परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १७

30 नोभेम्बर 2022

मानिसहरूको नियतिलाई परमेश्‍वरप्रतिको तिनीहरूको आचरणले निर्धारण गर्छ

परमेश्‍वर जीवित परमेश्‍वर हुनुहुन्छ, र मानिसहरूले फरक-फरक परिस्थितिहरूमा फरक-फरक व्यवहार गर्दा ती व्यवहारहरूप्रति उहाँको आचरण पनि फरक-फरक नै हुन्छ किनभने न त उहाँ कठपुतली नै हुनुहुन्छ न त उहाँ रित्तो हावाको झोक्का नै हुनुहुन्छ। परमेश्‍वरको मनोवृत्तिको बारेमा जान्नु मानवजातिको लागि मूल्यवान् खोजी हो। मानिसहरूले परमेश्‍वरको आचरणको बारेमा जानेर कसरी अलिअलि गर्दै परमेश्‍वरको स्वभावको ज्ञान प्राप्त गर्न र उहाँको हृदयलाई बुझ्न सक्छन् भन्ने कुरा सिक्नुपर्छ। जब तैँले क्रमिक रूपमा परमेश्‍वरको हृदयलाई बुझ्न थाल्छस् तब तैँले उहाँको डर मान्ने र दुष्टताबाट अलग बस्ने उपलब्धि प्राप्त गर्नु धेरै गाह्रो कुरा हो भन्ने महसुस गर्नेछैनस्। अझ भन्ने हो भने, जब तैँले परमेश्‍वरलाई बुझ्छस् तब तैँले उहाँको बारेमा निष्कर्ष निकालिहाल्ने सम्भावना कम हुनेछ। जब तैँले उहाँको बारेमा निष्कर्ष निकालिहाल्ने काम बन्द गर्नेछस्, तब तैँले उहाँलाई ठेस पुर्‍याउने सम्भावना कम हुनेछ, अनि तैँले महसुस नै नगरीकन उहाँले तँलाई उहाँको बारेमा ज्ञान प्राप्त गर्नेतर्फ डोर्‍याउनुहुनेछ; यसले तेरो हृदयलाई उहाँप्रतिको श्रद्धाले भरिदिनेछ। त्यसपछि तैँले आफूले ज्ञान हासिल गरेका धर्मसिद्धान्तहरू, शाब्दिक अर्थहरू र सिद्धान्तहरूद्वारा परमेश्‍वरलाई परिभाषित गर्न छाड्नेछस्। यसको सट्टा, निरन्तर रूपमा सबै थोकमा परमेश्‍वरका अभिप्रायहरूको खोजी गर्दै, तँ अचेतन रूपमै परमेश्‍वरको हृदय अनुरूपको व्यक्ति बन्नेछस्।

परमेश्‍वरको कामलाई मानिसहरूद्वारा देख्न र छुन सकिँदैन, तर जहाँसम्म उहाँको सवाल छ, हरेक व्यक्तिका कार्यहरूलाई—साथै उहाँप्रतिको तिनीहरूको आचरणलाई—परमेश्‍वरले महसुस मात्र गर्न सक्नुहुन्न बरु उहाँले तिनलाई देख्न समेत सक्नुहुन्छ। यो हरेकले पहिचान गर्नुपर्ने र स्पष्ट रूपमा बुझ्नुपर्ने कुरा हो। तैँले आफूलाई सधैँ सोधिराखेको हुन सक्छस्, “के यहाँ मैले जे गरिरहेको छु सो परमेश्‍वरलाई थाहा छ? के मैले अहिले जे सोचिरहेको छु सो उहाँलाई थाहा छ? शायद उहाँलाई थाहा छ, शायद उहाँलाई थाहा छैन।” यदि तैँले परमेश्‍वरलाई पछ्याउँदै र परमेश्‍वरमा विश्‍वास गर्दै तर उहाँको काम र उहाँको अस्तित्वको बारेमा शङ्का गर्दै यस प्रकारको दृष्टिकोण अपनाउँछस् भने ढिलो-चाँडो यस्तो दिन आउनेछ जुन दिन तैँले उहाँलाई रिस उठाउनेछस्, किनकि तँ अघिदेखि नै डरलाग्दो भीरको छेउमा हिँडिरहेको हुन्छस्। मैले धेरैलाई देखेको छु जो वर्षौंदेखि परमेश्‍वरमा विश्‍वास गर्दै आएका छन् तैपनि तिनीहरूले सत्यताको वास्तविकतालाई हासिल गरेका छैनन्, तिनीहरूले परमेश्‍वरको इच्छालाई बुझ्ने कुरा त परै जाओस्। यस्ता मानिसहरूले आफ्नो जीवन र कदमा कुनै प्रगति गर्दैनन् र तिनीहरूले केवल सबैभन्दा सतही धार्मिक सिद्धान्तहरूलाई मात्र पालन गर्छन्। यस्तो हुन्छ किनभने त्यस्ता मानिसहरूले परमेश्‍वरका वचनहरू आफै जीवन हुन् भनेर कहिल्यै पनि मानेका हुँदैनन् र तिनीहरूले उहाँको अस्तित्वलाई कहिल्यै पनि सामना गरेका र स्वीकार गरेका हुँदैनन्। के तँ ठान्छस् त्यस्ता मानिसहरूलाई देख्दा परमेश्‍वर खुशीले गद-गद बन्‍नुहुन्छ? के तिनीहरूले उहाँलाई सान्त्वना दिन्छन्? यसरी मानिसहरूले परमेश्‍वरमा जे-जसरी विश्‍वास गर्छन् त्यसले तिनीहरूको नियतिलाई निर्धारण गर्छ। मानिसहरूले कसरी परमेश्‍वरको खोजी गर्छन् र तिनीहरू कसरी परमेश्‍वरकहाँ जान्छन् भन्ने विषयमा, मानिसहरूका आचरण प्राथमिक महत्त्वका हुन्छन्। परमेश्‍वरलाई उहाँ केवल तेरो टाउकोको पछाडि उडिरहने रित्तो हावाको पोको हो जस्तै गरेर बेवास्ता नगर्नू; तैँले विश्‍वास गर्ने परमेश्‍वरलाई सधैँ जीवित परमेश्‍वर, एक वास्तविक परमेश्‍वरको रूपमा सोच्नू। उहाँ माथि तेस्रो स्वर्गमा केही काम नभएर त्यत्तिकै बसेर समय बिताउँदै हुनुहुन्न। बरु, उहाँले त निरन्तर रूपमा हरेक व्यक्तिको हृदयभित्र हेरिरहनुभएको छ, तिमीहरू के गर्न लागेका छौ भनी अवलोकन गरिरहनुभएको छ, तिमीहरूका सानाभन्दा साना हरेक शब्द अनि सानाभन्दा साना हरेक कर्मलाई नियालिरहनुभएको छ, तैँले कसरी व्यवहार गर्छस् भनी नियालिरहनुभएको छ र उहाँप्रति तेरो मनोवृत्ति कस्तो छ भनी हेरिरहनुभएको छ। तँ आफूले आफूलाई परमेश्‍वरसमक्ष समर्पित गर्न इच्छुक भए पनि नभए पनि तेरा सबै व्यवहारहरू र तेरा भित्री सोचहरू र विचारहरू उहाँ समक्ष उदाङ्गो हुन्छन् र उहाँद्वारा हेरिएका हुन्छन्। तेरो व्यवहारको कारण, तेरा कर्महरूको कारण र उहाँप्रतिको तेरो आचरणको कारण, तेरो बारेमा परमेश्‍वरको राय र तँप्रतिको उहाँको आचरण निरन्तर परिवर्तन भइरहेको हुन्छ। म केही मानिसहरूलाई केही सल्लाह दिन चाहन्छु: उहाँ तँमा आशक्त हुनुपर्छ झैँ गरी, उहाँले तँलाई कहिल्यै छाड्न सक्नुहुन्न झैँ गरी, अनि तँप्रतिको उहाँको आचरण अटल रहेको र त्यो कहिल्यै परिवर्तन नै हुँदैन झैँ गरी, परमेश्‍वरको हातमा आफूलाई शिशु झैँ नराख्, अनि म तिमीहरूलाई सपना देख्न छोड्नू भनेर पनि सल्लाह दिन्छु। हरेक व्यक्तिप्रति व्यवहार गर्ने कुरामा परमेश्‍वर धर्मी हुनुहुन्छ, मानिसहरूलाई जित्ने र मुक्ति दिने कामको बारेको उहाँको विधिमा उहाँ इमान्दार हुनुहुन्छ। यो उहाँको व्यवस्थापन हो। उहाँले हरेक व्यक्तिलाई गम्भीरताका साथ व्यवहार गर्नुहुन्छ, उहाँले खेलाइने पाल्तु जन्तुलाई जस्तो व्यवहार गर्नुहुन्न। मानवप्रतिको परमेश्‍वरको प्रेम पुलपुलाउने वा बिगार्ने किसिमको हुँदैन, न त मानवजातिप्रतिको उहाँको कृपा र सहनशीलता नै आशक्तिपनयुक्त र अविवेकपूर्ण हुन्छन्। यसको विपरीत, मानवप्रतिको परमेश्‍वरको प्रेममा जीवनलाई चाहने, दया गर्ने र आदर गर्ने कुराहरू पर्छन्; उहाँको कृपा र सहनशीलताले तिनीहरूप्रतिको उहाँका अपेक्षाहरू व्यक्त गर्छन् र तिनीहरू मानवजातिलाई बाँच्नको लागि आवश्यक पर्ने कुराहरू हुन्। परमेश्‍वर जीवित हुनुहुन्छ र परमेश्‍वर वास्तविक रूपमै अस्तित्वमा हुनुहुन्छ; मानवजातिप्रतिको उहाँको आचरण सिद्धान्तमा आधारित छ, यो बिलकुलै पनि कट्टरपन्थी नियमहरूको सँगालो होइन, र यो परिवर्तन हुन सक्छ। मानवजातिप्रतिको उहाँका आशयहरू तिनीहरू उत्पन्न हुने परिस्थितिमा आधारित भएर अनि हरेक व्यक्तिको आचरण परिवर्तनसँगै क्रमिक रूपले परिवर्तन हुँदैछन् र समयसँगै रूपान्तरित हुँदैछन्। त्यसकारण, तैँले तेरो हृदयमा सम्पूर्ण स्पष्टताका साथ थाहा पाउनुपर्छ कि परमेश्‍वरको सार अपरिवर्तनीय छ, र उहाँको स्वभाव विभिन्न समयहरू र विभिन्न परिप्रेक्ष्यहरूमा बाहिर निस्कन्छ। तैँले यो कुरालाई गम्भीर कुरा हो भन्ने नठान्न सक्छस् र तैँले परमेश्‍वरले कसरी विभिन्न कुराहरू गर्नुहुन्छ भन्ने कुरा कल्पना गर्न आफ्नै व्यक्तिगत धारणाहरू प्रयोग गर्न सक्छस्। तथापि, केही समयहरू यस्ता हुन्छन् जुन बेला तेरो दृष्टिकोणको विपरीत ध्रुव चाहिँ सत्य हुन्छ र परमेश्‍वरलाई मापन गर्ने प्रयासमा तैँले तेरा आफ्नै व्यक्तिगत धारणाहरू प्रयोग गर्दै परमेश्‍वरलाई क्रोधित पारिसकेको हुन्छस्। यस्तो हुन्छ किनभने परमेश्‍वर तैँले सोचेको जस्तो गरी सञ्चालित हुनुहुन्न, न त तैँले भने जस्तो गरी नै उहाँले विभिन्न कुराहरूप्रति व्यवहार गर्नुहुन्छ। तसर्थ, म तँलाई तेरो वरिपरिका हरेक कुराहरू सामना गर्ने तरिकामा तँ सावधान र विवेकी हुनू अनि सबै कुराहरूमा परमेश्‍वरको मार्गमा हिँड्ने सिद्धान्त अर्थात् परमेश्‍वरको डर मान्ने अनि दुष्टताबाट अलग रहने सिद्धान्तको अनुसरण गर्न सिक्नू भनी स्मरण गराउँछु। तैँले परमेश्‍वरको इच्छा र परमेश्‍वरको आचरण सम्बन्धी कुराहरूको बारेमा दरिलो बुझाइ विकास गर्नुपर्छ, तैँले यी कुराहरू तँलाई सुनाउने अन्तर्ज्ञान पाएका मानिसहरू भेट्टाउनुपर्छ, र तैँले इमानदारीतापूर्वक खोजी गर्नुपर्छ। मनलाग्दो गरी उहाँको मूल्याङ्कन गर्दै, मनोमानी ढङ्गले उहाँका बारेमा निष्कर्षहरू निकाल्दै र उहाँले पाउनुपर्ने सम्मान नदिई उहाँप्रति व्यवहार गर्दै—तेरो विश्‍वासको परमेश्‍वरलाई कठपुतलीको रूपमा नहेर्नू। परमेश्‍वरले तेरो लागि मुक्ति ल्याउँदै गर्दा र उहाँले तेरो परिणाम निर्धारण गर्दै गर्दा, उहाँले तँलाई कृपा, वा सहनशीलता, वा न्याय र सजाय प्रदान गर्न सक्नुहुन्छ, तर जुनसुकै अवस्था भए पनि, तँप्रतिको उहाँको मनोवृत्ति अपरिवर्तनीय हुँदैन। यो कुरा उहाँप्रतिको तेरो आफ्नै आचरणको साथसाथै उहाँको बारेमा तेरो बुझाइमा निर्भर हुन्छ। परमेश्‍वर सम्‍बन्धी तेरो ज्ञान वा बुझाइको एक पक्षको आधारमा सधैँको लागि उहाँको परिभाषा नगर्। मृतक परमेश्‍वरमा विश्‍वास नगर्; जीवित परमेश्‍वरमा विश्‍वास गर्। यो कुरा सम्झी! मैले यहाँ केही सत्यताहरूका बारेमा—तिमीहरूले सुन्न आवश्यक रहेका सत्यताहरूका बारेमा—बताएको भए तापनि तिमीहरूको वर्तमान स्थिति र वर्तमान कदको परिप्रेक्ष्यमा, तिमीहरूको उत्साहलाई नमार्नका खातिर म हालको लागि तिमीहरूलाई ठूला सर्तहरू राख्दिनँ। त्यसो गर्नाले तिमीहरूको हृदय उदासपनले भरिनेछ र तिमीहरूले परमेश्‍वरप्रति अत्यन्तै निराश अनुभव गर्नेछौ। यसको सट्टामा, म आशा गर्छु, तिमीहरूले भविष्यमा आउने बाटो हिँड्दा तिमीहरूको हृदयमा भएको परमेश्‍वरप्रतिको प्रेम र परमेश्‍वरप्रतिको आदरपूर्ण आचरणलाई प्रयोग गर्न सक्नेछौ। परमेश्‍वरमा कसरी विश्‍वास गर्ने भन्ने मामलामा उल्झनमा नपर; यसलाई सबैभन्दा ठूला सवालहरूमध्ये एकको रूपमा लेओ। यसलाई आफ्नो हृदयमा राख, यसलाई अभ्यास गर र यसलाई वास्तविक जीवनसँग जोड; केवल ओठे सेवा मात्र नगर—किनभने यो मामला भनेको जीवन र मृत्युको मामला हो र त्यस्तो मामला हो जसले तेरो गन्तव्य निर्धारण गर्छ। यसलाई हँसी-मजाक वा बच्चाको खेलौनाको रूपमा नलेओ! मैले आज यी वचनहरू तिमीहरूसँग बाँडेपछि, तिमीहरूका मस्तिष्कले कतिको बुझाइ प्राप्त गरेका छन् भनी म आफै सोचिरहेको छु। आज मैले जे कुरा भनेँ सोबारेमा के तिमीहरूलाई सोध्न मन लागेका कुनै प्रश्‍नहरू छन्?

यी विषयहरू अलि नयाँ छन् र तिमीहरूका दृष्टिकोणहरू, तिमीहरूका सामान्य खोजीहरू र तिमीहरूले प्राय ध्यान दिने कुराहरूभन्दा अलि फरक भए तापनि, मलाई लाग्छ एकपल्ट केही समयको लागि तिमीहरूले तिनलाई सङ्गति गरिसकेपछि तिमीहरूले यहाँ मैले भनेका सबै कुराहरूको बारेमा आम बुझाइ प्राप्त गर्नेछौ। यी विषयहरू सबै नै धेरै नयाँ र तिमीहरूले पहिले कहिल्यै नसोचेका छन्, त्यसैले म आशा गर्छु कि तिनले कुनै पनि प्रकारले तिमीहरूको बोझलाई बढाउनेछैन। मैले आज तिमीहरूलाई डर देखाउनको लागि यी वचनहरू बोलिरहेको छैन, न त मैले तिमीहरूसँग काम-कार्यवाही गर्ने तरिकाको रूपमा नै तिनको प्रयोग गरिरहेको छु; बरु मेरो उद्देश्य त तिमीहरूलाई सत्यतासम्बन्धी वास्तविक तथ्यहरू बुझ्न मद्दत गर्नु हो। मानवजाति र परमेश्‍वरको बीचमा दरार विद्यमान रहेकोले, मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरे तापनि, तिनीहरूले कहिल्यै पनि उहाँलाई बुझेका छैनन् वा उहाँको आचरणलाई चिनेका छैनन्। परमेश्‍वरको आचरणको बारेमा मानिसहरू आफ्ना सरोकारमा पनि कहिल्यै त्यति धेरै उत्साहित भएका छैनन्। बरु, तिनीहरूले त अन्धो भई विश्‍वास गर्दै अघि बढेका छन् र तिनीहरू परमेश्‍वरबारे तिनीहरूको ज्ञान र बुझाइमा लापरवाह रहेका छन्। त्यसकारण, तिमीहरूको लागि यी मामलाहरू स्पष्ट पार्न र तिमीहरूले विश्‍वास गरेका परमेश्‍वर कस्तो प्रकारको परमेश्‍वर हुनुहुन्छ साथै उहाँले के सोच्दै हुनुहुन्छ, विभिन्न प्रकारका मानिसहरूलाई व्यवहार गर्ने सम्बन्धमा उहाँको आचरण कस्तो हुन्छ, तिमीहरू उहाँका आवश्यक मापदण्डहरू पूरा गर्नबाट कति टाढा रहेका छौ, र तिमीहरूका कार्यहरू र उहाँले सर्त गर्नुभएका मापदण्डहरू बीचमा कति ठूलो भिन्नता रहेको छ भन्ने कुरा बुझ्न मद्दत गर्न म बाध्य भएको महसुस गर्छु। तिमीहरूलाई यी कुराहरूको जानकारी दिनुको लक्ष्य भनेको तिमीहरूलाई आफूले आफैलाई मापन गर्नको लागि नाप्ने गज दिनु हो ताकि तिमीहरूले तिमीहरू जुन बाटोमा छौ त्यो बाटोले कस्ता प्रकारका प्रतिफल निम्त्याएको छ, त्यो बाटोमा तिमीहरूले के कुरा प्राप्त गर्न सकेका छैनौ र कुन क्षेत्रमा तिमीहरूले संलग्नता जनाएकै छैनौ सो कुरा थाहा पाउनेछौ। तिमीहरूले तिमीहरूमाझ कुराकानी गर्दा प्रायः केही आम रूपमा छलफल गरिने विषयहरूको बारेमा कुरा गर्छौ जुन क्षेत्रको हिसाबमा एकदमै सङ्कुचित र विषयवस्तुको हिसाबमा एकदमै सतही हुन्छन्। तिमीहरूले छलफल गर्ने कुरा र परमेश्‍वरका अभिप्रायहरूको बीचमा साथसाथै तिमीहरूका छलफलहरू र परमेश्‍वरका सर्तका क्षेत्र र मापदण्डहरू बीचमा दूरी, दरार छ। यसरी अघि बढ्दा, समयसँगै तिमीहरू परमेश्‍वरको मार्गबाट बरालिएर धेरै टाढा पुग्ने हुनसक्छ। तिमीहरूले केवल परमेश्‍वरका वर्तमान वाणीहरूलाई लिएर तिनलाई आराधनाका थोकहरू बनाउँदैछौ र तिनलाई धार्मिक विधि र नियमहरूको रूपमा हेर्दैछौ। तिमीहरूले गरिरहेको सबै यही हो! वास्तविक तथ्यमा, परमेश्‍वरको लागि तिमीहरूको हृदयमा कुनै स्थान नै छैन र उहाँले कहिल्यै पनि तिमीहरूको हृदय साँचो रूपमा प्राप्त गर्नुभएको छैन। केही मानिसहरूले सोच्छन्, परमेश्‍वरलाई चिन्नु एकदमै गाह्रो छ र यही नै सत्यता हो। यो गाह्रो छ! यदि मानिसहरूलाई बाह्य रूपमा तिनीहरूको कर्तव्य निर्वाह गर्न र काम पूरा गर्न, र कठिन परिश्रम गर्न लगाइयो भने तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्न एकदमै सजिलो हुन्छ भन्ने ठान्नेछन् किनभने ती सबै कुराहरू मानव क्षमताको क्षेत्रभित्र पर्छन्। तथापि, जब परमेश्‍वरका अभिप्रायहरू र मानवजातिप्रति उहाँको आचरणतर्फ विषय परिवर्तन हुन्छ, तब हरेक व्यक्तिको दृष्टिकोणमा परिस्थिति अलि अप्ठ्यारो बन्छ। किनभने यसमा सत्यताबारे मानिसहरूको बुझाइ र वास्तविकतामा तिनीहरूको प्रवेश संलग्न हुन्छ, त्यसैले अवश्य पनि त्यसमा केही हदसम्म अप्ठ्यारो त हुन्छ नै! तैपनि, तँ पहिलो ढोकाबाट छिरिसकेपछि र तैले प्रवेश प्राप्त गर्न सुरु भएपछि, परिस्थिति क्रमिक रूपमा अलि सहज हुँदै जान्छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको स्वभाव अनि उहाँको कामले हासिल गर्ने नतिजाहरूलाई कसरी चिन्ने

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्