परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ८५

14 जुलाई 2021

तेस्रो दिन, परमेश्‍वरको वचनले पृथ्वी र समुद्रलाई जन्‍म दिन्छ, र परमेश्‍वरको अख्‍तियारले संसारलाई जीवनले भरिपूर्ण तुल्याउँछ

उत्‍पत्ति १:९–११ को पहिलो वाक्यले यसो भन्छ: “अनि परमेश्‍वरले भन्‍नुभयो, वायुमण्डलमुनिको पानी एक ठाउँमा जम्मा होस् र सुक्खा भूमि देखा परोस्।” परमेश्‍वरले “वायुमण्डलमुनिको पानी एक ठाउँमा जम्मा होस् र सुक्खा भूमि देखा परोस्” भनी भन्‍नुभएपछि के-कस्ता परिवर्तनहरू आए? यो स्थानमा ज्योति र वायुमण्डल बाहेक के थियो? पवित्रशास्‍त्रमा यस्तो लेखिएको छ: “अनि परमेश्‍वरले सुक्खा भूमिलाई पृथ्वी; र एक ठाउँमा जम्मा भएको पानीलाई समुद्रहरू भन्‍नुभयो: अनि परमेश्‍वरले त्यो असल छ भन्‍ने देख्‍नुभयो।” भन्‍नुको अर्थ, त्यो स्थानमा अब भूमि र समुद्र थियो, र भूमि र समुद्र अलग गरिएको थियो। परमेश्‍वरको मुखबाट आएको आज्ञाद्वारा यी नयाँ कुराहरू देखा पर्‍यो, “अनि त्यस्तै भयो।” के यसो गर्ने क्रममा परमेश्‍वरले हतारमा गर्नुभयो भनेर पवित्रशास्‍त्रले व्याख्या गर्छ? के उहाँ शारीरिक परिश्रममा सहभागी हुनुभयो भनेर यसले व्याख्या गर्छ? त्यसो भए, परमेश्‍वरले कसरी यो गर्नुभयो त? परमेश्‍वरले कसरी यी नयाँ कुराहरू पैदा गराउनुभयो? स्पष्टै छ, यो सबै हासिल गर्न, यसको पूर्णता सृष्टि गर्नको लागि परमेश्‍वरले वचनहरू प्रयोग गर्नुभयो।

हामी यो अनुच्‍छेदको अन्तिम वाक्यलाई निरन्तरता दिऔं: “अनि परमेश्‍वरले भन्‍नुभयो, भूमिले घाँस उमारोस्, बीउ फलाउने बोट-बिरुवाहरू र आफ्नै प्रजातिका फल फलाउने बीउ भएका फलका रुखहरू पृथ्वीमा उमारोस्: अनि त्यस्तै भयो।” जब परमेश्‍वरले बोल्‍दैहुनुहुन्थ्यो, परमेश्‍वरका विचारहरूलाई पछ्याउँदै यी सबै कुराहरू अस्तित्वमा आए, र एकै क्षणमा, विभिन्‍न प्रकारका जीवनका स-साना रूपहरूले आ-आफ्‍ना शिर माटोबाट फुत्त-फुत्त निकालिरहेका थिए, र आफ्‍नो शरीरका अलि-अलि धूलो टकटक्याउनुभन्दा पहिले तिनीहरूले संसारप्रति शिर हल्‍लाउँदै र मुस्कुराउँदै एक-अर्कालाई उत्सुकताका साथ अभिवादन गरिरहेका थिए। तिनीहरूलाई उहाँले दिनुभएको जीवनको निम्ति तिनीहरूले सृष्टिकर्तालाई धन्यवाद दिए, र तिनीहरू यावत् थोकका भाग हुन्, र सृष्टिकर्ताको अख्‍तियारलाई प्रदर्शन गर्नको लागि तिनीहरूले आफ्‍नो जीवन समर्पित गर्नेछन् भनेर संसारलाई घोषणा गरे। परमेश्‍वरको वचन बोलिएपछि, भूमि हराभरा र हरियाली भयो, मानिसले उपभोग गर्न सक्‍ने सबै प्रकारका जडीबुटी जमिनबाट उम्री निस्के र जमिन फुटाएर निस्के, र पहाड र समथर जमिन रूखहरू र वनजङ्गलले भरिए…। जीवनको कुनै पनि नाम-निशानै नभएको यो बाँझो जमिन प्रशस्त घाँस-पात, जडीबुटी र रूख-बिरुवाले भरिए र हरियालीले ढकमक्‍क बन्यो…। घाँसको मीठो वासना र माटोको सुगन्ध हावामा फैलियो, र हावाको बहावसँगै वनस्पतिका श्रेणीहरूले क्रमैसँग सास फेर्न थाले, र वृद्धि हुने प्रक्रियालाई सुरु गरे। यसको साथै, परमेश्‍वरका वचनहरूको कारण र परमेश्‍वरका विचारहरूलाई पछ्याउँदै, सबै वनस्पतिले वृद्धि हुने, फुल्‍ने, फल फलाउने, र वृद्धि हुँदै जाने अनवरत जीवन चक्रलाई सुरु गरे। तिनीहरूले आ-आफ्‍नो जीवनको मार्गलाई पूर्ण रूपमा पालना गर्न थाले र सबै थोकको बीचमा आ-आफ्‍नो भूमिका निर्वाह गर्न थाले…। सृष्टिकर्ताकै वचनको कारण ती जन्‍मे, र जिए। तिनीहरूले सृष्टिकर्ताको कहिल्यै नटुङ्गिने बन्दोबस्‍त र पालनपोषण प्राप्त गर्थे, र सृष्टिकर्ताको अख्‍तियार र शक्तिलाई प्रदर्शन गर्नको लागि तिनीहरू भूमिको हरेक कुनामा दृढताको साथ सधैँ बाँच्थे, र सृष्टिकर्ताले तिनीहरूलाई दिनुभएको जीवन शक्ति तिनीहरूले सधैँ प्रदर्शन गर्थे …

सृष्टिकर्ताको जीवन असाधारण छ, उहाँका विचारहरू असाधारण छन्, र उहाँको अख्‍तियार असाधारण छ, त्यसकारण, जब उहाँका वचनहरू उच्‍चारण गरिए, यसको अन्तिम परिणाम “अनि त्यस्तै भयो।” भन्‍ने थियो। स्पष्टै छ, परमेश्‍वरले काम गर्नुहुँदा उहाँका आफ्‍नै हातले काम गर्नु आवश्यक छैन; उहाँले हुकुम गर्न आफ्‍ना विचारहरू र आदेश दिन उहाँका वचनहरू मात्रै प्रयोग गर्नुहुन्छ, र यसरी काम-कुराहरू हासिल गरिन्छन्। यो दिन, परमेश्‍वरले पानीहरूलाई एउटै ठाउँमा भेला गर्नुभयो, र सुक्खा जमिन देखा पर्न लगाउनुभयो, यसपछि परमेश्‍वरले भूमिबाट घाँस-पात उमार्नुभयो, र बीउहरू फलाउने जडीबुटी, फल फलाउने रूख-बिरुवा वृद्धि भए, अनि परमेश्‍वरले तिनीहरू प्रत्येकलाई तिनको प्रकारअनुसार वर्गीकरण गर्नुभयो, र प्रत्येकलाई आ-आफ्‍नै बीउ उत्पन्‍न गर्ने तुल्याउनुभयो। यी सबै नै परमेश्‍वरका विचारहरू र परमेश्‍वरको वचनका आज्ञाहरूअनुसार प्रकट भए, र एकपछि अर्को गर्दै यो नयाँ संसारमा ती प्रत्येक कुरा देखा परे।

उहाँले आफ्‍नो कामको आरम्‍भ गर्नुभन्दा पहिले नै, आफूले जे हासिल गर्ने अभिप्राय राख्‍नुभएको थियो त्यसको चित्र परमेश्‍वरको मनमा थियो, र यो चित्रको विषयवस्तुको बारेमा बोल्‍नको लागि आफ्‍नो मुख खोली यी कुराहरू हासिल गर्न जब परमेश्‍वर तयार हुनुभयो, परमेश्‍वरको अख्‍तियार र शक्तिको कारण सबै थोकमा परिवर्तन आउन थाल्यो। परमेश्‍वरले यो जसरी गर्नुभए पनि, वा उहाँले आफ्‍नो अख्‍तियारको प्रयोग जसरी गर्नुभएको भए पनि, परमेश्‍वरको योजनाअनुरूप र परमेश्‍वरका वचनहरूको कारण चरणबद्ध रूपमा सबै हासिल गरियो, र परमेश्‍वरकै वचनहरू र अख्‍तियारद्वारा एकपछि अर्को गर्दै, स्वर्ग र पृथ्वीको बीचमा परिवर्तनहरू आए। यी सबै परिवर्तन र घटनाहरूले सृष्टिकर्ताको अख्‍तियार, र सृष्टिकर्ताको जीवनको शक्तिको असाधारणपन र महान्‌ता प्रदर्शन गरे। उहाँका विचारहरू सरल विचारहरू, वा रित्तो चित्र होइनन्, तिनीहरू त जीवन शक्ति र असाधारण ऊर्जासहितका अख्तियार हुन्, र सबै थोकलाई परिवर्तन हुन, पुनर्जीवित हुन, नवीकरण हुन, र नष्ट हुन लगाउने शक्ति तिनै हुन्। यसैले, उहाँकै विचारहरूको कारणले गर्दा सबै थोक सुचारु हुन्छन्, यसको साथै उहाँको मुखका वचनहरूको कारणले यी सबै हासिल गरिन्छन् …

सबै थोक देखा पर्नुभन्दा पहिले, परमेश्‍वरका सोचहरूमा निकै पहिले नै पूर्ण योजना निर्मित भइसकेको थियो, र धेरै पहिले नै नयाँ संसारलाई हासिल गरिसकिएको थियो। तेस्रो दिन, भूमिमा अनेक किसिमका वनस्पति देखा परेको भए तापनि, यो संसारको सृष्टि गर्ने आफ्‍नो कार्यका चरणहरूलाई रोक्‍ने कुनै कारण परमेश्‍वरसँग थिएन; उहाँको अभिप्राय आफ्ना वचनहरू निरन्तर रूपमा बोल्‍ने, हरेक नयाँ कुराको सृष्टि हासिल गर्न जारी राख्‍ने थियो। उहाँ बोल्‍नुहुन्थ्यो, उहाँले आफ्‍ना आज्ञाहरू जारी गर्नुहुन्थ्यो, र आफ्‍नो अख्तियार प्रयोग गर्नुहुन्थ्यो र आफ्‍नो शक्ति देखाउनुहुन्थ्यो, र उहाँले सृष्टि गर्ने अभिप्राय राख्‍नुभएको सबै थोक र मानवजातिको लागि तयारी गर्न उहाँले योजना बनाउनुभएको सबै कुरा तयारी गर्नुभयो …

— “वचन शरीरमा देखा पर्नुहुन्छ” बाट

थप हेर्नुहोस्

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्