बुझेको बहाना गर्दा म बरबाद भएँ

25 अप्रिल 2023

म मण्डलीको लागि डिजाइनको काम गर्थेँ। समय बित्दै जाँदा, मैले सबै किसिमका डिजाइन र तस्विरहरू बनाउँदै जाँदा, मेरो सीप निकै सुध्रियो र मलाई टोली अगुवा छनौट गरियो। मैले मनमनै सोचेँ: “मलाई समूह अगुवा छनौट गरिनुको अर्थ मेरो काममा मसँग निश्‍चित सीप र प्रतिभाहरू छन्, म अरू ब्रदर-सिस्टरहरूभन्दा सिपालु छु र यो कामको अभिभारा लिन सक्छु। मैले यो कर्तव्यलाई कदर गर्नुपर्छ, धेरै परिश्रम गर्नुपर्छ, सत्यताका सिद्धान्तहरू खोज्‍नुपर्छ, र सक्दो गर्नुपर्छ। मैले मण्डलीको काममा बाधा दिने गल्तीहरू गर्नु हुँदैन। मैले सबैलाई म समूह अगुवा हुन लायक छु भनी देखाउनुपर्छ।”

एक दिन, मण्डली अगुवाले मकहाँ आएर भने: “मण्डलीलाई एउटा भजनको भिडियोको लागि ब्याकग्राउन्ड इमेज चाहिएको छ। यो हाम्रा पहिलेका ब्याकग्राउन्डहरू भन्दा गाह्रो हुनेछ। अहिले अरू व्यक्ति फरक-फरक डिजाइनको काममा व्यस्त भएकाले, र यो काम गर्न अरू कसैलाई ल्याउँदा हाम्रो प्रगतिमा ढिलाइ हुने भएकोले, हामी तपाईंले नै यसमा काम गरेको चाहन्छौँ। तपाईंलाई यो काम गर्न सक्छु जस्तो लाग्छ?” मेरो अगुवाले यसो भनेको सुन्दा, मैले सोचेँ: “मैले यस्तो कठिन ब्याकग्राउन्ड पहिले कहिल्यै बनाएकी छैनँ, म राम्रो परिणाम निकाल्‍न सक्छु भनेर निश्‍चित छैनँ।” तर त्यसपछि सोचेँ, “अगुवाहरू र ब्रदर-सिस्टरहरूले यस प्रोजेक्टमा ध्यान दिइरहेका हुनेछन्—मैले यो कर्तव्य पूरा गरेको अहिले दुई वर्ष भयो, मैले कठिन समस्या र कामहरू सम्‍हालेकी छु, र निकै राम्रो सीप सिकेकी छु। मैले यस्तो कठिन ब्याकग्राउन्ड बनाउने काम लिन लागेकी सायद पहिलोपटक हो, र अवश्य नै केही अप्रत्याशित समस्या आउनेछन्, तर यदि मैले यस्तो काम पनि सम्हाल्न सकिनँ भने, अरू सबैले मलाई के सोच्‍नेछन्? यदि मैले यो काम सम्हाल्न सकिनँ भने, के तिनीहरूले मलाई प्रतिभा नभएको व्यक्ति र मैले कुनै प्रगति गरेकी छैनँ सोच्नेछन्? अहिले अरू ब्रदर-सिस्टरहरू सबै आफ्‍नै प्रोजेक्टमा काम गरिरहेका छन्, र यदि अहिले मसँग काम गर्न अरू कसैलाई मकहाँ पठाउनुपऱ्यो भने, सबैले अवश्य नै मलाई ठूला जिम्‍मेवारीहरू सम्‍हाल्‍न नसक्ने, भरोसा गर्न नसकिने र नेतृत्वको लागि अयोग्य ठान्नेछन्। मैले त्यस्तो हुन दिनु हुँदैन! मैले जे भए पनि यो प्रोजेक्ट लिनुपर्छ। म आफूलाई थाहा नभएको कुरा मात्रै हेर्नेछु ताकि मैले यो सब काम सही तरिकाले सच्याउन सकूँ, र म चुनौतीपूर्ण काम गर्न सक्छु भनेर सबैलाई देखाउन सकूँ।” यस्तो निर्णय गरेपछि, मैले निर्धक्‍क हुँदै जवाफ दिएँ: “भइहाल्छ नि, म यो काम गर्न सकिहाल्छु। यो अरूभन्दा अलिक कठिन र मेहनत चाहिने ब्याकग्राउन्ड मात्रै हो। अलिक मेहनत गरेँ भने, राम्रो गुणस्तरको ग्यारेन्टी दिन सक्छु।” मलाई निर्धक्‍क देखेपछि, अगुवाले शिर हल्‍लाए: “यो ब्याकग्राउन्डको लागि हामीसँग धेरै समय छैन र यो डिजाइनले भजनको अर्थ र मर्मलाई झल्काउनुपर्छ। यो डिजाइन बनाउँदा तपाईंलाई कुनै समस्या भयो भने, तुरुन्तै मलाई सम्पर्क गरिहाल्‍नुहोस्।” मेरा सुपरभाइजरले पनि यसो भने: “तपाईंले यसलाई राम्ररी गर्न सक्‍नुभएन भने, हामीलाई भन्‍नुहोस् र हामी तपाईंलाई सहयोग गर्न कोही खटाउन सक्छौँ।” मैले उत्साहित हुँदै र घबराउँदै सहमतिमा शिर हल्‍लाएँ: यस्तो महत्त्वपूर्ण डिजाइनमा काम गर्न लागेकीमा म उत्साहित थिएँ, जुन काम मैले राम्ररी गरेँ भने सम्‍मान कमाउनेथिएँ, तर यस्तो कठिन काम सम्‍हाल्‍न सक्छु कि सक्दिनँ भन्‍ने मलाई चिन्ता पनि थियो। म तिनीहरूले चाहेको गुणस्तर दिन सक्छु कि सक्दिनँ भनेर पक्‍का थिइनँ! तर जे भए पनि, मैले सबैलाई निराश तुल्याउनु हुँदैनथ्यो। यो दुर्लभ अवसरको सक्दो सदुपयोग गर्न, मैले तुरुन्तै अनुसन्धान गर्न थाल्‍नुपर्थ्यो, अघि बढ्ने क्रममा विभिन्न कामकुराको प्रयोग गर्नुपर्थ्यो। यो जति गाह्रो भए पनि यसलाई राम्ररी बुझ्‍नेथिएँ।

डिजाइन बनाउँदा, समय मिलिक्कै बितेको जस्तो लाग्यो र सबै किसिमका समस्याहरू देखा परे। म तनाव बढ्दै गएको महसुस गर्न सक्थेँ। अगुवा र सुपरभाइजरले प्रायजसो मेरो कामको प्रगतिबारे र मलाई कुनै समस्या भयो कि भनेर सोध्थे। म अत्यन्तै घबराएर, तिनीहरूलाई सबै “ठिक छ” भन्थेँ, तर वास्तवमा कामिरहेकी हुन्थेँ: डिजाइनमा अझै केही ठूला प्रगति र सुधारहरू गर्नु आवश्यक थियो। अन्तिममा यो कस्तो बन्नेछ भनी मलाई वास्तवमा थाहा नै थिएन। यो राम्रो बनेन भने, सबैले मेरो सीपको साँचो स्तर देख्‍नेथिए, र तिनीहरूले मलाई म असक्षम भएकी र मैले देखावटी गर्ने मात्रै प्रयास गरिरहेकी छु भनेर भन्‍नेथिए। मैले यो काम गर्छु भनेर वचन दिएकी हुनाले, आफूले भनेको कुरा पूरा गरिनँ भने आफ्नो खुट्टामा आफै बञ्चरो हानिरहेकी हुनेछु जस्तो लाग्यो, त्यसैले मैले फलामको चिउरा चपाएर अघि बढ्दै समाधान निकाल्नुपर्थ्यो। मैले अझै पनि अवधारणा बनाएकी थिइनँ, त्यसैले सोच्नमा धेरै समय बरबाद भयो। एकपटक, अगुवाले हाम्रो स्टुडियोमा आएर मैले काम गरेको हेरे, त्यसैले कामक सबै कुरा मेरो नियन्त्रणमा छन् भनेर देखाउन मैले जानाजानी सजिलो भागचाहिँ छिटो-छिटो बनाएँ। तर वास्तवमा, म यति घबराएकी थिएँ कि मेरो हतकेला पसिनाले भिजिरहेको थियो। अगुवा गएपछि, मैले गाह्रो भागमा काम गर्न र दिमाग खियाउन थालेँ। अगुवाले मेरो क्षमतामा प्रश्‍न उठाउलान् भन्‍ने चिन्ताले मैले समस्या छ भनेर स्विकार्न चाहिनँ। मैले यस्तो ठूलो दाबी गरिसकेकी हुनाले, यसलाई फिर्ता लिनु लाजमर्दो कुरा हुनेछ भन्‍ने सोचेँ। मैले दृढ सङ्कल्प गरेर अघि बढ्दै समाधान निकाल्नुपर्थ्यो, तर मेरो प्रगति निकै सुस्त भइरहेको थियो र मैले भावनात्मक रूपमा लखतरान महसुस गरेँ। डिजाइन सक्‍न म अन्तिम रात अबेरसम्‍म बसेँ। मेरा अगुवा र सुपरभाइजरले हेरेर यो राम्रै देखिन्छ तर यसमा केही परिमार्जन गर्नुपर्छ भने। तर पनि, मैले आफ्‍नो कर्तव्य निर्वाह गर्नुको आनन्द पाइनँ—म अन्योलमा परेँ, र खुसी हुन सकिनँ।

पछि, मैले मेरो भक्तिको समयमा परमेश्‍वरको वचनको एउटा खण्ड पढेँ: “यदि तँलाई जीवनमा प्रायजसो दोषी महसुस भइरहन्छ, तेरो हृदयले कुनै चैन पाउँदैन, तँमा शान्ति वा आनन्द छैन, र तँ प्रायजसो हरप्रकारका कुराहरूबारे चिन्ता र तनावमा परिरहन्छस् भने, यसले के देखाउँछ? यसले तँ सत्यता अभ्यास गर्दैनस्, र परमेश्‍वरप्रतिको गवाहीमा दह्रिलो भई खडा हुँदैनस् भन्‍ने मात्रै देखाउँछ। जब तँ शैतानको स्वभावमाझ जिउँछस्, तैँले प्रायजसो सत्यता अभ्यास गर्न नसक्‍ने, सत्यताप्रति पिठ्यूँ फर्काउने, र स्वार्थी तथा घृणित बन्‍ने सम्‍भावना हुन्छ; तैँले आफ्नै छवि, आफ्नै असल नाम र हैसियत, र आफ्नै हितहरू मात्रै कायम गर्छस्। सधैँ आफ्नै लागि मात्र जिउँदा त्यसले ठूलो पीडा ल्याउँछ। तँमा यति धेरै स्वार्थी इच्छा, जाल, बन्धन, आशङ्का, र झन्झटहरू छन् कि तँमा अलिकति पनि शान्ति वा आनन्द छैन। भ्रष्ट देहको लागि जिउनु भनेकै चरम रूपमा कष्ट भोग्‍नु हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। कर्तव्य निर्वाह गरेसँगै जीवन प्रवेश प्रारम्भ हुन्छ)। परमेश्‍वरका वचनहरू मनन गरेर मैले के महसुस गरेँ भने ममा हैसियतको इच्‍छा धेरै भएकोले डिजाइन सकेपछि पनि मलाई थकान र निराशा महसुस भयो। मैले आफ्‍नो कर्तव्यका कमीकमजोरी लुकाउन, आफ्‍नो वास्तविकता लुकाएँ, र अरूका अघि देखावटी रूप धारण गरेँ। पछि, मैले परमेश्‍वरको वचनको अर्को खण्ड भेट्टाएँ जसले मलाई आफ्‍नो भ्रष्ट स्वभाव अझै राम्ररी बुझ्न सहयोग गऱ्यो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “मानिसहरू आफै सृष्टिका थोकहरू हुन्। के सृष्टिका थोकहरूले सर्वशक्तिसम्पन्नता प्राप्त गर्न सक्छन्? के तिनीहरूले सिद्धता र निष्खोटता प्राप्त गर्न सक्छन्? के तिनीहरूले सबै कुरामा निपुणता प्राप्त गर्न, सबै कुरा बुझ्न, सबै कुरा देख्‍न, र सबै कुराको लागि सक्षम हुन सक्छन्? तिनीहरूले सक्दैनन्। तैपनि, मानिसहरूभित्र भ्रष्ट स्वभावहरू र घातक कमजोरी हुन्छन्। तिनीहरूले कुनै सीप वा पेसा सिक्ने बित्तिकै तिनीहरूले आफू सक्षम छन्, तिनीहरू हैसियत र महत्त्व भएका मानिसहरू हुन्, र तिनीहरू पेसेवारहरू हुन् भन्ने विचार गर्छन्। तिनीहरू जति नै ‘साधारण’ भए पनि, तिनीहरू सबै आफूलाई महत्त्वपूर्ण वा उच्‍च व्यक्तिको भेषमा प्रस्तुत गर्न चाहन्छन्, आफूलाई सानोतिनो सेलिब्रेटी नै बनाउन चाहन्छन्, र मानिसहरूको नजरमा एउटै पनि खोट नभएको सिद्ध र दोषरहित देखिन चाहन्छन्; तिनीहरू प्रसिद्ध, शक्तिशाली, महान् व्यक्ति, र जुनसुकै कार्य गर्न सक्षम र गर्न नसक्‍ने कुनै कुरा नभएको पराक्रमी व्यक्ति बन्‍न चाहन्छन्। यदि तिनीहरूले अरूको सहायता खोजे भने, तिनीहरू असक्षम, कमजोर, र महत्त्वहीन देखिन्छन्, र मानिसहरूले तिनीहरूलाई तुच्छ ठान्नेछन् भन्‍ने तिनीहरू विचार गर्छन्। यसकारण, तिनीहरू सधैँ अगाडि रहन चाहन्छन्। कतिपय मानिसहरूलाई जब कुनै काम गर्न लगाइन्छ, तब उनीहरूले त्यो कसरी गर्नुपर्छ सो जान्दछौं भनी भन्छन्, तर वास्तवमा तिनीहरूले त्यो जानेका हुँदैनन्। पछि, गुप्त रूपमा उनीहरू त्यसको बारेमा खोजी गर्छन् र त्यो कसरी गर्ने भनी सिक्‍ने कोसिस गर्छन्, तर धेरै दिनसम्म अध्ययन गरेपछि पनि तिनीहरूले अझै त्यसलाई कसरी गर्ने भनेर बुझ्दैनन्। जब तिनीहरूले त्यो कसरी गर्दै छन् भनी सोधिन्छ, तिनीहरू भन्छन्, ‘चाँडै भइहाल्छ!’ तर हृदयमा, तिनीहरूले यस्तो सोचिरहेका हुन्छन्, ‘म अहिलेसम्‍म त्यो स्तरमा पुगेको छैन, मैले केही बुझेको छैन, के गर्ने मलाई थाहा छैन! मैले मेरो भित्री कुरा थाहा दिनु हुँदैन, मैले मुखौटा ओढ्न जारी राख्‍नुपर्छ, मैले मानिसहरूलाई मेरा कमीकमजोरी र अज्ञानता देखाउनु हुँदैन, मैले तिनीहरूलाई मलाई हेप्‍न दिनु हुँदैन!’ यो कस्तो समस्या हो? यो जसरी भए पनि आफ्‍नो इज्‍जत बचाउने प्रयास गर्दै नारकीय जीवन जिउनुसरह हो। यो कस्तो किसिमको स्वभाव हो? त्यस्ता मानिसहरूको अहङ्कारको कुनै सीमा हुँदैन, तिनीहरूले सबै विवेक गुमाइसकेका हुन्छन्! तिनीहरूलाई जोकोहीजस्तो बन्‍न मन लाग्दैन, तिनीहरू मामुली, सामान्य मानिसहरू बन्‍न चाहँदैनन्, बरु महामानव, उच्‍च व्यक्ति, वा उस्ताद बन्‍न चाहन्छन्। यो निकै ठूलो समस्या हो! सामान्य मानवताभित्रका कमजोरीहरू, कमीहरू, अज्ञानता, मूर्खता, र समझको कमीको सम्बन्धमा भन्दा, तिनीहरूले ती सबै कुरा पोको पार्छन्, र अरू मानिसहरूलाई त्यो देख्न दिँदैनन्, र त्यसपछि आफैलाई लुकाइरहने गर्छन्। … तिमीहरू के भन्छौ, के त्यस्ता मानिसहरू यथार्थबाहिर गएर बाँचिरहेका हुँदैनन् र? के तिनीहरूले दिवासपना देखिरहेका हुँदैनन्? तिनीहरूले आफू को हुन् भनेर आफै चिन्दैनन्, न त तिनीहरूले सामान्य मानवतामा कसरी जिउने भनेर नै जान्दछन्। तिनीहरूले कहिल्यै पनि व्यावहारिक मानिसले जस्तो व्यवहार गरेका हुँदैनन्। यदि तँ सधैँ यथार्थबाहिर गई, लटरपटर गर्दै, कुनै पनि काम व्यावहारिकताअनुसार नगरेर अनि सधैँ कल्पनामा जिएर दिन बिताउँछस् भने, त्यो समस्याजनक कुरा हो। तैँले जीवनमा चुनेको मार्ग सही हुँदैन(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरमाथिको विश्‍वासको सही मार्गमा हिँड्नको लागि पूरा गर्नैपर्ने पाँच सर्तहरू)। परमेश्‍वरको वचनले मेरो वर्तमान स्थितिलाई खुलासा गऱ्यो। मलाई लाग्यो, मैले डिजाइनको काम गरेको केही समय भएकोले, मैले केही सीप सिकेकी छु र म समूह अगुवा छनौट भएकी छु, म सक्षम र दुर्लभ प्रतिभा हुँ। मैले आफूलाई यस्तो सोचेकीले, अरूले मलाई के सोच्छन् भनेर म विशेष ध्यान दिन्थेँ, र तिनीहरूले मेरा कमीहरू देखेर मलाई कामको निम्ति योग्य छैन भन्‍नेछन् भन्‍ने चिन्ता गर्थेँ। विशेष गरी यो ब्याकग्राउन्ड इमेज बनाउने सन्दर्भमा, मैले यस्तो कठिन काम पहिले गरेकी थिइनँ, र म सफल हुन्छु कि हुँदिनँ भनेर निश्‍चित थिइनँ, तर आफ्‍नो प्रतिष्ठा र हैसियत कायम राख्‍न, र सुपरभाइजर र अगुवाको भरोसा जित्‍न, मैले यो सब मेरो हातमा भएको बहाना गरेँ। मैले समस्याहरू सामना गर्दा र प्रगति नगर्दा, सहयोग मागिनँ, बरु एकलै सङ्घर्ष गरेँ। अगुवाले मेरो प्रगतिबारे वा मलाई कुनै समस्या भयो कि भनी सोध्दा, मैले आफू पूर्णरूपमा अन्योलमा परेकी भए पनि, आफ्‍नो समस्याबारे तिनलाई बताइनँ बरु तिनलाई ढाँट्न र छल्न रोजेँ, यहाँसम्‍म कि म त्यो काम गर्न सक्छु भनेर तिनलाई सोच्‍ने तुल्याउन आफू निकै सिपालु भएको नाटक गरेँ। मैले आफ्‍ना कमीहरू ढाकछोप गर्न हरेक पक्षमा झूटो रूप धारण गरेँ। म सधैँ सिपालु कर्मचारी हुँ जस्तो नाटक गर्थेँ ताकि अरूले म कुनै पनि काम गर्न सक्छु, र मलाई सबै कुरा थाहा छ भन्‍ने सोचून्। म अत्यन्तै अभिमानी र अहङ्कारी रहेछु भन्‍ने मलाई महसुस भयो। परमेश्‍वरको वचनले भन्छ, “मानिसहरू आफै सृष्टिका थोकहरू हुन्। के सृष्टिका थोकहरूले सर्वशक्तिसम्पन्नता प्राप्त गर्न सक्छन्? के तिनीहरूले सिद्धता र निष्खोटता प्राप्त गर्न सक्छन्? के तिनीहरूले सबै कुरामा निपुणता प्राप्त गर्न, सबै कुरा बुझ्न, सबै कुरा देख्‍न, र सबै कुराको लागि सक्षम हुन सक्छन्? तिनीहरूले सक्दैनन्।” वास्तवमै हो भ्रष्ट व्यक्ति कसरी सिद्ध र सबै कुरा गर्न सक्‍ने हुन सक्छ? आफ्‍नो कर्तव्यमा कतिपय कुरा नबुझ्‍नु वा गर्न नसक्‍नु सामान्य कुरा हो, तर आफ्‍ना त्रुटिहरूप्रति ममा त्यो मनोवृत्ति थिएन। बरु, मैले आफूलाई प्रतिभावान् कर्मचारी जस्तो देखाउन जिद्दी गरिरहेकी थिएँ। म सृष्टि गरिएको औसत व्यक्तिको रूपमा मात्र देखिन चाहन्‍नथेँ। म सिद्ध र त्रुटिविहीन हुन खोजेँ। म यति अहङ्कारी भएँ कि मैले सबै समझ गुमाएकी थिएँ। अरूले मेरो वास्तविकता देख्छन् भन्‍ने चिन्ताले म आफ्‍नो कर्तव्यमा सधैँ देखावटी रूप धारण गर्थेँ, र कुनै कुरा नबुझ्दा सहयोग माग्दिनथेँ, त्यसैले तुरुन्तै सकिनुपर्ने डिजाइनको प्रगति सुस्त भयो र म भावनात्मक रूपमा लखतरान भएँ। म त्रुटिविहीन हुन खोज्नु मेरो मूर्खता रहेछ भन्‍ने मलाई महसुस भयो। म आफ्‍ना कमीहरूको सामना गर्न नसकेर सधैँ तिनलाई लुकाइरहेकी हुन्थेँ। परिणामस्वरूप, मैले आफ्‍नो कर्तव्यमा थकित हुने र कपटी व्यवहार मात्रै गरिनँ, तर मण्डलीको काममा ढिलाइ पनि गरेँ। यो महसुस गरेपछि, मैले परमेश्‍वरलाई प्रार्थना गरेँ: “प्यारो परमेश्‍वर! तपाईंको अन्तर्दृष्टि र डोऱ्याइको लागि धन्यवाद, जसले मैले आफूलाई ढाकछोप गर्न खोज्नु कति दयनीय कुरा रहेछ भनेर बुझ्न मलाई सहयोग गरेको छ। म भावी अभ्यासको खोजीबारे मेरा गलत दृष्टिकोणलाई सच्याउन, आफ्‍ना कमीकमजोरीहरूप्रति सही मनोवृत्ति राख्‍न, नबुझेको कुरा सोध्‍न, ढाकछोप नगर्न, र आफ्नो कर्तव्य व्यावहारिक र इमानदार भएर पूरा गर्न तयार छु।”

पछि, मैले परमेश्‍वरका अझै धेरै वचन पढेँ: “समस्या जे भए पनि, उत्पन्न हुने कुनै पनि समस्याको समाधान गर्नका लागि तैँले सत्यताको खोजी गर्नुपर्छ, अनि कुनै पनि प्रकारले आफैलाई फरक रूपमा देखाउने वा अरूको अगाडि झूटो अनुहार धारण गर्ने गर्नु हुँदैन। तेरा दोषहरू, तेरा कमीहरू, तेरा गल्तीहरू, तेरो भ्रष्ट स्वभाव—ती सबैका बारेमा पूर्ण रूपमा खुला बन्, र ती सबैका विषयमा सङ्गति गर्। ती कुरालाई भित्र लुकाएर नराख्। आफैलाई कसरी खुलस्त बनाउनुपर्छ सो सिक्नु नै जीवनमा प्रवेश गर्नेतर्फको पहिलो कदम हो, र यो पहिलो बाधा हो, जसमाथि विजय पाउन सबैभन्दा गाह्रो हुन्छ। तैँले यसमाथि विजय पाएपछि, सत्यतामा प्रवेश गर्न सजिलो हुन्छ। यो कदम उठाउनुले के कुराको सङ्केत गर्छ? यसको अर्थ, तैँले आफ्नो हृदय खोल्दैछस् र तेरा राम्रा वा नराम्रा, सकारात्मक वा नकारात्मक, सबै कुरा देखाउँदैछस्, अरू मानिस र परमेश्‍वरले देख्ने गरी आफैलाई उदाङ्गो पार्दैछस्; परमेश्‍वरबाट केही लुकाएको छैनस्, केही गोप्य कुरा राखेको छैनस्, कुनै कुरालाई ढाकेर राखेको छैनस्, छल र चालबाजीबाट मुक्त छस्, र यस्तै गरी अरू मानिसहरूसँग खुला र इमानदार हुँदैछस्। यस प्रकारले, तँ ज्योतिमा जिउँछस्, र परमेश्‍वरले मात्र तँलाई छानबिन गर्नुहुन्‍न, तर अरू मानिसहरूले पनि तँ सिद्धान्त र केही हदसम्म पारदर्शितासहित काम गर्दछस् भनी देख्न सक्नेछन्। तैँले कुनै तरिका प्रयोग गरी आफ्‍नै प्रतिष्ठा, छवि, र हैसियत जोगाउनु आवश्यक पर्दैन, न त आफ्ना गल्तीहरूलाई ढाकछोप गर्नु वा छद्म रूप दिनु नै आवश्यक पर्छ। तैँले यी व्यर्थका प्रयासहरूमा संलग्‍न हुनु आवश्यक छैन। यदि तैँले यी कुराहरूलाई छोड्न सक्छस् भने, तँ तनावरहित हुनेछस्, निल र पीडारहित भई बाँच्नेछस्, र पूर्ण रूपमा ज्योतिमा रहेर जिउनेछस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। मैले के महसुस गरेँ भने, यदि म आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न र परमेश्‍वरको स्याबासी पाउन चाहन्छु भने, सत्यता खोज्नु महत्त्वपूर्ण छ। मैले आफ्‍नो कर्तव्यमा जस्तोसुकै भ्रष्ट स्वभाव प्रकट गरे पनि वा जेजस्ता समस्याहरूको सामना गरे पनि, मैले डोऱ्याइ खोज्‍न परमेश्‍वरलाई प्रार्थनामा सबै कुरा खुलस्त बताउनुपर्थ्यो, प्रतिष्ठा र हैसियतप्रतिको आफ्नो चाहना हटाउनुपर्थ्यो, ब्रदर-सिस्टरहरूसँग सङ्गति गर्नुपर्थ्यो, ढाकछोप र देखावटी गर्नबाट टाढा बस्नुपर्थ्यो सबैलाई मेरो वास्तविकता देखाउनुपर्थ्यो, आफूले गर्न सक्‍ने कुरा मात्रै गर्नुपर्थ्यो, आफ्नो असक्षमता स्विकारेर अरूसँग सत्यता खोज्नुपर्थ्यो। यसरी आफ्‍नो कर्तव्य पूरा गर्दा त्यति थकावट र बोझ हुनेथिएन—यो आनन्दमय हुनेथ्यो। यो महसुस गरेपछि, मैले समग्र डिजाइन प्रक्रियामा भएको आफ्नो सोचाइबारे ब्रदर-सिस्टरहरूसँग सङ्गति गरेर खुलस्त बताएँ र मैले सामना गरेका समस्याहरू तिनीहरूसँग छलफल गर्न अघि सारेँ। ब्रदर-सिस्टरहरूले मलाई केही नयाँ तरकिपहरू सिकाए र नयाँ विचारहरू बताए। त्यसपछि, मैले ब्याकग्राउन्डमा काम गरेको बाँकी समय सहजरूपमा अघि बढ्यो। पछि, केही ब्रदर-सिस्टरहरूले मलाई भने, “तपाईंको ब्याकग्राउन्ड इमेज पहिलेका भन्दा राम्रो देखिन्छ। के तपाईं आफ्‍नो अनुभव र आफूले सिकेका कुरा कुनै बेला हामीलाई बताउन सक्‍नुहुन्छ?” यो सुन्दा मलाई साह्रै खुसी लाग्यो र मैले आफ्‍नो कर्तव्य व्यावहारिकरूपमा पूरा गरेकी छु जस्तो लाग्यो। मैले ब्याकग्राउन्ड डिजाइन गर्दाको आफ्नो अनुभवबारे सोच्दा, के महसुस गरेँ भने कमीकमजोरीहरू हुनु गलत कुरा होइन र अरूले ती थाहा पाउँदा कुनै हानि हुँदैन। खुलस्त भएर सत्यता खोज्न सक्‍नु, र आफ्‍ना अनुचित अभिप्राय र इच्‍छाहरू पन्छाउन सक्‍नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो। यसरी काम गर्दा शान्त र सहज महसुस गर्न सकिन्छ।

बिस्तारै, मैले कठिन प्रोजेक्टहरूका निम्ति गुणस्तरीय डिजाइनहरू बनाउन सकेँ र अरू ब्रदर-सिस्टरहरूले भन्दा बढी डिजाइनहरू सकाएँ। तिनीहरूले सधैँ मलाई डिजाइन अवधारणा र अरू प्राविधिक प्रश्‍नहरू सोध्थे। सुरुमा, म आफूलाई थाहा भएको कुरा मात्रै बताउँथेँ, तर धेरै मानिसहरूले सोध्दा, मैले थाहै नपाई यस्तो सोच्‍न थालेँ, “अब भने सबैले मेरा प्रतिभाहरू चिनेछन्। नत्र भने, किन तिनीहरूले मलाई सल्‍लाह माग्‍नेथिए र?” थाहै नपाई, म यो सन्तुष्टिबोधमा साँच्चै रमाउन थालेँ र आफूप्रति निकै प्रसन्‍न थिएँ। तर एउटा अप्रत्याशित घटना घट्यो। मैले भजनको लागि डिजाइन गरेको एउटा ब्याकग्राउन्डमा, मेरा अगुवाले सिद्धान्त उल्‍लङ्घन गर्ने समस्या पत्ता लगाए र यसबारे कुरा गर्न मलाई बोलाए। त्यो तस्विरलाई त्यही दिन परिमार्जन गर्नुपर्छ नत्र काममा ढिलाइ हुनेछ भनेर भने र म आफै परिमार्जन गर्न सक्छु कि अरूको सहयोग चाहिन्छ भनेर सोधे। मैले मनमनै सोचेँ: “यो तस्विर मैले डिजाइन गरेकी हुँ, त्यसैले यदि यो अरू कसैलाई दिएँ भने, के मेरो सीप अपर्याप्त छ भन्‍ने देखिनेछैन र? के मानिसहरूले म ठूलो कुरा त गर्छु, तर चाहिएको बेला त्यो पूरा गर्न सक्दिनँ भनेर सोच्‍नेछैनन् र? त्यस्तो हुनु हुँदैन! मैले अहिले हार मान्नु हुँदैन। मैले आफै यो समस्या समाधान गर्न सकेँ भने, सबैले म आफ्‍नो काम गर्न सक्‍ने, भरोपर्दो र विकास गरिन लायक छु भनी जान्‍नेछन्।” यो महसुस गरेर, मैले अगुवालाई सिद्धान्तअनुसार म आफै यो सच्याउनेछु भनेर भनेँ। परिमार्जन गर्दा, चित्रको एउटा भागको लागि मैले राम्रो अवधारणा निकाल्न सकिनँ। समय सकिन लागेको र म अझै त्यही अवधारणामा नै अल्झिरहेको कारण मलाई निकै तनाव भयो, म यसलाई जतिसक्दो चाँडो सकाउन चाहन्थेँ, तर मैले त्यो डिजाइनलाई जसरी परिमार्जन गरे पनि, मिलेको थिएन। म त्यो अवधारणामा बिहान ५ बजेसम्‍म अल्झिरहेँ, तर पनि केही सोच्‍न सकिनँ। त्यसपछि मात्रै मैले मनमनै सोध्‍न थालेँ, मलाई किन यो समस्या भइरहेको छ? मैले सिद्धान्तका केही पक्षहरू नबुझेकी हुनाले मेरो डिजाइनले सिद्धान्त उल्‍लङ्घन गरेको रहेछ भन्‍ने मलाई अचानक महसुस भयो। यो परिमार्जन गर्नुपरेकोले काममा ढिलाइ भइसकेको थियो। मेरो परिमार्जनले कामकुरा सच्चियो कि सच्चिएन भनी म निश्‍चित थिइनँ, र यो तस्विर तुरुन्तै चाहिएको थियो, त्यसकारण केही सहयोग माग्‍नुपर्छ भन्‍ने मलाई थाहा भयो। तर आफ्‍नो हैसियत र प्रतिष्ठा कायम राख्‍न, अनि आफ्‍ना कमीकमजोरीहरूलाई ढाकछोप गर्न, मैले एकलै यसमा आफ्नै पाराले सङ्घर्ष गर्ने प्रयास गरिरहेकी थिएँ। के मैले मण्डलीको काममा ढिलाइ गरिरहेकी थिइनँ र? यो महसुस गरेपछि, मलाई साह्रै पछुतो भयो र मैले पश्‍चात्ताप गर्न तुरुन्तै परमेश्‍वरलाई प्रार्थना गरिहालेँ, “हे परमेश्‍वर! म आफ्‍नो भ्रष्ट स्वभावको बन्धनमा परेकी छु। समस्या आउनेबित्तिकै, म सबै कुरा ठिक भएको नाटक गर्छु ताकि अरूले मेरो आदर गरून्। म आफ्‍ना कमीकमजोरीहरूको उचितरूपमा सामना गर्न सक्दिनँ। कर्तव्य पूरा गर्ने कस्तो थकाइलाग्दो तरिका! प्यारो परमेश्‍वर, मलाई आफ्‍नो भ्रष्टता पहिचान गर्न र आफ्‍नो अभिमान त्याग्‍न मार्गदर्शन दिनुहोस्, ताकि मैले तपाईंको वचनअनुसार अभ्यास गर्न सकूँ।” प्रार्थना गरेपछि, मलाई परमेश्‍वरका यो वचन याद आयो, “तँ सधैँ महानता, कुलीनता र हैसियत खोज्दै छस्; तँ सधैँ उच्‍चता खोज्छस्। यस्तो देख्दा परमेश्‍वरले कस्तो महसुस गर्नुहुन्छ? उहाँले यसलाई घृणा गर्नुहुन्छ र उहाँ तँबाट टाढा जानुहुन्छ। तैँले जति धेरै महानता, कुलीनता, र अरूभन्दा उच्‍च, प्रतिष्ठित, उत्कृष्ट र उल्लेखनीय हुने लक्ष्य पछ्याउँछस्, परमेश्‍वरले तँलाई त्यति नै धेरै घिनलाग्दो पाउनुहुन्छ। तैँले आफ्नै बारेमा समीक्षा गरी पश्‍चात्ताप गर्दैनस् भने, परमेश्‍वरले तँलाई घृणा गर्नुहुनेछ र तँलाई त्याग्‍नुहुनेछ। परमेश्‍वरलाई घिनलाग्‍ने व्यक्ति नबन्‍ने कुरा सुनिश्‍चित गर्! परमेश्‍वरले प्रेम गर्नुहुने व्यक्ति बन्। त्यसो भए, परमेश्‍वरको प्रेम कसरी प्राप्त गर्न सकिन्छ त? एकदमै आज्ञाकारीपूर्वक सत्यता प्राप्त गरेर, सृष्टि गरिएको प्राणीको स्थानमा उभिएर, समझदार र व्यावहारिक भई परमेश्‍वरका वचनहरूअनुरूप व्यवहार गरेर, इमानदार व्यक्ति बन्‍ने प्रयास गरेर, र मानवको स्वरूपमा जीवन जिएर। यति नै काफी छ, परमेश्‍वर सन्तुष्ट हुनुहुनेछ। मानिसहरूले महत्वाकांक्षा नपाल्ने वा अल्छे सपनाहरूमा नभुल्ने, प्रसिद्धि, फाइदा, र हैसियतको पछि नलाग्‍ने वा भीडभन्दा राम्रो देखिन नखोज्ने कुरा सुनिश्‍चित गर्नुपर्छ। यसअतिरिक्त, तिनीहरूले मानिसहरूमाझ उच्‍च स्थानमा रहेको र अरूलाई आफ्नो आराधना गर्न लगाउने महान्‌ व्यक्ति वा महामानव बन्‍ने कोसिस गर्नु हुँदैन। त्यो भ्रष्ट मानवजातिको चाहना हो, र त्यो शैतानको बाटो हो; यस्ता मानिसहरूलाई परमेश्‍वरले मुक्ति प्रदान गर्नुहुन्‍न। यदि मानिसहरू निरन्तर प्रसिद्धि, फाइदा, र हैसियतको पछि लाग्छन् र पश्‍चात्ताप गर्न अस्विकार गर्छन् भने तिनीहरूको लागि कुनै उपचार छैन, र तिनीहरूको निम्ति एउटै परिणाम हुन्छ: त्यो हो, तिनीहरूको निष्कासन(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। कर्तव्यलाई उचित रूपमा पूरा गर्नको लागि मैत्रीपूर्ण सहकार्यको आवश्यकता पर्छ)। परमेश्‍वरको वचनले मेरो स्थितिलाई ठ्याक्कै बताइदियो: म सधैँ प्रतिष्ठा, हैसियत, र प्रशंसाको पछि दौडिरहेकी हुन्थेँ। मैले अरूले भन्दा धेरै डिजाइन बनाउन सक्दा र गुणस्तरको ग्यारेन्टी दिएर कठिन प्रोजेक्टहरू पूरा गर्न सक्दा, म थाहै नपाई अहङ्कारी बनेकी थिएँ। यति मात्र होइन, अरू प्रश्‍न लिएर मकहाँ आइरहँदा, मलाई गहन सन्तुष्टि बोध भयो र प्रशंसा पाएकोले आनन्दित भएँ। मैले बनाएको एउटा तस्विरमा समस्या आएर त्यसलाई फिर्ता पठाइँदा, र समय नभएकोले अगुवाले अर्को ब्रदर वा सिस्टरलाई सहयोग गर्ने सुझाव दिँदा, मैले मण्डलीको कामलाई ध्यान दिइनँ, परिमार्जन गर्न अरूको मदत लिँदा मेरो अदक्षता खुलासा हुनेछ भनेर मात्रै चिन्ता गरेँ। आफ्‍नो इज्‍जत र हैसियत कायम राख्‍न, र अरूले तुच्छ नठानून् भनेर, मैले परिमार्जन गर्ने काम आफै लिएँ। समस्याहरू आउँदा, सहयोग माग्‍नुको सट्टा, दृढ सङ्कल्पित भएर दिमाग खियाएँ, सबै कुरा आफै गर्न खोजेँ। बाहिरी रूपमा, मैले आफ्‍नो कर्तव्यमा ओभरटाइम गरिरहेकी छु जस्तो देखिन्थ्यो, तर वास्तवमा, तस्विर सच्याएर म आफ्‍नो प्रतिभालाई प्रमाणित गर्ने, र मानिसहरूलाई म भरपर्दो छु भनेर सोच्न लगाउने प्रयास मात्रै गरिरहेकी थिएँ। ममा प्रतिष्ठा र हैसियतको अत्यधिक चाह छ भन्‍ने मलाई थाहा भयो। परमेश्‍वर हाम्रा विचारलाई छानबिन गर्नुहुन्छ—मैले अरूलाई छल्‍न सके पनि, परमेश्‍वरलाई छल्‍न सक्दिनथेँ, र मैले आफ्ना कमीकमजोरीहरूलाई जसरी लुकाए पनि, मेरो भ्रष्ट स्वभाव परिवर्तन नभएको र मैले सत्यता प्राप्त नगरेकी भए, परमेश्‍वरले अझै पनि मलाई घृणा गरेर हटाउनुहुनेथ्यो। प्रतिष्ठा र हैसियतको पछि लाग्‍ने क्रममा मैले मण्डलीको काममा ढिलाइ गरेकी थिएँ, र मैले परमेश्‍वरसामु पश्‍चात्ताप र आत्म-चिन्तन नगरेकी भए, आफूलाई र अरूलाई धोका दिएर आफैलाई हानि गरिरहेकी हुनेथेँ। यो महसुस गरेपछि, मैले तुरुन्तै डिजाइनमा सिपालु एउटी सिस्टरलाई सहयोग मागेँ। उनी र मैले यो तस्विर कसरी परिमार्जन गर्ने भन्‍नेबारे छलफल गऱ्यौँ र त्यसपछि मैले स्पष्ट अवधारणा पाएँ। चाँडै नै, मैले परिमार्जन गरेर सकेँ।

पछि, मैले किन सधैँ आफ्‍ना कमीकमजोरीहरूलाई ढाकछोप गर्ने प्रयास गरेँ भनेर मनन गरिरहेँ। मैले परमेश्‍वरको वचनको एउटा खण्ड भेट्टाएँ, जसले ममा गहन प्रभाव पाऱ्यो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “केही कुराहरू गर्न नसक्‍नुमा कुनै लाजमर्दो कुरा हुन्छ? कस्तो व्यक्तिले सबै कुरा गर्न सक्छ? त्यसमा कुनै लाजमर्दो कुरा छैन—तँ साधारण व्यक्ति होस्, त्यो कुरा नबिर्सी। मानिसहरू केवल मानिसहरू हुन्; तैँले कुनै काम गर्न सक्दैनस् भने, सक्दिन भन्। किन नाटक गर्ने? यदि तैँले सधैँ नाटक गरिरहेको हुन्छस् भने, अरूलाई घिन लाग्‍न थाल्छ, र ढिलोचाँडो, तेरो खुलासा हुने दिन आउनेछ, र त्यसपछि तेरो इज्‍जत वा सम्‍मान हुनेछैन। ख्रीष्टविरोधीहरूको स्वभाव यस्तै हुन्छ। तिनीहरूले सधैँ आफूलाई सबै कुरा गर्न सक्‍ने, र सबै कुरामा सक्षम र जानकार व्यक्तिको रूपमा प्रस्तुत गर्छन्। यसको अर्थ समस्या हो, होइन र? यदि तिनीहरूमा इमानदार मनोवृत्ति भएको भए, तिनीहरूले के गर्ने थिए? तिनीहरूले यसो भन्‍ने थिए, ‘म यसमा विशेषज्ञ होइन, मसँग थोरै अनुभव मात्र छ, तर अहिले हामीलाई जुन सीप चाहिएको छ त्यो पहिलेको भन्दा धेरै जटिल छ। मैले गर्न सक्‍ने कुराको बारेमा मैले पहिल्यै बताइसकेको छु, र अहिले हामीलाई आइपरेका नयाँ समस्याहरू मैले बुझेको छैन। यदि हामीलाई हाम्रो कर्तव्य राम्ररी निभाउनु छ भने, हामीले थप प्राविधिक विशेषज्ञता हासिल गर्नुपर्छ। त्यसो गरेपछि, हामीले आफ्नो कर्तव्य प्रभावकारी रूपमा पूरा गर्न सक्‍नेछौँ। परमेश्‍वरले हामीलाई यो कर्तव्य सुम्पनुभएको हो, र यसलाई राम्ररी पूरा गर्ने जिम्‍मेवारी हाम्रो हो। त्यही भावनाअनुसार, हामीले थप प्राविधिक ज्ञान हासिल गर्नुपर्छ।’ यो सत्यता अभ्यास गर्नु हो। यदि कुनै व्यक्तिमा ख्रीष्टविरोधी स्वभाव छ भने, उसले त्यसो गर्दैन। तर उसमा थोरै समझ हुन्थ्यो भने, उसले यसो भन्‍ने थियो, ‘मलाई गर्न आउने यति मात्र हो। मलाई बढी सक्षम नठान्‍नुहोस्, म गफ लाउँदिनँ—यसरी अलिक सहज होला, कि कसो? सधैँ धाक लाउनु र नाटक गर्नु एकदमै पीडादायक हुन्छ। यदि हामीलाई कुनै काम गर्न आउँदैन भने, हामी सँगै सिक्‍नेछौँ। हामीले आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्नको लागि सहकार्य गर्नु आवश्यक छ। हामी सबैमा जिम्‍मेवार मनोवृत्ति हुनुपर्छ।’ जब मानिसहरूले यो देख्‍नेछन्, तब यस्तो सोच्नेछन्, ‘यो व्यक्ति हामीभन्दा उत्तम रहेछ। समस्या आइपर्दा, आफ्‍नो सीपको धाक लाउँदैन, र अरूको काँधमा समस्या हालिदिन वा जिम्‍मेवारीबाट पछि हट्न खोज्दैन। बरु, काम आफै लिन्छ, र त्यसलाई गम्‍भीर र जिम्‍मेवार मनोवृत्तिले पूरा गर्छ। यो व्यक्ति आफ्‍नो काम र कर्तव्यप्रति जिम्‍मेवार र गम्‍भीर मनोवृत्ति भएको असल व्यक्ति हो। यस्तो व्यक्ति विश्‍वासयोग्य हुन्छ। यो महत्त्वपूर्ण काम उसलाई सुम्पिनु परमेश्‍वरको घरको सही निर्णय थियो। परमेश्‍वरले साँच्‍चै नै मानिसको अन्तस्करण जाँच्‍नुहुन्छ!’ यसरी आफ्‍नो कर्तव्य पूरा गरेर, यस व्यक्तिले आफ्‍नो सीपलाई अझै खार्न सक्छ, र सबैको अनुमोदन प्राप्त गर्न सक्छ। यो अनुमोदन कहाँबाट आउँछ? पहिलो कुरा, यो आफ्‍नो कर्तव्यप्रति व्यक्तिको गम्‍भीर र जिम्‍मेवार मनोवृत्तिबाट आउँछ। दोस्रो, यो व्यावहारिक मनोवृत्ति र सिक्‍ने इच्‍छासहितको इमानदार व्यक्ति बन्‍ने क्षमताबाट आउँछ। अनि तेस्रो, पवित्र आत्‍माले अगुवाइ र अन्तर्दृष्टि दिनुभएको हुन्छ भन्‍ने कुरा पनि छुटाउनु हुँदैन। यस्तो व्यक्तिले परमेश्‍वरको आशिष्‌ पाएको हुन्छ, र यो विवेक र समझ भएका मानिसहरूले हासिल गर्न सक्‍ने कुरा हो। तिनीहरू भ्रष्ट र कमीयुक्त हुन सक्छन्, र तिनीहरूले गर्न नसक्‍ने कुरा धेरै हुन सक्छन्, तर तिनीहरूको मार्ग सही हुन्छ। तिनीहरूले बहाना वा छल गर्ने गर्दैनन्, तिनीहरूमा आफ्‍नो कर्तव्यप्रति गम्‍भीर र जिम्‍मेवार मनोवृत्ति हुन्छ, र सत्यताप्रति भक्त र तृषित मनोवृत्ति हुन्छ। ख्रीष्टविरोधीहरूले कहिल्यै पनि यी कुराहरू गर्न सक्दैनन्, किनभने तिनीहरूको सोच सत्यतालाई प्रेम गर्ने र पछ्याउने मानिसहरूको जस्तो हुँदैन। किन त्यसो हुन्छ? किनभने तिनीहरूमा शैतानको प्रकृति हुन्छ। तिनीहरू शक्ति हात पार्ने आफ्‍नो उद्देश्य हासिल गर्न शैतानी स्वभावअनुसार जिउँछन्। तिनीहरूले मान्छेलाई आफूलाई पुज्ने र पछ्याउने बनाउन अनेक माध्यमहरूद्वारा सधैँ षड्यन्त्र र युक्तिहरू रच्न खोजिरहेका हुन्छन् र यसरी छलकपट गरेर तिनीहरूलाई बहकाइरहेका हुन्छन्। त्यसकारण, मानिसहरूको आँखामा छारो हाल्नका लागि, तिनीहरूले आफूलाई ढाकछोप गर्न र मान्छेलाई धोका दिन, ढाँट्न र छल्न हर उपाय सोच्छन्—तिनीहरूले आफू सधैँ सही छु, आफूले सबै कुरा जानेको छु, र सबै कुरा गर्न सक्छु; आफू अरूभन्दा बाठो र बुद्धिमानी छु र अरूले भन्दा धेरै कुरा बुझेको छु; सबै कुरामा अरूभन्दा सिपालु छु, सबै कुरामा अरूलाई उछिनेको छु, र जुनसुकै समूहमा आफू नै सर्वोत्कृष्ट व्यक्ति हुँ भनेर मानिसहरूलाई पत्याउने बनाउन हर उपाय सोच्छन्। तिनीहरूलाई पर्ने खाँचो नै यही हो; र यो ख्रीष्टविरोधीको स्वभाव हो। त्यसकारण तिनीहरूले नाटक गर्न सिक्छन्, जसले गर्दा अनेक किसिमका अभ्यास र व्यवहारहरू देखा पर्छन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ (भाग तीन))। ख्रीष्टविरोधीहरू स्वभावैले छली र दुष्ट हुन्छन्। आफ्‍नो हैसियत र प्रतिष्ठा कायम राख्‍न, तिनीहरूले नगर्ने केही हुँदैन; तिनीहरू झूटो रूप धारण गर्छन्, झूट बोल्छन् र अरूलाई छल्छन्। मलाई हाम्रो मण्डलीले निकालेको एक जना ख्रीष्टविरोधीबारे याद आयो: तिनले आफूलाई स्थापित गर्न र प्रशंसा पाउन, समस्याहरू सामना गर्दा सहयोग खोज्दैनथे, र आफूले जानेको भन्दा धेरै जानेको नाटक गर्थे, आफ्‍नो हैसियत र छवि कायम राख्‍न मण्डलीको काममा ढिलाइ गर्न पनि खुसी थिए। तिनी आफ्ना सफलताबारे मात्रै कुरा गर्थे, तर आफ्ना असफलता, मण्डलीको काममा धेरैपटक बाधा दिए पनि कहिल्यै पश्‍चात्ताप नगरेको बारेमा कहिल्यै कुरा गर्दैनथे। यसले गर्दा, तिनलाई अन्तिममा मण्डलीबाट निकालियो। मैले तिनको व्यवहारलाई आफ्नो व्यवहारसँग तुलना गरेँ: म आफ्‍नो कर्तव्यमा सत्यता र सिद्धान्तहरू खोज्न ध्यान दिँदिनथेँ, परमेश्‍वरको छानबिन स्विकार्दिनथेँ वा व्यावहारिक तरिकामा काम गर्दिनथेँ, र अरूको प्रशंसा पाउन सधैँ देखावटी रूप धारण गर्थेँ। मेरो डिजाइनमा स्पष्ट समस्या थियो, तर यसलाई कसरी परिमार्जन गर्ने भन्‍ने स्पष्ट अवधारणा नहुँदा पनि, मैले मेरा ब्रदर-सिस्टरहरूसँग खोजी र कुनै कुरा छलफल गरिनँ, बरु, आफै यसलाई सच्याउने अठोट गरेँ। मैले मण्डलीको कामलाई ध्यान दिइनँ, र थोरै आशा भइञ्जेल, म आफ्‍ना कमीकमजोरी खुलासा गर्न चाहन्‍नथेँ, मानौँ मण्डलीको काममा ढिलाइ गर्नु ठूलो कुरा होइन र सबैभन्दा महत्त्वपूर्ण कुरा आफ्‍नो छवि कायम गर्नु हो। म आफ्नो छवि र हैसियतलाई खतरामा पार्ने कुरा ढाकछोप गर्न सबै कुरा गर्थेँ, चाहे यो गर्न थकाइलाग्दो र कठिन नै किन नहोस्। मलाई मेरो तथाकथित “राम्रो छवि” गुमाउनु भनेको जीवन गुमाउनु जस्तै लाग्थ्यो। मेरो कार्यले ख्रीष्टविरोधीको स्वभाव प्रकट गरेको थियो। यो महसुस गरेपछि, मलाई अलिक डर लाग्यो। मैले ख्रीष्टविरोधीले जस्तो सबै किसिमका दुष्कर्म गरेकी थिइनँ होला, तर म सधैँ प्रतिष्ठा, हैसियत, र अरूबाट प्रशंसा खोजिरहेकी हुन्थेँ, अरूलाई छल्‍ने र धोका दिने कामसमेत गर्थेँ। मैले यो स्वभाव नहटाएकी भए, अन्तिममा परमेश्‍वरले मलाई खुलासा गरेर हटाउनुहुनेथ्यो। त्यसैले मैले उहाँको वचनअनुसार अभ्यास गर्नका लागि आफ्‍नो अभिमान र हैसियत त्याग्न इच्छुक हुँदै परमेश्‍वरलाई प्रार्थना गरेँ र पश्‍चात्ताप गरेँ।

पछि, मेरो डिजाइनमा मैले समाधान गर्न नसक्‍ने समस्या आयो भने, म तुरुन्तै कसैलाई सम्पर्क गरेर सङ्गति गरी खुलस्त कुरा भन्थेँ, र तिनीहरूलाई सुझाव माग्थेँ र त्यो सुन्थेँ। कहिलेकाहीँ, म तिनीहरूलाई मसँगै डिजाइन गर्न लगाउँथेँ। एकपटक, मेरो डिजाइनमा अर्को समस्या आयो र केही समयसम्‍म सोचेर पनि प्रगति गर्न सकिनँ। अगुवाले मलाई मेरो प्रगतिबारे सोधे र मलाई झूट बोल्‍न मन लाग्यो, तर मैले फेरि आफ्‍नो प्रतिष्ठा र हैसियत कायम राख्‍ने प्रयास गरिरहेकी छु भन्‍ने तुरुन्तै महसुस गरेँ। त्यसपछि, मैले परमेश्‍वरको यो वचन सम्झेँ: “यदि तँ कुनै कुरा पनि लुकाउँदैनस्, बाहिरी खोल ओढ्दैनस्, बहाना गर्दैनस्, झुटो रूप देखाउँदैनस् भने, यदि तँ दाजुभाइ-दिदीबहिनीहरूको सामु आफैलाई उदाङ्गो पार्छस्, तेरा भित्री सोच र विचारहरूलाई लुकाउँदैनस्, बरु अरूलाई तेरो निष्कपट मनोवृत्ति हेर्न दिन्छस् भने, सत्यले बिस्तारै तँमा जरा गाड्नेछ, यो फुल्नेछ र फल्नेछ, र यसले अलिअलि गर्दै परिणाम दिनेछ। यदि तेरो हृदय धेरै नै इमानदार छ, र धेरै नै परमेश्‍वरमा केन्द्रित छ भने र यदि तैँले आफ्नो कर्तव्य पूरा गर्दा परमेश्‍वरको घरको हितको रक्षा गर्न जान्दछस्, यी हितहरूको रक्षा गर्न नसक्दा तँलाई ग्लानि महसुस हुन्छ भने, यो कुरा सत्यले तँमा प्रभाव पारेको छ र त्यो तेरो जीवन बनेको छ भन्‍ने प्रमाण हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनहरूले मलाई धेरै उत्प्रेरणा दिए। मलाई थाहा थियो, मैले झूटो रूप धारण गरिरहनु हुँदैन; मैले आफ्‍ना कमीकमजोरीहरूलाई इमानदारीपूर्वक र शान्त भएर सामना गर्नुपर्थ्यो। अरूले मेरो बारे जे सोचे पनि, मैले सत्य कुरा बताउनुपर्थ्यो, र अरूसँग समाधान खोज्‍नुपर्थ्यो। त्यस दिन कार्य भेला हुनेवाला थियो, त्यसैले मैले सङ्गतिमा आफ्‍नो समस्या र भ्रष्टताबारे खुलस्त बताएँ। बोलिसकेपछि, मलाई ढुक्क भयो। मैले सबै कुरा अरूसँग छलफल गर्दा, तिनीहरूले मलाई डिजाइन सच्याउने उपाय खोज्‍न सहयोग गरे, र चाँडै नै, मैले परिमार्जन गरेर सकेँ। मलाई अत्यन्तै खुसी लाग्यो! खुलस्त कुरा गर्नु र इमानदार हुनु कति राम्रो कुरा हो भन्‍ने मैले महसुस गर्न सकेँ! परमेश्‍वरको मुक्तिद्वारा नै मैले यो महसुस गरेर परिवर्तन हासिल गर्न सकेँ। परमेश्‍वर धन्यवाद!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

सुसमाचार सुनाउने सही मानसिकता

एकपटक, एक जना ब्रदरले मलाई उनकी बहिनी ली पिङ सानैदेखि विश्‍वासी हुन्, र तिनले वर्षौँदेखि प्रभुको लागि उत्साहका साथ काम गर्दै आएकी छिन्, र...

कसले हाम्रो परिवार बरबाद गर्‍यो?

मेरा श्रीमान र म एउटै गाउँमा हुर्केका हौँ र हामीले सानैदेखि हाम्रा आमाबुबासँगै प्रभु येशूमा विश्‍वास गर्दै आएका थियौँ। विवाह गरेपछि, मैले...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्