परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ३९

4 नोभेम्बर 2022

परमेश्‍वरको स्वभावलाई मानिसबाट कहिल्यै लुकाइएको छैन—मानिसको हृदयचाहिँ परमेश्‍वरबाट तर्केर गएको छ

सृष्टिको समयदेखि नै, परमेश्‍वरको स्वभाव उहाँको काम सँगसँगै साथमा रहेको छ। यसलाई मानिसबाट कहिल्यै पनि लुकाइएको छैन, बरु यसलाई मानिसका लागि पूर्ण प्रचारित र स्पष्ट गरिएको छ। तैपनि, समय बित्दै जाँदा मानिसको हृदय परमेश्‍वरबाट झन्झन् टाढा हुँदै गएको छ, र मानिसको भ्रष्टता अझै गहिरो हुँदै जाँदा, मानिस र परमेश्‍वर एकअर्काबाट झन्झन् टाढा बनेका छन्। बिस्तारै तर निश्‍चित रूपमा, मानिस परमेश्‍वरको दृष्टिबाट हराएको छ। मानिस परमेश्‍वरलाई “देख्‍न” असमर्थ भएको छ, जसको कारण ऊ परमेश्‍वरको कुनै “खबर” बिना रहेको छ; तसर्थ, परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ कि हुनुहुन्‍न भन्‍ने उसलाई थाहा छैन, र ऊ परमेश्‍वरको अस्तित्वलाई नै पूर्ण रूपमा अस्वीकार गर्ने हदसम्म पुग्छ। फलस्वरूप, मानिसले परमेश्‍वरको स्वभावलाई, र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसलाई बुझ्न नसक्‍नु परमेश्‍वर मानिसबाट लुक्‍नुभएकोले गर्दा होइन, उसको हृदय परमेश्‍वरबाट टाढा गएकोले गर्दा भएको हो। मानिसले परमेश्‍वरमा विश्‍वास गरे पनि मानिसको हृदय परमेश्‍वररहित छ, र परमेश्‍वरलाई कसरी प्रेम गर्नुपर्छ भन्‍ने कुराप्रति ऊ अनभिज्ञ छ, र ऊ परमेश्‍वरलाई प्रेम गर्न पनि चाहँदैन, किनकि उसको हृदय कहिल्यै परमेश्‍वरको नजिक जाँदैन र ऊ सधैँ परमेश्‍वरदेखि टाढा रहन्छ। फलस्वरूप, मानिसको हृदय परमेश्‍वरदेखि टाढा छ। त्यसो भए, उसको हृदय कहाँ छ? वास्तवमा, मानिसको हृदय कहीँ पनि गएको छैन: परमेश्‍वरलाई हृदय दिनु वा परमेश्‍वरले हेरून् भनी हृदय देखाउनुको साटो उसले आफ्नो हृदय आफ्नै निम्ति राखेको छ। यस्तो हुँदाहुँदै पनि केही मानिसहरूले प्राय: “हे परमेश्‍वर, मेरो हृदयमा हेर्नुहोस्—म के सोच्छु ती सबै तपाईँ जान्‍नुहुन्छ” भन्दै प्रार्थना गर्छन् र कतिले त परमेश्‍वरलाई आफूमाथि नियाल्न दिने शपथसमेत खान्छन्, शपथ भङ्ग गरे दण्ड दिइओस् भनेरसमेत भन्छन्। मानिसले परमेश्‍वरलाई उसको हृदयभित्र हेर्ने अनुमति दिए पनि, त्यसको अर्थ मानिस परमेश्‍वरको योजनाबद्ध कार्य र बन्दोबस्तहरू पालन गर्न सक्षम छ भन्‍ने हुँदैन, न त उसले आफ्नो भाग्य र सम्भावनाहरू र उसका सबै कुराहरू परमेश्‍वरको नियन्त्रणमा छोडेको छ भन्‍ने नै हुन्छ। यसैले, तैँले परमेश्‍वरको अघि शपथ खाए पनि वा उहाँको अघि जे घोषणा गरे पनि परमेश्‍वरको नजरमा तेरो हृदय अझैसम्म उहाँका निम्ति बन्द रहेको छ, किनकि तैँले परमेश्‍वरलाई तेरो हृदयमा हेर्न मात्र दिन्छस् तर उहाँलाई त्यसमाथि नियन्त्रण गर्न दिँदैनस्। अर्को शब्दमा भन्दा, तैँले परमेश्‍वरलाई आफ्नो हृदय बिलकुलै दिएको छैनस्, र परमेश्‍वरलाई सुनाउनको लागि राम्रो सुनिने वचनहरू मात्र बोल्छस्; यस क्रममा तैँले परमेश्‍वरबाट आफ्ना विभिन्‍न छली अभिप्रायहरू लुकाउँछस्, यसको साथै तेरा षड्यन्त्र, युक्ति र योजनाहरू पनि लुकाउँछस् र तैँले आफ्नो सम्भाव्यता र नियतिलाई आफ्नै हातमा पक्रेर राख्छस्, र तँ ती कुरा परमेश्‍वरले खोस्‍नुहुनेछ भनी साह्रै डराउँछस्। यसप्रकार, परमेश्‍वरले कहिल्यै पनि उहाँप्रतिको मानिसको इमानदारिता देख्‍नुहुन्‍न। परमेश्‍वरले मानिसको हृदयको गहिराइलाई अवलोकन गर्नुहुने, र मानिसले के सोचिरहेको छ र उसले आफ्‍नो हृदयमा के गर्ने इच्छा गर्छ, र उसको हृदयभित्र के-कस्ता कुराहरू राखिएका छन् भनी देख्‍न सक्‍नुहुने भए तापनि, मानिसको हृदय परमेश्‍वरको स्वामित्वमा हुँदैन, र उसले परमेश्‍वरको नियन्त्रणमा रहने गरी आफ्नो हृदय दिएको हुँदैन। भन्‍नुको अर्थ, परमेश्‍वरसँग अवलोकन गर्ने अधिकार त हुन्छ, तर नियन्त्रण गर्ने अधिकार भने हुँदैन। मानिसले आफ्नो व्यक्तिपरक चेतनामा आफूलाई परमेश्‍वरको बन्दोबस्तमा सुम्पने चाह वा इच्छा गर्दैन। मानिसले आफैलाई परमेश्‍वरको लागि बन्द गरेको त छ नै, अझ यहाँ त त्यस्ता मानिसहरू पनि छन् जो झूटो प्रभाव पार्न र परमेश्‍वरको भरोसा जित्‍न चिप्ले कुरा र चापलुसी गर्दै, अनि आफ्नो वास्तविक अनुहार परमेश्‍वरको नजरबाट लुकाउँदै आफ्नो हृदय ढाक्‍ने उपायहरू सोच्छन्। परमेश्‍वरलाई देख्‍न नदिनुको पछाडि तिनीहरूको उद्देश्य भनेको तिनीहरू वास्तवमा कस्ता छन् त्यो परमेश्‍वरलाई बुझ्न नदिनु हो। तिनीहरू आफ्नो हृदय परमेश्‍वरलाई दिन चाहँदैनन्, बरु आफ्नै निम्ति राख्‍न चाहन्छन्। यसको भित्री अर्थ यही हो कि मानिसले जे गर्छ र उसले जे चाहन्छ ती सबै नै मानिस आफैद्वारा योजना, अनुमान र निर्णय गरिएको हुन्छ; उसलाई परमेश्‍वरको सहभागिता वा हस्तक्षेपको आवश्यकता पर्दैन, परमेश्‍वरको योजनाबद्ध कार्य र बन्दोबस्तहरू उसलाई आवश्यक हुने त कुरै नगरौँ। यसैले, चाहे परमेश्‍वरका आज्ञाहरू, उहाँका आदेशहरूको सम्बन्धमा होस् वा परमेश्‍वरले मानिससँग गर्नुभएका मापदण्डहरूको सम्‍बन्धमा होस्, मानिसका निर्णयहरू उसका आफ्नै इच्छा र चासोहरूमा, त्यो बेलाको उसको आफ्नै अवस्था र परिस्थितिहरूमा आधारित हुन्छन्। मानिसले जहिल्यै पनि ऊ हिँड्नुपर्ने बाटोको बारेमा मूल्याङ्कन गर्न र त्यसलाई चुन्‍न उसले जानेको ज्ञान र जानकारी, र उसको आफ्नै बुद्धिको प्रयोग गर्छ, र उसले परमेश्‍वरलाई हस्तक्षेप वा नियन्त्रणको अनुमति दिँदैन। परमेश्‍वरले देख्‍नुहुने मानिसको हृदय यही हो।

सुरुदेखि आजको दिनसम्म, मानिस मात्र परमेश्‍वरसँग कुराकानी गर्न सक्षम रहेको छ। अर्थात्, सबै जीवित प्राणीहरू र परमेश्‍वरका सृष्टिहरूमध्ये मानिसबाहेक अरू कुनै पनि जीव परमेश्‍वरसँग कुराकानी गर्न सक्षम रहेको छैन। मानिससित कान छन् जसद्वारा उसले सुन्‍न सक्छ, र उसँग आँखा छन् जसद्वारा उसले देख्‍न सक्छ; ऊसित भाषा छ, र आफ्नै विचारहरू र स्वतन्त्र इच्छा छ। ऊसित ती सबै कुराहरू छन् जुन परमेश्‍वर बोल्नुभएको सुन्‍न, परमेश्‍वरको इच्छा बुझ्न र परमेश्‍वरको आदेश स्वीकार गर्नका निम्ति चाहिन्छ, र यसकारण मानिस उहाँको जस्तै मनमस्तिष्क भएको सहयात्री होस् र उहाँको साथमा हिँड्न सकोस् भन्‍ने चाहना गर्दै परमेश्‍वरले उहाँका सबै चाहनाहरू मानिसलाई प्रदान गर्नुहुन्छ। जबदेखि परमेश्‍वरले व्यवस्थापन गर्न थाल्नुभयो, त्यसै बेलादेखि मानिसले आफ्नो हृदय उहाँलाई दिओस्, परमेश्‍वरलाई त्यो शुद्ध र सुसज्‍जित पार्न दिओस्, उसलाई परमेश्‍वरका निम्ति सन्तोषजनक र परमेश्‍वरको प्रिय बनाउन, उसलाई परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने बनाउन दिओस् भनेर उहाँले पर्खिरहनुभएको छ। परमेश्‍वरले सधैँ बाटो हेर्दै यो नतिजा पर्खिरहनुभएको छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्