परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४१८

2 मे 2021

प्रार्थनाको बारेमा सबैभन्दा आधारभूत ज्ञान:

१. मनमा जे आउँछ त्यही नभन्। तेरो हृदयमा एक बोझ हुनुपर्दछ, अर्थात्, जब तँ प्रार्थना गर्छस् तेरो एउटा उद्देश्य हुनुपर्छ।

२. प्रार्थनामा परमेश्‍वरका वचनहरू समावेश हुनुपर्दछ; यो परमेश्‍वरको वचनमा आधारित हुनुपर्दछ।

३. प्रार्थना गर्दा, तैँले पुराना विषयहरूलाई कण्ठ गरेर भन्‍नुहुँदैन। तेरा प्रार्थनाहरू परमेश्‍वरका वर्तमान वचनहरूसँग सम्बन्धित हुनुपर्छ, र जब तँ प्रार्थना गर्छस्, परमेश्‍वरलाई तेरो अन्तस्करणका विचारहरू बता।

४. सामूहिक प्रार्थना एउटा विषयमा केन्द्रित हुनुपर्छ, जुन अपरिहार्य रूपमा नै, पवित्र आत्माको वर्तमान कार्य हो।

५. सबै मानिसहरूले मध्यस्थ बिन्ती प्रार्थना गर्न सिक्नुपर्दछ। यो परमेश्‍वरको इच्छाको ख्याल राख्ने एउटा तरिका पनि हो।

व्यक्तिको प्रार्थनाको जीवन, प्रार्थनाको महत्त्व र प्रार्थनाको आधारभूत ज्ञानको बुझाइमा आधारित हुन्छ। दैनिक जीवनमा, तेरा आफ्नै कमी-कमजोरीहरूको लागि बारम्बार प्रार्थना गर्, जीवनमा तेरो स्वभावमा परिवर्तन ल्याउनको निम्ति प्रार्थना गर्, र परमेश्‍वरका वचनहरू सम्‍बन्धी तेरो ज्ञानको आधारमा प्रार्थना गर्। हरेक व्यक्तिले आ-आफ्नै प्रार्थनाको जीवन स्थापित गर्नुपर्दछ, उनीहरूले परमेश्‍वरका वचनहरू जान्नको लागि प्रार्थना गर्नुपर्छ, र उनीहरूले परमेश्‍वरको कामको ज्ञानको खोजी गर्न प्रार्थना गर्नुपर्दछ। तेरा व्यक्तिगत परिस्थितिहरू परमेश्‍वर समक्ष खुलस्त राख् र तैँले प्रार्थना गर्ने तरिकामा अनावश्यक चासो नदिई वास्तविक बन्, र मुख्य कुरा भनेको सही बुझाइ प्राप्त गर्नु हो, र परमेश्‍वरका वचनहरूको वास्तविक अनुभव प्राप्त गर्नु हो। आत्मिक जीवनमा प्रवेश गर्न खोज्‍ने व्यक्तिले धेरै प्रकारले प्रार्थना गर्न सक्षम हुनुपर्छ। मौन प्रार्थना, परमेश्‍वरका वचनहरूमाथि चिन्तन गर्नु, परमेश्‍वरको कार्यलाई जान्‍नु—यी सबै सामान्य आत्मिक जीवनमा प्रवेश प्राप्त गर्नका खातिर गरिने आत्मिक सङ्गतिको उद्देश्यपूर्ण कार्यका उदाहरणहरू हुन्, जसले सदैव परमेश्‍वरसामु एक व्यक्तिको अवस्थालाई सुधार गर्छ र जीवनमा अहिलेसम्मकै महान् प्रगति गर्न हौसला प्रदान गर्दछ। संक्षेपमा भन्नुपर्दा, तैँले गर्ने जुनसुकै काम, चाहे यो परमेश्‍वरका वचनहरू खाने र पिउने होस्, वा मौन रूपले प्रार्थना गर्ने होस्, वा ठूलो स्वरमा घोषणा गर्ने होस्, त्यो सबै तँलाई परमेश्‍वरका शब्दहरू, उहाँको कार्य, र उहाँले तँमा हासिल गर्न चाहनुभएको कुरालाई स्पष्ट रूपमा देख्न सक्षम पार्नको लागि हो। अझ महत्त्वपूर्ण कुरा, तैँले गर्ने सबै कुरा परमेश्‍वरले माग गर्ने स्तरहरूमा पुग्न र तेरो जीवनलाई नयाँ उचाइहरूमा उठाउनको लागि गरिन्छ। परमेश्‍वरले मानिसबाट माग गर्नुहुने न्यूनतम कुरा भनेको मानिसले आफ्नो हृदय उहाँसामु खोल्न सक्षम होस् भन्‍ने हो। यदि मानिसले परमेश्‍वरलाई उसको साँचो हृदय प्रदान गर्दछ र उसको हृदयमा वास्तवमा जे छ त्यो बोल्दछ भने, परमेश्‍वर उसमा कार्य गर्न इच्छुक हुनुहुन्छ। परमेश्‍वरले जे चाहना गर्नुहुन्छ त्यो मानिसको कुटिल हृदय होइन, तर शुद्ध र इमान्दार हृदय हो। यदि मानिसले आफ्नो हृदयबाट परमेश्‍वरसँग कुरा गर्दैन भने, परमेश्‍वरले उसको हृदयलाई प्रेरित गर्नुहुनेछैन वा उसमा काम गर्नुहुनेछैन। तसर्थ, प्रार्थनाको मुख्य विषय भनेको परमेश्‍वरलाई तेरा कमजोरीहरू वा विद्रोही स्वभावबारे बताउँदै, आफूलाई उहाँसामु पूर्ण रूपमा खुला राख्दै तेरो हृदयदेखि परमेश्‍वरसँग कुरा गर्नु हो; तब मात्र परमेश्‍वरले तेरो प्रार्थनामा चासो राख्नुहुनेछ, अन्यथा उहाँले आफ्नो अनुहार तँबाट लुकाउनुहुनेछ। प्रार्थनाको लागि न्यूनतम मापदण्ड भनेको तैँले आफ्नो हृदयलाई परमेश्‍वर समक्ष शान्त राख्न सक्षम हुनुपर्दछ, र यो परमेश्‍वरबाट अलग हुनुहुँदैन भन्‍ने हो। यो हुन सक्छ कि, यस चरणको अवधिमा, तैँले नयाँ वा उच्च अन्तर्दृष्टि प्राप्त गर्दैनस्, तर त्यसबेला तैँले यथास्थिति कायम राख्नको लागि प्रार्थनाको उपयोग गर्नुपर्दछ—तँ पछाडि हट्नु हुँदैन। तैँले प्राप्त हासिल गर्नुपर्ने सबैभन्दा सानो कुरा यही हो। यदि तैँले यो पनि पूरा गर्न सक्दैनस् भने, यसले तेरो आत्मिक जीवन सही मार्गमा छैन भन्‍ने प्रमाणित गर्छ। परिणामस्वरूप, तँ पहिले आफूसँग भएको दर्शनलाई कायम राख्न असमर्थ हुनेछस्, तैँले परमेश्‍वरमाथिको विश्‍वास गुमाउनेछस्, र त्यसपश्‍चात तेरो संकल्प लोप हुनेछ। तँ आत्मिक जीवनमा प्रवेश गरेको छस् कि छैनस् भन्ने कुराको एउटा सङ्केत भनेको तेरा प्रार्थनाहरू सही मार्गमा छन् कि छैनन् भनेर हेर्नु हो। सबै मानिसहरू यस यथार्थतामा प्रवेश गर्नैपर्छ; उनीहरू सबैले सचेतनापूर्वक आफूहरूलाई प्रार्थनामा तालिम दिने काम गर्नुपर्दछ, निष्क्रिय रूपमा पर्खेर होइन, तर ध्यानपूर्वक पवित्र आत्माद्वारा उत्प्रेरित हुन खोजेर। त्यसपछि मात्र उनीहरू साँचो रूपले परमेश्‍वरको खोजी गर्ने मानिसहरू हुनेछन्।

जब तँ प्रार्थना गर्न सुरु गर्छस्, एकै झट्कामा सबै प्राप्त गर्ने आशा गर्दै आफैलाई असफल नबना। तैँले आफ्नो मुख खोल्नासाथै तँ पवित्र आत्माद्वारा उत्प्रेरित हुनेछस्, वा तैँले अन्तर्ज्ञान वा ज्योति प्राप्त गर्नेछस्, वा परमेश्‍वरले तँमाथि अनुग्रह वर्षाउनुहुनेछ भन्ने आशा गरेर तैँले आवश्यकताभन्दा बढी माग गर्न सक्दैनस्। त्यसो हुनेछैन; परमेश्‍वरले अलौकिक कामहरू गर्नुहुन्न। परमेश्‍वरले उहाँको आफ्नै समयमा मानिसहरूका प्रार्थनाहरू स्वीकार गर्नुहुन्छ, र कहिलेकाहीँ तँ उहाँसामु निष्ठावान् छस् कि छैनस् भनेर तेरो विश्‍वासको परीक्षण गर्नुहुन्छ। जब तँ प्रार्थना गर्छस् तँसँग विश्‍वास, दृढ निश्‍चयता, र संकल्प हुनै पर्दछ। धेरै मानिसहरू, जब भर्खरै तालिम लिन सुरु गरेका हुन्छन्, तिनीहरू हरेस खान्छस् किनकि उनीहरू पवित्र आत्माद्वारा उत्प्रेरित हुन असफल हुन्छन्। यसले काम गर्दैन! तैँले लगनशील भएर प्रयत्न गर्नुपर्दछ; तैँले पवित्र आत्माको गतिशीलता महसुस गर्न र खोजी एवं अन्वेषण गर्नमा ध्यान केन्द्रित गर्नुपर्दछ। कहिलेकाहीँ, तेरो अभ्यासको मार्ग सही हुँदैन र कहिलेकाहीँ, तेरा व्यक्तिगत मनसायहरू एवं धारणाहरू परमेश्‍वर समक्ष दृढ रूपमा कायम रहन सक्दैनन्, र त्यसैले परमेश्‍वरको आत्माले तँलाई उत्प्रेरित गर्न सक्‍नुहुन्‍न। अरू समयमा, परमेश्‍वरले तँ निष्ठावान् छस् कि छैनस् भन्ने हेर्नुहुन्छ। संक्षेपमा, तालिममा तैँले ठूलो मूल्य चुकाउनु पर्दछ। यदि तँ आफ्नो अभ्यासको पथबाट अचानक बरालिँदैछस् भन्ने पत्ता लगाइस् भने, तैँले आफ्नो प्रार्थना गर्ने तरिका बदल्न सक्‍छस्। जबसम्म तँ इमान्दार हृदयले खोजी गर्छस् र प्राप्त गर्न उत्कट इच्‍छा राख्छस्, तबसम्‍म पवित्र आत्माले तँलाई निश्‍चित रूपमा यस यथार्थतामा लैजानुहुन्छ। कहिलेकाहीँ तँ निष्कपट हृदयले प्रार्थना गर्छस् तर तैँले विशेष रूपले उत्प्रेरित भएको महसुस गर्दैनस्। यस्ता समयहरूमा, परमेश्‍वरले तेरा प्रार्थनाहरूलाई हेर्नुहुन्छ भन्ने विश्‍वास गर्दै तँ विश्‍वासमा निर्भर हुनुपर्छ; तँ आफ्ना प्रार्थनाहरूमा अटल रहनुपर्छ।

इमानदार व्यक्ति बन्; तेरो हृदयमा भएको छलकपटबाट छुट्कारा पाउन परमेश्‍वरलाई प्रार्थना गर्। प्रार्थनाको माध्यमबाट आफूलाई सधैँ शुद्ध पार्, प्रार्थनाको माध्यमबाट परमेश्‍वरको आत्माद्वारा उत्प्रेरित बन्, र तेरो स्वभाव बिस्तारै परिवर्तन हुनेछ। साँचो आध्यात्मिक जीवन प्रार्थनाको जीवन हो—यो त्यस्तो पवित्र आत्माद्वारा उत्प्रेरित जीवन हो। पवित्र आत्माद्वारा उत्प्रेरित हुने प्रक्रिया नै मानिसको स्वभाव परिवर्तन गर्ने प्रक्रिया हो। पवित्र आत्माद्वारा उत्प्रेरित नभएको जीवन आत्मिक जीवन होइन, तर केवल धार्मिक विधिविधानको जीवन मात्रै हो। पवित्र आत्माद्वारा प्रायजसो प्रेरित हुने, र पवित्र आत्माद्वारा ज्ञानी एवं प्रज्वलित हुनेहरू मात्रै, आत्मिक जीवनमा प्रवेश गरेका हुन्छन्। प्रार्थना गर्दा मानिसको स्वभाव निरन्तर रूपमा परिवर्तन हुन्छ। परमेश्‍वरको आत्माले उसलाई जति धेरै उत्प्रेरित गर्नुहुन्छ, ऊ त्यति नै सक्रिय र आज्ञाकारी बन्दछ। यसकारण, उसको हृदय पनि बिस्तारै शुद्ध हुनेछ, र उसको स्वभाव बिस्तारै परिवर्तन हुनेछ। साँचो प्रार्थनाको प्रभाव यस्तै हुन्छ।

— “वचन शरीरमा देखा पर्नुहुन्छ” बाट

थप हेर्नुहोस्

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्