परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ६९

2 जनवरी 2023

प्रभु येशूले अनुग्रहको युगमा पूरा गर्नुभएको यस कामको क्षेत्रभित्र, तैँले परमेश्‍वरसित जे छ र उहाँ जे हुनुहुन्छ त्यसको अर्को पक्षलाई देख्न सक्छस्। यो पक्षलाई उहाँको देहद्वारा प्रकट गरिएको थियो, अनि मानिसहरूले उहाँको मानवताको कारण यसलाई देख्न र बुझ्‍न सके। परमेश्‍वरले कसरी देहमा आफ्नो मानवता जिउनुभयो सो कुरा मानिसहरूले मानिसको पुत्रमा देखे, अनि परमेश्‍वरको ईश्‍वरत्व देहद्वारा प्रकट भएको तिनीहरूले देखे। यी दुई प्रकारका प्रकटीकरणहरूले मानिसहरूलाई एउटा वास्तविक परमेश्‍वरलाई देख्ने तुल्यायो, अनि त्यसले मानिसहरूलाई परमेश्‍वरको एउटा फरक अवधारणा निर्माण गर्न लगायो। तथापि, संसारको सृष्टि र व्यवस्थाको युगको अन्त्य बीचको समयावधिमा अर्थात् अनुग्रहको युगभन्दा पहिले मानिसहरूले देखेका, सुनेका र अनुभव गरेका परमेश्‍वरका पक्षहरू भनेका परमेश्‍वरको ईश्‍वरत्व, परमेश्‍वरले अभौतिक क्षेत्रभित्र गर्नुभएका र भन्नुभएका, अनि उहाँले उहाँको देख्‍न वा छुन नसकिने वास्तविक व्यक्तित्वबाट प्रकट गर्नुभएका कुराहरू मात्रै पर्छन्। प्रायजसो, यी कुराहरूले मानिसहरूलाई परमेश्‍वर आफ्नो महानतामा यति उच्च हुनुहुन्छ कि मानिसहरू उहाँको नजिक जान सक्दैनन् भन्‍ने महसुस गरायो। परमेश्‍वरले मानिसहरूलाई प्रायजसो दिनुभएको भाव के थियो भने उहाँलाई बुझ्‍ने तिनीहरूको क्षमताबाट उहाँ घरी देखिनुहुन्थ्यो र घरी हराउनुहुन्थ्यो, अनि मानिसहरूले यो पनि महसुस गरे कि उहाँको हरेक विचार तथा धारणा यति रहस्यमय छ र यति भ्रमपूर्ण छ कि तिनलाई पहुँच गर्ने कुनै बाटो छैन, उहाँलाई बुझ्ने र सराहना गर्ने प्रयासको कुरा त परै छोडौं। मानिसहरूको निम्ति, परमेश्‍वरको हरेक कुरा धेरै टाढाको थियो, यति टाढाको कि मानिसहरूले त्यसलाई देख्न सक्दैनथे, त्यसलाई छुन सक्दैनथे। उहाँ उच्‍चमा आकाशमाथि हुनुहुन्छ भन्‍ने प्रतीत हुन्थ्यो, अनि उहाँ बिलकुल अस्तित्वमा हुनुहुन्न जस्तै प्रतीत हुन्थ्यो। यसैकारण मानिसहरूको निम्ति, परमेश्‍वरको हृदय र मन वा उहाँको कुनै पनि सोचलाई बुझ्‍नु अप्राप्य थियो, अनि तिनीहरूको पहुँचभन्दा पनि परको कुरा थियो। परमेश्‍वरले व्यवस्थाको युगमा केही ठोस काम गर्नुभएको भए तापनि, अनि मानिसहरूलाई उहाँको सराहना गर्न तथा उहाँको बारेमा केही वास्तविक ज्ञान प्राप्त गर्न लगाउनको निम्ति उहाँले केही विशेष वचनहरू जारी गर्नुभएको तथा केही विशेष स्वभावहरू प्रकट गर्नुभएको भए तापनि, अन्त्यमा, परमेश्‍वरसित जे छ र उहाँ जे हुनुहुन्छ, त्यसका प्रकटीकरणहरू एउटा अभौतिक क्षेत्रबाट आएको थियो, अनि मानिसहरूले जे बुझे, तिनीहरूले जे जाने, त्यो अझै पनि उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ त्यसको ईश्‍वरीय पक्षसँग सम्‍बन्धित थियो। उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ त्यसको यस अभिव्यक्तिद्वारा मानवजातिले उहाँको ठोस अवधारणा प्राप्त गर्न सकेन, अनि परमेश्‍वरबारे तिनीहरूको विचार अझै पनि “पहुँच गर्न नसकिने, अनुभूतिबाट बाहिर-भित्र गरिरहने आत्मिक शरीर” कै क्षेत्रभित्र अड्की बस्यो। परमेश्‍वरले मानिसहरूको सामु देखा पर्न भौतिक क्षेत्रको कुनै विशेष वस्तु वा स्वरूपको प्रयोग नगर्नुभएको कारण, मानव भाषा प्रयोग गरेर बयान गर्न तिनीहरू असमर्थ रहे। परमेश्‍वरको निम्ति स्तर स्थापित गर्न, उहाँलाई ठोस बनाउन र मानवीकरण गर्न, जस्तै उहाँ कति अल्गो हुनुहुन्छ, उहाँ कति ठूलो हुनुहुन्छ, उहाँलाई वास्तवमा के मन पर्छ अनि उहाँको व्यक्तित्व के हो, त्यसको लागि मानिसहरूले आफ्नो हृदय र मनहरूमा सधैँ आफ्नो भाषा प्रयोग गर्न चाहन्थे। वास्तवमा, मानिसहरूले यस प्रकारले सोचिरहेका छन् भन्‍ने कुरा परमेश्‍वरले आफ्‍नो हृदयमा जान्नुहुन्थ्यो। मानिसहरूका खाँचोहरूको बारेमा परमेश्‍वरलाई अत्यन्तै स्पष्ट रूपमा थाहा थियो, अनि अवश्य नै, उहाँले के गर्नुपर्छ भन्‍ने पनि उहाँलाई थाहा थियो, त्यसैले उहाँले अनुग्रहको युगमा बेग्लै तरिकाले आफ्नो काम गर्नुभयो। यो नयाँ तरिका ईश्‍वरीय र मानवीय दुवै थियो। प्रभु येशूले काम गरिरहनुभएको समयावधिमा, परमेश्‍वरसित धेरै मानव अभिव्यक्तिहरू छन् भनी मानिसहरूले देख्न सक्थे। उदाहरणको निम्ति, उहाँले नाच्न सक्नुहुन्थ्यो, उहाँ विवाहहरूमा सहभागी हुन सक्नुहुन्थ्यो, उहाँले मानिसहरूसित कुराकानी गर्न सक्नुहुन्थ्यो, तिनीहरूसित छलफल गर्न सक्नुहुन्थ्यो। त्यसको अतिरिक्त, प्रभु येशूले उहाँको ईश्‍वरत्वलाई प्रतिनिधित्व गर्ने धेरै काम पनि पूरा गर्नुभयो, अनि वास्तवमा उहाँको यो सबै काम परमेश्‍वरको स्वभावको अभिव्यक्ति र प्रकाश थियो। यस अवधिमा, जब परमेश्‍वरको ईश्‍वरत्व मानिसहरूले देख्न र छुन सकिने प्रकारले देहमा प्रकट भयो, तब उहाँ तिनीहरूको बुझाइबाट भित्र-बाहिर गरिरहनुहुन्छ वा तिनीहरू उहाँको नजिक जान सक्दैनन् भन्‍ने कुरालाई मानिसहरूले उपरान्त महसुस गर्न छोडे। यसको विपरीत, तिनीहरूले उहाँको हरेक चालद्वारा, वचनहरूद्वारा, अनि मानिसको पुत्रको कामद्वारा परमेश्‍वरको इच्छालाई जान्‍न वा बुझ्‍न प्रयास गर्न सके। मानिसको देहधारी पुत्रले परमेश्‍वरको ईश्‍वरत्वलाई आफ्नो मानवताद्वारा प्रकट गर्नुभयो अनि मानवजातिलाई परमेश्‍वरको इच्छा प्रकट गर्नुभयो। अनि परमेश्‍वरको इच्छा तथा स्वभावलाई प्रकट गरेर, उहाँले आत्मिक संसारमा बास गर्नुहुने परमेश्‍वरलाई मानिसहरूकहाँ प्रकट पनि गरिदिनुभयो, जसलाई देख्न वा छुन सकिँदैन। मानिसहरूले जे देखे, त्यो भौतिक स्वरूपमा देह र रगतले बनेको परमेश्‍वर स्वयम्‌ हुनुहुन्थ्यो। त्यसैले, मानिसको देहधारी पुत्रले परमेश्‍वर स्‍वयम्‌को पहिचान, परमेश्‍वरको हैसियत, प्रतिरूप, स्वभाव अनि उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ त्यसलाई ठोस र मानवीय बनाउनुभयो। परमेश्‍वरको प्रतिरूपको सम्बन्धमा मानिसको पुत्रको बाह्य रूपमा केही सीमितताहरू भएको भए तापनि, उहाँको सार अनि उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ, त्यसले परमेश्‍वर स्वयम्‌को पहिचान तथा हैसियतलाई पूर्ण रूपमा प्रतिनिधित्व गर्न सक्थ्यो—व्यक्त गर्ने शैलीमा मात्र केही भिन्नताहरू थिए। मानिसको पुत्रले उहाँको मानवतामा र उहाँको ईश्‍वरीयता दुवैमा परमेश्‍वर स्‍वयम्‌को पहिचान तथा हैसियतलाई प्रतिनिधित्व गरेको थियो भन्ने कुरालाई हामी इन्कार गर्न सक्दैनौँ। तथापि, यस समयावधिमा परमेश्‍वरले देहद्वारा काम गर्नुभयो, देहको दृष्टिकोणबाट बोल्नुभयो, अनि मानिसको पुत्रको पहिचान र हैसियतमा मानवजातिको सामु उभिनुभयो र यसले मानिसहरूलाई परमेश्‍वरले मानवजातिको सामु दिनुभएका साँचो वचनहरू तथा कामलाई देख्‍ने र अनुभव गर्ने अवसर दियो। यसले मानिसहरूलाई नम्रताको बीचमा उहाँको ईश्‍वरत्व तथा उहाँको महानता देख्ने अन्तर्दृष्टि दिनुको साथै परमेश्‍वरको विशुद्धता तथा वास्तविकताको प्रारम्भिक बुझाइ तथा परिभाषा प्राप्त गर्न पनि दियो। प्रभु येशू ले पूरा गर्नुभएको काम, उहाँले काम गर्ने तरिकाहरू र उहाँले बोल्‍ने दृष्टिकोण, आत्मिक क्षेत्रमा रहेको परमेश्‍वरको वास्तविक व्यक्तित्वभन्दा फरक थियो, तैपनि उहाँको हरेक कुराले परमेश्‍वर स्वयम्‌लाई साँचो रूपमा प्रतिनिधित्व गर्‍यो, जसलाई मानवजातिले कहिल्यै देखेका छैनन्—यसलाई इन्कार गर्न सकिँदैन। भन्‍नुको अर्थ, परमेश्‍वर जुनसुकै रूपमा प्रकट हुनुभए तापनि, उहाँले जुनसुकै दृष्टिकोणबाट बोल्नुभए तापनि, अथवा उहाँले जुनसुकै प्रतिरूपमा मानवजातिको सामना गर्नुभए तापनि, परमेश्‍वरले अरू केहीलाई होइन, तर आफैलाई प्रतिनिधित्व गर्नुहुन्छ। उहाँले अरू कुनै मानवलाई प्रतिनिधित्व गर्न सक्‍नुहुन्‍न, न त भ्रष्ट मानवजातिमध्ये कसैलाई प्रतिनिधित्व गर्नुहुन्छ। परमेश्‍वर, परमेश्‍वर स्वयम्‌ नै हुनुहुन्छ र यसलाई इन्कार गर्न सकिँदैन।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् ३

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्