परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १०६

3 जुलाई 2021

उत्पत्ति १९:१-११ अनि साँझमा दुई स्वर्गदूतहरू सदोममा आए; र लोत सदोमको प्रवेशद्वारमा बसेका थिए: तिनीहरूलाई देखेर लोत तिनीहरूलाई भेट्न खडा भए; अनि तिनले निहुरेर दण्डवत् गरे; अनि तिनले भने, हेर्नुहोस्, मेरा मालिकहरू, म बिन्ती गर्छु, आफ्ना दासको घरमा आउनुहोस् र सारा रात बिताउनुहोस्, र आफ्ना खुट्टाहरू धुनुहोस्, सबेरै उठ्नुहोस् र आफ्नो बाटो लाग्‍नुहोस्। तब तिनीहरूले भने, हुन्‍न; तर हामी सारा रात सडकमा गुजार्नेछौँ। अनि उनले तिनीहरूलाई धेरै कर लगाए; अनि तिनीहरू तिनीमाथि जाइलागे, र उनको घरमा पसे; र उनले तिनीहरूको निम्ति भोज तयार पारे, खमिर नहालेको रोटी बनाए र तिनीहरूले खाए। तर तिनीहरू सुत्‍नु अगाडि सहरका मानिसहरू, सदोमका वृद्ध र जवान चारैतिरका सबै मानिसहरू समेतले वरिपरिबाट घरलाई घेरे: अनि तिनीहरूले लोतलाई बोलाएर तिनलाई भने, आज राती तिम्रोमा आएका मानिसहरू कता छन्? तिनीहरूलाई हामीकहाँ ल्याऊ ताकि हामीले तिनीहरूलाई चिन्‍न सकौँ। अनि लोत बाहिर ढोकामा तिनीहरूकहाँ गए र आफ्नो पछाडिको ढोका बन्द गरे र भने, दाजुभाइहरू, म तपाईंहरूसँग बिन्ती गर्छु यति धेरै दुष्ट नबन्‍नुहोस्। हेर्नुहोस्, अहिले मसँग दुई छोरीहरू छन् जसले कुनै पनि पुरुषलाई चिनेका छैनन्; म बिन्ती गर्छु कि म तिनीहरूलाई बाहिर तपाईंहरूकहाँ ल्याउँछु र तपाईंहरूले आफ्ना आँखाले राम्रो लाग्‍ने काम तिनीहरूलाई गर्नुहोस्: यी मानिसहरूलाई मात्रै केही नगरिदिनुहोस्; किनकि तिनीहरू मेरो घरको छायामा आएका छन्। अनि तिनीहरूले भने, पछि हट्। र तिनीहरूले फेरि भने, यो मान्छे यहाँ बस्‍न आयो र ऊ हाम्रो न्यायाधीश बन्‍न खोज्छ: अब हामी तिनीहरूसँग भन्दा नराम्रो व्यवहार तँसँग गर्छौं। अनि तिनीहरूले त्यस मानिस, लोतलाई धकेले र ढोका फोर्नलाई नजिक आए। तर ती मानिसहरूले आफ्ना हात अगाडि बढाए र लोतलाई घरभित्र आफू भएका ठाउँमा ल्याए अनि ढोका बन्द गरे। अनि घरका ढोकामा भएका साना र ठूला मानिसहरूलाई अन्धा तुल्याइदिए: फलस्वरूप तिनीहरू ढोका फेला पार्न नसकेर थाके।

उत्पत्ति १९:२४-२५ त्यसपछि यहोवाले सदोम र गमोरामाथि स्वर्गबाट यहोवाबाट गन्धक र आगो बर्साउनुभयो; अनि उहाँले ती सहरहरू, सारा मैदान, ती सहरहरूका बासिन्दाहरू र जमिनमा उम्रेका सबै थोकलाई नष्ट गर्नुभयो।

परमेश्‍वरप्रति सदोमको निरन्तर शत्रुता र विरोधपछि, उहाँले यसलाई पूर्ण रूपमा मेटाउनुहुन्छ

मानव दृष्टिकोणबाट हेर्दा, सदोम मानिसको इच्‍छा र मानिसको दुष्टतालाई पूर्ण रूपमा सन्तुष्ट पार्न सक्‍ने सहर थियो। हरेक रात सङ्गीत र नृत्यद्वारा मनोहर र मोहित गराउने यसको सम्‍पन्‍नताले मानिसहरूलाई मोह र पागलपनमा पार्थ्यो। यसको दुष्टताले मानिसहरूको हृदयलाई बिगार्दै जान्थ्यो र तिनीहरूलाई मोहित पारी भ्रष्टतामा लैजान्थ्यो। यो अशुद्ध र दुष्ट आत्‍माहरूले व्याप्त सहर थियो; यो सहर पाप र हत्याले भरिएको थियो र हावा रक्ताम्मे, सडिएर दुर्गन्धित भएको थियो। यो यस्तो सहर थियो जसले मानिसहरूको आङ सिरिङ्ङ पार्थ्यो, यस्तो सहर जहाँ व्यक्ति सन्त्रासले खुम्चन्थ्यो। यो सहरका कसैले पनि—चाहे पुरुष हुन् वा स्त्री, जवान हुन् वा वृद्ध—साँचो मार्गको खोजी गर्दैनथिए; कसैले पनि ज्योतिको चाहना गर्दैनथिए वा पापबाट टाढा जाने इच्‍छा गर्दैनथिए। तिनीहरू शैतानको नियन्त्रण, शैतानको भ्रष्टता र छलको दबाबमा जिउँथे। तिनीहरूले आफ्‍नो मानवता गुमाएका थिए, तिनीहरूले आफ्‍नो समझ गुमाएका थिए, र तिनीहरूले मानिसको अस्तित्वको मूल लक्ष्यलाई गुमाएका थिए। तिनीहरूले परमेश्‍वरको विरोध गर्दै अनगिन्ती दुष्कर्महरू गरेका थिए; तिनीहरूले उहाँको अगुवाइलाई इन्कार गर्थे र उहाँको इच्‍छाको विरोध गर्थे। तिनीहरूका दुष्कर्महरूले नै यी मानिसहरूलाई, यो सहर र यसभित्रका हरेक जीवित प्राणीलाई एक-एक कदम गरी विनाशको मार्गमा लगिरहेको थियो।

यी दुई खण्डले परमेश्‍वरका दुई जना सेवक सहरमा आइपुगेपछि यिनीहरूप्रति सदोमका मानिसहरूको व्यवहारको विवरण दिएको तर ती मानिसहरूको भ्रष्टताको हदको बारेमा सारा विवरणहरू अभिलेख नगरेको भए तापनि, सदोमका मानिसहरू कति हदसम्‍म भ्रष्ट, दुष्ट र परमेश्‍वरका विरोधी थिए भनी प्रकट गर्ने एउटा सरल तथ्य छ। यसले यो सहरका मानिसहरूको साँचो रूप र सारलाई पनि खुलासा गर्छ। यी मानिसहरूले परमेश्‍वरका चेतावनीहरूलाई स्वीकार गर्न नमानेका मात्र होइन, तिनीहरूले त उहाँको दण्डको डर पनि मानेनन्। यसको विपरीत, तिनीहरूले परमेश्‍वरको रिसको गिल्‍ला गरे। तिनीहरूले अन्धाधुन्ध परमेश्‍वरको विरोध गरे। उहाँले जे गर्नुभए पनि वा जसरी गर्नुभए पनि, तिनीहरूको भ्रष्ट प्रकृति झन्-झन् तीव्र मात्रै हुँदै गयो, र तिनीहरूले बारम्‍बार परमेश्‍वरको विरोध गरे। सदोमका मानिसहरू परमेश्‍वरको अस्तित्व, उहाँको आगमन, उहाँको दण्ड, र त्योभन्दा पनि बढी उहाँका चेतावनीहरूप्रति शत्रुवत् थिए। तिनीहरू अत्यन्तै अहङ्कारी थिए। तिनीहरूले निल्‍न सकिने र हानि गर्न सकिने सबै मानिसहरूलाई निल्थे र हानि गर्थे, र तिनीहरूले परमेश्‍वरका सेवकहरूलाई पनि त्यस्तै व्यवहार गर्थे। सदोमका मानिसहरूले गरेका सारा दुष्कर्महरूको विषयमा कुरा गर्दा, परमेश्‍वरका सेवकहरूलाई हानि गर्ने कार्य त एउटा सानो झलक मात्रै थियो, र त्यसरी प्रकट भएको तिनीहरूको दुष्ट प्रकृति विशाल समुद्रको सानो थोपाजस्तो मात्रै थियो। त्यसकारण, परमेश्‍वरले तिनीहरूलाई आगोद्वारा नष्ट गर्ने निर्णय गर्नुभयो। परमेश्‍वरले बाढीको प्रयोग गर्नुभएन, न त उहाँले यस सहरलाई नष्ट गर्न आँधीबेहरी, भूकम्प, सुनामी, वा अरू कुनै तरिकाको नै प्रयोग गर्नुभयो। यस सहरलाई नष्ट गर्नको लागि परमेश्‍वरले आगोको प्रयोग गर्नुभएको तथ्यले के सङ्केत गर्‍यो? यसको अर्थ सहरको पूर्ण विनाश भयो भन्ने हो; यसको अर्थ सहर पृथ्वीबाट र अस्तित्वबाट पूर्ण रूपमा विलय भयो भन्‍ने हो। यहाँ, “विनाश” ले सहरको स्वरूप र संरचना वा बाहिरी स्वरूप विलय हुनुलाई मात्रै जनाउँदैन; यसको अर्थ पूर्ण रूपमा नष्ट गरिइसकेपछि, सहरभित्रका मानिसहरूको आत्मा पनि अस्तित्वमा रहेन भन्ने हुन्छ। सरल रूपमा भन्दा, त्यस सहरसँग सम्‍बन्धित सबै मानिसहरू, घटना र थोकहरू सबै नष्ट भए। त्यस सहरका मानिसहरूको निम्ति अर्को कुनै जीवन वा पुनर्जन्‍म हुनेवाला थिएन; परमेश्‍वरले तिनीहरूलाई उहाँको सृष्टिको मानवताबाट सारा अनन्तसम्‍मको लागि विलय गर्नुभएको थियो। आगोको प्रयोगले यस स्थानमा पापको अन्त्य भयो, र त्यहाँ पाप नियन्त्रित भयो भन्‍ने अर्थ दिन्छ; यो पाप अस्तित्वमा नरहने र नफैलनेवाला थियो। यसको अर्थ, शैतानको दुष्टताले यसको भरणपोषणको भूमि साथै बस्‍न र जिउन स्थान दिने समाधि स्थल गुमाएको थियो। परमेश्‍वर र शैतानको युद्धमा, परमेश्‍वरले आगोको प्रयोग गर्नु उहाँको विजयको छाप हो, ‍जसद्वारा शैतानलाई चिन्हांकित गरिन्छ। सदोमको विनाश मानिसलाई भ्रष्ट तुल्याउँदै र निल्दै परमेश्‍वरको विरोध गर्ने शैतानको महत्वाकांक्षाको एउटा ठूलो भूल हो, त्यसैगरी यो मानवजातिको विकास क्रममा मानिसले परमेश्‍वरको अगुवाइ इन्कार गरेको र आफैलाई पापकर्ममा डुबाएको त्यो समयको लाजको प्रतीक पनि हो। यसको साथै, यो परमेश्‍वरको धर्मी स्वभावको साँचो प्रकाशको विवरण हो।

जब परमेश्‍वरले स्वर्गबाट पठाउनुभएको आगोले सदोमलाई खरानीमा बदल्यो, तब यसको अर्थ “सदोम” नामको सहर, साथै सहरभित्रको सबै कुरा अस्तित्वबाट हट्यो भन्‍ने हुन्छ। यसलाई परमेश्‍वरको रिसले नष्ट गर्‍यो, यो परमेश्‍वरको क्रोध र प्रतापभित्र विलय भयो। परमेश्‍वरको धर्मी स्वभावको कारण, सदोमले यसको धर्मी दण्ड र यसको उचित अन्त्य प्राप्त गर्‍यो। सदोमको अस्तित्वको अन्त्य हुनुको कारण यसको दुष्टता थियो, र यस सहर वा यसमा बसोबास गरेका मानिसहरूमध्ये कसैलाई पनि वा यस सहरभित्र हुर्केको कुनै पनि प्राणीलाई फेरि कहिल्यै नहेर्ने परमेश्‍वरको इच्‍छाको कारणले पनि यसो भएको थियो। “यस सहरलाई फेरि कहिल्यै नहेर्ने” परमेश्‍वरको इच्‍छा उहाँको क्रोध, साथै उहाँको प्रताप पनि हो। परमेश्‍वरले यस सहरलाई जलाउनुभयो किनभने यसको दुष्टता र पापले उहाँमा यसप्रति रिस, घृणा र तिरस्कारको अनुभूति गरायो र यसलाई वा यसभित्रका कुनै पनि मानिसहरू वा जीवित प्राणीहरूलाई फेरि कहिल्यै नहेर्ने इच्‍छा जगायो। यो सहर डढेर खरानी मात्र बाँकी रहेपछि, यो परमेश्‍वरको नजरमा साँच्‍चै नै अस्तित्व विहीन बन्यो; यसको बारेमा रहेको उहाँको याद पनि गयो, हट्यो। यसको अर्थ के हो भने, स्वर्गबाट पठाइएको आगोले सारा सदोमलाई मात्रै नष्ट गरेन, न त यसले पापले भरिएका सहरका मानिसहरूलाई मात्रै नष्ट गर्‍यो, न त सहरभित्रका पापले कलङ्कित सबै कुराहरूलाई मात्रै नष्ट गर्‍यो; यी कुराहरूबाहेक, आगोले मानवजातिको दुष्टता र परमेश्‍वरको विरुद्धमा रहेको विरोधको यादलाई पनि नष्ट गर्‍यो। यो सहरलाई जलाउनु पछाडि परमेश्‍वरको उद्देश्य यही थियो।

यो मानवजाति अत्यन्तै भ्रष्ट बनेको थियो। यी मानिसहरूलाई परमेश्‍वर को हुनुहुन्छ वा तिनीहरू स्वयम्‌ कहाँबाट आएका थिए भन्‍ने थाहा थिएन। यदि तैँले तिनीहरूलाई परमेश्‍वरको बारेमा उल्‍लेख गर्थिस् भने, तिनीहरूले आक्रमण, मानहानि, र ईश्‍वर-निन्दा गर्नेथिए। परमेश्‍वरका सेवकहरू उहाँको चेतावनी फैलाउन आउनुहुँदा समेत, यी भ्रष्ट मानिसहरूले कुनै पश्‍चात्तापको सङ्केत नदेखाएको र तिनीहरूको दुष्ट व्यवहारलाई नत्यागेको मात्र होइन, बरु यसको विपरीत, तिनीहरूले त निर्धक्‍क भई परमेश्‍वरका सेवकहरूलाई हानि गरे। तिनीहरूले जे व्यक्त गरे र प्रकट गरे त्यो परमेश्‍वरप्रतिको तिनीहरूको चरम शत्रुवत् प्रकृति र सार थियो। हामी देख्न सक्छौँ कि परमेश्‍वरको विरुद्धमा यी भ्रष्ट मानिसहरूको विरोध जसरी सत्यताको बुझाइको कमीबाट आउने निन्दा वा गिल्‍ला मात्रै थिएन, त्यसरी नै यो तिनीहरूको भ्रष्ट स्वभावको प्रकाश मात्रै पनि थिएन। तिनीहरूको दुष्ट व्यवहारको कारण न त मूर्खता थियो न त अज्ञानता नै; तिनीहरू धोकामा परेकाले तिनीहरूले यस्तो कार्य गरेका थिएनन्, र अवश्य पनि तिनीहरूलाई बहकाइएकाले तिनीहरूले यसो गरेका थिएनन्। तिनीहरूको व्यवहार कुख्यात रूपमा परमेश्‍वरको विरुद्धमा गरिने निडर शत्रुताको कार्य, विरोध, र झगडाको स्तरमा पुगेको थियो। यसमा कुनै शङ्का छैन, यस प्रकारको मानव आचरणले परमेश्‍वरलाई क्रोधित तुल्याउनेवाला नै थियो, र यसले उहाँको स्वभावलाई क्रोधित तुल्याउनेछ—क्रोधित तुल्याउनै नहुने स्वभावलाई। त्यसकारण, परमेश्‍वरले प्रत्यक्ष र खुलेआम रूपमा उहाँको क्रोध र उहाँको प्रताप व्यक्त गर्नुभयो; यो उहाँको धर्मी स्वभावको साँचो प्रकाश थियो। पापले भरिपूर्ण यस्तो सहरको सामना गर्दा, परमेश्‍वरले यसलाई जतिसक्दो चाँडो नष्ट गर्ने, यसभित्रका मानिसहरू र तिनीहरूको सम्पूर्ण पापलाई सबैभन्दा पूर्ण तवरले नष्ट गर्ने, यस सहरका मानिसहरूलाई अस्तित्व विहीन तुल्याउने र यस ठाउँको पापलाई वृद्धि हुनबाट रोक्‍ने इच्‍छा गर्नुभयो। यस कार्यलाई सबैभन्दा छिटो र सबैभन्दा पूर्ण तवरले गर्ने तरिका भनेको यसलाई आगोले जलाउनु थियो। सदोमका मानिसहरूप्रतिको परमेश्‍वरको मनोवृत्ति परित्याग वा अवहेलना थिएन। बरु, उहाँले त यी मानिसहरूलाई दण्ड दिन, प्रहार गर्न, र पूर्ण रूपमा नष्ट गर्न आफ्‍नो क्रोध, प्रताप र अख्‍तियारको प्रयोग गर्नुभयो। तिनीहरूप्रतिको उहाँको मनोवृत्ति भौतिक विनाश गर्नु मात्रै थिएन बरु आत्माको विनाश, अनन्त विनाश गर्नु पनि थियो। परमेश्‍वरले “अस्तित्वबाट मेटिनु” भन्‍ने शब्‍दहरूद्वारा जे भन्‍न चाहनुहुन्छ त्यसको साँचो अर्थ यही हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय २

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्