परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४१६

29 अप्रील 2021

तिमीहरू आफ्‍नो दैनिक जीवनमा प्रार्थनालाई कुनै महत्त्व दिँदैनौ। मानिसले प्रार्थनाको कुरालाई बेवास्ता गर्दछ। प्रार्थनाहरू लापरवाही हुने गर्दथे, मानिस परमेश्‍वरको समक्ष केवल गतिशील भई जाने गर्दथ्यो। कुनै पनि मानिसले कहिल्यै पनि आफ्नो हृदयलाई पूर्ण रूपमा परमेश्‍वर समक्ष अर्पण गरेर परमेश्‍वरसँगको साँचो प्रार्थनामा संलग्न भएन। समस्या आउँदा मात्र मानिसले परमेश्‍वरलाई प्रार्थना गर्थ्यो। अहिलेसम्म, के तैँले परमेश्‍वरलाई कहिल्यै साँचो रूपले प्रार्थना गरेको छस्? के कुनै यस्तो समय आएको छ जब तैँले परमेश्‍वर समक्ष पीडाको आँसु झारेको थिइस्? के कुनै यस्तो समय आएको छ जब तैँले उहाँ समक्ष आफैलाई चिन्‍न पुगिस्? के तैँले परमेश्‍वरसँग कहिल्यै हृदयदेखि प्रार्थना गरेको छस्? प्रार्थना अभ्यासबाट आउँदछ: यदि तँ सामान्यतया घरमा प्रार्थना गर्दैनस् भने, तँसँग मण्डलीमा प्रार्थना गर्ने कुनै मार्ग हुनेछैन र यदि तँ साधारणतया स-साना झुण्डहरूमा प्रार्थना गर्दैनस् भने, तँ ठूला झुण्डहरूमा प्रार्थना गर्न असक्षम हुनेछस्। यदि तँ नियमित रूपमा परमेश्‍वरको निकट जाँदैनस् वा परमेश्‍वरका वचनहरूमा चिन्तन गर्दैनस् भने, प्रार्थना गर्ने समयमा तँसँग भन्नुपर्ने कुरा केही पनि हुनेछैन, र यदि प्रार्थना गर्छस् नै भने पनि, तैँले केवल ओठे-सेवा मात्रै गर्नेछस्; यो साँचो प्रार्थना हुनेछैन।

साँचो प्रार्थना के हो? साँचो प्रार्थना भनेको तेरो हृदयमा के छ सो परमेश्‍वरलाई बताउनु, परमेश्‍वरको इच्छालाई बुझेर उहाँसँग कुराकानी गर्नु, परमेश्‍वरसँग उहाँको वचनको माध्यमबाट कुराकानी गर्नु, परमेश्‍वरसँग विशेष रूपमा घनिष्ठ भएको महसुस गर्नु, उहाँ तेरो सामु हुनुहुन्‍छ भन्ने महसुस गर्नु, र उहाँलाई भन्नुपर्ने केही कुरा तँसँग छ भनेर विश्‍वास गर्नु हो। तेरो हृदयले उज्यालोले भरिएको महसुस गर्छ र तैँले परमेश्‍वर कति प्रिय हुनुहुन्छ भन्ने महसुस गर्छस्। तैँले विशेष रूपमा प्रेरित भएको महसुस गर्छस् र तेरो कुरा सुनेर तेरा दाजुभाइ-दिदीबहिनीहरूलाई सन्तुष्टि प्राप्त हुन्छ। तैँले बोल्‍ने शब्दहरू उनीहरूको हृदयभित्रका शब्दहरू हुन्, उनीहरूले भन्न चाहेका शब्‍दहरू हुन् भन्‍ने तिनीहरूले महसुस गर्नेछन्, मानौं तेरा शब्दहरू उनीहरूका आफ्नै शब्दलाई प्रतिनिधित्व गर्छ। साँचो प्रार्थना यही नै हो। तँ साँचो प्रार्थनामा संलग्न भएपछि, तेरो हृदय शान्‍तिमा हुनेछ र सन्तुष्टि के हो सो जान्‍नेछ। परमेश्‍वरलाई प्रेम गर्ने शक्ति वृद्धि हुनसक्छ, र परमेश्‍वरलाई प्रेम गर्नु जत्तिको बहुमूल्य वा महत्त्वको कुरा जीवनमा अरू केही छैन भन्‍ने तैँले महसुस गर्नेछस्। यो सबैले तेरा प्रार्थनाहरू प्रभावकारी भएका छन् भन्‍ने प्रमाणित गर्छ। के तैँले कहिल्यै यसरी प्रार्थना गरेको छस्?

अनि प्रार्थनाको विषयवस्तु कस्तो हुनुपर्छ? तेरो प्रार्थना तेरो हृदयको साँचो अवस्था तथा पवित्र आत्माको कार्य अनुरूप चरणबद्ध रूपमा अगाडि बढ्नुपर्दछ; तँ परमेश्‍वरसँग उहाँको इच्छा र मानिसबाट उहाँले जे चाहनुहुन्छ सो अनुसार कुराकानी गर्न थाल्छस्। जब तँ प्रार्थनाको अभ्यासलाई सुरु गर्छस्, सर्वप्रथम आफ्नो हृदय परमेश्‍वरलाई प्रदान गर्। परमेश्‍वरको इच्छा बुझ्ने प्रयास नगर्—केवल तेरो हृदयभित्र भएका शब्दहरू नै परमेश्‍वरसँग बोल्ने प्रयास गर्। जब तँ परमेश्‍वर सामु आउँछस्, यसरी बोल्: “हे परमेश्‍वर, मैले हजुरको अवज्ञा गर्ने गरेको थिएँ भन्‍ने मैले आज मात्र महसुस गरेँ। म वास्तवमै भ्रष्ट र नीच छु। मैले केवल आफ्नो जीवन बरबाद मात्रै गर्दै आइरहेको रहेछु। आजबाट म हजुरकै लागि जिउनेछु। म एउटा अर्थपूर्ण जीवन बिताउनेछु र हजुरको इच्छा सन्तुष्ट पार्नेछु। हजुरको आत्माले मभित्र सदैव काम गरिरहोस्, मलाई निरन्तर ज्योति र ज्ञान प्रदान गरिरहोस्। मलाई हजुर समक्ष मजबुत र ठोस गवाही वहन गर्न दिनुहोस्। शैतानले हामीमा प्रकट भएको तपाईंको महिमा, तपाईंको गवाही, र तपाईंको विजयको प्रमाण देखोस्।” जब तँ यसरी प्रार्थना गर्छस्, तेरो हृदय पूर्ण रूपमा स्वतन्त्र हुनेछ। यसरी प्रार्थना गरेपछि, तेरो हृदय परमेश्‍वरसँग अझै घनिष्ठ हुनेछ, र यदि तैँले सँधै नै यस प्रकारले प्रार्थना गर्न सक्छस् भने, पवित्र आत्माले अवश्य नै तँभित्र काम गर्नुहुनेछ। यदि तैँले परमेश्‍वरलाई सँधै यसरी नै पुकार्छस्, र उहाँ समक्ष आफ्नो संकल्प प्रस्तुत गर्छस् भने, त्यस्तो दिन आउनेछ जब तेरो संकल्प परमेश्‍वर समक्ष स्वीकार्य हुनेछ, तेरो हृदय र तेरो सम्पूर्ण अस्तित्व परमेश्‍वरले प्राप्त गर्नुहुन्छ र तँ आखिरमा उहाँद्वारा पूर्ण बनाइनेछस्। तिमीहरूको लागि, प्रार्थना अत्यन्तै महत्त्वपूर्ण छ। जब तँ प्रार्थना गर्छस् र पवित्र आत्माको कार्य प्राप्त गर्छस्, तेरो हृदय परमेश्‍वरद्वारा छोइनेछ, र परमेश्‍वरलाई प्रेम गर्ने शक्ति प्रस्फुटन हुनेछ। यदि तँ आफ्नो हृदयले प्रार्थना गर्दैनस् भने, यदि तैँले परमेश्‍वरसँग कुराकानी गर्नको लागि आफ्नो हृदय खोल्‍दैनस् भने, परमेश्‍वरले तँमा कार्य गर्ने कुनै मार्ग पाउनुहुनेछैन। यदि, प्रार्थना गरिसकेपछि र तेरो हृदयका शब्दहरू बोलिसकेपछि पनि, परमेश्‍वरको आत्माले उहाँको कार्य आरम्भ गर्नुभएको छैन र तैँले कुनै प्रेरणा प्राप्त गरेको छैनस् भने, यसले तेरो हृदयमा इमानदारीताको कमी छ, तेरा शब्दहरू असत्य र अझै पनि अशुद्ध छन् भन्ने देखाउँदछ। यदि, प्रार्थना गरिसकेपछि, तँलाई सन्तुष्टिको आभास हुन्छ भने, तेरा प्रार्थनाहरू परमेश्‍वरको निम्ति स्वीकार्य भएका छन् र तँमा परमेश्‍वरको आत्माले काम गरिरहनुभएको छ। परमेश्‍वर समक्ष सेवा गर्ने व्यक्तिको रूपमा, तँ प्रार्थनारहित रहन सक्‍दैनस्। यदि तँ परमेश्‍वरसँगको बातचितलाई वास्तवमै अर्थपूर्ण र मूल्यवान् चीजको रूपमा हेर्छस् भने, के तँ प्रार्थनालाई त्याग गर्न सक्छस्? कोही पनि परमेश्‍वरसँगको बातचित रहित हुन सक्दैन। प्रार्थनाबिना, तँ देहमा, शैतानको बन्धनमा रहेर जिउँछस्; साँचो प्रार्थनाबिना, तँ अन्धकारको प्रभावमा जिउँछस्। म आशा गर्दछु कि तिमी भाइबहिनीहरू प्रत्येक र हरेक दिन साँचो प्रार्थनामा संलग्न हुनसक्छौ। यो कुरा नियमहरू पालना गर्ने बारेमा होइन, बरु निश्चित परिणाम प्राप्त गर्ने बारेमा हो। के तँ प्रातकालीन प्रार्थना गर्न र परमेश्‍वरका वचनहरूको आनन्द लिनको लागि सबेरै उठ्न अलिकति निद्रा र सुखलाई त्याग गर्न इच्छुक छस्? यदि तँ शुद्ध हृदयले प्रार्थना गर्छस् र यसरी परमेश्‍वरका वचनहरू खान्छस् र पिउँछस् भने, उहाँको लागि तँ अझै बढी स्वीकार्य हुनेछस्। यदि हरेक बिहान तँ यसो गर्छस्, यदि हरेक दिन उहाँसँग कुराकानी गर्दै र संलग्न हुँदै, तैँले परमेश्‍वरलाई आफ्नो हृदय प्रदान गर्ने अभ्यास गर्छस् भने, परमेश्‍वर सम्‍बन्धी तेरो ज्ञान निश्चित रूपमा वृद्धि हुनेछ, र तँ परमेश्‍वरको इच्छा बुझ्न अझै बढी सक्षम हुनेछस्। तँ भन्छस्: “हे परमेश्‍वर! म आफ्नो कर्तव्य पूरा गर्न इच्छुक छु। केवल हजुरको लागि म मेरो सम्पूर्ण अस्तित्व अर्पण गर्दछु, ताकि हजुर हामीमा महिमित हुन सक्नुभएको होस्, ताकि हजुरले हाम्रो यो समूहले दिएको गवाहीमा आनन्द लिनसक्नुहोस्। म हजुरलाई बिन्ती गर्दछु कि हामीमा कार्य गर्नुहोस्, ताकि म हजुरलाई साँच्चिकै प्रेम गर्न एवं हजुरलाई सन्तुष्ट पार्न र मेरो लक्ष्यको रूपमा हजुरको खोजी गर्न सक्षम होऊँ।” जब तँ यो अभिभारा वहन गर्छस्, परमेश्‍वरले निश्चय नै तँलाई सिद्ध बनाउनुहुनेछ। तैँले केवल आफ्नै फाइदाको लागि मात्र प्रार्थना गर्नु हुँदैन, तर तैँले परमेश्‍वरको इच्छालाई पछ्याउन र उहाँलाई प्रेम गर्न पनि प्रार्थना गर्नुपर्दछ। सबैभन्दा साँचो प्रकारको प्रार्थना यही हो। के तँ परमेश्‍वरको इच्छा पछ्याउनको खातिर प्रार्थना गर्ने व्यक्ति होस्?

विगतमा, तँलाई प्रार्थना कसरी गर्ने भन्ने थाहा थिएन, अनि तैँले प्रार्थनाको कुरालाई बेवास्ता गरिस्। अब, प्रार्थनाको लागि आफैलाई तालिम दिन तैँले जति सक्दो प्रयास गर्नुपर्छ। यदि तँ परमेश्‍वरलाई प्रेम गर्न आफैंभित्रको शक्तिलाई जगाउन असमर्थ छस् भने, तँ कसरी प्रार्थना गर्छस् त? तँ भन्छस्: “हे परमेश्‍वर, मेरो हृदय तपाईंलाई साँचो प्रेम गर्न असमर्थ छ। म तपाईंलाई प्रेम गर्न चाहन्छु, तर मसँग शक्तिको अभाव छ। मैले के गर्नुपर्छ? तपाईंले मेरो आत्मिक आँखा खोलिदिनुभएको होस् र तपाईंको आत्माले मेरो हृदयलाई चलाउनुभएको होस्। यसलाई यस्तो बनाइदिनुहोस् कि म तपाईंसमक्ष उपस्थित हुँदा त्यो सबै चीज त्याग गरूँ जुन नकारात्मक छ, म कुनै पनि व्यक्ति, विषय वा चीजद्वारा विवश हुन छोडूँ, र मेरो हृदय पूर्ण रूपमा तपाईंको सामु नङ्ग्याउन सकूँ, अनि यसलाई यस्तो बनाइदिनुहोस् कि म मेरो सम्पूर्ण अस्तित्व तपाईं समक्ष अर्पण गर्न सकूँ। तपाईंले मलाई जसरी जाँच्‍नुहुन्छ, जाँच्‍नुहोस्, म तयार छु। अब, म मेरो भविष्यका सम्भावनाहरूप्रति कुनै ध्यान दिन्न, न त म मृत्युको बन्धनमा नै छु। तपाईंलाई प्रेम गर्ने हृदयको साथमा, म जीवनको मार्ग खोजी गर्न चाहन्छु। सबै विषय, सबै कुरा—यो सबै तपाईंकै हातमा छ; मेरो नियति तपाईंकै हातमा छ र मेरो यो जीवन तपाईंले आफ्नो हातमा राख्नुहुन्छ। अब, म तपाईंलाई प्रेम गर्न चाहन्छु, र तपाईंले आफूलाई प्रेम गर्ने अनुमति प्रदान गरे पनि या नगरे पनि, शैतानले जसरी हस्तक्षेप गरे पनि, म तपाईंलाई प्रेम गर्न प्रतिबद्ध छु।” जब तैँले यस्तो समस्याको को सामना गर्छस्, यसरी प्रार्थना गर्। यदि तैँले हरेक दिन यसरी प्रार्थना गरिस् भने, परमेश्‍वरलाई प्रेम गर्ने शक्ति बिस्तारै वृद्धि हुनेछ।

— “वचन शरीरमा देखा पर्नुहुन्छ” बाट

थप हेर्नुहोस्

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्