परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १२४

4 जुलाई 2021

तेस्रो महत्वपूर्ण मोड: स्वतन्त्रता

व्यक्ति बाल्यकाल, किशोरावस्था पार गरेर, क्रमिक रूपमा र अपरिहार्य रूपमा परिपक्‍वतामा पुगेपछि, उसले लिने अर्को चरण भनेको आफ्‍नो जवान अवस्थाबाट अलग भएर, आफ्‍ना बाबुआमालाई बिदा गर्नु अनि अगाडिको बाटोलाई स्वतन्त्र वयस्कको रूपमा सामना गर्नु हो। यस विन्दुमा, वयस्कले सामना गर्नै पर्ने सबै मानिसहरू, घटना, अनि अन्य कुराहरूलाई तिनीहरूले सामना गर्नुपर्छ, तिनीहरूका अघि आफै प्रस्तुत हुँदै आउने तिनीहरूको नियतिका सबै भागहरूलाई सामना गर्नुपर्छ। व्यक्तिले पार गरेर जानैपर्ने तेस्रो समयविन्दु यही हो।

१. स्वतन्त्र बनिसकेपछि, व्यक्तिले सृष्टिकर्ताको सार्वभौमिकतालाई अनुभव गर्न थाल्छ

यदि व्यक्तिको जन्‍म र हुर्काइ व्यक्तिको नियतिको लागि जग बसाल्‍ने उसको जीवन यात्राको “तयारी अवधि” हो भने, व्यक्तिको स्वतन्त्रता उसको आफ्‍नो जीवनको नियतिसँगको उसको आत्मालापको सुरुवात हो। यदि व्यक्तिको जन्‍म र हुर्काइ तिनीहरूको जीवनको नियतिको लागि तिनीहरूले साँचेर राख्‍ने सम्पत्ति हो भने, व्यक्तिको स्वतन्त्रता उनीहरूले त्यो धन खर्चन सुरु गर्ने वा धन थप्‍न सुरु गर्ने समय हो। जब व्यक्तिले आफ्‍ना आमाबाबुलाई छोडेर स्वतन्त्र बन्छ, तब उसले सामना गर्ने सामाजिक अवस्थाहरू, र उसको निम्ति उपलब्‍ध हुने कामको प्रकार र जीविका दुवैलाई उसको नियतिले तय गर्छ र उसको आमाबाबुसँग यसको कुनै सम्‍बन्ध हुँदैन। कतिपय मानिसहरूले कलेजमा राम्रो विषय रोज्छन् अनि तिनीहरूले आफ्‍नो जीवन यात्रामा पहिलो विजयी छलाङ्ग मार्दै, दीक्षान्तपछि सन्तोषजनक जागिर पाउँछन्। कतिपय मानिसहरूले विभिन्‍न प्रकारका फरक-फरक सीप सिक्छन् र त्यसमा पोख्त हुन्छन् तैपनि तिनीहरूले आफ्‍नो निम्ति उपयुक्त जागिर कहिल्यै भेट्टाउँदैनन् वा आफूलाई उपयुक्त पद कहिल्यै पाउँदैनन्, जीविका प्राप्त गर्नु त परै जाओस्; तिनीहरूको जीवन यात्राको सुरुमा, तिनीहरू हरेक मोडमा ठक्‍कर खान्छन्, समस्याहरूद्वारा गाँजिएकोले तिनीहरूको भविष्य निराशाजनक बन्छ र तिनीहरूको जीवन अनिश्‍चित हुन्छ। कतिपय मानिसहरू आफ्‍ना अध्ययनमा लगनशील भएर लागिपर्छन्, तैपनि उच्‍च शिक्षा प्राप्त गर्ने हरेक मौकालाई लक्ष्यको नजिक पुगेर पनि गुमाउँछन्; सफलता हासिल गर्ने त तिनीहरूको नियतिमा नै लेखिएको छैन जस्तो देखिन्छ, तिनीहरूको जीवन यात्राको प्रारम्‍भिक आकाङ्क्षा हावामा बिलाएर जान्छ। अगाडिको बाटो सहज छ कि ढुङ्गैढुङ्गाको छ भन्‍ने कुरा थाहा नभएपछि, तिनीहरूले मानव नियति कति परिवर्तनशील हुँदो रहेछ भन्‍ने पहिलोपटक अनुभव गर्छन्, तसर्थ जीवनलाई अपेक्षा र भयको साथ लिन्छन्। कतिपय मानिसहरू त्यति शिक्षित नभए पनि, पुस्तकहरू लेख्छन् अनि निकै ख्याति कमाउँछन्; कतिपय मानिसहरू पूर्ण रूपमा असाक्षर भए पनि, व्यापारमा पैसा कमाउँछन् र आफ्‍नो लागि आफै कमाउन सक्छन्…। व्यक्तिले कुन पेशा अपनाउँछ, उसले कसरी दिनचार्य गर्छ: के यी कुराहरूमा मानिसहरूले असल कि खराब निर्णय गर्छन् भन्‍ने बारेमा तिनीहरूको कुनै नियन्त्रण हुन्छ र? के यी कुराहरू मानिसहरूको इच्‍छा र निर्णयहरूअनुरूप हुन्छन् र? धेरैजसो मानिसहरूका कामनाहरू यस्ता हुन्छन्: थोरै काम गरेर धेरै कमाइ गर्ने, घाम र झरीमा कडा परिश्रम नगर्ने, राम्रो लुगा लगाउने, जहाँसुकै भए पनि हाँसीखुशी बस्‍ने, अरूभन्दा माथि उठ्ने, र आफ्‍ना पुर्खाहरूका निम्ति इज्‍जत कमाउने। मानिसहरूले सिद्धताको आशा गर्छन्, तर जब तिनीहरूले आफ्‍नो जीवन यात्राका प्रथम पाइलाहरू चाल्छन्, तिनीहरूले बिस्तारै मानव नियति कति असिद्ध छ भन्‍ने महसुस गर्छन्, अनि कसैले आफ्‍नो भविष्यको लागि साहसिक योजनाहरू बनाउन सके पनि र उसले आँटिला कल्‍पनाहरू गर्न सके पनि, आफ्‍ना सपनाहरूलाई वास्तविक तुल्याउने क्षमता वा शक्ति कसैसँग छैन, र आफ्‍नो भविष्यलाई नियन्त्रण गर्ने हैसियत कसैसँग छैन भन्‍ने कुरालाई साँचो रूपमा पहिलोपटक बुझ्छन्। व्यक्तिका सपनाहरू अनि उसले सामना गर्नुपर्ने वास्तविकताहरूको बीचमा जहिल्यै पनि केही न केही दूरी हुन्छ; व्यक्तिले जे चाहेको हुन्छ त्यस्तो कहिल्यै हुँदैन, अनि त्यस्ता वास्तविकताहरूको सामना गरिसकेपछि, मानिसहरूले कहिल्यै पनि सन्तुष्टि वा तृप्ति हासिल गर्न सक्दैनन्। कतिपय मानिसहरूले आफ्‍नै नियति परिवर्तन गर्ने प्रयासस्वरूप, आफ्‍नो जीविका र भविष्यको खातिर, कल्‍पना गर्न सकिने कुनै पनि हदसम्‍म लागिपर्छन्, ठूला-ठूला प्रयासहरू गर्छन् र धेरै परित्यागहरू गर्छन्। तर अन्तिममा, तिनीहरूका आफ्‍नै कठिन परिश्रमद्वारा आफ्‍ना सपनाहरू र इच्‍छाहरूलाई पूरा गर्न सके भने पनि, तिनीहरूले आफ्‍नो नियति कहिल्यै परिवर्तन गर्न सक्दैनन्, अनि तिनीहरूले जति धेरै दृढताको साथ प्रयास गरे पनि, नियतिले तिनीहरूका निम्ति जे छुट्याएर राखिदिएको छ त्योभन्दा बढी तिनीहरूले प्राप्त गर्न सक्दैनन्। क्षमता, बौद्धिकता, र इच्‍छाशक्ति जे-जस्तो भए पनि, नियतिको अगाडि मानिसहरू सबै उस्तै हुन्, जसले ठूलो र सानो, उच र नीच, श्रेष्ठ र तुच्छबीच कुनै भेदभाव गर्दैन। व्यक्तिले कुन पेशा अपनाउँछ, उसले बाँच्‍नको लागि के गर्छ, र उसले जीवनमा कति सम्पत्ति जम्मा गर्छ भन्ने कुरालाई उसका बाबुआमा, उसको प्रतिभा, उसका प्रयासहरू वा उसका महत्वाकांक्षाहरूले निर्धारित गर्दैनन्, ती कुरा त सृष्टिकर्ताले नै पूर्वनिर्धारित गर्नुहुन्छ।

२. आफ्‍ना बाबुआमालाई छोडेर जीवन-मञ्‍चमा उत्सुकताका साथ आफ्‍नो भूमिका खेल्‍न सुरु गर्नु

जब व्यक्ति परिपक्‍वतामा पुग्छ, ऊ आफ्‍ना बाबुआमालाई छोडेर आफै अघि बढ्न सक्छ, र यही विन्दुमा नै व्यक्तिले साँच्‍चै आफ्‍नो भूमिका निर्वाह गर्न सुरु गर्छ, बादल हट्छ अनि जीवनमा व्यक्तिको उद्देश्य बिस्तारै स्पष्ट हुँदै जान्छ। नाम मात्रको लागि, व्यक्ति आफ्‍नो बाबुआमासँग नजिकको सम्‍बन्धमा नै रहन्छ, तर आमाबाबुसँग व्यक्तिको जीवनको मिसन र उसले खेल्‍ने भूमिकाको कुनै सम्‍बन्ध नहुने भएकोले, वास्तविकतामा व्यक्ति क्रमिक रूपमा आत्मनिर्भर बन्दै जाँदा यो घनिष्ठ सम्‍बन्ध तोडिन्छ। जैविक दृष्टिकोणबाट हेर्दा, अवचेतन हिसाबले मानिसहरू आफ्‍ना बाबुआमामा आश्रित नभई बस्‍न सक्दैनन्, तर वस्तुगत रूपमा भन्दा, जब तिनीहरू पूर्ण रूपमा वृद्धि हुन्छन्, तिनीहरूको जीवन तिनीहरूका बाबुआमाको भन्दा पूर्ण रूपमा अलग हुन्छ र आफूले व्यक्तिगत रूपमा लिएका भूमिकाहरूलाई नै तिनीहरू निर्वाह गर्छन्। जन्‍म दिने र हुर्काउनेबाहेक, अभिभावकको रूपमा रहेको आमाबाबुको जिम्‍मेवारी भनेको तिनीहरूलाई हुर्कनको निम्ति औपचारिक वातावरण दिनु मात्रै हो, किनभने सृष्टिकर्ताको पूर्वनिर्धारित योजनाले बाहेक व्यक्तिको नियतिमा अरू केहीले पनि प्रभाव पार्दैन। आफ्‍नो भविष्य कस्तो हुनेछ भनेर कसैले पनि नियन्त्रण गर्न सक्दैन; धेरै पहिले अग्रिम रूपमा नै यसको पूर्वनिर्धारण गरिएको हुन्छ, र व्यक्तिको बाबुआमाले समेत उसको नियति परिवर्तन गर्न सक्दैन। नियतिको बारेमा भन्दा, हरेक व्यक्ति स्वतन्त्र हुन्छ, र हरेकको आ-आफ्‍नै नियति हुन्छ। त्यसैले, कसैको बाबुआमाले उसको जीवनको नियतिलाई रोक्‍न वा उसले जीवनमा खेल्‍ने भूमिकामा अलिकति पनि प्रभाव पार्न सक्दैन। के भन्‍न सकिन्छ भने, व्यक्तिले जुन परिवारमा जन्‍मिने र जुन वातावरणमा हुर्कने नियति ल्याएर आएको हुन्छ, त्यो जीवनमा व्यक्तिको मिसनलाई पूरा गर्ने पूर्वसर्त बाहेक केही पनि होइन। तिनीहरूले कुनै पनि हालतमा व्यक्तिको जीवनको नियतिलाई निर्धारित गर्दैनन् वा जुन प्रकारको नियतिमा व्यक्तिले आफ्‍नो मिसन पूरा गर्छ त्यसलाई निर्धारित गर्दैनन्। यसरी, जीवनमा व्यक्तिको मिसनलाई हासिल गर्नमा उसलाई उसका बाबुआमाले सहयोग गर्न सक्दैनन्, त्यसै गरी, कसैका आफन्तले व्यक्तिलाई उसको जीवनको भूमिका निर्वाह गर्न सहयोग गर्न सक्दैनन्। व्यक्तिले आफ्‍नो मिसन कसरी पूरा गर्छ र उसले कस्तो प्रकारको जिउने वातावरणमा आफ्‍नो भूमिका निर्वाह गर्छ त्यसलाई पूर्ण रूपमा व्यक्तिको जीवनको नियतिले नै निर्धारित गर्छ। अर्को शब्‍दमा भन्दा, अरू कुनै पनि वस्तुगत अवस्थाहरूले व्यक्तिको मिसनलाई प्रभाव पार्न सक्दैन, जसलाई सृष्टिकर्ताले नै पूर्वनिर्धारित गर्नुभएको हुन्छ। सबै मानिसहरू तिनीहरू हुर्केको वातावरणमा नै परिपक्‍व हुन्छन्; त्यसपछि, क्रमिक रूपमा, तिनीहरू जीवनको आफ्‍नै मार्गमा हिँड्न सुरु गर्छन् अनि सृष्टिकर्ताले तिनीहरूका लागि योजना गरिदिनुभएका नियतिहरूलाई पूरा गर्छन्। स्वाभाविक रूपमा, अनायासै, तिनीहरू मानवजातिको विशाल समुद्रमा मिसिन्छन् अनि तिनीहरूको आफ्‍नै जीवनका पदहरू धारण गर्छन्, जहाँ सृष्टिकर्ताको पूर्वनिर्धारित नियतिको खातिर, उहाँको सार्वभौमिकताको खातिर, तिनीहरूले सृष्टि गरिएका प्राणीहरूका रूपमा आफ्ना जिम्‍मेवारीहरूलाई पूरा गर्न थाल्छन्।

— “वचन शरीरमा देखा पर्नुहुन्छ” बाट

थप हेर्नुहोस्

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्