परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४९०

22 जुलाई 2022

वर्तमान समयमा, परीक्षामाझ रहेका र परमेश्‍वरको कामलाई नबुझ्ने धेरै मानिसहरू छन्, तर म तँलाई भन्छु: यदि तँ यो कुरा बुझ्दैनस् भने, तैंले यसबारेमा राय नबनाउनु नै राम्रो हुन्थ्यो। सायद सत्यता सम्पूर्ण रूपमा प्रकट हुने दिन आउनेछ, त्यसपछि तैँले बुझ्नेछस्। राय नबनाउनु नै तेरो लागि लाभदायक हुन्छ, तैपनि तैँले निष्क्रिय बनेरचाहिँ पर्खनु हुँदैन। तैंले सक्रियतासाथ प्रवेश गर्न खोज्नुपर्छ; तब मात्र तँ वास्तवमै प्रवेश गर्ने व्यक्ति बन्‍नेछस्। मानिसहरूले आफ्नो विद्रोहीपनको कारण व्यावहारिक परमेश्‍वरको बारेमा सधैँ धारणाहरू बनाउँछन्। यसले गर्दा, सबै मानिसहरूले कसरी समर्पित हुने भनी सिक्‍नु आवश्यक छ, किनकि व्यावहारिक परमेश्‍वर मानवजातिका लागि एउटा ठूलो परीक्षा हुनुहुन्छ। यदि तँ दृढ रहन सक्दैनस् भने सबै कुरा समाप्त हुन्छ; यदि तँसँग व्यावहारिक परमेश्‍वरको व्यावहारिकताको बारेमा बुझाइ छैन भने, तँ परमेश्‍वरद्वारा सिद्ध पारिन योग्य हुनेछैनस्। मानिसहरू सिद्ध पारिन सक्छन् कि सक्दैनन् भन्‍ने कुराको महत्त्वपूर्ण चरण भनेकै तिनीहरूले परमेश्‍वरको व्यावहारिकतालाई बुझ्नु हो। देहधारी परमेश्‍वर पृथ्वीमा आउनुभएको तथ्यको व्यावहारिकता प्रत्येक व्यक्तिका निम्ति परीक्षा हो; यदि तँ यस सम्बन्धमा दृढ रहन सक्छस् भने, तँ परमेश्‍वरलाई चिन्‍ने र उहाँलाई साँच्‍चै प्रेम गर्ने व्यक्ति हुनेछस्। यदि यस सम्बन्धमा तँ दृढ रहन सक्दैनस् र तैँले आत्मामा मात्र विश्‍वास गर्छस् तर परमेश्‍वरको व्यावहारिकतामा विश्‍वास गर्न सक्दैनस् भने, परमेश्‍वरमाथिको तेरो विश्‍वास जति नै ठूलो भए पनि त्यो व्यर्थ हुनेछ। यदि तैँले देखिनुहुने परमेश्‍वरमा विश्‍वास गर्न सक्दैनस् भने, के परमेश्‍वरका आत्मामा विश्‍वास गर्न सक्छस् त? के तैंले केवल परमेश्‍वरलाई मूर्ख तुल्याउन खोजिरहेको छैनस् र? तँ देख्‍न र छुन सकिने परमेश्‍वरको अघि समर्पित छैनस्, त्यसो भए के तँ आत्माको सामु समर्पित हुन सक्छस् त? आत्मा अदृश्य र छुन नसकिने हुनुहुन्छ, त्यसैले जब तँ परमेश्‍वरका आत्माप्रति समर्पित हुन्‍छु भनी भन्छस्, तब के तैंले मूर्ख कुरा गरिरहेको हुँदैनस् र? आज्ञाहरूलाई पालन गर्नको निम्ति चाहिने मुख्य कुरा भनेको व्यावहारिक परमेश्‍वरलाई बुझ्नु हो। तैंले व्यावहारिक परमेश्‍वरलाई बुझेपछि, तँ आज्ञाहरू पालन गर्न सक्षम हुनेछस्। ती आज्ञाहरू पालन गर्नको निम्ति दुई वटा मुख्य तत्वहरू हुन्‍छन्: एउटाचाहिँ उहाँका आत्माको सारमा दृढ रहनु, र आत्माको सामु आत्माको परीक्षा स्विकार्न सक्‍नु हो; अर्कोचाहिँ, देहधारी देहको बारेमा सही बुझाइ प्राप्त गर्नु, र वास्तविक समर्पण हासिल गर्न सक्‍नु हो। चाहे देहको अघि होस् वा आत्माको अघि, व्यक्तिको मनमा सधैँ परमेश्‍वरप्रति समर्पण र आदर हुनुपर्छ। यस्तो व्यक्ति मात्र सिद्ध हुन योग्यको हुन्छ। यदि तँमा व्यावहारिक परमेश्‍वरको व्यावहारिकताको ज्ञान छ भने—अर्थात् यदि तँ यस परीक्षामा दृढ भएर खडा भइस् भने—तेरो निम्ति केही पनि अत्यधिक हुनेछैन।

कतिपय मानिसहरू भन्छन्, “आज्ञाहरू पालन गर्नु सजिलो छ; परमेश्‍वरको सामु हुँदा खुलस्त रूपमा र भक्तिपूर्वक बोले पुग्छ, र कुनै हाउभाउ देखाउनु हुँदैन; आज्ञाहरू पालन गर्नु भनेको यही हो।” के यो कुरा सही हो? त्यसो भए, यदि तँ परमेश्‍वरको पिठिउँपछाडि उहाँको विरोध गर्ने केही काम गर्छस् भने के त्यसलाई आज्ञाहरू पालन गरेको मान्‍न सकिन्छ? आज्ञाहरू पालन गर्ने कार्यमा के-के कुराहरू समावेश हुन्छन् भन्‍नेबारेमा तँमा पूर्ण बुझाइ हुनुपर्छ। यो कुरा तँमा परमेश्‍वरको व्यावहारिकताको वास्तविक बुझाइ छ कि छैन भन्‍ने कुरासित सम्बन्धित हुन्छ; यदि तँमा व्यावहारिकताको बुझाइ छ र यो परीक्षाको अवधिमा तँ डगमगाउँदैनस् र लड्दैनस् भने, तँमा बलियो गवाही छ भनेर मान्‍न सकिन्छ। परमेश्‍वरको लागि गुञ्‍जायमान गवाही दिने कुरा मुख्य रूपले तँसँग व्यावहारिक परमेश्‍वरको बारेमा बुझाइ छ कि छैन र साधारण मात्र नभई सामान्य पनि रहनुभएका यस व्यक्तिमा तँ समर्पित हुन सक्छस् कि सक्दैनस्, र तँ मृत्युसम्मै समर्पित रहन सक्छस् कि सक्दैनस् भन्‍ने कुरासँग सम्बन्धित हुन्छ। यदि समर्पणद्वारा तैँले साँच्‍चै नै परमेश्‍वरको गवाही दिन्छस् भने, त्यसको अर्थ तँलाई परमेश्‍वरले प्राप्त गर्नुभएको छ भन्‍ने हुन्छ। यदि तँ मृत्युसम्‍मै समर्पित रहन सक्छस् र उहाँको अघि गुनासोमुक्त हुन्छस्, कुनै दोष लाउँदैनस्, कुनै निन्दा गर्दैनस्, कुनै धारणाहरू राख्दैनस् र कुनै गुप्त अभिप्रायहरू राख्दैनस् भने यस तरिकामार्फत परमेश्‍वरले महिमा प्राप्त गर्नुहुनेछ। मानिसद्वारा हेला गरिएको एक सामान्य व्यक्तिको अगाडि समर्पित हुनु र कुनै धारणाहरू नराखी मृत्युसम्मै समर्पित हुन सक्‍नु नै साँचो गवाही हो। मानिसहरू जुन वास्तविकताभित्र प्रवेश गरून् भन्‍ने परमेश्‍वर चाहनुहुन्छ त्‍यो भनेको उहाँका वचनहरू पालन गर्न सक्‍ने, तिनलाई अभ्यास गर्न सक्‍ने, व्यावहारिक परमेश्‍वरअगाडि झुक्‍न र आफ्नै भ्रष्टतालाई जान्‍न सक्‍ने, उहाँको सामु आफ्नो हृदय खोल्‍न सक्‍ने र अन्त्यमा उहाँका यी वचनहरूमार्फत उहाँद्वारा प्राप्त गरिन सक्‍ने व्यक्ति बन् भन्‍ने हो। जब यी वाणीहरूले तँलाई जित्छन् र तँलाई पूर्ण रूपमा उहाँको आज्ञाकारी बनाउँछन्, तब परमेश्‍वरले महिमा प्राप्त गर्नुहुन्छ; यसद्वारा उहाँले शैतानलाई लज्‍जित पार्नुहुन्छ र उहाँको काम पूरा गर्नुहुन्छ। जब तँमा देहधारी परमेश्‍वरको व्यावहारिकताको बारेमा कुनै धारणा हुँदैन—अर्थात्, जब तँ यो परीक्षामा दृढ भएर खडा हुन्छस्—तब तैँले यो गवाही राम्रोसँग दिएको हुन्छस्। यदि तैँले यस व्यावहारिक परमेश्‍वरलाई पूर्ण रूपमा बुझ्ने र तँ पत्रुसजस्तै मृत्युसम्म समर्पित हुन सक्‍ने दिन आउँछ भने, तँलाई परमेश्‍वरले प्राप्त गर्नुहुनेछ र सिद्ध तुल्याउनुहुनेछ। परमेश्‍वरले गर्नुहुने कुनै पनि कामकुरा तेरा धारणाहरूसँग मेल खाँदैन भने त्यो तेरो लागि परीक्षा हो। यदि परमेश्‍वरको काम तेरो विचारसँग मेल खान्थ्यो भने त्यसका निम्ति तैँले दुःख भोग्‍नु वा तँलाई शोधन गरिनु आवश्यक हुँदैनथ्यो। उहाँको काम अति व्यावहारिक र तेरा धारणाहरूअनुरूप नभएकोले तैँले ती धारणाहरूलाई छोड्नुपर्छ। त्यही कारणले गर्दा, यो तेरो लागि एउटा परीक्षा हो। परमेश्‍वरको व्यावहारिकताको कारणले गर्दा नै सबै मानिसहरू परीक्षाहरूको माझमा छन्; उहाँको काम अलौकिक होइन, व्यावहारिक छ। कुनै पनि धारणाहरू नराखी उहाँका व्यावहारिक वचनहरू र उहाँका व्यावहारिक वाणीहरू पूर्ण रूपमा बुझेर, अनि उहाँको काम अझ बढी व्यावहारिक हुँदै जाँदा उहाँलाई साँचो रूपमा प्रेम गर्न सकेर, तँ उहाँद्वारा प्राप्त गरिनेछस्। परमेश्‍वरद्वारा प्राप्त गरिने मानिसहरूको समूह भनेको परमेश्‍वरलाई चिन्‍ने मानिसहरू हुन्; अर्थात्, तिनीहरू उहाँको व्यावहारिकताको बारेमा जान्‍ने मानिसहरू हुन्। यसबाहेक, तिनीहरू परमेश्‍वरको व्यावहारिक कामप्रति समर्पित हुन सक्‍ने मानिसहरू पनि हुन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई साँच्‍चै प्रेम गर्नेहरू ती हुन् जो उहाँको व्यावहारिकताप्रति पूर्ण रूपमा समर्पित हुन सक्छन्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्