परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ११२

8 डिसेम्बर 2022

यहोवा परमेश्‍वरको चेतावनी निनवेवासीकहाँ पुग्छ

हामी योनाको पुस्तकको तेस्रो अध्यायको दोस्रो खण्डमा जाऔँ: “अनि योना एक दिनको यात्रा गरी सहरभित्र प्रवेश गर्न लाग्दा, तिनले उच्च स्वरमा भने, अबको चालीस दिनमा निनवेलाई नष्ट पारिनेछ।” यी वचन निनवेवासीलाई भन्‍नू भनी यहोवा परमेश्‍वरले योनालाई प्रत्यक्ष रूपमा दिनुभएका वचनहरू हुन्, त्यसकारण अवश्य नै, यहोवाले निनवेवासीलाई भन्‍न चाहनुभएका वचन यिनै हुन्। यी वचनले मानिसहरूलाई के बताउँछ भने, परमेश्‍वरले त्यस सहरका मानिसहरूलाई तिरस्कार गर्न र घृणा गर्न थाल्‍नुभएको थियो किनभने तिनीहरूको दुष्टता उहाँको नजरमा आएको थियो, त्यसकारण उहाँले त्यस सहरलाई नष्ट गर्न चाहनुहुन्थ्यो। तैपनि, परमेश्‍वरले त्यस सहरलाई नष्ट गर्नुभन्दा पहिले, निनवेवासीकहाँ एउटा घोषणा गर्दै हुनुहुन्थ्यो, साथै तिनीहरूलाई तिनीहरूको दुष्टताको निम्ति पश्‍चात्ताप गर्ने र नयाँ सुरुवात गर्ने मौका दिन चाहँदै हुनुहुन्थ्यो। यो अवसर चालीस दिनसम्‍म रहनेवाला थियो, त्योभन्दा बढी होइन। अर्को शब्‍दमा भन्दा, यदि चालीस दिनभित्र त्यस सहरका मानिसहरूले पश्‍चात्ताप गरेनन्, आफ्ना पापहरू स्वीकार गरेनन्, र तिनीहरू परमेश्‍वरको सामुन्ने भक्तिभावले लम्पसार परेनन् भने, परमेश्‍वरले त्यस सहरलाई सदोमलाई जस्तै नष्ट गर्नेवाला हुनुहुन्थ्यो। यहोवा परमेश्‍वरले निनवेका मानिसहरूलाई यही कुरा बताउन चाहनुभयो। स्पष्टै छ, यो त्यति सरल घोषणा थिएन। यसले यहोवा परमेश्‍वरको रिसलाई मात्रै व्यक्त गरेन, बरु यस सहरभित्र बसोबास गर्ने मानिसहरूको लागि एउटा गम्भीर चेतावनीको रूपमा काम गर्दै यसले निनवेवासीप्रतिको उहाँको मनोवृत्ति पनि व्यक्त गर्‍यो। यो चेतावनीले तिनीहरूलाई आफ्ना दुष्कर्महरूको कारण तिनीहरूले यहोवा परमेश्‍वरको घृणा बटुलेका छन् र यसले तुरुन्तै तिनीहरूमाथि विनाश ल्याउनेछ भन्‍ने कुरा बतायो। त्यसकारण, निनवे सहरको हरेक निवासीको जीवन निकट खतरामा परेको थियो।

यहोवा परमेश्‍वरको चेतावनीप्रति निनवेको र सदोमको प्रतिक्रियाबीच आकाश-पातालको भिन्नता

परास्त हुनु भनेको के हो? बोलीचालीको शब्‍दमा, यसको अर्थ अबउप्रान्त अस्तित्वमा नरहनु भन्‍ने हुन्छ। तर कस्तो तरिकाले? कसले सम्पूर्ण सहरलाई परास्त गर्न सक्छ? अवश्‍य नै मानिसले त्यस्तो काम गर्नु असम्‍भव हुन्छ। निनवेका मानिसहरू त्यति मूर्ख थिएनन्; तिनीहरूले यो घोषणा सुन्‍नेबित्तिकै तिनीहरूको दिमागमा योजना फुरिहाल्यो। तिनीहरूले यो घोषणा परमेश्‍वरबाट आएको हो भनी थाहा पाइहाले, परमेश्‍वरले आफ्‍नो काम गर्दैहुनुहुन्छ भन्‍ने जानिहाले, र तिनीहरूको दुष्टताले यहोवा परमेश्‍वरलाई क्रोधित तुल्याएको छ र उहाँको रिस तिनीहरूमाथि पोखिएको छ, त्यसकारण तिनीहरू चाँडै नै सहरसँगै नष्ट हुनेवाला छन् भन्‍ने थाहा पाइहाले। यहोवा परमेश्‍वरको चेतावनी सुनेपछि त्यस सहरका मानिसहरूले कस्तो प्रतिक्रिया दिए त? राजादेखि सर्वसाधारणसम्‍मले कस्तो प्रतिक्रिया देखाए सोबारे बाइबलले विशेष विवरण दिएको छ। धर्मशास्‍त्रमा निम्‍न वचनहरू लेखिएका छन्: “त्यसैले निनवेका मानिसहरूले परमेश्‍वरको वचनमा विश्‍वास गरे र उपवासको घोषणा गरे र ठूलादेखि सानासम्मले भाङ्ग्रा लगाए। किनभने निनवेका राजाकहाँ समाचार आयो, र उनी आफ्नो सिंहासनबाट उठे, उनले आफ्नो पोसाक फुकाले र भाङ्ग्रा लगाए अनि खरानीमा बसे। अनि उनले निनवेभरि राजा र उनका भारदारहरूको आदेशद्वारा यसो भनी घोषणा गर्न र जारी गर्न लगाए, न त मानिस न पशु, न गाईवस्तु न भेडाबाख्राले नै कुनै कुरा चाखोस्: तिनीहरूले नखाऊन्, पानी नपिऊन्: तर मानिस र पशुले भाङ्ग्रा लगाऊन् र परमेश्‍वरलाई उच्‍च स्वरमा पुकारा गरून्: हो, तिनीहरू हरेक आ-आफ्ना दुष्ट मार्गबाट र तिनीहरूका हातमा भएका हिंसाबाट फर्कून्।”

यहोवा परमेश्‍वरको घोषणा सुनिसकेपछि, निनवेका मानिसहरूले सदोमका मानिसहरूको भन्दा ठीक विपरीत मनोवृत्ति देखाए—सदोमका मानिसहरूले एकपछि अर्को दुष्ट कार्य गर्दै खुलेआम परमेश्‍वरको विरोध गरेका थिए भने, यी वचनहरू सुनिसकेपछि निनवेवासीले यस विषयलाई बेवास्ता गरेनन्, न त विरोध नै गरे। बरु, तिनीहरूले परमेश्‍वरलाई विश्‍वास गरे र उपवासको घोषणा गरे। यहाँ “विश्‍वास गरे” भन्‍ने शब्‍दको अर्थ के हो? यो शब्‍दले विश्‍वास र समर्पणतालाई जनाउँछ। यदि यस शब्‍दलाई व्याख्या गर्नको लागि हामीले निनवेवासीको वास्तविक व्यवहारलाई नै प्रयोग गर्‍यौं भने, यसको अर्थ परमेश्‍वरले आफूले जे भन्‍नुभएको छ त्यो गर्न सक्‍नुहुन्छ र गर्नुहुन्छ भनी तिनीहरू विश्‍वास गर्थे, र तिनीहरू पश्‍चात्ताप गर्न तत्पर थिए भन्ने हुन्छ। के निनवेका मानिसहरू आउन लागेको विपत्तिप्रति डराए? तिनीहरूको हृदयमा डर पैदा गर्ने कुरा तिनीहरूको विश्‍वास नै थियो। त्यसो भए, निनवेवासीको विश्‍वास र डरलाई प्रमाणित गर्नको लागि हामी के कुराको प्रयोग गर्न सक्छौँ त? यो, बाइबलले भनेजस्तै छ: “… उपवासको घोषणा गरे र ठूलादेखि सानासम्मले भाङ्ग्रा लगाए।” भन्‍नुको अर्थ निनवेवासीले साँचो रूपमा विश्‍वास गर्थे, र यही विश्‍वासद्वारा डर आएको थियो, जसले तिनीहरूलाई पश्‍चात्ताप गर्ने र भाङ्ग्रा लगाउने तुल्यायो। तिनीहरूले पश्‍चात्ताप गर्न सुरु गरेका छन् भन्‍ने कुरालाई तिनीहरूले यसरी नै प्रस्तुत गरे। सदोमका मानिसहरूको ठीक विपरीत रूपमा, निनवेवासीले परमेश्‍वरको विरोध त गरेनन् नै, बरु तिनीहरूले त आफ्‍नो व्यवहार र कार्यद्वारा आफ्‍नो पश्‍चात्तापलाई स्पष्ट रूपमा पनि देखाए। अवश्य नै, यो कार्य सर्वसाधारणले मात्रै होइन, सारा निनवेका मानिसले गरे—राजा पनि यसको अपवाद थिएनन्।

निनवेका राजाको पश्‍चात्तापले यहोवा परमेश्‍वरको स्याबासी जित्छ

जब निनवेका राजाले यो खबर सुने, तिनी आफ्‍नो सिंहासनबाट उठे, आफ्‍नो वस्‍त्र फुकाए, भाङ्ग्रा लगाए र खरानीमा बसे। त्यसपछि उनले सहरको कसैलाई पनि केही कुरा चाख्‍ने अनुमति छैन, र कुनै पनि भेडा, गोरु वा अरू कुनै पनि चौपायालाई चर्ने वा पानी पिउने अनुमति छैन भनेर घोषणा गरे। मानिस र चौपाया सबैले भाङ्ग्रा लगाउनुपर्नेथियो, र मानिसहरूले परमेश्‍वरसँग हृदयदेखि बिन्ती गर्नुपर्नेथियो। तिनीहरू प्रत्येकले आफ्ना दुष्ट मार्गहरूलाई छाड्नुपर्छ र आफ्ना हातका हिंसालाई त्याग्‍नुपर्छ भनेर पनि राजाले घोषणा गरे। यी श्रृंखलाबद्ध कार्यहरूबाट मूल्याङ्कन गर्दा, निनवेका राजाको हृदयमा साँचो पश्‍चात्ताप थियो भन्‍ने स्पष्ट हुन्छ। उनले गरेका श्रृंखलाबद्ध कार्यहरूले—आफ्‍नो सिंहासनबाट उठ्नु, लुगा फुकाल्नु, भाङ्ग्रा लगाउनु र खरानीमा बस्‍नुजस्ता कार्यहरूले—मानिसहरूलाई निनवेका राजाले आफ्‍नो राजकीय हैसियतलाई त्यागेर सर्वसाधारण मानिसहरूसँगै भाङ्ग्रा लगाइरहेका थिए भन्‍ने बताउँछ। भन्‍नुको अर्थ, यहोवा परमेश्‍वरको घोषणा सुनिसकेपछि, निनवेका राजाले आफ्‍नो दुष्ट मार्गलाई जारी राख्‍न आफ्‍नो राजकीय पदलाई ओगटिरहेनन् वा आफ्ना हातका हिंसालाई जारी राख्‍ने कार्य गरेनन्; बरु, तिनले आफ्‍नो अख्‍तियारलाई पन्छाए र यहोवा परमेश्‍वरको अघि पश्‍चात्ताप गरे। यस क्षणमा निनवेका राजाले राजाको रूपमा पश्‍चात्ताप गरिरहेका थिएनन्; तिनी परमेश्‍वरको सामान्य प्रजाको रूपमा पश्‍चात्ताप गर्न र आफ्‍ना पापहरू स्वीकार गर्न परमेश्‍वरको सामुन्ने आएका थिए। यसको अलावा, उनले सारा सहरलाई आफूले जस्तै यहोवा परमेश्‍वरको सामुन्ने पश्‍चात्ताप गर्न र तिनीहरूका पापहरू स्वीकार गर्न लगाए; यसको साथै, तिनीसँग कसरी यसो गर्ने भन्‍नेबारे खास योजना थियो, जुन कुरालाई धर्मशास्‍त्रका खण्डहरूमा देखिन्छ: “न त मानिस न पशु, न गाईवस्तु न भेडाबाख्राले नै कुनै कुरा चाखोस्: तिनीहरूले नखाऊन्, पानी नपिऊन्: … र परमेश्‍वरलाई उच्‍च स्वरमा पुकारा गरून्: हो, तिनीहरू हरेक आ-आफ्ना दुष्ट मार्गबाट र तिनीहरूका हातमा भएका हिंसाबाट फर्कून्।” त्यस सहरका शासकका रूपमा, निनवेका राजासँग सर्वोच्‍च प्रतिष्ठा र शक्ति थियो, र उनले आफूले चाहेको जे पनि गर्न सक्थे। यहोवा परमेश्‍वरको घोषणा सुनिसकेपछि, उनले त्यस विषयलाई बेवास्ता गर्न वा एकलै पश्‍चात्ताप गर्न र आफ्‍ना पापहरू स्वीकार गर्न सक्थे; त्यस सहरका मानिसहरूले पश्‍चात्ताप गर्ने निर्णय गर्छन् कि गर्दैनन् भन्‍ने विषयलाई उनले पूर्ण रूपमा बेवास्ता गर्न सक्थे। तैपनि, निनवेको राजाले त्यसो गरेनन्। उनले आफ्‍नो सिंहासनबाट उठेर, भाङ्ग्रा लगाई खरानीमा बसेर पश्‍चात्ताप गरी यहोवा परमेश्‍वरको सामुन्ने आफ्‍ना पापहरू स्वीकार मात्रै गरेनन्, बरु उनले त त्यस सहरका सबै मानिस र चौपायालाई पनि त्यसै गर्ने आदेश दिए। तिनले मानिसहरूलाई “परमेश्‍वरलाई उच्‍च स्वरमा पुकारा गरून्” भन्ने आज्ञा पनि दिए। यो श्रृंखलाबद्ध कार्यहरूमार्फत, निनवेका राजाले शासकले पूरा गर्नुपर्ने कार्यलाई साँचो रूपमा पूरा गरे। तिनले गरेको श्रृंखलाबद्ध कार्य मानव इतिहासको कुनै पनि राजाले हासिल गर्नु कठिन थियो, र वास्तवमै, अरू कुनै पनि राजाले यी कुरा हासिल गरेनन्। यी कार्यलाई मानव इतिहासका अभूतपूर्व कार्यहरू भन्‍न सकिन्छ, र यी कार्य मानवजातिले स्मरण र अनुकरण गर्न योग्य छन्। मानवको उदय भएदेखि नै, हरेक राजाले आफ्‍ना प्रजालाई परमेश्‍वरको प्रतिरोध र विरोध गर्न नेतृत्व गरेका थिए। कसैले कहिल्यै पनि आफ्‍ना प्रजालाई आफ्नो दुष्टताको निम्ति छुटकाराको खोजी गर्न, यहोवा परमेश्‍वरबाट माफी प्राप्त गर्न र आउन लागेको दण्डबाट जोगिन परमेश्‍वरलाई बिन्ती गर्ने कार्यमा नेतृत्व गरेका थिएनन्। तैपनि, निनवेका राजाले आफ्‍ना प्रजालाई परमेश्‍वरकहाँ फर्कन, तिनीहरूका आ-आफ्‍ना दुष्ट मार्गलाई त्यागेर तिनीहरूका हातका हिंसालाई त्याग्‍न अगुवाइ गर्न सके। यसको साथै, उनले आफ्‍नो सिंहासन समेत पन्छाउन सके, परिणामस्वरूप, यहोवा परमेश्‍वरले आफ्‍नो मन परिवर्तन गर्नुभई खेद अनुभूति गर्नुभयो, आफ्नो क्रोधलाई त्याग्‍नुभयो, अनि त्यस सहरका मानिसहरूलाई विनाशबाट जोगाउँदै बाँच्‍न दिनुभयो। राजाका यी कार्यहरूलाई मानव इतिहासमा बिरलै हुने आश्‍चर्यकर्म नै भन्न सकिन्छ, र भ्रष्ट मानवजातिले पश्‍चात्ताप गरेको र परमेश्‍वरको अघि आफ्‍ना पापहरू स्वीकार गरेको नमुना उदाहरण समेत भन्‍न सकिन्छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय २

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्