परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १३०

5 जुलाई 2021

ख्याति र सम्पत्तिको खोजीमा बिताएको जीवनले व्यक्तिलाई मृत्युको मुखमा बिलखबन्दमा पार्छ

आफ्‍नो नाममा केही पनि नलिई आएको एकलो आत्माले सृष्टिकर्ताको सार्वभौमिकता र पूर्वनिर्धारित गन्तव्यको कारण बाबुआमा र परिवार, मानवजातिको सदस्य बन्‍ने, मानव जीवन अनुभव गर्ने र संसारलाई देख्‍ने मौका पाउँछ। यो आत्माले सृष्टिकर्ताको सार्वभौमिकताको अनुभव गर्ने, सृष्टिकर्ताको सृष्टिको आश्‍चर्यपनलाई जान्‍ने, अनि, योभन्दा पनि बढी, सृष्टिकर्ताको अख्तियारलाई जान्‍ने र त्यसको अधीनमा रहने मौका पनि प्राप्त गर्छ। तैपनि धेरैजसो मानिसहरूले वास्तविक रूपमा यो दुर्लभ र क्षणिक मौकाको फाइदा उठाउँदैनन्। व्यक्तिले आफ्‍नो जीवनभरिको ऊर्जा नियतिको विरुद्ध युद्ध गर्दै रित्याउँछ, आफ्‍नो सम्पूर्ण समय परिवारको पालनपोषण गर्न अनि धन र मान-सम्‍मानको बीचमा यता र उता दौडधूप गर्नमा व्यस्त रहनको लागि नै खर्च गर्छ। मानिसहरूले बहुमूल्य ठान्‍ने कुराहरू परिवार, सम्पत्ति, र ख्याति हुन्, अनि तिनीहरूले यी कुराहरूलाई जीवनको सबैभन्दा बहुमूल्य कुराहरूका रूपमा लिन्छन्। सबै मानिसहरूले आफ्‍नो नियतिको बारेमा गुनासो गर्छन्, तैपनि तिनीहरूले जाँच गर्न र बुझ्‍न अत्यन्तै महत्त्वपूर्ण रहेका कुराहरू अर्थात मानिस किन जीवित छ, मानिस कसरी जिउनुपर्छ, जीवनको मूल्य र अर्थ के हो भन्नेजस्ता कुराहहरूलाई आफ्‍नो मनबाट पछाडि धकेल्छन्। तिनीहरू जति धेरै बाँचे पनि, तिनीहरूको जवानी उडेर गइञ्‍जेल अनि तिनीहरूको कपाल फुलेर अनुहार चाउरी परुञ्‍जेल, तिनीहरूले आफ्‍नो सम्पूर्ण जीवन ख्याति र सम्पत्ति कमाउनको लागि दौडधूप गर्दै बिताउँछन्। ख्याति र सम्पत्तिले व्यक्तिलाई वृद्धावस्थाबाट बचाउन सक्दैन, पैसाले तिनीहरूको हृदयको रित्तोपनलाई भर्न सक्दैन, जन्‍म, वृद्धावस्था, बिरामी अनि मृत्युको नियमबाट कसैलाई पनि छूट छैन, नियतिले साँचिराखेको कुराबाट कोही पनि उम्‍कन सक्दैन भन्‍ने नदेखुञ्‍जेल तिनीहरू यसरी नै जिइरहन्छन्। जीवनको अन्तिम विन्दुको सामना गर्न बाध्य भएपछि मात्रै तिनीहरूले साँचो रूपमा बुझ्‍छन्: व्यक्तिसँग धेरै धन र व्यापक सम्पत्ति भए पनि, व्यक्ति सौभाग्यशाली र उच्‍च ओहोदाको भए पनि ऊ मृत्युबाट उम्‍कन सक्दैन, बरु उसले त उसको पहिलेकै स्थिति अर्थात् आफ्‍नो नाममा केही पनि नभएको एकलो आत्माको स्थितिमा फर्कनुपर्छ। जब मानिसहरूको बाबुआमा हुन्छन्, तब तिनीहरूले तिनीहरूका बाबुआमा सबै थोक हुन् भन्‍ने विश्‍वास गर्छन्; जब मानिसहरूसँग सम्पत्ति हुन्छ, तब तिनीहरू पैसा व्यक्तिको मुख्य आधार हो, व्यक्ति जिउने माध्यम यही हो भन्‍ने ठान्छन्; जब मानिसहरूसँग प्रतिष्ठा हुन्छ, तब तिनीहरूले यसलाई दह्रिलो गरी पक्रिराख्छन् अनि यसको खातिर आफ्‍नो ज्यान जोखिममा पार्छन्। यो संसारलाई छोडेर जान लागेपछि मात्रै मानिसहरूले महससु गर्छन् कि तिनीहरूले जुन कुराहरूको खोजी गर्दै आफ्‍नो जीवन बिताए ती क्षणिक बादलबाहेक केही पनि होइनन्, तिनीहरूले ती कुनै पनि कुरालाई पक्रिरहन सक्दैनन्, तिनीहरूले ती कुनै पनि कुरालाई आफूसँग लैजान सक्दैनन्, तिनीहरूलाई तीमध्ये कुनै पनि कुराले मृत्युबाट छूट दिलाउन सक्दैन, तीमध्ये कुनै पनि कुराले एकलो आत्मालाई यसको फिर्ती यात्रामा साथ वा प्रेरणा दिन सक्दैन; सबैभन्दा मुख्य कुरा त, यीमध्ये कुनै पनि कुराले व्यक्तिलाई बचाउन र तिनीहरूलाई मृत्यु नाघेर जान सक्‍ने तुल्याउँदैन। व्यक्तिले भौतिक संसारमा प्राप्त गर्ने ख्याति र सम्पत्तिले अस्थायी सन्तुष्टि, क्षणिक सुख, सहजताको झूटो आभास दिन्छ; यस प्रक्रियामा, तिनको कारण व्यक्तिले आफ्‍नो बाटो गुमाउँछ। त्यसकारण, मानवजातिको विशाल समुद्रमा, हृदयको शान्ति, सान्त्वना, र सौहार्दताको तृष्‍णा गर्दै चहलपहल गर्ने क्रममा मानिसहरूलाई एकपछि अर्को छालले पुर्दै जान्छ। जब मानिसहरूले अहिलेसम्‍म आफूले बुझ्‍नुपर्ने सबैभन्दा महत्त्वपूर्ण प्रश्‍नहरूको उत्तर पत्ता लगाउन बाँकी हुन्छ—तिनीहरू कहाँबाट आए, तिनीहरू किन जीवित छन्, तिनीहरू कहाँ जाँदैछन्, आदि इत्यादि—तब तिनीहरू ख्याति र सम्पत्तिको लोभमा पर्छन्, त्यसद्वारा तिनीहरू भ्रममा पर्छन् र त्यसैको नियन्त्रणमा हुन्छन्, अनि अपरिवर्तनीय रूपले हराउँछन्। समय उडेर जान्छ; आँखा झिमिक्‍क गर्दा वर्षौं बितेर गइसकेको हुन्छ, अनि व्यक्तिले महसुस गर्दासम्म उसले आफ्‍नो जीवनका उत्कृष्ट वर्षहरूलाई बिदा गरिसकेको हुन्छ। जब व्यक्ति संसारबाट बिदा हुन लागेको हुन्छ, तब क्रमिक रूपमा उसले संसारका हरेक कुरा उडेर गइरहेको, कुनै बेला आफ्ना रहेका सम्पत्तिहरू अबउप्रान्त पक्रिरहन नसक्ने महसुस गर्छ; त्यसपछि उसले कुनै पनि व्यक्ति आफ्‍नो नाममा केही पनि नलिई संसारमा भर्खरै आइपुगेको बिलौना गर्ने शिशु जस्तै हो भन्‍ने कुरालाई साँचो रूपमा बुझ्छ। यस विन्दुमा, व्यक्ति उसले जीवनमा के गरेको छ, जिउँदो हुनुको मूल्य के हो, यसको अर्थ के हो, व्यक्ति किन संसारमा आउँछ भन्‍ने कुरालाई गहन रूपमा सोच्‍न बाध्य हुन्छ। अनि यस विन्दुमा व्यक्तिले साँच्‍चै अर्को जीवन छ कि छैन, स्वर्ग साँच्‍चै अस्तित्वमा छ कि छैन, वास्तवमा दण्ड हुन्छ कि हुँदैन भन्‍ने कुरालाई अझै बढी जान्‍न चाहन्छ…। व्यक्ति मृत्युको जति नजिक पुग्छ, जीवन वास्तवमा के हो भन्‍ने बारेमा उसले त्यति नै बढी बुझ्न चाहन्छ; व्यक्ति मृत्युको जति नजिक पुग्छ, उसको हृदय त्यति नै रित्तो देखिन्छ; व्यक्ति मृत्युको जति नजिक पुग्छ, उसले त्यति नै बढी विवशताको महसुस गर्छ; अनि त्यसरी नै प्रतिदिन मृत्युसम्‍बन्धी उसको डर पनि बढ्दै जान्छ। मानिसहरू मृत्युको नजिक जाने क्रममा तिनीहरूमा त्यस्ता भावनाहरू प्रकट हुनुका मुख्य दुई कारण छन्: पहिलो, तिनीहरूले तिनीहरूको जीवन निर्भर रहेको ख्याति र सम्पत्ति गुमाउन लागेका हुन्छन्, तिनीहरूले संसारमा देख्‍न सकिने सबै कुरालाई छोडेर जान लागेका हुन्छन्; अनि दोस्रो, तिनीहरूले अपरिचित, रहस्यमय, अज्ञात संसारलाई एकलै सामना गर्न लागेका हुन्छन्, जहाँ पाइला टेक्‍न तिनीहरू डराउँछन्, जहाँ तिनीहरूको कुनै पनि प्रियजन र सहयोगको आधार छैन। यी दुई कारणले गर्दा, मृत्युको सामना गर्ने हरेकले असहज महसुस गर्छन्, आत्तिन्छन् र विवशताको अनुभूति गर्छन्, जसको अनुभव तिनीहरूले पहिले कहिल्यै गरेका हुँदैनन्। कुनै व्यक्ति वास्तवमा यस विन्दुमा आइपुगेपछि मात्रै तिनीहरूले महसुस गर्छन् कि जब व्यक्तिले पृथ्वीमा पाइला टेक्छ, उसले बुझ्‍नुपर्ने पहिलो कुरा भनेको मानवजाति कहाँबाट आउँछ, मानिसहरू किन जीवित छन्, मानव नियति कसले नियन्त्रण गर्छ, र मानव अस्तित्वको लागि कसले भरणपोषण गर्छ र यसमाथि कसको सार्वभौमिकता छ भन्‍ने हो। यो ज्ञान नै व्यक्ति जिउने साँचो माध्यम, मानव अस्तित्वको लागि अत्यावश्यक आधार हो—आफ्‍नो परिवारको कसरी भरणपोषण गर्ने वा ख्याति र सम्पत्ति कसरी हासिल गर्ने सो सिक्‍नु होइन, भीडबाट कसरी माथि उठ्ने सो सिक्‍नु अनि जीवनमा अझै बढी सम्‍पन्‍न जीवन कसरी जिउने सो सिक्‍नु होइन, कसरी उत्कृष्ट बन्ने र अरूसँग सफलतापूर्वक प्रतिस्पर्धा गर्ने भन्‍ने बारेमा सिक्‍ने कुरा हुने त परै जाओस्। मानिसहरूले आफ्‍नो जीवनभर जुन बाँच्‍ने सीपहरू सिकेर पोख्त भएका हुन्छन् ती सीपहरूले प्रशस्त भौतिक सहजताहरू प्रदान गर्ने भए पनि, तिनले व्यक्तिको हृदयमा कहिल्यै पनि साँचो शान्ति र प्रेरणा दिँदैनन्, बरु तिनले त मानिसहरूलाई सधैँ आफ्‍नो दिशा गुमाउने, आफैलाई नियन्त्रण गर्न कठिन गराउने, अनि जीवनको अर्थबारे सिक्‍ने हरेक मौकालाई गुमाउने तुल्याउँछ; बाँच्‍नेसम्‍बन्धी यी सीपहरूले उपयुक्त रूपमा मृत्युको सामना कसरी गर्ने भन्‍नेबारेमा भित्री चिन्ता पैदा गर्छ। मानिसहरूको जीवन यसरी बरबाद हुन्छन्। हरेक व्यक्तिलाई जीवनभरिको लागि उहाँको सार्वभौमिकताको अनुभव गर्न र त्यसलाई जान्‍ने मौका दिएर सृष्टिकर्ताले हरेक व्यक्तिलाई निष्पक्ष व्यवहार गर्नुहुन्छ, तैपनि मृत्यु नजिक आएपछि मात्रै, यसको कालो छाया देखिएपछि मात्रै व्यक्तिले ज्योति देख्‍न थाल्छ—अनि त्यो बेलासम्‍म ढीला भइसकेको हुन्छ!

मानिसहरूले पैसा र ख्यातिको पछि दौडेरै आफ्‍नो जीवन बिताउँछन्; तिनीहरूले यी खोक्रा कुराहरूलाई जीवनको एउटै मात्र आधार ठानेर यसरी पक्रन्छन् कि मानौं ती पाएपछि तिनीहरूले मृत्युबाट छूट पाएर बाँचिरहन सक्छन्। तर तिनीहरूले तिनीहरू आफू मर्न लागेपछि मात्रै यी कुराहरू तिनीहरूबाट कति टाढा छन्, मृत्युको सामु तिनीहरू कति कमजोर छन्, तिनीहरू कति सजिलै चकनाचूर हुन्छन्, जाने ठाउँ कतै नभएकाले तिनीहरू कति एकलो र विवश छन् भन्‍ने कुरा महसुस गर्छन्। तिनीहरूले पैसा वा ख्यातिले जीवन किन्‍न सकिँदैन, व्यक्ति जति नै धनी भए पनि, तिनीहरूको मान-मर्यादा जति नै उच्च भए पनि, मृत्युको सामुन्ने सबै उत्तिकै गरिब र महत्त्वहीन छन् भन्‍ने महसुस गर्छन्। तिनीहरूले पैसाले जीवन किन्‍न सक्दैन, ख्यातिले मृत्यु मेट्न सक्दैन, न त पैसाले न त ख्यातिले व्यक्तिको आयु केवल एक मिनेट वा केवल एक सेकेन्ड नै बढाउन सक्छ भन्‍ने महसुस गर्छन्। मानिसहरूले जति धेरै यस्तो अनुभव गर्छन्, तिनीहरू जिउनको लागि त्यति नै तड्पिन्छन्; मानिसहरूले जति धेरै यस्तो अनुभव गर्छन्, तिनीहरू मृत्युको आगमनप्रति त्यति नै भयभीत हुन्छन्। यस विन्दुमा मात्रै तिनीहरूले महसुस गर्छन् कि तिनीहरूको जीवन तिनीहरूको स्वामित्वमा, तिनीहरूको नियन्त्रणमा छैन, र व्यक्ति जिउँछ कि मर्छ भन्‍ने बारेमा उसले कुनै भनाइ राख्न सक्दैन—यो सबै व्यक्तिको नियन्त्रणभन्दा बाहिरको कुरा हो।

— “वचन शरीरमा देखा पर्नुहुन्छ” बाट

थप हेर्नुहोस्

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्