परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश ३०

1 मे 2021

आजको विजयको कामको उद्देश्य मानिसको अन्त्य कस्तो हुनेछ भनी स्पष्ट पार्नु हो। किन आजको सजाय र न्यायलाई आखिरी दिनहरूमा ठूलो सेतो सिंहासनको अघि हुने न्याय हो भनेर भनिन्छ? के तँ यो देख्दैनस्? विजयको काम किन अन्तिम चरणमा छ? के यो सबै वर्गका मानिसहरूको अन्त्य कस्तो प्रकारको हुनेछ भन्‍ने कुरा स्पष्ट रूपमा प्रस्तुत गर्नका निम्ति होइन र? के यो सजाय र न्यायको विजयको क्रममा सबैलाई आफ्नो वास्तविक रङ्ग देखाउन र त्यसपछि आ-आफ्नै प्रकारअनुसार वर्गीकृत हुन दिनका लागि होइन र? यसलाई मानवजातिउपर विजय गर्नु भन्‍नुभन्दा बरु प्रत्येक वर्गको व्यक्तिले कस्तो प्रकारको अन्त्यको सामना गर्नुपर्छ त्यो देखाउनु हो भन्‍नु राम्रो हुन्छ। यो मानिसहरूको पापहरूको न्याय गर्ने र त्यसपछि विभिन्‍न वर्गका मानिसहरूलाई खुलासा गर्दै, त्यसमार्फत तिनीहरू दुष्ट वा धर्मी के हुन् भनेर निर्णय गर्नु हो। विजयको कामपछि, असललाई इनाम र दुष्टलाई दण्ड दिने काम हुन्छ। पूर्ण रूपमा आज्ञापालन गर्ने मानिसहरूलाई—अर्थात् पूर्ण रूपले जितिएका मानिसहरूलाई—सम्पूर्ण ब्रह्माण्डमा परमेश्‍वरको कार्य फैलाउने अर्को चरणमा राखिनेछ; अनि नजितिएकाहरूलाई अन्धकारमा राखिनेछ र तिनीहरूले विपत्तिको सामना गर्नेछन्। यसरी मानिसहरूलाई तिनीहरूका प्रकारअनुसार वर्गीकरण गरिनेछ, दुष्ट काम गर्नेहरू दुष्टहरूको समूहमा, फेरि सूर्यको किरणमा नहुने गरी राखिनेछन्, र धर्मीहरू असल मानिसहरूको समूहमा राखिनेछन् र तिनीहरूले ज्योति प्राप्त गर्नेछन् र सदासर्वदा ज्योतिमा जिउनेछन्। सबै थोकको अन्त्य नजिक छ; मानिसको अन्त्य उसको आँखाको अघि स्पष्ट देखाइएको छ, र यावत् थोकलाई तिनको प्रकारअनुसार वर्गीकृत गरिनेछ। त्यसो भए, मानिसहरूले तिनीहरूको प्रकारअनुसार वर्गीकरण गरिने पीडाबाट कसरी उम्कन सक्छन्? सबै थोकको अन्त्य नजिक आउँदा प्रत्येक प्रकारको व्यक्तिको अन्त्य प्रकट गरिन्छ, र यो (वर्तमान कार्यबाट सुरु गर्दै, विजयका सबै कामहरूलगायत) सम्पूर्ण ब्रह्माण्डलाई जित्‍ने काम गरिने अवधिमा गरिन्छ। सबै मानवजातिको अन्त्यको प्रकटीकरण न्यायको सिंहासनअघि, सजाय दिने अवधिमा, र आखिरी दिनहरूको विजयको कामको क्रममा गरिन्छ। प्रकारअनुसार मानिसहरूको वर्गीकरण गर्नु भनेको मानिसहरूलाई तिनीहरूको सुरुको वर्गमा फर्काउनु होइन, किनकि सृष्टिको समयमा मानिसको सृष्टि हुँदा, एक किसिमको मानिस मात्र थियो, उसमा पुरुष र स्‍त्रीको भेद मात्र थियो। त्यति बेला धेरै प्रकारका मानिसहरू थिएनन्। हजारौं वर्षको भ्रष्टतापछि मात्र मानिसहरूका विभिन्‍न वर्गहरू देखा परेको हो, र कोही फोहोरी दियाबलसहरूको क्षेत्रमा छन्, कोही दुष्ट दियाबलसहरूको क्षेत्रमा छन्, र कोही जीवनको मार्ग पछ्याउनेहरू छन् जो सर्वशक्तिमान्‌को क्षेत्रमा पर्छन्। केवल यसरी मानिसहरूको माझमा बिस्तारै वर्गहरू अस्तित्वमा आए, र मानिसको ठूलो परिवारभित्र त्यसरी मात्र मानिसहरू वर्गहरूमा बाँडिन्छन्। सबै मानिसहरूले भिन्‍नभिन्‍न “पिता” प्राप्त गरे; सबै मानिस पूर्ण रूपमा सर्वशक्तिमान्‌को प्रभुत्वमा हुन्छन् भन्‍ने होइन, किनकि मानिस अति विद्रोही छ। धर्मी न्यायले प्रत्येक प्रकारको मानिसको वास्तविक रूप खुलासा गर्दछ, कुनै पनि कुरा लुक्दैन। सबैले ज्योतिमा आफ्नो वास्तविक अनुहार देखाउँछन्। यस अवस्थामा, मानिस सुरुमा जस्तो थियो अब त्यस्तो हुँदैन, उसका पुर्खाहरूको मूल स्वरूप धेरै समयअघि नै हराइसक्यो, किनकि आदम र हव्वाका अनगिन्ती सन्तानहरू फेरि कहिल्यै स्वर्गसूर्यलाई नचिन्‍ने गरी लामो समयदेखि शैतानको पासोमा परेका छन्, र किनकि मानिसहरू शैतानको हरकिसिमको विषद्वारा भरिएका छन्। यसरी मानिसहरूले आफ्नो उचित गन्तव्य पाउँछन्। साथै, उनीहरूको भिन्‍नाभिन्‍नै यही विषको आधारमा तिनीहरूलाई प्रकारअनुसार वर्गीकृत गरिन्छ, यसको अर्थ, तिनीहरूलाई आज जुन हदसम्म जितिएको छ त्यसको आधारमा वर्गीकरण गरिन्छ। मानिसको अन्त्य संसारको सृष्टिदेखि पूर्वनिर्धारित गरिएको कुरा होइन। किनभने आदिमा, केवल एउटा वर्ग थियो, जसलाई सामूहिक रूपमा “मानवजाति” भनिन्थ्यो, र सुरुमा मानिस शैतानद्वारा भ्रष्ट भएको थिएन, र सबै मानिसहरू परमेश्‍वरको ज्योतिमा जिउँथे, तिनीहरूमाथि अन्धकार आइपरेको थिएन। तर मानिस शैतानद्वारा भ्रष्ट भएपछि, सबै प्रकार र किसिमका मानिसहरू—पुरुष र स्‍त्री मात्र भएका र सामूहिक रूपमा “मानवजाति” भन्‍ने त्यो परिवारबाट आएका सबै प्रकार र किसिमका मानिसहरू—पृथ्वीभरि फैलिए। तिनीहरूलाई आफ्ना पुर्खाहरूले तिनीहरूका सबैभन्दा प्राचीन पुर्खाहरूबाट—पुरुष र स्‍त्री मात्र भएको मानवजातिबाट (अर्थात्, प्रारम्भ‍का आदम र हव्वा, सबैभन्दा प्राचीन पुर्खाहरूबाट)—पथभ्रष्ट पारियो। त्यस बेला, पृथ्वीमा जिउने मानिसहरू इस्राएलीहरू मात्र थिए, जो यहोवाद्वारा डोर्‍याइएका थिए। सम्पूर्ण इस्राएल (अर्थात् सुरुको परिवारिक कूल) बाट निस्केका विभिन्‍न किसिमका मानिसहरूले यहोवाको मार्गनिर्देशन गुमाए। यी सुरुका मानिसहरू मानव संसारका मामिलाहरूबारे पूर्ण रूपमा अनभिज्ञ थिए, पछि उनीहरू आफ्ना पुर्खाहरूसँग उनीहरूले दाबी गरेका क्षेत्रहरूमा बस्‍न गए, जुन आजको दिनसम्म जारी छ। यसरी तिनीहरू कसरी यहोवाबाट टाढिँदै गए र आजको दिनसम्म हरप्रकारका फोहोरी दियाबलस र दुष्टात्माहरूबाट भ्रष्ट भएका छन् भन्‍नेबारेमा अनजान छन्। जो अहिलेसम्म गम्भीर रूपमा भ्रष्ट र विषाक्त छन्—जसलाई आखिरीमा उद्धार गर्न सकिँदैन, तिनीहरूका निम्ति आफ्ना पुर्खाहरू, अर्थात् तिनीहरूलाई भ्रष्ट पार्ने दियाबलसहरूसँग जानुबाहेक अरू विकल्प हुनेछैन। जसलाई आखिरीमा मुक्त गर्न सकिनेछ तिनीहरू मानवजातिको उपयुक्त गन्तव्यमा जानेछन्, जसको अर्थ हो, तिनीहरू मुक्ति पाएका र जितिएकाहरूका निम्ति आरक्षित गन्तव्यमा जानेछन्। मुक्त गर्न सकिनेहरूलाई मुक्त गर्नका निम्ति सबै कुरा गरिनेछ—तर असंवेदनशील र असाध्य मानिसहरूका लागि एकमात्र विकल्प तिनीहरूका पुर्खाहरूको पछिपछि सजायको अतल कुण्डमा जानु हुनेछ। तेरो अन्त्य आदिमा पूर्वनिर्धारित थियो र अहिले प्रकट गरिएको छ भनेर नसोच्। यदि तँ त्यसरी सोच्छस् भने, के तैँले मानवजातिको प्रारम्भिक सृष्टिको क्रममा, कुनै पनि अलग शैतानी वर्गको सृष्टि गरिएको थिएन भनेर बिर्सिस्? के तैँले आदम र हव्वाले बनेको एउटा मात्र मानवजाति सृष्टि गरिएको थियो (अर्थात्, केवल पुरुष र स्‍त्री मात्र सृष्टि गरिएको थियो) भनेर बिर्सिस्? यदि तँ सुरुमा हुने शैतानको सन्तान भएको भए, के यसको अर्थ यहोवाले मानिसलाई सृष्टि गर्नुहुँदा उहाँले शैतानी समूहलाई उहाँको सृष्टिमा समावेश गर्नुभयो भन्‍ने हुँदैन र? के उहाँले त्यस्तो केही गर्नुहुन्छ र? उहाँले मानिसलाई उहाँको गवाहीका लागि सृष्टि गर्नुभयो; उहाँले मानिसलाई उहाँको महिमाको लागि सृष्टि गर्नुभयो। उहाँको विरोध गर्छ भनी जान्दाजान्दै उहाँले शैतानको सन्तान किन बनाउनुहुन्थ्यो र? यहोवाले त्यस्तो कार्य कसरी गर्न सक्‍नुहुन्थ्यो? यदि उहाँले त्यसो गर्नुहुन्थ्यो भने, कसले उहाँ धर्मी परमेश्‍वर हुनुहुन्छ भनी भन्‍नेथियो होला? जब म अहिले तिमीहरूमध्ये कोहीकोही अन्त्यमा शैतानको साथ जानेछौ भन्छु, त्यसको अर्थ तँ सुरुदेखि नै शैतानको साथमा थिइस् भन्‍ने होइन; बरु, यसको अर्थ तँ यति तल डुबेको छस् कि परमेश्‍वरले तँलाई मुक्त गर्ने कोसिस गर्नुभए पनि तँ त्यो मुक्ति प्राप्त गर्न असमर्थ छस् भन्‍ने हो। तँलाई शैतानको वर्गमा राख्‍नुबाहेक अरू विकल्प छैन। किनभने तँ मुक्तिभन्दा पर छस्, तर परमेश्‍वर तँप्रति अधर्मी हुनुभएकोले र तँलाई जानीजानी शैतानको मूर्त रूप बनाएर शैतानको वर्गमा राख्दै जानीजानी दुःख दिन चाहनुभएकोले गर्दा होइन। यो विजयको कामको भित्री सत्यता होइन। यदि तैँले विश्‍वास गर्ने यही हो भने, तेरो बुझाइ अति नै एकतर्फी छ! विजयको अन्तिम चरणको उद्देश्य मानिसहरूलाई मुक्त गर्नु र उनीहरूको अन्त्य प्रकट गर्नु हो। यो न्यायको माध्यमबाट मानिसहरूको पतित अवस्था खुलासा गर्नु, र त्यसो गरेर उनीहरूलाई पश्‍चात्ताप गर्न, माथि उठ्न, र जीवन र मानव जीवनको सही मार्ग पछ्याउने बनाउनु हो। यो चेतनाहीन र मन्द बुद्धिका मानिसहरूको हृदयलाई ब्युँझाउनु र न्यायमार्फत तिनीहरूको भित्री विद्रोहीपन देखाउनु हो। तथापि, यदि मानिसहरू अझै पनि पश्‍चात्ताप गर्न असमर्थ छन् भने, अझै पनि मानव जीवनको सही बाटोमा लाग्‍न असमर्थ छन् भने र यी भ्रष्टताहरू त्याग्‍न असमर्थ छन् भने, तिनीहरू मुक्तिभन्दा धेरै पर छन् र शैतानद्वारा निलिनेछन्। परमेश्‍वरको विजयको अर्थ यस्तो छ: मानिसहरूलाई मुक्त गर्नु, र तिनीहरूका अन्त्यहरू पनि देखाउनु। असल अन्त्यहरू, खराब अन्त्यहरू—ती सबै विजयको कामद्वारा प्रकट हुनेछन्। मानिसहरू मुक्त हुनेछन् वा श्रापित हुनेछन्, यी सबै कुरा विजयको कामको दौरान प्रकट गरिनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विजयको कामको भित्री सत्यता (१)

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्