीहरू र फरिसीहरू, ढोङ्गीहरू हो, तिमीहरूलाई धिक्‍कार छ! किनभने तिमीहरू त सेता कब्र-स्थानहरू जस्तै छौ, जो बाहिरी रूपमा वास्तवमै सुन्दर देखिन्छन्, तर भित्र भने मरेका मानिसहरूका हाडहरू, र सबै अशुद्धताहरूले भरिएका हुन्छन्। त्यसरी नै तिमीहरू पनि बाहिरी रूपमा मानिसहरूका अघि धर्मी देखिन्छौ, तर भित्री रूपमा तिमीहरू ढोङ्गीपन र अधर्मले भरिएका छौ।

“शास्‍त्रीहरू र फरिसीहरू, ढोङ्गीहरू हो, तिमीहरूलाई धिक्‍कार छ! किनभने तिमीहरू अगमवक्ताहरूका चिहान निर्माण गर्छौ र धर्मीहरूका चिहानघरहरू सिँगार्छौ, अनि भन्छौ, यदि हामी हाम्रा पिता-पुर्खाको पालामा भएको भए, हामी अगमवक्ताहरूको रगत बगाउने काममा तिनीहरूसँग लाग्नेथिएनौं। तिमीहरू अगमवक्ताहरूलाई मार्नेहरूका सन्तान हौ भनेर तिमीहरू आफैले गवाही दिन्छौ। त्यसो भए त तिमीहरू आफ्‍ना पितापुर्खा जस्तै बन। तिमीहरू सर्प हौ, तिमीहरू भाइपरका पुस्ता हौ, तिमीहरू नरकको दण्डदेखि कसरी उम्कन सक्छौ? हेर, म तिमीहरूकहाँ अगमवक्ताहरू, बुद्धिमानी मानिसहरू र शास्त्रीहरू पठाउँछु: र तिनीहरूमध्ये केहीलाई तिमीहरूले मार्नेछौ र क्रूसमा टाँग्‍नेछौ; र तीमध्ये केहीलाई तिमीहरूले तिमीहरूका सभाघरहरूमा कोर्रा लगाउनेछौ र सहर-सहरमा सताउनेछौ: धर्मी हाबिलको रगतदेखि बेरेक्‍याहका छोरा जकरिया, जसलाई तिमीहरूले मन्दिर र वेदीको बीचमा हत्या गर्‍यौ, उनको रगतसम्‍म पृथ्वीमा बगाइएको सबै धर्मी रगत तिमीहरूमा नै आइपर्नेछ। साँच्‍चै म तिमीहरूलाई भन्छु, यी सबै कुरा यही पुस्तामा आउनेछन्” (मत्ती २३:१३-३६)।

परमेश्‍वरका प्रासंगिक वचनहरू:

फरिसीहरूले येशूको विरोध किन गरे भनी के तिमीहरू यसको जड जान्न चाहन्छौ? के तिमीहरू फरिसीहरूको सार जान्न चाहन्छौ? तिनीहरू मसीहका बारेमा कल्पनाहरूले भरिएका थिए। यसको अतिरिक्त, तिनीहरूले मसीह आउनुहुन्छ भनी विश्‍वास मात्र गरे, तैपनि जीवनको सत्यताको खोजी गरेनन्। त्यसैले, तिनीहरूले आज पनि अझै मसीहको प्रतीक्षा गर्छन्, किनभने तिनीहरूसित जीवनको मार्गको कुनै ज्ञान छैन र सत्यताको मार्ग के हो सो जान्दैनन्। यस्ता मूर्ख, हट्ठी र निर्बुद्धि मानिसहरूले परमेश्‍वरका आशिष्‌ कसरी प्राप्‍त गर्न सक्थे भनी तिमीहरू भन्छौ? तिनीहरूले मसीहलाई कसरी देख्न सक्थे? तिनीहरूले येशूको विरोध गरे, किनभने तिनीहरूले पवित्र आत्माको कार्यको दिशा थाहा गर्न सकेनन्, किनभने तिनीहरूले येशूले बोल्नुभएको सत्यता जानेनन्; यसका अतिरिक्त, तिनीहरूले मसीहलाई पनि बुझेनन्। तिनीहरूले मसीहलाई कहिल्यै नदेखेका, र तिनीहरू मसीहका साथमा नरहेका हुनाले, तिनीहरूले मसीहको सारलाई सम्भावित कुनै पनि साधनहरूले विरोध गरिरहँदा मसीहको नाउँमा व्यर्थमा टाँसिरहने गल्ती गरे। वस्तुतः यी फरिसीहरू हट्ठी र अहङ्कारी थिए र सत्यताको पालन गर्दैनथे। परमेश्‍वरप्रति तिनीहरूको विश्‍वासको सिद्धान्त यस्तो थियोः तिम्रो प्रचार जति नै गहन भए पनि, तिम्रो अधिकार जति नै उच्च भए पनि, तिमीलाई मसीह नभनिएसम्म तिमी ख्रीष्ट होइनौं। के यी विचारहरू उपहासपूर्ण र हाँस्यस्पद छैनन्?

वचन देहमा देखा पर्नुहुन्छको “तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्‍वरले स्वर्ग र पृथ्वीलाई नयाँ बनाइसक्‍नुभएको हुनेछ” बाट उद्धृत गरिएको

यहूदी फरिसीहरूले येशूलाई दोषी ठहर्‍याउन मोशाको व्यवस्था प्रयोग गरे। तिनीहरूले त्यो समयमा येशूसँग अनुकूल हुने प्रयास गरेनन्, तर तिनीहरूले यति हदसम्‍म व्यवस्थालाई शब्‍द-शब्द गरी लगनशीलताको साथ पछ्याए कि—पुरानो करारको व्यवस्थालाई पालन नगरेको र मसीह नभएको आरोप उहाँलाई लगाएपछि—तिनीहरूले आखिरमा निर्दोष येशूलाई क्रूसमा टाँगे। तिनीहरूको सार के थियो? के तिनीहरूले सत्यताप्रति अनुकूल हुने मार्गलाई नखोज्नु नै थिएन र? तिनीहरू धर्मशास्‍त्रको एक-एक शब्‍दले ग्रस्त भए तर न त तिनीहरूले मेरो इच्‍छालाई ध्यान दिए न मेरो कामका चरणहरू र विधिहरूलाई नै ध्यान दिए। तिनीहरू सत्यताको खोजी गर्ने मानिसहरू थिएनन् तर शब्दहरूमा कठोरतासाथ लाग्ने मानिसहरू थिए; तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरू थिएनन्, तर बाइबलमा विश्‍वास गर्ने मानिसहरू थिए। वास्तवमा, तिनीहरू बाइबलका रक्षा गर्ने कुकुरहरू थिए। बाइबलका रुचिहरूको सुरक्षा गर्न, बाइबलको इज्‍जतलाई कायम राख्‍न, र बाइबलको मर्यादाको संरक्षण गर्न, तिनीहरूले कृपालु येशूलाई क्रूसमा कीला ठोकी मार्ने हदसम्‍म गए। तिनीहरूले बाइबलको प्रतिरक्षा गर्नको खातिर, र मानिसहरूका हृदयमा बाइबलका एक-एक वचनको प्रतिष्ठालाई कायम गर्नको खातिर मात्रै तिनीहरूले यसो गरे। त्यसकारण तिनीहरूले येशूलाई मृत्युदण्ड दिन आफ्‍नो भविष्य र पापबलिलाई त्याग्न नै रुचाए, जसले मृत्युसम्म नै धर्मशास्‍त्रको सिद्धान्तअनुसार गर्नुभएन। के तिनीहरू सबै धर्मशास्‍त्रका एक-एक वचनका दास थिएनन् र?

वचन देहमा देखा पर्नुहुन्छको “तैँले ख्रीष्‍टसँगको अनुकूलताको मार्ग खोजी गर्नुपर्छ” बाट उद्धृत गरिएको

बाइबलमा, येशू स्‍वयम्‌ र उहाँले गर्नुभएका कामहरूको बारेमा फरिसीहरूको मूल्याङ्कन यस्तो थियो: “तिनीहरूले भने उहाँ आफ्नो नियन्त्रणमा हुनुहुन्‍न। … त्यससँग बालजिबुल छ, र त्यसले भूतहरूको राजकुमारद्वारा भूतहरूलाई निकाल्छ” (मर्कूस ३:२१-२२)। प्रभु येशूको बारेमा शास्त्री र फरिसीहरूको न्याय तिनीहरूले अन्य मानिसहरूका वचनहरू अनुकरण गरेर भनेका मात्र थिइन, न त त्यो आधारहीन अनुमान नै थियो—यो प्रभु येशूका कार्यहरूका बारेमा तिनीहरूले जे देखे र सुने त्यसबाट तिनीहरूले निकालेको निष्कर्ष थियो। तिनीहरूको निष्कर्ष बाहिरी रूपमा न्यायको नाउँमा गरिएको जस्तो अनि मानिसको नजरमा त्यो न्यायसङ्गत जस्तो देखिएको भए तापनि, तिनीहरूले जुन अहङ्कारले प्रभु येशूलाई न्याय गरे, त्यो तिनीहरूले समेत सहन कठिन थियो। प्रभु येशूप्रतिको तिनीहरूको घृणाको उन्मत्त ऊर्जाले तिनीहरूको आफ्नै जङ्गली आकांक्षाहरू अनि दुष्ट शैतानिक मुखाकृति, साथै द्वेषपूर्ण स्वभावलाई उजागर गरेको थियो जसद्वारा तिनीहरू परमेश्‍वरको विरोध गर्थे। प्रभु येशूको न्याय गर्दा तिनीहरूले भनेका यी कुराहरू तिनीहरूका पागलपूर्ण आकांक्षाहरू, ईर्ष्या, अनि परमेश्‍वर र सत्यताप्रति तिनीहरूको शत्रुताको कुरूप र द्वेषपूर्ण प्रकृतिबाट प्रेरित थिए। तिनीहरूले प्रभु येशूका कामहरूको स्रोतबारे अनुसन्धान गरेनन्, न त उहाँले भन्नुभएको वा गर्नुभएको कामको सारलाई नै अनुसन्धान गरे। त्यसको साटो, उहाँले गर्नुभएको कामलाई तिनीहरूले उन्‍मादपूर्ण उत्तेजनाको अवस्थामा अनि जानाजानी द्वेष भावनाले आक्रमण र अपमान गरे। यहाँसम्‍म कि उहाँको आत्मा अर्थात् पवित्र आत्मा, जुन परमेश्‍वरको आत्मा हो, उहाँलाई जानी-जानी अपमान गरे। तिनीहरूले “उहाँ आफ्नो नियन्त्रणमा हुनुहुन्‍न,” “बालजिबुल,” र “भूतहरूको राजकुमार।” भनी भन्‍नुको अर्थ यही हो। भनाइको अर्थ, तिनीहरूले परमेश्‍वरको आत्मालाई बालजिबुल तथा दुष्ट आत्माहरूको राजकुमार हो भनी भने। परमेश्‍वरको देहधारी आत्मा, जसले देह धारण गर्नुभएको थियो, उहाँको कामलाई तिनीहरूले पागलपनको संज्ञा थिए। तिनीहरूले परमेश्‍वरको आत्मालाई बालजिबुल भनेर मात्र निन्दा गरेनन्, तर परमेश्‍वरको कामलाई तिरस्कार गरे अनि प्रभु येशूलाई तिरस्कार र निन्दा गरे। परमेश्‍वरप्रतिको तिनीहरूको विरोध र निन्दाको सार शैतान तथा दुष्ट आत्माद्वारा परमेश्‍वरप्रति गरिएको विरोध र निन्दाको सारसित पूर्ण रूपले समान थियो। त्यसले भ्रष्ट मानिसहरूलाई मात्र प्रतिनिधित्व गर्दैनथ्यो तर धेरै हदसम्म, ती शैतानको नै मूर्त रूप थिए। मानवजातिको माझमा तिनीहरू शैतानको माध्यम थिए, अनि तिनीहरू शैतानको मतियार तथा नोकर थिए। प्रभु येशू ख्रीष्टप्रतिको तिनीहरूको निन्दा र तिनीहरूको बदनामीको सार प्रतिष्ठाको निम्ति परमेश्‍वरसितको तिनीहरूको संघर्ष थियो, परमेश्‍वरसितको तिनीहरूको द्वन्द्व थियो, अनि परमेश्‍वरलाई तिनीहरूले गरेको अन्त्यहीन परीक्षा थियो। परमेश्‍वरप्रतिको तिनीहरूको विरोधको सार तथा उहाँप्रतिको तिनीहरूको शत्रुताको आचरण, साथै तिनीहरूका वचन तथा तिनीहरूका विचारहरूले प्रत्यक्ष रूपमा परमेश्‍वरको आत्मालाई निन्दा गरेको र क्रोधित तुल्याएको थियो। यसरी, तिनीहरूले जे भने र गरे, त्यस अनुसार परमेश्‍वरले एउटा उचित न्याय निर्धारित गर्नुभयो, अनि तिनीहरूका कार्यहरूलाई पवित्र आत्माको विरुद्धमा गरिएको पाप भएको ठहर गर्नुभयो। यो पाप यस संसारमा अनि आउने संसारमा पनि अक्षम्य हुन्छ, जुन कुरालाई धर्मशास्त्रको निम्न खण्डमा प्रमाणित गरिएको छ: “मानिसले पवित्र आत्माको विरुद्ध गरेको ईश्‍वरनिन्दा क्षमा गरिनेछैन,” र, “जसले पवित्र आत्माको विरुद्धमा बोल्छ, उसलाई क्षमा गरिनेछैन, न त यस संसारमा, न त आउनेवाला संसारमा।”

वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् ३” बाट उद्धृत गरिएको

“फरिसीहरू” भन्‍ने पदवीको परिभाषा के हो? तिनीहरू ढोङ्गी, पूर्ण रूपमा बनावटी मानिसहरू हुन्, र तिनीहरूले आफू असल, दयालु, र सकारात्मक भएको बहाना गर्दै आफूले गर्ने हरेक काममा नाटक गर्छन्। के तिनीहरू वास्तवमा यस्तै हुन्छन् त? तिनीहरू ढोङ्गीहरू भएका हुनाले, तिनीहरूमा देखिने र प्रकट हुने हरेक कुरा झूटो हुन्छ; यो सबै बहाना हो—यो तिनीहरूको साँचो रूप होइन। तिनीहरूको साँचो अनुहार तिनीहरूको हृदयभित्र लुकेको हुन्छ; यसलाई देख्‍न सकिँदैन। यदि मानिसहरूले सत्यताको खोजी गर्दैनन् भने, र यदि तिनीहरूले सत्यतालाई बुझ्दैनन् भने, तिनीहरूले प्राप्त गरेका यी सिद्धान्तहरू के बन्छन् त? के ती मानिसहरूले प्रायजसो उल्‍लेख गर्ने अक्षर र धर्मसिद्धान्तहरू बन्दैनन् र? मानिसहरूले छदम् भेष धारण गरी आफूलाई राम्रोसित प्रस्तुत गर्नका लागि यी तथाकथित सही धर्मसिद्धान्तहरूको प्रयोग गर्छन्। तिनीहरू जहाँ-जहाँ जान्छन्, तिनीहरूले कुराकानी गर्ने विषयवस्तुहरू, तिनीहरूले भन्‍ने कुराहरू, र तिनीहरूका बाहिरी आनीबानी सबै अरूका निम्ति सही र असल देखिन्छन्; तिनीहरू सबै मानव धारणा र रुचिसँग मिल्दो हुन्छन्। अरूका नजरमा, तिनीहरू भक्त र विनम्र दुवै हुन्छन्, धैर्यता र सहनशीलता प्रस्तुत गर्न सक्‍ने, र अरूलाई प्रेम गर्न र परमेश्‍वरलाई प्रेम गर्न सक्‍ने हुन्छन्। तैपनि, वास्तवमा यी सबै झूट हुन्छन्; यी सबै बहाना मात्र हुन्छन् र तिनीहरूले आफूलाई आकर्षक रूपमा प्रस्तुत गर्ने तरिका मात्रै हुन्छन्। बाहिरी रूपमा, तिनीहरू परमेश्‍वरप्रति निष्ठावान देखिन्छन्, तर वास्तवमा तिनीहरूले अरूले देखून् भनेर मात्रै कार्य प्रदर्शन गरिरहेका हुन्छन्। जब कसैले हेरिरहेका हुँदैनन्, तिनीहरू अलिकति पनि निष्ठावान हुँदैनन्, र तिनीहरूले गर्ने हरेक कुरा झारा टार्ने शैलीका हुन्छन्। सतही रूपमा, तिनीहरूले आफ्‍ना परिवार र जागिर छोडेका छन्, तिनीहरू कठिन परिश्रम गर्ने र आफैलाई समर्पित गर्ने मानिसहरू हुन् भन्‍ने देखिन्छ; तैपनि वास्तविकतामा, तिनीहरूले गोप्य रूपमा मण्डलीबाट लाभ लिइरहेका र भेटी चोरिरहेका हुन्छन्। तिनीहरूले बाहिरी रूपमा प्रकट गर्ने हरेक कुरा—तिनीहरूका सबै बानीबेहोरा—झूट हुन्छ। ढोङ्गी फरिसीको अर्थ यही हो। “फरिसीहरू”—यी मानिसहरू कहाँबाट आउँछन् त? के तिनीहरू सबै अविश्‍वासीहरूबाट आउँछन्? तिनीहरू सबै विश्‍वासीहरूका बीचबाट आउँछन्। किन यी विश्‍वासीहरू त्यसरी रूपान्तरण हुन्छन्? के परमेश्‍वरका वचनहरूले तिनीहरूलाई त्यस्तो बनाउन सक्छन्? (होइन।) कारण के हो त? तिनीहरूले लिएको मार्ग नै यसको कारण हो। परमेश्‍वरका वचनहरूलाई तिनीहरूले आफूलाई सुसज्‍जित गर्ने उपकरणको रूपमा लिएका हुन्छन्; तिनीहरूले यी वचनहरूद्वारा आफैलाई सुसज्‍जित गरेका हुन्छन्, र तिनलाई सुरक्षित जीवन र केही नगरी केही पाउने पूँजीको रूपमा लिन्छन्। तिनीहरूले धर्मसिद्धान्तहरूको प्रचार मात्रै गर्छन्, तर तिनीहरूले ती वचनहरूलाई कहिल्यै पनि अभ्यास गरेका हुँदैनन्। परमेश्‍वरको मार्ग कहिल्यै नपछ्याए पनि वचन र धर्मसिद्धान्तहरूलाई प्रचार गर्ने कार्यलाई जारी राख्‍ने यी कस्ता प्रकारका मानिसहरू हुन् त? यी ढोङ्गी फरिसीहरू हुन्। असल देखिने त्यो थोरै व्यवहार र आफैलाई व्यक्त गर्ने तिनीहरूको राम्रो तरिका, र तिनीहरूले त्यागेको र समर्पित गरेको त्यो थोरै कुरा, ती सबै पूर्ण रूपमा जबरजस्ती गरिएका कुरा हुन्; ती त तिनीहरूले गर्ने देखावटी कुरा मात्र हुन्। तिनीहरू पूर्ण रूपमा झूटा हुन्छन्; ती सबै कार्यहरू बहाना मात्रै हुन्। यी मानिसहरूका हृदयमा, परमेश्‍वरको लागि अलिकति पनि श्रद्धाभाव हुँदैन, न त तिनीहरूसँग परमेश्‍वरप्रतिको कुनै सच्‍चा विश्‍वास नै हुन्छ। त्योभन्दा पनि बढी, तिनीहरू गैर-विश्‍वासीहरू हुन्। यदि मानिसहरूले सत्यताको खोजी गर्दैनन् भने, तिनीहरू यस्तो प्रकारको मार्गमा हिँड्नेछन्, र तिनीहरू फरिसीहरू बन्‍नेछन्। के त्यो कुरा डरलाग्दो छैन र? फरिसीहरू कस्तो ठाउँमा भेला हुन्छन् त? सहर-बजारमा। परमेश्‍वरको नजरमा, त्यो धर्म हो; त्यो परमेश्‍वरको मण्डली होइन, न त त्यो उहाँलाई आराधना गरिने ठाउँ नै हो। तसर्थ, यदि मानिसहरूले सत्यताको खोजी गर्दैनन् भने, तिनीहरूले परमेश्‍वरका वाणीहरूसम्‍बन्धी जति नै ठेट शब्‍दहरू र सतही धर्मसिद्धान्तहरूलाई आफूभित्र सोसेर लिए पनि, यसको कुनै काम हुनेछैन।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “जीवन वृद्धिका छ वटा सूचकहरू” बाट उद्धृत गरिएको

फरिसीहरूको ढोङ्गीपनको मुख्य प्रकटीकरण के थियो? तिनीहरूले धर्मग्रन्थको अध्ययन गरेका थिए तर तिनीहरूले सत्यताको खोजी गर्दैनथिए। जब तिनीहरूले परमेश्‍वरका वचनहरू पढ्थे, तिनीहरूले प्रार्थना वा खोजी गर्दैनथिए; बरु, तिनीहरूले परमेश्‍वरका वचनहरू अध्ययन गर्थे, तिनीहरूले परमेश्‍वरले के भन्‍नुभयो र गर्नुभयो भन्‍ने कुराको अध्ययन गर्थे, त्यसरी तिनीहरूले उहाँका वचनहरूलाई एक प्रकारको सिद्धान्तमा, धर्मसिद्धान्तमा परिवर्तन गर्थे र त्यो कुरा तिनीहरूले अरूलाई सिकाउँथे। परमेश्‍वरका वचनहरूलाई अध्ययन गर्नु भनेको यही हो। त्यसो भए, तिनीहरूले किन त्यसो गरे त? तिनीहरूले अध्ययन गरेको कुरा के थियो त? तिनीहरूको नजरमा, यी परमेश्‍वरका वचनहरू थिएनन्, ती सत्यता हुनु त कता हो कता, यी परमेश्‍वरका अभिव्यक्तिहरू पनि थिएनन्, बरु ती एक प्रकारको विद्वताको स्वरूप थिए। तिनीहरूको नजरमा, यस्तो विद्वतालाई हस्तान्तरण गरिनुपर्छ, फैलाउनुपर्छ, र यो मात्रै परमेश्‍वरको मार्ग र सुसमाचार फैलाउने कार्य हो। तिनीहरूले यसैलाई “प्रचार गर्नु” भनेर भन्छन्, र तिनीहरूले प्रचार गर्ने उपदेश ईश्‍वरशास्‍त्र हुन्थ्यो।

… फरिसीहरूले आफूले सिकेको ईश्‍वरशास्‍त्र र सिद्धान्तलाई एक प्रकारको ज्ञान, मानिसहरूलाई दोषी ठहर्‍याउने र तिनीहरू सही छन् कि गलत छन् भनी मापन गर्ने औजारको रूपमा लिन्थे। तिनीहरूले यसलाई प्रभु येशूमा समेत प्रयोग गरे—प्रभु येशूलाई त्यसरी नै दोषी ठहर्‍याइएको थियो। मानिसहरूसम्‍बन्धी तिनीहरूको मूल्याङ्कन, र तिनीहरूले उनीहरूलाई गर्ने व्यवहार, तिनीहरूको सारमा, वा तिनीहरूले भनेको कुरा सही हो कि गलत हो भन्‍ने कुरामा आधारित हुँदैनथ्यो, तिनीहरूका वचनहरूको स्रोत वा व्युत्‍पत्तिमा आधारित हुने कुरा त परै जाओस्। तिनीहरूले मानिसहरूलाई आफूले कुशलता हासिल गरेको दृढ वचन र धर्मसिद्धान्तहरूको आधारमा दोषी ठहर्‍याउँथे र मापन गर्थे। त्यसकारण, प्रभु येशूले जे गर्नुभएको त्यो पाप होइन, र त्यसले व्यवस्थाको अवहेलना गरेको छैन भन्‍ने कुरा फरिसीहरूलाई थाहा भएको भए पनि, तिनीहरूले उहाँलाई दोषी ठहराए, किनभने प्रभु येशूले जे भन्‍नुभयो त्यो तिनीहरूले हासिल गरेका ज्ञान र विद्वता अनि तिनीहरूले व्याख्या गरेका धर्मशास्‍त्रीय सिद्धान्तसँग बाझिन्थ्यो। अनि फरिसीहरूले यी शब्द र वाक्यहरूप्रतिको आफ्‍नो पकडलाई छोडेनन्, तिनीहरूले यस ज्ञानलाई पक्रिरहे र जान दिएनन्। अन्त्यमा एउटै मात्र सम्‍भावित परिणाम के थियो त? प्रभु येशू नै आउनेवाला मसीह हुनुहुन्छ, वा प्रभु येशूले भन्‍नुभएको कुरामा कुनै सत्यता छ भन्‍ने कुरालाई तिनीहरूले स्वीकार गरेनन्, तिनीहरूले प्रभु येशूले जे गर्नुभयो त्यो सत्यताअनुरूप थियो भनी स्वीकार गर्नु त परै जाओस्। तिनीहरूले प्रभु येशूलाई दोष लगाउने केही अप्रमाणित आरोपहरू फेला पारे—तर वास्तवमा, उहाँलाई तिनीहरूले जुन पापको दोष लगाएका थिए ती मान्य छन् कि छैनन् भन्‍ने कुरा के तिनीहरूलाई आफ्‍नो हृदयमा थाहा थियो त? तिनीहरूलाई थाहा थियो। त्यसो भए, तिनीहरूले किन अझै पनि उहाँलाई दोषी ठहराए त? (तिनीहरूले तिनीहरूको मनको उच्‍च र शक्तिमान् परमेश्‍वर त्यसरी प्रभु येशू अर्थात् मानिसको एक साधारण पुत्रको रूप हुन सक्‍नुहुन्छ भन्‍ने विश्‍वास गर्न चाहेनन्।) तिनीहरूले यो तथ्यलाई स्वीकार गर्न चाहेनन्। अनि यसलाई स्वीकार गर्न नमान्‍ने तिनीहरूको प्रकृति कस्तो थियो त? के यसमा परमेश्‍वरसँग तर्क गर्ने कुनै प्रयास थिएन र? तिनीहरूले वास्तवमा यसो भनिरहेका थिए, “के परमेश्‍वरले त्यसो गर्न सक्‍नुहुन्छ त? यदि परमेश्‍वर देहधारी हुनुभएको हो भने, उहाँ अवश्य नै विशिष्ट वंशमा जन्‍मनुहुनेथियो। यति मात्र कहाँ हो र, उहाँले शास्‍त्रीहरू र फरिसीहरूको संरक्षकत्व स्वीकार गर्नुपर्थ्यो, यो ज्ञान सिक्‍नुपर्थ्यो, र धर्मग्रन्थ धेरै पढ्नुपर्थ्यो। उहाँले यो ज्ञान प्राप्त गर्नुभएपछि मात्रै उहाँले ‘देहधारण’ को नाम-पदवी लिन सक्‍नुहुन्थ्यो।” सर्वप्रथम तिनीहरूले के विश्‍वास गर्थे भने, तपाईंसँग त्यस्तो योग्यता छैन, तसर्थ तपाईं परमेश्‍वर हुनुहुन्‍न; दोस्रो कुरा, यो ज्ञानविना तपाईंले परमेश्‍वरको कार्य गर्न सक्‍नुहुन्‍न, तपाईं परमेश्‍वर हुन सक्‍ने कुरा त परै जाओस्; तेस्रो, तपाईंले मन्दिरभन्दा बाहिर काम गर्न सक्‍नुहुन्‍न—तपाईं अहिले मन्दिरमा हुनुहुन्‍न, तपाईं सधैँ पापीहरूका बीचमा बस्‍नुहुन्छ, त्यसकारण तपाईंले गर्नुहुने काम परमेश्‍वरको कार्यको क्षेत्रभन्दा बाहिर छ। तिनीहरूको दोषारोपणको आधार कहाँबाट आयो त? धर्मग्रन्थबाट, मानिसको मन-मस्तिष्कबाट, र तिनीहरूले प्राप्त गरेको धर्मशास्‍त्रीय शिक्षाबाट। तिनीहरू धारणा, कल्‍पना, र ज्ञानले फूलेका थिए, त्यसकारण तिनीहरूले यो ज्ञान सही हो, सत्यता हो, आधार हो, र कुनै पनि समयमा परमेश्‍वरले यी कुराहरूलाई उल्‍लङ्घन गर्न सक्‍नुहुन्‍न भन्‍ने विश्‍वास गर्थे। के तिनीहरूले सत्यताको खोजी गरे त? तिनीहरूले खोजी गरेनन्। तिनीहरूले खोजी गरेका त तिनीहरूका आफ्‍नै धारणा र कल्‍पना, अनि तिनीहरूका आफ्‍नै अनुभवहरू थिए, र तिनीहरूले परमेश्‍वरलाई परिभाषित गर्न र उहाँ सही हुनुहुन्छ कि गलत हुनुहुन्छ भन्‍ने कुरा निर्धारण गर्न यी कुराको प्रयोग गरे। यसको अन्तिम परिणाम के थियो त? तिनीहरूले परमेश्‍वरको कार्यलाई दोषी ठहर गरे र उहाँलाई क्रूसमा टाँगे।

ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरू दुष्ट, धूर्त, र छली हुन्छन् (३)” बाट उद्धृत गरिएको

इस्राएलमा, “फरिसी” भन्ने शब्‍दलाई एक प्रकारको पदवी-नामको रूपमा प्रयोग गरिन्थ्यो। तर अहिले किन यो एउटा कलङ्कित उपनाम बनेको छ त? यस्तो किन भयो भने फरिसीहरू एक प्रकारको व्यक्तिका प्रतिनिधिहरू बनेका छन्। यस प्रकारको व्यक्तिका विशेषताहरू के-के हुन् त? तिनीहरूले नारा लाउँछन्, तिनीहरू बहाना बनाउन, आभूषण-सजावट गर्न र साँचो रूप लुकाउनमा माहिर हुन्छन् र तिनीहरूले आफूमा महान् भद्रता, महान् पवित्रता र महान् भलापन, महान निश्पक्षपन र सम्मान भएको बहाना गर्छन्। परिणामस्वरूप, तिनीहरूले अलिकति पनि सत्यता अभ्यास गर्दैनन्। तिनीहरूले कसरी कार्य गर्छन् त? तिनीहरू पवित्र पुस्तकहरू पढ्छन्, तिनीहरूले प्रवचन सुनाउँछन्, तिनीहरूले अरूलाई असल कार्य गर्न, दुष्ट कार्य नगर्न, परमेश्‍वरको प्रतिरोध नगर्न सिकाउँछन् र अरूको अगाडि एकदमै राम्रो व्यवहार गर्छन्, तैपनि जब अरू पछाडि फर्कन्छन् तिनीहरूले भेटी चोर्छन्। प्रभु येशूले तिनीहरूले “भुसुना छान्छन् र उँटलाईचाहिँ निल्छन्” भनी भन्नुभयो। यसको मतलब, तिनीहरूको सबै व्यवहार सतहमा राम्रो देखिन्छ—तिनीहरूले देखाउनको लागि नारा लगाउँछन्, तिनीहरूले उच्च सिद्धान्तहरूको बारेमा बोल्छन्, र तिनीहरूका वचनहरू मीठा सुनिन्छ, तर तिनीहरूका कार्यहरू भने अस्तव्यस्त भद्रगोल, पूर्ण रूपमा परमेश्‍वरविरोधी हुन्छन्। तिनीहरूको व्यवहार र बाह्य रूप सबै नै बहाना र धोका हुन्; तिनीहरूको हृदयमा तिनीहरूसँग सत्यताप्रति अलिकति पनि प्रेम हुँदैन, न त सकारात्मक कुराहरूको लागि नै प्रेम हुन्छ। तिनीहरूले सत्यतालाई घृणा गर्छन्, परमेश्‍वरबाट आउने सबै थोकलाई घृणा गर्छन्, र सकारात्मक कुराहरूलाई घृणा गर्छन्। तिनीहरूले केलाई प्रेम गर्छन् त? के तिनीहरूले निष्पक्षता र धर्मीपनलाई प्रेम गर्छन् त? (गर्दैनन्।) तिनीहरूले सकारात्मक कुराहरूलाई प्रेम गर्दैनन् भनेर तिमीहरूले कसरी भन्न सक्छौ? (प्रभु येशूले स्वर्गको राज्यको सुसमाचार प्रचार गर्नुभयो जसलाई तिनीहरूले अस्वीकार मात्र गरेनन्, बरु तिनीहरूले त त्यसलाई दोषी ठहराउने कामसमेत गरे।) यदि तिनीहरूको दोषी ठहराउने कार्य नभएको भए, के तिमीहरूले यसको बारेमा भन्न सक्नेथियौ त? प्रभु येशू काम गर्न आउनुअघि, के कुराले तिमीहरूलाई तिनीहरूले निष्पक्षता र धर्मीपनलाई प्रेम गर्दैनथे भनेर बताउँथ्यो होला? तिमीहरूले यसको बारेमा बताउन सक्‍नेथिएनौ, सक्‍नेथियौ त? तिनीहरूका सबै व्यवहार बहानाबाजी हो, र तिनीहरूले अरूको भरोसालाई छलसाथ जित्नको लागि असल व्यवहारको बहानाको प्रयोग गर्छन्। के यो ढोङ्ग र छल होइन र? के त्यस्ता धोकेबाजहरूले सत्यतालाई प्रेम गर्न सक्छन् र? तिनीहरूको यो असल व्यवहारपछाडि लुकेको उद्देश्य के हो त? तिनीहरूको उद्देश्यको एक भागचाहिँ अरूलाई ठग्नु हो; अर्को भागचाहिँ अरूलाई धोका दिनु, तिनीहरूको भरोसा जित्नु र तिनीहरूद्वारा आराधना गरिनु, र अन्त्यमा इनाम प्राप्त गर्नु हो। त्यत्रो ठूलो ठगीलाई सफलतापूर्वक कार्यान्वयन गर्नको लागि तिनीहरूको तरिका कति धेरै चलाकीपूर्ण हुनुपर्छ त? त्यसो भए, के त्यस्ता मानिसहरूले निष्पक्षता र धर्मीपनलाई प्रेम गर्छन् त? अवश्य पनि गर्दैनन्। तिनीहरूले हैसियतलाई प्रेम गर्छन्, तिनीहरूले ख्याति र धनलाई प्रेम गर्छन्, र तिनीहरू इनाम पाउन चाहन्छन्। तिनीहरूले मानिसहरूका निम्ति दिइएका परमेश्‍वरका वचनहरूलाई बिलकुलै अभ्यास गर्दैनन्। तिनीहरू अलिअलि पनि ती वचनहरूअनुरूप जिउँदैनन्; तिनीहरूले मानिसहरूलाई छल्न र तिनीहरूको भरोसा जित्न, तिनीहरूको आफ्नै हैसियत र मान-सम्मान बढाउन केवल आभूषण र भेषको प्रयोग गर्छन्। यी कुराहरू सुरक्षित भएपछि, तिनीहरूले त्यसलाई पुँजी र आय स्रोत प्राप्त गर्न प्रयोग गर्छन्। के यो घृणास्पद छैन र? तिनीहरूको यी सबै व्यवहारहरूमा के देखिन्छ भने, सत्यतालाई प्रेम नगर्नु नै तिनीहरूको सार हो, किनभने तिनीहरूले सत्यतालाई कहिल्यै पनि अभ्यास गर्दैनन्। तिनीहरूले सत्यतालाई अभ्यास गर्दैनन् भन्‍ने कुराको चिन्ह के हो त? सबैभन्दा ठूलो चिन्ह यही हो: प्रभु येशू काम गर्न आउनुभयो र उहाँले भन्नुभएका हरेक कुरा सही थिए र उहाँले भन्नुभएका हरेक कुरा सत्यता थिए। तिनीहरूले त्यसलाई कसरी लिए त? (तिनीहरूले त्यसलाई स्वीकार गरेनन्।) के तिनीहरूले प्रभु येशूका वचनहरूलाई गलत भएको विश्‍वास गरेको कारण स्वीकार गरेनन् कि तिनीहरूले ती वचनहरूलाई सही छन् भन्ने जानेर पनि स्वीकार गरेनन्? (तिनीहरूले ती वचनहरूलाई सही छन् भन्ने जानेर पनि स्वीकार गरेनन्।) अनि के कुराले यस्तो गरायो त? तिनीहरूले सत्यतालाई प्रेम गर्दैनन्, र तिनीहरूले सकारात्मक कुराहरूलाई घृणा गर्छन्। प्रभु येशूले भन्नुभएका सबै कुरा सही थिए, तिनमा कुनै त्रुटि थिएनन्, अनि तिनीहरूले प्रभु येशूका वचनहरूमा उहाँको विरुद्ध प्रयोग गर्न सकिने कुनै कुरा फेला पार्न नसके पनि, तिनीहरूले उहाँलाई दोष दिए र त्यसपछि षडयन्त्र गरे: “उहाँलाई क्रूसमा टाँगे। यो कुरा कि त उहाँ कि त हामी भन्ने हो।” यसरी तिनीहरूले आफैलाई प्रभु येशूको विरुद्धमा उभ्याए। तिनीहरूले प्रभु येशू नै प्रभु हुनुहुन्छ भन्ने विश्‍वास नगरे पनि, उहाँ असल व्यक्ति हुनुहुन्थ्यो र उहाँले न त नियम-कानुन न त यहोवाका[क] व्यवस्थाहरू नै उल्लङ्घन गर्नुभयो; किन तिनीहरूले प्रभु येशूलाई दोष दिए त? तिनीहरूले किन प्रभु येशूलाई त्यसरी व्यवहार गरे त? यो कुरालाई यी मानिसहरू कति दुष्ट र बद्ख्वाइँपूर्ण थिए भन्ने तथ्यमा देख्न सकिन्छ—तिनीहरू चरम रूपमा दुष्ट थिए! फरिसीहरूको उदाङ्गो भएको दुष्ट अनुहारको हद तिनीहरूको दयालुपनको आवरणको हदभन्दा फरक हुन सकेको थिएन। धेरै मानिसहरू छन् जसले तिनीहरूको साँचो अनुहार कुन हो र कुन चाहिँ झूटो हो भनी भेद छुट्ट्याउन सक्दैनन्, तैपनि प्रभु येशूको देखा पराइ र कामले ती सबैलाई खुलासा गरिदियो। फरिसीहरूले कसरी आफूलाई बाहिरी भेषमा लुकाउँछन्, बाह्य रूपमा तिनीहरू कति दयालु देखिन्छन्—यदि यी तथ्यहरूलाई खुलासा नगरिएको भए, कसैले पनि तिनीहरू वास्तवमा के हुन् भनी देख्न सक्नेथिएनन्।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “परमेश्‍वरमाथिको विश्‍वासको सबैभन्दा महत्वपूर्ण भाग सत्यताको अभ्यास गर्नु हो” बाट उद्धृत गरिएको

फूटनोट:

क. मूल पाठमा “यहोवाका” भन्ने शब्‍द समावेश छैन।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्