परमेश्‍वरको गवाही कसरी दिने अब मलाई थाहा भयो

16 डिसेम्बर 2024

छु लु, चीन

अप्रिल २०२१ मा, मैले सिस्टर चेन झेङ्छिनको साथमा सुसमाचार प्रचार गर्ने काम सुरु गरेँ। मैले पहिले पनि सुसमाचार प्रचार गर्ने काम गरेकी थिएँ र ममा केही सान्दर्भिक अनुभव थिए, त्यसैले केही समयपछि नै मैले उनले भन्दा राम्रा नतिजाहरू निकाल्न थालेँ। म प्रायजसो आफूले कसरी-कसरी सुसमाचार प्रचार गरेकी छु र कसरी-कसरी सम्‍भावित सुसमाचार ग्रहणकर्ताका प्रश्‍नहरूको उत्तर दिएकी छु भनेर एकदमै विस्तारमा कुरा गर्दै गफ हाँक्थेँ। झेङ्छिन छक्‍क पर्थिन्। एकपटक, मैले भेलाहरूमा नआउने केही दाजुभाइ-दिदीबहिनीहरूसित सङ्गति गरेँ, र त्यसपछि तिनीहरू नियमित रूपमा भेलामा आउन थाले। परमेश्‍वरले तिनीहरूलाई अगुवाइ गर्नुभएकोले र तिनीहरूको हृदय छुनुभएकोले यसो भएको हो भन्‍ने मलाई थाहा थियो, तर मैले आफ्‍नो भूमिका निर्वाह गरेकी छु भनेर आफैप्रति खुसी भइरहेकी थिएँ। सङ्गतिबाट फर्केपछि मैले झेङ्छिनको अघि धाक नलगाई बस्‍न सकिनँ, र भनेँ, “मैले परमेश्‍वरमा भरोसा गरेँ, र केही वचनहरू सङ्गति गरेपछि नै तिनीहरू फेरि भेलामा सहभागी हुन सहमत भए।” उनले जुन आदरसाथ मलाई हेर्थिन्, त्यो देख्दा मलाई झनै खुसी लाग्थ्यो। अर्कोपटक, उनी निराश भई शिर झुकाउँदै आइन् किनभने उनले जसलाई प्रचार गरिरहेकी थिइन् ती व्यक्तिका प्रश्‍नहरूको उत्तर दिन सकेकी थिइनन्। तिनलाई के भन्‍नुभयो भनेर मैले उनलाई सोधेँ, र उनले बेलीबिस्तार गरिन्। मैले मनमनै सोचेँ, “तपाईंमा पर्याप्त अनुभव आउन अझै बाँकी छ। यो जबाफ दिनै नसकिने, अप्ठ्यारो प्रश्‍न थिएन, मैले त त्यो तुरुन्तै समाधान गर्नेथेँ। मैले तपाईंलाई सबै कुरा सिकाउनुपर्ने भो, अब तपाईंलाई सुसमाचार वास्तवमा कसरी सुनाइन्छ भनेर म देखाउँला।” त्यो सोचसँगै, मैले उनलाई अझै प्रभावकारी रूपमा कसरी सङ्गति गर्ने भनेर बताएँ। मैले भनेको कुरा झेङ्छिनलाई मन पर्‍यो, र उनले आफूमा धेरै कमी रहेको बताउँदै अझै सहयोग गर्न अनुरोध गरिन्। हामीले परमेश्‍वरमा भरोसा गर्नुपर्छ भनेर मैले उनलाई भनेँ, तर मनमा भने आफू सुसमाचार प्रचार गर्नमा खप्पिस् छु भन्‍ने सोच्दै म आफैप्रति निकै प्रसन्‍न थिएँ।

एउटा भेलामा, एक अगुवाले हालै सुसमाचार प्रचार गर्दा हामीले के सिक्यौं र के अनुभव गर्‍यौँ भनेर सोधिन्। झेङ्छिनले भनिन्: “सुसमाचार प्रचार गर्दा मैले ममा कति धेरै कमी रहेछ भन्‍ने थाहा पाएँ। सम्भावित सुसमाचार ग्रहकर्ताहरूले केयौँ प्रश्‍न सोधे, र मैले उत्तर दिन सकिनँ। छु लुचाहिँ तिनीहरूका प्रश्‍नहरूको बारेमा सङ्गति गर्न र समाधान निकाल्नको लागि परमेश्‍वरका वचनहरू छिटो भेट्नुहुँदो रहेछ।” अगुवाले मलाई मुस्कुराउँदै हेरिन् र शिर हल्‍लाइन्। म अगुवालाई आफूले कति धेरै जानेकी छु र कति धेरै प्रश्‍नको सजिलै उत्तर दिन सक्छु भनेर देखाउन चाहन्थेँ, त्यसैले झेङ्छिनको ठाउँमा बोल्न थालेँ, र मैले भनेँ, “कतिपय सम्भावित सुसमाचार ग्रहणकर्ताका प्रश्‍नहरूको उत्तर दिनु साँच्‍चै गाह्रो हुन्छ।” अगुवाले सोधिन्, “कस्ता प्रश्‍नहरू?” म कति प्रतिभावान् छु भनेर देखाउनको लागि गाह्रो प्रश्‍न छान्‍नु राम्रो हुन्छ भनेर मैले कैयौँ प्रश्‍नहरूमाझबाट उपयुक्त प्रश्‍न छान्‍न थालेँ। अनि, हात हल्लाउँदै र जोसिँदै, उत्साही चालढालसाथ, मैले सम्भावित सुसमाचार ग्रहणकर्ताका प्रश्‍नहरूको वृत्तान्त सुनाएँ, अनि मैले ती प्रश्‍नहरूको समाधान गर्न कसरी सङ्गति गरेँ, र अन्त्यमा तिनीहरूलाई कसरी इमान्दारीपूर्वक विश्‍वस्त तुल्याएँ भनेर गफ लगाएँ। वास्तविकभन्दा पनि जटिल अवस्था देखाउँदै मैले बढाइचढाइ गरेँ, मानौँ अरूले यी समस्या कहिल्यै समाधान गर्न सक्दैनन् र ती समाधान गर्न सक्‍ने म मात्रै हुँ जस्तो गरेँ। मसँग केही सत्यता केही वास्तविकता छ र सुसमाचार सुनाउनेहरूमध्ये सर्वोत्कृष्ट मै हुँ भनेर अगुवाले सोचून् भन्‍ने म चाहन्थेँ। अगुवा र अरू दाजुभाइ-दिदीबहिनीहरू सबैले मेरो अनुमोदन गरे, र मैले यसमा मजा लिइरहेकी थिएँ। सुसमाचार प्रचारसम्‍बन्धी हाम्रो कामको बारेमा सोधिसकेपछि, अगुवाले हामीसँग हाम्रा हालैका समस्याहरूको सन्दर्भमा रहेर सुसमाचार प्रचार गर्ने सिद्धान्तहरूको बारेमा सङ्गति गरिन्। अगुवाले टिप्पणीहरू गर्न मात्र के लागेकी थिइन्, मैले मनमनै सोच्न थालिहालेँ: “मसँग केही सान्दर्भिक अनुभव छ त्यसकारण मैले ती बताउनैपर्छ। यदि हामी अर्को विषयमा प्रवेश गर्‍यौँ भने, मैले बोल्ने मौका गुमाउनेछु।” अनि म बीचैमा बोल्न थालेँ, “यसमा अझै धेरै कुरा छ।” त्यसपछि म विस्तारित छलफलमा हाम फालेँ, र सुसमाचार प्रचार गर्दा मैले कसरी राम्रो नतिजा निकालेँ भनेर स्पष्ट पार्नलाई आफ्ना अनुभवहरूको वृत्तान्त पेश गरेँ। सबैले सहमतिमा शिर हल्‍लाइरहेको देखेपछि, म झनै उत्साहित भएर बोलेँ। अरू दाजुभाइ-दिदीबहिनीहरूले बीचबीचमा आफ्‍नै विचारहरू पनि बताइरहेका थिए तर मैले कसैको कुरामा ध्यान दिइरहेकी थिइनँ। मलाई तिनीहरूसँग कुनै अन्तर्ज्ञान वा मूल्यवान् विचारहरू छैन भन्‍ने लाग्‍यो। मैले अरूलाई बोल्‍ने मौका पनि नदिई बस आफ्‍नै दृष्टिकोणहरू बताइरहेँ। म मेरा सबै अनुभव एकेचोटि पोख्‍न चाहन्थेँ, ताकि अगुवाले म क्षमतावान्‌ र वरदानप्राप्त छु, र म एक दुर्लभ प्रतिभा हुँ भन्‍ने सोचून्। कुरा गरिरहेको बेला, मलाई मैले धाक लगाइरहेकी छु कि जस्तो लाग्यो, त्यसैले मैले मेरो कुराको गतिलाई घटाएँ, र मेरो भ्रष्टता र गल्तीहरूका बारेमा थोरै कुरा गर्ने प्रयास गरेँ। तर मैले के पनि सोचिरहेकी थिएँ भने सबैको भलाइको लागि यी व्यावहारिक तरिकाहरूको बारेमा सङ्गति गर्नुपर्छ। यो सबै मेरो व्यावहारिक अनुभव हो, र म आफ्नै प्रदर्शन गरिएला भन्‍ने डरले सङ्गतिलाई रोक्‍न सक्दिनँ। यस्तो सोचेपछि, मैले आफ्‍नो कुरालाई जारी राखेँ। मैले आफ्नो कुरा सकेपछि, अगुवाले सहमतिमा आफ्‍नो शिर हल्‍लाइन् र अरूले मलाई आदरसाथ हेरिरहेजस्तो देखिन्थ्यो। यो गज्‍जबको अनुभूति थियो। यसरी त्यो भेलामा, मूल रूपमा भन्‍ने हो भने सबैले मेरो कुरा मात्रै सुनिरहे। त्यति मात्रै कहाँ हो र, म त भेला र सङ्गतिहरूमा आफ्नो नकारात्मक स्थिति वा सुसमाचार प्रचारमा म असफल रहेका उदाहरणहरू अरूलाई बिरलै बताउथें। यसले मेरो छवि बिगार्छ भन्‍ने लाग्थ्यो, त्यसैले म मेरा सफलताहरूको मात्रै कुरा गर्थेँ। केही भेलापछि सबैलाई म सुसमाचार प्रचार गर्न पोख्‍त छु भन्‍ने लाग्यो, र त्यस कर्तव्यमा रहेका अरू केही मानिसहरू मेरो भर पर्न थाले। तिनीहरू मलाई धारणामा अल्‍झेका मानिसहरूसँग सीधै कुरा गर्न अनुरोध गर्थे। यसले गर्दा ममा आफू झनै उच्‍च भएको सोच आयो, र म अरूको आदर पाउँदाको मिठासमा झुमिरहेँ। तर यसरी आफैप्रति अति प्रसन्‍न भइरहेको बेला, ममाथि अचानक परमेश्‍वरको ताडना र अनुशासन आइलाग्यो।

म धेरै वाधाहरूमा पर्न थालेँ र मेरो सुसमाचार प्रचारको कामबाट कुनै नतिजा निस्किरहेको थिएन। मैले मनमनै सोचेँ: “मैले भेलाहरूमा दाजुभाइ-दिदीबहिनीहरूसँग सधैँ धाक लगाउने र आफ्नो प्रदर्शन गर्ने गर्छु, तर अहिले सुसमाचार प्रचारको काममा प्रभावहीन बनेकी छु। के परमेश्‍वर मप्रति घिनाएर आफैलाई मबाट लुकाइरहनुभएको छ?” मैले मेरो स्थितिको बारेमा झेङ्छिनलाई भनेँ र उनले भनिन्, “मैले तपाईंलाई चिनेको अवधिमा, तपाईंलाई धाक लगाउने बानी लागेको देखेकी छु। भेलामा अगुवा सहभागी भएको बेला सारा समय तपाईं नै बोल्‍नुहुन्थ्यो। उनले आफ्‍नो कुरा सक्‍नुअगावै तपाईं बोल्न थालिहाल्नुहुन्थ्यो, र म त प्रश्‍नसमेत गर्न सक्दिनथेँ। तपाईंको सुसमाचार प्रचारका सबै अनुभवहरू सुन्दा, र मानिसहरूका समस्या समाधान गर्नमा तपाईं कति प्रभावकारी हुनुहुन्छ भनेर देख्दा मलाई आफू अत्यन्तै तल्लोस्तरको भएझैँ लाग्थ्यो।” बल्दाबोल्दै नी रुन थालिन्, र मलाई अत्यन्तै नमिठो अनुभूति भयो। मेरो आफ्नो प्रदर्शनले उनलाई त्यति धेरै हानि गरेको रहेछ भनेर मैले कहिल्यै पनि कल्‍पना गरेकी थिइनँ। के त्यो दुष्ट काम गरको भएन र? म आफ्‍नो बारेमा गम्‍भीर मनन गर्न परमेश्‍वरको सामुन्‍ने आएँ, र मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “ख्रीष्टविरोधीको मार्गमा हिँड्ने सबैले आफूलाई उचाल्छन् र आफ्नै गवाही दिन्छन्, आफूलाई बढावा दिन्छन्, हरेक मोडमा आफूलाई प्रदर्शन गर्छन् र परमेश्‍वरलाई बिलकुलै वास्ता गर्दैनन्। के तिमीहरूले मैले भनिरहेका यी कुरा अनुभव गरेका छौ? धेरै मानिस निरन्तर आफ्नो गवाही दिँदै, आफूले यो र त्यो कष्ट कसरी भोग्छु, कसरी काम गर्छु, परमेश्‍वरले आफूलाई कसरी मूल्यवान् ठान्नुहुन्छ, यस्ता केही काम सुम्पनुहुन्छ र आफू कस्तो छु भन्दै कुरा गर्छन्, बोल्दा जानाजानी खास लबजहरू प्रयोग गर्छन्, र अन्त्यमा तिनीहरूलाई केही मानिसले परमेश्‍वर ठान्न नथालेसम्म केही निश्चित आनीबानीमा प्रभाव पार्छन्। यो हदमा पुग्नेहरूलाई पवित्र आत्माले धेरै पहिले नै त्यागिसक्नुभएको छ, अनि तिनीहरूलाई हटाउने र निष्कासन गर्ने नगरिए पनि, बरु सेवा गर्न दिइए पनि, तिनीहरूको भाग्य सुनिश्चित गरिएको हुन्छ, र तिनीहरूले आफ्नो दण्ड कुरिरहेका हुन्छन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसहरूले परमेश्‍वरसँग अत्यन्तै धेरै मागहरू गर्छन्)। परमेश्‍वरका वचनहरूको प्रकाशले मलाई नराम्ररी घोच्यो र मलाई नमिठो अनुभूति भयो। मलाई के महसुस भयो भने, मेरो फाइँफुट्टीको कारणले परमेश्‍वरमा मप्रति घृणा जाग्यो, र यही कारणले गर्दा मैले धेरै वाधाहरूको सामना गरिरहेकी र परमेश्‍वरको अगुवाइको अनुभूति नपाइरहेकी थिएँ। परमेश्‍वरको स्वभाव अत्यन्तै धर्मी र पवित्र छ। मलाई अलिक डर लाग्यो। म त्यही मार्गमा लागिरहेमा, परमेश्‍वरले घृणाको साथ मलाई त्याग्‍नु र निकाल्नुहुन्छ भन्‍ने मलाई थाहा थियो। मैले यो समस्यालाई समाधान गर्न सत्यताको खोजी गर्नुपर्थ्यो।

त्यसपछि, मैले आफैलाई उचाल्ने र आफ्नै प्रदर्शन गर्ने व्यक्तिहरूको खुलासा गर्ने परमेश्‍वरका वचनहरूको एउटा खण्ड फेला पारेँ। परमेश्‍वर भन्‍नुहुन्छ: “आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिने, आफ्नो सान देखाउने, मानिसहरूले आफूलाई उच्‍च ठानून् र आराधना गरून् भन्‍ने प्रयास गर्ने—भ्रष्ट मानवजाति यी कुराहरू गर्न सक्षम छ। जब मानिसहरू आफ्नो शैतानी प्रकृतिले शासित हुन्छन् तिनीहरूले यसरी स्वतः प्रतिक्रिया दिन्छन्, र यो सबै भ्रष्ट मानवजातिको निम्ति सामान्य हो। मानिसहरूले सामान्यतया कसरी आफूलाई उच्च पार्छन् र आफूबारे गवाही दिन्छन्? तिनीहरूले अरूलाई आफूलाई उच्च ठान्‍न र आफ्नो आराधना गर्न लगाउने उद्देश्य कसरी हासिल गर्छन्? तिनीहरूले कति धेरै काम गरेका छन्, तिनीहरूले कति कष्ट भोगेका छन्, तिनीहरूले आफैँलाई कति समर्पित गरेका छन्, र तिनीहरूले कति मूल्य चुकाएका छन् भनेर तिनीहरूले गवाही दिन्छन्। तिनीहरू अरूका हृदयमा अझ उच्च, स्थिर र अझ सुरक्षित स्थान प्राप्त गर्न, र त्यसरी अझ धेरै मानिसहरूलाई तिनीहरूको कदर गर्ने, उच्च ठान्ने, ईर्ष्या गर्ने, र आराधना गर्ने, आदरभावले हेर्ने र पछि लाग्ने तुल्याउनका लागि आफ्ना पुँजीबारे कुरा गरेर आफूलाई उच्च पार्छन्। यो लक्ष्य प्राप्त गर्न मानिसहरूले हेर्दाखेरि परमेश्‍वरको गवाही दिएजस्तो देखिने, तर आधारभूत रूपमा आफैँलाई उच्‍च पार्ने र आफैबारे गवाही दिने धेरै कुराहरू गर्छन्। के यसरी व्यवहार गर्दा तिनीहरूसँग समझ हुन्छ त? तिनीहरू चेतनाको दायराबाहिर छन् र तिनीहरूमा शरम छैन। तिनीहरू तिनीहरूले परमेश्‍वरका निम्ति के गरेका छन् र उहाँको निम्ति कति कष्ट भोगेका छन् भन्‍ने कुराको कुनै शरमविना गवाही दिन्छन्। तिनीहरूले आफूमा भएका वरदान, प्रतिभाहरू, अनुभव, विशेष सीपहरू, संसारसँग व्यवहार गर्ने तिनीहरूका चतुर तौरतरिकाहरू, मानिसहरूसँग खेल्नको निम्ति तिनीहरूले प्रयोग गर्ने माध्यमहरू, आदि इत्यादिको तडकभडक पनि देखाउँछन्। आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिने तिनीहरूको तरिकाहरूमध्ये एक भनेको तडकभडक देखाउनु र अरूलाई होच्याउनु हो। तिनीहरूले मानिसहरूबाट आफ्ना कमजोरी, कमीहरू र अपर्याप्तताहरू लुकाउँदै भेष पनि बदल्छन् र नाटकीय स्वरूप देखाउँछन्, र मानिसहरूलाई आफ्नो चमक मात्र देखाउँछन्। तिनीहरूले नकारात्मक अनुभव गरेको कुरा अरू मानिसहरूलाई बताउने हिम्मत पनि गर्दैनन्, र तिनीहरूसँग खुल्‍ने र सङ्गति गर्ने हिम्मतको अभाव हुन्छ। तिनीहरूले गल्ती गर्दा त्यसलाई लुकाउने र छोप्‍ने अधिकतम प्रयास गर्छन्। तिनीहरूले आफ्नो कर्तव्य निभाउने दौरानमा मण्डलीको काममा पुर्‍याएको हानिलाई कहिले पनि उल्लेख गर्दैनन्। तर तिनीहरूले गरेको सानो योगदान वा प्राप्त गरेको केही साना सफलताहरू देखाउन छिटा हुन्छन्। तिनीहरू कति सक्षम छन्, तिनीहरूको क्षमता कति उच्च छ, तिनीहरू कति असाधारण छन् र तिनीहरू सामान्य मानिसहरूभन्दा कति वरिष्ठ छन् भन्‍ने कुरा सारा संसारलाई थाहा दिन व्याकुल हुन्छन्। के यी तिनीहरूले आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिने तरिकाहरू होइनन् र?” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु चार: तिनीहरू आफूलाई उच्च पार्छन् र आफूबारे गवाही दिन्छन्)। के परमेश्‍वरले व्याख्या गर्नुभएको जस्तै मैले धाक लगाएर आफूलाई उचालेकी थिइनँ र? मैले आफ्नो कर्तव्य पालनमा, परमेश्‍वरको गवाही दिनु र उहाँलाई उचाल्नुको सट्टा, अरूको आदर पाउन आफ्नै प्रदर्शन गरिरहेकी थिएँ। म बाठी र बोल्न सिपालु छु भन्‍ने सोच्दै मैले सुसमाचार प्रचारको मेरो अनुभवलाई व्यक्तिगत पूँजीको रूपमा प्रयोग गरिरहेकी थिएँ। मैले हर अवसरमा आफ्‍नो प्रदर्शन गरेँ, र आफूलाई आकर्षणको केन्द्रबिन्दु बनाएँ। मैले सुसमाचार प्रचारमा केही सफलता प्राप्त गर्दा, मैले झेङ्छिनको अघि सत्यता सङ्गति गर्ने र समस्या समाधान गर्ने मेरो क्षमताको धाक लगाएँ, र उनले केही असफलताको सामना गरेको देख्दा, मैले मेरा सबै अनुभवहरूको बारेमा बताएँ। मैले उनलाई सहयोग गर्ने बहाना गरेँ, तर वास्तवमा धाक लगाइरहेकी र आफ्नो क्षमता प्रदर्शन गरिरहेकी थिएँ। उनले मलाई उनीभन्दा उत्तम ठानून् भन्‍ने मेरो चाहना थियो, फलस्वरूप उनले आफैलाई मभन्दा तल्लो स्तरकी ठानिन् र नकरात्मकतामा खसिन्। हाम्रो भेलामा अगुवा आउँदा, म भेलाको अवधिभरि सबैको ध्यान खिच्दै बोलिरहेँ र आफ्नै प्रदर्शन गरिरहेँ, आफ्नो क्षमता सबैसामु प्रदर्शन गर्न आफूले समाधान गरेका समस्याहरू कति कठिन थिए भनी बडाइचढाइ गरिरहेँ। मैले मानिसहरूलाई बीचैमा रोकेँ, र भेलालाई आफ्नै व्यक्तिगत प्रवचन सत्र बनाएँ, र मेरा उपलब्धिहरूलाई महत्त्वपूर्ण रूपमा दर्साउन र अरूको आदर जित्‍नको लागि मैले सुसमाचार प्रचारमा कसरी राम्रा नतिजा निकालेकी थिएँ भनेर विस्तारमा बोलेको बोले गरिरहेँ। म साँच्‍चै घृणित र निर्लज्‍ज थिएछु। मैले भेलामा सधैँ अरूको कुरा बीचमै काटेर बोल्‍ने र आफ्‍नो प्रदर्शन गर्ने गरेँ, र यसले गर्दा मेरा दाजुभाइ-दिदीबहिनीहरू सत्यताको खोजी र सङ्गति गर्नबाट वञ्‍चित भए। फलस्वरूप, तिनीहरूका मामिला र कठिनाइहरू तुरुन्तै समाधान भएनन्। मैले त्यो भेलालाई पूर्ण रूपमा बिथोलेकी थिएँ। यति मात्र कहाँ हो र, मेरो ध्यान आफ्नो प्रदर्शन गर्नमा मात्र जान्थ्यो, त्यसेले मैले परमेश्‍वरका वचनहरू मनन गर्न र अरू मानिसहरूका अनुभव र ज्ञान सुन्‍नमा कुनै जोड लगाइनँ। यसले गर्दा, मैले पनि भेलाबाट केही कुरा सिकिनँ। मेरा गल्ती र असफलताहरू प्रशस्‍त छन् भन्‍ने मलाई थाहा थियो, तर अरूमा भएको मेरो छविलाई नष्ट गर्छु कि भन्‍ने डरको कारण मैले ती कमीकमजोरी र असफलताहरू ढाकछोप गरेँ, र मेरा सफलताहरूका बारेमा मात्रै कुरा गरेँ। यसले गर्दा, केही दाजुभाइ-दिदीबहिनीहरूले मलाई आदर र भरोसा गर्न थाले। मैले तिनीहरूलाई मेरै सामु ल्याइरहेकी थिएँ, र मलाई यसप्रति डर नलागेको मात्र होइन, म त यसैमा मस्त भएकी थिएँ। मेरो व्यवहारको बारेमा मनन गर्दा, मैले मेरो कर्तव्य राम्रोसित गर्ने र परमेश्‍वरलाई सन्तुष्ट तुल्याउने प्रयास गरेनछु, केवल मानिसहरूलाई छल्ने र फन्दामा पार्ने काम मात्र गरेछु भन्‍ने महसुस भयो।

पछि, मैले परमेश्‍वरका वचनहरूको यो खण्ड पढेँ, र यी वचनहरूले मलाई मेरो प्रकृति र सार बुझ्‍न सहयोग गरे। परमेश्‍वरका वचनहरूले भन्छ: “केही मानिसहरूले विशेष गरी पावलकै मूर्तिपूजा गर्छन्। तिनीहरू बाहिर गएर भाषण दिन र काम गर्न मन पराउँछन्, भेलाहरू आयोजना गर्न र प्रचार गर्न मन पराउँछन्, अनि तिनीहरू मानिसहरूले तिनीहरूलाई सुनेको, तिनीहरूको मूर्तिपूजा गरेको, र तिनीहरूको वरिपरि घुमेको मन पराउँछन्। तिनीहरू अन्य व्यक्तिहरूको हृदयमा आफ्नो स्थान बनाउन चाहन्छन् र तिनीहरू आफूले प्रस्तुत गर्ने छविलाई अरूले ध्यान दिएको मन पराउँछन्। अब यी प्रकटीकरणहरूबाट तिनीहरूको प्रकृति चिरफार गरौँ। तिनीहरूको प्रकृति के हो? यदि तिनीहरू साँच्चै यी प्रकटीकरणहरू देखाउँछन् भने, तिनीहरू अहङ्कारी र अभिमानी छन्, तिनीहरू परमेश्‍वरको आराधना पटक्कै गर्दैनन्, र तिनीहरूले उच्च हैसियत पछ्याउँछन् र अरूमाथि अख्तियार जमाउन, तिनीहरूलाई स्वामित्वमा लिन र तिनीहरूको हृदयमा आफ्नो स्थान बनाउन चाहन्छन् भन्‍ने कुरा देखाउन यो नै पर्याप्त छ। यो शैतानको प्रतिनिधिमूलक प्रतिरूप हो। तिनीहरूको प्रकृतिका सहजै देख्न सकिने पक्षहरू भनेका के हुन् भने, तिनीहरू अहङ्कारी र अभिमानी हुन्छन्, तिनीहरूले परमेश्‍वरको आराधना गर्दैनन्, र तिनीहरू अरूलाई आफ्नो आराधना गराउने प्रयास गर्छन्। त्यस्ता प्रकटीकरणहरूले तिनीहरूको प्रकृतिका बारेमा एकदमै स्पष्ट दृष्टिकोण प्रदान गर्न सक्छन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी चिन्ने)। यसले मलाई के महसुस गरायो भने निरन्तर धाक लगाउनु भनेको अहङ्कारी प्रकृतिको नियन्त्रणमा हुनुको परिणाम हो। सानै हुँदादेखि मलाई अरूको प्रशंसा र समर्थन पाउन मन पर्थ्यो, प्रतिष्ठा र आनन्दको बेग्लै अनुभूति हुन्थ्यो, त्यसैले मैले जीवनमा सधैँ त्यही कुरा नै खोजरहेन्थेँ। विश्‍वास अँगालिसकेपछि पनि मैले मौका पाउँदा धाक लगाउँदै र आफ्‍नो प्रदर्शन गर्दै सधैँ त्यसै गर्थेँ। म यसैमा मस्त थिएँ, र कसैले आदरको साथ हेर्दा म अत्यन्तै खुशी हुन्थेँ। सुसमाचार प्रचार गर्नु मेरो जिम्‍मेवारी, मेरो कर्तव्य थियो, र सबै सफलता परमेश्‍वरको अगुवाइको कारण प्राप्त भएका थिए। तर म मेरो अहङ्कारी प्रकृतिद्वारा नियन्त्रित थिएँ, र म वरदान अनुभव, र सुसमाचार प्रचामा आफूले निकालेका थोरबहुत नतिजाहरूलाई व्यक्तिगत पूँजीको रूपमा प्रयोग गर्थेँ। मलाई आफू एक अपरिहार्य प्रतिभा हुँ भन्‍ने लाग्थ्यो, र अरूलाई गन्दै गन्दिनथेँ। म दाजुभाइ-दिदीबहिनीहरूको अघि धाक लगाउने हरेक मौकाको फाइदा उठाउँदै सुसमाचार प्रचारमा म कति सफल छु भनेर कुरा गर्थेँ, तर मेरा कमीकमजोरी वा असफलताहरू कहिल्यै खुलाउँदिनथेँ। परिणामस्वरूप, दाजुभाइ-दिदीबहिनीहरू परमेश्‍वरतर्फ नजर उठाएर हेर्ने र उहाँमा भर पर्ने गर्नुको सट्टा ममा भर पर्न थाले। मानिसहरूको हृदयमा परमेश्‍वरले पवित्र स्थान प्राप्त गर्नुपर्छ, तर मैले त अरूलाई मेरो सामु ल्याइरहेकी थिएँ, त्यसकारण तिनीहरूको हृदयमा मेरो मात्रै स्थान थियो। के मैले परमेश्‍वरको विरोध गरिरहेकी थिइनँ र? मलाई अनुग्रहको युगका पावलको याद आयो, जो अत्यन्तै अहङ्कारी थिए। तिनले आफ्‍ना पत्रहरूमा कहिल्यै पनि प्रभु येशू ख्रीष्टलाई उचाल्ने वा गवाही दिने काम गरेनन्, प्रभु येशूको कामले मानवजातिको लागि के गरेको थियो भन्‍नेबारेमा तिनले गवाही दिएनन्। तिनले आफ्‍ना वरदान र क्षमताको बारेमा मात्रै फाइँफुट्टी लगाए, र अरूलाई फन्दामा पारी तिनको आदर र अनुसरण गर्ने तुल्याए। तिनले आफू अरू प्रेरितभन्दा सानो छुइनँ भनी गवाही दिए, र अन्त्यमा आफूले ख्रीष्‍टको रूपमा जिएँ भनेर भने, जसले परमेश्‍वरको स्वभावलाई गम्‍भीर रूपमा चिढ्यायो। पावलले निरन्तर आफ्नो बढाइ गरेर अरू मानिसहरूलाई तिनको प्रशंसा गर्न लगाए, यहाँसम्‍म कि २,००० वर्षदेखि विश्‍वासीहरूले तिनका वचनहरूलाई परमेश्‍वरका वचनहरूको रूपमा, तिनीहरूको विश्‍वासको आधारको रूपमा, र अभ्यास गर्नुपर्ने सिद्धान्तहरूका रूपमा लिँदै आएका छन्। तिनीहरूका लागि तिनका वचनहरू परमेश्‍वरका वचनहरूभन्दा उत्तम छन्, र परमेश्‍वर नाममात्रको परमेश्‍वर हुन्। अन्त्यमा, पावल एक प्रमुख ख्रीष्टविरोधी बनेँ र परमेश्‍वरद्वारा दण्डित भए। के म पनि पावलजस्तै थिइनँ र? मैले मेरो कर्तव्यमा परमेश्‍वरलाई उचालिरहेकी वा गावही दिइरहेकी थिइनँ, केवल आफ्‍नो प्रदर्शन गरिरहेकी र मानिसहरूको हृदयलाई फन्दामा पारिरहेकी थिएँ। त्यो कसरी मैले कर्तव्य पूरा गरेको भयो र? मैले त आफ्‍नै उद्यम चलाइरहेकी। त्यो बेला मेरा कार्यहरूप्रति मलाई एकदमै डर लाग्यो र यसरी नै अघि बढिरहनु साँच्‍चै नै खतरनाक हुन्छ भन्‍ने महसुस गरेँ। मैले परमेश्‍वरको अघि आएर प्रार्थना गरेँ, “हे परमेश्‍वर, म मेरो भ्रष्ट स्वभावमा रही तपाईंको विरुद्धमा जिउन चाहन्‍नँ। यदि मैले फेरि आफ्नो प्रदर्शन गरेँ भने मलाई अनुशासनमा राख्‍नुहोस्, र ताडना दिनुहोस्। हे परमेश्‍वर, मलाई आफ्‍नो बारेमा अझै गहन बुझाइ प्राप्त गर्न अगुवाइ गर्नुहोस्।” पछि मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड फेला पारेँ, जसमा परमेश्‍वरले मानवाजतिको न्याय र खुलासा गर्नुहुन्छ: “तैँले सबै कुरा बुझ्छस् भन्‍ने नसोच्। म तँलाई भन्छु, तैँले देखेको र अनुभव गरेको सबै कुरा पनि तैँले मेरो व्यवस्थापन योजनाको हजार भागको एक भाग बुझ्‍नलाई पर्याप्त छैन। अनि, तँ किन त्यति अहङ्कारी हुन्छस्? तँसँग भएको थोरै प्रतिभा र अलिकति ज्ञान येशूले आफ्‍नो कामको लागि एक सेकण्ड प्रयोग गर्न पनि पर्याप्त छैन! तँसँग वास्तवमा कति अनुभव छ? तैँले देखेका र तैँले आफ्‍नो जीवनभरि सुनेका अनि तैँले कल्‍पना गरेका सबै कुराहरू मैले एक पलमा गर्ने कामभन्दा पनि थोरै छन्! तैँले कुरा नकोट्याएको र गल्ती नखोतलेकै जाती हुन्छ। तँ आफूले चाहेजति अहङ्कारी बन्‍न सक्छस्, तर तँ एक सृष्टि गरिएको प्राणीबाहेक केही पनि होइनस्, तँ कमिला बराबरको पनि छैनस्! तेरो पेटभित्र जति छ त्यो सबै कमिलाको पेटमा भएको भन्दा पनि थोरै छ! तैँले केही अनुभव र वरिष्ठता प्राप्त गरेको छस् भन्दैमा, यसले तँलाई ठूलो पल्टिने र ठूलाठूला गफ चुट्ने अधिकार दिन्छ भनेर नसोच्। के तेरा अनुभव र तेरो वरिष्ठता मैले उच्‍चारण गरेका शब्‍दहरूको उपज होइनन् र? के तँ ती तेरो आफ्नै परिश्रम र मेहनतको बलमा आएका हुन् भन्‍ने विश्‍वास गर्छस्? आज, म देह बनेको छु भन्‍ने तैँले बुझेको छस्, र यसबारेमा मात्रै तँमा अधिक अवधारणाहरू छन्, र त्यसमा धारणाहरूको कुनै अन्त्य छैन। यदि मेरो देहधारण नभएको भए, तँसँग असाधारण प्रतिभाहरू नै भएको भए पनि, तँसँग त्यति धेरै अवधारणाहरू हुने थिएनन्; अनि के यीबाट नै तेरा धारणाहरू पैदा हुँदैनन् र?” (वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। दुई देहधारणहरूले देहधारणको महत्त्व पूरा गर्छन्)। मसँग कुनै सत्यता वास्तविकता थिएन, र म शब्द र धर्मसिद्धान्तहरू भट्याउन सक्थेँ। मैले केही अनुभव बटुलेपछि, र थोरै काम गरेपछि, अरू सबैलाई, र परमेश्‍वरलाई समेत बेवास्ता गरेँ। मैले परमेश्‍वरको महिमा चोरिरहेकी थिएँ, म अत्यन्तै अहङ्कारी थिएँ, र ममा तर्कसङ्गतपन थोपै थिएन। सुसमाचार प्रचार गर्दा, यसद्वारा परमेश्‍वरले आफ्‍नै काम अघि बढाइरहनुभएको छ भन्‍ने मलाई स्पष्टै थाहा थियो। कहिलेकहीँ कसैले मलाई उत्तर दिन नआउने प्रश्‍न गर्थे, त्यसकारण म प्रार्थना गर्थेँ, र उहाँमा भर पर्थेँ। त्यसपछि पवित्र आत्‍माको अन्तर्दृष्टिमार्फत म उत्तर जान्दथेँ र समस्या कसरी समाधान गर्ने भनी मलाई थाहा हुन्थ्यो। कहिलेकहीँ मैले त्यति धेरै बताउँदिनथेँ, केवल परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढिदिन्थेँ, त मानिसहरूको मन छुन्थ्यो, तिनीहरू तुरुन्तै परमेश्‍वरको आवाज चिन्थे र उहाँको आखिरी दिनहरूको कामको खोजी र स्वीकार गर्न तयार हुन्थे। यो सबै परमेश्‍वरको वचनको अगुवाइले हासिल भएको थियो, उहाँले मानिसहरूको हृदय छोइरहनुभएको थियो। एकपटक, मैले मण्डलीकी एक सिस्टरको दाइलाई सुसमाचार सुनाएँ। तिनलाई पहिले पनि धेरैले सुसमाचार सुनाइसकेका थिए, तर तिनी आफ्‍ना धारणाहरूको बन्धनमा भएकोले तिनले यसबारेमा खोजी र अनुसान्धान गर्न इच्छुक थिएनन्। मलाई त्यति आत्मविश्‍वास भएन, र मैले अघिल्‍लो अनुभवको आधारमा अलिअलि तयारी मात्रै गरेँ। मैले पहिले नै विचार गरेको कुरा तिनलाई बताउँदा, तिनले कुनै सकारात्मक प्रतिक्रिया देखाएनन्, बरु आफूसँग रहेका केही धारणाहरू निकाले। कसरी सङ्गति गर्ने मलाई थाहा थिएन, त्यसैले मैले प्रार्थना गरेँ र तिनको मन छुन र तिनलाई अन्तर्दृष्टि दिन परमेश्‍वरलाई अनुरोध गरेँ। अनि, मैले तिनलाई केवल एउटा गवाही भिडियो देखाएँ र त्यति धेरै कुरा गरिनँ, तर भिडियोभित्रको सङ्गतिले साँच्‍चै तिनको मन छोयो र तिनले परमेश्‍वरको नयाँ कामको बारेमा खोजी-निधो गर्ने इच्‍छा गरे। म छक्‍क परेँ। ३० मिनेटको अवधिमा नै तिनी पूर्ण रूपमा परिवर्तन भएका थिए। मैले राम्ररी सङ्गति गरेको कारणले भन्दा पनि परमेश्‍वरले तिनको हृदय छुनुभएकोले यसो भएको थियो भन्‍ने मलाई थाहा थियो। मेरो कर्तव्यमा मेरो मनसाय गलत हुँदा, मैले जति नै बोले पनि, कसैले सुसमाचार स्वीकार गर्न चाहँदैनथेँ। मेरो यो अनुभवले मलाई के देखायो भने, मेरो कर्तव्यमा परमेश्‍वरका वचनहरू र पवित्र आत्माको कामले निर्णायक भूमिका खेलेका थिए, मेरो प्रतिभा र क्षमता निर्णायक तत्व थिएनन्। परमेश्‍वरको भेडाले उहाँको आवाज सुन्छ। परमेश्‍वरले पूर्वछनौट गर्नुभएका मानिसहरूले उहाँका वचनहरूमा उहाँको आवाज चिन्छन् र साँचो मार्गको अनुसन्धान गर्न चाहन्छन्। यदि कुनै व्यक्ति परमेश्‍वरले चुन्‍नुभएको व्यक्ति होइन भने, जति नै सङ्गति गरे पनि त्यसले काम गर्नेछैन। कुनै वरदान वा राम्रो क्षमता नभए पनि, यदि कसैको हृदय ठीक ठाउँमा छ, र ऊ साँच्‍चै नै परमेश्‍वरमा भर पर्छ भने, उसले उहाँको अगुवाइ प्राप्त गर्छ, र ऊ आफ्नो कर्तव्यमा सधैँ सफल हुनेछ। तर म यो तथ्यप्रति पूर्ण अनजान थिएँ, पवित्र आत्माको कामप्रति मसित थोरै कदर पनि थिएन, र ममा परमेश्‍वरको भय मान्‍ने हृदय थिँदै थिएन। थोरैभन्दा थोरै उपलब्धिको लागि पनि मैले आफूलाई सबै महिमा दिएँ, र त्यसलाई घमण्ड गर्ने बहानाको रूपमा प्रयोग गरेँ। म साँच्‍चै नै निर्लज्‍ज थिएँ। मैले जसरी आफ्नो प्रदर्शन गरेँ त्यसलाई फर्केर हेर्दा, मलाई अत्यन्तै नराम्रो अनुभुति र लाज भयो। म साँच्‍चै नै अन्धाधुन्ध नौटङ्की गर्ने र अलिकति पनि आत्मसचेतना नभईकनै सबैमाझ आफ्नो निकृष्ट स्थिति प्रकट गर्ने जोकर थिएँ। यदि मैले सुसमाचार सुनाउने क्रममा वाधाअड्चन नआएको भए र ती सिस्टरबाट मेरो निराकरण र काटछाँट नभएको भए, म कुनै पनि आत्मज्ञानविनाको भावशून्य व्यक्ति रहिरहन्थेँ। यो कुरा महसुस गरेपछि, मैले परमेश्‍वरसित प्रार्थना गरेँ, र पश्‍चात्ताप गर्ने र आफैलाई उचाल्‍न र धाक लगाउन छोड्ने इच्‍छा व्यक्त गरेँ।

पछि, मैले परमेश्‍वरलाई उचाल्‍न र उहाँको गवाही दिनको लागि कसरी अभ्यास गर्नुपर्छ भनेर सचेत भई खोजी गरेँ। मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ, र यसले यसो भन्छ: “परमेश्‍वरको गवाही दिँदा, तैँले मुख्य रूपमा परमेश्‍वरले कसरी मानिसहरूलाई न्याय गर्नुहुन्छ र सजाय दिनुहुन्छ, र मानिसहरूलाई शोधन गर्न र तिनीहरूका स्वभावहरू परिवर्तन गर्न उहाँले के-कस्ता परीक्षाहरू प्रयोग गर्नुहुन्छ भन्‍नेबारेमा नै कुरा गर्नुपर्छ। तिमीहरूले तिमीहरूका अनुभवमा कति भ्रष्टता प्रकट गरेका छौ, तिमीहरूले कति धेरै कष्ट सहेका छौ, परमेश्‍वरको प्रतिरोध गर्न तिमीहरूले कति धेरै कुराहरू गरेका छौ, अन्त्यमा तिमीहरू परमेश्‍वरद्वारा कसरी विजय गरियौ, तिमीहरूले परमेश्‍वरको कामको कति वास्तविक ज्ञान प्राप्त गरेका छौ, र तिमीहरूले परमेश्‍वरको प्रेम चुकाउन कसरी उहाँको गवाही दिनुपर्दछ भन्‍ने बारेमा कुरा गर्नुपर्छ। तिमीहरूले यी शब्दहरूमा ठोसता प्रदान गर्नुपर्छ, जबकि सरल तरिकाले बोल्नुपर्छ। रित्ता सिद्धान्तहरूका बारेमा कुरा नगर। व्यावहारिक तरिकाले बोल; हृदयबाट बोल। तिमीहरूले विभिन्‍न कुराहरूको अनुभव गर्नुपर्ने यसरी नै हो। आडम्बर देखाउने प्रयासमा गहन लाग्ने, रित्ता सिद्धान्तहरू तयार नपार; त्यसो गर्दा तिमीहरू अत्यन्त अहङ्कारी र समझहीन देखिन्छौ। तिमीहरूले आफ्नो असली अनुभवबाट वास्तविक कुराहरूका बारेमा बताउनुपर्छ, र अझ बढी हृदयबाट बोल्नुपर्छ; यो अरूका लागि अत्यन्तै फाइदाजनक हुन्छ, र तिनीहरूका लागि सबैभन्दा उपयुक्त देखिन्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता पछ्याएर मात्रै स्वभावमा परिवर्तन हासिल गर्न सकिन्छ)। परमेश्‍वरका वचनहरूले मलाई परमेश्‍वरलाई उचाल्ने र उहाँको गवाही दिने तरिका भनेको उहाँको काम र उहाँको स्वभावको गवाही दिनु, आफ्‍नो भ्रष्टता र विद्रोहीपनको बारेमा र हामीले उहाँका वचनहरूको न्याय र सजायबाट कसरी आफ्‍नो बारेमा सिक्यौँ भनेर कुरा गर्नु हो। त्यसपछि अरूले परमेश्‍वरको धर्मी स्वभावका साथैँ उहाँले हामीलाई प्रदान गर्नुहुने उहाँको प्रेम र मुक्ति देख्‍न सक्छन्। तर मैले सुसमाचार प्रचार गर्दा पाएका सफलताहरूका बारेमा मात्रै कुरा गर्दै आएकी थिएँ, मैले देखाएको भ्रष्टता वा मैले कसरी परमेश्‍वरको विरोध र उहाँविरुद्ध विद्रोह गरेँ सोबारेमा बिरलै कुरा गर्थेँ। परिणामस्वरूप, मानिसहरू मलाई आदर गर्न र ममा भर पर्न थाले। मैले आफ्‍नो साँचो रूप प्रकट गर्न जरुरी थियो, र मैले कसरी आफूलाई उचाल्दै र आफ्‍नो प्रदर्शन गर्दै आइरहेकी थिएँ र कसरी परमेश्‍वरले मलाई आफ्नै बारेमा जान्‍ने भनी मार्गदर्शन गर्न मलाई ताडना दिनुभयो र अनुशासनमा राख्‍नुभयो भनेर खुलासा गर्नुपर्थ्यो। मैले सुसमाचार प्रचार गर्दा मैले भोगेका समस्या र मेरा कमीकमजोरीहरूलाई पनि उदाङ्गो पार्नुपर्थ्यो र पवित्र आत्माले मलाई कसरी अगुवाइ गर्नुभयो त्यो बताउनुपर्थ्यो। मैले त्यो सबै सङ्गति गर्नुपर्थ्यो, ताकि अरूले मेरो वास्तविकता देख्‍न सकून् र परमेश्‍वरले कसरी काम गर्नुहुन्छ त्यो पनि देख्‍न सकून्। त्यसपछि तिनीहरूसँग भर पर्नको लागि र आफ्नो कर्तव्यमा परमेश्‍वरतर्फ हेरी र उहाँको अगुवाइ प्राप्त गर्नको लागि विश्‍वास हुनेथ्यो। जब मैले त्यसरी आफ्‍नो मन खोलेँ, सबैले आफ्नो हृदय साँच्‍चै परमेश्‍वर हुनुहुन्‍न रहेछ भन्‍ने थाहा पाए। अनि, तिनीहरू परिवर्तन हुन, र आफ्‍नो कर्तव्यमा परमेश्‍वरमा भर पर्न चाहे।

त्यसपछि मैले परमेश्‍वरका वचनहरूमा यो कुरा पढेँ: “परमेश्‍वर सृष्टिकर्ता हुनुहुन्छ, अनि उहाँको पहिचान र हैसियत सर्वोच्च छ। परमेश्‍वरसँग अख्तियार, बुद्धि, र शक्ति छ, अनि उहाँसँग आफ्नै स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो छ। के कसैलाई परमेश्‍वरले मानवजाति र सारा सृष्टिबीच कति वर्षदेखि काम गरिरहनुभएको छ भन्ने थाहा छ? परमेश्‍वरले काम गर्नुभएको र सारा मानवजातिलाई व्यवस्थापन गर्नुभएको ठ्याक्कै कति वर्ष भयो भन्‍ने कुरा अज्ञात छ; कसैले पनि ठ्याक्कै सङ्ख्या दिन सक्दैन, र परमेश्‍वर यी कुराहरूबारे मानवजातिलाई बताउनुहुन्‍न। तैपनि, यदि शैतानले यस्तो काम गऱ्यो भने, के यसले यसबारे बताउनेथिएन र? अवश्य नै बताउनेथियो। यसले अझ धेरै मानिसलाई बहकाउन र अझ धेरै मानिसलाई यसको योगदानबारे सचेत गराउनका लागि आफ्‍नो प्रदर्शन गर्न चाहन्छ। परमेश्‍वरले किन यी कुराहरूका बारेमा बताउनुहुन्‍न? परमेश्‍वरको सारको एउटा नम्र र गुप्त पक्ष छ। नम्र र गुप्त हुनुको विपरीत के हो? यो अहङ्कारी हुनु र आफूलाई देखाउनु हो। … परमेश्‍वर मानिसहरूले उहाँको गवाही दिऊन् भन्ने माग गर्नुहुन्छ, तर के उहाँले आफ्नो गवाही दिनुभएको छ? (छैन।) अर्कोतर्फ, शैतानलाई यसले गरेको सानो कुराबारे समेत मानिसहरूले थाहा पाउनेछैनन् भन्‍ने डर लाग्छ। ख्रीष्टविरोधीहरू पनि त्यस्तै हुन्छन्: तिनीहरूले गर्ने हरेक सानो कामबारे सबैको अगाडि घमण्ड गर्छन्। तिनीहरूको कुरा सुन्दा, तिनीहरूले परमेश्‍वरको गवाही दिइरहेका छन् जस्तो लाग्छ—तर यदि तैँले ध्यान दिएर सुनिस् भने तिनीहरूले परमेश्‍वरको गवाही दिइरहेका छैनन्, तर तिनीहरूले देखावा गरिरहेका छन्, आफूलाई बढावा दिइरहेका छन् भन्‍ने कुरा पत्ता लगाउनेछस्। तिनीहरूले भनेको कुरापछाडिको अभिप्राय र सार भनेको परमेश्‍वरसँग उहाँका चुनिएका मानिसहरू, र हैसियतका लागि होड गर्नु हो। परमेश्‍वर नम्र र गुप्त हुनुहुन्छ, र शैतानले आफ्‍नो धाक लगाउँछ। के भिन्‍नता छ? देखावा गर्नु र नम्रता अनि गुप्तपन: सकारात्मक कुराहरू केके हुन्? (नम्रता र गुप्तपन।) के शैतानलाई नम्र भनेर व्याख्या गर्न सकिन्छ? (सकिँदैन।) किन? यसको दुष्ट प्रकृति सारका आधारमा हेर्दा, यो बेकामको कसिङ्गर टुक्रा हो भन्‍ने देखिन्छ; शैतानले आफ्‍नो धाक नलगाउनु त असामान्य हुन्छ। शैतानलाई कसरी ‘नम्र’ भनेर भन्‍न सकिन्छ? ‘नम्रता’ त परमेश्‍वरका सन्दर्भमा मात्रै भन्‍न सकिन्छ। परमेश्‍वरको पहिचान, सार, र स्वभाव उच्च र आदरणीय छन्, तर उहाँ कहिल्यै पनि देखावा गर्नुहुन्न। परमेश्‍वर नम्र र गुप्त हुनुहुन्छ, त्यसकारण मानिसहरूले उहाँले के गर्नुभएको छ भन्‍ने देख्दैनन्, तर उहाँले यस्तो अज्ञात रूपमा काम गर्नुहुने हुनाले, मानवजातिलाई निरन्तर भरणपोषण, पालनपोषण गरिन्छ र मार्गदर्शन दिइन्छ—र यो सबै परमेश्‍वरले नै मिलाउनुभएको हो। के परमेश्‍वर यी कुराहरू कहिल्यै घोषणा गर्नुहुन्न, कहिल्यै उल्लेख गर्नुहुन्न भन्‍ने कुरा गुप्तपन र नम्रता होइन र? परमेश्‍वरले यी कुराहरू गर्न सक्नुहुन्छ तर उहाँ कहिल्यै तीबारे उल्लेख गर्नुहुन्न वा घोषणा गर्नुहुन्न, र तीबारे मानिसहरूसँग तर्क गर्नुहुन्न, त्यसैले त उहाँ नम्र हुनुहुन्छ। तँ त्यस्ता कुराहरू गर्न सक्दैनस् भने तँसँग नम्रताबारे कुरा गर्ने के अधिकार हुन्छ र? तैँले तीमध्ये कुनै पनि काम गरिनस्, तैपनि त्यसका लागि श्रेय लिने जिद्दी गर्छस्—लाजमर्दो व्यवहार गर्नु भनेको यही हो। परमेश्‍वर मानवजातिलाई अगुवाइ गर्दै, यस्तो ठूलो काम गर्नुहुन्छ, र उहाँ सम्पूर्ण ब्रह्माण्डको नेतृत्व गर्नुहुन्छ। उहाँको अख्तियार र शक्ति अत्यन्तै विशाल छ, तैपनि उहाँले कहिल्यै ‘मेरो शक्ति असाधारण छ’ भनेर भन्‍नुभएको छैन। उहाँ सबै थोकमाझ लुकेर बस्‍नुहुन्छ, सबै कुरामाथि शासन गर्नुहुन्छ, मानवजातिलाई खुवाउनुहुन्छ र भरणपोषण गर्नुहुन्छ, र सबै मानवजातिलाई पुस्तौँ पुस्तासम्म निरन्तर अघि बढ्न दिनुहुन्छ। उदाहरणका लागि, हावा र घामलाई वा पृथ्वीमा मानव अस्तित्वका लागि आवश्यक रहेका सबै भौतिक कुरालाई लिऊँ—ती सबै निरन्तर रूपमा चलिरहन्छन्। परमेश्‍वरले मानिसका लागि प्रदान गर्ने कुरामा कुनै प्रश्‍न छैन। यदि शैतानले कुनै असल काम गरेको भए, के यसले चुपचाप काम गर्नेथ्यो, र अज्ञात नायक बन्‍नेथ्यो? कहिल्यै त्यसो गर्नेथिएन। त्यो त मण्डलीमा रहेका कतिपय ख्रीष्टविरोधी जस्तै हो, जसले पहिले खतरनाक काम गरेका थिए, विभिन्‍न कुरा त्यागेका थिए र कष्ट भोगेका थिए, सायद जेलसमेत गएका थिए; कति जनाले परमेश्‍वरको घरको कामको एउटा पक्षमा योगदान दिएका पनि हुन सक्छन्। तिनीहरू यी कुरा कहिल्यै बिर्सँदैनन्, तिनीहरू ती कुराका लागि जीवनभरको श्रेय पाउनुपर्छ भन्‍ने सोच्छन्, तिनीहरू यी कुरालाई आफ्नो जीवनकालको पूँजी ठान्छन्—यसले मानिसहरू कति सानो छन् भन्‍ने कुरा देखाउँछ! मानिसहरू साँच्‍चै नै साना हुन्छन्, र शैतान निर्लज्ज हुन्छ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग दुई))। परमेश्‍वरको विनम्रता र गुप्तपनले मेरो मन छोयो। जब मैले उहाँको आचरणलाई आफ्नो आचरणसित तुलना गरेँ, तब मलाई अत्यन्तै लाज भयो। परमेश्‍वर कति सर्वोच्‍च हुनुहुन्छ, तर पनि उहाँ देह बनी पृथ्वीमा आउन, र मानवजातिलाई मुक्ति दिन सत्यताहरू व्यक्त गर्न कति ठूलो कष्ट र अपमान सहनुभयो। उहाँको काम जति नै महान् भए पनि वा उहाँले जति नै धेरै सत्यताहरू व्यक्त गर्नुभए पनि, उहाँले कहिल्यै धाक लगाउनुहुन्‍न। उहाँले चुपचाप आपूर्ति गर्नुहुन्छ र मानवजातिलाई मुक्ति दिनुहुन्छ। परमेश्‍वरको सार अत्यन्तै सुन्दर छ। म केवल धूलोको कण हुँ, र म शैतानद्वारा गहन रूपमा भ्रष्ट पारिएकी छु। म कुनै विशेष व्यक्ति होइन, तर पनि मैले आदरको लागि मरिहत्ते गरेँ। अरूले नदेख्‍लान् कि भन्‍ने चिन्ताले म मेरो सानो उपलब्धिको पनि धाक लाइहाल्थेँ। यो परमेश्‍वरले नै गर्नुभएको काम थियो र मैले थोरै सहकार्य मात्रै गरेकी थिएँ भन्‍ने स्पष्टै थियो, तैपनि मैले सर्म नमानी परमेश्‍वरको महिमा चोर्न खोजेँ, र निरन्तर आफ्नै प्रदर्शन गरिरहेँ। मैले यसबारे जति सोचेँ, त्यति नै आफू तुच्छ र घृणित भएको महसुस गरेँ—परमेश्‍वरको लागि यो अति घिनलाग्दो कुरा थियो। म अबउप्रान्त त्यस्तो व्यक्ति बन्‍न चाहिनँ।

त्यसपछिका भेलाहरूमा, मैले उद्देश्यपूर्ण रूपमा परमेश्‍वरलाई उचाल्ने र उहाँको गवाही दिने काम गरेँ, र मेरो भ्रष्टता र विद्रोहीपन अनि कुन घृणित अभिप्रायले मेरो असफलता निम्त्यायो र कसरी परमेश्‍वरले मलाई अनुशासनमा राख्‍नुभयो र सिद्धान्तहरू बुझ्न र अभ्यासको मार्ग प्राप्त गर्न मलाई अगुवाइ गर्नुभयो भन्‍नेबारेमा कुरा गरेँ। यसले दाजुभाइ-दिदीबहिनीहरूलाई मेरा असफलताहरूबाट सिक्‍न र परमेश्‍वरको धर्मी स्वभाव र मुक्ति पहिचान गर्न मदत गर्‍यो। कहिलेकहीँ, मलाई अझै पनि आफ्‍नो प्रदर्शन गर्न मन लाग्थ्यो, तर त्यो महसुस भएपछि, म प्रार्थना गर्थेँ र तुरुन्तै आफूलाई त्याग्थेँ। यस्तो अभ्यास गर्न थालेपछि मलाई निकै राम्रो महसुस हुन थाल्यो। परमेश्‍वरको प्रेम र मुक्तिको कारण नै मैले यो रूपान्तरण हासिल गर्न सकेँ।

सम्बन्धित विषयवस्तु

प्रतिकूलताबीच वृद्धि

झेन’आई, चीनअगस्ट २३, २०२२ मा जिल्ला अगुवाले हामी केही प्रचारकहरूलाई भेला हुन बोलाए। हामीले अपराह्नसम्म पर्ख्यौँ, तर अगुवा आएनन्। पछि,...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्