परमेश्वरका दैनिक वचनहरू: परमेश्वरलाई चिन्नु | अंश २९
16 जुलाई 2021
परमेश्वरले इन्द्रेनीलाई मानिससँगको आफ्नो करारको प्रतीकको रूपमा प्रयोग गर्नुहुन्छ (छनौट गरिएका खण्डहरू)
उत्पत्ति ९:११-१३ अनि म तिमीहरूसँग मेरो करार स्थापित गर्नेछु, न त जलप्रलयको पानीले अब उप्रान्त सबै मानिसहरूलाई नष्ट गर्नेछ, न त पृथ्वीलाई नष्ट गर्नको निम्ति कुनै जलप्रलय नै हुनेछ। अनि परमेश्वरले भन्नुभयो, यो म र तिमीहरू र तिमीहरूसँग भएका हरेक जीवित प्राणीका बीच अनन्त पुस्तासम्मको निम्ति मैले बनाएको करारको चिनो हो: म बादलमा इन्द्रेनी राख्नेछु र त्यो म र पृथ्वीको बीचमा भएको करारको चिनो हुनेछ।
परमेश्वरले मानवजातिको सृष्टि गर्नुभयो; चाहे तिनीहरू भ्रष्ट भएका होऊन् वा चाहे तिनीहरूले उहाँलाई पछ्याऊन् वा नपछ्याऊन्, परमेश्वरले मानवजातिलाई उहाँका खेलौनाहरूको रूपमा होइन, उहाँको सबैभन्दा बढी स्नेहपूर्वक प्रेम गरिने प्राणीहरूको रूपमा व्यवहार गर्नुहुन्छ—वा मानवजातिहरूले भन्ने शब्दमा, उहाँका अत्यन्तै प्यारा मानिसहरूको रूपमा व्यवहार गर्नुहुन्छ। परमेश्वरले उहाँ सृष्टिकर्ता हुनुहुन्छ र मानिस उहाँको सृष्टि हो भनेर भन्नुभए पनि, यसले दर्जामा केही भिन्नता देखाए पनि, परमेश्वरले मानवजातिको निम्ति गर्नुभएका सबै कुराहरू वास्तवमा यस प्रकारको सम्बन्धभन्दा धेरै माथि छन्। परमेश्वरले मानवजातिलाई प्रेम गर्नुहुन्छ र मानवजातिको हेरचाह गर्नुहुन्छ, र मानवजातिको निम्ति चासो देखाउनुहुन्छ, साथै उहाँले निरन्तर र अटुट रूपमा मानवजातिको भरणपोषण गर्नुहुन्छ। उहाँले आफ्नो हृदयमा यसलाई थप काम वा धेरै श्रेय लिनुपर्ने कुरा हो भन्ने महसुस गर्नुहुन्न। न त उहाँले मानवजातिलाई बचाउने, तिनीहरूको निम्ति आपूर्ति गर्ने र तिनीहरूलाई सबै कुरा प्रदान गर्ने कुराले मानवजातिको निम्ति ठूलो योगदान गरिरहेको छ भन्ने नै ठान्नुहुन्छ। उहाँले चुपचाप शान्तिसाथ उहाँको आफ्नै तरिकाले र उहाँको आफ्नै सार र उहाँसँग जे छ र उहाँ जो हुनुहुन्छ त्यस मार्फत मानवजातिको भरणपोषण गर्नुहुन्छ। मानवजातिले उहाँबाट जति भरणपोषण र जति सहायता पाए पनि परमेश्वरले कहिल्यै पनि त्यसको श्रेय लिने बारेमा सोच्नुहुन्न वा श्रेय लिने कोसिस गर्नुहुन्न। यसको निर्धारण परमेश्वरको सारले गर्छ र ठ्याक्कै यही नै परमेश्वरको स्वभावको साँचो अभिव्यक्ति हो। यसैले, बाइबल वा अरू कुनै पुस्तकहरूमा नै किन नहोस्, परमेश्वरले आफ्ना सोचहरू अभिव्यक्त गर्नुभएको हामी कहिल्यै देख्दैनौँ र मानवजाति उहाँप्रति आभारी होओस् वा मानवजातिले उहाँको प्रशंसा गरोस् भन्ने लक्ष्य राखेर परमेश्वरले मानव समक्ष उहाँले यी कुराहरू किन गर्नुहुन्छ, वा उहाँले मानवजातिको निम्ति किन यति वास्ता राख्नुहुन्छ भन्ने बारेमा व्याख्या वा घोषणा गर्नुभएको हामी कहिल्यै देख्दैनौँ। उहाँलाई चोट लाग्दा, उहाँको हृदय अत्यन्तै पीडामा हुँदा पनि उहाँले मानवजातिप्रति आफ्नो दायित्वलाई वा मानवजातिप्रतिको उहाँको चासोलाई कहिल्यै बिर्सनुहुन्न; उहाँले यी सबै चोटहरूलाई एकलै र मौनतामा सहनुहुन्छ। यसको ठीक विपरीत, उहाँले सधैँ गर्नुभएजस्तै परमेश्वरले मानवजातिको निम्ति निरन्तर भरणपोषण उपलब्ध गराउनुहुन्छ। मानवजातिले प्रायः परमेश्वरको प्रशंसा र उहाँको साक्षी दिए तापनि यी कुनै पनि व्यवहारहरू परमेश्वरद्वारा आवश्यक गरिएका कुरा होइनन्। किनकि परमेश्वरले मानवजातिको निम्ति गर्नुभएका कुनै पनि असल कुराहरूको बदलामा उहाँले कृतज्ञता वा परिपूर्तिको आशा गर्नुहुन्न। अर्कोतर्फ, परमेश्वरको भय मान्ने र दुष्टताबाट अलग बस्नेहरू, परमेश्वरलाई साँच्चै पछ्याउनेहरू, उहाँलाई सुन्ने र उहाँप्रति निष्ठावान हुनेहरू र उहाँको आज्ञापालन गर्न सक्ने मानिसहरूले प्रायः उहाँका आशिष्हरू प्राप्त गर्नेछन्, र परमेश्वरले कुनै पनि सन्देहविना नै यस्ता आशिष्हरू प्रदान गर्नुहुनेछ। यसअतिरिक्त, मानिसहरूले परमेश्वरबाट प्राप्त गर्ने आशिष्हरू प्रायः गरेर तिनीहरूका कल्पना बाहिरका हुन्छन्, र मानवजातिले गरेका काम वा तिनीहरूले तिरेको मूल्यबाट औचित्य सिद्ध गर्न नसक्ने किसिमका पनि हुन्छन्। मानवजातिले परमेश्वरका आशिष्हरूमा आनन्द मनाउँदै गर्दा, परमेश्वर के गर्दै हुनुहुन्छ भन्ने कुराको मतलब के कसैले गर्छ? परमेश्वरले कस्तो अनुभूति गर्दै हुनुहुन्छ भन्ने कुराको चासो के कसैले देखाउँछ? के कसैले परमेश्वरको पीडालाई सराहना गर्ने कोसिस गर्छ? यसको जवाफ जोडदार रूपमा “गर्दैन” भन्ने हुन्छ! के नोआ लगायतका मानवजातिले त्यस समय परमेश्वरले महसुस गर्नुभएको पीडाको सराहना गर्न सक्छ? परमेश्वरले किन यस्तो करार बाँध्नुभयो भनेर कसैले बुझ्न सक्छ? तिनीहरूले सक्दैनन्! मानवजातिले परमेश्वरको पीडा नबुझेको र मानिस तथा परमेश्वर बीचको दूरी वा तिनीहरूको हैसियतमा भएको फरकको कारणले परमेश्वरको पीडाको सराहना नगरेका होइनन्; बरु परमेश्वरका कुनै पनि अनुभूतिहरूप्रति मानवजातिलाई कुनै पनि वास्ता नभएको कारणले यस्तो भएको हो। मानवजातिले सोच्छ कि परमेश्वर स्वतन्त्र हुनुहुन्छ—यसैले उहाँको वास्ता गर्न, उहाँलाई बुझ्न वा उहाँप्रति ध्यान दिनको निम्ति परमेश्वरलाई मानिसहरूको आवश्यकता पर्दैन। परमेश्वर, परमेश्वर नै हुनुहुन्छ, यसैले उहाँसँग पीडा छैन, भावनाहरू छैनन्; उहाँ दुःखी हुनुहुन्न, उहाँलाई शोकको अनुभूति हुँदैन, उहाँ रुनु पनि हुन्न। परमेश्वर, परमेश्वर नै हुनुहुन्छ, यसैले उहाँलाई कुनै पनि भावनात्मक अभिव्यक्तिहरूको जरुरत पर्दैन र उहाँलाई कुनै पनि भावनात्मक ढाडसको जरुरत पर्दैन। केही परिस्थितिहरूमा उहाँलाई यी कुराहरूको आवश्यकता पर्यो भने उहाँले एक्लै सहन गर्न सक्नुहुन्छ र उहाँलाई मानवजातिको कुनै पनि सहयोग चाहिँदैन। यसको विपरीत, कमजोर, अपरिपक्व मानवहरूलाई पो हरसमय र हरेक ठाउँ उहाँको सान्त्वना, प्रबन्ध, उत्साह र तिनीहरूका भावनाहरूमा उहाँको सान्त्वनाको जरुरत पर्छ। मानवजातिको हृदयको गहिराइमा यस्ता कुराहरू लुकेर रहेका हुन्छन्: मानिस कमजोर छ, तिनीहरूलाई हरप्रकारले परमेश्वरको हेरचाहको खाँचो छ, परमेश्वरबाट प्राप्त गर्नुपर्ने हरेक वास्ता प्राप्त गर्न तिनीहरू योग्य छन् र तिनीहरूलाई जे कुरा तिनीहरूको हुनुपर्छ भन्ने लाग्छ त्यो कुरा तिनीहरूले परमेश्वरबाट माग्नुपर्छ। परमेश्वर बलियो हुनुहुन्छ; उहाँसँग सबै कुरा छ र उहाँ मानवजातिको संरक्षक र आशिष् दिने व्यक्ति बन्नुपर्छ। उहाँ पहिले नै परमेश्वर हुनुभएको हुनाले उहाँ सर्वशक्तिमान् हुनुहुन्छ र उहाँलाई मानवजातिबाट कहिल्यै पनि केही कुराको आवश्यकता पर्दैन।
मानिसले परमेश्वरका कुनै पनि प्रकाशहरूमा ध्यान नदिने हुनाले, उसले कहिल्यै पनि परमेश्वरको शोक, पीडा वा आनन्दको महसुस गरेको छैन। तर यसको विपरीत मानिसका सबै अभिव्यक्तिहरूलाई परमेश्वरले उहाँका हत्केला झैँ जान्नुहुन्छ। हरेक व्यक्तिका परिवर्तनशील विचारहरूको अवलोकन गर्दै र तिनीहरूलाई सान्त्वना र अर्ती दिँदै तथा मार्गनिर्देशन गर्दै र प्रबोधित गर्दै परमेश्वरले हरसमय र हरेक ठाउँमा हरेकको आवश्यकता परिपूर्ति गर्नुहुन्छ। मानवजातिप्रति परमेश्वरले गर्नुभएका सबै कुराहरू र तिनीहरूका निम्ति उहाँले तिर्नुभएका मूल्यहरूको सन्दर्भमा, के मानिसहरूले बाइबलका खण्डहरू वा परमेश्वरले आजसम्म भन्नुभएका अन्य कुराहरूमा परमेश्वरले मानिसबाट केही कुराको माग गर्नुहुनेछ भन्ने कुरा भेट्टाएका छन्? छैनन्! यसको विपरीत, मानिसहरूले परमेश्वरका विचारहरूलाई जतिसुकै बेवास्ता गरे तापनि, उहाँले तिनीहरूको निम्ति तयार गर्नुभएको सुन्दर गन्तव्यमा तिनीहरू पुग्न सकून् भनेर तिनीहरूलाई परमेश्वरको साँचो मार्ग पछ्याउन सक्षम बनाउन उहाँले निरन्तर रूपमा मानवजातिको निम्ति प्रबन्ध गर्नुहुन्छ र तिनीहरूलाई सहयोग गर्नुहुन्छ। परमेश्वरको बारेमा कुरा गर्दा उहाँसँग जे छ र उहाँ जो हुनुहुन्छ, उहाँको अनुग्रह, उहाँको कृपा र उहाँका सबै इनामहरू बिना कुनै सन्देह उहाँलाई प्रेम गर्ने र उहाँलाई पछ्याउनेहरूलाई दिइनेछन्। तर उहाँले भोग्नुभएका पीडा वा उहाँको मनस्थिति कसैसँग पनि प्रकट गर्नुहुन्न, र उहाँको बारेमा विचार गरेन वा उहाँको इच्छा बुझेन भनेर उहाँले कसैको बारेमा पनि गुनासो गर्नुहुन्न। मानवजातिले बुझ्ने दिनको प्रतिक्षा गर्दै उहाँले यी सबै कुराहरू मौनतामा सहनुहुन्छ।
मैले यी कुराहरू यहाँ किन भनेको हुँ? मैले भनेका कुराहरूबाट तिमीहरू के देख्छौ? परमेश्वरको सार र स्वभावमा यस्तो केही कुरा छ जसलाई बेवास्ता गर्न सजिलो छ, यस्तो कुरा जुन परमेश्वरमा मात्र छ र अन्य कुनै मानिसमा छैन, अन्य व्यक्तिहरूले महान् ठानेका मानिसहरू, असल मानिसहरू वा तिनीहरूका कल्पनाका परमेश्वरमा पनि छैन। यो कुरा के हो त? यो परमेश्वरको निःस्वार्थीपन हो। निःस्वार्थीपनको कुरा गर्दा तैँले आफूलाई पनि एकदमै निःस्वार्थ ठान्न सक्छस्, किनकि जब तेरा छोराछोरीको कुरा हुन्छ, तब तैँले तिनीहरूसँग कहिले पनि मोलतोल र सौदा गर्दैनस्, वा जब तेरा अभिभावकहरूको कुरा आउँछ तब पनि तैँले आफूलाई तिनीहरूप्रति निःस्वार्थ रहेको ठान्न सक्छस्। तैँले जेसुकै सोचे तापनि तँमा कम्तीमा पनि निःस्वार्थ शब्दको अवधारणा छ र तैँले यो सकारात्मक शब्द हो र निःस्वार्थ व्यक्ति हुनु भनेको भद्रता हो भन्ने सोच्छस्। जब तँ निःस्वार्थ हुन्छस्, तैँले आफैलाई ठूलो मान दिन्छस्। तर सबै कुराहरूमा, मानिसहरू, घटनाहरू, वस्तुहरूमाझ र उहाँको काममा परमेश्वरको निःस्वार्थीपन देख्ने कोही पनि छैन। अवस्था किन यस्तो छ त? किनकि मानिस धेरै स्वार्थी छ! म किन त्यसो भन्छु त? मानवजाति भौतिक संसारमा जिउँछ। तैँले परमेश्वरलाई पछ्याउन सक्छस्, तर तैँले कहिले पनि परमेश्वरले कसरी तेरो भरणपोषण गर्नुहुन्छ, कसरी तँलाई प्रेम गर्नुहुन्छ र कसरी तेरो निम्ति चासो देखाउनुहुन्छ भन्ने कुरा देख्दैनस् वा सराहना गर्दैनस्। त्यसो भए तैँले; के देख्छस् त? तैँले तँलाई प्रेम वा स्नेह गर्ने तेरो रगतको साइनो भएका आफन्त जनहरू देख्छस्। तैँले तेरो देहको निम्ति फाइदा हुने कुराहरू देख्छस्, तैँले आफूले प्रेम गर्ने मानिस र वस्तुहरूको वास्ता गर्छस्। मानिसको तथाकथित निःस्वार्थीपन भनेको नै यही हो। यद्यपि, त्यस्ता “नि:स्वार्थ” मानिसहरूले तिनीहरूलाई जीवन दिनुहुने परमेश्वरको बारेमा कहिले पनि चासो देखाउँदैनन्। परमेश्वरको निःस्वार्थीपनको तुलनामा मानिसको निःस्वार्थीपन स्वार्थी र घृणित हुन्छ। मानिसले विश्वास गर्ने निःस्वार्थीपन खोक्रो र अवास्तविक, मिलावट भएको, परमेश्वरसँग नमिल्ने र परमेश्वरसँग सम्बन्ध नभएको हुन्छ। मानिसको निःस्वार्थीपन उसकै निम्ति हुन्छ भने परमेश्वरको निःस्वार्थीपन उहाँको सारको साँचो प्रकटीकरण हो। यथार्थमा परमेश्वरको निःस्वार्थीपनकै कारण परमेश्वरद्वारा निरन्तर मानिसको भरणपोषण हुन्छ। मैले आज कुरा गर्दै गरेको विषयले तिमीहरूलाई गहिरो प्रभाव नपारेको हुन सक्छ र तिमीहरूले केवल सहमतिमा टाउको हल्लाएको मात्र हुनसक्छ, तर जब तैँले तेरो हृदयमा परमेश्वरको हृदयको सराहना गर्ने कोसिस गर्छस्, तैँले नचाहँदा-नचाहँदै यो पत्ता लगाउनेछस्: तैँले यो संसारमा महसुस गर्ने सबै मानिसहरू, पदार्थहरू र वस्तुहरूमाझ परमेश्वरको निःस्वार्थीपन मात्र वास्तविक र मूर्त छ किनकि तेरो लागि परमेश्वरको प्रेम मात्र शर्त रहित र निष्कलङ्क छ। परमेश्वरबाहेक अरू जोकोहीको तथाकथित निःस्वार्थीपन बनावटी, सतही, अप्रामाणिक हुन्छ; यसमा उद्देश्य हुन्छ, निश्चित अभिप्रायहरू हुन्छन्, यसमा केही पाउँदा केही गुमाउने हुन्छ र यो परीक्षामा खरो उत्रन सक्दैन। तिमीहरूले यसलाई फोहोरी र घृणित समेत भन्न सक्छौ। के तिमीहरू यी वचनहरूप्रति सहमत छौ?
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वरको काम, परमेश्वरको स्वभाव र परमेश्वर स्वयम् १
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू