परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३५७

20 अप्रील 2021

परमेश्‍वरको व्यवस्थापन गहन भए तापनि, यो मानिसको बुझाइभन्दा बाहिर छैन। यो यसैले हो किनभने परमेश्‍वरको सबै कार्य मानवजातिलाई मुक्त गर्ने उहाँको व्यवस्थापन र उहाँको कार्यसँग जोडिएको छ, र यो मानवजातिको जीवन, जीवनशैली, र गन्तव्यसँग सम्‍बन्धित छ। मानिसको बीचमा र मानिसमा परमेश्‍वरले गर्ने काम अत्यन्तै व्यवहारिक र अर्थपूर्ण छ भनेर भन्‍न सकिन्छ। यसलाई मानिसले देख्‍न र अनुभव गर्न सक्छ, र यो कुनै अमूर्त कुराभन्दा पर छ। यदि मानिस परमेश्‍वरले गर्नुहुने सबै काम स्वीकार गर्न असमर्थ छ भने, उहाँको कामको महत्त्व के हो? अनि त्यस्तो व्यवस्थापनले कसरी मानिसको मुक्तिमा डोर्याउन सक्छ? परमेश्‍वरलाई पछ्याउने धेरै जनालाई कसरी आशिषहरू प्राप्त गर्ने वा विपत्ति टार्ने भन्‍नेको मात्रै चिन्ता छ। परमेश्‍वरको कार्य र व्यवस्थापनको बारेमा उल्‍लेख गर्ने बित्तिकै, तिनीहरू चुप बन्छन् र सबै चासो गुमाउँछन्। त्यस्तो सानातिना कुराहरूलाई बुझेर यसले तिनीहरूको जीवन वृद्धि गर्न वा कुनै पनि लाभ प्रदान गर्न सहयोग गर्नेछैन भन्‍ने तिनीहरू ठान्छन्। परिणामस्वरूप, तिनीहरूले परमेश्‍वरको व्यवस्थापनको बारेमा सुनेका भए तापनि, तिनीहरूले त्यति ध्यानै दिँदैनन्। यसलाई तिनीहरू स्वीकार गर्नुपर्ने कुनै बहुमूल्य कुराको रूपमा देख्दैनन्, यसलाई तिनीहरूको जीवनको भागको रूपमा ग्रहण गर्ने कुरा त परै जाओस्। त्यस्ता मानिसहरूसँग परमेश्‍वरलाई पछ्याउने एउटै मात्र सरल उद्देश्य हुन्छ, र त्यो उद्देश्य हो, आशिषहरू प्राप्त गर्नु। त्यस्ता मानिसहरूले यो उद्देश्यसँग प्रत्यक्ष रूपमा संलग्‍न नहुने अरू कुनै पनि कुरा सुन्‍ने झमेला लिन सक्दैनन्। तिनीहरूका लागि, आशिषहरू प्राप्त गर्न परमेश्‍वरमा विश्‍वास गर्नु जत्तिको न्यायसंगत अरू कुनै उद्देश्य हुन सक्दैन—तिनीहरूको विश्‍वासको मूल्य यही नै हो। यदि कुनै कुराले यो उद्देश्यमा योगदान दिँदैन भने, यसले तिनीहरूको हृदय छुन सक्दैन। आज परमेश्‍वरलाई विश्‍वास गर्ने धेरैजसो मानिसहरूको अवस्था यस्तै छ। तिनीहरूको उद्देश्य र अभिप्राय न्यायसंगत देखिन्छन्, किनभने तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्ने क्रममा तिनीहरूले परमेश्‍वरको निम्ति खर्च पनि गर्छन्, आफैलाई परमेश्‍वरमा समर्पित पनि गर्छन्, र आफ्‍नो कर्तव्य पनि पूरा गर्छन्। तिनीहरूले आफ्‍नो जवानी त्याग्छन्, परिवार र भविष्यलाई त्याग्छन्, र आफैलाई व्यस्त राख्दै धेरै वर्षसम्‍म घरदेखि टाढा बिताउँछन्। तिनीहरूको आखिरी उद्देश्यको लागि, तिनीहरूले आफ्‍नै अभिरुचिहरू, जीवनप्रतिको तिनीहरूको दृष्टिकोण, र तिनीहरूले खोजी गर्ने दिशालाई समेत परिवर्तन गर्छन्; तैपनि परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासको उद्देश्यलाई तिनीहरूले परिवर्तन गर्न सक्दैनन्। तिनीहरू आफ्‍नै आदर्शहरूको व्यवस्थापन गर्दै दौडधूप गर्छन्; बाटो जति टाढा भए पनि, र बाटोमा जति धेरै कठिनाइ र बाधाहरू भए पनि, तिनीहरू दृढ रहन्छन् र मृत्युको डर मान्दैनन्। आफैलाई निरन्तर रूपमा यस तरिकामा समर्पित गर्नको लागि कुन शक्तिले तिनीहरूलाई बाध्य तुल्याउँछ? के यो तिनीहरूको विवेक हो? के यो तिनीहरूको महान् र आदर्शमय चरित्र हो? के यो अन्त्यसम्‍मै दुष्टताका शक्तिहरूसँग युद्ध गर्ने तिनीहरूको संकल्प हो? के यो इनामको खोजी नगरिकन परमेश्‍वरको लागि गवाही दिने तिनीहरूको विश्‍वास हो? के यो परमेश्‍वरको इच्‍छा हासिल गर्नको लागि सबै कुरा त्याग्‍ने तिनीहरूको इच्‍छाको बफादारीता हो? अथवा के यो लालची व्यक्तिगत मागहरूलाई सँधै त्याग्‍ने तिनीहरूको भक्तिको आत्मा हो? परमेश्‍वरको व्यवस्थापनको कामलाई कहिल्यै नबुझेको कुनै व्यक्तिले त्यति धेरै त्याग गर्नु भनेको वास्तवमा आश्‍चर्यकर्म नै हो! अहिलेको लागि, यी मानिसहरूले कति दिएका छन् त्यसको बारेमा छलफल गरौं। तैपनि, तिनीहरूको आचरणलाई हामीले विश्‍लेषण गर्नु अत्यन्तै उचित छ। तिनीहरूसँग अति घनिष्ट रुपले सम्‍बन्धित रहेका लाभहरू बाहेक, परमेश्‍वरलाई कहिल्यै नबुझ्‍ने मानिसहरूले उहाँको लागि त्यति धेरै त्याग गर्नुका अरू कुनै कारणहरू हुन सक्छन्? यसमा, हामी पहिले पहिचान नगरिएको समस्या पत्ता लगाउँछौं: परमेश्‍वरसँगको मानिसको सम्‍बन्ध एउटा नाङ्गो स्वार्थ मात्रै हो। यो आशिषहरू प्राप्त गर्ने र दिने बीचको सम्‍बन्ध हो। यसलाई सरल रूपमा भन्दा, यो मालिक र कर्मचारी बीचको सम्‍बन्ध जस्तै हो। मालिकले दिने इनामहरूको लागि मात्रै कर्मचारीले काम गर्छ। त्यस्तो सम्‍बन्धमा कुनै आत्मीयता हुँदैन, लेनदेन मात्रै हुन्छ। प्रेम गर्ने वा प्रेम प्राप्त गर्ने कुनै कार्य हुँदैन, परोपकार र कृपा मात्रै हुन्छ। कुनै बुझाइ हुँदैन, दबाइएको आक्रोश र धोका मात्रै हुन्छ। कुनै घनिष्ठता हुँदैन, अप्रकमनीय दरार मात्रै हुन्छ। यी कुराहरू यस्तो बिन्दु सम्म आइपुगेकाले, अब यस्तो क्रमलाई कसले उल्ट्याउन सक्छ? अनि यो सम्‍बन्ध कति भयानक बनेको छ, त्यसलाई साँचो रूपमा बुझ्‍न सक्‍ने मानिसहरू कति छन्? मलाई विश्‍वास छ, जब मानिसहरूले आफैलाई आशिषित हुनुको आनन्दमा डुबाउँछन्, परमेश्‍वरसँगको त्यस्तो सम्‍बन्ध कति लाजमर्दो र कुरूप हुन्छ त्यसको बारेमा कसैले पनि कल्‍पना गर्न सक्दैन।

परमेश्‍वरमाथिको मानवजातिको विश्‍वासको सबैभन्दा दुःखलाग्दो कुरा यो हो कि परमेश्‍वरको कामको बीचमा मानिसले आफ्‍नै व्यवस्थापन संचालन गर्छ, तैपनि परमेश्‍वरको व्यवस्थापनमा कुनै ध्यान दिँदैन। मानिसको सबैभन्दा ठूलो असफलता यसैमा छ कि उही समयमा जब मानिसले परमेश्‍वरमा समर्पित हुने र उहाँको आराधना गर्ने प्रयास गरिरहेको हुन्छ, उसको आफ्‍नै काल्‍पनिक गन्तव्यको निर्माण गरिरहेको हुन्छ र सबैभन्दा ठूलो आशिष र सबैभन्दा उत्तम गन्तव्य कसरी प्राप्त गर्ने हो त्यसको षड्यन्त्र गरिरहेको हुन्छ। तिनीहरू कति दयनीय, घृणास्पद, र बिचरा छन् भन्‍ने कुरा कसैले बुझे तापनि, कति जनाले आफ्‍ना कल्‍पना र आशाहरूलाई सहजतापूर्वक त्याग्‍न सक्छन्? अनि आफ्‍नै पाइलाहरूलाई रोकेर आफ्‍नै बारेमा मात्रै सोच्‍न छोड्न सक्‍ने को छन्? परमेश्‍वरलाई उहाँको व्यवस्थापन पूरा गर्नको लागि उहाँसँग नजिकबाट सहकार्य गर्नेहरूको खाँचो छ। उहाँलाई उहाँको व्यवस्थापन कार्यको निम्ति आफ्‍नो सम्पूर्ण मन र शरीर अर्पण गरेर उहाँमा समर्पित हुनेहरूको खाँचो छ। उहाँलाई हरेक दिन आफ्‍ना हातहरू पसारेर माग्‍ने मानिसहरूको खाँचो छैन, थोरै दिएर इनामको प्रतीक्षा गर्नेहरूको कुरा त परै जाओस्। थोरै योगदान दिएर आफ्‍ना हात बाँधेर बस्‍नेहरूलाई परमेश्‍वर घृणा गर्नुहुन्छ। उहाँको व्यवस्थापनको कार्यलाई घृणा गर्ने, अनि स्वर्ग जाने र आशिषहरू प्राप्त गर्ने बारेमा मात्रै कुरा गर्न चाहने चीसो-रगत भएका मानिसहरूलाई उहाँ घृणा गर्नुहुन्छ। मानवजातिलाई मुक्त गर्ने क्रममा उहाँले गर्नुहुने कामले प्रस्तुत गर्ने अवसरको फाइदा लिनेहरूप्रति उहाँको घृणा अझै ठूलो छ। त्यो यसैले हो कि किनभने यी मानिसहरूले आफ्‍नो व्यवस्थापन कार्यद्वारा परमेश्‍वरले के हासिल गर्न र प्राप्त गर्न चाहनुहुन्छ भन्‍ने बारेमा कहिल्यै वास्ता गरेका छैनन्। परमेश्‍वरको कामले प्रदान गरेको अवसरलाई आशिषहरू प्राप्त गर्नको लागि कसरी प्रयोग गर्न सकिन्छ त्यसप्रति मात्रै तिनीहरूलाई चासो छ। तिनीहरू आफ्‍नै अपेक्षाहरू र गन्तव्यद्वारा पूर्ण रूपमा तल्‍लीन भएका हुनाले, तिनीहरूले परमेश्‍वरको हृदयको बारेमा वास्ता गर्दैनन्। परमेश्‍वरको व्यवस्थापनको कामलाई घृणा गर्ने अनि परमेश्‍वरले मानवजातिलाई कसरी मुक्त गर्नुहुन्छ त्यस कुरामा र उहाँको इच्‍छाको बारेमा अलिकति पनि चासो नदिनेहरूले परमेश्‍वरको व्यवस्थापनको कार्यबाट अलग रहेर तिनीहरूलाई प्रसन्‍न पार्ने कुराहरू मात्रै गर्छन्। तिनीहरूको आचरणलाई न त परमेश्‍वरले स्मरण गर्नुहुन्छ न त स्वीकार नै—परमेश्‍वरले यसलाई निगाहको साथ हेर्ने कुरा त परै जाओस्।

— “वचन शरीरमा देखा पर्नुहुन्छ” बाट

थप हेर्नुहोस्

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्